निर्णय नं. ६३०६ - कर्तव्य ज्यान

निर्णय नं.- ६३०६ ने.का.प.०५४ अङ्क १
पूर्ण इजलास
सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा
सम्वत् २०५२ सालको फौ.पु.ई.नं. २८
फैसला मिति :- २०५३।१०।३।५
मुद्दाः- कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादीः- तनहुँ जिल्ला दूलेगौडा गा.पं. वडा नं. ८ वस्ने विश्वकला तिमिल्सिना ।
विरुद्ध
विपक्षी
वादीः- श्री ५ को सरकार ।
§ वादी दावी प्रमाणित गर्ने दायित्व वादी पक्षको हुन्छ । वादी तर्फबाट आफ्नो दावी अनुसारको वारदात भएको भन्ने तथ्य स्थापित हुन नसकेको मात्र नभई मुलुकी ऐन ज्यान सम्वन्धी महलमा रहेको व्यवस्थातर्फ ध्यान पुग्न सकेको पाइदैन । अनुसन्धान तहकिकात गरी सही तथ्य प्रमाणित गराउनु पर्ने दायित्व बोकेको वादी श्री ५ को सरकार तर्फबाट पर्न आएको प्रहरी प्रतिवेदन अवस्था र स्थिति अनुसार मिलेको भन्ने स्थिति छैन । प्रतिवादी मध्यकी सासु नाताकी ऋषुमाया तिमिल्सिना विरुद्ध अभियोग दावी लिई आएको भए पनि सफाई दिए उपर पुनरावेदन गर्न नसकी वादी पक्षबाट ऋषुमायाले पाएको सफाईलाई सकारी बसेको स्थिति पनि देखिन्छ । सफाई पाएकी ऋषुमायाको यस वारदातमा सम्लग्नता रहेछ भन्न सकिने अवस्था अब देखा परिरहेको छैन । अतः अपुरो र कमजोर अनुसन्धान तहकिकात एवं आफूले लिएको दावी समर्थित गराउन नसकेको वादीको भनाई सत्य रहेछ भनी अनुमान गर्न नमिल्ने ।
(प्र.नं. ३२)
§ शंकाको सुविधा अभियुक्तले पाउने र वादी दावी नै नभएको कुरामा अदालत आफैले अनुमान गरी निष्कर्षमा पुग्न प्रचलित कानून एवं यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतबाट मिल्ने नदेखिने ।
(प्र.नं. ३२)
प्रहरी प्रतिवेदन माग दावी अनुसार ज्यान सम्वन्धी महलको १४ नं. को कसुर वारदात नै स्थापित हुन नसकेको स्थितिमा पुनरावेदन नै नगरी वस्ने चिरन्जीवी पौडेलको हकमा समेत अ.वं. २०५ नं. वमोजिम विचार गर्नु पर्ने हुन आएबाट त्यसतर्फ विचार गर्दा ज्यान सम्वन्धीको १४ नं. को कसुर वारदात नै स्थापित हुन नसकेकाले प्रतिवादी चिरन्जीवी पौडेलले अभियोग दावी वमोजिम कसुर गरेको भन्न नमिल्ने ।
(प्र.नं. ३२)
पुनरावेदिका तर्फवाटः-
विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ ।
विद्वान अधिवक्ता श्री देवेन्द्र प्रधान ।
विपक्षी तर्फवाटः-
विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देवशरण प्रसाद ।
अवलम्बित नजीरः- x
फैसला
न्या.केदारनाथ आचार्यः सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरुका बीच रायवाझी भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को खण्ड (क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. तनहुँ खैरेनी गा.पं. वडा नं. ८ वस्ने शिवराज पौडेलको श्रीमती सरस्वती पौडैललाई निजको सासु र आमाजु विश्वकला तिमिल्सिना समेतले कुटपिट समेत गरी झगडा गरेको थिएं । सोही पिटाईको चोटबाट सरस्वतीको मृत्यु भएको हो भन्ने वुझिएकाले लास कुरुवा राखी आवश्यक कारवाही हुन जाहेर गरेको छु भन्ने समेत प्रहरी चौकी वेलचौतारा तनहुको पत्र ।
३. खद्धरको पछ्यौराले छोपिएको लासको नाक मुखबाट रगत निस्की सुकेको, हडेलोपानी निस्केको दूवै आंखा वन्द, मुख केही खुला शरीरको ठाउँ ठाउँमा छाला खुइलिएको घाउ देखिएको, घांटीमा डोरीको डाम देखिएको गूद्धारबाट मल निस्केको योनीबाट केही नआएको, मृतकको उचाई ५ फिट २ इन्च भएको भन्ने समेत लास प्रकृति मुचुल्का ।
४. २०४२।१।११ गते राती अं. ६ वजे चिरन्जीवी उपाध्याय पौडेल १ निजकै सगोलको श्रीमती ऋषुमाया १, तनहुँ दूलेगौडा वस्ने विश्वकला तिमिल्सिना १ समेत भई छोरा वुहारी सरस्वतीसँग विवाद भई केहि घण्टा पछि सरस्वती घरको धुरीमा झूण्डिई भनी गूहार भएपछि उपचार गर्न लैजान खैरनीमा पुर्याउँदा निजको मृत्यु भएकोले उल्लेखित ३ जना मिली सरस्वतीको कर्तव्य गरी मृत्यु भएकोले निजहरुलाई मु. ऐन ज्यान सम्वन्धी महलको १३ नं. अनुसार सजाय गरी पाउँ भन्ने समेत गगन सिंह कुमालको जाहेरी दरखास्त ।
५. मृतकका सासु ससुरा तथा अमाजु बीच झगडा भई निज मृतकलाई खान लाउन समेत नदिने र वारम्वार झगडा भई कुटपिट गर्ने गरेको वुझिएबाट २०४२।१।११ गते उल्लेखित व्यक्तिहरुको कर्तव्यबाट निज सरस्वती पौडेलको मृत्यु भएको भन्ने वुझिएबाट निजहरुलाई पक्राउ गरी कार्यवाहीको लागि दाखिल गरेको छु भन्ने समेत प्र.ह. कृष्णराम उपाध्यायको प्रतिवेदन ।
६. जाहेरीमा लेखिएका मितिमा सेती गंगामा नुहाउने हिडी स्नान गरी छोरी विश्वकला विरामी छन भन्ने सुनेकीले भेट भई घरायसी कुरा गरी विश्वकला र म घर जान भनी आउँदा मेरो माइतीघर खैरेनीटार गा.पं. वडा नं. ९ खैरेनी वजार गूरुदत्त भट्टराईको घरमा गए, छोरी विश्वकला खैरेनीबाट औषधी लिन र वुवालाई भेट गरी आउँछु भनी मेरो घर निजको माइत लागिन । छोरी घरमा गई के के भयो म माइत वसेको हुँदा भन्न सक्दिन । औषधी पसल कुर्न भनी माइतबाट भदालाई लिई आंउँदा घरबाट छोरी विमला आएकीले भेट भयो र निजले वुवा दिदी र भाउजु ३ जनाको झगडा मारपिट गरेको कुरा वताई वुहारी अचेत अवस्थामा सुताई राखेका रहेछन् । मृत्यु भै सेकेको थिएन । अस्पताल लान भनी खैरेनी तर्फ ल्याउँदा सरस्वतीको मृत्यु भयो । छोरी विश्वकला र श्रीमान चिरन्जीवी समेत सँगको झगडा मारपिट भएको कारणबाट निजको मृत्यु भएको हुन सक्दछ भन्ने समेत व्यहोराको अभियुक्त ऋषुमाया पौडेलको प्रहरीमा भएको कागज ।
७. मिति २०४२।१।११ गते अक्षतृतिया नुहाउन आमा सेती गंगामा गै मेरो घरमा आउनु भएकोले र आमा मामाघर गई गाईको घिउ र मह फूकी खानलाई मह चाहिएकोले माइती घर आएकी भनी वुवासँग भन्दा त्यत्तिकैमा वुहारी सरस्वतीले मेरो सौता राडी आई भनी र भनाभन लुछालुछ भई हात हालाहाल भयो । वुवा र वैनीले छुट्याई सकेपछि वुहारी भित्र पसी र ढ्याङ ढूडूङ गर्न थालिन । म प्रहरी वोलाउन गए मृतक वुहारीले खान लाउन पाइन भनी आमा वुवा र म समेतसँग झगडा गर्दथिन । २०४२।१।११ गतेको झगडा रिसको कारणबाट वा के भएर हो घरको तलामा धुरीको डांडामा पासो लगाई झूण्डी रहेको अवस्थामा जिउँदै देखेकोले डोरी खोली पिडीमा सुताएको भन्ने थाहा पाएकी हुँ भन्ने समेत व्यहोराको अभियुक्त प्रतिवादी विश्वकला तिमिल्सीनाले प्रहरीमा गरेको कागज ।
८. वारदातको दिन विहान खाना खाई ८ वजे तिर खैरेनीटारको दोकानमा गएं । ५ वजे दोकान वन्द गरि घर गए, श्रीमती अक्षतृतिया नुहाउन सेती गंगामा गएकी वुहारी भान्सामा पकाउने सामान तयार गरी चुल्होमा आगो समेत वाली दिइन म भात पकाउन सोही अवस्था छोरी विश्वकला तिमिल्सीना मह लिन आएकी हुँ मह चाहियो भनेपछि वुहारीले मह किन चाहियो भनेपछि छोरी र वुहारी भनाभन गर्न थाले नकराउ भनी संझाउदै थिए। वुहारीले एक्कासी छोरी विश्वकलाको चुल्टोमा समाई अंगाली हाली दूवै जना चुल्टो समाई तानातान गरी झगडा गरी सकेको देखि छुट्याई दिएपछि छोरी प्रहरी लिई आउँछु भनी विमला समेतलाई लिई खैरेनीटार तिर लागिन वुहारीले खान लाउन दिएनन भनी वारम्वार झगडा गर्ने गर्दथिन, दूःख गर्नु पर्यो आफै पासो लगाई मर्छु भन्थीन सो दिन झगडा भएको कारणबाट रिसले आवेशमा आई आफै झुण्डी मरेको हो वा सन्नी कुठाउँमा चोट लागेको कारणबाट मृत्यु भएको हो भन्ने समेत अभियुक्त प्रतिवादी चिरन्जीवी पौडेलको प्रहरीमा गरेको कागज ।
९. मृत्युको कारण घांटीमा डोरी कसीएको, मृत शरीरको प्रकृति हेर्दा आत्महत्याको नियतले देखिदैन भन्ने वन्दीपुर अस्पताल तनहुको पोष्टमार्टम रिर्पोट ।
१०. २०४२।१।११ गते सरस्वती र विश्वकला झगडा लडालड गरेको अवस्था छुट्याएको मैले देखिन । चिरन्जीवी र विश्वकला तिमिल्सिना २ जनाले नै कुटपिट गरी अधकल्चो पारेको कारण सरस्वतीको मृत्यु भएको हो । खाना लाउने सम्वन्धमा वरावर झगडा भइरहन्थ्यो ऋषुमाया वारदातको दिन घरमा थिइन भन्ने सुनेकी थिए भन्ने समेत नर्वदा पौडेलले प्रहरीमा गरेको कागज ।
११. वारदातको दिन चिरन्जीवी पौडेलको घरमा झगडा भएको हल्ला सुनेकी हुँ प्रतिवादी चिरन्जीवी ऋषुमाया र विश्वकला ३ जना भई मिलोमतो गरी कर्तव्य गरी मारेका हुन कसरी मारेका हुन मौकामा देखिन भन्ने समेत कौशला विश्व कर्माको प्रहरीमा भएको कागज ।
१२. ससुरा चिरन्जीवी सासु ऋषुमाया र अमाजु विश्वकलाको कुटाईको वेदनाबाट मृतक सरस्वतीको मृत्यु भएकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको लेखाई भएको सर्जमिन मुचुल्का।
१३. जाहेरी दरखास्त अभियुक्तको कागज, घटनास्थलको विवरण सर्जमिन मुचुल्का तथा पोष्ट मार्टम रिर्पोट समेतका कागजाहरुबाट मृतक सरस्वतीलाई जाहेरीमा उल्लेखित मितिमा ससुरा चिरन्जीवी पौडेल सासु ऋषुमाया पौडेल तथा अमाजु विश्वकला तिमिल्सीना समेतको वीच भनाभन लडभिड हुँदा झगडा भई तत्काल उठेको रिस थाम्न नसकी तीनै जनाले वुहारी सरस्वतीलाई लात, हात मुक्काले कुटपिट गर्दा सोही वेदनाबाट निजको मृत्यु हुन गएको कुरा सिद्ध हुन आएकोले निज जना ३ ले मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. प्रतिकूलको कसुर गरेको देखिएकाले सोही ऐनको १४ नं. वमोजिम निज जना ३ लाई सजाय हुन माग दावी लिएइको प्रहरी प्रतिवेदन ।
१४. २०४२।१।११ गते विहानको खाना खाई खैरेनीमा औषधी दोकानमा आई दिनभरी वसी अं. ५.३० वजे घरमा पुगे, वुहारीलाई भान्साको धन्दा गर भनी भनेपछि वुहारीले भान्सामा ठीक पारी आगो सल्काई दिएकोले मैले खाना वनाई पाकी तयार भई सकेपछि छोरी विश्वकला घरमा आई मह चाहिएको छ मह छ कि भनेकिले आमा घरमा छैन मलाई थाहा छैन भनी मैले भनेपछि वुहारी सरस्वतिले छोरी विश्वकलालाई मेरो घरको मह चाहिदो रहेछ किन आईस भनी भनाभन गरेकीले र सामान समेत फ्याक्दै गरेकीले गूहार सहायता देउ भनी कराउँदा नर्मदा पौडेल समेत तीन जना घरमा पुग्दा घरको ढोका वन्द गरी दलीनमा नाम्लाको पासो लगाई धुरीको डांडामा झूण्डीएकी वांच्न सक्छिन कि भनी अस्पताल लान भनी आउँदा खैरेनीटारमा निज मरी सकेकी फर्क भनेको सुनी फर्केको हो । हामीले कुटपिट गरी मारे मराएको होइन । निज वुहारी झगडालु स्वभावको र झगडा गर्ने गर्थिन । आफै झुण्डीई मृत्यु भएको हो भन्ने समेत प्रतिवादी चिरन्जीवी पौडेलको अदालतमा भएको वयान ।
१५. २०४२।१।११ गते अं. दिनको ३ वजे औषधीका लागि गाईको घिउ मावली घर खैरेनीटारबाट लिई माइती घर मह लिनको लागि गएकी थिएं, वुवाले मलाई थाहा छेन भन्नु भयो त्यत्तिकैमा वुहारीले सौता रांडी मेरो सम्पत्ति मह किन चाहियो भनी जथाभावी कराई राखेकीले प्रहरी लिन वैनीहरु समेत लिई हिडी प्रहरी साथ लिई प्र.पं. समेत गाउँलेहरु समेत वुवाको घरमा पुग्दा वुहारी सरस्वतीलाई पिडीमा सुताई राखेका रहेछन् । अस्पताल लान पर्यो भनी खैरेनीटार आई पुग्दा वुहारीको मृत्यु भएको हो । मैले कुटपिट गरेको होइन भन्ने समेत प्रतिवादी विश्वकला तिमिल्सीनाले अदालतमा गरेको वयान ।
१६. २०४२।१।११ गते सेती नदिमा नुहाउन गएकी नुहाई फर्कदा वाटोमा मेरो माइती भएकोले माइती घरमा पसी सो दिन र रातभर वसें, अं. रातको ११ वजेको समय हुँदो हो वुहारीलाई लोग्ने प्रधान पन्च, उप प्रधान पंच र प्रहरी समेतले खैरेनी गेटमा ल्याएका छन भन्ने कुरा थाहा पाएकीले वुहारी भएको ठाउँमा हेर्न गएं अस्पताल लान ल्याएको भने किन भनी सोद्धा आफैले पासो लगाई मर्न खोजेकी भनी भन्थ्ये वुहारीको र मेरो कहिल्यै नराम्रो भएको छैन । ससुरा र छोराले कुटपिट गरे नगरेको समेत घरमा नहुँदा थाहा भएन, मैले कुटपिट गरेका होइन भन्ने समेत प्रतिवादी ऋषुमाया पौडेलले अदालतमा गरेको वयान ।
१७. जाहेरवाला र प्रतिवादीहरुका साक्षीहरुको वकपत्र भई मिसिल सामेल रहेको ।
१८. दिदी विश्वकला गाईको घिउ लिन भनी आएको अवस्थामा भाउजु सरस्वतीले रण्डी फुडी भनी गाली गरेको थिइन भनाभन झगडा भएको हो भाउजु आफै झुण्डीएर मरेको हुन भन्ने समेत वुझिएका विमला पौडेलले गरेको वकपत्र ।
१९. प्रतिवादी विश्वकला हाम्रा घरमा औषधी र पैसाको आवश्यक परी आएको समयमा हाम्रो सम्पत्ति लिन आएकी भनी भाउजुले दिदीको कपाल लुछेकी हुन दिदी म र वहिनी विमला समेत प्रहरी लिन गएको फर्कि आउँदा भाउजुलाई पिडीमा सुताई राखेका सोद्धा आफै तलामा झूण्डीएकी भनेका हुँदा सोही कारणबाट भाउजुको मृत्यु भएको हो भन्ने समेत वुझिएको मेनका पौडेलले गरेको वकपत्र ।
२०. सरस्वती झूण्डिएको मैले देखिन, प्रतिवादीहरुको कुटाईका पिरले सरस्वती मरिन होला जस्तो लाग्छ, विश्वकला र सरस्वती कल झगडा गरेका थिए भन्ने कुरा सुनेको हुँ भन्ने समेत वुझिएको यम नारायण तिमिल्सीनाले गरेको वकपत्र ।
२१. २०४२।१।११ मा अं. ५ वजे देखि मृतक, प्र. विश्वकला र प्र. चिरन्जीवी बीच झगडा हुँदै गई मृतक सरस्वती पौडेललाई प्र. चिरन्जीवी र प्र. विश्वकला तिमिल्सीनाले कुटीपट गरी घांटीमा डोरीले समेत कसी सोही डोरीको कसाईबाट मृतकको सास रोकिन गई सोही वेदनाबाट मृतक सरस्वती पौडेलको मृत्यु भएको ठहर्छ । प्र. विश्वकला तिमिल्सीना र प्र. चिरन्जीवी पौडेलको ज्यान मार्ने नै मनसाय थियो भन्ने नदेखिदा ज्यान सम्वन्धीको १४ नं. अनुसार जनही १० वर्ष कैद हुने ठहर्छ । अर्को प्रतिवादी ऋषुमाया पौडेल वारदातको समयमा सो स्थानमा अनुपस्थित भएका प्रमाणित हुन आउँदा अनुपस्थित व्यक्ति सो वारदातमा सामेल रहेको भन्न नमिल्ने हुँदा प्र. ऋषुमाया माथिको वादी दावी पुग्न नसकी रिहाई पाउने ठहर्छ भन्ने समेत शुरु तनहुँ जिल्ला अदालतको मिति २०४४।२।१८ को फैसला ।
२२. लास प्रकृति मुचुल्का तथा पोष्टमार्टम रिपोर्ट समेतबाट झूण्डिई आफै आत्महत्या गरी मरेको भन्ने कुरा सिद्ध भएकोमा कुटपिट समेत गरी घांटी कसी मारेका भनी तथ्य पूर्ण आधार विना नै काल्पनिक तर्क लगाई १०।१० वर्षको सजाय गर्ने गरेको निर्णय अन्याय पूर्ण हुँदा उक्त इन्साफ उल्टाई कसुरबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी विश्वकला तिमिल्सीनाको गण्डकी अंचल अदालतमा परेको पुनरावेदनपत्र ।
२३. अदालतमा आई वकपत्र गर्ने कालीमाया विश्वकर्मा जाहेरवाला गगन सिंह कुमाल, यमनाथ तिमिल्सीना समेतले ऋषुमाया पौडेल समेतबाट घटना घटेको हो भनी किटानी वकपत्र गरेको छन् प्र. ऋषुमाया वारदात समयमा आफू वारदात स्थलमा नभएको भन्ने कुराको केही सवुद दिन नसकेको अवस्थामा वारदातस्थलमा उपस्थित नरहेको भनी सफाई दिएको मिल्दो भएन, अतः उक्त त्रुटीपूर्ण फैसला वदर गरी प्रहरी प्रतिवेदन माग दावी वमोजिम प्र. ऋषुमाया पौडेललाई सजाय गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट गण्डकी अंचल अदालतमा परेको पुनरावेदनपत्र ।
२४. शुरु जिल्ला अदालतबाट प्र. ऋषुमाया पौडेललाई सफाई दिने र प्र. विश्वकला तिमिल्सीनालाई कसुरदार ठहर्याई ज्यान सम्वन्धीको १४ नं. वमोजिम १० वर्ष कैद गर्ने गरी गरेको इन्साफ मिलेकै देखिदा शुरु जिल्ला अदालतको इन्साफ मुनासिव ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकार तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत गण्डकी अंचल अदालतको मिति २०४५।११।१६।२ को फैसला ।
२५. गण्डकी अंचल अदालतको फैसला उपर श्री ५ को सरकार र प्रतिवादी विश्वकला तिमिल्सिना समेतको तत्कालिन पश्चिमान्चल क्षेत्रीय अदालतमा परेको दोहोरो पुनरावेदन ।
२६. गण्डकी अंचल अदालतको फैसला मनासिव ठहर्छ भन्ने तत्कालिन पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।
२७. क्षेत्रीय अदालत पोखराको फैसला दोहोर्याई इन्साफ पाउँ भनी श्री ५ महाराजाधिराज सरकारमा प्रतिवादी विश्वकलाको विन्तिपत्र परी वक्स भै आएका हु.प्र. वमोजिम यस अदालतबाट दोहोर्याउने निस्सा प्रदान ।
२८. प्रतिवादी विश्वकलाको कस्तो कृयाबाट मृतक सरस्वतीको मृत्यु हुन गएको हो सो कुरा स्पष्ट रुपमा खुल्न नआएको शव परीक्षण प्रतिवेदनबाट कुटपिटको कारण मृत्यु भएको हो भन्ने देखिदैन । डोरीले मृतकको घांटी कसी मारेको हो भन्ने अभियोग दावी नभएपछि अदालतले अनुमानको आधारमा डोरी कसी मारेको भनी निष्कर्षमा पुग्न कानूनले मिल्ने होइन अत प्रतिवादी विश्वकलाई ज्यान सम्वन्धी महलको १४ नं. वमोजिम १० वर्ष कैद हुने ठहराएको शुरु तनहुँ जिल्ला अदालत, गण्डकी अंचल अदालत र पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुन्छ प्र. विश्वकलाले सफाई पाउने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय र कर्तव्यबाट मृत्यु भएको भन्ने थप परीक्षण प्रतिवेदन व्यहोराबाट देखिन आउने र सोही शव परीक्षण प्रतिवेदककै आधार लिई प्रहरी प्रतिवेदनबाट कारवाही सजायको माग गरेको देखिनाले निज विश्वकला सँग मर्ने सरस्वतीको कुटपिट झगडा हुँदाकै अवस्था डोरीले घांटी कस्ने कार्य समेत भै सरस्वती कर्तव्यबाट मरेको हुन भन्ने प्रमाणित हुन आएकोले ज्यान सम्वन्धी महलको १४ नं. को माग दावी हुँदा प्रहरी प्रतिवेदन माग दावी अनुसार ज्यान सम्वन्धी महलको १४ नंं वमोजिम सजाय हुने ठहर्याएको शुरु सदर गरेको गण्डकी अंचल अदालतको इन्साफ मुनासिव ठहराएको म.क्षे.अ. को इन्साफ मनासिव ठहर्छ भन्ने माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको छुट्टै राय भएको मिति २०५१।४।२४ को रायवाझी फैसला ।
२९. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदिका विश्वकलाका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री देवेन्द्र प्रधानले प्रतिवादी विश्वकलाले मृतकलाई कुटेको प्रमाण छैन । चश्मदिद भनिएका अम्विका देवी र कालिमाया विश्वकर्माको भनाई एक आपसमा मिल्दैन । प्रतिवादीहरुले कुटपिट गरी मारेका भन्ने वादी दावी भएकोमा अदालतले आफै दावी परिवर्तन गरी घांटीमा डोरी कसी मारेको भन्न मिल्दैन । मृतकको शरीरको वाहिरी भागमा घाउ खत देखिदैन । लास जांच प्रतिवेदनबाट पनि कुटपिट गरी मारेको अवस्था देखिन नआउने तथा शंकाको सुविधा अभियुक्तले पाउने हुँदा प्रतिवादी विश्वकलाले सफाई पाउने ठहराएको माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय सदर होस भनी वहस जिकिर प्रस्तुत गर्नु भयो । त्यस्तै प्रत्यर्थी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देवशरण प्रसादले लाश प्रकृति मुचुल्का र पोष्टमार्टम मिलेकै छ । घटना देख्ने चश्मदिद अम्विका देवी र कालीमाया भएको यिनीहरुको वयान तथ्य कुरामा फरक छैन । मृतक सँग प्रतिवादीहरुको लुछालुछ मात्र भएको होइन कुटपिट समेत भएको हो । लाश प्रकृति मुचुल्का समेतबाट कुटपिट गरी मृत्यु भएको देखिन आउने हुँदा प्रतिवादीलाई ज्यान सम्वन्धी महलको १४ नं. अनुसार सजाय गरेको फैसला सदर हुने ठहराएको माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय सदर होस भनी गर्नु भएको वहस जिकिर समेत सुनियो ।
३०. आज निर्णय सुनाउन भनी पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गर्दा मृतक सरस्वती पौडेललाई प्र. चिरिन्जीवी पौडेल र प्र. विश्वकला तिमिल्सिनाले कुटपिट गरी घांटीमा डोरीले कसी मारेको भन्ने आधारमा निज प्रतिवादीहरुलाई ज्यान सम्वन्धी महलको १४ नं. वमोजिम १० वर्ष कैदको सजाय हुने ठहराई शुरु तनहुँ जिल्ला अदालतले फैसला गरे उपर प्रतिवादी चिरन्जीवी पौडेलले पुनरावेदन नै नगरी वसेको र प्रतिवादी विश्वकलाले गरेको पुनरावेदनमा गण्डकी अंचल अदालत तथा पश्चिमान्चल क्षेत्रीय अदालतबाट समेत शुरु जिल्ला अदालतकै फैसला सदर हुने ठहर भए उपर प्रतिवादी विश्वकला तिमिल्सीनाले इन्साफ जांच गरी पाउन दिएको विन्तीपत्रमा इन्साफ दोहोर्याउने निस्सा प्रदान भै मिति २०५१।४।२४ मा संयुक्त इजलास समक्ष पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरुका वीच रायवाझी भै प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखियो ।
३१. प्रतिवादी विश्वकला तिमिल्सीनाले इन्साफ जांच गरी दिन हु.प्र. वक्स पाउँ भनी श्री ५ मा चढाएको विन्तिपत्रमा मृतक सँग झगडा सम्म भएको हो तर मार्ने सम्मको चोट पुर्याएको वा डोरीले घांटीमा कसेको होइन । पोष्टमार्टम रिपोर्ट र लाश जांच प्रकृति मुचुल्काले मृतक सरस्वतीको मृत्यु कुटपिटबाट भएको होइन भन्ने प्रस्ट छ यस्तो अवस्थामा वादी दावी अनुसार मलाई ज्यान सम्वन्धीको १४ नं. अनुसार सजाय गरेको मिलेको छैन भन्ने नै मुल रुपमा जिकिर लिएको देखिन आयो ।
३२. पेश हुन आएको मिसिल हेर्दा चिरिन्जीवी पौडेल ऋषुमाया र विश्वकला समेत भै मृतक सरस्वतीलाई कर्तव्य गरी मारे मराएकोले ज्यान सम्वन्धी महलको १३ नं. अनुसार सजाय गरी पाउँ भनी गगन सिंह कुमालले मिति २०४२।१।१३ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरी दरखास्त वमोजिमको वादी दावी देखिदैन । मुलुकी ऐन ज्यान सम्वन्धी महलको १४ नं. अनुसार सजाय गरी पाउन प्रहरी प्रतिवेदनमा माग दावी लिएको स्थितिमा आवेश पे्ररित हत्याको दावी रहेको पाइन्छ । ज्यान सम्वन्धी महलको १४ नं. मा ज्यान मार्नाको मनसाय रहेनछ ज्यान लिनु पर्र्ने सम्मको इवि पनि रहेनछ, लुकी चोरीकन हानेका पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा विष ख्वाएकोमा वाहेक साधारण लाठा ढूंगा लात मुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्याद भित्र ज्यान मरेकोमा सजाय हुने व्यवस्था रहेको पाइन्छ । दर्ता हुन आएको प्रहरी प्रतिवेदनमा कस्तो दावी रहेछ भनी हेर्दा अभियुक्तहरुको अनुकूलको वुहारी विवाहा गरी नल्याई छोराले आफ्नो खुसीले मात्र निज सरस्वतीलाई स्वास्नी तूल्याई ल्याएको मुख्य कारण नै अभियुक्तहरुको आफ्नो अनुकूलको वुहारी भएन भन्ने विषयलाई लिएर नै पालन पोषण सहितको हेरचाह सासु ससुराबाट निज वुहारी प्रति नहुने र सोही हेलामा वस्नू परेको असहाय कारणाबट पनि निज वुहारी सरस्वतीले आफूले मान मर्यादा गर्नु पर्ने सासु ससुरा अमाजु समेतलाई नगर्ने यिनै सवै कारणबाट नै अभियुक्तहरु र निज सरस्वती वीच सदा नै जस्तो कल झगडा भै नै रहने देखिन आएको सो ११ गते वैशाखमा पनि अभियुक्तहरु र निज सरस्वती वीच भनाभन कल झगडा परी वुहारी जस्तो वाट पाउनु पर्ने मान मर्यादा नपाई आफूहरु उसै अवस्था उठेको रिसले अभियुक्तहरु तीनै जनाले निज वुहारी सरस्वतीलाई लात हात मुक्काले कुटपिट गर्दा नै सोही वेदनाले निज सरस्वतीको मृत्यु हुन गएको भन्ने कुरा सर्जमिनको वेहोरा र पोष्टमार्टम रिपोर्ट समेतबाट देखिन आएकोले अभियुक्त चिरन्जिवी पौडेल, ऋषुमाया पौडेल र विश्वकला तिमिल्सीना ३ ले मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. मा उल्लेखित अपराध गरेका देखिएकोले निज अभियुक्तहरु तीनै जनालाई सोही ऐनको दफा १४ वमोजिम सजाय गरी पाउँ भन्ने उल्लेख भइरहेको देखिंदा उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकेको भए पनि जोखिम हतियारको प्रयोग वा विष ख्वाउने जस्तो क्रिया गर्न नहुने साधारण लाठा ढुंगा लात मुक्का इत्यादिको प्रयोग भएको र सोही पीरबाट मरेको हुनु पर्नेमा सरस्वतीको घांटी गर्दनमा देखा परेको Ligature Mark तथा आफ्नो अनुकूलको वुहारी नभएको कारणमा सदा नै जस्तो कल झगडा भई रहने पृष्ठभुमि वोकेको तथा आत्महत्या हो कि भन्ने संकेत समेत देखाइएको प्रस्तुत मुद्दामा वादीको अनुसन्धान तहकिकातबाट निस्केको निष्कर्ष अनुरुप ज्यान सम्वन्धीको १४ नं. कतिसम्म आकृष्ट हुन सक्ने रहेछ भन्ने तर्फ नै के कस्तो आधार प्रमाण रहेछन मुल्यांकन गरिनु पर्ने हुन आएको छ । मृतक सरस्वतीलाई कुटपिट गरी मारेको होइन निज आफै पासो लगाई झुण्डिएको र पासो खोली वांच्छिन कि भनी अस्पताल लैजादा लैजादै वाटोमा मृत्यु भएको हो भन्ने प्रतिवादी विश्वकला समेतको जिकिर देखिन्छ । रातको ११ वजे तिर सरस्वतिलाई इलाज गर्न लगेको भन्ने तथ्य ऋषुमायाको मिति २०४२।१।१४ को कागज एवं मिति २०४२।२।९ को वयान व्यहोराबाट देखिन्छ । त्यसवेला सम्म वांचेकी सरस्वतीसँग मौकैमा आई पुगेको प्रहरीहरुबाट सोध्ने कागज गराउने प्रयत्न सम्म गरेको देखिदैन । सरस्वतिको घांटी गर्दनमा देखिएको स्थितितर्फ डोरीको डाम आत्महत्या हो वा कर्तव्य ज्यान हो भन्ने प्रश्न उठेतर्फ कुनै विवेचना अनुसन्धान हुन सकेको देखिदैन । प्रतिवादीहरुले मृतक सरस्वतीलाई कुटपिट गरी मारेको देख्ने चश्मदिद गवाह कोही देखिदैनन् । प्रस्तुत वारदातको प्रत्यक्षदर्शी भनिएको अम्विका न्यौपाने र कालिमाया विश्वकर्माको भनाई हेर्दा प्रतिवादी विश्वकलाले मृतक सरस्वतीको कपालको चुल्ठो समाई सासु ससुराले जिउमा समाई घरभित्र लगेको देखेको हुँ भन्ने अम्विका न्यौपानेको भनाई छ भने कालिमायाको भनाईमा तीनै जना प्रतिवादीहरुले मृतक सरस्वतीलाई आंगनमा पल्टाई मुनी पारी माथिबाट थिच्ने कुट्ने पिट्ने गरेको देखेको हुँ भन्ने भनाई भै समान वकाई देखिदैन । लाश जांच रिपोर्टबाट मृतकको शरीरमा चोट पटक लागेको भन्ने कुरा देखिदैन । लाश प्रकृति मुचुल्काबाट मृतकको शरीरका केही अंगमा साधारण चोटपटक सम्म लागेको पाइन्छ । लाश जांच रिपोर्टमा मृत्युको कारण "Post asphyxial Cardio respiratory failure हो Asphyxia हुनुको कारण घांटीमा डोरी कसिएको आत्महत्याको प्रयासबाट भएको होइन भन्ने Post Mortem Report को आधारमा प्रतिवादीहरुले मिली सरस्वतीलाई घांटी गर्दनमा पासो लगाई मारेको हो कि त भन्नलाई वादी पक्षवाट ज्यान सम्वन्धीको १३ नं. अन्तर्गतको दावी लिन नसकी ज्यान सम्वन्धीको १४ नं. अन्तर्गतको दावी भएबाट मनसाय तत्वको विद्यमानता रहेको भनी दावी नै परिवर्तन हुने गरी भन्न सकिने आधार प्रमाण पुगी रहेको देखिदैन । जहांसम्म पोष्टमार्टम रिपोर्टमा घांटीमा Circular Ligature Mark देखिएको भन्ने कुरा छ मृतक सरस्वतीलाई प्रतिवादीहरुले नै घांटीमा डोरी कसी मारेको भन्ने वादी दावी नै छैन भने अनुसन्धान तहकिकात लगायतका वयान, वकपत्र समेतका कागजातहरुबाट प्रतिवादीहरुले सरस्वतीलाई घांटीमा डोरी कसी मारेको भन्ने कुरा कहिं कतैबाट देखिन आउँदैन । तथापि पोष्टमार्टम रिपोर्टबाट Circular Ligature Mark भन्ने तथ्य स्थापित रहेको पाइन्छ । प्रतिवादी मध्ये विश्वकला प्रहरीलाई खवर गर्न गएकी र अर्का प्रतिवादी चिरन्जीवी पौडेल समेतले वेहोस अवस्थाकी सरस्वतीलाई अस्पताल समेत लिएर गएको भन्ने प्रतिवादी विश्वकला तिमिल्सीना तथा चिरन्जीवी पौडेलको प्रहरी समक्षको कागज तथा अदालतमा आई गरेको वयान समेतका कागजपत्रबाट देखिई रहेको पाइन्छ । आफैले सरस्वती पौडेललाई मार्ने सम्मको कर्तव्य गरेको भए सरस्वतीलाई औषधी उपचारको लागि अस्पताल लग्नू पर्ने अवस्था कमै पर्दछ । वादी दावी प्रमाणित गर्ने दायित्व वादी पक्षको हुन्छ । वादी तर्फबाट आफ्नो दावी अनुसारको वारदात भएको भन्ने तथ्य स्थापित हुन नसकेको मात्र नभई मुलुकी ऐन ज्यान सम्वन्धी महलमा रहेको व्यवस्थातर्फ ध्यान पुग्न सकेको पाइदैन । अनुसन्धान तहकिकात गरी सही तथ्य प्रमाणित गराउनु पर्ने दायित्व बोकेको वादी श्री ५ को सरकारतर्फबाट पर्न आएको प्रहरी प्रतिवेदन अवस्था र स्थिति अनुसार मिलेको भन्ने स्थिति छैन । प्रतिवादी मध्येकी सासु नाताकी ऋषुमाया तिमिल्सिना विरुद्ध अभियोग दावी लिई आएको भए पनि सफाई दिए उपर पुनरावेदन गर्न नसकी वादी पक्षबाट ऋषुमायाले पाएको सफाईलाई सकारी बसेको स्थिति पनि देखिन्छ । सफाई पाएकी ऋषुमायाको यस वारदातमा सम्लग्नता रहेछ भन्न सकिने अवस्था अव देखा परिरहेको छैन । अतः अपुरो र कमजोर अनुसन्धान तहकिकात एवं आफूले लिएको दावी समर्थित गराउन नसकेको वादीको भनाई सत्य रहेछ भनी अनुमान गर्न मिल्दैन । शंकाको सुविधा अभियुक्तले पाउने र वादी दावी नै नभएको कुरामा अदालत आफैले अनुमान गरी निष्कर्षमा पुग्न प्रचलित कानून एवं यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतबाट मिल्ने नदेखिदा प्रतिवादी विश्वकला समेत भई मृतक सरस्वतीलाई डोरीले कसी मारेको भन्ने वादी दावी नै नभएकोमा प्रतिवादी विश्वकला समेतले मृतक सरस्वतीलाई कुटपिट गरी घांटीमा डोरी कसी सोही डोरीको कसाईबाट मृतकको श्वास रोकिन गई सोही वेदनाबाट सरस्वतीको मृत्यु भएको भन्ने आधार लिई प्रतिवादी विश्वकलालाई ज्यान सम्वन्धी महलको १४ नं. वमोजिम १० वर्ष कैदको सजाय हुने ठहराएको शुरु तनहुँ जिल्ला अदालतको इन्साफ सदर गरेको तत्कालिन गण्डकी अंचल अदालत तथा पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला समेत त्रूटिपूर्ण देखिन आएकोले उक्त सवै फैसला उल्टी हुन्छ । प्रतिवादी विश्वकलाले सफाई पाउने ठहराएको माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय मनासिव ठहर्छ । प्रहरी प्रतिवेदन माग दावी अनुसार ज्यान सम्वन्धी महलको १४ नं. को कसुर वारदात नै स्थापित हुन नसकेको स्थितिमा पुनरावेदन नै नगरी वस्ने चिरन्जीवी पौडेलको हकमा समेत अ.वं. २०५ नं. वमोजिम विचार गर्नु पर्ने हुन आएबाट त्यसतर्फ विचार गर्दा ज्यान सम्वन्धीको १४ नं. को कसुर वारदात नै स्थापित हुन नसकेकाले प्रतिवादी चिरन्जीवी पौडेलले अभियोग दावी वमोजिम कसुर गरेको भन्न नमिलेबाट ज्यान सम्वन्धी महलको १४ नं. वमोजिम १० वर्ष कैद हुने ठहराएको शुरु तनहुँ जिल्ला अदालत गण्डकी अंचल अदालत तथा पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुन्छ र प्र. चिरन्जीवी पौडेलले अभियोग दावीबाट सफाई पाउने ठहर्छ । अरु तपसील वमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए वमोजिम शुरु तनहुँ जिल्ला अदालत गण्डकी अंचल अदालत तथा पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुने ठहरेकोले उक्त अदालतहरुका फैसलाले राख्ने गरेको लगत वमोजिम गर्न नपर्ने हुँदा सम्पुर्ण लगत कट्टा गरी दिनु भनी शुरु तनहुँ जिल्ला अदालतमा लेखि पठाउनु .......... १
प्रतिवादी चिरन्जीवी पौडेल के माथि इन्साफ खण्डमा लेखिए अनुसार सफाई पाउने ठहरेकाले निजले प.क्षे.अ. को मिति २०४२।४।२५ को आदेश अनुसार रु. २०००।- धरौट राखी तारेखमा छुटेको र सो धरौट निजले फिर्ता पाउने हुँदा सो फिर्ता पाउँ भनी कानूनका म्याद भित्र दरखास्त पर्न आएं फिर्ता खर्च लेखि दिनु भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु ... २
प्रतिवादी विश्वकला तिमिल्सिनाको माथि इन्साफ खण्डमा लेखिए वमोजिम सफाई पाउने ठहरेकाले निजले यस अदालतको मिति २०४२।७।२३ को आदेश अनुसार रु. २०००।- धरौट राखी तारेखमा छुटेको र सो धरौट निजले फिर्ता पाउने हुँदा सो फिर्ता पाउँ भनी कानूनका म्याद भित्र दरखास्त पर्न आए फिर्ता खर्च लेखि दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई मिसिल नियमानुसार गरी वुझाई दिनु ... ३
उक्त रायमा हामी सहमत छौ ।
का.मु.प्र.न्या.त्रिलोक प्रताप राणा
न्या. राजेन्द्र राज नाख्वा
इति संवत २०५३ साल माघ ३ गते रोज ५ शुभम् ..... ।