निर्णय नं. ८३८० - मोही नामसारी ।
निर्णय नं. ८३८० ने.का.प. २०६७ अङ्क ५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गौरी ढकाल
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
२०६६–CI–०५८८
फैसला मितिः २०६७।३।१८।६
मुद्दा :– मोही नामसारी ।
पुनरावेदक प्रतिवादीः बारा जिल्ला पिप्राविर्ता गा.वि.स. वडा नं. ६ बस्ने दुर्योधन शुक्ला
विरुद्ध
प्रत्यर्थी वादीः ऐ.ऐ. दुर्गादास तत्मा
शुरु फैसला गर्नेः
भू.सु.का.श्री राजाराम थापा
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री केशरीराज पण्डित
मा.न्या.श्री गिरीराज पौड्याल
§ परिवारका कुनै व्यक्तिको मृत्युपश्चात् सम्पत्तिमा रहेको भोगाधिकार स्वतः समाप्त हुँदैन । कुनै पक्षले मोहीका रुपमा भोगाधिकार रहेको व्यक्तिको मृत्युपछि मोही लागेको जग्गाको भोगाधिकार आफूमा सारेको स्वघोषणा गर्नु मोहियानी हक समाप्तिको आधार हुन नसक्ने ।
§ मोहियानी हकको समाप्तिका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को बाटो जग्गाधनीले अपनाएको हुनैपर्छ । अन्यथा सो जग्गामा रहेको जग्गाधनीलाई बाली बुझाई जोत आवाद गर्ने हक मृतक मोहीका परिवारमा स्वतः सर्ने ।
(प्रकरण नं.२)
§ सम्पत्ति स्वामित्वहीन हुन सक्दैन । त्यसैले हक जग्गा पजनीको २क ले पैंतीस दिन पछि दश रुपैया दस्तूर लिई जहिले सुकै पनि नामसारी हुन सक्ने गरी असीमित समय राखेको छ । मोहियानी हक नामसारी गर्न कुनै समय सीमा कानूनले तोकिएको छैन । बाबुको मृत्यु पछि निजका छोरा समेतका हकवाला मोहियानी हक नामसारी गर्ने औपचारिकता पूरै गर्नैपर्छ भन्ने कानूनी बाध्यता छैन । नामसारी गर्नु भनेको अभिलेख अद्यावधिक गर्नु हो । नामसारीको प्रक्रियाले नभएको हक सिर्जना गर्ने नभई कायमी हक हकवालामा सर्ने ।
§ बाजेको मोहियानी हक निजको २०२४ सालमा देहान्त भएपछि अन्य हकवालाको विवाद नहुँदा यी प्रत्यर्थीका बाबुमा सर्यो । बाबुले नामसारी गराई अभिलेख अद्यावधिक नगराउँदैमा निजको मोहियानी हक सिर्जना नै नभएको मान्न नसकिने ।
§ बाजेबाट बाबुमा सरेको मोहियानी २०३१ सालमा निजको देहान्तपछि यी प्रत्यर्थीमा सर्नु भूमिसम्बन्धी ऐन, २०२१ को तत्काल बहाल दफा २६(१) को परिप्रेक्ष्यमा नितान्त कानूनसंगत छ । उक्त जग्गाको मोहीलाई प्रतिवादीले भूमिसम्बन्धी ऐन, २०२१ ले तोकेको प्रक्रिया पूरा गरी नहटाएको अवस्थामा मोहीले निरन्तरता पाइरहेको मान्नु न्यायसंगत हुने ।
(प्रकरण नं.३)
पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री शम्भु थापा
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१), २९
§ जग्गा पजनीको २(क)
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः–
प्रतिवादीका नाममा दर्ता कायम रहेको जिल्ला बारा, गाउँ विकास समिति पिप्राविर्ता वडा नं. ५ कि.नं. ६७ को ज.वि. ०–६–० जग्गामा मेरो बाजे मोही रही आएको र निज स्वर्गवास भई निजको श्रीमती तथा छोरा समेत परलोक भएको हुँदा हक खाने म नाति भई जग्गाधनीले मलाई मोहीमा पत्यार गरी जग्गा जोती आएको हुँदा मेरो नाममा मोही नामसारी गरिपाऊँ भन्ने वादीको उजूरी माग दावी ।
मेरो नाउँको उल्लिखित जग्गामा वादीका बाजे लगन दाश मोही रही आएकोमा निज २०२४ सालमा परलोक भएको र निजको श्रीमती पनि परलोक भैसकेको, छोरा २०३१ सालमै स्वर्गवास भै सकेको, वादीका बाजेले जीवनकालमा उक्त जग्गा छाडी दिएको र मेरो नाउँमा दर्ता भएदेखि मैले नै जोती कमाई आएको, यी वादी समेतले जग्गा नै नजोतेको, मरुवा निष्क्रिय मोही लगत कट्टा गरिपाऊँ भनी शुरु कार्यालयमा मैले निवेदन दिई कारवाहीयुक्त अवस्थामा रहेको हुँदा वादी दावी झूठ्ठा भएकोले खारेज गरिपाऊँ भन्ने प्रतिवादी जिकीर ।
वादीलाई जग्गाधनीले नपत्याएको र वादीले नै जग्गा जोतभोग गरेको भन्ने कुनै सबूद प्रमाण देखिँदैन साथै वादी साविक मोहीको छोरा नभै नाति भएबाट निजका हकमा मोहियानी सर्न सकिने अवस्था नहुँदा मोही नामसारीमा दावी पुग्न नसक्ने ठहराएको शुरु भूमिसुधार कार्यालय, बाराको फैसला मनासिब ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला ।
भूमिसुधार कार्यालय, बाराबाट भएको निर्णयलाई सदर गर्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट समेत भएको फैसला न्यायका मान्य सिद्धान्तविपरीत भै कानूनको प्रतिकूल समेत देखिँदा उक्त दुवै फैसलाहरू बदर गरी दिएको छ वादीको पहिले परेको मोही नामसारी मुद्दाको कानूनबमोजिम निर्णय गरी सकेपछि मात्र प्रतिवादीले पछि दिएको मोही लगत कट्टा मुद्दाको निर्णय गर्नु भन्नेसर्वोच्च अदालतको मिति २०६२।२।३० को फैसला ।
वादी मोहीले जग्गाधनीलाई कुतवाली बुझाएको कुनै सालको भरपाई पेश गर्न नसकेको देखिँदा मिसिल संलग्न प्रमाणको अभावबाट वादी दावी पुग्न नसकी वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय, बाराबाट मिति २०६४।२।३० मा भएको फैसला ।
२०२२ सालमा नापनक्सा हुँदाको अवस्थामा मेरो बाजेको मोहीमा नाम जनिएको, फिल्डबुक व्यहोरा भूमिसुधार कार्यालय, बाराबाट भरेको १ नं. लगत, २ नं. अनुसूची, ४ नं. जोताहाको अस्थायी निस्सा समेतका मिसिल संलग्न प्रमाणबाट मेरो बाजे मोहीले जोतकोड गरेको र बाजेको मृत्युपश्चात् मैले जोतभोग गरेको प्रमाणित भै रहेकोले निष्क्रिय भनी मोही नामसारीको दावी खारेज गर्ने गरी भएको निर्णय त्रुटिपूर्ण छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को प्रचलित व्यवस्थाले जग्गाधनीलाई कुत बुझाउँदा अनिवार्य रुपमा भरपाई लिनै पर्ने बाध्यता छैन । मोहीको मृत्युपछि हकवालामा विधिवत नामसारी हुने कानूनी प्रावधान प्रतिकूल भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी वादी दावीबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
वादीले अ.वं.१३३ नं. बमोजिम गरी दिएको कागज मिसिल सामेल रहेको ।
पुनरावेदकको बाजेको नाउँमा कायम मोही कानूनबमोजिम कट्टा भएको नदेखिनाले मोही नामसारी हुन नसक्ने भनी शुरु भूमिसुधार कार्यालय, बाराको फैसला फरक पर्न सक्ने हुनाले छलफलको लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६५।७।२७ को आदेश ।
भूमि सम्बन्धी ऐन, २०२१ को २०५३।९।२४ मा भएको संशोधनले मोहीका नातिमा समेत नामसारी हुनसक्ने नै देखिन्छ । पुनरावेदकले वादी दावीको जग्गाको भूमिसुधार कार्यालयमा विभिन्न सालको कुत धरौट राखेको देखिएकाले सोबाट दावीको जग्गामा पुनरावेदकको भोग रहेछ भन्ने मान्नु पर्ने हुन आउँछ । यसर्थ वादी दावी खारेज हुने ठहर्याई शुरु भूमिसुधार कार्यालय बाराबाट मिति २०६४।२।३० मा भएको फैसला त्रुटिपूर्ण देखिँदा उक्त फैसला उल्टी भै वादी दावीको जग्गामा वादीको नाउँमा मोही नामसारी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको फैसला ।
वादीका हजुरबुवा लगनदास २०२४ सालमा परलोक हुनु भएको हो । त्यसपश्चात् जग्गाको मैले जोत कमोद गर्दै आएको छु । वादीका बाबु नथुनी दासको पनि २०३१ सालमा स्वर्गवास भएको छ । विवादको बारा जिल्ला पिप्राविर्ता गाउँ विकास समिति वडा नं. ५ कि.नं. ६७ को जग्गा हजुरबुवाबाहेक निजका परिवारका कुनै पनि सदस्यले जोतकमोद गरेका छैनन् । दुई दशक भन्दा बढी समयसम्म जोतकमोद नगर्ने मोहीको मोही कायम रहने कुरा कुनै पनि दृष्टिले न्यायोचित हुन सक्दैन । तसर्थ पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण रहेकाले बदर गरी विपक्षी वादीको दावी नपुग्ने ठहर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक दुर्योधन शुक्लाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले २०२४ सालदेखि मोहीले उक्त जग्गा जोतकमोद नगरी पुनरावेदक जग्गाधनी आफैले जोतभोग गरिआएको अद्वस्था छ । २०२४ सालदेखि जग्गा जोतकमोद नगर्ने मोहीको नातिलाई भूमिसम्बन्धी ऐन, २०२१ मा भएको २०५३ सालको संशोधित व्यवस्था लागू गर्न मिल्दैन । भूमिसम्बन्धी ऐन, २०२१ को चौथो संशोधन अगाडिसम्म नातिमा मोही हक नामसारी हुने व्यवस्था थिएन । मोही मरेपछि सो मोही हक निजको नातिलाई प्राप्त हुन सक्ने ऐनले व्यवस्था गरेको नदेखिने भन्ने सिद्धान्त समेत सर्वोच्च अदालतबाट प्रतिपादन भएको अवस्थामा पुनरावेदन अदालत हेटौंडाले गरेको फैसला मिलेको छैन भनी बहस प्रस्तुत गर्नुभयो ।
मिसिल अध्ययन गर्दा बारा जिल्ला, पिप्रा विर्ता गाउँ विकास समिति वडा नं. ५ कि.नं. ६७ को जग्गाको मोही मेरो बाजे भएकोमा निज स्वर्गवास भई निजको श्रीमती तथा छोरासमेत परलोक भएको र हक खाने र नातिलाई जग्गाधनीले पत्याई जग्गा जोतिआएको हुँदा मेरो नाममा मोही नामसारी गरिपाऊँ भन्ने वादी दावी तथा मोही लगनदासको २०४२ सालमा मृत्यु भएको निजको श्रीमती पनि परलोक भैसकेको र छोरा पनि २०३१ सालमा परलोक भएको वादीका बाजेले आफ्नो जीवनकालमै उक्त जग्गा जोत्न छाडिसकेकाले उक्त जग्गा मैले नै जोतकमोद गर्दै आएको छु । यी वादी समेतले जग्गा नजोतेको हुँदा वादीका नाउँमा मोही नामसारी हुनुपर्ने होइन भन्ने प्रतिवादी जिकीर रहेकोमा मिसिल संलग्न प्रमाणको अभावमा वादी दावी पुग्न नसकी वादी दावी खारेज हुने ठहर्छ भनी भूमिसुधार कार्यालय बाराबाट भएको फैसलाउपर वादी दुर्गादास तत्माको पुनरावेदन अदालत हेटौँडामा पुनरावेदन परी पुनरावेदन अदालतबाट भूमिसुधार कार्यालय बाराको फैसला उल्टी हुने ठहरी भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादी दुर्योधन शुक्लाले यस अदालतमा पुनरावेदन गरेको देखियो ।
मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ताको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिले नमिलेको सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. जिल्ला बारा पिप्राविर्ता गा.वि.स. वडा नं. ५ कि.नं. ६७ को जग्गाको मोही वादीका बाजे लगनदास भएको कुरालाई प्रतिवादीले समेत स्वीकार गरेका छन् । मिसिल सामेल रहेको मोहियानी हकको प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपूर्जा, फिल्डबुक उतारसमेतको प्रतिलिपिबाट समेत वादीका बाजे लगनदासको नाम मोहीका रुपमा जनिएबाट लगनदास उल्लिखित जग्गाको मोही भएकोमा विवाद देखिएन । मोही लगनदासको २०२४ सालमा मृत्यु भएको भन्ने निवेदन जिकीरलाई यी पुनरावेदक पक्षबाट खण्डन नभएबाट सो विषयमा समेत अन्यथा सोच्नु पर्ने अवस्था रहेन । वादीका बाबुको २०३१ सालमा मृत्यु भएको भन्ने कुरा मिसिल कागजातबाट देखिन्छ । बुवा र हजुरबुवाको मृत्यु भैसकेको तथा उक्त जग्गा मैले जोतकमोद गर्दै आएकाले मोहियानी नामसारी गरिपाऊँ भनी वादी दुर्गादास तत्माको भूमिसुधार कार्यालय बारामा निवेदन परी प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । निसन्देह भूमिसम्बन्धी ऐन, २०२१ मा २०५३।९।२४ मा भएको चौथो संशोधनले दफा २६(१) मा पनि परिवर्तन गरी नाति समेतमा मोहियानी सर्ने व्यवस्था गरेको छ । र संशोधित प्रावधानलाई अतित प्रभाव रुपमा प्रदान गरिएको छैन । प्रस्तुत विवादमा निर्विवाद मोही बाजेको मृत्यु २०२४ सालमा भएकोमा विवाद छैन । परिवारका कुनै व्यक्तिको मृत्यु पश्चात् सम्पत्तिमा रहेको भोगाधिकार स्वतः समाप्त हुँदैन । कुनै पक्षले मोहीका रुपमा भोगाधिकार रहेको व्यक्तिको मृत्यु पछि मोही लागेको जग्गाको भोगाधिकार आफूमा सारेको स्वघोषणा गर्नु मोहियानी हक समाप्तिको आधार हुन सक्दैन । मोहियानी हकको समाप्तिका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को बाटो जग्गाधनीले अपनाएको हुनैपर्छ । अन्यथा सो जग्गामा रहेको जग्गाधनीलाई बाली बुझाई जोत आवाद गर्ने हक मृतक मोहीका परिवारमा स्वतः सर्दछ । प्रस्तुत विवादमा २०२४ सालमा मोहीको मृत्यु हुनु, बाली नपाएको भन्ने कुनै किसिमको दावी उजूरी आदि जग्गाधनी पक्ष यी पुनरावेदकबाट नहुनु समेतबाट सो जग्गामा यस मुद्दाका प्रत्यर्थीका २०३१ सालमा देहान्त भएका बाबुले कमाई खेती गर्ने कार्य गरी आएको मान्नुको विकल्प छैन । बाबुको देहान्त पछि निजको छोरामा मोहियानी सर्ने कानूनी व्यवस्था सुनिश्चित छ ।
३. सम्पत्ति स्वामित्वहीन हुन सक्दैन । त्यसैले हक जग्गा पजनीको २क ले पैंतीस दिन पछि दश रुपैया दस्तूर लिई जहिले सुकै पनि नामसारी हुन सक्ने गरी असीमित समय राखेको छ । मोहियानी हक नामसारी गर्न कुनै समय सीमा कानूनले तोकिएको छैन । बाबुको मृत्यु पछि निजका छोरा समेतका हकवाला मोहियानी हक नामसारी गर्ने औपचारिकता पूरै गर्नै पर्छ भन्ने कानूनी बाध्यता छैन । नामसारी गर्नु भनेको अभिलेख अद्यावधिक गर्नु हो । नामसारीको प्रक्रियाले नभएको हक सिर्जना गर्ने नभई कायमी हक हकवालामा सर्ने सम्म हो । प्रस्तुत विवादमा बाजेको मोहियानी हक निजको २०२४ सालमा देहान्त भएपछि अन्य हकवालाको विवाद नहुँदा यी प्रत्यर्थीका बाबुमा सर्यो । बाबुले नामसारी गराई अभिलेख अद्यावधिक नगराउँदैमा निजको मोहियानी हक सिर्जना नै नभएको मान्न सकिन्न । नामसारी नगराएको अवस्थामा मोहियानी हक समाप्त हुने विधिकर्ताले मानेको भए भूमिसम्बन्धी ऐनमा तदनुरुपको व्यवस्था रहने थियो । साथै दफा २९ को व्यवस्था यस रुपमा रहने थिएन । उता यसरी बाजेबाट बाबुमा सरेको मोहियानी २०३१ सालमा निजको देहान्तपछि यी प्रत्यर्थीमा सर्नु भूमिसम्बन्धी ऐन, २०२१ को तत्काल बहाल दफा २६(१) को परिप्रेक्ष्यमा नितान्त कानूनसंगत छ । उक्त जग्गाको मोहीलाई प्रतिवादीले भूमिसम्बन्धी ऐन, २०२१ ले तोकेको प्रक्रिया पूरा गरी नहटाएको अवस्थामा मोहीले निरन्तरता पाइरहेको मान्नु न्यायसंगत हुन्छ । मोही खाली नभै निरन्तरता पाइरहेको अवस्था हुँदा २०२४ सालदेखि आफूले जग्गा जोतेको भन्ने प्रतिवादीको जिकीर विश्वासलायक भएन । मोहीले जग्गा जोत कमोद गरेकोमा सो जग्गाको बाली नबुझाएको भनी प्रतिवादीले वादीउपर कारवाही चलाएको समेत देखिन आएन ।
४. साविक मोहीको मृत्युपश्चात् जग्गाधनीले मरुवा मोहीको लगत कट्टा समेत नगराएको तथा भूमिसम्बन्धी ऐन, २०२१ ले दफा २९ ले तोकेको अवस्था बाहेकका अवस्थामा मोहियानी हक समाप्त नहुने हुँदा दावीको जग्गा वादीको नाउँमा मोही नामसारी हुने ठहर्याई गरेको पुनरावेदन अदालत हेटौँडाको फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.गौरी ढकाल
संवत् २०६७ साल असार १८ गते रोज ६ शुभम् ।