शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४३५ - कर्तव्यज्यान

भाग: ५२ साल: २०६७ महिना: मंसिर अंक:

निर्णय नं. ८४३५    ने.का.प. २०६७      अङ्क ८

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय

संवत् २०६५ सालको फौ.पु.नं .....०३४७

फैसला मितिः २०६७।३।८।३

मुद्दाःकर्तव्य ज्यान 

पुनरावेदक वादीः रेशमबहादुर खत्रीको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः दाङ जिल्ला फुलवारी गा.वि.स. वडा नं. ८ बस्ने केशबहादुर बुढाथोकी

 

शुरु फैसला गर्नेः

मा.न्या. श्री नारायणप्रसाद श्रेष्ठ

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री अवधेश कुमार यादव

मा.न्या. श्री राजेन्द्रराज पन्त

 

§  मैले कानून थाहा नभएर अपराध गरेको हुँ भनेर कसैले फौजदारी दायित्वबाट छूटको दावी गर्न नसक्ने 

§  तथ्यको अज्ञानता वा भूल (Mistake of Fact) को प्रश्न छ त्यो क्षम्य मानिन्छ । तथ्यको अज्ञानता सवै कानूनमा क्षम्य मानिन्न, केवल फौजदारी कानूनमा मात्र क्षम्य मानिन्छ । तथ्यको अज्ञानताको कारणले फौजदारी दायित्वबाट मुक्ति पाउन जुन तथ्यको भूलले गर्दा नघ्ट्नु पर्ने कार्य घटित भएको छ त्यस्तो तथ्यको ज्ञान भएको भए सो व्यक्तिले त्यस्तो कार्य गर्ने थिएन भन्ने कुरा प्रमाणित हुनुपर्छ र तथ्यको भूल उचित र कारणसम्मत् हुनुपर्ने 

(प्रकरण नं.७)

§  मृतकलाई मार्नुपर्ने मनसाय, रिसइवी र पूर्व योजना नदेखिएको, शिकार खेल्न जंगलमा गएको अवस्थामा तथ्यको भूलको कारणले जनावरलाई भनी हानेको गोली मृतकलाई लाग्न गई ज्यान गएको परिस्थिति समेतको मूल्याङ्कन गर्दा ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम एक वर्ष कैद हुने 

(प्रकरण नं.९)

 

पुनरावेदक वादीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदी

प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  मुलुकी ऐन ज्यानसम्बन्धी महलको ६(२) नं.

 

फैसला

न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत तुलसीपुर दाङको मिति २०६४।१२।१२ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

      मेरो छोरा वर्ष २३ को गीरबहादुर खत्रीलाई २०६३।१०।११ गते दिनको ११.०० बजेतिर गाउँकै केशबहादुर बुढाथोकी आई साथमा लिई शिकार खेल्न गएकोमा अन्दाजी १ बजेतिर केशबहादुरले चलाएको गोली लागी गीरबहादुरको घटनास्थल दुन्द्रा खोलामा मृत्यु भएकोले निज केशबहादुरलाई कानूनबमोजिम गरिपाऊँ भन्ने समेत रेशमबहादुर खत्रीको जाहेरी दरखास्त 

      मिति २०६३।१०।१२ को घटनास्थल प्रकृति मुचुल्का मिसिल सामेल रहेको 

      मिति २०६३।१०।११ गते विहानको खाना खाएर गिरीराज समेत ५ जना भई मैले मेरो घरबाट बन्दुक झिकी लोडगरी दुन्द्रा खोलातर्फ गयौं जंगलमा गइसकेपछि मसँग गएका गिरीराज र होमबहादुर बन्दुक लिएर बस्यौं । अन्दाजी ५ मिनेट पछि चारी लगाउन गएका २ जनाले चारीको संकेत नदिदै पात बजेको आवाज सुनी मैले पूर्ण तयारीका साथ घोडा तानी जनावर सम्झी एक्कासी गोली चलाउँदा गीरबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो भन्ने प्रतिवादी केशबहादुर बुढाथोकीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान 

      मिति २०६३।१०।११ गते गाउँका बलीराम पुन, होमबहादुर खत्री केशबहादुर बुढाथोकी, गीरबहादुर खत्री र म समेत ५ जना नै शिकार खेल्न भनी दुन्द्राखोला तर्फ गयौं । गुणबहादुर पुन, बलिराम पुन समेत हामीहरू शिकार चारी लगाउन गयौं । अन्य तीन जनासँग बन्दुक भएकोले बन्दुक हान्न बसे । हामीहरूले चारीको संकेत नदिदै गोली चलेको आवाज सुनी उक्त स्थानतिर जाँदा गीरबहादुर खत्रीको दायाँ कन्चटमा २ ठाउँमा गोली ढली मरेको अवस्थामा देख्यौं सो स्थानमा केशबहादुरलाई नदेखेपछि निजले नै गोली हानेको शंका लागी निजलाई खोजतलास गर्दा निज झाडीमा लुकेको अवस्थामा फेलापारी सोधपुछ गर्दा ध्यापध्याप आवाज आएको सुनी गोली चलाउँदा गीरबहादुरको मृत्यु हुन गएको हो भनेको हुँदा निजले चलाएको गोलीबाटै मृतक गीरबहादुरको मृत्यु भएको विश्वास लाग्दछ । भन्ने शिकार खेल्न गएका गुणबहादुर पुन, बलिराम पुन, लोकबहादुर खत्री समेतका मानिसले गरिदिएको एकै मिलानको घटना विवरण कागज 

      मिति २०६३।१०।११ गते म आफ्नै घरमा थिएँ । सो दिन दिनको अन्दाजी १६.०० बजेको समयमा दुन्द्रा खोला जंगलमा मानिस मरेको छ भन्ने थाहा पाई हेर्न घटना स्थलमा जाँदा खोलामा कोल्टो अवस्थामा मृतक गीरबहादुर खत्री पल्टेका थिए । निजको दायाँ कन्चटमा २ वटा प्वाल परेको थियो भन्ने व्यहोराको सुन्दर के.सी., जुद्धबहादुर के.सी. र शिवकुमार रावतले गरेको एकै मिलानको घटना विवरण कागज 

      टाउकोमा गोली लागेर मृत्यु भएको भन्ने मिति २०६३।१०।१२ को शवपरीक्षण प्रतिवेदन मिसिल सामेल रहेको 

      गाउँका केशबहादुर बुढाथोकीले मेरो श्रीमानलाई ललाई फकाई गरी शिकार खेल्न भनी जंगलमा लगी के कसरी गोली हानेर मारे निजले नै मेरो श्रीमानलाई गोली हानि मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको मृतकको श्रीमती पवित्रा के.सी.ले गरेको मौकाको कागज 

      साथीहरू भै मिति २०६३।१०।११ गते दुन्द्रा खोलाको जंगलमा शिकार खेल्न भनी गएकोमा भरुवा बन्दुक लिई शिकार हान्न बसेका केशबहादुर बुढाथोकीले चलाएको गोली लागी मृतक गीरबहादुर खत्रीको मृत्यु भएको तथ्य मिसिल संलग्न कागज प्रमाणबाट देखिँदा प्रतिवादी केशबहादुर बुढाथोकीलाई ज्यानसम्बन्धीको १३(२) नं. बमोजि सजाय गरिपाऊँ भन्ने अभियोगपत्र 

      उक्त मितिमा म गीरबहादुर खत्री, होमबहादुर खत्री, अरु नाम थाहा नभएका २ जना समेत हामी ५ जना शिकार खेल्न भनी दुन्द्रा खोलातर्फ गएकोमा खोलाको पूर्व साइडमा म बन्दुक लिएर बसे, गिरीराज दक्षिण साइडमा बस्यो, दुईजना चारी लगाउने तयारीमा रहेको अवस्थामा गीरबहादुरले जनावर आउँदा सोत्रसोत्र गर्छ तयारी भएर बस, आएपछि झड्याम्म हान्नु भनेर भनेका थिए, त्यसै क्रममा गीरबहादुर खत्री नै सोत्रसोत्र गर्दै आएको मैले थाहा पाइन, बन्दुक चलाउँदा मेरै साथी गीरबहादुर खत्री गोली लागि ढलेका रहेछन् भन्ने व्यहोराको प्रतिवादी केशबहादुर बुढाथोकीले अदालतमा गरेको बयान 

      प्रतिवादी केशबहादुरले मृतक गीरबहादुर खत्रीलाई शिकार खेल्न गएको अवस्थामा जानी बुझी गोली हानि मारेका होइनन् । भुलवश झुक्किएर शिकारलाई हान्न खोज्दा गीरबहादुरलाई लाग्न गएको हो भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी कृष्णबहादुर महताराले अदालतमा गरेको बकपत्र 

      मेरो छोरा गीरबहादुर खत्रीलाई शिकार खेल्न गएको अवस्थामा केशबहादुर बढाथोकीले बन्दुक प्रहार गरी मारेका हुन् । झुक्किएर गोली गीरबहादुरलाई लागेकोल भवितव्य ज्यान हुन गएको हो भन्ने जाहेरवाला रेशमबहादुर खत्रीले अदालतमा गरेको बकपत्र 

      प्रतिवादीले आरोपित कसूर गरेको स्वीकार गरेको हुँदा निज प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्म कैद हुने ठहर्छ भन्ने व्यहोराको दाङ देउखुरी जिल्ला अदालतको मिति २०६४।३।३१ को फैसला 

      घटना घट्दाको परिस्थितिमा जनावरले नै सोत्रसोत्र गरेको आवाज होला भन्ने ठानी झुक्किएर गोली चलाउँदा मृतकलाई लाग्न गएको भन्ने मौकामा र अदालत समेतमा भएको मेरो इन्कारी बयान, जाहेरवाला स्वयंले मृतकलाई झुक्किएर गोली लाग्न गएको हो भनी अदालतमा बकपत्र गरिदिएको समेतको आधार प्रमाणको मूल्याङ्कन नै नगरी ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम मलाई सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याएको फैसला नमिलेको हुँदा बदर उल्टी गरी घटनाको परिस्थितिलाई समेत विचार गरी कानूनबमोजिम इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी केशबहादुर बुढाथोकीको पुनरावेदनपत्र 

      यसमा कर्तव्य ज्यान गरी मारेको होकी भवितव्य भई मरेको हो भन्ने प्रश्न रहेको अवस्थामा प्रमाणहरूको मूल्याङ्कनको परिप्रेक्ष्यमा छलफल गर्न उपस्थित हुन अ.वं. २०२ नं र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ अनुसार पुनरावेदन सरकारी वकील कार्यालय तुलसीपुरलाई पेसीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने मिति २०६४।११।१४ को पुनरावेदन अदालतको आदेश 

      यसमा अभियोग दावीबमोजिम ज्यानसम्बन्धीको १३(१) र (२) नं. बमोजिम प्रस्तुत मुद्दामा ज्यान मार्ने इवी मनसाय तयारी नरहेको साथै विष खुवाएको र अन्य अवस्था समेत नभएको देखिएकोले मिसिल संलग्न प्रमाणबाट ज्यानसम्बन्धीको ५ नं. को अवस्था आकर्षित हुँदा भवितव्य ठहर्छ । सो ठहर्नाले दाङ देउखुरी जिल्ला अदालतले मिति २०६४।३।२१।१ मा गरेको फैसला नमिली केही उल्टी भई प्रतिवादीलाई ज्यानसम्बन्धीको ६ नं. को देहाय (२) नं. बमोजिम १(एक) वर्ष कैद हुन्छ । प्रतिवादीले उक्त कैद भुक्तान गरिसकेको देखिँदा आजै निज प्रतिवादीलाई कैदबाट मुक्त गरिदिने ठहर्छ भन्ने पुनरावेदन अदालतको फैसला 

      शिकार वा मानिस नछुट्याई गोली चलाउने कार्य भवितव्य नभई गोप्य मनसायपूर्ण देखिन्छ । यसरी मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) तथा ऐ.को ६(२) को व्याख्यामा गम्भीर त्रुटि देखिँदा पुनरावेदन अदालत तुलसीपुरको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावी तथा शुरु जिल्ला अदालतको फैसला बमोजिम प्रतिवादीलाई सजाय गरिपाऊँ भन्ने वादीको पुरनावेदनपत्र 

      निमयबमोजिम आजको दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदीले प्रतिवादीले चलाएको गोलीबाट मृतकको मृत्यु भएकोमा विवाद छैन । शिकार गर्दा जंगली जनावरलाई गोली चलाई शिकार गर्नुपर्नेमा आवाज आएको सुनी गोली चलाएको भन्ने देखिन्छ । यस स्थितिमा भवितव्य ठहर्‍याई सजाय गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भनी बहस गर्नुभयो 

      विद्वान सहन्यायाधिवक्ताको बहस सुनी पुनरावेदनपत्रसहितको सम्पूर्ण मिसिल कागजात अध्ययन गरी हेर्दा पनुरावेदन अदालत तुलसीपुरले गरेको फैसला मिले नमिलेको के हो ? पुनरावेदकको पुनरावेदन जिकीर पुग्छ वा पुग्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

२. निर्णयतर्फ विचार गर्दा मिति २०६३।११।११ मा गीरबहादुर खत्रीलाई गाँउकै केशबहादुर बुढाथोकी आई साथमा लिई शिकार खेल्न गएकोमा केशबहादुरले चलाएको गोली लागी गीरबहादुरको मृत्यु भएकोले कानूनबमोजिम गरिपाऊँ भन्ने जाहेरी दरखास्तको आधारमा अनुसन्धान हुँदा केशबहादुर बुढाथोकीले चलाएको गोली लागि मृतक गीरबहादुर खत्रीको मृत्यु भएको तथ्य मिसिल संलग्न कागज प्रमाणबाट देखिएको भनी प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजायको माग दावी लिई अभियोगपत्र दायर भएको देखिन्छ 

      ३. प्रस्तुत मुद्दामा शुरु दाङ देउखुरी जिल्ला अदालतले प्रतिवादीले चलाएको गोली लागि मृतक मरेको कुरा प्रतिवादीले स्वीकार गरेको अवस्था हुँदा ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद सजाय हुने ठहर गरेउपर प्रतिवादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत तुलसीपुरले शुरु फैसला केही उल्टी गरी प्रतिवादीलाई ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम १ वर्ष कैद हुने ठहर गरेउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ 

      ४. यमसा प्रतिवादी केशबहादुर बुढाथोकीले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा वारदातको दिन मिति २०६३।१०।११ गते विहानको खाना खाएर गिरीराज समेत पाँचजना भई बन्दुक लोड गरी दुन्द्रा खोलातर्फ गई आफू गोली हान्न बसे, गिरीराज र होम बन्दुक लिएर बसे । चारी लगाउन गएका दुइ जनाले चारीको संकेत नदिँदै पात बजाउँदै छपराकछपराक गर्दै आएको आवाज सुनी म पूर्ण तयारीमा घोडा तानी एक आँखा चिम्ली बसेको अवस्थामा जनावर यही हो भन्ने सम्झी गोली चलाएको र के मरेछ भनी हेर्न जाँदा गीरबहादुर खत्री घटना स्थलमा नै लडी मृत्यु भएको देखी साथीहरूलाई बोलाई गाउँमा आई घटनाको विवरण भनेको भनी आफूले जनावर सम्झी गोली चलाउँदा मृतकको मृत्यु भएको तथ्यलाई स्वीकार गरेको देखिन्छ । त्यस्तै निजले अदालतसमक्ष गरेको बयानमा पनि वारदातस्थल दुन्द्रा खोलको पूर्वपट्टि आफू बन्दुक लिई बसेको, गीरबहादुर दक्षिणतर्फ र निजको भाई होमबहादुर पश्चिमतर्फ बन्दुक लिई बसेको र सोत्रेसोत्रे गरेको आवाज सुनी गोली चलाउँदा गीरबहादुरलाई गोली लागेको भनी स्वीकार गरेका छन् । मृतकको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारणमा The cause of death was due to Gunshot injury भनी उल्लेख भएको देखिन्छ 

      ५. सँगै शिकार खेल्न गएका गुणबहादुर पुन, बलीराम पुन र लोकबहादुर खत्री समेतले प्रतिवादीले चलाएको गोलीबाट नै मृतकको मृत्यु भएको भन्ने तथ्य उल्लेख गरेका छन् । यस स्थितिमा प्रतिवादीको साविती बयान मृतकको शव परीक्षण प्रतिवेदन र प्रतिवादी र मृतकसँगै शिकार खेल्न गएका व्यक्तिहरूको भनाई समेतबाट समर्थित भएको देखिँदा प्रतिवादीको गोली प्रहारबाट मृतकको मृत्यु भएको भन्ने तथ्यमा विवाद देखिएन 

      ६. वस्तुतः केही अपवादवाहेक आपराधिक कार्य र आपराधिक मनसाय दुबै अवस्थाको विद्यमानताबिना कुनै पनि व्यक्तिलाई फौजदारी दायित्व वहन गराउनु हुँदैन भन्ने सापेक्षिक दायित्व (relative Liability) को सिद्धान्तलाई फौजदारी कानूनकै एक आधारभूत सिद्धान्तको रुपमा स्थापित गरिएको पाइन्छ । मुलुकी ऐन ज्यानसम्बन्धी महलमा कर्तव्य परी मरेको, ज्यान मार्नाको मनसाय, ज्यान मार्नलाई मतलवमा पसेको, ज्यानमार्ने कुरा गर्दा आदि पदावली उल्लेख भएको देखिँदा ज्यान मारेको कसूर कायम हुन उक्त कार्य मनसायपूर्वक गरेको हुनुपर्छ भन्ने फौजदारी न्यायको सापेक्षिक दायित्वको सिद्धान्तलाई हाम्रो कानूनी प्रणालीमा पनि स्वीकार गरिएको स्पष्ट देखिन्छ 

      ७. मुद्दाको सन्दर्भमा वा न्याय प्रशासनको क्षेत्रमा कानूनको प्रश्न र तथ्यको प्रश्न दुबै सँगसँगै उपस्थित भैरहेको हुन्छ । मुद्दाको पक्षलाई कानून थाहा थिएन भनेर छूट दिन सकिदैन अर्थात् कानूनको अज्ञानता क्षम्य हुँदैन भन्ने फौजदारी न्यायको सिद्धान्त रहेको छ । मैले कानून थाहा नभएर अपराध गरेको हुँ भनेर कसैले फौजदारी दायित्वबाट छूटको दावी गर्न सक्दैन । तर जहाँसम्म तथ्यको अज्ञानता वा भूल (Mistake of Fact) को प्रश्न छ त्यो क्षम्य मानिन्छ । तथ्यको अज्ञानता सवै कानूनमा क्षम्य मानिन्न, केवल फौजदारी कानूनमा मात्र क्षम्य मानिन्छ । तथ्यको अज्ञानताको कारणले फौजदारी दायित्वबाट मुक्ति पाउन जुन तथ्यको भूलले गर्दा नघट्नु पर्ने कार्य घटित भएको छ त्यस्तो तथ्यको ज्ञान भएको भए सो व्यक्तिले त्यस्तो कार्य गर्ने थिएन भन्ने कुरा प्रमाणित हुनुपर्छ र तथ्यको भूल उचित र कारणसम्मत् हुन पनि पर्दछ 

      ८. प्रस्तुत मुद्दाको सन्दर्भमा घटनाको परिस्थिति हेर्दा प्रतिवादी र मृतक समेत शिकार खेल्न जंगलमा गएको र जनावरलाई गोली हानेको भन्ने सम्झी गोली चलाउँदा मृतकलाई लाग्न गएको देखिन्छ । यसबाट तथ्यको भूलको कारणबाट घटना आकस्मिक रुपमा घट्न गएको देखिन्छ । तर मृतक र प्रतिवादीबीच ज्यान लिनेसम्मको पूर्व रिसइवि भएको वा कुनै योजनावद्ध किसिमले गोली प्रहार गरी मृत्यु भएको भन्ने मिसिल संलग्न प्रमाणबाट देखिँदैन । यसरी प्रतिवादीको कार्यमा मृतकलाई मनसायतत्वको अभाव रहेको मिसिल संलग्न प्रमाणबाट देखिँदा आफूले गोली चलाएको स्थानमा मृतक रहेको तथ्यको ज्ञान प्रतिवादीलाई भएको भए निजले गोली चलाउने अवस्था र स्थिति रहेको देखिँदैन । अर्कोतर्फ मृतक प्रतिवादीको दक्षिणतर्फ बन्दुक लिई जनावरलाई हान्न बसेको भन्ने देखिँदा प्रतिवादीबाट भएको तथ्यको भूल उचित र कारणसम्मत समेत देखिन आयो 

९. तसर्थ मृतकलाई मार्नु पर्ने मनसाय, रिसइवी र पूर्व योजना नदेखिएकोशिकार खेल्न जंगलमा गएको अवस्थामा तथ्यको भूलको कारणले जनावरलाई भनी हानेको गोली मृतकलाई लाग्न गई ज्यान गएको परिस्थिति समेतको मूल्याङ्कन गरी शुरु दाङ देउखुरी जिल्ला अदातलको फैसला केही उल्टी गरी प्रतिवादीलाई ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम एक वर्ष कैद गरेको पुनरावेदन अदालत तुलसीपुरको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु 

 

उक्त रायमा सहमत छु 

 

न्या.कृष्णप्रसाद उपाध्याय

 

 

इति संवत् २०६७ साल असार ८ गते रोज ३ शुभम्     इजलास अधिकृतःकृष्णमुरारी शिवाकोटी 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु