शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४०० - जग्गा खिचोला ।

भाग: ५२ साल: २०६७ महिना: असोज अंक:

निर्णय नं: ८४००     ने.का.प. २०६७      अङ्क ६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रणबहादुर बम

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

२०६१ सालको दे.पु.नं. ९२२९

फैसला मितिः २०६७।४।२३।१

मुद्दाःजग्गा खिचोला 

पुनरावेदक वादीः सुनसरी जिल्ला चिमडी गा.वि.स. वडा नं.७ बस्ने हुमन थान्दारको मु.स.गर्ने निजको छोरी रामवती थरुनी समेत

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः सुनसरी जिल्ला चिमडी गा.वि.स. वडा नं.८ बस्ने रोशनारायण थान्दार समेत

 

शुरू फैसला गर्नेः

मा.जि.न्या.श्री कमलचन्द्र नेपाल

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री उद्घवप्रसाद बास्कोटा

मा.न्या.श्री बोधरीराज पाण्डे

 

§  जग्गा खिचोलामा दावी गर्नु पहिला त्यस्तो सम्पत्तिमा दावी गर्ने व्यक्तिको हक स्थापित भएको हुनुपर्दछ । आफ्नो नाममा दर्ता भई हक स्थापित नै हुन नआएको जग्गामा खिचोला गरेको भन्ने दावी लिई फिराद गर्न नमिल्ने 

§  जग्गा कुनै व्यहोराबाट हक हस्तान्तरण गर्न पहिला त्यस्तो सम्पत्तिमा हक हस्तान्तरण गर्ने व्यक्तिको हक स्थापित भएको हुनु पर्दछ त्यसपछि मात्र त्यस्ता लिखतको कानूनी अस्तित्व र मान्यता रहने 

§  विवादित जग्गामा हक नै स्थापित भई नसकेको अवस्थामा त्यस्तो ब्यक्तिले गरिदिएको भनेको कथित शेषपछिको लिखतका आधारमा गरिएको दावी नै कानूनविपरीतको देखिने 

(प्रकरण नं.३)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री नारायणप्रसाद दवाडी र श्री बोर्णबहादुर कार्की

प्रत्यर्थी प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री मुक्ति प्रधान

अवलम्बित नजीरः

सम्वद्ध कानूनः

§  अपुतालीको २० नं.

§  जग्गा मिच्नेको १८ नं.

§  जग्गा पजनीको १७ नं.

§  अ.बं. १८० नं.

 

फैसला

            न्या.रणबहादुर वमः पुनरावेदन अदालत विराटनगरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादीहरूको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ 

स्व. फुलचनको २ छोरामा जेठा स्व. ठकरू र कान्छा स्व. हिछु पटवारी हुन् । ठकरूका ४ छोराहरूमा जेठा स्व.कातिकलाल निसन्तान हुनुभएको,  माहिला विपक्षी झवरू र रघुनन्दको बाबु तथा जितुको बाजे स्व.वतिलाल, साहिला शेषनारायण र भोगनारायणका बाबु स्व.जतन र कान्छा देवलालका बाबु तथा विदनारायणको बाजे स्व.लेक्ष्म थान्दार हुन् । कान्छा हिछु पटवारीका २ छोरामा जेठा म श्रीमती रामवती थरूनीका बाबु तथा म मधुरलालका दाजु हुमन र कान्छा म मधुरलाल थान्दार हौ । स्व. हिछु र ठकरू १९९८ सालमा भिन्न भएको र विपक्षीहरू पनि २०१५ सालमा भिन्न भएका हुन् । रैती नं.१६ का ३८१५ मध्ये आधा जग्गा स्व.ठकरूका सन्तानले दा.खा. दर्ता गराएको र आधा जग्गा हिछु पटवारीका नाममा नापजाँच भई केही जग्गाको जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरी दाजु हुमन र म मधुरलालले नामसारी गराई मिति २०४९।२।८ मा दाजुभाइ बीच अंशबण्डा समेत भइसकेको छ । दर्ता हुन बाँकी रहेको जिल्ला सुनसरी गा.वि.स.चिमडी वडा नं. ८(ख) कि.नं.१७० को ०१०, कि.नं १६९ को ०१०, कि.नं. १७१ को ०, कि.नं. १७७ को ०१९, कि.नं.४२ को ०, कि.नं ४४ को ०१३, कि.नं ४६ को ०१३, कि.नं १३५ को ०१९१४, कि.नं.१५६ को ११६, ऐ. वडा नं. ८(ग) कि.नं ६० को ०१५, कि.नं ६२ को ०, कि.नं ६३ को ०१९, कि.नं ६५ को ०, कि.नं.६१ को ०१२९ ऐ. वडा नं. ८(घ) कि.नं १४ को ०, कि.नं १५ को ०१०, कि. नं १६ को ०, कि.नं १७ को ०, कि.नं. १९ को ०१६, कि.नं १८ को ०१९, वडा नं.७ कि.नं ५१ को ०, कि.नं. १३ को ०१९, कि.नं ५ को ११२, कि.नं ७ को ०० समेत जग्गा वि. १०११६ को जग्गाको पूर्जा तयार हुन बाँकी रहेको र २०५०।५।२१ मा ३५ दिने हक दावीको सूचना प्रकाशित भएपछि हाम्रो बाबु हिछु पटवारीलाई विपक्षीहरूले आफ्नो बाजे हजुरबुबा भनी ढाँटी गा.वि.स.मा निवेदन दिई मधुरलालको र हुमनको हक हटाउने काम गरेकोले यस अदालतमा दु.फौ.नं. ३८८ को जालसाजी मुद्दा दायर गरेका छौं । बुबा, दाजु हुमनको मृत्यु पछि हक खाने छोरा नभई बुबा हुमनलाई स्याहारसम्भार गरे बापत निजको दर्ता हुन बाँकी सम्पूर्ण जग्गा शेषपछि मैले खान पाउने गरी मलाई हुमनले २०५३।६।१० मा बकसपत्र पारित गरिदिएको र हक कायम तर्फ पनि २०५७।१।२१ मा जालसाज मुद्दामा बयान गरिसकेका छौं । यसरी हक कायमतर्फ बयान गरिसके पछि २०५७।१।३१ मा हामीले नचिनेका १५ जना समेत र विपक्षीहरू भई जग्गा कब्जा खिचोला गरेकोले उक्त जग्गामध्ये आधा जग्गामा हुमन थान्दारको शेषपछि अपुतालीको २ नं. जग्गा पजनीको २(क) नं अनुसार म रामवतीको हक लाग्ने, आधा जग्गा म मधुरलालको हक भोगको भएकोले अ.बं ८२ नं. अनुसार अपुतालीको २० नं, जग्गा मिच्नेको १८ नं., जग्गा पजनीको १७ नं. को म्यादभित्र फिराद गर्न आएका छौं । उपरोक्त जग्गामध्ये आधा जग्गा म मधुरलालको र आधा जग्गा हुमनको हक भोगको हुँदा रामवती थरूनीको अपुताली हक कायम दर्ता गरी सम्पूर्ण जग्गाको खिचोला मेटाई चलन चलाईपाऊँ भन्ने समेत ब्यहोराको वादी दावी 

विपक्षीले फिरादको प्रकरण नं.१ मा उल्लेख गरेको कुरा साँचो हो । रामवती थरूनीलाई स्व.   हुमन थान्दारले शेषपछिको बकसपत्रबाट अपुताली हक कायम हुने होइन । हामीहरूको अंशबण्डा भएको छैन । परिवार बढ्दै गएकोले भात भान्सासम्म अलग गरी सर्भे नापीमा भएको हिछु पटवारीको नाममा साविक दर्ता भई हाम्रा बाबुहरूको नाममा समेत आवाद भोग र हक जनाएको बाटै हामीहरूले भोगी आएका छौं । जग्गाधनी पूर्जा प्राप्त गरी नसकिएको जग्गामा हिछु पटवारीको नाममा दर्ता भएकै कारण लोप गरी दावीसम्म गरेको हुँदा वादी दावी खारेज गरिपाऊँ भन्ने समेत ब्यहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तरपत्र 

भूमिसुधारले हदबन्दी गर्न भन्दा पहिलेदेखि नै प्रतिवादीहरूले विवादित जग्गा भोगी रहेका हुन् । उक्त जग्गामा वादीहरूको हक लाग्ने होइन भन्ने प्रतिवादीका साक्षी रुपनारायण माझी र कदमलाल सरदारले गरेको बकपत्र 

यी प्रतिवादीहरू सबै छुट्टिभिन्न भएका  छन् । जग्गा मधुरलाल र हुमनले उल्लिखित जग्गा भोग गर्दै आएका र २०५७ सालदेखि झवरू, रघुनन्दन, दिपनारायण र शेषनारायणले भोगचलन गर्दै आएका छन् भन्ने वादीको साक्षी भोगलाल चौधरीले गरेको बकपत्र 

आदेशानुसार विवादित जग्गाको मिति २०५८।४।२४ मा नापनक्सा भई आएको नक्सा मुचुल्का 

यसमा विवादित जग्गा वादी प्रतिवादी बीच बण्डा हुनुपर्ने सम्पत्ति देखिन आएको र आधाआधा हक वादी प्रतिवादीको हुने हुँदा प्रत्येक कित्ताको आधा हिस्सा वादीको हक हुने भै पायक र नरमगरम मिलाई वादीका हकमा प्रतिवादीले भोग कब्जा छाडी वादीले आफ्ना नाममा हक कायम दर्ता समेत हुने भै सो आधा हिस्साबाट प्रतिवादीले भोग कब्जा छाडी दिनुपर्ने ठहर्छ भन्ने समेत ब्यहोराको शुरु सुनसरी जिल्ला अदालतको मिति २०५९।२।७ को फैसला 

२०२५।१।१२ को नापीको क्षेत्रीय किताब उतारमा जनाएको जग्गाको सम्बन्धमा वादीले ३२ वर्ष पछि दावी गरी खिचोला मेटाई चलन चलाई पाउँ भन्ने र अपुताली हक कायम तर्फ दावी लिने अधिकार वादीलाई नभएको र अंशबण्डाको ३० नं र ३५ नं को विपरीत हुने गरी हाम्रो अंश हकको जग्गाबाट आधा बदर गरी विपक्षीको कायम गर्ने गरी भएको शुरूको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी इन्साफ पाऊँ भन्नेसमेत ब्यहोराको प्रतिवादीहरूको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदनपत्र 

विवादित जग्गाहरू हाम्रा बाजे बाबु हिछु पटवारीले दर्ता गराउन छुट भएको जग्गा हुँदा वादी दावीको सम्पूर्ण जग्गाहरूको खिचोला मेटाई सो जग्गा एकलौटी हक कायम गरी चलन समेत चलाई दिने ठहर गर्नुपर्नेमा प्रत्येक कित्ताबाट आधा जग्गामा हक कायम गरी दर्ता गर्ने ठहर गरेको शुरूको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी दावी एबं पुनरावेदन जिकीर बमोजिम गरिपाऊँ भन्नेसमेत ब्यहोराको वादीहरूको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र 

यसमा दुबै पक्षको पुनरावेदन पर्न आएको देखिदा एक अर्काको पुनरावेदन परेको ब्यहोरा एक अर्कोलाई देखाई सुनाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०६०।२।२२ को आदेश 

यसमा वादी प्रतिवादीहरूले अनुसूची ७ नं फाँटवारी भर्दा रै.नं.१६ को जग्गा पनि उल्लेख गरेको देखिन्छ । उक्त ७ नं फाराममा उल्लेख भएका रै.नं १६ को जग्गा हाल नापीमा के कति कि.नं. कायम भएका छन आफ्नो कि.नं. खुलाउनको लागि पक्ष विपक्षलाई समय दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६०।४।१८ को आदेश 

यसमा सर्भे नापी हुँदा रैती नं. १६ बाट दर्ता भएका जग्गाहरू समेतको प्रमाण पूर्जाको प्रतिलिपि र क्षेत्रीय किताब उतार समेत भिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०६०।८।४ को आदेश 

            वादीको भोग नदेखिएको र २०२५ सालमा नापी भएका जग्गाको भोगको सम्बन्धमा २०५७।३।१३ मा दायर गरेको प्रस्तुत नालिसबाट विवादित जग्गा वादीको नाममा दर्ता हुने देखिएन । जग्गा खिचोलाको लागि जग्गा मिच्नेको महलको तत्कालीन १८ नं बमोजिम नापी दर्ता भएको मितिले २ वर्षभित्र नालिश गर्नुपर्नेमा २०२५ सालमा नापी भएको विषयमा २०५७।३।१३ मा नालिश गरेकोले हदम्यादतर्फ खिचोला मेटाई पाऊँ भनी वादीले नालिश नगरी अर्कै कल्पित मितिमा खिचोला गरेको भनी नालिश गरेको देखिएको र हिछु पटवारी र निजको छोरा हुमन थान्दारले आफ्नो नाममा दर्ता गराएको र प्रतिवादीको भोगमा देखिएको विवादित जग्गामा मिति २०५३।६।१० को शेषपछिको बकसपत्र बमोजिम वादी मध्येको रामवती थरूनीको अपुताली हक कायम हुन नसक्ने हुँदा वादी दावी अ.बं. १८० नं बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत ब्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०६१।५।२३।४ को फैसला 

            हामी पुनरावेदकका पिता स्व.हिछु पटवारी र विपक्षीहरूका जिजु बाजे स्व.ठकरू आपसमा १९९८ सालमा छुट्टिई भिन्न भएको सो अवस्थाको कानूनी ब्यवस्था बमोजिम बण्डापत्र खडा गर्नुपर्ने अनिवार्य नभएको अवस्थामा भोगलाई मात्र आधार मान्नुपर्ने कानून प्रतिकूलका तर्क हुन । दाबीमा उल्लिखित कि.नं. का जग्गाहरूमा पिता स्व.हिछु पटवारीका समांशी अंशियार स्व.ठकरूका अंश भाग देखाउन सकेको छैन । दावीका कि.नं. का जग्गाहरूमध्ये चिमडी गा.वि.स. वडा नं ८ (ख) कि.नं १३५, १६९, १७०, १७७, ४७ ऐ.वडा नं ८(ग) कि.नं ६३ र ६५ समेतका जग्गाहरूको क्षेत्रीय उतार किताबको व्यहोराबाट विपक्षी स्व.हिछु पटवारीको अंशियार नभै निजहरूको जोतसम्म रहेको आधारबाट निजहरूको अंश हक ठहर गरेको उपरोक्त तथ्यको प्रतिकूल छ । हाम्रा पिता स्व.हिछुको अंशको जग्गा भई भोग गरी आइरहेको अवस्थामा विपक्षीहरूले मिति २०५७।१।२१ मा खिचोला गरेकोमा दावीका जग्गामा नापीको मितिबाट नालिस दिनुपर्ने भनी फिराद खारेज हुने ठहर गरेको फैसला बदरभागी छ । पिता हिछुको नाममा साविक जिमिदारी रै.नं १६ मा दर्ता भएदेखि विवादित जग्गा पिता हिछुको शेषपछि अपुतालीको २ नं. बमोजिम हामी हकदार भएको कुरामा कुनै विवाद छैन । नापी हुँदा फिल्डबुकमा पिता हिछुको नाउँ उल्लेख भएको छ, कैफियतमा विपक्षीहरूले जोतसम्म उल्लेख गरेका छन् । त्यसरी नापीमा उल्लेख भएको जग्गालाई के कुन मितिमा के कुन कारणबाट नाम काटिएको हो खुल्न सकेको छैन । यस्तो अवस्थामा साविक मुलुकी ऐन जग्गा मिच्नेको १८ नं. को म्यादमा उजूर गर्न नसकेको भनी फिराद खारेज हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी वादी दावीबमोजिम गरिपाऊँ भन्नेसमेत ब्यहोराको वादीहरूको यस अदालतमा परेको पुनरावेदन पत्र 

      यसमा पुनरावेदक वादीहरूले मुलुकी ऐन अपुताली, जग्गा पजनी र जग्गा खिचोलाको महल अन्तर्गतका नम्बरको आधारमा फिराद दावी लिएको र प्रत्यर्थी प्रतिवादीहरूले पनि प्रतिवाद गर्दा दावीका कित्ता जग्गामा हाम्रो समेत आधा हक लाग्ने हो भन्ने समेत जिकीर लिएको देखिन्छ । दावीका केही कित्ता जग्गाहरू वादीकै पिता हिछु पटवारीको नाउँमा समेत नापी दर्ता भएको अवस्थामा दावीबमोजिम इन्साफ नगरी फिराद नै खारेज गर्ने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको फैसलामा अपुतालीको २, २०, जग्गा पजनीको १७ र जग्गा मिच्नेको १८ नं. को त्रुटि विद्यमान भै फरक पर्न सक्ने भएकोले छलफलको लागि अ.बं २०२ नं. बमोजिम प्रत्यर्थीहरूलाई झिकाई आएपछि नियमानुसार लगाउका मुद्दा साथै राखी पेश गर्नु भन्ने यस अदालतको मिति २०६४।५।३० को आदेश 

            यसमा साविक रै.नं. १६ को जग्गा विगाहा ३८१५ मध्ये आफ्नो हकमा आधी जग्गा प्रतिवादीहरूले दर्ता गराई सकेको र आधा जग्गामा आफ्नो हक देखाई वादीहरूले दावी गरेको  देखिन्छ । उक्त हकको साविक स्रोत बारे विवाद नदेखिएको अवस्थामा उक्त जग्गा विगाहा ३८१५ मध्ये ठकरू थान्दारका छोरा सन्तान प्रतिवादीहरूमध्ये कसले कति जग्गा दर्ता गराएका हुन् र हिछु पटवारीका सन्तान यी वादीहरूले कति जग्गा कहिले दर्ता गराएका हुन सो खुलेको नदेखिएकोले साविक रै.नं १६ भिडाई नापी भएका जग्गाहरूमध्ये वादी प्रतिवादीहरू कोकसले कति जग्गा दर्ता गराई सकेका छन ? सो कुरा खुलाउने गरी अ.बं १३३ नं अनुसार दुबै पक्षको कागज गराउनु । दुबै पक्षको कागज गराउँदा जग्गा दर्ता सम्बन्धमा मुख नमिलेमा एक अर्काको कागज अर्को पक्षलाई देखाई कुरा खुलाई दर्ता भएका जग्गाहरूको जग्गाधनी दर्ता प्रमाणपूर्जासमेत सम्बन्धित मालपोत कार्यालयबाट झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।१।१२ को आदेश 

            आदेशानुसार कागज गर्न तोकिएको मिति २०६७।२।५ को तारेख प्रत्यर्थीको वारेश कृष्णराज उपाध्यायले गुजारेको र पुनरावेदक तर्फबाट बाबुराम थान्दारले अ.बं १३३ नं अनुसार गरेको कागज मिसिल संलग्न रहेको । 

            नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरूको तर्फबाट विद्वान अधिवक्ताद्वय श्री नारायणप्रसाद दवाडी र श्री वोर्णबहादुर कार्कीले विवादित जग्गा बण्डा नभई भोग गरिआएको तथ्यमा विवाद छैन । नापी भएपनि दर्ता नभएको अवस्थामा हक खाने आफूहरूमात्र भएको भनी हकदार वादीहरूलाई लोप गरी प्रतिवादीहरूले जग्गा आफ्नो नाममा एकलौटी दर्ता गर्ने किसिमले गरिएका सिफारिश सर्जमीन समेतका कार्य जालसाजी हुन् । जालसाजपूर्वक लिखत तयार गरी वादीहरूको हक मेटिएको स्थितिमा पनि फिराद खारेज हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको नहुँदा बदर गरी वादी दावी अनुसार इन्साफ हुनु पर्दछ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो 

            प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट विद्वान अधिवक्ता श्री मुक्ति प्रधानले वादीहरूले प्राप्त गर्ने अंश हकको जग्गा जति निजहरूले दर्ता गराई सकेका छन । सो कुरा यस अदालतमा कागज गर्दा समेत स्वीकार गरेका छन् । २०२५ सालको नापीको विषयलाई लिएर २०५७।३।१३ मा फिराद परेको कारण खारेज हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सदर हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत   गर्नुभयो 

            दुबै तर्फका विद्वान अधिवक्ताहरूले प्रस्तुत गर्नु भएको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन  आयो 

            २. निर्णयतर्फ विचार गर्दा स्व.फुलचनको २ छोरामा जेठा स्व.ठकरू र कान्छा स्व.हिछु पटवारी भएकोमा स्व.हिछु र ठकरू १९९८ सालमा भिन्न भएको र विपक्षीहरू पनि २०१५ सालमा भिन्न भएका हुन । हिछु पटवारीका २ छोरामा जेठा म श्रीमती रामवती थरूनीका बाबु हुमन तथा कान्छा म मधुरलाल थान्दार हौ । रैती नं. १६ को ३८१५ मध्ये आधा जग्गा स्व. ठकरूका सन्तानले दा.खा. दर्ता गराएको र आधा जग्गा हिछु पटवारीका नाममा नापजाँच भई केही जग्गाको जग्ग्गाधनी प्रमाणपूर्जा प्राप्त गरी दाजु हुमन र म मधुरलालले नामसारी गराई मिति २०४९।२।८ मा दाजुभाइ बीच अंशबण्डा समेत भइसकेको छ । दर्ता हुन बाँकी रहेको जिल्ला सुनसरी गा.वि.स.चिमडी वडा नं. ८ कि.नं.१७० समेत २४ वटा कित्ता जग्गा वि. १०११६ को जग्गाको पूर्जा तयार हुन बाँकी रहेको र २०५०।५।२१ मा ३५ दिने हक दावीको सूचना प्रकाशित हुँदा हाम्रो बाबु हिछु पटवारीलाई आफ्नो बाजे हजुरबुबा भनी ढाँटी गा.वि.स.बाट सिफारिश लिई सर्जमीन समेत गराई जग्गा दर्ता गर्न लागेकोमा दु.फौ.नं. ३८८ को जालसाजी मुद्दा दायर गरेका छौं । बुबा, दाजु हुमनको मृत्यु पछि हक खाने छोरा नभई बुबा हुमनलाई स्याहारसम्भार गरे बापत निजको दर्ता हुन बाँकी सम्पूर्ण जग्गा शेषपछि मैले खान पाउने गरी मलाई हुमनले २०५३।६।१० गतेमा बकसपत्र पारित गरिदिएको उक्त जग्गामा २०५७।१।३१ मा कब्जा खिचोला गरेकोले अपुतालीको २० नं., जग्गा मिच्नेको १८ नं जग्गा पजनीको १७ नं. को म्यादको आधारमा अपुताली हक कायम दर्तागरी खिचोला मेटाई चलन चलाईपाउ भन्ने वादी दावी भएकोमा आधा जग्गामा वादीहरूको हक कायम गरी दर्ता गरी उक्त जग्गामा खिचोला मेटाई चलन चलाई पाउने ठहर गरेको शुरू सुनसरी जिल्ला अदालतको फैसला उल्टी गरी हदम्यादको अभावमा दावी अ.बं. १८० नं बमोजिम खारेज हुने ठहर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला उपर वादीहरूको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको पाइयो 

            ३. वादीहरू हिछु पटवारीतर्फका र प्रतिवादीहरू ठकरूतर्फका सन्तान रहेको तथ्यमा विवाद छैन । वादीहरूले दावी लिएका विवादित जग्गा २०२५ सालमा नापी भएका जग्गा हुन् भन्ने तथ्यमा वादीहरू स्वयमले स्वीकार गरेको देखिन्छ । विवादित जग्गा हालसम्म वादीहरूको नाममा दर्ता नै हुन नसकी दर्ता गरिपाऊँ भनी जग्गाको स्वामित्वको विषयमा मालपोत कार्यालयमा कारवाही चलिरहेको देखिन्छ । २०२५ वैशाखमा विवादित रै.नं.१६ को जग्गा नापी भएको भन्ने कुरा नापीको क्षेत्रीय किताब उतारबाट देखिएको र सो क्षेत्रीय किताब उतारबाट विवादित जग्गा हिछु पटवारीको नाउँमा नापी भएको बदर भई ठकरूका सन्तानका नाउँमा मिति २०२५।२।१४, १७ र १८ मा नापी कायम भएको देखिन्छ । यसरी यी वादीका पूर्खा हिछु पटवारीको नाम बदर भई ठकरूका सन्तानको नाममा रै.नं.१६ को जग्गा कायम गरी नापीको फिल्डबुकमा समावेश भएपछि उक्त जग्गा आफ्नो हकभोग भित्रको भए जग्गा नापजाँच ऐन, २०१९ बमोजिम कानूनले निर्दिष्ट गरेको म्यादभित्र उजूर गरी बदर गराउनु पर्नेमा बदर गराउन सकेको समेत देखिएन । हिछु पटवारीको नाममा गराएको नापी बदर भई सकेको र विवादित जग्गा दर्ता गरी जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त नगरेको जग्गालाई २०५७ सालमा प्रतिवादीहरूले खिचोला गरेको भनी ३२ वर्षपछि फिराद पर्न आएको देखिन्छ । जग्गा खिचोलामा दावी गर्न पहिला त्यस्तो सम्पत्तिमा दावी गर्ने व्यक्तिको हक स्थापित भएको हुनुपर्दछ । आफ्नो नाममा दर्ता भई हक स्थापित नै हुन नआएको जग्गामा खिचोला गरेको भन्ने दावी लिई फिराद गर्न मिल्ने देखिदैन । अर्कोतर्फ यी वादीहरूको बाबु तथा दाजुले आफ्नो नाममा कायम नभएको विवादित जग्गालाई यी वादी मध्ये रामवतीलाई शेषपछिको बकसपत्र दिएको भन्ने आधारमा समेत दावी गरेको देखिन्छ । जग्गा कुनै ब्यहोराबाट हक हस्तान्तरण गर्न पहिला त्यस्तो सम्पत्तिमा हक हस्तान्तरण गर्ने ब्यक्तिको हक स्थापित भएको हुनु पर्दछ त्यसपछिमात्र त्यस्ता लिखतको कानूनी अस्तित्व र मान्यता रहन्छ । विवादित जग्गामा वादीमध्येका रामवतीका बाबु हुमनको हक नै स्थापित भई नसकेको अवस्थामा त्यस्तो ब्यक्तिले गरिदिएको भनेको कथित शेषपछिको लिखतका आधारमा गरिएको दावी नै कानूनविपरीतको देखिन आउँछ 

४. यीनै वादी मधुरलाल र रामवतीका बाबु हुमन बीच रै.नं १६ अन्तरगत भिडेको बाबु हिछुको नामको जग्गा नामसारी गरी मिति २०४९।२।८ मा बण्डापत्र समेत पारित गरिलिएको भन्ने दाबीमा उल्लेख गरेको र यस अदालतको मिति २०६७।१।१२ को आदेशबमोजिम कागज गर्दा समेत रै.नं. १६ बाट भिडेका आफ्ना हक भोगमा रहेका कि.नं १३३ समेतका २४ कित्ता जग्गाको ज.वि. १२१२९ दर्ता गराई सकेको भनी स्वीकार गरेको देखिन्छ । नापीको फिल्डबुकमा कायम रहेको हिछु पटवारीको नाम बदर गरी ठकरूका सन्तानहरूको नाम २०२५।२।१४,१७ र १८ मा नापीको स्रेस्तामा जनिएपछि त्यसबेला जीवितै रहेका यी वादीहरूका बाजे हिछु पटवारी र वादी मध्येका रामवतीका बाबु हुमन समेतले सो नापी बदरतर्फ कारवाई चलाई आफ्नो हक कायम गराउन सकेको समेत देखिदैन । अर्का वादी मध्येका मधुरलाल समेतले २०२५ सालको नापीमा ठकरूका सन्तानमा जग्गाधनी कायम गरिएको नाममा समेत कुनै उजूर नगरी २०५७।३।१३ मा मात्र अपुताली हक कायम तथा खिचोलामा दावी गरेको देखिन्छ । यसरी २०२५ सालको नापीको विषयमा हकै नपुग्ने यी वादीहरूले २०५७।३।१३ मा गरेको फिराद तत्कालीन जग्गा मिच्नेको महलको १८ नं. को २ वर्षको हदम्याद नघाई ३२ वर्षपछि दायर भएको फिरादलाई हदम्यादभित्रको भन्न मिल्ने देखिएन 

            ५. तसर्थ हकदैयाविहीन ब्यक्तिले हदम्याद नघाई फिराद गर्न आएको देखिदा शुरु सुनसरी जिल्ला अदालतको मिति २०५९।२।७ को फैसला उल्टी गरी फिराद दावी अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०६१।५।२३ को फैसला मिलेको हुँदा सदर हुने ठहर्छ । वादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरुमा तपसीलबमोजिम गर्नु 

 

तपसील

यसमा वादी दावी खारेज हुने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०६१।५।२३ को फैसला सदर हुने ठहरी फैसला भएको हुँदा यस अदालतको मिति २०६४।७।२१ को आदेशानुसार मिति २०६४।७।२१ च.नं. ४७५६ को पत्रद्वारा जग्गा मिच्नेको १० नं. बमोजिम रोक्का राखिएको वाली फुकुवा गरिदिनु भनी चिमडी गा.वि.स.को कार्यालय सुनसरीमा लेखी पठाई दिनु......१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनू .......२

 

उक्त रायमा म सहमत छु 

 

न्या.प्रकाश वस्ती

 

इति संवत् २०६७ साल साउन २३ गते रोज १ शुभम

 

इजलास अधिकृतदीपक ढकाल

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु