शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४१५ - कर्तव्य ज्यान ।

भाग: ५२ साल: २०६७ महिना: कार्तिक अंक:

निर्णय नं.८४१५ ने.का.प २०६७ अङ्क ७

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री तपबहादुर मगर

माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय

पु.नं.६३CR०४५२

फैसला मितिः २०६७।३।२३।४

 

मुद्दा : कर्तव्य ज्यान 

 

      पुनरावेदक वादीः चन्द्रदाश गुरुङ समेतको जाहेरीले नेपाल सरकार

विरुद्ध

      प्रत्यर्थी प्रतिवादीः यामबहादुरको छोरा म्याग्दी जिल्ला, मुना गा.वि.स. वडा नं. १ घर भै कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. २ बस्ने विकास महत समेत

 

शुरु फैसला गर्नेः

मा.न्या.चण्डीराज ढकाल

पुनरावेदन फैसलाः

मा.न्या.मोहनप्रसाद घिमिरे

मा.न्या.ठाकुरप्रसाद शर्मा

 

§  आवेशमा उत्तेजित अवस्था कुन हदसम्म थियो भनी गणितीय हिसावले यकीन गर्न नसकिने भए पनि प्रतिवादी र मृतकबीचको सम्बन्ध र व्यवहार, मानवीय संवेदनशीलता, कुनै खास घटना वा परिस्थिति जस्ता कुरालाई आँकलन गर्न सकिने 

§  आवेशको उत्तेजना मृतकको क्रियाकलापबाट अचानक उत्पन्न भई त्यसको प्रभावले अभियुक्तले क्षणिकरुपमा आत्मनियन्त्रण गुमाएको अवस्था हुनुपर्ने 

(प्रकरण नं.९)

§  मृतकको असह्य क्रियाउपर अभियुक्तले तत्कालै भावावेशको अवस्थामा प्रतिक्रियात्मक रुपमा मृतकउपर आक्रमण गरेको छैन र मृतकउपर आक्रमण गर्न मद्दतगार बोलाउने वा उपयुक्त र अनुकूल वातावरणको खोजी गरी मृतकउपर आक्रमण गरेको अवस्था छ भने त्यस अवस्थालाई आवेशको अवस्था समाप्त भएको मानिने हुँदा त्यस्तो हत्यालाई आवेशप्रेरित हत्याको संज्ञा नदिई मनसायप्रेरित हत्या नै मानिने 

(प्रकरण नं.१०)

§  फौजदारी विधिशास्त्रमा मनसायप्रेरित हत्या हुन प्रतिवादीले मार्ने मनसाय राखेको हुनै पर्ने, मार्नुपर्ने खास कारण भई त्यसको लागि तयारी र योजना जस्ता कुराहरू रहनुपर्ने मानिए तापनि सवै परिस्थिति र अवस्थामा मनसायप्रेरित हत्यामा योजना र तयारी हुनैपर्छ भन्ने अवस्था नरहने 

§  अवस्था र परिस्थितिअनुरूप अभियुक्तमा तत्काल मृतकउपर ज्यान लिनुपर्ने मनसाय तत्व जागृत भएको हुनसक्छ । वारदातमा प्रत्यक्ष प्रमाण भएको अवस्थामा मार्नु पर्ने खास कारणको खोजी गर्नु उपयुक्त नमानिने 

§  हरेक मनसायप्रेरित हत्यामा घातक वा जोखिमी हतियारको प्रयोग निर्णायक तत्व हुन सक्दैन । साधारण लाठा, ढुङ्गा वा लात, मुक्काको निर्घात प्रयोग मृत्युवरण गराउनमा पर्याप्त हुनसक्छ । त्यसैले आवेशप्रेरित हत्यामा कानूनले निर्धारण गरेका सबै तत्वहरू एक आपसमा गाँसिएर रहेको अवस्था हुनु अनिवार्य हुने 

(प्रकरण नं.११)

§  मृतकले प्रतिवादीहरूलाई असह्य उत्तेजित पार्ने कुनै पनि क्रिया वा व्यवहार गरेको भन्ने नदेखिएको अवस्थामा मृतकलाई समूहगत रुपमा कुटपीट गरेको र उपचारको लागि लगेको अवस्थामा सोही कुटपीटको जरीयाबाट मृतकको मृत्यु भएको अवस्थामा प्रतिवादीहरूको कार्य आवेशप्रेरित हत्याको रुपमा स्थापित नभै मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं. अनुरूप मनसायप्रेरित हत्याकै कोटीमा पर्ने 

(प्रकरण नं.१२)

 

पुनरावेदक वादी तर्फबाटःसहन्यायाधिवक्ता श्री महेश थापा

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री राजन अधिकारी, विद्वान अधिवक्ता श्री माधवी पाण्डे

अवलम्बित नजीरः

§  नेकाप २०६३, अङ्क ८, पृष्ठ १०७५

§  नेकाप २०६१, अङ्क ६, पृष्ठ ७६९

§  नेकाप २०६५, अङ्क ११, पृष्ठ १३६९

सम्बद्ध कानूनः

§  ज्यानसम्बन्धी महलको १३(३), १४

§  अ.वं. १८८ नं.

§  बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३)

 

फैसला

न्या.तपबहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पोखराको मिति २०६३।६।२ मा भएको फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :

      मेरो बुवा हुमबहादुर गुरुङ जिल्ला तनहूँ खैरेनीटारमा बस्ने हुँदा मेरो बुबालाई भेट्नको लागि ३,४ दिन अगाडि बावु भएको स्थानमा आएको थिएँ । यस्तैमा मिति २०६०।११।१२ गतेका दिन मेरो गाउँको सोमबहादुर गुरुङसँग भेट भएको र निजले पोखरा घुम्न जाउँ भनी भनेको हुँदा निजले हेल्पर काम गर्ने ग १ख. १८५२ नं. को बसमा चढी दुवै जना पोखरा आएकोमा वसपार्कमा आएपछि उक्त बसको गियर बिग्रेकाले मिस्त्री ल्याई देखाउँदा बनाउनुपर्छ भनी भनेको हुँदा बनाउनको लागि पासा भन्ने व्यक्तिको वर्कसपमा बनाउन लगेको अवस्थामा विकास महत समेतका व्यक्तिहरू आई निहुँ खोजी चालक सिटमा बसेका सोमबहादुर गुरुङलाई ढुङ्गा समेतले प्रहार गरी सख्त घाइते बनाएकोमा निज सोमबहादुरलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा लगेकोमा निजको उपचार हुँदाहुदै मृत्यु भएको हुँदा कानूनबमोजिम गरिपाऊँ भन्ने व्यहोराको चन्द्रवास गुरुङको मिति २०६०।११।१३ को जाहेरी दरखास्त 

      कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. ४ वाग्लुङ वसपार्क नजिकै रहेको पासा भन्ने राजेश श्रेष्ठको वर्कसपमा ग.१ख १८५२ नं. को वससमेत रहेको । उक्त बसको सिसाहरू फुटेका, चालक सिटमा रगत लागेको ढुंङ्गाहरू समेत भएका, ढुङ्गा समेतमा रगत लागेको । मृतकको अनुहार तथा कपडामा रगत लागी सुकेको, लाशको छातीमा सामान्य चोट लागेको, दायाँ पाखुरा तथा पछाडि पिठ्युँमा छाला खुइलिएको, दायाँ गालामा १बराबरको काटेको चोट देखिई सो चोटबाट रगत आएको भन्ने व्यहोराको मिति २०६०।११।१३ को घटनास्थल तथा लाश प्रकृति मुचुल्काको व्यहोरा 

      मेरो दाजु वर्ष २४ को सोमबहादुर ग.१ १८५२ नं. को बसमा हेल्पर काम गर्ने हुँदा मिति २०६०।११।१३ गतेका दिन दाजुको हत्या गरेको कुरा थाहा पाई बुझ्दा निज दाजुलाई मिति २०६०।११।१२ गतेका दिन बेलुका विकास महत समेतका व्यक्तिहरूले कुटपीट गरी सख्त घाइते भै उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा लगेको हुँदा निजको उपचार हुँदाहुँदै मृत्यु भएको हुँदा कानूनबमोजिम गरिपाऊँ भन्ने मिति २०६०।११।१३ को आशा गुरुङले दिएको जाहेरी दरखास्तको व्यहोरा 

      कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. ४ गणेशमार्ग स्थित मनकुमारी गुरुङको घरमा सानो हीरा पुनको डेरा कोठाबाट खैरो रंगको रगत जस्तो रातो लागेको पाइन्ट बरामद भएको भन्ने व्यहोराको मिति २०६०।११।१३ को बरामदी मुचुल्का 

      कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. ५ पस्यार्ङग स्थित सडकमा प्रतिवादी विकास महतले लगाएको खैरो रंगको पाईन्टको अगाडि भागमा रगत जस्तो रातो लागेको पाइन्ट बरामद भएको भन्ने व्यहोराको मिति २०६०।११।१३ को बरामदी मुचुल्का 

      कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. २ वाग्लुङ वसपार्कस्थित बस पार्किङ गरी राखेको ग१ख ५५७ नं. को बसभित्र फेला परेका प्रतिवादी तुलबहादुर पुन, देवबहादु पुन लुकी छिपी बसेकाले पक्राउ गरी हेर्दा तुलबहादुर पुनले लगाएको आकाशे रंग घुरमैलो सर्टको अगाडिको भागमा रगत लागी सुकेको अवस्थामा फेला परेको भन्ने व्यहोराको मिति २०६०।११।१३ को बरामदी मुचुल्का 

      टाउको तथा छाती समेतकोकडा चोट पीडाको कारण मृत्यु भएको (Cause of death due to severe head injury & chest injury lead to death) भन्ने व्यहोराको मिति २०६०।११।१४ को शव परीक्षण प्रतिवेदन 

      कास्की जिल्ला पो.उ.म.न.पा. वार्ड नं. ४ वाग्लुङ वसपार्क नजिकै विश्वकर्मा बाबा अटो वर्कसप खोली बसेको हुँदा मिति २०६०।११।१२ गतेका दिन ग.१ख. १८५२ नं. को बसमा कन्टेक्टर सोमबहादुर गुरुङले मेरो बसको गियर बिग्रेको छ बनाई दिनु भनी भनेका र बेलुका बस बनाएपछि वस बन्यो कि बनेन भनी निज सोमबहादुर गुरुङले स्टार्ट गर्दा हेडलाइट बलेको हुँदा विकास महत, हीरा गौचन समेतका केटाहरू आई ढुङ्गा समेतले हानेका र अन्य व्यक्तिले हानेका हुन् । पछि निजहरू उक्त स्थानबाट गएका र पछि निज सोमबहादुर गुरुङलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा लगेकोमा निजको मृत्यु भएको हो भन्ने समेत व्यहोराको पासा भन्ने राजेश श्रेष्ठले गरेको कागज 

      मिति २०६०।११।१२ गतेको दिन बेलुका मेरो घरमा विकास महत, देवबहादुर पुन, तुलबहादुर पुन, सानो हीरा पुन, सुशील भन्ने सुनिल श्रेष्ठ, ठूलो हीरा गौचनसमेत जना ६ आएका र निजहरूले रक्सी समेत खाएका हुन् । केहि समयपछि ठूलो हीरा गौचन बाहिर निस्केपछि साथी हो, मलाई अपशब्द प्रयोग गर्‍यो भनी भनेका र सबै जना घर बाहिर निस्केका थिए । केहि समयपछि हाम्रो घर अगाडि रहेको पासा भन्नेको वर्कसपमा राखेको ग.१ ख. १८५२ नं. को बसमा समेत ढुङ्गाले हानेका । उक्त बसको कन्टेक्टर सोमबहादुर गुरुङलाई ढुङ्गा समेतले प्रहार गरी घाइते बनाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा लगेकोमा निजको मृत्यु भएको हो भन्ने समेत व्यहोराको किममाया तामाङले गरेको कागज 

      विगत १ वर्ष अगाडिदेखि पोखरा२ वाग्लुङ वसपार्कमा सानो होटल व्यवसाय गरी बस्दै आएकोमा मिति २०६०।११।१२ गतेका दिन विहान मेरो छोरा विकास महत विहानको खाना खाई घरबाट हिँडेकोमा सोही दिन बेलुका रातको ८.३०/९ बजेको समयमा आई रु.२० मागेको हुँदा पैसा छैन भन्दा कानमा लगाएको सुनको रिङ मागेका थिए । मैले त्यसको जवाफ केही नदिँदै  विकास केही नबोली घरबाट गएका थिए । पछि सोही राति अं. १२.०० वजे प्रहरी आई विकास कहाँ छ भनी सोधेका थिए । २०६०।११।१२ गते विकास महतलाई प्रहरीले पक्राउ गरेकाले बुझ्दा निज विकास महत समेतका केटाले सोमबहादुर गुरुङलाई ढुङ्गा समेतले हानी कर्तव्य गरी मारेका रहेछन् भन्ने समेत व्यहोराको नुरदेवी महतको कागज 

      २०६०।११।१३ गते विहान तिम्रो गाडिमा घटना घटी तिम्रो हेल्परलाई मारे भन्ने कुरा थाहा पाई तत्काल पोखरुा आई बुझ्दा जाहेरीमा उल्लिखित व्यक्तिहरूले मेरो वसमा हेल्पर काम गर्ने सोमबहादुर गुरुङलाई ढुङ्गा, हात, मुक्काले हानी कर्तव्य गरी मारेका रहेछन् भन्ने समेत व्यहोराको दिलबहादुर वि.क.को कागज । 

      म पोखरा वाग्लुङ वसपार्क नजिकै रहेको विश्वकर्मा बाबा अटोवर्कसपमा काम गर्दछु ।  मिति २०६०।११।१२ गतेका दिन बेलुका खाना खाइरहेको अवस्थामा उक्त वर्कसप नजिकै रहेको तामाङ्नीको होटलबाट केटाहरू निस्की हातमा ढुङ्गासमेत लिई जाहेरीमा उल्लिखित ठूलो हीरा गौचन समेतका व्यक्तिहरूले बस तथा ग.१ ख. ३४२ नं. को मिनी ट्रक समेतमा ढुंङ्गाले हानी तोडफोड गरेका वसको चालक सिटमा बसेको हेल्पर सोमबहादुर गुरुङलाई ढुङ्गा तथा मुक्काले हानेका थिए । यसो नगर्नुहोस् भन्दा हामीलाई उल्टो हातपात गरेका थिए । निज सोमबहादुर गुरुङलाई अचेत अवस्थामा छाडी भागेपछि घटनास्थलमा प्रहरी आई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा लगेकोमा निजको मृत्यु भएको हो भन्ने समेत व्यहोराकोको बुझिएका राजकुमार गुप्ता र शाहवुदिन मोहम्मदको एकै व्यहोराको पृथकपृथक कागज 

      मिति २०६०।११।१२ गते साँझ खाना खान भनी कोठाबाट वर्कसपमा आएको थिएँ । मेरो वर्कसपदेखि नजिक सडक पारी पासा भन्ने राजेश श्रेष्ठको वर्कसपमा राखेको गाडीमा केटाहरूले ढुङ्गा हानेको देखी उक्त वर्कसपमा गएको थिएँ । जाहेरीमा उल्लिखित ठूलो हीरा गौचन समेतका व्यक्तिहरू ग १ख १८५२ नं. को बसभित्र पसी गाडिको सिसाहरू तोडफोड गरी सो बसका हेल्पर सोमबहादुर गुरुङ समेतलाई कुटपीट गरेको हो । मैले यसो नगर्नुस् भनी सम्झाई बुझाई गर्दा उल्टै मलाई हात, मुक्का, लात्ती हानेकाले भागी आफ्नो कोठातर्फ आएको हुँ । जाहेरीमा उल्लिखित व्यक्तिहरूले सोमबहादुर गुरुङलाई कुटपीट गरी अचेत अवस्थामा पुर्‍याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो भन्ने मञ्जु सिंह लामाको कागज । 

      मिति २०६०।११।१२ गतेका दिन साँझ म समेतका ठूला हीरा गौचन, तुलबहादुर पुन, सानो हीरा पुन, देवबहादुर पुन समेतका व्यक्तिहरू फिल्म हेरी वाग्लुङ बसपार्क नजिकै रहेको तामाङ्नीको रक्सी भट्टीमा गै रक्सी खाई रहेको अवस्थामा चिनजान भएको सुनिल श्रेष्ठ आएका र सबै जनाले रक्सी खाएपछि ठूलो हीरा गौचन बाहिर निस्के र सोही समयमा मलाई केटा हो, गाडीमा बस्नेले नराम्रो भन्यो (गाली गर्‍यो) भनी भनेको हुँदा हामी सबै जनाले उक्त ग.१ ख. १८५२ नं. को वसमा ढुङ्गाले हानी सबै जना भित्र पसी वसको हेल्पर हाल नाम, थर, वतन खुल्न आएका सोमबहादुर गुरुङलाई हाम्रो साथीलाई किन नराम्रो शब्द बोलेको भनी ठूलो हीरा गौचनले ढुङ्गा लिई हानेका र म समेतले निजको शरिरको विभिन्न स्थानमा हात मुक्का समेतले प्रहार गरेका हौँ भन्ने समेत व्यहोराको प्रतिवादी विकास महतले मिति २०६०।११।१९ मा गरेको मौकाको बयान कागजको व्यहोरा 

      मिति २०६०।११।१२ गतेका दिन म समेत मेरो चिनजान भएका साथीहरू विकास महत समेत भै पोखरा ४ वाग्लुङ वसपार्क नेरको तामाङ्नीको होटल (भट्टीमा) गै रक्सी खान लागेको र सोही समयमा चिनजान भएका साथी सुशील भन्ने सुनिल श्रेष्ठ पनि आई रक्सी खाएका र केही समयपछि ठूलो हीरा भट्टीबाट बाहिर निस्केकोमा मलाई गाडीमा बस्ने केटाले नराम्रो भन्यो भनी भनेका हुँदा मसमेत उक्त स्थानमा गै गाडी समेतमा ढुङ्गाले हानी निजको साथीलाई बाहिर निकाली निज सोमबहादुर गुरुङलाई कुटपीट गरेका हौँ । सोही चोटपीडाबाट निज सोमबहादुर गुरुङको मृत्यु भएछ र प्रहरीले हामीहरूलाई पक्राउ गरेका हुन् भन्ने समेत व्यहोराको देवबहादुर पुनको बयान कागज 

      मिति २०६०।११।१२ दिन विकास महत समेतका साथीहरू तामाङनीको भट्टीमा रक्सी खाई रहेको अवस्थामा सुशील भन्ने सुनिल श्रेष्ठ आएका र सबैजना रक्सी खाई रमाइलो गर्न लागेको समयमा ठूलो हीरा गौचन बाहिर निस्केको अवस्थामा केही समयपछि मलाई वसमाबस्ने मानिसले गाली गर्‍यो भनी आएका हुँदा हामीहरू सबै जना गई ग.१ ख. १८५२ नं. को बसमा ढुङ्गाले हानी वसका सोमबहादुर गुरुङलाई कुटपीट गरेका हौँ । निजलाई ठूलो हीरा गौचनले ढुङ्गाले टाउको तथा गालामा प्रहार गरेका, देवबहादुर पुन, विकास महत, सुशील भन्ने सुनिल श्रेष्ठ, तुलबहादुर पुन र म सानो हीरा पुनले टाउको तथा छाती समेतमा हात, मुक्का तथा लात्तले प्रहार गरेका हौं । पछि निजको मृत्यु भएको कुरा सुनी थाहा पाएँ भन्ने व्यहोराको प्रतिवादी सानो हीरा पुनले मिति २०६०।११।१९ मा गरेको मौकाको बयान कागज 

      मिति २०६०।११।१२ गतेका दिन म समेतका साथीहरू श्री कृष्ण फिल्म हलमा  फिल्म हेरी वाग्लुङ वसपार्क नजिकै रहेको तामाङ्नीको होटलमा गै रक्सी खाई रहेको अवस्थामा चिनजान भएको सुशील भन्ने सुनिल श्रेष्ठ आएका र सबैजना रक्सी खान लागी रमाइलो गरेको अवस्थामा ठूलो हीरा बाहिर निस्केकोमा केही समयपछि मलाई गाडीमा बस्ने केटाले नराम्रो शब्दले गाली गरेको छ भनेकाले तत्काल हामी भट्टिबाट बाहिर निस्कँदा ठूलो हीरा गौचनले ढुङ्गा टिपी सोही भट्टि अगाडि पासा भन्ने व्यक्तिको वर्कसपमा राखेको बसमा प्रहार गरेका हुन् । त्यसपछि देवबहादुर पुन, सानो हीरा पुन, सुशील भन्ने सुनील श्रेष्ठ, विकास महत र म समेतले उक्त बसमा ढुङ्गाले हानी क्षती पुर्‍याई हाल नाम खुल्न आएका सोमबहादुर गुरुङलाई हात मुक्काले टाउको छाती समेतको भागमा कुटपीट गरी भागेको हौ । हीरा गौचनले हातमा ढुङ्गा लिई निज सोमबहादुरको गालामा हानेका थिए । हामीहरूको कुटाइबाट निजले वान्ता गरेका र रगतपच्छे भई अचेत अवस्थामा पुगेपछि ठूलो हीराले यो मर्‍यो अब भागौँ भनेपछि भागी गएका हौँ । पछि निजको मृत्यु भएको कुरा सुनी थाहापाएको हो भन्ने प्रतिवादी तुलबहादुर पुनले मिति २०६०।११।१९ मा गरेको मौकाको बयान कागजको व्यहोरा 

      म वाग्लुङ वसपार्कमा मिस्त्री काम गर्ने हुँदा मिति २०६०।११।१२ गतेका दिन काम गरी वाग्लुङ वसपार्क नजिकै रहेको तामाङ्नीको होटलमा गएको अवस्थामा ठूलो हीरा गौचन, विकास महत, तुलबहादुर पुन, देवबहादुर पुन, सानो हीरा पुन समेतले रक्सी खान लागेका र मैले छुट्टै हाफ वोतल मगाएर खाएँ । सोही पसलमा हामीहरू गाउँदै नाच्दै रमाइलो गरेका थियौं । यस्तैमा अं. ७.३० वजेको समयमा  ठूलो हीरा गौचन बाहिर निस्केकोमा केहि समयपछि केटा हो मलाई गाडीको मान्छेले नराम्रो शब्दले गाली गरेको छ भनेको हुँदा देवबहादुर पुन, तुलबहादुर पुन, सानो हीरा पुन, विकास महत र म समेतले ढुङ्गा टिपी सोही बस तोडफोड गर्ने क्रममा मैले उक्त बसको पछाडिको लाइटसमेत फुटालेको हो । ग १ख १८५२ नं. को वसभित्र गई  ठूलो हीरा गौचनले हातमा ढुङ्गा लिई सोमबहादुर गुरुङको गालामा हानेका थिए । म समेतका अन्य ५ जनाले हात मुक्काले छाती एवम् टाउकोमा कुटपीट गरेका हौं । हाम्रो कुटाइबाट सोमबहादुरले वान्ता गरेका र रगतपच्छे भै अचेत भएकाले ठूलो हीराले यो मर्‍यो हामी भागौं भनेकाले भागी गएका हौं । निजलाई उपचारको लागि अस्पताल लगेकोमा हाम्रो कुटपीटको चोटपिडाबाट मृत्यु भएको हो भन्ने व्यहोराको प्रतिवादी सुनिल श्रेष्ठले मिति २०६०।११।१९ मा गरेको मौकाको बयान 

      यसमा प्रतिवादीहरू विकास महत, देवबहादुर पुन, तुलबहादुर पुन, सानो हीरा पुन, सुशील भन्ने सुनील श्रेष्ठ र ठूलो हीरा गौचनले मिति २०६०।११।१२ गते राती अं. ७.३० बजेको समयमा पोखरा उपमहानगरपालिका वडा नं. २ स्थित किममाया तामाङको भट्टीमा रक्सी सेवन गरी प्रतिवादीमध्येको ठूलो हीरा गौचन बाहिर निस्केको अवस्था नजिकै रहेको पासा भन्ने राजेश श्रेष्ठको वर्कसपमा रहेको ग१ख १८५२ नं. को बस स्टार्ट गरी बत्ती बालेको विषयलाई लिएर उक्त वसका खलासी सोमबहादुर गुरुङलाई निज प्रतिवादीले ढुङ्गा, हात, मुक्काले प्रहार गरी मरणासन्न बनाई बसको सिसासमेत फुटाई वारदातस्थलबाट भागी गएकोमा सोही चोट पिडाको कारणबाट उपचारार्थ लैजाँदालैजाँदै सोमबहादुर गुरुङको मृत्यु भएकोले प्रतिवादीहरू विकास महत, तुलबहादुर पुन, देवबहादुर पुन, सानो हीरा पुन, सुशील भन्ने सुनिल श्रेष्ठ र ठूलो हीरा गौचनलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. वर्खिलापको कसूर अपराधमा ऐ महलको १३ (३) अनुसार सजाय हुन माग दावी लिई प्र. विकास महत, तुलबहादुर पुन, देवबहादुर पुन, सानो हीरा पुन र सुशील भन्ने सुनील श्रेष्ठलाई यसै अभियोगपत्रसाथ पेश गरिएको व्यहोरा अनुरोध गरिन्छ । प्र. ठूलो हीरा गौचन फरार रहेको हुँदा निजको नाउँमा वारेण्ट तथा म्याद पुर्जी जारी हुन अनुरोध गरिन्छ भन्ने व्यहोराको मिति २०६०।१२।८ मा दर्ता भएको अभियोगपत्र 

      म.ग.१ ख.८०३ नं. को वसको खालासी हुँ । म ग्यारेजमा गाडी कुर्नको लागि बसेको थिएँ, सो गाडीमै सुत्ने गर्छु । गाडी तयारीमा राखी दिउँसो ३६ वजेको फिल्म हेरी तुलबहादुर पुन, , हीरा पुन मगर पोखरा वाग्लुङ बसपार्कमा किममायाको दुकानमा भट्ट चिउरा खान गएका थियौं । चिउरा खाएर गाडीमा आई सिसा लगाउँदै थिएँ । ढोका लगाएर बाहिर निस्किँदा मर्ने सोमबहादुरले गुहारगुहार भनेको थियो । हान्नेमा मेरो बसको कन्डक्टर हीरा गौचन (ठूलो) ले हानेको मैले नै देखेको हुँ । अरु साथी थिएनन् । उसले मारेकोमा एउटै बसको खलासी भनेर मलाई प्रहरीले सोधपुछको लागि लगेको  थियो । मैले सोही कुरा बताउँदा प्रहरीले कुटपीट गरी कागजमा सहि गर्न लगाएका र फसाएका हुन् । मैले अभियोग दावीबमोजिम अपराध गरेको होइन भन्ने व्यहोराको प्रतिवादी देवबहादुर पुनले अदालतमा गरेको बयान ।   

      म ग.१ ख.५५७ नंं को वसको कन्डक्टर भएको हुँदा मिति २०६०।११।१२ गते दिउँसो ३.२० मा वाग्लुङबाट पोखरा फर्केको हो । पोखरामा ६.४५ मा आई पुगेको हो । वस बसपार्कमा नै राखेर कोठामा गै भात खाएर कोठामै सुतेको हुँ । म बाहिर निस्केको होइन । म किममाया तामाङको होटलमा गएको छैन । पछि बुझ्दा प्रतिवादी ठूलो हीरा गौचन भन्नेले मलाई पोल गरेको भनी देवबहादुर पुनले मलाई भन्दा थाहा पाएको हुँ । प्रहरीले मलाई ठूलो हीरा भन्ने हीरा गौचन हाल पक्राउमा नपरेको र उ भागेको हुँदा मलाई समातेको रहेछ । मैले कुनै अपराध गरेको छैन । म निर्दोष हुँदा सफाई पाउनु पर्छ भन्ने व्यहोराको प्रतिवादी हिरा पुनले अदालतमा गरेको बयान 

      २०६०।११।१२ गते पोखारावाग्लुङ बसपार्क नजिकै घुमफिर गरी बसें । वसपार्कमा सोल्टी भन्ने मानिससँग क्याराम खाली बसेको हुँ । क्यारामवोर्ड खेली घरमा गई सुतेको  हुँ । वेलुकी ६ वजे उठेपछि राजन शाही भन्ने साथीले बोलाएकाले साथीको डेरामा गई ७ वजेतिर घर फर्केको हुँ । त्यसपछि भात खाएर उही राजनले सुत्न बोलाएकाले त्यहीँ गएँ । सुतेको बेलामा बाहिर हल्ला सुनिएको थियो । हामी बाहिर निस्केनौं । म कुटपीट गर्न बसपार्क गएको छैन । म उक्त सोमबहादुर गुरुङलाई कुटपीट गर्ने घटनामा थिइन । प्रहरीले आफैं तयार पारेको कागजमा सही गर भनेकाले सही गरेको हुँ भन्ने प्रतिवादी विकास महतले अदालतमा गरेको बयान 

      मिति २०६०।११।१२ गते वेलुका ६.३० वजेसम्म साहूको वर्कसपमा मिस्त्री काम गरी किममायाको रक्सी बेच्ने ठाउँमा रक्सी खान गएको  हुँ । म एक्लै गएको हुँ । अन्य केटाहरू त्यहाँ थिए । निजहरूसँग म बोलेको पनि होइन । एक गिलास रक्सी खाएर म हिँडे र त्यसपछि के के भयो मलाई थाहा छैन । मलाई ८.३० वजेको समयमा पक्राउ गरेका हुन् । भोलिपल्ट थानामा मात्रै घटनाको कुरा थाहा पाएको हुँ । किन मलाई किटानी पोल र कागज गरेका हुन् थाहा छैन । प्रहरीले गराएको भनेको बयान मलाई नसोधी मैले नभनेको कुरा लेखाएका रहेछन् । मैले गल्ती नै गरेको छैन । मैले सफाइ पाउनु पर्छ भन्ने प्रतिवादी सुशील भन्ने सुनील श्रेष्ठले अदालतमा गरेको बयान 

      मिति २०६०।११।१२ गते सानो हीरा ठूलो हीरा, देवे र विकाससमेत फिल्म हेर्न गइयो । सुनिल भने गएन । फिल्म हेरी फर्केर आएपछि किममायाको होटलमा बसियो । म समेत ५ जनाले रक्सी खाइयो । खाँदा ६.३० बजेको थियो । सुनिल ग्यारेजबाट काम सकेर आयो र हाफवोतल मागेर खायो । त्यसपछि देवे, म र ठूलो हीरा पकौडा खान भनेर रोडतिर आयौँ । आउँदै गर्दा देवेले त्यतिकै गाडीको हुट माथि हान्यो । त्यसपछि मर्ने सोमबहादुरले आमाचकारी गाली गर्‍यो । त्यसपछि ठूलोहीराले ढुङ्गाले मर्ने सोमबहादुरको गाडीमा हान्यो । मैले नहाननहान भन्दा तँ बीचमा नआइज भन्यो । मैले एक्लै छुट्याउन नसकेर विकास र सानो हीरालाई बोलाएँ । तिनीहरूले पनि किन गाली गरेको भनी मर्ने मान्छेलाई गाली गरे । ठूलो हीरा र विकास बसभित्र छिरी हाल्यो । सानो हीरालाई वस बाहिर राखेर म पनि वसभित्र पसें । ठूलो हीरा र विकासले हान्दै थिए । मर्ने सोमबहादुरको साथि त्यहीँ रहेछ । तिनलाई तिमी बाहिर जाउ भनी भगाएँ । सानो हीरा र देवेले बसभित्र पसेर कुटेका होइनन् । मैले केही गरेको होइन । यी प्रतिवादीहरूले किन मलाई पोल गरेका हुन् थाहा छैन । प्रहरीमा भएको बयान कागज मलाई सोधेर लेखिएको होइन भन्ने प्रतिवादी तुलबहादुर पुनले अदालतमा गरेको बयान 

अदालतबाट जारी भै मिति २०५१।५।२३ गते तामेल भएको ७० दिने म्यादी पुर्जीको म्याद प्र. ठूलो हीरा गौचनले गुजारी बसेको रहेछ  ।

      घटना घटेको वखत म त्याँहा थिइन । के कसरी घटना घट्यो मलाई थाहा भएन भन्ने घटनास्थल प्रकृति मुचुल्काका मानिस पुष्करराज पालिखेको वकपत्र 

      मिति २०६० साल फाल्गुण १२ गतेका दिनको ७.३० बजेको समयमा वाग्लुङ बसपार्कमा मेरो दाजु सोमबहादुर गुरुङ बस भिमादबाट ल्याएर रोकी खाना खाई सकेपछि उक्त वसको गियर बिग्रेकोले वर्कसपमा रिपेयर गर्न लगेको अवस्थामा विकास महत समेतका व्यक्तिहरू नजिकैको होटलमा रक्सी खाई बसेका र उक्त बसको लाइट बाल्दा निजहरूलाई डिस्टर्व भएको भन्ने निहुँ झिकी समूहगत हिसावले ढुङ्गा, लात्ति, मुक्काले प्रहार गरी सख्त घाइते बनाई उपचारको लागि लाँदा मृत्यु भएको हो । दाजु सोमबहादुरले ग.१ ख.१८५२ को वसमा हेल्परको काम गर्नु हुन्थ्यो । मेरो दाजुलाई मार्न प्रतिवादीहरूको प्रत्यक्ष संलग्नता छ भन्ने मलाई विश्वास हुँदा निजहरूलाई हदैसम्म सजाय गरिपाऊँ भन्ने जाहेरवाली आशा गुरुङको वकपत्र 

      मिति २०६०।११।१२ गते साँझ हाम्रो रक्सी पसलमा हीरा गौचन, देवबहादुर पुन, तुलबहादुर पुन, सानो हीरा सुनिल श्रेष्ठ समेतका मानिसहरू रक्सी खान आएका थिए । मेरो रक्सी पसल नजिकै वर्कसप पर्दछ । मिति २०६०।११।१२ गते साँझ सो वर्कसपमा रहेको  ग.१ ख १८५२ नं. को गाडीका हेल्पर सोमबहादुर गुरुङलाई हेडलाइट बाल्यो र अपशब्द बोल्यो भन्ने रिसइवीका कारण देवबहादुर, हीरा गौचन समेतका मानिसले वसमा रहेका सोमबहादुरलाई जथाभावी रुपमा ढुङ्गा प्रहार गरेको कारण मृत्यु भएको भन्ने थाहा पाएको हुँ भन्ने मौकमा कागज गर्ने किममाया तामाङको वकपत्र 

      मिति २०६०।११।१२ गते साँझ म विश्वकर्मा वर्कसपमा आएको थिएँ ।  सो अवस्थामा यि प्रतिवादी समेतले १८५२ नं. को वसमा ढुङ्गा हानी रहेको देखी गाडीमा किन हिर्काउँछौं भन्दा प्र.हीरा गौचन समेतले मेरो टाउकोमा ढुङ्गा समेतले प्रहार गरेकाले म आफ्नो ज्यान बचाउन भागी गएँ । प्रतिवादीहरूले प्रहार गरेको ढुङ्गा समेतको चोटपटकबाट सोमबहादुर गुरुङको मृत्यु भएको हो भन्ने मौकामा कागज गर्ने मञ्जू सि. लामाको वकपत्र 

      ग.१ख.१८५२ नं. को बसलाई मर्मत गर्न विश्वकर्मा वर्कसपमा लगि गाडी बनी सकेपछि म र सोमबहादुर गाडीभित्र विस्तारा लगाई सुत्ने तयारी गरी रहेका  थियौं । विस्तारा लगाउन बत्ती जलाउन पर्ने भएकोले सोमबहादुरले बत्ती जलाउन लागेकोमा एक्कासी गाडीको अगाडि पट्टीबाट जथाभावी ढुङ्गा प्रहार भयो । गाडीको अगाडिको सिसा फुट्यो । कोही झ्यालबाट, कोही अगाडिको ढोकाबाट, कोही ड्राइभरको ढोकाबाट चढे र मलाई कसैले  समाते । त्यहीबेला सोमबहादुरलाई ढुङ्गा, लात्ती, मुक्का समेतले मरणासन्न हुने गरी पिटेका र सोही चोट पीडाबाट सोमबहादुरको मृत्यु भएको हो भन्ने जाहेरवाला चन्द्रदास गुरुङको वकपत्र 

      ग.१ख.१८५२ नं. को वस मेरो वर्कसपमा बनाउन ल्याएको र मिस्त्रीले गाडी बनाई राखेको थिए सोमबहादुर गाडीमै सुत्न गाडीभित्र पसे । निजले बत्ती बालेकोले मैले किन बत्ती बालेको भनेर सुत्न ग्यारेजभित्र जाँदा एक्कासी गाडीभित्र ढुङ्गाले हानेर अगाडिको सिसा समेत फुट्यो । उक्त गाडीमा रहेका कन्डक्टर भित्रै रहेको बेला कोही ड्राइभर सिट तिरबाट, कोही ढोकाबाट गाडीमा चढी सोमबहादुरलाई आमा चकारी लगायो भन्ने रिसले यि ५ जना प्रतिवादीले जथाभावी ढुंङ्गा समेतले कुटपीट गरी सोही चोट पीडाबाट सोमबहादुर गुरुङ सख्त घाइते भै उपचारको लागी लैजाँदा सोमबहादुरको मृत्यु भएको हो भन्ने प्रहरीमा कागज गर्ने पासा भन्ने राजेश श्रेष्ठको वकपत्र 

      मिति २०६१।११।१२ गतेका दिन बेलुका विकास महत र मसँगै मेरो घरमा छौँ । विकास महत उक्त घटना घटेको ठाउँमा छैनन् । निज झैं झगडा गर्ने मानिस होइनन् । प्रतिवादी विकास महतले उक्त मुद्दाबाट सफाइ पाउनु पर्छ भन्ने प्रतिवादी विकास महतको साक्षी राजन शाहीको वकपत्र 

यस अस्पतालका सम्बन्धितथ विभागका चिकित्किहरू डा. यज्ञमान शाक्य, डा. आनन्द श्रेष्ठ, डा. प्रमोद कोइरालाद्वारा निजलाई जाँच गर्दा चिकित्सकहरूको रिपोर्टअनुसार निजको उमेर १५ वर्षदेखि १७ वर्ष सम्मको हुन सक्नेभन्ने व्यहोरा प्रमाणित हुन आएको हुँदा सोही व्यहोरा अनुरोध छ भन्ने प्रतिवादी तुलबहादुर पुनको उमेर सम्बन्धमा पश्च्मिाञ्चल क्षेत्रीय अस्पताल पोखराको २०६२।१२।८ को पत्र ज्यान सम्बन्धी महलको १४ नं. मा ज्यान मार्नको मनसाय रहेनछ, ज्यान लिनु पर्ने सम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र मरेकोमा दश वर्ष कैद गर्नु पर्दछ भन्ने कानूनी व्यवस्था भएकोमा सोही नं. को परिधिभित्र प्रस्तुत वारदात पर्ने देखिँदा अभियोगपत्र बमोजिम १३ (३) बमोजिमको कसूर प्रतिवादीहरूले गरेको देखिन आएन । ज्यान सम्बन्धी महलको १४ नं. को कसूर गरी प्रतिवादीहरूले ज्यान मारेको देखिँदा प्रतिवादी विकास महत, देवबहादुर पुन, हीरा पुन, सुशील भन्ने सुनील श्रेष्ठलाई १० वर्ष कैदको सजाय हुने  ठहर्छ । प्रतिवादी तुलबहादुरको हकमा निज १६ वर्ष पुगेको नदेखिँदा बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सावालक प्रतिवादीहरू विकास महत, देवबहादुर पुन, सुशील भन्ने सुनिल श्रेष्ठ, सानो हीरा पुन लगायतका प्रतिवादीहरूलाई ज्यान सम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद सजाय गरिएकोले सोको आधा ५ वर्ष कैदको सजाय हुने ठहर्छ भन्ने कास्की जिल्ला अदालतको मिति २०६२।१२।२० को फैसला 

      पोष्टमार्टम रिर्पोटबाट मृतकको टाउको छाती समेतका भागमा रक्तश्राव भएको देखिएबाट प्रतिवादीहरूले सामुहिक रुपमा विभत्स किसिमबाट मृतकलाई विभिन्न चोट पुर्‍याएको देखिन्छ । प्रतिवादीमध्येका ठूलो हीरा गौचनसँग वादविवाद गरेको समय अन्तरालपछि अन्य प्रतिवादीहरू समेतको उपस्थितिमा विभिन्न चोट पुर्‍याई मारेको अवस्था छ । एकै समयमा ६ जना प्रतिवादी आवेशमा आई मानिस मार्नेसम्मको कार्यमा पुगेको तर्क आफैँमा खण्डित भै मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १४ नं. को भावनाविपरीत छ । कर्तव्य ज्यान जस्तो संगीन अपराधमा प्रतिवादीहरू स्वयंको सामुहिक कार्यबाट मनसाय एवं सोमबहादुर गुरुङलाई मार्नु पर्ने कारणको सिर्जना हुन गएको तथ्य मिसिल संलग्न घटनाचक्रले पुष्टि गरिरहेकोमा मनसाय नभई जोखिमी हतियार प्रहार गरेको नदेखिएको भन्ने तर्क अघि सारी प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १४ नं. को कसूरमा सजाय गर्ने गरी गरिएको शुरु फैसला उल्टी गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ । साथै प्रतिवादी तुलबहादुरको हकमा जाहेरी दरखास्त एवं प्रतिवादी स्वयंको मौकाको बयानबाट उमेर १६ वर्ष लेखाएको र अदालतको बयानमा उमेर १५ लागें भनी लेखाए तापनि उमेर पुष्टि गर्ने प्रमाण प्रतिवादीबाट पेश भएको अवस्था नहुँदा १६ वर्ष नपुगेको भन्ने आधार लिई बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम प्रतिवादी तुलबहादुर पुनलाई कम सजाय गर्ने गरेको फैसला मनासिव नदेखिँदा बदर गरी प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने पुनरावेदन अदालत पोखरामा मिति २०६३।४।१० मा परेको वादी नेपाल सरकारको पुनरावेदनपत्रको 

      प्रमाण व्यहोरा हेर्दा प्रतिवादीहरूले कुनै धारिलो जोखिमी हतियारले हानी मारेको भन्ने नदेखिई लात्ती, ढुंङ्गा, मुड्कीले हानी मारेको देखिन्छ । यी प्रतिवादीहरू एवम् मृतकबीच कुनै पुरानो रिसइवी रहेको थियो भन्ने पनि मिसिलबाट देखिँदैन । यसबाट यी प्रतिवादीहरूले मृतकलाई मार्ने मनसाय रहेको पनि देखिँदैन । यी प्रतिवादीहरूको अनुसन्धान अधिकारी समक्षको वयान एवम् बुझिएको व्यक्ति किममाया तामाङको वकपत्र समेतबाट मृतकले प्रतिवादीहरूलाई गाली गरेको कारण तत्काल रिसउठी मृतकलाई ढुंङ्गा, लात्ती, मुड्कीले हानी सोही चोट पीरबाट मृतकको मृत्यु भएको देखिन आयो । यी प्रतिवादीहरू किममायाको पसलमा रक्सी खाई बसेका बखतमा मृतकले गाडीको हेडलाइट बालेकोमा प्रतिवादीमध्येका ठूलो हीरा गौचन बाहिर निस्कँदा मृतकले गाली गर्दा सोही गाली गरेको कुरा अन्य प्रतिवादीहरूलाई भन्नासाथ गाडीमा ढुंङ्गा हान्दै गाडीभित्र पसी मृतकलाई लात्ती, मुक्का तथा ढुङ्गा समेतले प्रहार गर्दा सोही चोटपीरले मृतकको मृत्यु भएको कुरालाई पोष्ट मार्टम रिपोर्टबाट समेत प्रमाणित भैराखेको देखिँदा वादी नेपाल सरकारको यी प्रतिवादीहरूलाई ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुनुपर्दछ भन्ने जिकीरसँग सहमत हुन सकिने अवस्था रहेन । प्रतिवादी तुलबहादुर पुनले अधिकार प्राप्त अधिकारी समक्षको बयानमा आफ्नो उमेर १६ वर्ष भनी लेखाए तापनि अदालतमा आई बयान गर्दा १४ वर्ष पुगी १५ मा लागेको भनी लेखाएको देखियो । मिति २०६२।११।२४ को स्वास्थ्य परीक्षण रिपोर्ट हेर्दा निजको उमेर १५ देखि १७ वर्ष भनी लेखिआएको देखिन्छ । यस्तो स्थितिमा शुरु अदालतबाट निजको हकमा बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम हुने १० वर्ष कैदको आधा ५ वर्ष कैदको सजाय हुने ठहर्‍याएको फैसला अन्यथा भन्ने देखिन आएन । प्रतिवादीहरू विकास महत, देवबहादुर पुन, हीरा पुन, सुशील भन्ने सुनिल श्रेष्ठलाई १० वर्ष कैदको सजाय हुने र प्रतिवादी तुलबहादुर पुनलाई बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद हुनेमा सोको आधा पाँच वर्ष कैदको सजाय हुने ठहर्‍याएको शुरु कास्की जिल्ला अदालतको मिति २०६२।१२।२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने मिति २०६३।६।२ मा पुनरावेदन अदालत कास्कीबाट भएको फैसला 

      किममाया तामाङको पसलमा प्रतिवादीहरू ६ जनाले रक्सी सेवन गरिरहेका वखत प्रतिवादीमध्येका ठूलो हीरा गौचन बाहिर निस्केको अवस्थामा ग.१ ख.१८५२ नं. को बसका मृतक सोमबहादुरले गाडी स्टार्ट गरी बत्ती बाली नराम्रो शब्दले गाली गरी अवरोध पुर्‍याएको भन्ने आधारमा ठूलो हीरा गौचनले साथै रक्सी सेवन गरेका सानो हीरा पुन समेतका ५ जना साथीहरूलाई खवर गरी बसमा ढुङ्गा प्रहार गरी वसभित्र पसी गाडीको सिटमा रहेका सोमबहादुर गुरुङलाई हात, मुक्का, ढुङ्गासमेत प्रहार गरी आफूहरूले प्रहार गरेको चोट पीडाबाट सोमबहादुरको मृत्यु भएकोमा प्रतिवादीहरू मौकामा सावित भएका र सो सावितीलाई प्रतिवादी तुलबहादुर पुनको अदालतसमक्ष भएको बयानले पुष्टि गरेको छ । एउटै समयमा ६ जना प्रतिवादीहरू आवेशमा आई मानिस मार्ने सम्मको कार्यमा पुगेको भन्ने तर्क आफैँमा खण्डित भएको छ । प्रतिवादी तुलबहादुरले अदालतको बयानमा १४ पुगेर १५ लागें भनी लेखाए तापनि उमेर पुष्टि गर्ने प्रमाण पेश दाखिल भएको छैन । बिना प्रमाणको उमेरलाई आधार लिई बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम निजलाई सजाय कम गरेको मिलेको छैन । अभियोग दावीभन्दा बाहिर गै भएको शुरु कास्की जिल्ला अदातलको फैसला सदर गरी भएको पुनरावेदन अदालत पोखराको फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई शुरु अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०६३।११।१४ मा वादीको तर्फबाट यस अदालतमा परेको पुनरावेदन 

      म लगायत सहप्रतिवादीहरूको मृतकसँग पूर्व रिस, इवी, घटना सम्बन्धमा पूर्व मनसाय केही नभएको र हामी साथीहरू होटलमा खाजा खाई बसेको अवस्थामा हेडलाइट आँखामा पारी घरी बाल्ने घरी निभाउने गरेकोले तत्कालीन अवस्थामा कुटपीट गरेका हौं । पछि उसको मृत्यु भएको भन्ने थाहा पाएको हुँ । सोही सम्बन्धमा अधिकारप्राप्त अधिकारीसमक्ष साविती बयान गरेको र अदालतको वयानमा इन्कारी बयान गरे तापनि कास्की जिल्ला अदालतले १० वर्ष सजाय तोकी गरेको फैसलालाई मैले स्वीकार गरी हाल कारागार शाखा कास्कीमा थुनामा बसेको हुँ । जिल्ला तथा पुनरावेदन अदालतको फैसला मैले गरेको कसूरअनुरूपको सजाय भएको हुँदा सम्मानित अदालतबाट पनि सोहीबमोजिम सदर होस् भन्ने प्रतिवादी विकास महत, सानो हीरा पुन, देवबहादुर पुनको कारागार शाखा कास्कीमार्फत प्राप्त भएको छुट्टाछुट्टै निवेदन 

      यसमा मृतकसँग प्रतिवादीमध्येका विकाससँग विवाद भएको देखिए पनि अन्य प्रतिवादीहरू हुल भै संयुक्त रुपमा कुटपीट गरी मारिएको अवस्थामा ज्यान सम्बन्धीको १४ नं. आकृष्ट गरी भएको शुरु अदालतको सजायलाई सदर गर्ने गरेको पुनरावेदन अदालतको इन्साफ फरक पर्न सक्ने देखिँदा विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६६।९।१ को विपक्षी झिकाउने आदेश 

      नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन जिकीर सहितका मिसिल कागजातहरू अध्ययन गरी पुनरावेदक नेपाल सरकारका तर्फबाट उपस्थित हुनु भएका सहन्यायाधिवक्ता श्री महेश थापाले मृतकले वसको बत्ती बालेको अवस्थालाई लिएर झगडा भएको र प्रतिवादीमध्ये एक जनाले अन्य रेष्टुरेन्टमा भएका प्रतिवादीलाई बोलाई कुटपीट गरेका र सोही चोट पीरले मृतकको मृत्यु भएको छ । मृतकलाई प्रतिवादीहरूले आवेशमा कुटपीट गरेको अवस्था नदेखिई ठूलो हीराले मद्दतगारको रुपमा बोलाएको र यी प्रतिवादीहरू हुल भै गई कुटपीट गरेको देखिन्छ । प्रतिवादीमध्येका तुलबहादुरलाई पुनरावेदन अदालतले नाबालक भने पनि सो कुरा पुष्टि भएको छैन । परीक्षणबाट निज १५ देखि १७ वर्षसम्म उमेरको देखिएबाट निजलाई नाबालक नै भनी किटान गर्न सकिन्न । निज प्रतिवादीको हकमा बालबालिकासम्बन्धी ऐन लगाई आधा सजाय गरेको समेत मिलेको छैन । प्रतिवादीहरूले अभियोग दावीअनुरूप अपराध गरेको देखिँदा आवेशप्रेरित हत्या ठहराएको र प्रतिवादी तुलबहादुरलाई बालबालिकासम्बन्धी ऐन लगाई सजाय घटाएको हदसम्मको पुनरावेदन अदालतको फैसला मिलेको छैन भनी वहस गर्नुभयो । त्यसै गरी प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट वहस पैरवी गर्न खटिनु भएका विद्वान वैतनिक अधिवक्ता श्री राजन अधिकारीले प्रस्तुत मुद्दाको वारदातको तथ्यमा विवाद छैन । कसले कति प्रहार गरेको भन्ने पनि यकिन भएको छैन । साधारण हात, खुट्टा र ढुङ्गाको प्रहार भए पनि जोखिमी हतियारको प्रहार भएको छैन । मुख्य अभियुक्त ठूलो हीरा फरार भएको र निजले नै ढुङ्गाले हानेको भन्ने देखिएको अवस्था छ । वारदात तत्कालको अवस्थामा भएको भन्ने देखिँदा योजना र तयारीको अवस्था छैन । प्रतिवादी तुलबहादुर सावालक भैसकेको पुष्टि नभएको अवस्थामा बालबालिका सम्बन्धी ऐन आकर्षित हुने नै देखिँदा पुनरावेदन अदालतको फैसला मिलेकै छ भनी र प्रत्यर्थी प्रतिवादीकै तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता माधवी पाण्डेले प्रस्तुत वारदात वसपार्कमा गाडीको बत्ती बालेको विषयमा झगडा भएको कारणले भएको देखिन्छ । गाडीको हेडलाइट नबाल्न ठूलो हीरा पुनले अनुरोध गर्दा मृतकले नमानी उल्टै गाली गलौज गरेको कारण १८२० वर्षका कलिलो उमेरका प्रतिवादीहरू आवेशमा आउनु स्वाभाविक नै हो । मृतक र प्रतिवादीहरू बीच चिनाजानी, इवी केही देखिदैन । वारदातको कारण मृतक आफैं हुन् । मृतकलाई कुटपीट गरी घाइते अवस्थामा छाडी गएको कारण मृतकलाई मार्ने नियत प्रतिवादीहरूमा थियो भन्ने अवस्था छैन । आवेशमा आएर गरेको गल्ती स्वीकार गरी प्रतिवादीहरूले शुरु तथा पुनरावेदन अदालतको फैसला र सजाय स्वीकारी बसेको अवस्था हुँदा पुनरावेदन अदालतको फैसला मनासिब छ भनी गर्नुभएको बहस सुनियो 

      दुवै पक्षका तर्फबाट प्रस्तुत भएको बहस एवम् मिसिलबाट देखिएको तथ्यलाई मध्यनजर गरी इन्साफतर्फ विचार गर्दा विरुद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू विकास महत, देवबहादुर पुन, तुलबहादुर पुन, सानो हीरा पुन, सुशील भन्ने सुनिल श्रेष्ठ र ठूलो हीरा गौचनले मिति २०६०।११।१२ गते राति अ. ७.३० बजेको समयमा पोखरा उपमहानगरपालिका वडा नं. २ स्थित किममाया तामाङको भट्टीमा रक्सी सेवन गरी प्रतिवादीमध्येको ठूलो हीरा गौचन बाहिर निस्केको अवस्थामा नजिकै रहेको पासा भन्ने राजेश श्रेष्ठको वर्कसपमा रहेको ग.१ ख.१८५२  नं. को वस स्टार्ट गरी वत्ती बालेको विषयलाई लिएर उक्त बसका खलासी सोमबहादुर गुरुङलाई निज प्रतिवादीहरूले ढुंङ्गा, हात, मुक्काले प्रहार गरी मरणासन्न बनाई बसको सिसासमेत फुटाई वारदातस्थलबाट भागी गएकोमा सोही चोट पीडाको कारणबाट उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लैजाँदालैजाँदै निज सोमबहादुर गुरुङको मृत्यु भएको तथ्य पुष्टि हुन आएकोले प्रतिवादीहरू विकास महत, तुलबहादुर पुन, देवबहादुर पुन, सानो हीरा पुन, सुशील भन्ने सुनिल श्रेष्ठ र ठूलो हीरा गौचनउपर मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ र १३(३) नं. बर्खिलाप कसूर अपराधमा सोही महलको १३(३) नं. अनुसार सजाय गरी पाउन माग दावी लिई २०६०।१२।८ मा अभियोगपत्र दायर भएको देखियो । शुरु कास्की जिल्ला अदालतले मिति २०६२।१२।२० मा फैसला गर्दा प्रस्तुत वारदात ज्यान सम्बन्धी महलको १४ नं. परिधिभित्र पर्ने देखिएको भन्दै प्रतिवादीहरू विकास महत, देवबहादुर पुन, हीरा पुन र सुशील भन्ने सुनिल श्रेष्ठलाई सोही नं. बमोजिम १० वर्ष कैद सजाय हुने र प्रतिवादी तुलबहादुर पुनको उमेर वारदात हुँदाको अवस्थामा १६ वर्ष नपुगेको देखिएको भन्दै निजलाई बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम अन्य सावालक प्रतिवादीहरूलाई गरिएको सजायको आधा पाँच वर्ष कैदको सजाय हुने ठहराई गरेको फैसलालाई पुनरावेदन अदालत पोखराले मिति २०६३।६।२ मा सदर गरेको अवस्था छ 

      २. शुरु जिल्ला अदालतले प्रतिवादीहरूले आवेशमा आई हत्या गरेको ठहराई गरेको फैसलाउपर प्रतिवादीहरूले पुनरावेदन नगरी बसेको अवस्था हुँदा प्रस्तुत घटना वारदातमा यी प्रत्यर्थी प्रतिवादीहरूको संलग्नता रहे भएको भन्ने तथ्यमा विवेचना गरिरहनु पर्ने अवस्था देखिन आएन । प्रतिवादीमध्येका ठूला हीरा गौचन मौकैदेखि आर्थात् वारदातपश्चात् फरार भई निजको हकमा शुरु अदालतमा मुद्दा मुल्तवी रहेको हुँदा निजको हकमा प्रस्तुत पुनरावेदनको सन्दर्भमा बोलिरहनु परेन । उल्लिखित परिप्रेक्ष्यमा यी प्रत्यर्थी प्रतिवादीहरूको प्रस्तुत वारदातमा भएको संलग्नता आवेशपूर्ण अवस्थामा भएको थियो वा थिएन ? र प्रतिवादीमध्येको तुलबहादुर पुनलाई बालबालिका सम्बन्धी ऐनअनुरूप सजाय घटाएको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा प्रस्तुत पुनरावेदनको रोहमा बिचार हुनुपर्ने देखिन्छ । सर्वप्रथम प्रस्तुत वारदात आवेशपूर्ण अवस्थामा घटित भएको थियो वा थिएन भन्ने सम्बन्धमा मिसिलबाट देखिएका तथ्यगत कुराहरू उल्लेख गर्नु सान्दर्भिक हुने देखिन आउँछ 

      ३. जाहेरवाला चन्द्रदास गुरुङको जाहेरी दरर्खास्त हेर्दा २०६०।११।१२ गते ग.१ ख. १८५२ नं. को बसको गियर बक्स बिग्रीएकाले नाम थाहा नभएका चालकले पासा भन्ने व्यक्तिको वर्कसपमा बनाउन लगी सोमबहादुर गुरुङलाई गाडी हेर्न भनी साँचो छाडी गएका, मृतक र आफू खाना खाई गाडीमा सुत्न भनी रातको अ.७.१५ बजे बसमा चढेपछि सोमबहादुरले बत्ती बाल्नको लागि बस स्टार्ट गरी बत्ती बालेपछि गाडी रेस गर्दै थिए, सो अवस्था गाडी बाहिरबाट के हो, को हो भन्ने कराएको आवाज आएको र सोमबहादुर गुरुङले पनि के हो, को हो, भन्दा एक्कासी विकास महत, सानो हीरा पुन र तुलबहादुर पुन वसको ढोकाबाट प्रवेश गरी सोमबहादुर गुरुङलाई हात, मुक्काले हानी कुटपीट गरेका, आपूmले यसो नगर्नुस् सोल्टी भन्दा सानो हीरा पुनले वसबाट झारी दिएको र पछिबाट हीरा गौचन, देवबहादुर पुन, सुशील भन्ने सुनिल श्रेष्ठ आई गाडीको सिसा ताडफोड गरी हात, मुक्का, ढुङ्गा समेतले सोमबहादुर गुरुङलाई प्रहार गरी घाइते बनाएकाले उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगेकोमा सोही चोट पीडाबाट मृत्यु भएको भन्ने उल्लेख गरेको देखिन्छ । त्यसै गरी सोही व्यहोराअनुरूप नै अर्की जाहेरवाली आशा गुरुङले समेत २०६०।११।१३ मा समेत जाहेरी दिएको देखियो । अदालतमा वकपत्र गर्दा जाहेरवाली आशा गुरुङले यी प्रतिवादीहरू समेतको कर्तव्यबाट मृतकको मृत्यु भएकोमा विश्वास जनाएको अवस्था भएपनि जाहेरवाला चन्द्रदास गुरुङले मौकाकै जाहेरी व्यहोरालाई समर्थन गर्दै यी प्रतिवादीहरू समेतले मृतकलाई मरणासन्न हुने गरी ढुङ्गा हानेको, लात मुक्का प्रहार गरेको देखेको भनी वकपत्र गरेको पाइन्छ 

      ४. प्रतिवादीहरूको मौकाको बयान हेर्दा प्रतिवादी विकास महतले २०६०।११।१२ गते तामाङ्नीको रक्सी भट्टीमा रक्सी खाई गीत गाउँदै नाच्दै रमाइलो गरेकोमा अ.७.३० बजेको समयमा ठूलो हीरा गौचन बाहिर निस्केको र केही समयपछि ओ केटा हो मलाई गाडीमा बस्नेले नराम्रो शब्दले गाली गरेको छ  भनेकोले सानो हीरा पुन, तुलबहादुर पुन, देवबहादुर पुन, सुशील भन्ने सुनील श्रेष्ठ र आफूसमेत बाहिर निस्कँदा ठूलो हीरा गौचनले ढुङ्गा टिपी सोही भट्टी पसल अगाडि पासा भन्ने व्यक्तिको वर्कसपमा राखेको बसमा प्रहार गरेका हुन् । त्यसपछि आफू समेतले ढुङ्गा टिपी बसमा तोडफोड गरी वसभित्र गई पछि नाम थाहा भएको सोमबहादुर गुरुङलाई हात मुक्काले कुटपीट गरेको, ठूलो हीरा गौचनले हातमा लिएको ढुङ्गाले किन गाली गरिस्, तँलाई यही मारी दिन्छु भनी निज सोमबहादुरको गालामा प्रहार गरेका थिए । निज सोमबहादुर गुरुङले हाम्रो कुटपीटबाट वान्ता गरेका र रगतपच्छे भएकाले भागी गएका हौं भन्ने समेत उल्लेख गरी कसूर गरेमा साविती भई बयान गरेको देखिन्छ । निज प्रतिवादीकै बयान व्यहोराअनुरूप अन्य प्रतिवादीहरू देवबहादुर पुन, सानो हीरा पुन, तुलबहादुर पुन, सुशील भन्ने सुनिल श्रेष्ठले मौकामा कसूर स्वीकार गरी बयान गरेको पाइन्छ 

      ५. अदालतमा बयान गर्दा प्रतिवादीहरू मध्येका तुलबहादुर पुनले किममायाको होटलमा आफूसमेत पाँच जनाले रक्सी खाएको आफू, देवे र ठूलो हीरा पकौडा खान भनेर रोडतिर आउँदा देवेले त्यतिकै गाडीको हुट माथि हान्यो । त्यसपछि मर्ने सोमबहादुर गुरुङले आमाचकारी लाएर गाली गरेपछि ठूलो हीराले ढुङ्गाले मर्ने सोमबहादुरको गाडीमा हान्यो, मैले एक्लै छुट्याउन नसकेर विकास र सानो हीरालाई बोलाउँदा तिनीहरूले पनि किन आमाचकारी लाइस् भनेर गाली गरे । सानो हीराले लात्ती हानेर ढोका खोल्यो । मैले सानो हीरालाई जान नदिई समाते ठूलो हीरा र विकास बसभित्र छिरी हान्दै थिए । मार्ने सोमबहादुरको साथीलाई बाहिर आउ भनी भगाएँ । सानो हीरा र देवेले बसभित्र पसेर कुटेका होइनन् । मैले केही नगरी भागेर ५५६ नं. को बसमा गई सुतेकोले कसूर नगरेको भनी बयान गरेको देखिन्छ । अर्का प्रतिवादी देबबहादुर पुनले गाडीमा सिसा लगाई ढोका बाहिर निस्कँदा मर्ने सोमबहादुरले गुहारगुहार भनेको र हान्नेमा मेरो बसको कन्डक्टर हीरा गौचनले हानेको देखेको हुँ । अरु साथी कोको थिए, मैले देखिन भन्दै आफूले कसूर नगरेको भनी इन्कारी बयान गरेको देखिन्छ । अन्य प्रतिवादीहरू विकास महत, सानो हीरा पुन, सुशील भन्ने सुनील श्रेष्ठले भने कसैलाई पोल नगरी कसूर गरेको भन्ने अभियोग दावीलाई इन्कार गरेको देखिन्छ 

      ६. मौकामा बुझिएका र अदालतमा वकपत्र गर्ने मानिसहरूको कागज सम्बन्धमा विचार गर्दा यी प्रतिवादीले रक्सी खाएको र ग.१ ख.१८५२ नं. को बसका हेल्पर सोमबहादुर गुरुङलाई कुटपीट गरेको सम्बन्धमा रक्सी पसलकी किममाया तामाङले मौकामा कागज गर्दा २०६०।११।१२ गते साँझ अन्दाजी ६ बजेको समयमा यी प्रतिवादीहरू ६ जना आएका र रक्सी खाँई गीत गाउँदै नाचिरहेको अवस्थामा अ.७.३० बजे ठूलो हीरा गौचन घर बाहिर निस्केका र केही समयपछि, ओ साथी हो, मलाई अपशब्द बोल्यो भनी भनेपछि निजहरू सबैजना घर बाहिर निस्की गई पासा भन्ने व्यक्तिको वर्कसपमा राखेको ग.१ ख.१८५२ नं. को बस समेतमा ढुङ्गाले हानी क्षति पुर्‍याई वसभित्र रहेका सोही बसका हेल्पर सोमबहादुर गुरुङलाई ढुङ्गा, लात, मुक्काले प्रहार गरी सख्त घाइते बनाई छाडी भागी गएका भन्ने समेत उल्लेख गरेको देखिन्छ । निजले अदालतमा वकपत्र गर्दा सोही कागज व्यहोरालाई समर्थन गरेको समेत देखिन्छ । त्यसै गरी प्रहरीमा कागज गर्ने पासा भन्ने राजेश श्रेष्ठको मौकाको कागज व्यहोरा हेर्दा साँझ वर्कसपमा ग १ ख १८५२ नं. को बसका कन्डक्टर सोमबहादुर गुरुङले गाडी स्टार्ट गरी बत्ती बालेको हुँदा किन बत्ती बालेको, नजिकै जाँड भट्टी छ, आवारा केटाहरू बसिरहन्छ भनी आफू ग्यारेजभित्र पसेको, केही समयपछि वर्कसप अगाडि भट्टीबाट रक्सी खाएका केटाहरू ढुङ्गा मुढा गर्दै गाडी तोडफोड गरी आएकोले के यसो गरेको भन्दा आफूलाई समेत हानी जाहेरीमा उल्लिखित व्यक्तिहरू गाडिभित्र प्रवेश गरी सोमबहादुर गुरुङलाई हीरा गौचनले ढुङ्गाले प्रहार गरेका र अन्यले हात मुक्काले हानेको देखेको भन्ने उल्लेख गरेको र अदालतमा वकपत्र गर्दासमेत सोही व्यहोरालाई समर्थन जनाएको देखिन आउँछ । अर्का व्यक्ति मञ्जू सिंह लामाको मौकाको कागज व्यहोरा हेर्दा २०६०।११।१२ गते साँझको खाना खाई वर्कसपमा आएकोमा सडक पारी रहेको पासा भन्ने राजेश श्रेष्ठको वर्कसपमा गाडीमा केटाहरूले ढुङ्गा हानेको देखी उक्त वर्कसपमा जाँदा जाहेरीमा उल्लिखित ठूलो हीरा गौचन समेतका व्यक्तिहरू ग १ ख १८५२ नं. को बसभित्र पसी सिसाहरू तोडफोड गरिरहेको र बसका हेल्पर सोमबहादुर गुरुङ समेतलाई कुटपीट गरेकाले मैले सम्झाई बुझाई गर्दा उल्टै आफूलाई हात, मुक्का, लात्ती समेतले हानेकाले आफू ज्यान बचाउन उक्त ठाउँबाट भागेको भन्ने उल्लेख गरेको र सो भनाईलाई नै समर्थन गरी वकपत्र गरेको देखिन्छ 

      ७. यसरी एकातर्फ वारदात स्थलको परिपरि रहेका र वारदातलाई नियालेका व्यक्तिहरूको अदालतमा भएको वकपत्र समेतबाट यी प्रतिवादीहरूको मौकाको बयानमा उल्लिखित व्यहोरालाई समर्थन गरेको देखिन आउँछ । अर्कोतर्फ पुनरावेदन अदालतको फैसलाउपर यी प्रत्यर्थी प्रतिवादीहरूलाई पुनरावेदनको म्याद नदिएकोले यस अदालतबाट सो म्याद जारी गरी पठाउँदा प्रतिवादीहरू मध्येका विकास महत, सानो हीरा पुन र देवबहादुर पुनले कारागार शाखामार्फत पठाएको निवेदनमा निजहरूले कसूर गरेअनुसार नै अदालतबाट फैसला भएको र सो फैसलामा चित्त बुझाई बसेकाले सोहीअनुरूप होस् भनी आफ्नो व्यहोरा अदालतलाई जानकारी गराएको अवस्थाले पनि प्रतिवादीहरूको मौकाको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान खम्बीर भएको देखिन आउँछ 

      ८. माथि उल्लिखित तथ्यहरूको सम्बन्धमा प्रस्तुत वारदात आवेशपूर्ण स्थितिमा घटित भएको हो, होइन भन्ने तर्फ विचार गर्दा सर्वप्रथम विद्यमान कानूनी व्यवस्थालाई मध्यनजर गर्नु उपयुक्त हुने देखिन्छ । तत्सम्बन्धमा मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १४ नं. मा भएको व्यवस्थालाई हेर्दा ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनु पर्ने सम्मको इवि पनि रहेनछ, लुकी चोरिकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा लात मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छभन्ने उल्लेख भएको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुरूप आवेशप्रेरित हत्याको सन्दर्भमा अभियुक्तमा मृतकप्रति ज्यान मार्ने मनसाय तथा इविको विद्यमानता हुन नहुने, मृतकको कारणबाट तत्कालै रीस उठेको र सो रीस थाम्न नसक्ने अवस्थामा भएको हुनुपर्ने, मृतकउपर आमने सामनेको अवस्थामा सोही वखत अभियुक्तले साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादिले हानेको तर जोखिमी हतियारले हानेको वा विष खुवाएको नभएमा मात्र उक्त कानूनी व्यवस्था आकर्षित हुन सक्ने देखिन आयो 

      ९. आवेशप्रेरित अवस्था तीव्र मानसिक उत्तेजनाको अवस्था भएको र त्यस्तो स्थितिमा सामान्य मानिसले आफूलाई नियन्त्रण गर्न र कार्यको परिणामतर्फ सोचविचार गर्न नसक्ने भएकोले त्यस्तो अवस्थामा भएको हत्यालाई मनसाय पे्ररित हत्याको वर्गमा नराखी आपराधिक गाम्भिर्यता घटाउने परिस्थितिको रुपमा हेरिने फौजदारी विधिशास्त्रीय मान्यता रही आएको छ । यद्यपि आवेशमा उत्तेजित अवस्था कुन हदसम्म थियो भनी गणितीय हिसावले यकीन गर्न नसकिने भए पनि प्रतिवादी र मृतक बीचको सम्बन्ध र व्यवहार, मानविय संवेदनशिलता, कुनै खास घटना वा परिस्थिति जस्ता कुरालाई दृष्टिगत गरी यसको आँकलन गर्न सकिन्छ । आवेश अधीक उत्तेजनाको अवस्था भएको हुँदा आवेशमा आएको व्यक्तिले कार्यको परिणामको ख्याल नगरी आफैंलाई नियन्त्रण गर्न सकेको हुँदैन । यस्तो अवस्थामा सामान्य समझबुझ (Reasonable) भएको मानिससमेत उत्तेजित भै आफ्नो उत्तेजित अवस्थालाई नियन्त्रण गर्न सकिरहेको हुँदैन भन्ने फौजदारी विधिशास्त्रको मान्यता रहेकोछ । यस्तो आवेशको उत्तेजना मृतकको क्रियाकलापबाट अचानक उत्पन्न भई त्यसको प्रभावले अभियुक्तले क्षणिकरुपमा आत्मनियन्त्रण गुमाएको अवस्था हुनुपर्ने मानिन्छ 

      १०. हाम्रो कानूनी व्यवस्थामा आवेशप्ररित हत्या हुनको लागि ज्यान मार्नाको मनसाय नभएको, ज्यान लिनु पर्ने सम्मको इवि पनि नरहेको, लुकी चोरिकन नहानेको र उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकेको हुनुपर्ने भन्ने वाक्यांशको प्रयोग भएको पाइन्छ । उल्लिखित वाक्यांशले अभियुक्तको मृतकउपरको बदलाभावलाई वर्जित गरेको र मृतकको स्वस्फूर्त क्रियाकलापको कारण अभियुक्त तत्कालै आवेशमा आएको अवस्था हुनुपर्ने अवस्थालाई लक्षित गरेको देखिन आउँछ । मृतकको असह्य क्रियाउपर अभियुक्तले तत्कालै भावावेशको अवस्थामा प्रतिक्रियात्मक रुपमा मृतकउपर आक्रमण गरेको छैन र मृतकउपर आक्रमण गर्न मद्दतगार बोलाउने वा उपयुक्त र अनुकूल वातावरणको खोजी गरी मृतकउपर आक्रमण गरेको अवस्था छ भने त्यस अवस्थालाई आवेशको अवस्था समाप्त भएको मानिने हुँदा त्यस्तो हत्यालाई आवेशप्रेरित हत्याको संज्ञा नदिई मनसायप्रेरित हत्या नै मानिन्छ 

      ११. आवेशप्रेरित हत्यामा कानूनले उल्लेख गरेका तत्वहरू मध्ये कुनै एक तत्वको विद्यमानतालाई नै पर्याप्त मानिदैन । किनभने फौजदारी विधिशास्त्रमा मनसायप्रेरित हत्या हुन प्रतिवादीले मार्ने मनसाय राखेको हुनै पर्ने, मार्नुपर्ने खास कारण भई त्यसको लागि तयारी र योजना जस्ता कुराहरू रहनुपर्ने मानिए तापनि सवै परिस्थिति र अवस्थामा मनसायप्रेरित हत्यामा योजना र तयारी हुनैपर्छ भन्ने अवस्था रहन्न । अवस्था र परिस्थितिअनुरूप अभियुक्तमा तत्काल मृतकउपर ज्यान लिनुपर्ने मनसाय तत्व जागृत भएकोे हुनसक्छ । त्यसैगरी वारदातमा प्रत्यक्ष प्रमाण भएको अवस्थामा मार्नु पर्ने खास कारणको खोजी गर्नु उपयुक्त मानिदैन । तर वारदात परिस्थितिजन्य प्रमाणमा अडिएको अवस्था भएमा अभियुक्तले मृतकलाई मार्नु पर्ने खास कारणको खोजी गर्न सकिन्छ । अर्कोतर्फ हरेक मनसायप्रेरित हत्यामा घातक वा जोखिमी हतियारको प्रयोग निर्णायक तत्व हुन सक्दैन । साधारण लाठा, ढुङ्गा वा लात, मुक्काको निर्घात प्रयोग मृत्युवरण गराउनमा पर्याप्त हुनसक्छ । त्यसैले आवेशप्रेरित हत्यामा कानूनले निर्धारण गरेका सबै तत्वहरू एक आपसमा गाँसिएर रहेको अवस्था हुनु अनिवार्य मानिन्छ 

      १२. प्रस्तुत घटनाको सन्दर्भ वर्कसपमा राखिएको मोटर (बस) को हेडलाइट (बत्ती) बालेको विषयलाई लिएर भएको गालीगलौजसँग जोडिएको देखिन्छ । मृतकले वर्कसपमा राखेको वस स्टार्ट गरी हेडलाइट बालेको विषयमा प्रतिवादीमध्येका ठूलो हीरा गौचन र मृतकबीच आपसमा गालीगलौज भएको र निजले रक्सी पसलमा रहेका यी प्रत्यर्थी प्रतिवादीहरूलाई बोलाएको भन्ने प्रतिवादीहरूकै मौकाको बयान र रक्सी पसलकी किममायाको वकपत्र समेतबाट देखिन्छ । मौकाको बयानअनुरूप वारदात घटित भएको भन्ने तथ्यलाई शुरु तथा पुनरावेदन अदालतबाट स्वीकार गरिएको र त्यसैमा आधारित रहेर निर्णय गरेको समेत देखिन्छ । यी प्रत्यर्थी प्रतिवादीहरूले त्यसउपर पुनरावेदन नगरी बसेबाट सो तथ्य हाल अन्यथा भन्ने अवस्था रहेन । मृतकसँग हाल फरार रहेका प्रतिवादी ठूलो हीरा गौचनको पहिले गाली गलौज भएको र त्यसपछि निजले रक्सी पसलमा रहेका यी प्रत्यर्थी प्रतिवादीहरूलाई बोलाएकाले यि प्रतिवादीहरू निजलाई मद्दत गर्न गएको भन्ने देखिन आउँछ । मद्दतगार भई गएका यी प्रतिवादीहरूसँग मृतकको कुनै गालीगलौज भएको अवस्था मिसिलबाट देखिँदैन । यस अवस्थामा यी प्रत्यर्थी प्रतिवादीहरू समेतसंलग्न भई अन्धाधुन्ध लात, मुक्का तथा ढुङ्गा समेतले मृतकलाई कुटपीट गरेको परिस्थितिलाई यी प्रत्यर्थी प्रतिवादीहरूले मौकामा उठेको रीस थाम्न नसकी मृतकउपर आक्रमण गरेको भन्न कानूनतः मिल्ने देखिन आएन । मृतकले यी प्रत्यर्थी प्रतिवादीहरूलाई असह्य उत्तेजित पार्ने कुनै पनि क्रिया वा व्यवहार गरेको भन्ने नदेखिएको अवस्थामा मृतकलाई समूहगत रुपमा कुटपीट गरेको र उपचारको लागि लगेको अवस्थामा सोही कुटपीटको जरियाबाट मृतकको मृत्यु भएको अवस्था देखिँदा यी प्रतिवादीहरूको कार्य आवेशप्रेरित हत्याको रुपमा स्थापित नभै मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं. अनुरूप मनसायप्रेरित हत्याकै कोटीमा पर्ने देखिन आयो । शुरु तथा पुनरावेदन अदालतले यी प्रतिवादीहरूको सन्दर्भमा प्रस्तुत घटनालाई आवेश प्रेरित हत्या ठहराएको इन्साफ सो हदसम्म मिलेको देखिएन । प्रत्यर्थी प्रतिवादीहरूले अभियोग दावीबमोजिम नै कसूर अपराध गरेको देखिन आयो । प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ 

      १३. अब वारदातको अवस्थातर्फ हेर्दा प्रतिवादीहरूलाई ठहर भए बमोजिमको पूर्ण सजाय गर्न चर्को लागी सो सन्दर्भमा विचार गर्दा प्रतिवादीहरूसँग मृतकको झैंझगडा भएको र मृतकउपर ज्यान लिनुपर्ने सम्मको पूर्व इवी रहेभएको मिसिलबाट देखिँदैन । तयारी र योजना मुताविक अपराध गरेको भन्ने पनि देखिन आउँदैन । यी प्रत्यर्थी प्रतिवादीहरू किशोरावस्था उमेरका रहेका र मादक पदार्थ खाई नाचगान गरिरहेको अवस्थामा साथीको आग्रहलाई स्वीकार गरी वार्दातमा निजहरूको संलग्नता भएको देखिन आउँछ । यस परिप्रेक्ष्यमा अपराध घटित भएको परिस्थिति र प्रतिवादीहरूको अवस्था समेतलाई विचार गरी सजायमा सन्तुलन कायम गर्नु न्यायिक दृष्टिले उपयुक्त हुन्छ । यस सम्बन्धमा मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको १८८ नं.को कानूनी व्यवस्थालाई मध्यनजर गर्दा ऐनले सर्वश्व सहित जन्मकैद वा जन्म कैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्ने सम्मको शङ्काले वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐन बमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारण सहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नु हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छभन्ने उल्लेख भएको देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाको परिपालना सन्दर्भमा पुनरावेदक देवनारायण र चन्द्र मण्डलको जाहेरीले वादी नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादी जुगत सदासमेत भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प.२०६३, अङ्क ८, पृष्ठ संख्या १०७५) प्रतिपादन भएको कानूनी सिद्धान्तलाई मनन गर्नु वाञ्छनिय हुन्छ । उक्त सिद्धान्तमा अ.वं. १८८ नं. बमोजिम सजाय घटाउँदा वा नघटाई हदैसम्मको सजाय तोक्दा किन हदैसम्मको सजाय गर्न परेको हो, कारण बिनाको परम्परागत कैद तोक्ने वा घटाउने प्राणालीको अन्त्य गरी अपराध गर्दाको परिस्थिति, तयारी, षडयन्त्र, योजना, अभियुक्तको आपराधिक अभिलेख, अपराध गर्दाको बखतको अभियुक्तको सजगता, अपराध गरी सकेपछिको अभियुक्तको क्रियाकलाप, अभियुक्तको आपराधिक गिरोहसँग संलग्नता एवं साँठगाँठ, अपराध संगठित अपराध हो होइन, कतिको निर्ममतापूर्वक अपराध भएको हो, अपराध गर्दा प्रयोग गरिएको हात हतियार, साधन एवं उपकरण, अभियुक्तको उमेर, चरित्र, पीडितलाई पुगेको क्षति, पीडितको परिवारलाई पुगेको क्षति, क्षति अपुरणीय हो कि आदि विभिन्न कुराहरूलाई ध्यानमा राखेर अभियुक्तले अब पुनः अपराध गर्ने आँट र गल्ती नदोहोर्‍याउने भनी अपराध माफिकको उचित कैद सजाय तोक्नुपर्नेभन्ने समेत उल्लेख भएको देखिन्छ 

      १४. अदालती बन्दोवस्तको १८८ नं. को कानूनी व्यवस्थाले न्यायकर्तालाई सजाय घटाउन सक्ने तजविजी अधिकार दिएको अवस्था भएपनि मिसिलबाट देखिएको तथ्यलाई एकातर्फ पन्छाएर निरपेक्ष रुपमा यो व्यवस्थाको प्रयोग हुनसक्ने देखिँदैन । अपराधको प्रकृति र पृष्ठभूमि, अपराध गर्ने तरिका, अभियुक्तको मृतकप्रतिको सम्बन्ध, निजको मानसिक अवस्था, अभियुक्तहरूको उमेर, आचरण जस्ता केही खास अवस्थाहरू यस सम्बन्धमा विचारणीय हुन आउँछन् । यस अदालतबाट शान्ति वि. क. विरुद्ध छविलाल वि. क.को जाहेरीले तत्कालीन श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा (नेकाप २०६१, अङ्क ६, पृष्ठ ७६९) अदालती बन्दावस्तको १८८ नं. बमोजिम अपराध र सजायबीच सन्तुलन कायम गर्ने सन्दर्भमा निम्न कुराहरूलाई विचार गर्नुपर्ने भनी औंल्याइएको देखिन्छः

क.    मार्नेसम्मको मनसाय राखी इवी अदावत लिई पूर्व योजना बनाई हत्या भएको छ, छैन ?

ख.    क्रुरता र यातनापूर्वकको हत्या,

ग.    अपराधको प्रकृति र मात्रा

घ.    अपराध गर्ने व्यक्तिको उद्देश्य र सामाजिक पृष्ठभूमि,

ङ.    अपराध हुन पर्ने परिस्थिति,

च.    अपराध गर्ने व्यक्तिको उमेर,

छ.    अपराध गर्ने व्यक्तिको शारीरिक, मानसिक, आर्थिक अवस्था र पारिवारिक स्थिति,

ज.    पीडित पक्षको राय वा भावना,

झ.    पीडित पक्ष वा समाजलाई हुन गएको हानि नोक्सानी,

ञ.    अपराधीको विगतको आपराधिक प्रवृत्ति,

ट.    अदालतमा साँचो कुरा गरी न्यायिक प्रक्रियालाई सहयोग गरे, नगरेको

ठ.    कसूर गरेमा पश्चातापको भाव आए, नआएको,

ड.    सुध्रेर भविष्यमा अपराध नगर्ने वाचा गरे वा नगरेको,

ढ.    कसैको वहकाव वा दवावमा अपराध गरे वा नगरेको,

ण.    यस्तै मुद्दाको तथ्यगत अवस्थाबाट देखिने अन्य उपयुक्त कारणहरू,

१५. त्यसैगरी पुनरावेदक प्रतिवादी गोविन्दबहादुर कार्की विरुद्ध प्रत्यर्थी वादी शिवप्रसाद लामिछानेको जाहेरीले नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (नेकाप २०६५, अङ्क ११, पृष्ठ १३६९) पनि अ.वं. १८८ नं को प्रयोग गरी सजाय घटाउँदा विभिन्न आधारहरूमा विचार गर्नुपर्ने भनी उल्लेख गरिएको समेत देखिन्छ । माथि उल्लिखित कुराहरू अदालती बन्दोवस्तको १८८ नं. बमोजिम सजाय घटाउँदा आकर्षित हुने देखिए पनि ती सबै कुराहरू सवै अवस्थामा विद्यमान नहुन सक्छन् । तथापि अदालती बन्दोवस्तको १८८ नं. को प्रयोग गरी सजाय निर्धारण गर्दा उल्लिखित कुराहरू मार्गदर्शक हुन्छन् 

      १६. प्रस्ततु मुद्दाको सन्दर्भमा हेर्दा यी प्रतिवादीहरूसँग मृतकको झैंझगडा भएको र मृतकउपर ज्यान लिनुपर्ने सम्मको पूर्व इवी रहेभएको देखिँदैन । निजहरू आपराधिक अभिलेख भएका पेशेवार अपराधी भएको समेत मिसिलबाट देखिएको छैन । वारदातमा जोखिमी हतियारको प्रयोग भएको र वारदात स्थलको छनौट, अपराधको तयारी र योजना गरेको भन्ने पनि देखिएको छैन । यी प्रत्यर्थी प्रतिवादीहरू किशोरावस्था उमेरका रहेका र मादक पदार्थ खाई नाचगान गरिरहेको अवस्थामा साथीको आग्रहलाई स्वीकार गरी वारदातमा निजहरूको संलग्नता भएको देखिन आउँछ । साथीको मद्दतको आग्रह बाहेक मृतकउपर आक्रमण गर्नुपर्ने अन्य खास कारण पनि मिसिलबाट देखिँदैन । यस्तो अवस्थामा यी प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग दावी अनुरूप सजाय निर्धारण गर्दा चर्को पर्नजाने नै देखिन्छ 

      १७. प्रतिवादीमध्येका तुलबहादुर पुनको उमेर सम्बन्धमा विवाद उठेको सन्दर्भमा विचार गर्दा निज प्रतिवादीले मौकामा बयान गर्दा आफ्नो उमेर १६ वर्ष भनेको देखिन्छ भने अदालतमा बयान गर्दा आफ्नो उमेर १४ वर्ष भनी लेखाएको पाइन्छ । शुरु तथा पुनरावेदन अदालतले समेत निज प्रतिवादीलाई १६ वर्ष उमेर नपुगेको भनी बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम अन्य उमेर पुगेका प्रतिवादीहरूलाई भएको सजायको आधा सजाय गरेको समेत देखिन्छ । निज प्रतिवादीको उमेर जाँच गर्न पठाउँदा निजको उमेर १५ वर्षदेखि १७ वर्ष सम्मको हुनसक्ने भनी २०६२।१२।८ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट लेखिआएको अवस्था छ । निज प्रतिवादी सावालक भएको दावी गर्ने पुनरावेदक वादीपक्षको तर्फबाट निज प्रतिवादी १६ वर्ष पुगेको देखिने प्रमाण पेश गरेको मिसिलबाट देखिँदैन भने चिकित्सकीय परीक्षणबाट पनि निजको १६ वर्ष उमेर पुगेको यकीन हुन सकेको देखिएन । यसरी उमेर सम्बन्धमा विवाद उठेपछि सावालक भएको भन्ने देखिने स्पष्ट प्रमाणको अभावमा अनुमान कै भरमा सावालकलाई हुने सजायसरह सजाय निर्धारण गर्नु न्यायसंगत हुँदैन । 

      १८. अतः यी प्रत्यर्थी प्रतिवादीहरूको उमेर, वारदातमा निजहरूको संलग्नता, वारदातको अवस्था र प्रकृति समेतलाई विचार गर्दा निजहरूलाई कैद वर्ष १०(दश) को सजाय गर्दा न्यायिक दृष्टिले अपराध र सजायमा सन्तुलन हुन जाने देखिएकोले मुलुकी ऐन, अदालती बन्दोवस्तको १८८ नं. बमोजिम १६ वर्ष उमेर पुगेको देखिएका प्रत्यर्थी प्रतिवादीहरू विकास महत, सानो हीरा पुन, देवबहादुर पुन र सुशील भन्ने सुनिल श्रेष्ठलाई कैद वर्ष १० को सजाय हुन्छ । प्रतिवादीमध्येका तुलबहादुर पुनको उमेर १६ वर्ष पुगेको भन्ने मिसिलबाट पुष्टि भएको नदेखिँदा निज प्रतिवादीको सन्दर्भमा बालबालिका सम्बन्धी ऐन, २०४८ आकर्षित हुने देखिँदा निजलाई उक्त ऐनको दफा ११(३) बमोजिम अन्य सावालक प्रतिवादीहरूलाई भएको सजाय कैद वर्ष १० को आधा कैद वर्ष ५ को सजाय हुन्छ । सजायको सन्दर्भमा पुनरावेदन अदालतको फैसलाले लागेको कैद अवधिमा फरक नदेखिँदा कैद लगतमा कसूर कायम भएको व्यहोरा जनाई कैदी पूर्जीमा समेत सोही व्यहोरा जनाई प्रत्यर्थी प्रतिवादीहरूलाई जानकारी गराउनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु । फैसलाको जनाउ प्रतिवादीहरूलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू 

 

उक्त रायमा म सहमत छु । 

 

न्या.कृष्णप्रसाद उपाध्याय

 

इति संवत् २०६७ साल असार २३ गते रोज ४ शुभम्..

 

 

इजलास अधिकृत :दीपककुमार दाहाल 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु