निर्णय नं. ३४९४ - कर्तव्य ज्यान

निर्णय नं. ३४९४ ने.का.प. २०४५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४४ सालको फौ.पु.नं. ५४१
सम्वत् २०४४ सालको फौ.सा.नं. १३७
फैसला भएको मिति : २०४५।३।२० मा
पुनरावेदक/प्रतिवादी : कारागार शाखा पाल्पामा बन्दी रिते भन्ने रितबहादुर रोका क्षेत्री
विरुद्ध
विपक्षी/वादी : देवीप्रसाद गैरे समेतको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) वारदात घट्नुभन्दा अगाडिकै रिसइवीबाट मृतकहरुलाई चिरपट दाउराले हिर्काई सोही चोटबाट मृत्यु भएको भन्ने देखिन आएकोले आत्मरक्षा गर्दाकै कारणबाट मृतकहरुको मृत्यु भएको हो भन्ने जिकिर मनासिब नदेखिने ।
(प्रकरण नं. १५)
फैसला
न्या.प्रचण्डराज अनिल : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन दर्ता भई आएको मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. २०४० साल कार्तिक १८ गतेको राती खानपिन गरी हामीहरु आ–आफ्ना घरमा सुतेका थियौं, रातको अं.१२:३० बजेको समयमा जाहेरवाला मध्येका देवीप्रसाद गैरेका श्रीमतीले आमा होटलको ढोका ढक ढक्याएको आवाज आएको छ, उठ्नु भनी मलाई उठाई म उठी सुन्दा राजु राजु भन्ने आवाज समेत सुने, चिनेका र बराबर भेट भई कुराकानी हुने रिते भन्ने रितबहादुर क्षेत्री थियो । म समेतका जाहेरवालाहरुलाई बोलाई तलाबाट ओर्ली हेर्दा होटलको अगाडि एकजना र त्यसको अन्दाजी १० मिटर दक्षिणमा एकजना मानिस रगताम्य भई लडी मरिरहेको देख्यौं एकजना भाग्दै गरेको देखी हामीहरु समेतले पिछा गर्दै जाँदा नभेटिएको हुँदा मुस्ताङ होटलमा आई फोनद्वारा प्रहरी थाना बुटवलमा खबर गर्न खोज्दा चावी बन्द भएकोले सकसबहादुर थकालीको घरबाट प्रहरी थाना बुटवलमा खबर गर्यौं, रिते भन्ने रितबहादुर हो, पूरा विश्वास भएकोले निज रितबहादुरलाई पक्राउ गरी कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।
३. बु.न.पं.वार्ड नं. ८ ठूलो बस स्टेशनमा रहेको थकालीको होटलदेखि अं.८ मिटर उत्तर आमा होटलदेखि अं.२५ मिटर दक्षिण चित्रबहादुरको घरदेखि अं.२० मिटर पूर्व बस स्टेशनको पूर्व सीमा किनारदेखि १०० मिटर पश्चिम यति ४ किल्लाभित्र टाउकोमा चोट परी रगताम्य भई २ जना अपरिचित मानिस मरिरहेको देखिएको ठीक छ भन्ने समेतको व्यहोराको घटनास्थलको विवरण ।
४. २०४०।७।१८ गते म खस्यौलीको बस स्टशेनमा नै थिएँ, बेलुका रक्सी खाई सेनीमा हलतर्फ गएँ । सेनीमा छुटिसकेपछि स्टेशनमा आउँदा बस स्टेशनमा हरिबहादुरलाई नाम नजानेको रिक्सावाला तथा नचिनेको अरु दुइजनालाई देखी सो रिक्सावाला २ जनासँग पहिलेको रिसइवीमा मार्नेसम्मको मनसाय रहिरहेको थियो, वादविवाद गर्न शुरु गरे, विश्वकर्मासँग जाइलाग्दा ४ जना मध्ये एकजना लाहुरेले आफूले बाँधिराखेको पेटी प्रहार गर्यो मैले होटल बाहिर रहेको चिरपट दाउरा उठाई लाहुरेको चण्डीमा हिर्काएपछि त्यो लाहुरे ढल्यो । ढली सकेपछि धेरैपटक दाउराले प्रहार गरेको हुँ । निज मरेको विश्वास भयो, लु.अं. ६१ नं.को बसको आडमा एकजना देखें रिक्सावाला मगर होस् भनी सोद्धा हुँ भन्यो लाहुरेलाई प्रहार गरी हातमा लिएको दाउराले निजलाई हानें, प्रहार गरी मारें । मैले २०४०।७।१८ गते राती २ जनालाई मारेको हुँ भन्ने समेत व्यहोराको रिते भन्ने रितबहादुर रोका क्षेत्रीको प्रहरीमा भएको बयान कागज ।
५. रितबहादुरले रणबहादुर, कुलबहादुर समेत २ जनालाई कर्तव्य गरी मारेको भन्ने सरजमीन मुचुल्का ।
६. म तर्फ रितबहादुर जाइलाग्यो सो देख्दा लाहुरेले आफूले बाँधेको कमरपेटी निकाली रितहादुरलाई प्रहार गर्न खोज्यो, रितबहादुरले होटल अगाडिको चिरपट दाउरा उठाई लाहुरेलाई कन्चटमा प्रहार गरे, लाहुरे ढलेपछि रितबहादुरकै प्रहारबाट मरे, कुलबहादुरलाई के कस्तो कर्तव्य गरी मारे मैले देखिन भन्ने समेत व्यहोराको हरिबहादुर विश्वकर्माको कागज ।
७. रिते भन्ने रितबहादुर रोका क्षेत्रीले रणबहादुर भण्डारी क्षेत्री र कुलबहादुर मगरलाई कर्तव्य गरी मारेको सिद्ध हुन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं.को अपराध गरेको हुँदा निजलाई ज्यानसम्बन्धी १३(३) अनुसार सजायँ हुन माग दावी गरिन्छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
८. लाहुरे रिक्सावालालाई मैले चिरपटले हिर्काएर मारेको हुँ भन्ने समेत व्यहोराको रिते भन्ने रितबहादुर रोका क्षेत्रीले अदालतमा गरेको बयान ।
९. प्रतिवादी रितबहादुरकै कर्तव्यबाट २ जना मानिस मरेका हुन् भन्ने समेत व्यहोराको देवीप्रसाद गैरे तथा टुकबहादुर क्षेत्री समेतको बकपत्र ।
१०. निज रिते भन्ने रितबहादुर रोका क्षेत्रीले प्रहरी प्रतिवेदनमा उल्लिखित रणबहादुर र कुलबहादुरलाई कर्तव्य गरी मारेको सिद्ध हुन आएकोले ज्यानसम्बन्धी १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेतको रुपन्देही जिल्ला अदालतको फैसला ।
११. रुपन्देही जिल्ला अदालतबाट जाहेरी दर्खास्त सरजमीनको किटानी र सावित बयान इत्यादिको आधारमा मलाई ज्यानसम्बन्धीको १३ नं. को देहायको (३) अनुसार अंश सर्वश्वसहित जन्मकैद गरी गरेको शुरु फैसला बदर गरी आरोपित कसूरबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको निज रिते भन्ने रितबहादुर रोका क्षेत्रीको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदनपत्र ।
१२. सबूद प्रमाण र शुरु फैसलामा उल्लिखित बुँदा प्रमाण समेतबाट प्रहरी प्रतिवेदन दावी बमोजिम प्र.रितबहादुर रोका क्षेत्रीलाई सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरु रुपन्देही जिल्ला अदालतको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१३. कानुनी सिद्धान्तप्रति वास्ता नगरी कानुन र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत हुने गरी रुपन्देही जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ बदर गरी रिहाई गरिपाउँ भन्ने रिते भन्ने रितबहादुर रोका क्षेत्रीको यस अदालतमा पर्न आएको पुनरावेदन ।
१४. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ त्यसमा निर्णय दिनुपर्ने देखिन आयो ।
१५. मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा प्रतिवादी रितबहादुर रोका क्षेत्रीले नै रणबहादुर र कुलबहादुरलाई मारेको भनी जाहेरवाला देवीप्रसाद गैरे समेतले किटानीसाथ जाहेरी दर्खास्त दिएको देखिन्छ । जाहेरवालाहरु अदालतमा आई बकपत्र गर्दा समेत जाहेरीमा उल्लेख भएको कुरालाई पुष्ट्याइँ हुने गरी बकपत्र गरेको पाइन्छ । पुनरावेदक प्रतिवादीले लंगुरबुर्जा खेल्दाको पैसा नदिएको र रिक्सावालासंग रिक्साको भाडा सम्बन्धमा झगडा हुँदा सोही रिसले चिरपट दाउराले हानी मारेको हुँ भनी अधिकारप्राप्त अधिकारी र अदालतमा समेत बयान गरेको पाइन्छ । सरजमीनका मानिसहरुले रितबहादुरले नै मारेको भन्ने कुरा किटानीसाथ सरजमीन व्यहोरामा लेखाई अदालतमा समेत सोही व्यहोरा समर्थन गरी बकपत्र गरेको देखिन आउँछ । मृतकहरुलाई हान्न प्रयोग गरे भनेको चिरपट दाउरामा लागेको रगत, रौं, बसको बोडीमा लागेको रगत र पुनरावेदकको कपडामा लागेको रगतसमेत मृतकहरुको रगतसंग भिड्न आएको भन्ने विशेषज्ञको राय देखिँदा पुनरावेदक प्रतिवादीकै कर्तव्यबाट मृतक रणबहादुर र कुलबहादुरको मृत्यु हुन भएको देखिन आयो । जहाँसम्म पुनरावेदक प्रतिवादीले आत्मरक्षाको लागि चिरपट दाउराले हिर्काउँदा मृत्य हुन गएको भन्ने जिकिरको सम्बन्धमा विचार गर्दा वारदात घटनुभन्दा अगाडिकै रिसइवीबाट मृतकहरुलाई चिरपट दाउराले हिकाई सोही चोटबाट मृत्यु भएको भन्ने देखिन आएकोले आत्मरक्षा गर्दाकै कारणबाट मृतकहरुको मृत्यु भएको हो भन्ने जिकिर मनासिब देखिएन । तसर्थः पुनरावेदक प्रतिवादी रितबहादुर रोका क्षेत्रीलाई सर्वश्वसहित जन्मकैद गर्ने गरेको रुपन्देही जिल्ला अदालतको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादीको पुनरावेदन परी कारवाही भएको हुँदा साधकको लगतबाट कारवाही गरिरहनु परेन । साधकको लगत कट्टा गरिदिनु । पुनरावेदक प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद भएको हुँदा केही सजायँ गरिरहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल आषाढ २० गते रोज ५ शुभम् ।