शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४७१ - भ्रष्टाचार

भाग: ३० साल: २०४५ महिना: भाद्र अंक:

निर्णय नं. ३४७१ ने.का.प. २०४५     अङ्क ५

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको रिट नं. ५२५

फैसला भएको मिति : २०४५।३।१२।१ मा

 

पुनरावेदक प्रतिवादी : भ.पु.न.पं.वा.नं.४ बस्ने मालिकाप्रसाद श्रेष्ठ

विरुद्ध

विपक्षी वादी : श्री ५ को सरकार

 

मुद्दा : भ्रष्टाचार

 

(१)                  आफूलाई लागेको अभियोगबाट सफाई पाउने जिकिर लिए तापनि निजबाट कुनै ठोस सबूद प्रमाण पेश भएको नपाइने, दशीसाथ पक्राउ गरिएको भन्ने बरामदी मुचुल्का भएको र निजबाट नोटहरु समेत बरामद भएकोले वादी दावी अनुसारको कसूर गरेको ठहर्‍याई सजायँ गरेको इन्साफ मनासिब हुँदा सदर हुने ।

(प्रकरण नं. १६)

 

पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा

विपक्षी वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की

 

फैसला

न्या.प्रचण्डराज अनिल : श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादीको निवेदन परी यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :

२.     मालिकाप्रसाद श्रेष्ठले ओढी राखेको ओढ्ने भित्रबाट मुचुल्कामा उल्लिखित नोटहरु खसालेका हुन् भन्ने ना.सु. रामजीप्रसाद, ओढ्न भित्रबाट खसाले भनी सबैले भन्दै समातेको हो भन्ने श्रे.डिकप्रसाद, वि.प्र.को अधिकृत हुँ भनी पक्री राखेको नोटहरु मालिकाप्रसादको जीउबाट खसेको हो भन्ने समेत न्हुछेमान श्रेष्ठ, अडिटर साहेब आउनु पर्‍यो भनी कराएको सुनी आउँदा नाउँ थाहा नभएको सरकारी वकिल भन्ने व्यक्तिलाई समाती राखेको थियो यहाँ अँध्यारो छ उज्यालो ठाउँमा जाउँ भनी साथै आउँदा आँगननेर वकिल साहेबले बगलीबाट नोट झिकी खसालेको देखें भन्ने चन्द्रकुमार श्रेष्ठ, वि.प्र.वि.अधिकृत र वकिल साहेबको बीचमा नोट देखें वकिल साहेब पक्राउ परेको भन्ने थाहा पाउँ भन्ने विश्वराज लोहनी, महेश्वर मिश्र समेतको व्यहोरा भएको २०२६।९।११।७ को मौकको मुचुल्का । 

३.     इन्द्रबहादुर समेत उपरको डाँका मुद्दामा २०२६ सालमा अनुसन्धान गर्दा कारवाही नचलाउने राय मेरो र चलाउने राय प्रहरीको भएकोले निजलाई त्यस मुद्दाबाट चिन्दछु । २०२६।९।११ गते बेलुका ६ बजे डुल्न आउँदा रामगोपाल र पञ्चायतको सचिवको घरनेर अ.वि.प्र.ना.सु. कृष्णप्रसाद पन्तसंग भेट भयो । तपाईको जीउ खानतलासी लिनु पर्‍यो । उज्यालोमा जाउँ भनी भनेकाले रामगोपालको पसल अगाडि दायाँपट्टीको ढोकाको सिंढी उक्लन लाग्दा नोट खस्यो भनी अडिटरले भनेपछि कसले खसाल्यो भन्दा तपाईले खसाल्नु भयो भनी भन्नु  भयो । मैले खसालेको होइन भनी भन्दा नोट नम्बर गनी मुचुल्का खडा भयो । मैले इन्द्रबहादुरसंग नोट लिएको मागेको समेत कुनै होइन । ढोकामा अँध्यारो हुँदा इन्द्रबहादुर त्यहीं बसी नोट फ्याँकेको हुनुपर्छ भन्ने समेत मालीकाप्रसाद श्रेष्ठको विशेष प्रहरीमा भएको बयान कागज ।

४.     मालीकाप्रसादले रु.३००।रिश्वत मागेर लिएको ठहरी निजलाई नि.स.नि., २०२१ को परिच्छेद १० को नियम १०(६) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने निर्णयउपर प्र.मालीकाप्रसाद श्रेष्ठको पुनरावेदन परेकोमा श्री ५ को सरकारको ०३०।७।१७ को निर्णयले सदर  गरेको ।

५.     मुद्दा दायर गर्ने सम्बन्धमा निजको पेटमा बिगो नपरेकोले बिगोका हकमा मुद्दा दायर गर्न नमिल्ने देखिन्छ कानुनी अड्चन परेकोमा श्री ५ को सरकारमा जाहेर गरी निर्देशन अनुसार कारवाही अगाडि बढाउनु पर्ने भन्ने स.अ.तथा स.अ.नारायणी अञ्चल हेटौंडाको २०३०।१२।११ को पत्र ।

६.     श्री ५ को सरकारबाट २०३०।१२।२३ मा निर्णय भएकोले मुद्दा दायर गर्न मिल्ने भन्ने समेत गृह मन्त्रालयको २०३०।१२।२३ को पत्र ।

७.     जिल्ला पञ्चायत पर्सामा सिलबन्दी गरी राखेको इन्द्रबहादुरले भर्पाई गरिदिएको नोट नम्बर र मुचुल्काको नोट नम्बर मिल्न भिड्न आएको, बिनाकारण किटानी उजूर दिई फसाउन नपर्ने सरजमीनले समेत लेखी दिएकोले निजउपर भ्र.नि.ऐन, २०१७ परिच्छेद २ को दफा ३ अनुसार कारवाही र सजायँ गरिपाउँ भन्ने समेत अभियोगपत्र ।

८.     सर्वोच्च अदालतबाट मिसिल आएका बखत कारवाही गर्ने गरी २०३३।७।४।४ का आदेशले मुलतवी रहेकोमा २०३९।४।२२।६ का आदेशानुसार मुलतवी जगाई प्रतिवादी झिकाउनु भन्ने समेत भएको   आदेश ।

९.     प्रहरी र अदालतमा समेत मुद्दा जिताई दिन्छु भनी मैले इन्द्रबहादुरबाट रुपैयाँ लिए खाएको केही होइन लिनु पर्ने कारण पनि छैन दावी झुठ्ठा हो भन्ने समेत मालीकाप्रसादको अदालतमा भएको बयान ।

१०.     भविष्यमा सरकारी नोकरीबाट अयोग्य ठहरिने गरी भएको ०३०।७।१७।६ को श्री ५ को सरकारको निर्णय उपरको उत्प्रेषणको रिट सर्वोच्च अदालतबाट ०३३।१।८ मा खारेज भएको समेत देखिएको र बेकसूर रहेको प्रमाणको अभाव देखिँदा दावी अनुसार कसूर प्रतिवादी मालिकाप्रसाद श्रेष्ठले गरेको ठहर्छ । सजायँको हकमा बिगो खाएको नभई बरामद भएको हुँदा निजलाई रु.२६।–(छब्बीस) जरिवाना हुन्छ भन्ने समेत नारायणी अञ्चल अदालतको २०४१।४।१४ को फैसला ।

११.     विभागीय कारवाहीको निर्णयलाई आरोप प्रमाणितको आधार मानी गरेको फैसला अन्यायपूर्ण एवं गैरकानुनी हुँदा बदर गरी सफाई पाउँ भन्ने समेत प्रतिवादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

१२.    मिति ०२६।९।११।६ का दिन भएको खानतलाशी मुचुल्कामा प्रतिवादी मालिकाप्रसादले मुचुल्कामा लेखिएबमोजिम भुईमा खसालेको जम्मा गरी गन्ती गर्दा ३०५।भएको र आउँदा आउँदै सो नोट मैले खसालेको भनी भन्नुभएको भनी लेखी दिंदा आफूले  खसालेको होइन भनी इन्कार गरिरहन सक्नुभएको देखिएन र रामजीप्रसाद बासकोटाले मालिकाले ओढेको ओढ्ने खोस्दा नोट भूईमा खसेको हो भनी बकपत्र समेत गरिदिएकोबाट दावी अनुसार कसूर गरेको ठहर्‍याई गरेको नारायणी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को फैसला ।

१३.    मेरो विरुद्ध वादीले कुनै शड्ढाविहिनको साक्षी प्रमाण केही प्रस्तुत गर्न नसकेको र मैले शुरु बरामदी मुचुल्कादेखि नै आफ्नो इन्कारी जिकिर लिंदै आएकोमा सफाई दिई फैसला गर्नुपर्नेमा ने.का.प. २०३५ पृष्ठ १९९ मा प्रकाशित नजीर समेतलाई अमान्य गर्दै गरेको म.क्षे.अ.को फैसला बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मालिकाप्रसाद श्रेष्ठको यस अदालतमा परेको पुनरावेदनको अनुमति पाउँ भन्ने समेतको निवेदन ।

१४.    यसमा प्रतिवादी मालिकाप्रसाद श्रेष्ठ अपराध गरेमा इन्कार रहेको पाइन्छ । बरामद मुचुल्काको साक्षीहरुको बकपत्रबाट पनि निजबाटै नोट बरामद भएको सकारात्मक एवं ठोस समर्थन भएको देखिन नआएकोले म.क्षे.अ.को फैसलामा त्रुटी हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति ०४३।७।२६ को आदेश ।

१५.    नियम बमोजिम दैनिक पेशी शूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता गणेशराज शर्मा र विपक्षी वादीकोतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्कीले गर्नुभएको बहस जिकिर सुनी विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आयो ।

१६.     यसमा प्रतिवादी मालिकाप्रसाद श्रेष्ठले इन्द्रबहादुरसंग रु.३००।घुस रिसवत लिएको अवस्थामा निज प्रतिवादी रेडह्याण्डमा पक्राउ भएकाले भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ को दफा ३ अन्तर्गतको कसूर गरेको हुँदा सजायँ समेत गरिपाउँ भन्ने समेतको मुख्य माग दावी भएको पाइन्छ । यस सम्बन्धमा विचार गर्दा प्रतिवादी मालिकाप्रसाद श्रेष्ठ प्रहरी र अदालतमा समेत पैसा लिएको कुरामा इन्कारी रही बयान गरेको पाइन्छ तापनि घटनास्थलमा रुपियाँ बरामद भएको कुरालाई निजले स्वीकार गरेको पाइन्छ । मिति ०२६।९।११।६ मा भएको खानतलाशी मुचुल्कामा रहेका चश्मदीत व्यक्तिहरु कप्रसाद रामजीप्रसाद समेतले विशेष प्रहरीले मालिकाप्रसाद श्रेष्ठको खानतलाशी लिन समाती राखेको अवस्थामा निज मालिकाप्रसादले ओढ्ने ओढी कमिज सुरुवाल लगाइराखेको अवस्थामा निजले खसालेको नोटहरु बरामद भएको हो भनी आफूले बरामदी मुचुल्कामा लेखाई दिएको कुरालाई अदालतमा आई समर्थन गरी बकपत्र गरेको पाइन्छ । प्रतिवादी मालिकाप्रसादले आफूलाई लागेको अभियोगबाट सफाई पाउने जिकिर लिए तापनि निजबाट कुनै ठोस सबूद प्रमाण पेश भएको पाइँदैन । दशीसाथ निजलाई पक्राउ गरिएको भन्ने बरामदी मुचुल्का भएको र निजबाट नोटहरु समेत बरामद भएकाले नारायणी अञ्चल अदालतले वादी दावी अनुसारको कसूर गरेको ठहर्‍याई सजायँ गरेको इन्साफलाई म.क्षे.अ.ले सदर गरेको फैसला मनासिब हुँदा सदर हुने ठहर्छ, पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम   गर्नु ।

तपसील

प्रतिवादी मालिकाप्रसाद श्रेष्ठ के माथि इन्साफ खण्डमा लेखिएबमोजिम ठहरेकाले अ.बं.२०३ नं.बमोजिम शुरुले रु.२६ जरिवाना गरेकोले सो पाँच प्रतिशतले रु.१।३० जरिवाना हुन्छ बेरुजू हुँदा असूल गर्नु भनी मकवानपुर जि.अ.मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु ..१ मिसिल नियम बमोजिम गरी बुझाई दिनु ..२

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४५ साल असार १२ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु