निर्णय नं. ४८४५ - जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

निर्णय नं.४८४५ ने. का. प. २०५१ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
सम्वत २०४९ सालको दे.विविध नं.१११
फैसला मितिः२०५०।५।२०।१
मुद्दाःजग्गा खिचोला मेटाई चलन चलाई पाउँ ।
निवेदक
प्रतिपादी : गण्डकी अञ्चल कास्की पोखरा न.पा.वडा नं. ८ बगालेटोल बस्ने हर्कलाल श्रेष्ठ ।
विरुद्ध
विपक्षी
वादीः ऐ ऐ वडा नं.९ महेन्द्रपुल वस्ने मोहन कुमारी श्रेष्ठ ।
· सर्भे नापी हुँदा स्पष्ट बढेको जग्गा बिक्रेताको नै हुने ।
(प्र.नं. १८)
निवेदक तर्फबाटः विद्धान अधिवक्ता श्री शम्भु थापा
विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री यज्ञमुर्ति बन्जाडे
अवलम्बित नजिरः
फैसला
न्या. त्रिलोक प्रताव राणा: पश्चिमाञ्चल क्षेत्रिय अदालतको मिति २०४७ श्रावण २८ गतेको फैसला उपर चित्त नबुझी इन्साफ जाँचको लागि निवेदकको श्री ५ महाराजधिराज सरकारको जुनाफमा चढाएको निवेदनमा विशेष जाहेरी विभाग विघटन भै यस अदालतमा सरी आई यस अदालत संयुक्त इजलासका ०४८।१०।२१ को आदेश बमोजिम विविध लगतमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. पोखरा न.पा. वडां. ९ कि. नं. १६८९ रोपनी ०-१२-१-३ को घडेरी जग्गा मोहडातर्फ ६ मिटर र दक्षिणतर्फ १० मिटर चौडाई उत्तर दक्षिण ५३ मिटर उक्त मेरो जग्गाको पश्चिम साँधमा विपक्षीको कि.नं. १२९३ रोपनी ०-१४-० जग्गा उत्तर तर्फ मोड्दा साढे ७ मिटर भै पछाडि सुक्दै गएर कोण परेको छ । विपक्षीले उक्त मेरो घडेरी जग्गा र विपक्षीकै जग्गा देखि पश्चिम तर्फ शिव मन्दिरमा जाने बाटो मिची घर बनाउने बदनियत लिई आफ्नो भएको जग्गा देखाई नक्सा पास नहुने ठानी बिपक्षीकै अर्को ठाउँको कि. नं. १४०० को जग्गा देखाई ३० मिटर ६ इन्च चौडाइ भएको घर बनाउन स्वीकृत लिनु भएको छ र मेरो जग्गा पश्चिम तर्फबाट ६० सेन्टीमिटर र शिव मन्दिरको जग्गा पनि मिची भित्र पारी घर बनाउन २०४०।७।२५ गतेका बिहान घडेरीको जग खन्न किला ठोकी डोरी तान्नु भएको र म उक्त जग्गामा गई किन जग्गा मिची घर बनाउन लाग्नु भएको भन्दा न.पा.को नक्सा स्वीकृत लिएको छु । घर बनाई छाड्छु भन्ने जवाफ दिनु भई उक्त मेरो कि.नं. १६८९ को जग्गामा पश्चिम तर्फबाट ६० से.मि.जग्गा मिचि खिचोला गर्नु भएकोले खिचोला मेटाई जग्गा हक कायम गरी चलन समेत पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. विपक्षीको दावी बमोजिम जग्गा मैले च्यापी मिचि घर बनाउन लागेको होईन । विपक्षीले नगर योजनाबाट राजीनामा लिँदा ६ मिटर मोहडा भनी खुलाएको छैन । केवल रोपनी मात्र छैन मेरो मोहडा ९ मी. ५० से.मी छ भन्ने विपक्षीको जग्गाको मोहडा केवल ५ मिटर मात्र छ । मैले विपक्षीको बादी लेख बमोजिम ६० से. मी. शिव मन्दिरको जग्गा समेत मीची घर बनाउन लागेको होइन । उक्त जग्गा मेरो हो । चिप्ले ढुङ्गा सडक खोल्दा नगर योजनाले जग्गा अधिकरण गरी केही जग्गा मलाई फर्काएको हो । नगर योजनाले जग्गा प्राप्त गर्दा मूल सडकको केन्द्र बिन्दूबाट १५० फिट दायाँ, १५० फिट बायाँको जमीनसम्म प्राप्त गरेके हो त्यसरी प्राप्त गरेको जमिनमा सडकको केन्द्रबाट ठकि १५० फिटमा पिलर गाडेको छ । सबै पिलर सीधा रेखामा रहनु पर्ने अनिवार्य हुँदा गग्गा नाम नक्सा नाप जाच गरी नगर योजना बुझिएमा समेत प्रष्ट हुनेछ । तसर्थ झुठा दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत प्रतिउत्तर । जिल्ला डोरबाट भै आएको झगडा परेको जग्गाको नक्सा मुचुल्का मिसिल सामल रहेको । विवादित जग्गाको नक्सा ट्रेस मे.ना.सा. कास्कीबाट प्राप्त भएको पोखरा नगर योजनबाट वादी प्रतिवादीलाई पारित गरी दिएको जग्गाको मोहडा समेत लम्बाई चौडाइको नगर योजनाबाट जवाफ प्राप्त भएको र वादी प्रतिवादीबाट आआफ्ना राजीनामा ज.ध.प्र.पू. को प्रतिलिपी समेत पेश भएको प्रतिबादीका साक्षी रामकृष्ण समेत जना २ को वकपत्र मिसिल सामेल रहेको । अदालतबाट भै आएका नाप नक्सा हेरेमा वादीको कि.नं. १६८९ को जग्गा नं. २६ र विवादित जग्गा न. नं. २७ को जग्गा समेत नाप्दा रोपनी ०-१२-२-० भएको र विवादित नं. २७ को रोपनी ०-०-३-२ दखिएको भन्ने उल्लेख भै आएकोले कि. नं. २७ को विवादित जग्गा ठहरिन आएकोले वादीको जग्गालाई मेरो भनी प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने कास्की जि.अ.को २०४२।७।१५ को फैसला ।
४. वादीले कि. नं. १६८९ को क्षेत्रफल ०-१२-१-३ को जग्गा पोखरा नगर योजनाबाट पारित गराई लिएको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्दै गरिएको उक्त फैसलामा चित्त नबुझेको मेरो प्रतिउत्तर जिकिर बमोजिम गरी पाउँ भन्ने समेत हर्कलाल श्रेष्ठको गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदक ।
५. शुरु कास्की जिल्ला अदालतले गरेको अधुरो फैसला बदर गरी दिएको छ । फिराद दावीको सम्पूर्ण विषयमा कानून बमोजिम फैसला गर्नु भनी रुजु पक्षलाई तारिख तोकी कारवाही किनाराको लागि कास्की जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको मिति २०४४।५।१७ को फैसला ।
६. न. नं. २७ को जग्गा प्रतिवादीले मेरो हो भनी खिचोला गरेको ठहर्छ । सो ठहरेको विवादस्पद नं. १६८९ को कि. नं. २७ को जग्गामा बादीको हक कायम भै चलन समेत पाउने ठहर्छ भन्ने कास्की जि. अ को मिति २०४४।१०।८ को फैसला ।
७. कानुनको त्रुटी गरी भएको शुरु फैसला वदर गरी सम्पुर्ण कुराको प्रमाण बुझी नाप नक्सा समेतको प्रकृया अपनाई नक्सा दोहोर्याई न. नं. २७ को विवादास्पत जग्गा जति मेरो ठहर गरी पाउँ भन्ने समेत हर्कलाल श्रेष्ठको गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदन ।
८. अदालतबाट प्रतिवादीको उपस्थितिमा नै आएको नाप र नापी शाखाबाट समेत वादी दावीको विवादित न. नं. २७ को जग्गा वादिको कि.नं. १६८९ को नै देखिनाले सोमा निजको हक कायम भै निजले चलन समेत चलाई पाउने ठहरी शुरुले गरेको फैसला मनासिव ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको मिति २०४६।२।३।९ को फैसला ।
९. शुरुको इन्साफ सदर गरेको गण्डकी अञ्चल अदालतको त्रुटीपूर्ण फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी हर्कलाल श्रेष्टको व. क्षे. अ. मा परेको निवेदक ।
१०. राजीनामा भन्दाबढी भएको जग्गा वादीलाई दिलाइदिने गरेको कास्की जिल्ला अदालतको इन्साफमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (४) (घ) को कानूनी त्रुटी विद्यमान देखिदा पुरनावेदनको अनुमति प्रदान गरिएको छ, भन्ने क्षे. अ. को आदेश ।
११. यसमा विपक्षी वादीको कि. नं. १६८९ मा ०-१२-१-३ र प्रतिवादी पुनरावेदकको कि. नं. १२९३ मा ०-१४-३-१ श्रेस्ताबाट देखिएको हाल अदालतबाट नाप नक्सा हुँदा ६० सेन्टिमिटर जग्गा मोहडा तर्फ खिचोला भयो भनि वादी विपक्षले दावी लिएको न. नं. २६ र २७ को जग्गा दुवै मिलाउदा ०-१२-२-० र प्रतिवादी पुनरावेदकको जग्गा न. नं. २४ र २४।१ म ०-१४-३-२ देखिन आएकोले पुनरावेदक प्रतिवादीको जग्गा पनि नघटी प्रत्युतः १ दाम बढेकै देखिन आएको अबस्थामा बादी बमोजिम प्रतिबादीले खिचोला गरेको ठहराएको सुरु कास्की जिल्ला अदालतको इन्साफ सदर गरेको गण्डकी अञ्चल अदालतको फैसला मनासिव ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने प. क्षे. अ. को २०४७।४।२८।१ को फैसला ।
१२. नगर योजनाले अधिग्रहण गरिएको ३०० फीट जग्गाको केन्द्र विन्दुबाट वायाँ दायाँ १५० फीट कुने गरि जग्गा छुट्टाइको अवस्थामा विपक्षीको न. नं. २६ को जग्गामा नै विपक्षीको राजीनामा जग्गा धनी प्रमाण पुर्जा बमोजिम ज. रो. ०-१२-१-३ को जग्गा पर्याप्त पुग्नेमा म. क्षे. अ. लगायतका अदालतबाट न्यायिक विश्लेषण भएन । मूल पुश्नको वास्तविकतामा अदालतबाट कुनै मध्यनजर भएन । मेरो न. नं. २७ को ०-०-३-२ जग्गाबाट विपक्षीको जग्गा भन्दा पनि बढी जग्गा दिलाइएबाट अन्याय पर्न गै विन्ती पत्र चढाउन आएको छु । उक्त प. क्षे. अ. को फैसला उपर एक पटक सर्बोच्च अदालतबाट इन्साफ जाँच गरी पाउँ भनी प्रतिवादी हर्कलाल श्रेष्ठको श्री ५ महाराजाधिराज सरकारको जुनाफमा चडाएको विन्ती पत्र ।
१३. विन्ती पत्रमा लेखिएको व्यहोरा साचो हो र अन्तिम फैसला भएका मितिले २ वर्ष भित्र विन्ती पत्र परेको रहेछ भने क्षेत्रिय अदालतबाट निर्णय भएकोमा सर्वोच्च अदालत र अञ्चल अदालतबाट निर्णय भएकोमा सम्बन्धीत क्षेत्रीय अदालतबाट सो विन्तीपत्र छानवीन गरी हेर्दा न्याय नमिलेको देखिए इन्साफ जाँची कानून बमोजिम निर्णय गर्नुस् भन्ने श्री ५ महाराजाधिराजबाट हु. प्र. बक्स भै आए बमोजिम इजलास समक्ष पेश भएकोमा यसमा बादीको कि. नं. १६८९ मा ०-१२-१-३ जग्गा भएको न. नं. २७ मा ०-०-३-२ जग्गा देखिएको सो ३ पैशा २ दाम मध्य ३ पैशा १ दाम थप्दा श्रेस्ता अनुसारको ०-१२-१-३ जग्गा हुने हुँदा सो हदसम्म खिचोला ठहर्याउनु पर्ने न. नं. २७ को ३ पैशा २ दाम पुरै वादीको ठहरी खिचोला ठहर्याएको नमिलेकोले इन्साफ जाँच गर्नु पर्ने देखिएको हुँदा यो विन्तीपत्र विविधमा दर्ता गरी मिसिल र विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको २०४८।१०।१२ को आदेश ।
१४. नियम बमोजिम दैनिक पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीको तर्फबाट बहसको लागि यपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले विवादको जग्गा मेरो पक्षबाट मिचिएको छैन र शिव मन्दिरमा जाने बाटो मिचेको समेत छैन । विपक्षीले नगर योजनाबाट जग्गा लिनुभएको हो राजीनामा लिंदा मोहडा खुलाएको छैन । नगर विकास योजनाले लिएको केन्द्र विन्दूबाट नाप गरेको खण्डमा जग्गा प्रष्ट देखिन्छ । तल्लो अदालतले ठहर गरेको जग्गा पिलाउदा विपक्षीको लाल पूर्जामा उल्लेखित जग्गा भन्दा बढी हुन आउछ । मेरो पक्षले कुनै खिचोला नगरेकोमा खिचोला ठहर गरेको इन्साफ मिलेको नहुँदा प. क्षे. अ. को इन्साफ वदर हुनु पर्ने स्थिति छ भन्ने र विपक्षी बादीको तर्फबाट वहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री यज्ञमुर्ति वन्जाडेले नक्सा प्रमाणकै आधारमा प. क्षे. अ. बाट फैसला भएको छ । न. नं. २६ र २७ को जग्गा मिलाउँदा एक दाम जग्गा प्रतिवादीको बढीनै देखिदा बादी दाबी बमोजिम प्रतिवादीले खिचोला ठहर गरेको सुरु तथा अञ्चल अदालतको इन्साफ सदर गरेको पक्षको इन्साफ मिलेकै हुदा सदर हुनुपर्दछ भनी गर्नु भएको वहश जिकिर समेत सुनियो । प्रस्तुत मुद्दामा प. क्षे. अ. को इन्साफ मिले नमिलेको के रहेछ सो सम्वन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१५. यसमा पोखरा नगर पञ्चायत वडा नं. ९ को कि. नं. १६८९ क्षेत्रफल ०-१२-१-३ को घडेरी जग्गा मैले मिति २०३९।१।१६ मा पोखरा नगर योजना बाट राजीनामा गरि लिएको हो । उक्त जग्गाको उत्तर तर्फ मोहडा ६ मिटर र दक्षिण तर्फ १० मिटर चौडा उत्तर दक्षिण ५३ मिटर लम्बाइ छ । मेरो कि. नं. १६८९ को पश्चिम साँधमा किं नं. १२९३ को रोपनी ०-१४-० को जग्गा छ । उत्तर तर्फ मोहडामा साढे ७ मिटर भै पछाडी सुक्दे गएको छ । विपक्षीले मेरो घर घडेरी जग्गा र विपक्षीको जग्गा देखी पश्चिम तर्फको शिव मन्दिरमा जाने बाटो रहेको शिव मन्दिरको जग्गा मिचि किं नं. १२९३ मा साढे ७ मिटर मात्र चौडा भएकाले सो जग्गा नदेखाइ नक्सा पास गराउन नसक्नु भएकाले कि. नं. १४०० को जग्गा देखाइ ३० मिटर ६ इन्च चौडाइ भएको घर वनाउदा स्विकृत लिइ मेरो जग्गा पश्चिम तर्फबाट ६० से. मि. भित्री जग्गा खन्न किला ठोक्न लागि सो नगर्नुस् भन्दा घर बनाउछु भनी मेरो कि. नं. १६८९ को पश्चिम तर्फबाट ६० से. मि. खिचोला गर्नु भयो । मेरो कि. नं. १६८९ मोहडामा ६ मिटर छ । विपक्षीको कि. नं. १२९३ को मोहडा साढे ७ मिटर छ । खिचोला मेटाइपाउँ भन्ने वादीको मुख्य दावी भएकोमा वादीको राजीनामाको मोहडा ६ मिटर छैन । वादीको मोहडा ५ मिटर छ मेरो जग्गाको मोहडा साढे ७ मिटर होइन सो मेरो मोहडा ९ मिटर ५० से. मि. छ । विपक्षीको जग्गा मैले घुसाएको छैन भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर देखिन्छ ।
१५. वादी प्रतिवादीको लेखबाट मुल रुपमा मोहडाको विवाद देखिन्छ र वादी प्रतिवादीको जग्गा रोपनी हेर्दा प्रतिवादीको कि. नं. १२९३ को जग्गा रोपनी ०-१४-३-१ देखिन्छ र वादीको राजीनामा बमोजिम कि. नं. १६८९ को क्षेत्रफल रोपनी ०-१२-३-१ देखिन्छ ।
१६. निवेदक प्रतिवादीको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शम्भु थापाले वादीको कि. नं. १६८९ को राजीनामा ०-१२-१-३ लेखिएपनि सोहि राजीनामा पाएको क्षेत्रफल ०-११-१-३ हो भन्नु भएकोमा वादीको २०३६।१।१६ को राजीनामा हेर्दा वादीले कि. नं. १६८९ बाट पुरै जग्गा रोपनी ०-१२-१-३ खरिद गरेको पाइन्छ । रोपनी ०-११-१-३ भन्ने क्षेत्रफल उल्लेख भएको जग्गा कि. नं. १६८९ नभई अर्कै कित्ता देखिनले बादीको जग्गा कि. नं. १६८९ को क्षेत्रफल रोपनी ०-१२-१-३ होईन रोपनी ०-११-१-३ हो भन्ने वहस संग सहमत हुन सकिएन । पोखरा नगर योजना कार्यान्वयनको मिति २०४२।३।१० को पक्षबाट वादी मोहन कुमारी श्रेष्ठलाई कि. नं. १६८९ को उत्तर मोहडा ६ मिटर भएको जग्गा पारित गरिदिएको भन्ने लेखि आएको पाईन्छ ।
१७. उक्त कित्ता जग्गा सर्भेमा नापी हुँदा मोहडा के कती कायम भएको रहेछ भनि ट्रायल चेक भएको मा क्षेत्रिय मेन्टिनेन्स् नापी कार्यालयको मिति २०४०।१२।२१ को पत्र कि. नं. १६८९ को मोहडा ६ मिटर र कि. नं. १२९३ को ७.५० मिटर कायम छ भनि ट्रायल चेक पठाएको यिनै बादी प्रतिवादी भएको नक्सा मुद्दाको मिसिलमा समेत रहेको पत्रबाट देखिन्छ ।
१८. सर्भे नक्सा कित्तामा नै वादीको किं नं. १२९३ को मोहडा ६ मिटर कायम भएकोमा त्यस्तो जग्गामा वादीको ६ मिटर नभई ५ मिटर मोहडा भए उसै सर्भे नक्साको समयमा उजुर गरि आफ्नो मोहडा ७.५० मिटरबाट हाल प्रतिवादीमा लेखिए बमोजिम ९ मिटर ५० से. मि. कायम गर्नु पर्ने अवस्था थियो । तर सो तर्फ प्रतिवादीले स्विकारै गरि वसेको छ । हाल अदालतबाट भएको मिति २०४२।४।२० को नक्सा हेर्दा पनि न. नं. २७ विवादीत जग्गा देखिनछ। न. नं. २६ वादीको र न. नं २४ र २४।१ प्रतिवादीको जग्गा देखिन्छ । न. नं २६ वादीको जग्गा संग न. नं २७ विवादीत जग्गा जोड्दा सो जग्गा को मोहडा ६ मि. हुन जने र क्षे. फ. पनि न. नं २६ र न. नं २७ दुवै गरि रोपनी ०-१२-२ हुन आउने र प्रतिवादीको कि. नं. १२९३ को क्षे. फ. रोपनी ०-१४-३-२ कायम हुन आएको र मोहडा प्रतिवादीको ७ मि. ५० से. मि. भन्दा कम देखिन्छ। प्रतिवादीको जग्गाको क्षे. फ. पनि जग्गा धनी प्र. पु. र नक्साबाट समेत मिलेको अतिरिक्त उक्त जग्गाको मोहडा क्षे. फ. समेत सर्भे नक्सा र ट्रायल चेकबाट समेत भिडे मिलेकोले विवादको न. नं २७ को जग्गा प्रतिवादीको रहेछ भन्न मिलेन । १ दाम जग्गा हाल नक्साबाट वादीको वढी देखिनेमा न. नं. २७ को जग्गा प्रतिवादीको भन्ने स्थिति नहुदा सवै नापी हुदा स्पष्ट वढेको जग्गा विक्रेताको नै हुने हँदा १ दाम बढी दिलाईएको मिलेन भन्ने इन्साफ जाँचको आदेशसँग समेत सहमत हुने स्थिति भएन ।
१९. अतः वादी दावी बनोजिम प्रतिवादीले खिचोला गरेको ठहर्याएको शूरु कास्की जि.श्र.को इन्साफ सदर गरेको गण्डकी अञ्चल अदालतको इन्साफ मनासिव ठहर्याएको ष.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । इन्साफ जाँचको लागि आएको हुँदा केही गरीरहन परेन । मिसिल बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वी बहादुर सिंह
इती सम्बत २०५० सासल भाद्र २० गते रोज १ शुभम् ।