शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४८५४ - कर्तव्य ज्यान

भाग: ३६ साल: २०५१ महिना: बैशाख अंक:

निर्णय नं. ४८५४          ने. का. प. २०५१    अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री कृष्णकुमार बर्मा

२०४९ सालको फौ. पु. नं.४०३

२०४९ सालको साधक नं.९७

फैसला मिति २०५०//२४/

 

मुद्दाःकर्तव्य ज्यान ।

पुनरावेदक

प्रतिवादीःजिल्ला मोरङ शनिश्चरे गा. वि. स. वडा नं. ७ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा मोरङमा कैदमा बस्ने हरिमाया लिम्बुनी ।

विरुद्ध

विपक्षी

वादीःजयकुमार भट्टराईको जाहेरीले श्री ५ को सरकार ।

 

§  ज्यान सम्वन्धी महलको ७ नं. मा आफ्नो ज्यान लिनासम्मको जोरजुलुम गरेकोमा केही गर्दा निज जुल्मीको ज्यान मार्न गएकोमा वात लाग्ने व्यवस्था गरी आत्मरक्षको लागि गरिएको कार्यलाई ज्यान सम्वन्धीको अपराधको रुपमा व्यवस्था गरिएको देखिन्छ । आत्मरक्षाको जिकिर लिने पक्षले ऐनमा वर्णित अवस्था हात हतियार लिई वा नलिई जुल्मीले ज्यान लिनसम्मको जोर जुलुम गर्न लागेको निज जुल्मीलाई पक्राउ गर्न वा गुहार मद्दत माग्न नसकिने वा मागे पनि पुग्न नसकिने, जुल्मीको पञ्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउन समेत फुर्सद नपाउने, आफुले केहि नगरे आफ्नो ज्यान समेत जाने पूरा विश्वास हुनु पर्ने अवस्था देखाउन सक्नु पर्ने ।

(प्र. नं. २३)

§  मृतकले प्रतिवादीको हातमा हतियार दिई सुतिराखेको अवस्था देखिन्छ । यस्तो अवस्थामा उसले हतियार मृतकको घाँटीमा प्रहार नगरी अन्यत्र फाल्न सक्ने अवस्था थिएन भन्न सकिएन । १५ वर्ष र १० वर्षका छारा छोरी समेत सोही घरमा सुतेकोमा गुहार माग्ने भाग्ने उम्कले अवस्था थिएन अथवा लोग्नेले लखेटेकै भए पनि घाइते सम्म पर्ने थिएन भन्ने अवस्था नदेखिदा ज्यान सम्बन्धीको ७ (१) अनुसार आत्मरक्षको लागि मेरो पक्षले दाउँ मृतकको गर्धनमा प्रहार गरेको हो भन्ने प्रतिबादी तर्फबाट विद्वान अधिवक्ताको तर्क संग सहमत हुन नसकिने ।

(प्र. नं. २३)

§  मृतकलाई मारेको कुरामा प्रतिबादी स्वयं सावित भएकि छन् । उनको साविति बयानलाई लासजाँच प्रकृति मुचुल्का, शब परीक्षण प्रतिवेदन र बरामद भएको दाउ समेतले पुष्टि गरेको देखिन्छ । तसर्थ प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १३ (३) अनुसार कसुरदार ठहर गरेको मोरङ जि. अ. को फैसला सदर गर्ने गरेको कोशी अञ्चल अदालत र पुनरावेदन अदालत बिराटनगरको फैसला मनासिब देखिने ।

(प्र. नं. २३)

पुनरावेदक प्रतिवदी तर्फबाटःविद्वान अधिवक्ता श्री अग्नि खरेल

विद्वान अधिवक्ता श्री जगत प्रसाद फुयाल

विपक्षी तर्फबाटः

अबलम्वित नजीरः

आदेश

न्या. केदारनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) को देहाव (ख) अनुसार पुनरावेदन अदालत विराटनगरको मिति ०४८।१२।२३ को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छ :

२. मिति ०४५।१२।१३ गते रातको ११ वजे आपसी झगडाको कारणले लाल बहादुर पोङहाङ लिम्बूलाई निजको श्रीमति हरिमाया लिम्बूले धारिलो बाम्फोक दाउले घाटीमा प्रहार गरी काटी मारेको अवस्थामा निज मृतकको लास नदेखिएको हुँदा गाउँको पञ्चको हैशियतले जाहेर गर्न आएको छु भन्ने जाहेरी दरखास्त ।

३. मृतकको लास रहेको स्थान तथा लास समेत को मिति ०४५।१२।१४ को लास तथा घटनास्थल प्रकृति मुचुल्का ।

४. मृतक लाल बहादुरको घरबाट फलामको दिकया (दाउ) बरामत भएको मिति ०४५।१२।१४ गतेको बरामती मुचुल्का ।

५. बाबु र सानीआमा हरिमाया लिम्बूनी एक आपसमा बरावर झगडा र कुटपिट गर्ने गर्दथे। आजभन्दा ५७ दिन अगाडी आमाले बाबुलाई अनावश्यक कुटपीट गरी रिसिइवी राखेको थियो । ०४५।१२।१३ गते राती खाना खाई बाबु आमा सानी बहिनी टाडमाथी र म तथा ठुलो बहिनी टाडमुनी सुतेको बेला राती २.३० बजेतिर प्रहरीहरु तिम्रा बाबुलाई काटेको छ भनी हेर्दा काटी मारेको रगत पक्ष भएको बाबुको लास देखे, बाबु लाल बहादुर लाई सानीआमा हरिमाया लिम्बूनीले नै पुराने रिसिइवी लिइ धारिलो हतियार प्रहार गरि काटी मारेको हो, निजवाहेक अरुउपर शंका लाग्दैन भन्ने मृतकको छोरा निर बहादुर लिम्बूले ०४५।१२।१५ गतेमा प्रहरीमा गरेको कागज ।

६. मृतक लाल बहादुर पाङहाङ लिम्बूको मिति ०४५।१२।२२ को पाष्मार्टम रिपोर्ट ।

७. ०४५।१२।१३ गते राती म र मेरो श्रीमान लाल बहादुर जाँड रक्सीले मातेका थियौं वच्चालाई दुध खुवाउन श्रीमान र मेरो झगडा परीरहेको बेला सिरानमा राखेको बमफोक निकाली श्रीमानले तैले पलाइ काट्नु पर्छकी तलाई म दुई टुक्रा पारीदिन्छु भनी सुती सुती बमफोक खुकुरी जस्तो नचाई मैले काट्नै पर्छ भनी जवरजस्ती गरेकोले मैले दुई हातले बामफोक खुकुरी जस्तो उठाई बायाँ हातले घाँटी छामी देखाएकोले ख्वाप्प हाने निजको देब्रे खुट्टा मात्र छटपटायो, शरिर चलमलाएन । तेतिबेला निजले तीन चोटी घ्यार घ्यार गर्‍यो । त्यस पछि म आफ्नो वच्चा बोकी आफ्नो सानी आमाको घरमा गई घटनावारे भन्दा प्रहरीमा खवर गर भनेकाले प्रहरीमा गै आफुले श्रीमानलाई काटेको कुरा सुनाएँ र प्रहरी आई हेर्दा श्रीमान मरेको कुरा थाहा पाए । पतिलाई काटी मार्नु पर्ने सम्मको पुर्व रिसिवी केहि पनि छैन बारदालको दिन गर्दन थाप कि मलाई काट भनी भनेकोले अब अलाई काट्नेनै रहेछ भनि पतिलाई काटेको हुँ । अरु कसैको संलगनता छैन भन्ने प्र. हरिमाया लिम्बूनीको प्रहरीमा २०४६।१२।१६ गतेको वयान ।

८. हरिमाया लिम्बूनीले आफ्नो लोग्ने स्वस्नीको झैझगडाको झोकमा आफ्नो पतिलाई धारीलो हतियार प्रयोग गरि काटेर मेरो घरमा आई अलाई भन्दा मैले प्रहरीमा जानु भनी छोरा टिकाराम लिम्बूलाई अराई साथ पठाएको छु । ज्वाई लाल बहादर लाई अरु कसैले काटी मारेको होईन हरिमायाले काटेको चोटबाट मृत्यु भएको हो भन्ने विष्णु कुमारी लिम्बूले २०४५।१२।२० मा प्रहरीमा गरेको कागज ।

९. जाहेरीमा लेखिएको वारदात अवस्थामा मेरो दिदिले २ वटा भान्जी बोकि मेरो घरमा आएको थियो र म सुती निदएको अवस्था आमाले दिदि संग चौकिमा जाँ भनी उठाएकोले म दिदीसंग भान्जी बोकि चौकिमा जादा दिदीले भागौ भन्दा प्रहरी चौकी जानु पर्छ भनी गायौं । प्रहरी संग दिदीले सब कुरा भनेपछि दिदी प्रहरी चौकीमा नै बसी म प्रहरी संग भिनाजुको घरमा आए । दिदी भिनाजु जगडा गर्थे भन्ने कुरा सुनेको हुँ रिस आवेशमा अपराध गरेजस्तो लाग्छ, दिदीले आफैले काटे भनेकोले अरु संका राख्ने कुरा भएन भन्ने टिकारम लिम्बूको प्रहरीमा भएको कागज ।

१०. हरिमाया लिम्बुनीले मेरो घरमा गई मेरो श्रीमती विष्णुकरमारी लाई लोग्नेलाई काटे भनी भनेको कुरा श्रीमतीले मलाई भन्दा थाहा पाएको यो अपराध हरिमायाले नै गरेको मलाई विस्वास लाग्छ । वारदात मितिमा म आफ्ने घर छैन भन्ने अम्बरबहादुर लिम्बूले ०४५।१२।२० मा प्रहरीमा गरेको कागज ।

११. हरिमायाले आफ्नो पति लाल बहादुरलाई काटी मारेको कुरा म धनकुटा गएको बेला सुनी थाहा पाएँ दिदीहरुको घरमा आउदा भिनाजुलाई काटी मारेको नै रहेछ भन्ने राम बहादुर लिम्बूले प्रहरीमा गरेको कागज ।

१२. ०४५।१२।८ गते दिदी भिनाजुको झगडा हुँदा मैले छुट्टाई दिएको थिए, ०४५।१२।१३ गतेको भोलिपल्ट घरतर्फ आउदा मेरो घरको आमाले तिम्रो दिदीले भेनालाई काटी मारेको भन्ने कुरा थाहा पाए । तर किन काटेमारेका हुन सो कुरा मलाई थाहा भएन भन्ने गणेश सुब्बाको प्रहरीमा कागज ।

१३. हरिमाया लिम्बूनीले आफ्नो लोग्ने लाल बहादुरलाई काटी प्रहरी चौकीमा गई भनेबाट यो अपराध निजले गरेको हो भनी अधिकांश सर्जमिनका मानिसले लेखाई दिएको ०४५।१२।२५ को सर्जमिन मुचुल्का ।

१४. प्रतिवादी हरिमाया लिम्बूनीले ज्यान सम्बन्धी महलको १ विपरीत कसुर गरेको प्रमाणित हुन आएकोले निजलाई ऐ महलको १३(१) बमोजिम सजाय गरि पाउँ भनी प्रहरीमा प्रतिवेदन माग दावी ।

१५. एक हप्ता अघि देखि पतिले मलाई कुटपीट गरि नानाथरिका गाली गर्दै आउनु भएको थियो, पति लाल बहादुरले सिरानमा राखेको बम्फोक (दाउ) निकाली कि तलाई म काट्छु कि मलाई तैले काट्नु पर्छ भनि ज्यादै ढिपिगरी घाटी थापी कर गर्न थाल्नु भएकोले मर्दैनहोला भन्ने ठानी पतिको घाटी दाउले हानी सानीआमाको घर गई सानीआमालाई भनी प्रहरी चौकीमा गई खबर गरेकी हुँ भन्ने हरिमायाले अदालतमा गरेको वयान ।

१६. प्र. हरिमाया लिम्बुनीले आरोपित कसुर गरेमा साविती भई वयान गरेको विष्णु कुमारी टिकारा लिम्बू मौकामा प्रहरीमा भएको कागज बाट प्रतिवादीको साविती भनाईलाई समर्थित हुने र वरामती दसिलाई समेत सनाखत गरेको सर्जमिनका मानिसले पनि निज उपर शंका गरेको हुँदा प्र. हरिमायाले प्रहरी प्रतिवेदन दावी बमोजिम कसुर गरेको ठहराई सो सजाय चर्को पर्न जाने हुँदा अ. वं. १८८ नं. को राय व्यक्त गरि ०४६।३।५।२ मा मोरङ जि. अ. बाट भएको फैसला ।

१७. शुरु फैसला चित्त बुझेन सो बदर गरि पुनरावेदन जिकीर अनुसार गरि पाउँ भन्ने हरिमाया लिम्बूनीको ०४७।२।१६ को पुनरावेदन ।

१८. प्र. हरिमाया लिम्बूनीले म र श्रीमान जाँड रक्सी खाई मात्तिएका थियौं । आफ्ना पती लाल बहादुरले बच्चालाई दुध खुवाउन झगडा परेको वेला श्रीमानले कि तैले काट्नु पर्छ कि  तलाई मैले २ टुक्रा पारि दिन्छु भनेकाले मैले बामफोक (दाउ) ले काटेकोमा साविती भएको हुँदा प्र. हरिमाया लिम्बूनीलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सर्वस्व सहित जन्म कैदको सजाय हुँने र घटना क्रम र परिस्थीतिलाई विचार गरि अ. वं. १८८ नं. बमोजिम राय व्यक्त गरेको समेत मुनासिव ठहराई कोशी अञ्चल अदालतबाट ०४७।४।६ मा भएको फैसला ।

१९. मैले कुनै कसुरमा होईन आफ्ने आत्मरक्षा गर्ने वेकसुर भएको वयान दिएकोमा सो वयानका आधारमा मात्र मलाई कसुरमा सावित भनि अभियोग लगाई गरेको फैसला सदर गर्ने गरेको कोशी अञ्चल अदालतको फैसला वदर गरि पाउँ भन्ने समेत व्यहोराको हरिमायाको ०४७।१०।१० मा पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन ।

२०. प्रस्तुत मुद्दाको तथ्यमाथि दृष्टिपात गर्दा प्रतिवादीले त्यस्तो अवस्थामा गुहार मद्दत माग्न सक्ने स्थीति हुँदाहुँदै पनि त्यस्तो मद्धत मागेको नदेखिएको र भागि उम्की आफ्नो ज्यान बचाउने प्रयास गर्नुको साटो लोग्नेको कथित भनाइअनुसार लोग्ने माथि नै प्रहार गरेवाट लोग्नेको मृत्यु भएको देखिन्छ । त्यस्तोमा ज्यान सम्वन्धीको  ७ नं. का. व्यवस्था अनुसार प्रतिवादीलाई सजाय नहुने अवस्था देखा पदैन । त्यस कारण पुनरावेदन जिकीर पुग्न सक्दैन । लोग्नेलाई मार्ने भन्ने प्रतिवादीको पहिले देखिको मनसाय रहेको कुरा मुद्दाको तथ्यबाट देखा पर्दैन भने लोग्नेले प्रतिवादी हरिमायालाई पहिले देखी कुटपीट गरेको र अपराध हुनु भन्दा अघि जांड रक्सी समेत खाएको र खुवाएको कुरा समेत मिसिलबाट देखा पर्दछ । प्रतिवादीले पनि अपराध गरी भाग्ने कुप्रयास गरेको देखापर्दैन । यस्तो अवस्थामा निजलाई ज्यान सम्बन्धीको १३ (१) बमोजिम सर्वस्वसहित जन्म कैद गर्दा चर्को पर्ने हुँदा निजलाई कैद १० वर्ष मात्र गर्ने राय सहितको पुनरावेदन अदालत विराटनगरको फैसला ।

२१. मलाई कसुरदार ठहर गर्दा मेरो प्रहरी अधिकृत समक्ष र अदालतमा गराईएको वयान वाहेक अन्य कसैको वक पत्र नगराई मेरो वयानलाई नै मुख्या प्रमाण मानियो । अन्य कुनै पनि सबुद प्रमाणको मूल्यांकन गरिएन । फौजदारी न्यायका सर्वमान्ने सिद्धान्तहरु प्रति वेवास्ता गरियो । म आफैले जहेर गरेको कुरालाई जय कुमार भट्टराईले जाहेर गरेको भनी मुद्दाको कारवाही सुरु गरियो । मैले मेरो लोग्नेलाई मार्ने कुनै मनसाय राखेको थिइन । मेरो लोग्नेले राती संगै सुतेको वेला सिरानबाट बमफोक (दाउ) निकाली कि तैले मलाई काट कि तँलाई म काट्छु भनेकोले अव यसले मलाई काट्ने नै भयो यसलाई नकाटे मलाई काटी मार्छ भन्ने लागी मैले लोग्नेको घाटीमा बमफोकले हानेको हुँ । यस्तो अवस्थामा मैले उसलाई नकाटेको भए मेरो ज्यान जाने हुँदा ज्यान सम्बन्धी महलको ७ (१) अनुशार आत्मरक्षको लागि मेरो लोग्नेलाई काटेकी हुँदा मैले ज्यान सम्बन्धी महलको १३ (१) अनुशार सजाय हुने कुनै कसुर नगरेकोले पुनरावेदन अदालत विराटनगरको फैसला वदर गरि झुट्टा दावीबाट फुर्सद पाउँ भन्ने समेतको पुनरावेदन जिकीर ।

२२. यसमा पुनरावेदन अदालत विराटनगरको फैसला मिले नमिलेको के हो ? हेरी निर्णय दिनु पर्ने हुन आयो ।

२३. प्रतिवादी हरिमाया लिम्बूनीको तर्फबाट सहनु भएका विद्वान अधिवक्ताद्वय श्री अग्नी खरेल र जगत प्रसाद फुयालको वहस समेत सुनी इन्साफ तर्फ विचार गर्दा प्रतिवादीले मृतक लाल बहादुर लाई मारेको कुरामा विवाद देखिएन । ज्यान सम्बनधी महलको ७ नं. आफ्नो ज्यान लिना सम्मको जोरजुलुम गरेकोमा केहि गर्दा निज जुल्मीको ज्यान मर्न भएकोमा वात नलाग्ने व्यवस्था गरी आत्मरक्षको लागी गरिएको कार्यलाई ज्यान सम्बन्धीको अपराधको अपवादको रुपमा व्याख्या गरेको देखिन्छ । आत्मरक्षको जिकीर लिने पक्षले ऐनमा वर्णित व्यास्था हात हतिया लिई वा नलिई जुल्मीले ज्यान लिन सम्मको जोर जुलुम गर्न लागेको निज जुल्मीलाई पक्राउ गर्न वा गहार मद्दत माग्न नसकिने वा मागेपनि पुग्न नसकिने, जुल्मीको पञ्जाबाट भागी उम्की आफ्ने ज्यान वचाउन समेत फुर्सद नपाउने, आफुले केहि नगरे आफ्नो ज्यान समेत जाने पुरा विश्वास हुनु पर्ने अवस्था देखाउन सक्नु पर्दछ । प्रस्तुत मुद्दामा मृतकले प्रतिवादीको हातमा हतियार दिई सुतीराखेको अवस्था देखिन्छ । यस्तो अवस्थामा उसले हतियार मृतकको घाटीमा प्रहार नगरी अन्यत्र फाल्न सक्ने अवस्था थिएन भन्न सकिएन । १५ र १० वर्षका छोरा छोरी समेत सोही घरमा सुतेकोमा गुहार माग्ने भाग्ने उम्कने अवस्था थिएन अथवा लोग्नेले लखेटेकै भए पनि घाइते सम्म मात्र पर्ने थिएन भन्ने अवस्था नदेखिदा ज्यान सम्वन्धीको ७ (१) अनुशार आत्मरक्षाको लागि मेरो पक्षले दाउ मृतकको गर्धनमा प्रहार गरेको हो भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्तको  तर्क संग सहमत हुन सकिएन । मृतकलाई मारेको कुरामा प्रतिवदी स्वयं सावित भएकी छन् । उनको साविती वयानलाई लास जाँच प्रकृति मुचुल्का, सव परिक्षण प्रतिवेदन र वरामत भएको दाउ समेतले पुष्टि गरेको देखिन्छ । तसर्थ प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १३ (३) अनुशार कसुरदार ठहर गरेको मोरङ जि.अ. को फैसला सदर गर्ने गरेको को. अ. अ. र पुनरावेदा अ. विराटनगरको फैसला मनासिव देखिन्छ । पुनरावेदा जिकीर पुग्न सक्दैन । घटनाको परिस्थीतिलाई दृष्टिगत गरी प्रतिवादीलाई सर्वस्व सहित जन्म कैदको सजाय गर्दा चर्को पर्ने हुँदा कैद वर्ष १० मात्र गर्ने पु. अ. विराटनगरको राय पनि मनासिव ठहर्छ । प्रतिवादी हरिमाया लिम्बूनीको पुनरावेदा परेको पुनरावेदा तह बाटै हेरिएको हुँदा प्रस्तुत पुनरावेदन साथै पेश भएको साधक नं. ९७ को लगत काटी दिनु । अरु तपसिल बमोजिम गर्नु ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी हरिमाया लिम्बूनीको तजविज कैद वर्ष १० मात्र हुने ठहरेको हुनाले शुरु जि. अ. ले राख्ने गरेको सर्वश्व सहित जन्मकैदको लगत राख्न नपर्ने भई सो लगत कट्टा गरी १० वर्ष मात्र लगत कायम गरी अशुल गर्न शुरु मोरङ जि. अ. मा लेखी पठाउन का. जि. अ. त. मा लगत दिनु १

मिसिल नियामानुशार बुझाई दिनु १

 

उक्त रायमा सहमत छु ।

 

न्या. कृष्ण कुमार बर्मा

 

इति सम्बत २०५० साल असोज २४ गते रोज १ शुभम्  

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु