निर्णय नं. ८३८३ - अपुताली हक कायम ।
निर्णय नं: ८३८३ ने.का.प. २०६७ अङ्क ५
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
२०५६ सालको दे.पु.नं. ६४३५
फैसला मितिः २०६७।२।४।३
मुद्दाः– अपुताली हक कायम ।
पुनरावेदक वादीः जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८ बस्ने नरेन्द्रप्रसाद यादव भन्ने नरेन्द्रप्रसाद दास वैष्णव
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला, महोत्तरी, खुट्टा पिपराढी घर भै हाल जिल्ला धनुषा, जनकपुर नगरपालिका वस्ने हनुमान शरण
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री लक्ष्मीप्रसाद दाहाल
मा.न्या. श्री गौरीबहादुर कार्की
§ अपुतालीको महलको १८ नं. मा उल्लेख भएको “वारेश” भन्ने शब्दले भेषधारीको चेलो भन्ने बुझिने हुन्छ, किनकी भेषधारी भएका साधु सन्तहरूको कुनै जात वा थर नहुने हुँदा त्यस्ता भेषधारीको आफ्नै छोरो पनि निजको हकमा वारेश हुन नसक्ने ।
§ भेषधारीको अपुताली चेलोमा जाने भएकाले चेलो भन्ने नदेखिदा पछिबाट भनिएका चेलो हुँ, दीक्षा पनि लिएको हुँ, पगडी पनि पाएको छु भन्ने कुराले प्रमाणिक बल नराख्ने ।
(प्रकरण नं.३)
§ बकसपत्र गरिदिने दाताले चलाई आएसरह आउने अतिथि अभ्यागतलाई सेवा सत्कार गरी भोगचलन गर्नु भनी दाताको शर्त रहेको देखिएको र बकसपत्र प्राप्त गर्ने व्यक्तिले विवादित सम्पत्ति सोही शर्तबमोजिम सञ्चालन गरिआएको कुरामा विवाद नहुँदा सोही शर्तअनुरूप सम्पत्ति प्रयोग हुने भई यस सम्पत्तिमा अपुताली हक कायम हुन नसक्ने ।
(प्रकरण नं.६)
पुनरावेदक वादी तर्फबाटः विद्घान वरिष्ठ अधिवक्ताद्वय श्री महादेव यादव र श्री विनोदकुमार शर्मा, विद्घान अधिवक्ता श्री खगेन्द्र अधिकारी
प्रत्यर्थी प्रतिवादी तर्फबाटःविद्घान अधिवक्ता श्री कमलनारायण दास, विद्वान अधिवक्ताद्वय श्री सतिशचन्द्र झा, श्री नागेन्द्रलाल कर्ण
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ अपुतालीको १८ नं २
§ जग्गा पजनीको २ नं
आदेश
न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत जनकपुरको मिति २०५६।६।११ को फैसलाउपर मुद्दा दोहोर्याई हेरी पाऊँ भनी वादीको यस अदालतमा परेको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता भै पेश हुन आएको प्रस्ततु मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ:–
मेरा पिता रामकिशोर राय यादवले वैष्णव धर्म ग्रहण गर्नु भएकाले पिताबाट नै वैष्णव धर्मको दीक्षा लिई म फिरादी समेत वैष्णव सम्प्रदायमा प्रवेश गरी पिता तथा धर्मगुरु रामकिशोर यादवको संरक्षकत्वमा जीवनयापन गरी आएकोमा पिता २०५०।१०।४ गते परलोक हुनुभयो । पिताले सञ्चालन गरी आउनु भएको जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८ स्थित बिहार कुण्ड कुटीको पगरी रत्नसागरका महन्थद्वारा मलाई प्रदान गरिएको हुँदा हाल मैले नै महन्थको रुपमा सञ्चालन गरीआएको छु । पिता र म समेतले वैष्णव धर्म ग्रहण गरे पनि गृहस्थी त्यागेको सम्झन मिल्दैन । पिता परलोक हुनु भएपश्चात् उहाँको नाममा दर्ता गरेको जग्गा अपुतालीको २ र १८ नं. समेतको व्यवस्थाले मेरा नाउँमा स्वतः दर्ता हुन आउने हुँदा नामसारी दर्ता गराई माग्न जनकपुर गुठी तहसील तथा खर्च कार्यालयमा निवेदन दिएकोमा विपक्षले आफूलाई रामकिशोर यादवको चेलो देखाई मेरा नाममा दर्ता गर्न विरोध र आफ्नो नाममा दर्ता गरी पाउन माग प्रस्तुत गरेकोमा बिहारकुण्ड पोखरीको दक्षिणपट्टिको कुटी श्री राम जानकीको नाउँमा नामसारी गरी कायम गर्न मालपोत कार्यालय धनुषामा लेखिपठाउने र विपक्षलाई कुटीको संरक्षक कायम गरी दिने भनी २०५१।४।९ गते जनकपुर गुठी तथा खर्च कार्यालयले गरेको निर्णयउपर पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गर्दा उक्त टिप्पणी आदेश बदर भई पुनः शुरुमा तारेख तोकी पठाइएकोमा अदालतको फैसलाअनुसार जग्गाको नामसारी सम्बन्धमा हक बेहकको विवाद हुँदा हक कायम गराई ल्याउनु भनी दुवै पक्षलाई सुनाई दिने भन्ने जनकपुर गुठी तहसील तथा खर्च कार्यालयले २०५३।१०।१७ मा गरेको टिप्पणी आदेशको नक्कल २०५३।१२।२७ मा प्राप्त गरी नालेश गर्न आएको छु । मेरा पिताका नाममा दर्ता रहेको धनुषा जिल्ला जनकपुर नगरपालिका वडा नं. १२ सिट नं. १४३५–२४, कि.नं. ११, सिट. नं. १४७५–०४, कि.नं. २१, सिट नं. १४७५–१४ कि.नं. २४, सिट नं. १४७५–१७ कि.नं. ७, सिट नं. १४७५–१८, कि.नं. १६, सिट नं. १४७५–१८, कि.नं. ६३, सिट नं. १४७५–१९ कि.नं. ३१, सिट नं. १४७५–२२ कि.नं. ३, सिट नं. १४७५–२३ कि.नं. २ र ऐ. ऐ. वडा नं. ८ सिट नं. १४७५–०९ कि.नं. ५ को जग्गाको अपुताली हक मेरो कायम गरी नामसारी दर्ता समेत गराई पाऊँ भन्ने नरेन्द्रप्रसाद यादव भन्ने नरेन्द्रप्रसाद दास वैष्णवको २०५४।१।३१ को फिराद दावी ।
वादी दावी फरेवपूर्ण हो । विपक्षी रामकिशोरको छोरा भन्ने बाहेक अरु सम्पूर्ण कथन झूठ्ठा छ । निजको बुवा गृहस्थ नरही गृहत्यागी भेषधारी कुटी स्थान सेवी हुनुहुन्थ्यो । वादी निजका चेला होइनन् । मेरो गुरु भाई स्व. रामकिशोर रायले मिति २०३६।१०।२४ मा पाएको बकसपत्रलाई निजी तवरले पाएको भन्न मिल्दैन । उक्त बकसपत्रमा लालीलाल शरण जात यादव भै कुल त्यागी बाबाजी रही आफ्नु कुटी स्थानमा आउने अतिथि अभ्यागतलाई सेवा सत्कार गरी आएको हुनाले तिमीलाई २०३६ साल वैशाख ७ गतेका दिन तिमी बकसपत्र गराई लिनेलाई चेला तुल्याईबनाई म बसेको कुटी घर स्थानमै रही बसी मेरो गैरह कामकाज गरी आएको कुटी स्थानमा मैले चलाई आए सरह आउने अतिथि अभ्यागतलाई इमान धर्म सम्झी सेवा सत्कार गरी भोग चलन गर्नु जस्तो वाक्याँश उल्लेख भएकोले कुल त्यागी सन्त हुनु भएको गुरु भाई रामकिशोर रायको नाउँमा भएको कुनै पनि सम्पत्ति गृहस्थ छोरामा जान सक्दैन । विपक्षी सो कुटीका महन्थ होइनन् । साधु सन्त महन्थले मलाई पगरी धारण गरीदिनु भएको छ । त्यस मुचुल्कामा रत्नसागर महन्थले पनि सही गर्नु भएको छ । महन्थको रुपमा मैले नै सञ्चालन गरी आएको छु । गृह त्यागी सन्त रहनु भएको मेरो गुरु भाईको अपुताली खाने हकदार म छु निज रामकिशोरको नाउँमा रहेको जग्गाको अपुताली हक मेरो हुने भै मेरो नाउँमा दर्ता समेत गरी पाउने इन्साफ प्रदान गरिपाऊँ भन्ने हनुमान शरण दास वैष्णवको २०५४।४।२६ को प्रतिउत्तर पत्र ।
वादीको बुवा रामकिशोर यादव वैष्णव धर्म लिई पूजा पाठ गरी बस्दथे । निजले जीवनकालमै आफ्नो छोरा नरेन्द्रलाई पनि चेला बनाएकाले रामकिशोर दास वैष्णवको अपुताली खाने वादी नरेन्द्रप्रसाद दास हुन् भन्ने वादीका साक्षी रामदेव यादव र बिसुदेव रायले एकै मिलानले गरेको बकपत्र ।
वादी नरेन्द्रप्रसाद स्व. रामकिशोरको छोरा हुन् । चेला होइनन् । प्रतिवादी हनुमान शरण कुल गृह त्यागी वैष्णव सम्प्रदायमा बस्नु भएको छ । स्व. राम किशोर कुल गृह त्यागी बसेका हुनाले कुटी सम्पत्ति गुरु आर्जनको जग्गा भएको हुनाले अपुताली हक खाने हकदार प्रतिवादी हनुमान शरण हुन् भन्ने प्रतिवादीका साक्षी रामकुमार शरण र रामकिशोर शरणले गरेको एकै मिलानको बकपत्र ।
यसै लगाउको फौ.नं. ६१९ को जालसाजी मुद्दामा वादी दावी नपुग्ने गरी आजै यसै इजलासबाट निर्णय भएको र सो मुद्दामा लेखिएको बुँदा प्रमाण समेतका आधारमा प्रस्तुत मुद्दामा समेत अपुताली हक कायम गरी दर्ता समेत गरिपाऊँ भन्ने वादी दावी पुग्न सक्ने ठहर्दैन भन्ने धनुषा जिल्ला अदालतको मिति २०५४।९।१६ को फैसला ।
कुनै भेषधारी नेपाल अधिराज्यभित्र मर्यो भने त्यसको धनमाल जो छ उसको वारेश भए उसलाई दिनु पर्छ, नभए जुन भेषको अपुताली जुन भेषको महन्थले लिनु भन्ने कानूनी व्यवस्था भएको छ, उसले ती मर्नेको भेषअनुसार सद्गद गरी खान पाऊँछन् भनी अपुतालीको १८ नं. मा भएको कानूनी व्यवस्थालाई जिल्ला अदालतले फैसला गर्दा अनुशरण गरेको छैन । वारेश भए उसलाई दिनुपर्छ भन्ने कथनबाट मर्नेको वारेश अर्थात नजिकको नातेदारदाई दिनुपर्छ भनिएको हो । दाता लालीलाल शरणबाट बकस प्राप्त गर्ने मेरा पिताले बकसपत्रको लेखत खडा हुँदासम्म वैष्णव सम्प्रदायको दीक्षा प्राप्त गर्नु भएको थिएन । कुटी सञ्चालन गर्ने प्रयोजनको लागि विक्री वितरण गर्न नपाउने गरी गृहस्थ आश्रममा बस्दाकै अवस्थामा जग्गा बकस प्रदान गरिएको सम्पत्ति अपुतालीको २ र १८ नं. ले स्वतः मर्नेको सन्तानमा सरेर जाने प्रष्ट हुँदा विपरीत तर्क गरी वादी दावा पुग्न सक्दैन भन्ने ठहर गरिएको धनुषा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी न्याय पाऊँ भन्ने वादीको मिति २०५४।१२।३० मा दर्ता भएको पुनरावेदन पत्र ।
यसमा पुनरावेदक मृतक रामकिशोर राय यादवको छोरा भएकोमा विवाद नभएको । निजले बाबुको म चेला पनि हुँ भनी दावी लिएको अवस्थामा अपुतालीको २ नं. र १८ नं. बाट विवादित सम्पत्ति मिति २०३६।१०।१५ को बकसपत्रको शर्तको अधीनमा रहने गरी पुनरावेदकका नाममा दा.खा. समेत नहुने गरी भएको शुरुको फैसला फरक पर्न जाने हुँदा प्रत्यर्थीलाई छलफलको लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम झिकाउने भन्ने पुनरावेदन अदालतको मिति २०५५।९।२९ को आदेश ।
चेलाको हैसियतले प्रतिवादी हनुमान शरणले पगरी पाई निजलाई नै उल्लिखित सम्पत्तिको संरक्षक र पूजा आजा सदावर्त सञ्चालनको रुपमा मान्यता दिएको कुरा २०५०।१०।१४ को मुचुल्का समेतबाट देखिएको र त्यसलाई वादीले प्रश्न उठाएको नदेखिँदा विवादित जग्गाहरूको स्वामित्व रामजानकीकै नाउँमा रहने र त्यसको संरक्षकत्व प्रतिवादीले गर्ने गुठीको निर्णय मान्नु पर्ने समेतका आधारबाट शुरु धनुषा जिल्ला अदालतको मिति २०५४।९।१६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०५६।६।११ को फैसला ।
पुनरावेदन अदालतले हदम्यादको सम्बन्धमा उठाएको तर्क कानूनसम्मत छैन । मेरो फिराद गर्ने कारण गुठी कार्यालयको २०५३।१०।२७ को निर्णय हो । सो निर्णयलाई टेकी मेरो फिराद गर्ने हदम्याद शुरु हुन्छ , सोको म्याद पाएको ३५ दिनभित्र फिराद गरेकोले हदम्याद नाघेको छैन । उक्त फैसलामा जग्गा पजनीको २क नं. अपुतालीको २० नं. को कानूनी व्याख्याको गम्भीर त्रुटि छ । वादी दावी नै नरहेको विषयमा वादीको ठाउँ स्वयं अदालतले ग्रहण गरी फैसला गरेको छ । २०३६।१०।१५ को बकसपत्रबाट पिताले पाई हक भोग भएको जग्गालाई अपुताली हक कायम हुँदैन भन्नु जग्गा पजनीको २ क नं. विपरीत छ । पितालाई भेषधारी मान्दा पनि अपुतालीको १८ नं. मेरो हकमा आकर्षित हुन्छ । साथै विवादको जग्गा गुठीअन्तर्गतको जग्गा पनि नभएको र यसमा धर्मलोप हुन सक्ने अवस्था पनि नआउने हुँदा जिल्ला अदालतबाट भएको कानूनी त्रुटिपूर्ण फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालतको इन्साफ उल्टी हुन मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिपाऊँ भन्ने व्यहोराको वादीको निवेदन ।
मिति २०५०।१०।४ मा धर्मपुत्र रामकिशोर यादवको मृत्यु भएकोले २०५८।१।८ मा नामसारी गरिपाऊँ भनी वादीको निवेदन परेको र सो निवेदनको सिलसिलामा मिति २०५३।१२।२७ मा पुनरावेदन अदालत जनकपुरको निर्णयबमोजिम सुनी पाएको मितिले ३५ दिनभित्र मिति २०५४।१।३१ मा प्रस्तुत फिराद दायर भएको, राम किशोरले पाएको २०३६।१०।१४ को बकसपत्रको लिखतउपर उजूर नभएको भएपछि लालीलालको चेलाको हैसियतले बकस दिई सकेको सम्पत्तिमा अपुतालीको आधारमा निर्णय गरेको देखिँदा अपुतालीको २० नं. को हदम्याद नाघेको भन्ने पुनरावेदन अदालतको मिति २०५६।६।११ को फैसला मिलेको देखिन आएन । तसर्थ प्रस्तुत मुद्दामा पुनरावेदन अदालतबाट अपुतालीको १८ र २० नं. को प्रयोग त्रुटिपूर्ण तवरले गरेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को देहाय (क) बमोजिम मुद्दा दोहोर्याई हेर्नका लागि निस्सा प्रदान गरीदिएको छ भन्ने यस अदालतको मिति २०५६।१०।१३ को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री महादेव यादव र श्री विनोदकुमार शर्मा एवं विद्वान अधिवक्ता श्री खगेन्द्र अधिकारीले मिति २०३६।१०।१५ को पारित लिखतबाट पिता रामकिशोरको हक भोग नाममा रहेको जग्गा, जग्गा पजनीको २(क) नं. अनुसार स्वतः पक्ष पुनरावेदकको नाउँमा नाउँसारी दर्ता हुने कुरामा हक वेहकको प्रश्न उपस्थित नहुने हुँदा हक वेहकतर्फ सुनाउनु पर्ने होइन । पिता रामकिशोर राय मरी अपुताली परेको कुरामा पिताका दाता लालीलाल शरण प्रासांगिक हुने अवस्था पनि छैन । रामकिशोर रायको छोरा तथा दीक्षा दिनु भएको नाताले चेला समेत भै दुवै हैसियत राख्ने पुनरावेदक वादी वाहेक अन्यको नाउँमा जग्गा नाउँसारी दर्ता हुन नसक्ने र पुनरावेदक वाहेक विवादित जग्गाहरूको संरक्षक अन्य कोही हुन नसक्ने कुरा जग्गा पजनीको २ अपुतालीको २ नं. का अतिरिक्त भेषधारी मानेको अवस्थामा पनि अपुतालीको १८ नं. बाट निर्विवाद रहेको छ । पुनरावेदकका पिता रामकिशोर यादवका दाता लालीलाल शरणको अन्य कोही चेला नरहेको कुरा निज लालीलाल शरणले गरीदिएको बकसपत्रबाटै प्रष्ट भइरहेको स्थितिमा विवादित जग्गाहरूमा पुनरावेदकको हक कायम गर्नुपर्नेमा दावी नै नरहेको कुरामा प्रवेश गरी दावीका जग्गा राम जानकीको नाउँमा दर्ता हुने र विपक्षी हनुमान शरणलाई ती सम्पत्तिको संरक्षक कायम गर्ने गरी भएका शुरु तथा पुनरावेदन अदालतका फैसलाहरू त्रुटिपूर्ण हुँदा बदर उल्टी हुनुपर्छ भनी बहस गर्नुभयो । प्रत्यर्थी प्रतिवादी तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कमलनारायण दास एवं विद्वान अधिवक्ताद्वय श्री सतिशचन्द्र झा र श्री नागेन्द्रलाल कर्णले विपक्षी फिरादी चेलाका हैसियतले आएको नभै छोराको हैसियतले आएका छन् । विपक्षी गृह त्यागी होइनन् । लालीलाल र लैलाल भन्ने व्यक्ति फरक हुन् भनी प्रमाण पेश गर्न सकेको छैन, विवादित जग्गा शिष्या परम्पराअनुसार सर्दै आएका हुन् । मिति २०५०।१०।१४ गते साधु सम्प्रदायले गरेको मुचुल्कामा लालीलाल र लैलाल एउटै व्यक्ति भएको भनी उल्लेख भएको र सो मुचुल्कामा बस्ने सन्त–महन्थहरू उपर जालसाजी मुद्दा दिन विपक्षीको नैतिकताले पनि नदिएको हुँदा निजहरू उपर मुद्दा नदिएका मात्र हुन् । हाम्रो पक्ष हनुमान शरणले कहिँ पनि उक्त विवादित सम्पत्ति आफ्नो नाउँमा होस् भनेको छैन । विपक्षीले बुवाको निजी सम्पत्ति भएको भनी नाउसारीको माग गरी २०३६ सालको बकसपत्रको लिखतको उद्देश्यलाई नै मास्ने उद्देश्य प्रष्ट रहेको हुँदा शुरु तथा पुनरावेदन अदालत समेतबाट दावीका जग्गाहरू रामजानकीको नाउँमा रहने र संरक्षकसम्म हनुमान शरण हुने भनी गरेको फैसला मिलेकै हुँदा सदर कायम गरिपाऊँ भनी गर्नु भएको बहस समेत सुनियो ।
२. अब पुनरावेदन अदालत, जनकपुरको फैसला मिले नमिलेको के रहेछ, पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिएकोले त्यसतर्फ विचार गर्दा यसमा मिति २०३६।१०।१४ मा तयार भई मिति २०३६।१०।१५ मा पारित भएको दिने लालीलाल शरण र लिने रामकिशोर भएको हालैको बकसबाट विवादित सम्पत्ति प्राप्त गरी निज रामकिशोरले आफ्नो नाउँमा दर्ता गराएको तथ्यमा विवाद भएन । उक्त बकसपत्र लिखतको व्यहोरामा अतिथि अभ्यागतलाई इमान धर्म सम्झी सेवा सत्कार गरी भोग चलन गर्नु भन्ने उल्लेख भएको देखिँदा विवादित सम्पत्तिहरू बकसपत्र पाउने रामकिशोरको निजी सम्पत्ति भन्ने देखिएन । निजी सम्पत्ति भए पाउनेलाई विभिन्न धार्मिक प्रयोजनयुक्त शर्त राखी भोग चलन गर्ने कुरा उल्लेख हुँदैनथ्यो । लिखतमा व्यक्त दाताको इच्छा र अभिप्रायअनुरूप नै सम्पत्तिको भोग चलन हुनुपर्ने हुन्छ । साथै लिखतको स्वरुपले नै सम्पत्तिको प्रकृतिको उद्घोष गर्दछ । लिखतले नै ववादित सम्पत्ति रामकिशोरको निजी भन्ने मान्न सकिएन । यो सम्पत्ति निश्चित प्रयोजनका लागि प्रयोग हुने शर्तयुक्त मठको सम्पत्ति मान्नु पर्यो ।
३. मुलुकी ऐन, अपुतालीको महलको १८ नं. मा कुनै भेषधारी नेपाल भित्र मर्यो भने त्यसको धनमाल जो छ उसको वारिश भए उसलाई दिनुपर्छ, नभए जुन भेषको अपुताली जुन भेषको महन्थले लिनु भन्ने कानूनी व्यवस्था भएको छ, उसले ती मर्नेको भेषअनुसार सद्गत गरी खान पाउँछन्, सो मर्नेको धन सम्पत्ति नभए जुन भेषको हो उसै भेषको अपुताली खानेले सद्गत गराउनु पर्छ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाअनुसार भेषधारी रामकिशोरको मृत्युपश्चात् निजको नाउँमा रहेका सम्पत्ति सोही भेषधारीको हुने भन्ने देखिन्छ । यी पुनरावेदक वादीले मिति २०५१।१।८ मा विवादित जग्गाहरू नाउँसारीका लागि गुठी तहसील तथा खर्च कार्यालयमा दिएको निवेदनमा आफू रामकिशोरको हक खाने सबभन्दा नजिकको हकदार छोरा भएको भनी उल्लेख गरेको पाइन्छ । प्रारम्भिक अवस्थामा दिइएको सो निवेदनमा आफू चेलो समेत भएको भनी उल्लेख गरेको पाईँदैन । यसबाट यी पुनरावेदक वादी रामकिशोरको छोरो नाताको भएतापनि चेलो भनी प्रारम्भमा दावी गरेको देखिएन । अपुतालीको महलको १८ नं. मा उल्लेख भएको “वारेश” भन्ने शब्दले भेषधारीको चेलो भन्ने बुझिने हुन्छ, किनकी भेषधारी भएका साधु सन्तहरूको कुनै जात वा थर नहुने हुँदा त्यस्ता भेषधारीको आफ्नै छोरो पनि निजको हकमा वारेश हुन नसक्ने कुरा प्रष्ट हुन्छ । तसर्थ भेषधारीको अपुताली चेलोमा जाने हुन्छ र प्रस्तुत मुद्दाका वादी भेषधारी रामकिशोरको चेलो भन्ने देखिँदैन । पछिबाट भनिएका चेलो हुँ, दीक्षा पनि लिएको हुँ, पगडी पनि पाएको छु भन्ने कुराले प्रमाणिक बल राख्दैन ।
४. यी पुनरावेदक वादीका पिता रामकिशोरलाई बकसपत्र गरीदिने लालीलाल शरण भन्ने व्यक्ति र लैलाल शरण भन्ने व्यक्ति अलग–अलग हुन् भन्ने पुनरावेदकको भनाइ मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि हुन सकेको पनि नदेखिएको र लालीलाल शरण र लैलाल शरण भन्ने व्यक्ति एकै हुन् र निजका चेला हनुमान शरण हुन् भनी १४ जना बयोवृद्ध महन्थहरू सम्मिलित मिति २०५०।१०।१४ मा साधु समाजले गरीदिएको मुचुल्कामा व्यक्त भइरहेको छ । यी साधु सन्तहरूले व्यक्त गरेका कुरालाई सो कुरा प्रकट गर्ने व्यक्तिहरूलाई वादीले प्रतिवादी बनाई दावी लिन सकेको समेत पाइएन ।
५. आफूले गर्दै आएको कुटीको पूजाआजा र सदावर्तको काममा विपक्षी हनुमान शरणले दखल पुर्याएकोले सो कार्य रोकी पाऊँ भनी यिनै पुनरावेदक वादीले विपक्षी हुनमान शरण उपर दिएको संवत्् २०५१ सालको दे.न. ७४ को निषेधाज्ञा मुद्दामा पुनरावेदक अदालत, जनकपुरले विपक्षीबाट लिखित जवाफ समेत नमगाई मिति २०५१।४।१३ मा खारेज भई अन्तिम भई बसेको तथ्य प्रमाणमा रहेको उक्त निषेधाज्ञा मुद्दाको मिसिलबाट देखिन्छ । यी विवेचित आधार र कारणबाट यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने गरी भएको आदेशसँग सहमत हुन सकिएन ।
६. तसर्थ, बकसपत्र गरीदिने दाताले चलाई आए सरह आउने अतिथि अभ्यागतलाई सेवा सत्कार गरी भोगचलन गर्नु भनी दाताको शर्त रहेको देखिएको र बकसपत्र प्राप्त गर्ने रामकिशोरले विवादित सम्पत्ति सोही शर्तबमोजिम सञ्चालन गरीआएको कुरामा विवाद छैन । सोही शर्तअनुरूप विवादित सम्पत्ति प्रयोग हुने भई यस सम्पत्तिमा वादीको अपुताली हक कायम हुन नसक्ने ठहराई शुरु धनुषा जिल्ला अदालतले गरेको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०५६।६।११ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.गिरीशचन्द्र लाल
इति संवत्. २०६७ साल जेठ ४ गते रोज ३ शुभम् –
इजलास अधिृकत : फणिन्द्र पराजुली