निर्णय नं. ८४८९ - लेनदेन

निर्णय नं. ८४८९ ने.का.प २०६७ अङ्क १०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
संवत् २०६० सालको दे.पु.नं. ९६४५
फैसला मितिः २०६६।१०।२५।३
मुद्दा :– लेनदेन ।
पुनरावेदक वादीः कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका–५ बस्ने मृगेन्द्रसिंह श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका–३ बस्ने दानबहादुर श्रेष्ठ
शुरु फैसला गर्नेः
मा.जि.न्या. श्री महेशप्रसाद पुडासैनी
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री ताहिर अली अन्सारी
मा.न्या.श्री धीरेन्द्रबहादुर विष्ट
§ विशेषज्ञले दिएको रायको आधारभन्दा फरक स्वरुपमा निर्णय निष्कर्षमा पुग्दा त्यसको परीक्षणको बिश्वासनीयता र परीक्षणको आधार समेतलाइ स्पष्ट रुपमा खण्डित गर्नुपर्ने हुन्छ । वैज्ञानिक आधारमा परीक्षण भै प्राप्त भएको रायलाई अन्यथा हो भन्न त्यसको विश्वसनीयताउपर चुनौती दिन स्पष्ट रुपमा विवादरहित आधार स्थापित हुनुपर्ने ।
(प्रकरण नं. ३)
§ लिखतमा विश्वसनीयता कायम नरहोस् भन्ने नियतले लिखत तयारीकै क्रममा विभिन्न किसिमका प्राविधिक त्रुटि राखी लिखत तयार गरेकाले यस अदालतका लेखा तथा रेखा विषेशज्ञले दिएको रायमा विभिन्न अवस्थाको चित्रण गरी लिखतको सहिछाप अन्य हस्ताक्षरसँग मेल खाने भनी राय प्रदान गरेको अवस्थामा लेखकको लिखत लेखनमा दूषित मनसाय रहेको तथ्ययुक्त आधार पुष्टि हुने ।
(प्रकरण नं. ४)
§ एकै विषयमा विज्ञहरूद्वारा नै फरक–फरक राय पेश भएको अवस्थामा कुन रायलाई आधार लिने भनी हेर्दा जुन रायको परीक्षणका आधार सवल र भरपर्दा छन् त्यसैलाई निष्कर्षको आधार बनाइनु पर्ने ।
(प्रकरण नं. ५)
§ लिखतको प्रकृतिलाई नाङ्गो आँखाले हेर्दा समेत साक्षी, कारणी लिखतको साईज लेखाई आदि स्वाभाविक भै सद्दे जस्तो नै देखिएको र सो पुष्टि हुने गरी विशेषज्ञको राय समेत प्राप्त भएको अवस्थामा लिखतको विश्वसनीयता माथि प्रश्न उठाउने ठाउँ नभएकाले स्वाभाविक र सद्दे रुपमा रहेको पुष्टि भएको लिखतलाई कीर्ते जालसाजी भन्न नमिल्ने ।
(प्रकरण नं. ६)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री नरेन्द्रकुमार के.सी.
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री पद्मराज काफ्ले र श्री मुक्ति प्रधान
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
फैसला
न्या.अवधेशकुमार यादवः पुनरावेदन अदालत, बुटवलको मिति २०६०।४।३२ को फैसलाउपर न्याय प्रशासन ऐन, ०४८ को दफा ९ बमोजिम वादीको तर्फबाट दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :
प्रतिवादी दानबहादुर श्रेष्ठलाई घर खर्च गर्नको लागि एकै ठाउँको जात विरादर भएकोले रु.४,००,००१।– मैले कर्जा दिई सो कर्जाको १० प्रतिशतले हुने ब्याज र साँवा समेत २०४९ साल माघ मसान्तसम्ममा एकमुष्ठ नबुझाएमा मेरा जायजेथाबाट असूलउपर गर्नु भनी निज प्रतिवादीले आफ्ना हस्ताक्षरले साक्षीका रोहवरमा २०४८।११।१५ मा कपाली तमसुक लेखिदिनु भएको थियो । २०४९ माघ मसान्तसम्म अर्थात् भाखाभित्र साँवाव्याज प्रतिवादीले नबुझाएको हुनाले २०४९।११।१७ मा भेटी सो सम्बन्धमा कुरा गर्दा पैसाको व्यवस्था गर्दैछु भन्ने जवाफ प्रतिवादीबाट पाएको थिएँ । मलाई रुपैयाँको शख्त आवश्यकता परी २०५३।१२।१ मा प्रतिवादीको घरमा गई आजसम्मको साँवाव्याज माग्दा म रकम दिन्न जे गर्नुपर्छ गर्नुस् भन्ने जवाफ प्रतिवादीबाट पाएकाले साँवा ४,००,००१।– र ब्याज रु.२,०४,४४३।९४ समेत जम्मा रु.६,०४४४।९४ र भरिभराउ हुँदाका बखतसम्मको साँवाव्याज भराई पाऊँ भन्ने समेत व्यहोराको मृगेन्द्रसिंह श्रेष्ठको तर्फबाट कपिलवस्तु जिल्ला अदालतमा दायर भएको फिरादपत्र ।
फिराद दावीबमोजिम मैले कर्जा लिएको होइन । कपाली तमसुक गरिदिएको पनि होइन । मेरो जग्गा हात पार्ने दुराशयले आफ्ना मिलजुलका मानिस साक्षी राखी मेरो हस्ताक्षर र सही समेत झूठा बनाई कीर्ते गरी अगाडिको मितिमा खडा गरी गलत नालिस दिइएको हो । अ.वं. ७८।८० नं. बमोजिमको प्रक्रिया अपनाई सक्कल लिखत वादीबाट दाखेल गरी लिखत विशेषज्ञबाट जचाई पाऊँ । विपक्षीबाट धेरैपछि मात्र फिराद दायर भएको छ, जसको कारण फिरादपत्रमा उल्लेख भएको देखिँदैन । वादीबाट फिरादपत्र साथ लिखतको फोटोकपी पेश गर्दा लिपि प्रष्ट हुने हुँदा नक्कल पेश भएको छ । २०४८।११।१५ मा कपिलवस्तु नगरपालिकाको नामाकरण नै भएको थिएन । यसका साथै २०४८ सालमा वडा नं.१४ रहेको थिएन । तौलिहवा नगरपालिकाबाट परिवर्तन भई कपिलवस्तु नगरपालिका वडा नं.१४ पछि अरु क्षेत्रफल गाभी कायम भएको कुरा कल्पना गर्नु नै असम्भव भएको हुँदा उक्त कागज पहिला नभएको, उक्त कागज सद्दे नभई हालै अगाडिको मिति पारी झूठा किर्ते कागज खडा गरेको र हतपतमा तयार गर्दा वडा नं. फरक परी हालकै वडा नं. लेखिन गएको देखिन्छ । झूठा फिरादको लागि वादीलाई नै जालसाजमा सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको दानबहादुर श्रेष्ठको तर्फबाट दायर भएको प्रतिउत्तरपत्र ।
वादी प्रतिवादीका साक्षीको बकपत्र भई मिसिल संलग्न रहेको यसमा विवादित लिखतमा लागेको सहीछापको परीक्षण गर्न पठाउँदा मिले भिडेको भनी प्राप्त हुन आएको विशेषज्ञको राय र लिखतका साक्षी कृष्णबहादुर सिंहले लिखत सद्दे हो भनी बकपत्र गरेको समेतको आधारबाट लिखत प्रतिवादीले नै गरिदिएको र सद्दे देखिन आएको छ । लिखतमा लेखिएको कपिलवस्तु न.पा. तत्काल कायम नभई तौलिहवा नगरपालिका रहेको भन्ने जिकीरका हकमा उक्त नगरपालिकाको नाम परिवर्तन भएको मिति र लिखत मितिमा लामो अन्तर नरहनुको अतिरिक्त लिखतमा भएको मिति अगावै नगरपालिकाको नाम परिवर्तनको लागि सिफारिश भइसकेको भन्ने जि.वि.स. कपिलवस्तुको पत्रबाट देखिन आएको समेतबाट उक्त लिखत अघिको मिति पारी तयार भएको भन्न मिलेन । तसर्थ वादी दावीबमोजिम लिखत अनुसारको साँवाव्याज समेत वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५७।१।२० को कपिलवस्तु जिल्ला अदालतको फैसला ।
वादीले फिरादसाथ पेश गरेको तमसुकको हस्ताक्षर मेरो होइन भनी जिकीर लिएको अवस्थामा कीर्ते जालसाजको विवाद उठेकोले लिखतका साक्षीहरूलाई अ.वं. ७८, ८०, १३७ र १३९ नं. बमोजिम बुझी प्रतिवादीसरह राखी मुद्दाको कारवाही हुनुपर्नेमा त्यसो नगरी फैसला भएकोले सो फैसलामा अ.वं. १८४ क, १८५ र १९२ नं. समेतको त्रुटि भएको, लिखतको परीक्षणसम्बन्धी विशेषज्ञको रायका सम्बन्धमा अर्का हस्ताक्षर तथा औंठाको छाप विशेषज्ञले सो परीक्षण त्रुटिपूर्ण भनेको र मैले सो लिखत रोनाष्टमा जाँचका लागि अनुरोध गरेकोमा सो जाँच नगरी उक्त लिखतको परीक्षण गर्ने विशेषज्ञको बकपत्रसमेत नगराई सोही लिखतलाई प्रमाणमा लगाई भएको, मिति २०४८।१२।३० को राजपत्रमा मात्र साविकको तौलिहवा नगरपालिका क्षेत्रलाई कपिलवस्तु नगरपालिका नामाकरण गरेको सूचना जारी भएको देखिएको अवस्थामा सो पूर्व नै मिति २०४८।११।१५ को लिखतमा कपिलवस्तु नगरपालिका वडा नं. १४ लेखिएको देखिँदा अघिल्लो मितिको लिखत पछिल्लो मितिमा तयार गरेको देख्दादेख्दै त्यसैलाई स्वीकार गरी भएको र वादीको फिरादमा भएको व्यहोरा र साक्षीको भनाईमा एकरुपता नभै विरोधाभाषपूर्ण भएको अवस्थामा कपिलवस्तु जिल्ला अदालतबाट मिति २०५७।१।२० मा भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी दानबहादुर श्रेष्ठको पुनरावेदन अदालत, बुटवलमा दायर भएको पुनरावेदनपत्र ।
यसमा विवादित लिखतमा भएको अक्षरको लिपि र प्रतिवादीसँग लिइएको नमूना लिखतको लिपि अक्षरमा त्यति भिन्नता नदेखिए पनि लिखतको व्यहोरामा प्रतिवादी आसामी दानबहादुर श्रेष्ठको वतन र साहू मृगेन्द्र श्रेष्ठको वतन जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका भन्ने उल्लेख भई मिति २०४८।११।१५ मा लिखत खडा भएको देखियो । सो मितिसम्म उक्त नगरपालिका तौलिहवा नगरपालिका कायम रहेको देखिएको, मिति २०४८।१२।३० मा मात्र कपिलवस्तु नगरपालिका कायम भएको भन्ने कुरा मिसिल संलग्न मिति २०४८।१२।३० मा प्रकाशित राजपत्रबाट देखिएकाले त्यस्तो लिखतको आधारमा वादीदावी बमोजिमको साँवाव्याज भराई पाउने ठहर्याएको शुरु जिल्ला अदालतको फैसला फरक पर्नसक्ने देखिएकाले विपक्षी झिकाई पेश गर्नु भन्ने मिति २०५८।६।२४ को पुनरावेदन अदालत, बुटवलको आदेश ।
मिति २०४८।१२।३० को राजपत्रमा प्रकाशित सूचनाबमोजिम कपिलवस्तु नगरपालिका भएको हो । मिति २०४८।११।१५ मा तौलिहवा नगरपालिका थियो भन्ने समेत व्यहोराको मिति २०५९।३।४ को प्रतिवादीका वारेस हरिप्रसाद अधिकारीको अ.वं. १३३ नं. बमोजिमको कागज ।
कपिलवस्तु न.पा. नामाकरण गर्ने प्रस्ताव जि.वि.स. कपिलवस्तुबाट मिति २०४८।३।३१ मा निर्णय भैसकेको हुँदा लिखतमा कपिलवस्तु न.पा. लेखिन गएको हो भन्ने समेत व्यहोराको मिति २०५९।३।४ को वादीका वारेस हिमलाल अर्यालको अ.वं. १३३ नं. बमोजिमको कागज ।
मिति २०४८।११।१५ को तमसुक सद्दे हो । तमसुक स्वयं दानबहादुरले लेखेका र हामी साक्षी बसेका हौं भन्ने समेत व्यहोराको मिति २०५९।९।२८ को हरिश्चन्द्र पाण्डे र कृष्णबहादुर सिंहको अलग–अलग बयान ।
पुनरावेदन अदालतको मिति २०६०।१।२१ को आदेशानुसार रेखा तथा लेखा विशेषज्ञ केशवबहादुर थापाको बन्द सवालबाट बकपत्र भई सो बकपत्र मिसिल संलग्न रहेको ।
जिल्ला अदालतमा लिइएको नमूना लेखौटसँग २०४८।११।१५ को लिखतका अक्ष रहरूको बनौट र गुणहरूमा व्यापक भिन्नता देखिएको, विवादित लिखतको सहीछाप मिति २०४९।३।१० को प्रतिवादीको राजीनामामा ग रेको दुई हस्ताक्ष रको सहीछापसँग मिलेको नदेखिएको र विशेषज्ञले शंका रहित र निश्चित रुपले विवादित लिखतको लेखौट र हस्ताक्ष र प्रतिवादीको नै हो भनी सन्तोषजनक ढंगले राय व्यक्त ग रेको नपाइएको अवस्थामा वादी दावीअनुसा रको रकम प्रतिवादीले वादीबाट लिई तमसुक लिखत लेखी सही गरिदिएको नदेखिँदा वादी दावीअनुसार प्रतिवादीबाट भ री पाउने ठहराएको कपिलवस्तु जिल्ला अदालतले मिति २०५७।१।२० मा ग रेको फैसला नमिलेकाले उल्टी भई विवादित लिखत वादीले कीर्ते जालसाजीबाट खडा ग रेका ठर्हछ भन्ने समेत व्यहोराको मिति २०६०।४।३२ को पुन रावेदन अदालत, बुटवलको फैसला ।
लेखा विशेषज्ञले विवादित लिखतको हस्ताक्षरका लिपिहरू र निजका जिल्ला अदालतबाट लिइएका लिपिहरूसँग भिडेको भनी राय दिएको अवस्थामा विना प्रमाण त्यसलाई अस्वीकार गरी निराधार रुपमा विवादित लिखतका अक्षरहरूको प्रकृति फरक भएको भनी शुरु फैसला उल्टी गर्ने मिति २०६०।४।३२ को पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण र आधारहीन भएकाले बदर गरी कपिलवस्तु जिल्ला अदालतको फैसला सदर कायम राखी पाऊँ भन्ने समेत व्यहोराको मिति २०६०।११।२६ मा वादीका तर्फबाट पुनरावेदन अदालत बुटवल मार्फत यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।
यसमा वादीदावीको लिखत स्वयं कारणी ऋणी यी प्रतिवादीले नै आफ्नो हस्ताक्षरले लेखिदिएको भन्ने फिरादपत्रबाट नै देखिएको र लिखतमा लेखक ऋणीले हस्ताक्षरमात्रको सही गरेको अवस्थामा सो लिखतको हस्ताक्षर निजले गरिदिएको पारित राजीनामा, बण्डापत्र र अदालतमा भएको निजको नमूना हस्ताक्षर समेत रेखा तथा लेखा विशेषज्ञबाट जाँच गराउँदा आपसमा लेखकको लेखन गुण र मूल स्वभाव मिलेको भनी राय दिएको र सोहीबमोजिम निज विशेषज्ञले अदालतमा बकपत्र गरेको समेत देखिन आएको अवस्थामा सो विशेषज्ञको राय विपरीत वादीको दावी नपुग्ने भनी पुनरावेदन अदालत, बुटवलबाट भएको फैसला नमिली फरक पर्न सक्ने देखिएकाले विपक्षी झिकाई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०६३।१२।२ को आदेश ।
यसमा यस अदालतका रेखा विशेषज्ञ केशवबहादुर थापाबाट मिति २०५६।३।१० मा जाँच भई दिएको रायविपरीत पुनरावेदन अदालत, बुटवलले इन्साफ गर्ने क्रममा निष्कर्षमा पुग्दा लिखत सम्बन्धमा दिएको उक्त रायको कारणको विश्लेषणको आधार फरक देखिएकाले उक्त लिखत अर्को विशेषज्ञबाट पनि जँचाई इन्साफ गर्न मनासिब हुने भएकाले प्रतिवादीको हस्ताक्षरको नमूना लिई मिसिलमा पेश भएको मिति २०१४।३।१९ को बण्डापत्रको लिखत र मिति २०४९।३।११ को राजीनामाको लिखतसँग भिडाई जाँच गराउन पुनरावेदक वादीबाट आवश्यक दस्तूर लिई राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाई सोको प्रतिवेदन आएपछि पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।५।१९ को आदेश ।
यस अदालतको मिति २०६६।२।२८ को आदेशानुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका विशेषज्ञ मुकुल प्रधानको बकपत्र भई मिसिल संलग्न रहेको ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचिमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नरेन्द्रकुमार के.सी.ले विपक्षीले रु.४ लाख ऋण लिइ सो लिएको लिखत कागज गरी दिएका हुन् । सो कागजको रेखा तथा लेखा विशेषज्ञको परीक्षणको आधारमा जिल्ला अदालतबाट दावी ठहर गर्ने निर्णय भएको अवस्थामा विना आधार सद्दे लिखतलाई कीर्ते जालसाजबाट तयार भएको भनी शुरु फैसला उल्टी गर्ने पुनरावेदन अदालतको फैसला मिलेको नहुदा बदर गरी शुरु फैसला सदर कायम गरिपाऊँ भनी बहस प्रस्तुत गर्नुभयो । त्यसैगरी विपक्षीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पद्मराज काफ्ले र श्री मुक्ति प्रधानले विपक्षीले कीर्ते लिखत खडा गरी बनावटी लिखतलाई स्थापित गर्नका लागि फिराद दावी लिएका हुन् । मुद्दामा लिखत हुनु अगाडिको परिस्थिति र लिखत पछिको मुद्दाको क्रममा रहेको परिस्थिति दुबैलाई मिलाएर हेर्दा समेत प्रस्तुत लेनदेन मुद्दाको लिखत कीर्ते रहेको हुँदा कीर्ते ठहर गर्ने पुनरावेदन अदालतको फैसला सदर कायम हुनुपर्दछ भनी प्रस्तुत गर्नु भएको बहस जिकीर समेत सुनियो ।
दुबै पक्षका विद्वान कानून व्यवसायीहरूको बहस जिकीर सुनी, मिसिल संलग्न प्रमाण कागजहरूको समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा प्रस्तुत लेनदेन मुद्दाका सम्बन्धमा भएका लिखत कीर्ते जालसाजीबाट भएको ठहर गरी शुरु निर्णय उल्टी गर्ने पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
यसमा रेखा तथा लेखा विशेषज्ञले बिवादित लिखतको हस्ताक्षरका लिपिहरू र निजको जिल्ला अदालतबाट लिइएका लिपिहरूसँग भिडेको अवस्थामा विना आधार त्यसलाई कीर्ते जालसाजीबाट खडा भएको भनी निर्णयमा पुगेको पुनरावेदन अदालतको फैसला बदरभागी हुँदा उल्टी गरिपाऊँ भन्ने मुख्य पुनरावेदन जिकीर रहेको देखियो ।
२. मिति २०४८।११।१५ मा घर खर्चको लागि प्रतिवादी दानबहादुर श्रेष्ठले कपाली तमसुक गरी रु.४,००,०००। (चार लाख) लिएपश्चात् सो असूलीको क्रममा धनी मृगेन्द्रबहादुर श्रेष्ठले फिराद दावी लिई आएपश्चात् लेनदेन मुद्दा शुरु भएको पाइन्छ । शुरु जिल्ला अदालतले दावीअनुसार लिखतमा उल्लिखित रकम साँवाव्याजसहित भराई दिने निर्णय पुनरावेदन अदालत, बुटवलबाट उल्टी भएपश्चात् यस अदालतमा वादीको पुनरावेदन परेको देखियो । लिखतमा परेको सहीछाप सद्दे कीर्ते के हो भन्ने सम्बन्धमा विशेषज्ञको रायमा “कपाली तमसुकको व्यहोराको लिपि र हस्ताक्षर सहीमा देखिएको लेखकको लेखन गुण र मूल स्वभाव आपसमा अदालतबाट लिएको नमूना लिपि र पारित राजीनामा तथा बण्डापत्रमा भएको दानबहादुर श्रेष्ठको हस्ताक्षर सहीमा लेखिएको लेखन गुण र मूल स्वाभाव आपसमा मेल गरेको भनी स्पष्ट रुपमा विभिन्न आधार र कारण देखाई लिखतको परीक्षण प्रतिवेदन पेश गरेको पाइन्छ । सोही प्रतिवेदनको आधारमा वादी दावीअनुसार शुरु जिल्ला अदालतबाट निर्णय भएको देखिन्छ ।
३. पुनरावेदन अदालतले शुरु फैसला उल्टी गर्दा विशेषज्ञको रायभन्दा फरक आधारमा निर्णय गरेको देखिन्छ । लेखा तथा रेखा विषेशज्ञले दिएको राय प्रतिवेदन र हस्ताक्षर प्रतिवादीकै हो भनी संतोषजनक ढंगले राय व्यक्त गर्न नसकेको, दानबहादुरको लेखोट लेख्ने बानी र लेखिएको स्वरुपसँग विवादित लिखतको हस्ताक्षर सही मिलेको नदेखिएको, अन्य लिखतहरूमा रहेको हस्ताक्षर र विवादित लिखतमा भएको हस्ताक्षरबीच धेरै भिन्नता रहेको पाइने भन्ने जस्ता आधारमा निष्कर्षमा पुगेको पाइन्छ । पुनरावेदन अदालतले मुद्दाको क्रममा यस अदालतका रेखा तथा लेखा विषेशज्ञले प्रदान गरेकोे रायका सम्बन्धमा बन्दसवाल गरी थप जानकारी लिन खोजेको पाइन्छ । बन्दसवालमा समेत विशेषज्ञले आफ्नो पहिलेको रायकै आधारमा बकपत्र गरीदिएको भएता पनि पुनरावेदन अदालतले निर्णयका क्रममा सो रायलाई निर्णयाधारको रुपमा ग्रहण गरेको पाइदैन । यसरी विशेषज्ञले दिएको रायको आधारभन्दा फरक स्वरुपमा निर्णय निष्कर्षमा पुग्दा त्यसको परीक्षणको बिश्वासनीयता र परीक्षणको आधार समेतलाइ स्पष्ट रुपमा खण्डित गर्नुपर्ने हुन्छ । वैज्ञानिक आधारमा परीक्षण भै प्राप्त भएको रायलाई अन्यथा हो भन्न, त्यसको विश्वसनीयता उपर चुनौती दिन स्पष्ट रुपमा विवादरहित आधार स्थापित हुनुपर्दछ । पुनरावेदन अदालत बुटवलले शुरु फैसला उल्टी गरी निर्णय गर्दा फैसलामा सो आधार स्थापित गरी निर्णय निष्कर्षमा पुगेको देखिन आएन ।
४. लिखत लेख्ने लेखक स्वयं ऋणी विपक्षी दानबहादुर श्रेष्ठ भएको अवस्थामा निजलाई लिखतमा ल्याप्चे सहीछाप लगाउनु पर्दछ भन्ने सामान्य जानकारी समेत नभएको कुरा विश्वास गर्न सकिदैन । लिखत कीर्ते जालसाजी गरी तयार गर्नेले ल्याप्चे सहीछाप पनि गर्ने कोशिस गर्दछ । जसरी हुन्छ लिखतलाई स्पष्ट रुपमा सद्दे पार्ने हरेक किसिमका प्रयास कीर्ते गर्नेले गर्न खोज्दछ । तर दूषित मनसाय राखी लिखत तयार गर्नेले प्रारम्भिक रुपमै लिखतलाई विश्वसनीय नबनाउने नै भरमग्दुर प्रयास गर्दछ । लिखत लेखन कै क्रममा दूषित मनसायले पे्ररित भै तयार भएको देखिदा विवादित लिखतमा कीर्ते गर्ने प्रयास गरेको देखिन आएन । लिखतमा रहने मुख्य प्रमाण कारणीको ल्याप्चे सहीछाप नै हुने र त्यसको परीक्षणबाट प्राप्त हुनसक्ने सत्यताको सम्भावित खतराबाट बच्न शुरुकै चरणमा लेखक ऋणीले दूषित मनसाय प्रदर्शन गरेको देखिन्छ । लिखतमा विश्वसनीयता कायम नरहोस् भन्ने नियत राखी लिखत तयारी कै क्रममा विभिन्न किसिमका प्राविधिक त्रुटि राखी लिखत तयार गरेको देखिन्छ । यस अदालतका लेखा तथा रेखा विषेशज्ञले दिएको रायमा विभिन्न अवस्थाको चित्रण गरी लिखतको सहिछाप प्रतिवादी मृगेन्द्रबहादुर श्रेष्ठको अन्य हस्ताक्षरसँग मेल खाने भनी राय प्रदान गरेको अवस्थामा माथि उल्लिखित उपरोक्त आधारअनुसार पनि लेखकको लिखत लेखनमा दूषित मनसाय रहेको तथ्ययुक्त आधार पुष्टि हुन आयो ।
५. शुरु जिल्ला अदालतको आदेशअनुसार परीक्षण गरिएको लिखतमा यस अदालतका लेखा तथा रेखा विशेषज्ञ केशवबहादुर थापाले पेश गरेको परीक्षण प्रतिवेदन र यस अदालतबाट आदेश भएअनुसार रोनाष्टका विषेशज्ञबाट पेश गरिएको परीक्षण प्रतिवेदनतर्फ विचार गर्दा यस अदालतबाट भएको परीक्षणमा विज्ञ केशवबहादुर थापाले अक्षरको स्वभाव, घुमाउ, ठलाई, झुकाव, शुरुवात र अन्त्यको आदत मात्राको प्रयोग, उठावट, रोकावट, कोण, बक्राकृति र मूल स्वभावको बिवेचना गरेको पाइन्छ । लेखनको क्रममा हुने सम्पूर्ण वैज्ञानिक पद्धतिको विश्लेषण गरी राय व्यक्त गरेको पाइन्छ । लेखनको क्रममा एकै व्यक्तिका हस्ताक्षर पनि उपरोक्त आधारमा ठूला साना र अर्कै देखिने प्रकृतिका हुन सक्दछन् । यी सम्पूर्ण कुराको विश्लेषण गरी विशेषज्ञको राय प्रस्तुत भएको पाइन्छ भने रोनाष्टका वैज्ञानिकले आकृति ठूलो, सानो, उचाई कमबेसी, अक्षरको पूर्णता, भित्र बाहिर जस्ता सतही आधारमा परीक्षणका क्रममा प्राप्त लिखतका बीच एकआपसमा मेल नखाने भनी राय पेश भएको पाइन्छ । यसरी एकै विषयमा विज्ञहरूद्वारा नै फरक–फरक राय पेश भएको अवस्थामा कुन रायलाई आधार लिने भनी हेर्दा जुन रायको परीक्षणका आधार सवल र भरपर्दा छन् त्यसैलाई निष्कर्षको आधार बनाइनु पर्दछ । मिसिल संलग्न कागजातले विशेषज्ञ केशवबहादुर थापाको राय वैज्ञानिक तथ्यमा आधारित भएको देखिंदा रोनाष्टको विषेशज्ञले दिएको रायको आधारलाई विश्वसनीय मान्न सकिएन । विशेषज्ञबाटै प्राप्त रायलाई अस्वीकार गर्न ठोस आधार प्रस्तुत नगरी रायको वैधानिक अस्तित्वलाई नै अस्वीकार गरी शुरु फैसला उल्टी गर्ने पुनरावेदन अदालत, बुटवलको फैसला उपरोक्त आधारमा समेत मिलेको देखिएन ।
६. लिखतमा रहेका साक्षीले समेत अदालतमा आई बकपत्र गर्दा सो लिखत आफूहरूको रोहवरमा भएको भनी लेखाई दिएको देखिन्छ । झूठा र बनावटी कुरा व्यक्त गरी सजायको भागीदार हुन सक्ने सम्भावित अवस्थामा लिखतका साक्षीहरूले सजायको खतरा मोली अर्काको पक्षमा झूठा कुरा बक्नुपर्ने कुनै कारण देखिदैन । विषेशज्ञ केशवबहादुर थापाको रायले समेत लिखतका साक्षीले झूठा कुरा बकी वादीको पक्षमा प्रमाण स्थापित गरिदिएको भन्ने पनि देखिन आएन । लिखतको प्रकृतिलाई नाङ्गो आँखाले हेर्दा समेत साक्षी, कारणी लिखतको साईज लेखाई आदि स्वाभाविक भै सद्दे जस्तो नै देखिएको र सो पुष्टि हुने गरी विशेषज्ञको राय समेत प्राप्त भएको अवस्थामा लिखतको विश्वसनीयता माथि प्रश्न उठाउने ठाउँ देखिदैन । स्वाभाविक र सद्दे रुपमा रहेको पुष्टि भएको लिखतलाई कीर्ते जालसाजी भनी निर्णय निष्कर्षमा पुगेको पुनरावेदन अदालतको फैसला उक्त आधारमा समेत मिलेको देखिन आएन ।
७. तसर्थ, लिखतको रेखा बहावको सम्बन्धमा विशेषज्ञले दिएको राय भन्दा फरक रुपमा स्वयं विशेषज्ञ सरह लिखतको रेखा वहावको विश्लेषण गरी वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत, बुटवलको मिति २०६०।४।३२ को फैसला मिलेको नदेखिंदा उल्टी भै शुरु कपिलवस्तु जिल्ला अदालतले दावीअनुसार सावाँव्याज समेत भराई लिन पाउने ठहर गरी भएको मिति २०५७।१।२० को फैसला सदर हुने र वादीले प्रतिवादीबाट कानूनबमोजिम १० वर्ष सम्मको १० प्रतिशतले साँवा र व्याज भरी पाउने ठहर्छ । अरु तपसीलबमोजिम गर्नू ।
तपसील
८. माथि इन्साफ खण्डमा लेखिएबमोजिम बादी दावी पुग्न नसक्ने ठहर गरेको पुनरावेदन अदालत बुटवलको मिति २०६०।४।३२ को फैसला उल्टी भै दावीबमोजिम लिखतअनुसारको सावा व्याज समेत वादीले प्रतिवादीबाट भराई पाउने ठहराएको शुरु कपिलवस्तु जिल्ला अदालतको मिति २०५७।१।२० को फैसला सदर हुने ठहरेकाले पुनरावेदन अदालत बुटवलको तपसील खण्ड कायम नरहने जानकारी शुरु कपिलवस्तु जिल्ला अदालतमा लेखि पठाइदिनू .१
प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार बुझाई दिनू —— २
उक्त रायमा म सहमत छु ।
न्या.राजेन्द्रप्रसाद कोइराला
इति संवत् २०६६ साल माघ २५ गते रोज ३ शुभम्
इजलास अधिकृत– चन्द्रप्रकाश तिवारी