शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४७७ - हक कायम समेत

भाग: ३० साल: २०४५ महिना: असोज अंक:

निर्णय नं. ३४७७ ने.का.प. २०४५        अङ्क ६

 

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४४ सालको दे.पु.नं.७४

फैसला भएको मिति : २०४४।५।२।५ मा

 

निवेदक प्रतिवादी : भ.पु.न.पं.वार्ड नं. ७ बस्ने ज्ञानलाल गोसाई

विरुद्ध

विपक्षी वादी : भ.पु.न.पं.वडा नं.७ बस्ने मदुसुदन राजोपाध्यायसमेत

 

मुद्दा : हक कायम समेत

 

(१)                  कबूलियतउपर उजूर गरी बदर गराएको समेत नदेखिनाले मुलुकी ऐन अदालती बन्दोबस्तको ७८ नं.बमोजिम सुनाउनै नपर्ने कागज सुनाई भएको कारवाहीलाई मान्यता दिई विशेषज्ञलाई अदालतमा उपस्थित गराई परीक्षण गर्न पर्ने भन्ने जिकिरसंग सहमत हुन नसकिने ।

(प्रकरण नं. १९)

 

निवेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग

विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह :     यस अदालत डिभिजन बेञ्चबाट मिति २०४२।२।३१ मा भएको फैसला दोहोर्‍याई पाउँ भनी निवेदकले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारमा विन्तिपत्र चढाउनु भएकोमा यसमा बेहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको बिन्तिपत्रमा लेखिएको हक कायम समेत भन्ने समेत मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम बक्स भई आएबमोजिम यस अदालतको फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.     भ.पु.न.पं.वडा नं.७ गोलमढीको पूर्व हर्षबहादुर नाइके भएको गुठीको गुसिपको किलाश, पश्चिम ऐ.का गौरीनारायण मास्के नाइके भएको गुठीको गुसिपको उत्तर बाटो र दक्षिण ऐ.का श्रीभक्तको बगैंचा यति चारकिल्लाभित्रको दुई कवल १ नाले २ तले पराले छानाको भ.पु. ढोका बाहिरका दुईवटा पोखरीमा राज भएको श्रीभिमसेनमा बली पूजा गर्नु पर्ने मुर्दा गुठीको गुसिपको घर हामीहरुको गुठीको हकभोग चलनको हो । उल्लिखित गुठीको गुसिपकोमा गुर्सी दाउरा राख्ने छिंडीको ठाउँ छाडी अरु बाँकी घर तल्ला भाग साल एकको वहाल रु.४।लिने गरी विपक्षीलाई बस्न दिई भत्के बिग्रेमा र सालको एकपटक पराले छानो लगाउने समेत गरी विपक्षीले मिति २०१४।९।१६ मा बहाल कबूलियत गरी बसी आएको हो । सो घर भत्काई बनाउन भ.पु.न.पं.मा दर्खास्त गर्दा उक्त नक्शा दर्खास्त बदर गरिपाउँ भन्ने विपक्षीको उजूरीमा नक्शा बमोजिम घर बनाउन पाउने गरी मिति २०३२।२।२७ मा भ.पु.  न.पं.का प्रधान अधिकृतको पर्चा भई मिति २०३२।१२।४ मा न.पं.सभाबाट सदर भएको । सो पर्चाउपर विपक्षीको सर्वोच्च अदालतमा रिट निवेदन परेको र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट हक बेहकको प्रश्न उपस्थित भएकोमा निर्णय गर्ने अधिकार नगर पञ्चायतलाई नभएकोले न.पं.को निर्णय बदर हुने ठहर्‍याई मिति २०३३।११।९ मा आदेश फैसला भएको मितिमै विपक्षीले आफ्नो भनी खिचोला समेत गरेकोले ऐनका म्यादभित्र फिराद गर्न आएका छौं । विपक्षीले आफ्नो भनी दावी लिएको गुसिपको घरमा हामीहरुको गुठीको हक कायम गरिपाउँ भन्ने समेत २०३३।१२।१२ को फिराद दावी ।

३.     वादी दावीको घर गुसिपको होइन सो घर सोबासी परापूर्वदेखि भोगचलन गरी बसी आएको घर हो वादीहरुको गुसिपको घर भए त्यसकुराको प्रमाण हुनु पर्ने पेश गर्नु पर्ने सो गर्नसकेको छैन । विपक्षीहरुको मागअनुसार धर्म विचारले सो घरको पूर्व तर्फको छोडी कवलामा वादीहरुलाई गुसिप राख्न सम्म दिएको थियो त्यही नाताले विपक्षीहरुले जम्मै घर आफ्नो बनाउन षडयन्त्र गरेको मात्र हुन् वास्तवमा घरमै रहेको वादीहरुले भ.पु.न.पं.मा दर्खास्त गर्दा उल्लेख नगरेका हाल नालिश गर्दा कबूलियतको प्रमाण दिएको देखियो सो कबूलियत देख्न पाए नामाकरण गर्ने छु झुठ्ठा फेराद दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर रहेछ ।

४.     पूर्वतर्फ १ कवल छीँडिसम्म विपक्षीहरुलाई कागज गरी दिएको थिएँ । निरीक्षर हुँदा साक्षी बस्ने भनी एउटा व्यहोरा गरी अर्को व्यहोरा लेखी मलाई झुक्याई सहिछाप गराएको रहेछ स्वास्नी साक्षी बसेकी थिइन बुझीपाउँ, १९९६ सालमा घरदर हुँदा उक्त घर मेरो बाबु संग्रामको भनी दर्ता प्रमाण छ भन्ने समेत प्र.ज्ञानलालको बयान रहेछ ।

५.     घरदर हुँदा घरधनीमा हामीलाई थाहा नदिई प्रतिवादीको बाबुले आफ्नो नाममा लेखाएको हो झुक्याई सही गराएको छैन निजको स्वास्नीलाई साक्षी समेत राखेको हो झुठ्ठा बयान गरेमा विपक्षीलाई सजायँ समेत गरिपाउँ भन्ने वादी जगतनन्दको बयान रहेछ ।

६.     वादी दावीको घर गुठीयारसंग आई कबूलियतमा लेखिएबमोजिम बहाल बुझाउँछु कबूलियत गरिदिन्छु लेखाई राख्नु होस भनी म समेतका रोहवरमा प्रतिवादीले भनेकोले लेखी दिएको छु भन्ने समेत व्यहोराको लेखत साक्षी बिनबहादुरको बयान रहेछ ।

७.     वादीबाट पेश भएको २०१४।९।१६ को कबूलियत देखें सो लिखतको अन्तरसाक्षीमा लागेको ल्याप्चे सहीछाप मेरो होइन कीर्ते हो जाँच गराइपाउँ भन्ने श्रीमायाँको बयान रहेछ ।

८.     घरको दावी हुँदा कबूलियतमा रहने साक्षीको सहीछाप सद्दे कीर्तेतर्फ विचार गरिरहन परेन । प्रतिवादीले पेश गरेको घरदरको लगत हेर्दा संग्राम भन्ने फेरादीको बाबु भन्ने मिसिलबाट खुल्छ । सो घरको छिँडिमा फेरादीहरुलाई दाउरा राख्न कस्ले दिए भन्नेमा प्रतिवादी सावितै हुनुहुन्छ । घरदरको लगत बाहेक अरु प्रमाण प्रतिवादीबाट नआई कबूलियततर्फ झुक्याई सही गराए भन्ने उल्लेख गरेको झुक्याई तर्फको कुनै परिभाषा प्रतिवादीले खुलाउन नसकेकोले समेतबाट एकलौटी हक भनी प्रतिवादीले झुठ्ठा जिकिर लिएको ठहर्छ भन्ने शुरु जि.अ.को ०३४।८।२० को फैसला रहेछ ।

९.     उक्त फैसलामा चित्त बुझेन भन्ने प्र.ज्ञानलाल गोसाईको बा.अं.अदालतमा परेको पुनरावेदन ।

१०.     साझा गुठीघरलाई एकलौटी घर हो भनी प्रतिवादी जिकिर झुठ्ठा ठहराई छिनेको शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने बा.अं.अदालतको ०३७।१२।३ को फैसला रहेछ ।

११.     बा.अं. को फैसलामा कानुनी त्रुटी हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको निवेदनमा अनुमति दिएको छ भन्ने म.क्षे.अ.को ०३९।२।२०।५  को आदेश रहेछ ।

१२.    प्रतिवादीको विवादीत घरमा कानुनी स्वामित्व रहेको भन्न सकिने स्थिति नहुँदा विवादको घर वादीहरुको गुठीको घर ठहर गरेको बा.अं.अ.को फैसलामा कुनै पनि त्रुटी नदेखिएकोले इन्साफ बागमती अञ्चल अदालतको मनासिब ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत म.क्षे.अ.को ०४०।५।२९।४ को फैसला रहेछ ।

१३.    मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कानुनी त्रुटी हुँदा पुनरावेदनको अनुमतिपाउँ भनी प्रतिवादी ज्ञानलाल गोसाईको यस अदालतमा पर्न आएको निवेदनमा प्रमाण ऐन, ०३१ को दफा २३(७) बमोजिम विशेषज्ञलाई अदालतमा बकपत्र नगराई निजको रायलाई प्रमाण लगाई गरेको उक्त निर्णयमा उक्त ऐनको त्रुटी भएको र त्यस्तो त्रुटी सार्वजनिक महत्वको समेत हुँदा न्या.प्र.सु.ऐन, ०३१ को दफा १३ को (५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको ०४०।१२।९।५ को आदेश रहेछ ।

१४.    प्रतिवादी ज्ञानलालले पेश गरेको १९९६ सालको लगत उतार हेर्दा सो लगत घरसंख्याको लगत भनी विवरणमा घरको धनी वा घरमा बस्नेको नाम जात उल्लेख भई संग्राम गोसाईको गुठी भनी जनिएको र घरसंख्याको लगतमा घरमा बस्ने वा घरधनीको नामबाट समेत तथ्यांक लगत लिएको र सो तथ्यांक लगतलाई वादीहरुबाट पेश भएको ०१४।९।१६।२ को कबूलियतमा लागेको कारणीको ल्याप्चे मेरो होइन भन्ने नभनी झुक्याई ल्याप्चे लगाएको भन्ने प्रतिवादीको भनाई भए पनि त्यसको प्रमाण प्रतिवादीले पेश गर्नसकेको अथवा झुक्याई कबूलियत गराएको भए त्यस्तोलाई ऐनको म्यादभित्र बदर गराउन नै सो गरेको मिसिल प्रमाणबाट देखिन आएन र लेखतको साक्षीले समेत प्रतिवादीले सही गरेको सद्दे लिखत हो भनी बयान गरेबाट समेत विवादीत घरमा प्रतिवादीको कानुनी स्वामित्व रहेको भन्न सकिने स्थिति नहुँदा विवादीत घर वादीहरुको गुठीको घर ठहर गरेको बागमती अञ्चल अदालतको फैसलालाई मनासिब ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कुनै कानुनी त्रुटी नहुँदा इन्साफ मध्यमाञ्चल क्षेत्रीय अदालतको मनासिब ठहर्छ । प्र.ज्ञानलाल गोसाईको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४२।२।३१ गतेको फैसला ।

१५.    डिभिजन बेञ्चबाट भएको उक्त फैसला दोहोर्‍याई पाउँ भनी निवेदक प्रतिवादीको विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारका हजूरमा विन्तिपत्र परेकोमा फुलबेञ्चबाट दोहोर्‍याई हेरी दिनु भन्ने हुकुम प्रमाङ्गी बक्स भई आएको ।

१६.     बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम यस अदालतको फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ आज यस इजलासमा पेश हुनआएको मुद्दामा निवेदक प्रतिवादीका तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्गले विपक्षीहरुले पेश गरेको मिति २०१४।९।१६ को कबूलियतमा लागेको (साक्षीमा) सहीछाप कीर्ते हो बयान गराई पाउँ भनी मेरो पक्षको श्रीमती श्रीमायाको बयान भएकोमा उक्त ल्याप्चे सहीछाप सम्बन्धमा विशेषज्ञले दिएको रायलाई प्रमाणमा लगाई फैसला भएको छ । तर उक्त विशेषज्ञको रायलाई प्रमाणमा लिनु अघि प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम विशेषज्ञ अदालतमा उपस्थित गराई बयान गराउनु पर्नेमा विशेषज्ञलाई अदालतमा नझिकाईकनै निजको रायलाई प्रमाणमा लिई गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलालाई मनासिब ठहर्‍याएको यस अदालत डिभिजनको फैसलामा प्रमाण ऐनको दफा २३(७) को त्रुटी हुनाले बदरभागी छ । अतः विशेषज्ञलाई यस सम्मानीत अदालतबाट झिकाई पाउँ भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादीहरुका  तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादीहरुको दावीको घर गुसिप गुठीको घर हो । २०१४।९।१६ मा कबूलियत गरी विपक्षी उक्त घरमा बसको प्रमाण मेरो पक्षबाट पेश भएको छ । उक्त प्रमाणसमेतको मूल्यांकन गरी शुरु अञ्चल तथा क्षेत्रीय र यस सर्वोच्च अदालत डिभिजन बेञ्चबाट समेत विवादीत घर वादीहरुको गुठीको घर कायम गरेको इन्साफ मनासिब नै भएकोले फैसलाहरु कायमै गरिपाउँ भन्ने समेत बहस गर्नु भयो ।

१७.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मिलेको छ, छैन निर्णय गर्नु परेको छ ।

१८.    निर्णयतर्फ हेर्दा यसमा हामीहरुको गुठीको हक भोग चलनको मुर्दा गुठीको गुसिपको गुसीं दाउरा राख्ने छिँडीको ठाउँ छाडी अरु बाँकी घर तल्लामा साल एकको बहाल रु.४।बुझाउने गरी मिति २०१४।९।१६ मा बहाल कबूलियत गरी विपक्षी बसी आउनु भएकोमा आफ्नो भनी निजले खिचोला गरेको हुँदा गुसिपको घरमा हामीहरुको गुठीको हक कायम गरिपाउँ भन्ने मुख्य दावी वादीहरुले लिएको पाइन्छ । वादी दावीको घर गुसिपको घर नभई परापूर्वकालदेखि भोगचलन गरी आएको सोबासी घर हो भन्ने जिकिर प्रतिवादीको भएको पाइन्छ । मिति २०१४।९।१६ को कबूलियतमा साक्षी बस्ने निवेदक प्रतिवादीका श्रीमती श्रीमायाले सो लिखतको अन्तरसाक्षीमा लागेको ल्याप्चे सहीछाप मेरो होइन कीर्ते हो जाँच गराई पाउँ भनी बयान गरेको देखिन्छ ।

१९.     यसमा पेश भएको मिति २०१४।९।१६ गतेको कबूलियतमा निवेदक ज्ञानलाल गोसाईको श्रीमती श्रीमायाको सहीछाप विशेषज्ञबाट जाँच भएको तर विशेषज्ञलाई अदालतबाट परीक्षण गर्नु बेगर प्रमाणमा लिन मिल्दैन भन्ने निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा जिकिर लिनुभएको छ । निज विद्वान कानुन व्यवसायीले लिनुभएको उक्त जिकिरतर्फ विचार गर्दा सो कबूलियत भक्तपुर नगर पञ्चायतमा परेको नक्शा पास सम्बन्धी उजूरीमा कारवाही हुँदाकै अवस्थामा पेश भई निवेदकलाई जानकारी भइसकेको कुरा मिसिल संलग्न प्रमाण मिसिलबाट देखिन्छ । वादीहरुले प्रस्तुत मुद्दामा फिराद दावी गर्दा सोही कबूलियत समेतलाई प्रमाण दिएकोमा यी निवेदकले प्रतिउत्तरपत्र दिँदा सो कबूलियत देख्न सुन्न पाएमा बयान गर्ने छु भन्ने जिकिर लिएको भए पनि सो कबूलियत बारे प्रस्तुत मुद्दा पर्नु अघि नै प्रतिवादीलाई जानकारी भइसकेकोले मुलुकी ऐन अदालती बन्दोबस्तको ७८ नं.बमोजिम सो कबूलियत सुनाई बयान गराउनै नपर्ने भक्तपुर नगर पञ्चायतबाट भएको कारवाहीमा पेश भई जानकारी पाएपछि प्रतिवादी निवेदकले ऐनका म्यादभित्र सो कबूलियतउपर कानुन बमोजिम उजूर गरी बदर गराउन सक्नुपर्नेमा सो गरेको समेत देखिँदैन । यसरी सो कबूलियतउपर उजूर गरी बदर गराएको समेत नदेखिनाले मुलुकी ऐन अदालती बन्दोबस्तको ७८ नं.बमोजिम सुनाउनै नपर्ने कागज सुनाई भएको कारवाहीलाई मान्यता दिई विशेषज्ञलाई अदालतमा उपस्थित गराई परीक्षण गर्न पर्ने भन्ने निवेदकतर्फका विद्वान कानुन व्यवसायीको जिकिरसंग सहमत हुन सकिएन ।

२०.    अब विवादको घर १९९६ सालको घरदर लगतमा निवेदकको नाममा दर्ता भइसकेको भन्ने जिकिरका हकमा विचार गर्दा मिसिलसाथ संलग्न उक्त १९९६ सालको लगतमा पनि विवादको घर एकलौटी निवेदक ज्ञानलाल गोसाईको नाममा दर्ता भएको नदेखिई घरदरको नं. ३२३ मा निवेदकको बाबु संग्रम गोसाईहरुको गुठीपक भन्ने जनिएको देखिन्छ । यसबाट पनि विवादको घर जिकिर बमोजिम निवेदनको बाबु संग्राम गोसाईको एकलौटी हकको भन्न नमिलेको समेत हुँदा विवादको घरमा वादी दावी बमोजिम वादीहरुको हक लाग्ने गुठी घर कायम गरेको संयुक्त इजलासको मिति  २०४२।२।३१ गतेको इन्साफ मनासिब ठहर्छ । कोर्टफी दाखिल भइसकेको हुनाले केही गरी रहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.पृथ्वीबहादुर सिंह,

न्या.हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४५ साल भाद्र २ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु