निर्णय नं. ३४६२ - लिखत दर्ता बदर

निर्णय नं. ३४६२ ने.का.प. २०४५ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४४ सालको दे.पु.नं. ५३९
फैसला भएको मिति : २०४५।५।२७।२
पुनरावेदकवादी : जिल्ला मोरङ हरैचा गा.पं.वा.नं.९ बस्ने बाबुराम थापासमेत
विरुद्ध
प्रत्यर्थी प्रतिवादी : जिल्ला मोरङ हरैचा गा.पं.वा.नं.९ बस्ने हस्तबहादुर थापासमेत
मुद्दा : लिखत दर्ता बदर
(१) सगोलको सम्पत्ति होइन भन्नको लागि सम्बन्धित लिखतमा निजी आर्जन भन्दैमा वा नभन्दैमा नै पर्याप्त नहुने ।
(प्रकरण नं. १२)
(२) मुलुकी ऐन अंशबण्डा महलको १८ नं.बमोजिम मानो नछुट्टिई संग बसेका अंशियारमध्ये जुनसुकैले पनि सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा सवैको भाग लाग्ने त्यस्तो सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म एकाघर अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाममा रहे तापनि सगोलको सम्पत्ति भनी अदालतले अनुमान गर्ने ।
(प्रकरण नं. १२)
(३) अंशबण्डाको १९ (२) नं. ले आफ्ना पालामा आर्जेको चलअचल सवै एक स्वास्नी वा एकै स्वास्नीपट्टिका छोरा मात्र भएको मानिसले आफ्नो खुसी गर्न पाउने भनी पुरुषलाई मात्र बुझाएको देखिने ।
(प्रकरण नं. १२)
(४) निजी आर्जनको सम्पत्ति हुन लिखतको अतिरिक्त त्यस्तै रुपले व्यवहार प्रमाणबाट पनि स्पष्ट देखिन पर्ने ।
(प्रकरण नं. १२)
वादीतर्फबाट : विद्वान अधिवक्ता श्री अजुपराज शर्मा
उल्लिखित मुद्दा : मदन मिश्र विरुद्ध रामेश्वर मिश्र भएको दे.पु.नं. ५७९ को लिखत बदर हक कायम मुद्धामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट सिद्धान्त प्रतिपादित (ने.का.प. ०४२, पृ. ५१७, नि.नं.२३८१)
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यसप्रकार छ ।
२. विपक्षी मध्येका हस्तबहादुर तथा ठाकुर कुमारी हामीहरुका सगोलका बाबु आमा हुनुहुन्छ । हामीहरु स्कूलमा पढ्ने हुँदा मोरङ विराटनगर न.पं.वार्ड नं. २ मा डेरा गरी पढ्ने गरेका थियौं । मोरङ हरैचा गा.पं.वार्ड नं. ९ (ख) कि.नं.१८९ को ३–०–० जग्गा आमा ठाकुर कुमारीका नाममा दर्ता कायम राखी हामी ३ भाइ छोरा र बाबु आमा सगोलमै बसी उक्त जग्गाको आयस्ता सगोलबाटै खाई भोगी आएका थियौं । हामी बिराटनगरमा पढ्न बसेको मौका पारी उल्लिखित समयमै जग्गाको थैली रु.९०,०००।– राखी ऋणी ठाकुर कुमारी धनी विपक्षी मध्येको देवराज, ठाकुर कुमारीको वतन पनि धरान न.पं.वार्ड नं. ९ लेखी साक्षी सनाखतमा विपक्षी हस्तबहादुर बसी राजीनामा खडा गरी मालपोत कार्यालय मोरङबाट ०४१।१।५ गते राजीनामा रजिष्ट्रेशन पारित गरिदिनु भएछ । सो कुरा गाउँघरका मानिसले भनेकोले ०४१।७।२८ गते मालपोत कार्यालयबाट नक्कल सारी लिंदा थाहा भयो । त्यसरी हामीहरुको मन्जुरी बेगर हामी ३ भाइ छोराको अंश मेट्ने उद्देश्य लिई बिक्री गरेकोले उक्त जग्गाको ५ अंश लाग्ने हुँदा हामीहरुको ३ भाइको भाग लेखत दर्ता बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. जग्गा राजीनामा गराउँदा विपक्षीका बाबु हस्तबहादुरलाई साक्षीमा राखेको र विपक्षी वादीहरुको दावीको जग्गा वादीहरुको पैतृक सम्पति नभई निजकी आमा ठाकुर कुमारीले ०३०।११।६।१ मा रु.२२,०००। मा चन्द्रकान्त शर्मासंग खरीद गरी लिएकी हुन् यसरी आफ्ना पालामा आर्जेको अचल सम्पत्ति बेचबिखन गर्दा विपक्षी वादीहरुको आमा र पिताले निजहरुसंग मन्जुरी लिइरहन नपर्ने हुँदा लिखत बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको बेदराज घिमिरेको प्रतिउत्तरपत्र ।
४. प्रतिवादी मध्येका हस्तबहादुर, ठाकुर कुमारीले ०४१।९।१९ मा तामेल भएको इतलायनामाको म्यादै गुजारी बसेका ।
५. यसमा बिक्री गर्ने ठाकुर कुमारीको उक्त विवादीत जग्गा पैतृक आर्जन भएको भन्ने देखिने वादी पक्षबाट कुनै सबूद प्राप्त हुन नआएको र आफ्ना पालामा आर्जेको चलअचल सबै आफ्नो खुस गर्न पाउने हुँदा लेखत दर्ता बदर गराई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको मोरङ जिल्ला अदालतको मिति ०४२।३।१८।३ को फैसला ।
६. शुरु जिल्ला अदालतले गरेको इन्साफमा चित्त बुझेन । तसर्थ हामीहरुको फेराद दावी अनुसार न्याय निरुपण गरिपाउँ भन्ने समेत व्यहोराको वादीहरुको पुनरावेदनपत्र ।
७. वादीहरु ठाकुर कुमारीका छोराहरु भएको र ठाकुर कुमारीले देवराजलाई राजीनामा गरेका लिखतमा ठाकुर कुमारीका एकासगोलका पति र वादीहरुका वाबु हस्तबहादुर समेत साक्षी बसेका र २०३० सालमा यही जग्गा ठाकुर कुमारीले चन्द्रकान्तबाट राजीनामा गराई लिएको देखिँदा यस जग्गालाई ठाकुर कुमारीले खुस गर्न पाउने नै हुँदा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु मोरङ जिल्ला अदालतको इन्साफ मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटाको फैसला ।
८. शुरु मोरङ जिल्ला अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालत धनुकुटाको फैसलामा कानुनी त्रुटी हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीहरुको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
९. यस्मा क्षेत्रीय अदालतले निजी आर्जनको भन्ने प्रमाण आधार बेगर फैसला गरेको नजीर सम्बन्धी त्रुटी देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।३।३२।५ को आदेशानुसार प्रस्तुत मुद्दा यस अदालतको देवानी पुनरावेदन दायरीमा दर्ता भई पेश हुनआएको रहेछ ।
१०. नियम बमोजिम दैनिक पेशी सुचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री अनुपराज शर्माले गर्नुभएको बहस र प्रत्यर्थी प्रतिवादी देवराज घिमिरेको वा.वलबहादुर घिमिरेले गर्नुभएको छलफल समेत सुनियो ।
११. यस्मा हामीहरुको समेत हक अंश लाग्ने जग्गा हाम्रो अंश हक मार्ने उद्देश्यले आमा ठाकुर कुमारीले बाबु हस्तबहादुर थापालाई साक्षी राखी हामीहरुलाई थाहै नदिई मोल रु.९०,०००।– मा ३–०–० जग्गा विपक्षी देवराज घिमिरेलाई ०४१।१।५ मा बिक्री गर्नुभएको ०४१।७।२८ मा नक्कल सारी लिँदा थाहा भएकोले लेनदेन व्यवहारको १० नं. ऐन अन्तर्गत फेराद गर्न आएको छौं । उल्लिखित जग्गाको पाँच भागको तीन भाग लेखत दर्ता बदर गरी पाउँ भन्ने फेराद दावी भएकोमा विवादित जग्गा ठाकुर कुमारीले रु.२२,०००।– मा ०३०।११।६।१ मा चन्द्रकान्त शर्मासंग खरीद गरी लिएको हुँदा आफ्ना पालामा आर्जेको सम्पत्ति बेचबिखन गर्दा विपक्षी वादीहरुको मन्जुरी लिइरहन नपर्ने हुँदा लिखत दर्ता बदर हुनुपर्ने होइन भन्ने समेत देवराज घिमिरेको प्रतिउत्तर जिकिर देखियो ।
१२. यसमा अंशबण्डाको १९(२) नं.ले आफ्ना पालामा आर्जेको चलअचल सबै एक स्वास्नी वा एकै स्वास्नीपट्टीका छोरा मात्र भएको मानिसले आफ्नो खुशी गर्न पाउने भनी पुरुषलाई मात्र बुझाएको देखिन्छ । यसप्रकारको ठाकुर कुमारी हुन् भनी भन्नसक्ने अवस्था पनि छैन । प्रतिवादी ठाकुर कुमारी निजको सो विवादीत सम्पत्ति स्त्री अंशधनको १ नं.अनुसार आफ्नो स्वआर्जनको र अंशबण्डाको १८ नं. अनुसार आफ्नो ज्ञान शिप र प्रयासबाट आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा स्त्री अंशधनको ५ नं.बमोजिम प्राप्त हुनआएको हो भनी कहीं कतैबाट पुष्टि हुने गरी प्रतिवादी देवराज घिमिरेले प्रमाणित गर्नसकेको पाइँदैन सगोलको सम्पत्ति होइन भन्नको लागि सम्बन्धित लिखतमा निजी आर्जन भन्दैमा वा नभन्दैमा नै पनि पर्याप्त हुँदैन । मुलुकी ऐन अंशबण्डा महलको १८ नं.बमोजिम मानो नछुट्टिई संगबसेका अंशियार मध्ये जुनसुकैले पनि सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा सबैको भाग लाग्ने भन्ने व्यवस्था भएको र त्यस्तो सम्पत्ती अन्यथा प्रमाणित नभएसम्म एकाघर अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाममा रहे तापनि सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भनी प्रमाण ऐन, २०३१ को दफा ६(१) मा व्यवस्था गरेको छ । निजी आर्जनको सम्पत्ति हुन लिखतको अतिरिक्त त्यस्तै रुपले व्यवहार प्रमाणबाट पनि स्पष्ट देखिनु पर्दछ । विवादीत जग्गा निजी आर्जनको हो भन्ने कुरा प्रतिवादीले स्पष्ट भन्न र सो कुरालाई प्रमाणित समेत गर्नसकेको देखिँदैन । १३. प्रतिवादी ठाकुर कुमारीले वादी दावी स्वीकार गरी प्रतिवाद नै नगरेको र मदन मिश्र विरुद्ध रामेश्वर मिश्र भएको दे.पु.नं. ५७९ को लिखत बदर हक कायम मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०४२।५।७।६ मा सगोलको सम्पत्ति होइन भन्नको लागि सम्बन्धित लिखतमा निजी आर्जन भन्दैमा वा नभन्दैमा नै पनि पर्याप्त हुँदैन भनी सिद्धान्त समेत प्रतिपादन भएको (ने.का.प. २०४२, पृ. ५१७ नि.नं.२३८१) हुँदा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु मोरंग जिल्ला अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटाको इन्साफ गल्ती हुँदा बदर भई वादी दावी बमोजिम ५ खण्डको ३ खण्ड लिखत र दर्ता समेत बदर भई वादीहरुका नाममा दर्ता समेत हुने ठहर्छ । पूर्र्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुन्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
देहायका पुनरावेदक वादीहरुके माथि इन्साफ खण्डमा लेखिएबमोजिम जग्गा ज.बि. ३–०–० जग्गाको ५ खण्ड मध्ये ३ खण्ड बदर हुने ठहरेकाले सो बदर भएको जग्गा हामीहरुका नाममा दर्ता गराई पाउँ भनी वादीहरुको कानुनका म्याद भित्र दर्खास्त परे कानुनको रीत पुर्याई दर्ता गर्न सम्बन्धित कार्यालयलाई पुर्जी गरिदिनु भनी शुरु मोरङ जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतलाई लगत दिनु ..१ पू.वे. वादी बाबुराम थापा ...१ पू.वे.वादी राजकुमार थापा .१ पू.वे. वादी कृष्ण थापा.....१
यसमा पुनरावेदक/वादीहरुले शुरु जिल्ला अदालतमा फिराद दायर गर्दा राखेको कोर्टफी समेतको रु.३२।– पु.क्षे.अ.मा पुनरावेदन दायर गर्दा मोरंग सर्वोच्च अदालतबाट पुनरावेदनको अनुमति पाई दाखेल गरेको कोर्टफी रु.१।५० समेत जम्मा रु.३८।५० प्रतिवादीहरुबाट भराई पाउँ भनी वादीहरुको दर्खास्त परे कानुन बमोजिम भराई दिनु....२
सरोकारवाला व्यक्तिले यो फैसला सहितका अन्य कागजातहरुको नक्कल लिन दर्खास्त दिए नियमानुसार लाग्ने दस्तूर लिई सारी वा सराई दिनु...३
प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी नियमानुसार गरी मिसिल बुझाई दिनु.....४
उक्त रायमा मेरो सहमति छ ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४५ साल भाद्र २७ गते रोज २ शुभम् ।