शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४८२ - कुटपिट ज्यान

भाग: ३० साल: २०४५ महिना: असोज अंक:

निर्णय नं. ३४८२ ने.का.प. २०४५ अङ्क ६

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४३ सालको फौ.पु.नं. ५१४, ५८४

फैसला भएको मिति : २०४५।४।२५।३ मा

 

पुनरावेदक वादी : कुमाल खकुरेलको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी प्रतिवादी : का.न.पं.वा.नं.४  बस्ने रामराजु नायडुसमेत

 

पुनरावेदक प्रतिवादी : ऐ.बस्ने रामराजु नायडु

विरुद्ध

विपक्षी वादी : श्री ५ को सरकार

 

मुद्दा : कुटपिट ज्यान

 

(१)                  ज्यान लिने मनसाय इविलाग नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसद्वारा केही भई कुनै मानिस मर्न गए भवितव्य ठहर्ने ।

(प्रकरण नं. ३१)

(२)                तत्काल उठेको रिसबाट मार्ने सम्मको काम कारवाई गरेको भन्ने समेत देखिन नआएको, केवल घरको कौषीमा झगडा गर्न र सो कौषीबाट कोही खस्न गई मृत्यु हुनसक्ने स्थिती सम्मलाई हेलचक्रयाई हुन गएको देखिने ।

(प्रकरण नं. ३१)

(३)                हेलचक्रयाईको कारणबाट मृतक कौषीबाट खस्न गई सोही खसेको चोटबाट उपचार हुदैको अवस्थामा मरेको देखिन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको ६(२) नं.बमोजिम सजायँ गरेको मनासिब ठहर्ने ।

(प्रकरण नं. ३१)

 

वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की

प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल

 

फैसला

न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।५।२६।५ को फैसला उपर चित्त नबुझी वादी तथा प्रतिवादीको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.     २०४०।९।४ गते बुहारी सानुनानी मसंग झगडा गरिरहेको अवस्था रामराजु नायडु निजको श्रीमती सीतासमेत आई म र मेरो स्वास्नीलाई कुटपिट गरी वीर अस्पताल भर्ना भएकोमा स्वास्नी ज्ञानु खकुरेलको २०४०।९।१९ मा मृत्यु भएकोले कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोरा जाहेरी   दर्खास्त ।

३.     हात र पछाडि ढाडमा समेत चोट भई १३ टाँका सिलाएको समेत देखिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।

४.     २०४०।९।४ गते रामराजु समेत जाहेरवालाको घरमा आई सानुनानीको बारेमा जाहेरवालासंग बाझबाझ गर्न थाले एकछिन पछि ढाङढुंङको आवाज आई हेर्न जाँदा जाहेरवाला र निजकी स्वास्नी ज्ञानु आँगनमा लडी रहेको देखेँ भन्ने समेत व्यहोराको मिनबहादुर कटुबालको कागज ।

५.     रामराजु समेत जाहेरवालासंग झगडा गरेको  सुनी हेर्न आउँदा जाहेरवाला र निजको श्रीमती आँगनमा लडेको देखेँ भन्ने समेत व्यहोराको रिचार्ड लाइवोर्नको पत्र ।

६.     सानुनानीलाई पुर्‍याउन मेरो छोरी प्रतिमा र निजकी साथी बिना समेत जाहेरवालाको घरमा गएका नफर्केकोले जाहेरवालाको घरमा जाँदा प्रतिमाहरु बाहिरै रहेछन् । जाहेरवालासंग छोरीहरु यतिन्जेल किन आएनन् भनी लिन आएको भन्दा मेरी बुहारी पठाउने तँ को होस भनी गाली गर्न थाले यसरी गाली नगर्नुस भनी हामी कौषीबाट तल झर्न लाग्दा जाहेरवालाले रडको कुर्सिले मेरो टाउकोमा पर्ने गरी हानेकाले म मुर्छा भएँ । यसरी हान्दा हान्नु हुँदैन भनी जाहेरबालको श्रीमती ज्ञानु छेक्न आएकी थिइन मैले कुटपिट गरेको छैन भन्ने समेत व्यहोराको रामराजु नायडुले प्रहरीमा गरेको कागज ।

७.     सानुनानीलाई उस्को घर पुर्‍याउन म समेत गएकोमा जाहेरवालाले किन आइस भनी गाली गरे हामी बाहिर बसी रह्यौं । बेलुका प्रतिमाको बाबु आमा जाहेरवालाको घरमा आई हामीलाई बोलाउँदा सानुनानी मेरो घर पठउने तँ को होस भनी जाहेरवालाले रामराजुलाई गाली गर्दै फलामे मेचले हान्दा रामराजु आँगनमा लडे । ज्ञानु खकुरेलले त्यसो नगर भनी छेक्दा ज्ञानु खकुरेल र जाहेरवाला समेत कौशीबाट आँगनमा खसेको हो भन्ने समेत व्यहोराको बिना शर्माले गरेको कागज ।

८.     रामराजुकी छोरी प्रतिमा र बिनाले मलाई आफ्नो घर पुर्‍याउन गएका र ससुराले भित्र पस्न नदिएकोले बाहिर बसी रहेँ । रामराजु र सीता आएपछि मेरो विषयमा जाहेरवालासंग वादविवाद झगडा भई कुमाले खकुरेलले फलामे रडको कुर्सिले रामराजुको टाउकोमा हाने किन त्यसो गरेको भनी छेक्दा ज्ञानु र जाहेरवाला समेत कौशीबाट आँगनमा खसेको हो भन्ने समेत व्यहोरा साननानी खकुरेलले प्रहरीमा गरेको     कागज ।

९.     म मिटीङ सकी घर आउँदा जाहेरवालाको घरबाट केही बज्रे जस्तो सुनी जाँदा जाहेरवाला गुहार भनी कराइरहेको देखी प्र.कँहा गई चौकीमा खबर गरेँ । भोलिपल्ट बिहान रामराजुलाई जाहेरवाला कुर्सिले हान्दा छेक्ने ज्ञानु खकुरेललाई तैँ होस घर बिगार्ने भनी जाहेरवालाले कौशीबाट आँगनमा फाली दियो भन्ने सुनेको हो भन्ने समेत व्यहोराको बद्रि खकुरेलले प्रहरीमा गरेको कागज ।

१०.     मेरो बाबु रामराजुलाई जाहेरवालाले फलामे कुर्सिले हान्दा टाउको फुट्यो र त्यसरी किन हिर्काएको भनी जाहेरवालाको स्वास्नी ज्ञानुले छेक्दा जाहेरवाला र ज्ञानु हात तानातान गर्दै दुबैजना कौसीबाट आँगनमा खसेको हो भन्ने समेत व्यहोराको प्रतिमा नायडुले प्रहरीमा गरेको कागज ।

११.     मेरो लोग्ने रामराजुलाई जाहेरवालाले मेचले हानी लोग्ने आँगनमा लडेपछि कुमाल खकुरेलले ज्ञानुलाई तानी निज दुबैजना आँगनमा खसेको हो निजहरुलाई कसैले पिटेको होइन भन्ने समेत व्यहोराको सीता नायडुले प्रहरीमा गरेको कागज ।

१२.    रामराजु कौशीमा आई जाहेरवाला वाहिर आईज भनी बोलाए र जाहेरवाला आउँदा मदिसेले पिटी जाहेरवाला र निजको श्रीमतीलाई कौशीबाट फाली दिएको हो भन्ने समेत व्यहोराको राधिका कवर समेतले गरिदिएको सरजमीन मुचुल्का ।

१३.    मेरी स्वास्नी सानुनानीलाई प्रतिमा र बीनाले पुर्‍याउन आएको र सोही कुरामा बा आमा लिई आउनु भनी मेरो बाबुले भनेको अवस्था रामराजु समेत आई बाबुसंग झगडा भयो र रामराजुले मेरा बाबु र आमालाई कुटपिट गरी कौषिबाट आँगनमा फाली दिएको हो भन्ने समेत व्यहोराको राजु खकुरेलले गरेको   कागज ।

१४.    जाहेरवाला र रामनायडुको बीच सानुनानीको विषयलाई लिई कौशीमा वादविवाद भई झगडा हुँदा यस्तो झगडा नगर्नु होस् भनी ज्ञानुले छेक्न आउँदा राम  राजु र कुमाल खकुरेल दुबैले होस नपुर्‍याएको कारणबाट ज्ञानु खकुरेल कौशीबाट आँगनमा खस्न पुगी परेको चोटबाट मृत्यु भएको देखिँदा निजहरुउपर मुलुकी ऐन ज्यानसम्बन्धीको ६(२) बमोजिम सजायँ हुन र अन्यउपर मुद्दा चलाउन पर्ने नदेखिँदा हाजिर जमानिमा छोडिएका भन्ने समेत व्यहोराको प्रहरीको र रामराजु सीता र बद्रि खकुरेल रातको बखत केही रहश्य नभई जाहेरवालाको घर जानु पर्ने अवस्था नभएको निजहरु झगडा गर्न भनी घटनास्थलमा गएको र घटना घटेको कौशीमा गई हात हालाहालमा संलग्न रहेको कुरा निजहरुको बयानबाट समेत देखिने हुँदा रामराजु र सीता नायडुका हकमा ज्यानसम्बन्धीको १ न. को अपराध गरेकोले ऐ.को १३(३) अनुसार सजायँ हुन र सानुनानी र बद्रीका हकमा मतियार भएको देखिँदा ऐ.को १७(२) अनुसार सजायँ हुन र अन्यउपर मुद्दा चलाउन पर्ने नदेखिएको भन्ने समेत व्यहोराको स.अ.तथा स.अ.को राय भएको प्रहरी प्रतिवेदन माग दावी ।

१५.    जाहेरवालाउपर भवितव्य ज्यानमा मुद्दा चलाउन पर्ने सम्मको अवस्था बिद्यमान नरहेको र जुन व्यक्तिलाई हाजिर जामानिमा छाडेको छ ती व्यक्तिउपर समेत ज्यान मुद्दा चलाउन पर्ने अवस्था हुँदा प्रहरी रायसंग यो बेञ्च सहमत हुन सकेन अतः सरकारी वकीलको राय बमोजिम गर्ने भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट २०४०।१०।१२ मा भएको आदेश ।

१६.     छोरीलाई लिन म र श्रीमती कुमाल खकुरेलको घरमा जाँदा छोरी र सानुनानी बाहिरै रहेछन् । हामी निजको कौशीको भर्‍याङ सम्म पुगी छोरीहरुलाई अहिलेसम्म नआउने भनी गाली गरे त्यतिबेला कुमाल बाहिर आई तिमीहरु किन आएको भनी वादविवाद गर्न थाले म तल ओर्लिदा कुमालले माथिबाट कुर्सिले हिर्काएकोले म बेहोस भएँ र मलाई बीर अस्पताल ल्याएछन् । मैले कुटपिट गरेको होइन भन्ने समेत व्यहोराको प्र.रामराजु नायडुले अदालतमा गरेको बयान ।

१७.    २०३९।९।४ गते बुहारी आएकोले को संग आएकी आमा बाबु किन पुर्‍याउन आउनु भएन लि आउनु भनी भन्दा कचिंगल परिरहेको थियो । बेलुका म कोठामा बसीरहेको अवस्था रामराजु र सीता आई बाहिर बोलाए मैले आउँदिन भन्दा केही कुरा छ आउनु भनेकोले आउँदा मेरी श्रीमती पनि पछि पछि थियो बुहारी सम्बन्धमा कुरा हुँदा मलाई कुटपिट गर्न लागे र आँगनमा फ्याली दिए त्यसपछि तुरुन्तै कौशीमा हेर्दा रामराजुले मेरी श्रीमती ज्ञानुलाई आँगनमा खसाली दिए र भागे । श्रीमतीलाई उपचार गराउन अस्पताल लगेको १६ दिन पछि सोही कुटपिटले श्रीमतीको मृत्यु भएको हो भन्ने समेत व्यहोराको कुमाल खकुरेलले अदालतमा गरेको  बयान ।

१८.    २०४०।९।४ गते बेलुका ७।३० बजे जाहेरवालाको घरमा के को आवाज आएको जस्तो लाग्यो र जाहेरवालाले गुहार मागेको सुनी प्र.पं.कहाँ गई निजसंगै चौकीमा गयौं । प्रहरी बोलाई म घर गएपछि के भयो मलाई थहा भएन घटनाबारे देखेको केही छैन भोलिपल्ट धारामा ७।८ जना आइमाईले जाहेरवाला कुमालले आफ्नो स्वास्नी आफैंले खसाली मारे भन्ने सुनेँ भन्ने समेत व्यहोराको बद्रि खकुरेलले अदालतमा गरेको बयान ।

१९.     मेरी छोरी प्रतिमा र छोरीको साथी बिना सानुनानीलाई घर पुर्‍याउन गएका नआएकोले श्रीमान रामराजु समेत भई जाहेरवालाको घरमा जाँदा प्रतिमा बीना बाहीर थिए हामीले किन भित्र नपसेको भन्दा उसको ससुराले कराई गाली गरी कौशीबाट मेचले मेरो लोग्ने रामराजुलाई हिर्काउँदा निज बेहोस भए ज्ञानुले नहिर्काउनु भनी छेक्दा स्वास्नी र आफू पनि कौशीबाट खसेर बेहोस भए । निज ज्ञानु निजको लोग्ने र निज कौशीबाट खसेको चोटबाटै मरेका हुन् । हामीले कुटपिट गरी मारेको होइन भन्ने समेत व्यहोराको सीता नायडुले अदालतमा गरेको बयान ।

२०.    सासुले मलाई बोलाएको थाहा पाएपछि  सानीमा सीताकहाँ जाँदा छोरी प्रतिमा र बीनाको साथ लगाई मेरो लोग्नेको घरमा पठाई दिनु भयो । घर पुग्दा ससुराले आउन पर्दैन जाउँ भन्नु भयो हामी पिंडिमा बसी रहेका थियौं बेलुका ७ बजे सानुबुबा रामराजु र सानीआमा समेत आई किन छोरीलाई भित्र पस्न नदिएको भनी विवाद पर्दा जाहेरवालाले मेच टिपी कौशीबाट हान्दा सानुबाबु बेहोस हुनुभयो । सासुले घर आएको पाहुनालाई त्यसो गर्नु हुँदैन भन्दा तैं रण्डीले घर भाँडेको भनी ससुराले सासूलाई टिपी कौशीबाट फाली दिनुभयो अनि ससुरा पनि हामफाल्नु भयो रामराजुले सासू ज्ञानुलाई कुटपिट गरेको छैन । ससुराले कौशीबाट खसाली दिएको चोटबाट मृत्यु हुन गएको हो भन्ने समेत व्यहोराको साननानी खकुरेलले अदालतमा गरेको बयान ।

२१.    सीता नायडु, बद्रि खकुरेल र सानु खकुरेल प्रहरी र अदालतमा इन्कार रहेमा यिनीहरुले कुटपिट गरेको भन्ने प्रमाण नभएको समेतबाट निजहरुले सफाई पाउने ठहर्छ । रामराजुका हकमा विचार गर्दा ज्ञानुलाई मार्नु पर्ने निजको रीसइवि नदेखिएको तर झगडा हुँदा हात मिसामिस भई होस नपुर्‍याई त्यसो गर्दा ज्ञानु खकुरेल माथिबाट तल खस्न गई निजको मृत्यु भएको देखिँदा निजलाई ज्यानसम्बन्धीको ६(२) बमोजिम एकमहिना १५ दिन कैद र २००।रुपैयाँ जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतबाट २०४१।४।२२ मा भएको फैसला ।

२२.    सो फैसलामा चित्त बुझेन दावी बमोजिम प्रतिवादीलाई सजायँ गरिपाउँ भन्ने वादी श्री ५ को सरकार तर्फबाट र मलाई सजायँ गरेको चित्त नबुझेकोले उल्टाई सफाई पाउँ भन्नेसमेत व्यहोराको प्र.रामराजु नायडुले क्षेत्रीय अदालतमा दिएको पुनरावेदन ।

२३.    यसमा रामराजु नायडु, कुमाल खकुरेल झगडा गरिरहेको बखत आएकी ज्ञानु खकुरेल निजहरु झगडा गर्दागर्दै रामराजुको धक्का पर्न गई होश नपुर्‍याई सानो कौशीबाट भवितव्य परी लडेको मिसिल कागजबाट देखिँदा ज्यानसम्बन्धीको ६ (२) बमोजिम सजायँ गर्ने गरेको शुरुको फैसला मिलेकै देखिँदा उल्टाई सफाई पाउँ भन्ने समेतको प्र.रामराजु नायडुको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी सीता नायडु, बद्रि खकुरेल र साननानी खकुरेलले प्रस्तुत ज्ञानु मरेको सम्बन्धि अपराधमा निजलाई मार्ने कुनै काम कर्तव्य गरेको मिसिल कागजबाट पुष्टि हुनआएको नहुँदा रामराजु नायडु र सीता नायडुलई ज्या.सं.१३(३) बमोजिम र अन्य प्र.बद्री खकुरेल र साननानी खकुरेललाई ज्या.सं.को १७ (२) बमोजिम सजायँ हुनुपर्ने भन्ने समेतको वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । काठमाडौं जि.अ.को इन्साफ मनासिब ठर्हछ भन्ने समेत म.क्षे.अ.को मिति २०४३।५।२६ को फैसला रहेछ ।

२४.    १ जनाको हकमा भवितव्य ठहर फैसला गरी अन्य प्र.हरुलाई सफाई दिएकोमा म.क्षे.अ.को इन्साफमा चित्त बुझेन सरकारी वकिलको शुरु माग बमोजिम गरी प्र.हरुलाई सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन साथै मलाई भवितव्य समेतमा सजायँ गर्न नहुनेमा ज्या.सं.को ६(२) अन्तर्गत सजायँ गर्ने गरेको म.क्षे.अ.को इन्साफमा चित्त बुझेन उक्त इन्साफ उल्टाई सफाई पाउँ भन्ने समेत प्रतिवादी रामराजु नायडुको यस अदालतमा पर्न आएको पुनरावेदन ।

२५.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारकोतर्फबाट बहसका लागि उपस्थित हुनुभएका विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की तथा प्रतिवादी रामराजु नायडुकातर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

२६.    प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको उक्त इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय  दिनु पर्ने हुन आयो ।

२७.    प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतमा मुद्दा दायर गर्दा प्रहरी प्रतिवेदन दायर हुँदा प्रहरीतर्फबाट मृतक ज्ञानु खकुरेल जाहेरवाला कुमाल खकुरेल र पछि प्रतिवादी हुन आएका रामराजु नायडुको कारणबाट भवितव्य परी ज्ञानु खकुरेलको मृत्यु हुन गएकोले ज्यानसम्बन्धीको महलको नं. ६ को देहाय २ अन्तर्गत सजायँको माग दावी लिंदै अन्य प्रतिवादीहरु उपर मुद्दा चल्न नसक्ने भनी राय लगाई र यसरी लगाएको रायमा सहमत नभई वारदात र घटनाको स्थिति समेत विचार गरी सरकारी वकिलतर्फबाट निज रामराजु नायडु र श्रीमती सीता नायडुको कर्तव्यबाट श्रीमती ज्ञानु खकुरेलको मृत्यु भएकोले निजहरु उपर मु.ऐ.ज्या. सं.को १३(३) बमोजिम सजायँ हुन र सानुनानी खकुरेल र बद्री खकुरेलको हकमा मतियार भएकोले ज्या.सं.को १७(२) बमोजिम सजायँ हुनुपर्ने र जाहेरवालाउपर मुद्दा चलाउन पर्ने अवस्था विद्यमान नभएको भनी अलग अलग राय लगाई जिल्ला अदालत समक्ष मुद्दा दायर हुन गएकोमा सरकारी वकिलको राय मुताविक मुद्दा चल्न गई शुरु जि.अ.ले फैसला गर्दा प्रतिवादी सीता नायडु, प्र.बद्रि खकुरेल र ज्ञानु खकुरेल प्रहरी र अदालत समक्ष इन्कार रहेका र यिनीहरुले कुटपिट गरेको भन्ने प्रमाण नभएको भन्ने समेतबाट निजहरुले सफाई पाउने र प्र.रामराजु नायडुको हकमा झगडा हुँदा हात मिसामिस भई होस नपुर्‍याई त्यसो गर्दा ज्ञानु खकुरेल माथिबाट तल खस्न गई निजको मृत्यु भएको देखिँदा ज्या.सं.को ६(२) बमोजिम १ महिना १५ दिन कैद र २००। जरिवाना हुने ठहर्‍याए उपर वादी तथ प्रतिवादी रामराजु नायडुको क्षे.अ.मा पुनरावेदन परी म.क्षे.अ.बाट समेत सोही शुरु जि.अ.को इन्साफलाई सदर गरे उपर वादी श्री ५ को सरकार तथा प्रतिवादी रामराजु नायडुको यस अदालतमा पुनरावेदन परी आएको देखिन आयो ।

२८.    मुख्यत वादी श्री ५ को सरकारतर्फबाट पर्न आएको पुनरावेदन जिकिर तथा विद्वान उपन्यायाधिवक्ताले बहसको क्रममा जाहेरवालाले प्रतिवादीहरुले मर्ने श्रीमती ज्ञानु खकुरेललाई कौसीमा कुटपिट गरी आँगनमा खसाली दिएको भनी बकी लेखाइदिएको प्रतिवादी रामराजु नायडु लगायतका अन्य प्र.हरु मर्नेको घरमा झगडा गर्न गई झगडा भई लडेपछि भागी गएको सरजमीनका व्यक्तिहरुले समेत बकी प्रष्ट रुपले लेखाई दिएको र लाश जाँच मुचुल्का समेतबाट मृतकको शरिरमा विभिन्न चोटपटक देखिएबाट सोही चोटपटककै कारणबाट मृतक ज्ञानु खकुरेलको मृत्यु हुन गएकोले शुरु प्रहरी प्रतिवेदन दायर हुँदा लगाइएको सरकारी वकीलको राय मुताविक प्रतिवादीहरुलाई सजायँ हुनु पर्ने भन्ने प्रतिवादी राजराजु नायडुको पुनरावेदन जिकिर तथा निजको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ताको बहस जिकिरमा प्र.रामराजु नायडुको कर्तव्यबाटै मृतक ज्ञानु खकुरेलको मृत्यु भएको भन्ने प्रष्टरुपमा कतैबाट देखिन आएको छैन निज मृतक र जाहेरवाला कुमाल खकुरेल बीच मेच तानातान हुँदा कौशीबाट खसी श्रीमती ज्ञानु खकुरेललाई चोटपटक लाग्न गएको भन्ने सरजमीनका व्यक्तिहरु समेतको भनाईबाट देखिएको स्थितिमा ज्यानसम्बन्धीको ६(२) लगाई दण्ड जरिवाना गर्ने गरेको क्षे.अ.को इन्साफ मिलेको छैन । उक्त अभियोगबाट सफाई पाउनु पर्ने भन्ने समेतका बहस जिकिरहरु प्रस्तुत गर्नु भएबाट वादी दावी बमोजिम प्रतिवादीहरुलाई सजायँ गर्नुपर्ने हो होइन तथ्य प्रतिवादी जिकिर बमोजिम सफाई दिनु पर्ने स्थिति छ छैन सो सम्बन्धमा प्रस्तुत मुद्दामा हेर्नु पर्ने हुनआएको छ ।

२९.    मुख्यतः प्रस्तुत मुद्दामा निर्णयको निष्कर्षमा पुग्नको लागि मुद्दाको तथ्य (Fact) मा प्रवेश गर्नु जरुरी देखिन्छ । जाहेरवालाको शुरु जाहेरी तथा निजको अदालतमा भएको बयानबाट जाहेरवालाकी बुहारी सानुनानी माईत गएको ५ महिनापछि घरमा आएकी  एक्लै माईतबाट सानी आमाकी छोरीहरु साथ लिई किन आएकी बिदा नाघी सकेपछि आमा बाबुले पुर्‍याउन आउनु पर्ने तिम्रो आमा बाबु लिई आउ । आज जाउ भनी पठाएपछि केही समय बितेपछि सानुनानीको सानोबाबु नाता पर्ने प्र.रामराजु नायडु र निज रामराजु नायडुको श्रीमती सीता नायडु जाहेरवालाको घरको कौशीमा उपस्थित भएपछि हात मिसामिस भई कुटपिट झगडा हुन गएको देखिएको छ । प्रतिवादी रामराजु नायडुले अदालत समक्ष गरेको बयानबाट जेठी सासुको छोरी सानुनानी खकुरेल माईतबाट घर जाँदा छोरी समेत साथ लागी गएका र बुलकीसम्म नर्फेकोले किन नफर्केको भनी श्रीमती सीता नायडु सहित जाहेरवालाको घरमा गएपछि सानुनानीको सम्बन्धलाई लिएर बाझाबाझ हुन गएको भन्नेसमेत देखिन आएको छ भने निज सीता नायडुले समेत अदालतमा बयान गर्दा सानुनानीको सम्बन्धमा विवाद उठेको भन्ने लेखाएको देखिन आउनुको साथै जाहेरवालाले रामराजुलाई कौशीमा मेचले हिर्काउँदा ज्ञानु खकुरेलले नहिर्काउनु भनी छेक्दा स्वास्नी ज्ञानु तथा आफू कौशीबाट खसेको भन्ने लेखाएको देखिन्छ । तर निज प्र.रामराजु नायडु, सीता नायडु, बद्री खकुरेल, प्रतिमा नायडु, बिना शर्मा समेतले अदालतमा तथा प्रहरीसमक्ष गरेको बयान कागजहरुमा कुनैले ज्ञानु खकुरेल तथा जाहेरवाला कौशीमा मेच खोसाखोस गर्दा दुबैजना आँगनामा खसे भन्ने कुनैले दुबैजना कौशीबाट आफैं हाम्फालेको भन्ने र कसैले जाहेरवालाई ज्ञानुलाई तैँ होस घर बिगार्ने भनी कौशीबाट आँगनमा फालिदियो र सोही खसेको चोटपटकबाट ज्ञानु खकुरेलको मृत्यु हुन गएको भनी एकआपसमा विरोध पर्न जाने गरी बयान कागज गरेको देखिन्छ । तर जाहेरवाला तथा सरजमीनका व्यक्ति ठूली रावल्नी, राधीका कवरले जाहेरवाला र निजकी श्रीमती ज्ञानु खकुरेललाई सानुनानीको विषयमा विवाद उठी कौशीबाट निज कुमाल खकुरेल र मृतक ज्ञानु खकुरेललाई कौशीबाट आँगनमा निज प्रतिवादी रामराज नायडुले फाली दिएको भन्ने देखिन आएको छ । जाहेरवाला कुमाल खकुरेलले निजको श्रीमती ज्ञानु खकुरेललाई त्यसरी कौशीबाट आँगनमा फ्याली दिनु पर्ने स्थिति पनि देखिन नआएको र स्वयं आफू (जाहेरवाला) समेत कौशीबाट स्वयं हाम्फाल्नु पर्ने स्थिति समेत देखिन आएको छैन ।

३०.    जाहेरवाला तथा मृतक श्रीमती ज्ञानु खकुरेल र प्रतिवादी रामराजु नायडु श्रीमती सीता नायडु समेत सानुनानी खकुरेलको विषयलाई झगडा भएको कुरामा विवाद देखिन नआउनुको साथै जाहेरवाला तथा श्रीमती ज्ञानु खकुरेलसमेत कौषीबाट खस्न गई खसेको चोटबाट श्रीमती ज्ञानु खकुरेलको मृत्यु भएको भन्ने कुरामा समेत विवाद देखिन आएको छैन ।

३१.    मुलुकी ऐन ज्यानसम्बन्धीको महलको ५ नं. मा ज्यान लिने ईबिलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ भन्ने समेत उल्लेख भएको पाइन्छ । प्रतिवादी रामराजु नायडुको तथा अन्य सीता नायडु समेतका व्यक्तिहरुको मृतक श्रीमती ज्ञानु खकुरेललाई मार्ने मनासाय लिई कौषीमा झगडा गरी कौषीबाट आँगनमा खसाली दिएको भन्ने देखिन आएको छैन । ज्यान लिन पर्नेसम्मको इवि पनि देखिन आएको पनि छैन र तत्काल उठेको रिसबाट निज ज्ञानु खकुरेललाई मार्नेसम्मको काम कारवाई गरेको भन्ने समेत देखिन आएको छैन । केवल घरको कौषीमा सानुनानीको विषयलाई लिएर झगडा गर्न र सो कौषीबाट कोही खस्न गई मृत्यु हुनसक्ने स्थितिसम्मलाई हेलचक्र्याई हुन गएको देखिन गएको छ । प्र.सीता नायडु तथा अन्य बद्रि खकुरेल, सानुनानी खकुरेल समेत उक्त कौषीमा गई झैझगडा गरेको भन्ने समेत प्रष्टरुपमा देखिन आएको छैन । केवल प्र.मध्येका रामराजु नायडु भुँईतलामा रही विवादको समाधान गर्नपट्टि नलागी कौषीमा गई झैझगडा समेतको हेलचक्र्याईको कारणबाट मृतक श्रीमती ज्ञानु खकुरेल कौषीबाट खस्न गई सोही खसेको  चोटबाट उपचार हुँदैको अवस्थामा मरेको देखिन आएकोले उपरोक्त प्रमाण आधारबाट प्र.मध्येके रामराजु नायडुलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको ६.(२) नं.बमोजिम सजायँ गर्ने गरको र अन्य प्रतिवादीहरुलाई सफाई दिने गरेको शुरु जि.अ.को इन्साफलाई सदर गरेको इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ, प्रतिवादीहरुलाई १३.(३) तथा १७ (२) बमोजिम सजायँ गर्न पर्ने भन्ने वादी श्री ५ को सरकार र ज्या.सं.को मु.ऐ.६(२) नं.बमोजिम सजायँ नगरी सफाई पाउँ भन्ने समेत प्र.रामराजु नायडुको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन गरे बापत अ.बं.२०३ ले ५ प्रतिशतले हुने थप सजायँ गरी रहन पर्छ कि भन्नलाई लाग्ने कैद भुक्तान भैसकेको र प्र.ले यस अदालतमा पुनरावेदन गरे बापत रु.१० जरिवाना हुन्छ निज प्र.ले शुरु जि.अ.मा रु.२०००। धरौट तारेखमा रहेको देखिँदा जरिवाना रु.१०।सोही धरौटबाट असूल गरी बाँकी रकम ऐन बमोजिमको प्र.हरुको दरखात पर्न आए फिर्ता दिनु भनी का.जि.अ.त.मा लेखी पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४५ साल श्रावण २५ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु