निर्णय नं. ८४०९ - कीर्ते ठगी

निर्णय नं.८४०९ ने.का.प २०६७ अङ्क ७
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
फौ.पु.नं.: ०६३–CR–०१९३
फौ.पु.नं.: ०६५–CR–०५८१
मुद्दा : कीर्ते ठगी ।
पुनरावेदक/वादीः सेन्ट्रल फाइनान्स कम्पनी लि. ललितपुरका प्रबन्धक रजोजमान श्रेष्ठको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला उग्रतारा गा.वि.स.वडा नं. १ बस्ने ज्ञानेन्द्र बिष्ट
पुनरावेदक/प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला उग्रतारा गा.वि.स. १ बस्ने ज्ञानेन्द्र बिष्ट
विरुद्ध
प्रत्यर्थी/वादीः सेन्ट्रल फाइनान्स कम्पनी लि. कुपण्डोल ललितपुरको पत्र तथा ऐ.का प्रबन्ध सञ्चालक रजोजमान श्रेष्ठको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्ने :
मा.जि.न्या. श्री नारायणप्रसाद श्रेष्ठ
पुनरावेदन फैसला गर्ने:
मा.न्या. श्री कृष्णप्रसाद श्रेष्ठ
मा.न्या.श्री लक्ष्मणमणी रिसाल
§ ठगी गर्ने उद्देश्यले कीर्ते गरी तयार पारिएको नक्साअनुसारको जग्गा धितो राखी कर्जा लिइएको र कर्जा प्रयोजनका लागि तयार पारिएका धितो बन्धक कागज र शर्तबन्देज कागजमा प्रतिवादी साक्षी समेत बसेको देखिँदा निजलाई ठगीको ५ नं. बमोजिमको कसूरबाट उन्मुक्ति प्रदान गर्न नमिल्ने ।
(प्रकरण नं.३)
§ कसूर स्थापित भएको अवस्थामा आपराधिक क्रियामा निजको संलग्नताको मात्रा र त्यसबाट प्राप्त गरेको लाभ समेतलाई आधार बनाई सजाय निश्चित गर्नुपर्ने ।
§ ठगीजन्य क्रिया गरी कर्जा लिएको मूल रकमबाट निजले के कति रकम प्राप्त गरेको भन्ने यकीन अङ्क किटान गरी अभियोगपत्र दायर नभएको र अन्य प्रमाणबाट पनि अङ्क यकीन हुने गरी खुल्न नआएको अवस्थामा प्रतिवादीको हकमा विगो खुलेको मान्न नसकिने ।
(प्रकरण नं.४)
पुनरावेदक वादी तर्फबाटः विद्वान न्यायाधिवक्ता श्री महेश थापा
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा र वल्लभ वस्नेत
अवलम्बित नजीरः
सम्वद्ध कानूनः
· मुलुकी ऐन ठगीको ४ र ५ नं.
फैसला
न्या.भरतराज उप्रेतीःपुनरावेदन अदालत पाटनको मिति २०६२।१०।१० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :
यस कम्पनीबाट ऋण लिनका लागि प्रतिवादी मध्येका शिवहरी दुलालले धितो राख्नको लागि उपलब्ध गराएको भक्तपुर जिल्ला, चित्तापोल गा.वि.स.वडा नं ७(ख) कि.नं २२८ को क्षे.फ.२–८–० जग्गा धितो राखी कम्पनीबाट पटक पटक गरी रु.८,५०,०००।– ऋण लिई चुक्ता नगरेउपर कम्पनीबाट छानबीन गर्दा उपलव्ध गराएको विवरण चित्तापोल गा.वि.स.वडा नं. ७(ख) कि.नं.२२८ क्षे.फ.२–८–० जग्गा को नक्सा निकाल्नु पर्नेमा कैफियत गरी गराई चित्तापोल गा.वि.स.वडा नं.६(क) को नक्सालाई ७(ख) को नक्सा प्रतित पर्ने गरी कि.नं.२२८ नपर्ने ठाउँमा कि.नं.२२८ पारी सरकारी कागजको व्यहोरा कैफियत गरी प्रतिवादीहरूले कम्पनीलाई झुक्याई ठगी गरेको हुँदा निज प्रतिवादीहरूलाई कारवाही गरी निजहरूबाट विगो तथा हर्जाना समेत दिलाई भराई पाउँ भन्ने जाहेरी दरखास्त ।
प्रतिवादीहरू शिवहरी दुलाल र ज्ञानेन्द्र विष्ट समेतको मिलोमतोमा सेन्ट्रल फाइनान्स कम्पनीबाट ऋण लिनका लागि भक्तपुर चित्तापोल गा.वि.स.वडा नं.७ (ख) कि.नं. २२८ को नक्सा निकाल्नु पर्नेमा कैफियत गरी सरकारी कार्यालयमा रहेको नक्सा समेतका कागजात कीर्ते गरी चित्तापोल गा.वि.स.वडा नं.६(क) १ को नक्सालाई ७ (ख) १ को नक्सा प्रतित गरी कि.नं. २२८ नपर्ने ठाउँमा कि.नं.२२८ पारी बदनियतपूर्वक कीर्ते गरी नक्सा बनाई पेश गरी कम्पनीबाट रु.८,५०,०००।– लिएकोमा प्रतिवादीहरू उपर विश्वास लाग्छ भन्ने समेत व्यहोराको घटना विवरण मुचुल्का ।
प्रतिवादी शिवहरी दुलालले ऋण लिँदा पेश गरेको चित्तापोल गा.वि.स.वडा नं.७ (ख) २ कि.नं.२२८ गरी पेश गरेको नक्सा बमोजिम शिवहरि दुलालसँगै म स्थलगत निरीक्षण गर्न गएकोमा निजले जग्गा देखाएअनुरूप नै मैले प्रतिवेदन पेश गरेको हुँ । उक्त जग्गाको कि.नं. फरक पारी नक्सालाई कीर्ते गरी पेश गरेको रहेछन् । सो कुरा हाल मात्र थाहा पाएँ भन्ने समेत व्यहोराको सेन्ट्रल फाइनान्स कम्पनीमा कार्यरत गोविन्द प्रसाईंले प्रहरीमा गरेको कागज ।
मेरो वास्तविक जग्गा चित्तापोल गा.वि.स.वडा नं.६ मा पर्दछ । सो जग्गा अति कमसल खालको हुँदा फाइनान्सले कम मूल्याङ्कन गरी ऋण थोरै दिने भएको हुँदा बढी ऋणका लागि ज्ञानेन्द विष्ट समेतसँग भएको सल्लाहअनुरूप निजहरू समेतको मिलोमतोमा चित्तापोल गा.वि.स.वडा नं. ६ को जग्गालाई ऐ.वडा नं. ७(ख) कि.नं. २२८ पारी नक्सा समेत तयार गरी सेन्ट्रल फाइनान्समा पेश गरी पटक पटक गरी रु.८,५०,०००।– रुपैया लिएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी शिवहरी दुलालले प्रहरीमा गरेको वयान ।
प्रतिवादी शिवहरी दुलाल समेतले भक्तपुर चित्तापोल गा.वि.स.वडा न.६(क)१ को नक्सालाई गा.वि.स वडा नं.७ (ख)१ को नक्सा प्रतीत पर्ने गरी कित्ता नं.२२८ नपर्ने ठाउँमा कि.नं.२२८ पारी कम मूल्याङ्कन हुने जग्गाको ठाउँमा बढी मूल्याङ्कन हुने अरनिको राजमार्ग नजिकको जग्गा देखाई गाउँ विकास समितिको कार्यालय चित्तापोलको चार किल्ला सिफारिश पत्र समेत कीर्ते गरी बनाई पेश गरी फाइनान्स कम्पनीलाई गफलतमा पारी झुक्याई सेन्ट्रल फाइनान्स कम्पनीबाट जम्मा रु.८,५०,०००।– रुपैया समेत प्रतिवादीहरूले सरकारी कागजातको व्यहोरा समेत फरक पर्ने गरी कीर्ते गरी बनाई ठगी गरेको पुष्टि हुन आएकाले प्रतिवादीहरूलाई मुलुकी ऐन कीर्ते कागजको महलको ७ नं., १६ नं. र १२ नं. तथा ठगीको ४ नं. बमोजिम सजाय हुन मागदावी लिएको अभियोग पत्र ।
मैले व्यापार विस्तार गर्नको लागि ऋण लिने क्रममा ज्ञानेन्द्र विष्ट र केशव भटृराईसँग सल्लाह गर्दा निजहरूले मेरा नाऊँमा दर्ता स्रेस्ता रहेको चित्तापोल गा.वि.स.वडा नं. ७ (ख) कि.नं.२२८ को जग्गाको दर्ता स्रेस्ता माग गरेकोले सो दिएको हुँ । निजहरूले के कुन तरिकाबाट ऋण निकाली दिए मलाई थाहा छैन । सो ऋण निकाली दिए बापत मैले केशव भटृराईलाई रु.१५००००।– रुपैया र ज्ञानेन्द्र विष्टलाई व्यापारमा साझेदार बनाएको हँु । अभियोग दावीबमोजिमको कार्य मबाट भए गरेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी शिवहरी दुलालले अदालतमा गरेको वयान ।
यसमा प्रतिवादी ज्ञानेन्द्र विष्टका नाउँको म्याद वेपत्ते तामेल भै आएको देखिँदा उक्त म्याद बदर गरीदिएको छ । प्रतिवादीको वास्तविक वतन जि.स.व.का.बाट खोल्न लगाई पुनः निजका नाउँमा म्याद जारी गर्नु भन्ने समेत मिति २०६०।१२।३ को आदेश ।
उक्त आदेशअनुरूप म्याद जारी गरी तामेली म्याद मिसिल संलग्न रहेको देखिएको ।
यसमा जाहेरवाला तथा अनुसन्धानको क्रममा वुझिएका मानिसहरूलाई वकपत्रका लागि उपस्थित गराउन लेखी पठाउनु भन्ने समेत २०६१।३।३१ को आदेश ।
प्रतिवादीमध्येका शिवहरी दुलालसँग सामान्य चिनजान मात्र भएको र अभियोग दावीअनुसारको कीर्ते कार्य मैले नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी ज्ञानेन्द्र बिष्टले अदालतमा गरेको वयान ।
जय दुण्डीराज ट्रेर्डसका प्रोप्राइटर शिवहरी दुलालले व्यापार व्यवसाय गर्नका लागि धितो मूल्याङ्कन गराई मिति २०५८।९।१६ गते देखि पटक पटक संस्थावाट ऋण लिएको र भाखामा किस्ता समेत नबुझाएको हुँदा ऋणीले धितो राखेको जग्गा सम्बन्धमा जाँचबुझ गर्दा प्रतिवादीहरू मिली कीर्ते कागजात तयार पारी ऋण लिई संस्थालाई ठगी कार्य गरेका हुन् भन्ने समेत व्यहोराको जाहेरवाला रजोजमान श्रेष्ठले गरेको बयान ।
प्रतिवादी शिवहरी दुलालले सेन्ट्रल फाइनान्स कम्पनीबाट पटक पटक गरी रु.८,५०,०००।– कर्जा लिएको र साँवा व्याज समेत नबुझाएको हुँदा धितो छानबीन गर्दा नक्कली कागजात पेश गरी ऋण लिएको बुझिएकाले ठगी कार्य गर्ने प्रतिवादीलाई सजाय हुनुपर्दछ भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने गोविन्द प्रसाईंले गरेको वकपत्र ।
कान्तिपुर कन्सल्टेण्ट प्रा.लि. र सेन्ट्रल फाइनान्सबीच भएको सम्झौताअनुरूप शिवहरी दुलालले दिएको जग्गा मूल्याङ्कन गरी निजलाई ऋण स्वीकृत भएको र निजले जग्गा धितो दिँदा नक्सा समेत फरक पारी दिएको कुरा पछि खुल्न आएको हुँदा प्रतिवादीले कीर्ते गरी ठगी समेत गरेका हुन् भन्ने सो व्यहोराको प्रहरीमा कागज गर्ने शरद ताम्राकार समेतले गरेको एकै मिलानको वकपत्र ।
यसमा प्रतिवादी ज्ञानेन्द्र विष्टले वयानमा उल्लेख गरेका साक्षीहरू बुझी पेश गर्नु भन्ने मिति २०६१।५।२८ को आदेश ।
सेन्ट्रल फाइनान्स कम्पनीमा काम गर्ने कमला कार्कीसँग भेट गर्न गएको अवस्थामा प्रतिवादी शिवहरी दुलालले साक्षी बसी दिनु प¥यो भनी प्रतिवादी ज्ञानेन्द्र विष्ट साक्षीसम्म वसिदिएका हुन्, निज राम्रो आचरण भएका व्यक्ति हुँदा अभियोग दावी अनुसारको कसूर निजले गरेका होइनन् भन्ने समेत व्यहोराको प्रतिवादी ज्ञानेन्द्र विष्टको साक्षी जोशीला वस्नेतले गरेको वकपत्र ।
सेन्ट्रल फाइनान्स कम्पनीमा पैसा वुझाउन जाँदा प्रतिवादी शिवहरी दुलालले ऋण लिन लागेको हुँदा निजको साक्षीसम्म ज्ञानेन्द्र विष्ट बसिदिएका हुन् भन्ने थहा पाएको हुँ । निज कीर्ते ठगी कार्य गर्ने खालका व्यक्ति होइनन् भन्ने समेत व्यहोराको प्रतिवादी ज्ञानेन्द्र विष्टको साक्षी शिव थापाले गरेको वकपत्र ।
प्रतिवादी शिवहरी दुलालले सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडलाई वुझाउन वाँकी रु.८,००,४२०।– ठगी गरेको मिसिल संलग्न प्रमाणबाट समर्थित भएको देखिँदा निज प्रतिवादीले रकम झिक्दाको परिस्थिति एवं कसूरको मात्राको आधारमा प्रतिवादी शिवहरी दुलाललाई ठगीको ४ नं.अनुसार एक बर्ष आठ महिना कैद र विगो बमोजिम रु.८,००,४२०।– जरीवाना हुने ठहर्छ । प्रतिवादी ज्ञानेन्द्र विष्ट कि.नं.२२८ को जग्गाको नक्सा प्रिन्ट कीर्ते गर्ने कार्यमा सहयोग गरी मतियार रहेको देखिँदा निज प्रतिवादी ज्ञानेन्द्र विष्टलाई कीर्ते कागजको १६ नं. १२ नं. बमोजिम कीर्ते गर्नेलाई हुन सक्ने सजायको कीर्ते कागजको ११ नं.बमोजिम आधा जरीवाना रु.२५००।– र ६ महिना कैद हुने ठहर्छ । साथै प्रतिवादी शिवहरी दुलालवाट सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले विगो रु.८,००,४२०।– भराई पाउने ठहर्छ । प्रतिवादी ज्ञानेन्द्र बिष्टलाई कीर्ते कागजको ७, १६ र १२ नं. र ठगीको ४ नं. बमोजिम सजाय गरी निज प्रतिवादीबाट समेत ठगीको विगो भराई पाऊँ भन्ने र प्रतिवादी शिवहरी दुलाललाई कीर्ते कागजको ७, १६ र १२ नं.बमोजिम सजाय गरी पूरै रकम ठगी गरेको कसूर कायम गरिपाऊँ भन्नेसम्म वादी श्री ५ को सरकारको अभियोग दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०६१।७।१७ मा ललितपुर जिल्ला अदालतबाट भएको फैसला ।
ठगी जस्तो गम्भीर फौजदारी अपराधमा मनसाय पक्षको कुनै मूल्याङ्कन नगरी बुझ्नु पर्ने प्रमाण नवुझी ऋणीले लिएको ऋण तिर्छु भनी रहेको र जाहेरवाला कम्पनीले ऋण असूलीको आफ्नो अतिरिक्त प्रक्रिया नअपनाई सिधै अदालत प्रवेशको गलत प्रक्रियालाई कुनै वास्ता नगरी ऋण लिएको र जाहेरवालाको भनाईलाई आधार लिई सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत वुझाएको वास्तविक रकमको समेत जानकारी नलिई हचुवाको भरमा वादी दावीबमोजिम रु.८,००,४२०।– विगो कायम गरी विगोबमोजिम जरीवाना र १ बर्ष आठ महिना कैद हुने गरी भएको ललितपुर जिल्ला अदालतको फैसला मुलुकी ऐन ठगीको १ नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ को समेत विपरीत भएकोले उक्त अन्यापूर्ण फैसला बदर गरिपाऊँ भन्ने शिवहरी दुलालको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
शिवहरी दुलालले अदालतमा गरेको बयानलाई मात्र उल्लेख गरी मेरो वयानको कुनै मूल्याङ्कन नगरी, स्वतन्त्र प्रमाणको अभावमा समेत कीर्ते कागजको ११ नं.बमोजिम मतियार ठहर गरी ६ महिना कैद तथा रु.२,५००।– जरीवाना गर्ने गरी भएको फैसला बदर गरिपाऊँ भन्ने समेत ज्ञानेन्द्र विष्टको पुनरावेदन अदालत पाटनमा पर्न आएको पुनरावेदन पत्र ।
अभियोग माग दावीबमोजिम ठगी भएको विगो रु.८,५०,०००।– कायम नगरी रु.८,००,४२०।– मात्र कायम गरेको, प्रतिवादी शिवहरी दुलाललाई कीर्ते तर्फ सफाई दिएको र प्रतिवादी ज्ञानेन्द्र विष्टलाई समेत कीर्ते कागजको ११ नं.बमोजिम मात्र सजाय गरी ठगीको ४ नं.बमोजिमको कसूरमा सजाय नगरेको हदसम्मको जिल्ला अदालतको उक्त फैसला बदर गरी दुवै प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
यसमा निवेदक प्रतिवादी ज्ञानेन्द्र विष्टले पुनरावेदन पत्र दर्ता गर्न अ.वं. १९४ नं. को सुविधा प्रदान गर्न माग गरी दिएको मिति २०६१।११।२४ को निवेदनका सन्दर्भमा हेर्दा शुरु ललितपुर जिल्ला अदालतबाट मिति ०६१।७।१७ मा फैसला हुँदा निज प्रतिवादी ज्ञानेन्द्र विष्टका हकमा रु.२५००।– (दुई हजार पाँच सय) जरीवाना र कैद महिना ६ सजाय हुने गरी ठहर भएको र निज प्रतिवादीले सोही अदालतमा मिति २०६१।४।२५ को थुनछेक आदेशबमोजिम माग गरिएको रु.आठ लाखको धरौट जमानतबापत विभिन्न कित्ता जग्गाको जेथा जमानत दिई मुद्दाको पुर्पक्ष गरी आएको देखिन्छ । त्यसरी पुर्पक्षको लागि थुनामा नवसी माग गरेको धरौट वा जमानतको लागि जेथा जमानतमा दिई मुद्दाको पुर्पक्ष भएको अवस्थाको हुँदा निवेदक प्रतिवादी ज्ञानेन्द्र विष्टलाई अ.वं.१९४ नं.को देहाय दफा २, ३ नं.बमोजिम २५ प्रतिशतले थप धरौट वा जमानत लिने र सो धरौट वा जमानतबापत अगाडि राखेको जेथा जमानतबाट खामे सोही जमानतलाई कायम राखी निवेदन मागबमोजिम निवेदक प्रतिवादी ज्ञानेन्द्र विष्टलाई पुनरावेदन गर्ने सुविधा प्रदान गरी कानूनबमोजिम गर्नु भन्ने एक न्यायाधीशको इजलासको मिति २०६१।१२।२३ को आदेश ।
यसमा वादी श्री ५ को सरकार तर्फबाट र प्रतिवादीहरू शिबहरि दुलाल र ज्ञानेन्द्र विष्टको पुनरावेदनहरू अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को प्रयोजन एक अर्कालाई जानकारी दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६२।५।२ को आदेश ।
प्रतिवादी मध्ये शिवहरी दुलाललाई कीर्तेमा सफाई दिएको र ठगीको विगो कम कायम गरेको शुरु ललितपुर जिल्ला अदालतको मिति २०६१।७।१७ को फैसला सो हदसम्म मिलेको नदेखिएकोले सो फैसला केही उल्टी भई प्रतिवादी शिवहरी दुलाललाई कीर्ते कागजको १ नं.अनुसार कसूरदार ठहर्याई ऐ.को १२ नं.बमोजिम थप १ बर्ष कैद गरी ठगीमा विगो रु.८,५०,०००।– कायम गरी सो बमोजिम जरीवाना समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६२।१०।१० को फैसला ।
प्रतिवादी शिवहरी दुलाल र ज्ञानेन्द्र विष्टको मिलोमतोमा नक्सा प्रिण्ट कीर्ते गरी त्यस्तो नक्सा पेश गरी बढी मूल्यको जग्गा देखाई सेन्ट्रल फाइनान्स कम्पनीलाई झूठा विवरण पेश गरी ठगीको कसूर गरेको आएको कुरालाई पुनरावेदन अदालतले पनि स्वीकार नै गरेको छ । त्यसरी स्वीकार गरिएको तथ्यका आधारमा प्रतिवादी ज्ञानेन्द्र विष्टको हकमा केही उल्लेख नगरी भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी प्रतिवादी ज्ञानेन्द्र विष्टलाई समेत अभियोग मागदावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको नेपाल सरकारको पुनरावेदनपत्र ।
प्रतिवादी शिवहरी दुलालको वयानलाई मात्र आधार बनाएर म उपरको अभियोग स्थापित गरिएको छ । त्यसरी सहअभियुक्तको पोललाई आधार बनाएर कसूरदार ठहर गर्न मिल्ने हुँदैन । शिवहरी दुलालसँग सामान्य चिनजान मात्र रहेको र निजसँग कुनै काम, कारोवार समेत नगरेको अवस्थामा प्रमाणको अभाव हुँदा हुँदै पनि मलाई कसूरदार ठहर्याई भएको फैसला उल्टी गरी अभियोग दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी ज्ञानेन्द्र विष्टको पुनरावेदनपत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट रहनु भएका विद्वान सह न्यायाधिवक्ता श्री महेश थापाले नक्सा प्रिण्ट नै कीर्ते गरिएको छ र प्रतिवादी ज्ञानेन्द्र विष्ट अर्का प्रतिवादी शिवहरी दुलालको व्यवसायिक साझेदार रहेको कुरामा पनि विवाद छैन, त्यस्तो अवस्थामा ठगीजन्य क्रियाबाट निजलाई उन्मुक्ति दिने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी प्रतिवादी ज्ञानेन्द्र विष्टलाई समेत सजाय हुनु पर्छ भनी बहस गर्नु भयो । त्यसैगरी पुनरावेदक प्रतिवादी ज्ञानेन्द्र विष्टका तर्फबाट रहनु भएका विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री बल्लभ बस्नेतले सह–अभियुक्तको पोललाई आधार मानेर कसूरदार ठहर्याउन मिल्दैन, अन्य कुनै पनि प्रमाणबाट ज्ञानेन्द्र विष्ट उपरको अभियोग स्थापित हुन नसकेको हुँदा निजले सफाई पाउनु पर्छ भनी बहस जिकीर प्रस्तुत गर्नुभयो ।
कानून व्यवसायीहरूको बहस जिकीर सुनी प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा मूलतः एक ठाउँको नक्सालाई अर्को ठाउँको प्रतित पर्ने गरी कित्ता नं.२२८ नपर्ने ठाउंमा कि.नं.२२८ पारी कम मूल्याङ्कन हुने जग्गाको ठाउँमा बढी मूल्याङ्कन हुने देखाई फाइनान्स कम्पनीलाई गफलतमा पारी झुक्याई सेन्ट्रल फाइनान्स कम्पनीबाट जम्मा रु.८,५०,०००।– प्रतिवादीहरूले सरकारी कागजातको व्यहोरा समेत फरक पर्ने गरी कीर्ते गरी बनाई ठगी गरेको पुष्टि हुन आएकाले प्रतिवादीहरूलाई मुलुकी ऐन कीर्ते कागजको महलको ७ नं., १६ नं. र १२ नं. तथा ठगीको ४ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी रहेको छ । शुरु ललितपुर जिल्ला अदालतबाट प्रतिवादी शिवहरी दुलालले रु.८,००,४२०।– ठगी गरेको ठहर गरी ठगीको ४ नं. अनुसार १ वर्ष ८ महिना कैद र विगोबमोजिम जरीवाना हुने र अर्का प्रतिवादी ज्ञानेन्द्र विष्टले मतियारको रुपमा सहयोग गरेको भन्ने आधारमा कीर्ते कागजको ११ नं. बमोजिम २,५००।– जरीवाना र ६ महिना कैद हुने ठहर गरेको देखिन्छ । सो उपर दुबै पक्षको पुनरावेदन परेकोमा पुनरावेदन अदालतबाट कीर्तेमा सफाई दिएको र ठगीको विगो कम कायम गरेको हदसम्म शुरु फैसला मिलेको नदेखिएको भनी निज प्रतिवादी शिवहरी दुलाललाई कीर्ते कागजको १ नं. अनुसार कसूरदार ठहर्याई ऐ.को १२ नं. बमोजिम थप १ वर्ष कैद गरी ठगीमा विगो रु.८,५०,०००।– कायम गरी सो बमोजिम जरीवाना हुने ठहर्याई फैसला भएकोमा सो उपर प्रतिवादी ज्ञानेन्द्र विष्ट र नेपाल सरकारले यस अदालतमा छुटृा छुटृै पुनरावेदन दायर गरेको देखिन्छ । प्रतिवादी मध्येका शिवहरी दुलालले पुनरावेदन अदालत पाटनबाट भएको उक्त फैसलाउपर पुनरावेदन गरेको अवस्था नहुँदा निजका हकमा यहाँ विचार गर्नु पर्ने अवस्था देखिँदैन ।
जहाँसम्म प्रतिवादी ज्ञानेन्द्र विष्ट र नेपाल सरकारको पुनरावेदनको सन्दर्भ छ, निज प्रतिवादी ज्ञानेन्द्र विष्टले कीर्ते जस्तो अपराधिक कार्यमा मतियारको कसूर वस्तुगत, तथ्यगत एवं प्रमाणयुक्त ढंगले पुष्टि हुनुपर्नेमा शुरु तथा पुनरावेदन अदालतबाट तथ्य र प्रमाणको विद्यमानता पुष्टि नगरी गरेको फैसला कीर्ते कागजको १ नं. र ११ नं. को प्रतिकूल रहेको हुँदा सो फैसला उल्टी गरी सफाई पाऊँ भनी जिकीर लिएको पाइन्छ । नेपाल सरकारका तर्फबाट परेको पुनरावेदनमा प्रतिवादी ज्ञानेन्द्र विष्ट ठगी कार्यमा समेत संलग्न भएको भन्ने तथ्य पुष्टि भइरहेको अवस्थामा सजायको हकमा फैसलामा कुनै कुरा उल्लेख नगरिएको हुँदा पुनरावदेन अदालत पाटनको फैसला सोहदसम्म उल्टी गरी निज ज्ञानेन्द्र विष्टलाई समेत अभियोग मागदावीबमोजिम सजाय गरिपाऊँ भन्ने जिकीर लिइएको छ ।
उल्लिखित तथ्यगत स्थिति रहेको प्रस्तुत मुद्दामा मुख्य रुपमा कीर्ते नक्सा तयार गरी त्यसका आधारमा जग्गाको बढी मूल्याङ्कन गराई कर्जा लिई ठगी गर्ने कार्यमा प्रतिवादी ज्ञानेन्द्र विष्टको संलग्नता देखिन्छ वा देखिँदैन भन्ने प्रश्नको निरुपण गरी पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आउँछ ।
२. निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा भक्तपुर जिल्ला चित्तपोल गा.वि.स वडा नं. ६(क)१ को नक्सालाई ऐ. गा.वि.स. वडा नं. ७(ख)१ को नक्सा प्रतित पर्ने गरी कित्ता नं. २२८ नपर्ने ठाउँमा कित्ता नं. २२८ पारी नक्सालाई कीर्ते गरीएको भन्ने तथ्यमा कुनै किसिमको विवादको अवस्था छैन । नापी शाखाको च.नं. १२०३ मिति २०६०।३।४ को पत्रले सो तथ्यलाई पुष्टि गरेको छ । उक्त तथ्य र त्यसको समर्थनमा रहेका प्रमाणहरूलाई आधार बनाएर प्रतिवादी मध्येका शिवहरी दुलालको हकमा कीर्ते र ठगीतर्फको अभियोग पुष्टि भएको भनी निजलाई सजाय समेत भएको अवस्था छ । अर्का प्रतिवादी ज्ञानेन्द्र विष्टको हकमा हेर्दा प्रस्तुत मुद्दाको उठान सेन्ट्रल फाइनान्स कम्पनी लि.का प्रबन्ध सञ्चालक रजोजमान श्रेष्ठले दिएको जाहेरी दरखास्तबाट भएको देखिन्छ । सो जाहेरी दरखास्तमा प्रतिवादी शिवहरी दुलालद्वारा सञ्चालित व्यापार (आयात, निर्यात, लत्ता कपडा, जुत्ता, मेसिनरी पार्टपूर्जा आदि) मा निज विष्ट पनि साझेदार रहेको भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । निज शिवहरी दुलालले अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा गरेको वयानमा समेत कीर्ते गरी नक्सा तयार पार्ने कार्यमा ज्ञानेन्द्र विष्टको संलग्नता रहेको बताएका छन् । ज्ञानेन्द्र विष्टले अदालत समक्ष कसूर गरेको कुरामा इन्कारी वयान दिएको भएपनि शिवहरी दुलालसँग सेन्ट्रल फाइनान्समा एकपटक भेट भएको तथ्यलाई भने स्वीकार नै गरेका छन् । सेन्ट्रल फाइनान्समा काम गर्ने हिमालयराज जोशीले अदालतमा आई गरेको वकपत्रमा ज्ञानेन्द्र विष्ट र शिवहरी दुलाल कर्जा लिन आएको भनी उल्लेख गरेका छन् । त्यसैगरी प्रस्तुत विवादसँग सम्बन्धित कर्जा प्रयोजनका लागि तयार पारिएका धितो बन्धक कागज र शर्तबन्देज कागजमा निज विष्ट साक्षी बसेको तथ्य मिसिलबाट देखिएको छ । सो तथ्यबाट एकातिर शिवहरी दुलालसँग सामान्य चिनजान मात्र भएको, निजसँग कुनै काम कारोबार समेत केही नभएको भन्ने निज ज्ञानेन्द्र बिष्टको पुनरावेदन जिकीर खण्डित भएको छ भने निज विष्ट र शिवहरी दुलालका बीचमा रहेको व्यवसायिक सम्बन्ध समेत पुष्टि हुन पुगेको छ । सहअभियुक्तको पोलमात्र अभियोग प्रमाणित गर्ने आधार हुन सक्दैन भन्ने निज विष्टको पुनरावेदन जिकीर रहेको भएतापनि मिसिल संलग्न विभिन्न तथ्यहरूले शिवहरी दुलालले जय ढुण्डिराज ट्रेडर्सका लागि कर्जा लिने सिलसिलामा भएका काम कारवाहीमा ज्ञानेन्द्र विष्ट पनि संलग्न रहेको भन्ने तथ्य स्थापित भएको देखिन आएको छ । जाहेरी दरखास्त, सहअभियुक्तको वयान, सेन्ट्रल फाइनान्सका सम्बन्धित कर्मचारीको कथन, ज्ञानेन्द्र विष्ट स्वयंको वयान तथा सम्बन्धित विभिन्न लिखतहरूमा रहेको ज्ञानेन्द्र विष्टको संलग्नता समेतले गर्दा प्रस्तुत विवादको विषयमा यी प्रतिवादी ज्ञानेन्द्र विष्टलाई अलग राखेर हेर्न मिल्ने अवस्था देखिँदैन ।
३. विद्यमान कानूनी व्यवस्थालाई हेर्दा मुलुकी ऐन ठगीको ५ नं. मा ठगी गर्नेसँग मिली ठगी गरेको धनमाल बाँडी लिने वा ठगी गर्नलाई मद्दत दिने वा ठगी गर्नेको निमित्त गरेको कुनै लिखतमा जानी जानी साक्षी हुने व्यक्ति मतियार ठहर्छ र त्यस्तालाई ठगी गर्ने सरह सजाय हुन्छ भन्ने स्पष्ट प्राबधान रहेको देखिन्छ । प्रस्तुत मुद्दामा यी प्रतिवादी ज्ञानेन्द्र विष्ट कर्जा प्रयोजनका लागि तयार पारिएका धितो बन्धक कागज र शर्तबन्देज कागजमा अर्का प्रतिवादी शिवहरी दुलालका लागि साक्षी बसेको भन्ने तथ्यमा विवाद देखिँदैन । जय ढुण्डीराज ट्रेडर्स नामको निजी फर्मका नाउँमा कर्जा लिने प्रयोजनका लागि जग्गा धितो राख्ने सिलसिलामा एक ठाउँको कम मूल्याङ्कन हुने जग्गालाई अर्को बढी मूल्याङ्कन हुने क्षेत्रको जग्गाका रुपमा प्रतीत हुने गरी नक्सा प्रिण्टलाई सच्याई त्यस्तो नक्सा पेश गरी जग्गाको बढी मूल्याङ्कन गराई धितो लिई ठगी गरिएको देखिएको र सोही सिलसिलामा धितो बन्धक कागज र शर्तबन्देज कागजमा यी प्रतिवादी साक्षी बसेको देखिएको हुँदा यी प्रतिवादी ज्ञानेन्द्र विष्टको क्रिया ठगीको ५ नं. को परिधिभित्र पर्ने देखिन आयो । त्यसरी ठगी प्रयोजनका लागि तयार पारिएको लिखतमा जानी जानी साक्षी बस्ने व्यक्ति मतियार मानिने कानूनी व्यवस्था रहेको र प्रतिवादी ज्ञानेन्द्र विष्टको संलग्नता ठगीजन्य कार्यको मतियारका रुपमा रहेको भन्ने तथ्य निर्विवाद रुपमा पुष्टि हुन आएको हुँदा पुनरावेदन अदालत पाटनबाट निज ज्ञानेन्द्र विष्टको हकमा कुनै उल्लेख नै नगरी गरिएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुन्छ । ठगी गर्ने उद्देश्यले कीर्ते गरी तयार पारिएको नक्सा अनुसारको जग्गा धितो राखी कर्जा लिइएको र कर्जा प्रयोजनका लागि तयार पारिएका धितो बन्धक कागज र शर्तबन्देज कागजमा प्रतिवादी ज्ञानेन्द्र विष्ट साक्षी समेत बसेको देखिँदा निजलाई ठगीको ५ नं. बमोजिमको कसूरबाट उन्मुक्ति प्रदान गर्न मिलेन ।
४. अब, निजको कसूर स्थापित भएको अवस्थामा उक्त आपराधिक क्रियामा निजको संलग्नताको मात्रा र त्यसबाट प्राप्त गरेको लाभ समेतलाई आधार बनाई सजाय निश्चित गर्नुपर्ने अवस्था देखिएको छ । ठगी गर्नेलाई हुने सजायको हकमा ठगीको ४ नं. ले विगो कायम भएको र विगो कायम नभएको भन्ने आधारमा सजायलाई दुई वर्गमा बाँडेको पाइन्छ । प्रस्तुत मुद्दामा ठगी भएको मूल अङ्कमा विवाद नरही विगो कायम भएको देखिएपनि यी प्रतिवादी ज्ञानेन्द्र विष्टको संलग्नताको हदसम्म सो पूरै विगोमा निजको संलग्नता रहेको भन्ने देखिन आउँदैन । ठगीजन्य क्रिया गरी कर्जा लिएको मूल रकमबाट निजले के कति रकम प्राप्त गरेको भन्ने यकीन अङ्क किटान गरी अभियोगपत्र दायर भएको छैन र अन्य प्रमाणबाट पनि अङ्क यकीन हुने गरी खुल्न आएको पाईंदैन । यस्तो अवस्थामा प्रस्तुत विवादमा यी प्रतिवादी ज्ञानेन्द्र विष्टको हकमा विगो खुलेको मान्न सकिने अवस्था देखिएन । तसर्थ विगो कायम नभएको स्थिति समेतलाई आधार मानी निज प्रतिवादी ज्ञानेन्द्र विष्टलाई ठगीतर्फ ठगीको ४ नं. बमोजिम ६ महिना कैद र ५,०००।– रुपैया जरीवाना हुने ठहर्छ । अरुमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी ज्ञानेन्द्र विष्टको हकमा ठगीतर्फ ६ महिना कैद र रु.५,०००।– जरीवाना हुने ठहरेको हुँदा सो बमोजिम लगत कायम गरी कानूनबमोजिम असूलउपर गर्नु भनी शुरु ललितपुर जिल्ला अदालतमा लेखी पठाउनु .. १
दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाइदिनु . २
उक्त रायमा म सहमत छु ।
प्र.न्या.रामप्रसाद श्रेष्ठ
इति संवत् २०६७ साल जेठ २३ गते रोज १ शुभम्
इजलास अधिकृत : उमेश कोइराला