निर्णय नं. ८७९६ - बण्डापत्र अंश एवं मिलापत्र बदर ।

ने.का.प. २०६९, अङ्क ३
निर्णय नं. ८७९६
सर्वोच्च अदालत, सयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की
संवत् २०६७ सालको दे.पु.नं.०६७–CI-११९६
फैसला मितिः २०६८।१२।८।४
मुद्दा : बण्डापत्र अंश एवं मिलापत्र बदर ।
पुनरावेदक वादीः नवलपरासी जिल्ला हकुई गा.वि.स.वडा नं.४ हकुई भै हाल रूपन्देही जिल्ला करहिया गा.वि.स.वडा नं.२ मंगलापुर बस्ने गौरा थारू समेत
विरुद्ध
पुनरावेदक प्रतिवादीः सोहरत थारूको मु.स.गर्ने नवलपरासी जिल्ला हकुई गा.वि.स.वडा नं. ४ हकुई बस्ने बेचनी थरूनी समेत
शुरू फैसला गर्ने :
मा.न्या.श्री बालचन्द्र शर्मा
पुनरावेदन फैसला गर्ने :
मा.मु.न्या.श्री मोहनप्रकाश सिटौला
मा.न्या.श्री बमकुमार श्रेष्ठ
§ अदालतमा प्रवेश गरी कुनै पक्षले मुद्दा दायर गरी त्यसमा मिलापत्र गर्न चाहन्छ भने त्यस्तो मिलापत्र गर्ने व्यक्तिहरूलाई अदालतको खुल्ला इजलासबाट मुलुकी ऐन अदालती बन्दोवस्तको १८२ नं. बमोजिम दुवै पक्षलाई पढी सुनाई त्यसको मतलव र परिणाम समेत राम्रोसित सम्झाई बुझाई त्यसरी सम्झाउँदा बुझाउँदा पनि दुई थरले मन्जूर गरेमा मात्र गरिने कार्य मिलापत्र हो । यसरी अदालतका खुल्ला इजलाससमक्ष गरिएको मिलापत्रलाई मिलापत्रकर्ताको वंशज नातेदारको मागबमोजिम अमान्य र बदर गर्दै जाने हो भने कुनै पनि मुद्दाको अन्त्य कहिल्यै हुन नसक्ने ।
§
§ अदालतबाट सम्पन्न हुने मिलापत्रमा कसैलाई साक्षी राख्ने कानूनी व्यवस्था हुँदैन र त्यसमा पक्षबाहेक अरुको मञ्जूरीको आवश्यकता पनि पर्दैन । नावालिग वा रोगले होस ठेगानामा नभएको पक्षले मिलापत्र गर्यो भन्ने विषयको यस प्रकारको मुद्दा होइन । तर अदालतबाटै सम्पन्न हुने मिलापत्र बदर नै नहुने भने होइन । यसका लागि अ.वं. ८६ नं. मा वर्णित अन्तर्वस्तु प्रकटरुपमा देखिनु पर्दछ । र, यी प्रमाणबाट समर्थित हुनु पनि पर्ने ।
§ पति पिता मिलापत्र गर्न कानूनन् सक्षम व्यक्ति हो । पति पिताद्वारा गरिएको कार्यले साम्पत्तिक हक प्राप्त गर्ने व्यक्तिहरूको हक दुरासयपूर्वक अपहरित भएको नदेखिँदासम्म अदालतबाट सम्पन्न फैसला, डिसमिस, मिलापत्र र खारेजी फैसला बदर हुन नसक्ने व्यवस्था अ.वं. ८६ नं. ले गरेको हो । अदालतबाट सम्पन्न हुने फैसला, डिसमिस, मिलापत्र र खारेजले सुनिश्चताको प्रत्याभूति र मुद्दाको निश्चित अन्त्यको प्रवन्ध गर्दछन् । र, यो अपेक्षा कानूनी प्रणाली र न्याय व्यवस्थाको स्थायित्वको लागि अपरिहार्य हुने ।
(प्रकरण नं.२)
§ मिलापत्रका शर्तहरू पक्षहरूका ईच्छाअनुरूप रहने हो । ती ईच्छाका कारणहरू मिलापत्रमा देखाइन आवश्यक हुँदैनन् । मिलापत्रमा पाउनु पर्ने भन्दा कम सम्पत्ति लिइएको पाइनु नै सो बदर हुने आधार हुन नसक्ने ।
(प्रकरण नं.३)
§ पति पिताले आफूले कम सम्पत्ति लिई एकमात्र पत्नी र तीनवटै छोराहरूलाई प्रतिकूल असर पार्नुपर्ने कारण उल्लेख गर्न सकेकोसम्म नपाइँदा बिनाकारण जालसाजी भन्दैमा आफ्नो दावी खम्बीर हुन नसक्ने ।
(प्रकरण नं.४)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता उषा मल्ल पाठक
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता नसरूल्लाह अहमद
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ अनुसूची १ र २ नं.
फैसला
न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, वुटवलको मिति २०६५।२।२६ को फैसलाउपर वादीका तर्फबाट मुद्दा दोहोर्याई पाऊँ भनी यस अदालतमा परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहरको व्यहोरा यस प्रकार छः–
चपारू थारूका ३ भाइ छोराहरूमा जेठा काशीराम, माहिला धनपाल, कान्छा तामे भन्ने जयराम भै काशीरामको छोरा पहुनले आफ्नो अंशभाग लिई बसेका र धनपालका तीन छोरा क्रमशः धनीराम, लक्ष्मीनारायण र कान्छा हरिराम भै हरिराम र धनीरामको मृत्यु भैसकेकोले धनिरामको हक खाने छोरा सोहरत र हरिरामको हक खाने छोरा इन्द्रप्रसाद छन् भने जयरामको छोरा कोइलको १ श्रीमती चैती भन्ने फूलकुमारी ३ छोरा गौरा, राजेन्द्र र कान्छो विष्णु थारू हौ । हामीहरू बीचमा अंशबण्डा भएको छैन । अंश मागगर्दा विपक्षीहरू एक मुख भै हामीले तिम्रा पति तथा वावु कोइललाई अंश दिई सक्यौ तिम्रो पति वावुसँग अंश माग गर भनेकाले अदालतमा आई बुझ्दा विपक्षीरू एकआपसमा मिली पिताले कम जग्गा लिई मिलापत्र गरी अंश बुझेको वाहाना गरेकाले हामीहरूको समेत अंश हकमा असर परेकोले प्रस्तुत मुद्दा गरेका छौ । माथि उल्लिखित पारिवारीक अवस्था भएको अवस्थामा विपक्षी इन्द्रप्रसाद, लक्ष्मीनारायण र सोहरतले मूल अंशियार जयरामको छोरा हाम्रा पति तथा पिता कोइल थारूलाई लोपगरी मिति २०४८।६।२० मा मालपोत कार्यालय, नवलपरासीबाट पारीत गराएको बण्डापत्रमा नै उल्लिखित सम्पत्ति ११–१२–१ रहेको र सो सम्पत्तिको २ भागको १ भागको हिस्सेदार हाम्रा पति तथा पिता कोइल भएकोमा निजको शेषपछि हक खाने हामी वादी भएकोमा हाम्रा हकमा आउने सम्पत्तिलाई कानूनी वैधता दिनको लागि विपक्षीमध्येका कोइल थारू वादी र अन्य विपक्षीहरू प्रतिवादी बनी एकआपसमा अंश लिएको वाहाना बनाई कम जग्गा लिएको कागज गराई उक्त २०४८ सालको बण्डापत्रलाई कानूनी मान्यता दिन गरेको उक्त बण्डापत्र, मिलापत्रलगायतका सम्पूर्ण कामकारवाही बदर गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद दावी ।
विपक्षीले वंशावली नै गलत देखाएका छन् । धनपालको मृत्युपछि निजका छोरा लक्ष्मीनारायण घरको मुख्य कारोवारी बनी सम्पूर्ण सम्पत्ति निजकै जिम्मामा रहेको र हामी सबै अंशियार एकासगोल मै रही बसी आउँदा घर व्यवहार चलाउन अप्ठेरो परेकोले मिति २०४८।६।२० मा हामीहरू बीचमा अंशबण्डा गर्दा विपक्षीका पति पिता कोइल थारू, लक्ष्मीनारायणसँगै बस्ने ईच्छा गरेकाले निजको अंश भाग निज लक्ष्मीनारायणसँग राखी एकासगोलमै बसेको हुँदा निजको नाम उल्लेख नभएको हो अंशियार लोप गरेको हैन हामीहरूबाट विपक्षीले अंश पाउनु पर्ने नहुँदा हकदैयाविहीन फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको गौरा थारू समेतको संयुक्त प्रतिउत्तर जिकीर ।
मुद्दा परी मिलापत्र भएको भन्ने कुरा विपक्षीहरूलाई थाहा जानकारी तत्काल पनि थिायो । हाल थाहा पाएको कथित मिति कायम गरी फिराद गरेका हुन् । यी वादीहरू हाम्रा अंशियार नभै कोइल थारूका अंशियार हुन् । त्यसैले झूठा एवं वनावटी दावीबाट मिलापत्र बदर हुने अवस्था नहुँदा झूठा दावीबाट अलग फुर्सद दिलाइ पाऊँ भन्ने समेत व्यहोराको लक्ष्मीनारायण थारू समेतको प्रतिउत्तर जिकीर ।
प्रतिवादीहरूका साक्षी भिखु र धुव्रनारायण चौधरीले गरेको बकपत्र मिसिल समेल रहेको ।
यी वादीका पति तथा पिता कोइल थारूले लक्ष्मीनारायण थारू समेतसँग अंश मुद्दा मिलापत्र गरी ज. वि.०–४–१० जग्गा लिई सकेको र सो मिलापत्र बदरको लागि परेको फिरादमा मिलापत्र बदर नहुने गरी फैसला भएको, वादीका पति पिताले २०६२।९।५ नै आफ्नो अंश चित्त बुझाई बसेका र वादीहरूले आफ्नो पति पितासँगमात्र अंश पाउनेमा निजको २०६३।१।१९ मा मृत्यु भएको अवस्थामा निजको सम्पत्तिमा एकलौटी हक खाने यिनै वादीहरू भएकोले मिति २०४८।६।२० मा भएको बण्डापत्र र मिति २०६२।९।५ मा भएको मिलापत्र बदर गराउन पाउने वादीहरूलाई कानूनी आधार नरहेकाले वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु नवलपरासी जिल्ला अदालतबाट मिति २०६४।१।२४ मा भएको फैसला ।
दावी नपुग्ने ठहराई भएको शुरुको फैसलामा चित्त बुझेन । स्व.पति पिताले प्रतिवादीसँग मिली हाम्रो हक मेट्ने उद्देश्यले वदनियतपूर्वक गरेको बण्डापत्र एवं मिलापत्रले हाम्रो हक जाने होइन । वदनियतपूर्वक भएको बण्डापत्र एवं मिलापत्रलाई बदर गर्न हामीलाई अ.वं. ८२ नं. र ८६ नं. ले कानूनी आधार प्रदान गरेको छ । हाम्रो हकदैया नपुग्ने भनी गलत व्याख्या गरी बण्डापत्र र मिलापत्र बदर नहुने गरी भएको शुरु अदालतको त्रुटिपूर्ण फैसला बदर गरी फिराद दावीबमोजिम गरिपाऊँ भन्ने वादीहरूको तर्फबाट पुनरावेदन अदालत, वुटवलमा परेको पुनरावेदन पत्र ।
यसमा यसै लगाउको ११–०६४–००५५० को अंश मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा समेत सो मुद्दासँग अन्तरप्रभावी देखिँदा छलफलको निमित्त झिकाई उपस्थित भए वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत मिति २०६४।९।२९ को आदेश ।
मिति २०४८।६।२० मा भएको बण्डापत्र तथा मिति २०६२।९।५ मा भएको मिलापत्र समेत बदर गरिपाऊँ भन्ने दावी जिकीर प्रमाण एवं प्रतिपादित नजीर सिद्धान्त समेतका आधारमा मनासिव हुँदा वादी दावी पुग्न नसक्ने ठहराई नवलपरासी जिल्ला अदालतबाट भएको मिति २०६४।१।२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०६५।२।२६ को फैसला ।
वादी कोइल थारू प्रतिवादी लक्ष्मीनारायण थारू समेत भएको अंश मुद्दामा वादी कोइल थारूले विभिन्न कि.नं.को ०–४–१० जग्गा अंशबापत लिई मिति २०६२।९।५ मा मिलापत्र गरी सो उपर लिखत बदर जालसाज मुद्दा दिई फिराद दावी छोडी छोडाई मिलापत्र गरेको कार्यबाट हाम्रो नैसर्गिक अंश हकमा आघात पुग्न जानुका साथै हाम्रा पति पिता कोइल थारू समेतका यी विपक्षीहरू एकआपसमा मिली हामीलाई हाम्रो अंश हकबाट बञ्चित गर्ने गरी खडा गरी गराएका विवादित बण्डापत्र र मिलापत्रलाई प्रमाणका रूपमा ग्रहण गरी हामीहरूलाई हराई शुरु नवलपरासी जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत वुटवलबाट मिति २०६५।२।२६ मा भएको फैसलामा अदालती वन्दोवस्तको १८४क, १८५ नं. अंशबण्डाको १, २, नं. कीर्ते कागजको ३ नं. प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिवन्धात्मक वाक्याशंको व्याख्यात्मक त्रुटि एवं प्रतिपादित नजीर समेतका विपरीत भएको हुँदा उक्त फैसला उल्टी गरी हाम्रो फिराद दावीबमोजिम हामीहरूका मञ्जूरी वेगर भएको बण्डापत्र र मिलापत्र समेत बदर गरिपाऊँ भन्ने समेत व्यहोराको वादीहरूका तर्फबाट यस अदालतमा दायर हुनआएको पुनरावेदन पत्र ।
यसमा वादीका पिता पति अंशियार भएकोमा निजले आफूले पाउनुपर्ने अंशमध्ये धेरै भाग छोडी थोरै क्षेत्रफल ०–४–१० मात्र अंश लिनुपर्ने आधार कारण मिलापत्रबाट खुल्न सकेको नदेखिएको अवस्थातर्फको प्रमाणको मूल्याङ्कन नगरी सक्षम व्यक्तिले गरेको मिलापत्र भन्ने अर्थ गरी वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरू जिल्ला अदालतको इन्साफ मुनासीव ठहराएको पुनरावेदन अदालत, वुटवलको इन्साफ जिय जियै अंश गर्नुपर्ने अंशबण्डाको १ नं. तथा यस अदालतबाट वैरसु मण्डल अमात वि.मु.स. गर्ने जीवछिदेवी तथा वद्रीमण्डल अमात समेत वि.जीवछिदेवी भएको अंश दर्ता मुद्दामा नेकाप २०६४, पृष्ठ ३५५, अङ्क ३, नि.नं.७८२६ भगवान रानाभाट वि.शारदा रानाभाट भएको जालसाजी मुद्दामा नेकाप २०५५, अङ्क ६, नि.नं. ६५५५, पृ. ३२५) शेखमुसिर वि.भरनी खेसिन भएको हक कायम बण्डापत्र लिखत बदर दर्ता मुद्दामा (नेकाप २०५६, अङ्क ४, नि.नं. ६७१०, पृष्ठ ३०४) यस अदालतबाट भएको व्याख्या र प्रतिपादन भइरहेको सिद्धान्त समेतको विपरीत भई प्रमाण ऐन, २०३१ को दफा ३, ५४ अ.वं. १८४ क.नं. समेतको गम्भीर व्याख्यात्मक त्रुटि भई फरक पर्ने हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी दिइएको छ । विपक्षीहरूलाई झिकाई लगाउका मुद्दा साथै राखी नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।२।२६ को आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तु मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी फूलकुमारी थरूनी समेतकातर्फबाट रहनु भएकी विद्वान अधिवक्ता श्री उषा मल्ल पाठकले मेरा पक्षका पति पिता र प्रत्यर्थी प्रतिवादीहरू समेत एकआपसमा मिली मेरा पक्षहरूको अंश हक मेटाई निरअंशी बनाउने उद्देश्यले एकआपसमा मुद्दा गरी बण्डापत्र मिलापत्र समेत गरी अंशहक छाड्दैमा अंश जस्तो नैसर्गिक अधिकारबाट बञ्चित गर्न मिल्ने होइन । पैतृक सम्पत्तिबाट अंश प्राप्त गर्न पाउने मेरा पक्षहरूको अधिकारलाई कसैले हक छोडदैमा समाप्त हुने अवस्था नहुँदा उक्त मेरा पक्षका पति पिता र प्रत्यर्थी प्रतिवादीहरू बीच भएको बण्डापत्र एवं मिलापत्रलाई बदर हुने गरी फैसला गर्नुपर्नेमा सोतर्फ विचार नगरी सोही बण्डापत्र एवं मिलापत्रलाई सदर गरी दावी नपुग्ने ठहर्याई शुरू अदालतले गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत वुटवलबाट मिति २०६५।२।२६ मा भएको फैसला नमिलेको हुँदा उक्त फैसला उल्टी गरी फिराद दावीमा उल्लिखित बण्डापत्र एवं मिलापत्र बदर गरिपाऊँ भनी र प्रत्यर्थी प्रतिवादी अनिरूद्रप्रसाद थारूका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता नसरूल्लाह अहमदले पुनरावेदक वादीहरूका पति पिता र मेरा पक्षहरूका बीच मुद्दा चली एकआपसमा मिलापत्र भैसकेको अवस्था हुँदा शुरू फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, वुटवलको फैसलामा अन्यथा गर्नुपर्ने अवस्था नहुँदा उक्त फैसला सदर गरिपाऊँ भनी गर्नु भएको वहस समेत सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, वुटवलले गरेको फैसला मिलेको छ, छैन ? र पुनरावेदक वादीहरूको पुनरावेदन जिकीर पुग्न सक्ने हो वा होइन ? भनी निर्णय दिनुपर्ने देखिँन आयो ।
यसमा हाम्रा पति पिता कोइल थारूलाई लोप गरी मिति २०४८।६।२० मा मालपोत कार्यालय, नवलपरासीबाट पारीत गराएको बण्डापत्रमा क्षेत्रफल ११–१२–१ जग्गा रहेकोमा सो सम्पत्तिको २ भागको १ भागको हिस्सेदार हाम्रा पति तथा पिता कोइल थारू भएकोमा निजको शेषपछि हक खाने हामी वादीहरू छँदाछँदै उक्त लिखतलाई कानूनी वैधता दिनका लागि विपक्षी मध्येका हाम्रा पति पिता कोइल थारू वादी र इन्द्रप्रसाद थारू समेतका अन्य विपक्षीहरू प्रतिवादी वनी असमान तरिकाबाट अंश लिएको वहाना बनाई बढी घटी जग्गा लिन दिन गरी उक्त मिति २०४८।६।२० मा पारीत गरेको बण्डापत्रलाई कानूनी मान्यता दिन गरेको उक्त बण्डापत्र तथा मिलापत्रलगायतका सम्पूर्ण कामकारवाही बदर गरिपाऊँ भन्ने वादीहरूको फिराद माग दावी रहेको र मिति २०४८।६।२० मा हामीहरूका बिचमा अंशबण्डा हुँदा विपक्षी वादीका पति पिता कोइल थारू लक्ष्मीनारायणसँगै बस्ने ईच्छा व्यक्त गरेकाले निजको अंश भाग लक्ष्मीनारायणसँग राखी एकासगोलमै बसेको हुँदा निजको नाम उल्लेख नभएको हो अंशियार लोप गरेको अवस्था छैन तसर्थ वादी दावीबमोजिम मिलापत्र बदर हुनुपर्ने होइन झूठा दावीबाट अलग गरिपाऊँ भन्ने प्रतिवादीहरूको प्रतिउत्तर जिकीर रहेकोमा मिति २०४८।६।२० मा भएको बण्डापत्र र मिति २०६२।९।५ मा भएको मिलापत्र बदर गराउन पाउने वादीहरूलाई कानूनी आधार नरहेकाले वादी दावी पुग्न नसक्ने ठहराई मिति २०६४।१।२४ मा गरेको फैसलाउपर पुनरावेदन अदालत, वुटवलमा पुनरावेदन परी उक्त अदालतबाट सोही शुरू जिल्ला अदालतको फैसलालाई सदर हुने ठहर्याई गरेको मिति २०६५।२।२६ को फैसलामा चित्त नवुझी वादीहरूले मुद्दा दोहोर्याई पाऊँ भनी यस अदालतमा दिएको निवेदनमा यस अदालतबाट मिति २०६७।२।२६ मा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भएको देखिन आयो ।
२. यी पुनरावेदक वादीहरूका पिता पति कोइल थारूले नवलपरासी जिल्ला अदालतमा लक्ष्मीनारायण थारू समेत उपर अंश मुद्दा दायर गरी मिति २०६२।९।५।३ मा उक्त मुद्दाका वादी कोइल थारूले सम्पूर्ण फिराद दावी छाडी मिलापत्र गरेको भन्ने कुरा स्वयं पुनरावेदक वादीहरूको फिराद व्यहोरा एवं उक्त फिराद पत्र साथ पेश गरेको मिलापत्रको छायाँप्रतिवाट समेत स्पष्ट देखिन्छ । अदालतमा प्रवेश गरी कुनै पक्षले मुद्दा दायर गरी त्यसमा मिलापत्र गर्न चाहन्छ भने त्यस्तो मिलापत्र गर्ने व्यक्तिहरूलाई अदालतको खुल्ला इजलासबाट मुलुकी ऐन अदालती बन्दोवस्तको १८२ नं. बमोजिम दुवै पक्षलाई पढी सुनाई त्यसको मतलव र परिणाम समेत राम्रोसित सम्झाई बुझाई त्यसरी सम्झाउदा बुझाउदा पनि दुई थरले मन्जूर गरेमा मात्र गरिने कार्य मिलापत्र हो । यसरी अदालतका खुल्ला इजलाससमक्ष गरिएको मिलापत्रलाई मिलापत्रकर्ताको वंशज नातेदारको मागबमोजिम अमान्य र बदर गर्दै जाने हो भने कुनै पनि मुद्दाको अन्त्य कहिल्यै हुन सक्ने अवस्था रहँदैन । अदालतबाट सम्पन्न हुने मिलापत्रमा कसैलाई साक्षी राख्ने कानूनी व्यवस्था हुँदैन र त्यसमा पक्षबाहेक अरुको मञ्जूरीको आवश्यकता पनि पर्दैन । नावालिग वा रोगले होस ठेगानामा नभएको पक्षले मिलापत्र गर्यो भन्ने विषयको यो मुद्दा होइन । तर अदालतबाटै सम्पन्न हुने मिलापत्र बदर नै नहुने भने होइन । यसका लागि अ.वं. ८६ नं. मा वर्णित अन्तरबस्तु प्रकटरुपमा देखिन पर्दछ । र यी प्रमाणबाट समर्थित हुनु पनि पर्दछ । पति पिता मिलापत्र गर्न कानूनन् सक्षम व्यक्ति हो । पति पिताद्वारा गरिएको कार्यले निजबाटै साम्पत्तिक हक प्राप्त गर्ने व्यक्तिहरूको हक दुरासयपूर्वक अपहरित भएको नदेखिँदासम्म अदालतबाट सम्पन्न फैसला, डिसमिस, मिलापत्र र खारेजी फैसला बदर हुन नसक्ने व्यवस्था अ.वं. ८६ नं. ले गरेको हो । अदालतबाट सम्पन्न हुने फैसला, डिसमिस, मिलापत्र र खारेजले सुनिश्चताको प्रत्याभूति र मुद्दाको निश्चित अन्त्यको प्रवन्ध गर्दछन् । र, यो अपेक्षा कानूनी प्रणाली र न्याय व्यवस्थाको स्थायित्वको लागि अपरिहार्य पनि छ ।
३. मिलापत्रका शर्तहरू पक्षहरूका ईच्छाअनुरूप रहने हो । ती ईच्छाका कारणहरू मिलापत्रमा देखाइन आवश्यक हुँदैनन् । मिलापत्रमा पाउनु पर्ने भन्दा कम सम्पत्ति लिइएको पाइनु नै सो बदर हुने आधार हुन सक्दैन । यस अदालतबाट पुनरावेदनको निस्सा प्रदान गर्दा आधार लिइएका नजीरहरूमा मिलापत्रकर्ताको अन्य अंशीको अहित गर्ने कारण स्पष्ट दृष्टिकोचर भएको छ । नेकाप २०५५, असोज, नि.नं. ६५५५, पृष्ठ ३२५ को मुद्दामा अंशमा वादी दावी परिसकेपछि आफ्नो बाबुबाट अंश बुझेको भरपाई खडा गरिएको स्थिति छ भने नेकाप २०५६, साउन, नि.नं. ६७१०, पृ.३०४ मा पनि वादीले अंश मुद्दा गरी अंश पाउने ठहरेको अवस्थामा बण्डापत्रको लिखतका अतिरिक्त सासूबाट मुद्दा पारी पराई मिलापत्र भएको छ । यसै गरी नेकाप २०६४, असार, नि.नं.७८२६, पृ.३५५ मा भने मिलापत्रमा जग्गा भोगसम्म गर्न पाउने, दर्ता गर्न नपाउने समेतका शर्तहरू रहेबाट सो अमान्य भई प्रस्तुत विवादसँग मेल नखाने प्रकृतिको रहेको छ । यसरी बदर भएका सवै मिलापत्रमा कुनै पक्षले सम्पत्ति कम पाओस् भन्ने मिलापत्रकर्ताहरूको दुराशय स्थापित भएको छ । ती नजीरहरूसँग सम्बन्धित फिरादमा यी कारणहरू पनि उल्लेख छन् ।
४. प्रस्तुत मुद्दामा पिता पतिले अंश ठग्ने नियतले उक्त मिलापत्र गरेको भन्ने पुनरावेदक वादीहरूको जिकीर निश्चय नै विचारणीय छ । सो सम्बन्धमा विचार गर्दा यी पुनरावेदक वादीहरूका पति पिताले के कुन कारणले आफ्नो अंश हक ठग्न उद्दत रहेको हो सोको कारण र आधार फिराद दावीमा कहीं कतै प्रत्यक्ष वा परोक्षरूपले समेत उल्लेख गरेकोसम्म पाइँदैन । यी पुनरावेदक वादीहरूका पति पिताले निजहरूउपर दुराशय राखी अन्याय गर्नुपर्ने कारण वादी पक्षले नै स्थापित गर्न सक्नुपर्ने हुन्छ । फिरादको अद्योपान्त अध्ययनबाट पति पिताले आफूले कम सम्पत्ति लिई यी वादी एकमात्र पत्नी र तीनवटै छोराहरूलाई प्रतिकूल असर पार्नुपर्ने कारण उल्लेख गर्न सकेकोसम्म पाइदैन । बिनाकारण जालसाजी भन्दैमा आफ्नो दावी खम्बीर हुन सक्ने होइन । तसर्थ शुरुले वादी नपुग्ने ठहर्याई गरेको फैसलालाई पुनरावेदन अदालत वुटवलले सरद गर्ने गरी गरेको फैसलालाई उल्टि गरी फिराद माग दावीबमोजिम गरिपाऊँ भन्ने पुनरावेदन जिकीरमा सहमत हुन सकिएन ।
५. अतः माथि उल्लिखित कारण र आधारहरू समेतबाट शुरू नवलपरासी जिल्ला अदालतले वादी दावी नपुग्ने ठहर्याई मिति २०६४।१।२४ मा गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत वुटवलले मिति २०६५।१।२६ मा गरेको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक वादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी प्रस्तुत मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रा.डा.भरतबहादुर कार्की
इति संवत् २०६८ साल चैत ८ गते रोज ४ शुभम्––
इजलास अधिकृतः ईश्वरीप्रसाद गौतम