निर्णय नं. ३४६९ - उत्प्रेषण
निर्णय नं. ३४६९ ने.का.प. २०४५ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४३ सालको रिट.नं. १९३२
आदेश भएको मिति : २०४५।३।१।४
निवेदक : का.न.पं.वा.नं.३३ बस्ने केबुल एण्ड प्लाष्टीकस् प्रा.लि.का.शेयर होल्डर तथा सञ्चालक खेमचन्द्र चौरडिया
विरुद्ध
विपक्षी : श्री ५ को सरकार उद्योग मन्त्रालय, उद्योग विभाग, त्रिपुरेश्वर
विषय : उत्प्रेषण
(१) पदावधि समाप्त भइसकेपछि अर्थात पदमा नै बहाल नरहेका सञ्चालकहरुबाट बसेको सञ्चालक समितिको बैठक स्वतः गैैरकानुनी भएको र त्यस्तो बैठकको निर्णय कम्पनी ऐन, २०२१ को दफा १४४ बमोजिम बदर हुने ।
(प्रकरण नं. ६)
(२) बैठक गर्दा रीतपूर्वक सूचना दिनुपर्नेमा सो अनुसारको रीतपूर्वकको सूचना नदिएको र गैरकानुनी सञ्चालक समितिको निर्णय अनुसार बसेको बैठक हुँदा र त्यस्तो सञ्चालक समितिको बैठकको निर्णय पनि स्वतः गैरकानुनी हुँदा सो कायम राखी रहन नमिल्ने भएकोले सो साधारणसभाको बैठकको निर्णय कायम राखी पाउँ भन्ने दावी नपुग्ने ।
(प्रकरण नं. ७)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जितबहादुर कार्की
आदेश
न्या.महेशरामभक्त माथेमा : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।
२. केवल एण्ड प्लाष्टीक (प्रा.) लि.कम्पनी ऐन अनुसार एउटा रजिष्टर्ड कम्पनी हो, यस कम्पनीको शेयर होल्डरहरु मध्ये म खेमचन्द्रको ५६३ शेयर रहेको छ । उद्योग विभागले ०४३।५।१३ मा पत्र लेखी दुई महीनाभित्र साधारणसभा गर्ने निर्देशन दिए अनुरुप ०४३।६।१६ मा ११२५ शेयरका मालिक अधिसंख्यक शेयर होल्डरहरुको उपस्थितिमा कम्पनीको सञ्चालक समिति मनोनित गर्ने समेतका कुराको निर्णय गरियो । साधारणसभा गर्ने बारेमा पुनः उद्योग विभागले हामीलाई ०४३।६।१४ गतेमा कम्पनी ऐनको दफा १४४ अनुसार बदरभागी हुने हुनाले २ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचीत गरियो तर उक्त पत्र हामीले साधारणसभाको बैठक बसी सकेपछि मात्र प्राप्त हुन आयो । हाम्रो जानकारीमा नआएको कुरामा हामीले जवाफ दिन सकेनौं २०४३।४।२९ गते बसेको सञ्चालक समितिको निर्णयानुसार अख्तियार पाएको म खेमचन्द्र चौरडियाले यता लाखौं रुपैयाँ लगाई वैङ्कहरुको तथा अन्य ऋणहरु तिर्दै समुचित व्यवस्था गर्दै आएको छु । कम्पनीको हितमा असल नियतले कार्य गर्दागर्दै पनि उद्योग विभागले ०४३।६।१६ को साधारणसभाको बैठकको निर्णयलाई कम्पनी ऐनको दफा १४४ अनुसार बदर गरिएको भनी सूचना गरेको पत्र ०४३।७।११ मा प्राप्त गर्यौं ।
३. ०४३।६।१६ को साधारणसभाको निर्णय बदर गर्न हामीसंग कुनै प्रतिवाद वा स्पष्टीकरण पनि लिइएको छैन, सो बारे कसैको उजूर पनि छैन । हामी सबै शेयर होल्डरहरुलाई विधिवत सूचीत गरेको थियो, हामीले जानकारी पाएनौं भनी कम्पनीलाई मौकामा कुनै जानकारी पनि प्राप्त हुनआएको छैन । सानातिना कुरा पर्न आए नियमावलीको दफा २१ कम्पनी ऐनको दफा ४८ अनुसार चारखण्डको एकखण्ड उपस्थित भई मञ्जूर गरेमा साधारणसभाको बैठक बस्न सक्ने भई बसेको बैठक विधिवत नै छ । म औषधी उपचार गराउन विदेशतर्फ जानु परेकोले आफ्नो प्रतिनिधि सभामा भाग लिन प्रतिनिधि नियुक्त गरेकोमा मेरो सो अख्तियारीमा कानुनको गलत व्याख्या गरी कम्पनी ऐनको दफा ५१ अनुसार बदरभागी छ भनी विधिवत भएको साधारणसभाको निर्णयलाई प्राकृतिक न्याय समेतको विपरीत नबुझी बदर गर्न पाउने अख्तियार उद्योग विभागलाई छैन । गैरकानुनी तवरबाट बोलाइएको ०४३।७।१३ को विशेष साधारणसभामा मेरो इच्छा नभए पनि उपस्थित भएर बाध्यतावश सहिछाप गरेको छु । कानुन बर्खिलाफ भए गरेका कार्य सहिछाप पर्दैमा कानुनी मान्यता प्राप्त हुन नसक्ने हुँदा सो निर्णय तथा सूचनाहरु उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी बदर गर्दै ०४३।६।१६ गतेको निर्णय र त्यसअघिको सञ्चालक समितिको निर्णयलाई कायम राखी पाउन यो निवेदन गरेको छु भन्ने समेत व्यहोराको निवेदनपत्र ।
४. यसमा लिखित जवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजालसको मिति ०४३।८।८ को आदेश ।
५. ऐन तथा नियममा व्यवस्था भएबमोजिम ०३७।५।१९ मा सञ्चालकहरुको पदावधी समाप्त भइसकेको र ०३७।५।२० देखि वार्षिक साधारणसभा गरेको रहेनछ । पदावधी समाप्त भइसकेका सञ्चालकहरुले सभा बोलाउने निर्णय गरी सभा बेलाएको र बोलाइएको सभा पनि कम्पनी ऐनको निर्देशित रीत नपुर्याई बोलाएकोले अवैधानिक छ सो सभा रोकी रीतपूर्वकको सभा बोलाई पाउँ भन्ने समेत व्यहोराको शेयरधनी श्री सुरज शमशेर समेतको मिति ०४३।६।१२ को निवेदन प्राप्त हुन आएकोले साधारणसभा बस्ने बारे शेयरधनीहरुलाई पठाएको सूचनामा कम्पनी ऐनको दफा ४५ (३) मा किटानी व्यवस्था भए अनुरुपको सभा हुने ठाउँ र छलफल गर्ने विषय आदी खुलेको देखिएन । यस सम्बन्धमा के भएको कारण र औचित्य खुलाई २ दिनभित्र पेश गर्न उक्त कम्पनीलाई लेखी पठाउँदा सो बारेमा कुनै जवाफ प्राप्त भएन अर्कोतर्फ उक्त कम्पनीले ०४३।६।१६ का दिन साधारणसभा गरेको देखियो कानुन बमोजिमको सूचना नदिएको एवं उक्त ऐनको दफा ५१(१) को प्रतिबन्धात्मक वाक्यांश विपरीत हुने गरी एक जवान शेयर होल्डर स्वयं र एकजवानको प्रतिनिधिको उपस्थितिलाई गणपुरक मानी मिति ०४३।६।१६ का दिन उक्त कम्पनीले साधारणसभा गरेकोलाई सोही ऐनको दफा १४४ अनुसार बदर गरिएको हो । उक्त साधारणसभा नै बदर भएबाट सञ्चालक समितिको गठन गरी कम्पनीको काम कारवाही नियमितरुपमा सञ्चालन गराउनु जरुरी देखिँदा सञ्चालक समितिको गठन र लेखापरीक्षण हुन बाँकी आर्थिक वर्षको लेखापरीक्षणार्थ लेखापरीक्षकको नियुक्ति समेतको लागि कम्पनी ऐन, २०२१ को दफा ६१(४) लेखिएको अधिकार प्रयोग गरी यस विभागले मिति ०३४।७।१३ का दिन उक्त कम्पनीको शेयरधनीहरुको विशेष साधारणसभा बेलाएको र सो सभामा निवेदक खेमचन्द्र चौरडिया स्वयं नै उपस्थित रहेको तथा सभाको छलफल र निर्णय बारे कुनै मन्तव्य बिना नै सहमतिमा हस्ताक्षर गर्नुभएको हुँदा यस विभागले गरेको काम ऐन अनुकूल नै भएकोले निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको उद्योग विभागको लिखित जवाफ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत निवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विपक्षी कार्यालय तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्कीले गर्नुभएको बहस समेत सुनी निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने नपर्ने के रहेछ भन्ने नै निर्णय दिनु पर्ने हुन आयो । यसमा कम्पनीका सञ्चालकहरुको पदावधी मिति ०४१।५।१९ मा समाप्त भएको र पदावधी समाप्त भइसकेका सञ्चालकहरुबाट सभा बोलाउने निर्णय गरी सभा बोलाइएको देखिन्छ । कम्पनी ऐन, ०२१ को दफा ४५ (३) बमोजिम कम्पनीको साधारणसभा बोलाउँदा सभा हुने ठाउँ, मिति र छलफल गर्ने विषय समेत खोली शेयरवालाहरुलाई सूचना दिनुपर्ने देखिन्छ । तर मिति ०४३।६।१६ गते बसेको भनेको साधारणसभामा यसरी ठाउँ, मिति एवं छलफल गर्ने विषय उल्लेख गरी सञ्चालकहरुलाई सूचना दिएको पाइँदैन भने अर्कोतर्फ पदावधी समाप्त भइसकेपछि अर्थात् पदमा नै बहाल नरहेका सञ्चालकहरुबाट मिति ०४३।६।१६ मा बसेको सञ्चालक समितिको बैठक स्वतः गैरकानुनी भएको र त्यस्तो बैठकको निर्णय कम्पनी ऐन, २०२१ को दफा १४४ बमोजिम बदर हुने नै देखिन्छ ।
७. यसरी बैठक गर्दा रीतपूर्वक सूचना दिनुपर्नेमा सो अनुसारको रीतपूर्वकको सूचना नदिएको र गैरकानुनी सञ्चालक समितिको निर्णय अनुसार मिति ०४३।६।१६ मा बसेको बैठक हुँदा र त्यस्तो सञ्चालक समितिको बैठकको निर्णय पनि स्वतः गैरकानुनी हुँदा सो कायम राखी रहन नमिल्ने भएकाले सो साधारणसभाको बैठकको निर्णय कायम राखिपाउँ भन्ने दावी नपुग्ने हुँदा रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४५ साल असार १ गते रोज ४ शुभम् ।