शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८३७४ - कुटपीट अंगभंग ।

भाग: ५२ साल: २०६७ महिना: भाद्र अंक:

निर्णय नं: ८३७४    ने.का.प. २०६७      अङ्क ५

 

सर्वोच्च अदालत, संयुक्त इजालस

माननीय न्यायाधीश श्री बलराम के.सी.

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

संवत् २०६४ सालको फौ.पु.नं. ५७२

फैसला मितिः २०६६।१२।९।२

मुद्दा :कुटपीट अंगभंग 

निवेदक वादीः नेपाल सरकार

विरुद्ध

विपक्षी प्रतिवादीः जिल्ला सिरहा, रामनगर मिर्चिया गा.वि.स. वडा नं. २ बस्ने बिपीन महरा समेत

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री सहदेव बास्तोला

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री जगन्नाथ पाठक

मा.न्या. श्री रामप्रसाद खनाल

 

§  राज्यले कानूनबमोजिम सजाय नै गर्नुपर्दा पनि कैद वा जरीवानासम्म मात्र गर्न सक्छ । सजायस्वरुप कुटपीट वा यातना दिन नसक्ने 

§  कुटपीट एक फौजदारी  अपराध भएकाले कुटपीटको अपराधमा कुटिने व्यक्तिको शरीरमा यातना पीडा घाउ आदि भई क्षति पुग्दछ । कसैको अनतिक्रम्य शरीरमा कसैले कुटपीट गरी क्षति पुर्‍याउँछ भने त्यसरी क्षति पुर्‍याउने व्यक्तिलाई सजाय गर्नुका साथै कुटपीटको कारण कुटिने व्यक्तिको शरीरमा  पुगेको क्षतिबापत क्षतिपूर्ति Compensation समेत पाउनु पर्ने 

(प्रकरण नं.७)

§  क्षतिपूर्ति भराउने कार्य सजाय नभई यो कार्य Civil Liability अन्तर्गत पर्ने कार्य हो । त्यसैले प्रतिवादी दोषी ठहर भएपछि क्षतिपूर्ति भराउने सम्बन्धमा न्यायको रोहमा यस अदालतले पनि विगो रकम यकीन गर्न सक्छ । पीडितले उपचार गर्दा फलफूल र खाना खर्च समेतमा खर्च गरेको भनी विल भरपाइ समेत पेश गरेमध्ये औषधि उपचारबापत र कुरुवा खर्चबापत  खर्च गरेको प्रमाणित भएको रकम At Cost घा खर्चबापत भराई दिनुपर्ने 

(प्रकरण नं.८)

 

निवेदक तर्फबाटःविद्वान नायव महान्यायाधिवक्ता श्री राजनारायण पाठक, विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई

विपक्षी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  मु.ऐ.कुटपीटको महलको १, , , १८ र २५

 

आदेश

            न्या.बलराम के.सी.: पुनरावेदन अदालत राजविराजको मिति २०६३।६।२६ को निर्णय उपर दोहोर्‍याई हेरीपाउन दायर भएको निवेदनमा निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट एवं ठहर यसप्रकार छ :– 

            मिति २०६२।१।३ गते बिहान ९.०० वजेको समयमा जिल्ला सिरहा रामनगर मिर्चैया गा.वि.स. वार्ड नं. २ बस्ने बीपिन महरा समेतका ७ जना व्यक्तिहरूले जग्गाको विवादसम्बन्धी रिसइवी लिई मेरो भाउजू गनौरीदेवी साहलाई कुटपीट गरी अंगभंग बनाई दिएको हुँदा निज भाउजूको उपचार गराउँदा लागेको खर्च दिलाई भराई पाउनुका साथै निजहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको महेश साहले दिएको जाहेरी  दर्खास्त 

            मिति २०६२।१।३ गते जाहेरवालाको भाउजू गनौरीेवी साहलाई रगताम्मे अवस्थामा रिक्सामा हाली उपचारको लागि लाँदै गरेको देखेको हुँ । सो सम्बन्धमा बुझ्दा निजलाई बीपिन महरा समेतका जाहेरी दरखास्तमा उल्लिखित व्यक्तिहरूले कुटपीट घाइते पारी अंगभंग समेत वनाई दिएको ठीक हो र सो घटना जग्गा विवादका कारण भएको भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको रामसागर साहले गरी दिएको कागज 

            मिति २०६२।१।३ गते जाहेरीमा उल्लिखित समयमा जिल्ला सिरहा रामनगर मिर्चिया गा.वि.स. वार्ड नं. २ बस्ने बीपिन महरा समेत जाहेरीमा उल्लिखित व्यक्तिहरूले मेरो भाई जाहेरवाला तथा श्रीमती गनौरी देवी साहलाई पूर्व जग्गाको विवादको रिसइवीले गर्दा तत्काल कलको पानी समेतको रिसइवी बनाई मेरो श्रीमती गनौरीदेवी साहको शरीरको विभिन्न भागमा रड तथा लाठी समेतले हिर्काई सख्त घाइते बनाई दिएकोमा उपचारार्थ धरानस्थित धोपा क्याम्पमा लगी उपचार गराउँदा श्रीमती सोही कुटपीटको कारणबाट अंगभंग भएकी यसरी श्रीमतीलाई कुटपीट गरी अंगभंग बनाउने विपक्षीलाई पक्राउ गरी कारवाही भाउजू भन्ने समेत व्यहोराको हरीचन्द्र साहले लेखाई दिएको घटना विवरण कागज 

            जाहेरीमा उल्लिखित मिति र समयमा जाहेरवालाको भाउजू गनौरी देवी साहलाई बीपिन महरा तथा अन्य जाहेरीमा उल्लिखित व्यक्तिहरू समेत भई लाठी तथा रडले शरीरको विभिन्न भागमा हिर्काई कुटपीट गरी अंगभंग बनाई दिएको ठीक हो यसरी आइमाइलाई कुटपीट गर्ने ति व्यक्तिहरूलाई पक्राउ गरी कारवाही गरी पाऊँ भन्ने समेत व्यहोराको लक्ष्मण यादवले गरी दिएको कागज 

            मिति २०६२।१।३ गते विहान अं ९.०० वजेको समयमा जाहेरीमा उल्लिखित प्रतिवादीहरूले जाहेरवालाको भाउजू गनौरी देवी साहलाई लाठी रडले कुटपीट गरी खुट्टाको हड्डी भाँची अंगभंग बनाएको ठिक हो सो कुरा मेरो घर घटनास्थल नजिकै भएको हुँदा आफ्नो आँखाले देखेको हुँ भन्ने समेत व्यहोराको रामकिसुन यादवले गरी दिएको कागज 

            जाहेरीमा उल्लिखित मिति र समयमा मेरो वाथरुमको नाला जाँम भई पानी वग्ने नाला बाट केही पानी वाहिर वाटोमा वगेको देखी विपक्षी मध्येका बीपिन महरा आई पानीको विषयलाई लिएर विभिन्न गालीगलौज गर्न थालेपछि मेरो देवर जाहेरवाला महेश आई सम्झाउँदा समेत नमानी उल्टै देवरलाई समेत गालीगलौज तथा कुटपीट गर्नुका साथै निज बीपिन महरा र जाहेरीमा उल्लिखित करिया, सोनमा साफी, बिन्देश्वरी  साफी समेतका हुल आई मलाई रड तथा लाठीले कुटपीट गर्नुका साथै बिन्देश्वरीदेवी साफीले आफ्नो घरबाट सखुवाको ३ फीट लामो वटम लिएर आई प्रतिवादी बीपिन महरालाई दिएकाले सोही वटमले कसिएर मेरो वाँया खुट्टाको तिघ्रामा हिर्काउँदा मेरो खुट्टा भाँचिई म भुइमा लड्न गएको हुँ यसरी मलाई अनावश्यक रुपमा कुटपीट गरी अंगभंग बनाउने तथा सो कार्यमा संलग्न रहेका सम्पूर्ण व्यक्तिहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको पीडित गनौरी देवी साहले गरी दिएको कागज 

            जिल्ला सिरहा रामनगर मिर्चैया गा.वि.स. वार्ड नं. २ स्थित पूर्वमा बीपिन महराको घर पश्चिममा नारायण श्रेष्ठको खाली जग्गा उत्तरमा दुर्गिकलालको जग्गा दक्षिणमा सडक यति चार किल्लाभित्र रहेको जाहेरवाला महेश साहको घर अगाडि वरण्डामा मिति २०६२।१।३ गते विहान अं.९ वजेको समयमा प्रतिवादी बीपिन महरा समेतका जाहेरीमा उल्लिखित प्रतिवादीहरूले गनौरीदेवी साहलाई कुटपीट गरेको साँचो हो । यसरी गनौरीदेवी साहलाई कुटपीट गर्ने यी प्रतिवादीहरूलाई पक्राउ गरी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको घटनास्थल तथा वस्तुस्थिति मुचुल्का 

            उपचार तथा अन्य ८३,९४९।खर्च भएको भन्ने जाहेरवाला महेश साहको निवेदन र सो साथ संलग्न विलका फोटोकपी थान २ 

            अनुसन्धानको हकमा हाल सम्म संकलित कागज प्रमाणको आधारमा जग्गासम्बन्धी पूर्व रिसइवीका कारण २०६२।१।३ गतेका विहान अ. ९ वजेको समयमा जाहेरवालाको घरको पानीको निकास सम्बन्धमा विरुद्ध खण्डमा उल्लिखित बीपिन महरा समेतका प्रतिवादीहरूले जाहेरवाला तथा पीडित गनौरीदेवीसँग वादविवाद हातपात कुटपीट गरी विन्देश्वरी साफीले आफ्नो घरबाट ल्याएको घर प्लाष्टर गर्ने काठले प्रतिवादी बीपिन महराले निज गनौरी देवीको वायाँ खुट्टाको तिघ्रामा हानि सो तिघ्राको हड्डी भाँचि दिई अंगभंग गराई मुलुकी ऐन कुटपीटको महलको १ र २ नं. बमोजिमको कसूर अपराध गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरू बीपिन महरा, रामसखी देवी महरा, जीवन महरा, मरवैता महरा, सोनमा साफी, करिया साफी र विन्देश्वरी साफीलाई ऐ.कुटपीटको महलको ६ नं. बमोजिम सजाय गरी पीडित गनौरीदेवीलाई घा खर्च समेत दिलाई हुल गरी कुटपीट गरे तर्फ कुटपीटको ८ नं. बमोजिम थप सजाय समेत गरी प्रतिवादीहरू फरार रहेकाले निजहरूलाई सम्मानित अदालतबाटै समाह्वान जारी गरी पाउन समेतको मागदावी लिई सक्कल मिसिल यसै अभियोग पत्र साथ प्रस्तुत गरिएको व्यहोरा सादर अनुरोध छ भन्ने व्यहोराको मिति २०६२।३।३१ गतेको अभियोग पत्र 

            प्रतिवादीहरूले मिति २०६२।५।१४ गतेमा तालिम भएको म्याद गुजारी बसेका रहेछन् । जाहेरवाला महेश साह, पीडित गनौरी देवी साह तथा बुझिएका कुमार प्रसाद घिमिरे अनुरुद्र नायक, रामसागर साह, रामकिसुन यादव, निर्मल राय र हरिश्चन्द्र साहले गरेको वकपत्र मिसिल सामेल रहेको ।    

            कुटपीट गरी अंगभंग गरी दिएको भन्ने वादीको दावी नपुग्ने र कुटपीटका वारदात सम्म हुँदा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपीटतर्फ परिणत गरी सरोकारवाला पीडित पक्षलाई झिकाई सकार गरेमा वादी पक्ष कायम गरी प्रचलित कानूनबमोजिम कारवाही किनारा हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सिरहा जिल्ला अदालतको मिति २०६२।१२।९ को फैसला 

            मुलुकी ऐन कुटपीटको २ नं. बमोजिम पीडित पक्षको तिघ्राको हड्डी भाँचिएको हुँदा अंगभंगको अपराध कायम गरी अभियोग दावीबमोजिम सजाय हुनुपर्नेमा कुटपीटतर्फ परिणत गरेको शुरुको त्रुटिपूर्ण फैसला उल्टी गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।    

            पीडितको तिघ्राको अवस्था जाँच गर्न पठाउँदा हड्डी जोडिएको र आफ्नो उमेर अनुसारको काम गर्न योग्य देखिएको  र चोट लागेको खुट्टा पूर्णत् काम लाग्ने देखिएको भनी वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पत्र प्राप्त भै मिसिल संलग्न देखिएको । यस स्थितिमा प्रस्तुत वारदा कुटपीटको २ नं बमोजिम अंगभंग मान्न मिल्ने नहुँदा कुटपीटमा परिणत गर्नेगरी भएको सुरु फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६३।६।२६ को फैसला 

            पुनरावेदन अदालतको फैसलाले वारदात भएको कुरा स्वीकारे कै छ । भाँचिएको खुट्टा निको भई काम लाग्ने भन्ने प्रतिवेदनको आधारमा कुटपीट अङ्गभङ्गमा सफाइ दिई कुटपीटमा परिणत गरेको त्रुटिपूर्ण छ । अङ्गभङ्गमा खत निको भई काम लाग्ने भए पनि सजाय गर्नुपर्ने व्यवस्था कानूनमा छ । कुटपीटमा परिणत गर्नु भनेको कुटपीट भएकोमा सहमत हुने हो, पीडित गनौरी देवीको खुट्टा भाँचिएको अवस्था छ । जाँच केश फारमबाट हड्डी भाँचिइ अंगभंग भएको पुष्टि भै रहेको छ । जाहेरवाला लगायत मौकामा कागज गर्नेले कुटपीट गरेको कुरा किटानीसाथ लेखाएको अवस्था छ । कुटपीटको २ नं. ले खुट्टा तथा हातको हड्डी भाँचिएकोलाई कुटपीट मानेको अवस्था छ । जोडिए कामलाग्ने भयो भन्दैमा अंगभंगबाट सफाई दिई कुटपीटमा परिणत गर्ने गरी भएको फैसला कानूनतः त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्‍याई हेरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको नेपाल सरकारको २०६३।१०।२९ को निवेदन 

            यसमा पीडितको तिघ्रा भाँचिएको संम्बन्धमा मुलुकी ऐन, कुटपीटको महलको २ नं. अन्तर्गतको कसूरमा दावी परेको, पछि निको भै काम लाग्ने भएपनि कुटपीटको महलको ६ नं. अन्तर्गतको कसूर सजाय निर्धारित भै रहेको अवस्थामा छ । उक्त कार्य अंगभंग सम्बन्धी मुद्दा भित्र नपर्ने भन्न नमिल्ने हुँदा पुनरावेदन अदालतको इन्साफ कुटपीटको २ र ६ नं. को व्याख्यात्मक त्रुटि देखिएकोले मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६४।११।९ को आदेश 

            नियमबमोजिम पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल कागजातको अध्ययन गरी विद्धान नायव महान्यायाधिवक्ता श्री राजनारायण पाठक र उप न्यायाधिवक्ता श्री शंकरबहादुर राईले खुट्टा भाँचीई अंगभंग भई निको भएपनि अंगभंगमा सजाय गर्नुपर्नेमा कुटपीटमा परिणत गर्ने गरेको शुरु तथा पुनरावेदन अदालतका निर्णय त्रुटिपूर्ण हुँदा वदर गरी अभियोग दावीबमोजिम सँजाय हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनी इन्साफतर्फ विचार गर्दा कुटपीटमा परिणत गर्ने गरेको पुनरावेदन अदालतको मिति २०६३।६।२६ को निर्णय मिलेको छ छैन निर्णय दिनुपर्ने देखियो 

            २. यसमा बीपिन महरा समेतका ७ जना भै लाठी तथा रडले गनौरी देवीलाई हानि वाँया खुट्टा भाँचिदिई मुलुकी ऐन कुटपीटको महलको १ र २ नं. को कसूर अपराध गरेकाले ऐ को ६ नं. र १८ नं. बमोजिम सजाय गरी घा खर्च समेत दिलाई पाउँ भन्ने मूल अभियोग दावी भएकोमा प्रतिवादीहरू अनुसन्धानको क्रमदेखि नै फरार रही अदालतबाट जारी म्याद समेत गुजारी अनुपस्थित रहेको देखिन्छ भने यस अदालतको आदेश बमोजिम छलफलको निमित्त भिकाउँदा समेत उपस्थित भएको पाइएन । मिसिल संलग्न कागजातहरू हेर्दा जाहेरवाला महेश शाहले घटनाको विवरण सिलसिलेवार रुपमा उल्लेख गर्दै प्र. बीपिन समेत भै सखुवाको च्यानलले भाउजू पीडित गनौरी देवीलाई हिर्काई आफूलाई समेत लखेटेका, भाउजूको देब्रे खुट्टाको तिघ्राको दुबै हड्डी भाँचिएकाले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगी सघन अप्रेशन गरी स्टील समेत हाली उपचार गरेकोले बिपिन समेतका विपक्षीलाई कारवाही गरिपाऊँ भनी किटानी जाहेरी दिई सोलाई पुष्टि हुनेगरी अदालतमा समेत उपस्थित भै वकपत्र गरेको देखिन्छ । मिसिल संलग्न वि.पि. कोइराला इन्ष्टिीच्यूट हफ हेल्थ साइन्स धरानको Inquiry Repot बाट पीडित गनौरी देवीको वाँया खुट्टाको हड्डी भाँचिई अप्रेशन गरेको देखिन्छ । जाँचको प्रतिवेदनको व्यहोरा र जाहेरीको व्यहोरा एकआपसमा मिलेको पाइयो 

            ३. त्यसैगरी मौकामा कागज गर्ने हरिचन्द्र शाह, लक्ष्मण यादव, रामकिसुन यादव, पीडित गनौरीदेवीको कागजबाट पनि प्रतिवादीहरूको कुटपीटको कारणबाट गनौरीको खुट्टा भाँचिएको भनी लेखाएको देखिन्छ भने पीडित गनौरी, रामसागर, राम किसुन, हरिचन्द्र समेतले अदालत समक्ष उपस्थित भै प्रतिवादीहरूको कुटपीटबाट गनौरी देवीको देब्रे खुट्टा भाँचिएको भनी बकपत्र गरेबाट अभियोग पुष्टि भै रहेको देखिन्छ 

            ४. जहाँसम्म गनौरीदेवीको खुट्टा भाँचिएको कार्य मुलुकी ऐन कुटपीटको महलअन्तर्गत कुटपीटको अङ्गभङ्गको कसूर हो होइन भन्ने सन्दर्भमा  कानूनको विश्लेषणगर्दै विवेचना गर्नुपर्ने देखिन्छ । कुटपीटको २ नं हेर्दा मेरुदण्ड डडाल्नु, हात खुट्टा वा यीनैको जोर्नि भाँची फेरी फुकाली बेकम्मा पारेमा कुटपीटमा अङ्गभङ्गको खत ठहर्छ भन्ने कानूनी व्यवस्था पाइन्छ । प्रस्तुत मुद्दामा पीडित गनौरी देवीको देब्रे खुट्टाको हड्डी भाँचिइ स्टिल समेत प्रयोग गरी अप्रेशन गरेको कुरामा विवाद देखिदैन । अहिलेको युगमा विज्ञानमा भएको उन्नतिका आधारमा लगभग सबै खालका रोग तथा चोटमा उपचार संभव हुन सक्दछ । उपचारबाट निको हुनु दोस्रो कुरा हो , कानूनबमोजिम कुनै कार्यबाट कसूर हुनु अर्को कुरा हो । प्रस्तुत मुद्दामा कुटपीटको २ नं. अनुसार हात खुट्टा भाँचिनु नै अङ्गभङ्गको खतको लागि पर्याप्त हुन्छ । विधायिकाले भाँचिई बेकाम हुनु भनेको तत्कालीन अवस्थामा उपचार नगर्दा के कस्तो अवस्था हुन्छ भनेर हेर्ने हो । केही थप उपचार नगर्दा आफै निको हुने, नभाँचिएको नफोरिएको अवस्थामा मात्र सामान्य कुटपीट हुने हो । पीडितको घाउको अवस्था हेर्दा सामान्य कुटपीटको परिभाषाभित्र पर्ने खालको देखिँदैन । यस स्थितिमा प्रतिवादीहरूलाई अङ्गभङ्ग कसूरमा सजाय गर्नुपर्नेमा सामान्य कुटपीटमा परिणत गर्नेगरी भएको निर्णय कानूनसंगत देखिन आएन 

            ५. अव यी प्रतिवादीहरूलाई कुटपीट अङ्गभङ्ग खतमा के कस्तो सजाय गर्ने भन्ने सम्बन्धमा विचार गर्दा कुटपीटको ६ नं. आकर्षित हुने देखियो । यसमा अङ्गभङ्गको खतमध्ये अन्धो र नपुंसक यी दुई खतमा जुनसुकै एक खत गरे पनि सो गर्नेलाई १० हजार रुपैया जरीवाना गरी ८ वर्ष कैद गर्नुपर्दछ भन्ने छ । सो दुई खत बाहेक अङ्गभङ्गको अरु खतमध्ये जुनसुकै  एक खत गरेपनि सो गर्नेलाई ५ हजार जरीवाना गरी ८ वर्ष कैद गर्नुपर्दछ भन्ने छ । एउटै किसिमको काम लिने एउटा भन्दा वढि अङ्ग हुनेमा सो मध्ये एउटा अङ्ग मात्र वेकम्मा पारी दिएको भए माथि लेखिएको सजायको आधा सजाय गर्नुपर्दछ भन्ने छ । सो खत निको भई काम लाग्ने भएमा भने २ वर्ष मात्र कैद गर्नुपर्दछ भन्ने कानूनी व्यवस्था पाइन्छ । प्रस्तुत मुद्दामा एउटै काम गर्ने २ खुट्टा मध्ये एक खुट्टा भाँचिएको र मिसिल संलग्न B.P. Koirala Institute of Health Science धरानको मिति २०६२।११।९ को पत्रको आधारमा पीडितको खुट्टाको हड्डी जोडिइ उमेर अनुसारको काम गर्न सक्ने भन्ने देखिएको अवस्थामा प्रतिवादीहरू सबैलाई जनही २ वर्ष कैद तथा जरीवाना समेत हुने स्थितिमा अङ्गभङ्ग खतमा सफाइ दिएको त्रुटिपूर्ण देखिन आयो 

            ६. के कति घा खर्च भराउने सम्बन्धमा कुटपीटको महलको नं २५ मा कुटाइ माग्नेलाई दिलाउने भराउने कुराको संबन्धमा यस महलको ३।६ नंबरमा लेखिएको कुरामा सोहि बमोजिम र अरुमा कुटपीट गर्नेबाट असूल भएको जरीवानाको यस महलको ७।८ नम्बरमा लेखिए बमोजिमको कुटपीटको हकमा आधा र अरुमा ३ खण्डको एक खण्ड कुटाइ माग्नेलाई घा खर्च बापत दिनुपर्छ भन्ने व्यवस्था भएको देखिन्छ । कुटपीटको महलका २५ नं. र अन्य नम्वर हेर्दा कुटपीटवाट भएको घाउ खत आदिको उपचार गर्दा भएको खर्च (घा खर्च) भराउने छुट्टै स्पष्ट व्यवस्था भएको देखिदैन । वर्तमान कानूनी व्यवस्था हेर्दा कुटपीटको अपराध ठहरी जरीवाना समेतको सजाय भएपछि जरीवानावाट असूल भएको रकम नै खण्डको हिसावले भराउने व्यवस्था भएको देखिन्छ । यसको उदाहरण उक्त २५ नं. नै एक हो । यस व्यवस्थाले कुटपीटवाट पीडित व्यक्तिलाई प्रभावकारी न्याय दिन सक्ने देखिँदैन 

            ७. प्रत्येक नागरिक स्वतन्त्र छन । प्रत्येक नागरिकको शरिर अनतिक्रम्य छ । राज्यले कानूनबमोजिम सजाय नै गर्नुपर्दा पनि कैद वा जरीवानासम्म मात्र गर्न सक्छ । सजाय स्वरुप कुटपीट वा यातना दिन सक्तैन । कुटपीट एक फौजदारी  अपराध हो । कुटपीटको परिभाषा कुटपीटको महल को १ नं. मा भएको छ । कुटपीट को अपराधमा कुटिने  व्यक्तिको शरिरमा यातना पीडा घाउ आदि भई क्षति पुग्दछ । कसैको अनतिक्रम्य शरिरमा कसैले कुटपीट गरी क्षती पुर्‍याउँछ भने त्यसरी क्षती पुर्‍याउने व्यक्तिलाई सजाय गर्नुका साथै कुटपीटको कारण कुटिने व्यक्तिको शरिरमा पुगेको क्षति बापत क्षतिपूर्ति compensation समेत पाउन पर्छ 

            ८. कुटपीटका कारण शरीरमा  पुगेको क्षति बापत कति पाउने भन्ने सम्बन्धमा हेर्दा नं. २५ मा कुटपीट ठहरेपछि  कुटपीट गर्नेलाई भएको जरीवानावाट उठेको रकम मध्ये केहि खण्ड नेपाल सरकारमा जाने र केहि खण्ड कुटपीटवाट पीडीत व्यक्तिले घा खर्च बापत बाँड्न पाउने व्यवस्था भएको देखिन्छ । कुटिनु पिटिनुले नागरिकको अनतिक्रम्य शरिरको अतिक्रमण हुनुका साथै स्वतत्रता समेत अपहरण गर्दछ । राज्य यस्तो अवस्था हेरर बस्न सक्तैन । नागरिकको  अनतिक्रम्य शरिरमा कुटपीट गरी कसैले चोट पुर्‍याउँदछ भने त्यस बापत जरीवानाको सजाय गरी राज्यले आम्दानी गर्ने भन्ने होइन कुटपीट गर्ने त्यस्तो व्यक्तिबाट पीडीतले क्षतिपूर्ति घा खर्च भराउने व्यवस्था समेत हुन पर्ने हो यस्तो कानून नहुनु दुर्भाग्य हो ।  पीडितले कुटपीटको कारण भएको उपचार गर्दा रु.८३,१४९। खर्च भएको भनी विल पेश भएको देखिन्छ । प्रतिवादी यस अदालतबाट  समेत दोषी ठहर भएकोमा विवाद भएन । अन्य मुद्दामा कसैले कसैको सम्पत्ति क्षति पुर्‍याएमा क्षतीपूर्ति At Cost भराइन्छ । क्षतिपूर्ति At Cost भराउने मान्य प्रचलन नै हो । क्षतिपूर्ति भराउने कार्य सजाय होइन । जरीवाना गर्ने कार्य सजाय हो । तर क्षतिपूर्ति भराउने कार्य सजाय नभई यो कार्य civil liability अन्तर्गत पर्ने कार्य हो । त्यसैले प्रतिवादी दोषी ठहर भएपछि क्षतिपूर्ति भराउने सम्बन्धमा न्यायको रोहमा यस अदालतले पनि विगो रकम यकीन गर्न सक्छ । पीडितले उपचार गर्दा फलफूल र खाना खर्च समेत रु.८,३१४९। खर्च गरेको भनी विल भरपाइ समेत पेश गरेमध्ये औषधि उपचारबापत र कुरुवा खर्चबापत गरी जम्मा  रु.६१,०४०। खर्च गरेको प्रमाणित भएको समेत देखिदा उक्त रकम बत ऋयकत घा खर्च बापत भराई दिने ठहर्छ 

            ९. तसर्थ माथि विभिन्न प्रकरणमा उल्लिखित आधारमा प्रतिवादीहरू बीपिन महरा, रामशखीदेवी महरा, जीवन महरा, मरवैता महरा, सोनमा साफि, करीया साफी र विन्देश्वरी साफीले मुलुकी ऐन कुटपीटको महलअन्तर्गत १ र २ नं. अन्तर्गतको कसूर गरेको प्रमाणित भएकोमा कुटपीट अङ्गभङ्गमा सजाय नगरी कुटपीटमा परिणत गर्नेगरी भएको शुरु सिराहा जिल्ला अदालतको फैसलालाई सदर गर्ने ठहराएको पुनरावेदन अदालत राजविराजको मिति २०६३।६।२६ को फैसला त्रुटिपूर्ण देखिँदा उल्टी हुन्छ । उल्लिखित सातै जना प्रतिवादीहरूलाई मुलुकी ऐन कुटपीटको महलको ६ नं. को कसूरमा जनही २ वर्ष कैद र रु.२५००।जरीवाना तथा ऐ. १८ नं. ले जनही रु. ३००। रुपैया थप जरीवाना हुन्छ र उपचार गर्दा लागेको घा खर्चबापत रु.६१,०४०।प्रतिवादीहरूबाट दामासाहीले भराई पाउने ठहर्छ । सो ठहर्नाले अरु तपसीलबमोजिम गर्नू 

तपसील

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम देहाय बमोजिम प्रतिवादीहरूलाई कुटपीट १ र २ नं. को कसूरमा ऐ ६ र १८ नं. बमोजिम देहाय बमोजिम सजाय भएकोले लगत कसी असूल गर्नु भनी शुरु सिराहा जिल्ला अदालतमा लगत दिनू .........                                                            

§  प्रतिवादी जिल्ला सिरहा, रामनगर मिर्चिया गा.वि.स. वडा नं. २ बस्ने बीपिन महरा २ वर्ष कैद र जरीवाना रु. २८००। .......                                                 १

§  ऐ.ऐ. बस्ने रामशखीदेवी महरा २ वर्ष कैद र जरीवाना रु.२८००। ......................  

§  ऐ.ऐ. बस्ने जीवन महरा २ वर्ष कैद र जरीवाना रु. २८००।  ......................    

§  ऐ.ऐ. बस्ने मरवैता महरा २ वर्ष कैद र जरीवाना रु. २८००।  ......................    

§  ऐ.ऐ. बस्ने सोनमा साफी२ वर्ष कैद र जरीवाना रु. २८००।  ......................      १ 

§  ऐ.ऐ. बस्ने करिया साफी.२ वर्ष कैद र जरीवाना रु. २८००।  ......................     

§  ऐ.ऐ. बस्ने बिन्देश्वरी साफी..२ वर्ष कैद र जरीवाना रु. २८००।  .....................   

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पीडित गनौरी देवी साहले देहायबमोजिम प्रतिवादीहरूबाट देहाय बमोजिम घा खर्च भरी पाउने ठहरेकाले मुलुकी ऐन दण्ड सजायको महलको ४२ नं. का म्याद ३ वर्ष भित्र प्रतिवादीहरूको चलअचल सम्पत्ति देखाई भराइ माग्न आए कानूनबमोजिम भराइदिनु भनी शुरु सिराहा जिल्ला अदालतमा लेखी पठाइदिनू .                                                    

प्रतिवादी जिल्ला सिरहा, रामनगर मिर्चिया गा.वि.स. वडा नं. २ बस्ने बीपिन महरा रु.८७२०।–      ..     

ऐ.ऐ. बस्ने रामशखीदेवी महरा रु. ८७२०।– .......                                    

ऐ.ऐ. बस्ने जीवन महरा रु. ८७२०।– ..........                                         

ऐ.ऐ. बस्ने मरवैता महरा रु. ८७२०।– ........                                                                                

ऐ.ऐ. बस्ने सोनमा साफी रु. ८७२०।– ........                                                                                  

ऐ.ऐ. बस्ने करिया साफी रु. ८७२०।– ..........                                          

ऐ.ऐ. बस्ने बिन्देश्वरी साफी रु. ८७२०।– .......                                        

जम्मा ६१०४०। (एकसठ्ठी हजार चालिस मात्र)

सरोकारवालालाई नक्कल माग्न आए नियमानुसार नक्कल उपलब्ध गराई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनु 

 

उक्त रायमा सहमत छु 

 

न्या.भरतराज उप्रेती

 

इति संवत् २०६६ साल चैत ९ गते रोज २ शुभम् ......

इजलास अधिकृत :विष्णुप्रसाद उपाध्याय

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु