निर्णय नं. ८३६७ - गुठी तैनाथी जग्गा कायम गरेको ।
निर्णय नं: ८३६७ ने.का.प. २०६७ अङ्क ५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
संवत् २०६३ सालको दे.पु.नं.. ३००
फैसला मितिः २०६६।१०।२६।३
मुद्दाः गुठी तैनाथी जग्गा कायम गरेको ।
पुनरावेदक निवेदकः महोत्तरी जिल्ला इटहर्वाकट्टी गा.वि.स. वडा नं. १ को हाल धनुषा जिल्ला जनकपुर न.पा. वडा नं. ८ बस्ने डा. कामेश्वरप्रसाद सिँह
विरुद्ध
प्रत्यर्थी विपक्षीः गुठी संस्थान केन्द्रीय कार्यालय प्रशासक
शुरु फैसला गर्नेः
श्री श्यामराज ढुंगेल
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री राजेन्द्रराज पन्त
मा.न्या.श्री भीमेन्द्रबहादुर कार्की
§ जग्गाको लगत स्रेस्ता गुठी तैनाथी भैरहेको अवस्थामा सो लगतलाई खण्डन गर्ने बलियो प्रमाणको अभावमा कुनै कानूनले अधिकार नदिएको पदाधिकारी र कार्यालयले कानूनविपरीत गरेको काम कानूनसम्मत नहुने हुँदा त्यस्तो निर्णय र त्यसको आधारमा भएको अन्य काम कारवाहीले समेत वैधानिकता पाउन नसक्ने ।
(प्रकरण नं.३)
§ मोही नै नलाग्ने, गुठी संस्थानको पूर्ण स्वामित्वमा रही आफैंले मात्र बन्दोवस्त गर्नसक्ने कानूनी व्यवस्था भएको जग्गालाई गुठी तहसील तथा खर्च कार्यालयको एकाधपत्रको आधार लिई गुठी अधिनस्थ जग्गा हो र मोही कायम हुन्छ भन्नु उपयुक्त र कानूनसम्मत नहुने ।
(प्रकरण नं.४)
§ गुठी संस्थान (दोस्रो संशोधन) ऐन, २०३३ को दफा ३९(१) को व्यवस्थाबाट एउटा प्रकृतिको जग्गालाई अर्को प्रकृतिको जग्गामा दर्ता भएको प्रमाणित भएको अवस्थामा गुठी संस्थानको प्रशासकलाई पुनः सो जग्गा पुरानो प्रकृतिमा लग्न निर्णय गर्न पाउने अख्तियारी प्रष्ट शब्दमा प्रदान गरेको देखिँदा यो ऐनको सम्बन्धमा संशोधन पछिको कानून पहिलेको कार्यमा लागू हुन सक्दैन, गुठी प्रशासकलाई यस्तो निर्णय गर्न पाउने अधिकार छैन भन्न नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी, विद्वान अधिवक्ता श्री जयकान्तलाल
प्रत्यर्थी विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद गौडेल
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ गुठी संस्थान ऐन, २०३३ को दफा १७, १८, २६, २७, २८, ३०, २ञ, ३०, ३८, ३९
§ मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.
आदेश
न्या. रामप्रसाद श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः–
धनुषा जिल्ला जनकपुर नगरपालिका वडा नं. ८(ख) कि.नं. २५९ को दक्षिणतर्फबाट क्षे.फ. ०–७–६ (सातकठ्ठा छ धुर) जग्गा वशिष्ठ शरण वैष्णवले शर्तनामा लेखी दिएकोले मोहियानी प्रमाणपत्र पाउन सम्बन्धित कार्यालयका नाउँमा सिफारिश पाऊँ र वरिष्ठ शरण वैष्णवको नाउँ मोहियानी प्रमाणबाट कट्टा गरी यस कार्यालयबाट मसँग कवुलियत बनाई कानूनबमोजिम जो जे गर्नुपर्ने गराई सम्बन्धित कार्यालयका नाउँमा सिफारिश पाऊँ भन्ने डा. कामेश्वरप्रसाद सिँह राजपुतको निवेदन ।
उक्त कि.नं. २५९ को जग्गा संस्थान आफैंले खेती गर्न छुट्याएको १५०० विगाहा भित्रको जग्गा भएकोले सो सम्बन्धमा केही कारवाही गर्न मिलेन, बाँकी जग्गाको मोही नामसारी गर्ने सम्बन्धमा निर्देशन पाउन भनी जनकपुर गुठी तहसील तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख कृष्णमुरारी शर्माले २०४६।१।२५ मा गुठी संस्थान केन्द्रीय कार्यालयसमक्ष अनुरोध गर्नु भएकोमा संस्थानले खेती गर्न छुट्याएको १५०० विगाहा भित्र पर्न आउने कित्ताको हकमा नापीका वखत मोही लेखिएको भएतापनि मोही कटाई गुठी तैनाथी जग्गा कायम गरी कार्यालयले जग्गा धनी प्रमाणपूर्जा प्राप्त गर्नु भनी च.नं. ७१६९ मिति २०४६।२।२४ को पत्रद्वारा निर्देशन दिएको रहेछ । च.नं. १७४३ मिति २०४७।६।७ पत्रबाट १५०० विगाहा भन्दा बाहिरको हो भन्ने लगत स्रेस्ताबाट देखिने भई कार्यालयले निर्णय गर्न सकिने विषय भए त्यहाँबाट टुंगो लगाउने र संस्थानमा पेश गर्नुपर्ने भएमा के गर्नुपर्ने हुन आउँदछ रायसाथ पेश गर्नु भनी निर्देशन दिएको । उक्त वाराही कुटीको गुठी तैनाथी जग्गाको लगतबाट कट्टा गरी गुठी अधिनस्थमा कायम गर्ने भनी जनकपुर गुठी तहसील तथा खर्च कार्यालयका तत्कालीन का.प्र. कृष्णमुरारी शर्माबाट २०४७।७।१२ मा निर्णय भएको प्राप्त फायलबाट देखियो । तत् सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी गुठी संस्थान केन्द्रीय कार्यालयको २०४६।२।२४ र २०४७।६।७ को आदेश तथा आफ्नै मिति २०४६।१।२५ को जाहेरी विपरीत गुठी तैनाथी जग्गाको लगत कट्टा गर्ने आफूलाई अधिकार नभएको स्पष्ट हुँदाहुँदै जानाजान लापरवाही गरी कामेश्वरप्रसाद सिँहलाई मोही कायम गर्ने उक्त कि.नं. को जग्गा गुठी तैनाथीबाट लगत कट्टा गर्ने र गैरकानूनी निर्णय गरी अनुचित कार्य गरेको प्रमाणित भएको र उक्त कित्ता जग्गा गुठी तैनाथीको लगत दर्ता रही गुठी संस्थानले हजारीजनक विद्यापिठलाई उपलब्ध गराएको देखिएकोले सो जग्गामा मोही कायम गरी तैनाथी जग्गालाई अधिनस्थ गर्ने काम कारवाही भएको देखिँदा उक्त कि.नं. २५९ को जग्गाको सम्बन्धमा गुठी संस्थान ऐन, २०३३ को दफा ३९ बमोजिम कारवाही गर्न अ.दु.अ.आ. को च.नं. ६१५९ मिति २०५४।२।२१ को पत्रबाट लेखी आएको ।
उक्त कि.नं. २५९ को जग्गाको अधिनस्थतर्फको लगत कट्टा गरी गुठी तैनाथी किन कायम नगर्ने ? गुठी तैनाथी कायम हुनु नपर्ने कुनै आधार प्रमाण भए सात (७) दिनभित्र पेश गर्नु होला भनी कामेश्वरप्रसाद सिँहका नाउँमा लेखी पठाइएकोमा उक्त जग्गा बाराही कुटीको तैनाथी जग्गा नभई गुठी अधिनस्थ (मौनी तर्फको) साविक जिरायत १०–४–१ र हालको सर्भेमा कायम भएको ८–१९–११ मध्येको हो । वशिष्ठशरण वैष्णव समेत आठ जना मानिसले २०२३ सालदेखि जोती कमाई आएको हुनाले कार्यालयले सहमतिअनुसार उनीहरूले मोहियानी हक समेत प्राप्त गरेका छन् । साथै प.स. ०३७।३८ च.नं. ६१५ द्वारा उपरोक्त जग्गा १५०० विगाह बाहिर भएको उल्लेख गरी आफैंले भूमिसुधार कार्यालय धनुषालाई लेखेको आधारमा नै भूमिसुधार कार्यालय धनुषाको २०३८ साल असोज ९ गतेको निर्णयानुसार साविक ज.न.पा.वडा नं. ८(ख) कि.नं. २५९ र हाल सर्भे नापी हुँदा ज.पु.न.पा. वडा नं. ८ सिट नं. १३५४–१४ कि.नं. ४६ को ०–६–१–१ जग्गाको मोहीमा वशिष्ठ शरण कायम भएको र सोही जग्गा मैले प्राप्त गरेको हो । आज उक्त जग्गा कसरी १५०० विगाहा भित्रको बाराही कुटीको तैनाथी जग्गा हुन गयो, वुझ्न सकिएन । २०४७।७।१२ को निर्णयानुसार उक्त जग्गाको मोहीको रुपमा मलाई स्वीकृति दिएको र २०४४ सालदेखि मोहीको हैसियतले जोती कमाई कुत बुझाउँदै आएको छु । अतः गुठी अधिनस्थ नै कायम राखिपाऊँ भन्ने कामेश्वरप्रसाद सिँहको निवेदन साथ प्रमाणहरूको फोटोकपि पेश भएको । साथै सो कि.नं. २५९ को जग्गा नयाँ नापीमा के कुन कि.नं.हरू कायम भए सोको हाल साविक भिडाई कायम हुन आएका कित्ताको फिल्डवुक उतार समेत पठाई दिन नापी शाखामा लेखी गएकोमा उक्त कि.नं. २५९ को जग्गा हाल ज.पु.न.पा. वडा नं.८ सिट नं.१५५३–१४ कि.नं. ४५, ४६ र कि.नं. ४५ बदर भै कि.नं. ९२, ९३, ९४, ९५ र ९६ कायम हुन आएको भनी नापीबाट फिल्डबुक उतार समेत प्राप्त हुन आएको फिल्डवुकको मोही महलमा नाम उल्लेख भएका व्यक्तिहरूलाई अधिनस्थतर्फको लगत कट्टा गरी तैनाथी नै किन कायम नगर्ने भनी सात (७) दिने म्याद लेखी पठाउँदा सो पत्र बुझी चन्द्र शेखरलाल, निर्मला सिँह, नैनादेवी सिँह, उर्मिलादेवी सिँह, मनोरमादेवी सिँह समेतले अधिनस्थतर्फ मोहीको लगत कट्टा हुनुपर्ने जग्गा होइन भन्ने व्यहोराको निवेदन ।
साविक कि.नं. २५९ कि.का.भै हाल कायम कि.नं. ४६, ९२, ९३, ९४, ९५, ९६ समेत जम्मा ६ कित्ता जग्गाको गुठी अधिनस्थतर्फको लगत कट्टा गरी गुठी तैनाथी जग्गा कायम हुने ठहर्छ भन्ने गुठी संस्थान केन्द्रीय कार्यालयको मिति २०५६।८।१५ को निर्णय ।
गुठी संस्थान ऐन, २०३३ (दोस्रो संशोधन २०४९) को दफा २६ बमोजिम संस्थानले लिखित मञ्जूरी नदिएसम्म गुठी जग्गामा कोही पनि व्यक्ति मोही कायमै हुन नसक्ने कानूनले व्यवस्था गरेको र सोबमोजिम कामेश्वरप्रसाद सिँह मोही भएको पनि देखिएन भन्ने उक्त निर्णय पर्चामा लिएको तर्क समेत गैरकानूनी तथा आधारहिन हुँदा गुठी संस्थान ऐन, २०३३ को दफा ६६(१) ले खारेज गरी सकेको र मिति २०४७।७।१२ को निर्णय समेतबाट मलाई कुतवाली वुझिलिई रसीद समेत दिएकोले विपक्षी गुठी प्रशासकले गर्नु भएको निर्णय पर्चा अधिकारक्षेत्रविहीन गैरकानूनी र अन्यायपूर्ण समेत हुँदा त्यसलाई बदर गरी मिति २०४७।७।१२ को निर्णय र सो निर्णय समेतबाट कायम भएको गुठी अधिनस्थ जग्गा मेरो मोहियानी हक यथावत कायम राखी इन्साफ पाऊँ भन्ने समेतको डा. कामेश्वरप्रसाद सिँहको पुनरावेदन जिकीर ।
यसमा विवादित जग्गामा यी पुनरावेदकलाई मोही मानी बाली समेत असूल गरिरहेको अवस्थामा पुनः गुठी तैनाथी जग्गा भनी गुठी संस्थान केन्द्रीय कार्यालयले गरेको निर्णय फरक पर्नसक्ने देखिँदा प्रत्यर्थी झिकाउनु भन्ने मिति २०५७।१०।११ को पुनरावेदन अदालतको आदेश ।
यसमा प्रस्तुत पुनरावेदन, गुठी संस्थानको निर्णयउपरको मनोरमादेवी सिँह समेतको दे.पु.नं. १९८९।४३३२ मा परेको पुनरावेदन पत्र र यस अदालतबाट मिति २०५७।५।२२ मा भएको फैसलासहितको रेकर्ड मिसिल साथै राखी नियमानुसार पेश गर्नु भन्ने मिति २०५८।२।३१ को पुनरावेदन अदालतको आदेश ।
यसमा यस अदालतको फैसला सम्बन्धमा पुनरावदेक मनोरमा देवी, उर्मिला देवी, नैनादेवी, निर्मला देवी सिँह समेतको सर्वोच्च अदालतमा दोहोर्याई पाऊँ भन्ने निवेदन परेको छ, छैन परेको भए दोहोर्याउने निस्सा प्रदान भएको छ, छैन सो समेत वुझी नियमानुसार पेश गर्नु भन्ने मिति २०५८।३।२० को पुनरावेदन अदालतको आदेश ।
यसमा वशिष्ठशरण वैष्णव समेत वादी, गुठी संस्थान कार्यालय प्रतिवादी भएको २०३८।६।९ मा जि.भु.सु.का. धनुषाबाट फैसला भएको मोहियानी हकको प्रमाणपत्र पाऊँ भन्ने मुद्दाको मिसिल सम्बन्धित भू.सु.का. बाट झिकाई नियमानुसार पेश गर्नु भन्ने २०५८।६।२४ को पुनरावेदन अदालतको आदेश ।
यसमा २०५८।३।२० को आदेशानुसारको कार्य सम्पन्न गरी पेश गर्नु भन्ने मिति २०५८।१०।२२ को आदेश ।
यसमा पुनरावेदकका कानून व्यवसायीले पुनरावेदनमा मिति २०४७।७।१२ को निर्णयले मलाई मोही कायम गर्ने गरेकोले सो निर्णयअनुरूप विवादित जग्गाको मोही हकको प्रमाणपत्र पाउनको लागि भू.सु.का. धनुषामा मुद्दा कारवाहीमा रहेको भनी बहस गरेको हुँदा सो सम्बन्धमा कुनै कुरा खुलाउनु परेमा अ.वं. १३३ नं. बमोजिम कागज गरी पुनरावेदकबाट खुलाई सो मुद्दा के कुन अवस्थामा छ बुझी नियमानुसार पेश गर्नु भन्ने मिति २०५९।२।२३ को पुनरावेदन अदालतको आदेश ।
२०४७।७।१२ मा गुठी तहसील तथा खर्च कार्यालय जनकपुरले पहिला गुठी तैनाथी जग्गा १५०० विघाभित्रको जग्गा हुँदा मोही नलाग्ने भनी पछि गुठी अधिनस्थ कायम गरी मोही कायम गरेको प्रमाण मिसिलबाट देखिन आएको छ । १५०० विघा जग्गामा गुठी तैनाथी जग्गाको व्यवस्था गुठी संस्थान स्वयंले गर्नेमा गुठी तैनाथी जग्गालाई जनकपुर गुठी तहसील तथा खर्च कार्यालय प्रमुखले विवादित कि.नं. २५९ को जग्गा गुठी अधिनस्थ कायम गरी मोही कायम गर्ने गरेको निर्णय गुठी ऐनको विपरीत देखियो । गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) को व्यवस्थाबमोजिम १५०० विगाहाभित्रको विवादको कि.नं. २५९ को गुठी तैनाथी जग्गाको लगत कट्टा गरी गुठी अधिनस्थ कायम गरेको गुठी तहसील तथा खर्च कार्यालय जनकपुरका प्रमुखको २०४७।७।१२ को निर्णय कट्टा गर्न सक्ने अधिकार गुठी संस्थानको प्रशासकलाई भएको देखिँदा गुठी संस्थानको प्रशासकको २०५६।८।१५ को निर्णय अन्यथा हो भन्न मिल्ने देखिएन । गुठी अधिनस्थ जग्गा हो भन्ने सम्बन्धमा विचार गर्दा गुठी अधिनस्थ हो भन्ने पुनरावेदकले हक कायम गर्न पाइने नै हुँदा अधिकार विहीन जनकपुर गुठी तहसील तथा खर्च कार्यालयको प्रमुखको निर्णयले पुनरावेदकको हकमा असर नपर्ने हुँदा समेत पुनरावेदक तर्फका वरिष्ठ विद्वानको बहससँग सहमत हुन सकिएन । तसर्थ गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) बमोजिम गरेको प्रशासक गुठी संस्थानको निर्णय मिलेको देखियो भने सोही निर्णयउपर परेको दे.पु.नं. १९८९।४३३२ को पुनरावेदनमा यस अदालतबाट भएको २०५७।५।२२ को फैसला अन्तिम भई वसिरहेको अवस्था हुँदा समेत गुठी संस्थानको प्रशासकको २०५६।८।१५ को निर्णय अन्यथा गर्न नमिल्दा समेत गुठी संस्थानको प्रशासकको निर्णय मनासिव ठहर्छ भन्ने पुनरावेदन अदालतको फैसला ।
प्रस्तुत मुद्दामा गुठी अधिनस्थ जग्गा हो वा गुठी तैनाथी जग्गा हो भनी निर्णय गर्नुपर्ने अवस्था छ । फैसला गर्दा गुठी संस्थानबाट पहिले भएका निर्णय र काम कारवाहीलाई ध्यान दिइएको छैन । गुठी संस्थान ऐन, २०३३ को दफा २६ ले गुठी अधिनस्थ जग्गामा जोताहा किसानले मोही हक पाउँछ । मेरो दाता वशिष्ठशरण वैष्णवले मोही कायम गरी पाउन २०३१।४।२३ मा गुठी तहसील तथा खर्च कार्यालय जनकपुरमा निवेदन दिई कारवाही हुँदा सो कार्यालयले भूमिसुधार कार्यालयलाई मिति २०३७।८।१ मा पत्र लेख्दा यी जग्गा १५०० विगाहामा नपर्ने र २०३५ सालसम्मको कुत बुझाएको भनी उल्लेख भएको आधारमा मोही कायम भएको छ । एउटै निवेदनबाट धेरै जनाको मोही कायम भएको र त्यसमा दावी गर्ने अर्को पक्षको निवेदनको आधारमा एउटै निवेदनबाट धेरै जनाको मोही कायम गरेको मिलेन भनी उत्प्रेषणको आदेशले बदर गरी दिएको अवस्था छ । तत् पश्चात दिएको निवेदनको आधारमा २०४३।२।२१ मा वशिष्टशरणले मोही हक प्राप्त गर्नु भएको हो । मोही वशिष्टशरणबाट २०४३।४।१४ मा कवुलियत गराई मैले मोही लिएको हो । मोही जग्गा खरीद विक्री हुनसक्छ । मैले खरीद गरी लिएको आधारमा मेरो मोही कायम भएको हो ।
विवादित कि.नं. २५९ को जग्गा १५०० विघाभित्र पर्दैन भनी गुठी तहसील तथा खर्च कार्यालयले २०३७।८।१ मा भूमिसुधार कर्यालयलाई लेखेको पत्रको आधारमा भूमिसुधारले मेरो दातालाई मोही हकको प्रमाणपत्र प्रदान गरेको र आजसम्म कायम छ । गुठी तहसील तथा खर्च कार्यालयले गुठी संस्थान केन्द्रीय कार्यालयलाई २०४५।१।२७ मा लेखेको पत्रको जवाफमा गुठी अधिनस्थ जग्गाको हकमा सो कार्यालयलाई नै अधिकार प्रदान गरेको छ । पत्रअन्तर्गत रही गुठी तैनाथी नदेखिएबाट गुठी तहसील तथा खर्च कार्यालयले सो जग्गालाई २०४७।७।१२ मा गुठी अधिनस्थ जग्गा कायम गरी तत्पश्चात् मलाई मोही कायम गरेको छ । गुठी संस्थान ऐन, २०३३ को दफा २६ ग ले गुठी तैनाथीमा मोही नलाग्ने व्यवस्था गरेको हो । त्यस्तो जग्गामा गुठी संस्थानले लिखित मञ्जूरी गरेमा मात्र मोही लाग्छ, अन्यथा लाग्दैन । यस्तो जग्गाबाट मोही झिक्न पनि सक्छ । यो गुठी तैनाथीभित्र नपर्ने र १५०० विघाभित्र समेत नपर्ने हुँदा २०४९ मा भएको दोस्रो संशोधनको दफा ३९(१) को व्यवस्था लागू गरी गुठी तैनाथी भनी गरेको व्याख्या र निर्णय कानूनसम्मत छैन । त्यसैगरी दे.पु.नं. १९८९/४३३२ को मुद्दाको सन्दर्भ छ सो मुद्दामा मेरो दाताको संलग्नता छैन र विवादित जग्गा पनि समावेश छैन । विवादित जग्गाको सम्बन्धमा भएको पूर्व निर्णय एवं जग्गाको वास्तविक स्थितितर्फ विचार नगरी भएको फैसला र गुठी संस्थान केन्द्रीय कार्यालयबाट भएको निर्णय पूर्णतः स्वेच्छिक तथा न्यायिक मनसायविपरीत, गलत व्याख्या र पूर्वाग्रहपूर्ण हुँदा दोहोर्याई हेर्ने निस्सा पाऊँ भन्ने निवेदन ।
यसमा यस अदालतको मिति २०६२।१२।१८ को आदेशानुसार झिकाई भूमिसुधार कार्यालय धनुषाबाट प्राप्त भएको मिसिलबाट निवेदन दावीमा उल्लिखित, जिल्ला धनुषा जनकपुर न.पा. वडा नं. ८ख कि.नं. २५९ को ०–१४–४ मध्ये दक्षिण तर्फबाट ०–७–६ जग्गाको निवेदकका दाता वशिष्टशरण वैष्णवलाई मिति २०४२।१२।३१ को निर्णयानुसार मोही कायम गरेको देखियो । निवेदकको दाता वशिष्टशरण वैष्णवले मोही हकको प्रमाणपत्र पाऊँ भनी भूमिसुधार कार्यालय धनुषामा गरेको निवेदन पश्चात भूमिसुधार कार्यालयबाट जनकपुर गुठी तहसील तथा खर्च कार्यालय जनकपुरलाई सोधनी हुँदा उक्त कार्यालयको च.नं. ६१५ मिति २०३७।८।१ को पत्रमा विवादित कित्ता नम्वर २५९ समेतका जग्गा गुठी तैनाथीको १५०० विघा भित्र नपर्ने भनी उल्लेख भएकोमा निवेदनमा उल्लिखित जग्गा गुठी अधिनस्थ हो वा गुठी तैनाथी जग्गा हो ? भन्ने विषयमा प्रमाण वुझी प्रमाणको यथोचित मूल्याङ्कन गरी निर्णय गर्नुपर्नेमा प्रमाणको मूल्याङ्कन नगरी गुठी तैनाथी कायम गर्ने गरी गुठी संस्थान केन्द्रीय कार्यालयका प्रशासकले मिति २०५६।८।१५ मा गरेको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५९।११।२६ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४, गुठी संस्थान ऐन, २०३३ को दफा २६(१),२७, ३९ (१) तथा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ को व्याख्यामा गम्भीर त्रुटि भएको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०६३।७।३ को आदेश ।
नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्र सहित शुरु, रेकर्ड र प्रमाण मिसिल समेत अध्ययन गरी पुनरावेदक/निवेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी र अधिवक्ता श्री जयकान्तलालले विवादित जग्गा गुठी तैनाथी नभै गुठी अधिनस्थ हो भनी गुठी तहसील तथा खर्च कार्यालयले सो कै केन्द्रीय कार्यालयलाई पत्र लेखेबाट गुठी अधिनस्थ जग्गा हो भन्ने देखिने र गुठी जग्गाको मोही खरीद विक्री हुने व्यवस्थानुसार मेरो पक्षले मोही खरीद गरी लिई भूमिसुधार कार्यालयबाट मोही कायम भएको छ । मोही कायम गर्ने निर्णय र मोहीको प्रमाणपत्र कायम रहँदारहँदै पछि संशोधन भएको ऐनको अख्तियारी प्रयोग गरी गुठी संस्थानको प्रशासकबाट भएको निर्णय कानूनसम्मत र अधिकार प्राप्त समेत छैन । अनधिकृत व्यक्तिबाट भएको गैरकानूनी निर्णय कार्यान्वयन गर्ने कार्य त्रुटिपूर्ण छ । त्यस्तो अनधिकृत व्यक्तिबाट भएको गैरकानूनी निर्णय बदर गर्नु पर्नेमा सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी गुठी अधिनस्थ नै कायम राखी मेरो पक्षको मोही हक यथावत राखी पाऊँ भन्ने र प्रत्यर्थी विपक्षीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामप्रसाद गोडेलले विवादित जग्गा गुठी अधिनस्थ नभै गुठी तैनाथी हो । गुठी तैनाथीमा रहेको जग्गालाई गुठी तहसील तथा खर्च कार्यालयका कार्यालय प्रमुखले २०४७।७।१२ मा गुठी अधिनस्थ कायम गर्ने निर्णय गरेका छन् । गुठी तैनाथी जग्गालाई गुठी अधिनस्थ गर्ने निर्णय गर्न कानूनतः गुठी तहसील तथा खर्च कार्यालय र सोका कार्यालय प्रमुखलाई अधिकार छैन । बिना आधार प्रमाण र अख्तियार नै नभएको व्यक्तिले गरेको निर्णय कानूनसम्मत हुँदैन । गुठी तैनाथी जग्गामा मोही कायम गरेको समेत त्रुटिपूर्ण छ । गुठी तैनाथी जग्गालाई गुठी अधिनस्थ गरेको निर्णय त्रुटिपूर्ण रहेको अवस्थामा गुठी संस्थान ऐन, २०३३ को दफा ३९ बमोजिम गुठी प्रशासकले गुठी तैनाथी कायम गर्ने निर्णय गरेको कानूनसम्मत हुँदा पुनरावेदन अदालतको फैसला सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
निर्णयतर्फ विचार गर्दा मेरो दाता वशिष्टशरण वैष्णवको नाममा मोहीमा दर्ता भएको धनुषा जिल्ला जनकपुर न.पा. वडा नं. ८ख कि.नं. २५९ को दक्षिण तर्फको ०–७–६ जग्गा निजबाट शर्तनामा गरी मैले लिएकोले निजको नामबाट कट्टा गरी मेरो नाउँमा मोही कायम गरिपाऊँ भन्ने पुनरावेदक/निवेदकको माग दावी भएकोमा, निवेदकले दावी लिएको जग्गा गुठी अधिनस्थ नभै गुठी तैनाथी जग्गा हो, गुठी तैनाथी जग्गालाई गुठी अधिनस्थ कायम गरी मोही कायम गर्ने कार्यनै अनधिकृत र कानूनसम्मत छैन । यदि गुठी तैनाथी जग्गा गुठी अधिनस्थमा परिवर्तन भएको रहेछ भने त्यसलाई गुठी संस्थानको प्रशासकले पुनः गुठी तैनाथी कायम गर्न सक्छ । पूर्व गुठी तैनाथी जग्गालाई परिवर्तन गरेको कार्य बदर गरी गुठी तैनाथी कायम गर्ने प्रशासकको निर्णय कानूनसम्मत हुँदा सो निर्णय कायम हुनुपर्छ भन्ने गुठी संस्थानको प्रतिवाद रहेको प्रस्तुत मुद्दामा विवादित जग्गा के कस्तो हो ? भन्ने सन्दर्भमा निम्न प्रश्नहरूको विवेचना गरी पुनरावेदन अदालतको फैसला मनासिव वेमुनासिव के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आएको छ ।
(क) विवादित जग्गा गुठी तैनाथी हो वा गुठी अधिनस्थ हो ?
(ख) गुठी तैनाथी जग्गा गुठी अधिनस्थमा परिर्वतन हुन सक्छ वा सक्दैन ? गुठीको विवादित जग्गामा मोही लाग्न सक्छ वा सक्दैन ? मोही ठहरको निर्णय र मोही प्रमाणपत्रको वैधानिकता के हुन्छ ?
(ग) गुठीको प्रशासकले गुठी अधिनस्थ जग्गालाई गुठी तैनाथीमा परिवर्तन गर्न सक्छ वा सक्दैन ? पछि संशोधन भएको ऐन अगाडि भैसकेको कार्यमा प्रयोग हुन सक्छ वा सक्दैन ?
२. प्रथम प्रश्नतर्फ विचार गर्दा विवादित धनुषा जिल्ला ज.न.पा. वडा नं. ८ख कि.नं. २५२, २५९, २६० को जग्गाहरू गुठी संस्थानको गुठी तैनाथीअन्तर्गतका जग्गा हुन् वा गुठी अधिनस्थअन्तर्गतका जग्गा हुन ? भनी पहिले विवाद उठेको देखिन्छ । कि.नं. २५९ को जग्गा मेरो दाता वशिष्टशरण वैष्णवले जोतभोग गरी आएको मोही लगतमा चढेको गुठी अधिनस्थ जग्गा हो, निजको मोही मैले शर्तनामा गरी लिएको हुँदा मेरो नाममा मोही कायम गरिपाऊँ भन्ने पुनरावेदक निवेदक कामेश्वरप्रसाद सिँहको दावी रहेको देखिन्छ । सोही व्यहोरालाई वरिष्ठशरण वैष्णवले गुठी तहसील तथा खर्च कार्यालयमा उपस्थित भै मञ्जूरीनामाको कागज गरी दिएको देखिन्छ । निवेदकको दावीअनुसारको प्रस्तुत जग्गा गुठी तैनाथी हो वा गुठी अधिनस्थ जग्गा हो भन्ने सन्दर्भमा गुठी तहसील तथा खर्च कार्यालय र गुठी संस्थानको केन्द्रीय कार्यालय बीच पटक–पटक पत्रचार भएको मिसिल संलग्न पत्रबाट देखिन आएको छ । गुठी तहसील तथा खर्च कार्यालयले गुठी संस्थान केन्द्रीय कार्यालयलाई मिति २०४६।१।२५, २०४६।१२।२९, २०५३।५।२० मा लेखेको पत्रमा विवादित जग्गामा मोही भएपनि यो जग्गा गुठी तैनाथी जग्गा हो, यो १५०० विघा भित्रको लगतमा देखिन्छ भनी पत्र लेखेको देखिन्छ । त्यसै गरी सो कार्यालयले मिति २०३७।८।१ मा लेखेको पत्रमा विवादित जग्गा गुठी तैनाथीमा देखिदैन भन्दै जोताहामा वशिष्ठशरणको नामनभै रामपुकार मण्डलले कमाएको भन्ने पत्र लेखेको देखिन्छ । यसै सम्बन्धमा गुठी अधिनस्थ जग्गा भए त्यहाँबाट कारवाही गर्नु र गुठी तैनाथी भए आवश्यक कार्यार्थ लेखी पठाउनु र १५०० विगाहाको लगत भित्र पर्ने जग्गा भए मोही कट्टा गरी तैनाथीमा दर्ता गर्नु भनी केन्द्रीय कार्यालयले मिति २०४६।२।२४, २०४७।६।७ मा पत्र/परिपत्र समेत गरेको देखिन्छ । जिल्लास्थित गुठी तहसील तथा खर्च कार्यालयले विरोधाषपूर्ण पत्राचार गरे तापनि यो जग्गा गुठी तैनाथी जग्गा हो भन्ने तथ्य सो कार्यालयले २०४७।७।१२ मा गुठी तैनाथीको लगत कट्टा गरी अधिनस्थ कायम गर्ने निर्णय गरेबाट पुष्टि हुन आउँछ । उपरोक्त तथ्य, पत्र, लगत स्रेस्ता र निर्णयबाट विवादित जग्गा गुठी तैनाथी जग्गा हो भन्ने पुष्टि हुन आएको छ ।
३. गुठी तैनाथी जग्गालाई गुठी अधिनस्थ कायम गर्न मिल्छ वा मिल्दैन ? गुठीको विवादित जग्गामा निवेदक मोही हुन सक्छन कि सक्दैनन् ? भन्ने दोस्रो प्रश्नको सम्बन्धमा माथि विवेचना गरेको आधारमा विवादित जग्गा गुठी तैनाथी भएको देखिएको अवस्थामा गुठी तहसील तथा खर्च कार्यालय जनकपुरले आफै पटक पटक यो जग्गा गुठी तैनाथी,१५००विघाको लगत भित्रको जग्गा हो भनी लगत र स्रेस्ता अनुसार पत्र लेखेको अवस्थामा सोही जग्गालाई अन्यथा हो भन्न सोही कार्यालयका कर्मचारी हरिशंकर अधिकारीलाई जग्गाका सम्बन्धमा बुझ्न लगाई प्रतिवेदन लिई सो प्रतिवेदन र जग्गाको कुतवाली बुझाएको आधारमा गुठी तैनाथी स्रेस्ताको नै लगत कट्टा गरी गुठी अधिनस्थ कायम गर्ने निर्णय गरेको देखिन्छ । जग्गाको लगत स्रेस्ता गुठी तैनाथी भै रहेको अवस्थामा सो लगतलाई खण्डन गर्ने बलियो प्रमाणको अभावमा कुनै कानूनले अधिकार नदिएको पदाधिकारी र कार्यालयले कानूनविपरीत गरेको काम कानूनसम्मत नहुने हुँदा त्यस्तो निर्णय र त्यसको आधारमा भएको अन्य काम कारवाहीले समेत वैधानिकता पाउन सक्ने अवस्था हुँदैन । तसर्थ कानूनले अधिकार नै नदिएको पदाधिकारी र कार्यालयबाट स्रेस्ता लगत समेतको विपरीत कानून र विधानले प्रदान नगरेको पद्दति र प्रक्रिया उल्लङ्घन गरी जग्गाको प्रकृति परिवर्तन गरेको गुठी तहसील तथा खर्च कार्यालय जनकपुरको मिति २०४७।७।१२ को निर्णय कानूनसम्मत देखिएन ।
४. मोही कायम गर्ने भूमिसुधार कार्यालयको निर्णय र मोहीको प्रमाणपत्र कायम नै छ ? निर्णय बदर नहुँदासम्म मोही रहिरहन्छ भन्ने सन्दर्भमा विचार गर्दा गुठीको कस्तो जग्गामा मोही लाग्ने र कस्तोमा मोही नलाग्ने हो सो सम्बन्धमा भएका कानूनी व्यवस्था हेर्नु आवश्यक हुन्छ । गुठी संस्थान ऐन, २०३३ को दफा २ट मा “गुठी अधिनस्थ जग्गा भन्नाले दर्तावालाले संस्थानलाई जिन्सी वुझाई आएको जग्गा भन्ने सम्झनु पर्छ भनी परिभाषा गरेको देखिन्छ । त्यसै गरी ऐनको दफा २६, २७ मा गुठी अधिनस्थ जग्गामा मोही लाग्ने र दफा ३० मा मोही खरीद विक्री हुने व्यवस्था गरेको देखिन्छ भने अर्को तर्फ ऐ. ऐनको दफा २ ‘ञ’ मा गुठी तैनाथी जग्गा भन्नाले कसैको नाममा दर्ता नभएको गुठी संस्थानको सम्पूर्ण अधिकार गुठी संस्थानमा रहने भनी परिभाषा गरेको छ । ऐ. ऐनको दफा १७, १८, ३८ र ३९ हेर्दा यस्तो जग्गा आफैं वा मोही लगाई खेती गर्न सकिने, सरकारको स्वीकृति वेगर स्वामित्व परिवर्तन गर्न नसकिने, कथंकदाचित जग्गाको प्रकृति परिर्वतन भएको वा कसैको नाममा गएको रहेछ भने पुनः गुठी तैनाथीमा ल्याउन सकिने गुठी संस्थानको जग्गा हो भन्ने देखिन आउँछ । मोही नै नलाग्ने, गुठी संस्थानको पूर्ण स्वामित्वमा रही आफैंले मात्र बन्दोवस्त गर्न सक्ने कानूनी व्यवस्था भएको जग्गालाई गुठी तहसील तथा खर्च कार्यालयको एकाधपत्रको आधार लिई गुठी अधिनस्थ जग्गा हो र मोही कायम हुन्छ भन्नु उपयुक्त र कानूनसम्मत हुँदैन । पुनरावेदक निवदेकका दाताले विवादित जग्गा गुठी अधिनस्थको हो मैले मोहीमा भोग गरेको हुँ भनी मोही विक्री गर्ने र सो बमोजिमको मञ्जूरीनामा गरी दिएको भएता पनि सो जग्गाको मोही विक्री गरेको सर्तनामाको कागज गुठी संस्थान ऐन, २०३३ को दफा ३० बमोजिम जग्गाको मोही खरीद विक्री हुँदा रजिष्ट्रेशनको १ नं. बमोजिम रजिष्ट्रशन भएको अवस्था पनि छैन । प्रस्तुत मुद्दाको निवेदनमा कारवाही हुँदाका अवस्थामा निवेदकको दाता वशिष्ठशरणलाई बोलाई गुठीको जग्गा के कति कसरी भोग गर्नु भएको छ भनी सोध्दा निजले गुठीको जग्गा २०२४।३।२८ को कवुलियतअनुसार ठेक्कामा जोतभोग गरेको र बाली बुझाउँदै आएको छु भनी मिति २०४५।१२।२० मा गुठी तहसील तथा खर्च कार्यालय जनकपुरमा बयान कागज गरेको देखिन्छ । सो कागज समेतबाट विवादित जग्गा गुठी तैनाथीको भै निवेदकका दाताले मोहीमा नभै ठेक्काको आधारमा जोतभोग गरी आएको देखिन्छ । उपरोक्त उल्लिखित आधार र जग्गाको प्रकृति हेर्दा दाविको जग्गामा दाताकै मोही कायम हुन नसक्ने स्थितिमा यी निवेदकको मोही कायम हुन सक्ने अवस्था देखिदैन । तसर्थ लिखत प्रमाणको अभावमा अनधिकृत तवरबाट गुठी तैनाथीको लगत कट्टा गर्ने गुठी तहसील तथा खर्च कार्यालय जनकपुरको २०४७।७।१२ को निर्णय र सो निर्णय एवं ठेक्काको बाली बुझेको भरपाईको आधारमा निवेदकको दाता र निवेदकको नाममा मोही कायम गर्ने भू.सु.का को निर्णय अनधिकृत एवं कानूनसम्मत नहुँदा, कानूनतः सुन्यको अवस्थामा रहन आउने देखियो ।
५. गुठी अधिनस्थ कायम भै गुठी तैनाथीको लगत कट्टा भएको जग्गालाई गुठी संस्थानको प्रशासकलाई पुनः गुठी तैनाथी कायम गर्ने अधिकार छ वा छैन ? संशोधन भएको ऐन पहिलेको काममा प्रयोग हुन सक्छ वा सक्दैन ? भन्ने अर्को प्रश्नको सन्दर्भमा विचार गर्दा गुठी संस्थान ऐन, २०३३ को व्यवस्था हेर्नुपर्ने देखियो । गुठी संस्थान (दोस्रो संशोधन) ऐन, २०३३ को दफा ३९ (१) मा “गुठी तैनाथी जग्गा, गुठी अधिनस्थ जग्गामा, गुठी अधिनस्थ जग्गा गुठी रैतान नम्बरीमा वा गुठीको घर वा जग्गा रैकरमा दर्ता भएको प्रमाणित हुन आएमा प्रशासकले वा प्रशासकको काम गर्ने प्रशासनिक प्रमुखले त्यस्तो गुठीको घर वा जग्गा साविकको गुठी तैनाथी जग्गा, गुठी अधिनस्थ जग्गा वा गुठी रैतान नम्वरीमा नै दर्ता गर्न सक्नेछ । त्यसरी दर्ता भै सकेपछि सो घर वा जग्गाको पहिले दर्ता भएको जग्गाको लगत कट्टा हुनेछ” भन्ने व्यवस्था गरेको देखिन्छ । प्रशासकले प्रकृति परिवर्र्तन गर्न पाउने वर्तमान व्यवस्था संशोधन पूर्वको व्यवस्था एउटै रहेको देखिन्छ । संशोधन पूर्वको गुठी संस्थान ऐन, २०३३ को व्यवस्था हेर्दा “गुठी प्रशासकले गुठीको घर वा जग्गा रैकरमा दर्ताभएको भएतापनि गुठी जग्गा वा घर भन्ने गुठिको स्रेस्ताबाट वा लालमोहर, खडग निशाना, ताम्रपत्र शिलापत्र आदि लिखतमा देखिन आई प्रमाणित हुन आएमा प्रशासकले त्यस्तो जग्गा वा घर गुठीमा दर्तागर्न सक्नेछ र सो जग्गा वा घर को रैकरमा दर्ताभएको लगत कट्टा हुनेछ” भन्ने व्यवस्था भएको देखिन्छ । प्रथम संशोधनले गुठीको घर वा जग्गा रैकरमा परिणत गरेको देखिएमा पुनः गुठी कायम गर्न पाउने मात्र व्यवस्था भएकोमा दोस्रो संशोधनले गुठी तैनाथी जग्गा गुठी अधिनस्थ जग्गामा, गुठी अधिनस्थ जग्गा गुठी रैतान नम्वरी जग्गामा वा गुठीको घर वा जग्गा रैकरमा दर्ता हुन आएको देखिएमा गुठी प्रशासकले पुरानो प्रकृतिमा दर्ता गर्न सक्ने गरेको व्यवस्था एउटै प्रकृतिको देखिन्छ । दुवै व्यवस्था एउटा प्रकृतिको सम्पत्तिलाई दुरुपयोग गरी अर्कोमा परिवर्तन गरी कसैले खान नपाओस्, गुठीको सम्पत्तिको संरक्षण होस् भन्ने नै रहेको देखिँदा वर्तमान व्यवस्था प्रथम संशोधनको निरन्तरता र विस्तृतीकरण मात्र भएको एवं जग्गाको प्रकृति परिवर्तन गरेको पहिलेको कार्यलाई समेत परिवर्तन गर्न पाउने गरी कानूनी वैधता प्रदान गरेको देखिन्छ । पहिलेनै गुठीको जग्गाको स्वरुप वा प्रकृति परिवर्तन भैसकेको अवस्थामा पछिको संशोधन लगाउन मिल्छ वा मिल्दैन भन्ने विषयमा व्यक्ति व्यक्तिका बीच जग्गाको तेरो मेरो को विवाद उठी एकपटक भएको निर्णय अन्तिमभै सम्बन्धित पक्षलाई वन्धनकारीहुने सामान्य व्यवस्थाको विपरीत गुठी जग्गाको स्वरुप वा प्रकृति समाप्त हुनेगरी भएको निर्णय जहिलेसुकै बदर गर्न मिल्ने भनी नेकाप २०६६, नि.नं.८२३८, पृ.१६१२ मा सिद्धान्त प्रतिपादन भैसकेको सन्दर्भ र गुठी संस्थान (दोस्रो संशोधन) ऐन, २०३३ को दफा ३९(१) को व्यवस्थाबाट एउटा प्रकृतिको जग्गालाई अर्को प्रकृतिको जग्गामा दर्ता भएको प्रमाणित भएको अवस्थामा गुठी संस्थानको प्रशासकलाई पुनः सो जग्गा पुरानो प्रकृतिमा लग्न निर्णय गर्न पाउने अख्तियारी प्रष्ट शब्दमा प्रदान गरेको देखिँदा यो ऐनको सम्बन्धमा संशोधन पछिको कानून पहिलेको कार्यमा लागू हुन सक्दैन, गुठी प्रकाशकलाई यस्तो निर्णय गर्न पाउने अधिकार छैन भन्न मिल्ने देखिएन । अतः संशोधन पछिको कानून पहिलेको कार्यमा लागू हुन सक्दैन, गुठी प्रशासकलाई यस्तो निर्णय गर्न पाउने अधिकार छैन भन्ने पुनरावेदकको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन ।
६. तसर्थ यसै विवादसँग सम्बन्धित कि.नं. २५९ को जग्गाको सन्दर्भमा संवत् २०५७/५८ को दे.पु.नं. १९८९/४३३२ को गुठी अधिनस्थको लगत कट्टा गरी गुठी तैनाथी कायम मुद्दामा गुठी तैनाथी कायम गरेको गुठी प्रशासकको निर्णय सदर गरेको पुनरावदेन अदालतको २०५७।५।२२ को फैसला अन्तिम भै बसेको सन्दर्भ र माथि विवेचित आधार प्रमाणबाट विवादित जग्गा गुठी तैनाथी जग्गा हो भन्ने प्रमाणित हुन आएको अवस्थामा पहिलेदेखिकै गुठी तैनाथी जग्गाको लगत कट्टा गरी गुठी अधिनस्थ कायम गर्ने गरेको गुठी तहसील तथा खर्च कार्यालय जनकपुरको मिति २०४७।७।१२ को निर्णय बदर गरी पुनः गुठी तैनाथी कायम गरेको गुठी प्रशासकको मिति २०५६।८।१५ को निर्णय गुठी संस्थान (दोस्रो संशोधन) ऐन, २०३३ को दफा ३९(१) ले प्रदान गरेको अख्तियारी भित्रको देखिँदा सो कानूनसम्मत निर्णय सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५९।११।२६को फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक निवेदकको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कृष्णप्रसाद उपाध्याय
इति संवत् २०६६ साल माघ २६ गते रोज ३ शुभम्
इजलास अधिकृत लीलाराज अधिकारी