शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४८१ - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: असोज अंक:

निर्णय नं. ३४८१ ने.का.प. २०४५ अङ्क ६

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४४ सालको फौ.पु.नं. ६४२, ६५२

फैसला भएको मिति : २०४४।१२।३।४ मा

 

पुनरावेदक प्रतिवादी : कारागार शाखा दाङमा थुनामा रहेको शालिकराम गुप्तासमेत

विरुद्ध

विपक्षी वादी : शालिकरामको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                  आफ्नो जिवन साथीका रुपमा घरमा बसी आफ्नो सेवा गरेकी कलकलाउँदो युवतित्व अवस्थाकी अर्धाङ्गीनी श्रीमती माथि अन्य साथी समेतको सहारा लिई हात समाउन लगाई पाता कसी तेजाब हाली जिवित शरिरमा आगो सल्काई दिने जस्तो जधन्य हिंसा गर्ने व्यक्तिहरुमध्ये मुख्य अपराधीलाई ज्यानसम्बन्धीको १३ (३) अनुसार सजायँ गर्ने इन्साफ मिलेको देखिने ।

(प्रकरण नं. १६)

 

पुनरावेदकतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्याल

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सानुबाबु पोखरेल

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतका मिति २०४३।१०।२९ का फैसला उपर उल्लिखित प्रतिवादीहरुको यस अदालतमा छुट्टाछुट्टै पुनरावेदनहरु परी दर्ता भई यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।

२.     कोलादेवी गुप्तालाई मैले २०३८ साल जेष्ठमा विवाह गरी पटकपटक घरमा ल्याई हाल माईतैमा बसेकी हुँदा मिति २०४०।१।१९ गते माइतीबाट घरमा ल्याई राखेको र पछि २०४०।२।१ गते बेलुका अं.५½ बजेको समयमा रामसेठ गुप्ता र म दाङ गणेशपुर मिनाकुमारीको घरमा गई बेलुकी अं.७½ बजे दाङ तुल्सीपुर  बजारमा फर्की आई ध्वजबहादुर के.सी.को होटलमा म र मेरो साथी रामसेवल गुप्ता र तुल्सीपुर बस्ने रजिगोपाल गुप्ता समेत भई खाना खाई म मेरो बहिनीको निमन्त्रणा कार्ड लिई दाङ हेमन्तपुर बस्ने दलबहादुर बुढाथोकीको घरमा पुर्‍याउन ऐ.रात्री ९ बजेको समयमा गएको थिएँ । जाँदा मेरो साथमा रामसेठ गुप्ता राजगोपाल गुप्ता साथै दाङ पर्सेनीसम्म गयौं । एकले कार्ड पुर्‍याई फर्की आउँदा ऐ.रात्री १२ बजे पर्सेनीबाट निज रामसेठ गुप्ता समेत हामी ३ जना फर्की आई उक्त होटलवाला ध्वजबहादुरको घरमा सुत्यौं, भोलिपल्ट विहान अं.५½ बजेको समयमा मेरी दिदी पुतली गुप्ता, चन्दा गुप्ताले बोलाएको छन् भनी मलाई होटलवालाले भनेको हुँदा म त्यस ठाउँबाट दिदी भएको ठाउँमा आउनासाथ तेरी श्रीमती आगोले पोली घाइते भई दाङ तुल्सीपुर हेल्थपोष्टमा उपचार गर्दा मरिसकिन भनी मलाई भनेको हुँदा म उक्त ठाउँमा गई देखेको हुँदा भएको व्यहोरा खोली जाहेर गरेको छु भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।

३.     २०४०।२।१ गते अं.१२½ बजेतिर साथी रामसेठ र म दुइजना भई मेरो घरमा आयौं । घरमा श्रीमतीले दालभात पकाई ढोका बन्द गरी बसेकी रहीछ । हामीले निको ढोका लात्तीले हानी भित्र पस्यौं । श्रीमती र मेरो बीच वैवाहिक सम्बन्ध अधिदेखि नै नराम्रो भएकोले रीस मात्र उठेको थियो । त्यसपछि साथीले श्रीमतीको हात पछाडि लगी बाँधी दिए । मैले कपडाको पट्टीले मुख र खुट्टा समेत बाँधी भुईमा पल्टाई कपालको रौं ब्लेडले काटी मैले औषधिको लागि ल्याएको तेजाब हातमा र शरिरमा दली दिएँ । ठाउँ ठाउँबाट आगो लगाई  दिएँ । आगोले आधा शरिर जली सकेपछि हामी त्यहाँबाट भागी तुल्सीपुर ध्वजबहादुरको होटलमा सुत्यौं । भोलिपल्ट त्यहाँ जाँदा निजको मृत्यु भइसकेको थियो । कोलादेवीलाई हामीले मारेका हौ भन्ने समेत व्यहोराको शालिकराम गुप्ताले प्रहरीमा गरेको बयान ।

४.     २०४०।२।१ गते राती पर्सेनीबाट फर्केपछि अं.१२½ बजेको समयमा शालिकरम गुप्ताले हाम्रो घरमा जाउँ भनी भनेकाले दुबैजना निजको घरमा गयौं । निजको श्रीमती ढोका बन्द गरी सुती सकेकी थिइन, हामीले लात्तीले हानी ढोका खोली भित्र गयौं । त्यतिकैमा उनको हात पछाडि समाइदिई शालिकरामले कपडाको पट्टीले मुख हात खुट्टा समेत बाँधी पल्टाएपछि आफूसँग भएको तेजाब शरिरमा ठाउँ ठाउँबाट हालेर आगो लगाई दिएँ । त्यसपछि हामी तुल्सीपुर ध्वजबहादुरको होटलमा सुत्यौं । भोलिपल्ट निजको मृत्यु भइसकेको थियो । साथी शालिकरामको प्रेम मृतकसँग हुन नसकेकोले भनी शरिक भई गएको हुँ, मृतकसँग रिसाइवी थिएन भन्ने समेत व्यहोराको रामसेठ गुप्ताले प्रहरीमा गरेको बयान ।

५.     २०४०।२।१ गते घरमै सुतेको थिएँ । रातीको हल्ला सुनेपछि उठेँ । समाजहरु सुती सकेका थिए कोलादेवीलाई टाटी फोरी बाहिर निकाले त्यस समय उनले पानी मागेकी थिइन । बुबा र मैले हस्पिटल लग्यौं । दाजु भाउजुको रिसइवी झगडा भएको थाहा छैन । मृतकलाई कसले मारे आँखाले नदेखेकोले भन्न सक्तैन भन्ने समेत व्यहोराको राजेन्द्र गुप्ताको प्रहरीमा भएको बयान ।

६.     शालिकराम र कोलादेवीको मेलमिलाप नभएको सरजमिन र निज शालिकरामको बयानबाट देखिएकाले सोही रीस इवीबाट शालिकरामले रामसेठ र राजेन्द्र समेतको सहमति लिई मृतक कोलादेवीलाई कर्तव्य गरी मारेको प्रष्ट देखिन आएकाले शालिकरामलाई ज्यानसम्बन्धीको १३(३) प्र.रामसेठलाई ऐ.१३(४) र राजेन्द्रप्रसाद गुप्तालाई ऐ.को १७(३) नं.बमोजिम सजायँको माग दावी भएको प्रहरी प्रतिवेदन ।

७.     २०४०।२।१ गतेको साँझ ८ बजेको समयमा म र मेरो साथी रामसेठ गुप्ता ध्वजबहादुर के.सी.को होटलमा थियौं, भोलिपल्ट घरमा आउँदा थाहा पाउँ र हस्पिटल गएँ, त्यतिखेर श्रीमतीको मृत्यु भइसकेको थियो ।  जाहेरी देउ भनी गाउँलेहरुले भन्दा दर्खास्त दिएको हुँ । निज कसरी मरिन् थाहा छैन, शरिर जलेको थियो । निजसंग मेरो झगडा भएको थिएन । मैले कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको शालिकराम गुप्ताले अदालतमा गरेको बयान ।

८.     ०४०।२।१ गते साँझ ८ बजेको समयमा साथी शालिकराम गुप्तासंग तुल्सीपुर चौकमा भेट भई माइती होटलमा डम्बर वली शालिकराम र म समेत भई सुतेका हौं । भोलिपल्ट शालिकरामको घर जाँदा आगो लागेको थिएन घरको बार समेत भत्केको थियो । शालिकरामको श्रीमती आगोले जली मरेको कुरा सुनँे । प्रहरीमा गरेको बयान राजिखुसीले होइन कुटपिट गरी सहीछाप गरेको हुँ । हाम्रो कर्तव्यबाट कोलादेवीको मृत्यु भएको होइन भन्ने समेत व्यहोराको प्र.रामसेठ गुप्ताले अदालतमा गरेको बयान ।

९.     २०४०।२।१ गते राम, म र श्रीमती निदाई रहेको अवस्था हल्ला सुनी श्रीमतीले उठाएपछि आगलागी भएको ठाउँमा नै हल्ला गरी मानिस जम्मा भई बाँसको बार च्याती भित्र गई हेर्दा कोलादेवीको शरिर जलेको थियो । निजको मृत्यु भोलिपल्ट भो निजलाई मार्नमा मेरो सहमति छैन भन्ने समेत व्यहोराको राजेन्द्र गुप्ताले अदालतमा गरेको बयान ।

१०.     संकलित सबूद प्रमाण समेतबाट रामसेठ समेत भई शालिकराम गुप्ताले आफ्नो श्रीमती कोलादेवीलाई कर्तव्य गरी मारेको ठहरेकाले प्र.शालिकराम गुप्तालाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैद प्र.रामसेठ गुप्तालाई ऐ.को १३ (४) नं.बमोजिम जन्मकैद हुने ठहर्छ, प्र.राजेन्द्रप्रसादको हकमा घटना दवाएको देखिए तापनि ज्यानसम्बन्धीको २४ नं. ले खतबात नलाग्ने भन्ने समेत व्यहोराको शुरु दाङदेउखुरी जिल्ला अदालतको मिति २०४२।२।३० को फैसला ।

११.     उक्त दाङ देउखुरी जिल्ला अदालतको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी हक इन्साफ गरिपाउँ भन्ने समेत व्यहोराको प्र.शालिकराम गुप्ता र रामसेठ गुप्ताले मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदन ।

१२.    पुनरावेदक प्रतिवादीहरु प्रहरी समक्ष कसूर गरेमा पूर्ण साविती भएको र सो कुरा घटनास्थल प्रकृति मुचुल्का समेतका प्रमाणहरुबाट प्रमाणित हुन आएकोले निजहरुले अदालतमा गरेको इन्कारी बयान मनासिब नदेखिँदा निजहरुले आरोपित कसूर गरेको ठहराएको शुरुको इन्साफ मनासिब छ पुरावेदकहरुको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको म.प.क्षे.अ.को मिति २०४३।१०।२९ को साधक जाहेरी फैसला ।

१३.    प्रहरीमा गराइएको साविती बयान अन्य स्वतन्त्र प्रमाणबाट शंकारहित रुपमा समर्थित हुनसकेको छैन । घटनास्थल प्रकृति मुचुल्कामा उल्लिखित कुनै पनि कुरा म समेतको कर्तव्य किटान गर्ने खालका छैनन् । पानी पिलाओ बचावोभन्ने मृतक कोलादेवीले यो यो मानिसले आगो लगायो भनी भन्नु पर्ने सो भनेको भन्ने कसैको भनाई छैन । सरजमिनका अदालतमा आई बकपत्र गर्ने व्यक्तिहरुले म समेतलाई निर्दोष बनाएका छन् । ढोका बन्द भएको कारणबाट जली राखेकी कोलादेवीलाई टाटीको बार काटी निकाल्नु परेको मौका सरजमिन लाश जाँच मुचुल्का समेतबाट देखिन्छ । म समेतले आगो लगाई निस्केको भए ढोकाको भित्रबाट गरालो लगाई बन्द गरेको नभई खुलै हुनु पर्दथ्यो । उक्त उपरोक्त जिकिर गरिए अनुसार प्रहरीमा गराएको साविती बयान अन्य स्वतन्त्र प्रमाणबाट शंकारहित रुपमा प्रमाणित हुन नसकेकोमा मलाई कसूरदार ठहराई अन्यायमा परेको हुँदा म.प.क्षे.अ.समेतको गैरकानुनी इन्साफ उल्ट्याई कसूर र सजायँबाट मुक्त गरिपाउँ भन्ने समेत व्यहोराको प्र.शालिकराम गुप्ताको पुनरावेदनपत्र ।

१४.    प्रहरीमा गराएको कागजका आधारमा मलाई कसूरदार ठहराएको प्रमाण ऐन, २०३१ र कानुनी  सिद्धान्त समेतको त्रुटिपूर्ण छ । ढोका बन्द भएको कारणले बार काटी मृतकलाई बाहिर निकालेको भन्ने सरजमिनको भनाई समेत भएकोमा हामीले जलाए आएको भए भित्रबाट ढोका बन्द हुन नपर्ने हो । मृतक कराई रहेकी र छटपटाई रहेकी भन्ने सरजमिनकै भनाईबाट देखिएपछि मुख र हात खुट्टासमेत बाँधेको थिएन भन्ने प्रष्ट हुन्छ । बचाउ भन्ने कोलादेवीले यो यसले आगो लगाई दिएको हो भनी भन्न सक्नु पर्ने नभनेको समेतबाट मृतकले आफैं आत्महत्या गरेको प्रष्ट हुँदाहुँदै म समेतलाई कसूरदार ठहराएको म.प.क्षे.अ.को त्रुटिपूर्ण फैसला बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.रामसेठ गुप्ताको पुनरावेदन ।

१५.    पुनरावेदक रामसेठ गुप्ताको तर्फबाट उपस्थित हुनुभएका विद्वान वैतनिक अधिवक्त श्री पुण्यप्रसाद अर्यालले र पुनरावेदक प्रत्यवादी शालिकराम गुप्ताको तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री सानुबाबु पोखरेलले गर्नुभएको बहस समेत सुनियो मुख्यतः क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिन पर्ने हुनआएको छ ।

१६.     यसमा मृतक कोलादेवी गुप्ता कर्तव्यबाट मरेको कुरामा विवाद देखिँदैन । निजको मृत्युका सम्बन्धमा लाश पछाडि टाउकोबाट गोडा गोलीगाँठासम्म आगोले डढेको भन्ने र चस्मदिद व्यक्तिले पानी पिलाओ भन्दैको बेलामा देखेको र भित्र बार काटी झिकेको भन्ने देखिन्छ । पुनरावेदक प्रत्यवादीदेखि बाहेक अन्य व्यक्तिबाट त्यो विभत्स घटना हुनुको तथ्युक्त पत्यारलायक कारण सहितको अन्य केही प्रमाण पाइँदैन । सरजमिन तथा निजहरुले गरेको प्रहरीको साविती बयानलाई शवपरीक्षण, ब्लेडले काटिएको मृतकको कपाल तथा पहिले देखिको मृतकसंगको मनमोटाव भई मन नमिलेको इत्यादी कारणहरु निज अभियुक्त मृतकको पति प्रत्यवादी शालिकरामकै बयानहरुबाट प्रष्ट झल्की रहेको देखिन्छ । शालिकराम र रामसेठ घटनाको दिनमा एकै ठाउँमा रहे बसेको कुरामा अदालतमा पनि प्रष्ट साविति भएको पाइन्छ । यस्तो स्थितिमा आफ्नो जिवन साथीका रुपमा घरमा बसी आफ्नो सेवा गरेको कलकलाउँदो युवतित्व अवस्थाकी अर्धाङ्गिनी श्रीमती माथि अन्य साथी समेतको सहारा लिई हात समाउन लगाई पाता कसी तेजाब हाली जिवित शरिरमा आगो सल्काई दिने जस्तो जघन्य हिंसा गर्ने व्यक्तिहरु मध्ये मृतकको पति मुख्य अपराधीलाई ज्यानसम्बन्धीको १३(३) र रामसेठलाई ऐ.को १३(४) अनुसार सजायँ गर्ने गरी शुरुले गरेको इन्साफ सदर गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको देखिँदा मनासिब ठहर्छ । पुनरावेदक प्रत्यवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

(यसमा दुबैजना भई निर्णय सुनाइसकेपछि मा.न्या.श्री हरिहरलाल राजभण्डारी परलोक हुनुभएकोले सहयोगी मा.न्या.ज्यूको सही हुन नसकेको ।)

 

न्या.सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०४४ साल चैत्र ३ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु