शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४८७ - सम्बन्ध विच्छेद

भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १०

निर्णय नं. ८४८७ ने.का.प २०६७ अङ्क १०

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री सुशीला कार्की

संबत् २०६५ सालको CR०६७४

फैसला मितिः २०६७।३।३।५

मुद्दा :सम्बन्ध बिच्छेद 

      पुनरावेदक वादीः काठमाडौँ जिल्ला.का.म.न.पा. वडा नं २९ बस्ने कृष्ण शेरचन

विरुद्ध

      विपक्षी प्रतिवादीः ऐ.ऐ. वडा नं. ११ बस्ने पदमकुमारी शेरचन

 

शुरु फैसला गर्ने (काठमाडौँ जिल्ला अदालत):

मा.न्या.श्री मोहनरमण भट्टराई

 

पुनरावेदन फैसला गर्ने (पुनरावेदन अदालत पाटन):

मा.न्या.श्री आत्माराम भट्टराई

मा.न्या.श्री हरिप्रसाद घिमिरे

 

§  यथार्थमा पती पत्नीबीचको सम्बन्ध आपसी समझदारी र मेलमिलापबाट मात्र सुमधुर हुने हो । अन्यथा यी कुराको अभावमा त्यस्तो सम्बन्ध निरन्तर कायम राख्नुको कुनै औचित्य नरहने 

§  अंश मुद्दा दायर गरी अंश पाउने फैसला प्राप्त गरेपश्चात् आफूले पाउने भाग आफ्ना नाममा दर्ता समेत गरिसकेको अवस्थामा आर्थिक रुपमा अब पतिसँग पूर्णत भिन्न भै उनीसँग सरोकार नभएको र विगत २२ वर्षदेखि आफूखुशी माइतीमा बसेको अवस्थामा पारिवारिक पहिचानको लागि वैवाहिक सम्बन्धको निरन्तरता कायम गर्ने भन्ने जिकीर उचित नदेखिने 

§  आपसी समझदारी र सुमधुर सम्बन्ध कायम भए मात्र सो सम्बन्ध निरन्तर कायम हुन सक्ने हो । तर एकपछि अर्को गर्दै विगत २२ वर्षसम्म चलेको निरन्तर विवाद झैझगडाले दुबै पक्षबीच शान्तिपूर्ण जीवन व्यतीत गर्ने भावना र अवस्था नभई झैझगडा र विवादै विवाद निरन्तर रहिरहेको अवस्थामा त्यस्तो सम्बन्ध कायम राखी रहनुको कुनै औचित्य नहुने 

(प्रकरण नं.४)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्तात्रय श्री केदार ढकाल, लक्ष्मी शर्मा र राजेन्द्र अधिकारी

विपक्षी प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

 

फैसला

      न्या.सुशीला कार्कीः पुनरावेदन अदालत पाटनको २०६३।२।३० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम यस अदालतबाट दोहोर्‍याउने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

विपक्षीसँग मेरो मिति २०४२।१।३० गते सामाजिक रितिथिति र परम्पराअनुसार मागी विवाह भएको हो । हाम्रो आर्थिक अवस्था मध्यम भएका कारण हाम्रो घर परिवारले मुग्लीनमा होटल व्यवसाय सञ्चालन गरी आएको, यसरी होटेल सञ्चालन गर्दा परिवारका अन्य सदस्यहरूले आआफ्नो दायित्व र कार्य निभाउनु पर्ने हुन्थ्यो । विपक्षीले यसरी कार्य गर्नु परेकोमा समय समयमा असन्तोष प्रकट गर्दै आएको थिइन । यसै क्रममा विपक्षीले विवाह भएको १ वर्ष पश्चात् अर्थात् २०४३।१।३० पछि घरमा अझबढी अनावश्यक झैझगडा विवाद शुरु गरिन् साथै मेरो मञ्जूरी विनानै माइतीमा गई २३ महिनासम्म पनि बसी फर्की आउने जाने गर्थिन् । यस समयमा निजसँग करणी हुँदा पनि निजबाट गर्भधारण समेत भएन । विपक्षीले मलाई वेवास्ता गर्दै मेरो मञ्जूर विना नै २०४५।२।३० गते घर छाडी निस्की गएको र मेरो सम्पर्कमा नआएकीले म २०४९ सालमा जापान गै त्यहाँ ११ वर्षसम्म वसी २०६० सालमा म घर फर्की आए । निज विपक्षी २०४५।२।३० मा घरबाट निस्की गैहालसम्म पनि फर्की नआएको तथा मेरो आमाबाबुलाई प्रहरीमा थुनाउने, थकाली समाज वोलाई झूठा आरोप लगाउने गरेकीले निजसँग भेटेर छलफल गर्दा अंशबापतमा रु.८,००,०००।र सम्बन्ध विच्छेदबापतमा रु.६,००,०००।समेत १४,००,०००।मेरो घर परिवारले दिने र आवश्यक प्रक्रिया पूरा गर्ने भन्ने भएको रहेछ । त्यसैअनुरूप रु.१४,००,०००। समेत जम्मा गरियो । त्यति गर्दा पनि हाम्रो मेलमिलाप हुन सकेन । यसैबीच मैले २०६०।५।२९ मा प्रेम विवाह समेत गरी आएको छु । तसर्थ विपक्षीसँगको लोग्नेस्वास्नीको सम्बन्ध विच्छेद गरिपाऊँ भन्ने समेत व्यहोराको कृष्ण शेरचनले का.म.न.पा.मा चढाएको निवेदन 

म सम्बन्ध विच्छेद गर्न चाहन्न् । सम्बन्ध विच्छेद गर्नुपर्ने सम्मको अपराध मबाट केही भएको छैन । मैले अंश प्राप्त गरेको अवस्था पनि छैन भन्ने समेत व्यहोराको प्र. पदमकुमारी शेरचनको लिखित जवाफ 

वादीको मागबमोजिम सम्बन्ध विच्छेदको सिफारिश साथ मिसिल का.जि.अ.मा पठाई दिन पर्ने निर्णय भयो भन्ने समेत व्यहोराको काठमाडौँ महानगरपालिकाको निर्णय पर्चा 

हाम्रो विवाह २०४२ सालमा भई निजले मेरो मञ्जूरीवेगर मलाई छाडी वसेकी र मेरो आमाबाबुलाई गाली गर्ने धम्क्याउने जस्ता कार्य गरेकोले प्रतिवादीसँगको लोग्नेस्वास्नीको सम्बन्ध विच्छेद गरिपाऊँ भन्ने समेत व्यहोराको कृष्ण शेरचनले अदालतमा गरेको बयान 

वादीसँग लोग्नेस्वास्नीको सम्बन्ध विच्छेद गर्न मञ्जूर छैन । मलाई नै वादीले छोडेकाले सम्बन्ध विच्छेद गर्नुपर्ने होइन भन्ने समेत व्यहोराको पदमकुमारी शेरचनले अदालतमा गरेको बयान 

प्रतिवादीका साक्षी कमला गौचन र वादीका साक्षी हिराकुमारी भट्टचनको वकपत्र 

यी वादीका साक्षीले यस अदालतमा बयान गर्दा सम्बन्ध विच्छेद हुनुपर्दछ र प्रतिवादीका साक्षीले यी प्रतिवादी घरमा हातपात गर्ने थुन्ने खान लाउन नदिई घरमा बस्न नदिएकाले माइत गै बसेको हो भनी र यिनलाई सम्बन्ध विच्छेद गर्ने इच्छा नभएकोले सम्बन्ध विच्छेद हुनुपर्ने होइन भनी लेखाई दिएको देखिन आयो । यी वादीले अंश पाउने गरी फैसला समेत भैसकेको भन्ने यी वादीको निवेदनबाटै देखिन आएकोले यी प्रतिवादीसँग सम्बन्ध विच्छेद नहुँदा सो कार्यमा वादीलाई व्यवधान छ भन्ने पनि नदेखिएको प्रस्ततु अवस्थामा यी वादी प्रतिवादीबीचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुन पर्ने अवस्था नदेखिएकाले सम्बन्ध विच्छेद गरिपाऊँ भन्ने समेत वादीदावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु का.जि.अ.को मिति २०६२।२।३० को फैसला 

प्रस्तुत मुद्दामा सम्बन्ध विच्छेदका लागि अवलम्बन गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा भएको छ । हामीबीच सम्बन्ध स्थापित गराउन भनी का.म.न.पा.ले प्रयत्न गर्दा पनि असफल भएको कारणबाट सम्बन्ध कायम गर्नु भन्दा सम्बन्ध विच्छेद गर्नु नै श्रेयस्कर ठानी सिफारिश  गरेको हो । अदालतबाट बुझिएका प्रमाणबाट पनि स्व.कुराको पुष्टि भैरहेको र निज विपक्षीले अंश लिई अलगै वसी घरमा नवसेको सब प्रमाणहरू मिसिल सम्लग्न हुँदा पनि सो कुरालाई बेवास्ता गरी म वादीलाई हराउने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी मेरो शुरु फिराद एवं पुनरावेदन जिकीरअनुसार सम्बन्ध विच्छेद गर्ने गरी इन्साफ पाऊँ भन्ने व्यहोराको वादीको पुनरावेदनपत्र 

यसमा प्रतिवादी पदमकुमारी वादीकोसँग साथमा रहे बसेको भन्ने नदेखिएको र वादी प्रतिवादीबीच अंश मुद्दा चली फैसला भएको भन्ने समेत देखिएको अवस्थामा शुरुबाट भएको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि प्रत्यर्थीलाई झिकाई आएपछि वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतबाट मिति २०६२।७।२२ मा भएको आदेश 

सम्बन्ध बिच्छेद गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर गरी शुरु काठमाडौँ जिल्ला अदालतबाट मिति २०६२।२।३० मा भएको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत पाटनको मिति २०६३।२।३० को फैसला 

विपक्षी र म निवेदकको एक्काइस बर्से दाम्पत्य जीवनमा शुरुका दुईवर्ष बाहेक उन्नाइस वर्षसम्म सुखद परस्पर र सौहार्दपूर्ण सम्बन्ध कायम हुन नसकेको कुरा स्वयं विपक्षीको नगरपालिका तथा अदालतमा दिएको लिखित जवाफ एवं विपक्षीको साक्षीको वकपत्र समेतबाट पुष्टि भएकै छ । विवाह महिला र पुरुष को सहमतिबाट मात्र सम्भव छ । कुनै पनि महिला र पुरुषले विवाह जीवनभर साथ रहने उद्देश्यले गरेका हुन्छन । प्रतिवादीले अंश लिई छुट्टै बसेबाट प्रतिवादी वादीसित जीवनभर साथ रहन चाहन्नन भन्ने कुरा स्पष्ट हुन्छ । यस्तो अवस्थामा सम्बन्ध विच्छेद गर्नुपर्ने नदेखिएको भन्ने पुनरावेदन अदालत पाटनको फैसलाले पक्षहरूलाई उनीहरूको सहमतिविपरीत सँगै बस्नु भन्ने जबरजस्ती सिर्जना गरेको छ, जुन संविधान प्रदत मौलिक हक प्रजातन्त्र र मानव अधिकारको विश्वव्यापी घोषणापत्रको विपरीत छ पुनरावेदन अदालत तथा जिल्ला अदालतको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड क र (ख) को त्रुटि हुँदा मुद्दा दोहोर्‍याई हेरी उल्टी गरी अंश लिइ छुट्टि भिन्न भै मेरो मञ्जूरी बिना अन्यत्र नै बसेकी विपक्षीसँग कुनै पनि दृष्टिकोणले नाताकायम राख्न श्रेयस्कर नहुने हुँदा वादी दावीबमोजिम सम्बन्ध विच्छेद गरी न्याय दिलाई पाऊँ भन्ने समेतको वादीको यस अदालतमा परेको निवेदनपत्र 

यसमा वादी प्रतिवादीबीच अंश मुद्दा परी प्रतिवादीले अंश पाउने गरी फैसला भै सकेको अवस्थामा सो प्रमाणको मूल्याङ्कन नगरी वादीसमेत जापान गई छुट्टै बसेको आधार देखाई सम्बन्ध विच्छेद गरी दिन इन्कार गरी भएको पुनरावेदन अदालत पाटनको फैसलामा लोग्नेस्वास्नीको महलको १ नं को त्रुटि हुनुको अतिरिक्त सबूद प्रमाणको रोहमा प्रमाण ऐन, २०३१ को दफा ५४, अ.वं. १८४(क) को समेत त्रुटि देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम दोहोर्‍याउने निस्सा प्रदान गरिदिएको छ भन्ने समेतको २०६४।१२।६ को यस अदालतको आदेश 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्र सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्तात्रय श्री केदार ढकाल, श्री लक्ष्मी शर्मा,श्री राजेन्द्र अधिकारीले वादी प्रतिवादीबीचमा अंश मुद्दा चली लामो समय देखि भिन्नै वसेको तथा वादीले अर्को विवाहसमेत गरिसकेको अवस्थामा एकातिर छ भने आफूले २०/२२ वर्षदेखि भिन्न वसेकी भन्ने कुरा प्रतिवादी स्वयंले स्वीकार गरी रहेको परिस्थितिमा पनि सम्बन्ध विच्छेद नहुने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्दछ । भनी बहस जिकीर प्रस्तुत गर्नुभयो । त्यस्तै प्रतिवादी पदमकुमारीले आफूले अंश पाइनसकेको हुँदा आफ्नो क्ष्मभलतष्तथ को लागि पनि सम्बन्ध विच्छेद हुनुहुँदैन भनी जिकीर प्रस्तुत गर्नुभयो 

२. निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दाकी प्रतिवादीले पुनरावेदक र आफूबीच विवाह पश्चात् मात्र २ वर्ष दाम्पत्य सम्बन्ध राम्रोसँग चली त्यसपछि आपसी विवाद शुरु भई बिस/बाइस वर्षसम्म निरन्तर माइतीमा वसेको कुरा निजहरूविच चलेको काठमाडौँ जिल्ला अदालतको दे.दा.नं. २९९२÷४७३१ को अंश मुद्दा र प्रस्तुत मुद्दाको प्रतिउत्तरपत्रमा समेत स्वीकार गरेको देखिन्छ । यस अवधिबीच वादी पुनरावेदक मिति २०४९ पुसदेखि ११ वर्षसम्म जापानमा वसेको भए तापनि प्रतिवादी आफ्नो पति यी वादीको घरमा नवसी आफूखुशी माइतीमा नै वसेको कुरा प्रतिवादी स्वंयले अंश मुद्दामा स्वीकार गरेको देखिन्छ । यसरी विवाहपश्चात् घरमा नवसी लगातार माइतीमा आफूखुशी जानु, बस्नु र त्यसको कुनै कारण देखाउन नसकेको अवस्थामा निरन्तर तीन वर्षभन्दा वढी पतिलाई छाडी प्रत्यर्थी प्रतिवादीले वेग्लै आफूखुशी बसेको पुष्टि भएको  छ 

३. तथापि यस मुद्दाको मिसिलको अद्योपान्त अध्ययन गर्दा वादी पुनरावेदक र प्रत्यर्थी प्रतिवादीबीच जातीय रीति, परम्पराअनुसार फुपू र मामाको सन्तानबीच वैवाहिक सम्बन्ध भए तापनि आपसी मेलमिलाप वादी प्रतिवादी बीच नभई लामो समयदेखि निरन्तर विवाद भई दुबै वेगल वसेका रहेछन् । यस्तो अवस्थामा वादी पुनरावेदकले दोस्रो विवाह गरी घरव्यवहार गरेको अवस्थालाई प्रतिवादी प्रत्यर्थीले स्वीकार गरी त्यस विरुद्ध कुनै उजूरवाजूर गरेको पनि देखिदैन । जहाँसम्म वादी प्रतिवादीबीच अंशबण्डा भएको अवस्थामा सम्बन्ध विच्छेद हुने नहुने प्रश्न छ त्यस सम्बन्धमा विचार गर्दा पति, पत्नीबीच व्यवहारिक कारणबाट अंशबण्डा हुनगई बण्डा भएको अवस्थामा पनि सँगसाथमा बसी सौहाद्र्ध सम्बन्धका साथ जीवन गुजारेको पनि हुनसक्दछ । तथापि पति र पत्नीबीच अंशबण्डा गर्नु भनेको आर्थिक व्यवहार मिलाउनुको अतिरिक्त पति र पत्नी आत्मनिर्भर भई बस्नु पनि हो । तर हाम्रो समाजको परम्परा र मान्यताअनुसार कतिपय पत्नीले परिवारिक नाम र धार्मिक संस्कारको निम्ति सम्बन्ध विच्छेद नगरी अंशबण्डाको आधारमा वेगल वसेका हुन्छन् 

४. प्रस्तुत मुद्दाको प्रतिवादीले पनि पारिवारिक पहिचान (Identity) को निम्ति सम्बन्ध विच्छेद नगर्ने भनी वेञ्चसमक्ष स्वयं जिकीर गरेकोमा वादी प्रतिवादीबीच अंशबण्डा हुनुपूर्व र पछि  कुनै सौहार्द सम्बन्ध नभई आपसमा मनोमालिन्य र विवाद निरन्तर रहे भएको पाइन्छ । यथार्थमा पती पत्नीबीचको सम्बन्ध आपसी समझदारी र मेलमिलापबाट मात्र सुमधुर हुने हो । अन्यथा यी कुराको अभावमा त्यस्तो सम्बन्ध निरन्तर कायम राख्नुको कुनै औचित्य रहँदैन । मिसिल संलग्न प्रमाणहरूको मूल्याङ्कन गर्दा प्रतिवादीले वादीउपर जिल्ला प्रशासन कार्यालय, महिला आयोग, र थकाली संघ जस्ता संस्था र निकायहरूमा बारम्बार उजूर गर्ने गरेको पाइन्छ । ती निकायहरूले मेलमिलाप गराउने प्रयास गरेको भएपनि मेलमिलाप हुन सकेको छैन । त्यसपश्चात् यस मुद्दाको शुरु कारवाही नगरपालिकामा हुँदा समेत कानूनबमोजिम एक वर्षसम्म मेलमिलापको प्रयास गर्र्दा मेलमिलाप हुन सकेको पाइदैन । यसरी प्रतिवादीले अंश मुद्दा दायर गरी अंश पाउने फैसलाप्राप्त गरेपश्चात् आफूले पाउने भाग आफ्ना नाममा दर्ता समेत गरी सकेको अवस्थामा आर्थिक रुपमा अब पतिसँग पूर्णत भिन्न भएको र उनीसँग सरोकार नभएको र विगत २२ वर्षदेखि आफूखुशी माइतीमा वसेको अवस्थामा पारिवारिक पहिचानको लागि वैवाहिक सम्बन्धको निरन्तरता कायम गर्ने भनी प्रतिवादीले जिकीर गरेको उचित देखिन आएन । वस्तुतः वादी र प्रतिवादीबीचको आपसी समझदारी र सुमधुर सम्बन्ध कायम भए मात्र सो सम्बन्ध निरन्तर कायम हुन सक्ने हो । तर वादी प्रतिवादीबीच एक पछि अर्को गर्दै विगत २२ वर्ष सम्म चलेको निरन्तर विवाद झैझगडाले दुबै पक्ष बीच शान्तिपूर्ण जीवन व्यतित गर्ने भावना र अवस्था नभई झैझगडा र विवादै विवाद निरन्तर रहिरहेको हुँदा त्यस्तो सम्बन्ध कायम राखी रहनुको कुनै औचित्य छैन 

५. यस्तो अवस्थामा र पति, पत्नीबीच सम्बन्ध विच्छेद हुने विहावारीको ९ नं. को अवस्था समेत विद्यमान रहेकोले वादीले दावी गरेअनुसार वादी प्रतिवादीबीच सम्बन्ध कायम हुनुभन्दा सम्बन्ध विच्छेद हुनु नै उपयुक्त देखिएकोले पुनरावेदन अदालत पाटनको २०६३।२।३० को फैसला उल्टी भई वादी दावीबमोजिम वादी प्रतिवादीबीचको वैवाहिक सम्बन्ध विच्छेद हुने ठहर्छ । सोको जानकारी वादी प्रतिवादी दुबै पक्षलाई दिई मिसिल नियमानुसार बुझाई दिनु 

 

उक्त रायमा सहमत छु 

 

न्या.ताहिर अली अन्सारी

 

इति संवत् २०६७ साल असार ३ गते रोज ५ शुभम

 

इजलास अधिकृत– (उपसचिव) भोलानाथ ढकाल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु