शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५०१ - अंश

भाग: ३० साल: २०४५ महिना: असोज अंक:

निर्णय नं. ३५०१ ने.का.प. २०४५ अङ्क ६

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको दे.पु.नं. ५६१, ७७२

फैसला भएको मिति : २०४५।५।२७।२ मा

 

पुनरावेदक/प्रतिवादी :पर्वत जिल्ला विहाडी रानीपानी गा.पं.वा.नं.१ बस्ने गगनबहादुर कुँवर

विरुद्ध

विपक्षी/वादी : ऐ.केशवबहादुरको घरमा बस्ने गरी आएकी रेवती कुँवर

 

पुनरावेदक/वादी : ऐ.रेवती कुँवर

विरुद्ध

विपक्षी/प्रतिवादी : गगनबहादुर कुँवर

 

मुद्दा : अंश

 

(१)                  घरसारमा बण्डा गरी आफ्नो भाग बण्डा बुझी लिई दिई सोही बमोजिम दा.खा.तथा अरु लेखाई देखाई समेत गरी भोगचलन समेत गरी सकेपछि घटी बढी परेको भए उसै अवस्था उजूर गरी बदर गराउनु पर्ने ।

(प्रकरण नं. १५)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान :      प.क्षे.अ. को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको विवरण निम्न प्रकार छ ।

२.     विपक्षी लोग्ने रत्नबहादुरका श्रीमतीमा जेठी देउरुपाका गगनबहादुर, बखतबहादुर २ छोरा माहिलीका छोरा नभएको साहिलीका १ छोरा नरबहादुर कान्छी म रेवतीको १ छोरा केशवबहादुर समेत ४ भाइ छोरा भएका अरु वादीहरु मरिसकेका लोग्ने रत्नबहादुर म समेतका ६ अंशीयार मात्र जीवित रहेका र सबै सगोलमा बसिरहेकोमा सौतेनी छोराहरुले गरेको नचाहिँदो कुरा सुनी खान लाउन नदिएकोले म बेग्लै बस्छु अंश दिनुहोस भनी २०३८।९।२५ का दिन विपक्षीहरुसँग भन्दा रत्नबहादुरले अंश दिन्न भन्दा सबै एक मुख गरी तलाई घर बस्न पनि दिंदैनौ भनी खान लाउन पनि दिदैंनौ भनेबाट अन्यायमा परी फिराद गर्न आएको छु । ६ भाग लगाई १ भाग अंश दिलाई पाउँ भन्ने रेवती कुँवरनीको फिरादपत्र ।

३.     वादी दावी बमोजिम अंश दिनु पर्ने होइन वादी रेवती र निजको छोरा केसवबहादुर २०१८।११।१२ देखि नै विधिवत अंशबण्डा भई छुट्टी भिन्न भएका र वादीका आमा छोरा एकासगोलमा बसी आएकोमा ०२४ साल बैशाख १ गते स्याङ्जा जिल्ला भीरकोट बाराही कालिका गा. पं.वडा नं.६ धरमपानी बस्ने देवीनाथ कुवर सँग पोईल गई म सँगको नाता समेत टुटेकोले अंश पाउनु पर्ने भन्ने वादी दावी झुठ्ठा हो भन्ने प्र.रत्नबहादुरको प्रतिउत्तर ।

४.     ल्याइते नाताकी स्वास्नी छोरा हो र पिताको अंश मजकुर पितासँग राखी विवाहिता देउरुपा र निजका छोरा हामी २ भाइले २ अंश लिई २०१५।१२।१७ मा छुट्टी भिन्न भइसकेकोमा आमा देउरुपा स्वर्गे भएपछि हामी दुई भाइ बीच २०१७।१०।१० गते परस्पर लिनु दिनु गरी बण्डापत्र हुँदा फिरादी रेवती अन्तरसाक्षी बसेकी हुन् । निज समेत पनि २०१८ सालमा छुट्टी भिन्न भइसकेकी हुँदा अंश दिनु पर्ने होइन भन्ने प्र.गगनबहादुर, बखतबहादुर समेत २ जनाको संयुक्त प्रतिउत्तरपत्र ।

५.     म २०१७ साल पौष २५ गते घरसारको बण्डापत्रको कागज गरी छुट्टी भिन्न भई आफ्नो भाग बमोजिम अंश पाई दाखेल खारेज समेत भएको र म भारतमा नै पल्टनमा नोकरी गरी कमाई ल्याएको धनबाट जग्गा जमीन खरीद गरी बढाएको देखी  खान पाउने नियत राखी झुठ्ठा फिराद गरेकी हुन् वादीलाई अंश दिनु पर्ने होइन भन्ने समेत नरबहादुरको प्रतिउत्तरपत्र ।

६.     वादी रेवती तर्फका छोरा केशवबहादुरलाई शुरु पर्वत जिल्ला अदालतबाट अ.बं.१३९ नं.बमोजिम पेटबोलीबाट बुझ्दा जीवन पालन स्वरुप बाबुले अड्कली दिएको जग्गा सम्म चलन गरेको छु, रीपूर्वकको अंशबण्डा भएको छैन ६ भागको १ भाग अंश मैले पनि पाउनु पर्ने हो भन्ने समेत व्यहोराको बयान ।

७.     रत्नबहादुरको मु.स.गर्ने गरी गगनबहादुरबाट तायदाती फाँटवारी पेश भएको रहेछ ।

८.     प्रतिवादी गगनबहादुर, बखतबहादुर, नरबहादुर, केशवबहादुर समेत पिता रत्नबहादुरबाट अघि नै छुट्टी भिन्न भइसकेको र आआफ्नो भागको भोग बिक्री व्यवहार समेत गरेको देखिँदा निजहरुसँग अंश पाउँ भन्ने वादी दावी पुग्न सक्दैन र प्र.रत्नबहादुरले वादी २०१८ सालमा छुट्टी भिन्न भई २०२४ सालमा पोईल गएकी भन्ने सम्बन्धमा यीनै वादी प्रतिवादीको लिखत बेइज्जती मुद्दामा पोइल गएको नठहरी २०४१।२।२५ मा फैसला भएको र भिन्न भएको भन्ने प्रतिवादीबाट सबूद गुज्रन नसक्दा रत्नबहादुर मरी मु.स.गर्ने गगनबहादुरबाट पेश भएको तायदातीबाट २ भागको १ भाग वादीले अंश पाउने ठहर्छ भन्ने शुरु पर्वत जिल्ला अदालतको मिति २०४१।११।९ को फैसला ।

९.     मिति २०१८।११।१२ को बण्डापत्रबाट वादीको समेत अंश केशवबहादुरले बुझेको र वादी रेवती, केशवबहादुरको सँग साथमा बसेको कुरा प्रष्ट हुँदाहुँदै सो कुरालाई ख्यालै नगरी वादी रत्नबहादुरको साथमा बसेको र अंश नपाएको हुँदा २ भागको १ भाग अंश पाउने भनी ठहर गरेको पर्वत जिल्ला अदालतको इन्साफ चित्त बुझेन भन्ने मु.स.गर्ने गगनबहादुरको पुनरावेदन ।

१०.     प्रतिवादी रत्बहादुरको जिम्माको सम्पत्तिमा २ भाग लगाई १ भाग अंश पाउने गरी गरेको इन्साफमा चित्त बुझेन वादी दावी बमोजिम ६ भाग लगाई १ भाग अंश दिलाई पाउँ भन्ने रेवतीकुमारीको पुनरावेदन ।

११.     घरसारमा गगनबहादुर, बखतबहादुर र केशवबहादुर अंश लिई छुट्टी भिन्न भएको निजहरुका नाउँमा जग्गा दर्ता तथा नामसारी भएको देखिन्छ रेवतीका नाउँमा कुनै जग्गा नामसारी दर्ता भएको देखिएन, मिसिलबाट रत्नबहादुर रेवतीसँग साथमा बसेको देखिन्छ । रत्नबहादुर परलोक हुनुभएको तर रेवतीले पुनरावेदन दायर गर्दा एकलौटी पाउनु पर्ने भन्ने पुनरावेदन जिकिर लिएको देखिएन शुरु अदालतमा रत्नबहादुरको नाउँ र जिम्मामा रहेको सम्पत्तिबाट २ भागको एक भाग अंश दिलाइएको पर्वत जिल्ला अदालतको इन्साफ मनासिब छ भन्ने प.क्षे.अ. को ०४३।३।११ को फैसला ।

१२.    उक्त फैसला पुनरावेदनको अनुमति पाउँ भन्ने गगनबहादुरको निवेदनमा २०१८।११।१२ को बण्डापत्रबाट वादी रेवती कुँवरको भाग बण्डा समेत निजको छोरा केशवबहादुरले बुझेको देखिन्छ । १ नं.लगत र ७ नं. फाँटवारी समेतबाट वादी प्रतिवादी अलग भिन्न भएको देखिन आएकोमा उक्त प्रमाणहरुलाई बेवास्ता गरी गरिएको प.क्षे.अ.को इन्साफ प्रमाण ऐन, २०३१ को दफा ५४ र अंशबण्डाको ३० नं. को त्रुटी देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिएको छ भन्ने डिभिजबेञ्चको ०४३।५।९ को आदेश ।

१३.    उक्त प.क्षे.अ. को इन्साफमा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी रेवतीकुमारीको निवेदनमा सगोल साथमा बसेको अवस्थामा अंशबण्डा नहुँदै रत्नबहादुर कुँवर मरेपछि छुट्टी बसेका अंशियारहरुले रत्नबहादुरको सम्पत्ति पाउन नसक्ने हुँदा रत्नबहादुरको तर्फबाट गगनबहादुरले पेश गरेको तायदातीमा लेखिएको सम्पूर्ण सम्पत्ति वादीले अंश पाउने अवस्था देखिन आएकोले पश्मिाञ्चल क्षे.अ.को फैसला अंश  बण्डाको ५ नं. को त्रुटी देखिएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने स.अ.डिभिजन बेञ्चको २०४३।६।२२ को आदेश ।

१४.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल र पुनरावेदक प्रतिवादी गगनबहादुरका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नुभएको बहस जिकिर समेत सुनी प.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ भनी इन्साफतर्फ विचार गर्दा वादीले आआफ्ना लोग्ने र छोराहरु समेत सगोलमा रहेको भनी देखाई आफ्नो भाग ६ खण्डको एकखण्ड अंश दिलाई पाउँ भनी दावी लिएकोमा प्रतिवादी गगनबहादुर र बखतबहादुरले आफूहरु आफ्ना बाबुसँग २०१५।१२।१७ मा नै घरायसी कागजबाट आफ्नो अंश भाग छुट्याई लिई छुट्टीई भिन्न भएको अरु अंशियारहरु सगोलमा रहेको हुँदा आफूले दावी बमोजिम अंश दिन नपर्ने भनी र प्र.मध्येको नरबहादुरले पनि आफू सगोलमा नरहेको अंशियारसंग घरायसीमा कागज गरी आफ्नो अंश भाग लिई २०१७ सालमा छुट्टी भिन्न भएको बाँकी वादी र वादीका छोरा र बाबु समेत सगोलमा रहेको हुँदा आफूले दावी बमोजिम अंश दिन नपर्ने भनी र प्र.मध्येका लोग्ने रत्न बहादुरले आफ्नो सगोलमा रहेको स्वास्नी वादीको र निजका छोरालाई २०१८।११।१५ को घरायसी कागजमा निजहरुको अंश भाग आमा समेत पाल्ने गरी छुट्याई छोरालाई बुझाई भिन्न भइसकेको हुँदा दावी बमोजिम अंश दिन नपर्ने भन्ने समेत व्यहोराको प्रतिउत्तर परेकोमा सबै प्रतिवादीहरुको उक्त व्यहोराबाट ऐन बमोजिम बण्डापत्र खडा गरी पास गरी वादी प्रतिवादीहरु सँग भिन्न भएको देखिन आएन तर अंशबण्डाको ३० नं. मा भएको व्यवस्थाबाट लिखत गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टीई आफ्नोआफ्नो हिस्सा भाग शान्ति बमोजिम लिई पाई दाखेल खारेज समेत गराई सकेको वा बण्डा बमोजिम आफ्नोआफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ भन्ने व्यवस्था भई सो व्यवस्था २०३४।९।२७ देखि लागू भएको हुँदा सो भन्दा अगाडि उक्त व्यवस्था बमोजिम लिखत गरी वा नगरी नरम गरम मिलाई आआफ्नो भाग बण्डा बुझी लिई सोही बमोजिम दाखेल खारेज भोग व्यवहार गरिसकेको देखिन आएमा बण्डापत्रको लिखतमै बण्डा नभए पनि वा सो बण्डा हुँदा असल कमसल घटी बढी भयो भन्ने आधारमा बण्डा नभएको भन्न मिल्ने देखिन आउँदैन । कानुनमा भएको यही व्यवस्थालाई ध्यानमा राखी प्रस्तुत मुद्दामा के कसो रहेछ भनी हेरिएमा वादीका लोग्ने प्र.रत्नबहादुरको ४ श्रीमती भएकोमा जेठीका छोराहरु प्र.गगनबहादुर र बखतबहादुरलाई सवै अंशियारहरु बसी निजको अंशमा पर्ने यो यति भनी छुट्याई सोही बमोजिम निजहरुलाई अंश दिई सोही व्यहोराको कागज गरी सो कागजमा यिनी वादी र अरु अंशियार समेत साक्षी बसेको देखिन आएको त्यस्तै बाँकी सगोल बसेका मध्ये साँहिला तर्फका छोरा नरबहादुरलाई पनि अंशियाहरु बसी भएको सम्पत्तिमा निजको अंश भाग यो यति भनी छुट्याई घरसारमा कागज गरी अंश बुझाई दिएकोमा अंशियाहरु साक्षी बसेको देखिन आएको त्यसपछि सगोलमा रहेको यिनी वादी र निजको छोरालाई पनि त्यस्तै गरी निजको अंश भाग यो यति भनी छुट्याई वादी आमालाई समेत पाल्ने गरी वादीको अंश समेत निजको छोरा केशरबहादुरलाई घरसारको कागज गरी बुझाई दिएकोमा यिनी वादीहरु साक्षी बसेको देखिन आएको जसलाई बुझिएका वादीका छोराले बयान गर्दा जिवीकाको लागि सम्म दिएको भन्ने जिकिर लिई स्वीकार समेत गरेको देखी आएको छ उक्त ऐनमा व्यवस्था भएबमोजिम यी कागजहरुबाट  देखिएबमोजिम दाखेल खारेज बिक्री व्यवहार तथा भोग समेत गरी आएको छ छैन भन्नेतर्फ हेरिएमा अंशियार मध्येका गगनबहादुर र बखतबहादुरको बीच बण्डापत्र हुँदा पनि निजहरुले आफूले बाबुबाट पाएको अंश र आफ्नो आर्जनको समेत भनी बण्डा गरेकोमा यिनी वादी साक्षी बसेको, २०२१ सालमा भू. सु. लागू हुँदा छुट्टी भिन्न भएको सबै अंशियारहरुले आफू आफूले उक्त कागजबाट पाएको जग्गाहरु लेखाई देखाई गरी आफ्नोआफ्नो सगोलमा रहेका व्यक्तिहरु सम्म आफ्नो सगोलमा रहेको भन्ने देखाई दिएको र सोही अंश भाग पाएको जग्गा खेतमा बीराई यी वादीका छोराहरुले आफ्नै नाउँमा दर्ता गराएको र २०३३ सालमा अंशबाट पाएका जग्गामा मुद्दा पर्दा पनि आफूहरु सबै भिन्न भएको भन्ने देखाई आफ्नोआफ्नो भाग आफू आफूले भोग गर्ने भनी मिलापत्र समेत गरेको देखिन आएको समेतबाट यस अवस्थामा व्यवहार प्रमाणबाट यी अंशियाहरु सबै प्र.हरुको जिकिर बमोजिम र वादीतर्फका जिकिर बमोजिम सो कागज पास नभएको र हरेक अंशियारको अंश छुट्टाछुट्टै नदेखाई अंश लिने दिनेका अंश देखाएको कारणबाट छुट्टी भिन्न भइसकेका होइन भन्न सकिने अवस्था देखिन आउँदैन ।

१५.    जहाँसम्म सो बण्डा गर्दा नरम गरम नमिलेको र घटी बढी परेको भन्ने हकमा पनि उक्त कानुनी व्यवस्थाबाट घरसारमा बण्डा गरी आफ्नो भाग बण्डा बुझी लिई दिई सोही बमोजिम दा.खा.तथा अरु लेखाई देखाई समेत गरी भोगचलन समेत गरी सकेपछि घटी बढी परेको भए उसै अवस्था उजूर गरी बदर गराउन पर्ने सो हुनु बेगर २०१८ सालको बण्डामा परेको फिराद बमोजिम घटी बढी परेको भनी मान्यता दिन कानुनले नमिल्ने हुँदा एकबाजी अंश लिई दिइसकेको वादीलाई पुनः अंश दिनु पर्ने भन्न कानुनले नमिल्ने हुँदा अंश पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ । रत्नबहादुरबाट अंश पाउने गरेको शुरु जि.अ. को सदर गरेको क्षे.अ.को इन्साफ गल्ती ठहर्छ अरु तपसील बमोजिम गर्ने ।

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम हुने ठहरी फैसला भएकोले पु. वे. वादीलाई सजायँ गर्नु पर्छ कि भन्नलाई प्रस्तुत मुद्दामा कोर्टफी राखी दायर भएकोले केही गर्नु परेन ..१

माथि इन्साफ खण्डमा लेखिएबमोजिम वादी दावी नपुग्ने ठहरेकोले मु. स.गर्ने गगनबहादुर कुँवरबाट रु.१९४०।धरौट राखेको सो धरौटबाट वादी रेवतीलाई फिर्ता दिने भनी प.क्षे.अ.को फैसलाको तपसील खण्डमा लेखिएको लगत राख्न नपर्ने हुँदा सो लगत कट्टा गरिदिन शुरु जि.अ.मा लेखी पठाउनु..२

माथि इन्साफ खण्डमा लेखिएबमोजिम शुरु जि.अ.को इन्साफ सदर गरेको प.क्षे.अ.इन्साफ उल्टी भई वादीदले अंश नपाउने ठहरेकोले शुरु जि.अ.को फैसलाको तपसील खण्डमा बण्डा छुट्याई दिने भनी लगत राखेको सो लगत राख्नु नपर्ने हुँदा लगत कट्टा गरिदिनु भनी शुरु जि.अ.मा लेखी पठाउनु .....३

प्र.गगनबहादुरले पुनरावेदन गर्दा धरौट राखेको कोटर्फि रु.१९४०।प्र.गगनबहादुरलाई फिर्ता दिनु भनी लेखी पठाउनु ...४

प्र.गगनबहादुरले क्षे.अ.मा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.२९१।र स.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३५३।२५ समेत जम्मा रु.६४४।२५ वादी रेवतीबाट भरी पाउने हुँदा कानुनको म्यादभित्र वादी रेवतीको जेथा देखाई दर्खास्त परेमा वादीबाट भराई दिन लगत राख्नु भनी शुरु जि.अ.मा लेखी पठाउनु ... ५

प.क्षे.अ.को इन्साफ उल्टी भएकोले माननीय मुख्य न्यायाधीश श्री प्रचण्डराज अनिल, माननीय न्यायाधीश श्री मोहनबहादुर श्रेष्ठको उल्टीमा रेकर्ड राख्नु ...६

नियम बमोजिम गरी मिसिल बुझाई दिनु......

 

उक्त रायमा म सहमत छु ।

न्या.बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४५ साल भाद्र २७ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु