शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४९६ - गोश्वारा दर्ता कायम

भाग: ३० साल: २०४५ महिना: असोज अंक:

निर्णय नं. ३४९६ ने.का.प. २०४५ अङ्क ६

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको दे.पु.नं. ५१३

फैसला भएको मिति : २०४५।४।२३।१ मा

 

पुनरावेदक/वादी : धनकुटा नगर पञ्चायत वडा नं.६ बस्ने पद्मकुमार श्रेष्ठ

विरुद्ध

विपक्षी/प्रतिवादी : धनकुटा नगर पञ्चायत वडा नं.५ बस्ने सुवर्णकुमार श्रेष्ठ

 

मुद्दा : गोश्वारा दर्ता कायम

 

(१)                  गोश्वारा हकको जग्गा गोश्वारा हक हुने एक अंशियारको नाउँमा नापी भएकोमा सोबाट अरु गोश्वारा हक हुने अंशियारको हक निजको हक टुटेको प्रमाण बेगर टुट्न नसक्ने ।

(प्रकरण नं. ११)

(२)                नापी पछि तायदाती दिंदा समेत विवादको जग्गाहरुमा वादीको समेत हक लाग्ने भनी देखाई तायदाती समेत दिएको देखिन आएकोले यस अवस्थामा नापी उपर म्यादभित्र उजूर नगरेको भन्ने विपक्षीतर्फका जिकिरसंग सहमत हुन नसकिने ।

(प्रकरण नं. ११)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।

२.     पाण्डव सिंहका ४ छोरा जेठा मोती लाल, माहिला हरिलाल, साँहिला इन्द्रलाल, कान्छा ज्ञानबहादुरको १९९३।१०।१६ मा बण्डा हुँदा धनकुटा जिल्लाको चौविसे कुरुले तेनुवा, मुढे बाँसको डुम्रे, चुवाडे वडार बाख्रे समेतका जग्गा गोश्वारा दर्ता भई सो मध्ये जुवाडे, वडारे बाख्रेको ३ कित्ता जग्गा गोश्वाराबाट साहुलाई बन्धकी दिइएकोमा १९९७ साल महाजाँचमा मेरो बाजे मोतिलालका नाममा दर्ता भई वहाँ पछि मेरो दाजु देवीकुमारले बन्धकी थैली साहुलाई तिरी पुनः गंगारामलाई बन्धकी दिनु भयो । डुम्रे चुवाडेको खोलाबाट उकास भएको जग्गा शंकरकुमार श्रेष्ठ इन्द्रलालको छोरा गोविन्दलाल श्रेष्ठ र ज्ञानबहादुरको छोरा उत्तरकुमार श्रेष्ठ, मोतिलाल श्रेष्ठको छोरा, मेरो दाजु देवीकुमार श्रेष्ठको संयुक्त नाममा २०१० सालमा गोश्वारा रुपमा दर्ता भई देवीकुमार दर्ताको जग्गामा सगोल हुँदा सगोलबाटै भोग तिरो गरी आएकोमा विपक्षीको पिता मेरो दाजु देवीकुमार, भाइ रत्नकुमार, दाजु चद्रकुमार र बहिनी लक्ष्मीकुमारीदेवी र मेरो समेतका बीचमा २०१५।३।१२।५ मा बण्डा हुँदा पिता मोतीलालको भागमा परेको १ भाग जग्गाको ४ भाग लगाई गोश्वाराबाटै भोग तिरो गरी आई भू.सु. ७ नं. फाँटवारी भर्दा मैले क्र.सं.१०, ११, १९, २०, २१  मा र देवीकुमारले क्र.सं.२२, २३, ३१, ३२, ३३ मा भरी भूमिसुधार कार्यालयमा दिएका, भाइ रत्नकुमारले विपक्षीको पिता देवीकुमार उपर अंश मुद्दा दिई कारवाही चलिरहकै अवस्था उक्त जग्गाहरु नापी हुँदा कुरुले तेनुपा गा.पं.वार्ड नं. ५ मा कि.नं.१७६, १७७, १७८ वार्ड नं. २ मा कि.नं.४०, ८८, १९१, ८९ मा ६२० मुदे वास गा.पं.वार्ड नं. ५ मा कि.नं. २९०, २९१, २९२ मा ७७१५३ समेत १४०३ जग्गा नापी भयो अंश मुद्दा चलिरहेको कारणबाट कसैको नाममा नापी नभई झगडा जनिई दर्ता नभई रहेको थियो । सर्वोच्च अदालतबाट २०१५।३।१२ को बण्डा सदर गरी फैसला भएपछि पिता मोतिलालका भागको ४ भागको १ भाग जग्गा मेरो नाम गोश्वारा दर्ता हुने हुँदा दर्ता गरिपाउँ भनी मालपोत कार्यालय धनकुटामा निवेदन दिँदा मेरो नाममा दर्ता नहुँदै उत्तरकुमार, नारायणकुमार, रबिन्द्रलाल समेतले धनकुटा मालमा जग्गा दर्ता गरिपाउँ भनी निवेदन दिई मालले हक बेहकमा अदालतमा उजूर गर्न जानु भनी सुनाएपछि उत्तरकुमार समेत ३ जनाले विपक्षी उपर दर्ता बदर गोश्वारा दर्ता बदर मुद्दा दिई निजहरुको नाउँमा दर्ता हुने ठहरी ०४०।७।१५ र ०४०।७।१६ मा उत्तरकुमार श्रेष्ठ, शंकरकुमार मरी छोरा नारायणकुमार १ इन्द्रलालको छोरा गोविन्दलाल समेत मर्दा रबिन्द्रलाल श्रेष्ठ, मोतीलालको नाती देवीकुमारको छोरा सुवर्णकुमार श्रेष्ठ समेत ४ जनाको संयुक्त नाममा दर्ता गराएकोले अन्यायमा परी फिराद गर्न आएको छु । २०१५।३।१२ को बण्डापत्र अनुसार मेरो समेत हक लाग्ने रत्नकुमारले देवीकुमार उपर दिएको अंश मुद्दाको तायदातीमा उल्लेख भए अनुसार ४ भाग लागि १ भाग विपक्षीको हक हिस्साका भई बाँकी ३ भागमा विपक्षीको हक दर्ता नहुने हुँदा मेरो हक हिस्साको जग्गा मेरो नाउँमा दाजु चन्द्रकुमारको हक हिस्साको जग्गा रत्नकुमारकै संयुक्त गोश्वाराको हुँदा मेरो हक हिस्साको मेरो नाउँमा गोश्वारा दर्ता हुने जग्गा विपक्षीले दर्ता गराएको हुँदा सो विपक्षीको दर्ताबाट बदर गरी मेरो नाममा गोश्वारा दर्ता गराई पाउँ भन्ने समेत व्यहोराको पद्मकुमार श्रेष्ठको फिरादपत्र ।

३.     वादी दावी झुठ्ठा हो मेरो पिता मरी मेरो एकलौटी हक भएको जग्गामा वादीको हक हिस्सा नै नलाग्ने ८१२१ रोपनी जग्गा वादीका नाउँमा दर्ता हुने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.     यसमा हकदैया नै टुटी सकेको हुँदा वादीले सहारा लिएको ऐन र नजीर समेतको आधारबाट वादीलाई सहयोग पुर्‍याउन नसकी वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने मिति २०४२।२।१८।२ को धनकुटा जिल्ला अदालतको फैसला ।

५.     वादी दावी बमोजिम विपक्षी समेत ४ जनाको नाउँ दर्तामा विपक्षीको दर्ताबाट ४ भागको १ भाग जग्गा मेरो नाउँमा गोश्वारा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको पद्मकुमार श्रेष्ठको कोशी अञ्चल अदालत धरानमा परेको पुनरावेदनपत्र ।

६.     वादी दावीको जग्गाहरु २०१५।३।१२ को बण्डापत्रमा ४ जना दाजु भाइहरुको गोश्वारा हक भोग जनिए तापनि उक्त बण्डापत्र कागज रीतपूर्वक अड्डाबाट पारित भएको नभई घरसारको देखिँदा त्यस्तो घरसारको लिखतको आधारमा विवादीत जग्गा वादीको हक पुग्ने रहेछ भन्न मिलेन । ०३१।०३२ सालमा सर्भे नापीमा हेलचक्राई गरी चुपलागी बसी ८।९ वर्षपछि आफ्नो हक स्थापित गर्न खोजेको कानुनसंगत नदेखिँदा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरुको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको कोशी अञ्चल अदालत धरानको २०४२।१।१०।४ को फैसला ।

७.     शुरु धनकुटा जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको कोशी अञ्चल अदालत धरानको फैसलामा प्रत्यक्षतः कानुनी त्रुटी हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी पदमकुमार श्रेष्ठको श्री पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटामा परेको निवेदनमा जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. को हदम्याद  अंगाली गोश्वारा दर्ता गरिपाउँ भन्ने दावी लिई पर्न आएको निवेदकको फिराद दावी पुग्न नसक्ने ठहर्‍याएको धनकुटा जिल्ला अदालतको इन्साफ सदर गरेको कोशी अञ्चल अदालतको फैसलामा उल्टीने त्रुटी नहुँदा पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन कानुन बमोजिम गर्नु भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटाको मिति ०४३।१०।९।६ को आदेश ।

८.     पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटाले मलाई पुनरावेदनको अनुमति नपाउने गरी हराई ०४३।१०।९ मा गरेको आदेश न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) र (ग) र (७) अन्तर्गत पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी पदमकुमार श्रेष्ठको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

९.     यसमा विवादीत जग्गा २०१५।३।१२ को बण्डापत्र तथा ७ नं. फाँटवारीबाट गोश्वाराको भन्ने देखिन्छ । विपक्षी प्रतिवादीले आफ्नो नाम मात्र राखी ०४०।७।१५ र १६ मा गोश्वारा दर्ता गरेको कुरामा वादीले उक्त श्रेस्ताको नक्कल २०४०।१।७ मा सारी थाहा पाएकोमा वादी दावी पुग्न नसक्ने गरेको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको र क्षेत्रीय अदालतले समेत मनासिब ठहर्‍याई अनुमति नदिएको कानुन व्याख्या सम्बन्धी त्रुटी देखिनुको साथै नजीर समेतको त्रुटी देखिन आएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।३।१९।६ को आदेश ।

१०.     नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्कीले मिसिल संलग्न रहेका ७ नं. फाँटवारी र भोगबन्धकीका प्रमाणहरुबाट विवादीत जग्गा मेरो पक्षले विपक्षीलाई हक छाडी दिएको कुनै लिखत प्रमाणको अभावमा विपक्षीका नाममा दर्ता भएकै नाताले विवादीत जग्गा निजको हो भन्न मिल्दैन मेरो पक्षको समेत हक लाग्नु पर्छ भन्ने समेत र विपक्षीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले जग्गा नापी हुँदा यी वादीले उजूर बाजूर गर्नु पर्ने सो केही नगरेको साथै यिनै प्रत्यर्थीका बाबु देवीकुमार र रत्नकुमार श्रेष्ठ भई चलेको अंश मुद्दामा यसै सर्वोच्च अदालतबाट २०३७ सालमा फैसला भएपछि दर्ता गराएकोमा २०४०।९।२७ मा नक्कल सारी लिई थाहा पाएको भनी जग्गा पजनीको १७ र ज.मि. १८ नं. को म्याद अंगाली गोश्वारा दर्ता गरिपाउँ भन्ने समेतको दावी हदम्याद समेतका आधारमा पुग्न सक्दैन भन्ने समेत बहस गर्नु   भयो ।

११.     यसमा यिनै वादी र प्रतिवादीहरु समेतसितको दर्ता बदर गोश्वारा दर्ता मुद्दा र अंश मुद्दाबाट विवादको जग्गाहरु वादी समेतको गोश्वारा हकको हो भन्ने देखिन आएको, यस्तो गोश्वारा हकको जग्गा गोश्वारा हक हुने एक अंशियारको नाउँमा नापी भएकोमा सोबाट अरु गोश्वारा हक हुने र अंशियारको हक निजको हक टुटेको प्रमाण बेगर टुट्न नसक्ने र यिनै वादी प्रतिवादीका हाँगातर्फ चलेको अंश मुद्दाबाट सदर कायम राखेको २०१५।३।१२ को बण्डाबाट पनि सो विवादको जग्गामा वादी समेतको गोश्वारा हक कायम राख्नुको साथै सो मुद्दा यिनी विपक्षीका बाबु देवीकुमारले नापी पछि तायदाती दिंदा समेत विवादको जग्गाहरुमा वादीको समेत हक लाग्ने भनी देखाई तायदाती समेत दिएको देखिन आएकोले यस अवस्थामा नापी उपर म्यादभित्र उजूर नगरेको भन्ने विपक्षतर्फका विद्वान अधिवक्ताको बहस जिकिरसंग सहमत हुन सकिएन । अतः वादी दावी नपुग्ने ठहर्‍याएको शुरुको इन्साफ सदर गरेको अञ्चल अदालतको इन्साफ मिलेको देखिँदा वादी दावी बमोजिम विपक्षीको नाउँमा भएको दर्तामा वादीको समेत हक लाग्ने गरी गोश्वारा कायम हुने ठहर्छ । जग्गा छुट्टी नसकेको हुँदा वादीको हकजति वादीको  नाउँमा छुट्टै दर्ता गरिपाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्तैन । सो ठहर्नाले अरुमा तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक वादी पदमकुमार श्रेष्ठके माथि इन्साफ खण्डमा लेखिएबमोजिम विवादको जग्गा गोश्वारा रुपमा दर्ता हुने ठहरेकाले सो जग्गा गोश्वारा रुपमा दर्ता गराई पाउँ भनी शुरु जिल्ला अदालतमा फिराद दायर गर्दा र.नं.१११९ मिति २०४१।२।२९ मा राखेको कोर्टफी समेत रु.३४।प्रतिवादीबाट भराई पाउँ भनी दर्खास्त परे भराई दिनु भनी धनकुटा जिल्ला अदालतलाई लगत दिन काठमाडौं जिल्ला अदालतलाई लगत दिनु ....१

माथी ठहर खण्डमा लेखिए बमोजिमको जग्गा गोश्वारा दर्ता गरिदिनु भनी सम्बन्धित मालपोत कार्यालयहरुमा लेखी पठाउन का.जि.अ.त. लगत दिनु ...२

सरोकारवाला व्यक्तिले यो फैसला सहितका अन्य कागजातहरुको नक्कल लिन दर्खास्त दिए नियमानुसार लाग्ने दस्तूर लिई सारी वा सराई दिनु..........३

प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी नियमानुसार गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४५ साल श्रावण २३ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु