निर्णय नं. ९१३४ - कुटपीटबाट गर्भपतन

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
फैसला मिति : २०७०।३।९।१
०६७-CR-०४६२
मुद्दा : कुटपीटबाट गर्भपतन ।
पुनरावेदक/वादी : जिल्ला सप्तरी हर्दिया गाउँ विकास समिति वडा नं. ४ बस्ने विन्दीलाल चौधरीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला सप्तरी गाउँ विकास समिति हर्दिया वडा नं. ४ बस्ने कलावती चौधरीसमेत
§ जाहेरवाला र स्वंयम् पीडितले वारदातका विषयमा नै विरोधाभाष कुरा उल्लेख गर्नु र पीडितको शारीरिक परीक्षणसमेतबाट कुटपीट गरेको कुनै चिन्ह नपाइनुबाट वारदात नै स्थापित हुन सक्ने अवस्था छैन । वारदात स्थापित हुने त्यस्तो विश्वासप्रद प्रमाणसमेत वादी पक्षबाट गुजार्न सकेको पाइदैन । वारदात नै स्थापित हुन नआएको अवस्थामा जाहेरवाला तथा पीडित भनिएकी मिनाकुमारीले शंकास्पद किसिमले व्यक्त गरेका कुरालाई अदालतले प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने ।
(प्रकरण नं.६)
पुनरावेदक/वादीका तर्फबाट : उपन्यायाधिवक्ता श्री पुष्कर सापकोटा
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :
अवलम्बित नजीर :
सम्बद्ध कानून :
§ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २८ नं. ।
सुरू तहमा फैसला गर्ने :-
मा.जि.न्या. श्री टेकराज नेपाल
पुनरावेदन तहमा फैसला गर्ने :-
मा.न्या. श्री शम्भुबहादुर खड्का
मा.न्या. श्री कुमार चुडाल
फैसला
न्या.तर्कराज भट्ट : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :-
मिति २०६२।५।४ गते मेरो पोखरीको डीलमा प्रतिवादीमध्येकी कलावती चौधरीले घाँस काटिरहेकी मेरी गर्भवती श्रीमतीले देखि घाँस काट्न मनाही गर्दा निज कलावती चौधरी आवेशमा आई मेरी श्रीमतीलाई लछार पछार गर्दा सोही स्थान नजिकै धान काटिरहेका अन्य प्रतिवादीहरूसमेत आई लछार पछार कुटपीट गरी मेरी श्रीमतीको पेटमा भएको ६ महिनाको गर्भपतन गराएको हुँदा प्रतिवादी कलावती चौधरी, प्रतिवादी ममता चौधरी, प्रतिवादी रामकुमार चौधरी, प्रतिवादी कानन चौधरी र प्रतिवादी रूकमणि चौधरीसमेतलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको पीडित मिनाकुमारी चौधरीका श्रीमान विन्दीलाल चौधरीको जाहेरी दरखास्त ।
म मेरो पोखरीमा नुहाउन भनी गएकोमा सोही पोखरीको डीलमा प्रतिवादी कलावती चौधरीले घाँस काट्दै गरेको देखि घाँस काट्न मनाही गर्दा निज कलावती चौधरीले वादविवाद गरी लछार पछार गरी सोही पोखरी नजिकै धान काटिरहेका अन्य विपक्षीहरूसमेत उक्त स्थानमा आई मलाई कुटपीट गरी प्रतिवादीमध्येका रामकुमार चौधरीले मेरो पेटमा लात्तीले हानी थिचेकोले मेरो ६ महिनाको गर्भको बच्चाको मृत्यु भएको हुँदा प्रतिवादीहरूलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको बुझिएकी मिना कुमारी चौधरीको कागज ।
जिल्ला सप्तरी गाउँ विकास समिति हर्दिया वडा नं. ४ स्थित विन्दीलाल चौधरीको माछा पोखरी दालवाली लगाएको स्थानमा प्रतिवादी कलावती चौधरीसमेतका प्रतिवादीहरूले मिनाकुमारी चौधरीलाई कुटपीट लछार पछार गरी निजको गर्भमा रहेको ६ महिनाको गर्भको बच्चाको मृत्यु हुन गएको भनिएको घटनास्थलको चारकिल्ला विवरण ।
मिति २०६२।५।४ गते पोखरीमा मिनाकुमारी चौधरी नुहाउन भनी गएकोमा सो स्थानमा प्रतिवादी कलावती चौधरीले घाँस काटिरहेको देखि निज मिनाकुमारीले घाँस काट्न मनाही गर्दा वादविवाद भै लछार पछार हुँदा नजिकै धान काटिरहेका रामकुमार चौधरीसमेतका अन्य प्रतिवादीसमेत आई निज मिनाकुमारी चौधरीलाई कुटपीट लछार पछार गरी निजको गर्भमा रहेको ६ महिनाको बच्चाको मृत्यु भएकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको बुझिएका वविताकुमारीको कागज ।
मीनाकुमारी चौधरीको गर्भबाट निकालिएको बच्चाको हात खुट्टा आकृति मात्र देखिएको जातक बच्चामा कुनै चोट पटक नदेखिएको भन्नेसमेत व्यहोराको बच्चाको लाश प्रकृति मुचुल्का ।
मिति २०६२।५।४ गते जाहेरवालाकी श्रीमती मिनाकुमारी चौधरी आफ्नो पोखरीको डीलमा घाँस काट्न भनी गएकोमा उक्त पोखरीको डीलमा प्रतिवादी कलावती चौधरीले घाँस काटिरहेको देखी मिनाकुमारी चौधरीले किन हाम्रो पोखरीको डीलमा घाँस काटेको भन्दा विवाद भई लछार पछार हुँदा सोही पोखरी नजिकै धान काटिरहेका अन्य प्रतिवादीहरू रामकुमार चौधरी, ममता चौधरी, कानन चौधरी र रूकमणि चौधरीसमेत उक्त घटनास्थलमा आई गर्भवती मिनाकुमारी चौधरीलाई शरीरको विभिन्न भागमा कुटपीट तथा लछार पछार गरी निज मिनाकुमारी चौधरीको पेटमा भएको ६ महिनाको गर्भको बच्चाको मृत्यु हुन गएको हो भन्नेसमेत व्यहोराको बुझिएकी दुर्गी चौधरी र संजयकुमार चौधरीको अलग अलग कागज ।
मिति २०६२।५।४ गते आफ्नो पोखरीमा नुहाउन भनी गएकी मिनाकुमारी चौधरीलाई सोही पोखरीको डीलमा घाँस काटिरहेकी कलावती चौधरीले लछार पछार गरी वादविवाद भएकोमा सोही घटनास्थल नजिकै भएका निज कलावती चौधरीकी छोरी ममता चौधरी, रामकुमार चौधरी, कानन चौधरी र रूकमणि चौधरीसमेतका मानिसहरू आई निज मिनाकुमारी चौधरीको शरीरको विभिन्न भागमा कुटपीट लछार पछार गरी निजको गर्भमा रहेको ६ महिनाको बच्चाको पेट मै मृत्यु हुन गएको वारदातमा संलग्न प्रतिवादीहरूलाई कानूनबमोजिम होस् भन्नेसमेत व्यहोराको एकै मिलानको घटनास्थल वस्तुस्थिति मुचुल्का ।
जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, पीडित मिनाकुमारी चौधरीको कागज, बुझिएका व्यक्तिहरूको कागज, स्वास्थ्य परीक्षण रिपोर्टसमेतका सबूद प्रमाणका आधारमा मिनाकुमारीको गर्भपतन भएको तथ्य पुष्टि हुन आएकोले प्रतिवादी कलावती चौधरी, ममता चौधरी, रामकुमार चौधरी, कानन चौधरी र रूकमणि चौधरीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २८ नं. को कसूरमा सोही महलको २८ नं.बमोजिम सजाय गरिपाऊँ र फरार रहेका सबै प्रतिवादीहरूलाई अदालतबाट म्याद जारी गरिपाऊँ भन्नेसमेत व्यहोराको अभियोग दावी ।
जाहेरवालाकी श्रीमती मिनाकुमारी चौधरीको गर्भको बच्चा हामीले कुटपीट गरेको कारणले गर्भपतन भएको होइन । उनलाई बच्चा झर्ने रोग लागेको छ । अभियोग दावी अनुसारको कसूर नगरेकोले सजाय पाउनु पर्ने होइन भन्नेसमेत प्रतिवादी कलावती र कानन चौधरीको एकै मिलानको अदालतमा गरेको बयान ।
वारदात मिति समयमा म वारदात स्थलमा नभै अन्यत्र थिएँ । वारदातमा मेरो संलग्नता छैन । अभियोग दावी अनुसारको कसूर नगरेकोले सजाय पाउनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रामकुमार चौधरीले अदालतमा गरेको बयान ।
हामीले कुटपीट गरी मिना कुमारी चौधरीको गर्भपतन भएको होइन । जमीनको रीस इवीले हामीलाई फसाउन मुद्दा दिएको हो । अभियोग दावी अनुसार सजाय हुनु पर्ने होइन भन्नेसमेत व्यहोराको रूकमणि चौधरीले अदालतमा गरेको बयान ।
२०६० साल देखिनै म लहानमा बस्छु । हामीले मिनाकुमारी चौधरीलाई कुटपीट गरेको होइन । निजको गर्भमा रहेको बच्चाको मृत्यु भएको छैन । निजको पहिले देखिनै गर्भ तुहिने रोग थियो । अभियोग दावी अनुसार कुनै कसूर नगरेकोले सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको ममता चौधरीले अदालतमा गरेको बयान ।
प्रहरीमा कागज गर्ने वविताकुमारी चौधरी, दुर्गी देवी चौधरी, पीडित मिनाकुमारी चौधरी र जाहेरवाला विन्दीलाल चौधरीले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी कलावती चौधरी, प्रतिवादी कानन चौधरीसमेतका साक्षी सिरपति लाल चौधरी र पाँचु चौधरी, प्रतिवादी ममता चौधरीका साक्षी सुरेश कुमार चौधरी, प्रतिवादी रूकमणि चौधरीका साक्षी महेन्द्रप्रसाद चौधरी र प्रतिवादी रामकुमार चौधरीका साक्षी सन्तोषकुमार चौधरीले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी मध्येका रामकुमार चौधरीले पीडित मिनाकुमारीको पेटमा लात्तीले तथा अन्य प्रतिवादीहरूले हात मुक्काले हानेको कुटाईबाट मिनाकुमारी चौधरीको गर्भपतन भएको पुष्टि भएको हुँदा प्रतिवादी मध्येका रामकुमार चौधरी, कलावती चौधरी, ममता चौधरी, कानन चौधरी र रूकमणि चौधरीले आरोपित कसूर गरेको ठहरेकोले प्रतिवादी रामकुमार चौधरीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २८ नं. ले कैद महिना तीन र अन्य प्रतिवादीहरू कलावती चौधरी, ममता चौधरी, कानन चौधरी र रूकमणि चौधरीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २८ नं. ले जनही एक महिनाका दरले कैद सजाय हुने ठहर्छ भन्नेसमेत व्यहोराको सप्तरी जिल्ला अदालतको मिति २०६४।९।१० को फैसला ।
गर्भपतन हुनुको मुख्य कारण शंकास्पद छ । परिवारसँगको पूर्व रीस इवी जग्गा विवाद आदि कुराहरूबाट झुठ्ठा उजूरी दिई आफन्तहरूबाट बकपत्र गराइएको छ । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणको विश्लेषण गरिएको छैन । पीडितको शरीरमा कुनै किसिमको घाउ चोट देखिएको छैन । चिकित्सकलेसमेत गर्भपतनको मुख्य कारण किटानी साथ दिन सकेका छैनन । विना प्रमाण दोषि ठहर गरेको शुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू कलावती चौधरी, ममता चौधरी, रामकुमार चौधरी, कानन चौधरी र रूकमणि चौधरीको पुनरावेदन अदालत राजविराजमा परेको संयुक्त पुनरावेदन पत्र ।
यसमा No definite opinion can be made for the cause of IUFD.There was no signs of external injury over the body of Mrs.Meena kumari Chaudhary at the time of Admission. भनी डाक्टरले रिपोर्ट दिएको, जाहेरी दरखास्तमा र पीडितले मौकामा कागज गर्दा घटनास्थल फरक फरक रहेको देखिएको साथै चश्मदिद् गवाहसमेत नभएको अवस्थामा शुरूबाट प्रतिवादीहरूलाई सजाय हुने ठहरी भएको फैसला फरक पर्न सक्ने देखिदा छलफलको लागि विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत राजविराजको मिति २०६६।८।२४ को आदेश ।
समूहले गरेको भनेको कुटपीटमा केही चोट चिन्ह देखिनु पर्नेमा चिकित्सकको परीक्षण प्रतिवेदनबाट केही नदेखिएको हुँदा प्रतिवादीहरूले कसूर गरेको भन्ने ठोस सबूद प्रमाणको अभाव हुँदा प्रतिवादीहरूले आरोपित कसूर गरेको ठहर गरी शुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६४।९।१० मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादीहरूले अभियोग दावीबाट सफाई पाउने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६६।१०।१३ को फैसला ।
पीडित मिनाकुमारी चौधरीले मौकामा गरेको कागजलाई समर्थन गरी अदालतमासमेत बकपत्र गरेकी छिन् । गर्भिणी महिलालाई अस्वभाविकरूपले पेटमा दखल पुग्ने गरी लछार पछार गर्ने क्रममा पीडित पोखरीको डीलबाट तल खस्न पुगी बाहिरी चोट नदेखिए पनि सोही पीडाबाट गर्भपतन हुन पुगेको छ । बकपत्र गर्ने क्रममा विषयको श्रृंखलामा सामान्य फरक पर्न सक्दछ तर घटना व्यहोराको उल्लेख सामान्य फरक पर्दैमा वारदात नै नभएको भनी निष्कर्षमा पुग्नु उचित होइन । अतः प्रतिवादीहरूको कुटपीटको कारणबाट मिनाकुमारीको गर्भपतन भएको अवस्थामा प्रतिवादीहरूलाई अभियोग दावीबाट सफाई दिएको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपन्यायाधिवक्ता श्री पुष्कर सापकोटाले प्रस्तुत गर्नु भएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनु पर्ने देखिँन आयो ।
यसमा प्रतिवादी कलावती चौधरी, ममताकुमारी चौधरी, रामकुमार चौधरी, कानन चौधरी र रूकमणि चौधरीले गर्भवति मिनाकुमारी चौधरीलाई कुटपीट तथा लछार पछार गरेको र सोही कारणबाट मिनाकुमारी चौधरीको गर्भपतन भएको हुँदा प्रतिवादीहरूलार्ई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २८ नं. को कसूरमा सोही महलको २८ नं.बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी भएकोमा अभियोग माग दावीबमोजिम सजाय हुने ठहर गरेको शुरू सप्तरी जिल्ला अदालतको फैसला उल्टी गरी प्रमाणको अभावमा प्रतिवादीहरूले आरोपित कसूरबाट सफाई पाउने ठहर गरेको पुनरावेदन अदालत राजविराजको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको पाइयो ।
२. गर्भिणी महिलालाई अस्वभाविकरूपले पेटमा दखल पुग्ने गरी लछार पछार गर्ने क्रममा पीडित पोखरीको डीलबाट तल खस्न पुगी बाहिरी चोट नदेखिए पनि सोही पीडाबाट गर्भपतन हुन पुगेको र बकपत्र गर्ने क्रममा घटना व्यहोराको विषयको श्रृंखलामा सामान्य फरक परे पनि वारदात नै नभएको भन्न नमिल्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर रहेको छ ।
३. अभियोग दावी एवम् पुनरावेदन जिकीरबमोजिम प्रतिवादीहरूले आरोपित कसूर गरेका हुन होइनन भन्ने तर्फ विचार गर्दा मीनाकुमारी गर्भवती भएको र निजको गर्भपतन भएको कुरामा विवाद भएन तर निज मिनाकुमारीको गर्भपतन यीनै प्रतिवादीहरूको कुटपीटको कारणबाट भएको हो होइन भन्ने नै प्रस्तुत विवादमा निरोपण गरिनु पर्ने प्रश्न रहेको छ ।
४. मिनाकुमारीको हकभोग भित्रको पोखरीको डीलमा प्रतिवादी कलावती चौधरीले मिति २०६२।५।४ का दिन घाँस काटेको विषयमा सोही स्थानमा मिनाकुमारी चौधरी र कलावती चौधरी बीच विवाद हुँदा अन्य प्रतिवादीहरू रामकुमार चौधरी, ममता चौधरी, कानन चौधरी र रूकमणि चौधरीसमेत आई सबै प्रतिवादीहरूले लात मुक्काले कुटपीट लछार पछारसमेत गरेको कारणबाट मिनाकुमारी चौधरीको पेटमा भएको ६ महिनाको गर्भको बच्चाको मृत्यु हुन गएको भन्ने जाहेरी र अभियोग छ । तर उक्त आरोपित कसूरमा प्रतिवादीहरू अनुसन्धान अधिकारी र अदालतमासमेत इन्कार रही बयान गरेको अवस्था छ ।
५. मिनाकुमारीको शरीरको परीक्षण प्रतिवेदनमा No definite opinion can be made for the cause of IUFD.There was no signs of external injury over the body of Mrs. Meena kumari Chaudhary at the time of Admission. भन्ने उल्लेख छ । पाँच जना व्यक्तिहरूले एउटा व्यक्तिउपर सामूहिक आक्रमण गरी कुटपीट गरेको भए पीडित भनिएकी मिनाकुमारीको शरीरको कुनै न कुनै भागमा त्यसरी कुटपीट गरिएको चोटको चिन्ह देखिनु पर्दथ्यो, तर शरीरको बाहिरी भागमा कुनै पनि कुटपीटका चोटका चिन्ह नभएको भन्ने तथ्यको पुष्टि परीक्षण प्रतिवेदनले गरेको छ । यसरी विशेषज्ञले परीक्षण गरी प्रस्तुत गरेको रायको आधिकारिताका सम्बन्धमा प्रश्न उठाउनु पर्ने कुनै कारण छैन ।
६. जहाँसम्म तथ्यको उल्लेखमा सामान्य फरक परेपनि त्यसले वारदात स्थापित गर्नमा कुनै तात्विक असर पार्न सक्दैन भन्ने पुनरावेदन जिकीर रहेतर्फ विचार गर्दा वारदातको जानकारी पाएका, देखेका वा स्वयम आफै पीडित भएका भनिएका व्यक्तिहरूले अनुसन्धानको क्रममा र अदालतमा उक्त कुरा व्यक्त गर्दा वारदातको चित्रणमा शिलशिला वा क्रम नमिलेको त्यति कारणले मात्र इन्साफमा तात्विक असर पार्दैन तर ति व्यक्तिहरूले व्यक्त गरेको कुरामा नै विरोधाभाष छ भने त्यस्तो विरोधाभाष रूपले व्यक्त गरिएको कुरालाई आधार बनाई निर्दोषीलाई दोषी सावित गर्ने आधार हुन सक्दैन । पीडितका पति जाहेरवालाले घटनाका सम्बन्धमा दिएको जाहेरीमा श्रीमतीलाई कुटपीट गरी घाइते बनाएको भन्ने सुनी घटनास्थलमा जाँदा सख्त घाइते अवस्थामा छाडेको अवस्थामा फेला पारेको भनी उल्लेख गरेका छन भने अदालतमा गरेको बकपत्रमा घटना आफ्नै आँखाले देखेको भनी उल्लेख गरेका छन । यसरी जाहेरी दरखास्तमा सुनेको र अदालतमा गरेको बकपत्रमा देखेको भनी परस्पर विरोधाभाष कुरा गरेका छन । सख्त घाइते अवस्थामा वारदातस्थलमा श्रमितीलाई फेला पारेको भन्नु तर निज पीडितको शरीरमा कुटपीटका कुनै लक्षण नदेखिनुबाट जाहेरवालाका भनाई नै शंकास्पद छन । यसरी जाहेरवाला र स्वंयम् पीडितले वारदातका विषयमा नै विरोधाभाष कुरा उल्लेख गर्नु र पीडितको शारीरिक परीक्षणसमेतबाट कुटपीट गरेको कुनै चिन्ह नपाइनुबाट वारदात नै स्थापित हुन सक्ने अवस्था छैन । वारदात स्थापित हुने त्यस्तो विश्वासप्रद प्रमाणसमेत वादी पक्षबाट गुजार्न सकेको पाइदैन । वारदात नै स्थापित हुन नआएको अवस्थामा जाहेरवाला तथा पीडित भनिएकी मिनाकुमारीले शंकास्पद किसिमले व्यक्त गरेका कुरालाई अदालतले प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिएन । त्यसकारण यी प्रतिवादीको कार्यबाट मिनाकुमारी चौधरीको गर्भपतन भएको तथ्य स्थापित नभएको हुँदा प्रतिवादीहरूले आरोपित कसूरबाट सफाई पाउने ठहर गरेको पुनरावेदन अदालतको फैसलालाई वेमनासिब भन्न मिलेन ।
७. अतः माथि विवेचित आधार र कारणबाट जाहेरवाला र पीडितको भनाई विरोधाभाषपूर्ण रहेको, समूहले गरेको भनेको कुटपीटमा कुटपीटका कुनै चोट चिन्ह नदेखिएको हुँदा प्रतिवादीहरूले कुटपीट गरी मिनाकुमारी चौधरीको गर्भपतन गराएको भन्ने वारदात नै स्थापित हुन नआएबाट प्रतिवादीहरूले आरोपित कसूर गरेको ठहर गरेको शुरू सप्तरी जिल्ला अदालतको मिति २०६४।९।१० को फैसला उल्टी गरी प्रतिवादीहरूले अभियोग दावीबाट सफाई पाउने ठहर गरेको पुनरावेदन अदालत राजविराजको मिति २०६६।१०।१३ को फैसला मिलेको देखिदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
का.मु.प्र.न्या.दमोदरप्रसाद शर्मा
इति संवत् २०७० साल असार ९ गते रोज १ शुभम्
इजलास अधिकृत : दीपक ढकाल