निर्णय नं. ८४८८ - जग्गा खिचोला

निर्णय नं. ८४८८ ने.का.प.२०६७ अङ्क १०
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
संवत् २०६५ सालको दे.पु.नं. ०६५–CI– ०८६८
फैसला मितिः २०६७।३।१४।३
मुद्दाः– जग्गा खिचोला ।
पुनरावेदक वादीः जाजरकोट जिल्ला खलङ्गा गा.वि.स. वडा नं. २ जन्म भै हाल ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ७ सैंवु भैसेपाटी बस्ने टेककुमारी शाह
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला रुकुम खोलागाउँ गा.वि.स. वडा नं. १ बस्ने धनु ओली
शुरु फैसला गर्ने रुकुम जिल्ला अदालतः
मा.जि.न्या.शम्भुराम कार्की,
पुनरावेदन फैसला गर्ने पुनरावेदन अदालत तुलसीपुरः
मा.मु.न्या. श्री अवधेशकुमार यादव
मा.न्या. श्री राजेन्द्रराज पन्त
§ शुरुको डिसमिस फैसलाउपर परेको पुनरावेदनमा पक्ष वा विपक्षलाई अवस्था र आवश्यकतानुसार झिकाइएको भए पनि पुनरावेदन तहमा गरिएको कारवाही मुद्दा डिसमिस हुनका लागि आधार बन्न नसक्ने ।
§ अदालती बन्दोबस्तको १७९ र १८५ नं. को डिसमिससम्बन्धी व्यवस्था पुनरावेदन तहको लागि नभै शुरु तहको लागि भएकाले शुरु तहमा अदालतबाट रीतपूर्वक म्याद जारी भएको छ र अ.वं. ११० नं. अनुसार तामेल भएको छ भने सोही म्यादमात्र डिसमिसको आधार बन्न सक्दछ । यसको छानबीन र जानकारी पुनरावेदन सुन्ने अदालतले मुद्दाको जुनसुकै चरणमा पनि गर्न र लिन सक्ने ।
§ डिसमिस फैसलाउपर परेको पुनरावेदन सुनुवाईको दौरान सो मुद्दामा अरु कारवाही अगाडि बढी सकेको छ भने पनि सोही आधारमा शुरुमा म्याद गुजारी बसेको तथ्य लोप वा अप्रासङ्गिक हुन नसक्ने ।
(प्रकरण नं.६)
§ निर्धारित मितिमा अदालतमा हाजिर नहुने र आफ्नो उपस्थिति नजनाई म्याद गुजारी बसेको र कानूनले थाम्न, थमाउन पाउने म्याद समेत व्यतीत भइसकेको अवस्थामा अरु कारवाही हुन नसक्ने ।
(प्रकरण नं.७)
पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्रीहरि अर्याल र विद्वान अधिवक्ता श्री मदनकुमार डंगोल
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री कुमार शर्मा आचार्य
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ अदालती बन्दोबस्तको ११०, १७९, १८५, २०१ न.
फैसला
न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत तुलसीपुर दाङको मिति २०६४।१०।२७ को फैसला दोहोर्याउने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
तालुक १९९८ मोठ नं. ५० मा मेरो ससुरा हिराजंग शाहका नाउँमा दर्ता भएको जहरीखोला सो दक्षिण, खहरे खोला सो पश्चिम, घारीढिक सो उत्तर र खोला सो पुर्व यति चार किल्ला भित्रको माटो मुरी –।९७।१० को साविक तिरो रु.२१।४५ हालको तिरो रु.४।९० दोयम सिम खोला मुहान वगर खेत दर्तावाला ससुरा हिराजंग शाहबाट मेरा लोग्ने दीपकजंग शाहले अंश भाग पाएपछि लोग्ने दीपकजंगबाट सो खेत मिति २०४०।५।२७ गते मैले हालैको बकसपत्र पाई मेरो नाममा दा. खा. नामसारी भएपछि स्थानीय गा.वि.स. मा तिरो तिरी हालसम्म भोग गरी रहेको खेतमा २०४७ साल मार्ग १० गते १० वजेको समयमा प्रतिवादीले खिचोला गरेकोले खिचोला मेटाई पाऊँ भन्ने फिरादपत्र ।
फिरादीको जग्गा विपक्षीको लोग्ने दीपकजंग शाहले अंश पाई हकभोग गरेको अवस्था निजबाट २०४५।३।६ गते मैले हालैको बकसपत्र पाई सो बकसपत्रको लिखत मिति २०४५।३।७ गते जाजरकोट मालबाट पारित गराई मेरो हकभोगको भै मिति २०४५।६।२४ गते रुकुम माल कार्यालयबाट मेरा नाममा दा.खा. नामसारी भएको हो । मिति २०५४।१२।२५ गते खडा भएको अंश बुझेको भरपाई पारित गराए अनुसार मसँग अंश बुझ्ने अंशियार मेरो छोराहरू हर्कबहादुर वली समेतका नाममा आएपछि सो खेत हकभोग गरी रहेका छौं । अरु कुनै व्यहोराबाट जालसाज गरेको भए कागज देख्न सुन्न पाए नामाकरण गर्नेछु । फिराद पत्र झूठा भएकोले फुर्सद दिलाई पाऊँ भन्ने प्रतिउत्तरपत्र ।
दीपकजंगले आफ्नी स्वास्नीलाई विवादित जग्गा बकसपत्र गरी दिएको कुरा मलाई थाहा थिएन । म बाट रु.१,६५,०००।– रुपैयाँ लिई सोही जग्गा २०४५।३।६ मा मलाई बकसपत्र गरी दिएको हुँदा दोहोरो मुनाफा खाने नियतले यस्तो कार्य गरेका हुन् भनी प्रतिवादी धनु वली र खिमबहादुर वुढाले शुरु अदालतमा गरेको बयान ।
दीपकजंगले आफ्नी श्रीमतीलाई बकसपत्र पारित गरिदिएको आधारमा रसिद काटेको हुँ । जालसाज गरेको होइन भन्ने व्यहोराको जालसाज तर्फबाट बुझिएका सचिव अम्मरबहादुर वुढाले शुरु अदालतमा गरेको बयान ।
बुझिएका वादी प्रतिवादीका साक्षीहरूले आ–आफ्ना पक्षको समर्थन गरी वकपत्र गरेको ।
यसमा वादीले र प्रतिवादीले अलगअलग मितिमा दीपकजंग शाहबाट पाएका जग्गाहरू अलग अलग तालुक अन्तर्गत दर्ता भएको जग्गा देखिन्छ । यसरी वादीले काप्रा तालुकअन्तर्गतको हिराजंग शाहको दर्ताको जग्गा बकसपत्र पाएकोमा सोही बकसपत्र कागजको नाताले अर्कै तालुकमा हिराजंग शाहको नाममा दर्ता भै प्रतिवादी धनुवलीले दीपकजंग शाहबाट बकसपत्र पाएको जग्गा दावी गर्ने अधिकार वादीलाई कुनै ऐनले प्रदान गरेको नदेखिदा प्रस्तुत मुद्दा अ.वं.१८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने रुकुम जिल्ला अदालतको मिति २०४८।१२।३० को फैसला ।
विवादित जग्गामा वादीको हकदैया नपुगेको भन्ने आधारमा अ.वं. १८० नं. बमोजिम फिरादपत्र खारेज गर्ने गरेको शुरु रुकुम जिल्ला अदालतको फैसला मिलेकै देखिदा मनासिब ठहर्छ । पुनरावेदक वादी टेककुमारी शाहको पुनरावेदन जिकीर पुग्न सक्दैन भनी पुनरावेदन अदालत नेपालगञ्जबाट मिति २०५०।६।१९ गते भएको फैसला ।
वादी प्रतिवादीका बयानबाट जालसाजीसम्बन्धी प्रश्न खडा भएको देखिदा प्रस्तुत जग्गाको विवाद तथा जालसाजी समेतका कुरामा जो बुझ्नु पर्ने प्रमाण वुझी प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्न रुकुम जिल्ला अदालतमा पठाई दिनु भन्ने सर्वोच्च अदालतबाट मिति २०५६।८।२० मा भएको फैसला ।
वादीलाई २०४० सालमा हालैको बकसपत्र गरी दिएकोमा सोही खेतलाई भुलबाट मिति २०४५।३।७ मा धनु वलीलाई हालैको बकसपत्र गरी दिएको हुन्, जालसाजी गरेको होइनन् भनी प्रतिवादी दीपकजंग शाहको वारेस लालबहादुर खत्रीले रुकुम जिल्ला अदालतमा मिति २०६०।२।२० गते गरेको बयान कागज ।
हक हस्तान्तरण प्रमाण कागज उपलव्ध गराई दिनु भनी मालपोत कार्यालय रुकुममा पत्राचार गरी प्रमाण कागजप्राप्त भएपछि मुल्तवीबाट जगाउने गरी अ.वं.१२ नं. बमोजिम प्रस्तुत मुद्दा मुल्तबीमा राखिएको छ भन्ने रुकुम जिल्ला अदालतको मिति २०६०।२।२८ गते भएको आदेश ।
हक हस्तान्तरणसम्बन्धी अन्य निर्णय मिसिल नभएको भनी मालपोत कार्यालय रुकुमको च. नं. ६४८ मिति २०६०।३।६ को पत्रप्राप्त भएकोले प्रस्तुत मुद्दा मुल्तवीबाट जगाई दिएको छ । पक्ष विपक्षीलाई ७ दिने म्याद दिनु भनी शुरु रुकुम जिल्ला अदालतको मिति २०६०।८।१ गतेको आदेश ।
यस अदालतबाट जारी भै कानूनको रीतपूर्वक तामेल भएको म्यादभित्र वादी उपस्थित नभै गुजारी वसेको देखिँदा प्रस्तुत मुद्दा अ.वं.१८५(क) नं. बमोजिम डिसमिस हुने ठहर्छ भन्ने शुरु रुकुम जिल्ला अदालतको मिति २०६१।१।२३ गतेको फैसला ।
मुल्तबीमा रहँदाका बखत तारेखमा रहेका पक्ष विपक्षीलाई म्याद जारी गर्नुपर्नेमा प्रतिवादीमध्येका दीपकजंग शाहका नाउँमा म्याद जारी नगरी सो सम्बन्धमा डिसमिस फैसलामा केही नवोली गरिएको डिसमिस फैसला कानूनतः त्रुटिपूर्ण रहेको हुँदा उक्त वेरितको त्रुटिपूर्ण डिसमिस फैसला बदर गरी वादी दावीबमोजिम गरिपाऊँ भन्ने टेककुमारी शाहको पुनरावेदनपत्र ।
यसमा यसै विवादित जग्गाको हकमा सर्वोच्च अदालतबाट २०५४ सालको दे. पु. नं. ४१२७ को मुद्दामा मिति २०५६।८।२० मा फैसला हुँदा प्रमाणको लागि प्राप्त मिति २०५३।५।२५ मा मिलापत्र भएको मिसिलमा उल्लिखित दीपकजंग शाहले प्रत्यर्थी धनु वलीलाई बकसपत्र गरी दिएको भनिएको जग्गा र प्रस्तुत मुद्दामा वादी टेककुमारी शाहले उनै दाता दीपकजंग शाहबाट बकसपत्र प्राप्त गरेको भनिएको जग्गा एकै जग्गा भएको ठहर गरी जालसाजी समेतका विषयमा निर्णय गर्न भनी शुरु अदालतमा पठाएको देखिएको स्थितिमा उनाउ व्यक्तिसँग भएको मिलापत्रलाई आधार गरी जालसाजतर्फ बोल्दै नबोली अ. वं. १८५(क) २ नं. बमोजिम वादीको हक समाप्त हुने गरी शुरुबाट भएको डिसमिस फैसला कानूनी ब्याख्या एवं प्रमाण मूल्याङ्कनको प्रश्नमा त्रुटिपूर्ण भै नमिली फरक पर्न सक्ने देखिदा छलफलमा विपक्षी झिकाई पेश गर्नु भन्ने मिति २०६१।९।२५ गतेको पुनरावेदन अदालतको आदेश ।
यसमा पुनरावेदक/वादी टेककुमारी शाहले तारेखमा नरहने गरी पुनरावेदन गरेकोमा २०६२।११।२३ गते पुनरावेदकलाई झिकाउने आदेश भएकोमा पुनरावेदकको नामको म्याद सर्वाजनिक स्थानमा २०६३।१।२८ मा टाँस भै पुनरावेदक हाजिर हुन नआएकोले मिति २०६३।३।६ को आदेशानुसार पुनरावेदकको साविक र हालको वतन, निजको श्रीमानको नाम समेत उल्लेख गरी पुनः म्याद जारी गर्नु भन्ने समेत आदेश भएकोमा यस अदालतको मिति २०६३।३।७ च.नं. २४७८ को पत्रसाथ जिल्ला अदालत ललितपुरमा म्याद गएकोमा सो म्याद तामेल गर्न समय लाग्ने हुँदा सो म्याद तामेल भै प्राप्त भएपछि जगाउने गरी हाल प्रस्तुत मुद्दाको दायरीको लगत काटी मुलतबीमा राखी दिने ठहर्छ भन्ने मिति २०६३।३।२२ गतेको पुनरावेदन अदालतको आदेश ।
म्यादमा उल्लिखित वतन ललितपुर उपमहानगरपालिका भित्र नभै गा.वि.स. अन्तर्गत पर्ने भएकाले तामेल गर्न कठिनाई पर्ने भनी च. नं. ९६४८ मिति २०६३।३।२० को पत्र साथ फिर्ताप्राप्त भई मिसिल संम्लग्न रहेकोले मुल्तवीबाट जगाई दिएको छ भन्ने मिति २०६३।४।२२ गतेको पुनरावेदन अदालतको आदेश ।
यसमा पुनरावेदकको यकीन वतन विपक्षीबाट कागज गराई खुलाई सो वतनमा पूर्व आदेशानुसार म्याद जारी गरी अ.वं.११० नं. को रीत पुर्याई तामेल गराई नियमानुसार पेश गर्नु भन्ने मिति २०६३।४।२२ गतेको पुनरावेदन अदालतको आदेश ।
पुनरावेदकले आफू बसोबास गरी आएको स्थान ललितपुर उपमहानगरपालिका वडा नं. ७ सैवु भैसेपाटी हो भनी रुकुम जिल्ला अदालतमा मिति २०६१।१।२३ मा दिएको निवेदन र यस अदालतमा दायर गरेको पुनरावेदनपत्रबाट प्रष्ट भएको भनी विपक्षीबाट कागज गरेको पाइन्छ ।
यसमा विपक्षी धनु वलीले पुनरावेदक/वादी टेककुमारी शाहको ठेगाना ललितपुर उपमहानगरपालिका वडा नं. ७ सैबु भैसेपाटी हो भनी मिति २०६३।१०।२८ मा कागज गरेको हुँदा निज प्रत्यर्थी धनुवलीको सहयोग लिई निजले खुलाएको ठेगानामा पुनः म्याद जारी गर्न लगाई तामेल भै आएपछि पेश गर्नु भन्ने मिति २०६४।२।१३ गतेको पुनरावेदन अदालतको आदेश ।
शुरु तथा पुनरावेदन अदालत तुलसीपुरबाट पटकपटक म्याद जारी भई कानूनको रीतपूर्वक तामेल भएको म्याद भित्र पुनरावेदक/वादी टेककुमारी शाह उपस्थित नभई थाम्ने थमाउने म्याद समेत गुजारी वसेको यस स्थितिमा पुनरावेदन माग दावी गरिएको अन्य विषयहरूमा प्रवेश गरी रहनु परेन, शुरु रुकुम जिल्ला अदालतले मिति २०६१।१।२३ गते अ.वं.१८५(क) २ नं. बमोजिम डिसमिस हुने ठहर्याई गरेको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न नसक्ने ठहर्छ भन्ने पुनरावेदन अदालत तुलसीपुरको मिति २०६४।१०।२७ को फैसला ।
पुनरावेदन अदालत तुलसीपुरको फैसला कानूनसम्मत् छैन । उक्त अदालतबाट म वादीका नाममा जारी भएको म्यादभित्रै मेरा वारिसले अदालतमा हाजिर भई तारेख लिनु भएको छ । यसरी रुजु हाजिर रहेको पक्षलाई म्याद गुजारी वसेको भनी गरेको फैसला बदरभागी छ । पुनरावेदन तहमा कुनै मुद्दामा पुनरावेदक म्याद गुजारी वसेमा पनि मुद्दा डिसमिस गर्न नहुने, प्रमाण हेरी फैसला गर्नुपर्ने व्यवस्था अ. वं. २०१ को देहाय १ मा रहेको छ । यसमा पनि शुरु रुकुम जिल्ला अदालतले म नभएको स्थानमा म्याद जारी गरी तामेल गरेको मु. ऐ. अ.वं. ११० नं. प्रतिकूल रहेको छ । तसर्थ पुनरावेदन अदालतबाट शुरु रुकुम जिल्ला अदालतको डिसमिस फैसला सदर गर्ने गरी भएको फैसला कानून एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त प्रतिकूल हुँदा उक्त फैसला बदर गरी फिराद दावीबमोजिम इन्साफ पाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक वादीको पुनरावेदनपत्र ।
यी वादी पुनरावेदकले रुकुम जिल्ला अदालतले त्रुटिपूर्ण रुपबाट मुद्दा डिसमिस फैसला गरेको हुँदा बदर गरिपाऊँ भनी पुनरावेदन अदालतमा अ.वं. २०१ नं. बमोजिम पुनरावेदन गरेको र पुनरावेदकलाई उपस्थित गराउन सो अदालतले गरेको आदेश बमोजिम निजको नाउँमा जारी भएको म्याद मिति २०६४।३।२० मा तामेल भएकोमा सो म्यादभित्र निज हाजिर नभई गुजारेको भनी सो डिसमिस फैसलालाई पुनरावेदन अदालत तुलसीपुरले सदर गरेको देखिन्छ । तर मिसिल संलग्न रहेको तारेख भरपाई हेर्दा निज पुनरावेदक टेककुमारी शाहको नाउँमा मिति २०६४।३।२० मा तामेल भएको म्याद निज आफैंले बुझी लिई निजले गोकर्ण खत्रीलाई वारेशनामा दिई पठाएकोमा निज वारेशले मिति २०६४।३।२६ मा नै सो वारेशनामा प्रस्तुत गरी सो मितिदेखि फैसला भएको मिति २०६४।१०।२७ सम्म लगातार तारेखमा रहेको र सो फैसला हुने मितिमा पुनरावेदकको तर्फबाट कानून व्यवसायीले बहस गरेको भन्ने समेत फैसलामा नै उल्लेख भइरहेको देखिन्छ । देवानी मुद्दामा कानूनबमोजिम वारेस लाग्ने हुँदा पक्षले आफ्नो वारेसमार्फत पुर्पक्ष गरी रहेको अवस्थामा पक्ष स्वयं उपस्थित रहेको सम्झी निजको पुनरावेदन जिकीरबमोजिम जिल्ला अदालतले डिसमिस गरेको कानूनअनुरूप भए नभएको र सो डिसमिस फैसला बदर हुने वा नहुने भन्ने पुनरावेदन जिकीरका सम्बन्धमा निर्णय गर्नुपर्नेमा पुनरावेदकको वारेस नियमित तारेखमा रहेको हुँदाहुँदै पक्ष उपस्थित नभएको भनी जिल्ला अदालबाट भएको डिसमिस फैसलालाई सदर गरेको पुनरावेदन अदालत तुलसीपुरको फैसलामा अ. वं. ६५, २०१, १८४(क), १८५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको व्याख्यात्मक त्रुटि देखिनुका साथै यस अदालतबाट ने.का.प. २०५५, नि.नं. ५५३९, तथा ने.का.प.२०५९, नि.नं. ७१३४ मा प्रतिपादित सिद्धान्तप्रतिकूल समेत देखिन आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको मिति २०६६।३।५ को आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल एवं विद्वान अधिवक्ता मदनकुमार डंगोल र प्रत्यर्थी प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता कुमार शर्मा आचार्यले गर्नु भएको बहस समेत सुनियो ।
बहस प्रारम्भ गर्दै पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता एवं विद्वान अधिवक्ताले रुकुम जिल्ला अदालतले मुद्दा मुलतवीबाट जगाउँदा मेरो पक्षको नाममा जारी गरेको म्याद मुलुकी ऐन, अ.वं. ११० नं. प्रतिकूल भई मेरो पक्ष सुनुवाईको मौकाबाट नै बञ्चित भएको र पुनरावेदन अदालतले समेत मेरो पक्षको वारेस तारेखमा रहँदा रहँदै म्याद गुजारी हाजिर नभएको भनी शुरुको डिसमिस फैसलालाई सदर हुने ठहर्याई गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी वादी दावीबमोजिम फैसला गरिपाऊँ भन्ने समेत बहस गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादी तर्फका विद्वान अधिवक्ताले शुरु अदालतबाट वादीका नाउँमा जारी भएको म्याद कानूनको रीत पुर्याई तामेल भएको र पुनरावेदन अदालतबाट समेत पटकपटक म्याद जारी गर्दा पनि वादी हाजिर नभई म्याद गुजारी बसेको अवस्थामा मुद्दा डिसमिस हुने ठहर्याई भएको पुनरावेदन अदालतको फैसला न्यायसंगत हुँदा सोही फैसला सदर गरिपाऊँ भन्ने समेत बहस गर्नुभयो ।
उल्लिखित बहस समेत सुनी इन्साफतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत तुलसीपुर दाङको डिसमिस फैसला मिलेको छ, छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा पुनरावेदक वादीको नाममा अदालतबाट तामेल भएको सूचनाको म्याद गुजारेको भन्ने आधारमा भएको डिसमिस फैसलामा उल्लेख गरिएको म्याद रीत, बेरीत के छ, कानूनबमोजिम तामेल भएको छ वा छैन भन्ने नै पहिलो र प्रमुख प्रश्नको निरोपण गर्नुपर्ने हुन आउँछ ।
३. यस सम्बन्धमा मिसिल हेर्दा सर्वोच्च अदालतको मिति २०५६।८।२० को उल्लिखित फैसला बमोजिम प्रस्तुत मुद्दाको मिसिल शुरु रुकुम जिल्ला अदालतमा प्राप्त भई वादी प्रतिवादी दुबै पक्षको हक प्राप्त सम्बन्धी कागज प्रमाणको लागि शुरु जिल्ला अदालतले सम्बन्धित कार्यालयबाट माग गर्दा खोजतलास गर्ने समय पाऊँ भनी पत्रप्राप्त भएकोले उक्त कागजातप्राप्त भएपछि जगाउने गरी मिति २०६०।२।२८ मा मुलतवी रहेको देखिन्छ । मिसिल कागजात नभएको भन्ने सम्बन्धित कार्यालयबाट मिति २०६०।३।६ मा जवाफप्राप्त भएपछि शुरु रुकुम जिल्ला अदालतले मिति २०६०।८।१ मा मुद्दा मुलतवीबाट जगाई यी वादी टेककुमारी शाहको नाममा ७ दिने म्याद मिति २०६०।८।१ मा जारी गरेकोे देखिन्छ । मिसिल संलग्न उक्त तामेली म्याद हेर्दा म्यादवाला टेककुमारी शाहको नाममा मिसिलबाट देखिएको निजको ठेगाना जाजरकोट जिल्ला खलंगा गा.वि.स. वडा न. २ मा दुई जना साक्षी राखी स्थानीय गा.वि.स. सचिव समेतको रोहवरमा मिति २०६०।९।१७ मा वादीको घर दैलामा तामेल भएकाले उक्त तामेली म्याद वेपत्ते नभई निज वादीले फिरादपत्रमा आफैले उल्लेख गरेको वतनमा तामेल भएको छ । उक्त तामेली म्याद हेर्दा अदालती वन्दोबस्तको ११० नं. अनुसारको रीत पुर्याई तामेल भएको पाइन्छ । यसरी वादीले फिरादमा उल्लेख गरेको वतनमा नै जारी भई तामेल भएको म्याद कानूनको रीत पुर्याई तामेल भएकोले वेरीतको मान्न मिलेन । वादीले उल्लिखित ७ दिने म्यादमा अदालतमा हाजिर नभई सो म्याद गुजारी वसेपछि रुकुम जिल्ला अदालतले मिति २०६१।१।२३ गते प्रस्तुत मुद्दा अ.वं. १८५(क) २ नं. बमोजिम डिसमिस हुने ठहर्याई फैसला गरेको देखिन्छ ।
४. उक्त मिति २०६०।९।१७ को तामेली म्याद रीतपूर्वक देखिए पनि शुरु अदालतको फैसलाउपर वादी टेककुमारी शाहले पुनरावेदन अदालत तुलसीपुरमा पुनरावेदन गरी पुनरावेदन अदालतबाट मिति २०६२।११।२३ मा अ.वं. २०१ नं. बमोजिम पुनरावेदकलाई झिकाउने आदेश भएबमोजिम पुनरावेदक वादी टेक कुमारी साहले पुनरावेदन गर्दा देखाएको नयाँ ठेगाना ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ७ सैवु भैसेपाटीमा निजका नामको म्याद जारी भई म्यादवाला फेला नपरेकोले सैवु गा.वि.स. भवनमा मिति २०६३।१।२८ गते म्याद टाँस भई तामेल भएको रहेछ । सो तामेली म्याद म्यादवाला फेला नपरी सम्बन्धित गा.वि.स. भवनमा टाँससम्म भएको आधारमा बदर गरी पुनः म्याद जारी गर्दा सैवु भैसेपाटी नगरपालिका नभई गा.वि.स. हुँदा तामेल गर्न कठिनाई भएको भनी म्याद तामेल नभई फिर्ता आएको पाइन्छ । पुनरावेदन अदालतबाट विपक्षीबाट पुनरावेदकको वतन खुलाई पुनः म्याद तामेल गर्नु भन्ने मिति २०६३।१०।४ को आदेशानुसार पुनः निजको नाममा मिति २०६४।२।१३ मा ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.७ सैवु भैसेपाटी कै ठेगानामा म्याद जारी भएकोमा मिति २०६४।३।२० मा सो म्याद म्यादवाला टेककुमारी शाहले आफै म्याद बुझी रीतपूर्वक म्याद तामेल भएको पाइन्छ ।
५. उक्त म्याद यी पुनरावेदकले नै बुझेको तर निज सो म्यादभित्र उपस्थित नभई म्याद गुजारी बसेको पाइयो । उल्लिखित म्यादमा “मुद्दामा तपाईलाई बुझ्नुपर्ने भएकोले तपाइका नाममा यो म्याद जारी गरिएको छ । तसर्थ तपाईले यो म्याद पाए वा घर दैलामा टाँस तामेल भएका मितिले बाटाका म्याद वाहेक सात दिनभित्र यस अदालतमा हाजिर हुन आउनुहोला । नआई गुजारे कानूनबमोजिम हुनेछ” भन्ने उल्लेख भएको पाइन्छ । उक्त म्यादमा वारेश वा कानूनबमोजिमको प्रतिनिधि पठाउनु भन्ने उल्लेख भएको देखिन्न । अदालतबाट सम्बन्धित पक्षसँग नै बुझ्नुपर्ने कुरा वुझ्न म्याद जारी भएको र सो म्यादमा वारेस पठाउनु भन्ने कुरा समेत उल्लेख नभएको हुँदा वारेस पठाएको अवस्थामा म्यादवाला हाजिर नभएको भनी गरेको फैसला नमिलेको भन्ने पुनरावेदकको जिकीर एवं यस अदालतबाट निस्सा प्रदान गर्दा लिइएको आधारसँग यो इजलास सहमत हुन सकेन ।
६. प्रस्तुत मुद्दा जिल्ला अदालतबाट भएको डिसमिस फैसलालाई पुनरावेदन अदालतले सदर गरेको अवस्था छ । त्यसकारण जिल्ला अदालतले गरेको डिसमिस फैसलामा उल्लेख गरिएको आधार ठीक, वेठीक के हो भनी पुनरावेदन सुन्ने अदालतले पुनरावेदनको सुनुवाई गर्दा हेर्नुपर्ने हुन आउँछ । शुरुको डिसमिस फैसलाउपर परेको पुनरावेदनमा पक्ष वा विपक्षलाई अवस्था र आवश्यकतानुसार झिकाइएको भए पनि पुनरावेदन तहमा गरिएको कारवाही मुद्दा डिसमिस हुनका लागि आधार बन्न सक्दैन । अदालती बन्दोबस्तको १७९ र १८५ नं. को डिसमिससम्बन्धी व्यवस्था शुरु तहको लागि हो । पुनरावेदन तहको लागि होइन । शुरु तहमा अदालतबाट रीतपूर्वक म्याद जारी भएको छ र अ.वं. ११० नं. अनुसार तामेल भएको छ भने सोही म्याद मात्र डिसमिसको आधार बन्न सक्दछ । यसको छानबीन र जानकारी पुनरावेदन सुन्ने अदालतले मुद्दाको जुनसुकै चरणमा पनि गर्न र लिन सक्दछ । डिसमिस फैसलाउपर परेको पुनरावेदन सुनुवाईको दौरान सो मुद्दामा अरु कारवाही अगाडि बढी सकेको छ भने पनि सोही आधारमा शुरुमा म्याद गुजारी बसेको तथ्य लोप वा अप्रासाङ्गिक हुन सक्दैन ।
७. प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा यी वादी पुनरावेदिकाको नाममा मिति २०६०।८।१ मा जारी भएर र मिति २०६०।९।१७ मा तामेल भएको म्याद र तामेली प्रक्रियामा कुनै कानूनी त्रृटि रहन गएको भन्ने कुरा वादी पुनरावेदिकाले खुलाउन सकेको पाइँदैन । उक्त निर्धारित मितिमा अदालतमा हाजिर नहुने र आफ्नो उपस्थिति नजनाई म्याद गुजारी बसेको र कानूनले थाम्न, थमाउन पाउने म्याद समेत व्यतीत भइसकेको अवस्थामा अरु कारवाही हुन नसक्ने हुनाले अ.वं.१८५ क नं. को देहाय २ अनुसार जिल्ला अदालतले डिसमिस गरेको फैसला कानूनसम्मत् देखिन्छ ।
८. यसरी शुरु अदालतबाट पुनरावेदक वादीका नाममा म्याद जारी भै कानूनको रीतपूर्वक तामेल भएको म्यादभित्र उपस्थित नभई म्याद गुजारी वसेको स्थितिमा पुनरावेदकले माग दावी लिएका अन्य विषयहरूमा प्रवेश गरिरहनु पर्ने अवस्था नहुँदा पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न नसक्ने ठहर गरेको पुनरावेदन अदालत तुलसीपुरको फैसलामा कानूनी त्रुटि एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल देखिन आएन ।
९. तसर्थ, अदालतबाट कानूनको रीतपूर्वक तामेल भएको म्याद गुजारी बसेको अवस्थामा मुद्दाको तथ्य भित्र प्रवेश नगरी मुलुकी ऐन अ.वं. १८५ क नं. को देहाय २ बमोजिम डिसमिस हुने ठहर्याएको रुकुम जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत तुलसीपुरको मिति २०६४।१०।२७ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी तर्फको लगत काटी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.भरतराज उप्रेती
इति संवत् २०६७ साल असार १४ गते रोज २ शुभम्
इजलास अधिकृतः शिवप्रसाद खनाल