निर्णय नं. ८३७८ - कर्तव्य ज्यान ।
निर्णय नं: ८३७८ ने.का.प. २०६७ अङ्क ५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
माननीय न्यायाधीश श्री गौरी ढकाल
संवत् २०६२ सालको स.फौ.पु.नं.३३५३
फैसला मितिः २०६७।४।१४।६
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक प्रतिवादीः भवानी शोभराजको छोरा, २० एभेन्यु “इभ्री” ७५०१३ पेरिस फ्रान्स घर भै हाल कारागार शाखा, जगन्नाथ देवल, काठमाडौँमा थुनामा रहेको चार्ल्स गुरुमुख शोभराज
विरुद्ध
प्रत्यर्थी वादीः नेपाल सरकार
शुरु फैसला गर्ने :
मा.जि.न्या.श्री विश्वभरप्रसाद श्रेष्ठ
पुनरावेदन फैसला गर्ने :
मा.न्या.श्री कृष्णप्रसाद श्रेष्ठ
मा.न्या.श्री आत्माराम भट्टराई
§ मृतकको हत्या कुनै व्यक्तिको कर्तव्यबाट भएकोले कसूरजन्य कार्य गर्ने अपराधीलाई प्रचलित कानूनबमोजिम सजाय गर्नुपर्ने हुँदा अप्रत्यक्ष प्रमाणको आधारमा पनि कसूरदार देखिएको व्यक्तिलाई सजाय गर्नु अदालतको कर्तव्य हुने ।
(प्रकरण नं.७)
§ अपराध र अपराधीको शिकार भएका पीडित व्यक्तिप्रति न्याय परोस् भन्ने कुरा पनि न्यायाधीशले त्यति नै सुनिश्चित गर्नु पर्दछ । अभियुक्त र अपराधबाट पीडित व्यक्ति दुवैलाई सन्तुलित रुपमा न्याय प्रदान गर्नु नै न्यायप्रणालीको आधारभूत लक्ष्य हुन्छ । कुनै एकप्रति मात्र लक्षित गरी गरिएको निर्णयले न्यायको आकार ग्रहण गर्न नसक्ने ।
§ अपराध गर्दा अपनाइएको तरीका र अपराधको प्रकृति हेर्दा अपराधी पूर्ण सचेत, सावधान रही नियोजित र सँगठित रुपमा आफ्नो कार्य योजनालाई पूर्णता दिएको देखिन्छ । यस्तो अवस्थामा अभियोजन पक्षद्वारा प्रस्तुत अप्रत्यक्ष प्रमाण र खास गरी परिस्थितिजन्य प्रमाणको आधारमा नै अपराधीसम्म पुग्नु पर्ने र त्यस्तो प्रमाणको आधारमा कसूरदार देखिन आएको अभियुक्तलाई सजाय गर्नुपर्ने ।
(प्रकरण नं.८)
§ कानूनअनुरूप प्रमाणको रुपमा पेश गरिएका कुराहरूको मुद्दामा सम्बद्धता छ वा छैन भन्ने विषय अदालतले निर्धारण गर्नसक्ने ।
(प्रकरण नं.१५)
§ सँगठित अपराधलगायत अन्तर्राष्ट्रिय स्तरका अपराधीहरूको सूचना आदान–प्रदान गरी सदस्य राष्ट्रहरू बीच सहयोग आदान प्रदान गर्नको लागि स्थापना भएको इन्टरपोल प्रहरीहरूको अन्तर्राष्ट्रिय सँगठन भै संयुक्त राष्ट्रसंघको महासभाद्वारा यसलाई मान्यता दिइएको हुँदा अपराध अनुसन्धानका सम्बन्धमा यस निकायले दिएको तथ्याङ्कहरूलाई सहजै अन्यथा भन्न सकिने अवस्था नरहने ।
(प्रकरण नं.२८)
§ कुनै अभियोग लागेको अभियुक्तले कसूरसम्बन्धी कुरामा साविती भएको वा इन्कार गरेको निजको कथनले मात्र निजको पक्ष वा विपक्षमा स्वतः प्रमाणको स्थान ग्रहण गर्दैन बरु सो साविती वा इन्कारी वयानलाई कुनै आधारभूत, तथ्यपरक एवं निश्चयात्मक प्रमाणबाट समर्थित गराउन पर्ने ।
§ कुनै प्रमाणविनाको इन्कारी वयान अर्थहीन र प्रयोजनहीन हुन्छ र यस्तोमा संकलित अप्रत्यक्ष प्रमाणलाई पनि निजका विरुद्ध अदालतले प्रमाणमा ग्रहण गर्नुपर्ने ।
§ कुनै अभियुक्तले वारदातको समयमा आफू घटनास्थलमा नभई अन्यत्र छु भनी अन्यस्थल (Alibi) को जिकीर लिन्छ भने सो जिकीरलाई प्रमाणित गर्ने भार पनि निज अभियुक्तउपर नै रहन्छ । यस्तो अन्य स्थल Alibi को जिकीर तथ्यपरक, निश्चयात्मक तथा लिखतको प्रमाणबाट समर्थित हुन सके मात्र सो जिकीर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुन सक्ने हुन्छ र सो जिकीर त्यस्तो निर्विवाद र तथ्यपरक प्रमाणबाट स्थापित हुन नसके त्यस्तो जिकीर लिने व्यक्तिका विरुद्ध नै प्रमाण लाग्न जाने ।
(प्रकरण नं.२९)
§ कुनै काम, घटना वा अपराधका सम्बन्धमा अभियुक्तको काम वा व्यवहारका विभिन्न अवस्था र क्रियाकलापबाट तथ्यहरूको कडी एक आपसमा श्रृखंलाबद्ध रुपमा जोडिदा आपराधिक कार्य सम्पादन भएको स्वाभाविक निष्कर्ष निस्कने भएमा र सो कार्य र व्यवहारबाट अभियुक्तले अपराध गरेको स्थापित भएको देखिएमा यस्तो तथ्यहरूको मालाकार कडीलाई परिस्थितिजन्य प्रमाणको रुपमा परिभाषित गरिन्छ । यसको लागि तथ्यका प्रत्येक कडी एक आपसमा आवद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नुपर्ने ।
(प्रकरण नं.३३)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मीबहादुर निराला, विद्वान अधिवक्ता श्री रामप्रसाद श्रेष्ठ, श्री लोकभक्त राणा, शकुन्तला थापा, श्री रामवन्धु शर्मा
प्रत्यर्थी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल, विद्वान उपन्यायाधिवक्ता श्री श्रीकृष्ण भटृराई,
जाहेरवालाको तर्फबाटः विद्वान अधिवक्ता डा.रञ्जितभक्त प्रधानाङ, श्री रमेशप्रसाद कोइराला
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४
§ प्रमाण ऐन, २०३१ को दफा ३, १०, १०(१)(क), १५(१), १८, २३(७), ३६
§ मुलुकी ऐन ज्यान सम्बन्धी १३(३)
फैसला
न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत पाटनबाट मिति २०६२।४।२० मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :
बिहान ७ बजे गस्ती गर्दै जाँदा काठमाडौंबाट भक्तपुर जाने (नयाँ) चाईनिज रोडबाट सिनामंगल जाने रोड मुनी मनहरा खोलादेखि पश्चिम, पीच सडकदेखि पूर्व, सडक मुनी केही मानिस भेला भएको देखी हामीहरू समेतले हेर्दा १ जना अं.वर्ष १८/२० जतिको जनाना व्यक्तिको मृत लाश देखिएको, नाङ्गो शरीर, पेट्रोल हाली आगो लगाएको, शरीरको पछाडिको भाग डढेको, गन्जीसमेत आगोले डढेको, मृतक लाशको भुँडीको बीच मुटुको भागमा छुराले हानि कर्तव्य गरी मारेको जस्तो देखिने, जात छुट्याउन नसकिने, हेर्दा युरोपियन देखिने भन्ने समेत व्यहोराको मिति २०३२।९।८ को हेड कन्स्टेवल गुणहरी अधिकारी समेतको प्रहरी प्रतिवेदन ।
मनहरा खोलादेखि अन्दाजी १०० गज पश्चिम, अरनिको राजमार्गदेखि अन्दाजी २५ गज उत्तर, सिनामंगल जाने रोडदेखि पूर्व, सोही रोडदेखि मुनी खेतमा जाने बाटोदेखि दक्षिण यति चार किल्लाभित्र टाउको पश्चिम, गोडा उत्तानो परेको, कपालको रौंहरू डढेको, आँखा चिम्लिएको, टाउकोदेखि पैतालासम्म डढेको, नाकको दाहिने प्वालबाट रगत निस्केको, फिँज आएको र बायाँ नाकको प्वालबाट तरल पदार्थ आई दुबै प्वाल बन्द भएको, दाँतले जिब्रो टोकेको, पूरै शरीरको भाग नाङ्गो, दुबै दूधको मुन्टा नदेखिएको, दूधको दाहिने पट्टी भागमा अं.३ अंगुल जति कोरिएको, मुटुको भाग नेर ४ वटा छुरी रोपको जस्तो, दुबै हात खुम्चिएको र हातका औंलाहरू डढेको, योनीको भाग पूरै डढेको, बायाँ नारीमा सुन चाँदी पित्तल केही नछुट्टिएको वाला लगाएको, बायाँ कान डढेको, सुन पित्तल नचिनिने झुम्का लगाएको, लाशको बायाँ खुट्टा डढेको अं.१८/२० वर्षकी जात नचिनिने, हेर्दा टुरिष्ट जस्तो जनाना व्यक्तिको लाश । बायाँ गोडामा कपडाको डोरी बनाई बाँधेको, सो डोरी जली अं.१ कुरेत जति बाँकी रहेको, बायाँ तिघ्राको भित्रीभागमा घिस्रिएको दाग चिन्ह देखिएको, बायाँ गोडाको बायाँ साइडको माथिल्लो पैतालादेखि देब्रे चाकको पुठ्ठासम्म आगोले जली भित्रको हाड तथा नशाहरू देखिने, दुबै हातको कुमको पछाडि पाता र पुठ्ठाको बीच भाग वा कम्मरको बीचमा आगोले जली भित्रको मासु देखिने, बायाँ पाखुराको बीचमा पूरै डढेको, दायाँ गोडाको औंलादेखि तीघ्रासम्म आगोले डढी फोका उठी फुटेको भन्ने समेत व्यहोराको मिति २०३२।९।८।३ को लाश जाँच प्रकृति मुचुल्का ।
का.जि.झोँछे स्थित ओरियण्टल लजमा गई त्यहाँ लजको प्रोप्राइटर बुझ्दा मिति २०३२।८।२८ तदनुसार १४ डिसेम्वर १९७५ मा एक जना अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) (जनाना) र त्यसको ३ दिनपछि एक जना क्यानेडियन नागरिक क्यारियरे लरेन्ट (CARRIERE LAURENT) भन्ने (मर्दना) व्यक्ति आई उक्त लजमा बसी मिति २०३२।९।५ मा क्यारियरे लरेण्ट (CARRIERE LAURENT) धुलिखेलसम्म घुमी आउँछु भनी गएको र त्यसको दुई दिनपछि अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) पनि क्यारियरे लरेण्ट (CARRIERE LAURENT) लाई भेट्न धुलिखेल जान्छु भनी गएकोमा दुबै जना फर्की आएको छैन भन्ने कुरा बताएका, क्रिस्टी एम.म्याकमिलन (KIRSTY M. MACMILLAN) भन्ने अष्ट्रेलियन नागरिकले “देखे कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) लाई चिन्दछु” भनेकोले निजलाई बोलाई लाश रहेको ठाउँमा लगी देखाउँदा उक्त मृतकको लाश चिनी सो मर्ने जनाना व्यक्ति कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) नै हो भनेको र लरेण्ट (LAURENT) भन्ने व्यक्ति फेला नपरेको भन्ने मिति २०३२।९।९।४ को प्र.ना.नि.नन्दराम श्रेष्ठ समेतको प्रतिवेदन ।
“९ डिसेम्वरको दिन सुश्री कोन्नी जो (CONNIE JO) ले भारत दिल्लीदेखि काठमाडौं सम्मको यात्रा मेरो बसद्वारा गरिन्, बस छोडी काठमाडौंको ओरियण्टल लजमा बसिन्, १८।१९ तारिखमा अन्तिम पटक मैले उनलाई देखें, कोन्नी जो (CONNIE JO) को विषयमा पुलिसहरूले सोधपुछ गरिरहेको सुनेँ” भनी होटल स्टारको कोठा नं.१३ मा बसेको बृटिस राहदानी नम्बर सी. ९७९८२७ को टिमोथी एम. ललेस (TIMOTHI M. LAWLESS) ले २४।१२।१९७५ तदनुसार २०३२।९।९।४ मा अंग्रेजीमा लेखाई दिएको कागज ।
“देखेको लाश कोन्नी जो (CONNIE JO) को हो र उनले हातमा लगाई राखेको औंठी, कानको मुन्द्री र उनले लगाएको ब्रासलेट मलाई याद छ, जानेँ पहिचान गरें, उनले आफूले सोल्टी ओवरायमा आफ्नो श्रीमती सहित बसेको एक भियतनामी गहना व्यापारीलाई भेटेको भनी बताएकी थिईन्, उनीहरूलाई निजले त्यस होटलमा भेटेको मलाई थाहा छ” भन्ने समेत व्यहोराको राहदानी नं. H ७२८००१ बाहक अष्ट्रेलियन नागरिक KIRSTY MARION MACMILLAN, Address: 28, Anderson ST.1, East Geelong 3219, Australia) ले सन् २४।१२।१९७५ तदनुसार २०३२।९।९ मा अंग्रेजीमा गरिदिएको कागज ।
मुटुको चोटको कारणबाट रक्तश्राव भई आकस्मिक आघातको कारणबाट मृत्यु भएको भन्ने मिति २०३२।९।९ को लाश पोष्टमार्टम प्रतिवेदन ।
लाश जाँच प्रकृति मुचुल्का र पोष्टमार्टमको कार्य पूरा भई सकेपछि मृतक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) को लाश बीर अस्पतालको मुर्दा घरबाट बुझी लिएको अमेरिकन एम्बेसीका भाइस काउन्सलर अलन इस्थमको मिति २०३२।९।१० को भरपाई ।
क्यारियरे लरेण्ट (CARRIERE LAURENT) हेर्दा डर लाग्दो, भयङ्कर मानिस र गरिव खालको देखिन्थ्यो र मृतक केटी कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) धनी मानिस जस्तो लाग्थ्यो । क्यारियरे लरेण्ट (CARRIERE LAURENT) हवाई जहाजद्वारा बैंककतर्फ भागेको र उपरोक्त कारणबाट कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) लाई क्यारियरे लरेण्टले (CARRIERE LAURENT) नै कर्तव्य गरी फालेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको चन्द्रिकालाल श्रेष्ठको कागज ।
२०३२।८।२८ तदनुसार १४ डिसेम्वर १९७५ का दिन अं.१६ बजे अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) आई कोठा मागेकाले निजलाई रुम नं.२७ मा बस्नु हुन्छ भन्दा हुन्छ भनी बसिन् । भोलिपल्ट रुम नं.१७ मा बस्न दिएँ, त्यसपछि निज धेरै कराई रहेकीले १८ डिसेम्वरका दिन रुंम नं.९ खाली भएको र सोही कोठामा बसेकोमा, दिनको ११:३० बजे एक जना क्यानेडियन नागरिक क्यारियरे लरेण्ट (LAURENT) भन्ने साथै लिई आई दुबै जना सोही कोठामा सँगै बसेका थिए । २० डिसेम्वर १९७५ का दिन अं.१५ बजे क्यानेडियन नागरिक क्यारियरे लरेण्ट (CARRIERE LAURENT) धुलिखेलसम्म जान्छु, दुई दिन पछि आउनेछु भनी आफ्नो धेरै जसो सामान बोकी गएको, सोही दिनदेखि निज फर्की नआएको, निज क्यारियरे लरेण्ट (CARRIERE LAURENT) लाई भेटी आउँछु भनी निज कोन्नी जो (CONNIE JO) पनि २२ तारेखका दिन गएको र दुबै जना फर्की नआएका, केटी कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) को लाश मृत अवस्थामा मिति २०३२।९।८ मा मनहरा खोलामा फेला पारेको भन्ने कुरा प्रहरीद्वारा थाहा पाएको र क्यारियरे लरेण्ट (CARRIERE LAURENT) पनि आजसम्म फर्की नआएको बुझ्दा निज लरेण्ट (LAURENT) २०३२।९।८ का दिन शाही नेपाल वायु सेवा निगमको हवाइजहाजबाट बैंककतर्फ भागी गएको भन्ने कुरा थाहा पाएको, निजले अमेरिकी नागरिकलाई कर्तव्य गरी भागेको कुरा विश्वास लाग्छ भन्ने समेत व्यहोराको ओरियण्टल लजका मैनेजर रवीबहादुर सिँहको कागज ।
बा.अ.५००१ नं.को कार गोर्खा ट्राभल्सको हो । खास मिति थाहा भएन, मैले अं.१ वर्षदेखि ड्राइभर बनी हाँकेको थिँए । उक्त कार २०३२।९।४ गते दिनको ५ बजेसम्म मैले नै हाँकेको थिएँ । त्यसपछि उक्त कार मोटर ग्यारेजमा राखेको र भोलिपल्ट ५ गतेबाट ८ गतेसम्म सोल्टी होटलमा बसेको विदेशी प्यासेन्जर “डच” भन्नेले हाँकेको हो । निज “डच” भन्ने व्यक्ति हाल कहाँ छ, मलाई थाहा छैन र विदेशी व्यक्तिको मृत्यु सम्बन्धमा मलाई केही थाहा छैन । कारमा भएको निलो रंगको पाइन्ट मैले सो कार हाँकेको अवधिसम्म पाइन्ट राखेको थिएन । “डच” भन्ने व्यक्तिले कार हाँकेपछि कसरी मोटर कारमा राखे मैले देखिन भन्ने समेत व्यहोराको पूर्णबहादुर महर्जनले २०३२।९।१८ मा गरेको कागज ।
ओरियण्टल लजको कोठा नं.९ मा भएका कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) का समानहरू चोलो, स्लिपिङ्ग व्याग, कोट, सल लगायतका सामानहरूको मिति २०३२।९।१८ को लगत मुचुल्का ।
मिति २०३२।९।८ गते ११:३० बजे बैंकक जाने प्लेनबाट बैंककतर्फ गैसकेको बुझिएको र निज क्यारियरे लरेण्ट (CARRIERE LAURENT) मिति २०३२।९।५ का दिन ओरियन्टल लजबाट धुलिखेल जान्छु भनी निस्केपछि फेरी उक्त लजमा फर्की नआएको । कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) लाई निज क्यारियरे लरेण्ट (CARRIERE LAURENT) ले कर्तव्य गरी मारी भागी गएको भन्ने समेत व्यहोराको मिति २०३२।९।१८ को प्र.ना.नि.नन्दराम श्रेष्ठ समेतको प्रतिवेदन ।
“वि. सं. २०३२।९।६ तदनुसार २१ डिसेम्वर १९७५ मा भक्तपुर स्थित साँगा भञ्ज्याङ्गमा सडक किनारामा क्यानाडा निवासी लरेन्ट आरमण्ड क्यारिर र वि. सं. २०३२।९।८ तदनुसार २३ डिसेम्वर १९७५ मा मनहरा खोला छेउमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH)) को लाश मुख नचिनिने गरी डढाई नाङ्गो अवस्थामा फाली दिएको, अष्टे«लिया निवासी सुश्री जेनका अनुसार मृतक कोन्नी जो (CONNIE JO BRONZICH)) को तत्काल सोल्टी होटेलमा बस्ने भियतनामी युवकसँग चिनाजानी भएको, निजसँग आरामदायी कार भएको र समय समयमा निजलाई भेट्न जाने गरेकी बताएकी भन्ने उल्लेख गरेकाले सोल्टी होटेलमा सोधखोज गर्दा उक्त होटेलमा भियतनामी पर्यटक नबसेको, तर हिन्द–चीन अनुहारसँग मिल्दोजुल्दो एक युवक र निजको साथमा एक युरोपियन केटी डिसेम्वर १८ देखि बसी २४ मा होटल मल्लमा सरेको र २५ तारीखमा पुनः सोल्टी होटलमा आई कोठा नं. ४१५ मा बसेको थाहा भएको, दुवै जनालाई सोध्दा भियतनामी युवकले आफ्नो नाम HENRICUS BINTANJA र केटीले कुकी हेमकर (COCKY–HEMKER) र आफू दुवै जना हलैण्डका नागरिक भएको बताएका, लरेन्ट क्यायिरको हत्याराले निजको पासपोर्ट लिई आफ्नो फोटो टाँसी कीर्ते हस्ताक्षर गरी बैंकक गएको र भोलिपल्ट नै फिर्ता भै सुश्री कोन्नी जोको हत्यारा लरेन्ट क्यारियर नै हो भन्ने भ्रम पार्ने उद्देश्य लिएको, HENRICUS BINTANJA र कुकी हेमकरसँग सोधपुछ जारी राखी ठोस सबूद र पर्याप्त शंकाको अभावले गर्दा हिरासतमा राख्न नमिली सोल्टी होटलमा नै बस्न दिई सामान्य निगरानीमा राखिएकोमा २७ डिसेम्वर राति १० वजेसम्म दुवै जना कोठामा रहेको थाहा भएको, त्यसपछि कतिवेला निस्के थाहा नभएको, ४१५ नं. को कोठामा ३ सुटकेश, जुत्ता तथा अन्य कपडा भएको, कोठामा छरिएको नाइलनको मनि व्याग मृतक लरेन्ट क्यारियरको भएको भन्ने निजको दाजु गील्स एम क्यारियर (GILLES M. CARRIERE) बाट सनाखत भएको, बैंककमा पनि विदेशीहरूको हत्या भएको र सवैलाई नशालु पदार्थ खुवाई जीउमा ग्यासोलिन हाली आगो लगाई छोडी दिएको खवर हुन आएको, सन् १९७६ मे ७ र ८ को बैंकक पोष्ट मगाई हेर्दा त्यहाँ एलेन गोटियर जो काठमाडौँमा हेनरिकस विन्टान्जाको नामले बसेको थियो र मोनिक लेक्लर्क जो यहाँ कुकी हेमकरको नामले बसेकी थिइन्, निजहरूलाई खोजी रहेको कुरासहित फोटोसमेत प्रकाशित भएको, त्यहाँ गरिएको ४ जना विदेशी नागरिकहरू HENRICUS BINTANJA, निजकी श्रीमती COCKY Hemker, Teresa Knowlton, तथा Stephanie Parry को फोटो पनि प्रकाशित भएको, HENRICUS BINTANJA को नामले सोल्टी होटलमा बसेका एलेन गोडियर (ALLEN GAUTHIER) ले होटल रजिष्ट्रेशन नम्बर ६४३१ मा पासपोर्ट नं. एस. ४८६९२०६ लेखेको जवकि HENRICUS BINTANJA लेखिएको पासपोर्टमा एस. ४३८९२९ लेखेको, सोल्टी होटल रजिष्ट्रेशन कार्ड नं. ६४४९मा एलेन गोडियर (ALLEN GAUTHIER) उर्फ विन्टान्जा (BINTANJA) ले लेखेको अक्षर तथा हस्ताक्षर र २३ डिसेम्वर १९७५ का दिन लरेन्ट क्यारियरको नामले बैंकक जाँदा र भोलिपल्ट फर्की आउँदा भरेको इम्वार्केशन कार्ड तथा डिसइम्वार्केशन कार्डमा लिखित अक्षरहरू विशेषज्ञका अनुसार सामान्य छ । लरेन्ट क्यारियर (LAURENT CARRIERE) को दाजु गील्स एम. क्यारियर (GILLES M. CARRIERE) ले पनि उक्त अक्षर तथा हस्ताक्षर आफ्नो भाइको नभएको भनी सनाखत गरेको, हाल यस इन्टरपोलद्वारा भारतीय दिल्ली इन्टरपोललाई दिएको सूचनाको आधारमा अन्य तीनजना विदेशीसहित एलेन गोटियर (ALLEN GAUTHIER) तथा मोनिक लेक्लर्क (MONIQUE LECLERC) लाई दिल्ली पुलिसले गिरफ्तार गरेको समाचार प्राप्त भएको, उक्त समाचार अनुसार निज एलेन गोटियर (ALLEN GAUTHIER) को वास्तविक नाम चार्ल्स शोभराज (CHARLES SOBHRAJ) तथा मोनिक लेक्लर्क (MONIQUE LECLERC) को वास्तविक नाम मेरी एण्ड्रे लुसी लेक्लर्क (MARIE ANDRE LUCIE LECLERC) भन्ने थाहा भएको, उक्त संकलित प्रमाणहरूको आधारमा मिति २०३२।९।८ मा सुश्री कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) को जघन्य अपराधमा चार्ल्स शोभराज (CHARLES SOBHRAJ) जो काठमाडौं बस्दा हेनरिकस विन्टान्जा (HENRICUS BINTANJA) को नामले बसेको थियो, भारतीय नागरिक अजय चौधरीको संयुक्त प्रयासले दुई जना विदेशी पर्यटकको अपराध गरेको प्रमाणबाट सिद्ध हुन आएको भन्ने समेत व्यहोराको गृह पञ्चायत मन्त्रालयलाई सम्बोधन गरी एस.पी.चन्द्रवीर राईले मिति २०३३।४।२० मा भारतमा पक्राउ भएका ती अपराधीहरूलाई नेपालमा कारवाही गर्न नेपाल भारत अपराधी आदान प्रदान (सुपुर्दगी ऐन) अन्तर्गत कारवाही शुरु गरिदिन हुन भन्ने समेतको लागि लेखेको प्रतिवेदनको प्रतिलिपि ।
पछि नाम थाहा हुन आएको मृतक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) लाई मर्नुभन्दा अघि हामीले देखेको चिने भेटेका थिएनौं र भक्तपुर जिल्ला सांगा भन्ज्याङ्गमा मर्ने लोग्ने मानिस लरेण्ट क्यारिएरे (LAURENT CARRIERE) लाई पनि देखे जानेको थिएनौं । स्वास्नी मानिस निज मृतक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) लाई मिति २०३२।९।८ गते मंगलवारका दिन बिहानपख यसै घटनास्थलमा कर्तव्य गरी मारी फालिएको हामीहरूले देखेका थियौं, कुन मितिमा कसले कर्तव्य गरी मारेको हो हामीलाई थाहा छैन । कर्तव्य गरी मार्ने भनेका व्यक्तिहरूको फोटो समेत देखाउँदा देख्यौं, निजहरूलाई यसभन्दा अगाडि देखे जानेका थिएनौं, हाल नाम थाहा हुन आएका कर्तव्यवालाहरू फ्रेन्च नागरिकहरू चार्ल्स सोभराज (CHARLES SOBHRAJ) भनिने एलेन गोटियर (ALLEN GAUTHIER) र मोनिक लेक्लर्क (MONIQUE LECLERC) र भारतीय नागरिक अजय चौधरीसमेतलाई चिनेका छैनौं । निज तीनै जनाले के कसो परिबन्दबाट कुन समयमा कर्तव्य गरी मारे निजहरूनै जानून् । सुश्री कोन्नी जो (CONNIE JO) लाई मार्नुमा हाम्रो नेपालीहरूको सहमति होला भन्ने हामीलाई लाग्दैन, निज कर्तव्यवालाहरू काठमाडौंमा आई विभिन्न होटलहरूमा बसी कर्तव्य गरी गएको भन्ने कुरा पछि सुन्यौ भन्ने समेत व्यहोराको मिति २०३३।४।२८ को सर्जमिन मुचुल्का ।
प्रस्तुत मुद्दामा कर्तव्यवाला को रहेछ भनी अनुसन्धान गरिँदा संकलित प्रमाणबाट काठमाडौं झोंछे स्थित ओरियन्टल लजको कोठा नं.९ मा बसेको अमेरिकी नागरिक सुश्री कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) र क्यानेडियन नागरिक लरेण्ट आरमन्ड (LAURENT ARMOND) हो भनी सनाखत हुन आएको, यी दुबै जना बहुमूल्य तथा सामान्य जडान पत्थर संकलन गर्न अभिरुची भएका व्यापारको व्यवसाय भएका, उपरोक्त व्यक्ति दुबै जनलाई चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) ले आफूलाई हल्याण्डको नागरिक भनी होटल सोल्टीमा १८ तारेखदेखि आई बसी २४ तारेखका दिन होटल मल्लमा सरी २५ तारेखका दिन पुनः सोल्टी होटलमा सरेर कोठा नं.४१५ मा बसेको निज चार्ल्स शोभराज (CHARLES SOBHRAJ) ले दिल्ली निवासी अजय चौधरीलाई आफ्नो विश्वासी बनाई यसैका माध्यमबाट क्यानेडियन नागरिक झोंछेको ओरियण्टल लजमा बसेको लरेण्ट आमरण्ड क्यारियरे (LAURENT ARMOND CARRIERE) तथा सुश्री कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) समेतसँग जान पहिचान लिई लरेण्ट आरमण्ड क्यारियरे (LAURENT ARMOND CARRIERE) तथा सुश्री कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) समेतसँग बहुमूल्य वस्तु भएको थाहा पाई आफूहरू पनि त्यस्तै बहुमूल्य तथा सामान्य जडान पत्थरहरूकै काम गर्ने भनी विश्वासमा पारी अजय चौधरी पनि दुईतर्फको बीचमा बसी कुराकानी मिलाउने विश्वासी सहयोगी भई ओरियन्टल लजमा बसेका लरेन्ट आरमण्ड क्यारियरे (LAURENT ARMOND CARRIERE) र कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) समेतलाई होटल सोल्टीमा बेला बखत आउने तुल्याई निजहरूलाई कर्तव्य गरी मार्ने निश्चित गरी गोर्खा ट्राभल्स प्रा.लि.को वा.अ.५००१ नं.को ड्याटसन कार भाडामा लगी कारमा उल्लिखित एलेन गोटिएर (ALLEN GAUTHIER) भनिने चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH), मोनिक लेक्लर्क (MONIQUE LECLERC) भनिने मेरी एण्ड्रे लुसी लेक्लर्क (MARIE ANDRE LUCIE LECLERC), अजय चौधरी समेतले २०३२।९।६ को रातमा लरेण्ट आरमण्ड क्यारियरे (LAURENT ARMOND CARRIERE) नामक क्यानेडियन नागरिकलाई हत्या गरी मारी भक्तपुर जिल्लाको साँगा भन्ज्याङ्ग चित्तपोल गा.वि.स.वडा नं.६ मा सडकको किनारामा फालेको र आफूलाई त्यस्तो हत्या गरी मार्छ होला मार्ने षडयन्त्र रचेको होला भन्ने कुरा कोन्नी जो (CONNIE JO) लाई थाहा नभै निज कर्तव्यवाला चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) समेतले लरेण्ट आरमण्ड (LAURENT ARMOND) धुलिखेलतर्फ गएको छ भेट्न जाने भन्ने निहुँ पारी सुश्री कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) लाई पनि लरेण्ट क्यारियरेको (LAURENT CARRIERE) हत्याको १ दिनपछि सन् १९७५ डिसेम्वर २२–२३ को राति तदनुसार २०३२।९।७ गते बित्ने ८ गते दिन लाग्दो राति काठमाडौं जिल्लाको सिनामंगल गा.पं.५ मा पर्ने भक्तपुर काठमाडौं अरनिको राजमार्गदेखि उत्तरमा निज कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) लाई मारी नचिनिने अवस्था तुल्याई मुलुकी ऐन, ज्यान सम्बन्धीको १ नं.विरुद्ध अपराध गरी मारी फालेका र त्यसरी उल्लिखित मितिकै रातमा लरेण्ट आरमण्ड (LAURENT ARMOND) र सुश्री कोन्नी जो (CONNIE JO) लाई कर्तव्य गरी मारेर फाले पछि मारिएका मध्ये लरेण्ट आरमण्ड क्यारियरे (LAURENT ARMOND CARRIERE) को पासपोर्टमा एलेन गोटियर (ALLEN GAUTHIER) भनिने चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) ले आफ्नो फोटो टाँसी अजय चौधरीले आफू र चार्ल्स शोभराज (CHARLES SOBHRAJ) को लागि समेत बैंककको हवाई मार्गको टिकट बन्दोबस्त गरी चार्ल्स शोभराज (CHARLES SOBHRAJ) ले मृतक लरेण्ट आरमण्ड (LAURENT ARMOND) को नामबाट कीर्ते हस्ताक्षर गरी २०३२।९।८ कै दिन ११:३० बजे बैंकक गई भोलिपल्ट पुनः काठमाडौं फिर्ता आएपछि कर्तव्यवाला तीन जनामध्ये बैंकक नगई बसेका मोनिक लेक्लर्क (MONIQUE LECLERC) भनिने मेरी एड्रे लुसी लेक्लर्क (MARIE ANDRE LUCIE LECLERC) मल्ल होटेलमा बसेको र निजहरू फर्केपछि पुनः सोल्टी होटलमा निज एलेन गोटियर (ALLEN GAUTHIER) को साथमा बस्न आएकी । यसरी होटल सोल्टी मै गएर आफूहरू निरपराधी जस्ता भई अपराध छिपाई बसेको र अभियुक्त एलेन गोटियर (ALLEN GAUTHIER) भनिने चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH), कुकी हेमकर (COCKY–HEMKER) को नाउँबाट बसेकी मोनिक लेक्लर्क (MONIQUE LECLERC) भनिने मेरी एण्ड्रे लुसी लेक्लर्क (MARIE ANDRE LUCIE LECLERC), भारती नागरिक अजय चौधरी समेतले उपरोक्त २ व्यक्तिलाई कर्तव्य गरी आफूहरूले गरेको अपराध कसूरबाट बच्ने उद्देश्य गरी मिति २०३२।९।१२।७ तद्नुसार २७ डिसेम्वरका राति आफूहरूको लुगा, सुटकेश तथा जुत्ता समेत होटल सोल्टीमा नै छोडी भागी गएको । त्यसरी भागी गएपछि भारतमा बसी अशोक होटलमा डकैती गरेको अभियोगमा पक्राउ भएपछि निज अभियुक्तहरूले नेपाल भारत तथा अरु देशमा पनि पर्यटकहरूलाई हत्या गरी मारेको साबिती भएको भन्ने नव भारत टाइम्स मिति १३ जुलाई १९७६ बाट ज्ञात हुन आएको कारणहरूबाट समेत चार्ल्स शोभराज (CHARLES SOBHRAJ) समेतका तीन जनाले सुश्री कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) लाई २०३२।९।८ को राति कर्तव्य गरी मारेको कुरा प्रष्ट देखिन आएकोले लरेण्ट आरमण्ड (LAURENT ARMOND) लाई कर्तव्य गरी मारेको घटनास्थल भक्तपुर जिल्ला प्र.ना.उ.का.इलाका क्षेत्रभित्र परेको हुँदा सोतर्फ भक्तपुर जिल्ला प्र.ना.उ.का. बाटै सम्बन्धित अदालतमा मुद्दा दायर गरिने हुँदा का.जि.सिनामंगल स्थित उल्लिखित ठाउँमा राहदानी नं.एफ १६५४३९ को अमेरिकन नागरिक सुश्री कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) लाई कर्तव्य गरी मारेकोमा उल्लिखित अभियुक्त हेनरिकस विन्टान्जा (HENRICUS BINTANJA) को नामले बसेको एलेन गोटियर (ALLEN GAUTHIER) भनिने चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH), फ्रेन्च नागरिक, कुकी हेमकर (COCKY–HEMKER) नामले बसेकी मोनिक लेक्र्लक (MONIQUE LECLERC) भनिने मेरी एण्ड्रे लुसी लेक्लर्क (MARIE ANDRE LUCIE LECLERC) भारतमा पक्राउ परेकोले नेपाल कानूनबमोजिम कारवाही गर्न नेपाल भारत अपराधी आदान प्रदान (सपुदर्गी ऐन) अनुसार कर्तव्य गरी ज्यान मारेको अभियोगमा कारवाही गर्न मिति २०३३।४।२० मा गृह पञ्चायत मन्त्रालयमा सुपर्दगी माग गरिदिन लेखी गएकोले र फेला नपरेका भारतीय नागरिक अजय चौधरीलाई खोजतलाश गरी पक्राउ गर्न नेपाल प्रहरी र नेपाल भारत इन्टरपोल अन्तर्राष्ट्रिय पुलिसबाट समेत खोजतलाश भै रहेको हुँदा सुश्री कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) लाई कर्तव्य गरी मारेको अभियोगका अपराधी एलेन गोटियर (ALLEN GAUTHIER) भनिने चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH), मोनिक लेक्लर्क (MONIQUE LECLERC) भनिने मेरी एण्ड्रे लुसी लेक्लर्क (MARIE ANDRE LUCIE LECLERC) र अजय चौधरी समेतलाई सुपर्दगी भै आए वा फेला परी पक्राउ भई आएको बखत मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं.विरुद्धको अपराध गरेकोले सोही ऐनको १३ नं.ले सजाय गरिपाऊँ भन्ने अभियोग पत्र माग दावी ।
यसमा मुद्दाको मिसिल अध्ययन गरी हेर्दा प्रहरी तथा स.स.अ. को संयुक्त प्रतिवेदनमा अपराधीहरू सपुर्द भई आएपछि कारवाहीकोलागि पेश गरिने भन्ने उल्लेख भएअनुसर प्रस्तुत मुद्दा हाल तामेलीमा राखिदिनु भन्ने समेत व्यहोराको मिति २०३४।३।१४ को काठमाडौं जिल्ला अदालतको आदेश ।
प्रस्तुत मुद्दामा यस अदालतको मिति २०३४।३।१४ मा तामेली आदेशले तामेली रहेकोमा प्रतिवादीमध्येका चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) लाई जिल्ला सरकारी वकील कार्यालय काठमाडौंको मिति २०६०।६।३० च.नं.७७७ को पत्रसाथ यस अदालतमा उपस्थित गराएकोले प्रस्तुत मुद्दा तामेलीबाट जगाई दिएको छ । प्रस्तुत मुद्दा यस अदालतको सरकारवादी फौजदारी दायरीमा दर्ता गरी नियमानुसार गरी प्रतिवादीको बयान समेतको कामको लागि इजलाससमक्ष पेश गर्नु भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६०।६।३० को आदेश ।
मिति २०३२।९।८ गते राति काठमाडौं जिल्ला, सिनामंगल गा.वि.स.वडा नं.५ सडकको पुली मुनी अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) लाई कर्तव्य गरी मारेको अभियोग सम्बन्धमा सोधनी हुँदा मलाई यस सम्बन्धमा केही थाहा छैन । म सेप्टेम्वर १, २००३ मा पहिलो पटक नेपाल आएको हुँ । मैले कहिले त्यस्तो अपराध गरेको छैन । सेप्टेम्वर १९, २००३ मा रोयल क्यासिनो दरवार मार्गबाट पक्राउ परेको हो । अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) को कर्तव्य गरी मारी लरेण्ट क्यारियरे (LAURENT CARRIERE) को पासपोर्टमा आफ्नो फोटो टाँसी बैंकक गई भोलिपल्ट नै काठमाडौं फर्की होटल सोल्टीमा बसी २०३२।९।१२ गते राति भागी गएको, दिल्लीको अशोक होटलमा डकैती गरेको अभियोगमा अमिर होटलमा पक्राउ परेको कुरा झूठा हो । मलाई जुलाई १५, १९७६ मा दिल्लीको बिक्रम होटलमा फक्राउ गरेको हो । त्यो अर्कै मुद्दाको सम्बन्धमा पक्राउ गरेको थियो र अदालतबाट मलाई सफाइ दिइएको थियो । १९८६ मा तिहाड जेलबाट भागेको सन्दर्भमा भारत सरकारले त्यो मुद्दा फिर्ता लिएकाले मैले सफाइ पाई कैद मुक्त भई फ्रान्स गएको हुँ । मैले अहिलेसम्म कहिल्यै पनि झूठा पासपोर्ट प्रयोग गरेको छैन । मृतक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)), लरेन्ट क्यारियरे (LAURENT CARRIERE) मिसिलमा उल्लिखित व्यक्तिहरू मोनिक लेक्लर्क (MONIQUE LECLERC), हेनरिकस विन्टाजा (HENRICUS BINTANJA) र अजय चौधरी आदि कसैलाई पनि चिनेको छैन । म, मेरी एण्ड्रे लुसी लेक्कर्ल (MARIE ANDRE LUCIE LECLERC) र अजय चौधरी समेतले मिति २०३२।९।६ गते गोर्खा ट्राभल्स एण्ड टुर्स प्रा.लि.को बा.अ.५००१ नं.को कारमा कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) समेतलाई राखी २०३२।९।७ गते राति मनहरा खोलाको छेउमा लगी कर्तव्य गरी मारेको कुरा कुनै पनि सत्य होइन । मैले उपरोक्त बमोजिम कसैलाई पनि चिनेको छैन । मैले कहिल्यै नेपालमा आई कार भाडा लिएको र कसैलाई कर्तव्य गरी मारेको छैन । म विरुद्ध यस अदालतमा जाली राहदानी मुद्दा दायर भएको छ । सो मुद्दामा २०६०।६।२९ को आदेशले साधारण तारेखमा छुटेको छु । यो मल्ल होटल र सोल्टी होटलको रजिष्ट्रेशन कार्डको बारेमा थियो । मिसिल संलग्न फोटोको प्रतिलिपि देखें मेरै फोटोका प्रतिलिपि हुन् । यिनीहरू २००३ सेप्टेम्वरमा प्रहरी चौकीमा खिचिएका तस्वीरहरू हुन् । म सहायक निर्माता (फिल्म, टि.भि. कार्यक्रम, डकुमेन्ट्री) हुँ । मेरो फ्रेञ्च कम्पनीले नेपाली राजदूतावाससँग अनुरोध गरी नेपालमा टि.भि. डकुमेन्ट्रीका लागि हस्तकला सम्बन्धी अध्ययन अनुसन्धान गर्नका लागि मलाई भिषा दिलाएकोले सोही उद्देश्यले नेपाल आएको हुँ । यसभन्दा पहिले मैले सबै अभियोगहरूबाट सफाइ पाएको हुँ । नेपालमा मैले कहिल्यै कुनै कसूर नगरेकाले अभियोगमा सफाइ पाएको छैन । नेपाल बाहिरको मुद्दामा सफाइ पाएको छु । मैले कुनै अपराध नगरेकोले मेरो कुनै साक्षी प्रमाण हुने कुनै कुरा भएन र म यस मुद्दामा पूर्ण निर्दोष छु भन्ने समेत व्यहोराको चार्ल्स गुरुमुख शोभराज (CHARLES GURMUKH SOBHRAJ) ले मिति २०६०।७।३ मा काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
यो मुद्दाका मृतक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) को लाश डढेको भन्ने देखिन आएको छ र विन्टान्जा (BINTANJA) लरेण्ट (LAURENT) भनी सोल्टी होटलमा बसेका व्यक्तिको कोठामा मृतक लरेण्ट (LAURENT) को व्यागसमेत बरामद भएको र विन्टान्जा (BINTANJA) भनी बसेको व्यक्तिले गरेको हस्ताक्षरसँग यी प्रतिवादीको पासपोर्ट तथा लिएको नमूनाको दस्तखतमा समानता रहेको भन्ने विशेषज्ञको राय भइरहेको उक्त तत्काल प्राप्त प्रमाणहरू थुनछेक प्रयोजनको लागि प्रमाण ऐन, २०३१ बमोजिम प्रमाण लिन मिल्ने नै देखिएको समेतका आधार प्रमाणहरूबाट पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल निज प्रतिवादी हेनरीकस विन्टान्जा (HENRICUS BINTANJA) नामले बसेका ऐलन गोटियर (ALLEN GAUTHIER) भनिने चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) लाई अ.वं.११८(३) नं.बमोजिम पुर्पक्षकोलागि थुनामा राख्न कानूनबमोजिम कारागार शाखा काठमाडौंमा पठाइदिने भन्ने समेत व्यहोराको मिति २०६०।७।३।२ को काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश ।
प्रतिवादी चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) डिसेम्वर १९७५ मा बैंककबाट काठमाडौं आई सोल्टी होटलमा विन्टान्जा हेनरिकस (BINTANJA HENRICUS) को नामबाट बसेको मृतक कोन्नी जो (CONNIE JO) सँगै एउटै कोठामा बस्ने क्यानेडियन नागरिक लरेण्ट क्यारियरे (LAURENT CARRIERE) को भक्तपुर साँगामा २०३२।९।६ गते लाश फेला परेको, निजको नाइलनको मनीव्याग निज प्रतिवादी बसेको होटल ओवरायको रुम नं.४१५ बाट बरामद भएको र निज लरेन्ट (LAURENT) को टोपी चस्मा र जिन्सको पाइन्ट यी प्रतिवादीले गोर्खा ट्राभल्सबाट भाडामा लिई चलाएको ५००१ नं.को सेतो कारबाट बरामद भएको सो गाडी २०३२।९।५ देखि ८ गतेसम्म विदेशीले गाडी भाडामा लिएको भन्ने ड्राइभर पूर्णबहादुर महर्जनको कागजबाट देखिन आएको, मृतक कोन्नी जो (CONNIE JO) को लाश एकान्त ठाउँमा ऐ.८ गते बिहान लरेण्ट (LAURENT) कै लाश फेला परेको स्थानतर्फ जाने बाटोमा भेटिएको र सोही दिन अर्थात् २०३२।९।८ गतेका दिन ११:३० बजे बैंकक जाने प्लेनबाट निज प्रतिवादी लरेण्ट क्यारिेयरे (LAURENT CARRIERE) को नाउँबाट बैंकक गई भोलिपल्ट काठमाडौं फर्किएको, मृतक कोन्नी जो (CONNIE JO) को डायरीमा यी प्रतिवादीको नाम उल्लेख भएको । निज मृतक कोन्नी जो (CONNIE JO) सँग काठमाडौंमा भेटघाट सम्बन्ध नभएको भए यी प्रतिवादीको नाम ठेगाना निजको डायरीमा उल्लेख हुन नपर्ने, मृतक कोन्नी जो (CONNIE JO) भियतनामी व्यक्तिसँग घेटघाट गर्न सोल्टी ओवरायमा जाने गरेको भनी KIRSTY MARION MACMILLAN ले भनेको हुँदा मृतक कोन्नी जो (CONNIE JO) सँग प्रतिवादीको काठमाडौंमा भेटघाट, प्रत्यक्ष सम्बन्ध भएको देखिने हुँदा प्रतिवादीले वारदातको समयमा आफू नेपालमा नै आएको छैन भनी गरेको बयान झूठा देखिएको, प्रतिवादीले वारदातको समयमा आफू अन्यत्र रहेको प्रमाण दिन नसकेको हुँदा निज लिएकोले plea of alibi निजकै बिरुद्ध लाग्ने भएको, यस हत्या सम्बन्धमा तत्कालीन अवस्थामा सोधपुछ हुँदा सामानहरू होटलमा छाडी यी प्रतिवादी ट्याक्सी लिई रोडको बाटो हुँदै भारतर्फ भागी गएको, हत्या गर्ने र हत्या गरी सकेपछि मृतकलाई नचिनिने गरी जलाउने अपराधिक कार्यविधि तरिका Modus operandi मा समानता देखिन आएको, हत्या गर्न विदेशी पर्यटकलाई छनौट गरी हत्या गर्ने कार्यमा समानता रहेको तथा उल्लिखित तथ्यहरू एक आपसमा आबद्ध रहेको समेतको उल्लिखित विवेचना गरिएका परिस्थितिजन्य प्रमाणहरू समेतबाट प्रतिवादी चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) ले अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) लाई कर्तव्य गरी मारेको ठहर्छ । सो ठहर्नाले मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार निज प्रतिवादी चाल्र्र्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) लाई सर्वश्व सहित जन्मकैद हुने ठहर्छ भन्ने समेतको काठमाडौं जिल्ला अदालतकाले मिति २०६१।४।२८ मा गरेको फैसला ।
मेरा विरुद्ध विपक्षी श्री ५ को सरकारद्वारा दायर गरिएको प्रतिवेदनमा मृतक भनिएको कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH)) को हत्या भएको विषयमा कुनै प्रमाण विद्यमान छैन । प्रत्यक्ष प्रमाण नभएको अवस्थामा परिस्थितिजन्य प्रमाणको महत्व हुन्छ । ती परिस्थितिजन्य प्रमाणहरूले घटनाका सम्बन्धमा बोलिरहेका छन् । घटनासँग यी प्रमाणहरूको कस्तो सम्बन्ध स्थापित भइरहेका छन्, सो कुराको समुचित मूल्याङ्कन गरी निष्कर्षमा पुग्न सकिन्छ भनिए पनि प्रस्तुत मुद्दामा निकट सम्बन्ध भएको कुनै पनि प्रमाण विद्यमान छैन । मेरो विरुद्धको अभियोगमा उल्लिखित भारतमा बसी अशोक होटलमा डकैती गरेको अभियोगमा पक्राउ भएपछि नेपाल भारत तथा अन्य देशमा पनि पर्यटकलाई हत्या गरी मारेको साबिती भएको भन्ने नव भारत टाइम्स्को १३ जुलाई १९७६ बाट ज्ञात हुन आएको कारणबाट एलेन गोटियर (ALLEN GOTHIER) भनिने चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH), मोनिक लेक्लर्क (MONIQUE LECLERC) भनिने मेरी आण्ड्रे लुसी लेक्लर्क (MARIE ANDRE LUCIE LECLERC), अजय चौधरी समेत ३ जनाले साँगामा लरेन्ट आरमण्ड क्यारियरे (LAURENT ARMOND CARRIERE) को हत्या गर्नुका साथै सिनामंगलमा सुश्री कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH)) लाई मिति २०३२।९।८ को राति कर्तव्य गरी मारेको भनिएको छ, जबकि म समेतले भारतमा प्रहरी समक्ष उल्लिखित भनिएको तथाकथित साबिती बयान प्रमाण खण्डमा पेश गर्न सकेको छैन । मेरो विरुद्ध मैले के के साबिती भएँ भन्ने कुराको पनि उल्लेख छैन । केवल पत्रिकामा साबित भयो भन्ने प्रकाशित खबरको आधारमा मात्र अभियोगपत्र दाखिल भएको छ । प्रमाणसाथ दाखिल नभएको तथाकथित अन्य देशको प्रहरी समक्षको साबिती बयानको मान्यता र प्रमाणिक मूल्य शून्य भई प्रमाणमा ग्रहण गर्न मिल्ने होइन । नभए नगरेका Statement पठाउनु पर्ने कुनै कारण हुँदैन भन्दै इन्टरपोल न्यू दिल्लीबाट २४।०९।२००३ को पत्रसाथ प्रतिवादीहरू (CHARLES SOBHRAJ, MISS MARIE ANDRE LECLERC को तत्कालीन मिति ६।७।१९७६ मा लिइएको फिङ्गर प्रिन्टका फोटोहरू समेत पठाइएका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौंमा यी प्रतिवादी पक्राउ परेपछि लिइएको औंठाको छाप र इन्टरपोल भारतमार्फत् ६।७।१९७६ मा भारतीय अधिकारीले लिएको यी प्रतिवादीको औंठा छापहरू दुबै एकै व्यक्तिको भन्ने २०६०।७।६ मा केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाबाट जाँच भएको भन्ने उल्लेख गर्दै सन् १९७६ मा दिल्ली पुलिसले पक्राउ गरेको भनी अदालतमा बयान गरेको र फ्रान्स एम्वेसी नेपालले परराष्ट्र मन्त्रालयमा २८ फ्रेबुअरी १९९७ मा शोभराज (SOBHRAJ) भारतमा २० वर्षको कारावासपछि छुटेको र शोभराज (SOBHRAJ) लाई नेपालमा दुई जना पर्यटकको हत्या गरिएको कारण निज विरुद्ध फ्रान्समा मुद्दा चलाउनको लागि त्यससम्बन्धी कागजात उपलव्ध गराउने माग गरेको व्यहोरा उल्लेख गर्दै त्यही आधार कारण देखाएर निजले गरेको सो बयान कागज आधिकारिक निकाय संस्थाबाट प्राप्त हुन आएको हुँदा विदेशमा भएका कागजातलाई प्रमाणमा लिन मिल्छ मिल्दैन भन्ने सन्दर्भमा हाम्रो न्यायिक परिपाटी हेर्दा विदेशमा भएको पोष्टमार्टम रिपोर्टलाई लिन मिल्ने भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपाद भइरहेको भनी (नेकाप २०२२ भाग ७ पृष्ठ १२३ नि.नं.२८९) उल्लेख गर्दै प्रतिवादीले भारत दिल्ली अधिकारीसमक्ष गरेको बयानलाई अन्य कागजातसँग तुलना गरी प्रमाण ग्रहण गर्न मिल्ने भनिएको छ । त्यस्तो विदेशमा भएको पोष्टमार्टमलाई प्रमाणमा लिन मिल्ने भन्ने कुरा र विदेश प्रहरीमा भएको बयान प्रमाणलाई प्रमाणमा लिने भन्ने कुरा एक आपसमा सैद्धान्तिक र न्यायिक मूल्य मान्यताको बिल्कुलै प्रतिकूलका कुरा हुन् । अन्यन्त्र गरिएको कागज सदा शङ्काको दायरामा रहन्छ । नेपाल अधिराज्यभित्रै पनि प्रहरी समक्ष भएको कागजलाई शङ्काको दायरमा राखी अदालतसमक्ष बयान गराउनु पर्ने अनिवार्यता रहेको छ । प्रहरीसमक्ष भएको साबिती बयान र पोललाई शङ्काको दृष्टिले हेरिने र अन्य प्रत्यक्ष सबूद प्रमणबाट समर्थित नभएसम्म त्यस्तो बयानको आधारमा दोषी ठहर गर्न सकिँदैन । तथाकथित विदेशमा गरेको बयानलाई मान्यता दिन कुनै पनि न्यायिक र विद्यमान विधिशास्त्रले स्वीकार गर्दैन । यी नेपालमा विद्यमान र कानून र न्यायिक सिद्धान्तको प्रतिकूल अ.वं.७७ र ८७ नं. र प्रमाण ऐन, २०३१ को दफा ५(१)(२)(३), दफा ६, ७, ८, ९(१)२)(३) र दफा १०(१)२) समेतमा उल्लिखित दफाअन्तर्गत प्रमाणमा लिन मिल्ने होइन ।
अदालतमा मेरा विरुद्ध प्रमाणमा लिइएका मध्ये The life and crime of Charles Sobhraj भन्ने London WCI बाट First Published 1977 को पुस्तकको पेज नं.२०८ पछिको पेजमा यो मुद्दामा हत्या भएको कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH)) को साथै लरेन्ट क्यारियर (LAURENT CARRIERE) को फोटो र निजहरू उस बखत बसेका Oriental Lodge को फोटोसमेत प्रकाशित भएको र पे.ज नं.२२६, २४१ मा म, कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH)) र लरेन्ट क्यारियर (LAURENT CARRIERE) र निजहरूको हत्याको वर्णन तथा पेज ३४९ मा चार्ल्स शोभराज (CHARLES SOBHRAJ) ले तिहाड जेलबाट पठाएको एक पेज पत्र नै छापिएको र सो पत्रमा MARIE ANDRE सँगको सम्बन्धको बारेमा उल्लेख गर्दै सो पत्रको ५ नं.मा "In none of her letters to her family did she ever mentioned anything about the Nepal activities" भनी उल्लेख गरेको भन्दै सोही आधार देखाई डिसेम्वर १९७५ मा प्रतिवादीसँग होटल ओवरायमा कुकी हेमकर (COCKY HEMKER) को नामबाट बसेको भन्ने खुल्न आएको भनी निजसमेत उपर अभियोग दावी गरेको कारणले नेपाल १ सेप्टेम्वर २००३ मा मात्र आएको भन्ने अदालतको बयानलाई अस्वीकार गर्दै तत्कालीन एस.पी.चन्द्रवीर राईको २०३३।४।२० को प्रतिवेदनमा यी प्रतिवादी सोल्टी होटलमा विन्टान्जा हेनरिकस (BINTANJA HENRICUS) को नामले बसेको निजलाई उस बखत सोधपुछ गरी निगरानीमा राखिएको गोर्खा ट्राभल्सबाट ५००१ नं.को कार भाडामा लिएको, सोल्टी होटलमा सामानहरू छाडी भागी गएको भन्ने उल्लेख गरेको र निजले १९७६।७।६ दिल्लीमा भारतीय अधिकरी समक्ष गरेको बयानमा आफू विन्टान्जा (BINTANJA) को नामले डिसेम्वर १९७५ मा नेपालमा ओवराय होटलमा बसेको भन्ने समेत उल्लेख गर्दै म कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH)) को हत्या हुँदा काठमाडौंमा भएको भन्ने साथै मृतक कोन्नी जो (CONNIE JO) र लरेन्ट काठमाडौं झोंछे स्थित ओरियन्टल लजको रुम नं.९ मा एकै साथ बसेको तथा लरेन्ट (LAURENT) को लाश २०३२।९।६ मा भक्तपुर साँगामा फेला परेको र वा.अ.५००१ नं.को कारमा भेटिएको चश्मा, टोपी र जिन्स पाइन्ट र हेनरिक विन्टान्जा (HENRICUS BINTANJA) बसेको सोल्टी होटलको कोठा नं.४१५ मा बरामद नीलो नाइलनको मनिव्यागसमेत भाई लरेन्ट (LAURENT) कै हो भनी GILLES MAURICE CARRIERE ले सनाखत गरी दिएको र लरेन्ट (LAURENT) को नामबाट १९७५, २३ डिसेम्वरमा बैंकक गएको र २४ डिसेम्वरमा फर्केको सो Embarkation card तथा Disembarkation card मा भएको हस्ताक्षर लेख क्यारियर (CARRIERE) को ओरियन्टल लजमा गरिएको हस्ताक्षरसँग मिल्ने भनी विशेषज्ञबाट आएको र लरेन्ट क्यारियरको नामबाट लेखिएका अक्षरहरू समान छ भनी चन्द्रवीर राईले प्रतिवेदन दिएको छ । ती तुलना गरिएका Embarkation र Disembarkation card, बरामद भएका चश्मा, टोपी, जिन्स पाइन्ट, मनीव्याग तथा होटल रजिष्ट्रेशन कार्डहरू समेत रहेको भन्दै MARIE ANDRE LUCIE LECLERC ले भारतीय अधिकारीसमक्ष १९७६ मा दिएको बयान समेतबाट प्रतिवादी र कोन्नी जोको काठमाडौंमा भेटघाट भएको पुष्टि हुन्छ भन्दै यिनै कुरा प्रमाण हुनु र २९ वर्ष अघिको अपराध हुँदा तत्काल बुझिएका व्यक्तिहरूलाई यति लामो अवधि पछि बुझि रहन मनासिव देखिएन भन्दै प्रमाण ऐन, २०३१ को दफा १८(१)(२) लाई शून्यकरण गर्दै अनुमानको आधारमा कस्ता कुरा प्रमाणमा कसरी लिनुपर्छ भन्ने विषयमा उक्त ऐनको दफा ३, दफा ४, दफा ५(१)२) (३), दफा ६, दफा ७, दफा ८, दफा ९(१)(२)(३), दफा १०(१)(२) तथा दफा १८ समेतलाई हेर्नुपर्नेमा अदालतले प्रमाणमा लिएको कुरा यसमा पर्दैन । पत्रिकामा केही कुरा छाप्दैमा कसैको फोटो छाप्दैमा अनावश्यक र जथाभावी लेख्दैमा त्यसले कुनै प्रमाणको रुप लिन सक्दैन । उपन्यासको रुपमा लेखिएको र प्रकाशक स्वयम्ले काल्पनिक मानेको पुस्तकमा मृतक कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH) समेतको तस्वीर, हत्याको विषयमा गरिएको वर्णन भएको सो पुस्तक प्रमाणमा लिने विषयमा गरिएको वर्णन भएको सो पुस्तक प्रमाणमा लिने विषय नभएको र मलाई देखाए सुनाएको पनि छैन । त्यस्ता तथाकथित उपन्यासलाई प्रमाणमा लिनु सर्वथा गलत छ । लेखकले कोरा कल्पनामा एउटा उपन्यास रची बेची फाइदा लिने उद्देश्यबाट प्रेरित भन्ने प्रष्ट देखिइरहेको छ ।
KIRSTY MARION MACMILLON ले २४।१२।१९७५ मा मृतक कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH) को लाश सनाखत गर्दा "She mantined to us that she had met a vittnamese jeweller and his french wife who were staying at soaltee oberoi. I know she visited them at that hotel" भनी भनेको मेरो विरुद्ध Circumstancial Evidence भन्दै आधार लिइएका प्रमाण स्वयं विवादास्पद छन्, मलाई देखाए सुनाएको छैन । बरामद भएका विभिन्न वस्तुहरूको बरामदी मुचुल्का समेत विद्यमान छैन । सनाखत गरेको भनेको विषयवस्तु दशीको रुपमा प्रेषित छैन । कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH)) को मृत्युको आरोप मलाई लगाइएको र लरेन्ट क्यारियर (LAURENT CARRIERE) को विषयसँग जोडिएको छ । लरेन्ट (LAURENT) को मृत्युलाई मबाट भएको भन्ने अनुमान र अन्यत्र बैंककमा भएको अन्य व्यक्तिको मृत्यु मबाट भएको भन्ने अनुमान गर्दै प्रस्तुत मुद्दामा मलाई दोषारोपण गरिएको छ । जबकि मृतक लरेन्ट (LAURENT CARRIERE) को मृत्यु बारेको आरोपमा कुनै प्रमाण नभएको स्पष्ट छ र त्यसमा मेरो विरुद्ध केही छैन । बैंककमा केही व्यक्तिको हत्या भएको पत्रिकामा शङ्का गरिएको, त्यस्तो शङ्का र पत्रिकामा उल्लिखित व्यहोराको आधार तथा भारत प्रहरीमा सावित भएको भन्ने तथाकथित व्यहोराको सामाचारको हवाला दिँदै नेपालमा चन्द्रवीर राइले तिनै पत्रिकाको आधारमा पेश गरेको प्रतिवेदन र पत्रिकामा प्रकाशित कुरालाई आधार मानी प्रत्यक्ष प्रमाण नभएपनि Circumstancial Evidence को आधारमा Modus Operandi को आधार मानी र सन् २००३ मा मात्र आएको भन्ने कुरालाई विशेषज्ञद्वारा मेरो पासपोर्टमा भएको सही र १९७५ मा सोल्टी ओवराय समेतको Guest Registration Card मा भएको सहीलाई एकै व्यक्तिको हुनसक्ने भन्ने सम्भावित रायलाई गलत अर्थ गरी एकै व्यक्तिको हो भन्ने राय दिएको भनी आफूले अन्यन्त्र रहेको जिकीर "Plea of alibi" लिएकोले वारदातको बखत अन्यत्र छु भनी जिकीर लिने व्यक्तिले त्यस्तो कुरा आफैंले प्रमाणित गर्नुपर्ने हो यसरी प्रमाणित नभएको अवस्थामा निज विरुद्ध प्रमाण लाग्ने भन्दै मलाई दोषी ठहर गरिएको परिस्थितिजन्य प्रमाणको आधारमा ठहर गर्ने आधारबिन्दु एक सम्बद्ध तथ्यको कडीमा कुनै छुट हुनुहुँदैन । तर प्रस्तुत मुद्दामा ती कुनै पनि कुरा तादाम्यताको छैन । मलाई नेपालमा उपस्थित भएको भन्ने प्रमाणित गराउन यकीन नभएको र सक्कल बिना जाँच गरी दिएको अनुमानित रायलाई प्रमाण लिनु नेकाप २०४८, अङ्क ५, नि.नं.४२७८, पृष्ठ १८६ मा पतिपादित नजीर सिद्धान्त सतेको प्रतिकूल छ । मेरो नेपालमा अनुपस्थित भएको कुरा मैले प्रमाणित गर्नुपर्ने होइन । म विदेशी फ्रेञ्च नागरिक हुँ । म तत्काल नेपाल आएको कुनै प्रमाण छैन । तथाकथित हेनरिकस विन्टान्जा (HENRICUS BINTANJA) को नामबाट नेपाल आएको भन्ने तथ्य विपक्षी वादीबाटै प्रमाणित हुनुपर्ने हुन्छ । त्यस्तो कुनै प्रमाण छैन । मृतक कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH) सँग मेरो कहिल्यै सम्बन्ध छैन । सनाखत कागज भनिएको कुनै रीतपूर्वक छैन र त्यस्तो कागज प्रमाणमा लिन मिल्दैन । मृतक ब्रोन्जिच (BRONZICH) को डायरीमा Mr. A. Gautier Kaint House भनी Bankok को ठेगाना उल्लेख भएको भनी मलाई दोषारोपण गर्न खोजिएको छ यदि मेरो र मृतकको सम्बन्ध थियो भने काठमाडौं ठेगाना हुनुपर्ने हो उल्लिखित ठेगाना नाम मेरो होइन मृतकसँग मेरो सम्बन्ध र सम्पर्क भएको कुनै प्रमाण छैन । बरु KIRSTY MARION MACMILLON को कागजमा मृतक मर्फिन र हेरोइन खरीद गर्न उत्सुक भएको भनिएबाट निज लागू औषध गिरोहसँग सम्बन्धित देखिई रहेको छ । हत्या सम्बन्धमा सेतो कारको वर्णन गरिएको छ जुन कि असम्बन्धित छ । मैले कुनै कार भाडामा लिएको छैन र मैले भाडामा लिएको प्रमाणित पनि छैन । जबकि म नेपाल आएकै छैन । अतः माथि उल्लिखित कारण आधार र कानून तथा नजीरबाट काठमाडौं जिल्ला अदालतको फैसला कानून र न्यायिक सिद्धान्तविपरीत, प्रमाणसम्बन्धी मान्यताविपरीत कथा र पत्रकारको प्रचारद्वारा प्रभावित आत्मपरक अभिव्यक्ति बाहेक अरु केही नहुँदा बदर गरी सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी चार्ल्स शोभराज (CHARLES SOBHRAJ) ले मिति २०६१।७।१३ मा पुनरावेदन अदालत पाटनमा दायर गरेको पुनरावेदनपत्र ।
मौकामा कागज गर्ने व्यक्तिहरूलाई पनि नबुझेका, हस्ताक्षर जाँच गर्ने विशेषज्ञको राय पूरै मिल्छ भिड्छ भनी केही समानता भएको भन्ने सम्म राय व्यक्त गरेको र प्रतिवादी कसूरमा इन्कार भएको र कसूर प्रमाणित गर्ने कुनै प्रत्यक्ष प्रमाण पनि नभएको अवस्थामा प्रतिवादीलाई अभियोग दावीबमोजिम कसूर कायम गरी सजाय गर्ने गरेको शुरुको फैसला फरक पर्नसक्ने देखिँदा छलफलको लागि पुनरावेदन सरकारी वकीलको कार्यालय, पाटनलाई पेसीको जानकारी दिई लगाउको मुद्दा समेत साथैराखी नियमानुसार पेशगर्नु भन्ने पुनरावेदन अदालत पाटनको संयुक्त इजलासको मिति २०६१।१०।२२ को आदेश ।
प्रतिवेदकको हैसियतबाट गुणहरि अधिकारीले आफ्नो तर्फबाट कानून व्यवसायी नियुक्ति गरेको देखिएको र निजले २०३२।९।८ मा प्रस्तुत मुद्दाको प्रतिवेदन दिँदा कोटेश्वर प्रहरी चौकीको हे.क.गुणहरी अधिकारी भन्ने उल्लेख भएको देखिएबाट निज प्रहरी कर्मचारीसम्म भएको हुँदा निजले आफ्नो निजी प्रतिवेदकको हैसियतबाट छुट्टै कानून व्यवसायी नियुक्ति गर्नुपर्ने प्रयोजन नदेखिएको र कानूनतः मिल्ने नदेखिँदा निज तर्फबाट छुट्टै कानून व्यवसायी नियुक्ति गर्न दिन मिलेन । यस अदालतबाट झगडिया झिकाउने गरी २०६१।१०।२२ मा आदेश हुँदा मौकामा कागज गर्ने व्यक्तिहरूलाई नबुझेको भनिएका प्रतिवेदकहरू हे.क.गुणहरि अधिकारी र क. नारायणबहादुर खत्री, चन्द्रिकालाल श्रेष्ठ, रविबहादुर सिँह, पूर्णबहादुर महर्जन समेतलाई पुनरावेदन सरकारी वकील कार्यालय पाटनमार्फत् बुझी नियमानुसार गरी पेशगर्नु भन्ने मिति २०६१।१२।१८ को आदेश ।
मैले आजभन्दा झण्डै ३० वर्ष अगाडि काठमाडौं झोंछे टोलमा ओरियण्टल नामको लज खोजेको थिएँ । मेरो लजमा क्यारियर लरेन्ट (CARRIERE LAURENT) र कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH)) नाम गरेको बिदेशी बसेका थिए । उनीहरू मेरो लजमा ३० वर्ष अगाडिको कुरा हुँदा मलाई लाग्छ ३।४ दिन बसेको, त्यसपछि धुलिखेल जान्छु भनी गएका थिए । मेरो लजमा पुनः फर्किएर आएनन् । कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH)) को मृत्युको सम्बन्धमा सँगै गएको केटाले मारेको भन्ने सुनेको हुँ र पछि चाहिँ शोभराज (SOBHRAJ) ले मारेको भनी सुनेको हुँ, देखेको होइन । कोन्नी जो (CONNIE JO) लाई चार्ल्स शोभराज (CHARLES SOBHRAJ) ले मारेको भनी पत्रपत्रिका र समाचारबाट थाहा पाएको हुँ । मिति २०३२।९।११ गते प्रहरी नायव उपरीक्षकको कार्यालय काठमाडौंमा गरेको कागज देखाउँदा देखें, उक्त व्यहोरा र सोमा लागेको सहिछाप मेरो हो । २०३३।४।२८ गते भएको सर्जमिनको रोहवमा ओरियण्टल लजको मालिक भनी गरिएको सही मेरो हो । मिति २०३२।९।११ को बयानमा जे लेखिएको छ त्यही हुनुपर्छ । मिति २०३१।९।११ को बयानमा कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH)) लाई लरेण्ट क्यारियर (LAURENT CARRIERE) ले मारेको र बैंकक गएको भन्ने थियो, वास्तवमा त्यो नभई शोभराज (SOBHRAJ) ले मारेको भन्ने थाहा भयो । मारेको समाचार ३० वर्ष अगाडिको कुरा हो । मलाई जहाँसम्म लाग्छ गोरखापत्र र राइजिङ नेपालको सामाचारबाट थाहा पाएको हुँ । प्र.ना.उ.को कार्यालयमा गरेको कागजमा शोभराज (SOBHRAJ) ले नै मारेको भन्ने सुनेको कुरा उल्लेख नगरेको, हाल आएर उल्लेख गरेको खवर सुनेको कुराले मात्र भनेको हुँ र पत्र पत्रिकाबाटै थाहा पाएको हुँ भन्ने समेतको आदेशानुसार बुझिएका चन्द्रिकालाल श्रेष्ठले पुनरावेदन अदालत पाटनमा मिति २०६२।१।१५ मा गरेको बकपत्र ।
भक्तपुर जिल्ला अदालतमा वादी श्री ५ को सरकार प्रतिवादी भएको कर्तव्य ज्यान मुद्दा २०३३।९।२२ मा दायर भई २०३३।९।२९।४ मा तामेलीमा राखिएको मिसिल प्रस्तुत मुद्दामा झिकाई प्रमाण लगाई पाऊँ भनी प्रतिवादी पुनरावेदक चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) द्वारा कारागार शाखामार्फत् निवेदनसाथ अभियोगपत्र, आदेशको फोटोकपीहरू प्राप्त हुन आएकोले उक्त कर्तव्य ज्यान मुद्दाको तामेली मिसिल भक्तपुर जिल्ला अदालतबाट झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने २०६२।२।५ को पुनरावेदन अदालत पाटनको आदेश ।
प्रतिवादी चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) सन् १९७५ डिसेम्वरमा आफू नेपाल नआएको भन्ने कुरा स्थापित नभई सो समयमा प्रतिवादी नेपालमा रहेको प्रमाणित र पुष्टि भएको, मृतक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH) सँगै एउटै कोठामा ओरियण्टल लजको कोठा नं.९ मा बसेका क्यानेडियन नागरिक लरेण्ट क्यारियरे (LAURENT CARRIERE) को मनीव्याग प्रतिवादी बसेको होटल सोल्टी ओवरायको कोठा नं.४१५ मा फेला पर्नुका साथै प्रतिवादीले भाडामा लिई चलाएको गोर्खा ट्राभल्सको सेतो ५००१ को कारबाट लरेण्ट क्यारियरे (LAURENT CARRIERE) को चश्मा र जिन्सको प्यान्ट बरामद भएको, मृतक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH) को डायरीमा यी प्रतिवादीको नाम र ठेगाना उल्लेख भएको र मृतक कोन्नी जो ब्रोन्चिज (CONNIE JO BRONZICH) को डायरीमा प्रतिवादीको नाम उल्लेख हुनाको कारण प्रतिवादीले खुलाउन नसकी निजसँग सम्बन्ध सम्पर्क नै नभएको भन्ने निजको बयान मिथ्या साबित भएको तथा हत्या सम्बन्धमा तत्काल यी प्रतिवादीसँग सोधपुछ हुँदा र होटल छाड्दा खबर दिनु भनेको कुरालाई वेवास्ता गरी सामान होटलमै छाडी मोटर बाटो हुँदै भारततर्फ लागेको र बहुमूल्य पत्थरको सम्बन्धमा मृतकसँग भेटघाट सम्बन्ध भएको कुरा पुष्टि भएकोबाट बहुमूल्य पत्थरकै प्रलोभनमा समेत परी प्रतिवादीले मृतक कोन्नी जो नस्ब्रोन्जीच (CONNIE JO BRONZICH) को हत्या गरेको कुरा परिस्थितिजन्य प्रमाणबाट खम्बीर भएको देखिँदा १ सेप्टेम्वर २००३ मा मात्र नेपाल आएको भन्ने प्रतिवादीको बयान Guest Registration Card र पासपोर्टमा रहेको दस्तखत एकै व्यक्तिको हुनसक्ने भन्ने विशेषज्ञको राय भई २००३ मा मात्र नेपाल आएको भन्ने बयान विश्वासयोग्य नदेखिई Guest Registration Card बाट १९७५ December मा प्रतिवादी नेपालमा रहेको पुष्टि भएको र पत्थरका सम्बन्धमा मृतकसँग प्रतिवादीको भेटघाट हुने गरेको भन्ने समेत देखिएको समेतका परिस्थितिजन्य प्रमाणको विवेचना गरी प्रतिवादी चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) लाई कसूरदार ठहर गरी ज्यान सम्बन्धी महलको १३(३) नं.अनुसार सर्वश्वसहित जन्म कैद गर्ने गरेको मिति २०६१।४।२८ को काठमाडौं जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत पाटनको मिति २०६२।४।२० को फैसला ।
परिस्थितिजन्य प्रमाणको आधारमा म पुनरावेदक १९७५ डिसेम्वरमा नेपाल आएको भनी अनुमानित ठहर गरेको छ । तत्कालीन एस.पी.चन्द्रवीर राईको मिति २०३३।४।२० को पत्रको अनुमानित एवं काल्पनिक व्यहोरा र भारत दिल्लीमा १९७६।७।६ मा म पुनरावेदकले गरेको भनिएको कथित बयानलाई मूल प्रमाणको रुपमा ग्रहण गरेको भनेको उक्त पत्र प्रतिवेदन नभएको, भारतीय न्यायालयको फौजदारी मुद्दामा प्रमाणको रुपमा प्रहरी समक्षको कागज नेपालको न्यायिक प्रयोजनकोलागि ग्राह्य हुने कुनै कानूनी आधार नहुँदा प्रमाण ऐन, २०३१ बमोजिम प्रमाण लिन नमिल्ने । निज एस.पी.चन्द्रवीर राईले पेश गरेको २०३३।४।२० को पत्र व्यहोरा न्यायिक पुर्पक्षको रोहमा शुरु तथा पुनरावेदन दुवै तहका अदालतबाट प्रमाणित एवं परीक्षण गरिएको छैन । ३० वर्षको लामो अन्तरालपछि परीक्षण गर्न सकिने अवस्था र न्यायिक आधारसमेत अब विद्यमान छैन । तत्कालीन एस.पी.चन्द्रवीर राईले सोल्टी होटलको कोठा नं.४१५ मा बसेका युवकले आफ्नो नाम BINTANJA HENRICUS र केटीले COCKIE HEMKER र आफू दुबै जना हल्याण्डका नागरिक बताएका र दुबै जनासँग मृतकको नाम लिई सोधपुछ गर्दा नचिनेको बताएको आधारमा तत्काल शङ्का गर्ने कारण आधारको अभावमा हिरासतमा लिन नमिल्ने भनी किटानीसाथ उल्लेख गरेको र निज राईले दुबै शंकास्पद व्यक्तिको फोटो, हस्ताक्षर वा औंठा छाप वा मौकामा कुनै बयानसम्म गराउन नसकी तत्काल निर्दोष मानी छाडेकोमा हाल ३० वर्षपछि सोही पत्रको व्यहोरामा BINTANJA HENRICUS भन्ने व्यक्ति म चार्ल्स शोभराज (CHARLES SOBHRAJ) भनी अनुमान गरी बिना आधार प्रमाण वादी पक्षबाट जवरजस्ती मैले नाम नै नसुने नचिनेका BINTANJA को नामबाट काल्पनिक एवं झूठो आरोप लगाई ज्यान मारेको कसूरमा सर्वश्वसहित जन्मकैदको सजाय गर्नु स्वच्छ एवं शुद्ध न्यायको सिद्धान्त एवं मापदण्ड समेतको उल्लंघन गरिएको छ ।
भारत दिल्ली प्रहरी अधिकारीसमक्ष १९७६।७।६ मा गरेको तथाकथित बयान मैले गरेको भनी सन् २००३ मा अदालतसमक्ष प्रस्तुत गरेको सो कागज अन्तर्राष्ट्रिय वा द्विपक्षीय सन्धि सम्झौताअन्तर्गत प्रचलित विधि प्रक्रियाबमोजिम कुनै अधिकार प्राप्त अधिकारीबाट झिकाई पठाई प्राप्त भएको छैन । सो कागज मलाई नदेखाई मेरो भनाई समेत नबुझी कानूनले प्रमाण लाग्नै नसक्ने कागजलाई एकतर्फी रुपमा प्राकृतिक न्याय सिद्धान्तको उल्लंघन गर्दै प्रमाणको रुपमा ग्रहण गरिएको गैर न्यायिक छ । होटल सोल्टी र होटल मल्लको गेष्ट रजिष्ट्रेशन कार्ड भनिएको फोटोकपीमा भएको भनिएको सहीलाई हाल पासपोर्टमा भएको मेरो सहीसँग मिल्ने सम्भावना रहेको भनी यकीनसाथ नभनेको रायलाई पुनरावेदन अदालत पाटनले ग्रहण गरी फौजदारी मुद्दामा शङ्काको सुविधा प्रतिवादीले पाउने र दावी प्रमाणित गर्ने भार वादीमा रहने भन्ने सर्वमान्य फौजदारी न्यायिक सिद्धान्त एवं प्रमाण ऐन, २०३१ को दफा २५ को व्यवस्था समेत प्रतिकूल फैसला गरेको छ । प्रस्तुत फैसला International Covnent on Civil & Political Rights 1966 -ICCPR_ को धारा १४ मा भएको अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी कानूनी तथा सन्धि ऐन, २०४७ को दफा ९ अन्तर्गत दोहोरो प्रत्याभूति समेतको प्रतिकूल दोषी मानी पूर्वाग्रहयुक्त फैसला भएको छ । त्यसैगरी विवादास्पद गेष्ट रजिष्ट्रेशन कार्डको सक्कल कहाँ कोसित के अवस्थामा छ । किन सक्कल आउन सकेन वा छैन वा नष्ट गरेको हो भन्ने जस्तो प्रश्न उठेपछि यी कुराहरूको न्यायिक छानबीन गरी प्रमाण ग्रहणयोग्य हुन्छ भन्ने न्यायिक विवेचना गरी निरुपण गरिएको छैन । सक्कल बिनाको फोटोकपी कागजलाई ग्रहण गरी सजाय गरिएको अन्यायपूर्ण छ ।
लरेण्ट आरमण्ड क्यारियरे (LAURENT ARMOND CARRIERE) को मृत्युको कर्तव्य ज्यान मुद्दामा मउपर कुनै आरोप नलागेकोमा झूठो प्रचार गरी स्वच्छ सुनुवाई र निष्पक्ष न्याय मैले नपाउने पूर्वाग्राही वातावरण बनाई निज मृतकको मालसामान सोल्टी होटल र ५००१ नं.को सेतो ड्याटसन कारबाट समेत फेला परेको भन्ने कुरा मुचुल्का वा मालसामान दशीको रुपमा पेश गर्न सकेको छैन । यस्तो हुँदै नभएको विषयमा काल्पनिक रचनाको आधारमा काल्पनिक सबूद प्रमाणलाई ग्राह्य प्रमाणको रुपमा स्वीकारी गरिएको फैसलामा गम्भीर कानूनी त्रुटि विद्यमान छ । सेतो कार भाडामा लिने भनिएको व्यक्ति “डच” भनी ड्राइभर पूर्णबहादुर महर्जनले कागज गरिदिएको भनिएको छ । निजलाई अदालतमा वादी पक्षले साक्षीको रुपमा उपस्थित गराउन सकेको छैन । त्यस्तै म विदेशी फ्रेञ्च नागरिक हुँ । म तत्काल वारदातको समय र अवस्थामा नेपाल आएको कुनै प्रमाण वादीले प्रमाणित गर्न सकेको छैन । तथाकथित हेनरिकस विन्टान्जा (HENRICUS BINTANJA) को नामबाट म नै वारदात समयमा नेपाल आएको तथ्य निर्विवाद रुपमा प्रमाणित हुनुपर्ने हुन्छ । यस्तो पूर्व तथ्य (Colateral fact) प्रमाणित गर्ने कुनै प्रमाण पेश छैन । प्रमाण लाग्नै नसक्ने र नेपालको विद्यमान प्रमाण ऐन, २०३१ ले प्रमाण लिन नमिल्ने भन्ने प्रतिपादित सिद्धान्तविपरीत कारवाही र सजाय गरिएको छ । मृतकसँग मेरो सम्बन्ध सम्पर्क भएको कुनै प्रमाण छैन, तसर्थ पुनरावेदन अदालत पाटनको फैसलामा कानूनी एवं न्यायिक सिद्धान्त, प्रमाणसम्बन्धी मान्यताविपरीत, काल्पनिक र सञ्चार माध्यमको झूठो प्रचारद्वारा प्रभावित बाहेक केही प्रमाण छैन । प्रमाण ऐन, २०३१ मा अदालतले के कस्ता प्रमाण ग्रहण हुने र के कस्ता प्रमाणको मान्यता नहुने प्रष्ट व्यवस्था गरेको छ । प्रमाण ऐन, २०३१ को दफा ८, ९(१)(२)(३), १०(१)(२), १५ तथा १८ समेतका दफाहरूमा व्यवस्थित र ग्रहणयोग्य प्रमाणको विद्यमानता छैन, प्रमाण ग्रहण गर्न अवलम्बन गर्नुपर्ने अनिवार्य कार्यविधि समेतको परिपालना भएको छैन । जसबाट पूर्वाग्रही भई कानूनको रत्तिभर पालना नभई आत्मपरक फैसलाबाट मेरो वैयक्तिक स्वतन्त्रता एवं स्वच्छ न्याय पाउनु पर्ने न्यायिक हकको गैरकानूनी हनन् हुनुको अलावा अन्तर्राष्ट्रिय कानूनको मर्यादा नराखी भएको फैसला बदर गरी सफाइ पाऊँ भन्ने समेतको प्रतिवादीले यस अदालतमा २०६२।७।१३ मा दायर गरेको पुनरावेदनपत्र ।
पुनरावेदन अदालत पाटनबाट चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) लाई अभियोग दावीअनुसार सजाय गर्दा Guest Registration Card र चन्द्रवीर राईको प्रतिवेदनलाई मुख्य आधार बनाएको देखिन्छ । उक्त Guest Registration Card को सक्कल प्रति उपलव्ध छैन र Guest Registration Card को फोटोलाई प्रहरी विशेषज्ञबाट जाँच गराएको पाइन्छ । यस्तो जाँच प्रतिवेदनलाई पनि परिस्थितिजन्य प्रमाणको क्रमबद्ध कडीका रुपमा लिएको देखिन्छ । सो फोटोबाट जाँच गराएको प्रतिवेदनले के कति प्रमाणिक मान्यता राख्छ भन्ने कुराको विश्लेषणको अभाव रहेको पाइएको छ । यस सम्बन्धमा उक्त Guest Registration Card को सक्कल प्रति के कहाँ छ, सोको फोटो कहाँबाट प्राप्त भयो ? सबै बुझी सक्कलै कार्ड उपलव्ध गराई सम्बन्धित व्यक्तिको नमूना दस्तखतसमेत लिई रोनाष्ट अथवा सर्वोच्च अदालत रेखा तथा लिखत परीक्षण शाखाबाट जाँच गराउनु पर्ने अवस्था देखिन्छ । मिति २०३३।४।२० को अनुसन्धान प्रतिवेदनका प्रतिवेदक एस.पी.चन्द्रवीर राईको प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम बकपत्र भए गरको देखिएन । मृतकको डायरीबाट चार्ल्स शोभराज (CHARLES SOBHRAJ) को ठेगाना पाइएको आधार उल्लेख गरिएकोमा पनि मिति २०३२।९।१८ को मृतकको सामानको मुचुल्का हेर्दा डायरी उल्लेख भएको नदेखिएको अवस्थामा सो डायरीलाई समेत परिस्थितिजन्य प्रमाणमा लिनुका अतिरिक्त अनुसन्धानको क्रममा बुझिएका ड्राइभर पूर्णबहादुर महर्जन र प्रतिवेदक चन्द्रवीर राईसमेतका व्यक्तिलाई अदालतमा बुझ्दै नबुझी शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला नेकाप २०४८, नि.नं.४२८७, पृष्ठ १८६ मा यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भई फरक पर्नसक्ने देखिँदा छलफलको लागि विपक्षी वादी नेपाल सरकारको तर्फबाट प्रतिरक्षा गर्ने महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने समेतको यस अदालतको मिति २०६३।३।४ को आदेश ।
मिति २०३२।४।२० को पत्र र व्यहोरामा भएको सहीछाप मेरो हो । प्रतिवादी चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) २०३२ सालमा नेपालमा आउँदा एलेन गोटीयर (ALLEN GOTHIER) भन्ने चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) भन्ने हेनरिकस विन्टान्जा (HENRICUS BINTANJA) उही चार्ल्स शोभराज (CHARLES SOBHRAJ) भएको र सोल्टी होटलमा बसेका थिए । कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH) भन्ने व्यक्तिलाई हत्या गर्ने प्रतिवादी चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) नै हो । निज प्रतिवादीले कोन्नी जो ब्रोन्जीच लाई (CONNIE JO BRONZICH) हत्या गरेको सम्बन्धमा निज सोल्टी होटलमा रहेको बेला सादा पोशाकमा रहेका प्रहरीलाई बाहिर निगरानीको लागि राखिएको थियो । निज प्रतिवादी होटलको पछाडिको ढोकाबाट भागी फरार भएको थियो । निज प्रतिवादीलाई भारतमा पक्राउ परी सकेको भन्ने कुरा इन्टरपोलबाट थाहा पाएको हो । भाग्नु अघि पक्राउ गर्नलाई प्रमाण नभएकोले बिना प्रमाण पक्राउ गर्न भएन । साँगा भञ्ज्याङ्ग र मनोहरा खोलामा भएको लाशमा म प्रत्यक्ष संलग्न भई अनुसन्धान गरेको हो र कारवाहीको लागि इन्सपेक्टर विश्वलाल श्रेष्ठ जिम्मा लगाई दिएको हो । म मुचुल्का बनाउँदा संलग्न छैन । घटना घटेको ठाउँमा म पुगेको हो । अनुसन्धान टिमले प्रतिवेदन विभागमा पेश गरेको आधारमा प्रतिवेदन दिएको हो भन्ने समेत व्यहोराको प्रतिवेदक चन्द्रवीर राईले यस अदालतमा मिति २०६३।९।१७ मा गरेको वकपत्र ।
मिति २०३२।९।१८ गते प्र.ना.नि.समक्ष भएको बयान कागजको व्यहोरा र सही मेरो हो । २०३२ सालमा गोर्खा ट्राभल्सको कार चलाउँदा २०३२।९।५ गतेदेखि ऐ.८ गतेसम्म सोल्टी होटलमा बसेको विदेशी “डच” भन्ने व्यक्तिले सो गोर्खा ट्राभल्सको ५००१ नं.को कार भाडामा लिई गएको व्यक्ति यही प्रतिवादी नै हो । उक्त व्यक्ति यही चार्ल्स शोभराज (CHARLES SOBHRAJ) नै हो भन्ने कुरा पत्रपत्रिकामा आएकोले यही व्यक्ति हो भनी भनेको हुँ । २०३२।९।१ गते कहाँ–कहाँ मोटर चलाएँ, गाडी ठेक्कामा दिएकोले केही थाहा छैन । २०३२।९।१५ गते कहाँ–कहाँ मोटर चलाए भन्न सक्दिन । त्यसबेला पौष १ गतेदेखि १५ गतेसम्म सो मोटर कहाँ–कहाँ लगें, याद छैन । चार्ल्स शोभराज (CHARLES SOBHRAJ) भन्ने व्यक्तिलाई फोटोमा, अदालतमा ल्याउँदा र पत्रिकामा देखेको हो । पहिले गाडी भाडामा लाने व्यक्ति यही प्रतिवादी नै हो भन्ने समेत व्यहोराको चालक पूर्णबहादुर महर्जनले यस अदालतमा मिति २०६३।९।१७ मा गरेको वकपत्र ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी, प्रत्यर्थी वादी र पीडित मृतकका पिताका तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीहरूले गर्नुभएको बहसको सारसंक्षेप देहायबमोजिम रहेको छ :
वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निरालाले प्रतिवादी सन् २००३ मा मात्र नेपाल प्रवेश गरेको भन्ने छ तर निज प्रतिवादीउपर लगाएको कर्तव्य ज्यान मुद्दा भने २०३२।९।८ को वारदातको अभियोग छ । अमेरिकन नागरिक कोन्नी जो ब्रोन्चिज (CONNIE JO BRONZICH)) को मृत्यु हत्याबाट भएको भए पनि यिनै प्रतिवादीले गरेको भन्ने अपराधसँग सम्बद्ध प्रमाण वा कुनै चिजवस्तु बरामद हुन सकेको छैन । प्रमाण ऐन, २०३१ को दफा २५ मा अभियोग लगाउने वादीले प्रमाणको भार पुर्याउनु पर्ने हो तर सो पुर्याएको छैन । काल्पनिक र वनावटी प्रमाणका आधारमा अभियोग लगाई कसूरदार कायम गरिएको न्यायसम्मत छैन । प्रतिवादी हेनरिकस बिन्टान्जा (BINTANZA HENRICUS) भएको उल्लेख गरिएको त्यही विन्टान्जा नै यही प्रतिवादी हो भनी भनिए तापनि प्रमाणित र पुष्टि हुने कुनै प्रमाण पेश गर्न सकेको छैन । Guest Registration Card बाट प्रतिवादी नेपाल आएको भनिए पनि त्यस्तो कार्डको सक्कल नभएको फोटो मात्र पेश गरेको अवस्था छ । त्यसको आधिकारिकता पुष्टि हुने सक्कल प्रमाण सम्बन्धित होटेलबाट दाखिला हुन वा गराउन नसकेको कारण अभियोग दावी प्रमाणित र पुष्टि हुन नसक्ने हुँदा प्रतिवादीउपरको आरोपका सम्बन्धमा प्रमाणित गर्ने कुनै सक्कल लिखत प्रमाण वा प्रत्यक्षदर्शी समेत नभएपछि ३० औं वर्षपछि आएर प्रतिवादीउपर आरोप लगाउन र सजाय गर्न नमिल्ने हुँदा सफाइ दिइनु पर्छ भन्नुभयो ।
त्यसैगरी अधिवक्ता रामप्रसाद श्रेष्ठले प्रस्तुत मुद्दाको वारदातका सम्बन्धमा प्रतिवादी के कहिले नेपाल प्रवेश गरेको हो र के कुन योजनाबाट के कहाँ कसरी के कस्तो अपराध गर्यो भन्ने कुरा निर्क्यौल गर्नुपर्नेमा सो गरिएको छैन । प्रतिवादी वारदात भएका बखत नेपालमा बसेको आरोप लगाइएको भएता पनि त्यस्तो विदेशी व्यक्तिले होटलमा बस्दा भर्ने Guest Registration Card सक्कल दाखिला गर्नुपर्नेमा सक्कल प्रति होटलबाट पेश दाखिला गरेको अवस्था छैन । प्रतिवादी पहिलो पटक सन् २००३ सालमा नेपाल आएको हुँदा डिसेम्वर १९७५ मा आएको भन्ने कुरा गलत हो । मृतक कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH)) लाई कर्तव्य गरी मारेको भन्ने कुनै चस्मदित गवाहसमेत पेश दाखिला हुन नसकेकोले प्रत्यक्ष प्रमाणको अभावमा वनावटी परिस्थितिजन्य प्रमाणले कानूनी मान्यता प्राप्त गर्न नसक्ने हुँदा प्रतिवादीलाई सफाइ हुनुपर्छ भन्नुभयो ।
अधिवक्ता लोकभक्त राणा प्रतिवादीलाई प्रत्यक्ष प्रमाणको अभावमा परिस्थितिजन्य प्रमाण लगाई सजाय गर्न मिल्दैन । प्रतिवादीउपर लगाइएको आरोप आफैंमा विवादास्पद (controversial) छ । अभियोग दावी ठहर गर्दा लगाइएको परिस्थितिजन्य प्रमाण प्रस्तुत अभियोगको घटनामा सम्बन्धित (related) छैनन् । प्रतिवादी नेपालमा सन् २००३ भन्दा पहिले नआएको हुँदा वारदात समय सन् १९७५ मा नेपाल आएको भन्ने कुरा सर्वप्रथम प्रमाणित हुनुपर्छ । नेपाल आएको प्रमाणित नै नभई कुनै कसूरको अभियोग लगाउन कानूनी सिद्धान्तसमेतको आधारमा मिल्दैन । प्रतिवादी सोल्टी होटेल र मल्ल होटेलमा बसेको भन्ने वादीको भनाई नै पुष्टि हुन सकेको छैन । किनकि प्रतिवादी होटेलमा बसेका भनिएका होटलका Guest Registration Card का सक्कल समेत वादी पक्षले पेश दाखिला गर्न सकेको छैन । सक्कलको अभावमा प्रमाण भनी पेश गरिएका फोटोकपीबाट कसूर कायम हुन र त्यस्ता फोटोकपी नक्कलले सक्कलको स्थान ग्रहण गर्न सक्दैन । फोटोकपी जस्तोपनि हुन सक्ने भएको हुँदा सक्कल प्रतिबाट विशेषज्ञले जाँच गरी यकीन गर्नुपर्ने हुन्छ । सक्कलको अभावमा फोटोकपीबाट विशेषज्ञले जाँच गरिदिएको प्रतिवेदनको आधिकारिकता नहुने र ज्यान जस्तो गम्भीर अपराधमा दोषी ठहराउन नमिल्ने, शंकाको सुविधा अभियुक्तले पाउने फौजदारी न्याय सिद्धान्त समेत हुँदा वारदातका बखत नेपाल नै नआएका प्रतिवादीलाई कसूर अपराध ठहर गरी सजाय गरेको नमिलेको हुँदा सफाइ पाउनु पर्छ भनी जिकीर लिनुभयो ।
अर्का अधिवक्ता शकुन्तला थापाले प्रतिवादीउपर अनुसन्धान प्रक्रियाको Report तयार गरी Home Ministry लाई दिएको प्रतिवेदनका आधारमा मुद्दा चल्न सक्दैन । प्रतिवादी नेपाल आएको भए के कुन मितिमा नेपाल आएको हो स्पष्ट गर्नुपर्नेमा सोको केही कागज प्रमाण दिन सकेको छैन । विदेशी नागरिक नेपाल प्रवेश गर्दा पुर्याउनु पर्ने प्रक्रियाअन्तर्गतका सो बखतका सरकारी Documents के कहाँ छन् नेपाल प्रवेश गर्दाका बखतको आधिकारिकता पुष्टि गर्ने त्यस्ता Document पेश दाखिला हुन सकेका छैनन् । जसले गर्दा तत्कालीन समयमा निज नेपाल प्रवेश गरेको भन्ने आधार झूठा हो । विपक्षीले प्रतिवादीउपर लगाइएका अभियोगका कुनै पनि सक्कल कागजातहरू प्रमाणमा दिन सकेको छैन । होटल सोल्टी र मल्ल होटलमा बस्ने व्यक्ति यी प्रतिवादी चार्ल्स शोभराज (CHARLES SOBHARAJ) नै हो भन्न र लेख्न समेत सकेको छैन । एलेन गोटिएर (ALLEN GAUTIER) र हेनरिकस विन्टान्जा (BINTANZA HENRICUS) नै चार्ल्स शोभराज (CHARLES SOBHARAJ) हो भन्ने दुनियाँमा नै प्रमाणित हुन नसकेको र नभएको तथा वारदात समयमा नेपालमै नआएको व्यक्तिलाई लगाइएको अभियोग कानूनविपरीत छ । प्रतिवादीलाई बाहिरबाट ल्याइएका झूठा Documents बाट कसूर अपराध गरेको भनी प्रमाणित गर्न खोजिएको छ त्यस्ता झूठा Documents मा कुनै प्रमाणको गुन्जाइस देखिँदैन । प्रत्यर्थी पक्षबाट पेश दाखिला भएका फोटोहरूको कुनै आधिकारिकता छैन र त्यस्तो फोटो को कसले खिचेको हो सो समेत खुल्दैन त्यसमा पनि फोटो रील सन् १९७५ को तर फोटो १९८६ को हुँदा यस्ता फोटोले कुनै कानूनी अर्थ राख्दैन । ती सबै Fabricated हुन् । २०३२ सालमा अनुसन्धान गर्ने तत्कालीन एस.पी.चन्द्रवीर राई नै हाल अदालतमा बयान गर्ने व्यक्ति सो चन्द्रवीर राई नै हो भनी मान्न सकिने अवस्था पनि छैन किनकि ३० औं वर्ष पहिलेका एस.पी.चन्द्रबीर राई जागीरबाट अवकाश भई हाल कहाँ छन् भन्न सकिँदैन । प्रतिवादी तत्कालीन समयमा होटलमा बसेको भनी अरु नै व्यक्तिले भरेको Guest Registration Card पेश गरी अभियोग कसूर प्रमाणित गर्न खोजिएको छ, त्यसमा पनि ती Guest Registration Card को सक्कल पेश गर्न नसकेको र होटेलबाट त्यस सम्बन्धमा स्पष्ट पार्न नसकेको अवस्थामा त्यसउपर प्रश्न चिन्ह खडा भइरहेको स्थितिमा प्रतिवादीउपर लगाइएको अभियोग नै Fabricated भन्ने प्रमाणित हुने हुँदा शुरु र पुनरावेदन अदालतबाट प्रमाणको मूल्याङ्कन र विवेचना नै नगरी प्रतिवादीउपर ठहर गरेको फैसला प्रमाणको रोहमा त्रुटिपूर्ण र कानूनविपरीत हुँदा प्रतिवादीलाई सफाइ दिइनु पर्छ भनी जिकीर लिनु भयो ।
त्यस्तै अधिवक्ता रामबन्धु शर्माले मेरो पक्षलाई २०३२।९।८ मा कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH) को हत्यामा संलग्न भएको भनी आरोप लगाइयो तर त्यस बखत सो हत्यामा कोही कसैलाई पक्राउ गरिएको छैन । २०३३।४।२० मा तत्कालीन एस.पी.चन्द्रबीर राईले अनुसन्धान गरी प्रतिवेदन तयार गरेको देखिन्छ । सो प्रतिवेदनमा पनि प्रतिवादीको कुनै नाम उल्लेख छैन र कोही कसैलाई पक्राउ गरिएको थिएन । यी प्रतिवादी त्यस बखत नेपाल आएको भए तत्कालै पक्राउ गर्नुपर्ने थियो पक्राउ हुन नसक्नुको कारण निज प्रतिवादी सन २००३ भन्दा अगाडि नेपाल आएको नै थिएन भन्ने हो । मृतकको डायरीमा प्रतिवादीको नाम र ठेगाना फेला परेको भने पनि सो डायरी मिसिल सामेल नभएको अवस्थामा प्रतिवादीको ठेगाना कसरी फेला पर्न सक्छ त्यो नै स्पष्ट छैन । त्यस्तै प्रतिवादी बसेको भनिएको सोल्टी होटल र मल्ल होटलको तत्कालीन समयको Guest Registration Card फेला नपरेको त्यस्तो सक्कल कार्ड फेला नपरेपछि फोटोकपीबाट विशेषज्ञद्वारा जाँच गराइएको भए तापनि त्यस्तो कागजातले प्रमाण ऐन, २०३१ को दफा ३५ बमोजिम सक्कल नभएको फोटोकपीलाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन र सो सम्बन्धमा विशेषज्ञले दिएको रायले कुनै कानूनी मान्यता समेत राख्दैन । तत्कालीन एस.पी.चन्द्रवीर राईको प्रतिवेदनमा प्रतिवादीले बैंककमा आई हेनरिकस बिन्टान्जा (BINTANZA HENRICUS) को हत्या गरी सोही हेनरिकस बिन्टान्जा (BINTANZA HENRICUS) को राहदानी लिई नेपाल प्रवेश गरेको भन्ने छ । तर बैंककमा यी प्रतिवादीबीच कुनै जाहेरी वा अभियोगमा मुद्दा चलाइएको छैन । वादी पक्षले पेश गरेका Guest Registration Card को सक्कल नभएका र फोटोकपीमा पनि होटल सोल्टी र मल्ल होटल दुबैका कार्डमा Departure Date : 27 December 1975 भनी एकै दिन लेखिएबाट एकै व्यक्ति दुबै होटलबाट एकै दिन कसरी Departure हुन सक्छ । तसर्थ यी Guest Registration Card वनावटी भन्ने प्रमाणित हुन्छ । नेपालमा अपराध गरेको भन्ने कुरा भारतमा स्वीकार गरिएको भन्ने जस्ता सरकारी पक्षको अभियोग छ । त्यसमा यी प्रतिवादीले निजलाई भारतमा लागेका निज विरुद्धका कुनै पनि मुद्दामा स्वीकार गरेको छैन यदि त्यस्तो स्वीकारेको भए सोको आधिकारिक प्रमाण वादी पक्षले पेश गर्न सक्नु पर्ने तर पेश गर्न सकेको छैन । अपराधसँग सम्बन्धित सम्बद्ध प्रमाण र आधिकारिक Documents वादी पक्षले केही पनि पेश गर्न सकेको छैन । सरकार वादी भै चलेका फौजदारी मुद्दा अदालतमा दायर भई सकेपछि अदालतको आदेश वेगर प्रमाण पेश गर्न नमिल्ने र पेश गरे पनि त्यस्ता प्रमाण कागजले कानूनी मान्यता समेत पाउन सक्दैन । वारदात देख्ने चश्मदित गहवाहसमेत नभएको र जाहेरी पनि किटानीसाथ नपरेको हुँदा प्रतिवादीउपरको अभियोग कोरा काल्पनिक मात्र छ । प्रतिवादीले अरु देशमा ज्यान मारेको Modus Operandi प्रस्तुत मुद्दाको सन्र्दभमा पनि एकै थियो भने पनि त्यो के कुन कस्तो प्रकारको हत्या विदेशमा भएको र त्यो कसरी मिल्न गयो त्यसको कुनै व्याख्या र विश्लेषण गरी पुष्टि गर्न सकेको छैन । थाइल्याण्ड र भारतमा पनि प्रतिवादीले यस्तो हत्या गरेको भने पनि ती देशहरूमा प्रतिवादीहरूलाई अभियोग लगाई सजाय भएको छैन । तसर्थ वारदात समयमा नेपाल नआएका प्रतिवादीलाई तीसौं वर्ष अघिको हत्याको अपराधमा काल्पनिक र वनावटी सक्कल बिनाको नक्कल प्रमाण बनाई परिस्थितिजन्य प्रमाणको सृङ्खला तयार गरी पत्र पत्रिका र मिडियाले Provoke गरेको भरमा र Interpol को समेत प्रतिवादीउपर कुनै त्यस्तो आधिकारिक Documents नभएको अवस्थामा बनावटी तथ्यका आधारमा लगाइएको अभियोगबाट पूर्ण रुपमा सफाइ दिनुपर्छ ।
वादी नेपाल सरकारका तर्फबाट सहन्यायाधिवक्ता कृष्णप्रसाद पौडेलले अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH) को हत्यामा संलग्न यी प्रतिवादी र मृतक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) को भेटघाट भएको र कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH) को हत्या कर्तव्यबाट भएको कुरामा पुनरावेदक प्रतिवादीले विवाद उठाएको छैन । यी प्रतिवादी तत्कालीन समयमा होटल सोल्टीमा बसेको तथ्य Guest Registration Card बाट पुष्टि हुन्छ । सो Guest Registration Card मा भएको हस्ताक्षर र निज प्रतिवादी तत्कालीन समयमा BINTANZA HENRICUS को नामबाट प्रयोग गरेको Passport मा भएको हस्ताक्षर र पछि चार्ल्स शोभराज (CHARLES SOBHARAJ) को नामबाट नेपाल प्रवेश गर्दा गरेको हस्ताक्षर एक आपसमा मिले भिडेको भन्ने विशेषज्ञले दिएको रायबाट समेत यी विभिन्न नामधारी व्यक्ति हाल पक्राउ परी सजाय भोगिरहेका चार्ल्स शोभराज (CHARLES SOBHARAJ) हुन् भन्ने कुरा तथ्यले प्रमाणित गरेको छ । जहाँसम्म Guest Registration Card को सक्कल फेला नपरेको भन्ने छ त्यसमा अदालतमा रहेका कागजातहरू समेत निश्चित समयपछि धुल्याइने व्यवस्था भएको र होटलले समेत त्यस्ता वर्षौ पुराना कागजात धुल्याउन सक्ने हुन्छ । त्यसमा पनि तत्कालीन होटलको नाम तथा व्यवस्थापन समेत हाल परिवर्तन भइसकेको हुँदा ती कागजातहरू फेला नपरेका हुन् र विशेषज्ञले जाँच गर्दा फोटो खिचेर Verification गर्ने हुँदा प्रस्तुत मुद्दामा भएका फोटोहरू खिचिएका Guest Registration Card हाम्रो कव्जाका नभई होटलमा भएका र फोटोसम्म तत्कालीन समयमा अनुसन्धानको क्रममा खिच्न दिएको हाम्रो होटलका भनी होटलले समेत स्वीकार गरेको अवस्थामा त्यस्ता हाल फेला नपरी हराएका वा नासिएका लिखत प्रमाणलाई अन्यथा नभनी प्रमाणमा लिन मिल्ने हुँदा प्रमाण ऐन, २०३१ को दफा ३५(२) यहाँ आकर्षित हुन्छ । यी प्रतिवादी अन्तर्राष्ट्रिय अपराधी भएको भन्ने कुरा विभिन्न सञ्चार माध्यमबाट देखिई रहेको र निजलाई थाइल्याण्डबाट सुपुर्दगीको लागि पत्राचार गरेको तथा भारतमा त अपराधमा सजायसमेत भोगिरहेको बेला जेलबाट भागेको अवस्था समेत छ । प्रस्तुत मुद्दाका प्रतिवेदक र ड्राइभरसमेतले अदालतमा आई तत्कालीन अपराध र घटनाका सम्बन्धमा प्रतिवादीको संलग्नता स्वीकार गरी प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम बकपत्रसमेत गरेको अवस्थामा अपराध भए गरेको तथ्य स्थापित भई मालाकार कडीको रुपमा प्रमाणहरू थपिंदै–थपिंदै Chain बनेको अवस्थामा मुद्दामा भएको Circumstances प्रमाणहरू समेत प्रमाणमा लिई प्रतिवादीउपर अभियोग दावीबमोजिमको कसूर अपराध ठहर गरेको शुरु अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला कानूनसम्मत नै हुँदा सदर कायम हुनुपर्छ भनी बहसका क्रममा भन्नुभयो ।
त्यसै क्रममा उपन्यायाधिवक्ता श्रीकृष्ण भट्टराईले यी पुनरावेदक प्रतिवादीले नेपालमा मात्र अपराध गरेका छैनन् । विभिन्न देशमा Wanted को सूचीमा रहेका र १८ डिसेम्वर १९७५ मा नेपाल आई सोल्टी होटलमा बसेका यी प्रतिवादीले विभिन्न देशमा विभिन्न व्यक्तिलाई हत्या गर्दै निजैको Passport बाट एक देशबाट अर्को देशमा जाने अन्तर्राष्ट्रिय अपराधी हुन् । यसै क्रममा १९७५ मा बैंककमा हत्या गरिएको हेनरिकस बिन्टान्जा (BINTANZA HENRICUS) भन्ने व्यक्तिको नामको पासपोर्टबाट नेपाल आई क्यारियरे लरेन्ट (CARRIERE LAURENT) र कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) को हत्या गरी मृतक क्यारियरे लरेन्ट (CARRIERE LAURENT) को पासपोर्ट प्रयोग गरी नेपालबाट बाहिर बैंकक भागी गै भोलिपल्ट नेपाल आएको, प्रहरीले निगरानी राखेको भन्ने थाहा पाई होटल सोल्टीमा आफ्नो सामान छाडी भागि गएको र भारतमा पक्राउ परी जेल परेको पछि कैद भुक्तान गरी फ्रान्स गई निज आफ्नै चार्ल्स शोभराज (CHARLES SOBHARAJ) नामको Passport लिएर १ सेप्टेम्वर २००३ मा नेपाल आएको र सो अवस्था अस्तित्वमा नरहेको ओवराय होटलमा बस्ने भनी ठेगाना लेखाएको छ । यदि पहिलो पटक नेपाल आएको, भए सन् २००३ मा नभएको ओवराय होटल कसरी लेख्यो, यो ओवराय होटल १२ वर्ष पहिले नै नाम परिवर्तन भई क्राउन प्लाजा भइसकेको छ । निजलाई याक एण्ड यति होटलबाट पक्राउ गरिएको छ । यी प्रतिवादीलाई प्रस्तुत मुद्दाको वारदात गर्नु अघिबाटै सन् १९७३ मा इन्टरपोलले रेड कर्नर जारी गरेको हुँदा प्रतिवादी पहिलेदेखि कै पेसेवर अपराधी भएको र विभिन्न देशमा हत्याका अपराध गरी तिनै मृतकका Passport प्रयोग गरी सोही नामबाट हिड्ने गरेको स्पष्ट हुन्छ । निज चार्ल्स शोभराज भारतको तिहाड जेलमा छँदा निजको अन्तर्वार्ताको आधारमा लेखिएको पुस्तक The Life and Crimes of charles sobharaj भन्ने पुस्तकमा उल्लेख भएका तथ्य तथा निजले नै उपलव्ध गराएको आफूले हत्या गरेको व्यक्तिको फोटो समेतका कुरा निजका विरुद्ध प्रमाणमा लिनुपर्ने हुन्छ । सो पुस्तकमा निजले कोन्नी जो ब्रोन्चिजको हत्या आफूले गरेको भनी स्वीकार गरेको छ । सो पुस्तकमा उल्लेख भएको तथ्यको निजले खण्डन गरेको छैन । थाइल्याण्डको अपराधमा प्रहरीले रेड गर्दा बरामद भएको Visiting Card र नेपालको सोल्टी होटलमा रेड गर्दा त्यस्तै Visiting Card फेला परेको र बैंकक पोष्टको १९७६ मा प्रकाशित पत्रिकाका समाचार अनुसार बैंककमा मानिस मार्दाको अपराधको प्रकृति र नेपालमा मानिस मार्दाको अपराधको प्रकृति एकै भएको भनी प्रकाशितसमेत गरेको छ । भारतमा यी प्रतिवादी विरुद्ध चलेका मुद्दामा निजले भारत, बैंकक र नेपाल अलग–अलग मुलुकमा यी प्रतिवादीले आफ्नो नाम फेर्ने गरेका भनी बोलिएको र भारतमा ११ वर्ष जेल सजाय पाएकोमा जेल Break गरेर हिडेकोबाट निज कुशल पेसेवर अपराधी हो भन्ने तथ्य स्थापित हुन्छ । ती विदेशी अदालतका फैसला र कागजातलाई अन्यथा प्रमाणित नगराए वा नभएसम्म प्रमाण ऐन, २०३१ को दफा ६ बमोजिम अदालतले अनुमान गर्न सक्ने व्यवस्था अनुसार यस्ता सूचनाहरू अदालतले अनुमान र जानकारी लिन मिल्छ । प्रतिवादीले वारदात समयमा आफू नेपाल नआएको भने तापनि र अभियोजन पक्षबाट निजका विरुद्ध प्रमाण पेश गरेपछि निज प्रतिवादीले सो समयमा आफू नेपाल नआएको भए यो यस ठाउँमा थिएँ भनी Alibi को कुनै निश्चित प्रमाण पेश गर्न सक्नु पर्नेमा सकेको छैन । यस्तो Alibi को जिकीर लिई अन्यथा प्रमाणित गर्न नसकेको अवस्थामा अपराधबाट उन्मूक्ति पाउन सक्दैन ।
प्रतिवादी एलेन गोटियर (ALLEN GAUTIER), हेनरिकस विन्टान्जा (BINTANZA HENRICUS) वा चार्ल्स शोभराज (CHARLES SOBHARAJ) जे नाम दिए पनि यी विभिन्न नामका एकै व्यक्ति भएको यी प्रतिवादीले पहिले नेपाल आउँदा होटल सोल्टीको Guest Registration Card मा निजले गरेका हस्ताक्षर र हाल नेपाल आउँदा निजको पासपोर्टमा भएको गरेको हस्ताक्षर मिल्छ, भिड्छ भनी विशेषज्ञले राय दिएको र एक देशमा हत्या गरी त्यही मृतकको पासपोर्ट प्रयोग गरी अर्को देशमा जाने, अर्को देशमा पनि अर्को व्यक्तिको हत्या गरी त्यही मृतकको नामको Passport प्रयोग गरी अर्को–अर्को गर्दै मारिएका व्यक्तिको नामबाट आपराधिक कार्य गर्दै हिड्ने विभिन्न नाम भएका यी प्रतिवादी अपराध गर्न खप्पीस भएको तथ्य निजका बारेमा प्रकाशित विभिन्न पुस्तक, फैसला, इन्टरपोलको रिपोर्टसमेतबाट प्रतिवादीको आपराधिकता पुष्टि भइरहेको तथ्यहरूका सम्बन्धमा आधिकारिकताको प्रश्न नउठेको र ती कुराहरूलाई निजले स्वीकारै गरेको समेत देखिँदा यस्तो कुराहरूलाई अदालतले Judicial Notice मा लिन र प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने हुँदा पुनरावेदन अदालतले निजलाई अभियोग दावीबमोजिम कसूरदार ठहर्याई सजाय गर्ने गरेको फैसला मिलेकै देखिँदा सदर हुनुपर्छ भनी भन्नुभयो ।
मृतकको पिताका तर्फबाट अधिवक्ता डा.रजितभक्त प्रधानाङ्गले प्रतिवादी सामान्य अपराधी नभई अन्तर्राष्ट्रिय अपराधी हो । निज प्रतिवादी आफू जुन–जुन देशमा जान्छ त्यहाँ हत्या जस्तो गम्भीर अपराध गरी ती हत्या गरिएकै व्यक्तिको नामको पासपोर्टसमेत प्रयोग गरी हिड्ने कुख्यात कुशल अपराधी हो । तर निजले जुन देशमा जहाँ–जहाँ हत्याको वारदात गरेको छ ती सबै एकै प्रकृतिका देखिन्छन् । निजले नेपालमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH) को हत्या विक्रम संवत् २०३२।९।८ गते गरी नेपालमा अनुसन्धान प्रक्रिया चल्दा–चल्दै निज विदेशी अभियुक्त भागी फरार भएको हो । यी प्रतिवादीलाई नेपालले मात्र पक्राउ गर्न खोजी गरिरहेको अवस्था नभई जुन–जुन देशमा निजले हत्याको अपराध गरेको छ ती–ती देश तथा इन्टरपोलसमेतले अपराधी स्वीकार गरी अन्तर्राष्ट्रिय स्तरमै खोजी रहेको अवस्था छ । निजलाई भारतमा पक्राउ गरी कैदको सजाय भै जेल परेकोमा सजाय भुक्तान गरी फ्रान्समा गई Passport चार्ल्स शोभराज (CHARLES SOBHARAJ) को नामले नेपाल प्रवेश गरेको हो । निजले पहिले अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) को हत्या गर्दा हेनरिकस विन्टान्जा (BINTANZA HENRICUS) को नामबाट नेपाल आएको थियो भने अहिले पक्राउ पर्दाका अवस्थामा चार्ल्स शोभराज (CHARLES SOBHARAJ) नामले आएको छ । निजले अपराध गर्नु पूर्व अपराधका सम्पूर्ण योजनाहरू बनाई त्यसैको सेरीजको आधारमा हत्या गर्दै गएको देखिँदा निजको अपराधिक मनसाय र अपराधिक कार्यजस्ता दुबै तत्वको विद्यमानता देखिन्छ । निजले नै नेपालमा अपराध नगरेको भए तीसौ वर्षपछि निजको विरुद्धमा मुद्दा चलाउनु पर्ने र हत्या गरेको भन्नुपर्ने पनि थिएन । तर निज प्रतिवादीले अपराध बखत गर्दा अर्कै नामले नेपाल आएको र पछि अर्कै नामले आफूले गरेको अपराधको जानकारी लिने उद्देश्यले आएको हुन सक्ने अवस्थामा पहिले सन् १९७५ मा विन्टान्जा (BINTANZA) को नामले नेपाल आएको व्यक्ति क्यारियरे लरेन्ट (CARRIERE LAURENT) को नामबाट नेपाल बाहिर गएको र ३० औं वर्षपछि चार्ल्सका नामबाट पुनः नेपाल आएको पहिचान गरी पक्राउ गरेको व्यक्ति यी प्रतिवादी नै कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) को हत्यारा हो । कुशल अपराधी भएको र ज्यान जस्तो गम्भीर अपराध गर्दै हिड्ने भएकोले तीसौं वर्ष पहिले आफूले घटाएको अपराधको घटना तीसौ वर्षसम्म कायमै रहेको भन्ने नठानी पहिलेको अपराधको जानकारी लिन र आफू नेपालमा सुरक्षित हुन्छु भन्ने ठानी प्रवेश गरेको अवस्थामा पक्राउ परी कसूर अपराध ठहरी सजाय समेत पाएको हुँदा निजलाई शुरु अदालत र पुनरावेदन अदालतबाट अभियोग दावीबमोजिम कसूरदार ठहराएको फैसला मिलकै देखिँदा सदर हुनुपर्छ भन्नुभयो ।
त्यस्तै अर्का अधिवक्ता रमेशप्रसाद कोइरालाले प्रतिवादीको कसूर अपराध निजका विगतका विभिन्न देशमा भए गरेका हत्या र भोगेका सजायबाट प्रमाणित भइसकेको छ । निज प्रतिवादीले अभियोगलाई मात्र अस्वीकार गरेको छ तर अपराध र अपराध भएको समयमा आफू अन्यत्र रहेको भनी जिकीर लिन सकेको छैन । अभियोग अस्वीकार गरे पनि सोको विश्वसनीय प्रमाण दिन सकेको छैन । मौकामा कागज गर्ने व्यक्ति, विशेषज्ञका राय तथा भारतमा ज्यान मुद्दामा पक्राउ हुँदा तत्कालीन समयमा म नेपालमा समेत गएको थिएँ भनी गरेको बयानबाट सन् १९७५ मा नेपाल आएको पुष्टि हुने र भारतमा भएको हत्याको सम्बन्धमा पाएको सजाय तथा निजको अपराध सम्बन्धमा प्रकाशित विभिन्न पुस्तकसमेतका आधारमा निज निरपराधी हो भन्न सक्ने कुनै तथ्य र प्रमाण परिबन्दबाट नदेखिँदा निजलाई अभियोग दावीबमोजिम कसूर अपराध ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिँदा सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
साथै विद्वान कानून व्यवसायीहरूले आ–आफ्नो बहसको समर्थनमा लिखित बहसनोट समेत प्रस्तुत गर्नु भएको रहेछ ।
आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा उपर्युक्त बमोजिम पुनरावेदक प्रतिवादी, नेपाल सरकार, तथा पीडित पक्षका तर्फबाट उपस्थित हुनु भएका विद्वान कानून व्यवसायीहरूले गर्नु भएको बहस सुनी दुवै पक्षका तर्फबाट पेश भएको लिखित बहसनोट तथा मिसिलबाट देखिएको तथ्य र प्रतिवादीउपर लगाइएको अभियोग दावीको सम्बन्धमा शुरु अदालतबाट भएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने हुन आएको छ ।
२. निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा अमेरिकी नागरिक सुश्री कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH) लार्ई प्रतिवादी हेनरिकस विन्टान्जा (HENRICUS BINTANJA) को नामले बसेको एलेन गोटियर (ALLEN GOTHIER) भनिने फ्रेञ्च नागरिक चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURUMUKH) समेतले हत्या गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतबाट यी प्रतिवादीले अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH) लाई कर्तब्य गरी मारेको ठहराई निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहराएको र सोउपर परेको पुनरावेदनमा पुनरावेदन अदालत पाटनले शुरु जिल्ला अदालतको फैसलालाई नै सदर गरेको र पुनरावेदन अदालतको फैसलाउपर यी प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा आफू सन् २००३ सेप्टेम्वर १ भन्दा अगाडि नेपालमा नआएको भन्दै प्रतिवादीका विरुद्धमा प्रमाण ग्रहण गरिएका सवै कुराहरूलाई इन्कार गर्दै मृतकलाई आफूले नमारेको हुँदा प्रमाण कानूनका आधारभूत सिद्धान्त र स्वच्छ सुनुवाईको सिद्धान्तविपरीत पछि प्रस्तुत गरिएका प्रमाणहरूको आधारमा आफू विरुद्ध न्यायको अपहरण हुने गरी पुनरावेदन अदालत समेतबाट फैसला भएकोले उक्त फैसला बदर गरी सफाइ पाउनु पर्ने भन्ने समेत जिकीर लिएको पाइयो ।
३. मिति २०३२।९।७ तदनुसार डिसेम्बर २२, १९७५ को राति हेनरिकस विन्टान्जाको नामले बसेको एलेन गोटिएर भन्ने चार्ल्स शोभराज गुरुमुख, मेरी एण्ड्रे लुसी लेक्लर्क र अजय चौधरी समेतले लरेण्ट आरमण्ड (LAURENT ARMOND) धुलिखेलतर्फ गएको छ भेट्न जाने भन्ने निहुँ पारी सुश्री कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH) लाई पनि लरेण्ट आरमण्ड क्यारियरे (LAURENT ARMOND CARRIERE) को हत्याको १ दिनपछि अर्थात् सन् १९७५ डिसेम्वर २२ तदनुसार २०३२।९।७ गतेको राति काठमाडौं जिल्लाको सिनामंगलमा भक्तपुर–काठमाडौं अरनिको राजमार्गदेखि उत्तरमा निज कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH) लाई मारी अनुहार नचिनिने अवस्था तुल्याई मारी फालेका र मारिएका मध्ये लरेण्ट आरमण्ड क्यारियरे (LAURENT ARMOND CARRIERE) को पासपोर्टमा एलेन गोटियर (ALLEN GAUTIER) भनिने चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURUMUKH) ले आफ्नो फोटो टाँसी प्रतिवादी अजय चौधरीले आफू र चार्ल्स शोभराज (CHARLES SOBHRAJ) समेत मृतक लरेण्ट आरमण्ड (LAURENT ARMOND) को नामबाट मिति २०३२।९।८ कै दिन ११:३० बजे हवाईमार्गबाट बैंकक गई भोलिपल्ट पुनः काठमाडौं फिर्ता आएको, कर्तव्यवाला तीन जनामध्ये बैंकक नगई बसेका मोनिक लेक्लर्क (MONIQUE LECLERC) भनिने मेरी एंड्रे लुसी लेक्लर्क (MAIRE AINDRE LUCIE LECLERC) मल्ल होटेलमा गई बसेको र निजहरू फर्केपछि पुनः सोल्टी होटलमा निज एलेन गोटियर (ALLEN GAUTIER) को साथमा बस्न आएकी । यसरी होटल सोल्टी मै गएर आफूहरू निरपराधी जस्ता भई अपराध छिपाई बसेको र अभियुक्त एलेन गोटियर (ALLEN GAUTIER) भनिने चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURUMUKH), कुकी हेमकर (COCKIE HEMKER) को नाउँबाट बसेकी मोनिक लेक्लर्क भनिने मेरी एण्ड्रे लुसी लेक्लर्क, भारतीय नागरिक अजय चौधरी समेतले उपरोक्त २ व्यक्तिलाई कर्तव्य गरी आफूहरूले गरेको अपराध कसूरबाट बच्ने उद्देश्यले मिति २०३२।९।१२।७ तद्नुसार २७ डिसेम्वरका राति आफ्नो लुगा, सुटकेश तथा जुत्ता समेत होटल सोल्टीमा नै छोडी भागी सडक यातायातबाट भारत दिल्ली गएकोमा अशोका होटलमा डकैती गरेको अभियोगमा पक्राउ भएपछि निज अभियुक्तहरूले नेपाल, भारत तथा अरु देशमा पनि पर्यटकहरूलाई हत्या गरी मारेको भनी साबिती भएको भन्ने मिति १३ जुलाई १९७६ को नवभारत टाइम्समा प्रकाशित भएबाट ज्ञात हुन आएको कारणहरूबाट चार्ल्स शोभराज समेतका तीन जनाले सुश्री कोन्नी जो ब्रोन्जीचलाई मिति २०३२।९।७ को राति कर्तव्य गरी मारेको कुरा प्रष्ट देखिन आएकोले लरेण्ट आरमण्ड (LAURENT ARMOND) लाई कर्तव्य गरी मारेको घटनास्थल भक्तपुर जिल्ला क्षेत्रभित्र परेको हुँदा सो सम्बन्धमा भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरिने हुँदा का. जि. सिनामंगल स्थित उल्लिखित ठाउँमा अमेरिकन नागरिक सुश्री कोन्नी जो ब्रोन्जिचलाई कर्तव्य गरी मारेको हुँदा उल्लिखित अभियुक्त हेनरिकस विन्टान्जाको नामले बसेको एलेन गोटियर भनिने चार्ल्स शोभराज गुरुमुख (फ्रेन्च नागरिक), कुकी हेमकर नामले बसेकी मोनिक लेक्र्लक भनिने मेरी एण्ड्रे लुसी लेक्लर्क समेत भारतमा पक्राउ परेकोले नेपाल कानूनबमोजिम कारवाही गर्न नेपाल भारत अपराधी आदान प्रदान (सुपर्दगी ऐन) अनुसार कर्तव्य गरी ज्यान मारेको अभियोगमा कारवाही गर्न मिति २०३३।४।२० मा तत्कालीन गृह पञ्चायत मन्त्रालयमा सुपर्दगी माग गरी दिन लेखी गएकोले र फेला नपरेका भारतीय नागरिक अजय चौधरीलाई खोजतलाश गरी पक्राउ गर्न नेपाल प्रहरी र नेपाल भारत इन्टरपोल (अन्तर्राष्ट्रिय पुलिस) बाट समेत खोजतलाश भै रहेको हुँदा सुश्री कोन्नी जो ब्रोन्जिचलाई कर्तव्य गरी मारेको अभियोगका अपराधी हेनरिकस विन्टान्जाको नामबाट बसेको एलेन गोटियर भनिने चार्ल्स शोभराज गुरुमुख, मोनिक लेक्लर्क भनिने मेरी एण्ड्रे लुसी लेक्लर्क र अजय चौधरी समेतलाई सुपर्दगी भै आए वा फेला परी पक्राउ भई आएको बखत मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं.विरुद्धको अपराधमा सोही ऐनको १३ (३) नं.ले सजाय गरिपाऊँ भन्ने समेत व्यहोरा अभियोग दावी भएकोमा प्रहरी तथा सहायक सरकारी अभियोक्ताको संयुक्त दस्तावेजमा अपराधीहरू सपुर्दगी (Extradite) भै आएपछि कारवाहीको लागि पेश गरिने भन्ने उल्लेख भए अनुसार प्रस्तुत मुद्दा तामेलीमा राखी दिने गरी मिति २०३४।३।१४ मा भएको आदेशबमोजिम प्रस्तुत मुद्दा तामेलीमा रहेकोमा मिति २०६०।६।२ गते प्रतिवादीहरू मध्येका चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURUMUKH) काठमाडौँ दरवारमार्ग स्थित रोयल क्यासिनोको गेट अगाडि पक्राउ परी आएकाले २०३२ साल पौष ७ गते तदनुसार २२ डिसेम्वर १९७५ मा अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH) को हत्या भएको कर्तब्य ज्यान मुद्दामा पुनरावेदक प्रतिवादी चार्ल्स शोभराज गुरुमुखलाई जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँको मिति २०६०।६।३० को पत्रबाट काठमाडौँ जिल्ला अदालतमा पेश गरेको र प्रस्तुत मुद्दा सोही दिन मुल्तवीबाट जागी कारवाही अगाडि बढेको देखिन्छ ।
४. मिति २०३२।९।७ गते राति अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH) लाई कर्तव्य गरी मारेको अभियोग सम्बन्धमा आफूलाई केही थाहा नभएको, आफू सेप्टेम्वर १, २००३ मा पहिलो पटक नेपाल आएको, सेप्टेम्वर १९, २००३ मा रोयल क्यासिनो दरवार मार्गबाट पक्राउ परेको, अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH) लाई कर्तव्य गरी मारी लरेण्ट क्यारियरे (LAURENT CARRIERE) को पासपोर्टमा आफ्नो फोटो टाँसी बैंकक गई भोलिपल्ट नै काठमाडौं फर्की होटल सोल्टीमा बसी २०३२।९।१२ गते राति भागी गएको र दिल्लीको अशोक होटलमा डकैती गरेको अभियोगमा अमीर होटलमा पक्राउ परेको समेत कुरा झूठा हो । आफूलाई जुलाई १५, १९७६ मा दिल्लीको विक्रम होटलमा अर्कै मुद्दाको सम्बन्धमा पक्राउ गरेको र त्यसमा अदालतबाट सफाइ दिइएको, १९८६ मा तिहाड जेलबाट भागेको सन्दर्भमा भारत सरकारले त्यो मुद्दा फिर्ता लिएकाले आफूले सफाइ पाइ कैदमुक्त भई फ्रान्स गएको, आफूले अहिलेसम्म कहिल्यै पनि झूठा पासपोर्ट प्रयोग नगरेको, मृतक कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH)), लरेन्ट क्यारियरे (LAURENT CARRIERE), मिसिलमा उल्लिखित व्यक्तिहरू मोनिक लेक्लर्क, हेनरिकस विन्टान्जा र अजय चौधरी आदि कसैलाई पनि नचिनेको, आफू कहिल्यै नेपालमा आई कार भाडा नलिएको र कसैलाई कर्तव्य गरी नमारेको, आफ्नो फ्रेञ्च कम्पनीले नेपाली राजदूतावाससँग अनुरोध गरी नेपालमा टि.भि. डकुमेन्ट्रीका लागि हस्तकलासम्बन्धी अध्ययन अनुसन्धान गर्नका लागि भिषा दिलाएकोले सोही उद्देश्यले नेपाल आएको भनी अभियोग दावीप्रति पूर्णतः इन्कार हुँदै प्रतिवादी चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURUMUKH) ले मिति २०६०।७।३ मा काठमाडौं जिल्ला अदालतमा बयान गरेको देखिन्छ ।
५. यस प्रकार मिति २०३२।९।७ तदनुसार २२ डिसेम्बर १९७५ को राति हेनरिकस विन्टान्जाको नामबाट नेपालमा बसेको एलेन गोटिएर भन्ने यी प्रतिवादी चार्ल्स शोभराजले अमेरिकी नागरिक सुश्री कोन्नी जो ब्रोन्जिचलाई हत्या गरेको भन्ने दावी लिई २०३३।६।७ मा अभियोग पत्र दायर भएको छ । तर सो अवस्था निज प्रतिवादी नेपालमा पक्राउ नपरी फरार रहेकोमा २०६०।६।२ मा नेपालमा पक्राउ परी २०६०।६।३० गते अदालतमा उपस्थित गराईएकोले कारवाही प्रारम्भ भएको र उक्त बमोजिम मृतक कोन्नी जोलाई आफूले हत्या नगरेको भनी यी प्रतिवादी चार्ल्स शोभराज कसूर गरेमा इन्कार भई अदालतमा वयान गरेको देखिन्छ । यी प्रतिवादीउपर हत्याको अभियोग लागेको अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जिचको मृत शरीर २०३२।९।८ गते तदनुसार २३ डिसेम्बर १९७५ का दिन सडक छेउमा मृत र डढेको अवस्थामा फेला परेको छ । मिसिल संलग्न मृतकको लाश जाँच मुचुल्कामा मनहरा खोलादेखि पश्चिमपट्टि सडक मुनी पूर्वपट्टि अं. १८/२० वर्ष जतिको जनाना व्यक्तिको नाङ्गो लाश रहेको, पेट्रोल हाली आगो लगाएको, लाशको मुटुको भागमा छुराले ४ ठाउँमा हानि कर्तब्य गरी मारेको, मृतकको शरीरका विभिन्न भागहरू र यौनाङ्ग समेत जलेको, बायाँ गोडामा कपडाको डोरी बनाई बाँधेको र केही जल्न बाँकी रहेको भन्ने उल्लेख भएको देखिएको छ भने मृतकको शव परीक्षण प्रतिवेदनबाट मृत्युको कारणमा मुटुमा परेको चोटको कारण अधीक रक्तश्राव भई “आकस्मिक आघात” भन्ने देखिँदा मृतकको मृत्यु कर्तव्यबाट भएको र तत्पश्चात् निजको शरीरका अंग, अनुहार र यौनाङ्गलाई पेट्रोल छर्की नचिनिने गरी जलाइएको तथ्य स्थापित भएको देखिन्छ ।
६. निज मृतक कोन्नी जो (CONNIE JO BRONZICH) लाई जीवित अवस्थामा चिन्ने अष्ट्रेलियन नागरिक KIRSTY MARION MACMILLAN ले निजको शवलाई पहिचान गरी सनाखत कागज गरी दिएको पाइन्छ । आफ्नो कागजमा निजले भनेकी छिन् “देखाइएको लाश कोन्नी जो को हो, चिनें, पहिचान गरे । निजले आफ्नो हातमा लगाई राखेको औठी मलाई थाहा छ । मलाई देखाइएको व्रासलेट र कानमा लगाउने निजको रिंगबाट निजलाई पहिचान गरे । कोन्नी जोले हामीलाई सोल्टी ओवेरायमा एउटा भियतनामी ज्वेलर र उसकी फ्रेञ्च स्वास्नी पनि भेटेको र तिनिहरूलाई पटक पटक भेटन सोल्टी ओवेराय गएको भनेकी थिइन ”( I identified a body on 24.12.75 to be Connie Joe. There was a ring on her hand which I can remember her wearing. I was also shown a bracelet which I identified as belonging to Connie Joe. I also identifeid an earring which I have seen Connie Joe wear.) यसरी लाशले लगाएको गहनाहरू समेतको आधारमा सनाखत गरेको भन्ने समेत मिसिलबाट देखिँदा मृतक व्यक्ति अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच नै रहेको देखिँदा त्यस सम्बन्धमा थप विवेचना गरिरहनु पर्ने आवश्यकता छैन । मृतकलाई कपडाको डोरीले खुट्टामा बाँधेको र घिसारेको जस्तो देखिएको भन्ने लाश प्रकृति मुचुल्काबाट देखिँदा निजलाई अन्यत्रै मारेर उक्त स्थानमा फालेको देखिएकोले मृतकलाई जुन ठाउँमा मारेर फालेको भए पनि निजको मृत्यु कर्तव्यबाट भएको स्पष्ट छ ।
७. यी मृतक कोन्नी जो ब्रोन्जिच (CONNIE JO BRONZICH) लाई मारेको भनी यी प्रतिवादी चार्ल्स शोभराजउपर निजले अपराध गरी भागी भारत गएको अवस्था पक्राउ परी निजले त्यहाँ व्यक्त गरेको कथन समेतको आधारमा प्रस्तुत अभियोग दावी लिइएको छ । तर यी प्रतिवादीले मृतकलाई मारेको देख्ने प्रत्यक्ष प्रमाणको मिसिलमा सर्वथा अभाव रहेकोछ । वारदात सन् १९७५ डिसेम्बर २२ को राति काठमाडौंबाट भक्तपुर जाने अरनिको राजमार्ग वरिपरी भएको र शरद ऋतुको राति सुनसान र निर्जन स्थानमा हत्या भएकोले सो घटना देख्ने व्यक्ति वा चश्मदिद गवाहको उपस्थिति नहुने हुँदा प्रस्तुत मुद्दामा प्रत्यक्ष प्रमाणको विद्यमानता नहुनु स्वाभाविक देखिएको छ । तर मृतकको हत्या कुनै व्यक्तिको कर्तव्यबाट भएकोले कसूरजन्य कार्य गर्ने अपराधीलाई प्रचलित कानूनबमोजिम सजाय गर्नुपर्ने हुँदा अप्रत्यक्ष प्रमाणको आधारमा पनि कसूरदार देखिएको व्यक्तिलाई सजाय गर्नु अदालतको कर्तव्य हुन आउँछ ।
८. कुनै न्यायाधीशले फौजदारी मुद्दामा सुनुवाई गर्दा कुनै निर्दोष मानिसले सजाय नपाऊन भनी जति सजग रहनु पर्दछ, कुनै अपराध गरेको व्यक्तिले सजायबाट उन्मुक्ति पाउन नसकोस् भनी त्यतिकै सावधान रहनु पर्दछ । अभियोग लागेको व्यक्तिका विरुद्ध प्रस्तुत भएको प्रमाणहरूको जति सावधानीपूर्वक विश्लेषण र मूल्याङ्कन गर्नु पर्दछ । अपराध र अपराधीको शिकार भएका पीडित व्यक्ति प्रति न्याय परोस् भन्ने कुरा पनि न्यायाधीशले त्यति नै सुनिश्चित गर्नु पर्दछ । अभियुक्त र अपराधबाट पीडित व्यक्ति दुवैलाई सन्तुलित रुपमा न्याय प्रदान गर्नु नै न्यायप्रणालीको आधारभूत लक्ष्य हुन्छ । कुनै एकप्रति मात्र लक्षित गरी गरिएको निर्णयले न्यायको आकार ग्रहण गर्न सक्दैन । खास गरी अपराधी पत्ता नलागेको तथा घटनाको प्रत्यक्ष प्रमाण नभएको फौजदारी मुद्दामा न्याय सम्पादन गर्दा अपराधीको उद्देश्य (Motive) अपराधको पद्धति वा शैली (Modus Operandi) घटनास्थलको दृश्य, (Scene of the Crime) घटनास्थलमा पाइएको अपराधसँग सम्बन्धित चीज वस्तु वा दशी, अभियुक्तको पूर्व आपराधिक इतिहास र निजले अन्यत्र गरेको अपराधिक कार्यसँग तादाम्यता, घटना भएको स्थान वा सोको वरिपरि निजको उपस्थिति र व्यवहार इत्यादिको अप्रत्यक्ष प्रमाणलाई आधार मानी सत्यको उद्घाटन गरी अपराधीलाई सजाय दिनु र पीडित व्यक्ति प्रति न्याय गर्नु जटिल र कठिन अवस्था तथा दोहोरो दायित्व अदालत उपर रहेको हुन्छ । प्रस्तुत मुद्दामा पनि विदेशी नागरिकको हत्या भएको र हत्या गर्ने व्यक्तिले मृतकलाई मध्य रातिमा निर्जन र सुनसान स्थानमा लगी मारी निजको पहिचान र लिङ्ग नचिनिने गरी अनुहार र यौनाङ्ग जलाई सुनियोजित तरिकाबाट हत्या गरेको र अपराधीले आफ्नो पहिचान र प्रमाणहरू लोप गर्ने भरमग्दुर प्रयास गरेको समेत देखिन आउँछ । अपराध गर्दा अपनाइएको तरीका र अपराधको प्रकृति हेर्दा अपराधी पूर्ण सचेत, सावधान रही नियोजित र सँगठित रुपमा आफ्नो कार्य योजनालाई पूर्णता दिएको देखिन्छ । यस्तो अवस्थामा अभियोजन पक्षद्वारा प्रस्तुत अप्रत्यक्ष प्रमाण र खास गरी परिस्थितिजन्य प्रमाणको आधारमा नै अपराधीसम्म पुग्नु पर्ने र त्यस्तो प्रमाणको आधारमा कसूरदार देखिन आएको अभियुक्तलाई सजाय गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा शुरु तथा पुनरावेदन अदालतले समेत यी प्रतिवादीलाई परिस्थितिजन्य प्रमाणको आधारमा कसूरदार ठहर्याएको देखिँदा सो प्रमाणहरू यी पुनरावेदकको हकमा सान्दर्भिक एवं कसूर ठहर गर्न पर्याप्त हो होइन भनी विचार गर्नुपर्ने हुन आएको छ । यी प्रतिवादीले नै मृतकलाई कर्तव्य गरी मारेको भनी वादी पक्षले यस अदालतमा मुद्दा विचाराधीन रहँदाको अवस्थामा समेत यी पुनरावेदक चार्ल्स शोभराजका सम्बन्धमा इन्टरपोलबाट प्राप्त भएका कागजातहरू, प्रतिवादीको आपराधिक क्रियाकलापको सम्बन्धमा लेखिएका विभिन्न पुस्तकहरू, डि.भी.डी.हरू तथा निज उपर भारतको अदालतमा चलेको फैसला भएको निर्णयका प्रतिलिपिहरू समेत प्रमाणको रुपमा पेश गरेको छ भने प्रतिवादीका तर्फबाट मुकरर हुनु भएका विद्वान कानून व्यवसायीहरूले प्रस्तुत मुद्दामा प्रतिवादीका विरुद्धमा कुनै प्रत्यक्ष र अकाट्य प्रमाण नै नरहेको र वादी पक्षबाट प्रस्तुत उक्त प्रमाणहरू असम्बद्ध, अर्थहीन र गैरकानूनी छन् भन्ने तर्क पेश गर्नु भएको हुँदा प्रस्तुत मुद्दामा तथ्यगत प्रश्नका साथै प्रमाणसम्बन्धी विभिन्न कानूनी प्रश्नको निरुपण आवश्यक देखिएको छ ।
९. कुनै अभियोग लागेको व्यक्तिउपर प्रस्तुत गरिएका प्रमाणहरूले यथार्थमा निजलाई दोषी सिद्ध गर्न सक्छन् वा सक्दैनन् र ती प्रमाणहरूको वैधानिकता कस्तो छ भन्नेतर्फ अदालत सजग रही अभियोग मात्रको आधारमा निर्दोष व्यक्तिले सजाय पाउनु हुँदैन तर प्रत्यक्ष वा अप्रत्यक्ष प्रमाणबाट दोषी देखिएको कुनै व्यक्ति सजायबाट उम्कनु हुँदैन भन्ने दण्डको सिद्धान्ततर्फ पनि उत्तिकै सचेत रहेकोछ र रहने गर्दछ । फौजदारी न्यायप्रणालीमा कानूनले अपराध घोषित नगरेससम्म कुनै पनि कार्यलाई अपराध नमानिने (nullum crimen sine lege), कानूनले सजाय नतोकेसम्म सजाय नगरिने (nulla poena sine lege) र सजाय बिनाको कार्यलाई अपराध नमानिने (nullum crimen sine poena) भन्ने सिद्धान्तलाई प्रमुख सिद्धान्तको रुपमा हेरिन्छ । प्रतिवादीउपर अभियोग लगाइएको कार्य उपरोक्त सिद्धान्तअनुरूप नै रहेको भए पनि यी प्रतिवादीले अभियोग दावी अनुरूपको कार्य नगरेको भए निज सजायको भागी हुनुहुँदैन भन्ने यस अदालतको मान्यता रही आएको छ ।
१०. नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४ मा न्याय सम्बन्धी हकअन्तर्गत फौजदारी न्यायका उपरोक्त सिद्धान्तहरूलाई मौलिक हक कै कोटीमा राखिएको छ । यसका अलावा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य समेत रहेको हुँदा संयुक्त राष्ट्रसंघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६ को धारा १४ प्रदत्त न्यायसम्बन्धी हक लगायत स्वतन्त्र न्यायपालिक, मानव अधिकार र फौजदारी न्याय प्रशासन सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा विकसित गरिएका नवीनतम् मूल्य र मान्यताप्रति प्रतिवद्ध रहनु यसको कर्तब्य नै हुन आउँछ । राज्यले प्रतिवद्धता जनाएका न्यायिक प्रक्रियासँग सम्बन्धित विषयहरूको सम्मान, पालना र संरक्षण गर्नु न्यायपालिकाको पनि दायित्व नै हो । यस अदालतले विधिको शासन, आधारभूत मानव अधिकारको संरक्षण लगायत स्वच्छ सुनुवाईका मूल्य र मान्यताहरूलाई सदैब ध्यान दिँदै आएको पनि छ । त्यसैले प्रतिवादीउपर अभियोग लगाइएको कारणबाट मात्र निजलाई दोषी ठहर्याउनु पर्दछ भन्ने मान्यतामा विश्वास गर्न सकिँदैन ।
११. त्यस्तै, मानव जीवन अन्य जीवित प्राणीको तुलनामा अद्धितीय र महत्वपूर्ण मानिएको कारण मानवको बाँच्न पाउने अधिकारलाई अन्तर्राष्ट्रिय स्तर बाटै स्वीकार गरिएको छ । मानव हत्यालाई अन्य अपराधको तुलनामा अति संवेदनशील र अत्यन्त क्रुर अपराध मानिएको छ । त्यसैले कुनै व्यक्ति अपराधको शिकार हुँदा निजको बाँच्न पाउने सार्वभौम अधिकारको घोर उल्लंघन भएको हुन्छ र यस्तो अपराधको लागि राज्यको कानूनमा अधिकतम दण्डको व्यवस्था गरिएको हुन्छ । अभियोग लागेको व्यक्ति उपरको आपराधिक कार्य प्रमाणबाट समर्थित भएमा त्यस्तो व्यक्ति सजायबाट उम्कन नहुने भन्ने दायित्व प्रतिपनि अदालत उत्तिकै सचेत रहेको छ र रहने गर्दछ ।
१२. यी प्रतिवादीउपर वारदात हुँदैको अवस्था २०३३।६।७ तदनुसार २३ सेप्टेम्बर १९७६ मा दायर भएको अभियोग पत्रमा नै हेनरीकस विन्टान्जा को नामबाट बसेको एलेन गोटियर भन्ने चार्ल्स शोभराज गुरुमुखले मृतक कोन्नी जो ब्रोन्जिचको हत्या गरेको भन्ने उल्लेख भएकोले यी प्रतिवादी चार्ल्स शोभराज नै उक्त बमोजिम विभिन्न नाम धारण गरी सो अवस्थामा नेपाल आएको तथा उक्त सबै नाम धारण गरेको व्यक्ति एउटै हो होइन तथा मृतक कोन्नी जो सँग निजको सम्पर्क र परिचय रहेको थियो थिएन भन्ने सर्वप्रथम सोही सम्बद्ध कुरा तथा प्रारम्भिक प्रश्नको विवेचना र निरुपण आवश्यक हुन आएको छ । यी पुनरावेदकले आफू सन् २००३ सेप्टेम्बर १ मा मात्र पहिलो पटक नेपाल आएको र सोभन्दा अघि नेपाल नआएको र कोन्नी जोको हत्याबारे आफूलाई थाहा नभएको भन्ने अदालतमा वयान गर्दा उल्लेख गरेको छ । साथै सोही वयानमा आफूलाई दिल्लीको अशोका होटलमा भएको डकैती मुद्दाको सिलसिलामा १९७६ जुलाई १५ मा दिल्ली पुलिसले पक्रेको र सो मुद्दामा सफाइ पाएको तथा १९८६ मा तिहाड जेलबाट भागेको सम्बन्धी मुद्दा भारत सरकारबाट फिर्ता लिएकोले सफाइ पाएको र प्रतिवादी अजय चौधरी र मोनिका लेक्लर्कलाई चिन्दिन भन्ने समेतका तथ्यलाई पनि सो वयान गर्दा पुनरावेदकले उल्लेख गरेको पाइन्छ । यसरी आफूउपर भारतका अदालतमा समेत विभिन्न मुद्दाहरू चलेको तथ्यलाई निजले स्वीकार गरेकोले अभियोजन पक्षले भारतीय अदालतको मुद्दाको कारवाही सम्बन्धी विभिन्न कागजात, निजले भारतको मैजिस्ट्रेट समक्ष गरेको वयान, निजका सम्बन्धमा भएको फैसलाहरूको प्रतिलिपि समेत प्रमाण निमित्त पेश गरेको छ ।
१३. ती मध्ये भारतको सर्वोच्च अदालत Supreme court of India बाट The state (Delhi Admn) Versus Charles Sobraj alias Allen भएको Criminal Appeal No 479 of 1981 को मुद्दामा November 1993 मा भएको निर्णयको प्रतिलिपि रीतपूर्वक प्रमाणित भई पेश गरिएको छ । जस्मा चार्ल्स शोभराजको नाम “चार्ल्स शोभराज भन्ने एलेन” Charles Sobraj alias Allen भनी उल्लेख भएको उक्त भारतीय सर्वोच्च अदालतको निर्णयमा उल्लिखित व्यहोराबाट देखिएको छ । त्यस्तै यिनै पुनरावेदकका कानून व्यवसायीले बहसनोटका साथ दिल्ली उच्च न्यायालय High Court of Delhi बाट Charles Sobhraj alias Allen versus The state भएको Criminal Appeal No. 53 of 1979 को मुद्दामा ११ मार्च १९८० मा फैसला भएको निर्णयको प्रतिलिपि पेश गरिएको छ । जस्मा यी चार्ल्स शोभराजको नाम “चार्ल्स शोभराज भन्ने एलेन” भनी जनिएको देखिन्छ । सोही बहसनोट साथ यी पुनरावेदकका कानून व्यवसायीले साउथ दिल्ली स्थित लाजपतनगर प्रहरीथानामा चार्ल्स शोभराजले गरेको वयानको प्रतिलिपि संलग्न गरेको छ । उक्त वयानको क्रम संख्या १ र २ नामको महलमा “चार्ल्स शोभराज भन्ने गोटियर एलेन Charles sobraj alias Gautier Alain भनी उल्लेख गरी यी पुनरावेदकले वयान गरेको देखिन्छ । सोही बयानमा आफू, मोनिक र अजय डिसेम्बर १९७५ मा बैंकबाट काठमाडौँसम्म यात्रा गरेको, विन्टान्जाको नामबाट यात्रा गरे नगरेको सम्बन्धमा हाल सम्झना नभएको तर, श्रीमान, श्रीमती विन्टान्जाको नामबाटै होटल सोल्टी ओवरायमा मोनिकसँगै बसेको, सेतोकार भाडामा लिई चलाएको, सोही क्रममा प्रहरीले अमेरिकन केटीको हत्या भएको घटनास्थलमा सेतो कार देखिएको भनी हामी माथी सोधपुछ गरेको, सोही घटना सम्बन्धमा प्रहरी प्रमुखले मेरो पासपोर्ट हेर्न खोजेको भनी प्रहरीले बताएको र आफूसँग विन्टान्जाको नामको जाली पासपोर्ट भएको कारण झमेलामा परिने ठानी सामानहरू होटलमै छाडी मोनिक र अजय सहित सडक मार्ग हुँदै भारततर्फ भागेको भन्ने समेत ब्यहोरा उल्लेख गरेको पाइन्छ ।
१४. त्यस्तै, थाइलैण्डको बैंकक स्थित Kenit Appartment मा बस्ने एलेन गोटियर भन्ने व्यक्तिले सो Appartment मा ११ डिसेम्बर १९७५ मा बस्नआएका डच नागरिक Mr.H.Bintanja तथा Miss Cocky Hemkar लाई १५–१६ डिसेम्बर १९७५ को राति अजय चौधरीको सहयोगमा हत्या गरी जलाई दिएको र निज मृतकहरूको पासपोर्टमा Allan Goutier र मोनिक लेक्लर्कले आ–आफ्नो फोटो टाँसी २ दिन पछि काठमाडौं भागी गएको भनी निज चार्ल्स शोभराज पक्राउ परी निजउपर भारतमा मुद्दा चली रहेको अवस्था थाइलैण्ड सरकारले अपराधी सुपर्दगी (Extradition) को माग गरी निवेदन दिँदा भारत सरकारबाट नियुक्त मजिस्ट्रेटको अनुसन्धानबाट सो देखिएकोमा आफू सुपर्दगी हुन नहुने भनी यी चार्ल्स शोभराजले नै दिल्ली हाइकोर्टमा रिट निवेदन दिएको भन्ने Crl.Writ No. 224 of 1985 को रिटमा उक्त हाइकोर्टबाट १२।१२।१९८५ मा रिट निवेदन खारेज गर्ने निर्णय भएको भन्ने पुनरावेदक Charles Gurumukh Sobhraj Vs. Union Of India (UOI) and others भएको पुनरावेदकका कानून व्यवसायीहरूले बहसनोट साथ संलग्न गरेको उक्त रिटको निर्णय प्रतिलिपिबाट देखिएको छ । यसबाट पनि चार्ल्स शोभराज तथा एलेन गोटियर भन्ने एउटै व्यक्तिरहेको सो फैसलाको प्रतिलिपिबाट देखिन आउँछ । उक्त फैसलामा उल्लेख भएअनुसार हेनरिकस विन्टान्जा भन्ने व्यक्तिको निजै एलेन गोटियरद्वारा अजय चौधरीको सहयोगमा थाइलैण्डमा हत्या भइसकेको भन्ने देखिन्छ । तर निज हेनरिकस विन्टान्जा नामको व्यक्ति हत्यापश्चात् उक्त फैसलामा उल्लेख भएबमोजिम अर्थात् १८ डिसेम्बर १९७५ मा बैंकक काठमाडौं हवाई उडानबाट काठमाडौं आई होटल सोल्टी ओवेरायमा बसेको देखिन्छ । यसबाट यी पुनरावेदक चार्ल्स शोभराज उपर एलेन गोटियरको नामबाट भारतमा विभिन्न फौजदारी अभियोगमा मुद्दा चली निर्णय भएको र सो कारवाही र निर्णयबाट चार्ल्स शोभराज तथा एलेन गोटियर भन्ने व्यक्ति एउटै रहेको देखिन आउँछ ।
१५. पुनरावेदक प्रतिवादीले निजउपर भारतमा चलेको कारवाहीको क्रममा गरेको उल्लिखित बयानको आधारमा प्रस्तुत मुद्दाको सन्दर्भमा कसूर स्थापित गर्न नमिल्ने भनी प्रतिवादीतर्फका विद्वान कानून व्यसायीहरूले जिकीर उठाउनु भएको देखिन्छ । भारतमा LUKE SOLOMEN को हत्या सम्बन्धमा चलेको मुद्दाको सन्दर्भमा त्यहाँको अदालतबाट प्रमाणित भएको नक्कल बादी नेपाल सरकार र स्वयं प्रतिवादीको तर्फबाट रहेका कानून व्यवसायीबाट लिखित बहसनोट साथ पेश भएको देखिँदा उक्त मुद्दा काल्पनिक भन्ने देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा ३ मा “अदालतले मुद्दामा ठहर गर्नुपर्ने कुरा र त्यस्तो कुरासँग सम्बद्ध कुराको मात्र प्रमाण बुझ्न हुन्छ” भन्ने व्यवस्था भएबाट कानूनअनुरूप प्रमाणको रुपमा पेश गरिएका कुराहरूको मुद्दामा सम्बद्धता छ वा छैन भन्ने विषय अदालतले निर्धारण गर्न सक्ने नै देखिन आयो । त्यसैगरी दफा ६ को देहाय खण्ड (च) मा “कुनै विदेशी राज्यको सरकारबाट वा त्यस्तो सरकारबाट अधिकारप्राप्त अधिकारीबाट प्रकाशित भएको भन्ने जनिएको सो राज्यको कानून वा अदालतको निर्णय छापिएको पुस्तक वा पत्रिकामा प्रकाशित भएको त्यस्तो कानून वा निर्णय सही रुपमा प्रकाशित भएका छन् भनी अदालतले अनुमान गर्नेछ” भन्ने उल्लेख भएको पाइन्छ । सोही ऐनको दफा १५ को उपदफा (१) मा “कुनै विदेशी राज्यको सरकार वा त्यस्तो सरकारबाट अधिकारप्राप्त व्यक्ति वा संस्थाबाट सो राज्यको कानून वा अदालतको निर्णयको सम्बन्धमा प्रकाशित पुस्तकमा उल्लेख भएका त्यस्तो कानून वा निर्णय सम्बन्धी कुराहरू प्रमाणमा लिन हुन्छ” भन्ने उल्लेख भएको छ । सो कानूनी व्यवस्थाबाट विदेशी अदालतमा चलेका मुद्दाको कारवाहीसँग सम्बन्धित आधिकारिक निकायबाट प्राप्त लिखतलाई अदालतले विचार गर्न नसक्ने गरी वर्जित गरेको नदेखिँदा त्यसलाई प्रमाणमा लिन हुँदैन भन्ने पुनरावेदन जिकीर र पुनरावेदकतर्फका कानून व्यवसायीहरूले बहसको क्रममा उठाउनु भएको जिकीरसँग सहमत हुन सकिएन ।
१६. कुनै मृत व्यक्ति एक स्थानबाट अर्को स्थानमा यात्रा गर्न, बसोबास गर्न र मानिससँग सम्पर्क गर्न समेत नसक्ने हुँदा उक्त मृत व्यक्तिको नाम र पासपोर्ट प्रयोग गरी अरु नै कुनै व्यक्ति कुनै सुनियोजित वा आपराधिक उद्देश्यले छद्मनाम प्रयोग गरी नेपालमा आएको तथा सोल्टी ओवेरायको कोठा नं. ४१५ मा बसेको भन्ने कुरा तर्कसंगत रुपमा अनुमान गर्न सकिन्छ । त्यस्तो व्यक्तिले आफ्नो असली पहिचान र अपराधिक कार्यको प्रमाण लोप गर्ने र आफूलाई सजायको भागी हुनबाट बचाउने कुत्सित मनसायबाट नै आफूले मारेको व्यक्तिको नाम, पासपोर्ट र पहिचान प्रयोग गरेको हुन सक्छ । हेनरिकस विन्टान्जाको नामबाट नेपालमा प्रवेश गरेको एलेन गोटियर भन्ने मानिस नै होटल सोल्टीको कोठा नं.४१५ मा बसेको तथा कोन्नी जोको हत्या गरेको भन्ने प्रस्तुत मुद्दामा अभियोजन पक्षको कथन छ । सो होटल सोल्टी ओवेरायको उक्त कोठामा बस्ने हेनरिकस विन्टान्जाले Guest Registration Card भरी हस्ताक्षर गरेको र सोमा जनिएअनुसार निज हलैण्डका नागरिक भई १८ डिसेम्बर देखि ऐ. २३ डिसेम्बर १९७५ सम्म उक्त होटलमा बसेको र प्रस्तुत हत्या वारदात २२–२३ डिसेम्बरको राति भएको देखिएबाट अपराध हुँदाका अवस्था निज हेनरिकस विन्टान्जा भनिएको व्यक्ति काठमाडौंमा नै मौजूद रहे भएको स्पष्ट छ । सो तथ्यको थप पुष्टि हुने गरी यी पुनरावेदक प्रतिवादीले GAUTHIER ALAIN भन्ने CHARLES SOBRAJ को नामबाट दिल्लीको लाजपतनगर प्रहरीसमक्ष गरेको उक्त बयानको प्रस्तुत मुद्दासँग सम्बन्धित केही अंश देहायबमोजिम रहेको छ :
In the month of Dec. 1975, I, Ajai, and Monique travelled from Bangkok to Kathmandu by flight. I do not remember if I travelled in the name of Mr. Bintanja, I do not remember if she travelled in the name of a Dutch-girl. She and I stayed in Oberoi Hotel and Ajai stayed in a guest house. I know and remember that in the hotel I stayed in the name of Mrs. & Mr. Bintanja. There on the same day I asked Ajai to get one passport of one gentleman a foreigner. He brought for me one passport two three days later of our arrival in Kathmandu. After, he also brought one another woman’s and one man’s passport. Name I do not remember. I travelled on one of these passports from Kathmandu to Bangkok and Bangkok to Kathmandu. One evening (afternoon) while Monique was driving the white car in the street, a police stopped our car and asked us to drive to nearly police station. … They said that they stop all the white cars for checking. …They told me that before leaving Kathmandu I must inform them. At that time Ajai was at Bangkok. Next morning I along with Monique again went to police station for enquiring as to what was the matter. … On my insistence, to know, he told me that was a case of murder and an American girl has been murdered and a white car was seen at the spot. … This date in the evening Ajai came back from Bangkok. As inspector had told me that next day his chief may like to check up my passport and then I could go. As I was having a forget passport in the name of Bintanja, So, I along with Ajai and Monique left Kathmandu leaving some of our luggage in the hotel, by road and came to India border we changed in a bus to the town from where we flew for Calcutta.
१७. सो तथ्यलाई तत्कालीन सोल्टी होटलमा हेनरीकस विन्टान्जाको नामले बसेको व्यक्तिले उक्त होटलमा सन् १९७५ को डिसेम्वर १८ तारीखदेखि २३ तारीखसम्म बसेको होटलको चार्ज समेत नतिरी भागेको भन्ने सन्दर्भमा तत्कालीन सोल्टी होटलको व्यवस्थापनले बैंकक स्थित Royal Netherlands Embassy लाई सन् १९७६ जुन महिनामा पत्र पठाएको भन्ने १४।१०।२००३ मा Interpol Wellington ले Interpol Kathmandu लाई पठाएको कागजबाट देखिन आएको छ ।
१८. निजै हलैण्डका नागरिक विन्टान्जाले उक्त हत्या हुनुभन्दा पूर्व गोरखा ट्राभल्सको वा.अ.५००१ को सेतो रंगको ड्याटसन कार भाडामा लिई प्रयोग गरेको र हत्यापश्चात् सो कार ती डच नागरिक विन्टान्जाले फर्काएकोमा सो कार भित्र गोल्डेन फ्रेमको कालो शीशा भएको चश्मा, जीन्सको टोपी, लेन्स क्लिनर र डिक्कीमा जिन्सको पैन्ट समेतका सामान छुटेको पाइएको छ । उक्त कार भित्र रहेको जिन्स पैन्ट समेतका सामान भक्तपुरमा हत्या गरिएको भनिएको लरेन्ट कैरियरको भएको भन्ने निज मृतकका भाईले मौकामा सनाखत गरी दिएको छ भने सो कार भाडामा लिई जाने “डच” भन्ने व्यक्ति यिनै चार्ल्स शोभराज हो भनी उक्त वा.अ. ५००१ नं. को कारका तत्कालीन ड्राइभर पूर्णबहादुर महर्जनले यस अदालतमा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम मिति २०६३।९।१७ मा बकपत्र गरी दिएबाट पुष्टि भएको छ । उक्त कार वारदातका समय भाडामा लिने व्यक्तिले निजलाई हलैण्डका नागरिक हेनरिकस विन्टान्जा भनी चिनाएकाले सो समय निजलाई “डच” भनी सम्बोधन गरिनु स्वाभाविक छ ।
१९. त्यसैगरी यी पुनरावेदक प्रतिवादी चार्ल्स शोभराजलाई कोन्नी जो हत्याकाण्डका बारेमा निगरानीमा राखी प्रहरीको सम्पर्कमा रहन भनिएकोमा भारततर्फ भागी गएको र भारतमा पक्राउ परी फोटो सहित नवभारत टाइम्समा समाचार प्रकाशित भएपछि सो अनुसन्धानमा संलग्न तत्कालीन एस.पि. चन्द्रवीर राईले घटनाको सम्पूर्ण विवरण खोली कोन्नी जो हत्या काण्डमा संलग्न भएको आशंकामा प्रहरी निगरानीमा रहेका सोल्टी ओवरायमा हेनरिकस विन्टान्जाको नामबाट बसेका ब्यक्ति यिनै पुनरावेदक चार्ल्स शोभराज हुन भन्ने ठहर निष्कर्ष साथ सोही अवस्थामा गृहपञ्चायत मन्त्रालयमा भारतसमक्ष सुपर्दगीको माग गर्न प्रतिवेदन दिएको देखिन्छ । नेपालमा भएको घटना लगत्तै भारतमा पक्राउ परी फोटो सहित प्रकाशित समाचारबाट निजलाई मौकैमा सनाखत गर्न सफल भएका निज चन्द्रवीर राईले हाल ३४ वर्ष पछि यस अदालतसमक्ष उपस्थित भई गरेको बकपत्रमा समेत मौकाको सोही प्रतिवेदनको समर्थन गरी पुनरावेदक प्रतिवादी नै हेनरिकस विन्टान्जाको नामबाट सोल्टी ओवरायमा बसेका तथा कोन्नी जोको हत्यामा संलग्न रहेको भनी लेखाई दिएको देखिन आएको छ । पुनरावेदक प्रतिवादी चार्ल्स शोभराजले आरोपित कसूर नगरेको भए निज विरुद्ध किटानी बकपत्र गरी दोषी हुन भन्नु पर्नेसम्मको कुनै कारण विद्यमान रहेको देखिँदैन । पुनरावेदक प्रतिवादीको विरुद्धमा प्रमाणमा लगाउन मिल्ने उक्त बकपत्र समेतका प्रमाण अन्यथा हुन् वा बकपत्र गर्ने मानिसहरूसँग पुनरावेदकको पूर्व रिसइवी वा अन्य कुनै पूर्वाग्रह थियो भनी स्वयं पुनरावेदक एवं निजतर्फका विद्वान कानून व्यवसायीहरूले ठोस र वस्तुनिष्ठ रुपमा खण्डन गर्न सकेको नपाइँदा पुनरावेदक प्रतिवादीउपरको अभियोग दावी शंका रहित तवरबाट पुष्टि हुन आएको छ । साथै विन्टान्जाको नामबाट भरेको Guest Registration Card मा भएको निज विन्टान्जाको हस्ताक्षर र हाल चार्ल्स शोभराजले धारण गरेको फ्रेञ्च पासपोर्टमा भएको हस्ताक्षर एकै व्यक्तिको हो भनी हस्ताक्षर विशेषज्ञले जाँच गरी दिएको प्रतिवेदनबाट देखिएको छ भने निज विशेषज्ञले प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम अदालतमा बकपत्र गरी सो कुरा पुष्टि गरी दिएकोबाट सो तथ्य अझ स्पष्ट रुपमा प्रमाणित हुन आएको पाइन्छ ।
२०. जहाँसम्म सक्कल Guest Registration Card मा रहेको हस्ताक्षरसँग नभिडाई फोटोकपीसँग जाँच गराइएको कानूनअनुकूल नभई प्रमाण योग्य नहुने भन्ने पुनरावेदकतर्फको विद्वान कानून व्यवसायीको तर्क छ सो सम्बन्धमा हेर्दा होटल सोल्टी ओवेरायमा बस्दा हेनरिकस विन्टान्जाले भरेको Guest Registration Card उक्त होटलको कब्जा र स्वामित्वको कागजात रहेको र निज विन्टान्जा होटलको विल नतिरी आफ्नो सामान होटलमा नै छाडी भागी गएको र सो बिलको रकम असूल तहसील गर्न होटल स्वयंले दुतावासमार्फत् कारवाही गरिरहेकोले प्रमाणस्वरुप सो Guest Registration Card आफ्नो कब्जाबाट प्रहरीलाई दिन अस्वीकार गर्नु स्वाभाविक रहेकोले उक्त Guest Registration Card को सक्कल सो अवस्था मिसिलमा नरहनु अस्वाभाविक छैन । हाल प्रस्तुत मुद्दाको सन्दर्भमा उक्त Guest Registration Card होटल व्यवस्थापनसँग माग गर्दा करीब १२ वर्ष अघि होटलको व्यवस्थापन र नाम समेत परिवर्तन भई सकेको र १९७५ सालको उक्त Guest Registration Card पुरानो व्यवस्थापनको समयमा नष्ट गरिएको हुनसक्ने भनी जवाफ दिएको पाइन्छ । तर अनुसन्धानको क्रममा सोही समयमा उक्त Guest Registration Card को कैमराबाट फोटो खिची अनुसन्धानको लागी सो हस्ताक्षरको फोटो तथा सोको निगेटिभ सुरक्षित राखेकोमा हाल यी प्रतिवादी चार्ल्स शोभराज फ्रेञ्च पासपोर्टमा २००३ मा नेपाल आउँदा सो पासपोर्टमा रहेको निजको हस्ताक्षरसँग उक्त Guest Registration Card मा रहेको हेनरिकस विन्टान्जाको हस्ताक्षरको फोटोसँग भिडाई जाँच परीक्षण गरिएको कार्यलाई अस्वाभाविक एवं अन्यथा भन्न मिल्ने हुँदैन । उक्त दुबै हस्ताक्षरमा समान लेखकबाट लेखिएको Common Authorship पाइएको भन्ने हस्ताक्षर विशेषज्ञको राय प्रतिवेदन भई निजले प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम अदालतसमक्ष साक्षी सरह उपस्थित भई बकपत्र गरी पुष्टि गरी दिएको समेत देखिँन आउँछ । त्यसैले Guest Registration Card को फोटोकपिसँग नभई कैमराबाट खिचिएको हस्ताक्षरका फोटोसँग पासपोर्टमा रहेको चार्ल्स शोभराजको हस्ताक्षरसँग भिडाइएकोले त्यसलाई उक्त ऐनको दफा ३६ बमोजिम प्रमाणमा लिन मिल्ने नै हुन्छ ।
२१. यसका अतिरिक्त यी पुनरावेदकले पछिल्लो पटक सन् २००३ मा नेपाल प्रवेश गर्दा अध्यागमन कार्यालयमा भरेको विवरणमा सोल्टी ओवराय होटलमा बस्ने भनी उल्लेख गरेको देखिन्छ । पुनरावेदक नेपाल आउनु अगावै सो होटलको व्यवस्थापन र नाम समेत परिवर्तन भै सोल्टी क्राउन प्लाजामा रुपान्तरण भैसकेको भन्ने देखिन आउँछ । यसरी हाल अस्तित्वमा नै नरहेको तर सन् १९७५ मा रहेको सोल्टी ओवरायमा बस्ने भनी पुनरावेदक प्रतिवादीले उल्लेख गरेबाट पनि तत्कालीन समयमा हेनरिकस विन्टान्जाको नामबाट सोल्टी ओवरायमा वस्ने व्यक्ति पुनरावेदक चार्ल्स शोभराज नै थिए भन्ने प्रमाणित हुन्छ । त्यसमा पनि सोल्टी ओवरायमा वस्ने भनी अध्यागनमा विवरण उल्लेख गरेर पनि पुनरावेदक तत्कालीन सोल्टी ओवरायबाट हाल सोल्टी क्राउन प्लाजामा परिणत भएको होटलमा नबसी होटल गार्डेनमा बसेबाट निजले यस पटक नेपाल आउँदासमेत ब्यहोरा ढाँटेको प्रष्ट हुने हुँदा पुनरावेदकको साविकको अपराधको शैली प्रमाणित भएको देखिन्छ । उल्लिखित सबै तथ्यको विवेचना र विश्लेषणबाट हेनरिकस विन्टान्जाको नामबाट १९७५ को डिसेम्बर १८ देखि २३ सम्म होटेल सोल्टी ओवेरायमा बसेको व्यक्ति यिनै चार्ल्स शोभराज रहेको भन्ने प्रथम दृष्टिमा नै स्थापित भैरहेको देखिन आउँछ ।
२२. अब, मृतक कोन्नी जोसँग निज हेनरिकस विन्टान्जाको सम्बन्ध र सम्पर्क थियो थिएन भन्ने दोस्रो सम्बद्ध तथ्यको बारेमा विचार गर्दा मृतक कोन्नी जोको लाश अनुहार नचिनिने भएपनि निजलाई सनाखत गरी दिने अस्ट्रेलियन नागरिक कृष्टि मैकमिलनले सनाखत गर्दाको अवस्थामा व्यक्त गरेको कथन तर्फ हेर्दा “कोन्नी जोले हामीलाई सोल्टी ओवेरायमा एउटा भियतनामी ज्वेलर र उसकी फ्रेञ्च स्वास्नीलाई पनि भेटेको र तिनीहरूलाई पटक—पटक भेट्न सोल्टी ओवेरायमा गएको बताएको थिइन” भन्ने समेत उल्लेख भएको देखिन्छ । उनले मौकामा मृतक कोन्नी जोको लाश पहिचान गरी लेखी दिएको कागजमा भनिएको छ :—
"I Kirsty Marion Macmillion met Connie Joe in Pokhara on 14.12.75, travalling on bus to Kathmandu. I saw her again in Kathmandu in the Oriental Lodge. ... I saw her occasionally during the next few days. She expressed on interest in morphine and heroin and asked us to accompany her to purchase some morphine but we declined as we did not wish to become involved. The last time we saw her was on Monday 22.21.75 at a few minutes past ten ... I identified a body on 24.12.75 to be Connie Joe. There was a ring on her hand which I can remember her wearing. I was also shown a bracelet which I identified as belonging to Connie Joe. I also identifeid an earring which I have seen Connie Joe wear.”
त्यसै गरी सोही कागजको पछाडिः—
"She mentioned to us that she had met a Vietnemese jeweller and his friend wife who were staying at Soaltee Oberoi. I know she visited them at that hotel. भन्ने समेत उल्लेख भएको देखिन आउँछ ।
२३. यी पुनरावेदक प्रतिवादी चार्ल्स गुरुमुख शोभराज भियतनामी मूलका फ्रेञ्च नागरिक रहेको र निजकी पत्नीको रुपमा मेरी लेक्लर्क पनि निजको सँगसाथमा होटल सोल्टीमा बसेको देखिएबाट निज कृष्टि मैकमिलनको कथन तथ्यमा आधारित भई यी प्रतिवादी चार्ल्स शोभराज नै हेनरिकस विन्टान्जाको रुपमा रहेको तथ्य स्थापित रहेको पाइन्छ । निज क्रिस्टी मैकमिलनलाई मृतकले निजको मृत्यु हुनु पूर्व बताएको सो कुरा निज क्रिस्टीले घटनाको तत्काल पछि अनुसन्धानको क्रममा व्यक्त गरेको देखिँदा यी पुनरावेदकको मृतक कोन्नी जो ब्रोन्जिच सँग पटक पटक होटल सोल्टी ओवेरायमा सम्पर्क र भेटघाट हुने गरेको देखिन्छ । क्रिष्टी मैकमिलनको उक्त कथन प्रमाण ऐन, २०३१ को दफा १० (१)(क) बमोजिम प्रमाणको लागि ग्राह्य छ । प्रमाण ऐन २०३१ को दफा १० मा देहायबमोजिम उल्लेख भएको देखिन्छः—
(१) कुनै काम घटना वा अवस्थाका सम्बन्धमा देहायका कुनै व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ :–
(क) सो काम गर्ने वा सो काम, घटना वा अवस्था प्रत्यक्ष रुपमा देख्ने वा थाहा पाउने व्यक्ति ।
२४. उक्त कानूनी व्यवस्थाबमोजिम मृतक कोन्नी जो ब्रोन्जिचले आफ्नो मृत्यु हुनु भन्दा अघि यी क्रिष्टी मैकमिलन समक्ष सोल्टी होटलमा बस्ने भियतनामी मूलका ज्वेलरसँग भेट्ने गरेको भनी व्यक्त गरेको कुरा निज क्रिष्टीले प्रस्तुत वारदात भएपश्चात् मौकामा अनुसन्धान अधिकारीसमक्ष व्यक्त गरी दिएको हुँदा निज विदेशी पर्यटक भएकोले अदालतमा बकपत्र गर्न नसकेपनि उक्त कथनलाई उक्त ऐनको दफा १०(१)(क) बमोजिम प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने नै हुन्छ । यस विवेचनाबाट आफूले कोन्नी जो ब्रोन्जिचलाई नचिनेको भनी यी पुनरावेदकले अदालतमा गरेको वयानमा सत्यता देखिन आउँदैन ।
२५. त्यस्तै, यी प्रतिवादीले आफूले मोनिक लेक्लर्कलाई पनि नचिनेको भनी वयानमा उल्लेख गरेको छ तर माथि उल्लेख गरिएको लाजपतनगर प्रहरीथानामा प्रतिवादी चार्ल्स शोभराजले गरेको वयान, जुन बहसनोट साथ संलग्न छ, मा निज मोनिक लेक्लर्क तथा अजय चौधरी समेत बैंककबाट काठमाडौंसम्म फ्लाइटमा गएको भनी पटक पटक निज मोनिक लेक्लर्कको नाम उल्लेख गरेको देखिन्छ भने निज चार्ल्स शोभराज तिहाड जेलमा कैदमा रहेको अवस्था निजलाई उचित सुविधा नदिएको र मानवीय व्यवहार नभएको भनी सो उपलब्ध गराउन निजै मोनिक लेक्लर्कले चार्ल्स शोभराजको तर्फबाट भारतको सर्वोच्च अदालतमा दायर गरिएको भनिएको Charles Sobhraj through Marie Andre Leclerc Vs. The Superintendent, Central Jail,Tihar, New Delhi भएको रिट नं. Criminal petition No. 4305 of 1978 को निवेदन मिति ३१।८।१९७८ मा खारेज भएको भन्ने AIR 1978, SC.1514 मा प्रकाशित उक्त फैसलाबाट देखिन आउँछ ।
२६. त्यसैगरी Luke Solomen को मुद्दामा पक्राउ परेकी मोनिक लेक्लर्क (Monique Leclerc) ले दिल्ली स्थित लाजपतनगर थानामा दिएको बयानमा पनि शोभराजसँग भेट भएको दिन देखिको घटनाक्रमलाई सिलसिलेवार रुपमा खुलाई व्यहोरा लेखाएको देखिन्छ । निजले भारतमा गरेको बयानको प्रस्तुत मुद्दासँग सम्बन्धित केही अंश यस प्रकार रहेको छः–
I, Alain and Ajay Chaudhari flew to Kathmandu from Bangkok in Dec.1975. Before that Alain had brought 15 passports from Ann’s apartment as what he told me. … Before I flew to Kathmandu, my visa was finished and on my asking to get me visa from my embassy, he brought one passport with my photograph affixed on it and it was in the name of a Dutch girl whose name I do not remember. When we reached to Kathmandu we went to Hotel Oberoi and there Alain wrote his name as Bentenja Henricus and myself as Dutch girl. Ajay stayed in some other small hotel in Kathmandu. On the same day Alain hired a private car of white color. Alain, Ajay and I were travelling in that car and when the car was parked near the temple in Kathmandu and we met one couple travelling together, they were one Canadian boy and U.S. girl. I do not remember them. Alain and Ajay talked with them. In the night, Alain and Ajay went to see this couple. On 236:rd Dec. 1975 Alain and Ajay went back to Bangkok and Alain came back to Kathmandu on 24th December1975, and Ajay I saw him on 25th in the evening at 5 p.m. around in a restaurant. … On 25th afternoon at about 1 o’clock Alain and I was going in a car when we were stopped by a policeman and taken to a police station at Kathmandu. They asked us, as where we were on Dec.22 night. I replied that from 5 p.m. of 22nd Dec., 75 to morning of 23rd Dec. 1975, we were in Oberoi Hotel. We were taken to the police station at Kathmandu as the color of the car was white and it was suspected in murder. … On 26th Dec. 1975 Alain went to the police station to the detectives about the case, as they became friendly with Alain. The same detective told us that they are looking for an Indian boy. Detective also told that so to body from the hotel had seen one Indian boy with the couple. Alain enquired as to what was the happening. We left the police station after 10 minutes and there Ajay met us in a restaurant. There Alain told Ajay that it is better for us to go away as we are having a white car and we may get trouble. On this night, Alain and I were in Oberoi Hotel on 28th Dec., 1975, Alain, Ajay and I took a private taxi, left our luggage in the hotel room and started by taxi. In the evening at about 9.30 p.m. we reached Raksol check post at night… I was also of the view that we were suspected for two murders … So; Ajay and Alain might have committed both the murders. I could not see them doing all this, as I used to remain in the Hotel room and I had sufficient time to write letters to my family.
२७. यसबाट निज मोनिक लेक्लर्क तथा अजय चौधरी समेतलाई नचिनेको भन्ने प्रतिवादी चार्ल्स शोभराजको उक्त वयान व्यहोरा खण्डित हुनुका साथै पुनरावेदक प्रतिवादी चार्ल्स शोभराज हेनरिकस विन्टान्जाको नामबाट सोल्टी ओवराय होटलमा बसेको, त्यस क्रममा क्यानेडियन केटा र अमेरिकन केटीलाई भेटेको, सेतो कार भाडामा लिई घुमेको, २३ डिसेम्वरमा एलेन र अजय बैंकक गई भोलिपल्ट अर्थात २४ डिसेम्बरमा नेपाल फर्केको, कोन्नी जोको हत्या सम्बन्धमा प्रहरीहरूले सोधपुछ गरेको, हेनरिकस विन्टान्जा र अजयले उक्त हत्या गरेको हुन सक्ने हुँदा प्रहरीको फन्दामा पर्ने डरले सामान होटलमा नै छाडी प्रहरीलाई झुक्याई भारततर्फ भागेको भनी बयानमा उल्लेख गरेको ब्यहोराबाट कोन्नी जोको हत्यामा यी पुनरावेदक प्रतिवादी चार्ल्स शोभराजको संलग्नता रहेको प्रष्ट हुन आएको छ ।
२८. त्यसैगरी इन्टरपोलबाट नेपाल प्रहरीलाई प्राप्त भै महान्यायाधिवक्ताको कार्यालयमार्फत यस अदालतमा प्रमाणको रुपमा मिति २०६३।९।१३ मा इन्टरपोल वाशिंगटनबाट प्राप्त कागजातहरू, मिति २०६४।३।५ मा इन्टरपोल न्यूजिल्याण्डबाट प्राप्त कागजातहरू, मिति २०६४।३।२६ मा इन्टरपोल विङ्ग न्यू दिल्लीबाट प्राप्त कागजातहरू र मिति २०६५।४।२२ मा इन्टरपोल न्यूजिल्याण्डबाट प्राप्त विभिन्न कागजातहरू तथा २०६४।११।३० मा न्यूजिल्याण्ड पुलिसबाट ४ थान डि.भी.डि. समेत प्राप्त भएको देखिन्छ । थाइल्याण्डमा त्यहाँको प्रहरीले Mr. ALAIN GAUTHIER ले जाली राहदानी (Forged passport) प्रयोग गरेको र उल्लिखित विदेशी नागरिकहरूको हत्या गरेको सम्बन्धमा २० मे. १९७६ मा पक्राउ पूर्जी जारी गरेको विवरणहरू इन्टरपोलबाट प्राप्त भै मिसिलमा संलग्न रहेका कागजातबाट देखिन्छ । यसको साथै प्रस्तुत मुद्दा दायर हुनु अघि नेपाल प्रहरीको इन्टरपोल शाखाबाट यी प्रतिवादीको सम्बन्धमा अन्य देशका इन्टरपोल शाखाहरूमा लेखापढी भै आवश्यक कागजातहरू मगाएको समेत प्रमाण फायलबाट देखिन आएको छ । सँगठित अपराध लगायत अन्तराष्ट्रिय स्तरका अपराधीहरूको सूचना आदान प्रदान गरी सदस्य राष्ट्रहरूबीच सहयोग आदान प्रदान गर्नको लागि स्थापना भएको इन्टरपोल प्रहरीहरूको अन्तराष्ट्रिय सँगठन भै संयुक्त राष्ट्रसंघको महासभा द्वारा यसलाई मान्यता दिईएको हुँदा अपराध अनुसन्धानका सम्बन्धमा यस निकायले दिएको तथ्याङ्कहरूलाई सहजै अन्यथा भन्न सकिने अवस्था रहँदैन ।
२९. यी पुनरावेदक कसूरजन्य कुरामा इन्कार रही कोन्नी जोको हत्या भएको अवस्थामा आफू नेपाल नआएको भन्ने सम्म वयान गरेको छ तर अपराध भएको २०३२।९।७ तदनुसार २२ डिसेम्बर १९७५ का दिन वा सोको अघि वा पछि निज कहाँ थिए सो भन्न तथा सोलाई पुष्टि गर्ने कुनै प्रमाण दिन सकेको निजको वयानबाट देखिँदैन । कुनै अभियोग लागेको अभियुक्तले कसूर सम्बन्धी कुरामा साविती भएको वा इन्कार गरेको निजको कथनले मात्र निजको पक्ष वा विपक्षमा स्वतः प्रमाणको स्थान ग्रहण गर्दैन बरु सो साविती वा इन्कारी वयानलाई कुनै आधारभूत, तथ्यपरक एवं निश्चयात्मक प्रमाणबाट समर्थित गराउन पर्ने हुन्छ । प्रमाणबाट समर्थित भए मात्र अदालतले सो कथनलाई निर्णयको आधार बनाउन सक्ने हुन्छ । कुनै प्रमाणविनाको इन्कारी वयान अर्थहीन र प्रयोजनहीन हुन्छ र यस्तोमा निज प्रतिवादीका विरुद्ध संकलित अप्रत्यक्ष प्रमाणलाई पनि निजका विरुद्ध अदालतले प्रमाणमा ग्रहण गर्नुपर्ने हुन्छ । साथै कुनै अभियुक्तले वारदातको समयमा आफू घटनास्थलमा नभई अन्यत्र छु भनी अन्यस्थल (Alibi) को जिकीर लिन्छ भने सो जिकीरलाई प्रमाणित गर्ने भार पनि निज अभियुक्तउपर नै रहन्छ । यस्तो अन्य स्थल Alibi को जिकीर तथ्यपरक, निश्चयात्मक तथा लिखतको प्रमाणबाट समर्थित हुन सके मात्र सो जिकीर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुन सक्ने हुन्छ र सो जिकीर त्यस्तो निर्विवाद र तथ्यपरक प्रमाणबाट स्थापित हुन नसके त्यस्तो जिकीर लिने व्यक्तिका विरुद्ध नै प्रमाण लाग्न जान्छ । प्रस्तुत मुद्दामा यी प्रतिवादी चार्ल्स शोभराज मृतक कोन्नी जोको हत्या भएको समयमा आफू नेपालमा नरहेको भन्ने मात्र वयानमा उल्लेख गरेको देखिएको तर सो अवस्था निज कहाँ कुन देशमा वा कुन स्थानमा थिए भनी स्पष्ट र विश्वासप्रद तवरबाट भन्न नसकेको स्थितिमा निजको सो इन्कारी कथनलाई अदालतले प्रमाणयोग्य मान्न नमिल्ने हुन्छ । माथि प्रकरण प्रकरणहरूमा गरिएको विश्लेषणहरूबाट प्रस्तुत हत्याको वारदात घटेको समयमा पुनरावेदक प्रतिवादी हेनरिकस विन्टान्जाको नामबाट नेपालमा नै रहेको हुँदा निजले कसूरमा संलग्न नरहेको भनी लिएको अन्यस्थल (Alibi) को जिकीर स्वतः खण्डित भएको पाइन्छ ।
३०. यी प्रतिवादी कोन्नी जो ब्रोन्जिचको २२ डिसेम्बर १९७५ को राति भएको हत्यामा संलग्न रहे नरहेको भन्ने मूल प्रश्नतर्फ विचार गर्दा निज मृतकको मुत्यु निज प्र. हेनरिकस विन्टान्जाको नामबाट बसेको एलेन गोटियर भन्ने चार्ल्स शोभराज समेतका व्यक्तिले गरेको भन्ने अभियोजन पक्षको दावी रहेको छ । तर सो सम्बन्धमा उक्त घटना देख्ने तथा सो वारदातमा आफ्नो संलग्नता देखिने कुनै पनि चश्मदिद गवाह वा प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेश गर्न नसकेको हुँदा परिस्थितिजन्य प्रमाणका आधारमा मात्र दोषी ठहर गरिएको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छैन भन्ने पुनरावेदन जिकीर भै पुनरावेदक प्रतिवादी तर्फका कानून व्यवसायीहरूले बहस तथा लिखित बहसनोटमा समेत सो विषयलाई प्रमुखताका साथ उठाइएको देखिन्छ । त्यसैले प्रत्यक्ष र परिस्थितिजन्य प्रमाणका सम्बन्धमा केही विवेचना हुनु बाञ्छनीय देखिन आएको छ ।
३१. प्रमाण भनेको मुद्दामा ठहर गर्नुपर्ने कुनै कुरालाई प्रमाणित गर्न वा खण्डन गर्न सहायता हुने कुरालाई जनाउँछ । प्रमाण भनेको न्यायाधीश वा न्यायिक अधिकारीको लागी तथ्य पत्ता लगाउन कच्चा पदार्थ (Raw Material) हो । प्रमाणको प्रस्तुति तथा प्रस्तुत भएको प्रमाणको विश्लेषण र मूल्याङ्कनबाट न्यायाधीशलाई तथ्य, कसूरदारको मनसाय र आपराधिक कार्यको सम्पादन भएको वा नभएको पत्ता लगाउन मद्दत पुग्दछ । प्रमाण २ किसिमका हुन्छन् :—
(क) प्रत्यक्ष प्रमाण (Direct Evidence) र
(ख) अप्रत्यक्ष र परिस्थितिजन्य प्रमाण (Indirect and Circumastantial Evidence)
३२. प्रत्यक्ष प्रमाणले मुद्दामा सन्निहित विवादका विषयवस्तुको केन्द्र विन्दुसम्म सीधा र सरासर पुगी निर्णय गर्नुपर्ने प्रश्नलाई अनुमान वा विवेकको प्रयोगबिना नै प्रमाणित र स्थापित गर्दछ । हत्याको घटना वा अन्य अपराधको प्रत्यक्षदर्शी साक्षी वा चश्मदिद गवाह प्रत्यक्ष प्रमाणको उदाहरण हो । (Direct Evidence is that which goes expressly to the very point in question and proves it. If believed without aid from inference or deductive reasoning.) प्रत्यक्ष प्रमाण निश्चयात्मक एवं शक्तिशाली प्रमाणको कोटीमा आउँछ । तर जहाँ प्रत्यक्ष प्रमाणको अभाव हुन्छ, त्यहाँ परिस्थितिजन्य प्रमाणको आधारमा अपराध र अपराधीको खोजी गर्ने प्रयास गरिन्छ ।
३३. अप्रत्यक्ष र परिस्थितिजन्य प्रमाणले कुनै काम, घटना वा अपराधका सम्बन्धमा प्रत्यक्ष प्रमाणको अभाव भएमा अभियोजन पक्षले त्यस सम्बन्धमा अप्रत्यक्ष वा परिस्थितिजन्य तथ्य तथा सम्बद्ध सहायक प्रमाणहरूबाट अभियुक्तको कसूर स्थापित र प्रमाणित गर्ने प्रयास गर्दछ । त्यसैले परिस्थितिजन्य प्रमाणलाई अप्रत्यक्ष प्रमाण भनिन्छ । कुनै काम, घटना वा अपराधका सम्बन्धमा अभियुक्तको काम वा व्यवहारका विभिन्न अवस्था र क्रियाकलापबाट तथ्यहरूको कडी एक आपसमा श्रृखंलाबद्ध रुपमा जोडिदा आपराधिक कार्य सम्पादन भएको स्वाभाविक निष्कर्ष निस्कने भएमा र सो कार्य र व्यवहारबाट अभियुक्तले अपराध गरेको स्थापित भएको देखिएमा यस्तो तथ्यहरूको मालाकार कडीलाई परिस्थितिजन्य प्रमाणको रुपमा परिभाषित गरिन्छ । यस्को लागि तथ्यका प्रत्येक कडी एक आपसमा आवद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नु पर्ने हुन्छ ।
३४. कुनै प्रत्यक्ष प्रमाणको रुपमा व्यक्त गर्ने साक्षीले परीक्षणको क्रममा घटना वा अपराधका सम्बन्धमा असत्य वा झुठो कुरा व्यक्त गर्न सक्दछ तर परिस्थिति र तथ्यले कहिल्यै झुठो बोल्दैन भन्ने मान्यताको जगमा परिस्थितिजन्य प्रमाणको सिद्धान्त अडेको हुन्छ । साधारणतया परिस्थितिजन्य प्रमाणलाई प्रत्यक्ष प्रमाण भनिदैन त्यसै कारणबाट एउटा आम धारणा रहेको छ कि परिस्थितिजन्य प्रमाण प्रत्यक्ष प्रमाण भन्दा कम महत्वपूर्ण हुन सक्छ । यद्यपि यो धारणा सदैब सत्य हुन सक्दैन । निश्चय नै प्रत्यक्ष प्रमाणलाई तुलनात्मक रुपमा बढी शक्तिशाली मान्न सकिएला तर एक पेसेवर अपराधीले कसैले देख्ने गरी अपराध नगर्ने र अपराधसँग सम्बन्धित दशी प्रमाण समेत नष्ट गर्ने हुँदा सफल फौजदारी कारवाहीमा अक्सर परिस्थितिजन्य प्रमाण माथि नै भर पर्नु पर्ने बाध्यता रहन्छ । त्यसैले अप्रत्यक्ष वा परिस्थितिजन्य प्रमाणलाई फौजदारी न्याय प्रशासनमा स्थान दिइएको हो । व्यावहारिक रुपमा हेर्दा परिस्थितिजन्य प्रमाणलाई दबाउन, लुकाउन वा तोडमरोड (Fabricate) गर्न कठिन हुने हुँदा प्रत्यक्ष प्रमाण भन्दा यो बढी उपयोगी र भरपर्दो मानिन्छ ।
३५. अब यी पुनरावेदक चार्ल्स शोभराजले कोन्निजो ब्रोन्जिचको हत्या गरेको भनी निजउपर लगाइएको अभियोग दावीका सम्बन्धमा परिस्थितिजन्य प्रमाणको विद्यमानता रहे नरहेको तथा निज उपरको अभियोग दावी सो प्रमाणबाट स्थापित हुन सक्ने हो, होइन तथा पुनरावेदन अदालत समेतले निजलाई कसूरदार ठहराएको मिलेको छ, छैन ? भनी विचार गर्नु परेको छ ।
३६. यी प्रतिवादीउपर हेनरिक विन्टाजाको नामले बसेको ऐलेन गोटियर भन्ने चार्ल्स शोभराजले कोन्निजा ब्रोन्जिचको हत्या गरेको भन्ने अभियोजन पक्षको मुख्य दावी रहेको छ भने पुनरावेदकले सो दावीलाई इन्कार गरेको भएपनि भारतीय अदालतका विभिन्न फैसला र न्यायिक कारवाही समेतका आधारमा माथि विवेचना भएबमोजिम हेनरिकस विन्टान्जाको नामले बसेको एलेन गोटियर भन्ने व्यक्ति यिनै चार्ल्स शोभराज नै हुन् भनी यस इजलासको निष्कर्ष रहेको कुरा माथि प्रकरण प्रकरणहरूमा गरिएको विश्लेषणबाट ठहर भई सकेको छ । त्यस्तै पुनरावेदक प्रतिवादी नै हेनरिकस विन्टाजाको नामले होटल सोल्टी ओवरायमा बसेको भन्ने अभियोग दावी रहेकोमा सो तथ्य पनि निजले भारतीय अधिकारीसमक्ष गरेको न्यायिक कारवाहीको क्रममा वयान गर्दा स्वीकार गरेको र सो वयानको प्रतिलिपि निजकै तर्फबाट प्रमाणस्वरुप बहसनोट साथ पेश हुन आएकोले त्यसलाई अन्यथा भन्न मिल्ने अवस्था छैन । सोल्टी ओवरायको गेष्ट रजिष्ट्रेशन कार्डको मौकामा लिइएको फोटोमा लागेको सहिछाप र प्रतिवादी सन् २००३ मा नेपाल आउँदाको राहदानीमा भएको निजको सहिछाप तथा नमूना सहिछापमा लागेको हस्ताक्षरमा समानता पाइएको भन्ने विशेषज्ञको परीक्षणबाट देखिई निजको बकपत्र भएकोबाट तत्कालीन समयमा हेनरिकस विन्टान्जाको नामबाट सोल्टी ओवरायमा वस्ने व्यक्ति यिनै पुनरावेदक भएको पुष्टि भएको छ ।
३७. यसैगरी अपराध गर्दा निज चार्ल्स शोभराजले गोरखा ट्राभल्सको बा.अ. ५००१ नं. को सेतो रंगको कार प्रयोग गरेको भनी अभियोग दावी भएकोमा सो तथ्यलाई पनि निज तथा निजको साथमा बसेकी मोनिक लेक्लर्कले घटनापश्चात् भारतीय अधिकारीसमक्षको उक्त बयानमा स्वीकार गरेको देखिन्छ । सो कारका चालक पूर्ण महर्जनले यस अदालतमा गरेको बकपत्रमा सो कार भाडामा लिई जाने “डच” नागरिक भनिएका ब्यक्ति यिनै पुनरावेदक हुन् भनी ब्यहोरा लेखाएबाट सो तथ्य समेत प्रमाणित भैरहेको छ । मृतक कोन्निजो ब्रोन्जिचको हत्याको क्रममा सेतो कारको प्रयोग गर्ने निज हेनरिकस विन्टाजाको नामबाट होटल सोल्टीमा बस्ने यी प्रतिवादीलाई हत्यामा संलग्न रहेको भनी प्रहरीले शंका गरी निगरानी राखेको र होटल छाड्दा जानकारी गराउन भनेकोमा निज होटलको बील नतिरी आफ्नो सामान होटलमा नै छाडी टेक्सीबाट भागी गएको भन्ने तथ्यलाई पनि निजले उक्त भारतीय अधिकारीसमक्ष सोही अवस्थामा निजले स्वीकार गरी बयान गरेकोले सो तथ्य पनि स्थापित भएको छ ।
३८. मृतक कोन्निजो ब्रोन्जिचलाई आफूले नचिनेको भन्ने पुनरावेदकको बयान पनि निज कोन्निजोको लाश सनाखत गर्ने क्रिस्टी मैकमिलनले वयान गर्दा कोन्जिोले हामीलाई सोल्टी ओवरायमा एउटा भियतनामी ज्वेलर र उसकी फ्रेन्च स्वास्नीलाई पनि भेटेको र तिनीहरूलाई पटक—पटक भेट्न सोल्टी ओवराय गएको भनेकी थिइन भन्ने कुरा पनि निज क्रिस्टीले घटनाको तत्काल पछि मौकामा व्यक्त गरी दिएकोले भियतनामी मूलका फ्रेञ्च नागरिक यी प्रतिवादी चार्ल्स शोभराजसँग नै पटक—पटक कोन्निजोले भेट गरेको तथ्य स्थापित भएको छ । त्यसैगरी मोनिक लेक्लर्क र अजय भन्ने व्यक्तिलाई समेत नचिनेको भन्ने पुनरावेदक प्रतिवादीको बयान निज मोनिक लेक्लर्कले भारतीय अधिकारीसमक्ष गरेको माथि विवेचित बयानबाट खण्डित भैरहेको छ ।
३९. यसैगरी एलेन गोटियर भनिने हेनरिकस बिन्टान्जा (Henricus Bintanja) का नामबाट सन् १९७५ डिसेम्वरको १८ तारेखमा नेपाल आई सोल्टी ओवराय होटलमा बसी अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जिचलाई कर्तब्य गरी हत्या गर्ने व्यक्ति पुनरावेदक प्रतिवादी चार्ल्स शोभराजले नै हुन् भनी करिब ३४ वर्ष अघि निजउपर किटानी प्रहरी प्रतिवेदन भै त्यसका आधारमा अभियोग दायर भएको देखिन्छ । पुनरावेदक प्रतिवादीका सम्बन्धमा ३४ वर्ष अघि भएको अनुसन्धानबाट स्थापित भएको सो तथ्यका सम्बन्धमा तत्काल अनुसन्धानमा संलग्न भई प्रतिवेदन दिने एस.पि. चन्द्रवीर राइले यस अदालतसमक्ष उपस्थित भै गरेको बकपत्रमा सो समय हेनरिकस बिन्टान्जा (Henricus Bintanja) का नामबाट सोल्टी ओवराय होटलमा बसी प्रस्तुत मुद्दाको अनुसन्धानको क्रममा प्रहरीले निगरानी राख्दाराख्दै भारत तर्फ भागेका व्यक्ति यिनै पुनरावेदक प्रतिवादी चार्ल्स शोभराज हुन् भनी किटानी बकपत्र गरेको देखिन्छ ।
४०. यसै लगाउको जाली राहदानी मुद्दामा पुनरावेदक प्रतिवादीले अघि नै हत्या गरिसकिएका डच नागरिक हेनरिकस बिन्टान्जा (Henricus Bintanja) को नामबाट जाली राहदानी प्रयोग गरी थाइल्याण्डबाट नेपालमा आई बसेको भन्ने आधारमा कसूर ठहर्याएको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला आज यसै इजलासबाट सदर भएको अवस्था छ । अपराधीको मनोविज्ञानले (Criminal Psychology) कुनै एउटा प्रक्रियाबाट अपराध गर्दा अपराधीलाई सफलता हासिल भएमा पुनः पटक–पटक सोही कार्य दोहोर्याई रहन उत्प्रेरित गराउँछ । त्यसै गरी अपराधीले अपराध गरिसकेपछि आफ्नो आपराधिक क्रिया बारे के कस्तो गतिविधि वा प्रतिक्रिया रहेको छ, सो जान्न जिज्ञासा र उत्सुकता लिई पुनः सो ठाउँमा पुग्ने आपराधिक मनोभावना रहेको हुन्छ । सो बमोजिम यी पुनरावेदक प्रतिवादीले अपराध गरी सकेपछि पटक—पटक भारत तथा नेपालमा आउजाउ गरिरहेबाट यसै तथ्यलाई प्रमाणित गरिरहेको छ ।
४१. अतः माथि विवेचना गरिएबमोजिम हेनरिकस विन्टान्जाको नामले बसेको एलेन गोटिएर भन्ने चार्ल्स गुरुमुख शोभराज भन्ने एउटै ब्यक्ति रहेको र निज पुनरावेदक प्रतिवादी चार्ल्स गुरुमुख शोभराज (CHARLES GURMUKH SOBHRAJ) को कार्य र व्यवहारका उपर्युक्त तथ्यहरू मालाकार कडीको रुपमा आबद्ध भई निजले अभियोग दावीबमोजिम कोन्नी जो ब्रोन्जिचलाई हत्या गरेको भनी परिस्थितिजन्य प्रमाणहरूबाट स्थापित हुन आएको देखिएकोले अभियोग दावीबमोजिम निजले कसूर अपराध गरेको भनी कसूरदार ठहर्याई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गर्ने गरी शुरु काठमाडौँ जिल्ला अदालतले मिति २०६१।४।२८ मा गरेको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०६२।४।२० को फैसलामा तथ्यको विवेचना, प्रमाणको मूल्याङ्कन, अपराधको निर्धारण र सजायको उद्घोषण समेतमा कुनै त्रुटि विद्यमान रहेको नदेखिँदा सो फैसला सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको जानकारी थुनामा रहेका प्रतिवादीलाई दिई मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.गौरी ढकाल
इति संवत् २०६७ साल साउन १४ गते रोज ६ शुभम्–
इजलास अधिकृतहरूः नारायणप्रसाद सुवेदी, दीपककुमार दाहाल र श्रीप्रसाद संजेल