शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८३८९ - कर्तव्य ज्यान र जबरजस्ती चोरी ।

भाग: ५२ साल: २०६७ महिना: असोज अंक:

निर्णय नं. ८३८९     ने.का.प. २०६७      अङ्क ६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल

संवत् २०६३ सालको फौ.पु. नं ..... ०१९०

संवत् २०६५ सालको साधक नं. ०९७

फैसला मितिः २०६७।१।१२।१

मुद्दाःकर्तव्य ज्यान र जबरजस्ती चोरी 

 

पुनरावेदक वादीः नेपाल सरकार      

विरुद्ध

विपक्षी प्रतिवादीः मोरङ्ग जिल्ला लेटाङ गा.वि.स. वडा नं. ८ बुधवारे बस्ने नबीन भुजेल

 

वादीः नेपाल सरकार

विरुद्ध

प्रतिवादीः नबीन भुजेल 

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री ठाकुरप्रसाद शर्मा

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री भीमेन्द्रबहादुर कार्की

मा.न्या. श्री सुरेन्द्रवीर सिँह बस्नेत

 

§  बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) मा भएको कानूनी व्यवस्था न्यायकर्ताले आफ्नो विवेकअनुकूल प्रयोग गर्नसक्ने प्रकृतिको नभई वाध्यात्मक प्रकृतिको भएकाले चौध वर्ष वा सोभन्दा बढी र सोह्र वर्षभन्दा कम उमेरको बालकले प्रचलित कानूनविपरीतको कसूर गरेमा निजको उमेर तत्वको कारणले एउटा वयष्क व्यक्तिलाई हुने सजायको आधा सजाय घोषणा गर्दा प्रतिवादीले गरेको कसूरको गाम्भीर्यता वा कसूरको मात्रामा कमी नआउने 

(प्रकरण नं.७)

§  सर्वश्वसहित जन्मकैदको सजाय भएको मुद्दामा बालबालिका सम्बन्धी ऐनको प्रयोग भएकै आधारमा १८८ नं. बमोजिम राय व्यक्त गर्न अथवा व्यक्त गर्न नमिल्ने भन्न नसकिने 

(प्रकरण नं.८)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली

विपक्षी प्रतिवादी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११, ११(३),

§  ज्यान सम्बन्धी महलको १ नं. ६(४) नं.  र चोरीको ४ नं

§  अ.वं. १८८ नं.

 

फैसला

            न्या.गिरीश चन्द्र लालः पुनरावेदन अदालत विराटनगरको मिति २०६३।२।२ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन दायर भई र यस अदालतको मिति २०६५।३।१५ को आदेशानुसार साधकमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

            जिल्ला मोरङ्ग लेटाङ गा.वि.स. वडा नं. ७ नकलेधार जंगलबीच असारेको सुकेको ठूटो नजिक डेढ फीट गहिरो खाल्डो सो खाल्डोमा मृतक ऐ. लेटाङ ८ बस्ने वासीखारे राईको छोरा वर्ष ८ को मिथुन राइको लास रहेको सो लास हेर्दा कानको लोती च्यातिएको घाँटीमा थिचिएको डामजस्तो देखिएको, छातीमा घिस्रिएको जस्तो डाम समेत भएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लास जाँच मुचुल्का 

            मिति २०५९।१०।८ गतेका दिन बेलुकी अं.५ बजे जिल्ला मोरङ्ग लेटाङ ८ बस्ने वासीखोरे राईको छोरा वर्ष ८ को मिथुन राईलाई ऐ. बस्ने खड्गबहादुर राईको छोरा वर्ष १६ को नवीन भुजेलले नक्कलेधार जंगलमा लगी कुटपीट गरेर घाँटी थिचि कानमा लगाएको सुनको कुण्डल, २ आनामा १ लाल कम सुन लुछी तानी जवरजस्ती चोरी गरी लिई निजलाई कर्तव्य गरी मारेपश्चात् खाल्डो खनी पुरेको र चोरी गरी लिएको सुनको कुण्डल ऐ. लेटाङ ६ बस्ने राजेन्द्र वि.क लाई विक्री गरेको भन्ने समेत व्यहोराको प्र.ह. कुमार श्रेष्ठको प्रतिवेदन 

            निज नवीन भुजेलले सो सुनको कुण्डल लिई मेरो घरमा आई मेरो भाइको सुन हो किनिदिनुहोस् भनेकाले सो कुण्डल तौल गर्दा २ आनामा १ लाल कम थियो । भाइको सुन भएकोले मैले रू. ३००।मा खरीद गरे सो रकममध्येबाट निजले चाँदीको २ आना १ लालको औंठी लिएको हुँदा सो चाँदीको औंठी रू.२७०।नगद निजलाई दिएपछि बुझ्दा निजले मिथुन राईलाई उक्त मिति समयमा र स्थानमा लगी निजको कानमा लगाएको सो सुनको कुण्डल जवरजस्ती चोरी गरी निजलाई कुटपीट गरी घाँटी थिची कर्तव्य गरी मारेको भन्ने थाहा पाऊँ भन्ने समेत व्यहोराको राजेन्द्र वि.क को बयान 

            जिल्ला मोरङ्ग लेटाङ ६ स्थित चौकि टोलको गोविन्द भट्टराईको घर पश्चिमपट्टि रहेको पूर्व मुखको राजेन्द्र वि.क को घरको तलामाथि दक्षिणपट्टिको सुन्ने कोठा भित्र स्टीलको दराज खोली हेर्दा प्र. नवीन भुजेलले विक्री गरको सुनको कुण्डल थान२ फेला परेको भन्ने समेत व्यहोराको बरामदी खान तलासी मुचुल्का 

            उक्त सुनको कुण्डल मेरो छोरा मिथुन राईले लगाएको हो भन्ने पञ्च कुमारी राईले गरिदिएको सनाखत कागज 

            मिति २०५९।१०।८ गतेका दिन बेलुकी ५ बजे वर्ष ८ का मिथुन राईलाई मोरङ्ग लेटाङ गा.वि.स. वडा नं. ७ स्थित नकलेधार जंगल नजिकबीचमा लगी निजले कानमा लगाएको सुनको कुण्डल लुछी जवरजस्ती चोरी गरी निजलाई घाँटी थिचि कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको प्रतिवादी नवीन भुजेलको बयान 

            निज मृतक मिथुन राईको घाँटीमा थिचिएको कारण समान्य गतिमा स्वास प्रश्वास बन्द हुन गई मृत्यु भएको भन्ने समेत व्यहोराको लास जाँच रिपोर्ट 

            पक्राउ परेका निज प्रतिवादी नवीन भुजेलले मेरो नाबालक छोरा वर्ष ८ को मिथुन राईलाई मिति २०५९।१०।८ गतेका दिन बेलुकी अं. ५ बजे उक्त घटनास्थलमा लगी निज छोराले कानमा लगाएको सुनको कुण्डल जवरजस्ती चोरी गरी लाने उद्देश्यले मार्ने मनसाय लिई कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको पञ्चकुमारी राईको कागज 

            निज प्रतिवादी नवीन भुजेलले मिथुन राइलाई निजले कानमा लगाएको सुनको कुण्डल जवरजस्ती चोरी गरी लिने उद्देश्यले ज्यान मार्ने मनशायले भूईमा लडाई कुटपीट गरी घाँटी थिची कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको विचार सिँह राई समेतले लेखाई दिएको वस्तुस्थिति मुचुल्का 

            उल्लिखित सबूद प्रमाणहरूबाट मिति २०५९।१०।८ गतेका दिन प्रतिवादी नवीन भुजेलले मिथुन राईलाई एकान्त जंगलमा लगी कुटपीट गरी भुईमा लडाई घाँटी थिचि छट्पटाउँदै गर्दा विगो रू.९१३।९२ को सुनको कुण्डल जवरजस्ती लुछी चोरी गरेको र मिथुन राईलाई घाँटी थिची मारेको तथ्य पुष्टि भई निज प्रतिवाद नवीन भुजेलले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र चोरीको ४ नं. बमोजिम कसूर अपराध गरेको हुँदा निज प्रतिवादी नवीन भुजेललाई बालबालिका सम्बन्धी ऐन, २०५८ को दफा ११(३) नं बमोजिम सजाय र बरामद सुन मृतकको आमा पञ्चकुमारी राईलाई फिर्ता गरिदिनु हुन र प्रतिवादी नवीनबाट सस्तोमा चोरीको सुन रू.३००।मा खरीद गर्ने प्रतिवादी राजेन्द्र वि.क. लाई चोरीको २४ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०५९।११।९ को अभियोग पत्र 

            मिति २०५९।१०।८ गतेका दिन म र मृतक मिथुन राई दाउरा काट्न जंगलमा गई मैले काटेको रुखको हाँगाले मिथुनको नाकमा लागि खुन आएपछि निजले आमालाई भनिदिन्छु भनेकाले फकाउँदा पनि नमानेपछि निजको टाउको र गालामा एक थप्पड हिर्काए मिथुन भूईमा लड्यो । म जंगल गई फर्केर आउँदा मिथुन लडीरहेको देखी बोलाउँदा नबोलेपछि निजले कानमा लगाएको कुण्डल तानी खोली झिकी लाने विचार गरी खोली तानी झिको र गोजीमा राखी मिथुन राईको घाँटी एकछिन थिचें । सो पछि मर्‍यो भन्ने भई नजिकै जंगलमै भएको लौरोले खाल्डो खनी मिथुनलाई खाल्डो भित्र हाली माथिबाट माटोले पुरी उक्त ठाउँबाट बेलुका अं. ५.३० बजेको समयमा म आफ्नो घर गए, भोलिपल्ट विहान सुन व्यापारी राजेन्द्र वि.क. लाई उक्त कुण्डल थान२ रू. ३००।मा विक्री गरी सोबाट रू. ३०।मा चाँदीको औंठी किनी रू. २७०।लिई रू. १०।खर्च गरी रू. २६०।लुकाई राखेको थिएँ, मिति २०५९।१०।९ गते मलाई प्रहरीले पक्राउ गरेपछि सो रुपैयाँ समेत देखाइ दिएँ कुण्डल लाने विचार आई मैले कुण्डल कानबाट निकाली सकेपछि पनि थाहा नपाएको हुँदा घाँटी थिची मैले खाडल खनी पुरेको हुँ भन्ने समेत व्यहोराको मिति २०५९।११।९ को प्र.नवीन भुजेलको अदालतसमक्षको बयान 

            मृतकको कानको कुण्डल थान२ प्रतिवादी नवीन भुजेलले विक्री गर्न ल्याएको हुँदा निजबाट रू.३००।मा मैले खरीद गरेको मिथुन राईलाई मारी निजको कुण्डल विक्री गर्न ल्याएको भन्ने थाहा पाई जानजान खरीद गरेको होइन । नराम्रो कान्छो सुन भएकोले त्यति दाममा खरीद गरेको आमाले बेच्न पठाएको भन्यो जति आउँछ किनी दिनुहोस् भनेकाले खरीद गरेको हो चोरीको भन्ने थाहा जानकारी पाई खरीद गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द्र वि.क. को मिति २०५९।३।१२ को अदालतसमक्ष बयान 

            राजेन्द्र वि.क. ले चोरीको सुन हो भन्ने जानीजानी खरीद गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द्र वि.क. को साक्षी राजु साहले गरेको वकपत्र 

            वादीको साक्षी विचार सिँह राई र पञ्चकुमारी राईले प्रतिवादी नवीन भुजेलले मिथुन राईलाई कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको वकपत्र 

            प्रतिवादी नवीन भुजेल १५ वर्षको नाबालक देखिँदा ज्यान सम्बन्धी महलको १३(३) नं. लगाउन कानूनसंगत देखिएन त्यसैले ज्यान सम्बन्धी महलको ६(४) नं. बमोजिम निजलाई २ वर्ष कैदको सजाय हुनेमा बालबालिका ऐनको दफा ११(२) नं. बमोजिम आधा अर्थात १ वर्ष कैद हुने ठहर्छ । अर्का प्रतिवादी राजेन्द्र वि.क. ले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु मोरङ्ग जिल्ला अदालतको मिति २०६०।९।२।२ को फैसला 

            प्रतिवादी नवीन भुजेलको हकमा कर्तव्य ज्यानको नै वारदात देखिएको अवस्थामा भवितव्य ज्यानमा परिणत गरेको र चोरीको १४(२) नं. को दावीको सम्बन्धमा बोल्दै नवोलिएको तथा प्रतिवादी राजेन्द्र वि.क.ले १५ प्रतिशतभन्दा बढी मुनाफा हुने गरी कागज नगरी सामान खरीद गरेको पुष्टि हुँदाहुँदै सफाइ दिएको शुरु फैसला त्रुटिपूर्ण हुँद बदर गरिपाऊँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र 

            चोरीको महलको १४(२) नं. बमोजिम सजाय हुन समेत माग दावी लिई अभियोग पत्र दायर भएकोमा सो तर्फ नबोली गरेको शुरु फैसला फरक पर्ने हुँदा छलफलको लागि प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको आदेश 

            यी प्रतिवादी नवीन भुजेलले अभियोग पत्र माग दावीअनुरूप मुलुकी ऐन, ज्यान सम्बन्धीको १ नं अनुसार कसूर गरेको देखिन आएको हुँदा शुरु जिल्ला अदालतबाट मिति २०६०।९।२।४ मा मुलुकी ऐन, ज्यान सम्बन्धीको ६(४) नं. बमोजिम भवितव्यमा २(दुई) वर्ष कैद सजाय गरेको मिलेको अवस्था नदेखिँदा सो फैसला उल्टी हुने ठहर्छ । प्रतिवादी नवीन भुजेललाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) नं. अनुसार सर्वश्व सहित जन्मकैद हुने ठहर्छ । यी प्रतिवादी नवीन भुजेललाई नाबालक रहेको हुँदा बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) नं. अनुसार आधा सजायको माग दावी रहेको हुँदा निजको उमेर १४ वर्ष भएकोले आधा सजाय हुने ठहर्छ । साथै यी प्रतिवादी नवीन भुजेल नाबालक रहेको र मृतक समेत जंगलमा चोर पुलिस खेल्दा खेल्दै वारदात घट्नाको रुप लिएको मृतकलाई मार्नु पर्ने त्यस्तो पूर्व योजना रिसइवी मनसाय समेत नभएको वारदातको रुप हेर्दा निजलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्न जाने अवस्था देखिन आएकोले मुलुकी ऐन, अ.वं. १८८ नं. अनुसार प्रतिवादी नवीन भुजेललाई १(एक) वर्ष सजाय गर्दा उपयुक्त हुने राय व्यक्त गरिएको छ 

            निज प्रतिवादी राजेन्द्र वि.क ले आरोपित कसूरबाट सफाइ पाउने ठहर गरेको उक्त मिति २०६०।९।२।४ को फैसला उल्टी भई यी प्रतिवादीलाई मुलुकी ऐन चोरीको २४ नं. अनुसार बरामद कुण्डलको मूल्याङ्कन विगो रू.६३०।बमोजिम जरीवाना हुने ठहर्छ भन्ने पुनरावेदनको फैसला 

            प्रतिवादी नवीन भुजेललाई अभियोग दावीबमोजिम कसूर ठहर गरी बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) को सुविधा दिई अ.वं. १८८ नं. को राय लगाई एक वर्ष कैद गर्ने गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसलामा अ.वं. १८८ नं. को राय लगाई एकवर्ष कैद सजाय गर्ने र चोरीको दावीतर्फ कसूर कायम हुने नहुने सम्बन्धमा केही नबोली भएको उक्त फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादी नवीन भुजेललाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र 

            नियमबमोजिम आजको दैनिक पेसी सूचना चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता खेमराज ज्ञावलीले प्रतिवादीलाई बालबालिका सम्बन्धी ऐन, २०४८ बमोजिम दावीअनुसारको सहुलियत दिई सकेपछि लाग्नै नसक्ने अ.वं. १८८ नं. लगाई शुरु अदालतले गरे भन्दा पनि कम सजाय गरेको पुनरावेदन अदालतको फैसला उल्टी भई प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भनी बहस गर्नुभयो 

            विद्वान कानून व्यवसायीको बहस सुनी पुनरावेदन पत्र सहितको सम्पूर्ण मिसिल कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत विराटनगरले गरेको फैसला मिले नमिलेको के हो ? पुनरावेदकको पुनरावेदन जिकीर पुग्छ वा पुग्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

            २. निर्णयतर्फ विचार गर्दा मिति २०५९।१०।८ गते मोरङ्ग लेटाङ ८ बस्ने वर्ष ८ को मिथुन राइलाई ऐ. बस्ने खड्गबहादुरको छोरा नवीन भुजेलले जंगलमा लागी कुटपीट गरेर घाँटीमा थिची कानमा लगाएको सुनको कुण्डल लुछी तानी जवरजस्ती चोरी गरी निजलाई कर्तव्य गरी मारेपश्चात् खाल्डो खनी पुरेको भन्ने समेत प्र.ह. कुमार श्रेष्ठको प्रतिवेदनको आधारमा अनुसन्धान हुँदा निज प्रतिवादी नवीन भुजेलले मिथुन राइलाई एकान्त जंगलमा लगी घाँटी थिची मारी सुनको कुण्डल जवरजस्ती लुछी चोरी गरेको तथ्य पुष्टि भएको भनी प्रतिवादी नवीन भुजेलले ज्यान सम्बन्धी महलको १ नं र चोरीको ४ नं बमोजिम कसूर अपराध गरेको भनी बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सजाय हुन मागदावी लिएको देखिन्छ 

            ३. प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतले प्रतिवादी नवीन भुजेललाई ज्यान सम्बन्धी महलको ६(४) नं. बमोजिम दुई वर्ष कैद हुने ठहर गरेउपर वादीको तर्फबाट पुनरावेदन परेकोमा पुनरावेदन अदालतले शुरु फैसला उल्टी गरी प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १३(३) नं बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर गरी बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार आधा सजाय गरी अ.वं. १८८ नं. बमोजिम एक वर्ष कैद सजाय गर्दा उपयुक्त हुने राय व्यक्त गरेकोमा सजाय कम भयो भनी वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको र यस अदालतको मिति २०६५।३।१५ को आदेशअनुसार प्रतिवादी नवीन भुजेलको हकमा साधकमा दर्ता भई पेश हुन आएको देखिन्छ 

            ४. यसमा प्रतिवादीले अनुसन्धानको क्रममा अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयानमा वारदातको दिन मृतक र आफू जंगलमा गएको र त्यहाँ चोर पुलिस खेलेको र केही समय पछि आफूले सानो विरुवा काटेकोमा विरुवको हाँगाले मृतको नाकमा लागी रगत बगेपछि आमा बुबालाई भनिदिन्छु भन्दै दौडेर घरतर्फ आउन लाग्दा रिस उठी लखेट्दै गई  एक झापड हानेर भूईमा लडाई बायाँ हातले घाँटीमा थिचेको र दायाँ हातले निजको कानको कुण्डल लिएको र मृत्यु भएपछि सानो काठले खाल्डो खनी निजलाई माटोले पुरी घरमा आएको भनी कसूरमा सावित भई बयान गरेको देखिन्छ । निज प्रतिवादीले अदालतसमक्ष गरेको बयानमा पनि अनुसन्धानको क्रममा व्यक्त गरे सरह नै आफूले काटेको सानो रुख ढली मृतकको नाकमा लागेको र निजले आमा बाबुलाई भनी दिन्छु भनेपछि मृतकको टाउको र गालामा समेत पर्ने गरी एक थप्पड हिर्काएको र मृतक भुईमा लडेपछि घाँटी थिची मारी खाल्डो खनेर पुरेको भनी आफैले घाँटी थिचेको कारणबाट मृतकको मृत्यु भएको तथ्यलाई स्वीकार गरेको देखिन्छ । लाश प्रकृति मुचुल्का हेर्दा मृतकको कानको लोती च्यातिएको पाइन्छ भने शव परीक्षण प्रतिवेदनमा मृत्युको कारणमा manual Strangulation भनी उल्लेख गरिएको देखिन्छ । यसबाट प्रतिवादीले गरेको साविती बयान लाश प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदन समेतबाट समर्थित भएको देखिन्छ । यस स्थितिमा मृतकको मृत्यु प्रतिवादीको कर्तव्यबाट भएको भन्ने तथ्यमा विवाद देखिएन 

            ५. जहाँसम्म प्रतिवादीलाई पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैद हुने ठहर गरी बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) को आधारमा दशवर्ष कैद गरेको र अ.वं. १८८ नं. बमोजिम राय व्यक्त गरी एकवर्ष मात्र कैद हुने ठहर्‍याएको पुनरावेदन अदलतको फैसलामा बालबालिका सम्बन्धी ऐनले प्रदान गरेको सुविधा दिई सकेपछि अ.वं. १८८ नं. बमोजिमको राय व्यक्त गरी सजाय घटाउन मिल्दैन भन्ने नै पुनरावेदकको मुख्य जिकीर रहेको छ । सो सम्बन्धमा विचार गर्दा प्रतिवादी नवीन भुजेललाई बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) नं. बमोजिम गरी मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुन अभियोग पत्र दायर भएको देखिन्छ । बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११ मा बालकको अपराधिक दायित्वको सम्बन्धमा व्यवस्था गरिएको पाइन्छ । जसअनुसार दश वर्ष मुनिको नाबालकले कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति दश वर्ष मुनिको बालक रहेछ भने उसले सम्पूर्ण सजायबाट उन्मुक्ति पाउने व्यवस्था गरिएको देखिन्छ भने बालकको उमेर दश वर्ष वा सोभन्दा माथि र चौध वर्षभन्दा कम रहेछ भने निजलाई कानूनबमोजिम जरीवाना हुने कुनै अपराध गरेकोमा कसूर हेरी छ महिनासम्म कैद हुने व्यवस्था गरिएको छ । साथै चौध वर्ष वा सो भन्दा माथि र सोह्र वर्ष भन्दा मुनीको बालकले कुनै अपराध गरे निजलाई कानूनबमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा सजाय हुने कानूनी व्यवस्था देखिन्छ 

६. यसबाट वाल्यावस्थामा बालकको ज्ञान वा बुद्धिको अभाव हुन्छ त्यस्तो अवस्थामा बालकले विवेक पुर्‍याउन सक्दैन त्यसकारण त्यस्तो बालकलाई कुनै पनि किसिमको आपराधिक आरोपमा सजाय गर्न हुँदैन वा सजाय कम गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय रुपमा स्थापित सिद्धान्तलाई बालबालिका सम्बन्धी ऐनको पनि आत्मसात गरेको देखिन्छ । जसअनुसार दश वर्षभन्दा मुनिको बालकलाई सजायबाट पूरै उन्मुक्ति, दश देखि चौध वर्षकोलाई बढीमा ६ महिनासम्म कैद र चौध वर्षदेखि सोह्र वर्षको बालकलाई उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था गरिएको पाइन्छ । आफूले गरेको कार्य ठीक र बेठीक छुट्याउन सक्ने विवेकको प्रादुर्भाव हुने कारक तत्व उमेर (Age factor) लाई मानी कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्ने बालकलाई यस प्रकारको सजाय हुने व्यवस्था गरिएको पाइन्छ 

            ७. बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) मा भएको कानूनी व्यवस्था न्यायकर्ताले आफ्नो विवेकअनुकूल प्रयोग गर्न सक्ने प्रकृतिको नभई वाध्यात्मक प्रकृतिको देखिन्छ । चौध वर्ष वा सो भन्दा बढी र सोह्र वर्षभन्दा कम उमेरको बालकले प्रचलित कानूनविपरीतको कसूर गरेमा निजको उमेर तत्वको कारणले एउटा वयस्क व्यक्तिलाई हुने सजायको आधा सजाय गर्नुपर्ने उक्त ऐनको वाध्यात्मक व्यवस्था हो । न्यायकर्ताले उक्त ऐनबमोजिम आधा सजायको घोषणा गर्दा प्रतिवादीले गरेको कसूरको गाम्भिर्यता वा कसूरको मात्रामा कमी आउने होइन 

            ८. प्रस्तुत मुद्दामा प्रवितादी नवीन भुजेल चौध वर्षको बालक भएको भनी वादी नेपाल सरकारले बालबालिका सम्बन्धी ऐनको दफा ११(३) बमोजिम हुने गरी ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजायको माग दावी लिएको देखिन्छ । शुरु जिल्ला अदालतले दावीबमोजिम सजाय नगरी ज्यान सम्बन्धी महलको ६(४) बमोजिम सजाय गरेकोमा पुनरावेदन अदालतले उक्त फैसला उल्टी गरी सबूद प्रमाणको विवेचना गरी निजलाई सर्वश्वसहित जन्मकैद गरी प्रतिवादी चौध वर्षको बालक भएको कारण बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम आधा सजाय हुने गरी फैसला गरेको छ । बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा १३(३) अनुसार सजाय कम भएकोमा अ.वं. १८८ नं. को प्रयोग गर्न नमिल्ने भनी पर्न आएको प्रस्तुत पुनरावेदनको सम्बन्धमा विचार गर्दा बालबालिका सम्बन्धी ऐन, २०४८ को व्यवस्था कानूनले वाध्यात्मक रुपमा बालबालिकाको उमेरलाई ध्यानमा राखी गरेको छ भने अ.वं. १८८ नं. को व्यवस्था अपराध भएको अवस्थालाई विचार गरी प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा अपराध भएको अवस्थालाई विचार गरी अ.वं. १८८ नं. अनुसार सजाय घटाउनु पर्ने पुरावेदन अदालतको रायलाई कानूनसम्मत होइन भन्न मिलेन । यसप्रकार सर्वश्वसहित जन्मकैदको सजाय भएको मुद्दामा बालबालिका सम्बन्धी ऐनको प्रयोग भएकै आधारमा १८८ नं. बमोजिम राय व्यक्त गर्न मिल्दैन भन्ने पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन । यस स्थितिमा प्रतिवादी र मृतक समेत जंगलमा चोर पुलिस खेल्दाखेल्दै वारदात घट्न गएको मृतकलाई मार्नुपर्ने त्यस्तो पूर्व योजना रिसइवी मनासाय समेत नभएको भनी प्रतिवादीलाई एक वर्षमात्र कैद सजाय गर्न उपयुक्त हुने गरी पुनरावेदन अदालतबाट व्यक्त रायलाई अन्यथा भन्न मिल्ने देखिएन 

            ९. तसर्थ, विवेचित आधार कारणबाट शुरु जिल्ला अदालतले गरेको फैसला उल्टी गरी प्रतिवादी नवीन भुजेललाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद गरी बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम आधा सजाय कायम गरी एक वर्ष सजाय कायम गर्दा उपयुक्त हुने भनी अ.वं. १८८ नं. बमोजिम राय व्यक्त गरेको पुनरावेदन अदालत विराटनगरको फैसला र प्रतिवादी नवीन भुजेलको हकमा दायर भएको साधक समेत सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनू 

 

उक्त रायमा सहमत छु 

 

न्या.खिलराज रेग्मी

 

इति संवत् २०६७ बैशाख १२ गते रोज १ शुभम्  

 

इजलास अधिकृतःकृष्ण मुरारी शिवाकोटी 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु