निर्णय नं. ८४२६ - जोत नामसारी

निर्णय नं.८४२६ ने.का.प २०६७ अङ्क ७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं. २०६६-CI- ०६८०, ०८२४
फैसला मितिः २०६७।५।४।६
मुद्दाः– जोत नामसारी ।
पुनरावेदक प्रतिवादीः जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं. १५ बस्ने देवेन्द्र श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं. १३ बस्ने माणिकलाल श्रेष्ठ
एवं
पुनरावेदक प्रतिवादीः जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं. ८ बस्ने रामचन्द्र श्रेष्ठ समेत
विरुद्ध
प्रत्यर्थी वादीःजिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं. १३ वस्ने माणिकलाल श्रेष्ठ
शुरु फैसला गर्नेः–
श्री हरिप्रसाद दुलाल
पुनरावेदन फैसला गर्नेः–
मा.न्या.श्री ठाकुरप्रसाद शर्मा
मा.न्या.श्री विश्वम्भरप्रसाद श्रेष्ठ
§ जग्गाधनी प्रमाण पूर्जा तथा फिल्डबुकमा नै मोही जनिएको र बाली दिलाई मोही निष्काशन मुद्दा चली अन्तिम भएको अवस्थामा मोहीका लागि आवश्यक पर्ने लगत तथा अनुसूची फारम नभएको भनी मोही नामसारी मुद्दामा विवाद उठाउनु प्रासंगिक नहुने ।
§ नापी हुँदाकै अवस्थामा फिल्डबुकमा र जग्गाधनी प्रमाण पूर्जामा समेत मोहीको नाउँ जनिएको अवस्थामा उक्त जग्गामा मोहीको हैसियत प्राप्त गरिसकेको तथ्य स्थापित भएको मान्नुपर्ने ।
§ आफूसँग लामो समय रहेको जग्गाधनी प्रमाण पूर्जाको मोही महलमा कसैको नाम जनिन्छ र त्यसलाई बदर गराउने प्रयास गरिन्न भने पछि आएर सो जग्गामा मोही नै छैन् भन्न नमिल्ने ।
(प्रकरण नं. ४)
पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान बरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान अधिवक्ता बालकृष्ण नेउपाने
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
फैसला
न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीहरूको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ –
मेरा बाबु बेखालाल श्रेष्ठ मोही भएका विभिन्न जग्गाहरूको जोत नामसारी गरिपाऊँ भनी मिति २०५३।१०।६ मा द.नं. २७८० बाट निवेदन दिएकोमा भक्तपुर जिल्ला दिव्यश्वरी गा.वि.स. वडा नं. ८(क) कि.नं. ७६६ क्षेत्रफल ०–५–१, कि.नं. ७६८ क्षेत्रफल ०–७–१ र कि.नं. ७४९ क्षेत्रफल ०–३–१ जग्गाको जोत नामसारी नभएकाले मोही बेखालाल श्रेष्ठको नाउँ खारेज गरी मेरा नाउँमा नामसारी गरिपाऊँ भन्ने माणिकलाल श्रेष्ठले मिति २०५७।१०।५ मा दिएको निवेदन ।
पिता नीरबहादुरका ३ छोराहरूमा जेठा बेखालाल, माहिला म भगतबहादुर, कान्छा तुल्सीबहादुर भएकोमा दाजु बेखालाल मोही भई मैले कि.नं. ७६८ क्षे.फ.०–७–१ जग्गा जोतभोग गर्दै आएको र जग्गाधनीहरूले समेत मलाई नै मोही पत्याएको हुँदा विपक्षी माणिकलाल श्रेष्ठको निवेदन र साविक मोही बेखालाल श्रेष्ठको नाम खारेज गरी उक्त जग्गाको मोही मेरा नाममा नामसारी गरिपाऊँ भन्नेसमेत व्यहोराको भगतबहादुर श्रेष्ठले मिति २०५९।५।२८ मा दिएको निवेदन ।
विपक्षीका नाममा मोही कायम हुन आवश्यक पर्ने १ नं. लगत, २ नं. तथा ३ नं. अनुसूची र ४ नं. जोताहा निस्सा प्रमाणहरू केही पनि नभएको अवस्थामा दावी खारेज गरिपाऊँ । १ नं. लगत र २ नं. अनुसूची प्राप्त भएको अवस्थामा पनि उक्त जग्गा भगतबहादुर श्रेष्ठले जोतभोग गरिआएको र हामीलाई कुत बाली समेत निजले बुझाई आएको हुँदा निज भगतबहादुर श्रेष्ठलाई मोही कायम गर्न मञ्जूर छ भन्ने जग्गाधनी देवेन्द्र श्रेष्ठ समेतको लिखित जवाफ ।
जिल्ला भक्तपुर दिव्यश्वरी गा.वि.स. वडा नं. ८(क) कि.नं. ७६८ को क्षेत्रफल ०–७–१ जग्गामा निवेदकको पिताकै मोहियानी हक प्रमाणित भई नसकेको अवस्थामा मोही नामसारी गरी निवेदक माणिकलाल र दावीकर्ता भगतबहादुर श्रेष्ठलाई मोही मानी मोही हक दिन मिल्ने नदेखिँदा निवेदन खारेज हुने ठहर्छ भन्ने समेत भूमिसुधार कार्यालय भक्तपुरको मिति २०६३।५।१४ को निर्णय ।
जग्गाधनीले जग्गा दर्ता तथा नामसारी एवं छोडपत्र लिखतबाट हक छाड्दा समेत मेरा पितालाई मोही मानी सोहिअनुरूप लिखत तथा स्रेस्तामा उल्लेख गरेको तथ्य अड्डामा रहेको श्रेस्ता प्रमाणबाट प्रष्ट भइरहेकोमा सो को कुनै विवेचना नगरी भएको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन जिकीर ।
विवादित जग्गाको जग्गाधनी पूर्जामा पुनरावेदकका पिता बेखालाल मोही जनिएको यसै जग्गाका जग्गाधनीले बेखालाललाई मोही मानी बाली भराई मोही निष्काशन मुद्दा दिई २०५२।१०।१८ मा डिसमीस गराएको र जग्गाधनीहरू बीच छोडपत्रको कागज हुँदा पनि बेखालाललाई मोही देखाएको अवस्थामा बेखालालको छोरा पुनरावेदकलाई जोत नामसारी नहुने भनी गरेको शुरुको फैसला फरक पर्न सक्ने हुँदा प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६४।६।२२ को आदेश ।
फिल्डबुकमा पुनरावेदक माणिकलालका बाबु बेखालाल श्रेष्ठ मोही जोताहा जनिएको र सो कित्ता नं. ७६८ को जग्गाधनी प्रमाण पूर्जामा पनि बेखालालको नाम मोही जोताहामा जनिएको देखिएको अबस्थामा निजको मृत्युपश्चात् निजका छोरा हकवाला वादी माणिकलाल श्रेष्ठले उक्त कि.नं. ७६८ जग्गाको मोही नामसारी गर्न कानूनतः मिल्ने नै देखिँदा निवेदन खारेज गर्ने गरेको भूमिसुधार कार्यालय, भक्तपुरको निर्णय नमिलेको हुँदा उल्टी भई पुनरावेदक वादीका नाउँमा दावीबमोजिम जोत नामसारी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६५।१२।३१ को फैसला ।
मोही कायम नभई मोही जोत नामसारी नहुनेमा विपक्षीका बाबु बेखालाल नै कि.नं. ७६८ को जग्गाको मोही कायम भएका छैनन् । विपक्षीका बाबु नै मोही कायम नभएको अबस्थामा छोरालाई जोत नामसारी गरीदिने निर्णय अन्यायपूर्ण छ । जग्गाधनी प्रमाण पूर्जा, फिल्डबुक र जग्गाधनीबीचको पारित लिखतका आधारमा मोही कायम गर्न मिल्दैन । मोही कायम हुन १ नं. लगत, २ नं. तथा ३ नं. अनुसूची र ४ नं. जोताहा निस्सा आवश्यक पर्ने भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ समेतमा कानूनी व्यवस्था छ । त्यस्ता प्रमाणको अभाव हुँदाहुँदै मोही कायम समेत गरी जोत नामसारी हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला किसुन दास तत्मा विरुद्ध हृदयनारायण तिवारी भएको मोही नामसारी मुद्दा (नेकाप २०५४, नि.नं. ६३३०, पृष्ठ १३३) मा प्रतिपादित सिद्धान्त समेतका आधारमा बदरभागी भएकाले उक्त फैसला बदर गरी शुरु भूमिसुधार कार्यालयको फैसला कायम राखी पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी देवेन्द्र श्रेष्ठले मिति २०६६।१०।२७ मा र सोही व्यहोराको प्रतिवादी रामचन्द्र श्रेष्ठ, कृष्णचन्द्र श्रेष्ठ तथा रघुनाथ श्रेष्ठले मिति २०६६।१२।१६ मा यस अदालतमा दिएको छुट्टाछुट्टै पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढीे पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फका विद्वान बरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान अधिवक्ता बालकृष्ण नेउपानेले विपक्षीका पिता बेखालाल श्रेष्ठको नाममा १ नं. लगत, २ नं. तथा ३ नं. अनुसूची प्रकाशित भएको र निजले ४ नं. जोताहा निस्सा प्राप्त गरेको कुनै प्रमाण पेश गर्न नसकेकोले निज नै मोही कायम भएका छैनन् । विपक्षीका बाबु मोही नै होइनन् । बाबु नै मोही कायम नभएको अबस्थामा छोराको नाममा मोही नामसारी हुने होइन । जोतकमोद विपक्षीले गरेका छैनन् हाम्रो पक्षले नै गरिरहेका छन् । तसर्थ मोही नामसारी हुने होइन भनी प्रस्तुत गर्नु भएको वहस समेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पाटनको फैसला । मिलेको छ छैन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा यसमा जिल्ला भक्तपुर दिव्यश्वरी गा.वि.स. वडा नं. ८ (क) कि.नं. ७६८ क्षेत्रफल ०–७–१ समेत जग्गाका मोही बेखालाल श्रेष्ठको नाउँ खारेज गरी मेरा नाउँमा नामसारी गरिपाऊँ भन्ने वादी माणिकलालको दावी भै दाजु मोही भएको उक्त जग्गा मैले मोहीमा जोती आएको एवं जग्गाधनीले मलाई नै पत्याएको हुँदा मेरा नाममा मोही नामसारी हुनुपर्छ भन्ने भगतबहादुर श्रेष्ठले प्रतिदावी गरेकोमा फिल्डबुकमा पुनरावेदक माणिकलालका बाबु बेखालाल श्रेष्ठ मोही जोताहा जनिएको र सो कित्ता नं. ७६८ को जग्गाधनी प्रमाण पूर्जामा पनि बेखालालको नाम मोही जोताहामा जनिएको देखिएको अवस्थामा निजको मृत्युपश्चात् निजका छोरा हकवाला पुनरावेदक वादी माणिकलाल श्रेष्ठका नाउँमा दावीबमोजिम जोत नामसारी हुने ठहर्छ भनी पुनरावेदन अदालत पाटनले गरेको निर्णयउपर प्रतिवादीहरूले यस अदालतमा पुनरावेदन गरेको देखियो ।
३. जिल्ला भक्तपुर दिव्यश्वरी गा.वि.स. वडा नं. ८ (क) कि.नं. ७६८ क्षेत्रफल ०–७–१ समेत जग्गाका मोही बेखालाल श्रेष्ठको नाउँ खारेज गरी मेरा नाउँमा नामसारी गरिपाऊँ भन्ने वादी माणिकलालको दावी भै दाजु मोही भएको उक्त जग्गा मैले मोहीमा जोती आएको एवं जग्गाधनीले मलाई नै पत्याएको हुँदा मेरा नाममा मोही नामसारी हुनुपर्छ भन्ने भगतबहादुर श्रेष्ठले प्रतिदावी गरेकोमा विपक्षीका नाममा मोही कायम हुन आवश्यक पर्ने १ नं. लगत, २ नं. तथा ३ नं. अनुसूची र
४ नं. जोताहा निस्सा प्रमाणहरू विपक्षीले पेश गर्न नसकेकोले दावी खारेज हुनुपर्छ भन्ने अन्य प्रतिवादीहरूको जिकीर रहेको छ । विवादीत कित्ता नं. ७६८ को जग्गामा प्रत्यर्थी वादीका पिता बेखालाल श्रेष्ठ मोही भएको कुरा प्रमाणमा आएको यिनै पुनरावेदक प्रतिवादीहरूले मिति २०५१।११।३० मा भूमिसुधार कार्यालय, भक्तपुरमा दायर गरेको बाली दिलाई मोही निष्काशन गरिपाऊँ भनी दिएको मुद्दामा स्वीकार गरेको अबस्था छ ।
४. यसैगरी फिल्डबुक एवं जग्गाधनी प्रमाण पूर्जामा बेखालाल श्रेष्ठ मोही उल्लेख भएको देखिन्छ । जग्गाधनी प्रमाण पूर्जा तथा फिल्डबुकमा नै मोही जनिएको र बाली दिलाई मोही निष्काशन मुद्दा चली अन्तिम भएको अवस्थामा मोहीका लागि आवश्यक पर्ने लगत तथा अनुसूची फारम नभएको भनी मोही नामसारी मुद्दामा विवाद उठाउनु प्रासंगिक हुदैन । विवादीत कि.नं. ७६८ को जग्गा नापी हुँदाकै अवस्थामा फिल्डबुकमा र जग्गाधनी प्रमाण पूर्जामा समेत मोहीको नाउँ बेखालाल श्रेष्ठ जनिएको अवस्थामा निज बेखालालले उक्त जग्गामा मोहीको हैसियत प्राप्त गरिसकेको तथ्य स्थापित भएको मान्नु पर्दछ । आफूसँग लामो समय रहेको जग्गाधनी प्रमाण पूर्जाको मोही महलमा कसैको नाम जनिन्छ र त्यसलाई बदर गराउने प्रयास गरिन्न भने पछि आएर सो जग्गामा मोही नै छैन् भन्न मिल्दैन । यसरी बेखालाल श्रेष्ठ उक्त कि.नं. ७६८ को जग्गाको मोही रहेको देखिएबाट निजका छोरा यी प्रत्यर्थी वादीका नाममा मोही नामसारी नहुने कानूनी व्यवस्थासमेत रहे भएको पाइदैन ।
५. अतः माथि विवेचित आधार प्रमाणबाट प्रत्यर्थी वादी माणिकलाल श्रेष्ठका बाबु बेखालाल श्रेष्ठ विवादित कि.नं. ७६८ को जग्गाको मोही भएको र सो का आधारमा छोरा माणिकलाल श्रेष्ठका नाउँमा मोही नामसारी गर्न मिल्ने नै देखिएकाले पुनरावेदक प्रतिवादीहरूले लिएको जिकीर तथ्य र कानूनसम्मत नदेखिँदा वादी माणिकलाल श्रेष्ठलाई मोही हक दिन नमिल्ने भनी निवेदन खारेज गरेको शूरु भूमिसुधार कार्यालय, भक्तपुरको फैसला उल्टी गरी मोही बेखालाल श्रेष्ठका छोरा वादी माणिकलाल श्रेष्ठको नाउँमा दावीबमोजिम मोही नामसारी हुने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०६५।१२।३१ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गिरीश चन्द्र लाल
इति संवत् २०६७ साल भदौ ४ गते रोज ६ शुभम् ..
इजलास अधिकृतः– अशोककुमार बस्नेत