निर्णय नं. ३४९५ - कर्तव्य ज्यान

निर्णय नं. ३४९५ ने.का.प. २०४५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको फौ.पु.नं. ४४५
सम्वत् २०४५ सालको फौ.सा.नं. १३२
फैसला भएको मिति : २०४५।४।१०।२ मा
पुनरावेदक/वादी : ईनर चौधरीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.सप्तरी शम्भुनाथ गा.पं.वार्ड नं. ७ बस्ने दनहु चौधरी थारुसमेत
मुद्दा : कर्तव्य ज्यान
(१) साधारण झगडा हुँदा आवेशमा आई हँसिया जस्तो हतियार प्रहार गरी मर्नेसम्मको अवस्था पार्ने अभियुक्तलाई कानुनको सो अ.बं.१८८ नं.को सुविधा दिन उचित नदेखिने ।
(प्रकरण नं. १९)
(२) १४ वर्षको नाबालकले उमेर पुगेकोलाई ज्या.सं.महलको १३ नं. मा उल्लेख भएबमोजिम मार्नको लागि भाग्न उम्कन नपाउने गरी समाती राख्न सकेको होला भन्ने पत्यारलायक देखिन नआउनुको साथै मर्नेलाई कुनै अवस्था भाग्न उम्कन नपाउने गरी समातेको भनी मान्न सकिने अवस्था देखिन नआउने ।
(प्रकरण नं. २०)
पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की
फैसला
न्या हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।३।३।४ को फैसला उपर चित्त नबुझी वादी श्री ५ को सरकारको पुनरावेदन परी तथा साधक सदरको लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. २०३९ साल कार्तिक २३ गतेका दिन डाँका दनहु र ध्रुव नाराणको भरत चौधरीको बाँसको कची काटेको सम्बन्धमा झैझगडा हुँदा दनहुको हातमा भएको हँसियाले भरतको घाँटीमा रोपी घाइते भएको इलाज हुँदाहुँदै मृत्यु भएकोले कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने जाहेरी दर्खास्त ।
३. गुन्द्रीमाथि भरत चौधरीको लाश रहेको टाउको पूर्व खुट्टा पश्चिम दायाँ कोल्टे भई आँखा दुबै बन्द बायाँपट्टि कुमको बगल घाँटीमा अन्दाजी २ ईञ्च गोलाई भएको घाउ सो घाउको प्वालबाट रगत निस्किएको भन्ने लाश प्रकृति मुचुल्का ।
४. मर्ने मेरो लोग्ने भरत चौधरीको र दनहु चौधरीको बाँसको कची र वास काट्ने विषयमा झगडा मारपिट हुँदा दनहुले आफ्नो हातमा भएको हँसियाले हिर्काउँदा सो चोटबाट मृत्यु भएको हो भन्ने मर्नेकी श्रीमती फुलीमा चौधरीको कागज ।
५. बुझिएका सरजमीन ११ जना मध्ये दफा १ र ११ ले हँसियाँ रोपी मारेको भनी भनेका र अन्य दफा २, ३, ४, ५, ६, ७, ८, ९, १० का व्यक्तिहरुले मार्नु पर्ने कुनै रिसइवी थिएन । दनहुको र भतिजा भरतको बाँसको कचि र बाँस काट्ने विषयमा झगडा हुँदा दनहुको हातमा भएको हँसियाले भरतको घाँटीमा अचानक लाग्न गई सोही चोटबाट मरेको हुनुपर्छ दनहुको भरत खास भतिजा हुन भनी वकी लेखी दिएको सरजमीन मुचुल्का ।
६. बुझिए सम्मका सम्पूर्ण सम्मिलित कागजातहरुबाट सहोदर काका भतिजाको नाता र खास मार्नु पर्ने स्थिति समेत नदेखिएको बाँसको कचि र बाँस काटेको विषयमा काका भतिजाको भनाभन झगडा हात मिसामिस गरी कुटपिट हुँदा सो अवस्था दनहुले कचि काट्न लिई गएको हातमा भएको हँसिया अचानक मर्ने भरतको घाँटीमा लाग्न गई सो चोटबाट इलाज हुँदाहुँदै मृत्यु भई ऐ.ज्या.सं.को ५ नं.बमोजिम कसूर गरेको देखिन प्रमाणित हुन आएकोले दनहु चौधरी उपर ऐ.को दफा ६ को २ बमोजिम कारवाही भई सजायँ हुन र ध्रुवनारायण चौधरीलाई अधिकांश सरजमीनले सफाई दिए तापनि जाहेरी दर्खास्त र मर्नेको श्रीमती फुलिमा चौधरीको कागजबाट घटनास्थलमा सरिक देखिएको र १४ वर्षको उमेर समेत देखिएकोले निज ध्रुवनारायण उपर मु.ऐ.दण्ड सजायँको १ नं.बमोजिम कारवाही भई सजायँ समेत राय व्यक्त गरी सम्बन्धित फायल यसैसाथ प्रस्तुत गरिएको छ भन्ने प्रहरी प्रतिवेदन ।
७. प्रस्तुत मुद्दामा मर्ने भरतको श्रीमतीको कागज जाहेरी दर्खास्त अघिल्लो दिन देखि भएको झगडालाई २०३९।७।२३ गते लाठी हँसिया प्रहारबाट भरतको मृत्यु भएको कुरा सरजमीनको दफा १ का देवनारायण र दफा ११ को व्यहोराबाट समेत सम्पर्क भएकोले भवितव्यबाट मृत्यु भएको भन्ने प्रहरी रायसंग सहमत हुन नसकिएकोले जाहेरी दर्खास्त भरतको श्रीमतीको कागज सरजमीन व्यहोराबाट समेत लाठी प्रहार गर्ने र हँसिया रोप्ने क्रमशः ध्रुवनारायण दनहु चौधरी देखिनुका अतिरिक्त निज प्र.दुवैजनाले आफ्नो सबूद कुनै गुजार्न नसकी भागी हिंडेको समेतबाट लाठी प्रहार गर्ने प्र.ध्रुवनारायण र हँसिया रोप्ने दनहु चौधरी दुवैजनालाई ज्यानसम्बन्धीको क्रमशः १३(३) र १३(१) अनुसार सजायँ हुन र चस्मदिद व्यक्तिहरु जाहेरवाला श्रीमती फुलिमादेवी र देवनारायण चौधरी समेतलाई बुझी पाउन समेत अनुरोध छ भन्ने स.अ.तथा स.अ.को छुट्टै राय भएको ।
८. २०३९।७।२३ गते घरमा पढिरहेको थिएँ बाबु बाँसघारी कचि काट्न गएको हल्ला भएपछि म त्यहाँ जाँदा भरत लडिरहेको थियो, के भयो भनी बुझ्दा बाबु हँसिया नलिई कचि काट्न बाँसमा चढ्न लागेको बेला भरतले कचिले हिर्काउँदा बाबु बाँसबाट लडी तल झर्दा फेदमा रहेको भरतको घाँटीमा हँसियाको टुप्पो गाडिन गई निजको मृत्यु अचानक हुन गएको रहेछ मैले भरतलाई मार्न सहयोग गरेको हैन । निजसंग मेरो कुनै रिसइवी थिएन । सरजमीनका केही मान्छे र जाहेरवालाले किन झुठ्ठा आरोप लगाए उनीहरु नै जानुन् म निर्दोष छु भन्ने समेत ध्रुवनारायण चौधरीको २०४१।१।१३ मा अदालतमा गरेको बयान ।
९. भतिजो भरत चौधरी म बाँसको रुखमा चढ्न लागेको अवस्था मैले काटेको बाँसको कचिले भतिजो भरतले बाँसको बोट मुनिबाट मलाई पछाडिबाट हिर्काउँदा अताली बाँसबाट तल झरे तल भरत रहेछ मेरो हातमा राखेको हँसियाले निजको घाँटीमा रोपीन गयो मैले मारौं भन्ने मनसाय लिई भरतको घाँटीमा अगाडिको रिसइवी साधन जानी जानी हँसियाले घाटी काटी दिएको होइन । मृतकसंग कुनै रिसइवी छैन, जाहेरवाला र सरजमीनका १।११ का व्यक्तिले किन त्यस्तो लेखिदिए निजै जानुन् भन्ने समेत व्यहोराको प्र.दनहु चौधरीको २०४१।१।१३ को अदालतमा भएको बयान ।
१०. स्वर सुनी जाँदा ध्रुवले भरतलाई समातेको दनहुले भरतको गर्दनमा हँसिया बोकी लात छातीमा दिई हँसिया खिची भागी गएको मैले देखेको हुँ । अस्पताल लैजान लाग्दा आधै बाटोमा भरतको मृत्यु भएको हो भन्ने समेत एकै मिलानको जाहेरवाला र सरजमीनका व्यक्ति गजेन्द्रप्रसाद चौधरी र देवनारायण चौधरीको अदालतमा आई गरेको बकपत्र र मृतककी श्रीमती फुलीयादेवीको बकपत्र ।
११. दनहुबाँसको झांगमा चढी कचि काटिरहेको थियो । बाँसको बोट मुनि मृतक भरतले दनहुलाई बाँसको कचिले हिर्काउँदा प्र.दनहु लडेको दनहुको हातको हँसिया मृतकको घाँटीमा खसेको सोहीबाट हो वा के हो मृतक मरेको प्र.दनहुले भतिजो मृतक भरतलाई मारौं भन्ने नियतले हँसियाले हिर्काएको होइन भन्ने समेत व्यहोराको प्र.का साक्षी लक्ष्मी साहुले अदालतमा गरेको बकपत्र ।
१२. प्रतिवादी ध्रुवनारायण चौधरीले आरोपित अभियोगबाट सफाई पाउने ठहर्छ । प्रतिवादी दनहु चौधरीका हकमा विचार गर्दा निज विरुद्ध जाहेरवाला र सरजमीनको गजेन्द्रप्रसाद देवानारायणको भनाई शंकास्पद भई अविश्वसनीय देखिन आएको छ । आफ्नो हातको हँसियाले लाग्न गएमा प्र.दनहु सावित भएको देखिन्छ । मर्नेसँग निजको इवी अदावत देखिन आउँदैन । निजको भनाईलाई साक्षी लक्ष्मीले समर्थन गरेको देखिन्छ । तापनि असावधानीपूर्वक आफूले लिएको हँसियाले मर्ने भरत चौधरीलाई लाग्न गई भरतको मृत्यु भएको देखिनाले निजले ज्यानसम्बन्धी महलको ६(२) को कसूर गरेको ठहर्छ । १३(३) र १३(१) बमोजिम सजायँ गरिपाउँ भन्ने दावी पुग्न सक्दैन भन्ने समेत सप्तरी जि.अ.को २०४२।५।५ को फैसला रहेछ ।
१३. शुरु जि.अ.को फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरुलाई अञ्चल सरकारी वकिलको राय बमोजिम सजायँ हुन अनुरोध छ भन्ने समेत पु.क्षे.अ.व. कार्यालय धनकुटाको पुनरावेदनपत्र ।
१४. प्र.ध्रुवनारायणलाई आरोपित कसूरबाट सफाई दिने गरेको सप्तरी जि.अ.को इन्साफ मनासिब छ श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
१५. प्र.दनहु चौधरीलाई शुरु जि.अ.ले ज्या.सं.को ६(२) नं. ले सजायँ गरेको फैसला गल्ती ठहर्छ । निज प्र.दनहु चौधरीलाई आरोपित कसूर अनुसार ज्यानसम्बन्धीको १३(२) नं. ले राजश्व सहित जन्मकैद हुने ठहर्छ । तर सर्वश्वसहित जन्मकैद हुने ठहरे तापनि ज्यान मार्नेसम्मको रिसइवी नदेखिएको र झगडा हुँदा आवेगमा आई हँसिया जस्तो सामान्य हतियारले हिर्काएका तथा अत्याधिक रक्तश्रावले भरतको मृत्यु हुन गएको हुँदा सर्वश्वसहित जन्मकैद गर्दा चर्को हुन जाने देखिँदा अ.बं.१८८ नं.बमोजिम कैद वर्ष १० दश गर्ने राय साथ साधक सदरको लागि राय प्रकट गरेका छौं भन्ने समेत पु.क्षे.अ.को मिति २०४४।३।३।४ को फैसला रहेछ ।
१६. प्र.ध्रुबनारायणको हकमा मात्र सफाई दिने गरेको क्षे.अ.को इन्साफमा चित्त बुझेन निजलाई समेत दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी आएको र प्र.दनहु चौधरीको हकमा साधक सदरको लागि पेश भई आएको रहेछ ।
१७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएका प्रस्तुत मुद्दामा प्र.ध्रुवनारायणलाई दावी बमोजिम सजायँ हुनु पर्ने भन्ने विद्वान सरकारी उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्कीले लिनुभएको जिकिर बमोजिम सजायँ हुनु पर्ने नपर्ने र क्षे.अ.ले साधक सदरको लागि पठाएको उक्त राय समेत मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१८. यसमा अभियुक्त दनहु वारदात स्थलमा रहेको सावित भई बाँसमा चढेको अवस्था मृतकले कचिले हान्दा आफू खसेको र सो खस्दा हातमा भएको हँसिया मृतकको गर्दनमा रोपिन गई मरेको भन्ने जिकिर लिएको देखिन आएको छ । यदि वास्तवमा सोही बमोजिम घटना घटेको भए आफू भाग्न नपर्ने र सरजमीनका मौकामा देख्ने मानिसबाट सोही कुरा समर्थन हुनु पर्ने थियो । तर सरजमीनका मानिसले निजको जिकिर समर्थन नगरी बाँसको कुरामा झगडा हुँदा हातमा भएको हँसियाले रोपेको भनी देखाएकोबाट अभियुक्तको उक्त जिकिर समर्थन हुन नसकेको र निजको साक्षीले पनि अभियुक्तको यो जिकिरलाई पुष्टि नगरी हातको हँसिया खसी लागेकोबाट मरेको भनी देखाएकोबाट अभियुक्तको यो जिकिर मनासिब देखिन नआएकोले अभियुक्तले मृतकसित बाँसको कुरामा झगडा हुँदा हँसियाले रोपी हानी मारेको ठहर्याएको इन्साफ क्षे.अ.को मनासिब ठहर्छ ।
१९. जहाँसम्म अ.बं.१८८ नं.बमोजिम राय लगाइकन सजायँ हुनु पर्ने भन्ने भनाई छ सो कम सजायँ हुनु पर्ने कारणमा झगडा भएको अवस्था आवेशमा आई हँसियाले हानेको भनी देखाएको देखियो । साधारण झगडा हुँदा आवेशमा आई हँसिया जस्तो हतियार प्रहार गरी मर्नेसम्मको अवस्था पार्ने अभियुक्तलाई कानुनको सो सुविधा दिन उचित नदेखिएकोले सो रायसम्म बदर हुन्छ ।
२०. अब ध्रुबनारायणलाई सफाई दिएको नमिल्ने भन्ने हकमा श्री ५ को सरकारतर्फबाट खासगरी प्रमाणको सही मूल्याङ्कन नभएको भन्ने आधार लिई जाहेरवाला मर्नेकी श्रीमती तथा सरजमीन वारदात देख्ने मानिसहरुले अभियुक्त ध्रुवनारायण वारदात स्थलमा रहेको र निजले मृतकलाई समाई राखेको भनी बकपत्र गरेको हुँदा निजलाई समेत ज्यान सं.को १३ बमोजिम सजायँ हुनु पर्ने भन्ने जिकिर लिएको देखिन्छ । तर अभियुक्त ध्रुवनारायण उमेरमा १४ वर्षको मात्र हो भन्ने कुरामा विवाद देखिँदैन जबकी मर्ने भरत उमेर पुगेको बालिग देखिन आएकोबाट १४ वर्षको नाबालकले उमेर पुगेको भरतलाई ज्या.सं.महलको १३ नं. मा उल्लेख भए बमोजिम मार्नको लागि भाग्न उम्कन नपाउने गरी समाती राख्नसकेको होला भन्ने पत्यारलायक देखिन नआउनुको साथै बाँसका कुरामा आफ्ना बाबु र मर्ने भरतको बीच आफ्नै घर आँगनमा झैझगडा हुँदा निज १४ वर्षको व्यक्तिले मर्ने भरतलाई कुनै अवस्था समातेकै भए पनि मर्ने संयोग पारी दिन भाग्न उम्कन नपाउने गरी समातेको भनी मान्न सकिने अवस्था देखिन आउँदैन । प्रहरी प्रतिवेदनमा निजले पनि मर्ने भरतलाई लाठीले हिर्काएको भनी देखाएतर्फ विचार गरेमा पनि सो कुरा साँचो भए लाश जाँच मुचुल्का र पोष्टमार्टम प्रतिवेदनबाट मर्नेको जिउमा अरु घा खत समेत देखिनु पर्ने सो पनि केही देखिएको छैन । यस्तो स्थितिमा निज ध्रुवनारायणलाई पनि सजायँ हुन पर्ने भन्ने श्री ५ को सरकारतर्फको जिकिर मनासिब नदेखिई सफाई पाउने ठहर्याएको इन्साफ पूर्वाञ्चल क्षेत्रीय अदालतको मनासिब ठहर्छ मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमाम सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इति सम्वत् २०४५ साल श्रावण १० गते रोज २ शुभम् ।