निर्णय नं. ८४२१ - जीउ मास्ने वेच्ने र डांका ।

निर्णय नं.८४२१ ने.का.प २०६७ अङ्क ७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
संवत् २०६४ सालको स.फौ.पु.नं. ०६५३
फैसला मितिः २०६७।१।१५।४
संवत् २०६४ सालको स.फौ.पु.नं. ००१७
संवत् २०६६ सालको स.फौ.पु.नं. ००३३
मुद्दाः– जीउ मास्ने वेच्ने र डांका ।
पुनरावेदक प्रतिवादीः जिल्ला वारा गा.वि.स. हरैया वडा नं.९ घर भई हाल कारागार कार्यालय पर्सा वीरगञ्जमा थुनामा रहेको करिमन भन्ने राजदेव हजरा दुसाध
विरुद्ध
;
पुनरावेदक प्रतिवादीः विदेश भारत मोतिहारी जिल्ला पूर्वि चम्पारण आदापुर घर भई हाल कारागार शाखा पर्सा वीरगञ्जमा थुनामा रहेको कमरूद्दिन मियाँ चुरीहार
विरुद्ध
प्रत्यर्थी वादीः देवेन्द्रप्रसाद केसरीको जाहेरीले नेपाल सरकार
पुनरावेदक प्रतिवादीः जिल्ला वारा, गा.वि.स. धर्मनगर वडा नं.९ घर भई हाल कारागार कार्यालय पर्सा वीरगञ्जमा थुनामा रहेको लालवावु भन्ने इजाजुल मियाँ
विरुद्ध
प्रत्यर्थी वादीः देवेन्द्रप्रसाद केसरीको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः–
मा.जि.न्या.श्री दुर्गादत्त भट्ट
पुनरावेदन फैसला गर्नेः–
मा.न्या. उद्ववप्रसाद वास्कोटा
मा.न्या. श्री गौरीबहादुर कार्की
§ अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भइरहेको र वलपूर्वक वयान गराएको भन्ने समेत पुष्टि हुन नसकेको अवस्थामा प्रमाणयोग्य हुने ।
(प्रकरण नं.५)
§ मानिस अपहरण गरी बिदेशमा लगी रकम लिई बिक्री गरेको कार्य तत्कालीन अवस्थामा प्रचलनमा रहेको कानून जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ ले निषेध गरेको आपराधिक कार्य मान्नुपर्ने ।
§ मानिस बेच्ने जस्तो जघन्य अपराध गरेको पुष्टि भएको र त्यस्तो अपराध रोक्न एवं अपराधीलाई सजाय गर्न वनेको विशेष ऐन कार्यान्वयनमा रहेकै अवस्थामा उक्त कानून नै आकर्षित हुने ।
(प्रकरण नं.६)
§ सार्वजनिक अपराध र सजाय ऐन, २०२७ र जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ का कुनै प्रावधान बाझिएका भएमा समेत पछिल्लो अर्थात २०४३ सालको ऐनको प्रावधान लागू हुन्छ । अर्कातर्फ यो २०४३ सालको खास अपराधको रोकथामका लागि बनेको विशिष्ट ऐनले आफ्नो परिधिमा समावेश गरेको अपराधका लागि अन्यन्य प्रयोजनका लागि २०२७ सालमा बनेको ऐन आकर्षित नहुने ।
(प्रकरण नं.७)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री राजन अधिकारी
प्रत्यर्थी वादीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री रमेशकुमार पोखरेल
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७
§ जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१)
§ प्रमाण ऐन, २०३१ को दफा २५
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत हेटौँडाको मिति २०६३।८।१० को फैसलाउपर दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ.
कलैयामा बनिरहेको घर रेखदेख गर्न मिति २०५९।२।३१ गते छोरा देवेन्द्रप्रसाद केशरी आएकोमा भोलिपल्टसम्म गाउँ घरमा फर्की नआएकोले खोज तलास गर्दा पसाहा खोलासम्म आएको बुझी त्यसपश्चात् अपहरणकारीहरूले अपहरण गरेको हुँदा अपहरणकारीको पत्ता लागेमा छुट्टै जाहेरी दिई कारवाही हुने नै हुँदा हाल छोरालाई खोज तलास गरिपाऊँ भन्ने समेत व्यहोराको राम अयोध्याप्रसाद केशरीको हुलिया जाहेरी दरखास्त ।
मिति २०५९।२।३१ गते गाउँको घरबाट रु.२०,०००।– लिई कलैयामा बनिरहेको घरको मिस्त्री तथा कामदारको ज्याला दिन र रेखदेख गर्नको लागि आएकोमा उक्त दिन काम गराई साँझमा ज्याला रु.१०,०००।– दिई वाँकी रुपैया लिई घरतर्फ जान लागेको अवस्थामा साँझ ७ बजे पसाहा खोलाको पूर्वपट्टि चिनेका शत्रुधनप्रसाद साह कानु, राजदेव भन्ने करिमन हजरा दुसाध, देवनारायण यादव, रामएकवाल साह कानु तथा नचिनेका समेत ५ जना हात हतियार देखाई कुटपीट गरी समाई मुखमा पट्टी वाँधी खोलाको वगरै वगर भारतको आदापुर बजारमा लगे । त्यसपछि मूर्तिया गाउँमा लगे त्यहाँबाट मलाई भारतीय ब्यक्तिसँग रू.२,०००००।– मा बिक्री गरी दिएपछि किन्ने व्यक्तिले तिम्रो बुबासँग फिरौती रू.५०,००,०००।– चिठी लेखेर माग नत्र तलाई मृगौला किडनी किन्ने ब्यक्तिलाई बिक्री गरी दिन्छु भनेकोले मैले चिठी लेखिपठाएँ । त्यसपश्चात् मलाई हात खुट्टा बाँधी फुसको घरमा राखेको अवस्थामा मैले खोली रातारात निजहरूको कव्जाबाट भागी आएकोले अपराधीहरूलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भनी देवेन्द्रप्रसाद केशरीको जाहेरी दरखास्त एवं बयान कागज ।
रू. ५०,००,०००।– यो चिठी लिएर जाने व्यक्तिलाई दिनु होला नत्र मलाई अपहरणकारीले मार्छन भन्ने व्यहोराको देवेन्द्रप्रसादको चिठी ।
मिति २०५९।२।३१ गतेको साँझको समयमा म तथा शत्रुधन, करिमन, देवनारायणले जाहेरवालालाई अपहरण गरी लगी भारतका व्यक्तिसँग रु.२,००,०००।– मा बिक्री गरी दिएको र निजहरूले रु.५०,००,०००।– फिरौती मागेकोमा रखवारी गर्ने मानिसको गल्तीबाट देवेन्द्र भागी घर आएका हुन भन्ने समेत व्यहोराको प्रतिवादी रामएकवाल साह कानूले गरेको बयान कागज ।
मिति २०५९।२।३१ गते जाहेरवाला देवेन्द्रलाई जाहेरीमा उल्लिखित प्रतिवादीहरूले अपहरण गरी भारतका अपहरणकारीहरूलाई बिक्री गरी फिरौतीको रकम समेत मागेका थिए र प्रतिवादीहरूले अपहरण गरी लगेको ठीक हो भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्का ।
एकलास बाटोमा चारजनाभन्दा बढी व्यक्ति भई हातहतियार बोकी देखाई पीडितले बोकेको रु.१०,०००।– खोसी पीडितलाई भारतमा लगी जीउ मास्ने वेच्ने कार्य गरेकोले फरार प्रतिवादीहरू शत्रुधन, करिमन तथा देवनारायणलाई डाँका गरेकोमा चोरीको १४(४)नं बमोजिम र पीडित वर्गलाई लगी भा.रु.२,००,०००।– मा बिक्री गरेतर्फ जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम सजाय गरी ऐ.दफाको उपदफा (५) बमोजिम जरीवाना गरी डाँकाको विगो रु.१०,०००।– प्रतिवादीहरूबाट दिलाई भराई पाउँ र नाउँ वतन नखुलेका व्यक्तिहरूको नाउँ वतन खुली आएका बखत थप अभियोगपत्र प्रस्तुत गरिने भन्ने व्यहोराको अभियोगपत्र ।
अभियोग दावीबमोजिम मैले कुनै कसूर अपराध गरेको छैन जाहेरवाला देवेन्द्र केशरीलाई म चिन्दिन । मैले डाँका समेत नगरेकाले दावीअनुसार सजाय पाउनु पर्ने होइन । अभियोग दावीबाट सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रामएकवाल साह कानूले शुरू अदालतमा गरेको बयान ।
प्रतिवादी रामएकवाल मिति २०५९।२।३१ गते मसँगै सुतेको हो । निजले जीउ मास्ने वेच्ने र डाँका गरेको छैन निजउपरको अभियोग दावी सम्पूर्ण झूठा हो भन्ने समेत निजका साक्षी शम्भु साह कानु र जीतेन्द्र साह कानूको बकपत्र ।
मिति २०५९।२।३१ गते दिनरात म आफ्नो गाउँ घरमा नै थिएँ । उक्त मिति समयमा कोही अपहरण भएको मलाई थाहा थिएन र निजलाई मैले चिनेको पनि थिएन । मलाई जाजुल मियाले सो ठाउँमा लगी थुनी दिएपछि मात्रै मैले देखेको थिएँ । देवेन्द्रलाई बाँधिराखेको सिक्री अरु नभएको मौकामा खोली घाउ धोई दिने गर्दथो । निज भाग्दा पनि मैले धोल्लो गरी बाँधी दिएकोले भाग्न सफल भएका थिए भन्ने समेत व्यहोराको प्रतिवादी राजेश मण्डलको प्रहरीमा भएको बयान ।
मलाई अपराधीहरूले हपहरण गरी लगी भारतमा बन्दी बनाई राख्दा मेरो रेखदेख गरी बस्ने व्यक्तिहरू घर कलैया भनी गई रहेकोमा निजहरूको भेषभूषा अनुहार देख्दा यकीन गरी सनाखत गराउने गरी प्रहरीद्वारा खोज तलास पत्ता लगाई दाखेल गराई पाऊँ भन्ने समेत व्यहोराको पीडित जाहेरवालाको दरखास्त ।
प्रतिवादी राजेश मण्डललाई देखाउदा देखो चिनो बन्दी बनाई राखेको ठाउँमा गार्ड गर्ने यही व्यक्ति हो भन्ने समेत व्यहोराको प्रहरीमा सनाखत गर्ने देवेन्द्रप्रसाद केशरीको २०६०।२।२९ को कागज ।
प्रतिवादी कमरूदिनलाई चिनो । निजले मलाई पटक – पटक धाक धम्की दिने कुटपीट गर्ने गर्दथे भन्ने समेत व्यहोराको देवेन्द्रप्रसाद केशरीले मिति २०६०।२।२९ मा प्रहरीमा गरेको सनाखत कागज ।
निज देवेन्द्रलाई हामीहरूले खरीद गरी बन्दी बनाई राखेका थियौँ । बन्दुक अव्वास मिया र ध्रुवसिँहको हो भन्ने समेत व्यहोराको प्रतिवादी कमरूद्दिन मियाले मौकामा गरेको वयान कागज ।
देवेन्द्रप्रसाद केशरीलाई रू.२ लाखमा खरीद गरी यातनासाथ थुनेर राख्ने प्रतिवादी कमरूद्दिन मिया, अव्वास मिया, ध्रुव सिँह, धमेन्द्र यादव र लालवावु भन्ने इजाजुल मियाले जीउ मास्ने वेच्ने कसूर अपराध गरेको देखिँदा निजहरूलाई जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम र वारदातमा सहयोग पुर्याउने राजेश मण्डललाई सोही ऐनको दफा ८(४) बमोजिम सजाय हुन र साथै फरार रहेका अव्वास, ध्रुव सिँह र धर्मेन्द्र यादव भारतीय नागरिक देखिँदा पक्राउ भएका बखत पेश गरिने र फरारीको नाउँमा वारेन्ट र म्याद जारी गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०६०।२।३० को थप अभियोगपत्र ।
अभियोग सम्बन्धमा मलाई जानकारी नभएकोले किन मउपर जाहेरी दिएको हो निजै जाहेरवाला जानुन् । जीउ मास्ने वेच्ने कार्यमा मेरो संलग्नता नभएकोले मलाई सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी राजेशप्रसाद मण्डलको शुरू अदालतमा मिति २०६०।३।१ मा भएको बयान ।
मैले अभियोग दावीबमोजिमको जीउ मास्ने वेच्ने कार्यको कसूर अपराध नगरेकोले मलाई केही थाहा छैन र मलाई सजाय पनि हुनुपर्ने होइन छैन भन्ने समेत व्यहोराको प्रतिवादी कमरूद्दिन मियाको शुरु अदालतमा मिति २०६०।३।१ मा भएको बयान ।
मिति २०५९।४।१९ गतेमा दिएको जाहेरी लगायत उपरोक्त मितिमा गरेको वयान मिति २०६०।२।२९ मा दिएको निवेदन र सनाखत कागज समेतको व्यहोरा र दरखास्त समेत मेरो नै हो । मिति २०५९।२।३१ का वेलुकी अन्दाजी ७.०० वजे पसाहा खोलाको वौरहवा बाबाको मन्दिरको खाल्टोबाट मैले चिनेका शत्रुधन, करिमन, देवनारायण, रामएकवाल र अन्य नचिनेका ५ जनाले मेरो बाटो छेकी कुटपीट गरी पेस्तोल, लाठी, खुकुरीसमेत देखाई मेरो नगद रू. १०,०००।– प्रतिवादी रामएकवालले लिई त्यहाँबाट मलाई हिडाई भारतको मूर्तिया भन्ने ठाउँमा लगेका हुन भन्ने समेत व्यहोराको जाहेरवाला देवेन्द्रप्रसाद केशरीले शुरु अदालतमा मिति २०६०।३।१५ मा गरेको बकपत्र ।
वारदात मिति र समयमा म आफ्नो गाउँघरमा छु । उक्त मितिमा देवेन्द्रप्रसादलाई हात हतियार देखाई निजले बोकेको रुपैया खोसेको तथा निजलाई भारतमा लगी बिक्री गरेको समेत नहुँदा अभियोग दावीबमोजिम मलाई कुनै किसिमको सजाय र जरीवाना हुनुपर्ने होइन छैन । अभियोग दावीबाट सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी करिमन भन्ने राजदेव हजराले मिति ०६०।१२।२५ मा शुरु अदालतमा गरेको वयान ।
अभियोग दावीअनुसारको कसूर मैले गरेको छैन । म सिलाइको काम गर्न काठमाडौँमा बस्थो । मउपरको अभियोग माग दावी काल्पनिक हो । मैले सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी लालवावु भन्ने इजाजुल मियाले शुरु अदालतमा मिति २०६०।१२।२५ मा गरेको बयान ।
प्रतिवादी करिमनउपरको अभियोग दावी झूठा हो । जग्गा जमीनसम्बन्धी मुद्दा चलेको रिसइवीबाट प्रेरीत भै प्रस्तुत मुद्दाको जाहेरी दिएका हुन भन्ने समेत व्यहोराको प्रतिवादी करिमनका साक्षी राजदेव हजराको बकपत्र ।
प्रतिवादी राजेश मण्डल असल मानिस हो । अपराधसँग संलग्न व्यक्ति नरहेको हुँदा निज उपरको अभियोग दावी झूठा हो । सजाय पाउनु पर्ने होइन सफाई पाउनु पर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी राजेश मण्डलका साक्षी द्वारिकाप्रसाद यादवको बकपत्र ।
प्रतिवादी कमरूदिन र म दिल्लीमा सिलाईको काम गर्दछौँ । मिति २०५९।२।३१ का दिन त्यही दिन रात काम सकी दुवै जना सँगै क्वाटरमा सुतेकोले निज कमरूदिनले कुनै कसूर नगरेकोले निजउपरको अभियोग दावी झूठा हो भन्ने समेत निजका साक्षी कमरूदिन मियाँको बकपत्र ।
शुरु अभियोगपत्रमा उल्लिखित प्रतिवादी शत्रुधनप्रसाद साह र देवनारायण यादवले म्याद गुजारी बसेकाले निजहरूका हकमा मुलुकी ऐनको अ.वं. १९० नं. बमोजिम मुलतवी राखी दिएको छ । साथै पूरक अभियोगपत्रमा उल्लिखित प्रतिवादीहरू अव्वास मिया, ध्रुव सिँह र धर्मेन्द्र यादव भारतीय नागरिक भई पक्राउ हुन् नसकी फरार रहेकोले निजहरू नेपाल सरहदभित्र पक्राउ परेका वखत वा आँफै हाजिर भए कानूनबमोजिम कारवाही हुने मागदावी देखिँदा निजहरूको हकमा हाल तामेलीमा राखी दिएको छ ।
अब, कारवाहीमा रहेका प्रतिवादी रामएकवाल साह कानु, राजेशप्रसाद मण्डल, कमरूद्दिन मिया, करिमन भन्ने राजदेव हजरा, लालवावु भन्ने इजाजुल मियाको हकमा प्रतिवादीहरूले जाहेरवालालाई विदेश भारत लगी बिक्री गरेको तथा कुरुवा समेत बसेको होइन भनी यस अदालतको इन्कारी बयान बाहेक अन्य स्वतन्त्र ठोस प्रमाण पेश गर्न नसकेको हुँदा प्रतिवादी रामएकवाल साह कानू र करिमन भन्ने राजदेव हजरालाई अभियोग मागदावीबमोजिम जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम जनही १२ वर्ष कैद र ऐ. दफा ८(५) बमोजिम भा.रू दुईलाखको हुने ने.रु.३,२०,०००।– जरीवाना हुने र प्रतिवादी कमरूद्दिन मिया चुरिहार, लालवावु भन्ने इजाजुल मियालाई अभियोग मागदावी ऐ. को दफा ८(१) बमोजिम जनही १२ वर्ष कैद हुने साथै प्रतिवादी राजेशप्रसाद मण्डललाई अभियोग मागदावी ऐ.दफा ८(४) बमोजिम दुई वर्ष कैद हुने ठहर्छ । साथै प्रतिवादीहरू उपर डाँका गरेको भनी लागेको अभियोग दावी प्रमाणित हुन नसक्दा त्यस तर्फको अभियोग दावी पुग्न नसक्ने ठहर्छ भनी शुरु बारा जिल्ला अदालतबाट भएको मिति २०६२।१।११ को फैसला ।
उक्त फैसलामा मेरो चित्त बुझेन । मिसिल संलग्न किटानी जाहेरी प्रतिवादी रामएकवाल साह कानूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेका साविती वयान, पीडित जाहेरवालाले अदालतमा गरेको बकपत्र समेतका मिसिल संलग्न प्रमाणबाट प्रतिवादीहरूले देवेन्द्रप्रसाद केसरीलाई एक्लै हिँडिरहेको मौका छोपी निजलाई हतियार देखाई आफ्नो कव्जामा लिई साथमा रहेको रू.१०,०००।– समेत खोसी निजलाई अपहरण गरी रातारात विदेश भारतमा लगी बिक्री गरी जीउ मास्ने वेच्ने समेत गरेको देखिई प्रतिवादीहरूलाई कसूरदार हुन् भनी उक्त फैसलाले स्वीकार समेत गरेको अवस्थामा निज पीडितलाई अपहरण गरी लैजाँदाको अवस्थामा निजसँग साथमा रहेको रकम रू.१०,०००।– निज प्रतिवादीहरूले डाँका गरेनन् भनी अनुमान र हचुवाको आधारमा आत्मनिष्ट तवरबाट प्रतिवादीहरूलाई डाँका गरेतर्फ सफाई दिएको फैसला त्रुटिपूर्ण हुँदा सोहदसम्म बदर गरिपाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदनपत्र ।
प्रमाण ऐन, २०३१ को दफा २५ मा फौजदारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुनेछ भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । सो सन्दर्भमा प्रस्तुत मुद्दामा वादीपक्षले शंकारहित तवरले आफ्नो दावी प्रमाणित गर्न सकेको देखिँदैन । यस्तो अवस्थामा केवल शंकाको आधारमा गम्भीर प्रकृतिको कसूरदार ठहर्याउनु फौजदारी न्यायको सिद्धान्तको विपरीत हुने भनी सम्मानीत सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भएको अवस्थामा दावीअनुसार कसूर पुष्टि हुन साथमा वन्दुक भए वन्दुक, खोसिएको रुपैया अथवा बिक्री गरेको रुपैया वरामद हुनुपर्नेमा सो केही बरामद भएको देखिँदैन । मात्र शंकै शंकाको भरमा गम्भीर प्रकृतिको अपराधमा कसूदार ठहर्याएको देखिन्छ । सो कुरा फौजदारी न्यायको सिद्धान्त विपरीत छ । तसर्थ, कुनै अपराध नगरेको व्यक्तिलाई रिसइवी लिई जाहेरी दिई जाहेरीको आधारले कसूरदार ठहर्याई भएको शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाई पाउने गरी न्याय इन्साफ पाऊँ भन्ने पुनरावेदक राजदेव भन्ने करिमन हजरा दुसाध, पुनरावेदन राम एकवाल साह कानू, पुनरावेदक कमरूदिन मिया चुरिहार र पुनरावेदक लालवावु भन्ने इजाजुल मिया समेतको एकै मिलानको अलग अलग पुनरावेदन पत्र ।
प्रतिवादीहरूले बाटो छेकी कुटपीट गरी नगद खोसी लुटि लगेको भन्ने मौकाको भनाई अनुरूप जाहेरवालाले वकपत्र गरी राखेको अवस्थालाई विवेचना र मूल्याङ्कन नै नगरी डाँकातर्फको दावी पुग्न नसक्ने ठहर गरेको वारा जिल्ला अदालतको फैसला फरक पर्नसक्ने भएकाले छलफल निमित्त अ.वं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ अनुसार प्रतिवादीहरूलाई सूचना दिनु र जीउ मास्ने बेच्ने ठहर भएतर्फ प्रतिवादीहरूको पुनरावेदन परेको जानकारी पुनरावेदन सरकारी वकील कार्यालय हेटौँडालाई दिई लगाउको मुद्दा साथै राखी पेश गर्नु भन्ने मिति २०६३।७।२८ को पुनरावेदन अदालतको आदेश ।
प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा सावित भएको, सो सावितीलाई अन्यथा भनी भन्न नसकेको, मौकामा गरेको बयान डरधाक देखाई कुटपीट गरी यातना दिएको भन्ने कुराको प्रमाणित गर्न नसकेको अवस्थामा उक्त सावितीलाई अन्यथा मान्न नसकिने हुँदा त्यस्तो बयानलाई प्रमाणमा लिन मिल्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रमाणको भार प्रतिवादीले पुर्याउनु पर्ने हुनाले जाहेरवालाको अदालतमा बकपत्र नभएमा पनि प्रमाणमा लिन मिल्ने भनी सर्वोच्च अदालतबाट नजीर समेत प्रतिपादन भएको अवस्था हुँदा शुरुको फैसलालाई अन्यथा भन्न सकिएन । अतः शुरु वारा जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौँडाको मिति २०६३।८।१० को फैसला ।
सर्वप्रथमतः प्रस्तुत विवादमा जीउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन आकर्षित हुन सक्ने नै होइन । उक्त ऐनको परिभाषाभित्र नपर्ने विवादमा असान्दर्भिक कानूनको प्रयोग गरी दावी ठहर गरेको फैसलाबाट मेरो वैयक्तिक स्वतन्त्रताको हरण भएको छ । पीडितलाई रु.२ लाखमा किनबेच भएको भनिए तापनि कसले खरीद ग¥यो र कसले रुपैयाँ लियो भन्ने कुरा उल्लेख छैन । पीडितले फिरौतीबापतको रकम पाएको अवस्थामा आफूलाई घर फिर्ता पठाइदिने अन्यथा मार्छन भनी पत्र लेख्नुले यो कार्य मानव बेचविखनसँग सम्बन्धित छैन । यदि अपराध भएको मानेको अवस्थामा पनि यो विषय केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ अन्तर्गत हुनुपर्ने हो । तसर्थ त्रुटिपूर्ण शुरू तथा पुनरावेदन अदालत हेटौँडाको फैसला बदर गरी न्याय पाऊँ भन्ने पुनरावेदक करिमन भन्ने राजदेव हजारा दुसाधको पुनरावेदन पत्र ।
म पुनरावेदक प्रतिवादीले कुन काम वा भूमिकाबाट पीडित भनिएका व्यक्तिलाई मानव वेचविखनको कार्य गर्नमा सहयोग पुग्यो वा कसरी अपराध हुन गयो सो कुरा फैसलामा खुलेको छैन । देवेन्द्रप्रसादले दिएको पूरक निवेदनमा रेखदेख तथा गार्डको काम गर्ने भनी मलाई देखाई पक्राउ गरिएको छ । रेखदेख तथा गार्डका काम गर्ने भनी म सरहका राजेश मण्डललाई २ वर्ष कैद गरिएकोमा मलाई १२ वर्ष कैद गर्ने गरी भएको फैसला न्यायसंगत छैन । मैले देवेन्द्रलाई खरीद गरेको हुँ भन्ने कुरा मिसिल सामेल कुनै पनि प्रमाणबाट पुष्टि प्रमाणित नहुँदा नहुँदै प्रमाणबेगर १२ वर्ष कैदको सजाय गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दावीबाट सफाई पाऊँ भन्ने समेत व्यहोराको कमरूद्दिन मिया चुरिहारको पुनरावेदन पत्र ।
प्रस्तुत विवादमा जीउ मास्ने वेच्ने कार्य नियन्त्रण ऐन आकर्षित हुन सक्ने नै होइन । उक्त ऐनको परिभाषाभित्र नपर्ने विवादमा असान्दर्भिक कानूनको प्रयोग गरी दावी ठहर गरेको फैसलाबाट मेरो वैयक्तिक स्वतन्त्रताको हरण भएको छ । पीडितलाई रु.२ लाखमा किनबेच भएको भनिए तापनि कसले खरीद ग¥यो र कसले रुपैयाँ लियो भन्ने कुरा उल्लेख छैन । पीडितले फिरौतीबापतको रकम पाएको अवस्थामा आफूलाई घर फिर्ता पठाइदिने रकम पाएको अवस्थामा मार्छन भनी उल्लेख गर्नुले यदि अपराध भएको मानेको अवस्थामा पनि यो विषय केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ अन्तर्गत हुनुपर्ने हो । तसर्थ, त्रुटिपूर्ण शुरु तथा पुनरावेदन अदालत हेटौँडाको फैसला बदर गरी न्याय पाऊँ भन्ने पुनरावेदक लालवावु भन्ने इजाजुल मियाको पुनरावेदन पत्र ।
यसमा प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्ष कसूरमा साविती भई वयान गरेपनि बिक्री गरिएको भनिएको रकम वरामद नभएको तथा अन्य स्वतन्त्र प्रमाणहरूको अभावमा निजहरूको प्रहरीसमक्षको साविती वयान पुष्टि हुन नसकेको अवस्थामा करिमन भन्ने राजदेव हजरा समेतलाई अभियोग माग दावीबमोजिम जीउ मास्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम जनही १२ वर्ष कैद र सोही ऐन को दफा ८(५) बमोजिम रु.३,२०,०००।– जरीवाना तथा कमरूदिन मिया चुरिहार र इजाजुल मिया समेतलाई जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम १२ वर्ष कैद सजाय गर्ने गरेको पुनरावेदन अदालत हेटौँडाको फैसला त्रुटिपूर्ण भई फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. को प्रयोजनको लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०६६।१०।२७ को आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा समावेश भई यस इजलाससमक्ष निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकहरू तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता राजन अधिकारीले मेरो पक्षले प्रहरीमा गरेको बयान स्वेच्छिक नभई डर, धाक एवं प्रहरीको कुटपीटको कारणबाट तयारी बयानको कागजमा जबर्जस्ती हस्ताक्षर गरेको हो । प्रहरीसमक्ष जबर्जस्ती गराइएको साविती बयान अन्य प्रमाणबाट पुष्टि हुन सकेको छैन । वादी पक्षबाट प्रमाणको रुपमा पेश भएको पीडितबाटै लेखाएको भनिएको रू. ५० लाख माग गरिएको पत्रमा पनि बिक्री गरेको भन्ने उल्लेख छैन । यस्तो अवस्थामा जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ आकर्षित हुन सक्दैन । तसर्थ, प्रमाणको विद्यमानताको अभावमा गलत कानून प्रयोग गरी मेरो पक्षलाई कसूरदार कायम गरी भएको शुरु तथा पुनरावेदन अदालतको त्रुटिपूर्ण फैसला बदर गरी मेरो पक्षलाई अभियोग दावीबाट सफाई हुने फैसला गरिपाऊँ भनी बहस गर्नुभयो ।
प्रत्यर्थी नेपाल सरकारका तर्फबाट विद्वान सहन्यायाधिवक्ता रमेशकुमार पोखरेलले प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष स्वतन्त्रतापूर्बक बयान गर्दा कसूरमा सावित भएका छन् । अदालतमा कसूरमा इन्कार रही वयान गर्ने प्रतिवादीले आफ्नो इन्कारी बयानलाई प्रमाणद्वारा पुष्टि गर्न सकेका छैनन् । प्रतिवादीहरू उपरको अभियोग पीडित स्वंयमको जाहेरी, जाहेरवाला मार्फत प्रतिवादीहरूले रकम माग गरी लेखाएको पत्र, प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको साविती वयान समेतबाट पुष्टि भई रहेको अवस्थामा कसूर ठहर गरेको पुनरावेदन अदालतको फैसला न्यायपूर्ण हुँदा सोही फैसला सदर हुनु पर्दछ भनी बहस गर्नुभयो ।
उल्लिखित बहस सुनी मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा निम्न विवादित प्रश्नहरूका सम्बन्धमा निर्णय गर्नुपर्ने देखियोः–
(१) पीडित देवेन्द्रप्रसाद केशरीलाई प्रतिवादी करिमन भन्ने राजदेव हजरा समेत भई अपहरण गरी भारतमा लगी प्रतिवादीहरू कमरूद्दीन मिया चुरिहार लालवावु भन्ने इजाजुल मिया समेतलाई बिक्री गरेको हुन् वा होइनन् ?
(२) प्रतिवादीहरूलाई जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ बमोजिमको अभियोग ठहर गरी सजाय गरेको पुनरावेदन अदालत हेटौँडाको फैसला मिलेको छ वा छैन ? प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्छ वा सक्दैन ?
२. सर्वप्रथम पहिलो प्रश्नका सम्बन्धमा बिचार गर्दा प्रतिवादीहरू करिमन भन्ने राजदेव हजरा समेत भई जाहेरवाला पीडित देवेन्द्रप्रसाद केशरीलाई मिति २०५९।२।३१ गते रू.१०,०००।– लिई घरतर्फ फर्कदै गरेको समयमा अपहरण गरी भारतमा लगी प्रतिवादीहरू कमरूद्दिन मिया चुरिहार र लालवावु भन्ने इजाजुल मिया समेतलाई रू दुई लाखमा बिक्री गरेको कार्य जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा दफा ४ (क) को कसूर गरेको अभियोगमा ऐ.ऐनको दफा ८(१) बमोजिम सजाय गरी ऐ.को दफा ८(५) बमोजिम जरीवाना समेतको मागदावी लिई अभियोगपत्र दायर भएको पाइन्छ । प्रतिवादीहरूले पीडितबाट रु.१०,०००।– डाँका समेत गरेको तर्फ मुलुकी ऐन चोरीको १४(४) नं. को सजायको माग भएकोमा डाँकातर्फको अभियोग नपुग्ने ठहर गरी भएको फैसलामा वादीतर्फबाट पुनरावेदन दायर हुन आएको नदेखिदा डाँकातर्फ यहाँ बिचार गरी रहनु परेन । जीउ मास्ने बेच्ने कसूर तर्फको कसूर ठहर भएका प्रतिवादीहरूमध्ये करिमन भन्ने राजदेव हजारा, कमरूद्दिन मिया चुरिहार र लालवावु भन्ने इजाजुल मियाले यस अदालतमा पुनरावेदन दायर गर्न आएको र अन्य प्रतिवादीहरूमध्ये शत्रुधनप्रसाद साहसमेतका केही प्रतिवादीहरूको हकमा मुद्दा मुल्तवी रहेको र कसूर ठहर भएका राम एकवाल साह समेतका प्रतिवादीको पुनरावेदन नपरेकोले पुनरावेदन दायर गरेका प्रतिवादीहरूको पुनरावेदन पत्रमा मात्र यहाँ बिचार गरी निर्णय दिनुपर्ने देखियो ।
३. प्रस्तुत मुद्दामा मिति २०५९।२।३१ गते देवेन्द्रप्रसाद केशरीलाई अपहरण गरी लगेको हुन सक्ने भनी निजका पिता रामअयोध्या केशरीले फोटोसहितको हुलिया जाहेरी मिति २०५९।३।१ मा दिएको पाइन्छ । पीडित जाहेरवाला देवेन्द्रप्रसाद केशरीलाई मिति २०५९।२।३१ गते करिमन भन्ने राजदेव हजरा, शत्रुधन, देवनारायण, राम एकवाल लगायतका अन्य ५ जना समेत भई अपहरण गरी रू.१०,०००।– खोसी लिई भा.रु.२ लाखमा भारतीय अपराधीहरूलाई बिक्री गरी पचास लाख फिरौतीबापतको रकम माग गरी थुनी राखेको अवस्थाबाट भाग्न सफल भएको भनी निज पीडित जाहेरवालाको तर्फबाट जाहेरी दरखास्त परेको पाइन्छ । जाहेरवालाको जाहेरीपश्चात् जाहेरीलाई समर्थन व्यहोरा उल्लेख गरी अधिकारप्राप्त अधिकारीसमक्ष भएको निजको वयान विशेष अदालतबाट प्रमाणित भई रहेको पाइयो । प्रतिवादी कमरूद्दिन मिया चुरीहारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानको स.ज.६ मा जाहेरवाला देवेन्द्रप्रसाद केशरीलाई करिमन भन्ने राजदेव हजरा समेत भई नेपालबाट अपहरण गरी ल्याएका हुन् । म, अर्को प्रतिवादी लालवावु भन्ने इजाजुल मियाँ समेत भई करीमन भन्ने राजदेव हजरा समेतबाट पीडित देवेन्द्रप्रसाद केशरीलाई रू.२ लाखमा खरीद गरी निजको घरबाट वढी पैसा फिरौतीबापत लिने नभए अन्यत्र लगी बिक्री गर्ने उद्देश्यले वन्दी बनाई राखेको अवस्थाबाट भागी गएका हुन भनी कसूरमा स्वीकार गरेको पाइन्छ । निजले प्रतिवादीहरू करिमन भन्ने राजदेव हजरा र लालवावु भन्ने इजाजुल मिया समेतलाई पोल गरी वयान गरेको पाइन्छ । अन्य सहअभियुक्तहरू राम एकवाल साह र राजेशप्रसाद मण्डलले समेत अधिकारप्राप्त अधिकारीसमक्ष वयान गर्दा यी पुनरावेदकहरूलाई पोल गरी कसूरमा सावित भई बयान गरेको पाइन्छ ।
४. पीडित देवेन्द्रप्रसाद केशरीबाट अपहरणकारीहरूले पचास लाख रुपैयाँ माग गरी लेखाएको पत्र मिसिल संलग्न देखिन्छ । जाहेरवालाले प्रतिवादीहरू उपर किटानी जाहेरी दिई बयान समेत गरी आफ्नो जाहेरीलाई पुष्टि गरेका र अदालतमा आई बकपत्र गरी जाहेरी व्यहोरालाई समर्थित गरेको मिसिलबाट देखिन्छ । प्रतिवादीहरूले अदालतमा आई कसूरमा इन्कार रही बयान गरेको भएता पनि आफ्नो इन्कारी वयानलाई प्रमाणबाट पुष्टि गर्न सकेको पाइन्न । वादी पक्षको अभियोग दावी प्रतिवादीकै मौकाको बयान, पीडितको जाहेरी दरखास्त, निजको अधिकारप्राप्त अधिकारीसमक्षको बयान र अदालतको बकपत्र एवं दशीको रूपमा पेश भएको रू.५० लाख माग गरेको पत्र समेतबाट पुष्टि भइरहेको छ ।
५. पुनरावेदक प्रतिवादीहरूले अदालतमा आई कसूरमा इन्कार गर्दै अधिकारप्राप्त अधिकारीसमक्ष भएको वयान स्वतन्त्रतापूर्वक नभई कुटपीट गरी भएको भन्ने जिकीर लिएतर्फ बिचार गर्दा यी प्रतिवादीहरू उपर कुटपीटपूर्वक दबाब दिई बयान गराइएको भए मोकामानै घा जाँचको माग गर्नुपर्नेमा सो माग गर्न सकेको देखिन्न । घा जाँचको माग गर्न नसकेको अवस्थामा कुटपीटको कारण साविती बयान गरेको हो भन्ने प्रतिवदीहरूको जिकीरसँग सहमत हुन सकिएन । प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भइरहेको र वलपूर्वक वयान गराएको भन्ने समेत पुष्टि हुन नसकेको अवस्थामा प्रमाणयोग्य हुने देखिन्छ । प्रस्तुत मुद्दा जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ अन्तर्गतको मुद्दा भएको र यस्तो मुद्दामा आफूउपरको अभियोग कसूर होइन भनी प्रमाण पुर्याउनु पर्ने भार प्रतिवादीमा रहने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूले अदालतमा इन्कारी बयानवाहेक अन्य ठोस सवूत प्रमाण पेश गर्न सकेको देखिन्न । यसबाट प्रतिवादीहरू करिमन भन्ने राजदेव हजरा र शत्रुधनसमेत भई पीडित देबेन्द्रप्रसाद केशरीलाई अपहरण गरी भारतमा लगी प्रतिवादीहरू लालबाबु भन्ने इजाजुल मिया समेतलाई बिक्री गरेको पुष्टि हुन आयो ।
६. अब, प्रतिवादीहरूलाई जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ बमोजिम लिइएको अभियोग ठहर गरी सजाय समेत गरेको पुनरावेदन अदालत हेटौँडाको फैसला मिलेको छ छैन भन्ने दोस्रो विवादित प्रश्नका सम्बन्धमा बिचार गर्दा यी पुनरावेदकहरूले यस अदालतमा पुनरावेदन गर्दा प्रस्तुत मुद्दामा जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ आकर्षित नभई केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ आकर्षित हुने भन्ने जिकीर लिएको पाइन्छ । माथि प्रश्न १ मा विवेचना गरिएबमोजिम प्रतिवादीहरूले पीडित देबेन्द्रप्रसाद केशरीलाई भारतमा लगी रु.२ लाखमा बिक्री गरेको पुष्टि भइसकेको छ । यसरी मानिस अपहरण गरी बिदेश भारतमा लगी रकम लिई बिक्री गरेको कार्य तत्कालीन अवस्थामा प्रचलनमा रहेको कानून जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ ले निषेध गरेको आपराधिक कार्य मान्नुपर्ने हुन्छ । मानिस बेच्ने जस्तो जघन्य अपराध गरेको पुष्टि भएको र त्यस्तो अपराध रोक्न एवं अपराधीलाई सजाय गर्न वनेको विशेष ऐन कार्यान्वयनमा रहेकै अवस्थामा उक्त कानून नै आकर्षित हुने हुन्छ । विशेष अपराधमा बिशेष कानून आकर्षित हुने हुँदा प्रस्तुत मुद्दामा पुनरावेदकले जिकीर लिए जस्तो केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ लागू हुन सक्ने देखिन्न ।
७. विधिकर्ताले कुनै खास अपराधका हकमा विशेष कानून बनाउँछ भने त्यसप्रति राज्यको संवेदनशीलतालाई बुझ्नु पर्ने हुन्छ । नयाँ व्यवस्था नयाँ प्रावधानले पुरातन मान्यतालाई विस्थापित गर्दछ । अपराधको प्रकृति र आपराधिक प्रवृत्ति परिवर्तनशील हुन्छन् । अपराध गर्ने शैलीमा पनि आपराधिक जगतले परिमार्जन गर्दै लगेको हुन्छ । त्यसैले राज्यले नयाँ–नयाँ कानूनको निर्माण गर्दै जानुपर्ने हुन्छ । पुरानो र नयाँ विधिकर्ताद्वारा निर्मित कानून बाझिएको स्थितिमा जुन पछिल्लो छ त्यो लागू हुने विधिशास्त्रीय सिद्धान्त नै हो । यसैगरी न्यायाधीश निर्मित कानून अर्थात नजीर बाझिएको भई ती समान स्तरका इजलासबाट प्रतिपादित छन् भने पछिल्लो नजीर अनुकरणयोग्य हुने न्यायिक सिद्धान्त नै हो । सार्वजनिक अपराध र सजाय ऐन, २०२७ र जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ का कुनै प्रावधान बाझिएका भएमा समेत पछिल्लो अर्थात २०४३ सालको ऐनको प्रावधान लागू हुन्छ । अर्कातर्फ यो २०४३ सालको खास अपराधको रोकथामका लागि बनेको विशिष्ट ऐनले आफ्नो परिधिमा समावेश गरेको अपराधका लागि अन्यन्य प्रयोजनका लागि २०२७ सालमा बनेको ऐन आकर्षित हुने देखिएन ।
८. तसर्थ, माथि बिबेचना गरिएका आधार प्रमाणहरू अनुसार प्रतिवादीहरूबाट जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ को (क) अनुसारको कसूर अपराध गरेको कुरा प्रमाणद्वारा पुष्टि भएको हुँदा निज प्रतिवादीहरू करिमन भन्ने राजदेव हजरालाई जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम १२ वर्ष कैद हुने साथै ऐ. ऐनको दफा ८(५) बमोजिम भा. रू.२ लाखमा बिक्री गरेको भन्ने मिसिलबाट देखिँदा भा. रू.२ लाखको ने रू३,२०,०००। जरीवाना समेत हुने र प्रतिवादीहरू कमरूद्दिन मिया चुरीहार र लालबाबु भन्ने इजाजुल मियाँलाई ऐ. ऐनको दफा ८(१) बमोजिम १२ वर्ष कैद हुने ठहर गरेको शुरु फैसलालाई सदर हुने ठहर्याएको पुनरावेदन अदालत हेटौँडाको मिति २०६३।८।१० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । सो ठहर्नाले प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.ताहिर अली अन्सारी
इति संवत् २०६७ साल वैशाख १५ गते रोज ४ शुभम
इजलास अधिकृतः शिवप्रसाद खनाल