शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४८४२ - कर्तब्य ज्यान ।

भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक:

निर्णय नं. ४८४२    ने. का. प. २०५१ अङ्क १

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

सम्बत् २०४९ सालको फौ. पु. इ. नं. २८,२९

फैसाला मितिः२०५०।३।१७।५

 

मुद्दाः कर्तब्य ज्यान ।

 

पुनरावेदक/विपक्षी/वादी : टेक वहादुर कार्कीको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

पुनरावेदक /विपक्षी/प्रतिवादी :गुल्मी जिल्ला पूर्तिघाट गा.वि.स. वडां. १ घर भै रा. वा.बैंक गूल्मीमा जाचकी पदमा काम गर्ने गर्जेन्द्र प्रसाद श्रेष्ठ ।

ऐ आँपचौर गा. वि.स. वडा नं. ५ वस्ने प्रेम प्रसाद खरेल ।

ऐ नयाँ गाउँ आदर्श गा.वि.स. वडा नं. १ घर भै तुराङ गा.वि.स मासचिव ठाकुर प्रसाद पोखरेल ।

 

§  घटना गरेको देख्ने मानिस नभएको भन्ने आधारमा घटना घटेको बखत उल्लिखित प्रतिवादीहरुको उपस्थिति नै थिएन भन्न नमिल्ने ।

                                    (प्र. नं. ३३)

पुनरावेदक तर्फबाट : विद्धान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ

विपक्षी तर्फबाट :    विद्धान अधिवक्ता श्री वशन्तराम भण्डारी

                  विद्धान अधिवक्ता श्री प्रेम प्रसाद खरेल

                  विद्धान अधिवक्ता श्री अग्नि खरेल

अवलम्वित नजीर : 

                              फैसला

      न्या. गजेन्द्रकेशरी बास्तोला: यस अदालतको संयुक्त इजलासमा पेश भई राय नमिलेकोले निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    गुल्मी तम्घासमा गा.पं वडा नं. ५ अन्तरगत रेसुा जाने मूल बाटोमा अपरिचित मानिसको लास छ भन्ने घाँस दाउरा गर्न जाने मानिसले मलाई भनेबाट हेर्न जाँदा देखेको हुँदा काल कर्तव्य छुट्याई अनुसन्धान गरी पाउँ भन्ने समेत भक्त बहादुरको हुलिया दरखास्त ।

३.    मेरा बाबु तम्घास जान भनी २०४०।५।१५ मा घरबाटै हिडि बाटोमा गजेन्द्र श्रेष्ठ, प्रेम प्रसाद खरेल, सचिव ठाकुर प्रसाद पोखरेल समेत भै तम्घास आउँदा भोलिपल्ट तम्घास भन्दा माथि रेसुङ्गा जाने मूल बाटोमा लास फेला परेको र चोट पटक परेको हुदा साथमा आउने ३ जनाले षडयन्त्र गरी हत्या गरेकोमा मलाई विश्वास लाग्छ सो सम्बन्धमा कारवाही गरी पाउँ भन्ने समेत टेक बहादुरको २०४०।५।१८ को जाहेरी दरखास्त ।

४.    मृतको दायाँ पाखुरामा घिसारिएको जस्तो घाउ दुवै घुँडामा घाउभै रगत टाउकोमा १ इन्च घाउ दायाँ कन्चटमा १।२ इन्च घाउ चाकको टुप्पोमा घाउ ओठको तल्लो भाग निलो, दायाँ आँखा फुटेको जस्तो दुवै हातको कुइनामा घाखत देखिएको भन्ने समेत मृतकबीर वहादुको लास प्रकृति मुचुल्का ।

 

.    धेरै रगत वग्नाले गर्दा मृत्यु भएको भन्ने समेत मृतको लास जाँच प्रतिवेदन ।

           ६     यसमा मृतकबीर बहादुर प्रतिवादी गजेन्द्र   प्रसाद मजुवाबाटसँगै आएका र वीर बहादुर बाटोमा मरेका फेला परेको हुनाले कसरी मृत्यु भयो थाहा छैन भन्ने समेत कमलर्सी पुनको प्रहरीमा भएको वयान ।

७.    वीर वहादुर कसरी मरेको हो थाहा छैन भन्ने हरिकला वरालको, भुमिकला वलाल, दधिराम सापकोटा, तारा वहादुर थापा, डिल्लीराज पोखरेल, दण्डपानी पोखरेल समेतको एकै मिलानको छुट्टा छुट्टै मौकाको कागज ।

८.    यसमा मृतकको शरीरमा घाचोट हुँदा कर्तव्य गरी मरे जस्तो लाग्छ भन्ने समेत तिल कुमारी र वीर वहादुरको लासबाट रगत बगेको र चोट पटक हुँदा कर्तव्य गरी मारे जस्तो लाग्यो भन्ने समेत काशीराम भण्डारी, पुष्करनाथ भण्डारी समेत एकै मिलानको कागज ।

९.    प्र. गजेन्द्र प्रसाद समेतका तीनै जना असल चाल चलनका मानिस हुन् वीर वहादुर सधै रक्सी खाई हिड्ने व्यक्ति हुन् र निजको मृत्यु पनि रक्सी आई भिरबाट लडी भएकोमा शंका लाग्छ प्रतिवादीहरुले कर्तव्य गरी मारेकोमा शंका लाग्दैन भन्ने समेत बहुसंख्यकले वकी दिएको सर्जमिन मुचुल्का । 

१०.    मजुवाबाट वीर वहादुर कार्की र म संग संगै तम्घास तर्फ आउँदा झीरवासमा ठाकुर प्रसादसंग भेट भयो । रेसुङ्गा आर्मिको पानी टंकिको छेउमा आउँदा तारा वहादुर माष्टर र प्रेम प्रसादसँग भेट भयो । वीर वहादुरलाई रक्सी लागेको हुँदा आलोपालो गरी बोकेर ल्याएका थियौँ । डाँडामा आउँदा रात परेको र अव जाउँ भन्दा वीर वहादुर जान मानेन । प्रेम प्रसादले हात समाई अडाई ल्याउन खोज्दा अपशब्द बोल्न थालेकोले प्रेम प्रसादले वीर वहादुरलाई हुत्याएपछि समाई ल्याउँदा मसँग निजले झगडा गर्न लाग्यो । प्रेमले फेरी हुत्याई दिँदा भुईमा ठोकिई चोट लाग्यो । त्यसै मौकामा सचिव ठाकुर प्रसादले घोक्राउँदा ढुंगामा चोट लाग्न गयो । मैले पनि दुई लात दिएको हुँ । हामी त्यहाँबाट हिड्दा मरीसकोको थिएन । रिसको आवेशमा कुटपिट गरेको हो भन्ने समेत अभियुक्त गजेन्द्र प्रसाद श्रेष्ठले प्रहरीमा गरेको बयान कागज ।

११.    २०४०।५।१५ गते तम्घास तर्फ आउँदा रेसुङ्गाको पोखरी छेउमा तारा वहादुर माष्टरसँग र ठाकुर र वीर वहादुर सँग भेट भएको हो । वीर वहादुर लाई रक्सी लोगेको मद्दतको लागि निजलाई वोकि डाँडासम्म ल्याउँदा रात परेको र विस्तारै जाउँ भन्दा वीर वहादुर नमानी मैले र सचिव ठाकुरले हातमा समाति उठाउन लाग्दा हामीसँग झगडा गरेको र मैले हुत्याउँदा जमिनमा घोप्टो परी सचिवले पनि घोक्रयाउँदा फेरी घोप्टो पर्न गयो, मरे मरोस् भनी मैले र गजेन्द्रले दुई लात दिई हात खुट्टाले कुटपिट गरि हामी आएका हौँ । सोही पीरले मरेछ भन्ने समेत अभियुक्त प्रेम प्रसादले प्रहरीमा गरेको कागज ।

१२.   यसमा अभियुक्त गजेन्द्र प्रसाद, प्रेम प्रसाद, ठाकुर प्रसाद समेतले मृतक बिर बहादुरलाई रक्सी लागेको बेलामा मलाई ल्याएका रक्सीले छाडेपछि उल्टै गाली गरेको कारणबाट रिस थाम्न नसकी साधारण कुटपिट गरी तर्साउने उद्धेश्यले कसैले लत्याउने कसैले लात्तीले हान्ने गरेको र मर्न नपाउदै मरे मर्छ भनी छाडी गएको र सो कुरा कसैलाई नभन्ने भनी सल्लाह गरी बसेका तथा बीर बहादुरको सोहि घउचोटको पिडाले मृत्यु भएको हुँदा मार्नु पर्ने षडयन्त्र रची योजना बनाई मारेको नभई तत्काल उठेको रिस थाम्न नसकी कुटपिट गर्दा मर्न गएको कुरा सिद्ध हुन आएको निज अधियुक्त प्रेम प्रसाद समेत तीन जनाले ज्यान सम्बन्धीको १ नं. बिपरितको अपराध गरेको देखिदा ऐ. को दफा १४ अनुसार सजाय गरी पाउन र फरार अधियुक्त ठाकुर प्रसाद पोखरेललाई अदालत बाट वारेण्ट जारी गरी पाउन अनुरोध गर्दछौ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन दावी ।

१३.   २०४०।५।१५ गते दिन रात तम्घास म मेरै डेरामा बसेको थिएँ । सो दिन अन्य प्रतिवादीहरु र वीर बहादुर समेतसंग मेरो भेटघाट भएको होईन । निजहरु संग चिनजान पनि छैन । म रा. वा. बैंकमा काम गर्ने हुँदा उक्त दिन म अन्यत्र गएको छैन । ऐ. भाद्र १७ गते रेसुङ्गा जने बाटोमा मानिस मर्‍यो भन्ने सम्म सुनेको हुँ । म बैंकमा काम गर्दै रहेको अवस्थामा प्रहरीले मलाई पक्राउ गरेका हुन् मृतक वीर बहादुरलाई म समेतले कुटपिट गरि मारेको होईन कसले मारे वा आफै मरे थाहा छैन । प्रहरीले कुटपिट गरी कागज गराएका हुन् भन्ने समेत प्र. गजेन्द्र प्रसाद श्रेष्ठले अदालतमा गरेको बयान ।

१४. २०४०।५।१५ मा म विहान घरबाट हिडी अं. ३.३० वजे तम्घासमा पुगेको हुँ । बाटोमा काही पनि फेला परेन । सोहि दिन र रात अन्य प्रतिवादीहरु र मृतक वीर बहादुर समेत संग मेरो भेटघाट भएको होइन । निजहरु काहा थिए थाहा भएन । वीर बहादुर तम्घास नेटा भन्ने ठाउँमा मरेको भन्ने सम्म सुनेको हुँ । मर्ने वीर बहादुरलाई म समेतले कुटपिट गरि मारेको होईन के कसरी मरेका हुन मलाई थाहा छैन । प्रहरीले कुटपिट गरी कागज गराएका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी प्रेम प्रसाद खरेलले अदालतमा गरेको वयान ।

१५. प्रतिवादी गजेन्द्र प्रसाद र प्रेम प्रसाद समेत जना २ को तम्घास अस्पतालमा भएको २०४०।६।२४ को छुट्टा छुट्टै घा जाँच केश फारम ।

 

१६. २०४०।५।१४ गते म तुराङबाट रु. १०००। को आबश्यक परी गुल्मी दरबार देवीस्थान गा. पं. सिपाहा खर्क बस्ने बालकृष्णको घरमा पुगी रु. ५००।लिई उक्त रात सोही घरमा बसी ऐ. १५ गते त्यहाँबाट बिहानै हिडी अर्घाखाचीको छत्रगन्ज गा. पं. वडा नं. ६ म्यादपानी बस्ने ऋषिराम आचार्यको घरमा पुगी रुपैयाँको कुरा गरी निजकै घरमा बास बसेको हुँ र निजसंग रु. ५००। लिई ऐ. १६ गते रा. बा. बैंक गुल्मीमा रहेको गहना झीकी बेलुका घर गएको हुँ । उक्त १५ गतेका दिन अन्य प्रतिवादीहरु तथा मृतक वीर बहादुरसंग समेत मेरो भेटघाट भएको होइन । १६ गते तम्घास तर्फ आउँदा रेसुङ्गा जंगलको बाटोमा एक जना मानिस रक्सी पिई लोटेर मरेको छ रे भन्ने हल्ला सुनेको हुँ निज मृतकसंग मेरो देख भेट र चिनजान समेत नभएको कारणले क कसरी मर्‍यो मलाई थाहा छैन र मैले कुटपिट मारेको होईन भन्ने समेत व्यहोराको प्र. ठाकुर प्रसाद पोख्रेलको अदालत समक्ष भएको वयान ।

१७. वादी प्रतिवादीहरुका साक्षीहरुको बकपत्र भै मिसिल सामेल रहेको ।

१८. प्रतिवादीहरुले प्रहरीमा वीर बहादुरलाई कुटपिट गरी मारेका हौं भनी सावित भै गरेको वयान, अन्य, विश्वसनीय स्वतन्त्र प्रमाणबाट समर्थित भएको नदेखिदा सो बयानलाई अकाट्य प्रमाणको रुपमा ग्रहण गरी कसुरदार ठहर्‍याउन फौजदारी न्यायको सिद्धान्तको विरुद्ध हुने हुँदा प्रस्तुत मुद्दामा प्रतिवादीहरुले वीर बहादुरलाई कुटपिट गरी मार्नु पर्ने सम्मको अपराधीक मनसाय समेत नदेखिएको र प्रहरी प्रतिवेदनमा माग दावी गरिएको अमराधको उद्धेश्य र योजना पनि प्रमाणित हुन सकेको नदेखिएबाट प्रतिवादी उपर मु. ऐ. ज्यान सम्बन्धीको १४ नं. को सजाय को माग दावी लिइएको प्रहरी प्रतिवेदन कानून संगत नदेखिदा उक्त माग दावीमा लगाइएको आरोपबाट प्रस्तुत मुद्दाका सबै प्रतिवादीहरुले सफाई पाउने टहर्छ भन्ने समेत व्यहोराको गुल्मी जिल्ला अदालतबाट २०४२।१।१५ मा भएको फैसला ।

१९. प्रतिवादीहरुले प्रहरी समक्ष वयान गर्दा मुलुक वीर वहादुरलाई कुटपिट गरी मारेकोमा सावित भएका छन् । अदालतमा इन्कार रहेपनि निजहरुको इन्कारी र निजका साक्षीहरुको वकपत्रमा एकरुपता छैन । निज प्रतिवादीहरुको इन्कारी अन्य स्वतन्त्र प्रमाणले सर्मथन नभएको र जाहेरवाला मृतकको छोरा टेक बहादुर र मौकामा बुझिएका डिल्लीराज र भूमिकला समेतलाई अ. वं. ११५ न. बमोजिम अदालतबाट नबुझी गरिएको त्रुटीपुर्ण फैसला बदर गरी निज प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको बादी श्री ५ को सरकार तर्फबाट पश्चिमाञ्चल क्षे. अ. मा परेको पुनरावेदन पत्र ।

२०.   यसमा प. क्षे. अ. को आदेशअनुसार मैकामा कागज गर्ने भुमिकला गुरुङस्थायी र हरीकला वलाल समेतको  वकपत्र भै मिसिल सामेल रहेको ।

२१.   मृतक वीर वहादुर, प्रतिवादीहरुले होस् नपुर्‍याई गरेको कार्यबाट भवितव्य परी मरेको ठहर्छ । सो ठहर्नाले ज्यान सम्बन्धीको ६ (२) बमोजिम प्र. हरुलाई जनही २ वर्ष कैद र रु. ५००।जरिवाना हुन्छ भन्ने समेत प. क्षे. अ. को मिति २०४५।२।९ को फैसला ।

२२. तत्काल उठेको रिस थाम्न नसकि लात मुक्काले हान्दा वीर बहादुरको मृत्यु हुन गएको भन्ने मिसिलबाट प्रष्ट देखिदा देखिदै पनि ज्यान सम्बन्धीको ६ (२) नं. अनुसार सजाय गर्ने गरेको फैसला त्रुटीपुर्ण छ । ज्यान सम्बन्धीको १४ नं. को कानून अनुकूल नभएको प. क्षे. अ. को फैसला बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारका तर्फबाट यस अदालतमा पर्न आएको निवेदन ।

२३. प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानको साविति र घटनास्थल बाटोको अवस्था पनि मिलनसारको पाइन्छ, सो सावितिलाई कानूनतः ठोस शंकारहित प्रमाणबाट अदालतको इन्कारीलाई पुष्ट्याई गर्न प्रतिवादीहरुले सकेको पनि पाइदैन । यस्तो स्थितिमा वारदात कायम गरी ज्यान सम्बन्धीको ६ (२) नं. अनुसार प्रतिवादीहरुलाई सजाय गरेको प. क्षे. अ. को फैसला ज्यान सम्बन्धीको १४ नं. को व्याख्यामा त्रुटी गरेको देखिन अएकोले पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४५।६।२१ को आदेश ।

२४. मुद्दा दोहोर्‍याई इन्साफ जाँच गरी दिनु भन्ने हु. प्र. बक्स पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको निवेदनमा यसमा व्यहोरा साँचो हो र यसै मुद्दाको एउटा पक्षले पुनरावेदन गर्ने अनुमति पाई पुनरावेदन तहबाट हेरिने भएको रहेछ भने बिन्तिपत्रवालाका हकमा पनि एकैसाथ राखि इन्साफजाँची कानून बमोजिम गर्नु भन्ने समेत श्री ५ महाराजाधिराजबाट बक्स भै आएका हु. पं. बमोजिम गर्न विविधको लगतमा दर्ता गरिदिनु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४६।४।३२ को आदेशानुसार विविधको लगतमा दर्ता भै साथै पेस हुन आएको ।

२५. प्रतिवादीहरुसंग भएको बाद विवादको कारण हातपात हुन गै निजहरुले मरे मरोस् भनी छोडेर गएको वीर बहादुरको मृत्यु भएको देखिन आयो । धेरै रक्सी लागेको वीर बहादुरलाई संरक्षण गरी बोकेर समेत ल्याएका अबस्थामा उल्टै वीर बहादुरले निहुँ खोजी अपशब्द समेत प्रयोग गरी गाली गलौज गर्दा हातपात हुन गएको र भुईमा पछारिदा लागेको चोट पटकबाट बढी रगत बग्न गै मृत्यु भएको देखिदा प्रतिवादीहरुले मृतकलाई मार्ने मनसाय लिएको र मार्नु पर्ने सम्मको रिसिवी भएको भन्ने देखिएन । लछार पछार हुँदा पछारीई चोट परी त्यसै छाडेका अवस्थामा वीर बहादुरको मृत्यु भएको देखिन्छ । तसर्थ प्रतिवादीहरुले होस् नपुर्‍याइ गरेको कार्यबाट निज वीर बहादुरको मृत्यु भएको देखिदा भवितव्य ठहर्‍याउने गरेको प. क्षे. अ. को इन्साफ मनसिवै देखियो । सजायको हकमा घटनाको परिस्थतिलाई दुष्टिगत गर्दा प. क्षे. अ. बाट गर्ने गरेको सजाय बढी देखिदा जनही कैद वर्ष दुई गरेको हदसम्म नमिलेको प्रतिवादीहरु प्रेम प्रसाद खरेल, गजेन्द्र प्रसाद श्रेष्ठ र ठाकुर प्रसाद पोखरेललाई जनही ५००।(पांच सय) रुपैयाँका दरले जरिवाना हुने ठहर्छ । कसुरबाट सफाइ दिने गरेको सहयोगी माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्यालको राय संग मेरो सहमति नहुँदा निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री हर गोविन्द सिंह प्रधानको राय ।

२६. प्रहरीमा साविती कागज गर्ने भनेको प्रेम प्रसादले भृतकलाई रक्सी लागी हिड्न नसकी बोकी ल्याएको भनेको निजले बोक्नु अघि अन्य दुई प्रतिवादीले हात समाती ल्याएको भन्ने हुदा मध्यपान गरी नसा लागेको भन्ने देखिन्छ । बुझिएका बाटामा पसल थापी बस्नेहरुको भनाइबाट बिहान खाली पेट छदादेखी रक्सी ३।४ ठाउँमा खाएको भन्ने देखिएको ताराबहादुरको भनाइबाट पनि रक्सी लागेको रातको समय भएको ढुंग्यान ओराले बाटो भएको समाउने बोक्नेलाई उल्टै गाली गरेकोबाट छाडीजान सक्ने अवस्था पनि हुन सक्ने हुदाँ प्रहरी सावितीमा भनेको भनाईको औचित्यपुर्ण अर्थ गर्नु पर्ने अवस्था छ । जंगलमा रक्सी लागेको मानिसलाई छाड्ने कार्यबाट भवितव्य भयो कि भन्ने भवितव्यको लागि सकारात्मक प्रकृतिको कर्यलाई लिनु पर्ने हुन्छ । रातमा रक्सी लागेकालाई छाड्न हुने वा नहुने भन्ने कुरा व्यक्तिगत निजि विवेकको कुरा हो कानूनी कर्तव्यको कुरा हुन सक्दैन । रातमा ओरालो बाटोमा ठुला ठुला ढुंगा भएको ठाउमा रक्सी लागी खुट्टा लडखडाई हिड्दा मुखको भाग घा पर्ने कुइनामा दछारीने अवस्था पर्न सक्ने स्थिति हुँदा मर्ने संगसंगै भएकोले प्रतिवादीहरुको कार्यबाट मरेको हुन सक्ने भन्ने अनुमानको अधारमा ठहर गर्न नमिल्ने हुँदा शुरु जिल्ला अदालतबाट प्रतिवादीहरुलाई सफाइ दिने गरी भएको इन्साफ सदर हुने ठहर्छ । प. क्षे. अ. को इन्साफ मुनासिव ठहराई रु. ५००।जरिवाना गर्ने गरेको सहयोगी मा. न्या. श्री हरगोविन्द सिंहको रायसंग मेरो सहमति नहुँदा निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्ने मा. न्या. श्री लक्ष्मण प्रसाद अर्यालको राय ।

२७. नियमानुसार पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारका तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठले वीर बहादुरसंग वाद विवाद परी झगडा गर्न लागेको अवस्थामा प्रेमले हुत्याई दिंदा भूईमा ठोकिइ चोट लागेको, त्यसै मौकामा फेरी ठाकुर प्रसादले घोक्रयाउँदा घोम्टो परी भूईंको ढुंगामा चोट लाग्न भएको र गजेन्द्रले २ लात र प्रेमले २ लात हानी मरे मरोस् भन्ने ठानी त्यही बाटोमा छाडी आएको र सो कुरा कसैलाई नभनेकोमा प्रतिवादीहरु गजेन्द्र प्रसाद र प्रेम प्रसाद अधिकार प्राप्त अधिकारी समक्ष सावित भै वयान कागज गरेका छन् । यसरी तत्काल उठेको रिस थाम्न नसकी लात मुक्काले हान्दा वीर बहादुरको मृत्यु हुन गएको हुँदा ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजाय हुनु पर्ने भएकोले ज्यान सम्वन्धीको ६ (२) अनुसार सजाय गर्ने गरेको कानून अनुकूल छैन भन्ने र राजेन्द्र प्रसाद श्रेष्ठका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वशन्तराम भण्डारी तथा प्रेम प्रसाद खरेल तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अग्नि खरेलले ज्यान सम्बन्धी महलको १४ नं. अनुसारको सजाय हुन आदेश र चोटको यकिन हुनु पर्छ । यहाँ कुन त्यस्तो चोट परेको हो ? जुन चोटको कारण मानिस मर्न गयो सो, चोटको यकिन हुन सकेको छैन । मुद्दामा गोश्वरा आवेशको अभियोग लगाइएको छ । तीन जना एकै अवस्थामा गोश्वारा आबेशमा आउन सक्ने अवस्था रहदैन । त्यस्ता गोश्वारा बोलीबाट ज्यान सम्बन्धीको ६ (२) को दावी आकर्षित हुन सक्दैन भन्ने वहस प्रस्तुत गर्नु भयो ।

२८. आज निर्णय सुनाउन तोकिएको तारेखमा यसमा जाहेरवाला टेक बहादुरले मिति २०४८।५।१८ मा दिएको जाहेरको दखास्तमा मृतक वीर बहादुर कार्की बाटोमा गजेन्द्र श्रेष्ठ, प्रेम प्रसाद खरेल र ठाकुर प्रसाद पोखरेल साथ आउँदा निजहरुबाट हत्या भएको विश्वास लिई कारवाहीको माग भएको देखिन्छ । यहाँ उल्लिखित प्रतिवादीहरु मृतक वीर बहादुरको साथमा थिए कि थिएनन् ? उपस्थिति रहे भएको भए के र कुन अवस्थामा निज वीर बहादुरको मृत्यु भएको हो ? भन्ने कुराको निर्क्यौल गर्नु पर्ने देखिन्छ ।

२९. उल्लिखित प्रश्नहरुको निराकरणका लागि सर्वप्रथमतः प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागजलाई हेर्दा प्र. मध्येका प्रेम प्रसादले वीर बहादुरलाई रक्सी लागेको र सचिव ठाकुर प्रसाद पोखरेल र गजेन्द्र श्रेष्ठले हातमा समाई ल्याइरहेको अवस्थामा भेट भएको भनी लेखाइ दिएको देखिन्छ । ठाकुर प्रसाद हात समाती आउन लाग्दा उल्टै मृतकले सचिवको कठालोमा समातेको र लछार पछार भएको, भूईमा विडी छरीएको देखिएको भन्ने घटना विवरण समेत उक्त वयानमा परेको देखिन्छ । मृतकले अपशब्द प्रयोग गर्दा विवाद परी घाँटीमा समाई घोक्रयाउँदा घोप्टो परी लड्न गै भूईमा भएको ढुंगामा ठोकिन गएको भन्ने समेत उक्त वयानमा देखिन्छ ।

३०. त्यस्तै प्र. गजेन्द्र प्रसादले मृतकले आफूसंग रक्सी खाएको र रक्सी खाने ठाउँमा ठाकुर प्रसाद र बाटामा प्रेम प्रसादसंग भेट भएको र पछि भएका घटना बारे प्रेम प्रसाद कै मिलानको बयान कागज गरेको देखिन्छ । सचिव ठाकुर प्रसादले घोक्रयाउँदा निधार र नाकमा चोट लागि रगत बगेको व्यहोरा पनि उक्त वयानमा परेको पाईन्छ ।

३१. मिति २०४०।५।२४ गते प्रहरीमा कागज गर्ने हरिकला बलाल मगर्नीले राजेन्द्र संग रक्सी खाई संगै गएको मानिस नै वीर बहादुर हो भनी लेखाई दिएको रहेछ ।

३२. मौकामा बुझीएका डिल्लीराज पाण्डेले पनि मिति २०४०।५।१५ मा अ. ४.३० बजेतिर आफ्नो घरमा मृतक वीर बहादुर संग रक्सी खाँदा गजेन्द्र र अर्को सचिवभन्ने मानिस भएको र रक्सी खाई साथै हिडेको व्यहोरा लेखाइ दिएको पाइन्छ ।

३३. प्रहरीमा उपस्थित नभइ अदालतमा बयान गर्न उपस्थित हुने प्र. मध्य ठाकुर प्रसाद कसूरमा इन्कार रहेको देखिन्छ । यस अवस्थामा प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान र अदालतमा गरेको इन्कारी वयान वीच भिन्नता देखिन अउँदछ । घटनास्थल लास प्रकृति मुचुल्का बाट देखिएका कुराहरु मृतकलाई लागेको चोट पटकको स्थिति र मृतकको ज्वारीकोटमा भेटिएका बिडीहरुले प्रतिवादी प्रेम प्रसाद र गजेन्द्रले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानलाई पुष्टि गरेको पाईन्छ । प्रहरीमा हरिकला बलाल मगर्नी, तीलकुमारी थापा, डिल्लीराम पाण्डेले पनि मृतक संगै प्रतिवादी गजेन्द्र र ठाकुर प्रसाद (सचिव) को उपस्थितिलाई पुष्टि गरेको साथै हरिकलाले आफ्नो भनाईलाई अदालतमा समेत समर्थन गरेको देखिन आयो । प्रतिवादीहरुका उपस्थितिलाई होटलवाला दधिराम सापकोटाले आफ्नो होटलमा ०४०।५।१५ गते राती ८ वजेतिर बास बस्न आएको भनि कागज गरेको कुराले समेत अन्य परिस्थितिलाई समर्थन गरेको छ । प्रतिवादी प्रेम प्रसादको कपडामा लागेको रगत जाँच बाट वीर बहादुरको रगतको ग्रुप संग मिलेकै देखिन्छ । पोष्टमार्टम रिपोर्टमा उल्लेख भएको बढी रक्तश्रावद्वारा मृत्यु भएको भन्ने कुरालाई घटनास्थलमा मृतक वीर बहादुर संग प्रतिवादीहरुको हातमात हुँदा रगत बगेको देखिएको भनी बयान गरेको कुराले समर्थन गर्दछ ।

३४. तसर्थ यस्तो अवस्थामा घटना गरेको देख्ने मानिस नभएको भन्ने आधारमा घटना घटेको बखत उल्लिखित प्रतिवादीहरुको उपस्थिति नै थिएन भन्न मिल्दैन । लछार पछार हुँदा पछारिई चोट परी त्यसै छाडेको अवस्थामा वीर बहादुरको मृत्यु भएको देखिन्छ । यस्तो अवस्थामा वीर बहादरको मृत्युको कारण प्रतिवादीहरुले होस् नपुर्‍याई गरेको कार्यबाट भएको देखिदा ज्यान सम्बन्धीको १४ नं. आकर्षित नहुने भएकोले भवितव्य ठहर्‍याउने गरेको प. क्षे. अ. को इन्साफ मनासिव ठहराई घटनाको परिस्थितिलाई दुष्टिगत गरी प. क्षे. अ. बाट गर्ने गरेको सजाय बढी देखिदा प्रतिवादीहरु प्रेम प्रसाद खरेल, गजेन्द्र प्रसाद श्रेष्ठ र ठाकुर प्रसाद पोखरेललाई जनही ५००। (पाँच सय) रुपैयाँका दरले जरिवाना हुने ठहर्‍याएको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मुनासिव ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

 

(१)   माथि इन्साफ खण्डमा लेखिएको बमोजिम प्रत्येवादी जनही रु. ५००।(पाँच सय) जरिवाना मात्र हुने ठहरेकोले प. क्षे. अ. को फैसलाले लागेको कैदको लगत कट्टा गर्न सम्बन्धीत जि. अ. मा लेखि पठाउन का. जि. अ. मा लगत दिनु ।

(२)   माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रत्येवादी जनही ५००।(पाँच सय) रुपैया जरिवाना हुने ठहरेकोले प. क्षे. अ. को फैसलाले लागेको कैद र जरिवाना वापत राखेको धरौटी रकमबाट कट्टा गरी बाँकी रकम फिर्ता दिन सम्बन्धित जिल्ला अदालतमा लेखि पठाउन का. जि. अ. मा लगत दिनु ।

(३)   मिसिल नियमानुसार गरी बुझाइ दिनु ।

 

उक्त रायमा हामी सहमत छौ ।

 

न्या. मोहन प्रसाद शर्मा

न्या. केशव प्रसाद उपाध्याय

 

ईति संवत २०५० साल असार १७ गते ५ रोज शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु