शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४७२ - ज्यान

भाग: ३० साल: २०४५ महिना: भाद्र अंक:

निर्णय नं. ३४७२ ने.का.प. २०४५     अङ्क ५

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको फौ.पु.नं. ४४१

फैसला भएको मिति : २०४५।३।१

 

पुनरावेदक प्रतिवादी : भैरहवा कारागारमा थुनामा रहेको मनबहादुर नेपाली

विरुद्ध

विपक्षी वादी : मनबहादुरको जोहेरीले श्री ५ को सरकार

 

मुद्दा : ज्यान

 

(१)                  विक्षिप्त अवस्थामा अपराधीले सजायँ छुट पाउन वारदात गर्दाको अवस्थामा मानसिक स्थिति सन्तुलन नभएको सिद्ध हुन अनिवार्य हुने ।

(प्रकरण नं. १५)

(२)                आफूले अति प्रेमसाथ ठाउँ ठाउँमा आफ्नो साथ लगी राखी आएको स्वास्नीले आफूलाई लोग्नेको व्यवहार नगरी बच्चाहरुको समेत हेरचाह नगरी पटकपटक सहँदा पनि अरु व्यक्तिसंग सम्पर्क राख्न नछाडी आफ्नो साथ रहन बस्न समेत इन्कार गरेको देखिन आएकोले यस्तो अवस्थामा शुरु जिल्ला अदालतले अ.बं.१८८ नं.बमोजिम कम सजायँ हुनपर्ने भनी व्यक्त गरेको राय मनासिबै देखिने ।

(प्रकरण नं. १५)

 

पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षी वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी.

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन पर्न आई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।

२.     मिति २०४०।९।२९ गते विहान अन्दाजी ७.३० बजेको समयमा मैले श्रीमती शोभालाई दाबेले हानी कैयौंबार प्रहार गरी मरेपछि हाजिर हुनआएको छु । कानुन बमोजिम सजायँ पाउँ भन्ने मनबहादुरको जाहेरी दर्खास्त ।

३.     मृतक शोभा नेपालीको टाउको हात समेतमा धारिलो हतियारले काटेको घाउ भन्ने समेत लाश प्रकृति मुचुल्का ।

४.     मैले श्रीमतीलाई सिरिया, ब्रुनाई, हङकङ लगी राम्रो व्यवहार गरी राख्दा पनि परपुरुषसँग सम्बन्ध राख्ने गरी आएकी थिइन । ०४०।९।२८ मा मद्रासबाट  फर्केपछिको रातमा कुराकानी गर्दा अनविश्वासिला कुरा गरी म र छोरा छोरीलाई अवहेलना गरेकोले सो सहन नसकी ०४०।९।२९ गते विहान आफैंले मारेको हुँ । लागेको सजायँ भोग्न मञ्जूर छु भन्ने समेतको मनबहादुरको प्रहरीमा साविती बयान ।

५.     धारिलो हतियारले हानी रक्तश्राव भएको कारणबाट मृत्यु हुन गएको भन्ने समेतको पोष्टमार्टम रिपोर्ट ।

६.     मनबहादुरले शोभालाई कर्तव्य गरी मारेको भन्ने सम्पूर्ण सरजमीनको व्यहोरा ।

७.     बाबुले आमालाई मार्दा मैले देखेकी हुँ भन्ने समेत छोरी गिताको प्रहरीमा भएको कागज ।

८.     ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम प्र.मानबहादुरलाई सजायँको माग भएको प्रहरी प्रतिवेदन ।

९.     ०४०।९।२९ मा शोभालाई धारिलो दाबेले हानी मारेको हुँ भन्ने समेतको मनबहादुरको अदालतमा भएको बयान ।

१०.     प्र.मानबहादुरले कर्तव्य गरी शोभाको ज्यान मारेको ठहर्छ भनी ऐन बमोजिम सजायँ गर्दा चर्को हुने चित्तमा लागेकोले अ.बं.१८८ नं.बमोजिम राय व्यक्त गरिएको रुपन्देही जि.अ.को फैसला ।

११.     उक्त फैसला उपर मनबहादुरको प.क्षे.अ.मा पुनरावेदन परेकोमा ज्यानसम्बन्धी १३(१) नं. को सजायँ हुने ठहर्‍याएको शुरु इन्साफ मनासिब ठहर्‍याई अ.बं.१८८ नं.बमोजिमको जि.अ.को राय समर्थन गरी फैसला गरेको ।

१२.    पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्र.मनबहादुरको यस अदालतमा पुनरावेदन पर्न आएको यस अदालत संयुक्त, इजलासबाट निर्णय फरक पर्ने देखी झ.झि. भएको ।

१३.    नियम बमोजिम पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्रीकृष्णप्रसाद पन्तले मानसिक स्थिति ठीक नभएको व्यक्ति भएबाट पुनरावेदनकले सफाई पाउनु पर्दछ भन्ने समेतको र विपक्षी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी.ले मनासय लिएर श्रीमतीको हत्या गरेकोले दावी अनुसार पुरै सजायँ हुनु पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।

१४.    अब पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिब वा बेमनासिब के रहेछ भन्ने कुराको निर्णय दिनुपरेको छ ।

१५.    निर्णयतर्फ विचार गर्दा यसमा आरोपित कसूरमा पूर्ण सावित भई पुनरावेदकले प्रहरी र अदालतमा बयान गरेको छ । पुनरावेदक विक्षिप्त अवस्थामा रहेको भन्ने हकमा अपराधीले सो आधारमा सजायँ छुट पाउन वारदात गर्दाको अवस्थामा मानसिक सन्तुलन नभएको सिद्ध हुन अनिवार्य हुन्छ । मुद्दामा भएको कारवाहीको कुनै कुराबाट निज त्यस्तो अवस्थामा थियो भनी भन्न सकिने कुनै अवस्था देखिन आउँदैन । निज अभियुक्तको प्रहरीमा भएको कागज तथा अदालतमा भएको बयानको कुराहरुबाट पनि निज विक्षिप्त अवस्थामा रहेको भन्न सकिने देखिन आउँदैन । निजले अदालतमा आई बयान गर्नुको तत्काल पछि बयानमा लेखाउन छुट भएको कुराहरु भनी दिएको निवेदनमा पनि त्यस्तो असामान्य परिस्थिति देखाउन सकेको छैन । यसप्रकार निजले गरेको कर्तव्यबाट निजलाई कानुनले सजायँ हुने निश्चित भएपछि पुनरावेदकको भाइलेसम्म सो कुरा देखाई निवेदन दिएको देखिन्छ । त्यसपछि भएको कारवाहीहरुबाट सो निवेदनको कुरा पुष्टि गर्ने प्रयास भएकोसम्म देखिन आएको छ । तसर्थ मानसिक स्थिति असन्तुलन भएको मान्न सकिएन । अभियुक्तलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३ (१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको मनासिब देखिन्छ । तर निजले आफ्नी श्रीमतीलाई मार्नु पछाडि के कस्तो कुरा रहेको छ भन्नेतर्फ  हेरेमा आफूले अति प्रेम साथ ठाउँ ठाउँमा आफ्नो साथ लगी राखी आएको स्वास्नीले आफूलाई लोग्नेको व्यहार नगरी बच्चाहरुको समेत हेरचाह नगरी पटकपटक सहँदा पनि अरु व्यक्तिसंग सम्पर्क राख्न नछाडी आफ्नो साथ रहन बस्न समेत इन्कार गरेको देखिन आएकोले यस्तो अवस्थामा शुरु जिल्ला अदालत समेतले अ.बं.१८८ नं.बमोजिम कम सजायँ हुनुपर्ने भनी व्यक्त गरेको राय मनासिबै देखिन आएकोले पुनरावेदकलाई १० वर्ष कैदसम्म हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । सर्वश्वसहित जन्मकैदको लगत कट्टा गरी कैद वर्ष दशको लगत कायम गर्नु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.पृथ्वीबहादुर सिंह

 

इति सम्वत् ०४५ साल आषाढ १ गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु