निर्णय नं. ६३४५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

नि.नं. ६३४५ २०५४, ने.का.प. अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
सम्वत् २०५१ सालको रिट नं. .......... २९०६
आदेश मितिः२०५३।९।२२।२
विषयः- उत्प्रेषणको आदेश जारी गरी पाउँ ।
निवेदकः- जि.वांके सोनपुर गा.वि.स. वार्ड नं. ५ वस्ने ऐसाना खां ।
विरुद्ध
विपक्षिः- पुनरावेदन अदालत नेपालगंज समेत ४ जना ।
§ वण्डा मुचुल्कामा चित्त नवुझ्ने व्यक्तिले दण्ड सजांयको ६१ नं. वमोजिम चित्त नवुझ्ने कुरामा तहसिलदार उपर जिल्ला न्यायाधीश समक्ष उजुर गर्न सक्ने कानूनी व्यवस्था भएकोमा जानकारी प्राप्त भई सकेपछि कानूनी उपचारको वाटो नअपनाई रिट क्षेत्रमा प्रवेश गरेको कानून सँगत नदेखिने ।
(प्र.नं. ८)
निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री प्रेम वहादुर खडका
विपक्षी तर्फवाटः- विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल
अवलम्वित नजीरः- x
आदेश
न्या.इन्द्रराज पाण्डेः- नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छः-
२. हामी ४ जना मध्ये सिरताजा खां ले अंश छुट्टयाई पाउँ भनी हामी तिनै जनालाई प्र. वनाई नालिस गर्दा मिति २०४९।१०।२६ गते वादी प्रतिवादीले पेश गरेको तायदाती फाँटवारी वमोजिम २ भागको १ भाग मध्ये ३ खण्डको १ खण्ड वादी सिरताजाले प्र.हरुवाट अंश पाउने ठहर्छ भन्ने वांके जि.अ.को फैसला मनासिव भई पु.वेअ. नेपालगंज समेतवाट मिति २०५०।७।१७ मा फैसला भए वमोजिम वांके जिल्ला अदालतले वण्डा छुट्टयाउँदा म निवेदकका छुट्टै हांगा तर्फका हुँदा २ भागको १ भाग मैले अंश पाउनु पर्नेमा सो नगरी सम्पूर्ण ५ खण्डको १ खण्ड मात्र मेरो अंश हकमा छुट्टयाई वण्डा गरेको हुँदा चित्त नवुझि अ.वं. ६१ नं. वमोजिम १५ दिन भित्र वांके जिल्ला अदालतमा उजुर गर्दा कानून वमोजिम गर्नु भनी मिति २०५१।४।९ मा आदेश भयो । सो आदेशमा चित्त नवुझी अ.वं. १७ नं. वमोजिम पुनरावेदन अदालतमा उजुर गर्दा उक्त अदालतले फैसला वमोजिम वण्डा भएको छ छैन भनी निर्णय गर्नु पर्नेमा सो नगरी असरफा पठानीन र म वीच अंश मुद्दामा २०४५।१०।२७ गते वण्डा छुट्टयाउँदा चित्त वुझाई वसेको वादी सिरताजा र प्र.म. समेत भएको अंश मुद्दामा निवेदन जिकिरको मिति २०५१।३।२५ को वण्डा मुचुल्का वदर भै पुनः मिति २०५१।५।११ मा अर्को वण्डा मुचुल्का भै सकेको देखिंदा कानून वमोजिम गर्नु भनी पु.वे.अदालत नेपालगंजले आदेश गर्यो ।
३. शुरु वांके जि.अ.को फैसला वमोजिम वण्डा छुट्याउने मिति २०५१।३।२५ को मुचुल्कामा चित्त नवुझी अ.वं. ६१ नं. वमोजिम निवेदन गरेकोमा कानून वमोजिम गर्नु भनी वांके जि.अ.वाट आदेश भएको उक्त आदेशमा समेत चित्त नवुझी अ.वं. १७ नं. वमोजिम पु.वे.अ.नेपालगंजमा निवेदन गरेकोमा कैफियतमा मिति २०५१।३।२५ को वण्डा मुचुल्का वदर भै पुनः मिति २०५१।५।११ मा वण्डा भई सकेको भनी आदेश भएको छ । मिति २०५१।३।२५ को वण्डा के कति आधारमा वदर भएको हो ? मलाई थाहा जानकारी छैन यसरी मिति २०४९।१०।६ गतेको वांके जिल्ला अदालतको ठहर खण्डमा तायदाती फाँटवारकिो २ भागको १ भाग भएको ३ खण्डको १ खण्ड वादीले अंश पाउने भनी फैसला भएको छ । तहशिल शाखाले फैसलाको व्याख्या गर्न सक्दैन । वांके जिल्ला अदालतको फैसलामा समपूर्ण समत्तिको २ भागको गरी १ भागको ३ खण्डको १ खण्ड अंश प्र.हरुवाट वादीले पाउने ठहर्छ भनी भएको फैसलालाई वास्ता नगरी खटी गएको डोरले गरेको वण्डा मुचुल्कालाई आधार वनाई पुनरावेदन अदालत नेपालगंज समेतले गरेको आदेश त्रुटीपूर्ण हुँदा वदर गरी उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भन्ने समेत रिट निवेदन ।
४. यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? वाटाका म्याद वाहेक १५ दिन भीत्र लिखित जवाफ दिनु भनी यो निवेदनको नक्कल सहितको सूचना पठाई लिखित जवाफ परेपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासवाट भएको आदेश ।
५. निवेदकले वांके जिल्ला अदालतवाट भएको वेरीतको आदेश वदर गरी पाउँ भनी मिति २०५१।६।३ गते दिएको निवेदनमा यस अदालतवाट २०।५२।६।६ गते भएको आदेश अनुसार वांके जिल्ला अदालतवाट कैफियत प्रतिवेदनवाट अंश मुद्दा वण्डा मुचुल्का समेत झिकाई इजलास समक्ष पेश गर्दा वांके जिल्ला अदालतके यसमा वादी असरका पठानीन प्रतिवादी यिनै निवेदिका समेत भएको अंश मुद्दाको फैसला वमोजिम मिति २०४५।१०।२७ गते वण्डा छुट्टयाउँदा सो वण्डा मुचुल्कामा निवेदिका रोहवरमा वसी चित्त वुझाई वसेको र वादी सिरताजा प्रतिवादी यिनै निवेदिका समेत भएको अंश वण्डा मुद्दाको निवेदन जिकिरको मिति २०५१।३।२५ को वण्डा मुचुल्का वदर भै मिति २०५१।५।११ मा अर्को वण्डा मुचुल्का भई सकेको देखिंदा कानून वमोजिम गर्नु भन्ने आदेश भएको हो । कानून वमोजिम कारवाही भए गरेकोमा यस अदालत समेतलाई विपक्षी वनाई आएको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेतको वांके जिल्ला अदालत र पुनरावेदन अदालत नेपालगंजको अलग अलग एकै मिलानको लिखित जवाफ ।
६. पुनरावेदन अदालत नेपालगंजले वांके जिल्ला अदालतको २०५१।५।११ को वण्डा मुचुल्का एवं वा.जि.अ.को. २०५१।९।४ को आदेश कानून वमोजिम नै भए गरेको देखी २०५१।१०।१० मा कानून वमोजिम गर्नु भनने आदेश गरेको हो र सो गर्दा ०४५।१०।२७ को वण्डा मुचुल्का समेतलाई आधार लिई आदेश गरेको छ । निवेदकले वांके जिल्ला अदालतको मिति २०५१।५।११ को वण्डा मुचुल्कालाई वदर गराउन आएको देखिंदैन । दावी वेगर सो आदेशहरु वदर गर्न मिल्दैन । जहाँसम्म मिति २०५१।५।११ को वण्डा मुचुल्कामा मलाई राखिएन भन्नु भएको छ सो सम्वन्धमा नइमले वण्डा नगर्नु पर्ने घर वण्डा भयो नरम गरम मिलाइएन भनी उजुरी गरी सोही आधारमा उक्त वण्डा मुचुल्का मिति २०५१।४।१९ मा वदर भै मिति २०५१।५।११ मा वण्डा मुचुल्का गर्दा २०४५।१०।२७ मा निवेदिकाको अंश भाग छुट्टयाएकोलाई नै मध्य नजर राखी वादीको भाग अलग राखी आमा सिरताजाको भाग म र नइमले आधा आधा पाउने भनी वण्डा गर्दा वेग्लै हांगा कि रिट निवेदिकालाई रोहवरमा राख्नु पर्ने होइन । मिति ०५१।५।११ को वण्डा मुचुल्कामा कुनै त्रुटी छैन । मिसिल तामेलीमा राख्ने आदेश समेत भएको छ । निवेदिकाको कुनै मौलिक हक हनन् नभएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेतको मोहम्मद सरिक खांको लिखित जवाफ ।
७. नियम वमोजिम दैनिक पेशी सुचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदन सहितको मिसिल अध्ययन गरीयो । रिट निवेदक तर्फवाट रहनु भएको विद्वान अधिवक्ता श्री प्रेम वहादुर खड्काले फैसलाको ठहर खण्डमा लेखिएको सोही विषय वमोजिम नै फैसला कार्यान्वयन गर्नु पर्नेमा वांके जिल्ला अदालत तहशील फाँटले फैसलाको आफै व्याख्या गरी फैसलामा उल्लेखित विषय भन्दा अलग्गै रुपमा वण्डा मुचुल्का गरिएको र सो मा चित्त नवुझी अ.वं. ६१ नं. वमोजिम उजुरी गर्दा जिल्ला अदालतवाट कानून वमोजिम गर्नु भनी आदेश भएको र उक्त आदेश उपर चित्त नवुझी अ.वं. १७ नं. वमोजिम पुनरावेदन अदालतमा निवेदन गरेकोमा उक्त अदालतवाट मुचुल्का कानून वमोजिम भए गरेको छ, छैन भन्ने नहेरी शुरु जिल्ला अदालतको आदेश सदर गरेको आदेशले मेरो पक्षको संविधान प्रदत्त साम्पत्तिक अधिकारमा आघात पुर्याएको हुँदा पुनरावेदन अदालत समेतका आदेश वदर गरी पाउँ भनी वहस प्रस्तुत गर्नु भयो । यसै गरी विपक्षी मोहमद सरिफ खां को तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेलले निवेदकले मिति २०५१।३।२५ को वण्डा मुचुल्कामा चित्त नबुझाई अ.वं. ६१ नं. वमोजिम उजुर गर्नु भएको र जिल्ला अदालतवाट उक्त वण्डा मुचुल्का कानून वमोजिम भए गरेको भनी आदेश गरेको र उक्त आदेश वेरितको भयो भनी श्री पुनरावेदन अदालतमा अ.वं. १७ नं. वमोजिम प्रवेश गर्नु भएको छ । तर मिति २०५१।३।२५ को आदेश वदर भई मिति २०५१।५।११ मा पुनः अर्को वण्डा भई सकेको र उक्त वण्डा मुचुल्का उपर निवेदकले अ.वं. ६१ नं. र १७ नं. वमोजिमको कारवाही नभएको हुँदा रिट निवेदन खारेज गरी पाऊं भनी वहस प्रस्तुत गर्नुभयो ।
८. अव निर्णय तर्फ विचार गर्दा निवेदकले २०५१।५।११ को वण्डा मुचुल्का उपर अ.वं. ६१ नं वमोजिम जिल्ला अदालतमा उजुर गर्नु पर्नेमा सो वमोजिम उजुर गरी वदर गराउन सकेको देखिंदैन । २०५१।१०।१० मा पुनरावेदन अदालत नेपालगंज वाट आदेश हुँदा जिल्ला अदालतको २०५१।३।२५ को आदेश वदर भै सकेको देखिन्छ । निवेदकले वदर गरीपाऊं भनी निवेदन गरेको मिति २०५१।१०।१० को आदेश वदर भएमा पनि जिल्ला अदालतवाट २०५१।५।११ मा भएको आदेश वदर हुन सक्ने अवस्था देखिन आउँदैन । वण्डा मुचुल्कामा चित्त नवुझ्ने व्यक्तिले दण्ड सजांयको ६१ नं. वमोजिम चित्त नवुझ्ने कुरामा तहसिलदार उपर जिल्ला न्यायाधीश समक्ष उजुर गर्न सक्ने कानूनी व्यवस्था भएकोमा जानकारी प्राप्त भई सकेपछि कानूनी उपचारको वाटो नअपनाई रिट क्षेत्रमा प्रवेश गरेको कानून सँगत देखिएन । तसर्थ प्रस्तुत रिट निवेदनवाट माग वमोजिमको आदेश जारी हुने अवस्था विद्यमान नदेखिंदा रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.हरिश्चन्द्र प्रसाद उपाध्याय
इति सम्वत २०५३ साल पौष २२ गते रोज २ शुभम्