निर्णय नं. ८४४५ - अंश हक कायम
निर्णय नं. ८४४५ ने.का.प. २०६७ अङ्क ८
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
२०६४ सालको दे.नं. ५६८
फैसला मितिः २०६७।३।३०।४
मुद्दाः अंश हक कायम ।
पुनरावेदक प्रतिवादीः जिल्ला सर्लाही हरिपूर्वा गा.वि.स.वडा नं.२ बस्ने रामबाबु राय समेत
विरुद्ध
प्रत्यर्थी वादीः ऐ.ऐ.बस्ने मुनरदेवीको मु.स.गर्ने र आफ्नो हकमा समेत सोनेलाल राय
शुरु फैसला गर्ने :–
मा.जि.न्या.श्री यज्ञप्रसाद बस्याल
पुनरावेदन फैसला गर्ने :–
मा.न्या.श्री राघवलाल वैद्य
मा.न्या.श्री शारदाप्रसाद घिमिरे
§ दुबै पक्षले हदम्यादभित्र नालिस गरी आफ्नो अपुताली हक कायम गर्न नसकेको अवस्थामा कसैको पनि हक हुँदैन भन्न नमिल्ने ।
§ अंश हक खाने अंशियार भएको अवस्थामा निजहरूका हकमा अपुतालीको २० नं. ले ३ वर्षको हदम्याद गुज्रेको मानी अंश हकबाट प्राप्त हुने सम्पत्तिमाथिको हक समाप्त भएको अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.४)
§ बाबुको नाममा रहेको सम्पत्ति आफ्नो जीवनकालमा कसैलाई लिखत गरी नदिएको एवं के कुन व्यक्तिहरूले पालन–पोषण, स्याहार संस्कार गरेको भन्ने तथ्य प्रमाणबाट खुल्न नसकेको अवस्थामा वावुको शेषपछि सन्तानहरूको बराबर हक हुनु न्यायोचित र कानूनसम्मत् हुने ।
(प्रकरण नं.८)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता सुरेशकुमार कार्की
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ अपुतालीको ६, १० र ११ नं.
फैसला
न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
स्वर्गीय पिता पति लक्ष्मी राय र माता मझिनिया देवी परलोक भै सकेपछि निजका नाउँमा दर्ता रहेको जायजेथा हामी सबैले संयुक्त नामसारी गरी लिई भोग गरी आएका थियौ । आफूले भोग गरेको तर्फबाट आफू आफू बाँडफाँड गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त गरौं भनी विचार गरेकोमा म फिरादी मुनरदेवीको बाजे ससुरा म फिरादी सोनेलालको बाजे स्व. लक्ष्मी रायको नाउँमा दर्ता रहेको जिल्ला सर्लाही गा.वि.स.भुतहा खजुरीया हाल हरिपुर्वा वा.नं.१(क) कि.नं.२४९ को ०–१२–०, ऐ.वा.नं.२ ख. कि.नं.१०७ को ०–७–१, ऐ.ऐ.वा.नं. २खं कि.नं. ११७ को ०–१३–८, ऐ वा.नं. २ख. कि.नं.१२१ को ०–६–५, ऐ वा.नं.२ ख. कि.नं. २१४ को ०–४–०, ऐ.ऐ वाड नं ३ख कि.नं. १८३ को ०–१२–१४, ऐ. वा.नं. ३ख कि.नं. १८४ को १–०–० समेत जम्मा ३–१५–८ जग्गा हामी ४ अंशियार भएकोले उक्त जग्गाहरूलाई ४ खण्डको १ खण्ड गरी जिल्ला सर्लाही भुतहा खजुरिया हाल हरिपुर्वा गा.वि.स. वा.नं. १क. कि.नं.२४९ को ०–१२–० बाह्र कठ्ठा मध्ये दक्षिणतर्फबाट ०–३–०, ऐ.वा.नं.२ख. कि.नं.१०७ को ०–७–१ मध्ये दक्षिणतर्फबाट ०–१–१५, ऐ.वा.नं.२ख. कि.नं.११७ को ०–१३–८, मध्ये दक्षिणतर्फबाट ०–३–७, ऐ.वा.नं.२ख १२१ को ०–६–५ मध्ये दक्षिणबाट ०–१–११–४, ऐ वा.नं.२ख. कि.नं. २१४ को ०–४–० मध्ये पश्चिमबाट ०–१–०, ऐ वा नं ३ख. कि.नं. १८३ को ०–१२–१४ मध्ये पश्चिमबाट ०–३–३–१०, ऐ. वा.नं. ३ख कि.नं. १८४ को १–०–० मध्ये पश्चिमबाट ०–५–० जग्गाहरू हामीहरूको नाममा दा.खा दर्ता गराई पाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
वादीहरू लक्ष्मी रायको अपुताली हक खाने हकदार भएको भए लक्ष्मी रायको मृत्यु भएको मितिले अपुतालीको २० नं. बमोजिम ३ वर्षभित्र अपुताली हक कायम गराउन नालेस गर्नुपर्ने थियो । लक्ष्मी रायको मृत्यु मिति २०३८।१०।२५ गतेमा भएको थियो । निजको नजिकको हकवाला ४ छोरा भएको कुरामा कुनै विवाद छैन । वादीहरूको पनि पिता नन्दलाल राय भन्ने आनन्दलाल रायले अपुतालीको २० नं. बमोजिम अपुताली हक कायम गराउन नसकेपछि यी वादीहरूको अपुताली कायम हुने अवस्था छैन । स्व. लक्ष्मी रायको नाउँमा दर्ता रहेको जग्गाहरूमा अपुताली हक नपाउने कारण यिनै वादीहरूको श्रीमती बुहारी मतियादेवीले यिनै वादी समेतलाई प्रतिवादी बनाई यसै अदालतमा दे.नं. १३७९ को अंश मुद्दा दायर गरेकोमा स्व. लक्ष्मी रायको नाउँमा दर्ता रहेको सम्पत्तिमा पनि अंश हक लाग्ने हो भनी फाँटवारी दाखिल गर्न नसकेको एवं वादी मध्येकी मुनरीदेवीले यिनै वादी सोनेलाल रायलाई प्रतिवादी बनाई दायर गरेको दे.नं. १४६४ को अंश मुद्दा दायर गर्दा सो मुद्दामा फाँटवारी पेश गर्दा पनि स्व.लक्ष्मी रायको नाउँमा दर्ता रहेको जग्गाहरू देखाउन सकेको छैन । स्व. लक्ष्मी रायको नजिकको हकवाला हामी प्रतिवादीहरू रहेका छौ । अपुतालीको १ नं बमोजिम प्रस्तुत फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर पत्र ।
प्रतिवादीहरूको साक्षी रामबाबु राय र तिरवेनी राय यादव समेत जना २ को बकपत्र भै मिसिल सामेल रहेको रहेछ ।
दे.नं.१२२० र दे.नं. १४६४ को अंश मुद्दामा प्र. लालबाबु समेत अंशियार कायम नभएको अवस्था तथा अपुतालीको २० नं. को हदम्यादभित्र फिराद परेको नदेखिदा वादी दावी पुग्न सक्दैन भन्ने सर्लाही जिल्ला अदालतबाट मिति २०६१।४।३२ मा भएको फैसला ।
लक्ष्मी रायले मिति २०११।२।८ मा भएको बण्डाबमोजिमको जग्गा कसैलाई हस्तान्तरण गरेको छैन । निजकै नाममा रहेको जग्गा निजको सबै सन्तानले अपुतालीमा पाउने हुन्छ । बाबुको नामको सम्पत्तिमा अपुतालीको २० नं. आकर्षित हुने होइन । तसर्थ अंश जस्तो नैसर्गिक विषयमा वादी दावी नपुग्ने भनी सर्लाही जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी वादी दावी कायम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदनपत्र ।
यसमा वादीहरू लक्ष्मी रायका अंशियार नाताका व्यक्ति भएकोमा विवाद नभएको स्थितीमा लक्ष्मी रायको मृत्यु पछि यी वादीहरूको उक्त सम्पत्तिमा हक पुग्ने नपुग्ने के हो त्यसतर्फ विवेचना नगरी गरेको शुरुको फैसला फरक पर्न सक्ने हुँदा विपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतबाट मिति २०६३।२।१५ मा भएको आदेश ।
बाबुको नाउँमा रहेको सम्पत्ति निजले आफ्नो जीवन कालमा कसैलाई लिखत नगरी दिएको अवस्थामा निजको शेषपछि कसैको हक कायम नभएको अवस्थामा निजका सन्तानहरूले बराबर गरी बाँडी खान पाउने कानूनी सिद्धान्त रहे भएको पाइन्छ । मृतकका नाउँमा रहेको सम्पत्तिमा निजका हकदारहरूले अपुताली हक कायम गरी आफ्नो नाममा गराउन सकेको नदेखिँदा मृतकको नाउँमा अध्यावधिक रुपमा रहेको सम्पत्ति निजका हकदारहरू मध्ये एकले मात्र खान पाउने अर्काले नपाउने गरी एकै पुस्ताका सन्तानमा विभेद गर्न मिल्दैन । लक्ष्मी रायको नाउँमा रहेको सम्पत्ति यी वादी र प्रतिवादीहरूले बराबरका दरले बाँडी खान पाउने हुँदा स्वर्गीय लक्ष्मी रायको नाममा दर्ता जग्गाबाट वादी दावीबमोजिम ४ खण्डको एक खण्ड फिरादीहरूका नाउँमा हक कायम भै दर्ता रहेको समेत गरी लिन पाउने ठहर्छ । सो ठहर्नाले वादी दावी नपुग्ने गरी सर्लाही जिल्ला अदालतबाट भएको फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको फैसला ।
वादीले लक्ष्मी रायको सेवा स्याहार गर्न इन्कार गर्नु भएकोले हामीले सँगोल परिवारमा राखी सेवा गरेको हो । निजको मृत्युपछि गरिने सद्गत, श्राद्ध संस्कार समेत हामीले गरेको हो । त्यसैले निजको अपुतालीमा अपुतालीको ६, ११ नं. बमोजिम हाम्रो हक लाग्छ । साथै लक्ष्मी रायको मिति २०३८।१०।२५ मा मृत्यु भएपश्चात् निज लक्ष्मी रायका नामको जग्गा हामीले जोतभोग गरी आएका छौँ । २०३८ सालमा स्वर्गे हुनुभएको लक्ष्मी रायको नामको जग्गामा विपक्षीको अपुताली रहेको भए २०५७ सालको दे.नं. १२२० तथा २०५८ सालको १४६४ को अंश मुद्दामा स्व. लक्ष्मी रायको नामको जग्गा देखाउन सक्नु भएको छैन । अपुतालीको हदम्याद समेत नाघी फिराद परेको हुँदा पुनरावेदन अदालत जनकपुरबाट भएको इन्साफ त्रुटिपूर्ण हुँदा बदर गरी इन्साफ पाँउ भन्ने समेत व्यहोराको रामबाबु राय, लालबाबु राय र धनेश्वरी रायको संयुक्त पुनरावेदनपत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा समावेश भई पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरू तर्फबाट उपस्थित विद्वान अधिवक्ता सुरेशकुमार कार्कीले वादीको फिराद अपुतालीको २० नं. ले ३ वर्षको हदम्याद नाघी परेको छ । यस अघि परेको दे.नं.१२२० र १४६४ को अंश मुद्दामा वादीहरूले स्व.लक्ष्मी रायको सम्पत्ति तायदातीमा देखाउन सकेका छैनन् । प्रतिवादीहरूले नै स्व.लक्ष्मी रायको सेवा सुसार तथा श्राद्ध संस्कार गरेको हुँदा पुनरावेदन अदालतले गरेको फैसला नमिलेको हुँदा विपक्षी झिकाउने आदेश हुनुपर्दछ भनी बहस गर्नुभयो ।
उपस्थित विद्वान अधिवक्ताले गर्नु भएको बहस समेत सुनी पेश भएको मिसिल कागजातहरूको अध्ययन गरी इन्साफ तर्फ विचार गर्दा यसमा पुनरावेदन अदालत जनकपुरले गरेको इन्साफ मिलेको छ छैन ? प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा हाम्रो बाजे तथा ससुराको नाममा दर्ता रहेको जग्गा विपक्षीहरूलाई नामसारी गरौँ भन्दा नमानेकोले हाम्रो हुने अंश भाग हक कायम गरिपाऊँ भन्ने फिराद दावी भएको प्रस्तुत मुद्दामा वादीहरूको फिरादपत्र अपुतालीको २० नं को म्याद नाघेको छ । दे.नं. १२२० र १४६४ को अंशमुद्दामा प्रस्तुत जग्गाहरू फाँटवारीमा नदेखाएको हुँदा फिराद खारेज हुनुपर्छ भन्ने प्रतिवादीहरूको प्रतिउत्तर जिकीर रहेछ । वादी दावी पुग्न नसक्ने गरी शुरु सर्लाही जिल्ला अदालतबाट फैसला भएकोमा पुनरावेदन अदालतले शुरु इन्साफ उल्टी गरी स्व. लक्ष्मी रायका नामको जग्गाबाट वादी दावी बमोजिम ४ खण्डको १ खण्ड फिरादीहरूको नाममा हक कायम गरी दर्ता गरी लिन पाउने गरी फैसला भई पुनरावेदन अदालतको फैसलाउपर प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परेको रहेछ ।
३. पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा विचार गर्दा यी वादी र प्रतिवादीहरू स्वर्गीय लक्ष्मी रायका सन्तान भएकोमा विवाद देखिदैन । लक्ष्मी रायको मृत्यु पछि निजको नाममा रहेको सम्पत्ति निजको शेषपछि निजका हकवालाहरू सबैले बाँडी लिन खान पाउने कुरामा विवाद हुन सक्दैन । लक्ष्मी रायको मृत्यु हुनुपूर्व २०११।२।८।६ मा वादीका बाबु, प्रतिवादी र लक्ष्मीरायबीच अंशबण्डा गरी लिखत समेत पारीत गरेको देखिन्छ । यसरी अंशबण्डा हुँदा लक्ष्मी रायका अंश भागमा परेको सम्पत्ति निजको शेषपछि यो यसले पाउने भन्ने उल्लेख भएको पाइदैन । लक्ष्मी रायले आफूले प्राप्त गरेको सम्पत्ति आफ्नो जीवनकालमा कसैलाई हक हस्तान्तरण गरिदिएको अवस्था पनि देखिन आउदैन ।
४. मुलुकी ऐन अपुतालीको महलको २० नं. को हदम्याद नाघी फिराद परेको भनी प्रतिउत्तर पत्र र यस अदालतमा पुनरावेदन गर्दा जिकीर लिएको सम्बन्धमा विचार गर्दा लक्ष्मी रायको मिति २०३८।१०।२५ मृत्यु भएपछि मुलुकी ऐन अपुतालीको महलको २० नं. को हदम्यादभित्र मृतक लक्ष्मी रायको सम्पत्ति सम्बन्धमा दुबै पक्ष वादी प्रतिवादी कसैको उजूरी परी लक्ष्मी रायको सम्पत्ति एकलौटी हक कायम गराउन सकेको देखिदैन । यसरी दुबै पक्षले हदम्याद भित्र नालिस गरी आफ्नो अपुताली हक कायम गर्न नसकेको अवस्थामा निज लक्ष्मी रायको सम्पत्तिमा कसैको पनि हक हुँदैन भन्न मिलेन । त्यसमा पनि वादीहरू लक्ष्मी रायका अंश हक खाने अंशियार भएको हुँदा निजहरूका हकमा अपुतालीको २० नं. ले ३ वर्षको हदम्याद गुज्रेको मानी अंश हकबाट प्राप्त हुने सम्पत्ति माथिको हक समाप्त भएको अर्थ गर्न मिल्दैन ।
५. प्रमाणका दे.नं. १२२० तथा दे.नं. १४६४ को अँश मुद्दाहरूको तायदाती फाँटवारीमा वादीहरूले दावी गरेको जायजेथा देखाउन नसकेको भन्ने प्रतिउत्तर जिकीर रहेको सम्बन्धमा बिचार गर्दा उक्त मुद्दाहरू नन्दलालतर्फका अंशीयारहरू बीच मात्र चलेको देखिदा सो मुद्दाबाट लक्ष्मी रायको अपुतालीको सम्पत्ति तायदातीमा समावेश नगरेको वा सो सम्बन्धमा निर्णय नभएको भन्ने आधारमा वादीहरूले निज लक्ष्मी रायको सम्पत्ति उपर हकदार भएको हैसियतले प्राप्त हक समाप्त भएको भन्न मिलेन ।
६. त्यसैगरी अपुतालीको ६ र ११ नं. बमोजिम सँग बसेका स्याहार संभार गर्ने व्यक्तिहरूले मात्र अपुताली पाउनु पर्ने भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीर रहेको भए पनि र प्रतिवादीहरूले मात्र निज लक्ष्मी रायको पालन–पोषण, स्याहार–सम्भार एवं सद्गत लगायतका संस्कार गरेको भन्ने जिकीर ठोस प्रमाणबाट पुष्टि भएको पाइदैन । निज लक्ष्मी रायलाई प्रतिवादीहरूले आफूले मात्र सँगैसाथ राखी पालन पोषण गरेको भन्ने भनाई ठोस सबुद प्रमाणबाट पुस्टि हुन नसकेको अवस्थामा निजहरूको जिकीरलाई मात्र आधार मानी निज लक्ष्मी रायको अपुताली प्रतिवादीहरूले मात्र पाउनुपर्छ भन्न मिलेन ।
७. तसर्थ मृतक लक्ष्मी रायका नाममा रहेको सम्पत्तिमा निजका कुनै हकदारले अपुतालीको २० नं. अनुसार ३ वर्षभित्र अपुताली हक कायम गरी आफ्नो नाममा गराउन सकेको नदेखिदा मृतकको नाममा रहेको अध्यावधिक सम्पत्ति निजहरूका हकदारहरू मध्ये कसैले पाउने र कसैले नपाउने भनी बिभेद गर्न मिल्दैन । बाबुको नाममा रहेको सम्पत्ति निजले आफ्नो जीवनकालमा कसैलाई लिखत गरी नदिएको एवं के कुन व्यक्तिहरूले पालन–पोषण, स्याहार संस्कार गरेको भन्ने तथ्य प्रमाणबाट खुल्न नसकेको हुँदा वावुको शेषपछि सन्तानहरूको बराबर हक हुनु न्यायोचित र कानूनसम्मत् हुने देखिन्छ ।
८. तसर्थ स्वर्गीय लक्ष्मी रायको नाममा दर्ता रहेको जग्गाबाट वादी दावीबमोजिम ४ खण्डको एक खण्ड फिरादीहरूका नाममा हक कायम भै दर्ता समेत गरी लिन पाउने ठहराई पुनरावेदन अदालत जनकपुरबाट मिति २०६३।११।२८ मा भएको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कृष्णप्रसाद उपाध्याय
इति संवत् २०६७ साल असार ३० गते रोज ४ शुभम्
इजलास अधिकृतः कमलप्रसाद पोखरेल