निर्णय नं. ८४३३ - कर्तव्य ज्यान
निर्णय नं. ८४३३ ने.का.प. २०६७ अङ्क ८
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
फौ.पु.नं.: ०६५–CR–०१८१
फैसला मितिः २०६७।७।१०।३
मुद्दाः– कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादीः ओखलढुंगा जिल्ला, ज्यामिरे गा.वि.स.वडा नं. ६ घर भई हाल कारागार शाखा ओखलढुंगामा थुनामा रहेका पृथीबहादुर खड्का
विरुद्ध
प्रत्यर्थी/वादीः नृपध्वज कटुवालको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः
मा.न्या. श्री विष्णुप्रसाद कोइराला
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री वैद्यनाथ उपाध्याय
मा.न्या. श्री शान्तिराज सुवेदी
§ साविती बयान आफैंमा महत्वपूर्ण प्रमाण भए तापनि साविती मात्र अभियोग पुष्टि गर्ने आधार बन्न सक्दैन । सावितीलाई अभियोग पुष्टि गर्ने एकमात्र आधार बनाइयो भने त्यसले फौजदारी न्यायप्रणालीमा थुप्रै जटिलताहरूलाई जन्म दिन्छ । त्यसले अनुसन्धान एवं अभियोजन पक्षबाट दावी प्रमाणित गर्नका लागि अन्य प्रमाणहरूको संकलन र विश्लेषणमा भन्दा अभियुक्तलाई साविती बयान दिन बाध्य पारिने सम्भावनालाई बल प्रदान गर्ने हुँदा वास्तविक अपराधी उम्कने र अनुसन्धानका क्रममा अभियुक्तका रुपमा प्रस्तुत गरिएका व्यक्ति दण्डित हुनुपर्ने विडम्वनापूर्ण अवस्था पनि आउन सक्ने भएकाले त्यस्ता सम्भावनाहरूलाई बल पुग्ने गरी न्यायिक व्याख्या गरिन नहुने ।
(प्रकरण नं.२)
§ अदालत स्वच्छ सुनुवाईका लागि सम्पूर्ण वातावरण निर्माण गर्न सदैव तत्पर रही तदनुरुपको परिस्थितिमा हुने अन्य पक्षको दवाव, प्रभाव र डर, धाक, धम्कीको सम्भावना रहँदैन । त्यसैले अदालतसमक्ष गरेको बयानलाई समेत अन्यथा संज्ञा दिइँदा सो कुराका भरपर्दा आधार पक्षले नै पेश गर्न सक्नुपर्ने ।
(प्रकरण नं.३)
§ अदालतमा आई गरेकै अपराधलाई पनि इन्कार गरेमा लाभान्वित हुने र झन सत्य कुरा स्वीकार गरेमा प्रताडीत हुने हाम्रो न्यायिक मान्यता तथा मानसिकतामा परिवर्तनको खाँचो छ । विकसित न्यायप्रणालीले स्वीकारी सकेको अपराध कवुल गरी अनुसन्धानमा सहयोग पुर्याई पश्चाताप गर्नेलाई सहुलियत दिनुपर्ने ।
(प्रकरण नं.७)
पुनरावेदक/प्रतिवादीः विद्वान अधिवक्ताहरू श्री लभकुमार मैनाली, श्री मोतिलाल श्रेष्ठ र रविन्द्र भटृराई
प्रत्यर्थी/वादीः विद्वान नायब महान्याधिवक्ता श्री प्रेमराज कार्की
अवलम्बित नजीरः नेकाप २०३१, नि.नं. ८४८, पृष्ठ २६३
सम्बद्ध कानूनः
फैसला
न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, राजविराजको मिति २०६५।३।१६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ख) अनुसार यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः
मृतक गीता खड्का ओखलढुंगा जिल्ला ज्यामिरे गा.वि.स.वडा नं. ६ स्थित पृथीबहादुर खड्काको मकैवारीको कुटमिरोको रुखमा घाँटीमा बाँधी झुण्डिई मृत अवस्थामा फेला परेको, दुबै आँखा बन्द भई रगत जस्तो पदार्थ बगी सुकेको, मृतकको योनिबाट रगत बगी दुबै खुट्टाको छेपारी र तलसम्म ठाउँ ठाउँमा रगत बगेको भन्ने समेत व्यहोराको मिति २०६३।२।३१ को घटनास्थल प्रकृति मुचुल्का ।
मिति २०६३।२।३० गते दिउँसो कुन्तादेवी गा.वि.स.मा सामुदायिक वन उपभोक्ता समूहको भेलामा सहभागी भई बेलुका ७.३० वजे घर आई भात खाने वेलामा श्रीमती गीता खड्कासँग सामान्य भनाभन भएकोले म घर छोडी हिँडी मास्तिर दोबाटोमा उद्धव खड्कासँग भेट भएपछि लोग्ने स्वास्नीबीच भनाभन हुन्छ, घर नछोड्नु भनेर उद्धवले भने पछि म र उद्धव मेरो मूल घरतर्फ आयौँ । मेरो घरमा बच्चा रोएको सुनेर बुबा र आमा मेरो घरतर्फ जानुभयो । घरमा श्रीमती गीतालाई नदेखी छोरालाई लिई मूल घरमा आउनु भयो र श्रीमतीलाई खोजतलास गर्दा मकैको ढोडसमेत भएकोले कतै फेला पार्न सकिएन । २०६३।२।३१ गते बिहान गाउँले समेत भई खोजतलास गर्दा आफ्नो वारीको कुटमेराको रुखमा झुण्डिई मृत अवस्थामा फेला पारिएको र कसैउपर शंका नभएकोले जाहेरी दिएको भन्ने व्यहोराको पृथीबहादुर खड्काको मिति २०६३।३।४ को जाहेरी दर्खास्त ।
मृतक गीता खड्काको मृत्युको कारण, "The cause of death is asphyxia due to suicidal hanging" भन्ने मिति २०६३।३।४ को शव परीक्षण प्रतिवेदन ।
मिति २०६३।२।३० गते वेलुका ७.४५ वजे पृथीबहादुर खड्कासँग निजकै मूल घर छेउमा झोक्रिएको अवस्थामा केही मादक पदार्थ सेवन गरेको तर सचेत अवस्थामा मेरो भेट भएको थियो । निजले झोला र एउटा चार्ज लाईट बोकेको कता हिँडेको भनी सोध्दा श्रीमतीसँग झगडा भएकोले घर छोडी हिडेको हुँ भनेको थियो । मैले चार्ज लाईट र पृथीबहादुर खड्कालाई लिई निजको घर पुर्याई दिएको र आमाले झोला खोसी श्रीमतीलाई दङ्गयाउँछ भनी आफ्नो घरतिर लगेकी थिइन् । पृथीबहादुरको घरमा पुग्दा निजको माइला दाजु र भाउजू थिए । पृथीबहादुरको आमाले बुहारी गीतालाई खोज्नु पर्यो भनी भनेकी र म लगायतका गाउँले जम्मा भई खोजतलास गर्दा सो दिन गीता खड्कालाई फेला पार्न सकिएन । पृथीबहादुरले गीता भाउजूको माइती घरमा गएको शंका गरेका थिए भोलिपल्ट विहान ६.३० वजेतिर मृतक आफ्नै घर नजिकको कुटमेरोको रुखमा पटुकाको पासो लगाई झुण्डिई मरेको गाउँकै महेन्द्र खड्काले देखी हल्ला गरेको हो भन्ने समेत व्यहोराको उद्धवबहादुर खड्काले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागज ।
मेरो कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य तवरबाट बुझ्दा निज पृथीबहादुर मादक पदार्थ सेवन गर्ने, बरालिएर हिड्ने, परिवारसँग छुट्टिई भिन्न बसेको, अनाहकमा श्रीमतीलाई कुटपीट गर्ने गरेको र मिति २०६३।२।३० गते मर्न जान्छु भनी नाम्लो लिई हिँडेको भने पनि लास भेट्दा पटुका घाँटीमा पासो लगाई झुण्डिएको, स्थानीय मानिसहरूलाई गोप्य रुपमा बुझ्दा आत्महत्या नभई कर्तव्यबाट मृत्यु भएको हो भनी भनेको र माओवादी कार्यकर्तासँग हिँडी रहेको अवस्थामा सोधपुछ गर्दा सामुदायिक वनको मिटिङबाट घर आउँदा गाईवस्तुलाई घाँस नकाटेको निहुँमा श्रीमतीलाई मैले कञ्चटमा एक झापु हान्दा भुईंमा ढली सेता आँखा पल्टाई हलचल नगरेकीले मरी भन्ने डरले तत्कालै श्रीमतीलाई घरमुनि कुटमेराको रुखमा लगी झुण्ड्याएको हुँ भनी पृथीबहादुर खड्काले भनेकोले निजलाई नियन्त्रणमा लिई प्रतिवेदन साथ दाखेल गरेको भन्ने समेत प्रहरी निरीक्षक रामप्रकाश पौडेलको मिति २०६३।४।८ को प्रतिवेदनपत्र ।
मेरो छोरी गीता खड्काको विवाह मिति २०५९।११।१३ मा अभियुक्त पृथीबहादुरसँग भएको र निजहरूबाट १ छोराको जन्म भएको छ । पृथीबहादुरले जाँडरक्सी खाई बारम्बार छोरी गीतालाई कुटपीट र गाली गलौज गर्ने गरेको थियो । मिति २०६३।२।३० गते वेलुका जाँडले मातेर आएका पृथीबहादुरले छोरीलाई मझेरीमा लात मुक्का र मुग्राले कुटपीट गरी मारी बोकेर घर मुन्तिर वारीमा रहेको कुटमेराको रुखमा लगी पटुकाले पासो लगाई झुण्डाई श्रीमती हराएको वहाना बनाई हिडेको हुन् । गीताको मृत्यु आत्महत्याबाट भएको नभई पृथीबहादुरको कर्तव्यबाट भएको हो । निजबाटै अपराधको सम्पूर्ण विवरण खुलाई हदैसम्म सजाय गरिपाऊँ भन्ने समेत मृतकका बुबा नृपध्वज कटुवालको जाहेरी दरखास्त ।
मिति २०६३।२।३० गते कुन्तादेवी गा.वि.स.स्थित डुडुले सामुदायिक वन उपभोक्ता समूहको भेलामा भाग लिन गएको थिएँ । भेलामै दिउँसो एक वोटुका जाँड किनी खाएको थिएँ । भेला सकी घर फर्कदा कुन्तादेवी गा.वि.स.वडा नं. २ विरौटार भन्ने ठाउँमा मेरो गोठ रहेको र त्यहाँ दुई गोरुलाई श्रीमतीले दिउँसो घास नहालेकी हुँदा मकै उखेली घाँस हाली घर आएको थिएँ । घरमा आई आज गोरुलाई घाँस किन नहालेकी भनी श्रीमतीलाई सोध्दा मसँग झगडा गरी वाझ्दै तथानाम गाली गर्न थाली मैले गाली सहन नसकी आवेशमा आई दाहिने हातले एक झापड श्रीमतीको बाँया कञ्चटमा हान्दा भुईमा ढली आँखा पल्टाएकोले हात समाउँदा समेत नचलेकी नबोलेकी हुँदा मरिछे भन्ने लागी उठाई घर मुन्तिर रहेको कुटमेराको रुखमा झुण्डयाई आफू अपराधबाट वच्न श्रीमती आफै झुण्डिई मरेको वहाना वनाएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी पृथीबहादुर खड्काले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६३।२।३० गते म घरमै थिएँ, श्रीमती इन्दिरा खड्का कुन्तादेवीस्थित सामुदायिक वन समूहको बैठक सकी वेलुकी ५ वजे घर आएकी थिइन । मूल घर र मेरो घर आमने सामेनमा पर्छ । भाई पृथीबहादुर घरमा काम नगर्ने वरालिएर हिड्ने मादक पदार्थ सेवन गर्ने प्रवृत्तिका मानिस हुन् । म बुवा, आमा र मेरो परिवार सो दिन वेलुका घरमै रहेको अवस्थामा बुवाले कान्छी बुहारी मर्न नाम्लो लिई हिडेकी छ अरे पृथीबहादुरले भनेको भनी भनेकोले म समेत भै यताउता खोजतलास गर्दा झुण्डिएको मैले पनि देखेको हुँ । गाऊँ घरमा ज्यान मारेर पनि बाँचियो भन्दै हिडेको सुनेकोले मृतक गीता खड्कालाई निज भाई पृथीबहादुरले कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको मृतकको जेठाजु सुरेश खड्काको कागज ।
मिति २०६३।२।३० गते वेलुका गीता खड्का नाम्लो बोकी हिडेकी छन् भनी निजको ससुरा नरबहादुर खड्काले भनेकोले म समेतका व्यक्ति जम्मा भई खोजतलास गर्दा उक्त दिन फेला पर्न सकिएन । भोलिपल्ट विहान पृथीबहादुर खड्का र गाउँकै महेन्द्र खड्काले घर मुनी कुटमेराको रुखमा पहेँलो पटुकाले घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा गीता खड्काको लाश भेट्टाएका हुन् । पछि माओवादी कार्यकर्तासमक्ष घरमा झगडा परी एक झापु हिर्काउँदा गीता खड्काले सेतो आँखा फर्काइ मरेकीले मैले नै घाँटीमा पटुकाको पासो लगाई झुण्डयाई दिएको हुँ भनी साविती भएकोले गीता खड्कालाई पृथीबहादुर खड्काले नै कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको विमला खड्काको कागज ।
मिति २०६३।२।३१ गते पृथीबहादुर खड्काकी श्रीमती गीता झुण्डिएर आत्महत्या गरेकी भन्ने सुनेको हुँ । त्यसको केही दिनपछि माओवादीसमक्ष श्रीमतीलाई कुटपीट गरी मारी झुण्डयाई दिएको हुँ भनी स्वीकार गरेको सुनेको हुँ भन्ने समेत व्यहोराको छत्र नेपालीले गरेको कागज ।
मिति २०६३।२।३१ गते मेरो छोरा पृथीबहादुर खड्का कपडा बोकी घर छाडी हिडेको भन्दै हिडे र बाटोमा उद्धवबहादुर खड्कासँग भेट भई निज उद्धवले सम्झाई फर्काएका र घरमा निजको छोरा नाति रोएको हुँदा मेरो श्रीमान् नरबहादुर खड्काले लिई आउनु भएको र घरमा वुहारी गीता खड्का नभएकिले उद्धव खड्का समेतका मानिसहरूले खोजतलास गर्दा फेला पार्न सकिएन । भोलिपल्ट अर्थात् मिति २०६३।२।३१ गते विहान खोजी गर्दा घर मुनि डिलमा रहेको कुटमेराको रुखमा पटुकाको पासो लगाई झुण्डिई मरेको अवस्थामा फेला परेको हो । गीताको एउटा खुट्टाले भूईँ छोएको थियो, तर गाऊँ घरमा पृथीबहादुरले गीतालाई मारेको कुरा स्वीकार गरेको हुँदा सो कुरा उही जानोस् भन्ने समेत व्यहोराको भक्तमायाँ खड्काको कागज ।
मिति २०६३।२।३० गतेको वेलुका मेरो छोरा पृथीबहादुर घर छाडी हिँडे भन्दै हिडेकोले मैले छोरालाई घर फर्काए वुहारी नाम्लो बोकी मर्न हिडेकी छे खोज तलास गर्नुपर्छ भनी सम्झाएकोमा बच्चा रोएकोले बच्चा लिई आई गाउँका उद्धव खड्का समेतका मानिसहरू जम्मा भई खोजतलास गर्दा फेला पार्न सकिएन । भोलिपल्ट विहान खोज तलास गर्दा घरमुनि कुटमेरोको रुखमा आफ्नै पटुकाले पासो लगाई झुण्डिई मरेको अवस्थामा गीता खड्काको लास फेला परेको हो । छोरा पृथीबहादुर खड्काले कर्तव्य गरी गीतालाई मारेको कुरा स्वीकार गरेको र छोरा वुहारीबीच झगडा हुँदा कुठाउँमा लागी मृत्यु भएको हुनुपर्छ भन्ने समेत व्यहोराको नरबहादुर खड्काको कागज ।
मिति २०६३।२।३१ गते बिहान गीता खड्का निजकै घर मुन्तिर कुटमेरोको रुखमा झुण्डिई मरेको अवस्थामा फेला परेको मिति २०६३।४।७ गते वेलुका माओवादी कार्यकर्ताले सोधपुछ गर्दा गीता खड्कालाई आफूले कर्तव्य गरी मारेको कुरा स्वीकार गरेको हो, मारेको नमारेको ऊ आफैँ जानोस् भन्ने समेत व्यहोराको यामबहादुर खड्काको कागज ।
पृथीबहादुर खड्काले मिति २०६३।२।३१ गते विहान मेरो घरमा आई अघिल्लो दिनदेखि मेरी श्रीमती हराएकी छिन् भनेका थिए । म समेतका गाउँलेले गीतालाई खोजतलास गर्दै जाँदा निज पृथीबहादुरको घरमुनि कुटमेराको रुखमा घाँटीमा पासो लगाई झुण्डिई मरेको अवस्थामा फेला पारिएको हो । तर, माओवादीसमक्ष आफूले कर्तव्य गरी मारेको कुरा स्वीकार गरेको हुँदा पृथीबहादुरले नै गीतालाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत महेन्द्र खड्काको कागज ।
मिति २०६३।२।३० गते बेलुका देवर र देउरानीबीच झगडा भएको र सो रिसले देवर घरबाट हिडेको हुँदा देवरानीले पनि छोरालाई घरमा नै छाडी हिडेकी हुन् पछि देवरानीलाई खोजतलास गर्दा सो दिन फेला पार्न सकिएन । भोलिपल्ट विहान घरमुनि कुटमेराको रुखमा पटुकाको पासो घाँटीमा लगाई झुण्डिई मरेको अवस्थामा मृतक गीता फेला परेकी थिइन् । माओवादीसमक्ष देवर पृथीबहादुरले गीता खड्कालाई कर्तव्य गरी मारी झुण्डाएको कुरा स्वीकार गरे तापनि गीताको मृत्यु कसरी भयो आफै जानून् भन्ने समेत व्यहोराको इन्दिरा खड्का, प्रेमकुमार खड्का समेतको कागज ।
मृतक गीता खड्काको घटनास्थलमा खिचिएको फोटो थान ८ मिसिल संलग्न रहेको ।
गीता खड्का मिति २०६३।२।३० गते वेलुका मर्न भनी नाम्लो बोकी घरबाट हिँडेको भनी बताएको सो राती फेला नपरी भोलिपल्ट विहानै निजकै घरमुनि कुटमेरोको रुखमा पटुकाको पासो लगाई झुण्डिई मरेको अवस्थामा फेला परेकोले नाम्लोले नभई पटुकाको पासोमा झुण्डिएको अवस्थामा फेला परेकीले गीतालाई कसैले कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको विष्णुबहादुर खड्काको कागज ।
मिति २०६३।२।३० मा पृथीबहादुर खड्काको श्रीमती गीता खड्का घरबाट निस्की हराएकी सो दिन फेला पार्न नसकिएको भोलिपल्ट निजकै वारीको डिलमा रहेको कुटमेरोको रुखमा झुण्डिई मरेको अवस्थामा फेला पारिएको हो पछि माओवादी कार्यकर्तासमक्ष श्रीमती गीतालाई कर्तव्य गरी मारी झुण्डाएको कुरा पृथीबहादुरले स्वीकार गरेको हुँदा सो सम्बन्धमा निज आफै जानुन् भन्ने समेत व्यहोराको भेषराज खड्का समेतले गरी दिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी पृथीबहादुर खड्काले वारदातको अवस्थामा आफ्नी श्रीमती गीता खड्कालाई कुटपीट गरेको प्रमाणित भएको र वेहोस अवस्थामा रहेकी निज गीता खड्कालाई प्रतिवादीले मरेको सम्झी सोबाट बच्न झुण्डिई मरेको पार्न श्रीमतीलाई उठाई बोकी लगी घटनास्थलमा रहेको कुटमिरोको रुखमा निजले लगाएको पटुका खोली बेहोस अवस्थाकी श्रीमतीको घाँटीमा सुर्कानो गाँठो बनाई पासो लगाई पटुका उक्त कुटमिरोको रुखमा बाँधी बेहोस श्रीमतीलाई बारीको डिलबाट मुन्तिर हुत्याई झारी दिँदा निज गीता खड्काको मृत्यु भएको अनुसन्धानबाट देखिन आएको र उक्त कुरालाई पोष्टमार्टम रिपोर्ट समेतले पुष्टि गरेको हुँदा प्रतिवादी पृथीबहादुर खड्काले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. विपरीत ऐजनको १३(३) नं. अनुसार कसूर अपराध गरेको हुँदा सोही महलको १३(३) नं. बमोजिम कैद सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोगपत्र ।
मिति २०६३।२।३० गते दिउँसो सामुदायिक वनको मिटिङमा भाग लिन डुलडुले भन्ने ठाउँमा गई घर फर्कदा बाटोमा विरौटो भन्ने ठाउँमा गोरुलाई मकै उखेली घाँस दिई आएकोमा श्रीमतीसँग किन गोरुलाई घाँस नहालेको भनी सोध्दा जानुनी गोठालो बस्न भनी पटक–पटक जवाफ फर्काएकीले रिस उठ्यो एक थप्पड हिर्काउदा कञ्चटमा लागि श्रीमती गीता खड्का भूईमा ढली सेतो आँखा पल्टाई नवोलेकिले मैले नै बोकी घरमुनि कुटमेराको रुखमा निजको पटुका फुकाई घाँटीमा पासो लगाई रुखमा झुण्डयाई कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको प्रतिवादी पृथीबहादुर खड्काले शुरु अदालतमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी पृथीबहादुर खड्का कसूरदार हुन भनी भन्न सकिने अवस्था देखिँदा पछि प्रमाण वुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी निज प्रतिवादीलाई थुनामा राखी पुर्पक्ष गर्नु भन्ने शुरु जिल्ला अदालतको आदेश ।
वादीका साक्षी जाहेरवाला नृपध्वज कटुवालले निज प्रतिवादी पृथीबहादुर खड्काले गीता खड्कालाई कर्तव्य गरी ज्यान मारी झुण्डयाएको हुन् भन्ने समेत व्यहोराको बकपत्र ।
वादीकै साक्षीहरू इन्दिरा खड्का, तमबहादुर खड्का, रामबहादुर खड्काले गीता खड्काको मृत्यु के कसरी भएको हो । आँखाले नदेखेकोले भन्न सक्दिन भनी शुरु जिल्ला अदालतमा गरेको एकैमिलानको पृथकपृथक बकपत्र ।
प्रतिवादी पक्षका साक्षी ललितकुमार खत्रीले प्रतिवादी पृथीबहादुर खड्काको बानी राम्रो थियो । निज तीन महिनासम्म मसँग बसेको थियो, निजले गीतालाई कर्तव्य गरी मारेको जस्तो लाग्दैन भन्ने र अर्का साक्षी मेखबहादुर खड्काले श्रीमती मार्नुपर्ने कारण छैन । आमा बुबासँग छुट्टी नयाँ घर बनाई मिलीजुली बसेको हुँदा श्रीमतीलाई कर्तव्य गरी मारेको होइन भनी गरेको बकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादी पृथीबहादुर खड्काले आफ्नी श्रीमती गीता खड्कालाई कर्तव्य गरी मारेको मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको देखिँदा निजलाई अभियोग माग दावीअनुसार मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । मृतक र प्रतिवादी लोग्ने स्वास्नी भई निजहरूबाट छोराको जायजन्म भएको र वारदातमा हतियार समेत प्रयोग नभएको सामान्य भनाभनमा एक झाप्पड हिर्काउँदा कुठाउँमा लागी मरेको ठानी लगेर झुण्ड्याएको तथ्यलाई सहजै स्वीकार गरी न्यायिक प्रक्रियालाई सहज बनाएको अवस्थालाई समेत विचार गर्दा सर्वस्व सहित जन्मकैद गर्दा चर्को पर्ने देखिएकाले अ.वं. १८८ नं. बमोजिम १२ वर्ष मात्र कैद सजाय हुन मनासिब हुने हुँदा राय व्यक्त गर्दछु भन्ने समेत व्यहोराको शुरु ओखलढुंगा जिल्ला अदालतको फैसला ।
मृतक गीता खड्कालाई मार्नेसम्मको रिसइवीले हिर्काएको होइन, केवल सामान्य भनाभन हुँदा एक झापड हिर्काउँदा कुठाऊँमा लागी मृत्यु भएको हो । शरीरमा घा, चोट नीलडाम केही छैन, हिर्काउंदा कुठाउँमा लागी भवितव्य भई मरेको हुनसक्छ यसरी मृत्यु भएको अवस्थामा ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्नु न्यायसंगत हुँदैन । भवितव्य भई ज्यान मरेको अवस्थामा सजाय नै गर्नुपर्ने भए ऐ महलको ५, ६ नं. बमोजिम सजाय गर्नु न्यायसंग हुने हुँदा शुरुले सर्वस्वसहित जन्मकैद हुने गरी गरेको फैसला बदर गरी पुनरावेदन जिकीर बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदनपत्र ।
प्रतिवादी पृथीबहादुर खड्काले मृतक गीता खड्कालाई कर्तव्य गरी मारेको अभियोगमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुने गरी मिति २०६४।२।२ मा भएको फैसला साधक सदरको लागि पठाइएको छ भन्ने व्यहोराको च.नं. २१४ को ओखलढुंगा जिल्ला अदालतको पत्राचार अनुसार साधक दायरीमा दर्ता भई आएको ।
प्रतिवादीको अधिकारप्राप्त अधिकारी र अदालतको साविती बयान, घटनास्थल प्रकृति मुचुल्का र प्रहरीमा कागज गर्नेले गरिदिएको कागज, जाहेरी दरखास्त, प्रहरी अधिकृतको प्रतिवेदन, शव परीक्षण प्रतिवेदन, घटनास्थलमा खिचिएको मृतकको जाहेरी समर्थित फोटोहरू तथा निजले मृतकप्रति गरेको वारदात अघि वा सोही दिन गरेको व्यवहार समेतबाट नियोजित कर्तव्यको पुष्टि भएको र निजले मृतकको मृत्यु आत्महत्याबाट भएको, कसैमाथि शंका छैन भनी दिएको जाहेरी दरखास्त तथा नाम्लो लिएर झुण्डिन गएकी भनी दिएको अभिव्यक्ति पुष्टि नभएको अवस्थामा ज्यानसम्बन्धीको १३(३) नं आकर्षित हुन नसक्ने भन्न मिलेन । तसर्थ अभियोग दावीबमोजिम सर्वस्वसहित जन्मकैद हुने गरी भएको शुरु फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । मृतक र प्रतिवादीबीच ज्यानै मार्नु पर्नेसम्मको रिसइवी नभएको र प्रतिवादीले रक्सी खाएको र मृतक र प्रतिवादीबीच झगडा भनाभन हुँदा रिस उठी एक झाप्पड हिर्काउँदा कञ्चटमा लागी मृतक ढलेपछि प्रतिवादीले मृतक मरेको ठानी अपराधबाट बच्न रुखमा झुण्ड्याई आत्महत्या गरेको बनाउन पटुकाले घाँटीमा कसेको कारणबाट प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको देखिँदा अपराधको परिस्थिति र वारदातको अवस्था समेतलाई विचार गर्दा शुरु जिल्ला अदालतबाट प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेको चर्को पर्ने देखिएकोले शुरु ओखलढुंगा जिल्ला अदालतबाट मुलुकी ऐन अदालती वन्दोवस्तको १८८ नं. बमोजिम १२ वर्ष कैद हुने भनी भएको राय सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६५।३।१६ को फैसला ।
मलाई चर्को पर्ने गरी फैसला भएको प्रस्तुत मुद्दाको उठान वैचारिक पूर्वाग्रहमा आधारित रहेको छ । यसप्रति सम्मानीत अदालतबाट स्पष्ट भै न्याय निरुपण हुनुपर्ने अवस्था छ । पुनरावेदन अदालतबाट मौकामा र अदालतमा गरेको साविती बयानलाई मूल आधार बनाएको छ । तर कसैको ज्यान गएको अवस्थामा प्रथमतः मृत्युको कारण यकीन गरिनु पर्ने हुन्छ । शव परीक्षण प्रतिवेदनले किटानीका साथ मृत्युको कारण आत्महत्यामूलक झुण्ड्याईबाट श्वास प्रश्वास अवरुद्ध भएको कारणले भएको भनिएको, मृतकको शरीरमा निलडाम लगायतका कुनै पनि चोट नपाइएको र घटनास्थलको प्रकृतिले पनि अन्यत्रबाट लगी झुण्ड्याएको अवस्था नदेखिएको स्थितिमा कल्पना र अनुमानका भरमा दोषी ठहर गर्न मिल्ने हुँदैन । प्रत्यक्षदर्शी नरहेका जाहेरवालाले दिएको किटानी जाहेरीलाई प्रमाणका रुपमा लिन मिल्ने हुँदैन । मलाई साविती बयान दिन बाध्य पारिएको भन्ने तथ्य विभिन्न प्रमाणहरूबाट पुष्टि भैरहेको अवस्थामा त्यसतर्फ विवेचना नगरी भएको फैसला न्यायसंगत नहुँदा बदरभागी छ । अतः बुझ्नुपर्ने कुरालाई नबुझी, हेर्नु जाँच्नु पर्ने प्रमाणको यथोचित परीक्षण नगराई, घटनावलीको परिवेश र अभियुक्तको अवस्थाको समग्र विश्लेषण र विवेचना नगरी, न्यायिक मनको प्रयोग नगरी अभियोगपत्रलाई मात्र आधार बनाएर गरिएको फैसला र १२ वर्ष कैद हुने गरी व्यक्त रायसमेत त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदनपत्र ।
यसमा घटनास्थल प्रकृति मुचुल्का र लास प्रकृति मुचुल्काबाट पोष्ट मार्टम रिपोर्टको मृतकको मृत्यु झुण्डिई भएको भन्ने चिकित्सकको रायलाई समर्थन भै रहेको अवस्था देखिएकोमा प्रतिवादीको साविती बयान विरोधाभाषपूर्ण भै तथ्यसँग मेल नखाएको देखिएको हुँदा प्रतिवादीलाई सजाय गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको नदेखिई फरक पर्ने हुँदा छलफल निमित्त महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिनू । साथै उपर्युक्त सम्बन्धमा पोष्टमार्टम गर्ने चिकित्सकलाई बुझ्नु आवश्यक देखिँदा निजलाई झिकाई बकपत्र गराई नियमबमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६६।१।३० को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा आफ्नी श्रीमती गीता खड्कालाई मुक्का प्रहार गर्दा बेहोस भएकीले मरेको आशंकामा सोबाट बच्न सो घटनालाई आत्महत्याको रुप दिन आफ्नै वारीको डिलमा रहेको कुटमिरोको रुखमा लगी झुण्ड्याई मारेकोले प्रतिवादी पृथीबहादुर खड्कालाई ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसारको कसूर अपराधमा सोही महलको १३(३) नं. बमोजिम कैद सजाय गरिपाऊँ भन्ने अभियोग दावी रहेको, प्रतिवादी पृथीबहादुर खड्काले मौकामा र शुरु अदालतमा समेत कसूर गरेको कुरामा सावित रही बयान गरेको, शुरु ओखलढुंगा जिल्ला अदालतले अभियोग दावीबमोजिम कसूरदार ठहर गरी १८८ नं. बमोजिम कम सजाय प्रस्ताव गरी राय व्यक्त गरेकोमा पुनरावेदन अदालत राजविराजबाट रायसहितको शुरु फैसला सदर गरेको देखिन्छ । सो फैसलाउपर प्रतिवादीले आफूलाई चर्को सजाय गरिएको, साविती बयानलाई मात्र आधार मानेर कसूरदार ठहर गरेको र साविती बयान दिन बाध्य पार्ने गरी भए गरेका क्रिया र घटनास्थल प्रकृति मुचुल्का तथा शव परीक्षण प्रतिवेदनलाई विवेचना नगरिएको भन्ने समेतका आधारमा यस अदालतसमक्ष पुनरावेदन गरेको र यस अदालतबाट घटनास्थल प्रकृति मुचुल्का र लाश प्रकृति मुचुल्काबाट पोष्ट मार्टम रिपोर्टको मृतकको मृत्यु झुण्डिई भएको भन्ने चिकित्सकको रायलाई समर्थन भै रहेको अवस्था देखिएकोमा प्रतिवादीको साविती बयान विरोधाभाषपूर्ण भै तथ्यसँग मेल नखाएको भन्ने आधारमा विपक्षी झिकाउने आदेश भै प्रस्तुत मुद्दा यस इजलाससमक्ष पेश हुन आएको छ ।
इजलाससमक्ष पेश हुँदा पुनरावेदक/प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ताहरू श्री लभकुमार मैनाली, श्री मोतिलाल श्रेष्ठ र श्री रबीन्द्र भटृराईले साविती र अन्य प्रमाण, विशेषज्ञको रायबीच सामञ्जस्ता छैन । घरबाट बेहोस अवस्थाकी श्रीमतीलाई घिसारेर लगेको भए बाटोमा त्यसका चिन्हहरू देखिनु पथ्र्यो, घटनास्थल तथा लास जाँच मुचुल्काबाट त्यस्तो देखिएको छैन । शव परीक्षण प्रतिवेदनले स्पष्ट रुपमा आत्महत्यायुक्त झुण्ड्याई (Suicidal Hanging) भनेको अवस्थामा कर्तव्य गरी मारेको भनी अभियोग लगाउन मिल्ने हुँदैन । कसैको दवावमा परी साविती बयान दिएको भन्ने कुरा मिसिलबाट छर्लंग देखिएको छ, त्यस्तो अवस्थामा प्रतिवादीलाई कसूरदार ठहर्याउन मिल्दैन, प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिइनु पर्दछ भनी बहस जिकीर प्रस्तुत गर्नुभयो । त्यसैगरी वादी नेपाल सरकारका तर्फबाट उपस्थित हुनु भएका विद्वान नायव महान्यायाधिवक्ता श्री प्रेमराज कार्कीले पुनरावेदनपत्रमा समेत चर्को सजाय भएको कुरा उठाइएको छ । त्यसैले प्रतिवादी निरपराध रहेको मान्न मिल्ने अवस्था छैन । कञ्चट जस्तो संवेदनशील भागमा प्रहार गरेपछि तत्काल मर्नेसम्मको अवस्था उत्पन्न हुनसक्छ, घटनाका प्रत्यक्ष साक्षीका रुपमा रहेका प्रतिवादी स्वयंले सविस्तार उल्लेख गरेको व्यहोरालाई अन्यथा सम्झी प्रतिवादीलाई सफाई दिन मिल्ने पनि हुँदैन भनी बहस गर्नुभयो । उल्लिखित तथ्य र बहस बुँदा समेतलाई मध्यनजर गर्दा प्रस्तुत मुद्दामा मूलतः देहायका प्रश्नहरूको निरुपण गरिनु पर्ने देखिन आउँछ :
१. प्रतिवादीले मौकामा र अदालतमा समेत कसूर गरेको कुरामा सावित रही बयान गरेको अवस्थामा त्यस्तो साविती बयान र अन्य प्रमाणहरूका बीचमा तादात्म्यता कायम हुनुपर्ने अवस्था रहन्छ वा रहँदैन ?
२. प्रस्तुत मुद्दामा प्रतिवादीको बयान बाहेक अन्य प्रमाणहरू प्रतिवादीको कसूर प्रमाणित गर्न पर्याप्त छन् वा छैनन् ?
३. पुनरावेदन अदालतबाट प्रतिवादीलाई कसूरदार ठहर्याउने गरी गरेको फैसला मिलेको छ
छैन ?
४. प्रस्तुत मुद्दामा घटना हुँदाको परिस्थिति समेतका आधारमा अ.वं. १८८ नं. को प्रयोग हुने अवस्था विद्यमान छ छैन र सो सम्बन्धमा पुनरावेदन अदालतबाट व्यक्त भएको राय मनासिब छ छैन ?
२. अब, माथि निर्धारण गरिएका प्रश्नहरूमध्ये पहिलो अर्थात् प्रतिवादीले मौकामा र अदालतमा समेत कसूर गरेको कुरामा सावित रही बयान गरेको अवस्थामा त्यस्तो साविती बयान र अन्य प्रमाणहरूका बीचमा तादात्म्यता कायम हुनुपर्ने अवस्था रहन्छ वा रहँदैन भन्ने प्रश्नमा प्रवेश गर्दा प्रतिवादी पृथीबहादुर खड्का कसूर गरेको कुरामा मौकामा र अदालतमा समेत सावित रहेको कुरामा विवादको अवस्था छैन । त्यसरी आफ्नी श्रीमती गीता खड्कालाई आफूले पालेको गोरुलाई घाँस नहालेको भन्ने निहुँमा गाली गर्दा निज गीता खड्काले फर्काएको जवाफबाट आक्रोशित भई दाहिने हातले एक झापड श्रीमतीको बायाँ कञ्चटमा हान्दा भुईमा ढली आँखा पल्टाएकोले हात समाउँदा समेत नचलेकी र नबोलेकी हुँदा मरिछे भन्ने लागी उठाई घर मुन्तिर रहेको कुटमेराको रुखमा झुण्ड्याई आफू अपराधबाट बच्न श्रीमती आफैं झुण्डिई मरेको वहाना बनाएको हुँ भनी स्पष्ट रुपमा बयान गरेको देखिन्छ । मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको सो बयानलाई पूर्ण रुपमा समर्थन गर्दै सोही व्यहोराको पुनरावृत्ति गर्दै अदालतसमक्ष बयान गरेको अवस्था पनि मिसिलबाट देखिएको छ । तर, शव परीक्षण प्रतिवेदनमा मृत्युको कारणमा "The cause of death is asphyxia due to suicidal hanging" भनी उल्लेख गरिएको र सोही प्रतिवेदनलाई औंल्याएर बयान र अन्य प्रमाणका बीचमा तादात्म्यता नरहेको भनी त्यसलाई सफाई पाउने आधार बनाउन खोजिएको छ । यस अदालतबाट विपक्षी झिकाउने आदेश गर्दा समेत प्रतिवादीको साविती बयान विरोधाभाषपूर्ण भै तथ्यसँग मेल नखाएको भन्ने आधार ग्रहण गरिएको छ । यसरी मृत्युको कारण सम्बन्धमा प्रतिवादीको बयान र शव परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको व्यहोराको बीचमा तादात्म्यता नरहेको देखिएको अवस्थामा सो प्रतिवेदनमा उल्लेख भएका अन्य कुराहरू, सो प्रतिवेदन दिने चिकित्सकको अदालतसमक्ष बकपत्र हुन नसकेको अवस्था, साक्षीहरूको कथन र अन्य भौतिक प्रमाणहरू समेतको मूल्याङ्कन गर्नुपर्ने अवस्था आउँछ । जहाँसम्म साविती बयानको सन्दर्भ आउँछ, साविती बयान आफैंमा महत्वपूर्ण प्रमाण भए तापनि साविती मात्र अभियोग पुष्टि गर्ने आधार बन्न सक्दैन । यदि सावितीलाई अभियोग पुष्टि गर्ने एकमात्र आधार बनाइयो भने त्यसले फौजदारी न्यायप्रणालीमा थुप्रै जटिलताहरूलाई जन्म दिन्छ । त्यसले अनुसन्धान एवं अभियोजन पक्षबाट दावी प्रमाणित गर्नका लागि अन्य प्रमाणहरूको संकलन र विश्लेषणमा भन्दा अभियुक्तलाई साविती बयान दिन बाध्य पारिने सम्भावनालाई बल प्रदान गर्दछ । त्यसैगरी वास्तविक अपराधी उम्कने र अनुसन्धानका क्रममा अभियुक्तका रुपमा प्रस्तुत गरिएका व्यक्ति दण्डित हुनुपर्ने विडम्वनापूर्ण अवस्था पनि आउनसक्छ । त्यसैले त्यस्ता सम्भावनाहरूलाई बल पुग्ने गरी न्यायिक व्याख्या गरिनु हुँदैन । यस अदालतबाट समेत अन्य प्रमाणबाट समर्थित नभएसम्म सावितको नै आधारमा मात्र अभियुक्तलाई अपराधी ठहर्याउन न्यायसंगत हुँदैन भनी (नेकाप २०३१, नि.नं. ८४८, पृ. २६३) व्याख्या भैसकेका छन् । त्यसैले फौजदारी न्यायको सर्वमान्य सिद्धान्तका साथै यस अदालतबाट कायम भएका न्यायिक सिद्धान्तहरूको आधारमा हेर्दा साविती बयानलाई मात्र आधार बनाएर न्याय निरुपण गर्न मिल्ने देखिँदैन । अभियुक्तको साविती बयान अन्य प्रमाणहरूबाट समर्थित हुनुपर्दछ भन्ने निष्कर्षमा यो इजलास पुगेको छ ।
३. यस अघि गरिएको विश्लेषणबाट अभियुक्तको साविती बयानबाट मात्र अभियोग प्रमाणित भएको मान्न नसकिने निष्कर्षमा पुगिएको परिप्रेक्ष्यमा अब प्रस्तुत मुद्दामा प्रतिवादीको बयान बाहेकका अन्य स्वतन्त्र प्रमाणहरूको अवस्था र ती प्रमाणहरू प्रतिवादीको कसूर प्रमाणित गर्न पर्याप्त भए नभएको सम्बन्धमा विवेचना गरिनुपर्ने भएको छ । त्यसतर्फ हेर्दा प्रस्तुत मुद्दाको उठान गर्ने घटनास्थल प्रकृति मुचुल्कामा रुखको ४ फीट उचाईमा पँहेलो रंगको कपडाको पटुका बाँधी मृतक गीता खड्काको घाँटीमा पासो बनाई झुण्डिएको अवस्थामा मृतक लास भएको र मृतक लासको दायाँ खुटृाको पैतालाको भागले भूईं छोएको अवस्थाले "Suicidal Hanging" भन्ने शव परीक्षण प्रतिवेदनमाथि प्रश्न उठ्ने अवस्था देखिएको छ । यी प्रतिवादी आफैंले मिति २०६३।३।४ मा दिएको जाहेरी दरखास्तमा बेलुकीको खाना खाने विषयमा भनाभन भई रिसाएर आफू बाहिर हिँडेको, त्यही बेलामा श्रीमती घरबाट निस्की गएकी र रातको समयमा खोजतलास गर्दा फेला नपरेकी, भोलिपल्ट विहान समेत खोजतलास गर्दा कुटमिराको रुखमा झुण्डिएको अवस्थामा फेला परेको भनी उल्लेख गरेका छन् भने निज आफैंले पुनरावेदन अदालत राजविराजमा दिएको पुनरावेदनमा गोरुलाई घाँस नहालेको विषयमा श्रीमतीसँग भनाभन भएको, श्रीमतीलाई मार्नुपर्ने सम्मको कुनै कारण पूर्व रिसइवी मनसाय नभएको जोखिमी हतियार समेत प्रयोग नभएको, शरीरमा कुनै घा चोट, निलडाम नदेखिएको सामान्य भनाभन हुँदा एक झाप्पड हिर्काउँदा कुठाउँमा लागी भवितव्य परी मृत्यु भएको हुनसक्ने भनी उल्लेख गरेका छन् । प्रतिवादीको यस अदालतसमक्षको पुनरावेदन हेर्दा निजले अन्य कुराहरूका अतिरिक्त मृतकको कञ्चटमा कुनै निलडाम समेत नरहेको अवस्थामा आफूले प्रहार गरेको भन्ने कुरा प्रमाणित हुन नसक्ने भनी भिन्न किसिमको जिकीर लिएका छन् । यसरी अदालतसमक्षको बयान तथा पुनरावेदनहरूमा फरक–फरक व्यहोराको अभिव्यक्ति दिएबाट प्रतिवादीको पुनरावेदन जिकीर आफैंमा खण्डित भैरहेको अवस्था छ । पुनरावेदन अदालत र यस अदालतमा पुनरावेदन गर्दा समेत फरकफरक व्यहोरा उल्लेख गरेबाट पुनरावेदनपत्रको विश्वसनीयतामा प्रश्न उठ्नु स्वाभाविक हो । मौकामा कागज गर्दा डर धाक धम्की, प्रभाव र दवाव समेतबाट साविती बयान दिन बाध्य पारिएको भनी जिकीर लिनु जति स्वाभाविक हुनसक्छ, अदालतसमक्षको बयानलाई पनि त्यही रुपमा प्रस्तुत गरिनु त्यत्तिकै अस्वाभाविक हुन्छ । झन पुनरावेदनपत्र भनेको अदालत बाहिर स्वतन्त्र र निर्बिघ्न रुपले मस्यौदा गरिने र स्वेच्छाले सही गरिने लिखत हो । अदालत स्वच्छ सुनुवाईका लागि सम्पूर्ण वातावरण निर्माण गर्न सदैव तत्पर रही तदनुरुपको परिस्थितिमा हुने अन्य पक्षको दवाव, प्रभाव र डर, धाक, धम्कीको सम्भावना रहँदैन । त्यसैले अदालतसमक्ष गरेको बयानलाई समेत अन्यथा संज्ञा दिइंदा सो कुराका भरपर्दा आधार पक्षले नै पेश गर्न सक्नुपर्ने हुन्छ । त्यसैले यस सम्बन्धमा लिइएको पुनरावेदन जिकीरसँग सो हदसम्म सहमत हुनसक्ने अवस्था देखिएन ।
४. प्रतिवादीले दिएको जाहेरीमा उद्धव खड्कासँग भेट भएको भन्ने कुरा उल्लेख गरेका छन्, निज उद्धवले मौकामा गरेको कागजमा पृथीबहादुरको भनाई उद्धृत गर्दै श्रीमतीसँग झगडा भएको भन्ने कुरा लेखाएका छन् । मौकामा कागज गर्ने सुरेश खड्का, विमला खड्का, छत्र नेपाली, भक्तमाया खड्का, नरबहादुर खड्का, महेन्द्र खड्कासमेतले प्रतिवादीले नै गीता खड्कालाई मारेकोमा विश्वास लाग्छ भनी लेखाएका छन् । मृतकका बाबु नृपध्वज कटवालले दिएको जाहेरी दरखास्तमा पृथीबहादुर खड्काले जाँडरक्सी खाई बराबर छोरी गीतालाई कुटपीट र गाली गलौज गर्ने गरेका, २०६३।२।३० गते बेलुका समेत लात मुक्का र मुङ्ग्राले कुटपीट गरी मारी बोकेर घर मुन्तिर वारीमा रहेको कुटमेराको रुपमा लगी पटुकाले पासो लगाई झुण्ड्याई आत्महत्या गरेको देखाउन खोजेका हुन् भनी उल्लेख गरेका छन् । निजले अदालतमा आई सोही व्यहोरालाई समर्थन हुने गरी बकपत्र समेत गरेको अवस्था मिसिलबाट देखिएको छ । यी प्रमाणहरूले पनि अभियोग दावीलाई समर्थन गर्दछन् ।
५. प्रस्तुत मुद्दामा मुख्य रुपमा साविती बयान र शव परीक्षण प्रतिवेदनका बीचको विरोधाभाषको प्रश्न उठाइएको छ । शव परीक्षण प्रतिवेदनमा स्पष्ट रुपमा "The cause of death is asphyxia due to suicidal hanging" भन्ने व्यहोरा उल्लेख गरिएको छ । त्यस आधारमा प्रतिवादीले कर्तव्य गरी गीता खड्काको हत्या गरेको भन्ने अभियोग दावीलाई कमजोर बनाएको प्रतिवादी पुनरावेदक पक्षको जिकीर छ । तर, शव परीक्षण गर्ने चिकित्सकको पटक–पटक अदालतले कोशिश गर्दा पनि बकपत्र हुन सकेको अवस्था भने छैन । शव परीक्षणका आधारमा मृत्युको कारण मात्र विशेषज्ञको हैसियतले बताउन सक्ने व्यक्तिले आत्महत्या भनी घोषणा गर्न सक्ने हैसियत राख्दैनन् । हत्या वा आत्महत्या कुन कारणले मृतकको श्वास प्रश्वास अवरुद्ध (Axphyxia) हो भन्ने कुरा प्रमाणका आधारमा अदालतले मात्र ठहर गर्न सक्ने कुरा हो । त्यसमा पनि बकपत्र हुन नसकेको अवस्थामा त्यस्तो प्रतिवेदनको प्रामाणिक महत्व के हुने भन्ने सम्बन्धमा विचार गर्दा प्रमाण ऐन, २०३१ को दफा १८ मा कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रुपमा अदालतमा उपस्थित भै बयान गरेमा प्रमाणमा लिन हुन्छ भन्ने प्राबधान रहेको छ । त्यसै गरी सोही दफाको स्पष्टीकरण खण्ड (क) मा शव परीक्षणको प्रतिवेदन (पोष्टमार्टम रिपोर्ट) मा सम्बन्धित विशेषज्ञले उल्लेख गरेको कुनै कुराका सम्बन्धमा मुद्दाका पक्षहरूका बीचमा कुनै विवाद नभएमा वा सो कुरा मिसिलमा देखापरेको कुनै प्रमाण वा कुनै वस्तुस्थितिसँग असंग नदेखिएमा सो विशेषज्ञ अदालतमा उपस्थित नभए पनि सो कुरा प्रमाण लिन हुन्छ भनिएको छ । यो कानूनी व्यवस्थाका आधारमा प्रस्तुत मुद्दाको अवस्थालाई हेर्दा प्रस्तुत मुद्दामा शव परीक्षण गर्ने चिकित्सक अदालतमा आई बकपत्र गरेको अवस्था छैन भने चिकित्सकको रायका सम्बन्धमा पक्षहरूबीच मतैक्य हुन सकेको पनि छैन । त्यसैगरी समग्र मुद्दाको तथ्य र चिकित्सकको वैज्ञानिक नभई मनोगत राय रुपमा रहेको सो रायका बीचमा तादात्म्यता कायम हुन सकेको पनि पाईदैन । यस्तो अवस्थामा उल्लिखित कानूनी व्यवस्थाका आधारमा शव परीक्षण प्रतिवेदनलाई अन्य प्रमाणको विरुद्धमा आधारभूत प्रमाणका रुपमा ग्रहण गरी न्याय निरुपण गर्न मिल्ने हुँदैन । त्यसैले शव परीक्षण प्रतिवेदनका आधारमा आफूले सफाई पाउनु पर्ने भन्ने प्रतिवादीको जिकीरसँग पनि सहमत हुन सकिएन ।
६. तसर्थ माथि गरिएको विश्लेषण समेतका आधारमा प्रतिवादीको साविती बयान मात्र नभई पुनरावेदन अदालतमा गरिएको पुनरावेदनका अतिरिक्त घटनास्थल तथा लासजाँच मुचुल्का, घटनास्थलमा खिचिएको मृतकका फोटोहरू, मौकामा कागज गर्ने व्यक्तिहरूले गरिदिएको कागज, जाहेरी दरखास्त र सो व्यहोराको समर्थनमा अदालतमा आई गरेको बकपत्र समेतबाट समर्थित भएको स्थितिमा निज प्रतिवादी पृथीबहादुर खड्काले आफ्नी श्रीमती गीता खड्कालाई कर्तव्य गरी मारेको भन्ने कुरा पुष्टि हुन आएबाट निज प्रतिवादी पृथीबहादुर खड्कालाई अभियोग माग दावीअनुसार मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको शुरु ओखलढुंगा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत राजविराजको मिति २०६५।३।१६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।
७. यसरी प्रतिवादीलाई आफ्नै श्रीमतीको कर्तव्य गरी हत्या गरेको अभियोग पुष्टि भै निजलाई सर्वस्वसहित जन्मकैद हुने ठहरे पनि प्रस्तुत मुद्दाको समग्र तथ्यलाई विचार गर्दा यी प्रतिवादी पृथीबहादुर र निजकी पत्नी गीता खड्काका बीचमा घरायसी विषयमा तत्कालै विवाद उत्पन्न भै भनाभन समेत भएको भन्ने कुरा मिसिलबाट देखिन्छ । त्यसरी आपसी भनाभन हुँदाका वखत निज प्रतिवादीले मुक्का प्रहार गरेको भन्ने तथ्यबाट मृतकलाई मार्ने नियत राखी पूर्व योजनासहित प्रहार गरेको भन्ने अवस्था कहीँ कतैबाट देखिन आउँदैन । घटना हुँदाको अवस्थामा निज प्रतिवादीको उमेर २० वर्षको मात्र देखिन्छ । मूल कुरा त मौकामा र अदालतमा समेत घटनाको सविस्तार उल्लेख गरी अनुसन्धान प्रक्रियालाई सहयोग पुर्याएको अवस्था मिसिलबाट देखिन्छ । अदालतमा आई गरेकै अपराधलाई पनि इन्कार गरेमा लाभान्वित हुने र झन सत्य कुरा स्वीकार गरेमा प्रताडीत हुने हाम्रो न्यायिक मान्यता तथा मानसिकतामा परिवर्तनको खाँचो छ । विकसित न्यायप्रणालीले स्वीकारी सकेको अपराध कवुल गरी अनुसन्धानमा सहयोग पुर्याई पश्चाताप गर्नेलाई सहुलियत दिनु आवश्यक छ । घटना पछि घटनाको विषयमा पश्चातापको भावनाले झोक्राएर रहेको अवस्थामा भेटृाई उद्धव खड्काले फकाई घरमा ल्याएको भन्ने पनि उद्धव खड्काको मौकाको कागजबाट देखिएको छ । त्यसैगरी आमाको मृत्यु र बाबु लामो समय कैदमा रहनु पर्ने कारणबाट मृतक र प्रतिवादीबाट जायजन्म भएका नावालक छोराको हेरबिचार गर्ने व्यक्तिको अभाव जस्तो पारिवारिक समस्या समेत देखिएको छ । तसर्थ अपराध हुँदाको समग्र अवस्था र त्यसपछि उत्पन्न परिस्थिति समेतलाई दृष्टिगत गर्दा निज प्रतिवादी पृथीबहादुर खड्कालाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को हुन जाने निष्कर्षमा यो इजलास पुगेको हुँदा अ.वं. १८८ नं. बमोजिम ९ वर्ष कैद हुन्छ । अरुमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत राजविराजको फैसला सदर भै प्रतिवादी पृथीबहादुरलाई सर्वस्वसहित जन्मकैद हुने ठहरेको भए तापनि अ.वं. १८८ नं. बमोजिम ९ वर्ष कैद हुने ठहरेको हुँदा ओखलढुंगा जिल्ला अदालतको मिति २०६४।२।२ को फैसलाको तपसील खण्ड १ बमोजिम रहेको लगत कायम नरहने हुँदा उक्त लगत कटृा गरी प्रस्तुत फैसला बमोजिमको लगत ठेकी सम्बन्धित कारागार शाखामा लगत दिनु भनी शुरु ओखलढुंगा जिल्ला अदालतमा लेखी पठाइदिनू ............. १
यो फैसलाको जानकारी वादी नेपाल सरकारलाई महान्यायाधिवक्ताको कार्यालय मार्फत र प्रतिवादी पृथीबहादुर खड्कालाई कारागार शाखा ओखलढुंगा मार्फत दिनू ......... २
प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ....... ३
उक्त रायमा म सहमत छु ।
प्र.न्या.रामप्रसाद श्रेष्ठ
इति संवत् २०६७ साल कात्तिक १० गते रोज ३ शुभम्
इजलास अधिकृतः उमेश कोइराला