निर्णय नं. ८३७१ - अंश हक कायम ।
निर्णय नं: ८३७१ ने.का.प. २०६७ अङ्क ५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री गौरी ढकाल
संवत् २०६३ सालको दे.पु.नं. ५४५
फैसला मितिः २०६७।१।२।५
मुद्दा : अंश हक कायम ।
पुनरावेदक वादीः वारा जिल्ला विश्रामपुर गा.वि.स. वडा नं. ८ बस्ने विश्वनाथ साह कलवार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. बस्ने रामचन्द्रप्रसाद कलवार
शुरु फैसला गर्नेः
मा.जि.न्या श्री अजयराज उपाध्याय
पुनरावेदन फैसला गर्नेः—
मा.न्या.श्री नन्दराज अधिकारी
मा.न्या. श्री गौरीबहादुर कार्की
§ बण्डापत्रमा अवण्डा भनी नजनिएको सम्पत्ति यदि कुनै अंशियारको नाउँमा दर्ता कायम रहेको छ भने त्यो सम्पत्ति वण्डा गर्ने नगर्ने भन्ने कुराको निर्णय गर्ने अधिकार सम्बन्धित पक्षमा नै निहीत रहन जाने ।
§ कुनै अचल सम्पत्ति राजिखुसी साथ अंशियारबीच बण्डा गर्दैमा त्यस्तो अंशियारले निजी आर्जन तथा स्रोतबाट खरीद गरेको अन्य सम्पत्ति समेतबाट त्यस्तो अंशियारलाई वण्डा दिन पक्ष बाध्य हुन्छ भनेर भन्न नमिल्ने ।
§ लिखतमा एकासगोलको अंशियार भनी साक्षी नराखेको अवस्थामा कुनै अंशियारको नाउँमा रहेको जग्गा त्यस्तो अंशियारले बेचविखन तथा वकस गरी दिँदा अर्को अंशियार साक्षी राखेको भन्दैमा अंशियारहरू एकासगोलमा रही बसी आएका रहेछन् भनी अनुमान गर्न नमिल्नुका साथै त्यस्तो अवस्थामा बसेको साक्षीको हैसियत साक्षीको रुपमा मात्र सीमित रहन जाने ।
(प्रकरण नं.५)
पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री सुधीरकुमार दास
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री बालकृष्ण नेउपाने र श्री रविनारायण खनाल
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत हेटौंडाको मिति २०६३।४।२८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः—
सिदयाल साह कलवारका दुई छोरामध्ये जेठा विपक्षी रामचन्द्रप्रसाद कलवारका पिता जोधा साह र कान्छो म वादी भै पिता माताको मृत्युपश्चात् पैत्रिक सम्पत्ति तथा सोबाट बढे बढाएको सम्पत्ति समेत सगोलमानै भोग गरी आउँदा पैत्रिक सम्पत्तिको आयस्ताबाट वीरगञ्ज बजारमा जग्गा खरीद गर्ने दाजु जोधा साह र म वादीको समेत सल्लाह भै वीरगञ्ज नगर समितिले मूल्य निर्धारण गरी विक्री वितरण गर्न शुरु गरेका जग्गामध्ये प्लट नं ३४८ को ज.वि. ०—१—३—३।४ जग्गा खरीदका लागि पहिला पटक मिति २०३३।१०।१० मा रू. १२००।— मिति २०३३।१२।११ मा दाजु जोधा साहको नामबाट दाखिल गराई कार्यव्यस्तताले आफ्नो नाउँमा गराउन नसकेपनि भाग शान्ति आधा—आधा भोगी आउने क्रममा सो दर्ता हुन नसकेको जग्गा छाडी बाँकी दर्ता भएका अचल जग्गा जमिन मिति २०३३।३।३२ मा वण्डापत्र पारित भएपश्चात् दाजु जोधा साहको मृत्यु भयो । दाजुको मृत्यु भएकोले सो जग्गा आफ्ना नाउँमा गराउन वीरगञ्ज नगर विकास समितिमा जादा जसका नामबाट रुपैयाँ दाखिल भएको छ उसैका हकवालाको नाममा मात्र दर्ता हुने भन्ने भएबाट म समेतको मञ्जूरीले जोधा साहको छोरा भतिजा विपक्षी रामचन्द्रप्रसाद कलवारको नाममा मिति २०४५।४।२४ मा सोही मूल्यमा लिखत पारित गराई हाल कि.नं. ३५२ को जग्गा कायम भएको छ । सो जग्गा भोगअनुसार वण्डा गरौं भनी विपक्षीलाई मिति २०६१।५।१९ मा भन्दा इन्कार गरेकाले अंशवण्डाको १, २, ३ र ३५ नं. अनुसार फिराद गरेको छु । साक्षी प्रमाण समेत बुझी सगोल सम्पत्तिबाट अंशवण्डा पारित हुनु पूर्वको खरीद जग्गा दर्ता हुन नसकेकोले अवण्डा स्वरुप राखी भोगी आएको उक्त जग्गामध्ये आधा मेरो नाममा दर्ता गरिपाऊँ भन्ने समेतको फिराद पत्र ।
वादी र मेरा पिता जोधा साहका बीच २००५ सालभन्दा अघिको श्री सम्पत्तिमा २००५ सालको मानो छुट्टिएको मिति कायम गरी मिति २०३६।३।३२ मा अंश वण्डापत्र पारित भएको प्रष्ट छ । सो मानो छुट्टिएको मिति पछि आ—आफूले आर्जन गरेको श्री सम्पत्ति वण्डा हुने होइन । २००५ सालमा चल सम्पत्ति वण्डा लिई वादी अलग भएपश्चात् दावीको जग्गा पिता तथा म समेतका आर्जनबाट खरीद गरेको हो । विपक्षी समेतको आर्जनको सम्पत्ति भए संयुक्त रुपमा लिखत पारित हुनुपर्ने थियो । सो जग्गाको स्वामित्वको प्राप्ति रुपैयाँबाट भएको हो जुन चल सम्पत्ति २००५ सालमा नै वण्डा भइसकेको छ । वादी र मेरा पिता बीच २०३६ सालमा वण्डा भए पश्चात नै उक्त जग्गा मेरा नाममा आएको भन्ने मालपोत कार्यालय, पर्साको र.नं. ४३०, मिति २०४५।४।२४ मा पारित भएको लिखतबाट प्रष्ट छ । अवण्डाको मतलब वण्डा हुँदा छुट भएको पैत्रिक सम्पत्ति हो । जसको गोश्वारा लिखत भै वा नभै भोग भएको जग्गा हो । दावीको जग्गा २००५ सालमा चल सम्पत्ति लिई मानो छुट्टिए पछिको आर्जनको मेरो निजी सम्पत्ति हुँदा अंशवण्डाको ३५ नं. समेतको परिभाषाविपरीत दायर भएको फिराद खारेज गरिपाऊँ भन्ने समेतको प्रतिउत्तर पत्र ।
दावीको जग्गा प्रतिवादीका पिता तथा वादीको सगोलको सम्पत्तिबाट खरीद भएकोले सम्पत्ति सगोलको हुँदा दावीअनुसार वण्डा हुनुपर्ने हो भन्ने समेतको वादीका साक्षीको वकपत्र ।
दावीको जग्गा प्रतिवादीको एकलौटी हकको जग्गा हो, वादी २००५ सालमा नै अलग भएकाले सोमा वादीको अंशहक छैन भन्ने समेतको प्रतिवादीका साक्षीको वकपत्र ।
मिति २०३६।३।३२ को पारित वण्डापत्रमा उल्लेख भएका जग्गाहरू बाबु बाजेका पालाको पैतृक सम्पत्ति हो, सोको स्रोतका प्रमाण केही छैन भन्ने समेतको प्रतिवादीबाट भएको कागज ।
मिति २०३६।३।३२ को पारित भएको वण्डापत्रमा उल्लेख भएका जग्गामध्ये जिल्ला बारा, गा.वि.स. विश्रामपुर, वडा नं. ८ कि.नं. १४२ को ०—२—१० जग्गा २०१९ सालमा रुपनारयण तेलीका नामबाट जिमिन्दारी पटवारीका स्रेस्ताअनुसार खरीद भएको भन्ने दाजु जोधा साहले भरेको ७ नं. फाँटवारीमा कि.नं. ४१८ भनी उल्लेख भएको छ । अन्य जग्गा बाबु बाजेको पालाको पैतृक सम्पत्ति भै दाजु जोधा साहका नाममा नापी दर्ता भएका हुन् । वण्डापत्र पारित भएकै मितिमा वादीलाई समेत साक्षी राखी जग्गा विक्री भएको र.नं. ५५६९ र ५५७० को पारित वकसपत्रको प्रतिलिपि समेत पेश गरेको छु । प्रमाण लगाई पाऊँ भन्ने समेतको वादी पक्षबाट भएको कागज ।
मिति २०३६।३।३२ को पारित वण्डापत्र तथा सोही मितिमा पारित भएका र.नं. ५५६९ र ५५७० का हालैका बकसपत्रका प्रतिलिपि मिसिल संलग्न रहेको ।
सगोलमा गरिएको व्यवहार वादी प्रतिवादी दुवै पक्षलाई जानकारी भइरहने अवस्थामा पारित वण्डापत्रको लिखतमा छुटाएको सम्पत्तिलाई अवण्डास्वरुप रहेको सगोलको सम्पत्ति मान्नु पर्ने हुन्छ । अवण्डा स्वरुप देखिएको दावीको कि.नं. ३५२ को ०—१—३—३।४ जग्गा वादी प्रतिवादी दुई अंशियार देखिँदा नरम करम मिलाई आधा अंश वादीको हक कायम भई दर्ता समेत हुने ठहर्छ भन्ने समेत शुरु बारा जिल्ला अदालतबाट मिति २०६२।५।१५ मा भएको फैसला ।
वादी र प्रतिवादीका पिताबीच २०३६।२।३२ मा भएको वण्डापत्रमा दुवै पक्षबीच २००५ सालमानै मानो छुट्टिएको उल्लेख भएकोमा सो मानो छुट्टिएको मितिलाई हाल परिवर्तन गर्नसक्ने अवस्था छैन, २००५ सालमानै मानो छुट्टिएकोलाई वादी समेतले स्वीकार गरी सकेपछि हाल आएर दावीको जग्गामा दावी लिन विबन्धनको सिद्धान्त समेतबाट मिल्ने होइन । वण्डापत्र लिखतमा साक्षीसम्म बसेकोबाट मेरो पिता र वादी उक्त अवस्थामा एकासगोलमै रहेको भनी अर्थ गर्न मिल्दैन, प्रतिवादीका पिताले भरेको ७ नं. फाँटवारीलाई समेत आधार भनी उल्लेख गरी भएको फैसलामा कानून तथ्य एवं प्रमाण समेतको त्रुटि हुँदा पिताको मृत्युको करीव २५ वर्ष पछि पर्न आएको प्रस्तुत फिराद दावी नपुग्ने गरी इन्साफ पाऊँ भन्ने समेतको पुनरावेदन पत्र ।
यसमा मिति २०३६।३।३२ को पारित वण्डापत्र नै २००५ सालमा मानो छुट्टिएको उल्लेख भएको सोही मितिको राजीनामा लिखतमा दाताको भाईसम्म भनी विश्वनाथलाई साक्षी राखेको देखिएको र ७ नं. फाँटवारीमा उल्लिखित यो जग्गा २०३६ सालको वण्डामा परेको भन्ने स्पष्ट हुन सकेको नदेखिएको यस स्थितिबाट शुरुबाट दावी नपुग्ने ठहराएको फैसला फरक पर्न सक्ने भन्ने समेत को २०६३।३।४ को पुनरावेदन अदालतको आदेश ।
वण्डापत्रमा २००५ सालमै मानो छुट्टिएको भन्ने उल्लेख भएपनि मानो छुट्टिएको लिखत पारित भएको छैन, यस्तोमा सो मितिलाई मानो छुट्टिएको भन्न मिल्ने अवस्था हुदैन भन्ने समेतको लिखित प्रतिवाद ।
मिति २०३६।३।३२ को वण्डापत्रबाट वादी र प्रतिवादीका पिता जोधा साहका बीचमा मानो छुट्टिएको भन्ने नै पुष्टि भएबाट मानो छुट्टिएपछि आर्जित दावीको अचल सम्पत्तिमा दावीको हक हुने भन्ने देखिँदैन । सगोलको आर्जनबाट दावीको जग्गा खरीद गरेको भन्ने वादी दावीको सम्बन्धमा जे जुन बखत दावीको जग्गा खरीद गर्न मिति २०३३।१०।१० मा दर्खास्त दिएको हो सो बखत वादी प्रतिवादी मानु छुट्टिई अलग भएको र राजीनामा पारित हुँदाको मिति २०४५।४।२४ को बखतमा वादी प्रतिवादीहरूका बीचमा अचल सम्पत्ति समेत वण्डा गरी वण्डापत्र भै सकेको देखिन्छ । सो बाट दावीको जग्गा साविकमा पुनरावेदकका पिताका नाउँमा र हाल पुनरावेदकका नाउँमा खरीद गर्न प्रत्यर्थी आफू समेतले रकम बुझाएका होलान् भनी अनुमान गर्न मिल्ने देखिँदैन ।
वादीले अंश वण्डाको ३५ नं. बमोजिम भनी दावी लिई आएकोमा दावीको जग्गा अवण्डा रहेको वा वण्डा हुन बाँकी रहेको भन्ने प्रमाणबाट पुष्टि गर्न सकेको छैन । साथै दावीको जग्गामा आफ्नो समेत हक पुग्ने भए भोग गरेको प्रमाण पुर्याउन सक्नु पर्दथ्यो सो प्रमाण समेत पुर्याउन सकेको देखिदैन । यस्तोमा मिति २०३६।३।३२ को वण्डापत्रमा दावीको जग्गा सगोलको भए कुनै न कुनै रुपले वण्डापत्रमा उल्लेख हुनु अनिवार्यता देखिन्छ । पछि वण्डा गर्ने गरी अवण्डा रहेकोमा अवण्डा जनिएको हुन्छ । अंशवण्डाको ३५ नंं को अभिप्राय पनि यही हो र कानूनसम्मत पनि त्यही नै हो ।
तसर्थ, माथि उल्लिखित आधार कारण प्रमाण समेतबाट २०३६ सालमा भएको वण्डापत्रमा २००५ सालमै मानो छुट्टिएको उल्लेख भएको समेत अवस्थामा वादी दावी पुग्न नसक्ने ठहराउनु पर्नेमा वादी दावी पुग्ने ठहराएको बारा जिल्ला अदलातको मिति २०६२।५।१५ को फैसला नमिलेकोले उल्टी हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत हेटौंडाको मिति २०६३।४।२८ को फैसला ।
विवादको कि.नं. ३५२ ज.वि. ०—१—३.३/४ जग्गाको मोल ०३३ सालमा नै वीरगञ्ज नगर विकास समितिमा दाखिला भएको कुरा उक्त समितिको प्लट रजिष्ट्ररबाट निर्विवाद प्रमाणित हुन्छ । वण्डा पत्रले नै २०३६ साल अघिको सम्पूर्ण अचल जायजेथालाई सगोलको सम्पत्ति मानेको र विवादित कि.नं. ३५२ को जग्गाको मूल्य २०३३ सालमा नै तिरेको स्थितिमा अवण्डा सम्पत्ति हो भन्ने कुरा निर्विवाद पुष्टि हुन्छ । विपक्षीको पिता जोधा शाह स्वयंले भरेको ७ नं. फाँटवारीमा साविक कि.नं. ४१८ को जग्गा २०१९ सालमा रुपनारायण तेलीबाट खरीद गरेको जग्गा वण्डा लाग्दछ भने २०३३ सालको खरीदको जग्गा वण्डा नलाग्ने भन्ने प्रश्न आउँदैन । वण्डापत्र खडा हुँदा वण्डापत्रमा उल्लेख नभएको तर विवादको सम्पत्ति विधिवत वण्डा हुनु अघिकै सम्पत्ति भएकोले वादीको अंश हक कायम भै वण्डा लाग्ने भन्ने सम्बन्धमा सर्वोच्च अदालतबाट विभिन्न मुद्दाहरूमा नजीर प्रतिपादन समेत भैसकेको अवस्थामा उक्त विवादित सम्पत्ति वण्डा हुनु अघि अर्थात् २०३३ सालमा नै खरीद भएकोले म पुनरावेदकको अंश हक लाग्ने भन्ने निर्विवाद छ ।
विवादको सम्पत्ति २०३६ सालको वण्डापत्रमा उल्लेख हुन नसक्नुको कारण सो बखत उक्त सम्पत्ति दर्ता भै नसकेको कारणले सो जग्गाको प्लट नम्बर मात्रै भई कित्ताकाट दर्ता बाँकी भएको, दर्ता पूर्जा पनि नभएको स्थितिमा पारित भएको वण्डापत्रमा सो दर्ता बाँकी रहेको र कित्ता नम्बर पनि नभएको जग्गा उल्लेख गर्न नमिलेको हो । तत्कालीन नगर विकास समितिले उक्त जग्गामा लाग्ने मोल २०३३ सालमा नै बुझी लिएकोले उक्त सम्पत्तिमा हकको सिर्जना सोही बखत नै रहन गएको हो । हकको सिर्जना २०३३ सालमा नै भई सोही बखत सगोल आर्जनबाट घर समेत निर्माण भएकोले उक्त सम्पत्तिमा अंश जस्तो नैसर्गिक हकबाट मलाई बञ्चित गर्न मिल्ने हुँदैन । विपक्षीले २००५ सालमा नै मानो छुट्टिएको भने पनि सोको कुनै लिखत प्रमाण नभएकोले मिति २०३६।३।३२ को वण्डा पत्रभन्दा पहिलेको सम्पूर्ण सम्पत्ति सगोलको आर्जनको भएकोले अंश वण्डाको १, २ र रजिष्ट्रेशनको १ नं. समेतको प्रतिकूल हुने गरी शुरु जिल्ला अदालतको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालतको फैसलामा गम्भीर कानूनी त्रुटि रहेको हुँदा सो पुनरावेदन अदालतको फैसला बदर गरी वादी दावीबमोजिम उक्त विवादित सम्पत्तिमा २ भागको १ भाग अंश हक कायम गरिपाऊँ भन्ने समेत व्यहोराको वादी विश्वनाथ साह कलवारको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा वादी र प्रतिवादीबीच मिति २०३६।३।३२ मा वण्डापत्र पारित भई निजहरू छुट्टिएको देखिएको र दावीको प्लट नं. ३४८ को जग्गा वीरगञ्ज नगर विकास समितिबाट सो भन्दा अगावै मिति २०३३।१०।१० मा र मिति २०३३।१२।११ मा रकम चुक्ता गरेको भन्ने देखिएकोले वण्डापत्र पारित हुनु भन्दा अगावै सगोलमा रहँदा खरीद भएको जग्गा सगोलको रकमबाट खरीद भएको मान्नुपर्ने देखिँदा त्यस्तो सम्पत्ति अवण्डा नठर्याएको पुनरावेदन अदालत हेटौडाको फैसला फरक पर्ने समेत हुँदा विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।१२।१६ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजालससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री सुधिरकुमार दासले विपक्षी प्रतिवादीको पिताले २०२२ सालमा भरेको ७ नं. फाँटवारीमा साविक कि.नं. ४१८ को जग्गा २०१९ सालमा रुपनारायण तेलीबाट घरसारमा खरीद गरेको भनेको उक्त जग्गा २०३६ सालको वण्डापत्रको लिखतबमोजिम वण्डा भई मेरो पक्षको नाउँमा आएको अवस्थामा उक्त एकासगोलमा रहँदाको अवस्थामा २०३३ सालमा खरीद गरेको जग्गा वण्डा नलाग्ने भन्न मिल्ने हुँदैन । उक्त वण्डापत्र भएको दिन सो वण्डापत्रमा नपरेको सम्पत्ति प्रतिवादीका बाबु जोधा साहले सुशीलादेवी कलवारिन र रामनारायणप्रसाद कलवारलाई वकस गरी दिँदा मेरो पक्ष लाई साक्षी राखेको समेत देखिन आएको अवस्थामा उक्त विवादित सम्पत्ति सगोलको सम्पत्ति तथा आर्जनबाट खरीद भएको मान्नु पर्ने र त्यसरी खरीद गरेको सम्पत्ति मेरो पक्ष समेतले पाउनु पर्ने भन्ने कुरामा कुनै विवाद छैन । वण्डा लिखतमा उक्त कि.नं. को सम्पत्तिको वारेमा उल्लेख नभए तापनि सो जग्गा खरीदको लागि तोकिएको मूल्य २०३३ सालमा नै नगर विकास समितिलाई बुझाईसकी सो जग्गामा मेरो पक्ष समेतको हकको सृष्टि हुन गैसकेको र मानु छुट्टिएको लिखत समेत नभएको अवस्थामा वादी दावीबमोजिम २ भागको १ भाग अंश उक्त सम्पत्तिबाट मेरो पक्षले पाउनु पर्नेमा सो नपाउने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेको नभई त्रुटिपूर्ण देखिँदा सो फैसला बदर गरी वादी दावीबमोजिम उक्त कि.नं ३५२ को जग्गाबाट २ भागको १ भाग वण्डा छुट्टाई पाऊँ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
त्यस्तै प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित रहनु भएका विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने र रविनारायण खनालले अंशियारहरू बीच वण्डापत्र हुँदा सो वण्डापत्रको लिखतमा अवण्डा रहेको भनी उल्लेख भएको नदेखिएको अवस्थामा त्यस्तो सम्पत्तिमाथि वादीले दावी गर्दैमा सो सम्पत्ति वण्डा लाग्छ भन्न मिल्दैन । अंशियार बीच वण्डा लाग्नका लागि वण्डा लिखतमा नै अवण्डा भनी जनिएको हुनुपर्छ । अंशियारबीच वण्डापत्र गर्दा वण्डा लाग्न कर नलाग्ने कुनै जग्गा अंशियारले आपसी सहमतिको आधारमा वण्डा गरे भन्दैमा सबै जग्गा वण्डा लाग्दछ भनी भन्न पनि मिल्दैन । विवादित सम्पत्ति यी अंशियार बीच वण्डापत्र भैसकेपछि अर्थात मिति २०४५।४।२४ मा मात्र मेरो पक्षको हकमा आएको अवस्था छ । यस अर्थमा पनि उक्त विवादित सम्पत्तिलाई अवण्डामा रहेको सम्पत्ति भनेर भन्न मिल्दैन । यी वादी प्रतिवादी बीच २००५ सालमा नै मानो छुट्टिएकोमा मानो छुट्टिएपछि आर्जित सम्पत्तिमा विपक्षी वादीको हक रहन सक्ने भन्ने कुरै आउन सक्दैन, तसर्थ वादी दावी पुग्ने गरेको शुरु जिल्ला अदालतको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालतको फैसला मुनासिव देखिँदा सो फैसला सदर कायम होस् भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
उपरोक्त बमोजिमको बहस जिकीर सुनी पुनरावेदन सहितको मिसिल संलग्न कागजात समेतको अध्ययन गरी हेर्दा शुरु जिल्ला अदालतको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालतको फैसला मिले नमिलेको के छ ? पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा एकासगोलको पैतृक सम्पत्तिबाट २०३३ सालमा खरीद गरेको उक्त विवादित कि.नं. ३५२ को जग्गा दर्ता हुन बाँकी रहेकोले मिति २०३६।३।३२ को वण्डापत्रको लिखतमा अवण्डा भनी उल्लेख सम्म नभएको हो, सो जग्गा सगोलमा भोग गर्दै आएको जग्गा हुँदा र सगोलको पैतृक सम्पत्तिबाट सगोलमा रहँदा छँदाको अवस्थामा थैली बुझाई खरीद गरेको अवण्डा सम्पत्ति हुँदा उक्त अवण्डा सम्पत्तिबाट २ भागको १ भाग अंश छुट्टाई पाऊँ भन्ने वादी दावी भएकोमा हामी वादी प्रतिवादीहरू २००५ सालमा नै मानु छुट्टिई अलग—अलग बसी आएको र मानो छुट्टिइ सकेपछि कमाएको चल सम्पत्तिबाट उक्त जग्गा खरीद गरेको हुँदा र २०३६ सालको वण्डामा समेत उक्त जग्गा अवण्डा भनी उल्लेख भएको समेत नदेखिएको अवस्थामा सो जग्गाबाट वादीले हक पाउन सक्ने होइन भन्ने समेतको प्रतिउत्तर जिकीर भएको प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतले वादी दावी पुग्ने ठहर्याएको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालतको फैसलाउपर वादीको प्रस्तुत पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेश भएको देखियो ।
३. यसमा यी पुनरावेदक वादी तथा प्रतिवादीको पिता जोधा साहबीच भएको मिति २०३६।३।३२ को वण्डापत्रको लिखतमा २००५ सालमा चुलो मानो फोडी बेग्लै बसी आएको चल धन घरसारमै बाँडफाँड गरी लिई दिई सकेको अचल जग्गा जमीन अंशवण्डा गर्नुपर्ने हुनाले मञ्जूरी साथ अंशबण्डाको लिखत खडा गरी आ—आफ्नो अंश भाग बुझी लिएको भन्ने उल्लेख भएको देखिन्छ भने वादी दावीबमोजिमको प्लट नं. ३४८ कि.नं.३५२ को जग्गा वीरगञ्ज नगर विस्तार योजनाबाट मिति २०४५।४।२४ मा मात्र राजीनामाबाट खरीद गरी प्रतिवादी को नाउँमा आएको देखिन्छ । साथै उक्त वादी दावीबमोजिमको उक्त कि.नं. ३५२ को जग्गा अंशियारहरू बीच २०३६ सालमा वण्डा हुँदा उक्त वण्डापत्रको लिखतमा अवण्डा रहेको भनी जनिएको अर्थात् वण्डा गर्न बाँकी रहेको भन्ने उल्लेख भएको समेत देखिँदैन ।
४. यसरी वादी र प्रतिवादीका बाबुबीच २००५ सालमा नै मानो छुट्टिएको भन्ने मिति २०३६।३।३२ को वण्डापत्रबाट देखिन आएको अवस्थामा प्रतिवादीले मानो छुट्टिएपछि आर्जित रकमबाट खरीद गरेको उक्त अचल सम्पत्तिमा वादीको समेत हक लाग्ने रहेछ अर्थात् उक्त सम्पत्ति समेत वण्डा लाग्ने रहेछ भनी भन्न मिल्ने अवस्था देखिन आएन ।
५. जहाँसम्म पुनरावेदक वादीले आफ्नो पुनरावेदन जिकीरमा र कानून व्यवसायीद्वारा बहसको क्रममा २०१९ सालमा खरीद गरेको साविक कि.नं. ४१८ को जग्गा २०३६ सालको वण्डापत्रबमोजिम अंशियारबीच वण्डा गरिएको छ भने उक्त वण्डापत्र नहुँदै २०३३ सालमा खरीद गरेको उक्त कि.नं. ३५२ को जग्गा वण्डा नलाग्ने भन्न र उक्त २०३६ सालमा वण्डापत्र भएको दिन प्रतिवादीको बाबु जोधा साहले वण्डापत्रमा नपरेका सम्पत्ति सुशीलादेवी कलवारिन र रामनारायणप्रसाद कलवारलाई बकस गरी दिँदा वादी विश्वनाथप्रसाद कालवारलाई साक्षी राखेको हुँदा सो आधारमा समेत उक्त विवादित कि.नं. को जग्गा एकासगोलको अवण्डा जग्गा हुँदा वण्डा लाग्ने हो भनी जुन जिकीर लिइएको छ सोतर्फ हेर्दा अंशियारहरू बीच कानूनले वण्डा गर्न कर नलाग्ने अर्थात् वण्डापत्रमा अवण्डा भनी नजनिएको सम्पत्ति यदि कुनै अंशियारको नाउँमा दर्ता कायम रहको छ भने त्यो सम्पत्ति वण्डा गर्ने नगर्ने भन्ने कुराको निर्णय गर्ने अधिकार सम्बन्धित पक्षमा नै निहीत रहन जाने हुन्छ । यदि कुनै पक्षले त्यस्तो वण्डा गर्न कर नलाग्ने तथा वण्डा पत्रमा अवण्डा भनी नजनिएको त्यस्तो कुनै अचल सम्पत्ति राजीखुसी साथ अंशियारबीच वण्डा गर्दैमा त्यस्तो अंशियारले निजी आर्जन तथा स्रोतबाट खरीद गरेको अन्य सम्पत्ति समेतबाट त्यस्तो अंशियारलाई वण्डा दिन पक्ष बाध्य हुन्छ भनेर भन्न पनि नमिल्ने र लिखतमा एकासगोलको अंशियार भनी साक्षी नराखेको अवस्थामा कुनै अंशियारको नाउँमा रहेको जग्गा त्यस्तो अंशियारले बेचविखन तथा वकस गरी दिँदा अर्को अंशियार साक्षी राखेको भन्दैमा अंशियारहरू एकासगोलमा रही बसी आएका रहेछन् भनी अनुमान गर्न पनि नमिल्ने र त्यस्तो अवस्थामा बसेको साक्षीको हैसियत साक्षीको रुपमा मात्र सीमित रहन जाने हुँदा त्यस्तो हैसियत तथा अवस्थाको रुपमा रहे बसेको साक्षी तथा वण्डा गर्न कर नलाग्ने सम्पत्ति अंशियारबीच सहमतिको आधारमा वण्डा गरेको विषयलाई आधार लिई सोही आधारमा उक्त विवादित कि.नंं. को जग्गा वादी दावीबमोजिम वण्डा लाग्ने रहेछ भनी भन्नु कानूनसम्मत तथा विवेकसम्मत समेत नहुने हुँदा वादीले लिएको उक्त पुनरावेदन जिकीर तथा निजको कानून व्यवसायीद्वारा बहसको क्रममा उठाइएको तर्कसँग समेत सहमत हुनसक्ने अवस्था रहेन ।
६. तसर्थ माथि उल्लिखित आधार कारण समेतबाट शुरु जिल्ला अदालतले वादी दावी पुग्ने ठहर्याएको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६३।४।२८ को फैसला मुनासिब देखिँदा सो सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.गौरी ढकाल
इति संवत् २०६७ साल बैशाख २ गते रोज ५ शुभम्
इजलास अधिकृतः— विष्णुप्रसाद अर्याल