शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४९२ - अंश नामसारी

भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १०

निर्णय नं. ८४९२ ने.का.प. २०६७ अङ्क १०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

संवत् २०६३ सालको CI०८३७, ०८३८

फैसला मितिः २०६७।८।२८।३

मुद्दाःअंश नामसारी 

      पुनरावेदक वादीः जिल्ला नवलपरासी सरावल गा.वि.स.वडा नं.३ बस्ने रामनिवास नाउ

      विरुद्ध

    प्रत्यर्थी प्रतिवादीः जिल्ला नवलपरासी मनरी गा.वि.स वडा नं. २ बस्ने गुलावीदेवी नाउ समेत

 

      पुनरावेदक प्रतिवादीः ऐ.ऐ. बस्ने गुलावीदेवी नाउ

विरुद्ध

      प्रत्यर्थी वादीः जि. नवलपरासी सरावल न.पा.वडा नं. ३ बस्ने रामनिवास नाउ

शुरु तहमा फैसला गर्नेः

मा.जि.न्या.श्री तेजबहादुर के.सी

पुनरावेदन तहमा फैसला गर्नेः

मा.न्या.श्री पुरुषोत्तम पराजुली

मा.न्या.श्री हरिबाबु भट्टराई

 

§  अलगअलग ठाउँमा व्यवसाय गरी बसेको भन्दैमा स्वतः मानो छुट्टिएको मान्न मिल्दैन । अर्को स्थानमा बसी व्यबसाय गरे पनि अन्य कुनै परिवार सदस्य रहेको ठाउँमा सम्पत्ति जोर्न निजको योगदान नै नरहेको स्पष्ट रूपमा प्रमाणबाट नदेखिएसम्म जो जहाँ छ त्यो उसैको आर्जन मान्न नसकिने 

§  विभिन्न ठाउँमा बसोवास गर्ने क्रममा अंशियारमध्येका जुनसुकै व्यक्तिको नाममा सगोलको सम्पत्ति रहेको हुन सक्छ । अन्यथा प्रमाणित नभएसम्म वा कानूनबमोजिम निजी आर्जन ठहर्ने बाहेक एकाघर अंशियारमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने 

(प्रकरण नं.४)

§  व्यक्तिको अंशहक जस्तो विषयमा केवल अनुमानको आधारमा अंश नपाउने भनी ठहर गर्न न्याय र कानूनको रोहमा नमिल्ने ।

(प्रकरण नं.५)

§  एकाघर सगोलको एउटा अंशियारले अर्को अंशियारलाई सगोलको सम्पत्ति बकस गरिदिदैँमा निजी आर्जन मान्न नमिल्ने 

(प्रकरण नं.६)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता डिल्लीराम भण्डारी

पुनरावेदक वादीतर्फबाटः विद्वान अधिवक्ता रामबन्धु शर्मा

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  अंशबण्डाको १८ नं.

फैसला

न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेश हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

मूल पुरुष बाजे स्व.बुद्धु नाउको दुई छोरामा जेठो तीरथ नाउ र कान्छा जगलाल रहेकोमा जेठोबुबा तीरथ नाउ र निजकी श्रीमती आमा भगौती नाउको पहिले नै मृत्यु भै सकेको छ । पिता तीरथ नाउको हक खाने छोराहरू चार रहेकोमा जेठो छोरा म रामनिवास नाउ, माहिलो स्व.महेन्द्र नाउ, साइला प्रतिवादी सुदामा नाउ र कान्छा प्रतिवादी शिवनाथ नाउ रहेका छन् । महेन्द्र नाउको मृत्यु भैसकेकोले निजको हक खाने निजकी श्रीमती प्रतिवादी गुलावीदेवी नाउ, स्व.महेन्द्रको छोरा प्रेम नाउ र निज प्रेम नाउको श्रीमती प्रतिवादी अन्जनीदेवी नाउ छन् । बाजेको अंश हक खाने मेरो पिता तीरथ नाउ र जगलाल नाउ रहेकोमा पिता तीरथ नाउको मृत्यु भैसकेकोले निजको हक अंश खाने वादी प्रतिवादी गरी जम्मा चार जना छौँ । यसरी सगोलमा रहँदा विपक्षीहरूले आफ्नो मनोमानी गर्दै आएकाले र पारिवारिक संख्या बढेको हुँदा घर व्यवहार चलाउन अप्ठ्यारो परेको हुनाले विपक्षीहरूसँग पटकपटक मेरो अंश भाग माग गर्दा अंश दिन इन्कार गरेकाले अन्यायमा परी म्यादभित्रै फिराद दिन अएको छु । तसर्थ सवूदप्रमाण बुझी अंशबण्डाको महलको २०,२१,२२ र २३ नं. बमोजिम विपक्षीहरू समेतबाट चल अचल श्री सम्पत्तिको तायदाती फाँटवारी लिई तायदातीमा उल्लिखित भएको सम्पत्तिलाई २ भाग लगाई १ भाग काका जगलाल नाउको र १ भागलाई ४ भाग लगाई ३ भाग विपक्षीहरूको पर सारी १ अंश भाग मलाई दिलाइपाऊँ भन्ने समेत व्यहोराको फिराद दावी 

सहप्रतिवादी जगलाल नाउको मिति २०६०।५।४ मा आफ्नो कालगतिले परलोक भै सकेको हुँदा निजको छोरा, छोरी, श्रीमती कोही नभएकोले प्रतिउत्तर लगाउने कुरै आउँदैन । अन्य सहप्रतिवादीहरूले आफ्नो प्रतिउत्तरपत्र छुट्टै दिने नै छन् । विपक्षी वादी मेरो विवाह हुनु पूर्व नै ससुरा महेन्द्र नाउको जीवनकालमा नै छुट्टी भिन्न भै सरावल गा.वि.स.अन्तर्गत गै बस्नु भएको छ । निज विपक्षी वादी सगोलमा रहँदा बस्दा पैतृक सम्पत्ति केही नभएकोले र हाल म प्रतिवादीका नाउँमा रहेको सम्पत्ति मेरो दाइजो पेवाको सम्पत्तिबाट लिलाममा सकार गरी लिएको जग्गा दर्ता रहेको छ । सो जग्गा मैले बकसपत्रबाट प्राप्त गरेको हुँ । सो बकसपत्रबाट पाएको सम्पत्ति सगोलमा रहेको अंशियारहरूले अंश पाउनु पर्ने होइन । मबाट विपक्षी वादीले ३० बर्ष अगाडि छुट्टी भिन्न भैसकेको हुनाले अंश पाउनुपर्ने भन्ने वादीको फिराद दावी झूठ्ठा हो । तसर्थ उपरोक्त लेखिएको आधार प्रमाणहरू समेतबाट निज विपक्षी वादीले मबाट र अन्य प्रतिवादीहरू समेतबाट अंश पाउनुपर्ने अवस्था नभएकोले विपक्षीको फिराद दावी झूठ्ठा हुँदा अलग फुर्सद दिलाइपाऊँ भन्ने प्रतिवादी अन्जनीदेवी नाउको प्रतिउत्तर जिकीर 

विपक्षी वादीले देखाएको नाता पुस्तावली ठीक छ, अरु फिराद दावी झूठ्ठा हो । हामीहरूको साविकमा पैतृक सम्पत्ति केही पनि थिएन । हामीहरूले पुर्खौली पेशा कपाल बनाउने कार्य गर्दै आएका थियौं । सोहीबाट जीविकोपार्जन भै रहेको थियो । हाम्रो पति पिता महेन्द्र नाउ जीवित रहेको अवस्थामा २०३२ सालमा नै निज पिता पतिको मञ्जूरी सहमति भएअनुसार विपक्षी वादी छुट्टी भिन्न भै जिल्ला नवलपरासी सरावल गा.वि.स.मा बस्दै आउनु भएको छ । पैतृक सम्पत्ति सो अवस्थामा नभएको हुँदा सम्पत्ति लिनु दिनु गर्नुपर्ने अवस्था नै आउँदैन । कागज नगरी छुट्टी भिन्न भै बसेका हौँ । सहप्रतिवादी अन्जनीदेवी नाउको नाममा हाल दर्ता रहेको सम्पत्ति पुर्खौली पैतृक सम्पत्ति नहुँदा विपक्षीको अंश हक लाग्ने होइन । विपक्षी वादी छुट्टी भिन्न भएपश्चात् दान पेवा समेतको रकमबाट लिलाममा सकार गरी लिएको निजी आर्जनको सम्पत्ति हुँदा विपक्षी वादी र अन्य प्रतिवादीहरू समेतको अंश हक लाग्ने जग्गा होइन । विपक्षी वादीले हामीहरूबाट अंश पाउनु पर्ने अवस्था नभएको हुँदा विपक्षी वादीको झुठ्ठा फिराद दावीबाट अलग फुर्सद दिलाइपाऊँ भन्ने समेत व्यहोराको प्र.गुलावीदेवी नाउ र प्रेम नाउको संयुक्त प्रतिउत्तर जिकीर 

प्रतिवादीमध्येका जगलाल नाउ,सुदामा नाउ र शिवनाथ नाउले निजहरूका नाउँमा जारी भएको ३० (तीस) दिने इतलायनामा म्याद तामेल भएकोमा कानूनको म्यादभित्र प्रतिउत्तरपत्र नफिराई शुरु म्यादै गुजारी बसेका रहेछन् 

वादीका साक्षी सुकई चौधरीले वादी दावीलाई समर्थन हुने गरी गरेको वकपत्र र प्रतिवादीका साक्षी रामु चौधरीले प्रतिउत्तर जिकीरलाई समर्थन हुने गरी गरेको वकपत्र मिसिल संलग्न रहेछ 

वादी प्रतिवादीबीच अंशियार नाता भएका र रीतपूर्वक बण्डापत्र नभएको एवं पैतृक सम्पत्ति नभए पनि सगोलमा बस्दै आएको अवस्था विद्यमान रहेछ । व्यवहार मिलाउन र अंशबण्डा गर्न भन्दा नमानी जानेको सकेको गर भन्ने प्रतिवादीको हाँक जवाफले प्रस्तुत फिराद गरेको र सो कुरा वादीका साक्षीको वकपत्रद्वारा पुष्टि भएबाट वादीले अंश पाउने आधार स्थापित हुन आएको हुँदा वादीले प्रतिवादीबाट अंश पाउने ठहर्छ । अब कुन कुन सम्पत्तिबाट के कति पाउने भन्ने सन्दर्भमा गुलावीदेवीको नाममा रहेको दर्ता जग्गा बुहारी अन्जनीदेवी नाउलाई बकसपत्र गरिदिएको र सो निजी आर्जनको हो भनेको  पाइन्छ । सो सम्पत्तिको स्रोत हेर्दा प्रतिवादीमध्येका दाजु भाई र गुलावीदेवी नाउ समेत साथ सगोलमा रहँदा आर्जित भएको र सोमा वादीको समेत परिश्रम र आर्जन समावेश भएको देखिँदा सगोलको सम्पत्ति भएकाले निजी आर्जन नठहर्ने हुँदा दे.नं. ८८३ को अंश मुद्दामा प्रतिवादीबाट वादीले तायदातीमा पेश भएको सम्पत्तिबाट ४ भागको ३ भाग पर सारी १ भाग अंश पाउने ठहर्छ भन्ने शुरु नवलपरासी जिल्ला अदालतको फैसला 

फिरादमा नभनेका साक्षीका भनाईको कानूनी महत्व हुँदैन । सहप्रतिवादी पहिले नै छुट्टी भिन्न भई प्रतिउत्तर नलगाएको भन्नेतर्फ शुरु जिल्ला अदालतको ध्यान नपुगी निजी सम्पत्ति बण्डा गरी दिने फैसला हुनुकासाथै वादी २०३२ सालतिरै पैतृक सम्पत्ति केही नहुँदा आफ्नो नाउको पेशा गरिखाने गरी भिन्न भएका सहप्रतिवादी सुदामा र शिवनाथ समेत छुट्टी भिन्न भै हाल मुद्दा पर्दाको अवस्थासम्म पनि प्रतिवाद नै नगरी भारतमा बसेका विपक्षी अलगै बसेका भनी विपक्षीका साक्षीले लेखाएको देखिन्छ । हाम्रो पति तथा पिताले लेनदेन मुद्दामा लिलाम गराई सो सकार गरी प्राप्त गरेको सम्पत्ति प्रतिवादीमध्येका म गुलावी समेतका नाउमा संयुक्त नामसारी भै अन्जनीदेवीका नाउमा हालैको बकसपत्र भई ऐनका म्यादभित्र कसैको उजूरवाजुर नपरी अन्तिम र निर्विवाद रुपमा रहेको सम्पत्ति समेत बण्डा गर्ने गरेको फैसला गलत छ । निजी आर्जनको सम्पत्ति बण्डा लाग्ने होइन । तसर्थ शुरु फैसला उल्टी गरी झूठा दावीबाट फुर्सद दिलाइपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी गुलावीदेवी नाउ समेतको पुनरावेदन पत्र 

यसमा महेन्द्र नाउले लेनदेन मुद्दामा लिलाम सकार गरिलिएको जग्गा र प्रतिवादीका नाममा दर्ता नै भई नसकेको जग्गा समेत बण्डा लाग्ने ठहराएको शुरुको फैसला फरक पर्न सक्ने देखिँदा छलफलका प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश 

गुलाबीदेवी नाउका नाममा रहेको साढे तेह्र धुर घडेरी जग्गा निजले कहाँबाट के व्यहोराले प्राप्त गरेकी हुन् दुवै थरबाट अ.वं. १३३ नं. बमोजिम कागज गराई खुलाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेशानुसारको दुवै थरबाट कागज भै मिसिल सामेल  रहेको 

अचल पैत्रिक सम्पत्ति रहे भएको भन्ने नदेखिएकोले वादी प्रतिवादीहरू छुट्टी भिन्न हुँदा बण्डापत्र वा मानु छुट्टिएको लिखत पारित गरिरहनु पर्ने अवस्था समेत नदेखिँदा केवल पारित लिखतको अभाव रहेको भन्नेसम्मकै आधारमा वादी प्रतिवादीहरू सगोलमा रहेको भनी अनुमान गर्न मिल्ने देखिँदैन । कानूनबमोजिम अलग नभए पनि वादी प्रतिवादीहरू २०३५/०३६ सालदेखि अलगअलग बसी आएको देखिँदा पैत्रिक अचल सम्पत्ति नै नभएको अवस्थामा कानूनबमोजिम छुट्टिएको लिखत खडा गर्नुपर्ने अवस्था नभएकोले वादी प्रतिवादीहरू विधिवत अंशबण्डा गरी अलग नभए पनि छुट्टा छुट्टै बसी व्यवहार चलाई आएका रहेछन् भन्ने देखिन आयो । यस स्थितिमा कि.नं. १३३ र १४३ को जग्गा पुनरावेदकहरूको पति पिता महेन्द्र नाउले वादी समेतबाट मानु छुट्याई अलग बसेपछि लिलाम सकार गरी लिएको भन्ने देखिएको र कि.नं. १७० को जग्गा पनि मानु अलग भै सकेपछि गुलावीदेवीले लिई बुहारी अन्जनीदेवीलाई बकसपत्र गरिदिएको भन्ने देखिँदा उक्त जग्गाहरू पुनरावेदक प्रतिवादीहरूको निजी आर्जनको भन्ने देखिन आउँछ । तायदातीमा उल्लिखित ज.वि. ०१३¼ धुर घडेरी जग्गाको हकमा सो जग्गा प्रत्यर्थी वादी मानु छुट्टिई अलग भै सकेपछि मात्र पुनरावेदकहरूको भोगचलनमा आएको भन्ने कुराको कुनै तथ्ययुक्त प्रमाण पुनरावेदकहरूले पेश गर्न सकेको नदेखिँदा उक्त जग्गा पुनरावेदकहरूका नाउँमा दर्ता हुन सकेको खण्डमा त्यस्तो सम्पत्तिबाट प्रत्यर्थी वादीले समेत अंश पाउने नै देखिँदा सो घर घडेरी जग्गा समेत बण्डा नलाग्ने भन्ने तर्फको पुनरावेदन जिकीर मुनासिब देखिन आएन । प्रस्तुत मुद्दामा कि.नं. १३३, १४३ र १७० को जग्गाबाट समेत वादीले अंश पाउने ठहराई गरेको शुरु नवलपरासी जिल्ला अदालतको मिति २०६२।२।३० को फैसला केही उल्टी भै प्रत्यर्थी वादीले उक्त तीन कित्ता जग्गाबाट अंश नपाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको मिति २०६३।६।२५ को फैसला 

वादी रामनिवास नाउले कि.नं. १३३, १४३ र १७० पुनरावेदन अदालतले बण्डा नगरी दिएकोमा चित्त नबुझाई गरेको पुनरावेदनमा महेन्द्र नाउले लिलाम सकार गरिलिएको सम्पत्ति कुन स्रोतबाट निजी रुपमा आर्जन गरिएको हो, प्रमाणबाट स्पष्ट हुन सकेको छैन । वादी प्रतिवादी छुट्टी भिन्न भएको नभई घर व्यवहार पेशा चलाउन अन्यत्र गई बसेको हो । एकासगोलमा अंशियारले आर्जन गरेको सम्पत्ति जसको नाममा भए पनि सगोलको मान्नु पर्ने प्रमाण ऐन, २०३१ को दफा ६क लगायत यस अदालतबाट विभिन्न मुद्दामा व्याख्या भई सिद्धान्त समेत प्रतिपादन भएको छ । विपक्षीहरूको हकभोगमा रहेको ०१३¼ जग्गाबाट अंश पाउने, तर सगोलका अंशियारहरूले आर्जन गरेको धन सम्पत्तिबाट आर्जन गरेको जग्गा निजी आर्जन ठहर भई अंश नपाउने गरी गरिएको फैसला आफैँमा विरोधाभाषपूर्ण छ । हामी वादी प्रतिवादीहरू सगोलमा रही पुर्खौली नाउपेशा गरी सगोलका अंशियारहरूले आर्जन गरेको सम्पत्ति कि.नं. १३३ र १४३ जग्गा निजी आर्जन भनी बण्डा नलाग्ने गरी भएको ठहर फैसला मिलेको छैन । कि.नं. १३३, १४३ र १७० को जग्गाहरू बण्डा नगर्ने गरी भएको पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोरा उल्लेख भएको 

हामी पुनरावेदकहरूको एकलौटी हकभोगमा रहेको ०१३¼ जग्गा विपक्षी वादी मानो अलग भैसकेपछि हामीहरूले बसोवासको लागि गा.वि.स.बाट प्राप्त गरेको र हामीहरूको नाउँमा नामसारी समेत केही नभएको कच्चा प्रकृतिको जग्गा हो । अतः पुनरावेदन अदालत बुटवलबाट हाम्रो नाउँमा दर्ता नभएको तायदातीमा देखाइएको उक्त ०१३¼ जग्गालाई शर्तको आधारमा विपक्षीले पनि पाउने भनी गरेको फैसला तर्कसंगत र कानूनी नहुँदा फैसलाको उक्त आधारसम्म उल्टी गरी पुनरावेदकको नाममा दर्ता समेत नभएको जग्गा बण्डा लाग्न सक्ने गरी भएको फैसला केही उल्टी गरी इन्साफ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू गुलावीदेवी नाउ, प्रेम नाउ र अन्जनीदेवी नाउको संयुक्त पुनरावेदन पत्र 

यसमा दुवै पक्षको पुनरावेदन परेको अवस्था हुँदा अ.व.२०२ नं. को प्रयोजनको लागि दूवै पक्षलाई एक अर्काको पुनरावेदन एकापसमा सुनाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६६।४।२८ को आदेश 

नियमबमोजिम दैनिक पेसी सूचीमा समावेश भई पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरू तर्फबाट उपस्थित विद्वान अधिवक्ता डिल्लीराम भण्डारीले वादी प्रतिवादीको कुनै पैत्रिक सम्पत्ति नभएकोले वादी रामनिवास नाउ २०३२ सालमा छुट्टी भिन्न भई अन्यत्र गई बसेको अवस्था हो । कि.नं. १३३, १४३ र १७० को जग्गा वादी छुट्टी भई सकेपछि आर्जन गरेको सम्पत्ति हो । वादी प्रतिवादीको कुनै सगोलको पैत्रिक सम्पत्ति नभएको अवस्थामा मानु छुट्टी रहनु नपर्ने भन्ने यस अदालतबाट विभिन्न मुद्दामा व्याख्या समेत भई सकेको अवस्था छ । वादी प्रतिवादीहरू पहिलै मानो छुट्टिई अलग भएको तथ्यलाई स्वीकार गरेपछि दर्ता नै नभएको ०१३¼ जग्गा बण्डा गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो 

पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता रामबन्धु शर्माले वादी प्रतिवादीहरूको नाता सम्वन्ध र अंशियार रहेको तथ्यमा विवाद छैन । वादी २०३२ सालमा छुट्टी भएको भन्ने प्रतिवादीहरूको जिकीर छ, तर छुट्टी भिन्न भएको कुनै प्रमाण पेश गर्न सकेको छैन । पेशा व्यवसाय चलाउन जुन ठाउँमा बसेको भए पनि वा सगोलका अंशियारमध्ये जो सुकैको नाममा भए पनि अन्यथा प्रमाणित नभएसम्म सगोलको सम्पत्ति मान्नु पर्ने हुन्छ । प्रतिवादीहरूले कि.नं. १३३, १४३ र १७० को जग्गाको निजी आर्जनको स्रोत देखाउन सकेको पाइँदैन । वादी दावी पुग्न नसक्ने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी वादी दावीअनुसार अंश नामसारी हुनुपर्छ भनी बहस गर्नुभयो 

पक्ष विपक्षबाट उपस्थित विद्वान अधिवक्ताहरूले गर्नु भएको बहस समेत सुनी पेश भएको मिसिल कागजात अध्ययन गरी इन्साफतर्फ विचार गर्दा यसमा पुनरावेदन अदालत बुटवलले शुरु इन्साफ केही उल्टी गरी प्रतिवादी अन्जनीदेवी नाउको कि.नं. १३३, १४३ र १७० को जग्गा बण्डा गर्नु नपर्ने एवं तायदातीमा उल्लिखित ०१३¼ बेदर्ता जग्गा दर्ता हुन सकेको खण्डमा वादीले समेत अंश पाउने गरी भएको इन्साफ मिलेको छ छैन र पुनरावेदक वादी एवं प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो 

२. निर्णयतर्फ विचार गर्दा मूल पुरुष बाजे बुद्वु नाउका दुई छोरामा जेठो तीरथ नाउ र कान्छा जगलाल रहेकोमा जेठो बुबा तीरथ नाउ र निजकी श्रीमतीको पहिले नै मृत्यु भइसकेको हुँदा तीरथ नाउको हक खाने चार छोराहरूमध्ये जेठो म वादी रामनिवास नाउ, माहिलो स्व. महेन्द्र नाउ, साइला प्रतिवादी सुदामा नाउ र कान्छा प्रतिवादी शिवनाथ नाउ रहेका छन् । महेन्द्र नाउको मृत्यु भई निजको हक खाने श्रीमती गुलावीदेवी नाउ, छोरा प्रेम नाउ र निज प्रेम नाउको श्रीमती अन्जनीदेवी हुन । पिता तीरथ नाउको हक खाने हामी चार अंशियार भएकोले विपक्षीहरूबाट चल अचल सम्पत्तिको तायदाती फाटवारी लिई तायदातीमा उल्लिखित भएको सम्पत्तिलाई २ भाग लगाई १ भाग काका जगलालको पर सारी १ भागको ४ भाग लगाई तीन भाग विपक्षीहरूको पर सारी एक भाग मेरो अंश दिलाई पाऊँ भन्ने फिराद दावी भएको प्रस्तुत मुद्दामा सगोलबाट विपक्षी वादी २०३२ सालमा कागज नगरी छुट्टी भिन्न भै सरावल गा.वि.स. गई बस्नु भएको हो । प्रतिवादी अन्जनीदेवी नाममा रहेको सम्पत्ति पुर्खौली सम्पत्ति नभई विपक्षी छुट्टी भिन्न भएपश्चात् दान पेवा समेतको रकमबाट लिलाम सकार गरी लिएको निजी आर्जनको सम्पत्ति हुँदा वादी र अन्य प्रतिवादीहरू समेतको अंश हक लाग्ने जग्गा नहुँदा झूठ्ठा फिराद दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू अन्जनीदेवी समेतको प्रतिउत्तर रहेकोमा शुरु जिल्ला अदालतबाट फैसला हुँदा प्रतिवादीबाट वादीले तायदातीमा पेश भएको सम्पत्तिबाट ४ भागको १ भाग अंश पाउने ठहरी फैसला भएकोमा पुनरावेदन अदालत बुटवलबाट शुरु इन्साफ केही उल्टी भई प्रतिवादी अन्जनीदेवी नाउको कि.नं. १३३, १४३, १७० को जग्गा बण्डा गर्नु नपर्ने र ०१३¼ बेदर्ता घडेरी जग्गा दर्ता हुन सकेको खण्डमा वादीले समेत अंश पाउने ठहराई फैसला भएकोमा वादी रामनिवास नाउ तथा प्रतिवादीहरूरू गुलावीदेवी समेतको दोहोरो पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको रहेछ 

३. प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरूबीचको नाता सम्बन्ध र अंशियारको संख्याको सम्बन्धमा विवाद नरहेकोले सोतर्फ विचार गरी रहनु परेन । प्रतिवादी बनाइएका जगलालको कालगतिले परलोक भै सकेको निजका छोरा, छोरी श्रीमती कोही नभएको प्रतिवाद कथनबाट मूल अंशियार दुई जनामध्ये एक जना नरहे नभएको तथ्य जिल्ला अदालतले पनि स्वीकारी वादीलाई कुल सम्पत्तिबाट ४ भागको १ भाग दिलाएकोमा सो तथ्यमा फैसला अन्तिम भई बसेबाट अंश भागका हकमा पुनर्विचार गरिरहन परेन । मुख्य गरेर सगोलमा रहेकोले सम्पूर्ण सगोलको सम्पत्तिबाट अंश पाउनु पर्ने भन्ने वादीको दावी रहेको र वादी २०३२ सालमा छुट्टी भिन्न भई अन्यत्र बसोवास गरिआएको र सोपछि निजी आर्जनको रुपमा आर्जन गरिएका सम्पत्तिहरू बण्डा हुन नपर्ने भन्ने प्रतिवादीहरूको जिकीर रहेकोले सो सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो 

४. वादी २०३२ सालमा छुट्टी भिन्न भई गएकोले अंश दिनु नपर्ने भन्ने प्रतिवादी जिकीर भएकाले निज फिराद पर्नु पहिल्यै छुट्टी भिन्न भएको हो होइन भन्ने सम्बन्धमा विचार गर्दा वादी रामनिवास नाउ घरसारमा वा विधिवत बण्डापत्र राजिष्ट्रेशन पारीत गरी छुट्टी भिन्न भई गएको प्रमाणको सर्वथा अभाव छ । मानो छुट्टिएको देखिने परोक्ष आधार प्रमाण समेत प्रतिवादीबाट प्रस्तुत हुन सकेको छैन । केवल प्रतिउत्तर कथन र सोलाई पुष्टि गरिदिने एक जना साक्षीको अभिमतलाई नै मानो छुट्टिएको मान्न पर्याप्त हुँदैन । कुनै पैत्रिक सम्पत्ति नभएकोले बण्डा छुट्टिएको वा मानो छुट्टिएको लिखत आवश्यक पर्दैन भन्ने प्रतिवादीहरूको जिकीर रहेको छ । अचल पैत्रिक सम्पत्ति नभए पनि कुनै न कुनै रुपमा मानो छुट्टिई अलग भिन्न भएको र भोग विक्री व्यवहार अलग अलग भएको अन्य कुनै प्रमाण रहनु पर्नेमा त्यस्ता प्रमाण प्रतिवादीहरूले प्रस्तुत गर्न सकेको देखिएन । अलगअलग ठाउँमा व्यवसाय गरी बसेको भन्दैमा स्वतः मानो छुट्टिएको मान्न मिल्दैन । अर्को स्थानमा बसी व्यबसाय गरे पनि अन्य कुनै परिवार सदस्य रहेको ठाउँमा सम्पत्ति जोर्न निजको योगदान नै नरहेको स्पष्ट रूपमा प्रमाणबाट नदेखिएसम्म जो जहाँ छ त्यो उसैको आर्जन मान्न सकिन्न । एकाघर सगोलका अंशियारहरू पनि आफ्नो पेशा व्यवसाय चलाउन विभिन्न ठाउँमा गई बसोवास गर्नु र आर्जन गर्नु स्वाभाविक नै हुन्छ । त्यसरी विभिन्न ठाउँमा बसोवास गर्ने क्रममा अंशियारमध्येका जुनसुकै व्यक्तिको नाममा सगोलको सम्पत्ति रहेको हुन सक्छ । अन्यथा प्रमाणित नभएसम्म वा कानूनबमोजिम निजी आर्जन ठहर्ने बाहेक एकाघर अंशियारमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने हुन्छ । अन्यथा प्रमाणित गर्ने भार दावी लिनेकै हुन्छ 

५. अचल सम्पत्ति खरीद हुनपूर्व वादी रामनिवास नाउ अन्यत्र सरावल गा.वि.स मा गई बसोवास गरेको भनी प्रतिवादीहरूले लिएको जिकीरलाई मात्र आधार प्रमाण मानी निज छुट्टी भिन्न भई अंश लिई सरावल गा.वि.स गई बसेका वा सोही समयमा मानो छुट्टिई अलग भएका रहेछन् भनी अनुमान गर्न मिल्दैन । व्यक्तिको अंशहक जस्तो विषयमा केवल अनुमानको आधारमा अंश नपाउने भनी ठहर गर्न न्याय र कानूनको रोहमा मिल्ने देखिएन । शुरु जिल्ला अदालतबाट फिराद परेको अघिल्लो दिन मिति २०६०।१।१६ लाई मानो छुट्टिएको मिति कायम भएको मिलेकै देखियो 

६. अब सगोलमा रहेको तायदातीमा उल्लिखित सम्पत्ति कि.नं. १३३, १४३, १७० र ०१३ को बेदर्ता जग्गामध्ये कुन कुन सम्पत्ति बण्डा गर्न मिल्ने हो वा कुनै पनि बण्डा गर्न मिल्ने होइन भन्ने सम्बन्धमा विचार गर्दा प्रतिवादी अन्जनीदेवीको नाममा रहेको कि.नं. १३३, १४३ र १७० को जग्गाहरू पुनरावेदक प्रतिवादीहरूका पति पिता महेन्द्र नाउ, निजकी श्रीमती गुलावीदेवी नाउ र वादी राम निवास नाउ सगोलमा छँदा आर्जित भएको देखिन्छ । महेन्द्र नाउको मृत्युपछि उक्त जग्गाहरू मृतक महेन्द्रकी श्रीमती गुलाबीदेवीले बुहारी अन्जनीदेवीलाई बकस गरिदिएको देखिन्छ । निज अन्जनीदेवीले अन्यत्रबाट दाइजो पेवास्वरुप उक्त सम्पत्ति प्राप्त गरेको नभई निजको सासू ससुराको नामको सगोलको सम्पत्ति नामसारी बकसपत्र हुँदै निजको नाममा हुन आएको मिसिल संलग्न प्रमाणबाट देखिन  आउँछ । कि.नं. १३३१४३ र १७० को जग्गाहरू प्रतिवादीहरूले आफ्नो ज्ञान सीपबाट मात्र आर्जन गरेको भन्ने कुराको आधार प्रमाण मिसिलबाट देखिन आउँदैन । अर्कोतर्फ एकाघर सगोलको एउटा अंशियारले अर्को अंशियारलाई सगोलको सम्पत्ति बकस गरिदिदैँमा निजी आर्जन मान्न मिल्ने पनि हुँदैन । र, यसले सम्पत्ति परिवारभन्दा बाहिर गएको नभएबाट फरक पर्ने स्थिति पनि पर्दैन । उक्त कि.नं. १३३, १४३ र १७० को जग्गाहरू प्रतिवादीहरूको निजी आर्जनको नदेखिनुका साथै उक्त जग्गाहरू लिलाम सकार गरिलिँदा वादी महेन्द्र नाउ छुट्टी भिन्न भएको वा मानो छुट्टिई अलग बसेको नभई सगोलमा रहँदा आर्जन गरेको देखिएकोले उक्त जग्गाहरू बण्डा गर्नु नपर्ने गरी पुनरावेदन अदालत बुटवलबाट भएको इन्साफ सो हदसम्म मिलेको देखिएन 

७. तायदातीमा उल्लिखित दर्ता नभएको ०१३¼ घडेरी जग्गाको हकमा पनि प्रतिवादीहरूले आफ्नो ज्ञान सीपबाट आर्जन गरेको मुलुकी ऐन अंशबण्डाको १८ नं. अनुसार निजी आर्जनको नदेखिँदा उक्त जग्गा दर्ता हुन आएको अवस्थामा पुनरावेदक वादीले अंश पाउने गरी भएको इन्साफ सो हदसम्म मिलेकै देखियो । उक्त जग्गा दर्ता भई नसकेका कारणले मात्र बण्डा हुन नसक्ने भनी ठहर गर्न नमिल्ने हुँदा पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर मनासिब देखिएन 

८. तसर्थ पुनरावेदक रामनिवास नाउ छुट्टी भिन्न भई आफ्नो अंश भाग लिई गएको वा मानु छुट्टिई अलग बसेको मिसिल संलग्न आधार प्रमाण एवं विवेचित कानूनी व्यवस्थाअनुसार मान्न नमिल्ने हुँदा र निजी आर्जन भनी प्रतिवादीहरूले जिकीर लिएको प्रतिवादी अन्जनीदेवी नाउको कि.नं. १३३, १४३ र १७० को जग्गाहरू मुलुकी ऐन अंशबण्डाको महलको १८ नं. अनुसार निजी आर्जनको नभई सगोलको सम्पत्ति देखिँदा उक्त जग्गाहरू बण्डा गर्नु नपर्ने गरी पुनरावेदन अदालत बुटवलबाट भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई वादी रामनिवास नाउले उक्त जग्गाबाट दावीबमोजिम चार भागको एक भाग अंश पाउने ठहर्छ । तायदातीमा उल्लिखित बेदर्ताको ०१३¼ जग्गाको हकमा उक्त जग्गा दर्ता हुन आएको अवस्थामा वादीले समेत अंश पाउने नै हुँदा उक्त जग्गाको हकमा पुनरावेदन अदालत बुटवलबाट भएको इन्साफ मिलेकै हुँदा परिवर्तन गरिरहनु परेन । उक्त जग्गाको हकमा बण्डा हुनु नपर्ने भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरु तपसीलबमोजिम गर्नू 

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएअनुसार पुनरावेदन अदालत बुटवलको फैसला केही उल्टी भई प्रतिवादी अन्जनीदेवी नाउको नाममा रहेको कि.नं. १३३, १४३ र १७० को जग्गाबाट वादी रामनिवास नाउले चार भागको एक भाग अंश पाउने ठहरेकोले वादीले मुलुकी ऐन दण्ड सजायको महलको ४६ नं. को म्यादभित्र अंश भाग छुट्याइपाऊँ भनी दरखास्त दिए कानून बमोजिम लाग्ने दस्तूर लिई अंश छुट्याई दिनू भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनू १

माथि इन्साफ खण्डमा लेखिएअनुसार दर्ता नभएको ०१३¼ घडेरी जग्गाको हकमा पुनरावेदन अदालतबाट भएको इन्साफ सदर हुने ठहरेकोले उक्त जग्गा दर्ता हुन सकेको खण्डमा वादीले चार भागको एक भाग अंश पाउने हुँदा हाल केही गरी रहन परेन ––

माथि इन्साफ खण्डमा लेखिएअनुसार पुनरावेदन अदालत बुटवलको इन्साफ केही उल्टी हुने ठहरेकोले पुनरावेदन अदालत वुटवलको मिति २०६३।६।२५ को फैसला एवं नवलपरासी जिल्ला अदालतको मिति २०६२।२।३० को फैसलाको तपसील खण्डमा कोर्र्टफी सम्बन्धमा राखेको लगत कट्टा गरी पुनरावेदक वादीको दावी यस अदालतबाट ठहर भएको हदसम्म शुरु जिल्ला अदालत तथा पुनरावेदन अदालतमा वादीले राखेको कोर्टफी फिर्ता पाउने हुँदा निजले शुरू अदालतमा राखेको कोर्टफी रु.६०१/२५ र अन्य दस्तूर रू.७०।समेत ७७१/२५ र यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालतमा राखेको कोर्टफी रू.११५/६८ एवं प्रतिवादीहरूलाई बुझाउन भनी राखेको धरौटी कोर्टफी रू.८६।मध्ये वादी एवं प्रतिवादीहरूले पुनरावेदन अदालतमा राखेको धरौटी कोर्टफीबाट दिलाई भराई पाऊँ भनी वादीको दरखास्त परे वादीलाई कानूनबमोजिम फिर्ता दिलाई दिनू । नपुग रू.११५/६८ प्रतिवादीहरूबाटै दिलाई भराइपाऊँ भनी वादीको दरखास्त परे कानूनबमोजिम भराई दिनु भनी शुरू जिल्ला अदालतमा लेखी पठाई दिनू ––––

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ... ४

 

उक्त रायमा म सहमत छु 

 

न्या.तर्कराज भटृ

 

इति संवत् २०६७ साल मंसिर २८ गते रोज ३ शुभम्

 

इजलास अधिकृतः कमलप्रसाद पोखरेल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु