निर्णय नं. ६३०३ - लिखत वदर

निर्णय नं.- ६३०३ ने.का.प.०५४ अङ्क १
पूर्ण इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
सम्वत् २०५२ सालको दे.पु.नं. .. ४५
फैसला मिति :- २०५३।११।२३।५
मुद्दा :- लिखत वदर ।
पुनरावेदक
वादी :- कास्की मौजा गा.वि.स.वडा नं. ७ वस्ने लक्ष्मी देवी बास्तोला ।
ऐ.ऐ. वस्ने हरिकृष्ण बास्तोला ।
विरुद्ध
विपक्षी
प्रतिवादी :- कास्की मेलाम गा.वि.स. वडा नं. ३ वस्ने इन्द्रमोहन अधिकारी ।
§ मुद्दाहरुको तथ्यहरु नै फरक रहेको २ निर्णयहरुमा भिन्न भिन्न प्रश्न उठी भिन्न भिन्न दफाहरुको व्याख्या गरिएको हुँदा रुलिङ बाझिएको भन्न सकिने अवस्था नदेखिने ।
(प्र.नं. १३)
§ सगोलको अंशवण्डा लाग्ने सम्पत्ति भनी दावी भएकोमा सगोलको सम्पत्ति होइन अंशवण्डा नलाग्ने निजी आर्जनको सम्पत्ति हो भन्ने पक्षले नै अंशवण्डा नलाग्ने निजी आर्जनको सम्पत्तिको सवुद गुजार्नु पर्ने सर्वमान्य सिद्धान्त हो ।
(प्र.नं. १३)
§ एकासगोलको अंशियारमा जस्को नाममा रहेको सम्पत्ति भए पनि अन्यथा प्रमाणित नभएसम्म सगोलको मान्नु पर्ने प्रमाण ऐन, २०३१ को दफा ६ (क) ले प्रष्ट गरेकोमा अन्यथा प्रमाणित गर्नुपर्ने कर्तव्य प्रतिवादीको हुने ।
(प्र.नं. १३)
§ अंशवण्डाको १८ नं. ले निजी ठहर्ने र ऐ.का १९ नं. ले आफ्नो पालामा आर्जेको निजी ठहर्ने अवस्थामा बाहेक संगै बसेको अंशियारको सगोलको आर्जनमा सबै अंशियारको भाग लाग्ने।
(प्र.नं. १३)
पुनरावेदक वादी तर्फवाट :-
विद्वान अधिवक्ता श्री विश्वदीप अधिकारी ।
विद्वान अधिवक्ता श्री रेवन्त बहादुर कुवर ।
विपक्षी प्रतिवादी तर्फवाट :-
विद्वान अधिवक्ता श्री वद्री प्रसाद शर्मा
अबलम्बित नजीर :- ने.का.प. २०४६ को नि.नं. ४०१४, ने.का.प. २०४८ को नि.नं. ४४३७ मा प्रतिपादित सिद्धान्त ।
फैसला
न्या.ओमभक्त श्रेष्ठः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(ङ) वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा फैसला यस प्रकार छ ।
२. विपक्षी मध्येका कलाधर वास्तोला हाम्रो पति र पिता हुनुहुन्छ । निज र हामी समेत गरी ५ अंशियार छौं । एका सगोलमा रही बसी आएका हामीहरुलाई थाहा जानकारी नदिई अंशमा ठग्ने नियत लिई २०४९ सालमा प्राप्त गरेका कास्की मौजा गा.पं. साविक विजयपुर वडा नं. ९ कि.नं. ३५९ क्षेत्रफल ७-६-२-३ को पुरै खेत जग्गा कलाधर दिने ईन्द्रमोहन लिने गरी विगो रु. ५५,०००।- मा मिति ०४५।१०।११ मा राजिनामा गरी लिनु दिनु गरेको हुँदा हाम्रो भागमा पर्न आउने ५ भागको २ भाग क्षेत्रफल २-७-३-० को जग्गा जतिको लिखत वदर गरी हक ईन्साफ गरी न्याय दिलाइ पाउँ भन्ने समेत व्यहोराको लक्ष्मीदेवी वास्तोला र हरिकृष्ण वास्तोलाको संयुक्त फिराद दावी ।
३. म कलाधरलाई उद्योग व्यवसाय गर्न मन लागेकोले कृषि विकास वैंक शाखा कार्यालय पोखरावाट रु.३२,२४६।- वरावरको पानी घट्टको सामान लिई निर्माण कार्य शुरु गर्दा रुपैया नपुगेकोले काम संचालन हुन नसकी ऋण समेत वढदै गएकोले सो ऋण र सिमन वहादुरको ऋण रु.१०,०००।- नवुझाई नहुने अवस्था परेको हुँदा सो जग्गा विक्रि गरी वाँकी रुपैयाको रु.८,०००।- को भैसी रु.४,०००।- को गोरु रु.३,०००।- को वाख्रा किनेको र रु.५,०००।- औषधी उपचार गरेको हुँ । आफू खुशी गर्न विक्रि गरेको नभै घर व्यवहार चलाउन ऋण लिएको र खर्च गर्नुको साथै अंशवण्डाको १९ नं. मा व्यवहार चलाउन आधासम्म अचल सम्पत्ति वेचविखन गर्न घरको म मुख्य कलाधरले विपक्षीहरुको मन्जुरी लिई रहनु नपर्ने हुँदा जम्मा जग्गा रोपनी १७-१३-३-३ मध्ये केवल ७-६-२-३ जग्गा मात्र विक्री गरेको हुँ । उक्त कि.नं. ३५९ मेरो कमाई र ऋण समेतवाट सु. डम्वर वहादुरवाट खरीद गरेको हुँ । दूवैथरको चित्त वुझेकोले लिनु दिनु गरेको हौं । वादी दावी झूठा हुँदा उक्त मितिको लिखत सदर कायम राखी न्याय दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी कलाधर वास्तोला र ईन्द्रमोहन अधिकारीको संयुक्त प्रतिउत्तर जिकिर ।
४. व्यवहार चलाउन विक्री गरेको भनि प्रतिवादी कलाधरले प्रतिवाद गरे पनि तथ्य सवुद गुजार्न नसकेकोले अंशियारमा विवाद नदेखिंदा वादीहरुको मंजुरीको लिखत वेगर कि.नं. ३५९ क्षेत्रफल ७-६-२-३ को जग्गा बेचेको देखिंदा सो जग्गा मध्ये वादीहरुको भागमा पर्ने ५ भागको २ भाग वदर भै वादीहरुले फिर्ता पाउने समेत ठहर्छ भन्ने समेत कास्की जिल्ला अदालतको फैसला ।
५. प्रतिवादी मध्येका कलाधर वास्तोला घरको दाम काम गर्ने मुख्य व्यक्ति भएको र निजले आफ्नो पौरखले उक्त विवादित कि.नं. ३५९ को क्षेत्रफल ७-६-२-० जग्गा सु. डम्वर वहादुरवाट खरीद गरी लिएकोले पैत्रिक सम्पत्ति होइन । तसर्थ अंशवण्डाको १९ नं. मा त्यस्तो सम्पत्ति विक्री गर्न पाउने प्रावधान हुँदा यस्मा लेनदेन व्यवहारको १० नं. आर्कषित हुँदैन । दाताका नाउँमा आधा भन्दा वढी जग्गा रहे भएकै छ । वादीले आफ्नो साक्षीहरु उपस्थित गराउन सक्नु भएको छैन । मेरा साक्षीले घर व्यवहार चलाउन कलाधरले इन्द्र मोहनलाई जग्गा विक्री गरेको भनि उल्लेख गरेको छन । कलाधरले विभिन्न ऋण तिर्न विक्री गरेको र तिरेको भन्ने उल्लेख समेत भएको सवुद प्रमाणको मुल्यांकन नगरी ५ खण्डको २ खण्ड वदर हुने गरी भएको कास्की जिल्ला अदालतको फैसला न्यायोचित नहुँदा उक्त फैसला वदर गरी मेरो पारित राजिनामा सदर कायम राखी न्याय पाउँ भन्ने समेत प्रतिवादी इन्द्र मोहन अधिकारीको पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन पत्र ।
६. व्यवहार चलाउन लिखत गरि दिएको भन्ने प्रतिवादी जिकिर रहेको र अन्य जग्गाहरु पनि प्रतिवादी कलाधरको नाउँमा रहे भएको परीप्रक्ष्यमा लिखत वदर हुने ठहर्याएको शुरु ईन्साफ विचारणीय देखिंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम विपक्षी वादीहरुलाई झिकाउने भन्ने पुनरावेदन अदालत पोखराको आदेश ।
७. पुनरावेदकका दाता कलाधर वास्तोलाले आफूखुस गर्न पाउने सम्पत्ति मध्येकै देखिएको हुँदा शुरु जिल्ला अदालतवाट वादीहरुको भागमा ५ भागको २ भाग लिखत वदर भै वादीले फिर्ता पाउने ठहर गरेको फैसला मिलेको नदेखिंदा उल्टी भै लिखत वदर गरी पाउँ भन्ने समेत वादी दावी नपुग्ने ठहर्छ भन्ने पुनरावेदन अदालत, पोखराको मिति २०४९।११।१८ को फैसला।
८. हाम्रा पति पिता ईन्द्र मोहन अधिकारीले कृषि विकास वैकंवाट लिएका ऋण घरको गहना वेचविखन गरी ऋण चुक्ता गरी सक्नु भएको हो । सो जग्गा वेचविखन गर्दा जग्गा किन्ने भन्ने उल्लेख गरीएको छ । हाम्रो अंश हक मेटाउने उद्देस्यले जग्गा विक्रि गरेका हुन । घर व्यवहार चलाउन घरको आयस्ताले नै पुग्ने हुँदा घर व्यवहार चलाउन कुनै पनि घर जग्गा विक्रि गर्नु पर्ने स्थिति छैन । कलाधरको घर गृहस्थी वाहेक अन्य कुनै रोजगारी वा काम छैन । त्यस्तो व्यक्तिले घरको सम्पत्ति वाहेक अन्य तरीकाले कुनै जग्गा किन्ने भन्ने प्रश्नै आउदैन । अंशवण्डाको १८ नं. वमोजिम घरको सम्पत्तिवाट वढे वढाएको आर्जन निजी नहुने सवै अंशियारलाई भाग लाग्छ । ने.का.प. २०४५ अंक १२ पेज ७३० नि.नं. ३५३२ मा लेनदेन व्यवहारको १० नं. मा संगोलको अचल सम्पत्ति कुनै किसिमले वेचविखन वा हक छाडी दिंदा उमेर पुगेका सवै अंशियारको मन्जुरी लिनु पर्ने नलिएमा उजूर गर्ने जतिका हक बदर गर्ने र सगोलमा रहेका व्यक्तिले आर्जेको सम्पत्ति सामान्यतया संगोलको मानिने भनी नजिर प्रतिपादन भएको हुँदा सो सम्पत्ति सगोलको हो भन्ने कुरा प्रष्ट हुन आउँछ । अतः पुनरावेदन अदालत पोखराले लिखत वदर गरी पाउँ भन्ने वादी दावी नपुग्ने ठर्याएको फैसला खारेज गरी शुरु कास्की जिल्ला अदालतको फैसलालाई नै सदर गरी पाउँ भन्ने वादी लक्ष्मी देवी वास्तोला र हरीकृष्ण वास्तोलाको यस अदालतमा परेको पुनरावेदन पत्र ।
९. अंशवण्डाको महलको १९ नं. को देहाय २ लगाइएको पुनरावेदन अदालत पोखराको फैसला फरक पर्ने देखिएकोले अ.वं. २०२ नं. वमोजिम विपक्ष झिकाउनु भन्ने समेत यस अदालतको आदेश ।
१०. यी वादी र प्रतिवादी कलाधरको वीच अंशवण्डा भएको वा मानो छुट्टिएको रीतपूर्वकको लिखत भएको पाइन्न । यी वादी र प्रतिवादी कलाधर अंशियार भएकोमा विवाद पनि देखिन्न । प्रमाण ऐन, २०३१ को दफा ६(क) वमोजिम एकाघर सँगका अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाउँमा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने कानूनी व्यवस्था भएकोले विवादको जग्गा सगोलको मान्नु पर्ने स्थिति भएको र त्यस्तो जग्गा प्रतिवादी कलाधर वास्तोलाको निजी आर्जनको भए सो कुरा प्रमाणित गर्ने भार एवं सो कुराको अस्तित्व अदालतलाई विश्वास दिलाउने कार्य प्रमाण ऐन, २०३१ को दफा २८ मा भएको व्यवस्था अनुरुप प्र. कलाधरको हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी कलाधर वास्तोलावाट त्यस्तो कुनै प्रमाण आएको पाइन्न । उक्त विवादको जग्गा निजी आर्जनको भन्ने पक्का सवुद र प्र. कलाधरले दिन नसकेको स्थितिमा निजी आर्जनको भन्ने मौखिक जिकिर मात्र पर्याप्त हुँदैन । प्र. कलाधरले आफ्नो जिकिरलाई सवुद प्रमाणवाट पुर्याई गर्नु पर्नेमा सो गर्न सकेको पनि देखिन आएन । ने.का.प. २०४८ निर्णय नं.४४३७ पुनरावेदक वादी ललितमान तामाङ समेत विरुद्ध प्रत्यर्थी प्रतिवादी चित्र वहादुर अधिकारी समेत भएको लिखत वदर मुद्दामा ३ जनाको पूर्ण ईजलासको प्रमाण ऐन, २०३१ को दफा ६ (क) लाई समेत आधार बनाई वादी दावी वमोजिम लिखत वदर हुने ठहर्याएको प्रतिपादित सिद्धँन्त वमोजिम शुरु जिल्ला अदालतको इन्साफ उल्टी गरीवादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेको नदेखिंदा वादी दावी वमोजिम विवादित जग्गा मध्ये ५ भागको २ भाग वदर गरेको शुरु जिल्ला अदालतको इन्साफ मुनासिव ठहर्छ । उक्त निर्णय नं. ४४३७ ले अंगालेको सिद्धान्तलाई नअंगाली ने.का.प. २०४६ नि.नं. ४०१४ पुनरावेदक वादी मानकी देवी रौनियार समेत विरुद्ध प्रत्यर्थी हरीशंकर गिरी समेत भएको मुद्दामा ३ जनाको पूर्ण इजलासले प्रतिपादित गरेको सिद्धँन्तको आधारमा वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेको देखिएन । ने.का.प. २०४६, नि.नं. ४०१४ र ने.का.प. २०४८, नि.नं. ४४३७ को ३ सदस्यीय २ पूर्ण इजलासको सिद्धान्त एक आपसमा नमिली वाझिएको देखिंदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (ङ) वमोजिम एक निश्चित नजीर कायम हुनका लागि तीन जना भन्दा वढी न्यायाधीश भएको पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०५२।५।१३।३ को फैसला ।
११. नियमानुसार दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक (वादी) को तर्फवाट उपस्थित विद्वान अधिवक्ता द्वय विश्वदिप अधिकारी तथा रेवन्त वहादुर कुवरले प्र. कलाधरले इन्द्र मोहनलाई विक्री गरेको जग्गा निजी आर्जनको नभै सगोलको हो । विक्री गरिएको विवादित जग्गा निजी आर्जनको हो । भन्ने पक्का सवुद प्रतिवादी कलाधरवाट पेश दाखेल हुन आएको देखिंदैन । निजी आर्जनको सम्पत्ति हो भन्ने सवुद प्रतिवादीले दिन नसकेपछि सगोलको सम्पत्तिवाट वढे वढाएको सम्पत्ति निजी आर्जन हुन सक्दैन । लिखित प्रमाणको अभावमा प्रतिवादीकै भनाईको भरमा मात्र निजी आर्जनको सम्पत्ति ठहर गर्न नमिल्ने भनी २०४८ सालको नि.नं. ४४३७ मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ । त्यस्तै छोराका लागि वावुको सम्पत्ति पैत्रिक मानिने भै वावु छोराका लागि पैत्रिक हो भनी सर्वोच्च अदालतवाट सिद्धान्त समेत प्रतिपादन भएको हुँदा वादी दावी वमोजिम ५ भागको २ भाग जग्गा वदर गर्ने ठहर्याएको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको यस अदालत मिति २०५२।५।१३।३ को संयुक्त इजलासको फैसला सदर हुनु पर्दछ भनी र प्रतिवादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता वद्रि प्रसाद शर्माले कलाधरले इन्द्रमोहनलाई विक्री गरेको जग्गा स्वःआर्जनको हो । स्वःआर्जनको जग्गा अंशवण्डाको १९(२) नं. ले आफूखुस गर्न पाउने नै हुन्छ । कलाधरले इन्द्र मोहनलाई विक्री गरेको जग्गा पैत्रिक सम्पत्ति नभै डम्वर वहादुरवाट खरीद गरीएको स्वःआर्जनको सम्पत्ति हो । कलाधरले विक्री गरेको जग्गा पैत्रिक हो भन्ने ठोस प्रमाण वादीले पेश दाखेल गर्न सकेको छैन । आफ्नो पालामा आर्जेको सम्पत्ति विक्री गर्दा अंशियारको मंजुरी लिनु नपर्ने भै आफूखुस गर्न पाउने नै हुन्छ । केवल वादीको लेखाईको भरमा मात्र प्रतिवादीको नाममा रहेको सम्पत्ति पैत्रिक सम्पत्ति मान्न मिल्दैन भनी ने.का.प. २०४६ को नि.नं. ४०१४ मा सिद्धान्त समेत प्रतिपादन भएको छ । तसर्थ ५ भागको २ भाग जग्गा वदर हुने गरी शुरु जि.अ. वाट भएको फैसलालाई सदर गरेको यस अदालत संयुक्त इजलासको फैसला वदर गरी पु.वे.अ. पोखराले गरेको इन्साफ सदर हुनुपर्दछ भनी गर्नु भएको वहस जिकिर समेत सुनियो ।
१२. निर्णय सुनाउनका लागि आजको तारेख तोकीएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी मुद्दाका दूवै पक्षका विद्वान अधिवक्ताहरुको वहस जिकिर समेत सुनी यस अदालतको ०५२।५।१३।३ को इन्साफ मिले नमिलेको के रहेछ र यस अदालतको फैसलामा उद्धृत गरीएको ने.का.प. २०४६ को नि.नं. ४०१४ र ने.का.प. २०४८ को नि.नं. ४४३७ को दुई भिन्न भिन्न पूर्ण इजलासवाट कायम भएका सिद्धान्त एक आपसमा वाझिएको नवाझिएको के रहेछ सो सम्वन्धमा समेत निर्णय दिनुपर्ने देखिन आयो ।
१३. यसमा प्र. कलाधरले इन्द्रमोहनलाई विक्री गरेको जग्गा सगोलको अंश लाग्ने सम्पत्ति हुँदा त्यसरी अंशियार मध्येका वादीको मन्जुरी विना वेचिएको जग्गा मध्ये ५ भागको २ भाग जग्गाको लिखत वदर हुनु पर्दछ भन्ने वादी दावी र विक्री गरिएको विवादित जग्गा अंश लाग्ने सगोलको सम्पत्ति नभै डम्वर वहादुरवाट खरीद गरी लिएको स्वःआर्जनको सम्पत्ति हुँदा उक्त ५ भागको २ भाग लिखत वदर हुनु पर्ने होइन । साथै अंशवण्डाको १९ नं. ले आधिसम्म व्यवहार चलाउन मंजुरी लिन नपर्ने भन्ने प्रतिवादी जिकीर रहेको पाइन्छ । वादी दावीको संगोलको जग्गा प्रतिवादीको जिकिर अनुसार निजी आर्जनको हो होइन भन्ने सन्दर्भमा विचार गर्दा अंशवण्डाको १८ नं. मा कुनै अंशियारले आफ्नो ज्ञान वा शीप वा प्रयासवाट निजी आर्जन गरेको वा कसैवाट निजी तवरले दान वक्स पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नं. वमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको संपत्ति सो आर्जन गर्ने वा पाउने अंशियारले निजी ठहरी आफूखुसी गर्न पाउँछ भन्ने प्रावधान छ । विवादास्पद लिखतको अचल सम्पत्ति प्रतिवादी कलाधरले कुनै ज्ञान वा शिप वा प्रयासवाट वा निजी तवरले दान वक्स वा अपुताली पाएको वा आर्जन गरेको भन्ने कुरा मिसिल संलग्न सवुद प्रमाणवाट पुष्टि गर्न सकेको देखिंदैन । प्रतिवादीवाट निजी आर्जनको भनि जिकिर लिएको संपत्ति लिखत प्रमाणको अभावमा केवल प्रतिवादीको भनाइकै भरमा निजी आर्जनको भनी ठहर गर्ने कानूनी आधार केही नदेखिनुको अतिरिक्त वादी र प्रतिवादी कलाधर एकाघर सगोलमा रहे भएकोमा विवाद देखिन आउँदैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) मा एकाघर सँगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको संपत्ति हो भनि अदालतले अनुमान गर्नेछ भन्ने र सोही ऐनको दफा २९ मा अदालतले यस ऐन वमोजिम अनुमान गर्ने कुनै कुरा कुनै पक्षले खण्डन गर्न चाहेमा त्यस्को प्रमाण पुर्याउने भार सोही पक्षको हुने छ भन्ने समेतको कानूनी व्यवस्था भएको देखिन्छ । विवादित लिखतको जग्गा निजी आर्जनको भै विक्री गरेको भन्ने प्रतिवादी कलाधरको प्रतिउत्तर जिकिर भएपनि उपर्युक्त व्यवस्था भए अनुसार संगोलको संपत्ति हो भनि अदालतले अनुमान गर्ने कुराको खण्डन गर्न प्रमाणको भार पुर्याउने प्र. कलाधरको दायित्व हुन आए अनुरुप निजले नीजि आर्जनको प्रमाण पुर्याउन सकेको देखिदैन । ने.का.प. २०४६ को नि.नं. ४०१४ र ने.का.प. २०४८ को नि.नं. ४४३७ को दुई भिन्न भिन्न इजलासवाट प्रतिपादित सिद्धान्त वाझिएको भन्ने परिप्रेक्ष्यमा हेर्दा ने.का.प. २०४६ को नि.नं. ४०१४ पु.वे.वादी मानकी देवी रौनियार विरुद्ध प्रतिवादी विष्णु प्रसाद रौनियार समेत भएको लिखत वदर मुद्दामा अंशवण्डाको १९(२) र साविक लेनदेन व्यवहारको १० नं. को व्याख्या गरेको पाइन्छ भने ने.का.प. २०४८ को नि.नं. ४४३७ पु.वे.वादी लतिमान तामांङ विरुद्ध प्रतिवादी जगत वहादुर तामाङ समेत भएको लिखत वदर मुद्दामा अंशवण्डाको १८ नं. र लेनदेन व्यवहारको १० नं.को प्रश्न उठी निजी आर्जन आफूखुस गर्न पाउने कुरामा र प्रमाण ऐन, ०३१ को दफा ६ (क) लाई लिएर व्याख्या भएको देखिन्छ । यसरी मुद्दाहरुको तथ्यहरु नै फरक रहेको उक्त २ निर्णयहरुमा भिन्न भिन्न प्रश्न उठी भिन्न भिन्न दफाहरुको व्याख्या गरिएको हुँदा रुलिङ वाझिएको भन्न सकिने अवस्था देखिंदैन । उक्त ने.का.प. २०४६ नि.नं. ४०१४ मा प्रतिवादीको नाममा खरीद गरेको आफूले आर्जन गरेको भनेको सम्पत्तिलाई पैत्रिक सम्पत्तिवाट खरीद गरेको भन्ने कुराको सवुद वादीले गुजार्नु पर्ने भनी प्रतिपादन भएको सिद्धान्त माथि उल्लेख भए वमोजिम प्रमाण ऐन, २०३१ को प्रतिकूल देखिन्छ । सगोलको अंशवण्डा लाग्ने सम्पत्ति भनी दावी भएकोमा सगोलको सम्पत्ति होइन अंशवण्डा नलाग्ने निजी आर्जनको सम्पत्ति हो भन्ने पक्षले नै अंशवण्डा नलाग्ने निजी आर्जनको सम्पत्तिको सवुद गुजार्नु पर्ने सर्वमान्य सिद्धान्त हो । त्यस्तै प्रस्तुत मुद्दामा सगोलको सम्पत्ति हो भन्ने दावी भएकोमा प्रतिवादी कलाधरले मुलुकी ऐन, अंशवण्डाको १९ नं. ले आधीसम्म आफूखुस गर्न पाउने भनिए तर्फ जिकिर लिएको पाइन्छ । अर्कोतर्फ मेरो कमाई ऋण समेतवाट आर्जन गरेको भन्ने प्रतिवाद रहेको देखियो । आफ्नो पालामा आर्जन गरेको निजी हक लाग्ने प्रकृतिको सम्पत्ति हो भन्ने र व्यवहार चलाउन विक्री गरेको तथा निजी आर्जनको हो भन्ने सवुद प्रतिवादीवाट आउनु पर्नेमा आउन सकेको देखिंदैन । एकासगोलको अंशियारमा जस्को नाममा रहेको सम्पत्ति भए पनि अन्यथा प्रमाणित नभएसम्म संगोलको मान्नु पर्ने प्रमाण ऐन, २०३१ को दफा ६ (क) ले प्रष्ट गरेकोमा अन्यथा प्रमाणित गर्नुपर्ने कर्तव्य प्रतिवादीको हुन्छ । अंशवण्डाको १८ नं. ले निजी ठहर्ने र ऐ.का १९ नं. ले आफ्नो पालामा आर्जेको निजी ठहर्ने अवस्थामा वाहेक सँग वसेको अंशियारको सगोलको आर्जनमा सवै अंशियारको भाग लाग्ने हुन्छ ।
१४. माथि उल्लेखित वुँदा प्रमाणवाट प्रतिवादी कलाधर वास्तोलाले प्रतिवादी इन्द्रमोहन अधिकारीलाई विगो रु.५५,०००।- मा मिति २०४५।१०।११ मा गरीदिएको राजिनामाको जग्गा निजी आर्जनको विक्री गरेको देखिन नआई एकाघर संगोलको वादीहरुको समेत अंश हक लाग्ने हुँदा संपत्ति विक्री गरेको देखिन आएकोले वादी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेको नदेखिंदा वादी दावी वमोजिम विवादित जग्गा ५ भागको दुई भाग वदर गर्ने गरेको शुरु कास्की जिल्ला अदालतको इन्साफ सदर गरेको मिति २०५२।५।१३।३ को यस अदालत संयुक्त इजलासको फैसला मनासिव ठहर्छ । अरु तपसिल वमोजिम गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम प्रतिवादी कलाधरले इन्द्रमोहनलाई विक्री गरेको जग्गामध्ये वादीको हकको ५ भागको २ भाग सम्म विक्री गरेको लिखत वदर भएकाले पुनरावेदन अदालत पोखराले कायम गरेको लगत कट्टा गरी शुरु जि.अ.को फैसला वमोजिम लगत कायम गरी कानून वमोजिम गर्नु भनि शुरु कास्की जिल्ला अदालतमा लेखी पठाई दिनु ................ ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.मोहन प्रसाद शर्मा
न्या.कृष्णजंग रायमाझी
न्या.उदयराज उपाध्याय
न्या.हरि प्रसाद शर्मा
इति सम्वत् २०५३ साल फाल्गूण २३ गते रोज ५ शुभम् .......................... ।