निर्णय नं. ३४६८ - लिखत बदर

निर्णय नं. ३४६८ ने.का.प. २०४५ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.नं. ६१४
फैसला भएको मिति : २०४५।३।८।४
पुनरावेदक प्रतिवादी : नेपालगञ्ज न.पं. वा.नं.२ सुर्खेतरोड बस्ने केशरीकुमार मिश्रको मु.स.गर्ने भाष्कर मिश्रसमेत
विरुद्ध
विपक्षी वादी : बाँके कारकादो गा.पं.वार्ड नं. ६ बस्ने ज्ञानीराम मिश्र
मुद्दा : लिखत बदर
(१) दाइजो पेवाको सम्पत्तिबाट कर्जा लिई तिर्न नसकेको कारणले आफ्नी श्रीमतीलाई राजीनामा पास गरिदिएकोले वादी दावी बमोजिमको लिखत बदर नहुने ।
(प्रकरण नं. १५)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
फैसला
न्या.महेशरामभक्त माथेमा : मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४३।५।३०।२ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।
२. जंगप्रसाद र निजको पत्नी सुन्दरीदेवी निज जंगप्रसादको जेठो छोरा प्र.केशरीकुमार कान्छा म वादी ज्ञानीराम र प्र.भाउजू सरोजनीदेवी समेतका अंशियार जिवित छौं । प्र.केशरीकुमारसँग वादविवाद भई पूर्खाैली चलअचल र सोबाट बढेको सम्पत्ति बण्डा छुट्याई दिनुस् भनी २०३८।५।३१ गते भन्दा छुट्याई दिन्न भनी घरबाट निकाली दिएकोले बाबु आमा, दाजु र म समेत ४ अंशियारको ४ भाग अंश मध्ये १ भाग अंश दिलाई पाउँ भन्ने ज्ञानीराम मिश्रको फिराद दावी भएको ।
३. घरमा झगडा हुँदा १७।१८ वर्ष अघि प्र.केशरीकुमार छुट्टिई नेपालगञ्ज बजारमा बसेका हुन्, वादी ज्ञानीराम २०३१ साल वैसाखदेखि छुट्टिई लगदहवाको पैतृक घरमा बसी छुट्टै खतिउपति गरी आएको छन् वादी सगोलमा छैनन, प्र.केशरीकुमार सरोजनी नेपालगञ्ज नगर पञ्चायत वा.नं.२ मा बसेको घर सरोेजनीको दाइजो पेवाको घर हो । वादी दावी झुठ्ठा हो भन्ने प्र.जंगप्रसादको प्रतिउत्तरपत्र ।
४. घरमा झगडा हुँदा १७।१८ वर्ष अघि हामी प्र.केशरीकुमार सराजनी समेत जंगप्रसादबाट घरसारमा बण्डा छुट्याई नेपालगञ्ज बजारमा आई किरायामा बसेको प्र.सरोजनीको पासमा रहेको दाइजो पेवाको रुपैयाँ कर्जा लिई जग्गा घर किनी घर बनाई रु.२५,०००।– सरोजनीदेवीलाई बुझाउन नसके दाइजो पेवाबाट किनी बनेको नेपालगञ्ज नगर पञ्चायत वार्ड नं. १ (घ) कि.नं.५७, ५८, ६५ को ज.वि.०–५–१८ मा बनेको घर समेत सरोजनीदेवीलाई राजीनामा लेखी २०३८।४।२५ गते पारित गरीदिएको छु, हामीसंग पैतृक सम्पत्ति छैन, पैतृक सम्पत्ति पिताजी जंगप्रसादका नाउँमा छ । जंगप्रसाद, सुन्दरी र वादीले खाएका छन्, वादीलाई मैले अंश दिनु नपर्ने हुँदा झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत प्र.केशरीकुमार र सरोजनीदेवीको संयुक्त प्रतिउत्तरपत्र ।
५. प्र.जंगप्रसाद बाहेक अन्य प्र.केशरीकुमारले फाँटवारी दाखिल गर्दा मेरो श्रीमतीको दाइजो पेवा र सो आर्जन हुँदा बण्डा नहुने भन्ने कुरा देखाई दाखिल गरेका फाँटवारीमा उल्लिखित घरजग्गा पुरखौली नठहरी दाइजो ठहरी फैसला भएको र त्यो जग्गा बण्डा हुने भनी अदालतबाट विश्वास लाग्ने ठोस प्रमाण साथ फाँटवारी उपर विरोध पत्र दिई बदर गराउन सक्नुपर्नेमा सो केही गरेको नदेखिँदा प्र.जंगप्रसादले दाखिल गरेको फाँटवारीबाट मात्र ४ भागको १ भाग अंश वादीले पाउने ठहर्छ भन्ने बाँके जिल्ला अदालतको २०४०।५।६ को फैसला ।
६. अंशबण्डा गर्नुपर्ने सम्पत्तिको नै फाँटवारी दिनु भनी अदालतबाट माग गरिएको अवस्थामा फाँटवारीमा लेखिएको सम्पत्ति बण्डा गर्नुपर्ने प्रष्ट हुँदा शुरुबाट भएको फैसला न्यायसंगत भएन, दावी बमोजिम मेरो अंश हक कायम गरिपाउँ भन्ने वादी ज्ञानीरामको पुनरावेदनपत्र ।
७. वादीको साक्षीको बकपत्रबाट समेत प्र.केशरीकुमार सारेजनीदेवी १७।१८ वर्षदेखि भिन्न भएको देखिएको र वादी ज्ञानीरामको श्रीमतीको नाउँमा दर्ता भएको जग्गा विभिन्न व्यक्तिलाई राजीनामा स्वतन्त्ररुपले गरी आ–आफ्नो व्यवहार गरी आएको देखिन आएको समेतबाट केशरीकुमार समेतबाट अंश नपाउने ठहर गरेको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने भेरी अञ्चल अदालतको ०४१।१।७ को फैसला ।
८. भेरी अञ्चल अदालतको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने ज्ञानीराम मिश्रको म.प.क्षे.अ.मा परेको निवेदनमा भेरी अञ्चल अदालतको फैसलामा कानुनी त्रुटी विद्यमान हुँदा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने आदेश ।
९. प्रमाणको अभावमा स्वआर्जनको सम्पत्तिबाट प्रतिवादीले खरीद गरी लिएका जग्गा श्रीमतीलाई राजीनामा दिएको रहेछ भनी सम्झन मिलेन । तसर्थः प्रतिवादीले सगोलको सम्पत्तिबाट जग्गा खरीद गरी सो जग्गा आफ्नो श्रीमतीलाई बिक्री गर्दा अंशियार वादीको समेत मन्जुरी लिनुपर्ने सो लिएको नहुँदा २०३८।४।२५ को लिखत निजको हकसम्म ४ भाग १ भाग लिखत बदर हुने ठहर्छ भन्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१०. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गंभिर कानुनी त्रुटी हुन गएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी केशरीकुमार मिश्रको मु.स.गर्ने भाष्कर मिश्र र सरोजनी मिश्रको यस अदालतमा परेको निवेदन ।
११. वादीको दावी नै नलाग्ने घर जग्गा समेत प्र.केशरीकुमार मिश्रले सारेजनीदेवीलाई २०३८।४।२५ मा राजीनामा गरिदिएकोमा अंशियार वादीको मञ्जूरी नलिएको भनी निजको हकसम्म ४ भागको १ भाग बदर हुने ठहर्याएको म.प.क्षे.अ.को फैसलामा मुलुकी ऐन अंशबण्डाको १८ नं.को व्याख्यात्मक त्रुटी भई न्या.प्र.संशोधन सहित ऐन, २०३१ को दफा १३ (५)(ख) को अवस्था विद्यमान देखिँदा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंह र विपक्षी वादीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
१३. म.प.क्षे.अ.बाट भएको फैसला मनासिब बेमनासिब के रहेछ त्यसमा निर्णय दिनुपर्ने हुन आयो ।
१४. यसमा निर्णयतर्फ विचार गर्दा यिनै वादीले यिनै प्रतिवादी केशरीकुमार समेतउपर दिएको प्रमाणमा आएको अंश मुद्दाको फिराद हेरिएमा पुर्खैली चलअचल र सोबाट बढे बढाएको सम्पत्तिमा अंश पाउँ भन्ने दावी लिएको देखिन्छ । प्रस्तुत विवादको सम्पत्ति प्रतिवादी केसरीकुमार मिश्रका नाउँमा रजिष्ट्रेशन पास भई सो विवादको सम्पत्तिमा घर बनाउनलाई आफूसंग रुपैयाँ नभएकोले स्वास्नीको दाइजो पेवाको रुपैयाँ कर्जा लिई घर बनाएको कर्जा तिर्न नसकेकोले प्र.सरोजनीदेवीलाई २०३८।४।२५ मा राजीनामा लेखी मालबाट रजिष्ट्रेशन गरिदिएको देखियो सो लिखतको फडके किनारामा छोरा केशरीकुमारले राजीनामा लिखतमा लेखिएअनुसार बुहारीको दाइजो पेवाको रुपैयाँ कर्जा लिई जग्गा खरीद गरी घर बनाएकोमा सो कर्जा ऋण तिर्न नसकेको, सो बापतमा राजीनामा गरिदिएको हो भनी वादी समेतका बाबु जंगप्रसाद र आमा सुन्दरीदेवी साक्षी बसेको देखिन्छ । अदालतमा आई बाबु जंगप्रसाद मिश्र र आमा सुन्दरीदेवीले बयान गर्दा पनि नेपालगञ्ज वार्ड नं. २ को घर केशरीकुमारीले आफ्नी श्रीमती सरोजनीसंग रुपैयाँ कर्जा लिई बनाएको र सो कर्जा तिर्न नसकेको हुँदा बनाएको घर श्रीमती सरोजनीदेवीका नाउँमा राजीनामा लेखी पास गरिदिएका हुन्, घर बनाउँदा ज्ञानीराम मिश्रले कुनै सहयोग गरेनन् । केशरीकुमारले सरोजनीदेवीलाई गरिदिएको राजीनामामा म समेत साक्षी बसेको छु भन्ने लेखाई दिएकोबाट पनि पष्ट्याँई भइरहेको पाइन्छ । यसरी विवादीत घरसहितको जग्गा पैतृक सम्पत्ति नभई प्रतिवादीले आफ्नो निजी आर्जनबाट खरीद गरी स्वास्नीको दाइजो पेवाबाट घर बनाएको भन्ने देखिन आयो । सो जग्गा पैतृक सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिबाट खरीद गरेको भन्ने कुरा वादीले कुनै सबूद प्रमाण पेश गरी आफ्नो जिकिरलाई पुष्ट्याई गरेको पाइएन । तसर्थः आफ्नो ज्ञान शीपले आर्जन गरेको सम्पत्ति कर्जा तिर्न नसकी आफ्नी श्रीमतीलाई राजीनामा गरिदिन मिल्ने नै देखिन आयो । आफ्नो पनि हक लाग्ने भए अंश मुद्दामा तायदाती दिंदा नेपालगञ्जको जग्गामा वादीले विरोध नगरी चुप लागी बसेको देखियो । यस्तो स्थितिमा सो मुद्दा अन्तिमरुपमा रहेको आधार प्रमाणबाट समेत पैतृक सम्पत्तिबाट बढे बढाएको सम्पत्तिको विवादीत घरजग्गा किनेको होइन रहेछ भन्ने पुष्टि हुनआयो ।
१५. अतः विवादीत घरजग्गा प्र.केशरीकुमारकै ज्ञानशीपको निजी आर्जनको सम्पत्ति ठहर्न आएको र श्रीमती सरोजनीको दाइजो पेवाको सम्पत्तिबाट कर्जा लिई तिर्न नसकेको कारणले आफ्नी श्रीमतीलाई राजीनामा पास गरिदिएको प्रमाणित हुन आएकोले वादी दावी बमोजिमको लिखत बदर नहुने ठहराएको भेरी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट ४ भागको १ भाग लिखत बदर हुने ठहराएको इन्साफ उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादीहरुके माथि इन्साफ खण्डमा लेखिएबमोजिम म.प.क्षे.अ.को इन्साफ गल्ती भई उल्टी हुने ठहरेकोले म.प.क्षे.अ.को २०४४।५।३० को फैसलाले वादीलाई प्रतिवादीबाट भराई दिने गरेको कोर्टफी रु.२४।– यस अदालतमा पुनरावेदन गर्दा धरौट राखेको देखिँदा फिर्ता पाउने हुँदा फिर्ता पाउँ भनी ऐनका म्यादभित्र दरखस्त दिए फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिनु ....१
पुनरावेदक प्रतिवादीहरुके माथि इन्साफ खण्डमा लेखिएबमोजिम हुने भई फैसला भएकोले पुनरावेदन गर्दा रु.१।५० कोर्टफी राखेको वादीबाट भराई लिन पाउने हुँदा ऐनका म्यादभित्र भराई पाउँ भनी ऐन बमोजिम दर्खास्त दिए भराई दिनु भनी बाँके जि.अ.मा लेखी पठाउँन का.जि.अ.मा लगत दिनु.....२
मिसिल नियम बमोजिम गरी बुझाईदिनु........३
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४५ साल आसार ८ गते रोज ४ शुभम् ।