निर्णय नं. ८७९३ - ठगी

ने.का.प. २०६९, अङ्क ३
निर्णय नं. ८७९३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
२०६४-CR-०५०९
फैसला मितिः २०६८।१२।२८।३
मुद्दाः– ठगी ।
पुनरावेदक प्रतिवादीः जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं. ८ बस्ने ओमकार भन्ने ओमकुमार श्रेष्ठ
विरूद्ध
प्रत्यर्थी वादीः जिल्ला प्रशासन कार्यालय सिन्धुली समेतको जाहेरीले नेपाल सरकार
शुरू फैसला गर्ने :–
मा.न्या.श्री गिरिशकुमार शर्मा
पुनरावेदन फैसला गर्ने :–
मा.मु.न्या.श्री प्रेम शर्मा
मा.न्या.श्री शारदाप्रसाद घिमिरे
§ ठगी गर्ने र ठगिनेका बीचमा भएको भाखाको तमसुकको लिखतले अन्यथा फौजदारी प्रकृतिको दायित्वलाई देवानी दायित्वमा परिणत गरी जरीवाना तथा कैदको सजायबाट उन्मुक्ति दिने भएकोले भाखाको तमसुक भनिएको उक्त लिखतलाई अन्य कानूनी मान्यता प्राप्त तमसुक सरह स्वतन्त्र रुपमा अदालतले मान्यता दिने र यस्तो लिखतलाई कानूनी रुपमा मान्यता दिई चलन चलाउन सकिने प्रकृतिको हुनुपर्ने भएकाले भाखाको तमसुकले अन्य देवानी दायित्व सिर्जना गर्ने लिखत सरह कानूनी मान्यता प्राप्त गर्नको लागि यस्तो लिखतमा न्यूनतम् निम्न चार तत्वहरू विद्यमान भएको हुनुपर्नेः
o ठगिने र ठग्ने दुवै पक्षको प्रत्यक्ष उपस्थितिमा दुवै पक्षबीच रीतपूर्वकको कागज भएको हुनुपर्ने ।
o कुनै तेस्रो पक्षको हस्तक्षेपविना स्वेच्छापूर्वक दुवै पक्षको सहमतिमा भएको हुनुपर्ने ।
o निश्चित् समयमा तिर्ने बुझाउने शर्त र रकम खुलेको भाखा तमसुक हुनुपर्ने ।
o भाखाको तमसुक भनिएको लिखतबाट साहू र असामीबीचको सम्बन्ध स्थापित भएको देखिनुपर्ने र यस्तो लिखतलाई अदालतबाट प्रचलन गराउन सकिने प्रकृतिको हुनुपर्ने ।
(प्रकरण नं.४)
§ तेस्रो पक्ष अर्थात् जिल्ला प्रशासन कार्यालयले आफूसमक्ष उजूरी परेपछि सोको टुंगो लगाउने र शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा हस्तक्षेप गरी गराएको कागज स्वेच्छापूर्वक दुवैको बीच साहू असामीको सम्बन्ध स्थापित गर्ने सहमतिमा तयार भएको हो भनी मान्न नमिल्ने ।
§ कागज गराउने कानूनी अख्तियार जिल्ला प्रशासन कार्यालयलाई नभएको र त्यस्तो कागजकै आधारमा लेनदेन व्यवहारको महलको व्यवस्थाअनुसार साहू असामीको सम्बन्ध समेत सिर्जना नहुने हुंदा यस्तो लिखतलाई कुनै लेनदेनको तमसुक वा लेनदेनको रकम तिर्ने बुझाउने भाखाको लिखत सरह मुलुकी ऐन लेनदेन व्यवहारको महलमा व्यवस्था भएअनुसार अदालती प्रक्रियाबाट प्रचलन गराउन वा चलन चलाउन सकिने प्रकृतिको कागजात भन्न सकिने अवस्था नदेखिँदा पीडितहरू अदालतमा प्रवेश गर्न सक्ने अवस्था समेत नदेखिने ।
(प्रकरण नं.५)
पुनरावेदकको तर्फबाटः विद्वान अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, शंकरकुमार श्रेष्ठ र राजेश्वर अधिकारी
प्रत्यर्थी/वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता भरतलाल शर्मा
अवलम्बित नजीरः
§ नेकाप २०६६, साउन नि.नं. ८११९ पृ. ५८३
§ नेकाप २०६७, वैशाख, नि.नं.८३०२, पृ.१२४
सम्बद्ध कानूनः
§ मुलुकी ऐन, ठगीको १, ३, ४, ५ र ६ नं.
§ सहकारी ऐन, २०४८
फैसला
न्या.भरतराज उप्रेतीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं. ९ बस्ने ओमकुमार श्रेष्ठ समेतले कमलामाई बचत तथा ऋण सहकारी संस्था नामक संस्था खोली बचतकर्ताबाट संकलन गरिएको रकम हिनामिना गरी ठगी गरी खाएकोले कारवाही गरिपाऊँ भनी राजकुमार श्रेष्ठ समेतले दिएको निवेदनको व्यहोरा हेर्दा ठगीको प्रकृति देखिएकोले कानूनबमोजिम कारवाही हुन सक्कलै निवेदन थान १२ पठाएको भन्ने जिल्ला प्रशासन कार्यालय सिन्धुलीको पत्र ।
संस्थाको लेजर बुक ५ समेत पठाएको भनी सोही कार्यालयको मिति २०५९।१२।७ को पत्र ।
प्रतिवादीहरू एकनारायण श्रेष्ठ, पवनकुमार श्रेष्ठ, केशवकुमार श्रेष्ठ, ओमकुमार श्रेष्ठ, मुना श्रेष्ठ समेतको नामबाट कमलामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड नामक संस्था खोलिएको प्रमाणपत्र, विधान र सोसँग सम्बन्धित सम्पूर्ण कागजातहरू पठाएको भन्ने जिल्ला सहकारी कार्यालय, सिन्धुलीको पत्र ।
कमलामाई बचत तथा ऋण सहकारी संस्थामा खाता खोली बचत गरिएको सुरेश विक्रम देवकोटाको रु.३८३०।– सुशीलकुमार देवकोटाको रु.२,९३०।– र कृष्णप्रसाद दाहालको रु.१००।– दिलाइ भराइ पाऊँ भनी सम्बन्धित व्यक्तिको उजूरी । प्रतिवादी एकनारायण श्रेष्ठ, पूर्णभक्त लामा र विनोद लामा समेत संलग्न भई आकर्षक व्याज दिन्छौं भनी लोभ लालच देखाई सो संस्थामा खाता खोल्न लगाई हामी जाहेरवालाहरूको बचत गरिएको रकमहरू मिति २०५९।२।७ गतेतिरबाट लिई सो संस्था बन्द गरी भागी फरार भएकोले पक्राउ गरी मुद्दामा कानूनबमोजिम कारवाही गरी ठगी गरेको रकम दिलाइ भराइ पाऊँ भनी तिलकबहादुर कार्की समेतले दिएको संयुक्त जाहेरी ।
तिलकबहादुरको जाहेरीसंग मिल्दो जुल्दो किसिमबाट रामबहादुर हायू समेतको संयुक्त उजूरी व्यहोरा ।
तिलकबहादुर कार्कीको जाहेरी व्यहोरासंग मिल्दोजुल्दो किसिमबाट जीवन श्रेष्ठ समेतको संयुक्त जाहेरी, सुरेश शाह समेतको संयुक्त जाहेरी, विष्णु पाण्डे समेतको संयुक्त जाहेरी, नरकुमारी समेतको संयुक्त जाहेरी मिसिल संलग्न रहेको ।
प्रतिवादी ओमकार श्रेष्ठ समेतले कमलामाई बचत तथा ऋण सहकारी संस्था खोली लोभ लालच देखाई बचत गरिएको रकम लिई भागी गएकोले कारवाही गरिपाऊँ भनी मिसराज, पिसिंकुमार श्रेष्ठ र सूर्यबहादुर लामा समेतले दिएको छुट्टा–छुट्टै निवेदन ।
तिलकबहादुर कार्कीको जाहेरी व्यहोरासंग मिल्दो जुल्दो किसिमबाट रमेश थापा समेतले दिएको जाहेरी, लिना सलिना श्रेष्ठले दिएको उजूरी व्यहोरा ।
कमलामाई बचत तथा ऋण सहकारी संस्थामा खाता खोल्न लगाई बचत गरिएको रकम ठगी खाएकोले कारवाही गरिपाऊँ भनी ओम विक्रम खत्रीको निवेदन ।
जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. ६ स्थित छविलाल पाख्रिनको घर कोठा बहालमा लिई उक्त सहकारी संस्था खोली विभिन्न व्यक्तिहरूबाट नगद रकम जम्मा गर्न लगाई रकम लिई भागी फरार भई ठगी गरेको भन्ने व्यहोराको घटनास्थल मुचुल्का ।
प्रतिवादी पूर्णभक्त लामा, विनोद लामा र ओमकार श्रेष्ठ समेत मेरो घरमा आई मासिक रु.२,०००।– का दरले भाडा दिन्छौं भनी २ कोठा भाडामा लिई कमलामाई बचत तथा ऋण सहकारी संस्था खोली बचतकर्ताहरूबाट मिति २०५६।१०।१३ गतेदेखि मिति २०५९।२।७ सम्म संकलन गर्न लगाएको रकमहरू लिई भागी फरार भइ ठगी गरेका हुन् भनी छविलाल पाख्रिनले गरेको कागज ।
प्रतिवादीहरूले कमलामाई बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरी विभिन्न लोभ लालच देखाइ बचतकर्ताबाट संकलन गरिएको रकम खाइ भागी फरार भइ ठगी गरेका हुँदा कारवाही होस भनी दीपकबहादुर कार्की, किशोरकुमार घिसिङ्ग, भूपाल ठकुरी, राजु लामा र प्रमोद चौधरीले गरेको कागज ।
प्रतिवादीहरूले कमलामाई बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरी विभिन्न लोभ लालच देखाई बचतकर्ताबाट संकलन गरिएको रकम खाई भागी फरार भई ठगी गरेका हुँदा कारवाही होस भनी दीपकबहादुर कार्की, किशोरकुमार घिसिङ्ग, भुपाल ठकुरी, राजु लामा र प्रमोद चौधरीले गरेको बयान ।
प्रतिवादीहरूको खोजतलास गर्दा गाउँ टोल छाडी भागी फरार रहेको भन्ने प्र.ना.नि. रामप्रसाद पाण्डेको प्रतिवेदन ।
प्रतिवादी ओमकुमार श्रेष्ठ समेतले कमलालाई बचत तथा ऋण सहकारी संस्था खोली लोभ लालच देखाइ बचत गरिएको रकम लिइ भागी गएकोले कारवाही गरिपाऊँ भन्ने नारायण श्रेष्ठको निवेदन, त्यस्तै बालकृष्ण वैदार, खातावाला सपना गजमेरकी आमा चिना गजमेर समेतको निवेदन ।
संस्थासंग सम्बन्धित लेजर, पासबुकलगायतका विभिन्न कागजातहरूको व्यहोरा समेतका आधार प्रमाणहरूबाट प्रतिवादी ओमकुमार श्रेष्ठ अध्यक्ष केशवकुमार श्रेष्ठ कोषाध्यक्ष, पवनकुमार श्रेष्ठ सचिव, एकनारायण श्रेष्ठ सदस्य र मुना श्रेष्ठ सदस्य रहेको कमलामाई बचत तथा ऋण सहकारी संस्था खोली सो संस्थामा निरा फुयाल अधिकारी, शान्तिकुमारी श्रेष्ठ, शोभाकुमारी श्रेष्ठ, पूर्णभक्त लामा र विनोद लामा समेत संलग्न भै सो संस्था क.म.न.पा. ६ बस्ने छविलालको घरमा मासिक रु.२,०००।– का दरले बहालमा लिई मिति २०५६।१०।१३ गतेबाट सञ्चालन गरी गाउँटोलका मानिसलाई आकर्षक व्याज सस्तो सुविधामा ऋण समेत दिने जस्ता अनेक किसिमका लोभलालच देखाई सो संस्थामा खाता खोल्न लगाई सो संस्थामा मिति २०५९।२।७ गते सम्मको विभिन्न मिति समयमा रकम वचत गरेका हालसम्म उजूरी परेको क.न.पा. ६ बस्ने लक्ष्मण कर्मचार्यको रु.६०५०।– ऐ. बस्ने निर्मलाकुमारी चौधरीको रु.२४२०।– ऐ. बस्ने रमेशकुमार श्रेष्ठको रु.४०६०।–ऐ. बस्ने मैया श्रेष्ठको रु.१०,४६०।– ऐ. वडा नं. ९ बस्ने केशर भुजेलको रु.१०,८६१।– प्रकाश देवकोटाको रु.७,८२०।– जिल्ला शिक्षा कार्यालयको पिएन हर्कबहादुर श्रेष्ठको रु.७,५६०।– गिरिजा इन्टर प्राइजेज जनकपुरधामको दीपककुमार मण्डलको रु.४२,७९२।– क.न.पा.६ बस्ने नरमाया बस्नेतको रु.९,१२५।– देवमाया खड्काको रु.७,३००।, गोमाकुमारी भुजेलको रु.५,२००।– कृष्णप्रसाद बरालको रु.१००।–, सुशीलकुमार देवकोटाको रु.२,९३०।–, सुरेश विक्रम देवकोटाको रु.३,८३०।– ऐ. ६ बस्ने भीमबहादुर कार्कीको रु.२६,५००।–, गिरिजंग थापाको रु.५,७२०।– कुलबहादुर कार्कीको रु.१०,५५०।–, अश्विनजंग थापाको रु.१०,८१०।–, सरस्वती श्रेष्ठको रु.१०,२०५।–, संजिव श्रेष्ठको रु.५६५।–, चन्द्रकुमारी सुनुवारको रु.५,९७०।, खड्गबहादुर सुनुवारको रु.६,६३०।–, खिलाकुमारी सुनुवारको रु.१,९००।–, रतन सुनुवारको रु.२४००।–, ऐ. वडा नं. ४ बस्ने रुपलाल कसाईको रु.२४,९००।, ऐ. वडा नं. ६ बस्ने राजकुमार श्रेष्ठको रु.७,७२०।–, चन्द्रदेव श्रेष्ठको रु.२१,३००।–, माया शेर्पाको रु.१९,३००।–, रामबहादुर हायूको रु.४,३९७।–, सजिता हायूको रु.४,३९७।–, श्यामप्रसाद साहको रु.१४६५०।, सुनिताकुमारी चमारको रु.१०,३९०।–, ऐ. वडा नं. ९ बस्ने दिलबहादुर श्रेष्ठको रु.८,७५०।–, मञ्जू श्रेष्ठको रु.३,७७०।– कमला श्रेष्ठको रु.३,७७०।– मनोज श्रेष्ठको रु.३,७७०।–ऐ. वडा नं.बस्ने सुभद्रादेवी साहको रु.३६,०००।–, अमृतकुमारी स्याङ्गतानको रु.९,३३९।–, रामसुरेश चौधरीको रु.३,७६०।– ऐ. बस्ने मेलिना श्रेष्ठको रु.४,६३०।–, ऐ. गाउँ विकास समिति भिमथान वडा नं. ३ बस्ने निमलाल मानन्धरको रु.९,२००।–, ऐ. क.न.पा.पडा नं. ६ बस्ने चन्दनकुमार साहको रु.६,९५०।–, शुभाषकुमार साहको रु.२,१४०।–, तिलकबहादुर बुढाथोकीको रु.५,१८४।–, राजु श्रेष्ठको रु.७,२००।–, ऐ. वडा नं. ९ बस्ने कमलेश ठाकुरको रु.९,९००।–, ऐ. ६ बस्ने चन्द्रवती थापाको रु.२०,२००।, अमित थापाको रु.१२,२२५।–, आशाकुमारी थापाको रु.११,३००।–, अंजली श्रेष्ठको रु.१७,१००।–, शान्ताकुमारी श्रेष्ठको रु.४००।–, ऐ. ९ बस्ने जीवनमिना श्रेष्ठको रु.३७,३२८।–, ऐ. ७ बस्ने दीपक श्रेष्ठको रु.४,५,६०।, ऐ. ६ बस्ने ठूलीमाया तमाङ्गको रु.७,२८०।–, रत्नमाया पुलामीको रु.१,७२५।–, ललिता गिरीको रु.३,०००।–, उर्मिला कार्कीको रु.५,८९०।– ऐ. गाउँ विकास समिति जरायाटार वडा नं. २ बस्ने पदमराज कार्कीको रु.३,६००।– ऐ. रानीचुरी ७ बस्ने हरिबहादुर कार्कीको रु.३,६६५।– कमलामाई नगरपालिका वडा नं. ९ बस्ने सूर्य साहको रु.२८,३५०।–, ऐ. ६ बस्ने संजिव नेपालीको रु.११,६२०।–, ऐ. बस्ने विश्वनाथ साहको रु.५,६५०।–, विष्णु पाण्डेको रु.३,६४०।–, विष्णुकुमारी तामाङ्गको रु.२,१४५।–, सूर्यबहादुर रायको रु.५,४६०।– ऐ. ६ बस्ने तेजबहादुर कार्कीको रु.६,८५०।–, लक्ष्मीदेवी बस्नेतको रु.१,०००।–, ऐ. ६ बस्ने दर्शा गिरीको रु.९०५।–, ज्ञानीमायाँ वाइवाको रु.२,५४०।–, विमला बम्जनको रु.७,४००।– ज्ञानीमाया मोलनको रु.३,२८०।–, बुधमाया घलानको रु.१६०।–, चित्रकुमारी के.सी.को रु.५,१९०।, ऐ. शिव के.सी. को रु.४,०००।–, नीलकुमारी श्रेष्ठको रु.७,४२०।–, नारायण ठाकुरको रु.३,९०६।–, ऐ. ७ बस्ने नरकुमारी कार्कीको रु.९४०।–, धनमाया दर्लामीको रु.३,७९०।–, कालिका विस्कुट उद्योग सिन्धुलीको रु.५,६४१।– कमलामाई नगरपालिका ६ बस्ने सुनु मगरको रु.६००।–, कुमार श्रेष्ठको रु.७,३००।–, बब्लु चौधरीको रु.१०,६००।–, वीरुबहादुर तामाङ्गको रु.४,३५०।–, मिश्रा घिसिङको रु. ६,०५०।–, पेमा कुसे लामाको रु.८,३०।– हाज्मा ताइसे सिन्धुलीका रमेश थापाको रु.३,०००।–, विश्वराज राइको रु.६,५००।–, रतन मायाको रु.६,५००।–, भूमिराज सुवेदीको रु.५०,०००।–, राजन तिमिल्सिनाको रु.८०,०००।–, देवेन्द्र ढकालको रु.१,५००।–, कमलामाई नगरपालिका वडा नं. ९ बस्ने ऐलिना, सेलिना श्रेष्ठको रु.९,२४२।– शीर्षक के.सी.को रु.३,०००।–, जिल्ला मोरङ्ग हसन्त गाउँ विकास समिति वडा नं. ६ घर भै हाल सिन्धुली जिल्ला कमलामाई नगरपालिका धुरा बजार डेरा गरी बस्ने चिना गजमेरको रु.५,४१०।–, सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं. ६ बस्ने बालकृष्ण बैदारको रु.९,४००।– ऐ. बस्ने नरनारायण श्रेष्ठको रु.१,७१३।–, निजको श्रीमती सिर्जना श्रेष्ठको रु.२,७९०।, निजको छोरी सुस्मिता श्रेष्ठको रु.४,९४३।–, ऐ. वडा नं. रोहन रविनकुमार सुनुवारको रु.२१०।–, समेत जम्मा रकम ७,७४,६७५।– समेत ठगी भएको रकम लिई सो संस्थाको कारोवार बन्द गरी भागी फरार रहेको हुँदा प्रतिवादीहरूले आफ्नो हक नपुग्ने विभिन्न बचतकर्ताहरूको रकम लिने खाने उद्देश्यले ठगी गरी मुलुकी ऐन ठगीको महलको १ नं. कसूर अपराध गरेको देखिन आएकोले प्रतिवादीहरूलाई ठगीको १ नं. को कसूरमा सोही महलको ४ नं. बमोजिम कारवाही भै सजाय हुनुको साथै ठगी गरी खाएको कानूनबमोजिमको व्याजसहितको रकम जाहेरवालाहरूलाई दिलाइ भराइ पाऊँ भन्ने अभियोग दावी ।
बचतकर्ताको पासबुकमा उल्लेख भएअनुसार दिलबहादुर थापाको रु.१५,६३५।७१, रुकमणी श्रेष्ठको रु.४,४१०।– बद्री पहाडीको रु.७,४६०।–, चिनीमाया श्रेष्ठको रु.१,०००।–, अस्मिता बैदारको रु.७,४४०।–, इन्द्रबहादुर थापाको रु.२,२२६।–, श्रद्धा श्रेष्ठको रु.९५०।, पल्टीदेवी महतोको रु.२,८२२।–, सन्तोष सिजालीको रु.१,०४०।–, रामरत्न शिवाकोटीको रु.३,७००।–, समिता श्रेष्ठको रु.६,४४२।–, अमृतलाल श्रेष्ठको रु.६,५४५।–, नारायण भुजेलको रु.७२१।५२, नारायण भुजेलकै रु.७२०।, दीपककुमार कोजुको रु.२,४९०।–, रोशन प्रधानको रु.२,५००।–, दीपक श्रेष्ठको रु.८,५६९।–, महेशराज के.सी. को रु.९००।–, भिमबहादुर परियारको रु.७३५।–, रामबहादुर खड्काको रु.१०६।– प्रेमकुमार श्रेष्ठको रु.९,८००।–, अंकित थापाको रु.३,७००।–, लोकबहादुर विश्वकर्माको रु.८००।, हर्कबहादुर राजभण्डारीको रु.३,१५०।–, हर्कबहादुर भण्डारीकै रु.५,७०७।२२, अशोक श्रेष्ठको रु.३,६००।–, अशेष श्रेष्ठको रु.२२५५।–, सरस्वती पटेलको रु.५,५००।, समेत जम्मा १,१०,९२४।४५ समेत ठगी भएको रकम दिलाई भराई सजाय समेत गरिपाऊँ भन्ने मिति २०६०।२।१६ को पूरक अभियोग पत्र ।
म अध्यक्ष, कोषाध्यक्षमा केशवकुमार श्रेष्ठ, सचिव पवन श्रेष्ठ, सदस्य एकनारायण र मुना श्रेष्ठ समेत भएको कमलामाई बचत तथा ऋण सहकारी संस्था २०५६ सालदेखि सञ्चालन गरेकोमा जाहेरवाला राजकुमार लगायतका ४०० भन्दा बढी नै ग्राहकहरू भएको थियो । १ सालसम्म सो संस्थाले बचतकर्ताहरूलाई रकम भुक्तानी गर्ने लगायतका काम राम्रोसँग चलेको थियो, त्यसपछि संस्था घाटामा परेको र लगानी उठाउन नसकेको कारणबाट सो अवस्था सिर्जना भएको हो बचतकर्ताहरूको रकम ठगी गर्ने उद्देश्यले संस्था खालेको होइन सो संस्थाको महाप्रबन्धक विनोदकुमार लामा र प्रबन्धक पूर्णभक्त लामा हुन् सो बचत रकमबाट मैले बीस हजार लिएको थिएँ सत्र हजार मैले जम्मा गरिसकेँ बाँकी तीनहजार तिर्न बाँकी थियो, केशव श्रेष्ठ, पवनकुमार, एकनारायण र मुना श्रेष्ठ सो समितिको कोरम पुर्याउनसम्म नाम राखी दिएको हो निजहरू निर्दोष छन् । सो संस्थाका मुख्य व्यक्ति भनेको नै विनोदकुमार लामा, पूर्णभक्त लामा र म हुँ बचतकर्ताहरूको जे जति रकम फिर्ता गर्नुपर्ने खाताबाट देखिन्छ सो म समेत भै सञ्चालन गरेको संस्था बन्द भै सकेको हुँदा विनोदकुमार लामा, पूर्णभक्त लामा र मैले तिर्नुपर्ने हो ठगी गर्ने नियत नभएको हुँदा मलाई ठगीमा सजाय हुनुपर्ने होइन भन्ने समेत प्रतिवादी ओमकुमार भन्ने ओमकार श्रेष्ठको बयान ।
विनोद कुमारलाई र पूर्णभक्तलाई मैले कुनै कागज गराएको छैन लेखा परीक्षणले देखाएको र पेश्की लेजरबाट देखिएको रकम तिर्नुपर्ने हो कमलामाई बचत तथा ऋण सहकारी संस्थाको कार्यालय सिन्धुलीमा मात्र छ हेटौंडामा छैन भन्ने प्रतिवादी ओमप्रकाश भन्ने ओमकारको ततिम्बा बयान ।
पूर्णभक्त लामा, विनोदकुमार लामा आई कमलामाई बचत तथा ऋण सहकारी संस्था खोल्नु पर्यो तपाईलाई सचिव पदमा राखेको छ विधानमा सहिछाप गरिदिनु होस् । सम्पूर्ण कारोवार हामी आफै गर्दछौं तपाईले केही गर्नु पर्दैन भनेको हुँदा सो विधानमा सहीसम्म गरी दिएको हुँ । सो संस्थामा मैले कुनै कारोवार गरेको छैन मैले निवेदकहरू लगायतका कुनै व्यक्तिको रकम उठाइ ठगी गरेको नहुँदा मैले जाहेरवाला राजकुमार लगायतका व्यक्तिहरूसंग रकम उठाई ठगी गरेको होइन छैन जाहेरवाला राजकुमार समेतका व्यक्तिहरूको रकम तिर्नुपर्ने भए सो संस्थामा कारोवार गर्ने प्रवन्धक, महाप्रबन्धक विनोदकुमार लामा र पूर्णभक्त लामा समेतले तिुर्नपर्ने हो म सो संस्थामा एक दिन पनि उपस्थित भएको छैन मैले जाहेरवालाहरूको रकम तिर्नुपर्ने होइन भन्ने समेत प्रतिवादी एकनारायण श्रेष्ठले गरेको बयान ।
कमलामाई बचत तथा ऋण सहकारी संस्था दर्ता गर्ने प्रयोजनको निमित्त तपाई कोषाध्यक्ष भै विधानमा सही गरिदिनु होस् भनी विनोद लामा, पूर्णभक्त लामा र मेरै भाइ समेतले भनेको हुँदा संस्था दर्ता गर्ने प्रयोजन निमित्त सही गरी दिएको हुँ । म सो संस्थामा उपस्थित भै कुनै कारोवार गरेको छैन र मैले कुनै जाहेरवालाबाट रुपैया उठाई ठगी गरेको होइन मैले जाहेरवालाहरूको रुपैया तिर्नुपर्ने होइन म सो संस्था खोल्नु भन्दा अगाडिदेखिनै हेटौंडा दुग्ध वितरण आयोजनामा जागीरे हुँदा मेरो हाजिरी झिकाई प्रमाण लगाई पाऊँ भन्ने समेत प्रतिवादी केशवकुमार श्रेष्ठको बयान ।
पूर्णभक्त लामाले मलाई मासिक रु.१५,००।– तलब दिन्छु यस संस्थाको बचतकर्ताहरूबाट दैनिक रुपैया उठाउने काम गर्नु भनी मौखिक रुपमा भन्नु भएको हुँदा जस जसले जे जति रकम जम्मा गर्ने गरेका थिए कमलामाई नगरपालिका वडा नं. ९ र वडा नं. ६ धुरा बजारमा बचतकर्ताहरूबाट लिई पास बुकमा चढाई पासबुकमा सही गरी पासबुक बचतकर्तालाई दिई उठेको रकम बेलुका सो संस्थामा लगी बुझाएपछि डेबुकमा टिप्ने गरेको थियो रकम बैङ्कमा राखेका थिए वा के गरेका थिए सो कुरा मलाई थाहा छैन सो संस्थाको रकम तिर्नुपर्ने भए पूर्णभक्त लामा, विनोदकुमार लामा र ओमकार श्रेष्ठ समेतले तिुर्नपर्ने हो वा होइन सो सम्बन्धमा मलाई केही थाहा छैन जाहेरवालाहरूको रकम मैले उठाई ठगी गरेको नहुँदा मैले तिर्नु बुझाउनु पर्ने होइन म निर्दोष भएकोले सफाइ पाऊँ भन्ने समेत प्रतिवादी शान्तिकुमारी भन्ने शान्ति श्रेष्ठको बयान ।
मलाई सो संस्थामा ओमकार श्रेष्ठले हामीले कमलामाई ऋण तथा सहकारी संस्था खोलेका छौं । मासिक रु.१५,००।– तलब दिन्छौं बचतकर्ताहरूबाट रकम उठाउने काम गर्ने हो भनी भन्नु भएको हुँदा मैले पनि बेरोजगार बस्नुभन्दा केही काम गर्नु नै उचित सम्झी सो संस्थामा बचतकर्ताहरूबाट दैनिक रकम उठाइ संस्थामा लगी पूर्णभक्त म तथा विनोदकुमारलाई बुझाई दिने गरेको सम्म हुँ । सो रुपैयाँ बैंकमा दाखिला गर्दथे वा के गर्दथे सो कुरा मलाई थाहा छैन मैले ठगी गरेको होइन तसर्थ मैले विगो तिर्नुपर्ने होइन मलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्ने समेत निरा भन्ने हिराकुमारी फुँयाल अधिकारीको बयान ।
मिति २०६०।२।१६ गते पूरक अभियोग पेश भएपश्चात् चन्द्रलाल श्रेष्ठ समेत २२ जना निवेदकहरूले विरुद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू उपर कारवाही तथा सजाय गरी हामीहरूको ठगी गरेको रकम दिलाइ भराइ पाऊँ भनी पासबुकमा उल्लेख भएअनुसार जेसुङ तामाङ्गको रु.१२४५०।–, उषा लामाको रु.१४३८०।– बेलबहादुर बसेलको रु.७,७००।–, सुरेश भटराईको रु.६,१००।– हर्कबहादुर कार्कीको रु.१३,७६८।–, भाग्यप्रसाद काफ्लेको रु.३,१८०।, प्रविण श्रेष्ठको रु.१,१६०।–, विगल विजया अधिकारीको रु.५१३।–, सुजाता प्रधानको रु.१,४५०।–, पुजन प्रधानको रु.१,७२५।–, सरिता प्रधानको रु.७००।–, लालकुमार प्रधानको रु.१,५६०।–, सुरेन्द्र श्रेष्ठको रु.१४,३००।–, शिक्षा श्रेष्ठको रु.७८०।–, रन्जनाकुमारी चौहानको रु.३,२२५।, नारायणप्रसाद घिमिरेको रु.१,२००।–, कमला औषधि पसलको प्रो. सोमबहादुर हायूको रु.१,३१०।–, कृष्ण शेलर मिलको प्रो. शुभाष अधिकारीको रु.३,५००।–, अभिमन्यू श्रेष्ठको रु.१,०१५।–, खड्गराज तिमिल्सिनाको रु.१,२००।–, अनु क्षेत्रीको रु.४,६७५।–, सूर्यलाल श्रेष्ठको रु.३,३१०।– समेत जम्मा रु.९९,२०१।– ठगी मासी खाएकोले मिति २०६०।१।२३ मा पेश भएको अभियोग पत्रमा समावेश गरी सोही मुद्दामा विगो कायम गरी ठगीको ४ नं. बमोजिम कारवाही भै सजाय गरी ठगिएको विगोको व्याज समेत निवेदकहरूलाई दिलाइ भराई पाऊँ भन्ने मिति २०६०।५।२८ को अभियोग पत्र ।
कमलामाई बचत तथा ऋण सहकारी संस्था खोल्नु पर्यो भनी विनोद लामा, पूर्णभक्त लामा समेतले भन्नु भएको हुँदा सदस्यमा मैले विधानमा सहिछाप गरी दिएको हुँ सो संस्था सञ्चालन गर्ने विनोद लामा र पूर्णभक्त लामा हुन् । मैले मासिक रु.१३,००।– मा बचतकर्ताहरूबाट रकम असूल गरी ल्याई संस्थामा बुझाउने गरेको हुँ । मैले बचतकर्ताहरूको रकम ठगी गरेको होइन भन्ने समेत प्रतिवादी मुना श्रेष्ठको बयान ।
ओमकार श्रेष्ठ गाउँकै मानिस भएकोले हामीले सञ्चालन गर्न लागेको कमलामाई बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने भए मासिक रु.१,५००।–दिन्छौं भन्नु भएकोले म पनि बेरोजगार व्यक्ति भएकोले हुन्छ भनी कहिले अफीसमा बसी दैनिक काम गर्ने र कहिलेकाँही बचतकर्ताहरूबाट रकम असूल गरी बचतकर्तासँग रहेको पासबुकमा रकम चढाई सही गरी पासबुक दिई रकम ल्याई दैनिक डेबुकमा जनाई बुझ्ने गरेको थियो मैले बचतकर्ताहरूबाट रकम असूल गरी ल्याई ठगी गरेको नहुँदा मैले बचतकर्ताहरूको रकम बुझाउनु पर्ने होइन र म निर्दोष मानिस भएकोले मलाई अभियोग पत्र मागबमोजिम सजाय हुनुपर्ने समेत होइन भन्ने समेत प्रतिवादी शोभा श्रेष्ठको बयान ।
मेरो श्रीमती कमला श्रेष्ठ, छोरा मनोज श्रेष्ठ, छोरी मञ्जू श्रेष्ठ म दिलबहादुर श्रेष्ठको नाउँमा प्रतिवादी ओमकारले सञ्चालन गर्नु भएको कमलामाई बचत तथा सहकारीसंस्थामा रु.२०,०००।– भन्दा बढी नै रकम बचत भएको थियो यकीन रकम मलाई थाहा भएन । म समेतका बचतकर्ताहरूको रकम प्रतिवादीहरूबाट असूलउपर गरी प्रतिवादीहरूलाई कानूनबमोजिम कारवाही हुनुपर्ने हो भन्ने समेत निवेदक बचतकर्ता दिलबहादुर श्रेष्ठको बकपत्र ।
कमलामाई बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमकार श्रेष्ठ, सचिव पवन श्रेष्ठ, कोषाध्यक्ष केशव श्रेष्ठ, सदस्य एकनाराययण श्रेष्ठ, मुना श्रेष्ठ समेत भै कार्यालय सञ्चालनका लागि विनोद लामा, पूर्णभक्त लामा, शोमा फुयाँल समेतले सञ्चालन गरी प्रलोभन देखाई जाहेरवाला मेरो रु.७२०।– ठगी गरेको हुँदा मुना श्रेष्ठलगायतका संस्था सञ्चालक समितिका पदाधिकारी प्रतिवादीहरूबाट सावा व्याज असूल गरी हदैसम्मको सजाय गरिपाऊँ भन्ने समेत जाहेरवाला बचतकर्ता राजकुमार श्रेष्ठको बकपत्र ।
निरा भन्ने दीपकुमारी फुयालले ठगी गरेको होइन । निज सो संस्थामा एक साधारण कर्मचारी हो निज सो संस्थाको जिम्मेवारी पदमा नभएको र संस्था बन्द हुनु भन्दा अगाडि नै निजले जागीर छाडिसक्नु भएको थियो भन्ने समेत प्रतिवादी हिरा फुयाँलको साक्षी सरस्वती देवकोटाको बकपत्र ।
प्रतिवादी केवलकुमारले ठगी गरेको होइन निज सो संस्थाको विधान बनाउदासम्मको कोषाध्यक्ष हो । केशकुमारले उक्त संस्था सञ्चालन हुनु अघि र पछि केही काम गरेको छैन । दुग्ध विकास संस्थानमा कार्यरत् व्यक्ति हुन् केशवकुमारले उक्त रकम लिएको होइन भरपाईमा भएको सहिछाप निजको होइन भन्ने समेत प्रतिवादी केशवकुमारको साक्षी शिवकुमार श्रेष्ठको बकपत्र ।
प्रतिवादी शोभा श्रेष्ठले ठगी गरेको होइन । प्रतिवादी शोभा श्रेष्ठ संस्थानको एक कर्मचारी हुन् । उहाँले सो संस्थानमा बसेर कार्यालयको दैनिक काम गर्नु हुन्थ्यो । निजले ठगी गरेको होइन भन्ने समेत शोभा श्रेष्ठको साक्षी शिवकुमार श्रेष्ठको बकपत्र ।
मैले बचत गरेको मिति थाहा छैन मैले सो संस्थामा तीन हजार दुई सय एकतीस मात्र जम्मा गरेको हो उक्त रकम प्रतिवादी ओम समेतले ठगी गरेको हुनाले कारवाही भै रकम समेत प्रतिवादीहरूबाट असूल गरी सजाय हुनुपर्ने हो भन्ने समेत जाहेरवाला निवेदक शान्तिमाया भोलनको बकपत्र ।
प्रतिवादी केशवकुमारले ठगी गरेको होइन विनोद लामा र पूर्णभक्त लामाले हामी संस्था खोल्छौं तपाई यहाँको लोकल मानिस भएको कारणबाट कोषाध्यक्षमा बसी दिनु पर्यो काम हामी आफै गर्दछौं भन्ने हुँदा विधानमा सहीसम्म गरी दिएको हो प्रतिवादी केशवकुमार दुग्ध विकास संस्थान हेटौंडामा कार्यरत् कर्मचारी हुन् भन्ने समेत प्रतिवादी केशवकुमारको साक्षी प्रेमकुमार श्रेष्ठको बकपत्र ।
कमलामाई बचत तथा ऋण सहकारी संस्था ओमकार श्रेष्ठ समेत भै २०५६ सालमा खोलिएको हो सो संस्थामा मैले मासिक रु.३००।– का दरले जम्मा गरेको रकम रु.३६००।– फिर्ता नगरी मिति २०५९।२।७ गतेदेखि संस्था बन्द गरी ठगी गरेको हुँदा मेरो ठगी गरेको रु.३६००।– प्रतिवादीहरूबाट असूल गरी कानूनबमोजिम सजाय गरिपाऊँ भन्ने समेत निवेदक बचतकर्ता पदमराज कार्कीको बकपत्र ।
प्रतिवादी ओमकार समेतले खोलेको कमलामाई बचत तथा ऋण सहकारी संस्थामा मैले दैनिक २०।– का दरले जम्मा गरेको रु.११६२०।– प्रतिवादी ओमकार समेतले ठगी गरेको हुँदा मेरो ठगी गरेको रु.११६२०।– दिलाइ भराइ प्रतिवादी ओमकार समेतलाई सजाय गरिपाऊँ भन्ने समेत निवेदक बचतकर्ता संजीव नेपालीको बकपत्र ।
मेरो छोरा मीनबहादुर कार्कीको नाममा जम्मा रु.२६५००।– कमलामाई बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको थियो सो रकम फिर्ता नगरी सो संस्थाका संस्थापक ओमकार श्रेष्ठ समेतले ठगी गरेको हुँदा मेरो छोरा मीनबहादुरको नाममा जम्मा गरेको रु.२६५००।–प्रतिवादीहरूबाट दिलाई भराई कानूनबमोजिम सजाय गरिपाऊँ भनी तिलकबहादुरको बकपत्र ।
कमलामाई बचत तथा ऋण सहकारी संस्था खोल्नुहोस् भनेको हुँदा मैले सो संस्थामा रु.१०५५०।– जम्मा गरेको थिएँ । सो रकम फिर्ता नगरी संस्था बन्द गरी म समेतको रकम ठगी गरेको हुँदा मेरो रु.१०५५०।– दिलाई भराई प्रतिवादीहरूलाई कानूनबमोजिम सजाय गरिपाऊँ भन्ने समेत बचतकर्ता जाहेरवाला कुलबहादुर कार्कीको बकपत्र ।
प्रतिवादी एकनारायण श्रेष्ठ सदस्य भए पनि निजले ठगी गरेको होइन सो संस्थाको सम्पूर्ण कारोवार विनोद लामा र पूर्णभक्त लामाले गरेका हुन् भन्ने समेत प्रतिवादी एकनारायणको साक्षी कमान श्रेष्ठको बकपत्र ।
प्रतिवादी पवनकुमार सो संस्थाका सचिव भएपनि निजले ठगी गरेको होइन छैन निजले सो संस्थामा उपस्थित भै काम गरेको छैन भन्ने समेत प्रतिवादी पवनकुमार श्रेष्ठको साक्षी भेखराज श्रेष्ठको बकपत्र ।
प्रतिवादी मुना श्रेष्ठको ठगी गरेको होइन निज उक्त संस्थाका एक कर्मचारी हुन संस्थाको कुनै रकम हिनामिना गरेको छैन भन्ने समेत प्रतिवादी मुना श्रेष्ठको साक्षी लालकाजी श्रेष्ठको बकपत्र ।
कमलामाई बचत तथा ऋण सहकारी संस्थामा मैले मिति २०५८।३।२७ गते देखि दैनिक रु.२०।– का दरले मिति २०५८।१२।१९ सम्म जम्मा गरेको रु.३,८२७।– प्रतिवादी ओमकार श्रेष्ठ समेतले ठगी गरेको हुँदा मेरो ठगी गरेको रु.३,८२७।– दिलाइ भराइ सजाय गरिपाऊँ भन्ने समेत निवेदक जाहेरवाला हरि कार्कीको बकपत्र ।
प्रतिवादी ओमकार श्रेष्ठले हामीले खोलेको संस्थामा रकम जम्मा गर्नुहोस् भनेका हुँदा मिति २०५८।१।१ देखि दैनिक रु.२५।– का दरले जम्मा गरेको रु.७,४६०।– प्रतिवादीबाट असूलउपर गरी प्रतिवादीहरूलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत निवेदक बद्रीप्रसाद पहाडीको बकपत्र ।
प्रतिवादी शान्ती श्रेष्ठ कमलामाई बचत तथा ऋण सहाकारी संस्थाका निम्नस्तरको कर्मचारी हुन निजले उक्त संस्थाको रकम हिनामिना गरी ठगी गरेको होइन भन्ने प्रतिवादी शान्ति श्रेष्ठको साक्षी शिवकुमार श्रेष्ठको बकपत्र ।
प्रतिवादी ओमकारको बहिनीले हामीले संस्था खोलेका छौं रकम जम्मा गर्नुहोस् भन्नु भएको हुँदा मैले सो संस्थामा जम्मा रु.७,५६०।– जम्मा गरेको थिएँ सो रकम भुक्तानी नदिई बन्द गरी ओमकार श्रेष्ठ समेतले ठगी गरेको हुँदा मेरो रु.७,५६०।– दिलाइ भराइ सजाय गरिपाऊँ भन्ने समेत निवेदक जाहेरवाला हर्कबहादुर श्रेष्ठको बकपत्र ।
मेरो छोरी सरस्वती श्रेष्ठको रु.१०,०००।– छोरा संजीव श्रेष्ठको ७७०।– सो कमलामाई बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको थिएँ । सो रकम फिर्ता नगरी संस्था बन्द गरेको हुँदा मेरो छोराछोरीको रु.१०,७७०।– दिलाइ भराइ प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने निवेदक यादवकुमार श्रेष्ठको बकपत्र ।
प्रतिवादी ओमकारलाई मात्र चिनेको छु मैले कमलामाई बचत तथा ऋण सहकारी संस्था खोलेको छु तपाई रकम जम्मा गर्नु होस् भनेको हुँदा विश्वासमा परी मेरो रु.६४२२।– जम्मा भएको थियो सो रकम फिर्ता गरी संस्था बन्द गरी म समेतको रकम ठगी गरेको हुँदा ठगी गरेको रकम असूलउपर गरी प्रतिवादीहरूलाई कारवाही गरिपाऊँ भन्ने निवेदक जाहेरवाला समिता श्रेष्ठको बकपत्र ।
प्रतिवादी ओमकार समेतले कमलामाई बचत तथा ऋण सहकारी संस्था खोली हामीले संस्था खोलेका छौं रकम जम्मा गर्नुहोस् भनेको हुँदा मैले सो संस्थामा रु.१३,४००।– जम्मा भएको थियो सो रकम फिर्ता नगरी सो संस्था बन्द गरी ओमकार समेतले ठगी गरेको हुँदा ठगी गरेको रकम असूलउपर गरी प्रतिवादी ओमकार समेतलाई सजाय गरिपाऊँ भन्ने जाहेरवाला सुरेन्द्रकुमार श्रेष्ठको बकपत्र ।
प्रतिवादी पूर्णभक्त, विनोद, ओमकार समेतले रकम जम्मा गर्नु भन्नु भएकोले मेरो छोरा राजु श्रेष्ठको नाममा खाता खोली रु.७,२००।– जम्मा गरेको थिएँ सो रकम फिर्ता गरेको छैन प्रतिवादीहरूले ठगी गरेको हो सो रकम दिलाइ सजाय समेत हुनुपर्ने हो भन्ने समेत चित्त नारायणको बकपत्र ।
मैले उक्त संस्थामा रु.६,८००।– जम्मा गरेको थिएँ । सो रकम पाएको छैन प्रतिवादीहरूबाट बचतकर्ताको रकम असूल गरी प्रतिवादीहरूलाई कारवाही हुनुपर्ने हो भन्ने समेत निवेदक पञ्चबबहादुर कार्कीको बकपत्र ।
सो संस्थामा रकम के कसरी हिनामिना भयो सो मलाई थाहा छैन मेरो रु.७,८२०।– मात्र हिनामिना भएको छ सो ठगी भएको रकम असूल भै कारवाही हुनु पर्ने हो भन्ने समेत जाहेरवाला प्रकाश देवकोटाको बकपत्र ।
उक्त संस्थामा मैले मिति २०५८।१२।३० गते खाता खोलेको थिएँ हालसम्म मेरो रु.५,९७०।– मात्र जम्मा भएको छ सो संस्थामा के कसरी रकम हिनामिना भयो सो मलाई थाहा छैन । प्रतिवादी सबैलाई कारवाही हुनुपर्ने हो भन्ने समेत निवेदक जाहेरवाला चन्द्र सुनुवारको बकपत्र ।
मेरो रु.९,९००।– रकम मेरो संस्थामा बचत गरेको थिएँ, उक्त रकम पूर्णभक्त र विनोद लामाले हिनामिना गरेको हुँदा ती दुवै जनालाई कारवाही भै रकम फिर्ता पाउनु पर्ने हो भन्ने समेत निवेदक बचतकर्ता कमलेस ठाकुरको बकपत्र ।
प्रतिवादी ओमकार श्रेष्ठले मैले कमलामाई बचत तथा ऋण सहकारी संस्था खोलेको हुँ रुपैया जम्मा गर्नु होस् भन्नु भएकोले मैले सो संस्थामा रु.३,९०६।– जम्मा गरेको थिएँ सो रकम फिर्ता नगरी प्रतिवादी ओमकार, पूर्णभक्त र विनोदकुमार ३ जनाले ठगी गरेका हुन् मेरो ठगी गरेको रु.३,९०६।– प्रतिवादीबाट असूल गरी ठगीमा कानूनबमोजिम कारवाही हुनुपर्ने हो भन्ने समेत बचतकर्ता नागेन्द्र ठाकुरको बकपत्र ।
प्रतिवादी ओमकार समेतले हामीले खोलेको संस्थामा रकम जम्मा गर्नुहोस् भन्नु भएको हुँदा सो संस्थामा मैले रु.४६७५।– जम्मा गरेको थिएँ सो रकम प्रतिवादी ओमकार पूर्णभक्त र विनोद लामाले ठगी गरेको हुँदा सो रकम तिन जनाबाट असूल गरी कारवाही हुनुपर्ने हो भन्ने समेत जाहेरवाला अनु क्षत्रीको बकपत्र ।
मैले उक्त संस्थामा मासिक ३००।– का दरले जम्मा गरेको रु.४,०००।– र मेरो मितिनी चिनाकुमारी के.सी.को नाममा, ५,१९०।– समेत जम्मा रु.९,१९०।– जम्मा गरेको छु उक्त रकम मैले फिर्ता लिएको छैन पूर्णभक्त विनोद लामा र ओमकारले ठगी गरेको हो ठगी भएको रकम असूलउपर गराई प्रतिवादीलाई कारवाही हुनुपर्ने हो भन्ने निवेदक जाहेरवाला शिव के.सी.को बकपत्र ।
मैले उक्त संस्थामा मासिक ३००।– का दरले रु.१,९००।– जम्मा गरेको थिएँ । प्रतिवादी ओमकार श्रेष्ठले नै ठगी गरेको हुँदा सो रकम दिलाइ कारवाही समेत गरिपाऊँ भन्ने समेत निवेदक जाहेरवाला खिला सुनवारको बकपत्र ।
प्रतिवादी ओमकारले ठगी गरेको होइन, निज संस्थाका अध्यक्ष हुनु हुन्थ्यो, उक्त संस्थाका प्रबन्धक पूर्णभक्त र महाप्रबन्धक विनोद लामा मार्फत कारोवार हुन्थ्यो, वचतकर्ताको रकम पूर्णभक्त र विनोद लामाले चलाएकोले उनीहरूलाई झिकाई कारवाही गरी बचतकर्ताको रकम फिर्ता हुनुपर्ने हो भन्ने समेत प्रतिवादी ओमकारको साक्षी मनोज देवकोटाको बकपत्र ।
प्रतिवादी ओमकारले म समेतले कमलामाई बचत तथा ऋण सहकारी संस्था खोलेका छौं, तपाई रुपैंया जम्मा गर्नुहोस् भन्नु भएको हुँदा मैले मिति २०५८।३।३१ गतेदेखि रकम जम्मा गरेको थिएँ । मेरो रु.२,४००।– समेत ओमकार श्रेष्ठले ठगी गरेको हो भन्ने समेत निवेदक रत्न सुनुवारको बकपत्र ।
प्रतिवादी ओमकारले ठगी गरेको होइन, निज संस्थाका अध्यक्ष हुन् सो संस्थाका प्रबन्धक पूर्णभक्त र महाप्रबन्धक विनोद लामा हुन् निजहरूको लापरवाहीबाट संस्था घाटामा पर्न गएको हो भन्ने समेत प्रतिवादी ओमकारको साक्षी रमेशकुमार श्रेष्ठको बकपत्र ।
मैले पटक–पटक जम्मा गरेको रु.९,५००।– को सावाँ व्याज मलाई नदिइ ठगी गरेकोले सो रकम दिलाइ भराइ कारवाही हुनुपर्छ भन्ने समेत बचतकर्ता अमृतकुमार स्याङ्गतानको बकपत्र ।
कमलामाई बचत तथा ऋण सरकारी संस्था खोलेका छौं रकम जम्मा गर्नुहोस् भनी भनेको हुँदा मैले सो संस्थामा रु.५,२००।– जम्मा गरेको थिएँ, सो रकम पूर्णभक्त समेतले ठगी गरेको हुँदा सो रकम दिलाइ सजाय गरिपाऊँ भन्ने निवेदक गोमाकुमारी भुजेलको बकपत्र ।
कमलामाई बचत तथा ऋण सहकारी संस्था खोलेका छौं, रकम जम्मा गर्नुहोस् भन्नु भएको हुँदा सो संस्थामा मैले रु.१७,४१३।– छोरी सुस्मिता श्रेष्ठको नाममा रु.४,९४३।– श्रीमती बालकुमारी भन्ने सिर्जना श्रेष्ठको नाममा रु.२,७९०।– समेतको रकम जम्मा गरेको थिएँ सो रकम फिर्ता नगरी संस्था बन्द गरी भागेको हुँदा ओमकार समेतले ठगी गरेका हुन र म तथा छोरी र श्रीमती समेतको रकम असूल गरी कारवाही हुनुपर्ने हो भन्ने समेत निवेदक नरनारायण श्रेष्ठको बकपत्र ।
प्रतिवादी ओमकारले मसमेतले संस्था खोलेका छौं, रकम जम्मा गर्नुहोस् भन्नु भएको हुँदा मैले सो संस्थामा रु.७,३००।– जम्मा गरेको थिएँ, सो रकम फिर्ता नगरी संस्था बन्द गरी प्रतिवादी ओमकारले नै ठगी गरेका हुन निजबाट म लगायतको रकम असूल गरी कारवाही गरिपाऊँ भन्ने समेत निवेदक कुमार श्रेष्ठको बकपत्र ।
प्रतिवादी ओमकार समेत भै खोलेको संस्थामा रकम जम्मा गरे पहिलो वर्षको रुपैंयाँ फिर्ता लिइयो । पछिल्लो वर्षमा मेरो बुवा विश्वनाथ साहको नामबाट जम्मा गरेको रु.५,६५०।– फिर्ता लिएको छैन भन्ने समेत बचतकर्ता विश्वनाथको हकमा निवेदक दिनेश साहको बकपत्र ।
प्रतिवादी ओमकार श्रेष्ठ समेतले हामीले संस्था खोलेका छौं रकम जम्मा गर्नुहोस् भन्नु भएको हुँदा मैले उक्त संस्थामा रु.१३,७६८।– जम्मा गरेको थिएँ सो रकम फिर्ता नगरेको हुँदा प्रतिवादीहरूलाई कारवाही भै मेरो रकम असूल हुनुपर्ने हो भन्ने समेत बचतकर्ता हर्कबहादुर कार्कीको बकपत्र ।
मैले उक्त संस्थामा २०५९ सालसम्म जम्मा गरेको रु.७,०००।– बाँकी छ सो रकम दिलाइ कारवाही हुनुपर्ने हो भन्ने समेत बचतकर्ता ठूलीमायाको बकपत्र ।
उक्त संस्था मेरो घरको कोठा भाडामा लिएर २ वर्ष सञ्चालन भयो । मेरो घर भाडा २०५८ चैत्र महिनादेखि प्रति महिना २,०००।– का दरले मिति २०५८।१०।११ महिनाको जम्मा रु.२२,०००।– टेलिफोनको रु.१२,०००।– र मेरो श्रीमतीको नाममा जम्मा भएको रु.५००।– लिन बाँकी नै छ उक्त संस्थाबाट मैले लिन रु.३५,०००।–बाँकी छ प्रतिवादीहरू पूर्णभक्त, ओमकार समेतलाई कारवाही गरिपाऊँ भन्ने समेत धनिलाल पाख्रिनको बकपत्र ।
के कस्तो परिबन्धबाट रकम हिनामिना भयो मलाई थाहा छैन, मैले मेरो नामबाट जम्मा गरेको रु.५,७२०।– नाति अस्मिनाजंगको नामबाट रु.१०,८१०।– जम्मा गरेको थिएँ । सो रकम फिर्ता पाएको छैन समेत निवेदक गिरीजंग थापाको बकपत्र ।
गाउँका आफ्ना छोरा नाति जस्ता बेरोजगार व्यक्तिले फाइनान्स खोल्छौं हामीलाई सहयोग गर्नुहोस् भनेर मुना श्रेष्ठ समेतले भनेको हुनाले मैले र छोरी सुजिता हायूको नाममा सो संस्थामा खाता खोली मेरो र छोरी सुजिताको नाममा जम्मा रु.८,७००।– भन्दा बढी रकम रहेको छ, पासबुक समेत सम्मानीत अदालतमा बुझाई सकेकोले रकम यकीन थाहा भएन, प्रतिवादी पूर्णभक्त लामा समेतका व्यक्तिबाट रकम असूल गरी सजाय हुनु पर्दछ भन्ने समेत बचतकर्ता रामबहादुर हायूको बकपत्र ।
मैले सो संस्थामा रु.९,१२५।– जम्मा गरेको थिएँ, सो रकम फिर्ता लिएको छैन बचतकर्ताको रकम असूल भै विनोद लामा, पूर्णभक्त, शोभा, मुना श्रेष्ठ आदि प्रतिवादीलाई कारवाही हुनुपर्छ भन्ने समेत निवेदक नरमाया बस्नेतको बकपत्र ।
प्रतिवादी ओमकार पूर्णभक्त, मुना श्रेष्ठ लगायतका अन्य प्रतिवादीले ठगी गरेको हो, उक्त संस्थामा मैले चन्द्रावती थापाको नाउँमा रु.२०,२००।– अमित थापाको नाउँमा रु.१२,२२५।– र आशाकुमारी थापाको नाउँमा रु.११,३००।– गरी जम्मा रु.४३,७२५।– जम्मा गरेको थिएँ । उक्त रुपैयाँ मैले लिएको छैन, चन्द्रवती थापा श्रीमती र अमित छोरा आशाकुमारी थापा छोरी हुन् अभियोग पत्रमा उल्लिखित प्रतिवादीहरूबाट रकम असूल गरी सजाय हुनु पर्छ भन्ने समेत निवेदक राज थापाको बकपत्र ।
मैले नचिनेको केटीले रकम जम्मा गर्नुहोस् भनेको हुँदा मैले सो संस्थामा रु.९४०।– जम्मा गरेको थिएँ सो संस्था बन्द गरी गएको हुँदा ठगी गरेको हो सो ठगी गरेको रकम दिलाइ सजाय समेत हुनुपर्ने हो भन्ने समेत निवेदक नरकुमारी कार्कीको बकपत्र ।
सो कमलामाई बचत तथा ऋण सहकारी संस्थामा मैले पहिलो साल जम्मा गरेको रु.१००।– बाँकी राखी अन्य फिर्ता लिएँ सो संस्थामा मैले लिनुपर्ने रु.७,३००।– बाँकी छ म समेतको रकम असूल भै सजाय समेत हुनुपर्ने हो भन्ने समेत निवेदक देवमाया खड्काको बकपत्र ।
प्रतिवादी ओमकार समेतले संस्था खोली रकम जम्मा गर्नुहोस् भन्नु भएको हुँदा मैले सो संस्थामा रु.३६,०००।– जम्मा गरेको थिएँ सो रकम ठगी गरेकोले सो संस्थाका सञ्चालकहरूबाट रकम असूल गरी कानूनबमोजिम सजाय गरिपाऊँ भन्ने समेत जाहेरवाला बचतकर्ता शुभद्रा शाहको बकपत्र ।
प्रस्तुत मुद्दाका प्रतिवादीहरूले संस्था खोली रकम असूल गरेको हो । मैले सो संस्थामा रु.२८,३५०।– जम्मा गरेको हुँ, सो रकम असूल भएपछि कारवाही हुनुपर्ने होइन भन्ने समेत बचतकर्ता सुरेश साहको बकपत्र ।
उक्त संस्थामा मैले रु.१०,३००।– जम्मा गरेको थिएँ सो रकम शान्ति श्रेष्ठ समेतले ठगी गरेको हो सो रुपैयाँ नदिएसम्म सजाय हुनु पर्छ, त्यसपछि सजाय दिनु पर्दैन भन्ने समेत बचतकर्ता सुनिता चमारको बकपत्र ।
मेरो ममी शैलेजा श्रेष्ठले मेरो र मेरो दिदी एलिना श्रेष्ठको संयुक्त नाममा बचत खाता खोली दैनिक १०।– का दरले जम्मा गरी दिनु भएको थियो, सो रुपैयाँ १०।१२ हजार जति भएको छ, हामीलाई रकम फिर्ता दिएको छैन ठगी गरेको हो होइन मलाई थाहा छैन । पूर्णभक्त र विनोद लामाबाट रकम असूल गरिपाऊँ भन्ने समेत बचतकर्ता शैलिना श्रेष्ठको बकपत्र ।
शोभा, मुना, शान्ति, ओमकार समेत चिनेका र अन्य नचिनेका व्यक्तिले मबाट रु.२,५४५।– ठगी गरेको हो भन्ने समेत बचतकर्ता विष्णुकुमारी तामाङ्गको बकपत्र ।
मेरो रु.२,९९०।– बचत रकम प्रतिवादी ओम, मुना, शोभा, शान्तिले जम्मा गर्न लगाई ठगी गरेको हो भन्ने समेत बचतकर्ता पल्टीदेवी महतोको बकपत्र ।
मैले फाइनान्समा जम्मा गरेको रु.३,०००।– रकम प्रतिवादीहरूबाट दिलाइ पाऊँ भन्ने समेत बचतकर्ता चिनीमाया श्रेष्ठको बकपत्र ।
प्रतिवादी ओमकार श्रेष्ठले मेरो रु.१,०२०।– फिर्ता नदिएकोले सो रकम दिलाइ भराइ पाऊँ भन्ने समेत बचतकर्ता लक्ष्मीदेवी बस्नेतको बकपत्र ।
मैले कमलामाई बचत तथा ऋण सहकारी संस्थामा रु.५,२५०।– जम्मा गरेको थिएँ, सो रकम फिर्ता नगरी ठगी गरेको हो, ठगी गर्नेमा ओमकार, पूर्णभक्त हुन मेरो रकम दिलाइ भराइ पाऊँ भन्ने समेत बचतकर्ता सूर्यबहादुर रायको बकपत्र ।
रकम जम्मा गर्नुहोस भनी ओमकार समेतले भनेको हुँदा सो संस्थामा मैले रु.४,२००।– जम्मा गरेको थिएँ सो रकम फिर्ता नगरी सो संस्था बन्द गरेको हुँदा मेरो रकम दिलाइ भराइ पाऊँ भन्ने समेत बचतकर्ता विष्णु पाण्डेको बकपत्र ।
मैले सो संस्थामा जम्मा गरेको रु.१,५२०।– लिन बाँकी छ, ठगी गर्ने व्यक्तिको नाम मलाई थाहा छैन मेरो रु.१,५२०।– दिलाइ भराइ पाऊँ भन्ने बचतकर्ता निर्मला चौधरीको बकपत्र ।
मेरो नाममा लगभग रु.३,७००।–जति र आमा कमला श्रेष्ठको नाममा ३,७००।– जति जम्मा गरेको थिएँ । रकम फिर्ता नगरी संस्था बन्द गरेको हुँदा मेरो रकम ओमकारबाट दिलाइ भराइ पाऊँ भन्ने निवेदक मनोज श्रेष्ठको बकपत्र ।
मैले सो संस्थामा रु.२५,०००।– जम्मा गरेको थिएँ, सो रकम फिर्ता नगरी ओमकार समेतले ठगी गरेको हो भन्ने समेत निवेदक माया शेर्पाको बकपत्र ।
मैले सो संस्थामा रु.५,८५६।– जम्मा गरेको छु सो रकम फिर्ता नगरी प्रतिवादी ओमकार, पूर्णभक्त समेतले ठगी गरेको हो, मेरो रकम दिलाइ भराइ पाऊँ बचतकर्ता शोभा बानियाको बकपत्र ।
सो संस्थामा मेरो नामबाट काजिल पाउरोटी उद्योग र मेरै घरमा काम गर्ने सानु मगर समेत ३ जनाको १०,००२।– लिन बाँकी छ सो रकम दिलाइ पाऊँ भन्ने धनमाया दर्लामीको बकपत्र ।
सो संस्थामा मैले जम्मा गरेको रु.१६०।– जम्मा गरेको छु सो रकम शान्तिले नै ठगी गरेको हो सो रकम असूलउपर गरिपाऊँ भन्ने बचतकर्ता बुद्धमाया घलानको बकपत्र ।
सो संस्थामा मेरो नाबालिका छोरी बिसमिता बम्जनको नाममा रु.७,४००।– जम्मा गरेको थिएँ सो रकम फिर्ता नगरी ओमकार समेतले ठगी गरेको हो सो ठगी गरेको रकम दिलाइ भराइ पाऊँ भन्ने समेत बिसमिता बम्जनको संरक्षक आमा एली बम्जनको बकपत्र ।
मैले सो संस्थामा जम्मा गरेको रु.१,२००।– फिर्ता नगरी ओमकार समेतले ठगी गरेका हुन् मेरो ठगी भएको रु.१,२००।– दिलाइ भराइ पाऊँ भन्ने बचतकर्ता नारायणप्रसाद घिमिरेको बकपत्र ।
प्रतिवादी ओमकार समेतले खोलेको संस्थामा मेले रु.३,१८०।– जम्मा गरेको थिएँ, सो रकम फिर्ता नगरी ओमकार समेतले ठगी गरेको हुँदा सो रकम दिलाइ भराइ पाऊँ भन्ने बचतकर्ता भाग्यप्रसाद काफ्लेको बकपत्र ।
मेरो छोरी सरस्वती पोर्तेलको नामबाट जम्मा रु.५,५००।– सो संस्था खोल्ने ओमकार समेतले ठगी गरेका हुन् भन्ने बचतकर्ता सरस्वतीको संरक्षक आमा शोभा पार्तेलको बकपत्र ।
पटक–पटक जम्मा गरेको रु.२,४४०।– प्रतिवादीहरूले ठगी गरेका हुन् भन्ने बचतकर्ता ज्ञानीमायाँ वाईवाको बकपत्र ।
मेरो नामबाट सो संस्थामा पटक–पटक जम्मा गरेको रु.१,७४५।– प्रतिवादी ओमकार समेतले ठगी गरेका हुन् भन्ने समेत बचतकर्ता रत्नमाया पुलामीको बकपत्र ।
मेरो नामबाट सो संस्थामा पटक–पटक जम्मा गरेको रु.७,४२०।– ठगी गरेका हुन् भन्ने समेत बचतकर्ता नीलकुमारी श्रेष्ठको बकपत्र ।
कमलामाई फाइनान्समा जम्मा गरेको सम्पूर्ण रकम पाइसकेको छु, प्रतिवादीहरू कसैले पनि ठगी गरेको होइन भन्ने बचतकर्ता केशर भुजेलको बकपत्र ।
उक्त कमलामाई सहकारी संस्थामा मेरो श्रीमती जेसुन तामाङ्गको नाउँमा जम्मा गरेको रु.१२,५५०।– प्रतिवादी समेतले ठगी गरेका हुन् भन्ने समेत प्रतिवेदक बुद्धिमान तामाङ्गको बकपत्र ।
मेरो छोरी विगत विजया अधिकारीको नामबाट पटक–पटक गरी जम्मा गरेको रु.५१३।– प्रतिवादी ओमकार समेतले ठगी गरेका हुन् भन्ने समेत प्रतिवेदक हरिबहादुर अधिकारीको बकपत्र ।
प्रतिवादी ओमकार समेतले खोलेको संस्थामा रकम जम्मा गर्न लगाई मैले सो संस्थामा रु.२,९३०।– जम्मा गरेको थिएँ सो रकम फिर्ता नगरी उक्त रकम पूर्णभक्त, विनोद लामा र ओमकारले ठगी गरेको हुँदा सो रकम दिलाइ भराइ पाऊँ भन्ने समेत बचतकर्ता सुशीलकुमार देवकोटाको बकपत्र ।
मैले सो संस्थामा ५,१८७।– जम्मा गरेको थिएँ मैले जम्मा गरेको रकम फिर्ता नदिई सो संस्थाबाट ठगी गरेको हुँदा सो रुपैयाँ दिलाइ भराइ पाऊँ भन्ने समेत बचतकर्ता तिलकबहादुर बुढाथोकीको बकपत्र ।
मैले सो संस्थामा रु.३,८३०।– जम्मा गरेको थिएँ, सो रकम फिर्ता नगरी संस्था बन्द गरी प्रतिवादी ओमकार, पूर्णभक्त, विनोद लामाले ठगी गरेको हुँदा सो रकम दिलाइ भराइ पाऊँ दिलाइ भराइ पाऊँ भन्ने बचतकर्ता सुरेशविक्रम देवकोटाको बकपत्र ।
मैले सो कमलामाई बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको रु.७,२००।– फिर्ता नगरी संस्था बन्द गरेको हुँदा प्रतिवादी ओमकारले ठगी गरेको हुँदा मेरो रकम दिलाइ भराइ पाऊँ भन्ने बचतकर्ता संजनु श्रेष्ठको हकमा चित्तनारायण श्रेष्ठको बकपत्र ।
मेरो छोरा वर्ष ७ को रुजु श्रेष्ठको नाममा जम्मा गरेको रु.७,२००।– फिर्ता नगरी संस्था बन्द गरेको हुँदा प्रतिवादी ओमकारले ठगी गरेको हुँदा मेरो रकम दिलाइ भराइ पाऊँ भन्ने बचतकर्ता संजुन श्रेष्ठको हकमा चित्त नारायण श्रेष्ठको बकपत्र ।
सो संस्थामा मैले जम्मा गरेको रकमबाट पहिलो पटक ४०,०००।– लिएँ र पुनः जम्मा गर्न शुरु गरी मेरो जम्मा रु.१०,०००।– भएकोमा मैले ९,०००।– लिइसकेँ । अब मेरो सो संस्थाबाट लिन १,०००।– बाँकी छ र मेरो बुवा अमृतलालको नामबाट जम्मा गरेको रु.१,१००।– समेत जम्मा मेरो नामको र बुवाको नामको गरी जम्मा रु.२,१००।– सो संस्थाले फिर्ता नगरी संस्था बन्द गरी म समेतको रुपैयाँ सो संस्थाका सञ्चालकहरूले ठगी गरेको हुँदा सो ठगी भएको रकम असूल गरिपाऊँ भन्ने समेत बचतकर्ता दीपक श्रेष्ठ कोजूको बकपत्र ।
सो संस्थामा मेरो छोरा पेमा कुर्से लामाले जम्मा गरेको रु.८००।– कमलामाई बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले ठगी गरेका हुन सो ठगी भएको रकम संस्थाका सञ्चालकहरूबाट दिलाई भराई पाऊँ भन्ने बचतकर्ता पेमा कुसे लामा सूर्यबहादुर लामाको बकपत्र ।
प्रतिवादी पूर्णभक्त, विनोद लामा समेतले कमलामाई बचत तथा ऋण सहकारी संस्था खोली सो संस्थामा रकम जम्मा गर्न लगाएको हुँदा मैले रु.२४,९००।– जम्मा गरेकोमा सो रकम फिर्ता नगरी संस्था बन्द गरी पूर्णभक्त र विनोद लामा समेतले ठगी गरेको हुँदा ठगी भएको रकम दिलाई भराई सजाय समेत गरिपाऊँ भन्ने समेत बचतकर्ता रुपलाल खड्की (कसाई) को बकपत्र ।
प्रतिवादी ओमकार समेतले खोलेको कमलामाई बचत तथा ऋण सहकारी संस्थामा मैले रु.२,३००।– जम्मा गरेको थिएँ, सो रकम फिर्ता लिन बाँकी नै थियो, सो रकम संस्था सञ्चालन गर्नेले नै ठगी गरेको हुँदा मेरो ठगी भएको रकम दिलाइ भराइ पाऊँ भन्ने समेत बचतकर्ता अशोक श्रेष्ठको बकपत्र ।
प्रतिवादी पूर्णभक्त, विनोद लामा र ओमकार समेतले सञ्चालन गरेको कमलामाई बचत तथा ऋण सहकारी संस्थामा मैले ३,७७०।– जम्मा गरेको थिएँ, सो रकम फिर्ता नगरी पूर्णभक्त, विनोद लामा र ओमकार समेतले ठगी गरेको हुँदा मेरो रकम दिलाइ भराइ पाऊँ भन्ने समेत बचतकर्ता सुरेश चौधरीको बकपत्र ।
प्रतिवादी पूर्णभक्त समेतले खोलेको संस्थामा मैले १,७५०।– जम्मा गरेको थिएँ सो संस्था घाटा परेको कारणबाट सो अवस्था भएको हो, प्रतिवादीहरूले ठगी गरेको होइन मैले लिन बाँकी रु.१,७५०।– दिलाइ पाऊँ भन्ने समेत बचतकर्ता प्रमोद चौधरीको बकपत्र ।
प्रतिवादी ओमकार समेतले खोलेको संस्थामा मैले रकम जम्मा गरेको हुँ । संस्था घाटा परेको कारणबाट यो अवस्था भएको हो, प्रतिवादी ओमकार समेतले ठगी गरेको होइन, भन्ने समेत बचतकर्ता रमेशकुमार श्रेष्ठको बकपत्र ।
कमलामाई बचत तथा ऋण सहकारी संस्था पूर्णभक्त, विनोद लामा समेतले खोलेका थिए सो संस्थामा मैले रकम पनि जम्मा गरेको थिए मैले जम्मा गरेको रकम लिई पाइसकेको छु सो संस्था सञ्चालन गर्ने पूर्णभक्त विनोद लामाको लापरवाहीबाट यो अवस्था आइपरेको हो प्रतिवादी ओमकार समेतले ठगी गरेको होइन भन्ने समेत बचतकर्ता हर्कबहादुर राजभण्डारीको बकपत्र ।
मेरो रु.३,७०१।– ठगी गरेको हो कसले ठगी गरे मलाई थाहा छैन भन्ने समेत बचतकर्ता भिमराज घिसिंङको बकपत्र ।
मैले जम्मा गरेको रु.१०,५५०।– थियो ७,७४३।–आफूले निकालेँ अब रु.२,८०७।– बाँकी छ, पूर्णभक्त समेतले मेरो रकम ठगी गरेका हुन् भन्ने बचतकर्ता बब्लु चौधरीको बकपत्र ।
प्रतिवादी ओमकार समेतले खोलेको कमलामाई बचत तथा ऋण सहकारी संस्थामा मेरो वर्ष ५ को छोरी अन्जली श्रेष्ठको नामबाट जम्मा गरेको रु.१७,७५०।– फिर्ता नदिई संस्था बन्द गरी सञ्चालकहरूले नै ठगी गरेका हुन् मेरो छोरीको रु.१७,७५०।– दिलाइ भराइपाऊँ भन्ने समेत अन्जली श्रेष्ठको हकमा बाबु बैकुण्ठ श्रेष्ठको बकपत्र ।
सो संस्थाका मेनेजर पूर्णभक्त र विनोद लामा हुन् उनीहरूकै तर्फबाट ओमकार पनि पर्यो, ओमकारले ठगी गरेको होइन, संस्था घाटामा गएछ भन्ने समेत चन्द्रमान तामाङ्गको बकपत्र ।
पूर्णभक्त लामा समेतले कमलामाई बचत तथा ऋण सहकारी संस्था खोली सो संस्थामा रकम जम्मा गर्न लगाएको हुँदा मैले सो संस्थामा रु.९,४००।– जम्मा गरेको थिएँ सो रकम फिर्ता नगरी संस्था बन्द गरी पूर्णभक्त र विनोद लामाले ठगी गरेको हुँदा मेरो रकम दिलाइ पाऊँ भन्ने समेत बचतकर्ता बालकृष्ण वैदारको बकपत्र ।
निवेदक जेसुङ्ग तामाङ्ग समेतका थप अभियोगपत्रद्वारा माग गरिएको रकम मैले ठगी गरेको होइन, निजहरूको रकम तिर्नु पर्नें नपर्ने पूर्णभक्त र विनोद लामा जान्दछन, सो संस्थाको अध्यक्ष म भएपनि मैले कुनै पनि कारोवार गरेको छैन मेरो घरमा छ भनेको कागजात समेत पूर्णभक्तले नै लगिसकेका छन् अन्य कागजात धनीलालको घरमा छ म थुनामा भएको कारण म दाखिल गर्नू सक्तिन अदालतबाटै झिकाइपाऊँ भन्ने समेत प्रतिवादी ओमकार श्रेष्ठको ततिम्बा बयान ।
म सो कमालामाई बचत तथा ऋण सहकारी संस्थाका ग्राहकबाट रकम असूल गरी संस्थाका पूर्णभक्त समेतलाई बुझाउने गरेको सामान्य कर्मचारी हुँ । मैले कुनै ग्राहकको रकम ठगी गरेको नहुँदा मैले थप अभियोग पत्र बमोजिमको रकम तिर्नु पर्ने होइन भन्ने समेत प्रतिवादी शान्ति श्रेष्ठको ततिम्बा बयान ।
म तथा मलाई वारेस दिने केशवकुमार, पवनकुमार समेतले थप अभियोग पत्रमा उल्लिखित रकम ठगी गरेको होइन, म तथा मलाई वारेस दिनेहरूले संस्थाको कुनै पनि कारोवार गरेको छैन सो रकम ठगी गरेको नहुँदा तिर्नु बुझाउनु पर्ने होइन भन्ने समेत प्रतिवादी वा.स. एकनारायण श्रेष्ठको ततिम्बा बयान ।
मलाई वारेस दिने हिरा कुमारी सो कमलामाई बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तासंग रकम असूल गरी संस्थामा बुझाउने कामसम्म गरेकी हुन्, थप अभियोग पत्रमा उल्लिखित कुनै पनि रकम ठगी गरेको होइन । तसर्थ तिनुपर्ने समेत होइन भन्ने प्रतिवादी वा. नारायणप्रसाद अधिकारीको ततिम्बा बयान ।
खाता खोलेको मिति थाहा छैन कमलामाई बचत तथा ऋण सहकारी संस्थाको नाममा विनोद लामा पूर्णभक्त लामा र मेरो नाममा खोलिएको थियो तर पैसा निकाल्न पाउने अधिकार विनोद लामालाई मात्र थियो । शुरु खाता खोल्न २०,०००।– हजार जम्मा गरेको थियो सो खाताबाहेक अन्यत्र खाता खोले नखोलेको मलाई थाहा छैन,भन्ने समेत प्रतिवादी ओमकार श्रेष्ठको ततिम्बा बयान ।
म समेतले कमलामाई बचत तथा ऋण सहकारी संस्था दर्ता गर्न स्थानीय व्यक्तिको नागरिकता समेत आवश्यक पर्ने भएकोले विनोदकुमार र पूर्णभक्त यस जिल्लाको नभएको हुँदा म अध्यक्ष, कोषाध्यक्ष केशव श्रेष्ठ, सचिव पवन श्रेष्ठ, सदस्य एकनारायण र मुना श्रेष्ठ रहेको समितिले सञ्चालन गर्ने गरी संस्था दर्ता गरेको हो । निर्वाचन पछि गर्ने गरी एक आपसमा सल्लाह गरी अध्यक्ष म आफैँ उपाध्यक्ष पूर्णभक्त, कोषाध्यक्ष विनोद कुमार बोम्जन, सचिव सन्तोष देवकोटा सदस्य मुना श्रेष्ठको नाममा नेपाल बंगलादेश बैङ्क जिल्ला जनकपुर शाखामा खाता खोली विनोदकुमारको दस्तखतबाट कारोवार हुने गरेको थियो, विनोदकुमार बोम्जन र विनोदकुमार लामा भन्ने व्यक्ति एउटै हो बोम्जन उसको थर लामा चाही टाईटिल राखेको हो भन्ने समेत प्रतिवादी ओमकारको ततिम्बा बयान ।
प्रतिवादी विनोद लामाले मिति २०६०।२।२३ मा र प्रतिवादी पूर्णभक्त लामाले मिति २०६०।३।१ गते तामेल भएको समाव्हानको म्यादभित्र हाजीर नभै म्यादै गुजारी बसेको रहेछ ।
समितिमा रहने एकनारायण श्रेष्ठ, केशवकुमार श्रेष्ठ, पवनकुमार श्रेष्ठ, मुना श्रेष्ठको ठगीको कार्यमा संलग्नता रहेको नदेखिएको र विगो फिर्ता गर्नुपर्ने कुरा मिसिलबाट नदेखिँदा निजहरूले अभियोग दावीबाट सफाई पाउने ठहर्छ । प्रतिवादी शोभा कुमारी श्रेष्ठ, शान्तिकुमारी श्रेष्ठ, निरा फुयाल (अधिकारी) कमलामाई ऋण तथा बचत सहकारी संस्था लि.बाट बचतकर्ताहरूको रकम संकलन गर्ने कर्मचारी रहे भएको र निजहरूले रकम उठाई संस्थामा बुझाउने कार्य गरेको देखिँदा निजहरूले पनि अभियोग दावीबाट सफाई पाउने ठहर्छ । प्रतिवादी ओमकार श्रेष्ठले आफू पूर्णभक्त लामा र विनोद लामाले बचतकर्ताहरूको र संस्थाले तिर्नुपर्ने रकम तिर्नु पर्ने हो भनी अदालतमा बयान गरेको ती तीनै जनाले जिल्ला प्रशासन कार्यालयमा रकम तिर्ने कागज समेत गरेको देखिएको, संस्थाको कार्यक्षेत्र सिन्धुलीमात्र रहेकोमा प्रतिवादी पूर्णभक्त लामा र विनोद लामा जो हेटौंडाका व्यक्तिहरू हुन्, निजहरूले संस्थामा महाप्रबन्धक र प्रबन्धक भै कामकाज गरेको, निजहरूले अदालतबाट जारी भएको समाव्हानको शुरु म्यादै गुजारी आफ्नो सबूद लिई अदालतमा नआएकोले निजहरूलाई निर्दोष हुन् भन्न सकिने अवस्था नदेखिँदा प्रतिवादी ओमकार श्रेष्ठ, प्रतिवादी विनोद लामा र प्रतिवादी पूर्णभक्त लामाले अभियोग दावीको कसूर गरेको ठहर्छ । निज प्रतिवादीहरूले विगो रु.९,६४,८५२।४५ को ठगी गरेको देखिँदा प्रतिवादी ओमकार श्रेष्ठलाई १ वर्ष ६ महिना कैद रु.९,६४,८५२।४५ जरीवाना हुन्छ । प्रतिवादी पूर्णभक्त लामालाई २ वर्ष कैद र रु.९,६४,८५२।४५ जरीवाना तथा प्रतिवादी विनोद लामालाई १ वर्ष ९ महिना कैद र रु.९,६४,८५२।४५ जरीवाना हुन्छ । जाहेरवालाहरूले प्रतिवादीहरू ३ जनाबाट विगो दामासाहीले भरी पाउँछ । विगो रु.१९,९४८।– जाहेरवालाले पाईसकेको भनी बकपत्र गरेको हुँदा सो विगोको हकमा दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको सिन्धुली जिल्ला अदालतको मिति २०६१।८।२३।४ को फैसला ।
प्रतिवादी निरा, शोभा, शान्ति र मुनालगायत सम्पूर्ण प्रतिवादीहरूको बयानबाट निजहरूले उजूरवाला ग्राहकहरू समेतसँग नगदको कारोवार गर्ने गरेको तथ्य देखिन्छ । संकलित नगद ठगी भएको प्रमाणित भएपछि सोको प्रत्यक्ष कारोवारमा संलग्न प्रतिवादीहरूलाई ठगीको आपराधिक दायित्वबाट मुक्ति दिन मिल्ने होइन । त्यसै गरी पवनकुमार, मुना श्रेष्ठ, केशव श्रेष्ठ र एकनारायण संस्थाको पदाधिकारी हुँदा निजहरू संलग्न संस्थाको कारोवार अवैधानिक देखिएपछि सोको कारोवारमा संलग्न पदाधिकारीहरू निर्विवाद रुपमा सजायको भागिदार हुनुपर्नेमा सो तर्फ दृष्टिगत नै नगरी भएको शुरु फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरी अभियोग दावीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
अनुसन्धानको क्रममा देखिएका कानूनी विसंगतीहरू, मौकामा कागज गर्ने मानिसले बकपत्र गर्न नसकेको अवस्था, बचतकर्ता स्वयं उजूर गर्न र अदालतमा आई बकपत्र गर्न नसकेको र अ.वं. ८३ नं. बमोजिम अनुमति नलिएको अवस्थामा घाटा लागेको कुरालाई ठगीको परिभाषाभित्र पारी देखाइएको विगो र जरीवाना गर्ने गरेको शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट उन्मुक्ति पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी ओमकार श्रेष्ठको पुनरावेदन पत्र ।
ठगी गरेको ठहर्याइएका प्रतिवादीपिच्छे विगोबमोजिम जरीवाना गरिएको शुरु जिल्ला अदालतको फैसला ठगीको ४ नं. को कानूनी व्यवस्थाको अन्तरनिहीत मनसायविपरीत भै फरक पर्नसक्ने देखिँदा छलफलको लागि पुनरावेदन सरकारी वकील कार्यालय जनकपुरलाई पेशीको सूचना दिनु भन्ने पुनरावेदन अदालत जनकपुरको आदेश ।
प्रतिवादीहरू मध्ये ओमकार श्रेष्ठ अध्यक्ष, केशवकुमार श्रेष्ठ कोषाध्यक्ष, पवनकुमार श्रेष्ठ सचिव, एकनारायण श्रेष्ठ सदस्य र मुना श्रेष्ठ सदस्य रही श्री कमलामाई बचत तथा ऋण सहकारी संस्था नामक संस्था जिल्ला सहकारी कार्यालय मकवानपुरमा दर्ता गरी सोको कार्य क्षेत्र सिन्धुली जिल्ला भरी सीमित रहने भनी संस्थाको विनियममा उल्लेख गरी खोली सो संस्थामा यी प्रत्यर्थी (प्रतिवादी) निरा फुँयाल (अधिकारी) शान्तिकुमारी श्रेष्ठ, शोभाकुमारी श्रेष्ठ, पूर्णभक्त लामा र विनोद लामा संलग्न भई जाहेरवालाहरू समेतबाट निक्षेप संकलन गरेको तथ्यमा विवाद देखिँदैन । स्वयं यी पुनरावेदक (प्रतिवादी) ओमकार श्रेष्ठले अदालत समक्ष बयान गर्दा संस्था एक वर्षसम्म राम्रोसंग चलेको, पछि घाटामा गएको र लगानी उठाउन नसकेबाट संस्था बन्द भएको हो भनेपनि सहकारी संस्था सञ्चालकले निक्षेपकर्ताहरूबाट रकम संकलन गरी निजहरूलाई निक्षेप भुक्तानी नै नगरी बन्द गरेबाट संस्था सञ्चालकहरूमा बदनियतको भावना एकातर्फ देखिन्छ भने अर्कोतर्फ सोही ऐनको दफा ३९ हेर्दा “कुनै व्यक्तिले संस्था वा संघबाट प्राप्त गरेको ऋण वा संस्था वा संघलाई तिर्नुपर्ने बाँकी बक्यौता, संस्था वा संघको हिनामिना गरेको सम्पत्तिको विगो र सो रकमहरूमा लागेको व्याज समेत संस्था वा संघले आफैँ वा संस्था वा संघको सिफारिशमा रजिष्ट्रारले निजको जाय जेथाबाट तोकिएबमोजिमको कार्यविधि अपनाई लिलाम विक्री गरी असूलउपर गर्न सक्नेछ” भन्ने उल्लेख भएकोबाट लगानी उठाउन नसकेको समेतबाट संस्था बन्द गर्नु परेको भन्ने समेतको प्रतिवादी ओमकार श्रेष्ठको जुन जिकीर छ सो युक्तिसंगत मान्न मिल्दैन । किनकी नत संस्थाको तर्फबाट लगानी गरेको ऋण बक्यौता तथा हिनामिना गरेको सम्पत्ति विगो असूलउपर गर्न कुनै प्रयत्न नै गरेको पाइन्छ नत संस्थाले उक्त कार्यका लागि रजिष्ट्रारलाई सिफारिश नै गरेको देखिन्छ ।
प्रस्तुत मुद्दामा जाहेरवालाहरू समेतबाट निक्षेप संकलन गरी निजहरूलाई चुक्ता गर्नुपर्ने रकम समयमा नदिई संस्था नैं बन्द गर्ने कार्य गरेबाट निक्षेपकर्ताहरूको हक पुग्ने संकलित रकम लिएखाएको कार्यलाई उक्त ठगीको महलको १ नं.को परिभाषाभित्र समेटिन आएको देखियो । अब उक्त कार्यमा क–कसको संलग्नता रहेको छ भन्ने प्रश्नतर्फ विचार गर्दा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले प्रतिवादी ओमकार श्रेष्ठ, विनोद लामा, पूर्णभक्त लामालाई मिति २०५९।२।२८ मा संस्थाको बचतकर्ताको रकम १ महिनाभित्र आधा–आधा रकम फिर्ता गर्ने र बाँकी रकम अर्को १½ महिनाभित्र चुक्ता गर्न समेत कागज गराई हाजीर जमानीमा छाडी दिएको अवस्था एकातर्फ देखिन्छ भने अर्कोतर्फ प्रतिवादी ओमकार श्रेष्ठले अदालत समक्ष बयान गर्दा संस्थाको महाप्रबन्धक विनोद लामा र प्रबन्धक पूर्णभक्त लामा हुन् । मुख्य व्यक्ति भनेकै हामी तीन जना हौं । केशव श्रेष्ठ, पवनकुमार, एकनारायण र मुना श्रेष्ठ सो समितिको कोरम पुर्याउन सम्म राखिएको हो । निजहरू निर्दोष छन् । संस्था बन्द भै सकेको हुँदा विनोद पूर्णभक्त र मैले तिर्नु पर्ने हो भनी उल्लेख गरेबाट र जिल्ला प्रशासन कार्यालयमा निक्षेपित रकम भुक्तानी गर्न समय तोकिएपनि प्रतिवादी विनोद लामा र पूर्णभक्त लामा फरार भएबाट निजहरूको समेत उक्त कसूरमा संलग्नता रहेनछ भनी मान्न मिलेन ।
तसर्थ, प्रतिवादीहरू एकनारायण श्रेष्ठ, केशवकुमार श्रेष्ठ, पवनकुमार श्रेष्ठ, मुना श्रेष्ठ, शोभाकुमारी, शान्तिकुमारी, निरा फुयाल (अधिकारी) लाई सफाई दिने गरी र ओमकार श्रेष्ठ, पूर्णभक्त लामा र विनोद लामाले ठगी गरेको ठहर्याई प्रतिवादी ओमकार श्रेष्ठलाई १ वर्ष ६ महिना कैद, प्रतिवादी पूर्णभक्त लामालाई २ वर्ष कैद र प्रतिवादी विनोद लामालाई १ वर्ष ९ महिना कैद सम्म हुने ठहरी भएको मिति २०६१।८।२३ को सिन्धुली जिल्ला अदालतको फैसला मिलेको देखिँदा सदर हुने र विगो तथा जरीवाना तर्फ विचार गर्दा अब कायम रहेको विगो रु.९,२२,०६०।४५ प्रतिवादी ओमकार श्रेष्ठ, पूर्णभक्त लामा र विनोद लामाबाट जाहेरवालाहरूले दामासाहीका दरले भरी पाउने र जरीवानातर्फ हेर्दा सर्वोच्च अदालत संयुक्त इजलासको सर्वोच्च अदालत बुलेटिन वर्ष १३ अङ्क ८ पृष्ठ ११ मा उल्लिखित फौ.पु.नं. २३५९ को ठगी मुद्दामा प्रतिपादित सिद्धान्तअनुसार ठगीको कायम भएको विगोको जरीवाना, एक भन्दा बढी प्रतिवादी भएको अवस्थामा जनही जरीवाना नगरी दामासाहीले जरीवाना हुने भनी सिद्धान्त प्रतिपादन भएको देखिँदा पुनरावेदन गर्ने म्याद गुजारी बसेको प्रतिवादीहरू पूर्णभक्त लामा र विनोद लामाको हकमा समेत अ.वं. २०५ नं. बमोजिम जनही रु.३,०७,३५३।४८ जरीवाना हुने हुँदा सो फैसला सो हदसम्म केही उल्टी भई सफाई पाऊँ भन्ने ओमकार श्रेष्ठको र सफाई पाएका प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेत पुनरावेदन अदालत जनकपुरको मिति २०६४।१।५ को फैसला ।
म पुनरावेदक समेतले खोलेको कमलामाई बचत तथा ऋण सहकारी संस्था सहकारी ऐन, २०४८ अनुसार दर्ता गरी आर्थिक कारोवार गर्न अनुमति पाएको संस्था हो । संस्थाको आफ्नै विनियमअनुसार बचतकर्ताहरूबाट, रुपैयाँ बचत (जम्मा) गर्ने र ऋण लगानी गर्ने कार्य भई आएकोमा बचतकर्ताहरूले हल्लाको भरमा आफूहरूले जम्मा गरेको रकम एकै पटक भुक्तानी माग्न आएकोले हामी जिम्मेवार पदाधिकारी नभएको बखत कर्मचारीहरूले केही दिन संस्था नै बन्द गरेका रहेछन् । सोही कारण बचतकर्ताहरूमा भ्रम सिर्जना भई ठगीमा उजूरी दिएको अवस्था हो । जुन कुरा ठगीको १ नं. को परिभाषाभित्र पर्दैन । म पुनरावेदक समेतलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उपस्थित गराई १ महिनाभित्र आधा र १½ महिनाभित्र पूरा रकम चुक्ता गराउने शर्तनामा गराई मिति २०५९।२।२८ मा छोडिएको छ । यसबाट पनि देवानी दायित्वको रुपमा रहेको रकम भुक्तानीको समस्या हो भन्ने प्रष्ट छ भने यस्तो कार्यलाई आपराधिक कार्यमा रुपान्तरण गर्न ठगीको ३ नं. को कानूनी व्यवस्थाको विपरीत गै ठगी गरेको ठहर्याई शुरु सिन्धुली जिल्ला अदालतले गरेको फैसला केही मात्र उल्टी गरी म पुनरावेदकलाई ठगीमा सजाय गर्ने गरी भएको पुनरावेदन अदालत जनकपुरको मिति २०६४।१।५ का फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पूर्णतया सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी ओमकार श्रेष्ठको पुनरावेदन पत्र ।
यसमा शुरु उजूरी परेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कारवाही हुँदा जाहेरवालाहरूको रकम बुझाउने भनी यी पुनरावेदक प्रतिवादी ओमकार श्रेष्ठ समेतको रोहवरमा मिति २०५९।२।२८ मा कागज भई पुनरावेदकको जेथा समेत रोक्का रही देवानी दायित्व समेत सिर्जना भएको तर्फको प्रमाणको मूल्याङ्कन नगरी पुनरावेदन अदालतबाट भएको इन्साफ फरक पर्न सक्ने देखिँदा छलफलका लागि प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।१०।१७ को आदेश ।
यस अदालतको मिति २०६७।१०।१७ को आदेशमा उल्लेख भएको मिति २०५९।२।२८ को कागजात सहितको मिसिल कहाँ छ ? पुनरावेदक प्रतिवादीबाट अ.वं. १३३ नं. बमोजिम खुलाउन लगाई खुल्न आए झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६८।११।१५ को आदेश ।
नियमबमोजिम पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल संलग्न प्रमाण मिसिल समेतको अध्ययन गरी पुनरावेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री कृष्णप्रसाद सापकोटा, श्री शंकरकुमार श्रेष्ठ र श्री राजेश्वर अधिकारीले तथा प्रत्यर्थी/वादी नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ता कार्यालयका विद्वान उपन्यायाधिवक्ता श्री भरतलाल शर्माले गर्नु भएको बहस समेत सुनियो । पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला मिले नमिलेको के रहेछ प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने नसक्ने के रहेछ सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
निर्णयतर्फ विचार गर्दा प्रतिवादी ओमकार श्रेष्ठ समेतले स्थापना गरेको कमलामाई सहकारी संस्थाले सर्वसाधारणसंग निक्षेप संकलन गरी फिर्ता नगरी कार्यालय नै बन्द गरी भागेको हुँदा ठगीमा कारवाही गरिपाऊँ भन्ने अभियोग दावी भएकोमा ठगीको १ नं.को कसूर गरेको ठहर गरी प्रतिवादीमध्येका ओमकार श्रेष्ठलाई १ वर्ष ६ महिना कैद र ९,६४,८५२।४५ पैसा जरीवाना, प्रतिवादी पूर्णभक्त लामालाई २ वर्ष कैद र रु.९,६४,८५२।४५ पैसा जरीवाना र प्रतिवादी विनोद लामालाई १ वर्ष ९ महिना कैद र रु.९,६४,८५२।४५ पैसा जरीवाना हुने, अन्य प्रतिवादीहरूले सफाई पाउने र विगो भरिपाउने ठहर गरी सिन्धुली जिल्ला अदालतले फैसला गरेकोमा वादी तथा प्रतिवादी मध्येका ओमकार श्रेष्ठले चित्त नबुझी पुनरावेदन गरेकोमा पुनरावेदन अदालत जनकपुरबाट अन्य प्रतिवादीहरूले सफाई पाएको र कैदको हकमा सदर गरी विगो रु.९,२२,०६०।४५ कायम गर्ने र जरीवानाको हकमा सोही विगोको रकमलाई ३ जना प्रतिवादीहरूलाई दामासाहीले हुने रकम जनही रु.३०७३५३।४८ पैसा जरीवाना हुने ठहर गरी भएको फैसलाउपर प्रतिवादी ओमकार श्रेष्ठले चित्त नबुझाई सफाई पाऊँ भनी यस अदालतमा पुनरावेदन गरेको पाइयो । पुनरावेदन जिकीर समेतको सन्दर्भमा हेर्दा प्रस्तुत मुद्दामा सर्वप्रथमतः निम्न दुई प्रश्नहरूको निराकरण गर्नुपर्ने देखियो ।
क) सहकारी संस्था खोली उक्त संस्थाको नाममा सर्वसाधारणबाट आकर्षक व्याजको लोभ देखाई निक्षेप संकलन गर्ने र संकलित रकम फिर्ता नगरी संस्था नैं बन्द गर्ने कार्य मुलुकी ऐन, ठगीको १ नं. को परिभाषाभित्र पर्ने हो होइन ?
ख) निक्षेपकर्ताहरूबाट संकलन गरेको रकम निश्चित समयभित्र फिर्ता बुझाउने भनी प्रमुख जिल्ला अधिकारी समक्ष गरेको कागजलाई मुलुकी ऐन, ठगीको ३ नं. को प्रयोजनको लागि भाखा तमसुक मान्न सकिन्छ वा सकिंदैन ?
२. यसमा पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा प्रतिवादीहरू मध्येका ओमकार श्रेष्ठ अध्यक्ष, केशव कुमार श्रेष्ठ कोषाध्यक्ष, पवनकुमार श्रेष्ठ सचिव, एकनारायण श्रेष्ठ सदस्य र मुना श्रेष्ठ सदस्य रही जिल्ला सहकारी कार्यालय मकवानपुरमा श्री कमलामाई बचत तथा ऋण सहकारी संस्था नामक संस्था दर्ता गरी सोको कार्यक्षेत्र सिन्धुली जिल्लाभर रहने भनी संस्थाको विनियममा उल्लेख गरी संस्था खोली सो संस्थामा अन्य प्रतिवादीहरू निरा फुयाल (अधिकारी) शान्तिकुमारी श्रेष्ठ, शोभाकुमारी श्रेष्ठ, पूर्णभक्त लामा र विनोद लामा समेत संलग्न भई जाहेरवालाहरू समेतबाट निक्षेप संकलन गरेको तथ्यमा विवाद देखिँदैन । यी पुनरावेदक (प्रतिवादी) ओमकार श्रेष्ठले अदालतसमक्ष बयान गर्दा संस्था एक वर्षसम्म राम्रोसंग चलेको पछि घाटामा गएको र लगानी उठाउन नसकेबाट संस्था बन्द भएको हो भनेपनि सहकारी संस्था सञ्चालकले निक्षेपकर्ताहरूबाट रकम संकलन गरी निजहरूलाई निक्षेप भुक्तानी नै नगरी बन्द गरेबाट संस्था सञ्चालकहरूमा बदनियतको भावना रहेको प्रष्ट देखिन्छ । लगानी उठाउन नसकेको समेतबाट संस्था बन्द गर्नु परेको भन्ने समेतको प्रतिवादी ओमकार श्रेष्ठको जुन जिकीर छ, सो युक्तिसंगत मान्न मिल्दैन । किनकी नत संस्थाको तर्फबाट लगानी गरेको ऋण बक्यौता तथा हिनामिना गरेको सम्पत्ति विगो असूलउपर गर्न आफै कुनै प्रयत्न नै गरेको पाइन्छ नत संस्थाले उक्त कार्यका लागि सहकारी ऐनको दफा ३९ बमोजिम रजिष्ट्रारलाई सिफारिश नै गरेको देखिन्छ । ऐनमा भएको प्रष्ट व्यवस्थाअनुसारको पनि कार्य नगर्ने र निक्षेपकर्तालाई तिर्छु बुझाउँछु भनी जिल्ला प्रशासनसमक्ष आफैले गरेको कबुल भाखाभित्र सो तिर्ने बुझाउने कार्य नै नगरेको पाइयो । यस्तो अवस्थामा प्रतिवादीहरूले जाहेरवालाहरू समेतबाट निक्षेप संकलन गरी निजहरूलाई चुक्ता गर्नुपर्ने रकम समयमा नदिई संस्था नैं बन्द गर्ने कार्य गरेबाट निक्षेपकर्ताहरूको हक पुग्ने आफ्नो संकलित रकम लिए खाएको कार्यलाई उक्त ठगीको महलको १ नं.को परिभाषाभित्र पर्छ पर्दैन के हो भन्ने सम्बन्धमा विचार गर्दा यस सम्बन्धमा यसै अदालतबाट प्रतिपादित सिद्धान्त र पूर्व निर्णयहरू पनि हेर्नुपर्ने हुन्छ ।
३. यसै सम्बन्धमा दीपक बस्याल प्रतिवादी भएको मुद्दामा (नेपाल सरकार विरुद्ध दीपक बस्याल नेकाप २०६७, नि.नं. ८३०२, भाग ५२, अङ्क १, पेज १२४) ....“प्रलोभन देखाएर सर्वसाधारणको रकम लिने र कबुल गरिएको शर्तअनुसार फिर्ता नगर्ने कार्यलाई सामान्य अर्थात् शुद्ध लेनदेनसम्बन्धी व्यवहार मान्न नमिल्ने । संस्थाका पदाधिकारीहरूले नियतवस बचतकर्ताहरूलाई झुक्याई रोजगारी वा उच्च प्रतिफल दिने भन्ने गफलतमा पारी रकम जम्मा गरेको देखिन आएबाट ठगीको १ नं. मा उल्लिखित ठगीका सम्पूर्ण तत्वहरू विद्यमान रहेकोले ठगीतर्फ अनुसन्धान, कारवाही भई अभियोग दायर भएको कार्य कानूनसम्मत् देखिने .... ” भनी व्याख्या भएको पाइन्छ भने नारायण थापा प्रतिवादी भएको ठगी मुद्दामा (नारायण थापा विरुद्ध नेपाल सरकार, नेकाप २०६६, नि.नं. ८११९, भाग ५१, अङ्क ४, पेज ५८३ ) “.... निश्चित् समयपश्चात् रकम फिर्ता गर्नुपर्ने दायित्व भएको सञ्चालक समितिले आफ्नो दायित्व पूरा नगरेको र निज प्रतिवादीले अदालत एवं अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा जाहेरवालाहरूको बचत रकम फिर्ता गरिसकेको छ भनी भन्न नसकेको अवस्थामा जाहेरी कथन र अभियोग दावी सत्य साँचो नै देखिने । आफ्नो सहकारी संस्थामा राम्रो व्याज दिने भनी आकर्षण देखाई रकम जम्मा गर्न लगाई निजहरूले मागेका बखत रकम फिर्ता नदिने संस्था नै बन्द गरी धोखा दिएको होइन भन्न कानूनतः नमिल्ने......” भनी सिद्धान्त समेत प्रतिपादन भैसकेको अवस्थामा यी प्रतिवादीहरूले कमलामाई बचत तथा ऋण सहकारी संस्था बन्द गरी पीडितहरूको निक्षेप रकम फिर्ता नगरेको कार्यलाई ठगीको १ नं. को कसूर मान्न मिल्ने नै देखियो ।
४. अब दोस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा सहकारी ऐन, २०४८ बमोजिम मिति २०५६।१०।१३ मा स्थापना भएको कमलामाई सहकारी संस्थाको संस्थापकहरूले कारोवार तथा कार्यालय बन्द गरी भागेको कारण सर्वसाधारण निक्षेपकर्ताले ठगीमा कारवाही गरिपाऊँ भनी जाहेरी दिएपछि प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यी प्रतिवादी समेतलाई मिति २०५९।२।२८ मा पीडितहरूलाई १ महिनाभित्र आधा रकम र वाँकी आधा रकम डेढ महिनाभित्र तिर्ने बुझाउने शर्तमा हाजीर जमानीमा छाडेको र लामो समयसम्म पनि रकम फिर्ता नगरेको कारण ठगीको अभियोगमा सजाय गरिपाऊँ भनी अदालतमा अभियोग प्रस्तुत गरेको अवस्था मिसिल संलग्न प्रमाण कागजबाट देखिन आएको छ । पीडित जाहेरवाला निक्षेपकर्ताहरूवाट संकलन गरेको निक्षेपको रकम निजहरूलाई निश्चित समयभित्र तिर्ने बुझाउने शर्त गरी प्रतिवादी तथा पीडित जाहेरवालाहरू बीच कुनै किसिमको शर्तनामा तथा भाखा तमसुक कागज गराएको भन्ने अवस्था रहे भएको भन्ने जिकीर प्रतिवादीहरूको छैन । यस्तो अवस्थामा केवल जिल्ला प्रशासन कार्यालयमा गरेको ठाडो कागजलाई ठगीको ३ नं. बमोजिमको भाखा तमसुक मान्नु पर्दछ भन्ने प्रतिवादीको पुनरावेदन दावीको सम्बन्धमा हेर्दा मुलुकी ऐन ठगीको ३ नं. को कानूनी व्यवस्थालाई हेर्नुपर्ने हुन्छ । जसमा “ठगिनेले ठगी गर्नेलाई पक्री भाखा तमसुक गराई राखेको रहेछ भने साहू असामी सरह हुन्छ” भन्ने व्यवस्था भएको पाइन्छ । उपरोक्त कानूनी व्यवस्थाको उद्देश्यको बारेमा विचार गर्दा ठगी गर्ने र ठगीनेबीच भएको लिखतमा मूलतः उक्त ठगीको ३ नं. को व्यवस्थाले फौजदारी दायित्वलाई देवानी दायित्वमा परिणत गरी ठगी गर्ने व्यक्तिलाई ठगीको महलको ४ नं., ५ नं. र ६ नं. अन्तर्गतले हुने सजायबाट ठगीको कार्यमा संलग्न मूल व्यक्ति र अन्य सम्बन्धित व्यक्तिहरूलाई छुटकारा वा उन्मुक्ति दिन खोजेको देखिन्छ । यो प्रक्रियामा भाखाको तमसुकलाई उक्त फौजदारी प्रकृतिको दायित्वलाई देवानी दायित्वमा रुपान्तरण गर्ने संयन्त्र वा माध्यमको रुपमा लिएको देखिन्छ । यसैले यो फौजदारी दायित्वलाई देवानी दायित्वमा परिणत गर्ने माध्यमको रुपमा रहेको भाखाको तमसुकले कानूनी मान्यता प्राप्त गर्नको लागि साहू असामीको बीचको सम्बन्ध स्थापित गर्ने अन्य लिखतहरूको सिर्जना, यसको कानूनी मान्यता तथा यसको कानूनी कार्यान्वयनको लागि जुन जुन कानूनी तत्वहरूको आवश्यकता पर्दछ उक्त लिखतमा पनि सोही तत्वहरूको आवश्यकता पर्ने देखिन्छ । ठगी गर्ने र ठगिनेका बीचमा भएको उक्त भाखाको तमसुकको लिखतले अन्यथा फौजदारी प्रकृतिको दायित्वलाई देवानी दायित्वमा परिणत गरी जरीवाना तथा कैदको सजायबाट उन्मुक्ति दिने भएकोले भाखाको तमसुक भनिएको उक्त लिखतलाई अन्य कानूनी मान्यता प्राप्त तमसुक सरह स्वतन्त्र रुपमा अदालतले मान्यता दिने र यस्तो लिखतलाई कानूनी रुपमा मान्यता दिई चलन चलाउन सकिने प्रकृतिको हुनुपर्ने कुरा विवादरहित छ । यसैले यस्तो भाखाको तमसुकले अन्य देवानी दायित्व सिर्जना गर्ने लिखतसरह कानूनी मान्यता प्राप्त गर्नको लागि यस्तो लिखतमा न्यूनतम् निम्न चार तत्वहरू विद्यमान भएको हुनुपर्ने देखिन्छः
१. ठगिने र ठग्ने दुवै पक्षको प्रत्यक्ष उपस्थितीमा दुवै पक्षवीच रीतपूर्वकको कागज भएको हुनुपर्ने,
२. कुनै तेस्रो पक्षको हस्तक्षेप विना स्वेच्छापूर्वक दुवै पक्षको सहमतिमा भएको हुनुपर्ने,
३. निश्चित समयमा तिर्ने बुझाउने शर्त र रकम खुलेको भाखा तमसुक हुनुपर्ने,
४. भाखाको तमसुक भनिएको लिखतबाट साहू र असामी वीचको सम्बन्ध स्थापित भएको देखिनुपर्ने र यस्तो लिखतलाई अदालतबाट प्रचलन गराउन सकिने प्रकृतिको हुनुपर्ने ।
५. प्रस्तुत मुद्दामा जिल्ला प्रशासन कार्यालयमा गरिएको भनिएको ठाडो कागजलाई ठगिने र ठग्ने दुवै पक्षबीच भएको भाखाको तमसुक सरहको मान्यता दिने वा नदिने भन्ने प्रश्नको निराकरण गर्नको लागि भाखाको तमसुक मान्नको लागि आवश्यक पर्ने उपरोक्त चार तत्वहरू विद्यमान छन वा छैनन् भनी हेर्नु पर्दछ । उक्त कागजमा उपरोक्त चार तत्वमध्ये कुनै पनि तत्व विद्यमान छैनन् भन्ने कुरा उक्त कागजको प्रकृतिबाटै स्पष्ट हुन्छ । यसमा तेस्रो पक्ष अर्थात् जिल्ला प्रशासन कार्यालयले आफूसमक्ष उजूरी परेपछि सोको टुंगो लगाउने र शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा हस्तक्षेप गरी गराएको कागज हुँदा स्वेच्छापूर्वक दुवैको बीच साहू असामीको सम्बन्ध स्थापित गर्ने सहमतिमा तयार भएको हो भनी मान्न मिल्ने देखिंदैन । त्यस्तो कागज गराउने कानूनी अख्तियार समेत जिल्ला प्रशासन कार्यालयलाई नभएको र त्यस्तो कागजकै आधारमा लेनदेन व्यवहारको महलको व्यवस्थाअनुसार साहू असामीको सम्बन्ध समेत सिर्जना नहुने हुंदा यस्तो लिखतलाई कुनै लेनदेनको तमसुक वा लेनदेनको रकम तिर्ने बुझाउने भाखाको लिखतसरह मुलुकी ऐन लेनदेन व्यवहारको महलमा व्यवस्था भएअनुसार अदालती प्रक्रियाबाट प्रचलन गराउन वा चलन चलाउन सकिने प्रकृतिको कागजात भन्न सकिने अवस्था देखिएन । यस्तो लिखतबाट आफ्नो हक प्रचलनको लागि पीडितहरू अदालतमा प्रवेश गर्न सक्ने अवस्था समेत देखिदैन । तसर्थ प्रस्तुत कागजलाई कानूनी मान्यता प्राप्त भाखाको तमसुकको लिखत हो भनी मान्न मिल्ने अवस्था नरहे नभएकोले उपरोक्त आधार कारणबाट त्यस्तो लिखतलाई ठगीको ३ नं. को प्रयोजनको लागि भाखा तमसुक हो भनी मान्न नमिल्ने हुंदा यस अदालतबाट विपक्षी झिकाउने आदेश हुँदा लिएको आधार तथा ठगीको ३ नं. आकर्षित हुन्छ भन्ने प्रतिवादी पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीहरूको बहस जिकीरसंग यो इजलास सहमत हुन सकेन ।
६. तसर्थ ओमकार श्रेष्ठ, पूर्णभक्त लामा र विनोद लामाले ठगी गरेको ठहर्याई प्रतिवादी ओमकार श्रेष्ठलाई १ वर्ष ६ महिना कैद, प्रतिवादी पूर्णभक्त लामालाई २ वर्ष कैद र प्रतिवादी विनोद लामालाई १ वर्ष ९ महिना कैदसम्म हुने, कायम रहेको विगो रु.९,२२,०६०।४५ प्रतिवादी ओमकार श्रेष्ठ, पूर्णभक्त लामा र विनोद लामाबाट जाहेरवालाहरूले दामासाहीका दरले भरी पाउने र जरीवाना तर्फ अन्य प्रतिवादीहरू पूर्णभक्त लामा र विनोद लामाको हकमा समेत जनही रु.३,०७,३५३।४८ जरीवाना हुने ठहर गरी भएको पुनरावेदन अदालत जनकपुरको मिति २०६४।१।५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०६८ साल चैत २८ गते रोज ३ शुभम्–
इजलास अधिकृतः ईश्वर पराजुली