निर्णय नं. ४८५६ - बक्सपत्र लिखत पारित

निर्णय नं.४८५६ ने. का. प. २०५१ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीस श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीस श्री अरविन्दनाथ आचार्य
संवत् २०४६ सालको दे. पु. नं. –५४९
फैसला मितिः–२०५०।११।११।४
मुद्दाः– बक्सपत्र लिखत पारित ।
पुनरावेदक
बादीः– जि. महोत्तरी वलवा गाउँ पञ्चायत वडा नं. १ बस्ने गंगा देवि माथेमा ।
ऐ ऐ बस्ने मनोहर कुमार माथेमा ।
ऐ ऐ बस्ने गोपाल सिंह श्रेष्ठ ।
ऐ वडा नं. ७ बस्ने महाबिर यादव ।
विरुद्ध
विपक्षी
प्रतिवादीः– जि. महोत्तरी बलवा गाउँ पञ्चायत वडा नं. १ बस्ने अयोध्यादेवी माथेमा ।
§ रेखा विशेषज्ञको रायमा हस्ताक्षरको सही नमिल्ने कारण खुलेको र आफ्ने रायको सम्बन्धमा अदालतमा आई वयान गरेको समेत पाईदैन । यस्तो रायलाई प्रमाण ऐन, २०३१ को दफा १८ ले प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने ।
(प्र. नं. १६)
§ बिबादीत लिखतमा लागेको ल्याप्चे छाप हरिमायाको हो भन्ने कुरामा बिबाद नभएको, उक्त ल्याप्चे छापलाई हरिमाया मरेको अवस्थामा लगाएको हो भन्ने प्रतिवादी जिकिरको पुष्टी हने प्रमाणको अभावमा हस्ताक्षरको सही किर्ते नै हो भन्ने विश्वासनीय प्रमाण पुर्याउन नसकेको अवस्थामा बिबादित लिखतमा लागेको कारणीको सही छाप सद्दे साँचो अवस्थाको देखिन आउने ।
(प्र. नं. १७)
पुनरावेदक तर्फबाटः– विद्वान अधिवक्ता श्री कमल नरायण दास ।
विपक्षी तर्फबाटः– विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव प्रसाद ढुंगाना
अवलम्बीत नजिरः–
फैसला
न्या. अरविन्दनाथ आचार्य : श्री ५ महाराजाधिराज सरकारका हजुरमा सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको मिति २०४३।८।१६ गतेको निर्णय दोहर्याई पाउँ भनी तत्कालीन न्यायीक समिति मार्फत चडाई पठाएको निवेदनमा मौसूफ सरकारबाट तत्कालीन नेपालको संविधानको धारा २७ (ख) बमोजिम उक्त निर्णय दोहर्याइ हेरी कानून बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमूख सचिवालय बाट लेखि आए अनुरुप यस अदालत पुर्व इजलासमा पेश भई सर्वोच्च अदालत पुर्ण इजलासबाट यस अदालत संयुक्त इजलासबाट भएको मिति २०४३।८।१३ को फैसला वदर गरी कानून बमोजिम निर्णय गर्न संयुक्त इजलासमा पठाउने भन्ने मिति २०४६।१२।९ गतेको फैसला बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. विपक्षी अयोध्या देवीको भिन्न बसेका सौता हरिमाया देवीलाई मैले सेवा सुसार गरेकोले रिझाए वापत निज हरीमाया देवीले मलाई मिति २०३२।५।६ का दिन बक्सपत्र लिखत लेखी दिएको सो बक्सपत्र लिखत पास नहुँदै निज हरीमाया आफ्ना काल गतीले २०३२।७।१८ मा स्वर्गीय हुनु भएकोले निज हरिमायाको सवभन्दा नजिकको हकदार विपक्षीलाई सो बक्सपत्र पारीत गरी दिनोस् भन्दा गरिदिएकोले सो बक्सपत्र लिखत रजिष्ट्रेशन पारीत गराई पाउँ भन्ने समेत फिराद पत्र ।
३. पति योग कुमारको जीवनकालमा र वाहां स्वर्गीय भएपछी सौता सौता सगोलमानै बसी जीवन निर्वाह गरि आएको थियौं । विपक्षीलाई सौता हरिमायाले बक्सपत्र लिखत गरिदिनु पर्ने अवस्थानै थिएन । हाम्रो सगोलको जेथा भएकोले त्यस्तो सगोलको जेथा बक्सपत्र गरिदिनु पर्ने अवस्थानै थिएन सौता हरिमायाले बक्सपत्र गर्न पनि नपाउने र गरि दिएको पनि होइन सो लिखत मलाई देखाइ सुनएमा लिखतको नामाकरण गर्ने छु भन्ने समेत प्रतिउत्तर पत्र ।
४. वादीबाट पेश भएको हैसियत रु. ११०२५।– गोल विगो रहेको मिति २०३२।५।६ गतेको वकसपत्र प्रतिवदीलाई देखाई सुनाउदा बकसपत्रको पेज ३ मा लागेको ल्याप्चे सही छाप हरिमाया मर्दाको अवस्थामा लगाएको हो र लेखात्मक सहि छाप दिने हरीमायाको होईन छोरा मनोहर कुमारले हरिमायाको नाम बाट सहि गरेको हो । २०३२ सालमा हरिमया विरामीहुँदा म दबाईको इन्जाममा बाहिर भएको अवस्थामा हरिमाया मर्न लागेको मौका पारी लेखात्मक सहि गराएको र लेखात्मक सहि मनोहर कुमारले गराएको हो । त्यस ठाउँमा सुन्दरलाल, मल्ल कुमार र अरुहरु समेत थियो निजहरु पनि यसमा सरिक छन् । सिर पुच्छारमा लागेको लेखात्मक सहि किर्ते हो भन्ने समेत प्रतिवादीको वा. शम्सेर बहादुरको बयान ।
५. प्रतिवादीको भनाई अनुसार किर्ते गरेको हाइन हरिमाया जीवित रहेका वखत राजी खुसीले बक्सपत्र लेखि निजको सहि छाप गरिदिएको हो । किर्ते होइन सद्दे हो भन्ने समेत वादीको वा. मोहनमानको वयान ।
६. प्रतिवादीको भनाई अनुसार मैले लेखात्मक सहि गरी किर्ते गरेको होईन सद्दे हो निज प्रतिवादीको भनाई झुठ्ठा हो भन्ने समेत मनोहरको वयान ।
७. प्रतिवादीको भनाई अनुसार हामी समेत सम्मिलित भई बक्सपत्र किर्ते गरेको होईन । हरि माया जीवित छदै राजि खुसीले बक्सपत्रमा लेखाई राजीखुसीबाट रेखात्मक र लेखात्मक सही गरेको हो । प्रतिवादीको भनाई झुठ्ठा हो भन्ने समेत महावीर यादव, संजुग शाही, गोपाल सिंह श्रेष्ठ, सुन्दरलाल, चन्द्र कुमार समेतको पृथक पृथक वयान ।
८. वादीबाट पेश भएको मिति २०२०।५।६ गतेको बक्सपत्रमा लेखि दिएको विवादास्पद हरिमाया भन्ने लेखात्मक सही र माईनट बुकको मिति २०३२।४।१० मा निर्णय भएको वादी र प्रतिवादीहरुले प्रमाणित गरि दिएको पेज पुच्छारमा लेखिएको हरिमाया भन्ने दस्तखत सही संग भिडाई जाँच गर्न विशेषज्ञका पठाउदा सो माइनट बुकमा हरिमायाले गरेको सहि संग भिडाइ हेर्दा सही मिल्न नआई फरक देखिएको भनी विशेषज्ञ राम बहादुर थापाले राय व्यक्त गरी पठाएकोले बक्सपत्रको लेखात्मक सही किर्ते ठहरेकोले बक्स पत्र लिखत पारीत हुने ठहर्दैन भन्ने समेत शुरु महोत्तरी जि. अ. को मिति २०३७।८।२२।१ को फैसला ।
९. उक्त फैसलामा चित्त बुझेन भन्ने बादी समेतको मध्यामाञ्चल क्षेत्रिय अदालतमा परेको पुनरावेदन पत्र ।
१०. हरिमाया माथेमाको मु. स. गंगा माया माथेमाका पति पदम कुमार माथेमालई स्याहार संहार गरेको रिझबापत मिति २०२०।२।२९।४ को पारित वण्डा पत्र लिखित बाट हक हुन आएको आफ्नो अंश हकको सम्पती मिति २०३२।५।६ मा गरी दिएको बकस पत्र लिखतमा हस्ताक्षर सहिको साथै हरिमाया कै ल्याप्चे छाप समेत परेको पाईन्छ सो ल्याप्चे सही छापमा प्रतिवादी अयोध्या देवीले किर्ते हो भनी विवाद उठेको देखिन नआई लिखित सुनाउदा हरिमाया विरामी भएको मा दवाई लिन बाहिर गएको अवस्था मौका पारी हरिमायाको सही छाप लागेको हो भनी हरीमायाको सही छापलाई स्वीकार गरेको पाईन्छ । लिखत मितिमा विवाद उठेको पाईदैन । मिति २०३२।५।६ मा लिखित भएको र हरिमायाको मृत्यु मिति २०३२।७।१८ गतेमा भएको छ । प्रत्यर्थी अयोध्य देवीको वयान जिकीर अनुसार हरिमायालाई निजको आफ्नो घरमा राखी स्याहार पालन पोषण रेखदेख गरि आएको विरामी भई मरणसन्न अवस्थामा भएको हरिमायालाई एक्लै छाडी दवाई लिन अयोध्या देवी बाहिर गएको अवस्था हरिमायाको सही छाप गराएको भन्ने कुरा विश्वसनिय देखिन आउदैन । कारण हरिमायालाई अयोध्या देवीले आफ्ने घरमा राखेको र निजको शरिरीक अवस्था ठिक नरहेकोमा अयोध्या देवी आफै वा अरु कुनै न कुनै व्यक्ति हरिमायाको छेउमा रहे बसेको हुन पर्छ । अतः यस स्थितिमा हरिमायाको सही छाप लगाउने मौका नै पर्न नआउने अवस्था विद्यामान रहेको पाईन्छ । मिति २०३२।५।६ को लिखितका लेखक साक्षी गोपाल सिंह श्रेष्ठ समेतले लिखतमा लागेको ल्याप्चे सही छाप सही समेत हरिमायाको भई लिखत सद्दे हो भनी वयान गरेको पाईन्छ । दुवै थरले स्वीकार गरेको मिति २०२०।४।१७।४ को माइनट बुकमा रहेको हरीमायाको हस्ताक्षर सही मिति २०३२।५।६ को लिखितमा रहेको हरीमायाको हस्ताक्षर सही मिल्दैन भनी विशेषज्ञले मिति २०३५।८।५ मा दिएको रायको आधारमा लिखितलाई किर्ते ठहर गरेको देखिन्छ । माइनट बुक हेर्दा बैठकको क्रम नमिल्नुको साथै अन्य बैठकहरुमा पनि हरीमायाको हस्ताक्षर अंकित भएकोमा अन्य हस्ताक्षर संग मिति २०३२।५।६ को लिखितको हस्ताक्षर सही भिडेको देखिन आउदैन । हरिमायाले चन्द्रकुमारी श्रेष्ठलाई २०३२।८।१२ मा गरी दिएको पारित राजिनामा लिखतमा पनि हस्ताक्षर सही भएको सो लिखतमा रहेको हरिमायाको हस्ताक्षर सही २०३२।५।६ को लिखतको हस्ताक्षर सही संग सामान्य आँखाले हेर्दा पनि मिल्न भिड्न आएको देखिन्छ । मिति २०२०।२।२९।४ को वण्डापत्र लिखतबाट आफ्ने हक भएको अंशहरुको सम्पत्ति बकस पत्र गरिदिने अधिकार दान बक्सको नं. १ अन्तर्गत हरिमायालाई भई मिति २०३२।५।५ मा गरी दिएको बकसपत्र लिखतमा लागेको हरिमायाको हस्ताक्षर सहीमा माइनट बुकको मिति २०२०।४।१७।४ को बैठकमा लागेको एक मात्र हस्ताक्षर सहि संग नभिडेको भन्ने विशेषज्ञको रायको आधारमा हस्ताक्षर सही बाहेक ल्याप्चे सही छाप समेत लागेको लिखतलाई सो ल्याप्चे सहित प्रत्यर्थी अयोध्यादेवीको बयान जिकीर अनुसार अन्यथा प्रमाणित नभए सम्म किर्ते हो भनी भन्न प्रमाणको अभावमा मिल्ने देखिदैन । अतः मर्ने बेलामा हरिमायाको ल्याप्चे सही छाप लागेको हो भन्ने तथ्य युक्त प्रमाणको अभावमा अयोध्यादेवी लाई साक्षी नराखेको हरिमायाको उमेर घटी लेखिनु, स्वीकार गरेको हस्ताक्षर संग भिड्न नआएको हुँदा मिति २०३२।५।६ को लिखत किर्ते ठहर गरेको जि. अ. को इन्साफ बदर हुनु पर्दछ भन्ने प्रत्यार्थी तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्तको बहस जिकीर संग सहमत हुन सकिएन । मिति २०३२।५।६ को शेष पछिको बकस पत्र लिखतमा लेखात्मक सहीको साथै हरिमायाको ल्याप्चे सही छाप समेत भएको र सो ल्याप्चे सही छाप लाई अन्यथा प्रमाणित गर्न प्रत्यार्थी अयोध्यादेलीले नसके बाट सद्दे देखिन आई कनूनको रितपूर्वक देखिदा मिति २०३२।५।६ को विशेष पछिको बकस पत्र लिखत सद्दे ठहर्छ । सद्दे ठहर्न आएको मिति २०३२।५।६ को शेष पछिको बकस पत्र लिखत पुनरावेदनको फिराद दावी बमोजिम पारित हुने ठहर्छ । लिखत किर्ते ठहर गरी पारित नहुने ठहराएको महोत्तरी जिल्ला अदालत को इन्साफ गल्ती देखिंदा बदर हुन्छ भन्ने मध्यामाञ्चल क्षेत्रीय अदालत को फैसला ।
११. उक्त मध्यामाञ्चल क्षेत्रीय अदालत को इन्साफ मा चित्त नबुझे पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा दिनु भएको निवेदनमा यस्मा रजिष्ट्रेशनको ८ नं. मा रजिष्ट्रेशन गराउनु पर्ने घरसारको लिखत सो लिखत गरी दिने गरी म्याद भित्र रजिष्ट्रेशन गरी दिने म्याद ३५ दिन भन्दा बढी बाकी छदै मरेकोमा बाकी म्यादभित्र र पैतिस दिनभित्रै रजिष्ट्रेशन गराई लिनु दिनु पर्छ भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । विवादको मिति २०३२।५।६ को बकस पत्र लिखत गरिदिने हरीमायाको बकस पत्र पारीत गरिदिन पर्ने म्याद ३५ दिन भन्दा बढी बाकी छदै मिति २०३२।७।१८ मा मरेको देखिन्छ । यस स्थितिमा रजिष्ट्रेशनको ४ नं. बमोजिम लिखत गरेको मितिले ६ महिनाभित्र अर्थात मिति २०३३।११।५ सम्ममा वादीको नालेसपरी सक्नु पर्नेमा मिति २०३२।११।२८ मा मात्र वादीको नालेस परेको रजिष्ट्रेशन ८ नं विपरीत देखिएकोले लिखत पारीत हुने ठहराएको मध्यामाञ्चल क्षे. अ. को निर्णयमा रजिष्ट्रेशन ८ नं. को त्रुटी देखिएको यस्तो त्रुटी सार्वजनीक महत्वको समेत देखिदा न्याय प्रसाशन सुधार ऐन, २०३१ को दफा १३ (५) (ख) बमोजिम पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत २०४१।३।३२।१ को यस अदालत डिभिजन वेन्चको आदेश ।
१२. वादीले प्राप्त गरेको शेष पछिको बकस पत्र लिखत २०३२।५।६ मा लिखत भएको मितिले रजिष्ट्रेशनको ४ नं. बमोजिम छ महिना भित्र रजिष्ट्रेशन गराउनु पर्ने कनूनी व्यवस्था भए अनुशार उक्त लिखत मिति २०३२।११।६ सम्ममा पारीत गराई लिनुर्पे मा वादीको दर्ताको मिति २०३२।७।१८ मा मृत्यु हुँदा पारित गराई लिने म्याद ३५ दिन भन्दा बढीनै बाकी रहेकोले उक्त उल्लेखित रजिष्ट्रेशन को नं. ८ बमोजिम बाँकी म्याद भनेको रजिष्ट्रेशनको ४ नं मा उल्लेखित लिखत भएको मितिले ६ महिना अर्थात मिति २०३२।११।६ सम्ममा पारीत गर्नु पर्नेमा यो फिराद गर्नु पर्ने कानूनले पष्ट किटान गरी बाध्यात्मक व्यास्था गरेको म्याद नघाई मिति २०३२।११।२८ मा मात्र फिराद परेको देखिना यस्तो हदम्याद नघाई परेको फिरादबाट कारबाहीनै गर्नु नपर्नेमा कारवाही गरी निर्णय गरेको मध्यामाञ्चल क्षे. अ. को इन्साफ मिलेको देखिएन । बादी दाबी खारेज हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको मिति ०४३।८।१६।२ को फैसला।
१३. श्री ५ महाराजाधिराज सरकारका हजुरमा सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको मिति २०४३।८।१६ को फैसला दोहोर्याई पाउँ भनी बादी गंगा देवी माथेमा समेतले न्यायीक समिति मार्फत चढाइ पठाएको निवेदनमा सातौ संसोधन हुनु पुर्वको रजिष्ट्रेशनको महलमा लिखत पास गरिदिने व्यक्ति मरेमा पास गरिदिनु पर्ने म्याद ३५ दिन भन्दा वढी बाकी भएकोमा मरेका मितिले ३५ दिन भित्र उसको हकदारले पारित गरिदिनु पर्ने ८ नं. मा र सो बमोजिम गरि नदिए लिखत भएका मितिले ६ महिना भित्र रजिष्ट्रेशन गराउन पर्ने ४ नं. मा र लिखत गरिदिने म्याद भित्र आड्डामा गई रजिष्ट्रेशन गरी नदिएमा सो म्याद नागेका ३५ दिन भित्र रजिष्ट्रेशन गरि नदिनेका नाममा नालेस दिन पाउने ५ नं. मा स्पष्ट व्यवस्था रहेको पाईन्छ । तदनुसार नालेस गर्ने अवस्था विद्यामान रहेको छ । प्रस्तुत मिति २०३२।५।६ मा भएको घरसारको बकस पत्र मर्ने हरिमायाको हकवालारे पारित गरि नदिएको भनि मिति २०३२।१२।२८ मा अर्थात ६ महिन दिन २२ मा कानून द्वारा तोकिएको हदम्याद भित्र प्रस्तुत फिराद दायर भएको देखिन्छ । हदम्याद नाघी फिराद दर्ता भएको भन्ने आधारमा सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको खारेजी फैसला मिलेको छैन भनि न्यायीक समितिबाट भएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसुफ सरकार बाट नेपालको संविधानको धारा ७२ (ख) बमोजिम उक्त निर्णय दोहोर्याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्स भए अनुसार पेस हुन आएको रहेछ ।
१४. प्रस्तुत मुद्दामा हरिमायाले मिति ०३२।५।६ मा घर जग्गा बकस पत्र गरिदिनु भएकोमा निज हरिमायाले रजिष्ट्रेशन पास गरिदिन नपाउदै मिति २०३२।७।१८ मा परलोक हुनु भएको र सो लिखत हकदारले मुलुकी ऐन रजिष्ट्रेशनको महलको ४ र ८ नं. मा व्यवस्थित ६ महिनाको म्यादमा पास गरि नदिएको भनि उक्त म्याद समाप्त भएका मितिले सावीक रजिष्ट्रेशनको महलको ५ नं. बमोजिम ३५ दिन भित्रै प्रस्तुत फिराद परेको देखिन्छ । यस्तोमा कानूनले तोकेको हद म्याद भित्र फिराद नपरेको भनि वादी दावी खारेज हुने ठहर्याएको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको देखिदा सो फैसला बदर हुन्छ । अब पुनः कनून बमोजिम निर्णय गर्नु भनि मिसिल संयुक्त इजलासमा पठाइ दिनु भन्ने यस अदालत पुर्ण इजलासको मिति २०४६।१२।९ को फैसला ।
१५. नियम बमोजिम दैनिक पेसी सुचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकहरु तर्फका अधिवक्ता श्री कमल नारायण दासले प्रस्तुत मुद्दामा हरिमाया देवी र अयोध्या देवी सौता सौता हुन् । हरिमाया माथेमालाई स्याहार सम्हार गरि रिझाए बापत २०३२।५।६ मा मु. स. गर्ने गंगा देवी माथेमाका पति पदम कुमार माथेमालाई पारित वण्डा पत्र बमोजिम हक हुन आएको सम्पती शेष पछिको बकस पत्र घरसारमा गरि दिनु भएको थियो । दाता हरिमायाको २०३२।७।१८ मा निधन भएपछि मृतकको नजिकको हकदार विपक्षीलाई बकस पत्र पारित गरिदिनुहोस् भन्दा नमानेको हुँदा लिखत पारित मुद्दा मिति २०३२।११।२८ मा दायर भएको हो । बकस पत्रमा लागेको ल्याप्चे छाप निज दाता हरिमायाकै भएकोमा विवाद छैन । बकस पत्रमा भएको हस्ताक्षर किर्ते हो भनि बयान गरेतापनि किर्तेमा सजाय गरि पाउँ भन्ने माग दावी छैन । हस्ताक्षरको सहीको सम्बन्धमा विशेषज्ञको राय लिदा माइन्युट बुकमा रहेको हरिमायाको हस्तासही र विवादित लिखतमा रहेको हरिमायाको हस्तासही मिल्देन भन्ने उल्लेख भएको छ । माइन्युट बुकमा पाना क्रमसंख्या मिलेको छैन । त्यस्तै माइन्युट बुकमा भएको विभिन्न पानाका हस्ताक्षर समेत मिल्ने देखिदैन । यस्तो शंकास्पद माइन्युट बुकलाई प्रमाणमा लिन मिल्दैन । सद्दे किर्ते सम्वन्धमा गोपाल सिंह श्रेष्ठ समेतका साक्षीले कीर्ते होइन भनि बयान गरेका छन् । अ. वं. १८४ (क) अनुसार मुख नमिलेको कुरामा मात्र प्रमाण बुझ्ने हो, त्यस्तै सुरु तहमा उठाएको विवादलाई माथिल्लो तहको अदालतले विचार गर्न मिल्दैन । हद म्यादको विवाद नरहेको र बकस पत्रमा परेको हस्ताक्षर कीर्ते हो भन्ने प्रमाणित नभएको हुँदा म. क्षे. अ. को फैसला सदर गरि पाउँ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो । त्यस्तै विपक्षी तर्फका विद्वान वरिष्ट अधिवक्ता श्री बासुदेव प्रसाद ढुंगानाले विवादित हस्ताक्षरको सम्बन्धमा विशेषज्ञले हस्ताक्षर मिल्दैन भनी दिइराखेको रायलाई अदालतले मान्यता दिनु पर्दछ । माइन्युट बुकका पानामा सिलसिला मिलेको छ, माइन्युटलाई दुवै पक्षले मञ्जुर गरेका छन् । सद्दे कीर्तेमा बयान गर्ने साक्षीहरुले बकस पत्रको लिखत गरेको हामीहरुले देखेकाहौं भनि भनेका छैनन् । आफु छदै अन्य व्यक्तिहरुलाई दिइसकेको सम्पत्ति पनि विवादित लिखतमा लेखिएको छ । लिखतमा लेखिएका कुराहरुलाई नै लिखत असत्य हो भन्ने देखिन्छ । अतः लिखत पारित नभै खारेज गरि पाउँ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।
१६. पक्ष विपक्षका तर्फका विद्वान कानून व्यवसायीहरुको बहस सुनी मिसिल सामेल रहेका कागज प्रमाण समेतको अध्यायन गरी विचार गर्दा पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन तत् सम्बन्धमा निर्णय दिनु पर्ने देखियो । आज निर्णय सुनाउने तारिक तोकिएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा यसमा विपक्षी अयोध्या देवीको अंश छट्टी अलग बसेकी जेठि सौता हरियाया देवी माथेमालाई जीवनकालमा मैले सक्दो सेवा सुसार समेत सम्पुर्ण कामको रेख देर संरक्षण संम्बर्धन गर्दै आएकोमा सेवा बापत खुशी भई जग्गा जमिन तथा घर समेत वकस पत्र पास गरिदिन नपाउदै पास गरिदिने म्याद बाकी छदै मिति २०३२।७।१८ मा दाता हरिमायाको कालगतीले परलोक भयो । निज हरिमायाको सबै भन्दा नजिकको हकदार विपक्षी अयाध्या देवी माथेमाले उक्त वक पत्रको लिखित पास गरि नदिएकोले पास गरि पाउँ भन्ने माग दावी लिई प्रस्तुत मुद्दामा भू. अ. गर्ने गंगा देवी माथेमाको पति पदम कुमार माथेमाको फिराद परेको देखिन्छ । सौता हरिमाया र म संगोलमै बसेका थियौं । विपक्षीहरु संग हाम्रो सम्बन्ध राम्रो थिएन । सौता दिदी हरिमाया विरामी परी थला पर्नु भएको अवस्थामा मौका पारी ल्याप्चे छाप सम्म गराएको हुन सक्छ । उक्त लिखित झुठा हो साने छुट्टै अंश लिई भित्र बसेको हुँदा म हकवालाको सहमती वेगर हरिमायाले सम्पुण सम्पत्ति आफु खुशी गरी दान बकस गरि दिन पाउने होईन भनी प्रतिउत्तर जिकिर लिएको देखिन्छ । त्यस्तै अदालतमा वयान गर्दा वकस पत्रको सिर पुच्छार र बन्दमा लागेको छाप हरिमाया मर्दाका अबस्थामा लगाएको हो र लेखात्मक सही निज हरि मायाको होइन । मनोहर कुमारले हरिमायाको नामबाट गरेको हो भनी बयानको प्रकरण ३ मा उल्लेख गरेको देखिन्छ । मनोहर कुमारले अदालतमा आइ बयान गर्दा सहि छाप मैले गरेको होइन प्रतिवादी अयोध्या देवीको सौता हरिमायाले नै राजी खुशी बाट बकस पत्र लेखाई लेखात्मक र रेखात्मक सही छाप गरिदिएको हो भन्ने र विवादीत लिखतमा साक्षी बस्ने माहावीर यादपले मेरो सामुन्नेमा हरिमायाले सही छाप गरी हस्ताक्षरले हरीमाया भनी लेखि सहिछाप गरि सकेपछि मैले सोलिखतमा साक्षी वसेको हुँ भनि वयान गरेका देखियो । यसैगरी विवदित लिखतका लेखक गोपाल सिंह श्रेष्ठ, प्रतिवादी सरजुग शाह, सुन्दरलाल र सुन्दरलालको श्रीमती चन्द्रकुमारीले समेत लिखत सद्दे हो भनि वयान गरेको देखियो । प्रतिवदिले प्रतिउत्तर जिकिरमा विरामी परि थला पर्नुभएको अवस्थामा मैका पारि वा अन्य कुनै अवस्था पारि ल्याप्चे छाप गरकाएको र सद्देकिर्ते को वयानमा हरिमाया मर्दाको अवस्थामा सहिछाप गराएको भनी ल्याप्चे छाप हरिमायाँको हो भन्ने कुरालाई स्वीकार गरेको देखिन्छ । अयोध्या देविले दावि लिझै निजले हरिमायाँलाई आफ्नो घरमा राखेको र निजको शारिरिक अवस्था राम्रो नभएको भए विरामीको हेरचाह गर्ने कुनै न कुनै व्यक्ति हुनुपर्ने र विवदित लिखतमा ल्याप्चे छाप लगाएको देख्नु पर्ने हो । विवदित लिखतमा लागेको ल्याप्चे सहि छापलाई प्रतिवादिले आफ्नो प्रतिउत्तर तथा सद्दे किर्ते वयानमा झुट्ठा हो भनी जिकिर लिएता पनि मिसिल सम्लग्न सवुद प्रमाणबाट उक्त ल्याप्चे सहीछाप किर्ते हो भने विश्वास गर्न लायक सवुत प्रमाण देखिदैन । तर्सथ विवादित लिखतमा लागेको ल्याप्चे छाप निज हरिमायाँको हो भन्ने कुराको पुष्ट्याइ भएको देखियो दुवै थरले स्विकार गरेको २०२०।४।१७।४ को माइन्युट बुकमा रहेको हरिमायाँको हस्ताक्षर सही र २०३२।५।६ को लिखतमा भएको हरिमायाको सही मिल्न आउदैन भनि विशेषज्ञले २०३५।८।५ मा राय दिएको देखिन्छ । रेखाविशेषज्ञको रायमा हस्ताक्षरको सही नमिल्ने कारण खुलेको र आफ्नो रायको सम्बन्धमा अदालतम आई वयान गरेका समेत पाईदैन । त्यस्तो रायलाई प्रमाण ऐन, २०३१ को दफ १८ ले प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने देखिदैन ।
१७. विवादित लिखतमा लागेको ल्याप्चे छाप हरिमायाको हो भन्ने कुरामा विवाद नभएको उक्त ल्याप्चे छापलाई हरिमाया मरेको अवस्थामा लगाएको हो भन्ने प्रतिवादी जिकीरको पुष्टी हुने प्रमाणको अभावमा हस्ताक्षरको सही किर्ते नै हो भन्ने विश्वसनीय प्रमाण पुर्याउन नसकेको अवस्थामा विवादित लिखतमा लागेको करणीको सही छाप सद्दे साचो अवस्ताको देखिन आयो । विवादित लिखतमा लागेको ल्याप्ची सही छाप दाता हरीमायाँदेविकै हो भन्ने कुरामा विवद नभए पछि र हरिमायाँदेवि लेखपढ गर्न जान्ने महिलाले ल्याप्चे लगाएकोमा हस्ताक्षरको चाहि सहि गरिनन् होला भन्न नसकिने समेत हुँदा विवादित लिखत कानुन बमोजिम भए गरेको देखिदा वादी दावि बमोजिम लिखत पारित हुने ठहराएको तत्कालीन मध्यामाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।१।२८ को फैसला मिलेको देखिँदा उक्त फैसला मनासिव ठहर्छ । मिसिल कानुन बमोजिम गरि बुझाईदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. केशव प्रसाद उपाध्याय
इति सम्वत २०५० साल फाल्गुण ११ गते रोज ४ शुभम्