शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४९३ - कर्तव्य ज्यान

भाग: ३० साल: २०४५ महिना: असोज अंक:

निर्णय नं. ३४९३ ने.का.प. २०४५ अङ्क ६

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको फौ.पु.नं.५८५

सम्वत् २०४४ सालको फौ.सा.नं. १०८

फैसला भएको मिति : २०४५।३।२०।२ मा

 

पुनरावेदक/प्रतिवादी : जि.कार्यालय कारागार शाखा कास्कीमा थुनामा रहेको सार्की भन्ने गम्भीरे दमाई

विरुद्ध

प्रत्यर्थी/वादी : ऐ.ऐ.वस्ने वन्तु दमिनीको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)      घटनापूर्वक परपुरुषसँग श्रीमतीको अनुचित सम्बन्ध भएको कुराबाटै विवाद परी वारदात हुन गएको स्थितिमा प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिँदा निजलाई मुलुकी ऐन अ.बं.१८८ नं.बमोजिम दश वर्ष कैद हुने ।

(प्रकरण नं. १५)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

 

फैसला

न्या.प्रचण्डराज अनिल : पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४३।७।९।१ को फैसला उपर पर्न आएको पुनरावेदन तथा साधक जाहेर भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको व्यहोरा यसप्रकार छ :

२.     सेतीगंगाको तीरमा गंभिरे दमाईले निजकी श्रीमती र नाबालक छोरीलाई के गरी मारेछ, छोरीको ज्यानै बेपत्ता भएको स्वास्नीको लाश देखेको भन्ने खबर भएकोले र लाश समेत देखिएकोले निज गंभिरे दमाईलाई दाखिल गरेको छु । जे गर्नुपर्छ गरिपाउँ भन्ने समेत बत्ती दमिनीले धा चोक गा.पं.मा दिएको निवेदन र निवेदन साथ उक्त गा.पं.को पत्र समेत प्राप्त भएको ।

३.     पूर्व पुरुचौर गा.पं.एरिया पश्चिम लाहाचोक गा.पं.पर्ने भीर उत्तर सेती गण्डकी बगी आएको दक्षिण सेती गण्डकी यति ४ किल्लाभित्रमा गंभिरे दमाईको श्रीमती दुर्गा दमिनीको लाश उत्तानो परेको, निधारमा काटेको घाउबाट रगत बगेको देखिएको, भुँडी केही फुले जस्तो भन्ने समेत व्यहोराको मृतक दुर्गा दमिनीको लाश प्रकृति मुचुल्का ।

४.     मेरी श्रीमती यो दुर्गाबाट ३ छोरा २ छोरी जन्मिएका हुन, कान्छी छोरी जन्मेपछि मैले परिवार नियोजन गरेबाट मलाई झ्याम्म घुमाउने, स्वास्नीलाई करणी गर्न मन नहुने गरेको हुँदा हाम्रो झगडा हुने र निज श्रीमतीले गाउँको काले दमाईसँग अनुचित सम्बन्ध राखेको हल्ला हुन थालेपछि हाम्रो झगडा बढ्न थाल्यो । ०४०।१२।२९ गते मलाई औषधि गर्न भनी पोखरा आएको ऐ.३० गते आलु प्याजको झोला समेत बोकी घर जान हिंड्दा बाटोमा काले दमाईसँग पल्केको सम्बन्धमा झगडा हुँदै गएको थियो । सेती गण्डकी तर्दा बाँसको फटके पुग्दा झगडा झन् चर्केकोले फटके तर्ने बेलामा मैले रिसले छोरी बोकेकी स्वास्नी दुर्गालाई सोही फटकेबाट धकेली सेती गण्डकीमा फाली दिएको हुँ, छोरीको लाश कता पुग्यो थाहा छैन भन्ने प्र.सार्की भन्ने गंभिरे दमाईंको  प्रहरीमा बयान ।

५.     बाँसको फटकेबाट गंभिरे दमाईले आफ्नी श्रीमती दुर्गा र छोरीलाई मार्ने नियतले धकेली सेती गण्डकीमा फालिदिएको हो, नाबालक छोरीको लाश बेपत्ता छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

६.     सबूद प्रमाणबाट प्रतिवादी गंभिरे दमाईले आफ्नी श्रीमती, छोरीलाई सेती गण्डकीमा खसाली मारेको देखिन आएकोले निजलाई ज्या.सं.को १नं. को कसूरमा ऐ.को १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन दावी ।

७.     मलाई करिब २ वर्षदेखि चक्कर लाग्ने दिमाग ठिक नहुने भएको छ । परिवार नियोजन गरेदेखि श्रीमती दुर्गासँग झगडा भइरहन्थ्यो । २०४०।१२।२९ गते म श्रीमती छोरी समेत भई पोखरातर्फ आएको केही सामान समेत बोकी घरजान भनी हिंड्यौं, सेती नदीमा बांसका फट्के थिए श्रीमती अगाडि म पछाडि थिएँ, सो अवस्था के भयो के भयो मलाई मैले निज श्रीमतीलाई झ्याम्म समातेर धकेल्न लागें उसले पनि मलाई धकेल्न थाली तीनजना गंगाजीमा खस्यौं म बाहिर निस्कें, छोरी र स्वास्नी दुर्गालाई बगाएर लग्यो । प्रहरीमा भएको बयान मैले भने अनुसार लेखिएको ठिक छ भन्ने समेत व्यहोराको प्रतिवादी गंभिरे दमाईले अदालतमा गरेको बयान ।

८.     मानसिक रोग जाँच गर्नको लागि प्रतिवादीलाई पठाएकोमा मानसिक रोग नै छ भन्न सकिँदैन भन्ने समेत व्यहोराको गण्डकी अञ्चल अस्पतालको पत्र ।

९.     श्रीमती दुर्गाको चरित्रमाथी शंकाको कारणबाट बेला मौकामा झगडा समेत हुने गरेको तथा सेती नदीको फटके तर्न लाग्दा पिठ्यूँमा छोरी बोकी हिंडेकी स्वास्नीलाई नदीको पानीमा खसाली सोबाट मृत्यु भएकोमा प्रतिवादी सावित नै रहेको र चित्रनाथको बकपत्रबाट समेत सो कुरा समर्थित भएकोले निज प्रतिवादी गंभिरे दमाईले ज्या.सं.को १ नं.को कसूर गरेको ठहर्छ । निजलाई ऐ.को १३(३) नं.अनुसार सर्वश्वसहित जन्मकैद हुन्छ । अ.बं.१८६ नं. अनुसार साधक जाहेर गर्नु भन्ने समेत व्यहोराको २०४२।२।२७।१ को कास्की जिल्ला अदालतको जाहेरी फैसला ।

१०.     स्वास्नीलाई पानीमा खसालेमा सावित भएको भन्ने एक पक्षीय तथा मनोगत फैसला भएकोलाई न्यायसंगत मान्न सकिन्न । चित्रनाथको हवाला फैसलामा उल्लेख भएकोमा शंका दर्शाउने सरजमीन मेरो विरुद्ध लक्षित हुनु नपर्ने हुँदा उक्त फैसला बदर गरी ज्यानसम्बन्धी ५ र ६ नं. अन्तर्गतको सुविधा पाई इन्साफ पाउन जिकिर गर्दछु भन्ने समेत व्यहोराको प्रतिवादी गम्भिरे दमाईको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

११.     प्रतिवादी सार्की भन्ने गंभिरे दमाईलाई ज्यानसम्बन्धीको १ नं.को कसूर गरेको भनी ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैद गरेको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१२.    श्री प.क्षे.अ.को फैसला कानुन विपरीत भएका र न्याय समेतलाई उपेक्षा गरी फैसला गरेकोले इन्साफ पाउँ भन्ने यस अदालतमा दर्ता हुनआएको पुनरावेदनपत्र ।

१३.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीको बहस जिकिर समेत सुनियो ।

१४.    पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेतर्फ निर्णय दिनुपर्ने हुनआएको छ ।

१५.    यस्मा निर्णयतर्फ विचार गर्दा किटानसाथको जाहेरी परेको, सरजमीनका व्यक्तिहरुले श्रीमती दुर्गा र छोरीलाई मार्ने नियतले सेती गण्डकीमा धकेली दिएको भन्ने कुरा पुष्ट्याँई गरी बकिदिएको पाइन्छ । निज प्र. गंभिरे दमाईले सेती नदीमा छोरी र स्वास्नीलाई धकेली स्वास्नी छोरी मरेको भन्ने प्रहरी र अदालतमा समेत साविती बयान गरिदिएको छ । तसर्थः अन्य सबूद प्रमाणको आधारमा समेत सर्वश्वसहित जन्मकैद गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । तर निज प्र.गंभीरे दमाईको श्रीमती दुर्गा दमाईको काले दमाईसंग अनुचित सम्बन्ध भएको र बेला बखत झगडा हुने र वारदातको दिनमा पनि सोही विषयमा वादविवाद भई फटके तर्ने बेलामा धकेला धकेल भएपछि यी प्रतिवादी समेत ३ जना नै सेती नदीमा खसेको र यी गम्भीरे दमाई नदीबाट निस्केको देखिएको र घटनापूर्व परपुरुषसंग श्रीमतीको अनुचित सम्बन्ध भएको कुराबाट विवाद परी वारदात हुन गएको यस्तो स्थितिमा प्रतिवादी गंभिरे दमाईलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिँदा निजलाई मुलुकी ऐन अ.बं.१८८ नं.बमोजिम दश वर्ष कैद हुन्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन परी कारवाही भएको हुँदा साधकको लगत कट्टा गरिदिनु अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी गम्भीरे दमाई के माथि इन्साफ खण्डमा लेखिएबमोजिम कैद वर्ष १० हुने ठहरेकाले शुरुले गर्ने गरेको जन्मकैद लगत कट्टा गरी कैद वर्ष १० (दश) मात्र कायम गर्नु भनी शुरुमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु........१

पु.वे. प्रतिवादी गंभीरे दमाई के मिति ०४२।२।११ मा निजको भागको अंश रोक्का भई आएको देखिएकोले निजलाई सर्वश्वसहित जन्मकैद हुने इन्साफ परिवर्तन भई १० वर्ष कैद हुने ठहरेकाले सो अंश भाग रोक्का राख्न पर्दैन, फुकुवा गरिदिनु भनी शुरुमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु.....२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु...........३

 

उक्त रायमा म सहमत छु ।

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल आषाढ २७ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु