निर्णय नं. ९००२ - कर्तव्य ज्यान

ने.का.प. २०७०, अङ्क ४
निर्णय नं.९००२
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्की
०६७-CR-११७२
फैसला मितिः २०७०।२।२९।४
मुद्दाः– कर्तव्य ज्यान ।
पुनरावेदक प्रतिवादीः जिल्ला दैलेख, गोगनपानी गा.वि.स. वडा नं.७ घर भई हाल कारागार कार्यालय, दैलेखमा थुनामा रहेका गोविन्द भन्ने गजेन्द्रकुमार चन्द
विरुद्ध
प्रत्यर्थी वादीः गणेशबहादुर चन्दको जाहेरीले नेपाल सरकार
शुरू फैसला गर्ने :
मा.न्या. श्री ठाकुरप्रसाद शर्मा
पुनरावेदन फैसला गर्ने :
का.मु.मा.मु.न्या.श्री विश्वनाथ जोशी
मा.न्या.श्री प्रकाशराम मिश्र
§ कुनै पनि हत्या औचित्यपूर्ण प्रतिरक्षाको सिद्घान्तअन्तर्गत परी प्रतिवादीले सजायबाट छूट पाउन सो हत्यामा बल अन्तिम विकल्प (Last Resort) को रूपमा प्रयोग भएको हुनुपर्दछ । कुनै व्यक्तिले ज्यान लिने मनसायले कुनै पनि माध्यमबाट जोरजुलूम गरेको कारण निजको नियन्त्रण वा पञ्जाबाट उम्कन नसक्ने अवस्था सिर्जना भएको वा निजको नियन्त्रणबाट भाग्ने, उम्कने, गुहार मागी सहयोग प्राप्त गर्नसक्ने वा प्रहरीलाई खबर गर्न सक्ने अवस्था नभएबाट त्यस्तो जुल्मीका विरूद्घ केही गर्दा निजको मृत्यु भएको प्रमाणबाट देखिनु औचित्यपूर्ण प्रतिरक्षाको पहिलो आवश्यकता हो । यस्तो कार्य तत्काल नै हुनु पर्दछ । धेरै समयपछि आफूलाई मृतकबाट ज्यानको खतरा थियो भन्ने प्रतिरक्षाको आधार बन्न नसक्ने ।
§ औचित्यपूर्ण प्रतिरक्षा मानी सजायमा छूट दिनका लागि न्यायकर्ताले हेर्नुपर्ने महत्वपूर्ण पक्ष वारदातमा न्यूनतम् शक्तिको प्रयोग, तत्काल जोखिमको अवस्था परिवर्तित नभएको, आक्रमणकारीले जोखिमी हतियारको प्रयोग गरेको छैन भने प्रतिरक्षाकर्ताले पनि जोखिमी हतियार प्रयोग गरेको हुन नहुने तथा मृतकले जस्तो शक्तिको प्रयोग प्रतिवादीले पनि गरेको हुनुपर्ने ।
(प्रकरण नं.६)
§ कुनै व्यक्तिले आफूमाथि हातहतियारसहित वा रहित कुनै पनि माध्यमबाट जोरजुलूम गरेको कारण निजको नियन्त्रण वा पञ्जाबाट उम्कन नसक्ने, गुहार मद्दत माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसक्ने वा त्यस्तो पञ्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउन नसक्ने अन्तिम अवस्था सिर्जना भएबाट त्यस्ता जुल्मीका विरूद्घ मनासिब माफिकको उचित बल प्रयोग गर्न नपाइने होइन । तर, त्यस्तो बल वा शक्ति मनासिब किसिमबाट अर्थात् औचित्य पुष्टि हुने किसिमबाट प्रयोग भएको हुनुपर्ने ।
(प्रकरण नं.७)
§ घातक हतियार दुवै पक्षसँग नभएता पनि शारीरिक बल मृतकको तुलनामा प्रतिवादीमा ज्यादा रहेको भन्ने तथ्य एकपटक नभई मृतकलाई पटक–पटक भूइँमा पछार्नु, मुक्काले हान्नु र नाजुक अवस्था बन्दै गएपछि शरीरमाथि चढी घाँटी थिच्नु, दबाउनु जस्ता कार्यहरू भएको कुरा वारदात आफैँले बोलेका तथ्य हुन् र यी तथ्य प्रतिवादीको प्रतिरक्षाको सारथि बन्न नसक्ने ।
(प्रकरण नं.९)
§ आफ्नै अगाडि प्रतिवादीले मृतकलाई मारेको भनी मौकामा गरेको कागज तथा अदालतमा गरेको बकपत्रसमेतबाट प्रतिवादीले प्रतिकार नगरेको भए निजको ज्यान जोखिममा थियो भन्ने देखिन आउँदैन । प्रतिवादीको शरीरमा संघर्षका कुनै पनि चिन्ह नहुनु, तर आक्रमणकारी भनिएको व्यक्तिको मृत्यु हुन पुगेबाट बल समानरूपमा प्रयोग भएको थियो भन्न नमिल्ने ।
(प्रकरण नं.१०)
पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान वैतनिक अधिवक्ताद्वय हरिशंकर कर्ण तथा श्रुतीकुमारी रेग्मी
प्रत्यर्थी वादीतर्फबाटः
अवलम्बित नजीरः
§ नेकाप २०४२, जेठ, नि.नं. २२७६, पृष्ठ १९०
सम्बद्ध कानूनः
§ मुलुकी ऐन, ज्यान सम्बन्धी महलको ७(१) र १४ नं.
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
महेन्द्रबहादुर सिंहको घरको पछाडि नासपातिको रूख नजिकै खाली ठाउँ, उक्त ठाउँमा गुन्द्रीमाथि उत्तानो अवस्थामा पूर्व सिरान, पश्चिम गोड्यान, घाँटीमा नङको डाम, नाकमा काटिएको घाउ, आँखामा नीलडाम भएको मृतक जनकबहादुर चन्दको लास रहेको भन्ने घटनास्थल लासजाँच मुचुल्का ।
दैलेख गोगनपानी गा.वि.स. वडा नं. ९ बस्ने महेन्द्रबहादुर सिंहको घरमा घर प्रवेश गर्ने पूजा कार्य भएकोले निम्ता बोलाएको अवस्थामा मेरो भाइ जनकबहादुर चन्दलाई गोविन्द भन्ने गजेन्द्रकुमार चन्दले निहुँ खोजी भाइको घाँटी थिची घाँटीको रूद्रघण्टी नै अठ्याई मिति २०६६।३।१५ गते साँझको १७ः०० बजेको समयमा कर्तव्य गरी मारेकोले निज गोविन्द भन्ने गजेन्द्रकुमार चन्दलाई सजाय गरिपाऊँ भन्ने गणेशबहादुर चन्दको जाहेरी दरखास्त ।
मिति २०६६।३।१५ गतेका दिन महेन्द्र सिंहको घरमा घरपैँचो रहेछ । म र मेरी श्रीमती गीता चन्द महेन्द्रबहादुर सिंहको घरमा पुगेका थियौं । मृतक जनकबहादुर चन्द पनि आएका रहेछन् । म र मृतक जनकबहादुर चन्द, महेन्द्र सिंहको घरपछाडि बगैंचामा बसी घरेलु रक्सी समेत सेवन गरेका हौँ । सोही दिनको अन्दाजी १६:०० बजेको थियो होला, मृतक जनकबहादुर चन्द मेरी श्रीमती गीता चन्द बसेको ठाउँमा गई हातले कोट्याउँदै अङ्ग्रेजीमा डु यु लाइक भनेकाले मैले यसको जवाफ तिमीले मलाई देऊ भन्दा मृतक केही नबोली ममाथि नै आक्रमण गरी मलाई धकेल्दा मैले रीसले निजलाई भूइँमा लडाएँ र आँखामा मुक्काले दबाउँदा निजको मृत्यु हुन गएको हो । मैले हानेको हुँ । निजले मेरो लिङ्ग समात्न खोज्दा म आवेशमा आई निजको जीउमाथि चढी घाँटी च्यापी दबाउँदा निजको मृत्यु हुन गएको हो । मैले कुनै हातहतियार प्रयोग गरी मारेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी गोविन्द भन्ने गजेन्द्रकुमार चन्दले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो श्रीमान्को हत्या भएपश्चात् मैले नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिनुपर्नेमा मेरो साथमा नावालक बच्चा भएको, घरमा अन्य मानिस कोही नभएको र अड्डा अदालतमा झिकाइएका बखत उपस्थित हुन नसक्ने भएका कारण मैले मेरो जेठाजु गणेशबहादुर चन्दलाई मेरो राजीखुशीका साथ जाहेरी दिन लगाएकी हुँ भन्ने मृतककी श्रीमती चित्रकला चन्दले गरेको कागज ।
मिति २०६६।३।१५ गते साँझको समयमा मृतक जनकबहादुर चन्द र प्रतिवादी गोविन्द भन्ने गजेन्द्रकुमार चन्द के कारणले हो एकआपसमा भनाभन गरिरहेका थिए । एक्कासी प्रतिवादी गजेन्द्रकुमार चन्दले मृतक जनकबहादुर चन्दलाई समाती भूइँमा लडाई कुट्न लागेको देख्दा मैले त्यसो नगर्नुहोस् भनी तान्न लाग्दा उल्टै मलाइसमेत हानेपछि होसमा आउँदा मृतकलाई प्रतिवादीले घाँटी थिची मारिसकेका थिए भन्ने व्यहोराको विनीता मल्लले गरेको कागज ।
प्रतिवादी गजेन्द्रकुमार चन्दले मृतक जनकबहादुरलाई मैरे घरको आगनमा झैझगडा गरी घाँटी थिची लातले हिर्काइरहेको देखेको हुँ । सो नगर भन्दा केही नसुनी जनकबहादुर चन्दको घाँटी थिची मारेका हुन् भन्ने व्यहोराको तुलसा सिंहले गरेको कागज ।
प्रतिवादी गजेन्द्रकुमार चन्द र मृतक हाम्रै घरको आँगनमा लडिरहेका थिए । प्रतिवादीले मृतक जनकबहादुरको घाँटी थिची मारेका हुन् भन्ने व्यहोराको पुनमकुमारी सिंहले गरेको कागज ।
मिति २०६६।३।१५ गते घटना घट्दाको समयमा म आफ्नै घरमा थिएँ । पुनमकुमारी सिंहले आफ्नै घरबाट माहिला बुबालाई मारे, यहाँ आउनुहोस् भनी कराएपछि म दौडदै घटनास्थलमा जाँदा जनकबहादुर चन्दको होस् आउँछ कि भनेर गुन्द्रीमा सुताएका थिए । प्रतिवादी गजेन्द्रकुमार चन्दले मार्ने उद्देश्यले नै कुटपीट गरी घाँटीको रूद्रघण्टी थिची कर्तव्य गरी मारेका हुन भन्ने व्यहोराको दशरथ चन्दको कागज ।
घटना घट्दाको समयमा तुलसा सिंहले आफ्नै घरबाट चिच्याएर जनकबहादुर सिंहलाई मारिदिन्छु भनी कराएको सुन्दा तत्काल घटनास्थल गई हेर्दा मृतक जनकबहादुर चन्द उत्तानो अवस्थामा परेको देखेको हुँ । निजको नाक मुखबाट रगत बगेको थियो । दायाँ आँखाको नानी दबेको र घाँटी सुन्निएको थियो । घटनाको प्रकृति हेर्दा प्रतिवादीले मृतकलाई कुटपीट गरी घाँटीको रूद्रघण्टी थिची जानी जानी कर्तव्य गरी मारेका हुन् भन्ने चित्रबहादुर चन्दको कागज ।
वारदातको समयमा म आफ्नै घरमा थिएँ । घटनाको बारेमा सुनी थाहा पाएको हुँ । घटनाको प्रकृति हेर्दा प्रतिवादी गजेन्द्रकुमार चन्दले मार्ने मनसायले नै जनकबहादुर चन्दलाई कुटपीट गरी घाँटीको रूद्रघण्टी थिची मारेकोमा मलाई पूर्ण विश्वास लाग्छ भन्ने पदमबहादुर शाहीले गरेको कागज ।
प्रतिवादी गजेन्द्रकुमारको श्रीमतीलाई मृतक जनकबहादुर चन्दले जिस्क्याएको कारण वादी र मृतकको बीचमा एकआपसमा झगडा हुन गई घटना घटेको र प्रतिवादीले मार्ने नियतले जनकबहादुर चन्दलाई कर्तव्य गरी मारेको हुनुपर्दछ भन्ने व्यहोराको कटकबहादुर चन्दले गरेको कागज ।
मृतक जनकबहादुर चन्दको मृत शरीरको घाँटीमा नङको डाम, नाकमा काटिएको घाउ, आँखामा नीलडाम भएको भन्ने लासजाँच मुचुल्का ।
प्रतिवादी गोविन्द भन्ने गजेन्द्रकुमार चन्दले मृतक जनकबहादुर चन्दलाई लात्ती मुक्का प्रहार गरी निजको घाँटी थिची कर्तव्य गरी मारेको तथ्य पुष्टि हुन आएकोले प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसूरमा १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने व्यहोराको अभियोग पत्र ।
मृतक जनकबहादुर चन्दले मेरो लिङ्गमा समाती दबाइरहेको अवस्थामा मैले होस गुमाई निजको गला दवाउन पुगेपछि निजको मृत्यु भएछ । मृतकलाई मैले मार्ने उद्देश्य नभई अचानक घटना घटेको हो । जाहेरीमा भएको व्यहोरामध्ये मृतक जनकबहादुर चन्दले गुहार मागी मलाई मार्न लाग्यो भन्ने कुरा झूठा हो, अरू व्यहोरा साँचो हो भन्नेसमेत व्यहोराको प्रतिवादी गजेन्द्रकुमार चन्दले अदालतमा गरेको बयान ।
मिति २०६६।३।२९ गते प्रहरीसमक्ष गरेको कागजको व्यहोरा साँचो हो । प्रतिवादी गजेन्द्रकुमार चन्दले मृतकलाई घाँटी च्यापी मारेका हुन् भन्ने मौकामा कागज गर्ने तुलसा सिंहले शुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६६।३।२९ गते प्रहरीसमक्ष गरेको कागजको व्यहोरा साँचो हो । प्रतिवादी गजेन्द्रकुमार चन्दले मृतकलाई घाँटी च्यापी मारेका हुन् भन्ने मौकामा कागज गर्ने चित्रकला चन्दले शुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६६।३।२९ गते प्रहरीसमक्ष गरेको कागजको व्यहोरा साँचो हो । मृतकलाई प्रतिवादीले घाँटी च्यापी मारेको कुरा प्रत्यक्षदर्शी पुनमकुमारी सिँहले भनेपछि थाहा पाएको हुँ भन्ने मौकामा कागज गर्ने दशरथ चन्दले गरेको बकपत्र ।
मिति २०६६।३।२९ गते प्रहरीसमक्ष गरेको कागजको व्यहोरा साँचो हो । मृतकलाई प्रतिवादीले घाँटी च्यापी मारेका हुन् भन्ने मौकामा कागज गर्ने पदमबहादुर शाहीले शुरू अदालतमा गरेको बकपत्र ।
जाहेरी व्यहोरा ठीक साँचो हो । मृतक जनकबहादुर चन्दलाई प्रतिवादीले दाहिने आँखामा हानी निजको रूद्रघण्टी घाँटी च्यापी मारेका हुन भन्ने जाहेरवाला गणेशबहादुर चन्दले शुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले मृतकलाई कुटपीट गरी मारेका हुन् भन्ने मौकामा कागज गर्ने कटकबहादुर चन्दले शुरू अदालतमा गरेको बकपत्र ।
मेरो बहिनी गीतालाई ससुरा नाता पर्ने मृतकले हातपात गरी अचानक घटना भै मृत्यु भएको हो भन्ने प्रतिवादीका साक्षी पूर्णबहादुर शाहीले शुरू अदालतमा गरेको बकपत्र ।
मृतकले गरेको अन्यायपूर्ण व्यवहारका कारण मृतक र प्रतिवादीबीच झगडा भै प्रतिवादीले बाध्य भै मृतकसँग दोहोरो कुटपीट हुँदा अचानक मृतकको मृत्यु भएको हो । निजलाई मार्नुपर्ने पूर्व रीसइबि पनि केही थिएन । मलाई जिस्काएका कारण कुटपीट भएको हो भन्ने प्रतिवादीका साक्षी गीता चन्दले शुरू अदालतमा गरेको बकपत्र ।
मृतकलाई प्रतिवादीले मारेका हुन् भन्ने मौकामा कागज गर्ने विनीता मल्लले शुरू अदालतमा गरेको बकपत्र ।
मृतकको मृत्यु प्रतिवादी गजेन्द्रकुमार चन्दको कर्तव्यबाट नै भएको हो भन्ने मौकामा कागज गर्ने पुनमकुमारी सिंहले शुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. अनुसार कैद १० वर्ष हुने ठहर्छ । वादी पक्षको अभियोग दावीअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. को दावी पुग्न सक्दैन भन्ने शुरू दैलेख जिल्ला अदालतको मिति २०६६।७।२३ को फैसला ।
मृतक र मबीच कुनै रीसइबि थिएन । मेरो श्रीमतीलाई मृतकले जिस्क्याएकाले झगडा भएकोसम्म सत्य हो । कुन अवस्थामा मृतकको घाँटी च्याप्न पुगेको थिए भन्ने पहिचान गर्नुपर्ने विषय हो । तर, फैसला गर्दा अगाडिको घटना र विषयवस्तुलाई मात्र आधार लिएको मिलेको छैन । मैले आफ्नो ज्यान बचाउनका लागि मृतकको घाँटी थिचेको मात्र हुँ मार्ने कुनै पूर्व रीसइबि मनसाय नभएको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय गरेको दैलेख जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ७(१) नं. बमोजिम सफाइ पाऊँ भन्ने व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत, सुर्खेतमा परेको पुनरावेदन पत्र ।
यसमा प्रतिवादीले तत्काल उठेको रीस थाम्न नसकी आवेशमा आई हातले घाँटी थिची लात मुक्काले प्रहार गर्दा मरेको हुँदा प्रतिवादी गोविन्द भन्ने गजेन्द्रकुमार चन्दलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं. अनुसार कैद १० (दश) वर्ष हुने ठहर गरेको शुरू दैलेख जिल्ला अदालतको मिति २०६६।७।२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, सुर्खेतको मिति २०६७।३।२७ को फैसला ।
मृतकले मलाई मार्नेसम्मको प्रयत्न गरी मेरो लिङ्गमा समातेकोले आत्मरक्षाको लागि निजको घाँटी समात्दा निजको मृत्यु भएको हो । निजलाई मार्नुपर्ने सम्मको कुनै रीसइबि नभएको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ७(१) नं. बमोजिम सजायबाट उन्मुक्ति दिनुपर्नेमा ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला बदर गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी गजेन्द्रकुमार चन्दको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान वैतनिक अधिवक्ताद्वय श्री हरिशंकर कर्ण तथा श्री श्रुतीकुमारी रेग्मीले प्रस्तुत गर्नु भएको बहस समेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, सुर्खेतबाट प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय गर्ने गरी भएको फैसला मिलको छ, छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी गोविन्द भन्ने गजेन्द्रकुमार चन्दले जनकबहादुर चन्दलाई लात्ती मुक्का प्रहार गरी निजको घाँटी थिची हत्या गरेकोले निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग मागदावी भएकोमा निज प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १४ नं. को कसूरमा १० वर्ष कैद सजाय हुने ठहर गरेको शुरू दैलेख जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादीको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको पाइयो ।
३. अब, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम प्रतिवादीलाई सजायको माग दावी लिएकोमा सो नठहरेतर्फ नेपाल सरकारको पुनरावेदन नहुँदा सोतर्फ विचार गर्नु परेन । मृतकले आफूलाई मार्नेसम्मको प्रयत्न गरेको हुँदा आत्मरक्षाको लागि निजको घाँटी समात्दा निजको मृत्यु भएकोले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ७(१) नं.बमोजिम आत्मरक्षाको सुविधा पाउनुपर्ने भनी यस अदालतमा प्रतिवादीले गरेको पुनरावेदनमा जिकीर लिएको देखिन्छ । निजको यो जिकीर मनासिब छ छैन भन्ने कुरा मात्र निर्णयार्थ प्रस्तुत यस मुद्दामा वारदात हुँदाको परिवेश, तथ्य, प्रमाण र कानूनको यथोचित मूल्याङ्कन हुन आवश्यक छ ।
४. जनकबहादुर चन्दको मृत्यु भएको तथ्यमा विवाद भएन । अब, पुनरावेदकले जिकीर लिएबमोजिम निजको प्रतिरक्षाको दावी औचित्यपूर्ण (Justifiable) छ छैन सो नै विचारणीय प्रश्न हो । कुनै वारदातमा दावी गरिएको प्रतिरक्षाको जिकीर औचित्यपूर्ण छ वा छैन भन्ने कुरा त्यस्तो वारदातको प्रकृति र परिस्थितिबाट निर्धारण हुने कुरा हो । यसका लागि प्रत्येक वारदातलाई त्यो घटित भएको परिस्थितिका आधारमा विश्लेषण गर्नुपर्ने हुन्छ । प्रस्तुत विवादमा एउटा भोजमा आफ्नी श्रीमतीलाई जिस्क्याएकोमा प्रतिवाद गर्दा हुन गएको झडपका कारणबाट कसैको मृत्यु हुन पुगेको छ । त्यो मृत्युसँग प्रतिवादीको सम्बन्ध निर्धारण गर्नुपर्दा निजले गरेका कार्य र मृतकको कार्यको प्रकृतिले प्रतिवादीको कार्य प्रतिरक्षात्मक प्रकृतिको हो, होइन निष्कर्षमा पुग्ने एकमात्र आधार हो ।
५. कुनै कार्य प्रतिरक्षाका लागि गरिएको हो होइन भन्ने कुरा प्रत्येक वारदातको चरित्रमा भर पर्ने कुरा हो । अपराध स्थापित हुन आपराधिक कार्य र आपराधिक मनसाय स्थापित हुनुपर्दछ । तर, आपराधिक मनसाय नहुँदानहुँदै पनि आपराधिक कार्य हुन पुग्दछ । अपराध भए पनि उक्त कार्यमा खास परिस्थिति वा अवस्था प्रमाणित भएमा अपराध नमानिने गरी आपराधिक दायित्वबाट छूट दिने कानूनी व्यवस्था छ । खास अवस्थामा अपराध हुन पुगेमा त्यस्तो प्रतिवादीलाई आपराधिक कार्यबाट उन्मुक्ति दिन सकिन्छ र सजाय नगर्न सकिन्छ । यही छूटलाई नै वैध प्रतिरक्षाको रूपमा कानूनले मान्यता दिएको हुन्छ । हाम्रो कानूनी प्रणालीमा पनि यस्तो वैध प्रतिरक्षा माफीयोग्य वा औचित्यपूर्ण मानी कसूरलाई बात नलाग्ने वर्गमा राखेको छ । प्रस्तुत विवादमा यी पुनरावेदकले औचित्यपूर्ण प्रतिरक्षाको जिकीर लिएको अवस्था छ । आपराधिक दायित्वबाट छूट पाउनको लागि कानूनमा व्यवस्था भएबमोजिम सो कार्यको औचित्य सो कुराको जिकीर लिनेले स्थापित गर्न सक्नु पर्दछ ।
६. औचित्यपूर्ण प्रतिरक्षा (Justifiable Defense) स्थापित हुनको लागि सिद्धान्ततः केही तत्वहरूको पुष्टि हुनु जरूरी हुन्छ । यो सिद्घान्त आकर्षित हुन प्रतिवादीका लागि बल प्रयोग अन्तिम विकल्प रहेको देखिनु पर्ने, मृतक र प्रतिवादीको शक्ति सन्तुलन बराबर रहनु पर्ने, प्रतिवादीले न्यूनतम शक्ति प्रयोग गरेको देखिनु पर्ने, शक्ति प्रयोग नगर्दा प्रतिवादीलाई नै जोखिम हुनुपर्ने र मृतक र प्रतिवादीबीचको द्वन्द्वमा समान प्रकृतिका साधन प्रयोग हुनुपर्ने भन्ने पाँच अवस्था प्रमुख हुन्छन् । कुनै पनि हत्या औचित्यपूर्ण प्रतिरक्षाको सिद्घान्तअन्तर्गत परी प्रतिवादीले सजायबाट छूट पाउन सो हत्यामा बल अन्तिम विकल्प (Last Resort) को रूपमा प्रयोग भएको हुनुपर्दछ । कुनै व्यक्तिले ज्यान लिने मनसायले कुनै पनि माध्यमबाट जोरजुलूम गरेको कारण निजको नियन्त्रण वा पञ्जाबाट उम्कन नसक्ने अवस्था सिर्जना भएको वा निजको नियन्त्रणबाट भाग्ने, उम्कने, गुहार मागी सहयोग प्राप्त गर्नसक्ने वा प्रहरीलाई खबर गर्न सक्ने अवस्था नभएबाट त्यस्तो जुल्मीका विरूद्घ केही गर्दा निजको मृत्यु भएको प्रमाणबाट देखिनु औचित्यपूर्ण प्रतिरक्षाको पहिलो आवश्यकता हो । यस्तो कार्य तत्काल नै हुनु पर्दछ । धेरै समयपछि आफूलाई मृतकबाट ज्यानको खतरा थियो भन्ने प्रतिरक्षाको आधार बन्न सक्दैन । त्यसपछिको दोस्रो अवस्था भनेको जुल्मी र प्रतिकार गर्ने व्यक्तिको बल वा शक्ति बराबर देखिनु हो । औचित्यपूर्ण प्रतिरक्षा मानी सजायमा छूट दिनका लागि न्यायकर्ताले हेर्नुपर्ने तेस्रो महत्वपूर्ण पक्ष हो वारदातमा न्यूनतम् शक्तिको प्रयोग भएको देखिनु । प्रतिवादीले आक्रमणकारीलाई कमभन्दा कम शक्ति वा बल प्रयोग गरेको अवस्था प्रमाणबाट स्थापित हुनुपर्दछ । मानिसको ज्यान लिन पाउनु कसैको पनि सुविधाको कुरा होइन । ज्यान लिनु अपराध नै हो । तर केही यस्ता अवस्था आई पर्दछन् जसमा यो कार्य नहुँदा प्रतिवादी वा कर्ता स्वयम् तत्काल जोखिमा परेको अवस्था देखा पर्दछ । तत्काल केही नगरेमा प्रतिवादीको आफ्नै ज्यान जाने अवस्था देखिनु पर्दछ । तत्काल जोखिमको अवस्था परिवर्तित नभएको अवस्था देखिनु यो सजायको छूट पाउन देखिनु पर्ने अर्को अवस्था हो । तत्काल आफूमाथि खतरा छ र बाँच्ने अरू कुनै विकल्प छैन भन्ने अवस्था सिर्जना भएको प्रमाणबाट पुष्टि भएमा मात्र कुनै पनि हत्या औचित्यपूर्ण प्रतिरक्षाको वर्गमा पर्दछ । यो सिद्घान्त प्रयोग गरी अभियुक्तको कार्यलाई बात नलाग्ने अपराधको वर्गमा पार्न हेरिनु पर्ने अर्को प्रमुख तत्व हो समानुपातिक शक्तिको प्रयोग भएको हुनु । आक्रमणकारीले जोखिमी हतियारको प्रयोग गरेको छैन भने प्रतिरक्षाकर्ताले पनि जोखिमी हतियार प्रयोग गरेको हुनु हुँदैन । मृतकले जस्तो शक्तिको प्रयोग गरेको छ त्यस्तै शक्तिको प्रयोग प्रतिवादीले पनि गरेको हुनुपर्दछ ।
यी माथिका पाँच तत्वहरूमध्ये एक वा एकमध्ये बढी तत्वको अभाव छ भने त्यस्तो तत्वको अभावमा औचित्यपूर्ण प्रतिरक्षाको जिकीर मान्य हुन सक्दैन । उक्त तत्वहरू सँगसँगै एकअर्कासँगै जोडिएर आएको हुनुपर्दछ ।
यस सम्बन्धमा हाम्रो विद्यमान कानूनी व्यवस्थाको पनि विवेचना हुनु उपयुक्त देखिन्छ । ज्यान सम्बन्धी महलको ७(१) नं. मा भएको कानूनी व्यवस्था हेर्दा “कसैले हात हतियार लिई वा नलिई आफ्नो ज्यान लिनेसम्मको जोर जुलूम गर्न लागेकोमा त्यस्तालाई पक्राउ गर्न वा गुहार मद्दत माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसक्ने वा त्यस्तो पञ्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउन समेत फूर्सद नपाउने अवस्थामा आफूले केही नगरे आफ्नो ज्यान रहँदैन भन्ने पूरा विश्वास भई ज्यान बचाउनका खातिर उसै मौकामा केही गर्दा सो जुलुमीको ज्यान मरेकोमा ज्यानमाराको बात लाग्दैन” भन्ने उल्लेख छ ।
७. कुनै व्यक्तिले आफूमाथि हातहतियारसहित वा रहित कुनै पनि माध्यमबाट जोरजुलूम गरेको कारण निजको नियन्त्रण वा पञ्जाबाट उम्कन नसक्ने, गुहार मद्दत माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसक्ने वा त्यस्तो पञ्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउन नसक्ने अन्तिम अवस्था सिर्जना भएबाट त्यस्ता जुल्मीका विरूद्घ मनासिब माफिकको उचित बल प्रयोग गर्न नपाइने होइन । तर, त्यस्तो बल वा शक्ति माथि विवेचित तत्वबाट परिचालित हुने अवस्था वा मनासिब किसिमबाट अर्थात् औचित्य पुष्टि हुने किसिमबाट प्रयोग भएको देखिनु आवश्यक छ । अब, प्रस्तुत वारदातमा आपराधिक दायित्वबाट यी प्रतिवादीले छूट पाउन सक्ने किसिमबाट उक्त कार्य भएको छ, छैन भन्ने प्रश्न विचारणीय छ ।
८. प्रस्तुत विवादको जरिया मृतकले यी प्रतिवादीकी श्रीमती गीतालाई जिस्क्याएको कारण हुन पुगेको छ । मिति २०६६।३।१५ गते महेन्द्र सिंहको घरमा घरपैँचोको पूजाको कार्यक्रम भएको र उक्त कार्यक्रममा प्रतिवादी, प्रतिवादीकी श्रीमती गीता, मृतक जनकबहादुर चन्द, तुलसा सिंह, चित्रकला चन्द, पुनमकुमारी सिँह, विनीता मल्लसमेत सरिक भएकोमा उक्त व्यक्तिहरूमध्ये प्रतिवादी र मृतकसँगै बसी रक्सी सेवन गरिरहेको अवस्था मृतकले प्रतिवादीकी श्रीमती गीतालाई “डू यू लाइक” भनेबाट विवाद सिर्जना भएको देखियो । शुरूमा मृतकले प्रतिवादीलाई सामान्य रूपमा धकेले पनि निजबाट अन्य थप प्रतिक्रिया नजनाएको अवस्थामा पनि प्रतिवादी आवेशमा आई मृतकका विरूद्घ देहायका कार्य गरेको देखिन्छः–
(१) यी प्रतिवादीले पहिला मृतकलाई भूइँमा लडाएको,
(२) भूइँमा लडाई सकेपछि आँखा तथा अनुहारमा मुक्काले प्रहार गरेको,
(३) मृतक भूइँमा लडी भूइँबाट उठ्न नसक्ने अवस्थामा रहेको स्थितिमा नै निजको जीउमाथि चढेको,
(४) घाँटी च्यापी दबाएको,
(५) सोही कारण मृतकको मृत्यु भएको ।
९. प्रस्तुत विवादमा प्रतिवादीले मृतकविरूद्घ निजको ज्यान नगएसम्म लगातार चार प्रकारबाट एकपछि अर्को कार्य गर्दै गएको छ । तर, मृतकबाट एकपटक धकेल्ने कार्य भएको बाहेक अरू कुनै पनि शक्ति प्रयोग भएको छैन । यहाँ प्रतिवादीले मृतकमाथि प्रयोग गरेको बल मनासिब माफिक देखिएको छैन । घातक हतियार दुवै पक्षसँग नभएता पनि शारीरिक बल मृतकको तुलनामा प्रतिवादीमा ज्यादा रहेको भन्ने तथ्य एकपटक नभई मृतकलाई पटक–पटक भूइँमा पछार्नु, मुक्काले हान्नु र नाजुक अवस्था बन्दै गएपछि शरीरमाथि चढी घाँटी थिच्नु, दबाउनु जस्ता कार्यहरू भएको कुरा प्रस्तुत वारदात आफैले बोलेका तथ्य हुन् र यी तथ्य प्रतिवादीको प्रतिरक्षाको सारथि बन्न सक्ने अवस्थाका छैनन् ।
१०. वारदात भएको भनिएको स्थान एकान्त नभई घरपैँचोको भोजमा धेरै मानिसहरू जम्मा भएको स्थान हो । यहाँ शक्तिको प्रयोग हेर्दा प्रतिवादीलाई नभई मृतकलाई सहयोग गरी निजको ज्यान बचाउनु पर्दथ्यो, तर सो पहल हुन नपाएको स्थिति छ । आफ्नै अगाडि प्रतिवादीले मृतकलाई मारेको भनी तुलसा सिँह, चित्रकला चन्द, पुनमकुमारी सिँह, विनीता मल्ल तथा प्रतिवादीकै श्रीमती गीता चन्दले मौकामा गरेको कागज तथा अदालतमा गरेको बकपत्रसमेतबाट प्रतिवादीले प्रतिकार नगरेको भए निजको ज्यान जोखिममा थियो भन्ने देखिन आउँदैन । प्रतिवादीको शरीरमा संघर्षका कुनै पनि चिन्ह नहुनु, तर आक्रमणकारी भनिएको व्यक्तिको मृत्यु हुन पुगेबाट बल समानरूपमा प्रयोग भएको थियो भन्न मिल्दैन । मृतकले यी प्रतिवादीलाई ज्यानै जाने गरी आक्रमण गरेको भए घरपैँचो कार्यक्रममा आएका वारदातस्थलमा रहेका अन्य व्यक्तिहरूसँग सहयोगको याचना गर्न नसकिने अवस्था थिएन । ती व्यक्तिहरूसँग सहयोग नमागी तिनै व्यक्तिहरूको अगाडि नै मृतकको ज्यान लिएको अवस्था देखिएको छ । प्रस्तुत घटनाक्रमले प्रतिवादीको ज्यान खतरामा थियो भनी अर्थ गर्न मिल्ने देखिन आएन । वारदातको समग्र स्थिति, मृतक र यी प्रतिवादीको कार्यसमेतको विवेचनाबाट यी प्रतिवादीलाई सामान्य प्रतिरक्षाको सिद्घान्त एवं हाम्रो कानूनले स्वीकार गरेको प्रतिरक्षाको सिद्घान्तले सहयोग गर्न सक्ने देखिन आएन ।
११. ज्यानसम्बन्धी महलको ७(१) नं.को जिकीर लिई सजायबाट उन्मुक्ति पाउन माग गरिएको अवस्थामा वारदात हुँदाको परिवेश, प्रतिवादीले प्रतिकार गर्दा निजले प्रयोग गरेको शक्तिसमेतलाई विचार गरी प्रतिरक्षाको सुविधा नदिइएका उदाहरण छन् । नेकाप २०४२, जेठ, नि.नं. २२७६, पृष्ठ १९० को नजीर सजायबाट उन्मुक्ति नदिइएको उदाहरण हो । उक्त नजीरमा अन्तर्निहीत तथ्य हेर्दा अभियुक्त रूपनारायण सिँहले सीताराम सिँहलाई टाउकोमा लाठीले प्रहार गरी हत्या गरेको हुन्छ । प्रतिवादीले आत्मरक्षाको दावी लिँदै उक्त वारदातमा प्रतिकारका क्रममा घाइते भएको भनी घाजाँच समेत गराई आत्मरक्षाको जिकीर लिएको हुन्छ । आत्मरक्षाका आवश्यक तत्वको अभावमा उक्त वारदात आवेशप्रेरित हत्या ठहर भएको अवस्था छ ।
१२. प्रस्तुत वारदातको प्रकृति हेर्दा माथि विवेचित आत्मरक्षाका आवश्यक तत्वको सर्वथा अभाव रहेको छ । वारदात भएको स्थानमा वारदातस्थलमा रहेका विनीता मल्ल, तुलसा सिंह र प्रतिवादीकी श्रीमती गीता चन्दसमेत घटना छुट्याउन जाँदासमेत यी प्रतिवादीको पञ्जाबाट मृतकलाई अलग गर्न नसकी प्रतिवादीको कार्यबाट मृतक जनकबहादुरको मृत्यु भएको स्थिति छ । तसर्थ, पुनरावेदक प्रतिवादीको ज्यानसम्बन्धी महलको ७(१) नं. को माग कुनै पनि दृष्टिले उचित छैन ।
१३. निज प्रतिवादीले लिएको ज्यानसम्बन्धीको महलको ७(१) नं.को जिकीर पुग्न नसक्ने सम्बन्धमा माथि विवेचना भइसकेको छ । निज प्रतिवादीको कार्य ज्यानसम्बन्धीको महलको १४ नं मा व्यवस्थित आवेशप्रेरित हत्याको कसूर ठहर गरी निजलाई सोही नं. बमोजिम १० वर्ष कैद सजाय हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन भन्ने अर्को प्रश्नतर्फ विचार गर्नुपर्ने देखिन आयो । मृतक पक्ष र प्रतिवादी पक्ष महेन्द्रसिँहको घरको घरपैचोँ कार्यक्रमको दिनमा दुवै एकापसमा मिली सँगै रक्सी सेवन गरिरहेको अवस्थामा मृतकले प्रतिवादीकी श्रीमती गीता चन्दलाई अवाच्छित शब्द प्रयोग गरेबाट विवाद सिर्जना भएको देखियो । ती अवाञ्छित शब्दहरूको अर्थ के हो भनी प्रतिवादीले मृतकलाई सोध्दा विवाद भई पहिला मृतकले प्रतिवादीलाई धकेलेबाट प्रस्तुत वारदातको प्रारम्भ भएको छ । आफ्नी पत्नीलाई जिस्क्याएको आवेशमा आई मृतकमाथि प्रतिवादीले आक्रमण गरी मृतकको घाँटी दबाएको कारणबाट जनकबहादुर चन्दको मृत्यु भएको छ । आफ्नी पत्नीलाई तेस्रो व्यक्तिले जिस्क्याएको कारण त्यस्तो पक्ष उत्तेजित हुनु स्वाभाविक देखिन्छ । सोही उत्तेजनाको अवस्थामा प्रतिवादी गजेन्द्रकुमार चन्दले मृतक जनकबहादुर चन्दलाई पहिला भूइँमा लडाई त्यसपछि निजको घाँटी दबाई मारेको छ ।
१४. यस्तो अवस्थामा घटित वारदातको प्रकृति, “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्ने सम्मको इबी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात मुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा” भन्ने मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं ले वर्णित गरेको अवस्थासँग मेल खाएको छ । सम्बन्धित वारदातमा लात, हात र मुक्कासम्म प्रयोग भएको देखिन्छ. । प्रस्तुत वारदातको समग्र प्रकृतिको सूक्ष्म मनन् गरी हेर्दा ज्यान मार्ने गरी पूर्व रीसइबिका साथ योजना बनाएको र सोहीअनुरूपका कार्य प्रतिवादीले गरेको देखिँदैन । तर, मृतकले प्रतिवादीकी श्रीमतीलाई जिस्क्याएको हुँदा आवेशमा आई लात मुक्काले हिर्काई घाँटी दबाई मारेको उक्त कार्य ज्यानसम्बन्धी महलको १४ नं. अन्तर्गतको वारदात भएको स्पष्ट देखिन्छ ।
१५. अतः प्रतिवादी गोविन्द भन्ने गजेन्द्रकुमार चन्दलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १०(दश) वर्ष कैद हुने ठहर्याई दैलेख जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, सुर्खेतबाट मिति २०६७।३।२७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ७(१) नं. बमोजिम सजायबाट उन्मुक्ति पाउनु पर्छ भन्ने प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । फैसलाको जानकारी निज थुनामा रहेको कारागारमार्फत गराई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.ज्ञानेन्द्रबहादुर कार्की
इति संवत् २०७० साल जेठ २९ गते रोज ४ शुभम...
इजलास अधिकृतः दीपक ढकाल