निर्णय नं. ३४९२ - ज्यान

निर्णय नं. ३४९२ ने.का.प. २०४५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको फौ.पु.नं. ४५६
फैसला भएको मिति : २०४५।४।३०।१ मा
वादी/पुनरावेदक : खेलू भण्डारीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.स.गढैया गा.पं. वा.नं.३ बस्ने कामी राउत कुर्मीसमेत
मुद्दा : ज्यान
(१) शंकाको भरमा मात्र ज्यान जस्तो अपराधमा अपराधी ठहर्याई सजायँ गर्न नमिल्ने ।
(प्रकण नं. ३१)
(२) ज्यानसम्बन्धीको १४ नं. उसै मौकामा उठेको कुनै रीस थाम्न नसकी प्रहार गर्दा ज्यान मर्न गएको अवस्थामा मात्र लागू हुने ।
(प्रकरण नं. ३२)
पुनरावेदकतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
फैसला
न्या.प्रचण्डराज अनिल : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको लगतमा दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ :
२. २०३८ साल भाद्र ६ गतेका दिन २ बजेको समयमा मेरो छोरा वर्ष २२ को रामस्वरुप भण्डारी मालीगाउँ देखि उत्तर मनुसमारा बाँधको तिरमा भैंसी चराउँदा कामी राउतको छोराले भैंसी नचराउ भन्दा कामीको छोरा दशरथलाई मेरो छोराले घच्याडी दिंदा दशरथले आफ्ना बाबुलाई भनेपछि कामी तथा कृष्णचन्द्र, अनुप, ठगाप्रसाद, जमिरि, खेलावन, गंगा समेत भई मेरो छोरालाई कुटपिट समेत गरेको र भैंसी समेत कामीले लगे, घाइते छोरालाई गाउँकै सुन्दरदेवले सुई दबाई समेत दिएका हुन्, कुटपिट गराउनमा गाउँकै वैधनाथ ठाकुर तथा वैधनाथ महतो समेतको राय सल्लाहबाट मेरो छोरालाई कुटपिटकै चोटपीरबाट रामस्वरुपको मृत्यु भएकोले कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको खेलु भण्डारीको जाहेरी ।
३. जमिर राउत र जोगेन्द्रले पाता फर्काई बाँधेको र कामी राउत, कृष्णचन्द्र राउत गंगा राउतले लाठी हानेको, वैद्यनाथ ठाकुरले कुटेर आईज भनी बचन दिएका भन्ने समेत व्यहोराको अधिकांश मानिसहरुले गरिदिएका सरजमीन मुचुल्का ।
४. वारदात हुनुभन्दा ३ दिन अगावै छातिको विरामीले ग्रस्त परी छोरा महेन्द्र राउतलाई साथमा लिई सीतामढी गई डाक्टरसंग दवाई उपचार गरी बनेको हुँ । २ दिनपछि पर्ने रामश्वरुपलाई बिन्देश्वर, कृष्णचन्द्र, गंगा राउत समेतका मानिसहरुले कुटपिट गरेको भन्ने सीतामढी मै सुनें, मैले कुनै अपराध गरेको छैन । २ वर्ष अगाडि म गडैया गा.पं.को उप प्रधानपञ्च भई काम गर्दा जाहेरवालालाई काम कुरामा चित्त नबुझी उठेका रीस इविबाट झुठ्ठा पोल गरेका मात्र हुन् भन्ने समेत व्यहोराको प्र.खेलावन राउतले प्रहरीमा गरेको कागज ।
५. वारदात भयो भनेका दिन म गाउँमा छैन । बाबु खेलावन राउतलाई छातिको बिरामीले गर्दा उपचार गराउन ३ दिन अगाडि सितामढी डाक्टर कहाँ गई उपचार गरी बसेका छौं । रामश्वरुप झगडा भई कुटपिटबाट मरे भन्ने र झाडावान्ता पनि भएको थियो भन्ने सीतामढी मै सुनें । कसका कुटाइबाट मरे नदेखेको हुँदा किटान गर्न सक्तिन । तसर्थ म र मेरा बाबु समेत भई कुटपिट गरेको भन्ने झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.महेन्द्र राउतले प्रहरीमा गरेको कागज ।
६. २०३८ साल भाद्र ६ गतेका दिन म आफ्नो गाउँमा नभई २ दिन अगाडि मेरो छोरीको छोरा नातीको छेवर र मुलसमानी गराउनु पर्ने हुँदा निमन्त्रणा गरेकाले भारत सीतामढी जिल्ला मेजरगञ्ज थाना मोहिनी गाउँमा गएको हुँ । ४, ५ दिनपछि मात्र गाउँघरमा आउँदा गोठालाहरुको झगडा भएको रात रामस्वरुपलाई वान्ता पनि भयो रे भन्ने सुनेको हुँ, मैले कुटपिट गरेको र झगडामा सरिक भएको छैन भन्ने समेत व्यहोराको प्र.अमिरी धोवीले प्रहरीमा गरेको कागज ।
७. २०३८ साल भाद्र ६ गते जि.स.मिर्जापुर मधुवनी बस्ने छविलाल कानुको मेरो गाउँदेखि १½ कोष दक्षिणमा रहेको खेतमा माटो कटाउन गएको थिएँ । रातमा घर आउँदा भोलिपल्ट वारदात भएको सुनेको हुँ । म ज्यान मुद्दाको वारदातमा नगएको हुँदा मेरो उपरको उजूरी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.जमिरी राउत कुर्मीले प्रहरीमा गरेको कागज ।
८. २०३८ साल भाद्र ६ गते भारत वसविटा बजार भएकोले बजार भर्न भनी गएको थिएँ, फर्किएर आउँदा गाउँदेखि उत्तर पश्चिम बाँधमा झगडा भएको सुनी गई झगडा नगर, पञ्चायत गरी सल्ट्याउँला भनी भनेको हुँ, कुटपिट गरेको देखिन, मैले लाठी चलाएको होइन भन्ने समेत व्यहोराको प्र.जोगेन्द्र राउत कुर्मीले प्रहरीमा गरेको कागज ।
९. २०३८ साल भाद्र ६ गतेका दिन शनिवार हो, २ बजेको समयमा सरकारी बाँधमा भैंसी चराई रहेको र मेरो छोरा दशरथले सम्झाउँदा मेरो छोरालाई मर्ने रामस्वरुपले कुटपिट गरेको थाहा पाई जाँदा रामस्वरुपलाई मैले पनि लात, मुक्का लवटा समेतले हानेको हुँ । वास्तविक मारपीट झगडा कुटपिट हुँदा वारदातमा म जोगेन्द्र, कृष्णचन्द्र, गंगा राउत, अनुप राउत, रामेश्वर राउत, बिन्देश्वरका बीचको कुटपिट भएको हो । वारदातमा जाने मध्ये गंगा राउत र कृष्णचन्द्रले लाठी चलाएका हुन । उक्त दिन साँझ ११ बजे रामस्वरुपलाई पखाला लाग्दा गाउँकै सुन्दरदेवले चार पटक सुई दिएको देखेको हुँ, मर्लान जस्ता थिएनन् र वारदात स्थलबाट घरसम्म हिंडेरै आएका थिए, भोलि पल्ट विहान अं.११ बजे रामश्वरुपको मृत्यु भयो भन्ने समेत व्यहोराको प्र.कामी राउतले प्रहरीमा गरेको कागज ।
१०. २०३८ साल भाद्र ६ गते शनिवार म आफ्नै विद्यालयमा छु । मर्ने रामस्वरुप कहिले कसरी मरे थाहा छैन, मैले खेलु भण्डारीको जाहेरी बमोजिम पञ्चायती गरेको र रामश्वरुपलाई कुट भनी आदेश दियो भन्ने कुरा झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.वैद्यनाथ महतोले प्रहरीमा गरेको कागज ।
११. म स्कूलको पियन भएकोले शनिवार भए पनि रेखदेखको लागि भरदिन स्कुलमा नै छु । रामश्वरुप भण्डारी कुटपिट झगडाबाट वा निजलाई झाडावान्ता पनि भएको थियो रे के बाट मरेका हुन् यकीन भन्न सक्तिन । झगडा कुटपिट भएको पनि मैले देखेको नहुँदा थाहा छैन भन्ने समेत व्यहोराको प्र.उपेन्द्र राउतले प्रहरीमा गरेको कागज ।
१२. ०३८।५।६ गतेका दिन मृतक रामस्वरुपले जाहेरीमा उल्लेख भएको सरकारी बाँधमा भैंसी चराउँदाको अवस्था अभियुक्त मध्येका कामी राउतको छोरा दशरथ राउतसंग वारदात भई हात हालाहाल कुटपिट हुन जाँदा निज दशरथले सो कुरा अभियुक्त कामी राउतलाई गई सुनाउँदा निज समेतका गंगा राउत कुर्मी, कृष्णचन्द्र, बिन्देश्वर, रामेश्वर, अनुप, जोगेन्द्र राउत समेत आई मृतकसंग वादविवाद हुँदा रीस थाम्न नसकी जोगेन्द्र राउत र जमिरी राउतले पाता फर्काई अभियुक्त कामी राउत, गंगा राउत, कृष्णचन्द्रले समेत लाठी लातमुक्काले हानी कुटी रामस्वरुपलाई घाइते पारेको कुरा जाहेरवालाले चाल पाई निज घाइतेलाई इलाज गराएको भन्ने किटानी जाहेरी परेको, इलाज गर्ने इजाजत बेगर निज मृतकलाई इलाज गरी आएकोमा इलाज गर्नेको हकमा कानुन बमोजिम हुने नै हुँदा यसतर्फ दावी लिइरहनु नपर्ने । बुझिएका अभियुक्त कामी राउत, जोगेन्द्र राउत, जमिरी राउत समेतले मृतकलाई कुटपिट गरेकोमा सोही पिरबाट रामस्वरुप मरेको देखिनाले ज्यानसम्बन्धी महलको नं. १ र १४ नं. अनुसार कामी राउत कुर्मी, जोगेन्द्र राउत कुर्मी, जमिरी राउत कुर्मी फरार भएका गंगा राउत कुर्मी, कृष्णचन्द्र राउत कुर्मी, रामेश्वर राउत, बिन्देरश्वर राउत, अनुप राउत कुर्मी समेतलाई सजायँ गरिपाउँन र वैद्यनाथ ठाकुरलाई सोही महलको १७(३) अनुसार र अभियुक्त मध्ये हाजिर भएका अमिरी धोवी, उपेन्द्र, महेन्द्र खेलाउन, बैद्यनाथ महतोलाई हाजिर जमानीमा छाडिएको र पथलु, ठगाप्रसाद समेत उपर प्रस्तुत मुद्दामा मुद्दा चलाउन सबूद पुग्न आउने नदेखिँदा सबूदको अभावमा मुद्दा नचलाउने हुँदा सम्बन्धित कागजात मिसिल र मानिस समेत यसै साथ प्रस्तुत गरेको छौं भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
१३. २०३८।५।६।६ गतेका दिन २ बजेको समयमा नहरको माटो काटी रहेको थिएँ, आफूले १५ दिन देखि ठेकेदार छविलाल कानूले मलाई जनमा राखेको हुँदा बिहान ६ बजे गई साँझ ६ बजे मात्र घरमा आउने गरेको थिएँ । पाटापाटी इविले झुठ्ठा पोल गरे गराएको हुँदा अभियोगपत्र झुठ्ठा हो मैले रामस्वरुप भण्डारीलाई कुटी मारे मराएको होइन छैन । निज झाडावान्ताले मरे भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको प्र.जमिरी राउत कुर्मीले सर्लाही जि.अ.मा गरेको बयान ।
१४. २०३०।५।६ गतेका दिन २ बजे म बसविटामा छु, २।३ दिन अघि गएको र ६ गते पछि मात्र घरमा आएको हुँ । म मनुसमारामा गई रामस्वरुप भण्डारीलाई कुटपिट गरी मारे मराएको छैन, निजलाई कसले कुटी मारे थाहा छैन । गाउँघरको पाटापाटी इवीले गर्दा झुठ्ठा उजूर गरे गराएको हुँदा र प्रहरीमा मैले गरेको बयान स्वेच्छाले गरेको नहुँदा पोल अभियोगपत्र समेत झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.जोगेन्द्र राउत कुर्मीले सर्लाही जिल्ला अदालतमा गरेको बयान ।
१५. ०३८।५।६ गतेका दिन २ बजेको समयमा म भदैया क्याम्प शाखामा छु । म नोकरी गर्ने हुँदा त्यही छु । मर्ने रामस्वरुप भण्डारीलाई कस्ले के परिबन्दबाट कुटे कुटेन मलाई थाहा छैन । मैले कुटे मारे मराएको समेत होइन । झाडावान्ताले मरे भन्ने कुरा भाद्र ७ गते गाउँघरमा थाहा पाउँ । गाउँको पाटापाटीको इविले गर्दा पोल उजूरी गरेको । सरजमीन व्यहोरा र प्रहरीमा गरेको कागज स्वेच्छाले गरेको नहुँदा अभियोग समेत झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.कामी राउतले सर्लाही जिल्ला अदालतमा गरेका बयान ।
१६. २०३८।५।६ गतेका दिन अं.२ बजेको समयमा म गाउँदेखि उत्तरपूर्व ७ कोष फरकमा रहेको बहिनीको घर भेलहीमा छु । बहिनी विरामी छ भन्ने २०३८।५।४ मा थाहा पाई ज्वाई सुखल राउतको घरमा साँझ ६ बजे पुगी ९ गतेसम्म त्यहाँ बसी औषधी उपचार गरी १० गते मात्र फर्केको हुँ । म समेत भई रामस्वरुप भण्डारीलाई कुटपिट गरी मारेको होइन । सरजमीनले गाउँको पाटापाटी पोलटिक्सको कारणले पोल गरेको हुँदा मेरो उपरको प्रतिवेदन समेत झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.कृष्णचन्द्र राउत कुर्मीले तामेली म्यादी पुर्जीको म्यादमा सर्लाही जिल्ला अदालतमा गरेको बयान ।
१७. २०३८।५।६ गते म पंजाबमा छु । बैशाख १० गते घरबाट हिंडी देंगस्टेशनमा ट्रेन चढी ५ दिन रात ट्रेनमै हिंडी १५ गते पंजाब पुगेको र पंजाब जगदम्बा भन्ने ठाउँमा रामआश्रे कुर्मी प्र.मध्ये अनुप गंगाराम राउत, रामेश्वर समेत गई काम गरी बसेको र कार्तिक ६ गते मात्र घर आएको हुँदा मैले रामस्वरुप भण्डारीलाई कुटपिट गरी मारेको होइन । रामस्वरुप भण्डारी झाडावान्ताको कारणले मरेकोमा मेरो उपर समेत पोल गरेको छ भन्ने सुनी बयान गर्न उपस्थित छु । सरजमीनले म घरमा नभएको व्यक्ति उपर किन पोल गरे निजहरु नै जानुन । म निर्दोष हुँदा प्रहरी प्रतिवेदन अनुसार सजायँ हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्र.बिन्देश्वर राउत कुर्मीले सर्लाही जि.अ.मा गरेको बयान ।
१८. ०३८।५।६ गतेका दिन मसँग पंजाब जानु भएका प्र.बिन्देश्वर, रामेश्वर भन्ने रामआश्रे अनुप समेतका व्यक्ति बाहेक अरुसँग भेटघाट नहुने । प्रतिवादीले रामस्वरुपलाई कुटपिट गरे नगरेको थाहा छैन । २०३८ साल बैशाख १० गते पंजाब गई कार्तिक ६ गते मात्रै गाउँघरमा आएको हुँदा रामस्वरुपलाई कुटपिट गरी मारेको होइन छैन भन्ने समेत व्यहोराको प्र.गंगाराम राउत कुर्मीले सर्लाही जि.अ.मा गरेको बयान ।
१९. २०३८ साल बैशाख १० गते म काम गर्न भनी मेरा गाउँका प्र.अनुप, बिन्देश्वर, गंगाराम समेत हिंडी १५ गते भारत पंजाब पुगी जगदम्बा भन्ने ठाउँमा खेती, किसानी मजदुरीको काम गरी बसेको कार्तिक ५ गते घर फर्की आएको हुँदा २०३८।५।६ गते पंजाबमै थियौं । मैले रामस्वरुपलाई कुटपिट गरी मारेको होइन छैन भन्ने समेत व्यहोराको प्र.रामेश्वर भन्ने रामआश्रे राउत कुर्मीले स.जि.अ.मा गरेको बयान ।
२०. २०३८।५।६ गतेका दिन म गाउँघरमा नभई पंजाबमा छु । बैशाख १० गते हिंडी १५ गते पंजाब पुगी जगदम्बा भन्ने ठाउँमा खेती किसानी र मजदूरी काम गरी बसेको र कार्तिक ६ गतेका दिन घर आइपुगेको छु । साथमा प्र.मध्येका रामेश्वर कुर्मी बिन्देश्वर समेत गएका थिए । पंजाबबाट फर्केर आएपछि रामस्वरुप झाडावान्ताको रोगले मरेको भन्ने सुनेको छु । तसर्थः मैले निज मृतक रामस्वरुपलाई कुटपिट गरेको होइन छैन भन्ने समेत व्यहोराको प्र.अनुप राउत कुर्मीले स.जि.अ. मा गरेको बयान ।
२१. ०३८ साल श्रावण अन्तिममा आलुको विउ खरीद गर्न सिन्धुली जिल्ला चिसापानी टांगीमा भएको र भाद्र २ गते आलु खरीद गरी ३ गते बाटामा दूधौली गाउँमा विरामी परी सिथ्र्यौली हेल्थपोष्टमा गई ४ गतेदेखि ८ गतेसम्म उपचार दवाई गराएको र १३ गते मात्र आफ्नो गाउँघरमा पुगेकोले ०३८।५।६ गते गाउँघरमा नहुँदा मैले जाहेरवालाको छोरालाई कुटी मारे मराएको होइन छैन भन्ने समेत व्यहोराको प्र.वैद्यनाथ ठाकुरले स.जि.अ. मा गरेको बयान ।
२२. ०३८।५।६ गतेका दिनरात जि.रौतहट हजमनिया गाउँमा छु । कपडा खरीद गर्न गौर गएको हजमनियामा मामा हुँदा शम्भु राउतको घरमा आएको हुँ । म गाउँघरमा आएपछि रामस्वरुप झाडावान्ताबाट मरे भन्ने सुनेको हुँदा मैले निजलाई कुटी मारे मराएको छैन भन्ने समेत व्यहोराको प्र.अनुपको छोरा भन्ने लक्ष्मी राउत कुर्मीले स.जि.अ.मा गरेको बयान ।
२३. ०३८।५।६ गतेका दिन २ बजेको समयमा गाउँकै जोगेन्द्र मिश्रको दरवाजामा बच्चालाई पढाई रहेको थिएँ । खेलुमालीको छोरा झाडावान्ताबाट मरे भन्ने सुनें । कुटपिट भयो भन्ने सुनेको र देखेको पनि छैन । मैले राम स्वरुपलाई इलाज गरेको र सुई दवाई पनि दिएको छैन भन्ने समेत व्यहोराको प्र.सुन्दरदेवसिंह भूमिहारले स.जि.अ. मा गरेको बयान ।
२४. प्रतिवादीहरुले कुटपिट गरेकै र सो कुटपिटकै चोटपीरबाट रामस्वरुपको मृत्यु भएको हो भन्ने कुरा कतैबाट पनि शंकारहित रुपमा प्रमाणित हुन नसकेको यस स्थितिमा प्रत्यक्ष र भरपर्दो सबूद प्रमाणको अभावमा ज्यानमारा जस्तो कसूर ठहराउन नमिल्ने र वैद्यनाथ ठाकुरले रामस्वरुपलाई भनी सहयोग पुर्याएको भन्ने पनि कतैबाट देखिन नआएको समेत हुनाले उपरोक्त उल्लिखित कारण प्रमाणहरुबाट प्रतिवादी कामी राउत, जोगेन्द्र राउत, जमिरी राउत, गंगा राउत, बिन्देश्वर राउत, रामेश्वर राउत, कृष्णचन्द्र राउतहरुले राम स्वरुपलाई कुटेको भन्ने र सो कुटपिटकै चोटबाट रामस्वरुपको मृत्यु भएको भन्ने दावी र वैद्यनाथले मार्ने संयोग पारिदिएको भन्ने समेत प्रहरी प्रतिवेदनको दावी पुग्न नसक्ने र उक्त प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको सर्लाही जिल्ला अदालतको २०४०।२।३ को फैसला ।
२५. उक्त स.जि.अ. ले गरेको फैसलामा चित्त बुझेन । उक्त इन्साफ बदर गरी वादी माग दावी बमोजिम गरिपाउँ भनी श्री ५ को सरकारले म. क्षे.अ.मा गरेको पुनरावेदन ।
२६. यकीन प्रमाणको अभावमा वा संदिग्ध अवस्थामा समेत कसूरदार ठहराउन नमिल्ने हुन्छ । अतः कामी राउत बाहेका अन्य प्रतिवादीलाई सफाई दिएको शुरु ठहर मिलैकै देखिन्छ । निज प्रतिवादी कामी राउतको पनि राम स्वरुपसँग ज्यान लिनु पर्ने किसिमको रीसइवी परे भएको देखिँदैन, उसै मौकामा उठेको रीस थाम्न नसकी घातक रुपको प्रहार गर्दा ज्यान मर्न गएको ज्यानसम्बन्धीको १४ नं. को अवस्था पनि यसमा मिल्ने देखिँदैन, निज रामस्वरुप कुटपिट बाहेक अन्य कारणबाट मरेको भन्ने पनि प्रमाणित हुन सकेको देखिँदैन । तसर्थः रामस्वरुप प्रतिवादी कामी राउतको कुटपिटबाट भवितव्य परी मरेको ठहर्छ । प्रतिवादी कामी राउतलाई ज्यानसम्बन्धीको ६ नं. ले कैदवर्ष २ को सजायँ हुन्छ । शुरु जिल्ला अदालतको इन्साफ केही उल्टी हुन्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
२७. मृतक रामस्वरुपले आफ्नो छोरा दशरथलाई कुटपिट गरेको कारणबाट प्रतिवादीहरु समेतले कुटपिट गरेको कुरा कामी राउतले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागजमा म.क्षे.अ.ले प्रमाणको रुपमा ग्रहण गरेको पाइन्छ । छोरालाई कुटपिट गरेको कारणले तत्काल रिस थाम्न नसकी मृतकलाई कुटपिट गरेको र सोही कुटपिटबाट मृत्यु भएकोमा ज्यानसम्बन्धी १४ नं. आकर्षित हुनेमा कामी राउतलाई भवितव्य ठहर्याई ज्यानसम्बन्धी ६ नं. अन्तर्गत सजायँ गरी अन्य प्रतिवादीहरुलाई सफाई दिने गरेको फैसला ज्यानसम्बन्धीको १४ नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको प्रतिकूल भई सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटी भएकोले प्रतिवादी कामी राउतको हकमा ज्यानसम्बन्धी १४ नं. र अन्य प्रतिवादीहरुको हकमा म.क्षे.अ.को फैसला उल्टाइ प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ भई हक इन्साफ हुन अनुरोध गर्दै पुनरावेदनको अनुमति पाउँ भन्ने श्री ५ को सरकारको यस अदालतमा दर्ता हुन आएको निवेदन ।
२८. मृतकले आफ्नो छोरालाई कुटपिट गरेको कुरा थाहा पाई सो कारणबाट तत्काल रीस थाम्न नसकी अन्य प्रतिवादीहरु सहित हुल बाँधी गई एक्लो मृतकलाई कुटपिट गरेको र सोही कुटपिटको कारणबाट मृतकको मृत्यु हुन गएको यस स्थितिमा ज्यानसम्बन्धीको १४ नं. को अवस्था देखिँदा ज्यानसम्बन्धी ६ नं. अनुसार कामी राउतलाई सजायँ गर्ने र अरुलाई सफाई दिने गरेको म.क्षे.अ.को फैसलामा अ.बं.१८४(क) र प्रमाण ऐन, ०३१ को दफा ५४ समेतको त्रुटी भएको देखिएको र उक्त त्रुटी सार्वजनिक महत्वको विषयको समेत देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजन बेञ्चको आदेश ।
२९. नियम बमोजिम पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकारको तर्फबाट खटिई आउनु भएको विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र प्रतिवादी बैद्यनाथ ठाकुरको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीको बहस जिकिर समेत सुनियो ।
३०. यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेतर्फ निर्णय दिनु पर्ने हुन आयो ।
३१. यसमा निर्णयतर्फ विचार गर्दा मर्ने रामश्वरुप मनुषमारा बाँधमा भैंसी चराउन गएकोमा प्रतिवादी मध्येको कामी राउतको छोरा दशरथसँग विवाद परी भोलिपल्ट निज रामस्वरुपको मृत्यु भएको देखिन्छ । लाश जाँच प्रकृति मुचुल्काबाट मृतकको शरीरमा छाला खुइलिएको, सुनिएको र निलो डाम सुम्लो परेको समेत सामान्य किसिमको घाउचोट लागेको देखिन आएको छ । प्रतिवादी मध्ये कामी राउत कुर्मी बाहेकका प्रतिवादीहरु आरोपित कसूर गरेकोमा अधिकारप्राप्त अधिकारी तथा अदालतमा आई बयान गर्दा इन्कारी रहेको पाइन्छ । निज प्रतिवादीहरुले आरोपित कसूर गरेको हो भन्ने कुराको ठोस सबूद प्रमाण पेश हुन सकेको पनि देखिँदैन । शंकाको भरमा मात्र ज्यान जस्तो अपराधमा अपराधी ठहर्याई सजायँ गर्न मिल्दैन । तसर्थः कामी राउत बाहेकका अन्य प्रतिवादीहरुलाई सफाई दिएको शुरुको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै हुँदा केही परिवर्तन गरिरहन परेन ।
३२. प्र.कामी राउतको हकमा विचार गर्दा म.क्षे.अ.को फैसलाले ज्यानसम्बन्धीका ६ नं. ले कैद वर्ष २ सजायँ गरे उपर निजको यस अदालतमा पुनरावेदनको अनुमति निवेदन परेको देखिएन । निज कामी राउत मनुषमारा बाँधको रेखदेख गर्ने व्यक्ति भएको र छोराको भनाइमा लागी निज प्रतिवादी कामी राउत सो विवादमा संलग्न रहेको भन्ने कुरा संकलित सबूद प्रमाणबाट देखिन आएको छ । अधिकारप्राप्त अधिकारी समक्ष कामी राउतले आफूले कुटपिट गरेको भन्ने कुरा स्वीकार गरेको पाइन्छ । निज मृतक रामस्वरुप कुटपिटबाट मरेको भन्ने कुरा लाश जाँच प्रकृति मुचुल्काबाट पनि देखिनुको साथै निज मृतककी आमा रामपरी तथा स्वास्नी श्रीमतीको बकाइबाट पनि पुष्टि भइरहेको देखिन्छ । मनुषमारा बाँधको रेखदेख गर्ने व्यक्ति भएको नाताले त्यस वारदात स्थलमा भैंसी चराउन आउने मृतकलाई नचराउ भनी नमानेपछि सामान्यतया विवाद उत्पन्न हुन जानु स्वभाविकै देखिन्छ । तर निज कामी राउतले मृतक रामस्वरुपलाई कुटपिट गरी ज्यान लिनु पर्ने कुनै रिसइवी रहे भएको मिसिलबाट देखिँदैन । यस स्थितिमा ज्यानसम्बन्धीको १४ नं. आकर्षित हुनसक्ने देखिएन । किनकी ज्यानसम्बन्धीको १४ नं. उसै मौकामा उठेको कुनै रीस थाम्न नसकी प्रहार गर्दा ज्यान मर्न गएको अवस्थामा मात्र लागू हुने देखिन्छ । तसर्थः मर्ने रामस्वरुप प्रतिवादी कामी राउतको कुटपिटबाट भवितव्य परी मरेको ठहर्याई निजलाई ज्यानसम्बन्धीको ६ नं. ले कैद वर्ष २ को सजायँ गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिएकोले केही परिवर्तन गर्न नपरी इन्साफ मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल श्रावण ३० गते रोज १ शुभम् ।