निर्णय नं. ८४६९ - जवर्जस्ती करणी ।

निर्णय नं.८४६९ ने.का.प २०६७ अङ्क ९
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
२०६४ – CR – ०००६
फैसला मितिः २०६७।१।२९।४
मुद्दाः जवर्जस्ती करणी ।
पुनरावेदक वादीः कालुरामको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जि.सुनसरी इनरुवा नगरपालिका वार्ड नं. २ बस्ने सरोज हिङमाङ समेत
शुरु फैसला गर्नेः
मा.जि.न्या. श्री फणिन्द्रदत्त शर्मा
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री भिमेन्द्रबहादुर कार्की
मा.न्या. श्री सुरेन्द्रवीर सिँह बस्न्यात
§ जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्नुपर्ने ।
§ प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गर्नु मात्र निर्दोषिता ठहर हुने आधार बन्न सक्ने ।
§ पीडितको मौकाको कागज, सनाखत कागज र बकपत्र, जाहेरवाला र मौकामा बुझिएका व्यक्तिको भनाई, पीडिताको शारीरिक परीक्षण अनुसन्धान अधिकारीसमक्ष कसूरमा एकआपसमा पोल गरी गरेको साविती बयान लगायतका सम्बद्ध प्रमाणहरूबाट सामूहिक जबरजस्ती करणीको वारदात स्थापित भएको र सोमा प्रतिवादीहरूको संलग्नतालाई पुष्टि गरिरहेको अवस्थामा सो प्रमाणलाई बाहेक गरी प्रतिवादीहरूको अदालतको इन्कारी बयानलाई मात्र निर्दोषिताको आधार बनाई वास्तविक अपराधीलाई अभियोग दावीबाट सफाई दिदै जाने हो भने समाजमा दण्डहीनताको स्थिति सिर्जना हुनजाने ।
(प्रकरण नं.७)
पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदी
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता राजन अधिकारी, विद्वान अधिवक्ता रामकुमार राई र विद्वान अधिवक्ता द्रोण दाहाल
अवलम्बित नजीरः नेकाप २०६३, अङ्क १० नि.नं. ७७७२ पृ. १२९४
सम्बद्ध कानूनः
जबरजस्ती करणीको महलको ३(३), ३क, १० नं.
प्रमाण ऐन, २०३१ को दफा ९(२)(क)
फैसला
न्या.अवधेशकुमार यादवः यसमा यस अदालतबाट मिति २०६४।९।१०।३ (नेकाप २०६४ अंक ९ नि.नं. ७८८० पृष्ठ १२०८) मा जारी भएको विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षहरूको गोपनीयता कायम राख्ने निर्देशिका, २०६४ को दफा ३(१) बमोजिम जाहेरवाला पीडितको नाम परिवर्तन गरी निजको वास्तविक नाम सिलवन्दी गरी मिसिल सामेल गरिएको छ । सो सिलवन्दी खाम फैसलाको अभिन्न अंग मानी अ.वं. २१ नं. बमोजिम तायदाती फारामको १ नं. कहिल्यै नसडाउने महलमा उल्लेख गरी अभिलेख राख्नु ।
न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्र भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
जिल्ला सुनसरी इनरुवा नगरपालिका वार्ड नं. २ स्थित पूर्व शंकरपुर शाखा नहर, पश्चिम धनपति ढकालको जग्गा, उत्तर विष्णुप्रसाद कोइरालाको खाली जग्गा, दक्षिण हिराबहादुरको खाली जग्गा यति चार किल्लाभित्र रहेको सानो टवाइलेट रहेको, सो नजिक धान काटेको स्थानमा केही धानको परालहरू रहेको, धानका ठोसहरू सबै माडिएको, वरिपरिको झार हेर्दा धेरै संघर्ष गरेको जस्तो ५।६ जना मानिसहरू हिंडेको जस्तो पाइलाहरू देखिएको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।
पीडित उमाकुमारीका छाती तथा शरीरमा तसारिएको, हाईमन च्यातिएको (Bilaterally multiple bruises present on breasts,vulva-5 mm tear on posterior ,Hymen-Brush & small area of abrasion (2-3mm)Hyman torn) भन्ने समेत व्यहोराको बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट भएको चिकित्सकीय परीक्षण प्रतिवेदन ।
मिति २०६१।८।२३ मा राति अं. ११.३० बजेको समयमा हामी स–परिवार आफ्नो घरमा सुतिरहेको अवस्थामा मेरो घरमा ढोका टकटक गरेको सुनी को हो भनी सोध्दा हामी गस्ती हौ ढोका खोलभन्दा मैले ढोका खोल्ने वितिक्कै गाउँकै सरोज हिङमाङले वत्ति निभाउ भन्दै कटुवा बन्दुक देखाई वोलीस, हल्ला गरिस् भने मारी दिन्छु भन्दै अन्य ६।७ जनाले मेरी श्रीमतीलाई पाता फर्काई भूईमा लडाए र माईली छोरीलाई पनि सुतेको खाटमा गई समाई यही हो माईली छोरी भन्दै घरबाट बाहिर लान खोज्दा मैले हामीलाई कुटपीट गरी छोरी समेतलाई वोल्न कराउन नदिई मुखमा पट्टी वांधी छोरीलाई घर वाहिर लगी जबरजस्ती करणी गरी अचेत अवस्थामा बोकी ल्याई घरको बरण्डामा लडाई छाडेछन् । विहान अं. ४ बजे मेरो वाँधेको हातको डोरी फुस्काउन सफल भई बाहिर निस्कदा छोरी उमालाई रगताम्मे भई अचेत अवस्थामा देखे । तत्काल हल्ला गरी छिमेकीको सहयोगबाट उपचारको लागि लगेको हो । अतः विपक्षीहरू उपर कानूनी कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त ।
मिति २०६१।८।२३ मा शंकर शिवाले मलाई एउटा काम गर्नु छ भनी लगी उक्त रात सुनसरी भरौल गा.वि.स. वडा नं. ५ बस्ने सुरज विश्वकर्मा, अर्जुन विश्वकर्मा, छोटना मुसहर र अर्को नचिनेको १ जना मानिस समेत भई कालुरामको घरमा गई जाहेरवाला र निजका श्रीमतीलाई बन्दुक देखाई वोल्न कराउन नदिई निजकी छोरी उमालाई खेतमा लगी पालैपालो जबरजस्ती करणी गरेको हो भन्ने समेत व्यहोराको अधिकारप्राप्त अधिकारी सामु प्रतिवादी सरोज हिङमाङले गरेको बयान कागज ।
मिति २०६१।८।२३ गते प्रतिवादी शंकर शिवाले म तथा मेरा गाउँका अर्जुन, छोटना र निजको साथी १ जना नाम थाहा नभएको मानिसलाई आज डांका गर्नुपर्छ भनी बेलुका सखुवागाछि पूर्वका नहरमा आउनु भनेकोले हामी उक्त ठाउंमा राति आई शंकर शिवा र सरोज हिङमाङसंग भेट भई राति अं. ११.३० मा जाहेरवालाको घरमा गई गस्ती हौ भनी ढोका खोल्न लगाई जाहेरवाला र निजकी पत्निलाई बोल्न कराउन नदिई बाधेर निजको छोरी उमालाई धान वारीमा लगी सबैले जबरजस्ती करणी गरी बेहोस् अवस्थामा निजको बरण्डामा लगी छोडेका हौं भनी प्रतिवादी सुरज, प्र. अर्जुन, प्र. शंकर शिव समेतले एकै मिलान हुनेगरी अधिकारप्राप्त अधिकारीसमक्ष गरेको छुट्टाछट्टै बयान कागज।
मिति २०६१।८।२३ गते रातको खाना खाई सपरिबार सुती निधाएको अवस्थामा रातको अं. ११.३० बजे ढोका ढकढकाएको र गस्ती हौ भनी भन्दा ढोका खोल्नासाथ चिनेका सरोज हिङमाङ र हाल नाम थाहा हुनआएको अर्जुन बि.क., सुरज बि.क.र शंकर शिवा समेतका व्यक्तिले तेरो धनमाल के कति छ निकाल हल्ला गरिस् भने मारिदिन्छु भन्दै श्रीमानलाई पेस्तोल देखाई पति पत्नीलाई बाधी छोरी उमालाई जबरजस्ती बोकेर कराउन नदिई लगे हामीलाई बाहिरबाट चुकुल लगाई दिए, छोरीलाई सामूहिक बलात्कार पश्चात् बेहोस अवस्थामा घरको बरण्डामा ल्याएर छाडेछन् बाधिएको हात पट्टि खोली जसोतसो हल्लाखल्ला गर्दा गाउँलेको सहयोगले अचेत छोरीलाई उपचारार्थ अस्पताल पुर्याएको हो भन्नेसमेत व्यहोराको बुझिएका व्यक्ति कमलाको कागज ।
प्रतिवादीमध्येको शंकर शिवालाई २०६१।८।२३ गतेको वारदातमा आफूले लगाएको पेन्टी खोलीदिई पहिला जबरजस्ती करणी गर्नेको रुपमा पहिचान गरी तथा प्रतिवादीमध्येको सरोज हिङमाङलाई आफ्नो घरभित्र पसी मुख थुनी दिई बोकी वारदात स्थलमा लगी करणी गर्ने व्यक्तिका रुपमा किटान गरी निज समेतका व्यक्तिहरूले आफूलाई सामूहिक बलात्कार गरेको हो भनी पीडित उमाकुमारीले गरेको सनाखत कागज ।
मिति २०६१।८।२३ गते बेलुकाको खाना खाई सुती निदाएको अवस्थामा के कति बजेको थियो थाहा भएन । एक्कासी मुख थुनी बोकेर घरदेखि उत्तर चर्पि छेउमा ल्याई सुताई शंकर शिवाले पेन्टी खोली जबरजस्ती करणी गरे त्यसैगरी सरोज हिङमाङ र अन्यले गरी ७ पटक करणी गरेपछि बेहोस भएछु त्यसपछि के भयो थाहा भएन । होस आउंदा घरको बरण्डामा थिएँ, त्यसपछि अस्पताल लगी उपचार गराएको हो र हाल म सिविन हेल्प लाईन विराटनगरमा उपचार गराई रहेको छु भन्ने पीडित उमाकुमारीको कागज ।
मिति २०६१।८।२३ गते यी जाहेरवालाको घरमा केही मानिसहरू आई श्रीमान् श्रीमतीलाई वांधी बोल्न कराउन नदिई निजकी छोरी उमालाई घर बाहिर लगी सामूहिक बलात्कार गरेको र बेहोस अवस्थामा छोडेको कुरा भोलिपल्ट थाहा भयो, उक्त वारदात गर्नेमा यी पक्राउ परी आएका व्यक्तिहरू नै हुन् भन्ने पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको वस्तुस्थितिमा बस्ने व्यक्ति तारानाथ पोखरेल समेतको एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
मौकामा बुझिएका व्यक्ति, वस्तुस्थिति मुचुल्काका व्यक्ति तथा संकलित कागजातहरूबाट समेत यी प्रतिवादीहरूले कसूर अपराध गरेको पुष्टि हुन आइरहेकोले यी प्रतिवादीहरूले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत कसूर गरेकोले निजहरूलाई सोही ऐनको महल (३)२ नं. बमोजिम सजाय हुन र सामूहिक रुपमा अपराध गरेकोमा ऐ, महलको ३(क) नं. बमोजिम थप सजाय समेत गरी ऐ. ऐ.को १० नं. बमोजिम आधा अंश सर्वश्व गरी पीडितलाई दिलाई भराई पाउनको साथै छोटना मुसहर र निजको साथी भनिएका र पीडितको कागजमा अर्का १ जना भनिएकाको हकमा अ.वं. ८८ नं. बमोजिम छुट्टै पूरक अभियोग मांग दावी लिइनेछ भन्नेसमेत व्यहोराको २०६१।९।१६ को अभियोगपत्र ।
अभियोग माग दावीअनुसार मैले कसूर गरेको छैन, प्रहरीमा असिम यातना दिई प्रहरीले कागजमा सही गराएको हो, पोल गर्नेले किन गरे । यातनाको डरले मेरो मनमा जो जस्को नाम आयो उसैको नाम भनेको हुँ, अभियोग दावीअनुसार सजाय हुनुपर्ने हैन भन्ने समेत व्यहोराको प्रतिवादी सरोज हिङमाङले शुरु अदालतमा गरेको बयान ।
अभियोग दावीअनुसार हामीले कुनै कसूर गरेको छैनौं, प्रहरीमा भएको कागज हामीले भनेर लेखेको होइनन् पढेर पनि सुनाएनन्, सहिछाप गर भन्दा सही गरी दिएका हौ, डरधाक कुटपीटका डरले प्रहरीले मनखुशी लेखेको कागजमा सहि गरेका हौं, त्यसकारण कसूर नगरेको हुँदा अभियोग दावीअनुसार सजाय हुने होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुरज बिश्वकर्मा, अर्जुन बिश्वकर्मा र शंकर शिवाले शुरु अदालतमा गरेको छुट्टाछुट्टै ईन्कारी बयान ।
शुरुको आदेशानुसार पीडित उमाकुमारी तथा प्रतिवादीका साक्षीहरू प्रकाश हिङमाङ, कमल कार्की, छत्रवहादुर प्रधान र जाहेरवाला तथा पीडितको आमा राममायाले गरेको बकपत्र मिसिल संलग्न रहेको ।
प्र. सरोज लगायतका व्यक्तिहरूले १५ वर्षकी उमाकुमारीलाई सामूहिक जबरजस्ती करणी गरेको ठहर्छ, प्रतिवादी सुरज बिश्वकर्मा, अर्जुन बिश्वकर्मा र शंकर शिवाले प्रस्तुत मुद्दाबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको मिति २०६२।३।१६।५ को फैसला ।
शंकाको आधारमा जाहेरी परेको, जाहेरीको व्यहोरालाई समर्थन हुने वस्तुनिष्ट आधार प्रमाण केही नभएको, पीडितको उमेर जन्मदर्ताबाट यकिन गर्नुपर्नेमा सो नगरिएको, प्रहरीमा भएको कागज स्वेच्छाले नभएको अवस्थामा समेत मलाई कसूरदार कायम गरी सजाय गर्ने गरेको शुरु फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सरोज हिङमाङको तर्फबाट पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदनपत्र ।
पीडित उमाकुमारीलाई सरोज हिङमाङ समेत भै सामूहिक जबरजस्ती करणी गरेको भनी शुरु अदालत निचोडमा पुगी सकेको कारणले दावीअनुसारको सामूहिक जबरजस्ती करणी भएको तथ्य पुष्टि भएको, प्रत्यर्थी प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा कसूरमा सावित रही बयान गरेको, सो बयान निजहरूको इच्छा विरुद्धको नभएको, प्रत्यर्थी प्रतिवादीहरू जस्तै मौकामा सावित रहने सरोज हिङमाङलाई सोही बयान समेतका आधारमा कसूरदार कायम गरिएको, सामूहिक जबरजस्ती करणी भएको अवस्थामा सरोज हिङमाङले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफू कसूरमा सावित भई प्रत्यर्थी प्रतिवादीहरूलाई पोल गरेको र निजहरूको मौकाको स्वईच्छाले गरेको बयानसमेत प्रमाणित भईरहेको अवस्थामा प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग दावीबाट सफाई दिने ठहराई भएको शुरु फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा केही उल्टी गरी प्रतिवादीहरूलाई दावीअनुसार सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदनपत्र ।
शुरु जिल्ला अदालतबाट सामूहिक बलात्कारमा सजाय गरेको, पीडित उमाकुमारीले आफ्नो बाबु समेतको रोहवरमा गरेको कागजमा शंकर शिवालाई समेत चिनेको भनी उल्लेख गरी प्रतिवादीहरूलाई सनाखत समेत गरेको र प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्ष एक अर्कालाई पोल समेत गरी सावित भएको समेत देखिई शुरुको फैसला फरक पर्न सक्ने देखिदा अ.वं.२०२ नं. बमोजिम विपक्षीहरूलाई झिकाई पेश गर्नु भन्ने समेत बेहोराको पुनरावेदन अदालतको मिति २०६३।३।१ को आदेश ।
यसमा जाहेरवाला कालुराम पीडिताकी आमा कमला एवं पीडिता उमाकुमारीले अदालतमा उपस्थित भै प्र.सरोज हिङमाङले जबरजस्ती करणी गरेको कुरालाई किटान गरी अन्य प्रतिवादीहरूका बारेमा केही भनेको थिएन किन लेखाए थाहा भएन भनी बकपत्र गरेको, सहअभियुक्त सरोज हिङमाङ अदालतमा बयान गर्दा इन्कार रहेको हुँदा निजले गरेको मौकाको बयानमा विश्वास गर्न मिल्ने अवस्था नभएकोले प्र. मध्येका सुरज विश्वकर्मा अर्जुन विश्वकर्मा, शंकर शिवाका हकमा फौजदारी न्यायको सिद्धान्तका आधारमा शंकाको सुविधा पाउने हुँदा शुरुले सफाई पाउने ठहर गरेको इन्साफ मनासीव देखियो । सरोज हिङमाङको हकमा विचार गर्दा जाहेरी दरखास्त र पीडिताको मौकाको कागजमा किटानीसाथ नाम उल्लेख भएको, मेडिकल रिपोर्टबाट करणी भएको समर्थित रहेको हुँदा प्रतिवादी सरोज हिङमाङले गरेको इन्कारी बयान सत्य साँचो मान्न मिलेन । सामूहिक बलात्कारतर्फ हेर्दा अन्य व्यक्ति को हुन् जाहेरवाला एवं पीडिता स्वयंले भन्न नसकेको, घा जाँच रिपोर्ट हेर्दा ६ जनाको सामूहिक बलात्कारको चिन्ह नदेखिएको र अन्य प्रतिवादी सुरज विश्वकर्मा, अर्जुन बिश्वकर्मा, शंकर शिवा समेतले सफाई पाइसकेको हुँदा मुलुकी ऐन जबरजस्ती ३(क) आकर्षित हुनसक्ने अवस्था भने देखिदैन । प्रतिवादी सरोज हिङमाङले पेश गरेको जन्मदर्ताबाट निज वारदात हुँदा १७ वर्ष पुगी सकेको देखिन आएको हुँदा निजलाई नावालक भन्न नमिलेकोले जबरजस्ती करणीको १ नं. को कसूर कायम गरी ऐ. को ३(३) बमोजिम सजाय गर्नुपर्नेमा सोबमोजिम नगरी ऐ. को ३(२) र ३(क) नं. बमोजिम हुनेगरी सजाय गरेको हदसम्म शुरु फैसला नमिलेको हुँदा केही उल्टी हुने र निजलाई ऐ को ३(३) बमोजिम तजवीजी ५ बर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०६३।८।७ को फैसला ।
प्रतिवादी सरोज हिङमाङसमेत भई सामूहिक रुपमा जबरजस्ती करणी गरेको वारदात कसूर सम्बन्धमा प्रतिवादी सरोज हिङमाङले आफू सावित रही अन्य प्रतिवादीहरूलाई सम्पूर्ण घटनाक्रम उल्लेख गरी पोल गरेको कुरा नेकाप २०४२ नि.नं. २२६६ पृष्ठ १४४ नेकाप २०४४ नि.नं. ३०६० पृष्ठ ४३० र नेकाप २०४८ नि.नं. ४२६९ पृष्ठ १०० का मुद्दामा प्रतिपादित कानूनी सिद्धान्तले प्रमाण योग्य भएको र प्रतिवादी सुरज, अर्जुन र शंकर शिवा अधिकारप्राप्त अधिकारीसमक्ष आरोपित कसूरमा घटना विवरण उल्लेख गर्दै सावित भएको कुरा नेकाप २०४३ नि.नं. २०६३ पृष्ठ ५८४ नेकाप २०४९ नि.नं. ४५३९ पृष्ठ ४६८८ मा प्रतिपादित कानूनी सिद्धान्तले प्रमाणमा लिनुपर्ने, प्रतिवादीहरूको साविती बयानलाई घटनास्थल मुचुल्का, पीडितको कागज एवं सनाखत, पीडिताकी आमा कमलाको कागज र पीडिताको शारीरिक परीक्षण तथा प्रतिवादी सरोज हिङमाङको पोल समेतले समर्थन गरेको अवस्थामा प्रतिवादीहरू शंकर विश्वकर्मा, अर्जुन विश्वकर्मा र शंकर शिवालाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण छ । त्यस्तै पीडिता उमाकुमारीले बकपत्र गर्दा मलाई जबरजस्ती करणी गर्ने ७ जना हुन भनी उल्लेख गरेको कमलाले बकपत्र गर्दा “सरोज हिङमाङ समेतले जबरजस्ती करणी गरे भनी छोरीले भनेकी” भनी लेखाइदिएको र सोबाट पीडितालाई प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानबमोजिम सामूहिक जबरजस्ती करणी गरेको पुष्टि भएको हुँदा जबरजस्ती करणीको ३क. नं.आकर्षित हुनेमा प्र. सरोज हिङमाङलाई ऐ.को ३.३ नं. बमोजिम मात्र सजाय गरेको नमिलेकोले त्रुटिपूर्ण हुँदा सो हदसम्म पुनरावेदन अदालतको फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरी प्रतिवादीहरूको आधा अंश सर्वश्व गरी पीडितालाई दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।
यसमा प्रत्यर्थी प्रतिवादीहरू सबैउपर जाहेरवालाले किटानी पोल गरी जाहेरी दरखास्त दिएको, अधिकारप्राप्त अधिकारीसमक्ष कसूरमा सबै प्रतिवादी सावित रहेको र पीडिताले मौकैमा सबै प्रतिवादीहरूलाई पोल गरेको तथा जबरजस्ती करणी भएको कुरा पीडिताको शारीरिक परीक्षणबाट पुष्टि भैसकेको समेतबाट सामूहिक वलात्कारको वारदात कायम नगरि प्र. मध्येका सरोज हिङमाङलाई अभियोग दावीभन्दा कम सजाय गरेको र अन्य प्रत्यर्थी प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला प्रमाण मूल्याङ्कनको परिप्रेक्ष्यमा फरक पर्न सक्ने हुँदा छलफलका लागि अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थीहरूलाई झिकाई उपस्थित भएपछि वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालतको आदेश ।
नियमबमोजिम पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारकोतर्फबाट विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदीले वारदात मिति, रातको १२ बजेको समयमा घरमा सुतेका अवस्था परिवारहरू बाबुआमालाई नियन्त्रणमा लिई वाँधछाँद गरी पीडितालाई उठाई लगेर सामूहिक वलात्कार गर्ने प्रतिवादीहरू ७ जना मध्ये प्रत्यर्थीहरू ४ जना पक्राउ परेका र निजहरूले मौकामा बयान गर्दा आरोपित कसूरमा सावित रही परस्पर पोलापोल गरेका छन् । पीडिताले ७ जनाले करणी गरेको भनी मौकामा गरेको कागजलाई पीडिताको शारीरिक परीक्षण प्रतिवेदन समेतले समर्थित गरेको अवस्था छ । पीडिताले अदालतमा बकपत्र गर्दा सरोज हिङमाङलाई मात्र चिने अरुलाई चिनिन भने पनि घटनास्थल प्रकृति मुचुल्का, पीडिताको परीक्षण प्रतिवेदन र निजलाई थप उपचारको लागि अस्पतालमा भर्ना गर्नुपरेको स्थिति समेतका आधारमा प्रतिवादीहरूले सामूहिक जबरजस्ती करणी गरेको स्थापित भैरहेको अवस्था छ । प्रतिवादीहरूले पीडितालाई जबरजस्ती करणी नगरेको भए निजहरू उपर जाहेरवालाले किटानी जाहेरी दिनुपर्ने सम्मको कुनै आधार कारण समेत देखिदैन । प्रतिवादीहरूले अदालतमा गरेको इन्कारी बयान मिसिल प्रमाणबाट स्थापित हुन नसकेको अवस्थामा निजहरूलाई अभियोग दावीबमोजिम जबरजस्ती करणीको ३क. र ३(३) नं. बमोजिमको कसूरदार ठहराई सजाय गर्नुपर्नेमा प्र. सरोज हिङमाङलाई ऐ को ३(३) नं. बमोजिम मात्र सजाय गरी अन्य प्रत्यर्थीहरू सुरज विश्वकर्मा, अजुर्न विश्वकर्मा र शंकर शिवालाई सफाई दिएको शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा सोहदसम्म उल्टी गरी सबै प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम कसूरदार ठहराई सजाय गरिपाउँ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
त्यस्तै प्रत्यर्थी सरोज हिङमाङका तर्फबाट विद्वान वैतनिक अधिवक्ता राजन अधिकारीले ७ जना वयस्क व्यक्तिहरूले जबरजस्ती करणी गर्दाका लक्षणहरू पीडिताको शारीरिक परीक्षण प्रतिवेदनबाट नदेखिंदा पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
त्यस्तै प्रत्यर्थी शंकर शिवाको तर्फबाट विद्वान अधिवक्ता रामकुमार राई र सफाई पाएका प्रत्यर्थीहरू सबैको तर्फबाट विद्वान अधिवक्ता द्रोण दाहालले प्रतिवादी शंकर शिवासमेतको हकमा किटानी जाहेरी छैन । पीडिताको ठाडो कागज र बकपत्रमा एकरुपता छैन । प्रतिवादीहरूको अनुसन्धानको बयानको भरमा मात्र कसूरदार ठहराउन नमिल्ने हुँदा शुरु र पुनरावेदन अदालतले समग्र मिसिल प्रमाणको समूचित मूल्याङ्कन गरी पक्ष प्रतिवादीलाई सफाई दिने ठहराएको फैसला मिलेकै हुँदा सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
दुबैतर्फका विद्वान सहन्यायाधिवक्ता तथा विद्वान अधिवक्ताहरूले प्रस्तुत गर्नुभएको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा निम्नलिखित प्रश्नहरूको निर्णय निरोपण गर्नुपर्ने देखियो ।
(क) पीडितालाई जबरजस्ती करणी गरेको छ– छैन ? गरेको भए क–कसले गरेका हुन ? प्रतिवादी सरोज हिङमाङले एक्लै गरेको हो की सबै प्रतिवादीहरूले सामूहिक जबरजस्ती करणी गरेका हुन ?
(ख) पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला मिलेको छ–छैन ? पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्ने हो–होईन ?
२. प्रथम प्रश्नतर्फ विचार गर्दा प्रतिवादीहरू सरोज हिङमाङ सुरज वि.क., शंकर शिवा, अर्जुन वि.क.ले पीडिता उमाकुमारीलाई सामूहिक जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीहरूलाई जबरजस्ती करणीको महलको ३(२) नं. बमोजिम तथा सामूहिक रुपमा अपराध गरेकोमा सोही महलको ३क नं. बमोजिम थप सजाय समेत गरी सोही महलको १० नं. बमोजिम आधा अंश सर्वश्व गरी पीडितालाई दिलाई भराई पाऊँ भन्ने अभियोग दावी रहेको प्रस्तुत मुद्दामा मिति २०६१।८।२३ गते राति प्रतिवादी सरोज समेतका व्यक्तिले पीडितालाई घरबाट उठाई लगी जबरजस्ती करणी गरेको भनी कालुरामको जाहेरी परेको देखिन्छ । पीडिताको शरीर जांचेको मिसिल संलग्न प्रतिवेदन हेर्दा दुवैतर्फका स्तनमा कोतरिएको साना घाउ निलहरू भएको , योनीको भागमा समेत कोतरिएको च्यातिएको , कन्याजाली टुटेको (Bilaterally multiple bruises present on breasts,vulva-5 mm tear on posterior ,Hyman-Brush & small area of abrasion (2-3mm)Hyman torn) भन्ने देखिन आएकोले उल्लिखित तथ्य र बिवरणहरू तथा प्रतिवादीमध्येका सरोज हिङमाङलाई शुरु जिल्ला अदालतले जबरजस्ती करणीको कसुरदार ठहर्याएको फैसला पुनरावेदन अदालतबाट सदर भएको स्थितिमा निजले सोउपर पुनरावेदन नगरी चित्त बुझाई बसेको स्थितिको आधारमा पीडिता उपर जबरजस्ती करणी भए गरिएको मान्नुपर्ने हुनआयो ।
३. अब पीडितालाई को को भै करणी गरेका हुन् प्रतिवादी सरोज हिङमाङले एक्लै गरेको हो की सबै प्रतिवादीहरूले सामूहिक जबरजस्ती करणी गरेका हुन ? भन्ने सन्दर्भमा विचार गर्दा मिति २०६१।८।२३ को राति बाहिर ढोका ढकढक गरेको सुनी जाहेरवालाले को हो भनी सोध्दा हामी गस्ती हौं भने र बत्ती बाल्दा प्रतिवादी सरोज हिङमाङले बत्ती निभा भनी डर त्रास देखाई अन्य प्रतिवादी समेत भै पीडितालाई बाहिर लगेर करणी गरी अचेत अवस्थामा घरको बरण्डामा ल्याएर छोडे भन्ने समेत पीडिताको बाबु कालुरामको जाहेरी व्यहोरा देखिन्छ । सो जाहेरी दरखास्तमा पीडिताले आफूलाई अन्याय गर्नेलाई देखे चिनेकी भए छुट्टै बयान दिने नै छ भन्ने समेत उल्लेख भएको, उक्त जाहेरी व्यहोरालाई आफूले भनेर लेखाएको भनी जाहेरवालाले अदालतसमक्षको बकपत्रमा समर्थन गरेका छन्। पीडिताले प्रतिवादीमध्येको शंकर शिवालाई उक्त वारदातमा आफूले लगाएको पेन्टी खोलीदिई पहिला जबरजस्ती करणी गर्ने को रुपमा पहिचान गरी तथा प्रतिवादी मध्येको सरोज हिङमाङलाई आफ्नो घरभित्र पसी मुख थुनी दिई बोकी वारदात स्थलमा लगी करणी गर्ने व्यक्तिका रुपमा किटान गरी प्रहरी कार्यालयमा सिविन हेल्प लाईन विराटनगरका प्रतिनिधी समेतको रोहवरमा सनाखत गरी दिएको पाइयो । त्यस्तै निज पीडिताले अनुसन्धान अधिकृत समक्ष गरेका ठाडो कागज हेर्दा निजले मिति २०६१।८।२३ गते घरमा मस्त निन्द्रामा सुतेको अवस्था राति सुतेकै ठाउंमा एक्कासी मुख थुनी मलाई नानी बोके जस्तो बोकेर घरदेखी उत्तर चर्पी छेउ पुर्याएपछि निजहरूले ल्याएको कपडा भुईमा ओच्छ्याएर मलाई उत्तानो पारी सुताएपछि एकजनाले यो कुरा भनिस् भने मार्छु भन्दा उक्त भन्ने सरोज हिङमाङलाई स्वरबाट चिनें । मलाई पहिला हातखुट्टामा ३ जनाले थिचे र तत्काल नचिनेका हाल नाम थाहा पाएका शंकर शिवाले मैले लगाएको पेन्टी खोलेर पहिला करणी गरे, त्यसपछि नचिनेका एकजनाले र तेस्रामा सरोज हिङमाङले करणी गरे, त्यसपछि पालैपालो ७ जनाले करणी गरे ७ जनाले करणी गरेपछि मलाई केही थाहा भएन म बेहोस भएछु, बिहान होस आउंदा घर बाहिर सिकुवामा थिएं भनी प्रतिवादीहरू सरोज हिङमाङ सुरज वि.क., शंकर शिवा, अर्जुन वि.क. को उक्त वारदातमा संलग्नता र भूमिकालाई स्पष्ट रुपमा व्यक्त गरेको पाइन्छ ।
४. प्रतिवादीहरूले अदालतमा बयान गर्दा आरोपित कसूरमा इन्कार रहेको भएपनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा प्रतिवादी सरोज हिङमाङले पीडितका बाबु आमालाई कुटपीट गरी घरमा ढोका लगाई थुनी केटीलाई बोकी घरको उत्तरतर्फ खेतमा लगी पहिले शंकर शिवा, दोस्रो छोटना मुसहर र तेस्रोमा आफूले करणी गरेको र त्यसपछि अन्य केटाहरूले पालैपालो एकएक पल्ट करणी गरेको, पीडितालाई घटनास्थलमा नै नछोडी घर ल्याएर छोडनाको कारण वारदातस्थल थाहा नहोस् भनी करणी पश्चात् घरमा ल्याई छाडेको भनी कसूरमा सावित भई बयान गरेको देखिन्छ । त्यस्तै अर्का प्रतिवादी अर्जुन वि.क.ले गरेको बयानमा केटीले लगाएको पेन्टी शंकरले खोली भूईमा लडाई सुताई शंकरले पहिला करणी गर्दा अरु प्रतिवादीहरूले हात, खुट्टा र टाउको समाएका, दोस्रोमा सरोज र क्रमशः छोटना, छोटनाको साथी सुरज वि.क. अन्तिममा आफूले करणी गरेको भनी उल्लेख गरेका छन् । सोही व्यहोराको बयान गर्दै शंकर शिवाले पहिला आफूले र त्यसपछि अन्य साथीहरूले सामूहिक करणी गर्दा केटी वेहोस भएकीले सो ठाउँबाट उठाई निजको घरमा लगि छाडेको भन्ने र अर्का प्रतिवादी सुरज वि.क. ले गरेको बयानमा पहिला शंकर, छोटना सरोज पश्चात् केटीलाई उठ्न नदिइकन पालैपालो सामूहिक करणी गरेको भनी करणी गर्नेको क्रमता समेत उल्लेख गरी सबै प्रतिवादीहरूले एक आपसमा पोल गरी बयान गरेका छन् । प्रतिवादीहरूले अदालतमा बयान गर्दा अनुसन्धान अधिकारीसमक्ष भएको उक्त बयान आफूले भने बमोजिम लेखिएको नभै प्रहरीको चरम यातनाका कारण डर त्रासमा परी सहिछाप गरेको हो भनी जिकीर लिई बयान गरेता पनि प्रहरीले निजहरूलाई कुटपीट गरी यातना दिई निजहरूको ईच्छा विपरीत सहिछाप गराएको भए सोसम्बन्धमा तत्काल वा हिरासतमा राख्न म्याद थपको लागी अदालतसमक्ष उपस्थित गराउँदाका अवस्थामै सो कुराको जिकीर लिई निवेदन दिई शारीरिक जांच गराई माग्नु स्वाभाविक हुनेमा सो केही भए गराएको पाइदैन ।
५. प्रतिवादीहरूले आफ्नो निर्दोषिताको प्रमाण स्वरुप केही साक्षीहरूलाई अदालतमा बकपत्र गराएको देखिन्छ । प्र. सरोज हिङमाङको साक्षी प्रकाश हिङमाङले गरेको बकपत्रको स.ज. १० मा प्र सरोज मेरो काकाको छोरा भाइ पर्दछ भनी उल्लेख भएको, त्यस्तै स.ज.५मा मिति २०६१।८।२३ गते राति म र सरोज हिङमाङ भाइसमेत बडी आमाको घर नजिकै हुंदा त्यहीं गफगाफ गरी राति १२ बजे तिर सुतेका हौं भनी उल्लेख भएको पाईन्छ जबकी प्रतिवादी सरोज हिङमाङ स्वयंले आफ्नो बयानमा सो रात निज प्रकाश हिङमाङसंगै सुतेको भनी उल्लेख गर्न नसकी स.ज.३ मा म बडी आमैले पकाएको भात मैले र बहिनी समेतले खाई सुतेको हो भनी उल्लेख गरेको पाईदा दुवैको बेहोरा आपसमा विरोधाभाषपूर्ण देखियो । त्यस्तै प्र. सरोज र अर्जुन वि.क.का साक्षी छत्रबहादुर प्रधानले गरेको बकपत्रमा निज दुई जनालाई राति १० बजेसम्मै भरौल गाउंमा देखेको हुं, त्यसपछि म सुतेको हुं भनी उल्लेख भएको पाइन्छ । तर निज साक्षीले राति १० बजे उपरान्त प्रतिवादीको क्रियाकलापका बारेमा यकीन रुपमा कुनै कुरा व्यक्त गर्न सकेको नदेखिदा रातको १२ बजे भएको घटना वारदात सम्बन्धमा निजको बकपत्रले प्रतिवादीहरूलाई कुनै मद्दत पुर्याउन सक्ने भएन किनभने जबरजस्ती करणीको वारदात १२ बजे राति घटित भएको छ, त्यस समयमा प्रतिवादीहरू आफ्नो गाउंघरबाट वारदात स्थलमा जान सक्ने अवस्था देखिन्छ । त्यस्तै प्र. शंकर शिवाको साक्षी कमल कार्कीले गरेको बकपत्रको स.ज. ६ मा शंकरको हजुरआमालाई ब्रेन हेमरेज भएको थियो, शंकर ८ बजे राति त्यहीं थियो र त्यहीं सुतेको थियो भनि बकपत्र गरेको देखिन्छ । प्र. शंकर शिवाको हजुरआमाको ब्रेन हेमरेज भएको र सो अवस्था आफू समेत निजको घरमा गै सो राति प्र. संगै सुतेको भनी निज प्र. का साक्षी कमल कार्कीले बकपत्रमा उल्लेख गरे पनि प्र शंकर शिवा स्वयंले अदालतसमक्ष बयान गर्दा तत्सम्बन्धमा कुनै कुरा उल्लेख नगरेका अवस्था र ब्रेन हेमरेज भएको कुनै प्रमाण पेश गर्न नसकेको स्थितिमा निज साक्षीको सो भनाई प्रतीतलायक र भरपर्दो देखिएन । त्यस्तै प्र.अर्जुन वि.क.ले वारदात मिती २०६१।८।२३ का दिन आफनो स्कुलमा दिन भरी अध्ययन गरी त्यस पछि आफ्नो घर मा गै सो रात आफ्नै घरमा सुतेको भनी बयानको स.ज. ४ मा लेखाएकोमा निज समेतका साक्षी छत्रबहादुर प्रधानले निज प्रतिवादी उक्त दिन स्कुल छुट्टि भएपछि मेरै आफ्नै (छत्रबहादुर प्रधानको) खमारमा दाउनी गर्न बसी बेलुकी १० बजेको समयमा आफ्नो घरमा गै सुतेको भनी बकपत्रको स.ज.४ मा लेखाई दिएको देखिन्छ । यसरी प्रतिवादीले वारदात मितिको दिनचर्या सम्बन्धमा एकारुपमा व्यक्त गरेको कुरालाई निज स्वयंको साक्षीले पृथक रुपमा व्यक्त गरी बकपत्र गरेको पाइएबाट दुवैको सो व्यहोरा परस्परमा विरोधाभाषयुक्त देखियो । प्रतिवादीलाई किन मुद्दा लगाई पोले मलाई थाहा छैन, साथै प्रतिवादीहरूलाई कुटपीट गरी साबिती गराएको भनी सबै प्रतिवादीका साक्षीले आ–आफ्नो बकपत्रमा उल्लेख गरेको भए तापनि वस्तुुनिष्ठ तथ्य र प्रमाणबाट सो कुरा समर्थित हुन सकेको पाईएन । पीडिताले मौकामा गरेको कागजबमोजिम नै प्रतिवादीहरूले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने तथ्य निज प्रतिवादीहरूले अनुसन्धानको क्रममा गरेको बयान व्यहोरासँग हुवहु मेल खान आएको स्थिति एकातर्फ छ भने अर्कोतर्फ प्रतिवादीहरूको अदालतसमक्षको बयान एवं निजका साक्षीहरूको बकपत्र तथ्ययुक्त, तर्कसंगत र भरपर्दोे देखिन नआएको र प्रतिवादीहरूले आफ्नो जिकीर ठोस र तथ्ययुक्त सबूद प्रमाण समेतबाट समर्थन गराउन नसकेको अवस्थाको विधमानताको अवस्था हुंदा निजहरूको अधिकारप्राप्त अधिकारीसमक्षको सो बयान निजहरूको स्वेच्छाको साविती बयान हो र सो बयान कुनै शारीरिक यातना वा डरत्रास वा दवावमा परी गरिएको होइन भनी सहज अनुमान गर्न सकिन्छ । तसर्थ प्रतिवादीहरूको उक्त बयान प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) ले निज प्रतिवादीहरू विरुद्ध प्रमाणमा लाग्ने नै देखियो ।
६. अब अभियोजक पक्षबाट प्रतिवादीहरू मुलुकी ऐन, जबरजस्ती करणीको ३(क) र ३(२) नं समेतको मागदावी रहेकोमा तत्सम्बन्धमा के कस्तो अवस्थामा जबरजस्ती करणी गरेको मानिने भन्ने सम्बन्धमा मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा भएको व्यवस्था हेर्दा “कसैले कुनै महिलालाई निजको मञ्जूरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जूरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ” भन्ने उल्लेख भएको र सोही नं. को स्पष्टीकरण (क) मा “डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मञ्जूरीलाई मञ्जूरी मानिने छैन” ऐ. (ख) मा “होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जूरीलाई मञ्जूरी मानिने छैन” र ऐ, (ग) मा “योनीमा लिङ्ग मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिनेछ” भनी उल्लेख भएको पाइन्छ । त्यस्तै जबरजस्ती करणीको ३(२) मा भएको व्यवस्था हेर्दा दशबर्ष वा सोभन्दा बढी सोह्र वर्ष मुनीको बालिकालाई जबरजस्ती करणी गर्ने व्यक्तिलाई हुने कैद सजाय संग संबन्धित रहेको पाईन्छ । त्यस्तै जबरजस्ती करणीको ३ क. मा भएको व्यवस्था हेर्दा “महिलालाई सामूहिक रुपमा जबरजस्ती करणी गर्ने वा गर्भवती, असक्त वा अपाङ्ग महिलालाई जबरजस्ती करणी गर्नेलाई यस महलमा लेखिएको सजायमा थप पाँचवर्ष कैद गर्नुपर्छ” भनी सामूहिक रुपमा जबरजस्ती करणीको कसूरलाई थप दण्डनीय बनाएको देखिन्छ ।
७. उपरोक्त कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा मिसिल संलग्न रहेको पीडिता उमाकुमारीको जन्मदर्ता प्रमाणपत्रमा निजको जन्ममिति २०४४।७।१५ उल्लेख भएको पाईएबाट वारदात मिति २०६१।८।२३ मा निजको उमेर १७ वर्ष पुगिसकेको देखिन्छ । प्रस्तुत वारदातको प्रकृति हेर्दा यी प्रतिवादीहरू सरोज हिङमाङ, अर्जुन वि.क., शंकर शिवा र सुरज विश्वकर्माले पीडितालाई निजको परिवारकोसाथ टुटाई रातको समयमा घरबाट बाहिर एक निर्जन स्थानमा लगी पालै पालो जबरजस्ती करणी गरेको भन्ने तथ्य पीडिताको भनाई एवं मौकामा सावित भई बयान गर्ने सरोज हिङमाङ, अर्जुन वि.क., शंकर सिवा र सुरज विश्वकर्मा समेतले उल्लेख गरेको र सो तथ्य मेडिकल रिर्पोट समेतबाट समर्थित हुन आएको छ । जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडिता हुन् । आफूमाथि भएको एक पाशविक अपराध जो कहिल्यै क्षम्य हुँदैन त्यस्तो अपराधमा सरिक अभियुक्तहरूको क्रमता उल्लेख गरी मौकामा गरेको कागज, प्रतिवादीहरूलाई देखी चिनी पीडितले गरेको सनाखत अधिकारप्राप्त अधिकारीसमक्षको कागज एवं बकपत्र समेतबाट वारदातको वास्तविक उजागर गरेको स्थिति छ । प्रमाणको अर्को कडी भनेको पीडितको शारीरिक परीक्षण हो । परीक्षणबाट पीडिता उमाकुमारीको कन्याजाली (Hymen) च्यातिएको भन्ने देखिन्छ । यस्तो स्थितिमा प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गर्नु मात्र निर्दोषिता ठहर हुने आधार बन्न सक्दैन । पीडितको मौकाको कागज, सनाखत कागज र बकपत्र, जाहेरवाला र मौकामा बुझिएका व्यक्तिको भनाई, पीडिताको शारीरिक परीक्षण अनुसन्धान अधिकारीसमक्ष कसूरमा एकआपसमा पोल गरी गरेको साविती बयान लगायतका सम्बद्ध प्रमाणहरूबाट सामूहिक जबरजस्ती करणीको वारदात स्थापित भएको र सोमा प्रतिवादीहरूको संलग्नतालाई पुष्टि गरिरहेको अवस्थामा सो प्रमाणलाई बाहेक गरी प्रतिवादीहरूको अदालतको इन्कारी बयानलाई मात्र निर्दोषिताको आधार बनाई वास्तविक अपराधीलाई अभियोग दावीबाट सफाई दिदै जाने हो भने समाजमा दण्डहीनताको स्थिति सिर्जना हुनजान्छ ।
८. प्रस्तुत मुद्दामा प्रतिवादीहरूद्वारा पीडिताका घरका परिवारलाई नियन्त्रणमा लिई निजहरूको हातखुट्टा बाधी घरभित्र थुनी बाहिरबाट ढोकाको चुकुल लगाई त्यसपछि पीडितालाई अभिभावकको साथ टुटाई निर्जन स्थानमा लगी बलात्कार गरिएको छ । वारदात घटाउने ७ जनाको समूह रहेको भन्ने तथ्य पीडितको भनाई, जाहेरी व्यहोरा र स्वयं यी प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको भनाई समेतबाट खुल्न आएको छ । घटनास्थल प्रकृति मुचुल्का हेर्दा धान काटेको स्थानमा धानका ठोसाहरू सबै मडारिएको, वरिपरिको झार माटो आदि हेर्दा धेरै संघर्ष गरेको देखिएको, घटनास्थल वरिपरि ५।७ जना हिंडेको जस्तो देखिने भन्ने उल्लेख भएबाट वारदातमा धेरै व्यक्तिहरूको उपस्थिति रहेको भन्ने देखिनआउँछ । घरका धेरै परिवारका सदस्यलाई एक्लैले नियन्त्रणमा लिई पीडितलाई उठाई लानसक्ने अवस्था नै रहदैन । धेरै जना मिली डाँका समेत गरी छोरी समेतलाई करणी गर्ने सल्लाह गरी घर घेरा हाली घरमा धनमाल नभेटाएपछि छोरीलाई जबरजस्ती काँधमा राखी खेतमा लगी करणी गरी बेहोस अवस्थामा घरमा ल्याई छाडेको स्थितिमा एकजना प्रतिवादी सरोज हिङमाङले मात्र जबरजस्ती करणी गरेको ठहर गरी अन्य प्रतिवादी अर्जुन वि.क., सुरज वि.क. र शंकर शिवालाई आरोपित कसूरबाट सफाई दिएको पुनरावेदन अदालतको फैसलामा प्रमाणहरूको यथोचित मूल्याङ्कन गरेको देखिएन । त्यसैले एकजना प्रतिवादी सरोज हिङमाङ मात्रले कसूर गरेको कुराको प्रमाण प्रतिवादीहरूले पुरयाउन सकेको नदेखिई वादी पक्षबाट यी प्रतिवादीहरूले पीडितालाई सामूहिक बलात्कार गरेको भन्ने उपरोक्त विभिन्न कडीबद्द प्रमाणबाट पुष्टि हुन आएकोले सामूहिक जबरजस्ती करणी भएको देखियो ।
९. प्रतिवादीहरू अर्जुन वि.क., सुरज वि.क. र शंकर शिवालाई अभियोग दावीबाट सफाई दिदा पुनरावेदन अदालतले पीडिता र पीडिताकी आमाले अन्य प्रतिवादी सरोज हिङमाङ बाहेक अन्य प्रतिवादीको बारेमा केही भनेको थिईन किन लेखाए थाहा भएन भनी अदालतमा गरेको बकपत्रको केही अंशलाई मात्र आधार लिएको पाइन्छ । तत्सम्बन्धमा निजहरूले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज हेर्दा पीडिताले गरेको कागज निजका बाबु कालुराम र सिविन हेल्प लाईन विराटनगरमा कार्यरत मञ्जू क्षेत्रीसमेतको रोहवरमा भएको सो कागजबाट देखिन्छ । सो कागज गर्ने र रोहवरमा बस्ने तिनै जनाले बाकायदा दस्तखत समेत गरेको देखिन्छ । प्रहरीमा उक्त कागज गर्दा को अवस्थामा बुबा, काका र सिविन हेल्प लाईनको दिदी हुनुहुन्थ्यो, सहिछाप समेत मेरै हो भनी बकपत्रमा स्वीकार गरेको छ । प्रहरीले पीडिताले भन्दै नभनेको कुरा निजको ठाडो कागजमा लेखाई त्यसमा पीडिता र रोहवरमा बस्ने उल्लिखित व्यक्तिहरूको सहिछाप गराउनु पर्ने सम्मको कारण र प्रयोजनसमेत निजहरूको बकपत्रबाट देखिदैन भने अर्कोतर्फ निज पिडितले आफूलाई पहिला करणी गर्ने व्यक्तिको रुपमा सनाखत गरको र सो कागजमा समेत पीडिताका बाबु र सिविन हेल्प लाईनकी मञ्जू क्षेत्री रोहवरमा रहेको पाइन्छ । यसरी सम्पूर्ण प्रतिवादी हरूलाई किटान गरी पीडिताले आफ्ना बाबु समेतका उल्लेखित व्यक्तिहरूको रोहवरमा अधिकारप्राप्त अधिकारीसमक्ष कागज गरेको अवस्थामा पछि आएर अदालतमा प्रतिवादी सरोज हिङमाङ बाहेकका अन्य प्रतिवादीहरूलाई सफाई दिने बकपत्र गर्दैमा सोही बकपत्रलाई आधार मानी प्रतिवादीहरूको अनुसन्धान अधिकारीसमक्षको स्वीकारोक्ति र चिकित्सकीय प्रतिवेदन लगायतका मिसिल संकलित सबूद प्रमाणको प्रतिकूल हुने गरी सामूहिक जबरजस्ती करणी नै भएको होइन भनी निष्कर्शमा पुग्नु न्यायोचित हुदैन । यसै सन्दर्भमा “फौजदारी मुद्दामा अभियुक्तले अपराध गरेको हो कि होईन भन्ने तथ्यगत सबूदहरूको आधारमा निर्णय गर्ने कुरा हो, अपराधीलाई बचाईदिने नियतले स्वयम् पीडित लगायत कसैले बयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ताले निर्णय दिंदा कसैले सफाई दिने बयान दिंदैमा अभियुक्त निरअपराध ठहर गर्नुपर्ने वा अभियुक्त विरुद्द बयान दिंदैमा अपराधी ठहरिनै पर्ने भन्न सकिन्न । व्यक्तिको बयानलाई सबूदैको रुपमा मात्र लिन सकिन्छ, तर अकाट्य प्रमाण मान्न नसकिने ”(नेकाप २०६१, अङ्क ७, नि.नं.७४११, पृ.८९३ नेपाल सरकार विरुद्द श्याम माझी, जबरजस्ती करणी) भनी सिद्धान्त प्रतिपादन भइसकेको हुँदा उक्त सिद्धान्त यस मुद्दामा आकर्षित हुने नै देखियो । माथि विवेचित प्रमाणहरू अन्यथा हुन भनी युक्तियुक्त र तर्कसंगत रुपले प्रतिवादीहरूले खण्डन गर्न सकेको पाइदैन । त्यसकारण प्रतिवादी विरुद्ध कसूर स्थापित हुने यथेष्ट सवूद एवं स्वतन्त्र प्रमाण मौजूद रहेको र प्रतिवादीहरू सरोज हिङमाङ, अर्जुन वि.क., सुरज वि.क. र शंकर शिवाले सामूहिक जबरजस्ती करणीको कसूर गरेको शंकारहित तवरबाट पुष्टि हुन आएको देखिने अवस्था हुंदा सबै प्रतिवादीहरूलाई सामूहिक जबरजस्ती करणीको कसुरदार ठहर्याउनु पर्नेमा प्रतिवादीहरू अर्जुन वि.क., सुरज वि.क. र शंकर शिवालाई अभियोग दावीबाट सफाई दिई प्रतिवादीमध्येका सरोज हिङमाङलाई जबरजस्ती करणीतर्फ मात्र कसूरदार ठहराई सामूहिक करणी नठहर्याएको पुनरावेदन अदालत विराटनगरको फैसला सो हदसम्म मिलेको देखिएन ।
१०. अतः माथि विवेचित आधार प्रमाणबाट अभियोग दावीबमोजिम प्रत्यर्थी प्रतिवादीहरू सरोज हिङमाङ, अर्जुन वि.क., सुरज वि.क. र शंकर शिवाले पीडिता उमाकुमारीलाई मुलुकी ऐन, जबरजस्ती करणी को १ नं. विपरीत जबरजस्ती करणीको कसूर गरेको र वारदात हुंदाका अवस्था पीडिताको उमेर सत्र वर्ष पुगिसकेको देखिंदा निज प्रतिवादीहरूलाई ऐ.को ३(३) नं. बमोजिम जनही तजबिजी ५ वर्ष कैद र सामूहिक रुपमा करणी गरेमा सोही महलको ३क.नं. बमोजिम जनही थप ५ वर्ष कैद समेत जनही १० वर्ष कैद सजाय हुने र सोही महलको १० नं. बमोजिम प्रतिवादीहरूको आधा अंश सर्वश्व गरी पीडिता उमाकुमारीले भराई पाउने ठहर्छ । प्रतिवादी सरोज हिङमाङलाई दावीभन्दा कम सजाय र अन्य प्रतिवादीहरू अर्जुन वि.क., सुरज वि.क. र शंकर शिवालाई अभियोग दावीबाट सफाई दिने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०६३।८।७ को फैसला सोहदसम्म मिलेको नदेखिँदा उल्टी हुन्छ । अरुमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी भई प्रतिवादीहरूलाई जबरजस्ती करणीको महलको दफा ३(३) र ३ क बमोजिम १० वर्ष कैद सजाय हुने ठहरेकोले प्रतिवादीमध्ये सरोज हिङमाङ मिति २०६१।९।२ देखि थुनामा रहेकोमा पुनरावेदन अदालत विराटनगरको मिति २०६३।८।७ को फैसला बमोजिम र सुनसरी जिल्ला अदालतको मिति २०६४।४।२९ को च.नं. ५४७ को पत्रानुसार मिति २०६६।९।१ सम्म कैद म्याद ठेकी २०६६।९।२ देखि कैदमुक्त गरिदिने भनी उल्लेख भई निज प्रतिवादी थुनामुक्त भई गएको देखिदा निजलाई लागेको कैद ५ वर्ष असूल भई बाँकी कैद वर्ष ५ कैद बेरुजु हुँदा लगत कसी असूलउपर गर्नु भनी सुनसरी जिल्ला अदालतमा लेखी पठाउनू ––––– १
प्रतिवादीहरू अर्जुन वि.क., सुरज वि.क. र शंकर शिवालाई जबरजस्ती करणीको महलको दफा ३(३) र ३क बमोजिम जनही १० वर्ष कैद सजाय हुने ठहरेकोले निज प्रतिवादीहरू मिति २०६१।९।५ देखि प्रहरी हिरासत र मिति २०६१।९।१८ देखि पुर्पक्षको लागि थुनामा रहेकोमा सुनसरी जिल्ला अदालतको मिति २०६२।३।१६ को फैसलाबमोजिम सोहि मितिमा थुनाबाट छुटि गएको देखिँदा निज प्रतिवादीहरू थुनामा बसेको अवधी वर्ष ०।६।११ कट्टा गरी बाँकी कैद वर्ष ९।५।१९ कैद बेरुजु हुँदा लगत कसी असूलउपर गर्नु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाउनू २
माथि इन्साफ खण्डमा लेखिएबमोजिम जबरजस्ती करणीको महलको १० नं. बमोजिम प्रतिवादीहरू सरोज हिङमाङ, अर्जुन वि.क., सुरज वि.क. र शंकर शिवाको आधा अंश सर्वश्व गरी पीडित उमाकुमारीले भरी पाउने ठहरेको हुँदा निज प्रतिवादीहरूको आधा आधा अंश अदालतबाटै सर्वश्व गरी पीडिता उमाकुमारीलाई भराइदिनु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखि पठाइदिनू–– ३
यो फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू ––––– ४
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू –––– ५
उक्त रायमा सहमत छु ।
न्या.मोहनप्रकाश सिटौला
इति संवत् २०६७ साल वैशाख २९ गते रोज ४ शुभम् –