निर्णय नं. ८७९८ - पुनरावेदक प्रतिवादीः सर्लाही जिल्ला, लक्ष्मीपुर गा.वि.स.वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स. वडा नं.४ नारायणटार बस्ने, रामबाबु साह

ने.का.प. २०६९, अङ्क ३
निर्णय नं. ८७९८
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की
संवत् ०६७ सालको–CR–०३५६
फैसला मितिः २०६९।१।२१।५
मुद्दा : चोरी ।
पुनरावेदक प्रतिवादीः सर्लाही जिल्ला, लक्ष्मीपुर गा.वि.स.वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स. वडा नं.४ नारायणटार बस्ने, रामबाबु साह
विरुद्ध
प्रत्यर्थी वादीः भगवती डिलीङ सेवा प्रा.लि.को पोप्राईटर भगवती कार्कीको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्ने :
मा.न्या.श्री पदमराज भट्ट
पुनरावेदन फैसला गर्ने :
मा.न्या.श्री हरिवंश त्रिपाठी
मा.न्या.श्री विश्वम्भर श्रेष्ठ
§ निजी उपभोग वा प्रयोगको लागि सामान खरीद गर्नेले यसरी खरीद गर्दा कुनै कागज गरी लिने वा नलिने कुरा निजको ईच्छा र खरीद गरिएको वस्तुको प्रकृति र कानूनी बाध्यताको बिषयले निर्धारण हुने ।
§ सामान्य उपभोगको लागि कुनै चीज वस्तु खरीद गर्दा कागज गरिलिने दिने भन्ने कुरा सम्बन्धित उपभोक्ता खरीदकर्ताको ईच्छामा समेत भर पर्ने हुनाले कुनै चीज वस्तु खरीद गर्दा कागज गरी लिने दिने कुरा निजको सम्बन्धमा त्यति सान्दर्भिक र महत्वपूर्ण नहुन सक्ने ।
§ आफ्नो व्यावसायलाई नियमित रुपमा सञ्चालन गर्न कारोवारबाट भएको नाफा घाटाको कुरा यकीन गर्नको लागि व्यवसायीले सामान खरीदसम्बन्धी प्रत्येक कारोवारको बारेमा राखिएको अभिलेख वा कागजले सामानको पहिचानसहितको विवरण, खरीद मूल्य, खरीद भएको सामानको परिमाण (जस्तो कति थान, कति किलो आदि) विभिन्न प्रयोजनको लागि यस्तो सामानको बिक्रीकर्तालाई सम्पर्क गर्नु पर्दा आवश्यक पर्ने न्यूनतम् सम्पर्क ठेगाना आदि अभिलेख गरिएको कागज वा रेकर्डलाई नै चोरीको महलको २३ नं. को प्रयोजनको कागज मान्नुपर्ने ।
(प्रकरण नं.५)
पुनरावेदक प्रतिवादी तर्फबाटः
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ कीर्ते कागजको १, ९ र १२ नं.
फैसला
न्या.भरतराज उप्रेतीः पुनरावेदन अदालत, पाटनको मिति २०६६।३।२८ को फैसलाउपर मुद्दा दोहोर्याई पाऊँ भनी प्रतिवादीको तर्फबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२
(१) को खण्ड (क) अनुसार मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
मिति २०६३।८।२७ गते जिल्ला भक्तपुर ताथली गा.वि.स.वडा नं. ६ स्थित रहेको कुनाल प्लाई इण्डष्ट्रिजको बोरिङ्गको कामको ठेक्का जिम्मा परेकोमा उक्त काम गर्नको लागि सोसम्बन्धी विभिन्न सामानहरू दिई फुर्वा रावल भन्ने धर्म रावल नविनलाई पठाएकोमा उक्त सामानहरू निजहरूले चोरी गरी वेपत्ता बनाएकोले खोजतलास गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०६२।८।२८ गतेको भगवती कार्कीको निवेदन ।
मिति २०६२।८।२७ गते जिल्ला भक्तपुर, ताथली गा.वि.स.वडा नं. ६ स्थित कुनाल प्लाई फ्याक्ट्री रहेको सोको पूर्वतर्फको कुनाबाट ७ फीट, पश्चिमतर्फ फलामको बोरिङ्ग गर्ने जि.आई पाइप जडान गरेको अवस्थामा रहेको वोरिङ्ग गर्ने मेशिन समेत रहेको मिति २०६२।८।२८ गतेको घटनास्थल प्रकृति मुचुल्का ।
म जाहेरवालाले भगवती डिलिङ्ग सेवा प्रा.लि. नामक उद्योग खोली बोरिङ्गको काम गर्दै आएकोमा जिल्ला भक्तपुर ताथली गा.वि.स.वडा नं. ६ कै ढोकास्थित कुनाल प्लाई इण्डष्ट्रिजमा बोरिङ्गको कामको लागि मेरो भगवती डिलिङ्ग सेवा प्रा.लि. परेकोले सोको लागि आवश्यक पर्ने सामानहरू सोहि स्थानमा रहेकोमा मिति २०६२।८।२७ गते फुर्वा रावल र यकीन वतन थाहा हुन नआएकोले नविन भन्ने व्यक्ति समेत भई जम्मा विगो रु.४,४२,०८४।– बराबरको सामान चोरी गरी लगेको हुँदा निजहरूलाई पक्राउ गरी चोरीमा कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०६३।३।१९ गतेको भगवती कार्कीको जाहेरी दरखास्त ।
काठमाडौँ जोरपाटीस्थित कवाडी पसल गरी बस्ने रामबाबु साहको कवाडी पसलबाट चोरी भएको भनिएको विभिन्न सामानहरू बरामद भै आएको मिति २०६३।३।२२ को बरामदी मुचुल्का ।
मिति २०६३।८।२७ गतेको अं. १३.०० बजेको समयमा म आफ्नै कवाडी पसलमा बसी रहेको अवस्थामा पछि नाम थाहा हुनआएको फूर्वा रावल भन्ने धर्म रावलले फलाम छ किन्नु हुन्छ भनी सोधेकोले मैले हेर्दा वा.१.ख ९१०२ नं. को मिनी ट्रकमा लोड गरी ल्याएको अवस्थामा देखी निजले म ठेकेदार हुँ काम नलाग्ने सामान हो भनेकोले मैले मेरो कवाड पसलमा लगी तौलदा १२११ के.जी. भएकोले सोको मूल्य रु.१९,६७६।– मा खरीद गरेको हुँ । सोमध्ये रु.।– १७९९ गाडीको भाडाबापत मैले नै दिएको हुँ । निज धर्म रावलको नामथर वतन समेत लेखी राखेको छु । बरामद सामन देखे सो सामान मेरो कवाडी पसलबाट बरामद सामानहरू हुन् अन्य सामानहरू अन्यत्र बिक्री गरिसकेको छु । मैले प्रतिकिलो रु.१६ ले खरीद गरेको हुँ । र बिक्री गर्दा प्रति के.जी.रु.१७।– समेतमा गरेको हुँ भन्ने समेत व्यहोराको मिति २०६३।३।२५ गतेको प्रतिवादी रामबाबुको बयान कागज ।
जाहेरी दरखास्त साथ दाखिला हुनआएको सामानहरूको नाम लेखेको पत्र कवाडी पसलबाट फेला परेको रजिष्ट्ररमा रहेको अक्षर र प्रतिवादी फुर्वा रावल भन्ने धर्म रावलबाट लिएको नमूना परीक्षण गर्दा व.द.ल.च. अक्षरहरू एक आपसमा मिल्ने परीक्षण प्रतिवेदन ।
कवाडी पसलबाट बरामद भै आएको सामानहरूको मूल्य रु.७४,५००।– पर्ने भन्ने समेत व्यहोराको मूल्य मुचुल्का ।
मिति २०६२।८।२७ गते एकजना मानिसले मेरो फलामको सामान छ स्वयम्भू लैजानु पर्यो भनेकोले मैले हाक्ने गरेको बा.१.खं ९१०२ नं. को ट्रकमा भक्तपुर ताथली ६ स्थित फ्याक्ट्रीबाट फलामका सामान लोड गरी हिडेकोमा जडिबुटीमा पुगेपछि स्वयम्भू नलाने जोरपाटी लाने भनेकोले जोरपाटी पुलमा पुगेपछि चुच्चेपाटीतर्फ गएको चुच्चेपाटीबाट पुन जोरपाटी लगी रामबाबु साहको कवाडी पसलमा लगि झारेको हो । भाडाबापत रु.१,०००।– लिएको हो भन्ने समेत व्यहोराको मिति २०६३।३।२९ गते प्रतिवादी कृष्णगोपाल बासीले गरेकोे बयान कागज ।
फुर्वा भन्ने धर्म रावल र नविन भन्ने व्यक्ति मेरो बोरिङ्ग गर्ने काममा काम गर्ने व्यक्ति हुन् । निजहरूलाई मैले धर्म रावललाई रु.२,०००।– र नवीनलाई रु.१,०००।– मात्र दिन बाँकी छ भन्ने समेत व्यहोराको मिति २०६३।३।२९ गतेको भगवती कार्कीको कागज ।
जाहेरवाली भगवती कार्कीको बोरिङ्ग काममा काम गर्ने फुर्वा भन्ने धर्म रावल र नवीन भन्ने व्यक्तिहरूले मिति २०६२।८।२७ गते निजहरूले बोरिङ्ग मेसिनका सामानहरू एउटा ट्रकमा लोड गरी लगेका हुन् । निजहरूले उक्त सामानहरू सामान धनीलाई जानकारी नदिई चोरी गरी कवाडीमा बिक्री गरेको कुरा थाहा पाएका हौँ । कवाडी सामान किन्ने रामबाबु साह भएको र लोड रहेको ट्रकको नं. ख्याल राखेका थिएनौँ । सामानको लिष्ट फुर्वा रावलले लेखी छाडेको हुन् भन्ने समेत व्यहोराको मिति २०६३।३।२९ गतेको विश्व बासुकला समेतले गरिदिएको कागज ।
मिति २०६२।८।२७ गते कवाडीका समान लोड गरी लगेको ट्रक बा.१.ख.९१०२ नं. को ट्रकको चालकलाई देखेँ निज कृष्णगोपाल बासी हुन् देखेँ चिने भनी प्रतिवादी रामबाबु साहले गरेको मिति २०६३।३।३० गतेको सनाखत कागज ।
बा.१.ख.९१०२ नं. को सामानहरू लोड गरेको ट्रक उक्त वारदातपश्चात् पछि दुर्घटना भई हाल चल्न नसक्ने अवस्थामा रहेको भन्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय, भक्तपुरको पत्र ।
भक्तपुर जिल्ला ताथली गा.वि.स.स्थित कुनाल प्लाई इण्डष्ट्रिजबाट म समेतको बा.१.ख.९१०२ नं. को मिनी टाटा गाडी चलाउने कृष्णगोपाल बासीले बोरिङ्गको सामानहरू राखी काठमाडौँ जोरपाटीस्थित कवाडी पसलमा लगी मिति २०६२।८।२७ गतेका दिन बिक्री गरेको भन्ने सुनी थाहा पाएको भन्ने मिति २०६३।४।३ गतेको दयाराम वासीले गरेको कागज ।
मिति २०६२।८।२६ गतेका दिन जाहेरवालाका सामानहरू काठमाडौँ जोरपाटीमा लगी प्रतिवादी रामबाबु साहको पसलमा लगी जाहेरीमा उल्लिखित जम्मा विगो रु.४,४२,०८४ मूल्य बरावरका सामानहरू रु.१९,३७६ मा बिक्री गरी आ–आफूले भागबण्डा वाँडी लिई खाएको पुष्टि भई प्रतिवादी फुर्वा भन्ने धर्म रावल र कृष्णगोपाल वासीले मुलुकी ऐन, चोरी महलको १ नं. अनुसारको कसूर अपराध गरेको हुँदा निज प्रतिवादी फुर्वा भन्ने धर्म रावल र कृष्णगोपाल वासीलाई उक्त ऐनको चोरीको महलको १२ नं. बमोजिम सजाय हुन तथा अर्का प्रतिवादी रामबाबु साहले उक्त बोरिङ्गका मेसिन समेतका सामानहरू चोरीका हुन् भन्ने थाहा जानकारी हुँदाहुँदै जम्मा रु.४,४२,०८४।– मूल्य पर्ने उक्त सामानहरू रु.१९,३७६।– मा नाफा गर्ने उद्देश्यले उल्लिखित प्रतिवादीहरूबाट खरीद गरेको पुष्टि भई निज प्रतिवादी रामबाबु साहले मुलुकी ऐन चोरी महलको २३ नं. अनुसार कसूर अपराध गरेको हुँदा निज प्रतिवादी रामबाबु साहलाई ऐ.ऐन.ऐ.महलको २४ नं बमोजिम सजाय हुन तथा बरामद भई आएका जम्मा मूल्य रु.७४,५००।– पर्ने बोरिङ्गको मेसिनरी सामानहरू ऐ.ऐन ऐ.महलको २१ नं. बमोजिम जाहेरवालालाई फिर्ता दिलाइ पाउन साथै नपुग विगो रु.३,६७,५८४।–ऐ.को १०(३) नं. बमोजिम प्रतिवादीहरूलाई भराइ पाउन माग दावी र चोरी वारदातमा सम्लग्न नवीन भन्ने व्यक्तिका हकमा पक्राउ परी वा पछि वतन खुली आएका बखत सजाय हुन मागदावी लिई दायर भएको अभियोपपत्र ।
बरामदी मुचुल्कामा उल्लिखित सामान मैले जाहेरवालाको इण्डष्ट्रिजबाट लिएको ठीक हो । देखी जानी सनाखत गरे अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान मैले भनेबमोजिम लेखिएको हो । मिसिल संलग्न रहेको पहेलो रंगको कागजमा लेखिएको समानको नाम भएको लिष्टमा भएको सही मेरो हो । लिष्टमा लेखिएको अक्षर मेरा हुन् । मेरो पारिश्रमिक नदिएकोले दिउँसो नै मैले सामान लगेको हो । चोरी गरेको होइन मलाई सजाय हुनुपर्ने होइन भनी प्रतिवादी फुर्वा भन्ने धर्म रावलले शुरु अदालतमा मिति २०६४।४।७ मा गरेको बयान ।
मिति याद भएन म निसान मिनीटाटा चलाउने गर्छु । भाडामा चलाउने गर्दा एकदिन भक्तपुर जिल्ला ताथलीस्थित भगवती डिलिङ्ग सेवा प्रा.लि.बाट काठमाडौँ स्वयम्भू सामान लानुछ जाऊँ भनी मानिस आएकोले मेरो बा.१.खं ९१०२ नं. को गाडी लिई उक्त प्रा.लि.मा गई विभिन्न बोरिङ्गका सामानहरू लोड गरी रु.१,७००।– लिनेदिने शर्तमा गएको हुँ । जडिबुटीमा पुगेपछि पेप्सीकोलातर्फ हुँदै जोरपाटीतर्फ जानु भनेकोले जोरपाटीमा पुर्याएर सामान बाटोमा अनलोड गरी रु.१,७००।– लिएर म फर्किए । म भाडामा गएको हुँदा चोेरी गर्ने कार्यमा मेरो संलग्नता छैन । मलाई सजाय हुनुपर्ने होइन भनी प्रतिवादी कृष्णगोपाल वासीले शुरु अदालतमा मिति २०६४।४।७ मा गरेको बयान ।
चोरीमा मेरो कुनै सम्लग्नता छैन । धर्म रावलले आफू ठेकेदार भएको सामान आफ्नै हो भनेको र मलाई चोरीको समान नभनेको हुँदा मैले चोरीको सामान होला भनी शंका नगरी किनेको हुँ । कारोवार भएको रजिष्ट्रर मेरो हो । मिसिल सम्लग्न बरामदी मुचुल्कामा उल्लिखित सामान देखें बरामद भएर आएका सामान मैले धर्म रावल सँगै लिएका मध्येका हुन् । मैले चोरी गरेको र जानेर चोरीको सामान बढी नाफा कमाउन कम मूल्यमा किनेको छैन् भनी प्रतिवादी रामबाबु साहले शुरु अदालतमा मिति २०६४।४।८ मा गरेको बयान ।
अ.वं. ११८ को देहाय ५,१० समेतलाई मध्यनजर राखी प्रतिवादीहरूमध्येको धर्म रावलबाट रु.७४,५००।– नगद धरौट वा जेथा जमानत दिए लिई तारिखमा राख्नु त्यस्तै प्रतिवादी रामबाबु साहबाट रु.१९,३७६।– नगद धरौट वा सो बरावरको जेथा जमानत दिए लिई तारिखमा राख्न दिन नसके कानूनबमोजिमको सिधा खान पाउने गरी कानूनबमोजिमको थुनुवा पूर्जी दिई पुर्पक्षको लागि थुनामा पठाउने र प्रतिवादीमध्येको कृष्णगोपाल वासीले अधिकारप्राप्त अधिकारीसमक्ष र शुरु अदालतमा बयान गर्दा आफ्नो गाडीमा सामान लगेको स्वीकार गरेको, चोरीको भन्ने थाहा जानकारी नभएको व्यहोरा उल्लेख गरेको प्रतिवादी धर्म रावलले निज प्रतिवादीको सम्लग्नता भएको भनी बयानमा उल्लेख नगरेको समेतका कारण अवस्थाबाट आरोपित कसूर गरेका भन्ने मनासिव आधार तत्काल प्राप्त प्रमाणबाट नदेखिंदा पछि देखिएबमोजिम हुने गरी हाललाई अ.वं.४७ नं. बमोजिम तारिखमा राख्ने भनी शुरु अदालतबाट मिति २०६३।४।८ गते भएको थुनछेक आदेश ।
फुर्वा रावलले मिति २०६२।८।२७ गते म पनि रामबाबु साहको पसलमा बसी रहेको बेलामा ट्रकमा कवाडी सामान ल्याई रामबाबु साहलाई प्रति किलो रु.१६।– मा बिक्री गरेका हुन् । चोरीको समान नभएको कुरा बताएका थिए, रामबाबु साह कुनै खराब आचरण भएका मानिस होइनन् भनी प्रतिवादी रामबाबु साहको साक्षी किसुन साहको बकपत्र ।
उक्त कागजमा परेको सही मेरै हो । साक्षी बस्न सही गर भनेकोले सही गरिदिएकी हूँ भनी बरामदी मुचुल्काका मानिस पार्वतीदेवी साहको बकपत्र ।
मिति २०६२।८।२८ गते जिल्ला प्रहरी कार्यालयमा मैले मानिस पक्राउ गरिपाऊँ भनी निवेदन दिएको साँचो हो । जाहेरी दरखास्तको व्यहोरा सुनी पाएँ, व्यहोरा ठीक साँचो हो त्यसमा लागेको सहिछाप मेरै हो भनी जाहेरवाली भगवती कार्कीले गरेको बकपत्र ।
प्रतिवादी फुर्वा भन्ने धर्म रावलले भगवली डिलिङ्ग सेवाको बोरिङ्गका रु.४,४२,०८४।– मूल्य बराबरका सामानहरू कुनाल प्लाई इण्डष्ट्रिजबाट चोरी गरी प्रतिवादी रामबाबु साहलाई रु.१९,३७६।– मा बिक्री गरेको भन्ने अभियोग मागदावी रहेको । प्रतिवादी फुर्वा भन्ने धर्म रावलले कुनाल प्लाई इण्डष्ट्रिजबाट सामान चोरी गरी प्रतिवादी रामबाबु साहलाई बिक्री गरेको मिसिल सम्लग्न प्रमाणहरूबाट देखिन आएकोले फुर्वा भन्ने धर्म रावललाई मुलुकी ऐन, चोरीको महलको १२ नं बमोजिम विगोबमोजिम रु.७४,५००।– जरीवाना र एक महिना कैद हुने ठहर्छ । प्रतिवादी रामबाबु साहले रु.७४,५००।– पर्ने चोरीका सामानहरू रु.१९,३७६।– मा खरीद गरेको र सो सामानहरू चोरीका हुन् भने थाहा नभएको भन्ने स्पष्ट र ठोस प्रमण पेश गर्न नसकेकोले निज रामबाबु साहलाई चोरीको २४ नं. बमोजिम रु.७४,५००।– जरीवाना हुने ठहर्छ । अर्का प्रतिवादी कृष्णगोपाल वासीले चोरीका सामान मिनीटाटामा राखी रामबाबु साहकोमा पुर्याएको भए पनि भाडा लिई सामान ओसारपसार गरेको कारणले मात्र चोरीमा सम्लग्नता रहेको भनी कसूरदार ठहर्याउन नमिल्ने हुँदा अभियोगबाट सफाइ पाउने ठहर्छ भन्ने भक्तपुर जिल्ला अदालतको मिति २०६४।६।२० को फैसला ।
जाहेरवालीको जाहेरी, अभियुक्त फुर्वा भन्ने धर्म रावलको बयानकागज तथा अन्य सम्लग्न प्रमाणहरूबाट समेत म पुनरावेदकले चोरीको मालसामान जानी जानी खरीद गरेको भन्ने नदेखिएको अवस्था हुँदा हुँदै अपराधी ठहर्याई जरीवाना गर्ने गरी भएको भक्तपुर जिल्ला अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिकूल रहेकोले सो फैसला बदर गरी निर्दोष घोषित गरिपाऊँ भन्ने पुनरावेदक÷प्रतिवादी रामबाबु साहको मिति २०६४।१०।१३ को पुनरावेदन जिकीर ।
यसमा पुनरावेदक रामबाबु साहले चोरीको सामान भनी जानी जानी खरीद गरेको होइन भनी इन्कार रहेको अवस्थामा शुरु भक्तपुर जिल्ला अदालतले गरेको मिति २०६४।६।२० को फैसला चोरीको महलको २४ नं. अनुसार फरक पर्न सक्ने देखिंदा छलफलको लागि अ.वं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकील कार्यालय, पाटनलाई झिकाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने मिति २०६५।८।२ गते अदालतबाट भएको आदेश ।
प्रतिवादी रामबाबु साहले रु.७४,५००।– पर्ने मालसामानलाई रु.१९,३७६।–मा चोरीको महलको २३ नं. को व्यवस्थाको विपरीत खरीद गरेको पुष्टि भएको हुँदा यी प्रतिवादी रामबाबु साहलाई चोरीको २४ नं. अनुसार विगोबमोजिम रु.७४,५००।– जरीवाना गर्ने ठहर्याई भक्तपुर जिल्ला अदालतले मिति २०६४।६।२० मा गरेको फैसला मिलेकै देखिंदा सदर हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६६।३।२८ को फैसला ।
मैले किनेको मालसामान चोरीको हो भन्ने कुरा मलाई थाहा थिएन । किनभने बिक्री गर्न ल्याएको सामान गाडीमा ल्याएको थियो भने ल्याउने फुर्वा भन्ने धर्म रावलले आफूलाई बोरिङ्गको ठेकेदार र काम गर्ने व्यक्ति रहेको, बोरिङ्गको काम बन्द गरी काम नलाग्ने सामान रहेको हो भनी बिक्री गरेको थिए । निजसँग आउने व्यक्ति र गाडीको ड्राइभरले पनि ल्याएका मालसामान बारे अन्यथा भनेका थिएनन् । यसरी आफ्नो हो भनी काम नलाग्ने पुरानो खिया लागेको फलामका सामान बेच्न आएको सामान चोरीको हो भन्ने थाहा जानकारी हुने कुरा थिएन र थाहा पनि छैन । यसरी चोरीको हो भन्ने नजानी लिएको मालसामानको हकमा चोरी महलको २३ नं. को आरोपबाट आरोपित गर्न र २४ नं. अनुसार सजाय गर्न मिल्ने होइन । शुरुको फैसलालाई सदर गर्ने पुनरावेदन अदालत, पाटनको मिति २०६६।३।२८ को फैसला चोरीको २३ र २४ नं. को प्रतिकूल भएकोले सो फैसला बदर गरी मेरो पुनरावेदन जिकीरबमोजिम न्याय इन्साफ पाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक/प्रतिवादीको यस अदालतमा परेको दोहोर्याई पाऊँ भन्ने निवेदन पत्र ।
यसमा विक्रेताबाट निजको आफ्नो नाम, ठेगाना र फोन नं. समेत खोली बरामद भै आएको बोरिङ्गको सामानहरू यी कवाडी व्यवसायी निवेदकले खरीद गरेको स्थितिमा चोरीको सामान जानी जानी किनेको भनी चोरीको २३ र २४ नं. प्रयोग गरी सजाय गरिएको पाइयो । निवेदक प्रतिवादीले जानी जानी कूल मूल्यको सयकडा पन्ध्र भन्दा सस्तोमा खरीद गरिएको कुरालाई सजाय गर्ने आधार बनाएको पाइयो । मुलुकी ऐन, चोरीको महलको २३ नं मा कागज गरी लिएकोमा वात नलाग्ने भनीएबाट सामान खरीद गर्दा विक्रेताको विवरणसहित टिपोट कपीमा उल्लेख गरेको तथ्यसमेतको के कस्तो प्रमाणिक महत्व हुने भन्ने बिषयमा मुलुकी ऐन चोरीको महलको २३ नं. र २४ नं. को ब्याख्यात्मक प्रश्न समावेश भएको देखियो । प्रमाण मूल्याङ्कनको रोहमा उक्त लिखत विवरणको मूल्याङ्कन नहुनु प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको त्रुटि भई पुनरावेदन अदालत पाटनको मिति २०६६।३।२८ को फैसलामा विद्यमान देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको छ । विपक्षीलाई सूचना दिई नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०६७।७।१५ को आदेश ।
नियमबमोजिम आजको दैनिक पेशी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेश हुनआएको प्रस्तुत निवेदनपत्रसहितको मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान बरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादवले मेरो पक्ष रामबाबु साहले आफ्नो रजिष्टरमा आफूले लिएको सामानको नाम, किसिम, लोड गरी लगेको गाडीको नाम, नम्वर समेत लेखिराखेको रजिष्टरबाट देखिएको, मेरो पक्षले कवाडीको सामान खरीद गर्ने दर भाउमा सामान खरीद गरेको, यसरी खरीद गरेका सामान लामो समयसम्म जस्ताकोतस्तै रहेको अवस्था समेतबाट मेरो पक्षले चोरीको समान हुन् भन्ने कुरा थाहा नभई कवाडीको रुपमा सामान खरीद गरेको मिसिल सम्लग्न कागजबाट पुष्टि भइरहेको अवस्थामा मेरो पक्षलाई शुरुले सजाय गर्ने गरेको फैसलालाई पुनरावेदन अदालतबाट सदर गरेको फैसला न्याय र कानूनको रोहमा त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी मेरो पक्षलाई आरोपित कसूरबाट पूर्णतः सफाइ दिलाइ पाऊँ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
विद्वान कानून ब्यवसायीको बहस बुँदालाई समेत मध्यनजर राख्दै मिसिल सम्लग्न प्रमाण कागजको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, पाटनको मिति २०६६।३।२८ को फैसला मिलेको छ, छैन ? पुनरावेदन जिकीरबमोजिम हुनुपर्ने हो वा होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. जाहेरवालाको जम्मा विगो रु.४,४२,०८४।– मूल्य बराबरको बोरिङ्ग, गर्ने सामानहरू चोरी भएको वारदात कायम गरी सजाय गरिपाऊँ भन्ने मागदावीसहित अभियोगपत्र दायर भएकोमा प्रतिवादीमध्येका फुर्वा भन्ने धर्म रावललाई साधारण चोरीको कसूर ठहर्याई र प्रतिवादी रामबाबु साहले रु.७४,५००।– पर्ने सामानलाई रु.१९,३७६।– मा खरीद गरेको कसूरमा निजलाई चोरीको महलको २४ नं बमोजिम रु.७४,५००।– जरीवाना हुने ठहर्याई शुरु भक्तपुर जिल्ला अदालतबाट मिति २०६४।६।२० मा फैसला भएकोमा फुर्वा भन्ने धर्म रावलले उक्त सजायमा चित्त बुझाई पुनरावेदन नगरी बसेको देखिन्छ । अर्का प्रतिवादी रामबाबु साहले इन्साफ उल्टी गरी न्याय पाऊँ भनी पुनरावेदन अदालतमा पुनरावेदन गरेकोमा पुनरावेदन अदालत, पाटनले यी प्रतिवादी रामबाबु साहलाई रु.७४,५००।– जरीवाना गर्ने शुरुले ठहर्याएको फैसलालाई सदर गर्ने गरेको फैसलाउपर यी प्रतिवादी रामबाबु साहको निवेदन परी यस अदालतबाट दोहोर्याई हेर्ने निस्सा प्रदान भई प्रस्तुत पुनरावेदन निर्णयार्थ पेश भएको रहेछ ।
३. यी प्रतिवादी रामबाबु साहले फुर्वा भन्ने धर्म रावलबाट रु.७४,५००।– पर्ने सामानलाई रु.१९,३७६।– खरीद गरेको कुरा मिसिल सम्लग्न मूल्य मुचुल्काबाट देखिन्छ । निजले अदालतसमक्ष बयान गर्दा धर्म रावलले आफूसँग केही कवाडी फलाम भएकोले किन भनेकोले पसलमा लगी जोख्दा १२११ के.जी. भएकोले जम्मा रु.१९,३७६।– दिई किनेको हुँ । चोरीको सामान भन्ने थाहा पाएर किनेको होइन भनी उल्लेख गरेतापनि सो कुरालाई सबूद प्रमाणबाट पुष्टि गर्न सकेका छैन । धर्म रावलले शुरु फैसलामा चित्त बुझाई पुनरावेदन नगरेको कारण समेतबाट यी प्रतिवादी रामबाबु साहले निज फुर्वा भन्ने धर्म रावलबाट खरीद गरेको उपरोक्त मालसामान चोरीको सामान हो भन्ने तथ्य स्थापित हुन्छ ।
४. प्रतिवादीले उक्त सामान खरीद गर्दा बिक्री गर्ने व्यक्तिको नाम, ट्रक नम्वर, फोन नम्वर समेत टिपोट कापीमा उल्लेख गराई लिएकोले उक्त टिपोटलाई नै चोरीको महलको २३ नं. को प्रयोजनको लागि ‘कागज’ मान्नु पर्दछ भन्ने जिकीर लिएको देखिन्छ । चोरीको महलको २३ नं. मा गरिएको व्यवस्था हेर्दा “माल किन्दा सो मालको मोलमा सयकडा पन्ध्रसम्म नाफा हुने गरी कागज नगरी वा सोभन्दा बढ्ता परे पनि कागज गरी लिएकोमा चोरीको भन्ने नजानी लिएको भए वात लाग्दैन” भन्ने व्यवस्था भएको पाइन्छ । उपरोक्त चोरीको महलको २३ नं. मा गरिएको व्यवस्था हेर्दा सामान खरीद गर्ने व्यक्तिले चोरीको कसूरबाट छुटकारा पाउन निम्न तीन तथ्यहरू निर्विवाद रुपमा प्रमाणित गर्न पर्ने देखिन्छ :
क) खरीद गरेको सामान चोरीको हो भन्ने कुराको जानकारी खरीद कर्तालाई थिएन,
ख) उक्त समान खरीद गर्ने व्यक्तिले सोको बिक्रीबाट १५ प्रतिशत भन्दा बढी नाफा कमाउने अवस्था थिएन,
ग) १५ प्रतिशत भन्दा बढी नाफा हुने गरी खरीद गरेको भए पनि कागज गरी सामान खरीद गरेको थियो ।
५. प्रस्तुत मुद्दामा सामान खरीद गर्दा यी पुनरावेदकले खरीद गरेको सामानहरू चोरीका हुन् भन्ने जानकारी थियो वा थिएन भन्ने कुरा भन्दा पनि विवादित सामान खरीद गर्दा कागज गरी खरीद गरेको थियो वा थिएन र चोरीको कसूरबाट छुटकारा लागि प्रतिवादीले सामान खरीद गर्दा तयार गर्नुपर्ने भनिएको खरीद बिक्रीको कागजको प्रकृति कस्तो हुनु पर्दछ भन्ने प्रश्न नै निरोपण गर्नुपर्ने मूल विषय रहेको छ । यो प्रश्नको निरोपण गर्न कुनै पनि सामानको खरीद बिक्रीको ब्यवसाय गर्ने व्यवसायीले कुनै सामान खरीद वा बिक्री गर्दा कारोवारको सिलसिलामा अवलम्बन गरिने मान्य व्यावसायिक प्रचलन के छ भन्ने कुरा नै हेर्नुपर्ने हुन्छ । यो प्रचलन बुझ्नको लागि अरुलाई बिक्री गर्ने उद्देश्यले कुनै सामान खरीद गर्ने व्यावसायिक व्यक्ति र आफ्नो उपभोगको लागि कुनै व्यक्तिबाट सामान खरीद गर्ने व्यक्तिले राख्ने अभिलेख र गरिदिने लिने कागजलाई पनि फरक गरेर हेर्नुपर्ने हुन्छ । अरुलाई बिक्री गर्ने उद्देश्यले कुनै सामान खरीद गर्ने व्यावसायिक व्यक्तिले कुनै सामान खरीद बिक्री गर्दा यस्तो कारोवारबाट कति नाफा हुन्छ भन्ने कुराको लेखा जोखा गरेको हुन्छ र कुनै वस्तु बिक्री गर्दा नाफा नहुने अवस्थामा निजले यस्तो वस्तु खरीद नगर्न पनि सक्दछ । कुनै पनि व्यवसायीले घाटाको व्यवसाय गर्दैन । यो मान्य व्यावसायिक प्रचलन हो । तर यो कुरा निजी प्रयोग वा उपभोगको लागि कुनै सामान वा वस्तु खरीद गर्ने उपभोक्ता व्यक्तिको हकमा लागू नहुन सक्तछ । नाफा वा नोक्सानभन्दा पनि उपभोगको अपरिहार्यता र आवश्यकताको बिषय मूल हुन सक्तछ । यसैले निजी उपभोग वा प्रयोगको लागि सामान खरीद गर्नेले यसरी खरीद गर्दा कुनै कागज गरी लिने वा नलिने कुरा निजको ईच्छा र खरीद गरिएको वस्तुको प्रकृति र कानूनी बाध्यताको बिषयले निर्धारण गर्दछ । यसैले सामान्य उपभोगको लागि कुनै चिज वस्तु खरीद गर्दा कागज गरि लिने दिने भन्ने कुरा सम्बन्धित उपभोक्ता खरीदकर्ताको ईच्छामा समेत भर पर्ने हुनाले कुनै चिज वस्तु खरीद गर्दा कागज गरी लिने दिने कुरा निजको सम्बन्धमा त्यति सान्दर्भिक र महत्वपूर्ण नहुन सक्तछ । तर सामानहरू खरीद बिक्रीको व्यवसाय नै सञ्चालन गर्ने व्यक्तिले कुनै सामान खरीद गर्दा यसरी खरीद गरिएको वस्तुको पहिचान हुने विवरण, खरीद मूल्य, खरीद गरिएको परिमाण र बिक्री कर्ताको नाम तथा सम्पर्क ठेगाना जस्ता न्यूनतम् जानकारी सहितको विवरण अभिलेख गरिएको कुनै न कुनै प्रकारको कागज राखिने कुरा यस्तो व्यवसाय सञ्चालन गर्दा अपनाईने मान्य प्रचलन रहेको देखिन्छ । आफ्नो व्यवसायलाई नियमित रुपमा सञ्चालन गर्न कारोवारबाट भएको नाफा घाटाको कुरा यकीन गर्नको लागि पनि यस्ता व्यवसायीले सामान खरीदसम्बन्धी प्रत्येक कारोवारको बारेमा राखिएको अभिलेख वा कागजले सामानको पहिचान सहितको विवरण, खरीद मूल्य, खरीद भएको सामानको परिमाण (जस्तो कति थान, कति किलो आदि) विभिन्न प्रयोजनको लागि यस्तो सामानको बिक्रीकर्तालाई सम्पर्क गर्नुपर्दा आवश्यक पर्ने न्यूनतम् सम्पर्क ठेगाना आदि अभिलेख गरिएको कागज वा रेकर्डलाई नै चोरीको महलको २३ नं. को प्रयोजनको लागि कागज मान्नुपर्ने हुन्छ ।
६. यी प्रतिवादीले फुर्वा भन्ने धर्म रावलबाट रु.७४,५००।– पर्ने सामानलाई रु.१९,३७६।– अर्थात् पन्ध्र प्रतिशतभन्दा बढी नाफा हुने गरी खरीद गरेकोमा विवाद भएन । तर प्रस्तुत मुद्दामा व्यक्तिगत व्यापारिक प्रयोजनका लागि गरिएको टिपोट चोरीको २३ नं. को प्रयोजनको लागि कागज गरी लिएको भन्ने कुरालाई मान्यता दिनको लागि के कस्तो प्रकृति र विवरणको सामान खरीद गरिएको हो सो वारे उक्त टिपोटमा उल्लेख गरेको समेत देखिदैन र साथै उक्त टिपोटमा उपरोक्त प्रकरणहरूमा विवेचना गरिएअनुसारको न्यूनतम् विवरण तथा जानकारीहरू उल्लेख गरिएको नदेखिएको हुँदा उक्त टिपोटलाई चोरीको महलको २३ नं. को प्रयोजनको लागि कागज भनी मान्न सकिने अवस्था देखिएन । यस्तो अवस्थामा चोरीको २३ नं. बमोजिम बिक्रीमा सयकडा पन्ध्र प्रतिशतभन्दा बढी नाफा हुने गरी लिए चोरीको माल जानी जानी किनेको मान्नुपर्ने हुँदा टिपोट गरी चोरीको भन्ने नजानी मेरो पक्षले सामान लिएको हुँदा आरोपित कसूरबाट मेरो पक्षलाई सफाइ दिलाइ पाऊँ भन्ने विद्वान कानून व्यावसायिको बहस बुँदासँग यो इजलास सहमत हुन सकेन ।
७. अतः माथि विवेचित आधार कारणबाट प्रतिवादी रामबाबु साहलाई चोरीको २४ नं. अनुसार विगो बमोजिम रु.७४,५००।– जरीवाना गर्ने ठहर्याएको भक्तपुर जिल्ला अदालतले मिति २०६४।६।२० मा गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।३।२८ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक/प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दा दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रा.डा.भरतबहादुर कार्की
इति संवत् २०६९ साल बैशाख २१ गते रोज ५ शुभम्
इजलास अधिकृत : विद्याराज पौडेल