शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३३७ - जवरजस्ती करणी

भाग: ३९ साल: २०५४ महिना: असार अंक:

निर्णय नं.- ६३३७              २०५४, ने.का.प.        अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा

सम्वत् २०५१ सालको फौ.पु.नं. ......७८९

फैसला मितिः ०५३।११।२१।३

 

मुद्दाः जवरजस्ती करणी ।

 

पुनरावेदक/वादीः जि.कैलाली, थापापुर गा.वि.स. वडा नं. ७ वस्ने श्रीमती राम नारायणी चौधरी समेतको जाहेरीले श्री ५ को सरकार  ।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः जि.कैलाली रतनपुर गा.वि.स. वडा नं. ७ वस्ने, धर्म सिं वम समेत जम्मा ६ ।

 

§  प्रतिवादी मध्येको धर्म सिं वमले प्रहरीमा कागज गर्दा वारदात स्थल र समयमा सुती रहेको जाहेरवालीहरुलाई तानी समाई केही टाढा जंगलमा लगी पछारी स्तन समाउने लगायतका कार्य गरेकोमा स्वीकार गरेको तर लिंग उत्तेजित नभएकोले करणी नगरेको भन्ने देखिन्छ । सो वाहेक अरु सवै प्रतिवादीले करणी गरेको कुरामा प्रहरीमा सावित भई वयान कागज गरेको पाइन्छ । पिडित रामनारायणीले निज धर्म सिंहले करणी गरेको भनी  प्रहरीमा र अदालतमा कागज गरी दिएको अन्य प्रतिवादीहरुले धर्म सिंहले पनि करणी गरेको भनी प्रहरीमा वयान कागज गरि दिएको देखिन्छ । धर्म सिंहको उमेर सो प्रहरीमा भएको वयान कागजमा नखुले पनि अदालतमा भएको निजको वयानमा ३३ वर्ष उल्लेख गरेको पाइयो । लिगं उत्तेजित पार्न पिडित केटीलाई नांगो राखी दुध मलेको निजको माथि चढेको आदि कार्य गरेको भनी सो वयानमा उल्लेख गरेकोले ३३ वर्षको उमेरदार व्यक्तिको लिंग सो अवस्थामा उत्तेजित नभएको भन्ने कुरा पत्यारलायक नहुने ।

§  अदालतमा करणी गरेमा नै पूरा इन्कार रहेकोले सो इन्कारी वयान विपरित जवरजस्ती करणीको उद्योग ठहराएको फैसला उपर निजहरुको पुनरावेदन परेको नदेखिएकोले निजहरुको इन्कारी वयानको विवेचना गरी रहन नपर्ने ।

§  जाँच गर्न आएका पिडितहरुको वस्तु निष्ठ रुपमा जाँच गरी के कस्तो देखिन आयो सो सम्म उल्लेख गर्नु पर्नेमा Impression हरफ लेख्न पर्ने सन्दर्भ आवश्यकता र अवस्था केही नभएकोमा सोलाई मात्र निर्णयाधार वनाउन मनासिव देखिन नआउने ।

§  प्रस्तुत मुद्दामा कुनै पनि प्रतिवादीले उद्योग गरेको नभनी पिडितहरुले जवरजस्ती करणी भएको  भनेका छन् भने घरमा सुतेको ठाउँबाट रातको समयमा समाई वन्दुक पड्काई लगी त्रसित पारी एकान्त जंगलमा लगि सकेपछि कुनै अपरझट कारण पर्न आई करणी गर्न नपाएको भन्ने कुरा देखिन नआउने । 

(प्र.नं. ४१)

फैसला

            न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत दिपायल, मुकाम महेन्द्र नगरको मिति २०५०।११।१ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः

            २. मिति २०४८।४।१६ गते राती गुलरिया फाँटतिर वन्दुक पट्केको आवाज आई वन्दुक पट्केको तर्फ जांदा मुन्ना सिंहको घरमा बहादुरपुरवाट आएका राम नाराययणी चौधरी समेतका आईमाईलाई प्र.धर्म सिं, वम, अर्जुन कुमार पाण्डे, सैजु चौधरी, विरु कामी, प्रेम वहादुर चौधरी समेतका मानिसले वन्दुक तरवार देखाई जवरजस्ती करणी गरे भनी राम नारायणी चौधरी समेतले भन्दा अभियुक्तहरुको पिछा गर्दै जांदा उक्त वारदातमा प्रयोग गरेको वन्दुक थान २ तरवार थान १ निज अभियुक्तहरु चढी गएको लडिया १ रांगा जिउ थान २ समेत वरामद गरी कारवाहीको लागी पेश गरेको छौं भन्ने प्र.स.नि.दीर्घ बहादुर शाहा समेतले सिमा प्रहरी चौकी रामपुरमा दिएको निवेदन ।

            ३. राम नारायणी चौधरी समेतलाई वन्दुक तरवार देखाई जवरजस्ती गरेको सम्वन्धमा वरामद वन्दुक, तरवार प्र.धर्म सिं वम, अर्जुन कुमार पाण्डे समेतका मानिसलाई कारवाहीको लागी पठाइएका छौं भन्ने सि.प्र.चौकी रामपुरले इ.प्र.का.हसुलिया चौकीलाई लेखेको  पत्र ।

            ४. पुर्व जंगल पश्चिम मुन्ना सिंको घर उत्तर निजकै घर आगन दक्षिण सालको रुख यति चार किल्ला भित्र मुन्ना सिंको घरमा वास वसेका राम नारयणी थरुनी समेतका केटीलाई प्र.धर्म सिं वम समेतले जवरजस्ती करणी गर्दा पिडीत जाहेरवाली राम नारायणी थरुनी समेतका हातवाट टुटेका चुराको टुक्राहरु फेला परेकोले वारदात भएको हो भन्ने घटनास्थल वरामती मुचुल्का ।

            ५. मिति ०४८।४।१५ गतेका दिन हामी गांउका धेरै जना मानिसहरु रामपुरको जंगलमा ऐ.१६ गते दिउँसो वावियो (झाङ्ग) काटी मुन्ना सिंको घरमा वास वसी रहेको अवस्थामा राती १०।११ वजेको समयमा हामीले नचिनेका ५।६ जना मानिस आई वन्दुक तरवार देखाई हामीलाई करणी गर्न देउ नत्र तिमीहरुलाई मारी दिन्छु भनी वन्दुक फायर गरी म राम नारायणीलाई ३ जनाले म नथुनियालाई २ जनाले म गौरी थरुनीलाई १ जनाले करणी गरेकोमा सो करणी गराउने मुन्ना सिंहको घरमा काम गर्ने  वुधराम चौधरीको हात भएको र अपराधिहरु पत्ता लगाउँदै जांदा रामपुर गाउँ वस्ने धर्म सिं वम, अर्जुन कुमार पाण्डे, सैजुराम चौधरी, प्रेम बहादुर चौधरी, विरु कामी, र निज वुधराम चौधरी भएकोले निजहरु माथि कानूनी कारवाही गरी पाउँ भन्ने राम नारायणी चौधरी, गौरी चौधरी र नथुनिया चौधरीको संयुक्त जाहेरी दरखास्त ।

            ६. राम नारायणी चौधरी, गौरी चौधरी र नथुनिया चौधरीको गुप्ताङ्ग चेक गर्दा जवरजस्ती करणी भएको देखिएको भन्ने सेती अञ्चल अस्पतालका डाक्टरको प्रतिवेदन ।

            ७. जाहेरवाली ३ जनालाई करणी गर्ने प्र.धर्म सिं वम समेतका ६ जना प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालयमा कारवाहीको लागि ल्याउँदा हसुलियावाट यहाँ पुग्न ३।४ वटा नदी पर्ने र पिडीत पक्ष र प्र.हरुले लगाएको लुगा भन्दा अन्य लुगा नभएकोले सो लुगाहरु आकास पानी र नदीका पानीले भिजी दाग समेत सफा भै सकेको उक्त लुगाहरु नै लगाई पेश गरेका छौं भन्ने प्र.स.नि.दीर्घ बहादुर शाहको प्रतिवेदन ।

            ८. मलाई वन्दुक तरवार देखाई जवरजस्ती तानी करणी गर्ने अर्जुन पाण्डे र विरु कामी हुन भन्ने नथुनिया चौधरीले प्रहरीमा गरेको सनाखत कागज ।

            ९. म गुलरिया फाँट मुन्न सिंहको घरमा सुती राखेको अवस्था मलाई जवरजस्ती तानी जवर जस्ती करणी गर्ने प्रेम बहादुर चौधरी हुन् भन्ने गौरी चौधरीले प्रहरीमा गरेको सनाखत कागज ।

            १०. मलाई म सुतेको ठाउँवाट जवरजस्ती तानी करणी गर्ने धर्म सिं वम, वुधराम चौधरी र सैंजुराम चौधरी हुन् भन्ने राम नारायणी चौधरीले प्रहरीमा गरेको सनाखत कागज ।

            ११. मिति ०४८।४।१६ गते हामी १५।२० जना मानिस मुन्ना सिंहको घरमा वावियो काट्न वास वसेको अवस्थामा धर्म सिंह वम समेतका ६ जनाले वन्दुक तरवार देखाई मेरो श्रीमती राम नारायणी, नथुनिया चौधरी, गौरी चौधरीलाई सुतेको ठाउँवाट जवरजस्ती तानी जंगलमा लगी करणी गरेका हुन् भन्ने कल्लु चौधरीको कागज ।

            १२. गुलरिया फाँट मुन्नाको घरको रेखदेख गर्ने मै हुँ । मिति ०४८।४।१६ गते म रामपुर गाउँमा आएको अवस्था धर्म सिंह वम सँग भेट भै निजले तिम्रो फाँटमा केटीहरु आएका हुन् खेल्न आउँछौ भनेकोले आउनु होला भनेको थिएं । सोही राती धर्म सिंह वम, अर्जुन पाण्डे, वम बहादुर, विरु कामी, सैजुराम चौधरी वन्दुक तरवार लिई आए पछि म समेत भै जाहेरवाली राम नारायणी, गौरी, नथुनियालाई समाई मैले राम नारायणी चौधरीलाई जवरजस्ती करणी गरेको हुँ भन्ने प्र.वुधराम चौधरीले प्रहरीमा गरेको वयान ।

            १३. मिति ०४८।५।१६ गते म समेत भै मुन्नाको घरमा सुती राखेका राम नारायणी, नथुनिया, गोरी ३ जनालाई जवरजस्ती करणी गरेका थियौ । मैले राम नारायणीलाई, वुधराम र धर्म सिंह वमले करणी गरी सकेपछि करणी गरी सकेपछि करणी गरेको हुँ । करणी गर्न जांदा धर्म सिंको घरवाट २ वन्दुक र १ तरवारलिई गएका थियौं भन्ने सैजुराम चौधरीले प्रहरीमा गरेको साविती वयान ।

            १४. मिति ०४८।४।१६ गते वुधरामले हाम्रो यहाँ केटीहरु आएका छन् आउनु होला भनेकोले सोही राती रक्सी सेवन गरी मेरो भरुवा वन्दुक र तरवार अर्जुन कुमारको एउटा वन्दुक लिई मेरो डन्लवमा वसी मुन्ना सिं घरमा सुती राखेको जाहेरवाली राम नारायणी, गौरी, नथुनियालाई समाती मैले राम नारायणीलाई नाङ्गो पारी दुध समाती जिउमा चड्दा मेरो लिङ्ग खडा नभएको करणी गर्न सकेन मैले करणी नगरेपछि वुधराम र सैजुरामले करणी गरेका हुन अरुले अरुलाई करणी गरेका हुन भन्ने धर्म सिं वमले प्रहरीमा गरेको वयान ।

            १५. मिति ०४८।४।१६ गते राती धर्म सिं वमको डन्लवमा वसी गुलरिया फाँटमा गै मैले गौरी चौधरीलाई जवरजस्ती करणी गरेको हुँ धर्म सिं वम र अन्य साथीले राम नारायणी र नथुनियालाई करणी गरेका हुन् भन्ने प्रेम बहादुर चौधरीले प्रहरीमा गरेको वयान ।

            १६. मिति ०४८।४।१६ गते राती म समेत भै रक्सी सेवन गरी धर्म सिं वमको डन्लव र वन्दुक लिई गुलरिया फांटा मुन्ना सिंहका घरमा गै अन्य कोही मानिस नआउन भन्ने उद्देश्य ले १ चोटी वन्दुक फायर गरी सुती राखेकी मैले र विरु कामीले नथुनिया थरुनीलाई जवरजस्ती करणी गरेका हौं भन्ने प्र. अर्जुन कुमार पाण्डेले प्रहरीमा गरेको वयान ।

            १७. ०४८।४।१६ गते राती म समेत भै मुन्ना सिंहको घरमा सुती राखेको आईमाईहरुलाई करणी गर्न जांदा मैले १ भरुवा वन्दुक वोकी गएको थिएं । मैले र अर्जुन कुमारले नथुनिया भन्ने केटीलाई जवरजस्ती करणी गरेको थिए । म सँग भएको भरुवा वन्दुक भाग्दाखेरी लडेर कुन्चा भाचिन गएको हो भन्ने प्र.विरु कामीले प्रहरीमा गरेको वयान ।

            १८. घटनास्थलमा वरामद भएको आकासी रंगको चुरीको टुक्रा मेरो हो भन्ने पिडीत राम नारायणी, हरियो रंगको चुराको टुक्रा मेरो भन्ने नथुनिया, निलो रंगको चुरीको टुक्रा मेरो हो भन्ने गौरी चौधरी यी चुरी प्रतिवादीहरुले जवरजस्ती करणी गर्दा फूटेको हो भन्ने जोहरवालीहरुले प्रहरीमा गरेको सनाखत कागज ।

            १९. मिति ०४८।४।१६ गतेका दिन गुलरिया फाँटको जंगलमा वावियो काटी मुन्ना सिंको घरमा सुती राखेको अवस्थामा प्रतिवादी धर्म सिं वम, अर्जुन कुमार पाण्डे समेतका सर्जमिनमा उल्लेखित प्रतिवादीहरु वन्दुक र तरवार समेत साथमा लिई केटीहरुलाई ज्यान मार्ने धम्की दिई राम नारायणी चौधरी, गौरी चौधरी नथुनिया चौधरीलाई प्रतिवादीहरुले जवरजस्ती तानी जंगलमा लगी जवरजस्ती करणी गरेका हुन् भन्ने किसान चौधरी समेत १३ जनाले करिव एकै मिलानले गरी दिएको सर्जमिन मुचुल्का ।

            २०. मिति ०४८।४।१६ गते राती हामीहरु गुलरिया फाँटमा वावियो काट्न आर्ई मुन्ना सिंको घरमा सुती राखेको अवस्थामा प्रतिवादी धर्म सिं वम समेतका मानिस डन्लव गाडामा चढी साथमा वन्दुक तरवार समेत ल्याई राम नारायणी चौधरी समेत ३ जना केटीलाई समाती जंगल तर्फ लगी जवरजस्ती करणी गरेका हुन् भन्ने प्रेम चौधरीले प्रहरीमा गरेको कागज ।

            २१. मिति ०४८।४।१६ गते राती गुलरिया फांटा मुन्ना सिंको घरमा राती वास वसेको अवस्थामा प्रतिवादी धर्म सिं वम, अर्जुन कुमार पाण्डे, विरु कामी, सैजुराम चौधरी, प्रेम वहादुर चौधरी, वुधराम चौधरी समेत भै राम नारायणी, गौरी, नथुनिया समेतलाई जवरजस्ती जंगलमा लगी करणी गरेका हुन् भन्ने सीताराम चौधरीले प्रहरीमा गरेको वयान ।

            २२. संकलित सवुद प्रमाणको आधारवाट प्रतिवादी धर्म सं वम, अर्जुन कुमार पाण्डे, प्रेम वहादुर चौधरी, विरु कामी, सैजुराम चौधरी, वुधराम चौधरी समेतलाई मुलुकी ऐन जवरजस्ती करणीका महलको १ नं. मा परिभाषित अनुसार कसुर गरेको सिद्ध हुन आएकोले निज प्रतिवादीहरुलाई जवरजस्ती करणी महलको ३ नं. वमोजिम हदै सम्म सजाय गरी ऐ.का. १० नं. वमोजिम पिडीत जाहेरवालीहरुलाई प्रतिवादीहरुवाट अंश समेत दिलाई पाउँ भन्ने संयुक्त प्रहरी प्रतिवेदन माग दावी ।

            २३. म मिति ०४८।४।१६ गतेको राती म आफ्नो घरमा छु । मलाई ऐ. १७ गते प्रहरीले पक्राउ गर्दा किन पक्रेको भनी मैले भन्दा थानामा हिंड सवै थाहा भै हाल्छ भनी मलाई कुटपिट गरी थानामा लगी गएका हुन् मलाई वेशमारी प्रहरीले कुटपिट गरी तैले जवरजस्ती करणी गरेको हो, होइन भन भन्दा मैले पिटाईको डरले गौरीलाई करणी गरेको हुँ भनी भनेको हुँ मैले जाहेरवालीहरुलाई जवरजस्ती करणी गरेको हैन भन्ने प्रतिवादी प्रेम बहादुर चौधरीले अदालतमा गरेको वयान ।

            २४. म मिति ०४८।४।१६ गते राती गुलरिया फाँटमा धानको रखवाली गर्न वसेको थिएं । सो राती  २ जना पकडी वाला ठुल ठुलो दारिवाला जाहेरवाली सुतेको घर ढोकामा उभिएका थिए, अरु कति जना हो घर भित्र वसेका थिए । तिनिहरुलाई मैले देखें र म आफ्नो वस्ने घरमा वसें । निजहरु को, को थिए चिनेन । ती दारिवाला पकडिवालाले जाहेरवालीलाई जवरजस्ती करणी गरेको होला, मैले जाहेरवालीहरुलाई जवरजस्ती करणी गरेको हैन भन्ने प्र.वुधराम चौधरीले अदालतमा गरेको वयान ।

            २५. मिति ०४८।४।१६ गते राती म आफ्नै घरमा छु । त्यस घटना सम्वन्धमा मलाई केही थाहा  छैन । मलाई प्रहरीले ०४८।४।१६ गते म हलो जोत्न खेतमा गएको अवस्था खेतवाट प्रहरीले पक्राउ गरी ल्याएको हुन् । किन मलाई पक्राउ गरेको भन्दा थानामा हिंड थाहा भै हाल्छ भनी मलाई थानामा ल्याई वेसमारी प्रहरीले कुटपिट गरेका हुन् मैले जाहेरवालीहरुलाई जवरजस्ती करणी गरेको छैन भन्ने प्र.सैजुराम चोधरीले अदालतमा गरेको वयान ।

            २६. मिति ०४८।४।१६ गते वेलुका ८।३० वजे तिर मेरै साथमा पक्राउ भएका अर्जुन पाण्डे, रामपुर सीमा चौकीमा ठानेदार कमल बहादुर थापा समेत भै चक्र वहादुर वुढा मगरको घरमा गै दारु पानी हामीले रातको करिव ११।३० वजे सम्म खानपिन गरी म र अर्जुन पाण्डेले पाण्डेको घरमा नै खानपिन गरी अर्जुन पाण्डे र चक्र बहादुर भण्डारी समेत भै मलाई मेरो घरमा पुर्‍याई मलाई सुताई घर फर्कि गएका हुन् । उस्को भोली पल्ट मेरो घरमा अ.स.ई. दीर्घ बहादुर शाहले तपाईलाई थानेदार सापले वोलाएको छ भनेकोले म त्यहा जांदा त्यहा ६।७ जना थरुनी थारुलाई वोलाई यिनै हुन तिमिहरुलाई हात पात गर्ने ? भन्दा निज केटीहरुले यो हैन भनी रामपुर चौकी र हसुलिया चौकीमा पनि भनेका थिए । म सँग थानेदारको भनाभन भएकोले मलाई झूठ्ठा अभियोग लगाई फंसाएका हुन् । मैले जाहेरवालाहरुलाई जवरजस्ती करणी गरेको हैन भन्ने प्र.धर्म सिं वमले अदालतमा गरेको वयान ।

            २७. मिति ०४८।४।१६ गते म राती आफ्नै घरमा सुती राखेको हुँ । ऐ.१७ गते विहान खेतमा गएको अवस्थामा प्रहरीले वोलाई थानामा ल्याई कुटपिट गरी त्यहाँवाट हसुलिया चौकीमा पनि ल्याई त्यहाँ पनि प्रहरीहरुले कुटपिट गरी जाहेरवालीहरुलाई यो मानिसले तिमिहरुलाई जवरजस्ती करणी गरेको हो हैन भन्दा यिनीहरु हैन भनी भनेका थिए । मैले जाहेरवालीहरुलाई जवरजस्ती करणी गरेको हैन भन्ने प्र.विरु कामीले अदालतमा गरेको वयान ।

            २८. मिति ०४८।४।१६ गते वेलुकी ८ वजे देखि लिएर म अर्जुन पाण्डे, धर्म सिं वम, रामपुरको थानाको थानेदार चक्र वहादुर वुढाको घरमा रातीको ११ वजे सम्म रक्सी पानी खाई त्यहाँवाट थानेदार साव  गईहाले । म र धर्म सिं वम समेत भै मेरो घरमा खानाखाई त्यहाँवाट धर्म सिं वम आफ्नो घरमा गए । म चांहि आफ्नो घरमा सुतें । त्यसको भोली पल्ट १ जना प्रहरी गै तपाईलाई थानेदार सावले वोलाएको छ भनी भन्दा चौकीमा जांदा रामपुर राम पुर चौकी र हसुलिया चौकिमा यो मानिसले तिमिहरुलाई जवरजस्ती करणी गरेको हो हैन भनी जाहेरवालीलाई सोधनी गर्दा यो मानिस हैन भनी भनेका थिए । त्यति कै मलाई फसाउने उद्देश्यले धनगढी ल्याई प्रहरीले आफै व्यहोरा बनाई वयान लेखी सही छाप गराएका हुन् । मैले जाहेरवालीहरुलाई जवरजस्ती करणी गरेको हैन भन्ने अर्जुन पाण्डेले अदालतमा गरेको वयान ।

            २९. प्रतिवादीहरु अदालतको मिति ०४८।५।४ गतेको आदेशानुसार थुनामा रही आएको ।

            ३०. मिति ०४८।४।१६ गतेको राती अं. १०।११ वजेको समयमा हामीले नाम र मानिस समेत नचिनेका व्यक्तिले वन्दुक र तरवार लिई आई हामीहरुलाई घर भित्रवाट तानी मलाई ३ जनाले जवरजस्ती गरेको हो भन्ने जाहेरवाली राम नारायणी थरुनी, मलाई २ जनाले करणी गरको हो भन्ने जाहेरवाली नथुनिया चौधरी र मलाई १ जनाले करणी गरेको हो भन्ने जाहेरवाली गौरी चौधरीले अदालतमा आई करिव करिव एकै मिलानले गरेको  वकपत्र ।

            ३१. ०४८ साल श्रावणको महिनाका  रातीको समयमा मैले नचिनेका नदेखेका मानिसआई मलाई छातीमा वन्दुक राखेकोले म निजहरुको पन्जावाट फूत्की हाले र मेरो स्वास्नी जाहेरवाली राम नारायणी थरुनी र गाउँका केटी गौरी चौधरी र नथुनिया थरुनीलाई समाई जंगल तिर लगी गएका हुन् भन्ने कल्लु चौधरीले अदालतमा गरेको वकपत्र ।

            ३२. ०४८।४।१६ गते राती हामी सुती निदाएको वेला चोरहरु आई जाहेरवाली राम नारायणी चौधरी समेत ३ जना केटीहरुलाई समाई लगी गएका हन् भन्ने प्रेम चौधरीले अदालतमा गरेको वकपत्र ।

            ३३. मिति ०४८।४।१६ गते राती ११।१२ वजे सम्म अर्जुन पाण्डे, धर्म सिं वम र म समेत मेरो घरमा रक्सी खाएका हुन । जोहरवालीहरुलाई प्र.हरुले जवरजस्ती करणी गरेमा शंका लाग्दैन भन्ने चक्र वहादुर वुढा मगर ०४८।४।१६ गते म आफ्नै घरमा छु, प्रतिवादीहरु र जाहेरवाली कहां थिए थाहा छैन ऐ १७ गते विहान जाहेरवालीहरुलाई प्र.धर्म सिं वम समेतले करणी गरे भन्ने सुनेको हुँ भन्ने टिकाराम विश्वकर्मा ०४८ साल श्रावण को महिनाको रातीको समयमा हामीले नचिनेका नाम थाहा नभएका मानिसहरुले वन्दुक ल्याई हामीहरुको साम्नेमा वन्दुक फायर गरी जाहेरवाली तीन जना केटीलाई समाइ लगी गएका हुन् भन्ने राम भरोसे, सेम लाल, पल्टु, किसनलाल समेतका सर्जमीनका मानिसले अदालतमा गरेको वकपत्र ।

 

            ३४. मैले प्रतिवादी धर्म सिं वमको मुखिराख्ने भुसेलावाट प्रहरीहरुले वन्दुक र तरवार वरामत भएको देखिन । सीमा चौकी रामपुरमा चाही देखेको हो भन्ने वरामती मुचुल्काका धापति सापकोटा, पूर्ण प्रसाद खनाल, समल प्रसाद चौधरीले अदालतमा करिव ऐ. मिलानले गरेको वकपत्र।

            ३५. प्रतिवादीहरुले जाहेरवालीहरुलाई जवरजस्ती करणी गरेको प्रमाणित हुन आएकोले प्रहरी प्रतिवेदन मागदावी बमोजिम जवरजस्ती करणीका ३ नं. वमोजिम जनही ५ वर्ष कैद हुने ठहरी प्रतिवादीवाट आधा अंश समेत पाउने ठहर्छ भन्ने शुरु कैलाली जिल्ला अदालतको फैसला ।

            ३६. कैलाली जिल्ला अदालतको फैसलामा चित्त नवुझकोले सो फैसला वदर गरी अभियोगवाट सफाई पाउँ भन्ने समेत प्रतिवादीहरुको संयुक्त पुनरावेदन पत्र ।

            ३७. पिडीत जाहेरवालीहरु मध्ये गौरी चौधरीको गुप्ताङ्गको डाक्टरवाट गरीएको जाँचको रायमा वल पुर्वक संभोग गरेको भनी राय व्यक्त भएको र निज पिडीता गौरीको अदालतमा भएको वकपत्रवाट एकजनाले मात्र निजलाई वलात्कार गरेको भन्ने स्वाभाविक वकपत्र देखिंदा प्र.प्रेम बहादुर चौधरीलाई शुरुले जवरजस्ती करणीको महलको ३ नं. अन्तर्गत कसुरदार ठहर्‍याएको इन्साफ सदर हुने ठहर्छ । अर्को पिडीता जाहेरवाली राम नारायणीको र नथुनियाको  गुप्ताङ्गको मेडिकल जाँचवाट डाक्टरको रायमा (Forceful Sexual Attent) व्यक्त भई रहेको र सो को नेपाली अनुवाद गर्दा उद्योग हुने हुँदा समेत राम नारायणीसँग आवद्ध प्रतिवादीहरु धर्म सिं वम, सैजु राम चौधरी, वुधराम चौधरी तथा नथुनिया सँग आवद्ध प्रतिवादीहरु विरु कामी र अर्जुन कुमार पाण्डेलाई जवरजस्ती करणीको महलको ५ नं. अनुसार सजाय गर्नु पर्नेमा ऐ.को ३ नं. अन्तर्गतको कसुरदार ठहराएको शुरुको इन्साफ नमिलकोले शुरु इन्साफ आंशिक उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत दिपायल, मुकायम महेन्द्रनगरको मिति २०५०।११।१ को फैसला ।

            ३८. पिडीत जाहेरवाली गौरीलाई प्रेम बहादुरले जवरजस्ती करणी गरेको ठहर भै सकेको छ । यसवाट अन्य प्रतिवादीहरुले करणी गर्न नभ्याएको, नपाएको वा कुनै रोकावट आएको अवस्था पनि देखिन्न । पिडीता जाहेरवालीहरु राम नारायणीलाई ३ जनाले र नथुनियालाई २ जनाले जवरजस्ती करणी गरेको व्यहोरा अदालतमा भएको वकपत्रमा निजहरुले स्पष्ट उल्लेख गरेकोमा विशेषज्ञको रायमा शव्द रुपान्तरणमा अल्झी प्रमाणको उचित मूल्याङ्कन नगरी करणी गर्ने उद्योग ठहर गरेको फैसला न्यायोचित नहुँदा शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय गरी पिडिताहरुलाई प्रतिवादीहरुको आधा अंश समेत दिलाई पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फवाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

            ३९. पिडित राम नारायणी र नथुनियाले अदालतमा गरेको वकपत्रमा क्रमशः ३ जनाले र २ जनाले आफूहरुलाई जवरजस्ती करणी गरेको भनी लेखाई दिएको र निजहरुको अस्पतालवाट भएको शारिरिक जाँच प्रतिवेदनमा नथुनियाको उमेर १३(१५ वर्ष भन्ने भै Bleeding (रगत वगेको) र Hymen Tear (हाइमन च्यातिएको) भन्ने राम नारायणीको Bleeding (रगत वगेको) भन्ने उल्लेख भएको मिसिल संलग्न डाक्टरको प्रतिवेदनवाट देखिन आएको अवस्थामा निजहरुको हकमा प्रतिवादीहरुलाई जवरजस्ती करणी महलको ३ नं. वमोजिम सजाय गर्नु पर्नेमा ऐ.को ५ नं. वमोजिम उद्योग ठहराएको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको फैसला विचारणीय हुँदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम विपक्षीलाई झिकाउने भन्ने समेत यस अदालतको २०५३।३।१३।५ को आदेश ।

            ४०. नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी म्यादमा उपस्थित भै तारिखमा रहेका प्र.धर्म सिं वमलाई इजलासवाट पटक पटक पुकार्न लगाउँदा पनि उपस्थित नभए पनि मुद्दा हेर्न नरोकिने भै पुनरावेदक वादी श्री ५ को सरकारका तर्फवाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री चेतनाथ घिमिरेले पिडित जाहेरवालीहरु राम नारायणी र नथुनियाको गुप्ताङ्ग जाँच गर्ने डाक्टरले आफ्नो रायमा Attempt भन्ने लेखेको भएपनि Hymen TearBleeding छ भनेवाट करणी भएको समर्थित हुन्छ भने पिडित जाहेरवालीहरु स्वयंले अदालतमा वकपत्र गर्दा प्रतिवादीहरुले जवरजस्ती करणी गरेको कुरा लेखाई दिएको समेतवाट प्रतिवादीहरुको कसुर पुष्टि भएको हुँदा जवरजस्ती करणीको उद्योग ठहराएको पुनरावेदन अदालत दिपायल, मुकाम महेन्द्रनगरको फैसला नमिलेकोले वदर गरी शुरु प्रहरी प्रतिवेदन माग दावी वमोजिम ठहर हुनु पर्छ भन्ने समेतको गर्नु भएको वहस सुनि पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरवाट जवरजस्ती करणीको उद्योग ठहराएको इन्साफ मुनासिव छ छैन भनी निर्णय दिनु परेको   छ ।

            ४१. निर्णय तर्फ विचार गर्दा प्रेम वहादुर वाहेकका अरु प्रतिवादीहरुलाई धर्म सिं वम, वुधराम चौधरी, सैजुराम चौधरी, विरु कामी र अर्जुन कुमार पाण्डेले जवरजस्ती करणी गर्न उद्योग गरेको ठहराएको पुनरावेदन अदालत दिपायल, मुकाम महेन्द्रनगरको फैसला उपर ती प्रतिवादीहरुको पुनरावेदन परेको देखिएन । उल्लेखित प्रतिवादीहरुले पनि जवरजस्ती करणी गरेको हुँदा जवरजस्ती करणी गरेको ठहर हुनु पर्ने भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएकोले ती प्रतिवादीहरुले जवरजस्ती करणी गरेको हुन या जवरजस्ती करणी गर्ने उद्योग सम्म गरेका हुन् भन्ने कुराको निराकरण हुनु पर्ने देखियो । प्रतिवादी मध्येको धर्म सिं वमले प्रहरीमा कागज गर्दा वारदात स्थल र समयमा सुती रहेको जाहेरवालीहरुलाई तानी समाई केही टाढा जंगलमा लगी पछारी स्तन समाउने लगायतका कार्य गरेकोमा स्वीकार गरेको तर लिंग उत्तेजित नभएकोले करणी नगरेको भन्ने देखिन्छ । सो वाहेक अरु सवै प्रतिवादीले करणी गरेको कुरामा प्रहरीमा साविती भई वयान कागज गरेको पाइन्छ । पिडित र।म नारायणीले निज धर्म सिं ले करणी गरेको भनी प्रहरीमा र अदालतमा कागज गरी दिएको अन्य प्रतिवादीहरुले धर्म सिं ले पनि करणी गरेको भनी प्रहरी वयान कागज गरी दिएको देखिन्छ । धर्म सिंको उमेर सो प्रहरीमा भएको वयान कागजमा नखुले पनि अदालतमा भएको निजको वयानमा ३३ वर्ष उल्लेख गरेको पाइयो । लिंग उत्तेजित पार्न पिडित केटीलाई नाङ्गो राखी दुध मलेको, निजको माथि चढेको आदि कार्य गरेको भनी सो वयानमा उल्लेख गरेकोले ३३ वर्षको उमेरदार व्यक्तिको लिंग सो अवस्थामा उत्तेजित नभएको भन्ने कुरा पत्यार लायक नहुनुको साथै वारदातमा प्रयोग गरेको वन्दुक, तरवार समेतका सामान र घटनास्थलमा आउँदा प्रयोग गरेको गाडा समेत निज धर्म सिं को भएको समेतवाट प्र.धर्म सिंको प्रस्तुत वारदातमा विशेष भूमिका भएको देखिन आयो । अन्य प्रतिवादीहरुले पनि जवरजस्ती करणी गरेको भनी जाहेरवालीहरुले अदालतमा वकपत्र गरी दिएको र प्रहरीमा कागज गर्दा  प्रतिवादीहरुले  जवरजस्ती  करणी गरेको भनी एक आपसमा पोलापोल गरेकोमा ती प्रतिवादीहरुले जवरजस्ती करणीको उद्योग गरेको भनी अदालतमा वयान जिकिर लिएको पनी छैन । अदालतमा करणी गरेमा नै पूरा इन्कार रहेकोले सो इन्कारी वयान विपरीत जवरजस्ती करणीको उद्योग ठहराएको फैसला उपर निजहरुको पुनरावेदन परेको नदेखिएकोले निजहरुको इन्कारी वयानको विवेचना गरी रहन परेन । पुनरावेदन अदालत दिपायल, मुकाम महेन्द्रनगरले प्र.प्रेम वहादुर वाहेकका सवै प्रतिवादीहरुले जवरजस्ती करणीको उद्योग सम्म गरेको ठहर गर्दा जाहेरवालीहरुको गुप्ताङ्ग परिक्षण गरी दिएको डाक्टरको प्रतिवेदनमा रगत आएको, हाइमन च्यातिएको भन्ने जवरजस्ती करणी भएको लक्षण उल्लेख गरी सकेको अवस्थामा Impression भन्ने हरफमा  जवरजस्ती  उद्योग (Forceful Sexual Attempt) भन्ने उल्लेख गरेको पाइन्छ । जाँच गर्न आएका पिडितहरुको वस्तु निष्ठ रुपमा जाँच गरी के कस्तो देखिन आयो सो सम्म उल्लेख गर्नु पर्नेमा Impression हरफ लेख्न पर्ने सन्दर्भ, आवश्यकता र अवस्था केही नभएकोमा सोलाई मात्र निर्णयाधार वनाउन मनासिव देखिन आउँदैन । प्रस्तुत मुद्दामा कुनैपनि प्रतिवादीले उद्योग गरेको नभनी पिडितहरुले जवरजस्ती करणी भएको भनेका छन् भने घरमा सुतेको ठाउँवाट रातको समयमा समाई वन्दुक पडकाई लगी त्रसित पारी एकान्त जंगलमा लगी सकेपछि कुनै अपरझट कारण पर्न आई करणी गर्न नपाएको भन्ने कुरा देखिन आउँदैन । डाक्टरवाट  भएको जाहेरवालीहरुको योनी जाँचमा निजहरुको Hymen TearBleeding भनी उल्लेख भएकोले जाहेरवालीहरुको योनीमा देखिएको लक्षणमा फरक नदेखिएको साथै रामनारायणी र नथुनियालाई पनि जवरजस्ती करणी भएको भन्ने देखिने कुरा ती पिडित जाहेरवालीहरुको  जाहेरी तथा वकपत्रवाट पनि देखिंदा उल्लेखित प्रतिवादीहरु धर्म सिं वम, अर्जुन कुमार पाण्डे, विरु कामी, सैजुराम चौधरी र वुधराम चौधरी समेतलाई जवरजस्ती करणीको उद्योग सम्म ठहराएको पुनरावेदन अदालत दिपायल, मुकाम महेन्द्रनगरको इन्साफ उल्टी भई यी प्रतिवादीहरुले पनि जवरजस्ती करणी गरेको ठहर गरी प्र.धर्म सिं वम, प्र.वुधराम, प्र. सैजुरामको आधा अंश जाहेरवाली राम नारायणीलाई, प्र..प्रेम बहादुरको आधा अंश गौरी चौधरीलाई र प्र. अर्जुन कुमारप्र.विरु कामीको आधा अंश नथुनियाले पाउने र प्रतिवादीहरुलाई जवरजस्ती करणीको महलको ३ नं. बमोजिम जनही ५। वर्ष कैद गर्ने गरेको शुरु कैलाली जिल्ला अदालतको इन्साफ मुनासिव ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।

तपसिल

माथि ठहर खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको फैसला उल्टी भै शुरु कैलाली जिल्ला अदालतले प्रतिवादीहरुले जवरजस्ती करणी गरेको ठहराएको इन्साफ मुनासिव ठहरेकोले पुनरावेदन अदालतले प्र.धर्म सिं वम, प्र. अर्जुन कुमार पाण्डे, प्र.विरु कामी, प्र.सैजुराम चौधरी, र वुधराम चौधरीलाई जवरजस्ती करणीको उद्योग गरेको ठहर गरी निजहरुलाई गर्ने गरेको जनही कैद वर्ष २।६ (दुई वर्ष छ महिना) गर्नु पर्ने नभएकोले सो को लगत कट्टा गरी शुरु फैसलाले निजहरुलाई गर्ने गरेको जनही कैद वर्ष ५ (पांच वर्ष) को लगत कायम राखि थुनामा रहेको अवधी कटाई वांकी कैद असुल गर्नु भनी शुरु जि.अ.मा लेखि पठाउनु ।...... १

फैसलाको प्रतिलिपि सहित मुद्दा किनारा भएको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.राजेन्द्रराज नाख्वा

 

इति सम्वत २०५३ साल फाल्गून २१ गते रोज ३ शुभम् .......... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु