शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४१० - निर्णय दर्ता बदर हक कायम

भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक:

निर्णय नं.८४१० ने.का.प २०६७ अङ्क ७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय

संवत् २०६४ सालको दे.पु.नं. ०४१०

फैसला मितिः २०६७।२।३।२

 

मुद्दा :निर्णय दर्ता बदर हक कायम

 

      पुनरावेदक वादीः ललितपुर जिल्ला, लुभु गा.वि.स. वडा नं. ७ बस्ने सानुभाई श्रेष्ठ

विपक्षी

      प्रत्यर्थी प्रतिवादीः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.१९ स्थित गुठी       संस्थान शाखा कार्यालय, ललितपुर समेत

 

शुरु फैसला गर्नेः

मा.न्या. श्री प्रभा बस्नेत

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री अलि अकवर मिकरानी

मा.न्या.श्री शम्भुबहादुर खड्का

 

§  सगोलमा बस्ने भनिएकै आधारमा मात्र बिधिवत् बण्डा जोरिएको भनी मान्न उचित नहुने 

§  सगोलमा बस्नु र विधिवत् बण्डा छुट्टयाएको सम्पत्ति आआफूले राखी उपभोग गर्ने बिषयलाई छुट्याएर हेर्नुपर्ने देखिँदा केबल सँगै बसेको कारणबाट अंश जोरिएको लिखतको अभावमा सगोलका अंशियार मानी सोहीअनुरूप कानूनी मान्यता प्रदान गर्नु उपयुक्त एवं कानूनसम्मत नहुने 

(प्रकरण नं.२)

§  २०३३ सालको बण्डाबमोजिम चल एवं अचल सम्पत्ति छुट्टैछुट्टै हिसावले आआफ्नो नाउँमा रहेको अवस्थामा सँगै बसेको भनेतापनि आआफ्नो अंश भाग छुट्टिएका कारणबाट आफ्नोआफ्नो अंश भागबाटै खानपान गरिआएको मान्नुपर्ने ।

§  सँग बसेको भएपनि सो मात्र कारणले निजको अपुताली पुनरावेदक वादीले मात्र पाउनुपर्छ भन्ने जिकीरसँग सहमत हुन नसकिने 

(प्रकरण नं.३)

 

पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ताद्वय श्री केदारप्रसाद प्याकुरेल र श्री रमेशकुमार रोक्का

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री भोजराज सुवेदी र दीलेन्द्रबहादुर श्रेष्ठ

अवलम्बित नजीरः

सम्वद्ध कानूनः

§  अपुतालीको १२ नं.

 

फैसला

न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०६३।४।२१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार वादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :

      बाजे हेरालाल बजै बेटीमाया महर्जनबाट जन्मिएका ३ छोरामध्ये जेठा मेरा पिता तथा प्रतिवादीका ससुरा ज्ञानबहादुर, माहिला हरिबहादुर, कान्छा रामबहादुर हुन् । हरिबहादुरको २०२६ सालमा परलोक भई निजको हक खाने श्रीमती रत्नमाया श्रेष्ठ छिन् । जेठा मेरा पिता ज्ञानबहादुर श्रेष्ठको दुई श्रीमतीमध्ये जेठी चिरीनानी तर्फबाट सिद्धिबहादुर, दिलबहादुर र फिरादी म सानुभाई समेत तीनजनाको र कान्छी पुनमायाबाट देवेन्द्र श्रेष्ठ र उपेन्द्र श्रेष्ठ समेत दुई छोराको जायजन्म भएको र पिता ज्ञानबहादुर आमा चिरिनानी, दाजु विपक्षी प्रतिवादीका पति दिलबहादुर श्रेष्ठ समेतको स्वर्गारोहण भइसकेको र हामी ज्ञानबहादुरका श्रीमती छोराहरूको २०३३।१०।२३ मा घरसारमा अंशबण्डा हुँदा पिता ज्ञानबहादुरले अंश पाएको बाग गुठीको जग्गा सिद्धिबहादुर र म फिरादी सानुभाईको भागमा परी सिद्धिबहादुरलाई पालन पोषण गरी २०४८ सालमा स्वर्गारोहण भएपछि काजकिरिया समेत मैले गरी आएको र निजको हक खाने अन्य सन्तान नहुँदा निजको अपुताली परी सगोलमा बसेको फिरादी मैले खान पाउने वाग गुठी अड्डा अन्तर्गतको सर्भे नापी हुँदा मोही हेरालाल श्रेष्ठको नाममा नापी भएको लुभु गा.वि.स. वार्ड नं ७ (क) कि.नं. ८६ को क्षेत्रफल ०, ऐ कि.नं ८९ को १० जग्गा मेरा नाममा नामसारी दर्ता गरिपाउन गुठी कार्यालयमा दरखास्त गरी कारवाही चलाएकोमा विपक्षीले समेत दाबी गरी मेरा नाममा मात्र एकलौटी दर्ता हुने उक्त कि.नं. ८८, ८९ का जग्गा विपक्षी र मेरा नाममा संयुक्त दर्ता हुने गरी गुठी संस्थान शाखा कार्यालय ललितपुरले २०५९।८।२७ मा निर्णय गरेकाले मुलुकी ऐन अ.वं.८२ नं, जग्गा पजनिको १७ नं, जग्गा मिच्नेको १८ नं., अपुतालीको १२ नं. समेतका आधारमा यो फिराद गर्न आएको छु । मेरा साक्षी प्रमाण बुझी गुठी संस्थान शाखा कार्यालय ललितपुरले न्यायिक मनसायबाट नभई टिप्पणीको आधारबाट गरेको मिति २०५९।८।२७ को निर्णय मुलुकी ऐन अ.वं.१ नं. र नेकाप २०३९, अङ्क ९, पृष्ठ २९, नि.नं १५९१ मा सम्मानित सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त समेतको आधारमा बदरभागी हुँदा उक्त निर्णय बदर गरी कि.नं.८६,८९ को जग्गा मेरा नाममा एकलौटी दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र 

      यी वादी र प्रतिवादीका पतिबीच मिति २०३३।१०।२३ मा अंशबण्डा हुँदा दाबीको कि.नं.८६ र ८९ को जग्गा सिद्धिबहादुरको भागमा परेको पुनरावेदन अदालत पाटनको मिति २०५६।२।२१ को फैसला समेतले मान्यता दिएको र सिद्धिबहादुरको सन्तान नभई श्रीमती पनि अन्यत्र विवाह गरी गएको भन्ने लुभु गा.वि.स. को सिफारिश समेतबाट पुष्टि भएकाले चिरीमायाको तर्फबाट जन्मिएका छोरा सिद्धिबहादुर, सानुभाई र दिलबहादुर भएकोमा दिलबहादुर र सिद्धिबहादुरको स्वर्गारोहण भई अपुताली परेको सिद्धिबहादुरको सम्पत्ति अपुतालीको १२ नं. अनुसार यी वादी र निज वादीको भाई बुहारी यी प्रतिवादी चन्द्रमाया श्रेष्ठ देखिदा सिद्धिबहादुर श्रेष्ठको अपुताली परेको दाबीको जग्गाको आधा भागसम्म चन्द्रमायाको नाममा नामसारी हुने गरी मिति २०५८।८।२७ मा निर्णय भएको हुँदा दाबीअनुसार निर्णय बदर हुने होइन भन्ने समेत व्यहोराको गुठी संस्थान शाखा कार्यालय ललितपुरको प्रतिउत्तर पत्र 

      मेरा पति दिलबहादुरका तीन दाजु भाईबीच मिति २०३३।१०।२३ मा बण्डा भई सो बण्डाअनुसार आफ्नो अंशभागको सम्पत्ति आआफैले खाई भोगी आएका र यि वादीले सिद्धिबहादुरलाई पालन पोषण गरेको नभई उनी आफै सक्षम हुँदा आफैले कमाई खाई आएका र बिरामी हुँदा यी वादीले र मैले रेखदेख औषधी उपचार गरी स्वर्गारोहणपश्चात् काजकिरिया समेत गरी आएकोले निजको अपुताली परेको दाबीको जग्गाबाट आधामा मेरो हक कायम हुने गरी गुठी संस्थानले गरेको निर्णय बदर हुने होइन भन्ने समेत व्यहोराको चन्द्रमाया श्रेष्ठको प्रतिउत्तर पत्र 

      मिति २०५९।८।२७ को गुठी संस्थान शाखा कार्यालय ललितपुरको निर्णय बदर गरिपाऊँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतको मिति २०६१।५।११ को फैसला 

      शुरु फैसलामा चित्त बुझेन । म पुनरावेदक र मृतक सिद्धिबहादुर एकाघर सगोलमा रहेको कुरालाई वेवास्ता गरी मेरो मात्र अपुताली हक लाग्ने जग्गा विपक्षी समेतका नाममा संयुक्त नामसारी गर्ने गरेको शुरु फैसला त्रुटिपुर्ण हुँदा बदर गरिपाऊँ भन्ने वादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र 

सिद्धिबहादुर श्रेष्ठको भोगको गुठीको आधा जग्गा मात्र सानुभाई श्रेष्ठ र चन्द्रमाया श्रेष्ठको संयुक्त नाममा नामसारी गरेको गुठी संस्थान शाखा कार्यालयको निर्णयलाई कानूनसम्मत ठहराएको शुरु फैसला फरक पर्न सक्ने हुँदा विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६२।४।२७ को आदेश 

स्व. सिद्धिबहादुर श्रेष्ठ जीवित अवस्थामा छँदा हेरचाह र स्याहार संभार तथा मृत्युपछि काजकिरिया पुनरावेदक र प्रत्यर्थीमध्ये कसले गरेको थियो भन्ने समेत वादी प्रतिवादी पक्षलाई रोहवरमा राखी स्थानीय व्यक्ति बुझि सर्जमिन गरी नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६२।११।२९ को आदेश 

वादी पुनरावेदक र सिद्धिबहादुरवीच अंशबण्डा गरिसकेपछि रीतपूर्वक मानो जोरिएको कागज गरेको देखिदैन । भाईभाईबीच मिति २०३३।१०।२३ मा घरसारको बण्डापत्र हुँदा समेत गुठी जग्गा सिद्धिबहादुरलाई आधा  र पुनरावेदक सानुभाईलाई आधा भाग लाग्ने गरी बण्डापत्र गरेको भन्ने मिसिलबाट देखिन्छ । यसरी विवादित कि.नं.८६, ८९ को जग्गा आधी पुनरावेदक सानुभाईका नाउँ दर्ताको रहेको देखिन आएको छ । विवादित कि.नं का जग्गाहरूबाट पुनरावेदक सानुभाई श्रेष्ठको आधी अंश भाग छुट्टाई बाँकी आधी जग्गा दुवैको नाममा संयुक्त दर्ता गर्ने गरी निर्णय गर्नुपर्नेमा सम्पूर्ण जग्गा नै संयुक्तरुपमा दर्ता गर्ने गरेको गुठी तहसिल कार्यालयको निर्णय बदर गर्नुपर्नेमा वादी दाबी नपुग्ने ठहर गरी ललितपुर जिल्ला अदालतबाट भएको फैसला मिलेको नदेखिदा सो हदसम्म उल्टी हुने ठर्हछ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६३।४।२१ को फैसला 

मृतक सिद्धिबहादुरलाई मैले बाचुन्जेल पालनपोषण गरेको र मरेपछि काजकिरिया गरेको हुँ । सर्जमिन हुँदा अधिकांश व्यक्तिहरूले पनि सोही व्यहोरा लेखाइ दिएका छन् । अंशबण्डा भइसकेको अंशियारहरूमा कुनै मरी अपुताली परेमा सँगै बसेको हकवालाले अपुताली पाउन अपुतालीको ३,,,,११ र १२ नं समेतको कानूनी व्यवस्थाबाट स्पष्ट हुन्छ । २०३३।१०।२३ को घरसारको बण्डापत्रलाई पुनरावेदन अदालत पाटनको मिति २०५६।२।२१ को फैसलाबाट कानूनी मान्यता पछि सो फैसला अन्तिम भइरहेको छ । सो बण्डापत्रमा स्पष्टरुपमा सिद्धिबहादुर र म सगोलमा बस्ने भनी उल्लेख भईरहेको स्थितिमा समुच्चा जग्गामा नै मेरो  एकलौटी दर्ता हुनुपर्नेमा विवादित दुवै कित्ता जग्गा म र विपक्षीको नाममा संयुक्त दर्ता हुने ललितपुर जिल्ला अदालतको फैसला केही उल्टी गरी सिद्धिबहादुरको भागसम्ममा दुवैको संयुक्त नाममा दर्ता गर्ने गरी केही उल्टी गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी फिराद दाबीबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र 

यसमा वादी र प्रतिवादीहरू बीच भएको मिति २०३३।१०।२३ को घरसारको बण्डापत्र पारित नभएपनि यिनै वादीका अर्का आमापट्टिका सन्तान देवेन्द्र गोपाल विरुद्ध सानुभाई श्रेष्ठ समेत भएको अंश मुद्दामा सो घरसारमा भएको बण्डापत्रलाई प्रमाणमा लिई उक्त मुद्दामा फैसला भएको देखिएकोले उक्त घरसारको बण्डापत्रलाई अन्यथा भन्न मिलेन । उक्त बण्डापत्रमा यी वादी पुनरावेदक सिद्धिबहादुरको सगोलमा बस्ने भन्ने देखिन्छ । यसरी बण्डापत्र गरेपनि सिद्धिबहादुर वादी पुनरावेदकसँग बसेको अवस्थामा अपुतालीको १२ नं.अनुसार कि.नं. ८६,८९ को जग्गा आधाआधा हुन नपर्नेमा सिद्धिबहादुरको भागको जग्गा चन्द्रमाया समेतलाई आधा छुट्याइ दिने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला फरक पर्नसक्ने प्रत्यर्थी झिकाई नियमबमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०६६।७।८ को आदेश 

नियमबमोजिम पेसी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री केदारप्रसाद प्याकुरेल र श्री रमेशकुमार रोक्काले २०३३ सालको बण्डापत्रलाई प्रतिवादी समेत स्वीकार गरी विवादरहित अवस्थामा रहेको छ । सो बण्डापत्रमा शारीरिकरुपमा अशक्त रहेका सिद्धिबहादुरलाई सानुभाइसँगै सगोलमा राखिएको अवस्थामा नै सिद्धिबहादुरको मृत्यु भएकाले अपुतालीको महलबमोजिम सिद्धिबहादुरको अपुताली पुनरावेदकले नै सम्पूर्ण रुपमा पाउनुपर्ने अवस्था हुँदा सो विपरीत प्रतिवादीले पनि सिद्धिबहादुरको अपुताली पाउने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला नमिलेकोले बदर गरी वादी दाबी एवं पुनरावेदन जिकीर बमोजिम गरिपाऊँ भनी तथा विपक्षीतर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री भोजराज सुवेदी र श्री दीलेन्द्रबहादुर श्रेष्ठले २०६३ सालको बण्डापत्रमा जियजियैको अंश लागेको छ । एकै भाँडोमा केही समय खाँदैमा सगोलको भन्न मिल्दैन । सगोलको हुन रजिष्ट्रेशनको महलको १ नं. अनुसार लिखतबाटै अंश जोरिएको हुनुपर्नेमा सो भए गरेको देखिदैन भने भै आएको सर्जमिनबाट सिद्धिबहादुरको काजकिरिया दुवै पक्षले गरेको देखिदा पुनरावेदन अदालतको फैसला यथावत कायम हुनुपर्छ भनी बहस जिकीर प्रस्तुत गर्नुभयो 

विद्वान अधिवक्ताहरूको बहस जिकीर एवं मिसिल संलग्न कागजात अध्ययन गर्दा  ज्ञानबहादुरका श्रीमती छोराहरूको २०३३।१०।२३ मा घरसारमा अंशबण्डा हुँदा पिता ज्ञानबहादुरले अंश पाएको बाग गुठीको जग्गा सिद्धिबहादुर र म फिरादी सानुभाईको भागमा परी सिद्धिबहादुरलाई पालन पोषण गरेको अवस्थामा २०४८ सालमा निजको स्वर्गारोहण भएपछि काजकिरिया समेत मैले गरी आएको र निजको हक खाने अन्य सन्तान नहुँदा निजको अपुताली परी सगोलमा बसेको फिरादी मैले खान पाउने बाग गुठी अड्डा अन्तरगतको कि.नं. ८६ र कि.नं ८९ को जग्गा मेरा नाममा नामसारी दर्ता गरिपाउन गुठी कार्यालयमा दरखास्त गरी कारवाही चलाएकोमा विपक्षी र मेरा नाममा संयुक्त दर्ता हुने गरी गुठी संस्थान शाखा कार्यालयले २०५९।८।२७ मा निर्णय गरेकाले सो निर्णय बदर  गरी कि.नं.८६,८९ को जग्गा मेरा नाममा एकलौटी दर्ता गरिपाऊँ भन्ने समेतको मुख्य फिराद दाबी भएकोमा यी वादी प्रतिवादी जेठाजु भाइबुहारी नाताका व्यक्ति हुँदा सिद्धिबहादुरको हकको आधा जग्गामा प्रतिवादीको नाममा नामसारी गर्ने गुठीको निर्णय कानूनअनुरूपको हुँदा बदर हुनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकीरहरू रहेको प्रस्तुत मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको शुरु ललितपुर जिल्ला अदालतको फैसला केही उल्टी गरी दावीको जग्गामा पुनरावेदक वादी सानुभाई श्रेष्ठको आधा अंश भाग छुट्याई बाँकी हुन आउने आधा जग्गा वादी प्रतिवादीको नाममा संयुक्त दर्ता हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसलाउपर वादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दा यस इजलाससमक्ष निर्णयार्थ पेश हुन आएको पाइयो 

यसमा वादी दाबी बमोजिम दाबीका कि.नं ८६ र ८९ को जग्गामा वादीको एकलौटी हक कायम हुने हो, होइन ? दाबीका जग्गाको आधा भागमा प्रतिवादीको नाममा नामसारी हुने गरी गुठी संस्थानले गरेको मिति २०५९।८।२७ को निर्णय बदर हुनुपर्ने हो होइन ? पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ? भन्ने विषयमा नै निर्णय दिनुपर्ने देखिन आयो 

२. निर्णयतर्फ विचार गर्दा वादी दाबीबमोजिमका कि.नं. ८६ र ८९ को जग्गा मिति २०३३।१०।२३ को बण्डापत्रअनुसार सिद्धिबहादुरको पनि हक दर्ताको रहे भएकोमा विवाद देखिदैन । जहाँसम्म आफूले पालनपोषण गरेको अवस्थामा २०४८ सालमा सिद्धिबहादुरको मृत्युपछि दाबीको जग्गामा एकलौटी हककायम हुनुपर्छ भन्ने वादी एवं मैले पनि सिद्धिबहादुरको पालनपोषण गरेको हुदा दावीको जग्गामा मेरो पनि आधा हक कायम हुनुपर्छ भन्ने प्रतिवादी जिकीर छ, सो सम्बन्धमा नै सर्वप्रथम निक्र्यौल गर्नुपर्ने भई यस सम्बन्धमा उल्लिखित मिति २०३३।१०।२३ को बण्डापत्रको व्यहोरा अध्ययन गर्नुपर्ने देखिन आउँछ । सो अनुरूप हेर्दा बण्डापत्रको पेट व्यहोरामा सिद्धिबहादुर श्रेष्ठ, दीलबहादुर श्रेष्ठ, सानुभाई श्रेष्ठ, देवेन्द्र श्रेष्ठ र उपेन्द्र श्रेष्ठ समेत पाँचजना बीचमा चल सम्पत्ति हातहातै बण्डा गरी आफ्नो भागमा परेको अचल सम्पत्ति जग्गा रोखपोख मिलाई एकलौटी खान पाउने गरी बण्डा गरिएको भन्ने समेतको व्यहोरा उल्लेख भएको पाइन्छ भने सोही लिखतको तपसील व्यहोरामा हाल बण्डा छुट्टिए पनि सानुभाई र सिद्धिबहादुर सगोलमै बस्ने भन्ने सम्म उल्लेख भएको पनि देखिन्छ । यसप्रकार उल्लिखित बण्डापत्रको समग्ररुपमा अध्ययन गर्दा बण्डा लिखत हुँदाको अवस्थामा तत्कालका लागि सिद्धिबहादुर र सानुभाई सगोलमा बस्ने उल्लेख भएतापनि सो बण्डापत्र अनुरूप निजहरूको अंश भाग भने अलग अलग भएको देखिन्छ भने  निजहरू बीच पुनः अंश जोरिएको लिखत भने पेश हुन सकेको देखिदैन । यसरी तत्कालीन अवस्थामा सगोलमा बस्ने भनिएकै आधारमा मात्र निजहरूबीच बिधिवत बण्डा जोरिएको भनी मान्नु उचित हुने देखिदैन । यस अवस्थामा सगोलमा बस्नु र विधिवत बण्डा छुट्टयाएको सम्पत्ति आआफूले राखी उपभोग गर्ने बिषयलाई छुट्याएर हेर्नुपर्ने देखिन्छ । यस दृष्टिकोणबाट हेर्दा पनि सिद्धिबहादुर र सानुभाई केबल सँगै बसेको कारणबाट अंश जोरिएको लिखतको अभावमा निजहरूलाई सगोलका अंशियार मानी सोहीअनुरूप कानूनी मान्यता प्रदान गर्नु उपयुक्त एवं कानूनसम्मत हुने नहुदा सिद्धिबहादुर र सानुभाई एकै सगोलका अंशियार रहे भएको भन्ने फिरादपत्र एवं पुनरावेदन जिकीर तथा पुनरावेदक तर्फका कानून व्यवसायीको बहस जिकीरसँग सहमत हुन सकिने अवस्था देखिन आउदैन 

३. यसैगरी सिद्धिबहादुरको आफूसँग सगोलमा बसेको अवस्थामा मृत्यु भएकाले निजको अपुताली आफूले मात्र एकलौटी रुपमा पाउनुपर्छ भन्ने पुनरावेदक वादीको अर्को पुनरावेदन जिकीर सम्बन्धमा हेर्दा मुलुकी ऐन अपुतालीको महलको १२ नं. समेतको अध्ययन गर्नुपर्ने देखिन आउँछ । सो १२ नं. मा ––––सँग बसे पनि खानु पिउनु आफ्ना अंशबाट आफ्ना हिस्साबमोजिम राखी खाएका रहेछन भने सँग बसेको भएपनि त्यस्तोमा र भिन्न बसेका भाईभाई वा अविवाहित बहिनीको अपुतालीमा समेत मर्ने भाई वा अविवाहिता बहिनीको सहोदर भाइ वा अविवाहिता बहिनीहरूले पाउछन् –––– भन्ने व्यवस्था रहेको पाइन्छ । उल्लिखित व्यवस्थाअनुरूप हेर्दा प्रस्तुत मुद्दामा मर्ने सिद्धिबहादुर र सानुभाइबीच २०३३ सालको बण्डाबमोजिम चल एवं अचल सम्पत्ति छुटृाछुटृै हिसावले आआफ्नो नाउँमा रहेको अवस्था एकातर्फ देखिन आउँछ भने अर्कोतर्फ निजहरू सँगै बसेको भनेतापनि आआफ्नो अंश भाग छुट्टिएका कारणबाट आफ्नोआफ्नो अंश भागबाटै खान पान गरिआएको मान्नुपर्ने देखिंदा उल्लिखित अपुतालीको १२ नं. अनुसार सिद्धिबहादुर र सानुभाइ सँगबसेकै भएपनि सो मात्र कारणले सिद्धिबहादुरको मृत्युपछि निजको अपुताली सानुभाईले मात्र पाउनुपर्छ भन्ने पुनरावेदन जिकीर एवं सो तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरूको बहस जिकीरसँग पनि सहमत हुन सकिने अवस्था देखिदैन 

४. जहाँसम्म दाबीका कि.नं. ८६ र ८९ का जग्गाको आधा भाग उल्लिखित बण्डापत्रबाट सानुभाईले प्राप्त गरेकोमा सो जग्गाको पुरै भागबाट प्रतिवादी चन्द्रमायालाई आधा भाग छुट्याइ दिने गुठीको मिति २०५९।८।२७ को निर्णय मिले नमिलेको सम्बन्धमा हेर्दा उल्लिखित २०३३।१०।२३ को बण्डापत्र हुँदा विवादित कि.नं. ८६ र ८९ को जग्गामध्ये आधा पुनरावेदक वादी सानुभाईका नाउँ दर्ताको रहेको स्पष्टरुपमा देखिन आउँछ । सोअनुरूप दाबीका जग्गामा रहेको पुनरावेदक वादीको भागको आधा भाग छुट्याई बाँकी हुन आउने सिद्धिबहादुरको भागको जग्गाको आधा भागसम्ममा मात्र वादी प्रतिवादीको अपुताली हक कायम हुने गरी निर्णय गर्नुपर्नेमा दाबीको पूरै जग्गामा नै प्रतिवादीको पनि हक कायम हुने गरी वादी प्रतिवादीका बीच संयुक्तरुपमा दर्ता गर्ने गरेको गुठी संस्थान शाखा कार्यालय ललितपुरको २०५९।८।२७ को निर्णय कानूनअनुरूपको नदेखिई बदर हुने अवस्थाको देखिन आउँछ 

५. तसर्थ, माथि विवेचना गरिएअनुरूप २०३३।१०।२३ को बण्डापत्र लिखतअनुरूप सिद्धिबहादुरको भागमा अलग्गै जग्गा छुट्याएकोलिखतको कैफियत व्यहोरामा सिद्धिबहादुर र सानुभाई हाल सगोलमा बस्ने भनिएतापनी बण्डा जोरिएको लिखतको अभावमा सँगै बस्नु र बण्डा छुट्याएको सम्पत्ति सगोलमा राख्नु अलग अलग बिषय भएको, अपुतालीको १२ नं. अनुसार सिद्धिबहादुर र सानुभाई सँगै बसेकै भएपनि सो मात्र कारणले सिद्धिबहादुरको अपुताली सानुभाइले मात्र पाउने भन्न नमिल्ने तथा दाबीको जग्गामा बण्डापत्र अनुसार सानुभाईको आधा हक स्थापित भै सकेकोमा सो आधा भाग छुट्याइ बाँकी रहन आउने आधा भागबाट मात्र बादी प्रतिवादीबीच आधा आधा हक कायम गरिनुपर्ने समेतका आधार एवं कारणबाट गुठी संस्थान शाखा कार्यालय ललितपुरले दाबीको समग्र जग्गामा प्रतिवादीको आधा हक कायम हुने भनी गरेको मिति २०५९।८।२७ को निर्णय बदर गरिपाऊँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको शुरु भक्तपुर जिल्ला अदालतको फैसला केही उल्टी गरी विवादित कि.नं. ८६ र ८९ को जग्गाहरूबाट पुनरावेदक वादी सानुभाई श्रेष्ठको आधा अंश भाग छुट्याई बाँकी रहन आउने आधा जग्गामा पुनरावेदक वादी सानुभाई श्रेष्ठ र  प्रतिवादी चन्द्रमायाको आधा आधा अपुताली हक कायम हुने ठहर गर्दै गुठीको २०५९।८।२७ को निर्णय बदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६३।४।२१ को फैसला मिलेको देखिदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू 

 

उक्त रायमा सहमत छु 

 

न्या.सुशीला कार्की

 

इति संवत् २०६७ साल जेठ ३ गते रोज २ शुभम् ..   

 

इजलास अधिकृतःकृष्णप्रसाद सुवेदी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु