निर्णय नं. ८३८७ - कुटपीट अंगभंग ।

निर्णय नं. ८३८७ ने.का.प. २०६७ अङ्क ६
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
२०६२ सालको फौ.पु.नं. ३३९३
फैसला मितिः २०६७।२।१७।२
मुद्दा : कुटपीट अंगभंग ।
पुनरावेदक/वादीः लोकबहादुर खर्बुजाको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी/ प्रतिवादीः जिल्ला भक्तपुर, भक्तपुर न.पा. वार्ड नं. १५ बस्ने गणेशराम खर्बुजा समेत
शुरु फैसला गर्ने :
मा.जि.न्या. श्री प्रेमबहादुर के.सी.
पुनरावेदन फैसला गर्ने :
मा.न्या. श्री नन्दराज अधिकारी
मा.न्या. श्री आत्माराम भटृराई
§ कुनै पीडितलाई लागेको घाउ चोटको पीडाको मूल्याङ्कन घाउ चोट लागेकै समयमा देखिएको चोटको प्रकृति र अवस्थाबाट नै गर्नुपर्ने ।
(प्रकरण नं. ३)
§ अस्पतालका अभिलेखलाई अमान्य घोषित गर्नु कुटपीटको २० नं. को मनसाय होइन । कानूनको व्याख्या र प्रयोग समयसापेक्ष रूपमा गरिनु पर्दछ । समयको परिवर्तन, विज्ञान र प्रविधिको विकास, सामाजिक रूपान्तरणलाई पनि कानूनले ठाउँ दिएसम्म लचिलो रूपमा व्याख्या गर्दै आत्मसात् गर्दै जानु पर्ने ।
(प्रकरण नं. ८)
§ ढिलो जाहेरी पर्दा जाहेरवालाले असत्य तथ्यहरू समावेश गर्ने वा कसैसँग रिसइवी साध्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । तर, घटना र वारदातलाई स्वतन्त्र प्रमाणहरूले पुष्टि गरिरहेका छन् तथा सार्वजनिक निकायका अभिलेखले समर्थन गरिरहेका छन् भने जाहेरीको ९ दिनको ढिलाई नै प्रतिवादीले सफाइ पाउने आधार बन्न नसक्ने ।
§ कानूनको प्रयोग गर्दा पीडित तथा पीडितका परिवारको तत्कालको मानसिक पीडा पनि न्यायकर्ताले महसूस गर्न सक्नु पर्ने ।
(प्रकरण नं. ९)
पुनरावेदक/वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी
प्रत्यर्थी/ प्रतिवादीबाटः वरिष्ठ अधिवक्ता श्री श्रीहरि अर्याल, विद्वान अधिवक्ता श्री हेमकुमार श्रेष्ठ
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन, कुटपीट महलको २, २० नं.
फैसला
न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत पाटनको मिति २०६२।२।२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :
मिति २०६०।११।२ गतेका दिन म काम विशेषले बाहिर गएको समयमा विपक्षीहरू गणेशराम खर्बुजा समेत मिली राईस मीलको ताला तोडी जवरजस्ती गर्न लागेको अवस्थामा मेरी श्रीमती चन्द्रवेती खर्बुजाले देखी के गर्न लाग्नु भएको भनी सम्झाउँदा विपक्षीहरू मध्येकी नारायणदेवी खर्बुजाले कपालमा समाई कुटपीट गरेको र विपक्षी मध्येका पुनदेवी खर्बुजाले मेरी श्रीमतीको आँखामा औंला घुसाई आँखामा चोट लाग्ने गरी कुटपीट गरेको र अन्य विपक्षीहरू समेत मिलोमतोमा आँखा जस्तो संवेदनशील अंगमा चोट पुर्याई उपचारको लागि त्रिपुरेश्वर आँखा अस्पतालमा लगी उपचार गराउँदा दाहिने आँखाको हेर्ने शक्ति नष्ट हुन गई अंगभंग भएकोले विपक्षीहरूलाई पक्राउ गरी मुलुकी ऐन कुटपीटको महलको २(१) नं अनुसारको हदैसम्मको सजाय गरी उपचार खर्चसमेत दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको मिति २०६०।११।११ को लोकबहादुर खर्बुजाले दिएको जाहेरी दरखास्त ।
विपक्षी चन्द्रवेती खर्बुजाको ९ मी.मी.चोट आँखाको नानीछेउ माथिल्लो भागमा लागी आँखा फुटी आँखाको भित्रका अंशहरू बाहिर निस्केको गम्भीर प्रकृतिको चोट भएको कारण घाउ विस्तारै निको हुने संभावना देखिए तापनि आँखाको ज्योति पूर्ववत् अवस्थामा फर्कने सम्भावना न्यून रहेको भन्ने समेत व्यहोराको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको पत्र ।
मिति २०६०।११।२ गते आफ्नै काम विशेषले बाहिर गएको थिएँ । उक्त दिन जाहेरवालाकी श्रीमती चन्द्रवेती खर्बुजा र मेरो साईली भाउजू नारायणदेवी खर्बुजाबीच घरायसी विषयलाई लिएर सामान्य झै झगडा भएको र मेरो श्रीमती पूजन खर्वुजा गई सम्झाई बुझाई गर्दा समेत विवाद हुन गएको र जाहेरवालाको श्रीमती घाइते भई उपचारको लागि लगेको भन्ने पछि सुनेको हुँ । सो घटनामा म संलग्न छैन, किन मलाई समेत उजूरी दिए सो सम्बन्धमा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी गणेशराम खर्वुजाले जिल्ला प्रहरी कार्यालयमा गरेको वयान ।
मिति २०६०।११।२ गतेका दिन जाहेरवालाको कोठामा आइया–आइया गरी रोएको सुनी को के भएको हो भनी बाबुलाई सोध्दा जाहेरवालाको श्रीमती बाहिरबाट आउँदा के कसरी आँखामा चोट लाग्न गई सोही चोटका कारण रोएकी हुन् भन्ने सुनेर थाहा पाएको हुँ । निजलाई को कसले कुटपीट गरेका हुन् वा आफैं लडी आँखामा चोट लागेको हो मलाई केही थाहा छैन । म घटनामा संलग्न पनि छैन भन्ने समेत व्यहोराको प्र. सूर्यलाल खर्बुजाको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयान ।
म बजारबाट तरकारी किनमेल गरी घर फर्की आउँदा जाहेरवालाको श्रीमती चन्द्रवेती खर्बुजासँग भेट हुँदा निजले एक्कासी किन राइस मीलको ताला तोडेको हो भनी मलाई गाली गरेको र सो सम्बन्धमा मलाई केही थाहा छैन भन्दा उल्टै मलाई बाटो छेकी निहुँ खोजेको र सामान्य भनाभन भएको हुँदा सोही समयमा पूजन खर्बुजालाई सम्झाई बुझाई गर्दा पनि अटेर गरेकोले केही धकेला धकेल भएको हो । निजलाई कुनै पनि अंगभंग हुने किसिमले कुटपीट गरेको होइन । के कसरी आँखामा चोट लाग्न गएको हो भन्ने व्यहोराको प्रतिवादी नारायणदेवी खर्वुजाले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको वयान ।
मैले जाहेरवालाको श्रीमती चन्द्रवेती खर्बुजासँग कुनै पनि किसिमको झगडा गरेको छैन । किन मलाई समेत उजूरी दिएका हुन्, मैले दिदी नारायणदेवीसँग भनाभन भएको थाहा पाएपछि सम्झाई बुझाई मात्र गरेको हुँ । के कसको चोटको कारण निजलाई चोट लाग्न गएको हो, मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी पूजन खर्बुजाले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको कागज ।
मेरो श्रीमतीलाई कुटपीट गर्ने निज पूजन खर्वूजा नै हुन् भन्ने समेत व्यहोराको जाहेरवालाले गरी दिएको सनाखत कागज ।
म आफ्नो राइस मील भएको स्थानमा जाँदा विपक्षीहरूले जबरजस्ती ताला तोडी काठ राख्न लागेको हुँदा मैले किन आफूखुसी गर्नु हुन्छ भनी राम्रोसँग सोधपुछ गर्दा विपक्षी चारै जनाको संलग्नतामा नारायणदेवीले कपालमा समाती लछारपछार गरेको र पूजनले आँखामा औंला घुसाई आँखा नै फुटाली दिएको, हालसम्म उपचार गराइरहेको छु भन्ने समेत व्यहोराको पीडित चन्द्रवेती खर्बुजाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।
जाहेरवालाको श्रीमती र प्रतिवादीहरू बीच किन झगडा भएको हो मलाई थाहा भएन । जाहेरवालाको श्रीमती घाइते भई आँखा अस्पताल त्रिपुरेश्वरमा लगी उपचार गराएको हो । निजको दायाँ आँखा फुटेको, हेर्ने शक्ति धेरै कम भएको भन्ने आँखा अस्पतालको डाक्टरले भनेर थाहा पाएको हुँ भन्ने समेत व्यहोराको रामजी अवाल समेतले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा गरेको कागज ।
आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंको पत्र सोही अस्पतालमा चेक जाँच गराएको पीडितको नाउँको इमरजेन्सी तथा नगदी रसिदको फोटोकपी प्रतिवादीहरूको वयान कागज लोकबहादुर खर्बुजाले गरेको सनाखत कागज तथा बुझिएका मानिसहरूको कागज समेतको आधार प्रमाणबाट मिति २०६०।११।२ गतेका दिन जाहेरवालाको श्रीमती चन्द्रवेती खर्बुजा र पक्राउमा परी आएको प्रतिवादीहरूबीच घरायसी विषयलाई लिएर झैझगडा भएको र झैझगडा हुँदा हातपात लछारपछार हुँदा पीडित चन्द्रवेतीको दाहिने आँखा फुट्न गएको र सोही चोटको कारणले चोट निको भए तापनि निज घाइतेको दाहिने आँखाको ज्योति पूर्ववत् अवस्थामा फकर्ने सम्भावना न्यून रहेको भन्ने त्रिपुरेश्वर आँखा अस्पताल काठमाडौंबाट लेखिएको हुँदा निज प्रतिवादीहरूले मुलुकी ऐन कुटपीटको महलको २(१) नं. बमोजिम कसूर अपराध गरेको प्रष्ट हुन आएको हुँदा निजहरूलाई सोही महलको ६ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग दावी ।
जाहेरवाला लोकबहादुर खर्बुजा मेरो आफ्नै माहिलो दाई हो, म भाई हुँ । पीडित घाइते भएकी चन्द्रवेती मेरो भाउजु नाताकी हुन् । मेरो निजहरूसँग रिसईवी केही छैन । मलाई झगडा भएको सम्बन्धमा केही थाहा छैन । झगडा भएको भनेको दिन म भक्तपुर स्थित दुधपाटीमा चिया खान गएको थिए । झगडा भएको भन्ने कुरा मलाई जाहेरी परी समाउन आएपछि मात्र थाहा भयो । कुनै रिसईवी थिएन किन जाहेरी दिए मलाई थाहा छैन । मैले नगरेको कुटपीटमा मलाई सजाय हुनुपर्ने होइन भन्ने व्यहोराको प्रतिवादी गणेशराम खर्बुजाले अदालतमा गरेको वयान ।
जाहेरवाला लोकबहादुर मेरो दाई नाताका मानिस हुन् । पीडित चन्द्रवेती मेरो भाउजु नाताको पर्छ । मेरो निजहरूसँग कुनै रिसईवी छैन । मैले कुटपीट गरेको पनि छैन । कोही कसैलाई कुटपीट गर्ने आदेश दिएको पनि छैन । उक्त दिन म सल्लाघारी गएको थिएँ । म विहान ६ वजे झ्याल बनाउन गएको ९:३० वजे फर्केर आएको हुँ । यस पछि मलाई बाबुले माहिली वुहारी आँखा दुख्यो भनेर रोई रहेकी छ, के भयो थाहा भएन भन्नु भएको हो । के कारणले आँखा फुटेको हो मलाई थाहा भएन भन्ने व्यहोराको प्रतिवादी सूर्यलाल खर्बुजाले अदालतमा गरेको वयान कागज ।
जाहेरवाला लोकबहादुर मेरा माइलो जेठाजु हो । घाइते (पीडित) मेरो जेठानी नाताको पर्छ । प्रतिवादी सूर्यलाल र नारायणदेवी साहिलो जेठाजु र साहिली जेठानी हो, हामी एकै घरमा छौँ । कहिले काँही सँगै, छुट्टै खान्छौँ । हाम्रो अंशबण्डा भएको छैन । मिति २०६०।११।२ गते विहान म आफ्नै घरमा थिएँ । लुगा धुन जान लाग्दा माइली भाउजुले मलाई देख्ने वित्तिकै अंशको कुरालाई लिएर मसँग कराउन लाग्नु भयो । सम्पत्तिको कुरा हामीलाई थाहा छैन, दाजुभाई मिलेर सम्पत्तिको कुरा गर्नु भनेर म लुगा धुन गएको हो । निजको आँखा पहिलेदेखि दुख्ने र आँखा जाँच गर्न पनि जाने गरेको थिएँ । हाल निजको आँखा के कारणले फुट्न गएको हो मलाई थाहा छैन । मेरो निजसँग कुनै रिसईवी थिएन । किन जाहेरी दिएको हो मलाई थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी पूजन खर्बुजाले अदालतमा गरेको वयान ।
जाहेरवाला लोकबहादुर मेरा जेठाजु नाताको पर्छ । पीडित चन्द्रवेती जेठानी नाताको पर्छ । प्रतिवादीमध्येका सूर्यलाल मेरो पति, गणेशराम देवर, पूजन मेरो देउरानी नाताको पर्छ । हाम्रो अंशबण्डा भएको छैन । मिति २०६०।११।२ गते म तरकारी किन्नको लागि विहान ६.१५ बजे गएको थिएँ, ८.३० वजे फर्केर आएँ । चन्द्रवेतीलाई मैले कुटेको होइन, झगडा परेको पनि थाहा छैन । जाहेरवालासँग रिसईवी छैन । किन जाहेरी पर्यो, मलाई थाहा भएन । मैले चन्द्रवेतीलाई कपाल समाई लछार पछार गरेकी छैन । पूजनले आँखामा औंला घुसाएको र आँखा फुटाएको पनि हैन भन्ने समेत व्यहोराको प्रतिवादी नारायणदेवी खर्बुजाले अदालतमा गरेको वयान ।
मिति २०६०।११।२ गते दाजुभाईको झगडा भै मैले चिनेको भाउजु चन्द्रवेतीको आँखा फुटेकोसम्म सुनेको हो । मैले प्रहरीमा गरेको कागजमा भएको व्यहोरा ठीक हो, सहीछाप मेरो नै हो भन्ने समेत व्यहोराका प्रहरीमा कागज गर्ने व्यक्ति रामजी अवालले अदालतमा गरेको वकपत्र ।
मिति २०६०।११।२ गते घरको आँगनमा जाहेरवालाहरू र प्रतिवादीहरू झगडा गरिरहेको देखो । नारायणदेवी खर्बुजाले चन्द्रवेती खर्बुजालाई कपाल लुछेर बसेको र पूजन देवीले चन्द्रवेतीको दायाँ आँखामा हात पुर्याएको देखेको हुँ । म घटना भएको स्थलभन्दा ४/५ मीटर पर नै थिएँ । चन्द्रवेती आँखामा हातले छोपेर भुईँमा बस्यो, त्यसपछि अरु छर छिमेकीले उसलाई अस्पताल लगेको हो । प्रहरीमा मैले गरेको वयानमा भएको व्यहोरा ठीक हो, त्यसमा भएको सहीछाप मेरो आफ्नै हो भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने गगन श्रेष्ठले अदालतमा गरेको वकपत्र ।
जाहेरी दरखास्तको व्यहोरा ठीक हो, त्यसमा भएको सहीछाप मेरो आफ्नै हो । पीडितले अस्पताल गई उपचार गर्नुपर्ने र अस्पतालमै बस्नु पर्ने भएकोले पीडितको श्रीमान् मैले जाहेरी दिनु परेको हो । झगडा भएको समयमा म घरमा थिइन र मैले अन्य व्यक्तिबाट खवर पाएर आउँदा मेरो श्रीमती चन्द्रवेती आँखा छोपेर भुइमा रोइरहेको देखे । नारायणदेवीले कपाल समाएर तानेको र पूजन खर्बुजाले तेरो आँखा नफुटाई छाड्दिन भनी पटक–पटक मेरो आँखामा हानेको भनी मेरो श्रीमतीले मलाई भनेकोले मैले जाहेरीमा उल्लेख गरेकोसम्म हो भन्ने समेतका व्यहोराको जाहेरवाला लोकबहादुर खर्बुजाले अदालतमा गरेको वकपत्र ।
अधिकारप्राप्त अधिकारीसमक्ष भएको कागज व्यहोराको ठीक साँचो हो । यसमा भएको सहीछाप मेरो आफ्नै हो । प्रतिवादी मेरो देवर देउरानी नाताको हो । अंशसम्बन्धी कुरामा हामी बीच कुरा नमिलेकोले मनमुटाव छ । भाई—भाई, वुहारी–वुहारी बीचमा यो घटना समेत गरी ६ पटक झैझगडा भैसकेको छ । मलाई प्रतिवादी पूजन खर्बुजाले आफ्नो हातको बूढी औँलाले मेरो आँखामा घोची दाहिने आँखा अंगभंग भएको हो । चोटपटक लागेको आँखाले म केही देख्दिन आँखामा पानी आउने हुँदा कपासपट्टी राखेको छ । म दुई हप्तासम्म त्रिपुरेश्वर आँखा अस्पतालमा बसे भन्ने समेत व्यहोराको पीडित चन्द्रवेती खर्बुजाले अदालतमा गरेको वकपत्र ।
उनीहरूले झगडा गरेको कुरा सम्बन्धमा मलाई थाहा छैन । लुगा धुँदा चन्द्रवेतीले कचकच कराउन आयो भनेर भन्यो, त्योदेखि बाहेक मैले केही बुझिन भन्ने समेत व्यहोराको प्रतिवादी पूजन खर्बुजाको साक्षी तिमिला वैद्यको वकपत्र ।
यो मुद्दा सम्बन्धमा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको पूजन खर्बुजाको साक्षी रत्नप्रसाद वैद्यले गरेको वकपत्र ।
दुवै पक्षबीच कुटपीट भई मुद्दा चलेको छ भन्ने सुनेको हुँ, सो सम्बन्धमा मलाई अरु केही थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी सूर्यलाल खर्बुजाको साक्षी लक्ष्मीप्रसाद श्रेष्ठले गरेको वकपत्र ।
झगडा सम्बन्धमा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी गणेशराम खर्बुजाको साक्षी श्रवणकुमार पराजुलीले गरेको वकपत्र ।
झगडा सम्बन्धमा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी नारायणदेवी खर्बुजाको साक्षी नरेश त्वायनाले गरेको वकपत्र ।
झगडा सम्बन्धमा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी नारायणदेवी खर्बुजाको साक्षी सुजीतबहादुर कायस्थले गरेको वकपत्र ।
घटना भएको दिन विहान ४/५ वजे तिर मुख धुन गई फर्केर आउँदा मेरो साईलो छोरा सूर्य खर्बुजा आफ्ना काममा झ्याल ढोका बनाउन गए । कान्छा गणेशराम ड्राईभर सिकाउने ठाउँमा गए । साँहिली बुहारी मलाई चिया पकाएर खुवाएर तरकारी किन्न बजार तिर गईन् । सम्पत्ति छुट्याई दिनु भन्ने कुरामा भनाभन भयो, मैले पूर्णदेवीलाई लुगा धुन जाउ भने । पीडित चन्द्रवेती आँखामा धुलोले लागेको हो वा काठैले लागेको हो ऐया भनी कराई बाहिर निस्किन् । कसैले हिर्काएको मैले देखिन, थाहा भएन भन्ने समेत व्यहोराको अ.वं १३९ नं बमोजिम बुझिएका गणेशबहादुर खर्बुजाले गरेको वयान ।
विरामी चन्द्रवेती खर्बुजाको मिति २०६१।८।१५ का दिन पछिल्लो पटक आँखा परीक्षण गर्दा चोट लागेको दायाँ आँखाको घाउ भने निको भएको, तर दृष्टि शक्ति भने पूर्णरूपमा नपुगे तापनि साविकबमोजिम जस्तो समान्य अवस्थामा नआउने देखिएको व्यहोराको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको परीक्षण प्रतिवेदन ।
चन्द्रवेती खर्बुजाको पछिल्लो पटक आँखा परीक्षण गर्दा आँखाको घाउ निको भै दृष्टिशक्ति पूर्ण रूपमा नपुगेको भन्ने परीक्षण प्रतिवेदनबाट विरामी चन्द्रवेती खर्बुजाको कुटपीट को २(१) नं. बमोजिम आँखा फोरी अन्धो भएको अवस्था नदेखिँदा अभियोग दावीबमोजिम अंगभंग मान्न सकिने सबूदको अभाव देखियो । आँखा उपचारको क्रममा आँखाको देख्ने शक्ति पूर्णरूपमा नगुमेको अवस्थामा एउटै किसिमको काम लिने अर्को देव्रे आँखा रहे भएको देखिएको सन्दर्भमा पीडितको दाहिने आँखा फुटी अन्धो नभै दृष्टिशक्ति पूर्णरूपमा नगुमेको अवस्था मिसिलबाट देखिएको, सो हदसम्मको अवस्थामा कुटपीटको ६ नं. मा भएको व्यवस्थाबमोजिम २ वर्ष कैद प्रतिवादी पूजन खर्बुजालाई हुने ठहर्छ । अन्य प्रतिवादीहरू गणेशराम खर्बुजा, सूर्यलाल खर्बुजा र नारायणदेवी खर्बुजाको हकमा बिचार गर्दा यिनीहरूको कसूरमा संलग्नता र उपस्थिति समेत रहेको कुरामा कुनै तथ्ययुक्त प्रमाणबाट पुष्ट्याईं भएको देखिँदैन । पीडित चन्द्रवेतीको प्रहरीमा भएको कागज र अदालतमा गरेको वकपत्र, जाहेरवालाको अदालतमा भएको वकपत्र प्रतिवादीहरूको मौकामा र अदालतमा भएको इन्कारी वयान, प्रतिवादीहरूका साक्षीहरूको वकपत्र, अ.वं. १३९ नं बमोजिम बुझिएका गणेशबहादुर खर्बुजाको वयान समेतबाट यी प्रतिवादीहरूले कुटपीट गरेको नदेखिएको, निजहरू कुटपीटमा संलग्न रहेको भन्ने नदेखिँदा प्रतिवादी गणेशराम खर्बुजा, सूर्यलाल खर्बुजा र नारायणदेवी खर्वुजाले अभियोगबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भक्तपुर जिल्ला अदालतको मिति २०६१।१०।१३ को फैसला ।
उक्त मुद्दामा पीडित एवं चश्मदिद गगन श्रेष्ठको मौकाको कागज एवं अदालतसमक्ष भएको वकपत्र समेतबाट प्र.नारायणदेवी वारदातस्थलमा रहेको र पीडितलाई कुटपीट गर्ने कार्यमा संलग्न रहेको, अन्य सफाइ पाएका प्रतिवादीहरू उक्त वारदातमा संलग्न रहेको भन्ने मिसिल सँगलन तथ्यहरूबाट पुष्टि भइरहेको अवस्थामा निजहरूलाई अभियोग दावीबाट सफाइ दिने ठहर्याएको शुरुको फैसला बदर गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भनी वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
शुरु जिल्ला अदालतले मलाई कसूरदार ठहराई २ वर्ष कैद हुने गरी भएको सजायमा चित्त बुझेन । मेरो चोट छाडेको कारण पीडितलाई उक्त चोट लाग्न गएको भन्ने मिसिल सँगलन तथ्यहरूबाट स्थापित हुन सकेको छैन । म पुनरावेदिकाले अधिकार प्राप्त अधिकारी र अदालतमा वयान गर्दा मैले पीडितसँग झैझगडा गरेको छैन, मैले कुटपीट समेत गरेको छैन भनी वयान गरेको थिएँ । मलाई कसूरदार ठहराई सजाय गर्ने गरेको शुरुको फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी पूजन खर्बुजाले पुनरावेदन अदालत पाटनमा गरेको पुनरावेदन पत्र ।
आफूलाई कुटपीट भएको कुराको दरखास्त गरी यो यसले कुटपीट गरी घाइते बनाएको भनी मौकामा घाजाँचको दरखास्त गरी घाजाँच गराउनु पर्नेमा सो गर्न सकेको देखिँदैन । कुटपीटको २० नं. को व्यवस्थाअनुरूप नजिकको प्रहरी कार्यालय, गाउँ विकास वा नगरपालिका वा सम्बन्धित मुद्दा हेर्ने अड्डामा गई घाजाँच गराएको एकातिर देखिँदैन भने अर्को तिर सोही महलको २१ नं. को व्यवस्थाअनुसार कतै सम्बन्धित निकायमा दरखास्त लेखी यो यसले यस प्रकारबाट कुटपीट गरी घाइते बनाएको भन्न सकेको समेत नदेखिने, यस्तो कानूनले निर्दिष्ट गरेको कार्यविधि नपअनाईएको अवस्थामा यिनै प्रतिवादीहरूको कुटपीटबाट पीडितको आँखामा चोट पुगी अंगभंग भएको भन्न सकिने अवस्था नहुने समेत आधार प्रमाणको विवेचना गरी प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाइ दिनुपर्नेमा सो नगरी पूजन खर्बुजालाई कुटपीटको ६ नं बमोजिम २ वर्ष कैद हुने ठहराई गरिएको भक्तपुर जिल्ला अदालतको २०६१।१०।१३ को फैसलाले पूजन खर्बुजालाई सजाय गर्ने गरेको हदसम्म केही उल्टी भई प्रतिवादी पूजन खर्बुजाले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०६२।२।२ मा भएको फैसला ।
मौकाको जाहेरी तथा मौकैमा आँखा अस्पतालबाट गरिएको परीक्षण समेतबाट पीडित चन्द्रवेतीको दायाँ आँखामा गम्भीर खालको चोट पुग्ने गरी प्रहार भएको भन्ने देखिएको, पीडित चन्द्रवेतीले मौकामा गरेको कागज, प्रतिवादी पूजन खर्बुजाले मौकामा गरेको वयान समेतबाट प्रतिवादीहरूको संलग्नता पुष्टि भैरहेको अवस्थामा सफाइ दिने गरी गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारका तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीहरू उपरको किटानी जाहेरी, पीडित चन्द्रवेती खर्बुजाको मौकाको कागज एवं वकपत्र र आँखा जाँच परीक्षण प्रतिवेदनबाट आँखामा गम्भीर चोट लागेको देखिएको परिप्रेक्ष्यमा पूजन खर्बुजा समेतलाई सफाइ दिएको पुनरावेदन अदालत पाटनको फैसला नमिली फरक पर्ने देखिँदा छलफलका निमित्त विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतबाट मिति २०६५।११।२५ मा भएको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट रहनु भएका विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदीले आँखा अस्पतालको घा जाँच प्रतिवेदनले दायाँ आँखामा गम्भीर प्रकृतिको चोट लागेको र आँखाको ज्योति पूर्ववत् अवस्थामा फर्कन नसक्ने अवस्था देखाएको छ, त्यस्तो निर्दयतापूर्ण कार्य गर्ने प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्नेमा सफाइ दिएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरिनु पर्दछ भनी बहस गर्नुभयो । त्यसैगरी पुनरावेदक प्रतिवादी पूजन खर्बुजाका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री श्रीहरि अर्याल र अधिवक्ता श्री हेमकुमार श्रेष्ठले जाहेरवाला स्वयं प्रत्यक्षदर्शी नभएको हुँदा जाहेरीलाई आधार बनाउन मिल्ने हुँदैन, अभियोग शंकारहित तबरले पुष्टि गरिएको छैन, आँखा पूर्ववत् अवस्थामा नभएपनि आँखा नदेख्ने अवस्था पनि देखिँदैन, आँखा परीक्षण गर्ने चिकित्सकलाई नबुझिएको अवस्थामा अस्पतालको विवरणलाई पनि आधार बनाउन मिल्दैन, तसर्थ पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भनी बहस जिकीर प्रस्तुत गर्नुभयो ।
कानून व्यवसायीहरूको उल्लिखित बहस जिकीर सुनी प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा मूख्य रूपमा प्रतिवादीहरूको प्रहारको कारणले गर्दा पीडित चन्द्रवेतीको दाहिने आँखा फुट्न गएको र सोही चोटले निजको दाहिने आँखाको ज्योति पूर्ववत् अवस्थामा फकर्ने सम्भावना न्यून रहेको भन्ने आँखा अस्पतालको पत्रबाट देखिएको हुँदा सो प्रहारकर्ताका रूपमा प्रतिवादीहरूलाई कुटपीटको महलको ६ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी रहेको देखिन्छ । शुरु अदालतबाट प्रतिवादीमध्येकी पूजन खर्बुजालाई कुटपीटको ६ नं. बमोजिम २ वर्ष कैद हुने र अन्य प्रतिवादीहरूले सफाइ पाउने ठहरी भएको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादी मध्येकी पुनज खर्बुजाले पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेको पाइन्छ । पुनरावेदन अदालत पाटनबाट शुरु फैसला उल्टी गरी प्रतिवादी पूजन खर्बुजा समेतले सफाइ पाउने ठहर्याई भएको फैसलाउपर वादी नेपाल सरकारका तर्फबाट यस अदालतमा पुनरावेदन परेको र यस अदालतबाट किटानी जाहेरी, पीडितको मौकाको कागज एवं वकपत्र र आँखा जाँच परीक्षण प्रतिवेदनसमेतको आधारमा पुनरावेदन अदालत पाटनको फैसला फरक पर्नसक्ने भनी विपक्षी झिकाउने आदेश भएको छ । प्रस्तुत मुद्दामा पीडित चन्द्रवती खर्बुजाको दायाँ आँखामा गम्भीर चोट लागेको भन्ने कुरामा विवाद छैन । उल्लिखित सन्दर्भमा अब सो चोटको प्रकृति, अवस्था, त्यस चोटको कारण र त्यसमा प्रतिवादीहरूको संलग्नता वा असंलग्नता समेतका तथ्यगत विषयमा विवेचना गरी पुनरावेदन अदालत पाटनबाट प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा निष्कर्षमा पुग्नुपर्ने भएको छ ।
२. निर्णयतर्फ विचार गर्दा मिति २०६०।११।२ गतेका दिन प्रतिवादीहरूसँग आफ्नी श्रीमती चन्द्रवेती खर्बुजाको विवाद हुँदा विपक्षीमध्येकी नारायणदेवी खर्बुजाले कपालमा समाई कुटपीट गरेको र अर्का विपक्षी पूजन खर्बुजाले निज चन्द्रवेतीको आँखामा औंला घुसारी आँखामा चोट लाग्ने गरी कुटपीट गरेकोले उपचारको लागि त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा लगी उपचार गराउँदा दाहिने आँखाको हेर्ने शक्ति नष्ट हुन गई अंगभंग भएकोले विपक्षीहरूलाई कारवाही गरिपाऊँ भनी लोकहादुरको खर्बुजाले जाहेरी दरखास्त दिएको देखिन्छ । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको सिलसिलामा आँखा अस्पतालसँग गरेको पत्राचारको जवाफमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले देहायको विवरणसहितको जवाफ प्रेषित गरेको कुरा मिसिल संलग्न पत्रबाट देखिन्छ :
१. आँखाको नानीछेउ माथिल्लो भागमा ९ मी.मी. चोट लागी आँखा फुटेको ।
२. दायाँ आँखा फुटी आँखाका भित्रका अंगहरू (Iris, Lens, Vitreous) बाहिर निस्केको ।
३. चोटको प्रकृति हेर्दा हालको चोटको कारण उपरोक्त समस्याहरू उब्जेको ।
४. आँखाको शल्यक्रिया गरी सिलाउनु परेको ।
५. आँखाको उपचार शल्यक्रियाद्वारा आकस्मिक रूपमा गर्नु परेतापनि गम्भीर प्रकृतिको चोट (Grievous Eye Injury) भएका कारण घाउ विस्तारै निको हुने सम्भावना भए तापनि आँखाको ज्योति पूर्ववत् अवस्थामा फर्किने सम्भावना न्यून रहेको ।
३. आँखामा गम्भीर चोट लाग्ने गरी कुटपीट भएको भनिएकै मितिमा तत्काल गरिएको आँखा परीक्षणबाट पहिचान गरिएको चोटको प्रकृतिबाट निज चन्द्रवेती खर्बुजाको दायाँ आँखामा गम्भीर चोट लागेको भन्ने तथ्य निर्विवाद रूपमा स्थापित भएको छ । त्यसबाट चोटको तत्कालीन प्रकृति र अवस्थाका सम्बन्धमा अन्य आधारहरू खोज्नुपर्ने स्थिति छैन । नेपाल आँखा अस्पतालबाट त्यसपछि गरिएको परीक्षणमा आधारित अन्य विवरणहरूले घटना घटे लगत्तैको तत्कालीन प्रकृति र अवस्थालाई नभई क्रमिक रूपमा भएको उपचारका कारणबाट भएका सुधारको अवस्थालाई देखाउने हुँदा प्रस्तुत विवादमा पछिल्ला विवरणहरूलाई आधार बनाएर निष्कर्षमा पुग्न मिल्ने पनि हुँदैन । कुटपीटको २ नं. ले “कुटपीट गर्दा देहायबमोजिम भएमा अंगभंगको खत ठहर्छ” भनी विभिन्न अवस्था तोकेबाट कुटपीटको प्रकृतिको द्योतक पीडितलाई तत्काल लाग्न गएको चोट हो भन्ने प्रष्ट छ । यसबाट कुटपीटको परिणाम पीडितलाई लाग्न गएको तत्कालीन चोट नै हो भन्ने कुरामा कानूनी रूपमा द्विविधा छैन । केवल सजाय तोक्दा चोटको हालको स्थिति अवलोकन गरिनुपर्ने अवस्था कुटपीटको ६ नं. समेतले गरेको छ । तसर्थ, लागेको चोटको तत्कालीन प्रकृति र अवस्थालाई मूल्याङ्कन गरेर नै चोट के कति गम्भीर हो र त्यसले पीडित पक्षलाई के कस्तो पीडा दिएको छ भन्ने अनुमान गर्न सकिने हुन्छ । हालको आधुनिक चिकित्सा पद्धति र त्यसमा हुँदै गएका नवीनतम् विकास, प्रयोग र परीक्षणहरूले जस्तोसुकै गम्भीर घाउ चोटलाई पनि कालान्तरमा सामान्य अवस्थामा रूपान्तरित गर्नसक्ने अवस्था बनेको छ । तर, कुनै पीडितलाई लागेको घाउ चोटको पीडाको मूल्याङ्कन भने घाउ चोट लागेकै समयमा देखिएको चोटको प्रकृति र अवस्थाबाट नै गर्नुपर्ने हुन्छ । यस सम्बन्धमा हाम्रो विद्यमान कानूनी व्यवस्थालाई हेर्दा मुलुकी ऐन, कुटपीटको महलको २ नं ले देहायका अवस्थालाई अंगभंगको खत मानेको छ :
§ आँखाको हेर्ने शक्ति हीन गरी वा आँखा फोरी अन्धो गरिदिएमा,
§ नाकको सुँघ्ने शक्ति हरण गरिदिएमा,
§ कानको सुन्ने शक्ति हरण गरी बहिरो गरिदिएमा,
§ जिब्रोको बोल्ने शक्ति हरण गरिदिएमा,
§ स्वास्नी मानिसको दूध काटी बेकम्मा गरिदिएमा,
§ नलफलको पुरुषत्व शक्तिहीन गरी नपुंसक गरिदिएमा,
§ मेरुदण्ड, डँडाल्नु, हात, खुटृा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारिदिएमा ।
४. प्रस्तुत मुद्दामा नेपाल आँखा अस्पतालको विवरणअनुसार पीडित चन्द्रवेतीको दाहिने आँखाको हेर्ने शक्ति हीन हुने गरी चोट लागेको अवस्था देखिएको हुँदा उक्त कानूनी व्यवस्थाका आधारमा पनि निजलाई लागेको चोट अंगभंगको परिभाषाभित्र पर्ने नै देखिन्छ ।
५. माथि गरिएको विश्लेषणबाट चोटको प्रकृति र अवस्थाका सम्बन्धमा द्विविधारहित किसिमले तथ्यगत स्पष्टता देखिएपछि अब चोटको कारण र त्यसमा रहेको संलग्नताको विषयमा विवेचना हुनुपर्ने देखिन आउँछ । जाहेरी व्यहोरामा चोटको कारणका रूपमा पूजन खर्बुजाले आँखामा औंला घुसारी औंलाले पटक–पटक प्रहार गरेको भनी उल्लेख गरिएको छ । पीडित चन्द्रवेतीले अनुसन्धान अधिकारीसमक्ष गरिदिएको कागजमा पनि पूजन खर्बुजाले आँखा फुटाली दिन्छु भनी आफ्नो दाहिने आँखामा औंला घुसारी दिएको भनी उल्लेख गरेकी छन् । प्रतिवादीमध्येकी नारायणदेवी र पूजन खर्बुजालाई मात्र कुटपीटमा संलग्न भनी उल्लेख हुँदै आएको परिप्रेक्ष्यमा ती दुई प्रतिवादीको वयान हेर्दा निजहरूले कुटपीट गरेको कुरामा इन्कारी वयान दिएको भए तापनि विवाद भएको तथ्यलाई भने स्वीकार गरेको अवस्था देखिन्छ । जाहेरीमा उल्लेख भएको समयमा आँखामा चोट लागेको भन्ने कुरा पनि प्रतिवादीहरूको वयानबाट देखिन आउँछ । तर, प्रतिवादीहरूको वयानबाट भने कुटपीटकै कारण चोट लागेको होइन भनी देखाउन खोजिएको अवस्था रहेको पाइन्छ । जाहेरी व्यहोरा र पीडित व्यक्तिले लेखाएको कागजमा उल्लेख भएको व्यहोरालाई आँखाको भित्रका अंगहरू (Iris, Lens, Vitreous) बाहिर निस्केको भन्ने अस्पतालको विवरणले पनि समर्थन गरेको देखिन आउँछ । आँखामा औंला घुसाई पटक–पटक प्रहार गर्दा हुने प्रकृतिकै चोट पीडित चन्द्रवेतीको दायाँ आँखामा देखिएको छ । त्यस्तो प्रहारबाट आँखाका भित्री अंगहरू खल्बलिनु र बाहिर निस्कनु स्वाभाविकै देखिन्छ । जसबाट पीडित चन्द्रवेती खर्बुजाको दायाँ आँखामा लागेको चोटको कारण कुटपीट नै हो भन्ने तथ्य स्थापित हुन आउँछ ।
६. पीडित चन्द्रवेतीको आँखामा कुटपीट गर्दा गम्भीर प्रकृतिको चोट लागेको भन्ने तथ्य स्थापित भएको अवस्थामा अब को कसको प्रहारबाट त्यस्तो चोट लागेको हो र वारदातमा को कसको संलग्नता रहेको छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्दछ । जाहेरवाला, पीडित र प्रतिवादीहरू नजिकका नातेदार रहेको भन्ने तथ्य मिसिलबाट खुल्न आएको छ । दाजु–भाई, देवरानी–जेठानी जस्ता अत्यन्त नजिकको नाताभित्रका यी व्यक्तिहरूका बीचमा कुनै रिसइवी रहेको र त्यसलाई साध्नका लागि अनाहकमा आरोप लगाइएको भन्ने कुरा कहिँबाट पनि खुल्दैन । पीडित तथा प्रतिवादीहरूको कथनबाट मिति २०६०।११।२ गते दुवै पक्षबीच विवाद भएको भन्ने देखिएको छ, त्यसरी विवाद भएको स्थानमा प्रतिवादीमध्येकी पूजन खर्बुजाको उपस्थिति रहेको भन्ने कुरालाई पूजन स्वयंले नै आफ्नो वयानको स.ज.७ मा बताएकी छन् । त्यसरी घटना भएको समयमा घटनास्थलमा निज पूजन खर्बुजाको उपस्थिति रहेको देखिएको, जाहेरी व्यहोरा र पीडित स्वयंले गरिदिएको कागजबाट निज पूजनले नै आँखामा औंला घुसाई आँखामा गम्भीर चोट पुर्याएको भन्ने देखिन आउँछ । घटनाको प्रकृति र नेपाल आँखा अस्पतालको विवरणका बीचमा समेत तादात्म्यता देखिएको छ । उल्लिखित विश्लेषणबाट पीडित चन्द्रवेती खर्बुजाको दायाँ आँखामा गम्भीर रूपमा चोट पुर्याउने कार्यमा प्रतिवादीमध्येकी पूजन खर्बुजाको संलग्नता देखियो ।
७. अब प्रतिवादी पूजन खर्बुजाको आपराधिक क्रिया र विद्यमान कानूनी व्यवस्थाका बीचको सम्बन्धलाई हेर्नुपर्ने हुन आउँछ । त्यसतर्फ हेर्दा माथि उल्लेख गरिएको कुटपीटको २ नं. को कानूनी व्यवस्थाले प्रस्तुत विवादमा भएको कुटपीटलाई अंगभंगको खतअन्तर्गत समावेश गरेको देखिन्छ । त्यस्तो अंगभंगको खतमा कसूरदारलाई हुने सजायको हकमा कुटपीटको ६ नं. ले एउटै किसिमको काम लिने एउटाभन्दा बढी अंग हुनेमा सोमध्ये एउटा अंगमात्र बेकम्मा पारी दिएको भए माथि लेखिएको सजायको आधा सजाय गर्नुपर्छ । सो खत निको भई काम लाग्ने भएमा भने दुईवर्ष मात्र कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था गरेको छ । प्रस्तुत मुद्दामा पीडित चन्द्रवेती खर्बुजाको हकमा पनि दुईवटा आँखामध्ये दायाँ आँखामा मात्र कुटपीट गरी अंगभंग भएको देखिएको छ । नेपाल आँखा अस्पतालको तत्कालीन विवरणमा पनि आँखाको उपचार शल्यक्रियाद्वारा आकस्मिक रूपमा गर्नु परेतापनि गम्भीर प्रकृतिको चोट (Grievous Eye Injury) भएका कारण घाउ विस्तारै निको हुने सम्भावना देखाइएको छ । त्यसबाट आँखाको चोट निको हुने अवस्था देखिएको छ । पछि क्रमिक रूपमा भएको उपचारका आधारमा भएको सुधारको अवस्थालाई उक्त आँखा अस्पतालको मिति २०६१।६।२० को पत्रले पनि स्पष्ट गरेको छ । त्यसबाट खत निको भई काम लाग्ने अवस्थामा पुगेको भन्ने पुष्टि भैरहेको हुँदा प्रतिवादी पूजन खर्बुजाको कसूरलाई कुटपीटको ६ नं. मा रहेको खत निको भई काम लाग्ने भएमा दुई वर्ष मात्र कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्थासँग आबद्ध गराएर हेर्नुपर्ने अवस्था देखिन आयो ।
८. पुनरावेदन अदालतले प्रतिवादी पूजन खर्बुजालाई सफाइ दिन प्रयोग गरेको निर्णयाधारहरू कानूनसंगत छैनन् । कुटपीटको २० नं. अनुसार नजिकको प्रहरी कार्यालय, गा.वि.स. वा नगरपालिका आदिमा गई जँचाइएन भन्ने तर्क कानूनसम्मत छैन । घाइते वा पीडितका लागि पहिलो आवश्यकता उपचार हुन्छ । भक्तपुरमा घटेको घटनाको सांघातीतता पीडितको अवस्थाले बोलिरहेको छ । पीडितलाई तत्कालै नेपाल आँखा अस्पताल त्रिपुरेश्वर पुर्याइएको छ । अस्पतालले पीडितको अवस्थालाई गम्भीर रूपमा लिई शल्यक्रिया गरेको छ । यस्तो अवस्थामा कुटपीटको २० नं. अनुसार पहिले प्रहरी वा गा.वि.स. वा नगरपालिका वा सम्बन्धित मुद्दा हेर्ने अड्डामा जँचाउनु पर्ने अनि यी निकायले नजिकको सरकारी अस्पताल वा डिस्पेन्सरीमा पठाई जँचाउनु पर्ने जस्ता पुरातन प्रक्रियाको सीमामा रुमलिइरहनु पर्ने आवश्यकता छैन । कृत्रिम घा चोट प्रकट नहुन र असत्यताले प्रवेश नपाओस् भन्ने कुरामा न्यायकर्ता संवेदनशील हुनुपर्दछ । तर, सुविधासम्पन्न अस्पतालका अभिलेखलाई अमान्य घोषित गर्नु कुटपीटको २० नं. को मनसाय होइन । कानूनको व्याख्या र प्रयोग समयसापेक्ष रूपमा गरिनु पर्दछ । समयको परिवर्तन विज्ञान र प्रविधिको विकास, सामाजिक, रूपान्तरणलाई पनि कानूनले ठाउँ दिएसम्म लचिलो रूपमा व्याख्या गर्दै आत्मसात् गर्दै जानु पर्दछ ।
९. २०६०।११।२ को वारदातलाई लिएर २०६०।११।११ मा जाहेरी पर्यो भन्दैमा प्रतिवादीलाई सफाइ दिने आधार बन्दैन । ढिलो जाहेरी पर्दा जाहेरवालाले असत्य तथ्यहरू समावेश गर्ने वा कसैसँग रिसइवी साध्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । तर, घटना र वारदातलाई स्वतन्त्र प्रमाणहरूले पुष्टि गरिरहेका छन् तथा सार्वजनिक निकायका अभिलेखले समर्थन गरिरहेका छन् भने जाहेरीको ९ दिनको ढिलाई नै प्रतिवादीले सफाइ पाउने आधार बन्न सक्दैन । यस्तो अवस्थामा कुटपीटको २१ नं. को प्रक्रिया पुगेन भन्नु अत्तो थाप्नु हो । कानूनको प्रयोग गर्दा पीडित तथा पीडितका परिवारको तत्कालको मानसिक पीडा पनि न्यायकर्ताले महसूस गर्न सक्नु पर्दछ । अन्यथा न्याय औपचारिक र कानून प्राविधिक बन्न पुग्दछ ।
१०. तसर्थ माथि विश्लेषण गरिएको तथ्यगत अवस्था तथा विद्यमान कानूनी व्यवस्था समेतका आधारमा यी प्रतिवादी पूजन खर्बुजाले पीडित चन्द्रवेती खर्बुजाको दायाँ आँखामा कुटपीट गरी अंगभंगको कसूर गरेको देखिएकोमा पुनरावेदन अदालत पाटनले निजलगायतका सबै प्रतिवादीलाई सफाइ दिने ठहर्याएको हुँदा पुनरावेदन अदालत पाटनको मिति २०६२।२।२ को फैसला केही उल्टी हुने ठहर्छ । प्रतिवादीमध्येकी पूजन खर्बुजालाई कुटपीटको ६ नं. बमोजिम २ वर्ष कैद हुने ठहर्याएको शुरु भक्तपुर जिल्ला अदालतको फैसला मनासिव हुँदा सदर हुन्छ । वारदातमा पूजन खर्वुजा बाहेकका अन्य प्रतिवादीहरूको संलग्नता नदेखिएको हुँदा अभियोग मागदावीबमोजिम अन्य प्रतिवादीहरूलाई समेत सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरुमा तपसीलबमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी पूजन खर्बुजाको हकमा कुटपीटको ६ नं. बमोजिम २ वर्ष कैद हुने ठहरेको हुँदा निज मिति २०६०।१२।६ देखि मिति २०६२।२।६ सम्म थुनामा बसेको देखिँदा सो अबधि कटृा गरी लगत राख्नु र कानूनबमोजिम कार्यान्वयन समेत गर्नु भनी शुरु भक्तपुर जिल्ला अदालतमा लेखी पठाउनू ...................... १
प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ................. २
उक्त रायमा सहमत छु ।
प्र.न्या.रामप्रसाद श्रेष्ठ
इतिसंवत् २०६७ साल जेठ १७ गते रोज २ शुभम्
इजलास अधिकृत : उमेश कोइराला