निर्णय नं. ६३२९ - अंश

निर्णय नं.- ६३२९ २०५४ ने.का.प. अङ्क ३
पूर्ण इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
संवत् २०५२ सालको स.अ.दे.पु.इ.नं...................४२
फैसला मितिः ०५३।९।१८।५
मुद्दाः- अंश ।
पुनरावेदक
प्रतिवादीः- गण्डकी अञ्चल लम्जूङ्ग जिल्ला खुदी गा.वि.स. वार्ड नं. १ तरापु वस्ने भरतमणी पोख्रेल ।
विरुद्ध
विपक्षी
वादी : नारायणी अञ्चल चितवन जिल्ला गितानगर गा.वि.स.वार्ड नं. ८ इन्द्रपुरी वस्ने वेदनिधि पोख्रेल ।
§ मुलुकी (सातौ संशोधन) ऐन, २०३४ बाट अंशवण्डाको ३० नं. संशोधन हुँदा "यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशवण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा वण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टा छुट्टै भोग विक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणवाट वण्डा भै सकेको ठहरेमा पछि वण्डापत्र रजिष्ट्रेशन भै सकेको छैन वा वण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ भनी व्यवस्था भएको पाइन्छ । "यस्तो स्थितिमा मिति ०२०।२।११ को बण्डापत्रको लिखत तथा सो लिखत र अंश बुझेको भरपाईलाई सद्दे भनी गरेको वादीका वारीसको वयान, बादी प्रतिवादीको आमाको अदालतमा भएको बयान, मेदनी प्रसादले भरतमणिलाई राजिनामा पास गरीदिंदा छुट्टि भिन्न भएको दाजु भनी अन्तरसाक्षीमा बसेको अवस्था तथा भूमि सुधार चितवनमा ७ नं. फांटवारी दिंदा प्रतिवादीलाई अंशियारको रुपमा देखाउन नसकेको र लेखिए बाहेक अरु कुनैजग्गा मेरो छैन भन्ने मलाई यकिन छ भनी लेखेको अवस्था समेतको आधारमा व्यवहार प्रमाणवाट यी वादी प्रतिवादी बीच अंशबण्डा भएको छैन भन्न मिल्ने अवस्था नदेखिने ।
(प्र.नं. १८)
पुनरावेदक तर्फवाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी ।
विद्वान अधिवक्ता श्री मो.शेष अव्वास ।
वादी तर्फवाटः- विद्वान अधिवक्ता श्री शम्भु थापा ।
अवलम्वीत नजीरः- x
फैसला
न्या.केशव प्रसाद उपाध्यायः- यस अदालत संयुक्त इजलासको मिति २०४६।३।८ को फैसला उपर दोहोर्याई हेरी पाउन श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारमा निवेदन परी यस अदालतको संयुक्त इजलासले मिति ०५२।२।१२ मा दोहोर्याउने निस्सा प्रदान गरी पूर्ण इजलासको दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ :-
२. पिताजी विष्णु भक्तका २ श्रीमतीमा जेठी जमुना तर्फ म बेदनिधि जेठा र बिपक्ष भरतमणी माइला छोरा भएको, कान्छी श्रीमती कौशिला तर्फ मेदनी प्रसाद १, कान्छो भाई छ । घर परिवार ठुलो भएको कारणले २०१७ सालमा म बेदनिधि र कान्छो भाई मेदनी प्रसाद मानो सम्म छुट्टिई आ आफ्नो परिवार लिई चिवन इन्द्रपुरीमा गई पर्तिजग्गा आवाद गरी निर्वाह गरी आएकोमा परिवार वढ्दै गएकाले जीवन यापन गर्न कठिन परेको कुरा दर्शाई २०२० सालमा पहाड लमजुङ्ग आई पिताजीसँग अंश माग्दा भाई मेदनी प्रसादलाई मात्र अंश दिन्छु । बेदनिधि र भरतमणी एकै आमा पट्टिका छोरा हुँदा मेरा शेषपछि मात्र जो भएको वण्डा गरी लानु भनी भाई मेदनी प्रसादलाई मात्र जग्गाको अंशवण्डा गरी दिनु मैले उता चितवन इन्द्रपुरीमा नै बिभिन्न उपायवाट परिवारको पालन गर्दै आएकोमा गत २०३९ सालमा पिताजीको निधन भएकोले पहाड घरमा आई आफ्नो धर्म अनुसार काजक्रिया गरी सकेपछि २०४०।२।३ गते घरको मुख्य मै व्यवहार गर्ने बिपक्ष भाई भरत मणिसँग अंश माग्दा चितवनको जग्गा नपाउने भएपछि पहाडको जग्गा पनि दिन्न भनी जवाफ दिएकाले २०१७ साल बैशाख १ गते मानो छुट्टिएको मितिले बिपक्षसँग भएको पैत्रिक सम्पत्तिको कानून बमोजिम तायदाती फांटवारी लिई वण्डा गरी १ वण्डा अंश र मैले राखेको कोर्टफि समेत बिपक्षबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोरोको फिराद दावी ।
३. बिपक्ष दाजुसँग अंशवण्डा हुन वांकी छैन । हाम्रो जो भएको अंश वण्डा गर्नु पर्ने चल अचल श्री सम्पत्ति २०२०।२।११ मा घरसारमा नरम करम मिलाई अंशवण्डा गरी सो वण्डामा परेको समाली आ आफ्नो भोग चलन विक्री व्यवहार समेत गरी आएका छौं । चितवनको पर्ति जग्गामा पहाड लमजुङ्ग तर्फकै नगद सम्पत्ति लगी पारिश्रमिक दिई मजदूर लगाई परिश्रम गरी आबाद गुल्जार गराएको हो । अंशवण्डाको ३७ नं. ले मानो छुट्टिई सँग बसेका अंशियाराले जुनसुकै प्रकारले कमाएको धन र लगाएको ऋृण सबै अंशियारालाई अंश लाग्ने हुँदा बादीलाई पहाड तर्फ र चितवन तर्फको अचल सम्पत्ति समेतको ७ नं. फाराम बिपक्षीले नै भर्नु भएको छ । भाई मेदनी प्रसादको पहाड तर्फको जग्गा २०२०।२।१७ मा राजिनामा पास गराई दिएका छन् । भाई मेदनी प्रसादलाई अ.वं. १३९ नं. अनुसार बुझिएमा पनि अंशवण्डा भै सकेको प्रष्ट हुनेछ । मेरो अंश भाग र पिताजी र आमाको अंश भाग जिउनी र भाई मेदनी प्रसादवाट राजिनामा गरी लिएको जग्गा मात्र म सँग छ । विपक्षीका अंश भागको जग्गा लमजुङ्गमा सर्भे नापी भएको छैन । चितवन गितानगर गा.पं.वडा नं. ८ कि.नं. ४८।४९।५०।५१ मा नापनक्सा भएको छ । अंशवण्डा भै सकेकोले मुलुकी ऐन अंश वण्डाको ३० नं. अनुसार अंशवण्डा भै सकेको मानिने हुँदा बिपक्षीका झूठ्ठा वादी दाबीबाट अलग फूर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. यसमा बादी प्रतिबादीहरु २०२०।२।११ मा नै छुट्टि भिन्न भै अंशवण्डा भै सकेको हुँदा प्र.बादी भरतमणि पोख्रेलबाट वादी बेदनिधिले अब अंश पाउने हैनन भन्ने समेत व्यहोराको आदेशानुसार अ.वं. १३९ नं. बमोजिम वुझिएको प्रतिवादीको आमा जमुनादेवी पोख्रेलले गरेको वयान ।
५. प्रतिवादीबाट पेश भएका सक्कल वण्डापत्र र अंश बुझेको भरपाई बादीलाई देखाई सुनाउँदा उक्त काज सद्दे सांचो हुन भन्ने समेत बादीका वा.शेरमान अर्यालको वयान ।
६. वादी प्रतिवादीका साक्षीहरुको बकपत्र भै मिसिल सामेल रहेको ।
७. यस्मा मेरो बण्डामा परेको चल अचल सम्पत्ति साक्षी फडके रोहवरमा पिताजीबाट वुझी लिई भरपाई गरी दिए भन्ने समेत व्यहोराको भरपाई गरी पिताजीलाई दिएको बादी प्रतिवादीका भाई मेदनी प्रसादले आफ्नो अंश भागमा परेका जग्गाहरु प्रतिवादी भरतमणिलाई विक्री गरेको २०२०।२।१७ मा पारीत राजिनामाको कागज वादी पनि अन्तरसाक्षी बस्दा आफूलाई छुट्टि भिन्न भएको पुष्टी हुनुको अतिरिक्त लामो अन्तराल पछि अंशवण्डा भएको छैन भन्ने बादीको दावी आधार प्रमाण मिसिल संलग्न देखिएको र प्रमाण ऐन, २०३१ को दफा ३४ ले पनि वादी बिवन्धित हुने नै हुँदा अंश वण्डाका ३० नं. कानून समेतका आधारमा बादी प्रतिवादी सँग छुट्टि भिन्न भएको छैन भन्न नमिलेको समेतका आधारमा प्रमाणवाट बादीले प्रतिबादीबाट अंश पाउँ भन्ने बादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत शुरु लमजुङ्ग जिल्ला अदालतको मिति २०४१।९।१२ को फैसला ।
८. शुरु फैसलामा चित्त वुझेन । हामी बादी प्रतिवादी २०१७ सालमा मानो छुट्टिई वेगल भै बसेको हो । २०२० सालमा भाई मेदनीले अंश लिंदा मैले अंश लिई नसकेको र पिताजी छउन्जेल उहाँ आस्वासनमा वसेको मैले गरी दिएको भनेको भरपाई पनि रीत पुर्वक पारीत नभएको अवस्थामा मैले अंश बुझि लिएको भन्ने ठोस सवुद प्रमाण बेगर मलाई अंश नपाउने ठहराई गरेको फैसला बदर गरी दावी बमोजिम अंश पाउँ भन्ने समेत व्यहोराको वादी बेदनिधि पोखरेलको प.क्षे.अदालतमा परेको पुनरावेदन पत्र ।
९. यसमा जुन मितिमा अर्थात २०२०।२।११ मा घरायसी वण्डा भएको छ । सोही मितिमा पुनरावेदकले अंश बुझि लिएको भरपाई गरेको पनि देखिन आउँछ । वण्डापत्रको तपसिल खण्डमा बेदनिधिको अंशभाग छुट्टयाइएको नदेखिंदा बेदनिधिको लागी उक्त वण्डा छोडपत्रको रुपमा भएको सो लिखित पारीत भएको पनि देखिएन वण्डमा कति जग्गा परेको हो । सो वण्डामा नखुलेबाट पुनरावेदकले अंशभाग पाई सकेको छोडेको रहेछ भन्न मिलने । अतः शुरु फैसला फरक पर्न जाने हुँदा बिपक्षलाई अ.वं. २०२ नं. र क्षे.अ.नि.२०३६ अनुसार झिकाई पेश गर्नु भन्ने समेत पश्चिमान्चल क्षेत्रीय अदालत सिंगल बेन्चको मिति २०४३।२।११ को आदेश ।
१०. अंशवण्डाको २०,२१,२२,२३ र २४ नं. बमोजिम रीत पुर्याई २०१७।१।१ को दिनसम्मको बण्डा गर्नुपर्ने श्री सम्पत्तिको तायदाती लिई बण्डा छुट्टयाई दिनु भनी उपस्थित रहेका पक्षहरुलाई तारेख तोकी मिसिल लमजुङ्ग जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।
११. चितवनमा आर्जन गरेको सम्पत्ति मेरो प्रतिउत्तर जिकिर अनुसार पहाड लमजुङ्ग तर्फको सगोलको नगद सम्पत्ति लगी सोबाट पारिश्रमिक दिई मजदूरहरु लगाई म र, आमा समेत चितवन गै परिश्रम गरी आबाद गुल्जार गरेको अचल सम्पत्ति हो । त्यही सम्पत्ति नै बिपक्षीले अंश वापत लिनु भएको तायदाती लिई अंश बण्डा गरीदिनु फैसलामा उल्लेख भएको अंश वण्डाको २०,२१,२२ नं. समेतले मिल्ने हुदैन । व्यवहार प्रमाणबाट अंश भैसकेको देखिने सिद्धान्त समेतको पालना नगरिएको क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमती पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदन ।
१२. यसमा बादीले २०१७ सालमा मानो छुट्टिएको भन्ने र प्रतिवादीले २०२० सालमा अंश छुट्टिएको भनी जिकिर गरेकोमा बादी प्रतिवादीको मुख मिलेको देखिएन । यस्तो स्थितिमा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंश भाग लगाउनु पर्नेमा २०१७ सालमा मानो छुट्टिएको मिति कायम गरी २०१७।१।१ सम्ममको बण्डा गर्नुपर्ने श्रीसम्पत्तिको तायदाती लिई वण्डा छुट्याई दिनु भनी तारेख तोकी शुरुमा पठाई दिने ठहराएको फैसला त्रुटीपूर्ण देखिंदा पुनरावेदनको अनुमती प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४५।२।२१ को आदेश ।
१३. २०२० सालमा छुट्टि भिन्न भएका मेदनी प्रसादले गरी दिएको राजिनामामा यी बादी साक्षी वसेको भएपनि मेदनी प्रसादले अंश लिई भिन्न हुँदा जेठी आमा पट्टीका यो वादी प्रतिवादी बीच अंश बण्डा भएको पाइएन । साहु टंक प्रसाद घिमिरे ऋृणी बेदनिधि पोखरेल बीच भएको २०१७।२।१३ को लिखतमा चितवन इन्द्रपुरीमा नयां जमिन आबाद गर्नका निमित्त रुपैंया लिनु दिनु गरेको देखिन्छ । यसले बेदनिधि २०१७ सालमा नै मानो छुट्टिई चितवन गएको कुरालाई पुष्टि गर्दछु । यसरी मानो छुट्टिनु पुर्वको सगोलका अवण्डा सम्पत्तिमा वादीको हक लाग्ने होइन भन्न मिलेन । पश्चिमान्चल क्षेत्रीय अदालतबाट २०१७।१।१ लाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको सम्पत्तिमा बादीले प्रतिवादीबाट २ भागको १ भाग अंश पाउने ठहराई अंशवण्डाको २०,२१,२२,२३ र २४ नं. बमोजिम रीत पुर्याई मानो छुट्टिएको उक्त मिति सम्मको बण्डा गर्नु पर्ने श्रीसम्पत्तिको तायदाती लि वण्डा छुट्टयाई दिनु भनी पक्ष बिपक्षलाई तारेख तोकी शुरु जिल्ला अदालतमा पठाउने गरेको इन्साफ मनासिव ठहर्छ भन्ने यस अदालत डिभिजन वेन्चको मिति २०४६।३।८।५ को फैसला ।
१४. बिपक्षी दाजु र मेरा वीचमा अंश भाग वण्डा भएको ज्वलन्त रुपमा देखिने २०२०।२।११ मा देखिने बण्डापत्र तथा आफ्नो अंश वुझिलिई भरपाई लेखी सहिछाप गरी अब उप्रान्त अंश बुझेको छैन भनी पिताजी र भाईहरुसँग खर खिचोला गर्ने छैन भन्ने व्यहोराको भपाई बिपक्षीलाई सुनाउँदा बिपक्षीकै स्वहस्तवाट लेखिएका ती लिखतलाई सद्दे हुन भन्नु भएको छ । वण्डापत्र लिखतमा म बेदनिधिले आफ्नो बाहुवलद्वारा खान लाउन आफ्नो जीवन निर्वाह गर्न सकेको छु । वण्डा लगाई दिएता पनि मलाई अंश भागमा बण्डा लगाई लिन इच्छा नहुँदा तिमी भाई भरतमणि र बेदनिधिले मेरा पाउने अंश समेतको अचल सम्पत्ति बराबर छुट्याई खान भनी लेखी दिनु भएको छ । भूमि सम्वन्धी नियमहरु २०२१ को नियम ३ ले दिनु पर्ने १ नं. अनुसूची लगत समेत छुट्टा छुट्टै दिएका छौं । बिपक्षीले दिनु भएको १ नं. अनुसूची लगतमा एकाघर सगोलमा मलाई देखाउनु भएको छैन, ७ नं. फांटवारीमा चितवनको जग्गा बाहेक अरु मेरो जग्गा छैन भनी लेख्नू भएको छ। मेदनी प्रसादले अंश लिई मलाई राजिनामा पास गरीदिंदा स्वयं बिपक्षी छुट्टि भिन्न भएको दाजु भनी साक्षी बस्नू भएको छ । स्वयं आमा जमुनालाई लमजुङ्ग जिल्ला अदालतवाट वुझ्दा छोराहरु अंश लिई छुट्टि भिन्न भएको भनी भन्नु भएको छ । मामा टेकनाथ पौडेलले बकपत्र गर्दा दुवै भान्जाहरु छुट्टि भिन्न भएका हुन् भन्नु भएको छ साथै स्वंय बिपक्षी वादीकै साक्षीहरु नरेन्द्रजंग गुरुङ्ग र मेदनीनाथ समेतले वादी प्रतिवादी छुट्टि भिन्न भै बसेका छन् भन्नु भएको छ । तत्काल प्रचलित मुलुकी ऐन अंशबण्डाको ३७ र हालको १८ नं. अंशियारहरुका बाहुवलले कमाएको सम्पत्ति समेत अंशवण्डा लाग्ने बिपक्षीले अंशबाट पाएको जग्गा वहां कै नाममा चितवन जिल्ला गितानगर गा.पं. वार्ड नं. २ साविक कि.नं. ४३ को जग्गा विगाहा ५-५-० र ऐ वार्ड नं. ३ साविक कि.नं. ५५ को जग्गा विगाहा ५-४ वहांकै नाममा दर्ता भै भोग चलन गरेको यथार्थलाई प्रतिउत्तर पत्रमा उल्लेख गर्दा गर्दै टंक प्रसाद साहु भनिएको लिखत वुझी त्यसलाई आधार बनाई मलाई हराएको सर्बोच्च अदालत संयुक्त इजलासको मिति ०४६।३।८।५ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३४,५४, मुलुकी ऐन, अंशबण्डाको १,२,३ र ३० नं. मुलुकी ऐन अ.वं. ७७, ७८, १८४ क, १८५, १८९ समेतको त्रुटी हुँदा मुद्दा दोहोर्याई पूर्ण इजलासवाट इन्साफ गरी न्याय दिनु भन्ने समेत जो चाहिने व्यहोराको हुकुम प्रमाङ्गी सर्बोच्च अदालतका नाममा बक्स पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी भरतमणि पोखरेलको श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा परेको विन्तिपत्र ।
१५. श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा परेको उक्त विन्तिपत्र यस अदालतमा दर्ता हुन आई संयुक्त इजलास समक्ष पेश हुँदा वादीले नरम गरम मिलाई भिन्न भै पहाडको आफ्नो भागको अंश समेत दुई भाईलाई छाडी सकेको र सुक्री बिक्री भै सकेको अवस्थामा मेदनी प्रसादलाई बाहेक गरी अंश पाउँ भनी गरेको दाबीबाट वण्डा पाउने ठहराएको यस अदालतको संयुक्त इजलासको फैसलावाट न्याय मिलेको देखिन नआएकोले दोहोर्याई जांच्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत मिति ०५२।२।१२।६ को आदेश ।
१६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी आज निर्णय सुनाउन यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पेश हुन आएका सम्पुर्ण मिसिल प्रमाणहरु अध्ययन गरी प्रतिवादी भरतमणिको तर्फवाट उपस्थित बिद्धान बरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी विद्वान अधिवक्ता श्री मो.शेष अव्वासले बादीले आफ्नो हस्ताक्षरले मिति २०२०।२।११ मा बण्डापत्र लेख्दा "म बेदनिधिले आफ्नै बाहुवलद्वारा खान लाउन जीवन निर्बाह गर्न सकेको छु, बण्डा लगाई दिएतापनि मलाई अंश भाग वण्डा लगाई लिन इच्छा नहुँदा तिमीभाई भरतमणि र मेदनीले मेरा पाउने बण्डा समेतको अचल सम्पत्ति बरावर छुट्टयाई वण्डा लगाई खान भनी म बेदनिधिको मंजुरीसाथ चित्त वुझी २ भाईले नै वण्डा गरी बाबु आमाको जिउनी छुट्टयाई आ-आफ्नो भाग लगाई खाने र चल सम्पत्ति हातहातै वण्डा गरी आ-आफ्नो वण्डा आ आफैले बुझी लियौं दियौं" भनी उल्लेख गरी आफ्नो पाउने अंश भाग आफ्नो बाबु विष्णुभक्तबाट वुझी २ जना भाईहरुलाई दिइसकेको वण्डापत्र बाट छर्लङ्ग भएकोले बेदनिधिले आफ्नो बण्डाभाग लिइसकेको देखिंदा निजले अंश पाउनु पर्ने होइन सर्बोच्च अदालत संयुक्त इजलासको मिति २०४६।३।८ को फैसला उल्टी हुनु पर्छ भनी र वादी बेदनिधि पोखरेलका तर्फवाट उपस्थित बिद्धान अधिवक्ता श्री शम्भु थापाले २०२० सालको बण्डापत्रमा बादीले अंश पाएको भन्ने देखिंदैन । बादीले अंश पाएको भन्नलाई कुन के कति सम्पत्ति वादीलाई प्राप्त भएको हो सो प्रतिवादीले देखाउन सकनु भएको छैन । अंश छोडपत्र हुनलाई अंशवण्डाको ३० नं. बमोजिम रजिष्ट्र्ेशन पास हुनै पर्छ । सो अवस्थानभएकोले वेदनिधि २०१७ सालमा नै मानो छुट्टिई चितवन गएका र मानो छुट्टिनु पुर्वको सम्पत्तिबाट वादीले अंश पाउनु पर्ने हुँदा सर्बोच्च अदालत संयुक्त इजलासको मिति ०४६।३।८ को फैसला सदर हुनु पर्छ भनी गर्नु भएको बहस जिकिर समेत सुनी मिति ०४६।३।८ को यस अदालत संयुक्त इजलासको फैसला मिले नमिलेको के रहेछ, त्यसमा निर्णय दिनु पर्ने देखिन आयो ।
१७. निर्णय तर्फ बिचार गर्दा यसमा मिति २०२०।२।११।७ मा घरसारमा भएको बण्डापत्रको लिखतमा प्रत्यर्थी बादी बेदनिधिले आफ्नो बाहुबलद्वारा खान लाउन जीवन निर्वाह गर्न सकेको छु बण्डा लगाई दिएतापनि मलाई अंश भाग बण्डा लगाई लिन इच्छा नहुँदा तिमी भाई भरतमणि र मेदनीलाई मेरा पाउने बण्डा समेतको अचल सम्पत्ति बराबर छुट्याई बण्डा लगाई खान भनी म बेदनिधि का मंजुरीसाथ चित्त वुझी दुईभाइले नै बण्डा गरी तपसीलमा लेखिए बमोजिम बाबु आमाको जिउनी भाग छुट्याई आ आफ्नो बण्डा लगाई खाने र चल सम्मत्तिमा हातहातै गरी आ आफ्नो बण्डा आ आफैले वुझी लियौं भन्ने उल्लेख भएको पाइन्छ । प्रतिबादी भरतमणीका तर्फबाट पेश भएका बण्डापत्रको कागज र २०२०।२।११ मा यी बादी वेदनिधिले बाबु बिष्णूभक्तबाट अंश बुझेको भरपाई कागज यी वादी वेदनिधिका वा. शेरमानसिंहलाई मिति २०४१।८।२४ मा सुनाउँदा बादी बेदनिधि पोखरेलको लिखत सही भएको मिति २०२०।२।११।७ मा बादी प्रतिवादीका दाजु भाई छुट्टि भिन्न भै घरसारमा भएको बण्डापत्र र लेखक बेदनिधि पोखरेल भएको बाबु बिष्णूभक्त पोखरेलबाट बेदनिधि पोखरेलले अंश बुझेको भर्पाइ समेत २ थान सक्कल कागजहरु अदालतवाट देखाउँदा उक्त कागजहरु बेदनिधि पोख्रेल ले नै लेखि खडा गरेका भनी वयान गरेको पाइन्छ । वादी प्रतिवादीका आमा जमुना पोखरेललाई अदालतवाट वुझ्दा "म पट्टिका जेठो छोरा बेदनिधि पोखरेल, माहिलो भरतमणि पोखरेल वेमातृ पट्टिको छोरा मेदनी प्रसाद पोखरेल कान्छो हुन, निज बादी प्रतिवादी र बेमातृ पट्टिको छोरा मेदनी प्रसाद ३ छोराहरु ०२० साल जेठ ११ गतेमा आफ्नो अंश लिई छुट्टि भिन्दा भिन्दै भै आ-आफ्नो अंश लिई वसेका हुन् र तेसदेखि अघि ०१९ सालमा वादी वेदनिधि प्रतिवादी भरतमणि र म आमा जमुना समेत भै चितवन सगोलमा नै जग्गा जमीन आर्जेर सोही ठाउँमा वसी चलन पुर्जि बादी बेदनिधिका नाउँमा भएतापनि सगोलबाटै आवाद भएको हो र ०२० साल जेष्ठ ११ गते छुट्टि भिन्न भै बादीलाई चितवनको जग्गा जमिन र पहाड तर्फ लमजुङको छोरा भरतमणि वेमातृ छोरा मेदनी प्रसाद खमस विष्णुभक्त र मेरो समेत र छोराहरुले पाउने अंश र म र मेरा पति विष्णुभक्तले जिउनी लिई निज बादी बेदनिधिका इच्छाले बण्डापत्रको घरसार लिखत समेत लेखेका छन् । त्यसो हुँदा बादी प्रतिवादीहरु यही ०२० साल जेष्ठ ११ गते छुट्टि भिन्न भै आ-आफ्नो अंश भाग लिएका हुन् । तेसो हुँदा बादीले प्रतिवादी भरतमणीबाट अंश पाउने हैनन्, वादी दावी झूठ्ठा हो भनी वयान गरेको पाइन्छ । मिसिल संलग्न बादीले भूमि सुधार अधिकारी चितवनमा मिति ०२१।८।२३ मा पेश गरेको ७ नं. फांटवारी हेर्दा यी वादीले यी प्रतिवादीलाई अंशियारको रुपमा देखाउन सकेको पनि पाइदैन साथै लेखिए बाहेक अरु कुनै जग्गा मेरो छैन भन्ने मलाई यकिन छ भनी लेखेको पाइन्छ । वादी प्रतिवादीका भाई मेदनी प्रसादले आफ्नो अंश भागमा परेको जग्गाहरु प्रतिवादी भरतमणीलाई विक्री गरी २०२०।२।१७।६ मा पारीत राजिनामाको कागजमा बादी राजिनामाको अन्तरसाक्षी वस्दा आफूलाई छुट्टि भिन्न भएको दाजु बेदनिधि भन्ने जनाई साक्षी वसी सहीछाप गरेको पाइन्छ ।
१८. मुलुकी (सातौ संशोधन) ऐन, २०३४ बाट अंशवण्डाको ३० नं. संशोधन हुँदा "यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशवण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिस्सा भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा वण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टा छुट्टै भोग विक्री गरी व्यवहार गरेकोमा व्यवहार प्रमाणवाट वण्डा भै सकेको ठहरेमा पछि वण्डापत्र रजिष्ट्रेशन भै सकेको छैन वा वण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ भनी व्यवस्था भएको पाइन्छ ।" यस्तो स्थितिमा मिति २०२०।२।११ को बण्डापत्रको लिखत तथा सो लिखत र अंश बुझेको भरपाईलाई सद्दे भनी गरेको वादीका वारीसको वयान, बादी प्रतिवादीको आमाको अदालतमा भएको बयान, मेदनी प्रसादले भरतमणिलाई राजिनामा पास गरीदिंदा छुट्टि भिन्न भएको दाजु भनी अन्तरसाक्षीमा बसेको अवस्था तथा भूमि सुधार चितवनमा ७ नं. फांटवारी दिंदा प्रतिवादीलाई अंशियारको रुपमा देखाउन नसकेको र लेखिए बाहेक अरु कुनै जग्गा मेरो छैन भन्ने मलाई यकिन छ भनी लेखेको अवस्था समेतको आधारमा व्यवहार प्रमाणवाट यी वादी प्रतिवादी बीच अंश बण्डा भएको छैन भन्न मिल्ने अवस्था देखिएन ।
अतः पश्चिमान्चल क्षेत्रीय अदालतबाट २०१७।१।१ लाई मानो छुट्टिएको मिति कायम गरी सो मिति सम्मको सम्पत्तिमा बादीले प्रतिवादीबाट २ भागको, १ भाग अंश पाउने ठहर्याई अंशवण्डाको २०, २१, २२, २३ र २४ नं. बमोजित रीत पुर्याई मानो छुट्टिएको उक्त मिति सम्मको बण्डा गर्नुपर्ने श्री सम्पत्तिको तायदाती लि बण्डा छुट्टयाई दिनु भनी पक्ष बिपक्षलाई तारेख तोकी शुरु जिल्ला अदालतमा पठाउने गरेको इन्साफलाई सदर गर्ने गरेको यस अदालत संयुक्त इजलासको मिति २०४६।३।८।५ को फैसला उल्टी हुने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पश्चिमान्चल क्षेत्रीय अदालतको फैसलालाई सदर गर्ने गरेको यस अदालत संयुक्त इजलासको फैसला उल्टी हुने ठहरेकोले सो फैसला बमोजिम राख्ने गरेको लगत कट्टा गरी दिनु भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु .............. १
वादी दावी नपुग्ने ठहरेकाले वादीलाई केही गर्नु पर्छ की भन्नलाई कोर्टफि रही फिराद दायर रहेको हुँदा केही गरीरहनु परेन .............. १
प्रतिवादीले सर्बोच्च अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफि रु.२५। र श्री ५ मा परेको विन्तिपत्रमा यस अदालतवाट दोहोर्याउने निस्सा भै राखेको कोर्टफि रु. ३।२५ समेत जम्मा रु. २८।२५ प्रतिवादीले फिर्ता पाउने हुँदा ऐनका म्यादभित्र निवेदन पर्न आए धरौटवाट फिर्ता दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु .............. १
मिसिल नियमानुसार गरी बुझाई दिनु .............. १
उक्त रायमा हामी सहमत छौं ।
न्या.गोविन्द बहादुर श्रेष्ठ
न्या.अरविन्दनाथ आचार्य
ईति सम्वत २०५३ साल पौष १८ गते रोज ५ शुभम्